युएईको शारजाहमा नेपाली रेस्टुरेन्ट संचालनमा

युएई,मंसिर २३। युनाइटेड अरब ईमिरेट्स (युएई)को शारजाहमा अल साहिल अल जाईद नामको नयाँ रेस्टुरेन्ट संचालनमा आएको छ ।

झण्डै १५ बर्ष देखी रोजगारी गर्दै आएका पासाङ शेर्पा र निजको श्रीमतीले गत शुक्रबार देखी शारजाहको अबुसाग्रामा उक्त रेस्टुरेन्ट संचालनमा ल्याएका हुन् । रेस्टुरेन्टमा म:म, चाउमिन, दालभात लगायतका नेपाली, भारतीय र चाईजिज परिकारहरुका खानाहरु उपलब्ध हुने शेर्पाले बताए ।

गैर आबासिय नेपाली संघ युएईका अध्यक्ष रमेश श्रेष्ठ, नेपाली समाज युएईका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ युएईका भुपराज बस्याल, सोसल क्लबका शालिक सुबेदी लगायतका समाजसेवीहरुको उपस्थितीमा ३ बर्षीय छोरीले रेस्टुरेन्टको उद्घाटन गरेकी थिईन् ।

बैदेशिक रोजगारीमा युएई गएका नेपालीहरु पछिल्लो समय ब्यवसायमा निकै आकर्षित हुन थालेका छन् । यसरी ब्यवसाय गर्ने अधिकाँश नेपालीहरुले रेस्टुरेन्ट र ट्राभल्स ब्यवसायमा लगानी गरेका छन् । रेस्टुरेन्ट र ट्राभल्सको साथै सुन, कपडा, क्लिनिङ सर्भिस, कस्मेटिक र बिल्डिङ मैन्टेनेन्स आदि क्षेत्रमा पनि नेपालीहरुले लगानी गर्ने गरेका छन् ।

युएई भरमा झण्डै ८ सय देखी १ हजार सम्म नेपाली ब्यवसायी रहेको अनुमान छ । समाजसेवामा सकृय अल साहिल अल जाईद रेस्टुरेन्टका मालिक शेर्पा जनजाती महासंघ युएईको अध्यक्ष समेत रहेका छन् ।

 

अब यी ६ अपराधमा आजीवन कारावास

काठमाडौं, साउन ३१ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ भोलि भदौ १ गतेदेखि लागू हुनेछ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गर्नुभएको हो । लागू भएको १६५ वर्षपछि यो ऐनलाई प्रतिस्थापन गरिएको छ । यद्यपि यो ऐनलाई २०२० सालमा संशोधन गरिएको थियो । मुलुकी अपराध संहिताअन्र्तगत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन् । मुलुकी देवानी र फौजदारी कानून निर्माण गर्दा ६० प्रतिशत मुलुकी ऐन, २० प्रतिशत अदालतले प्रतिपादन गरेका नजीर र २० प्रतिशत अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाइएको छ । वरिष्ठ अधिवक्ता विजयकान्त मैनालीका अनुसार मुलुकी अपराध संहिता अन्तर्राष्ट्रिय फौजदारी न्याय प्रणालीमा आधारित छ । ठूला अपराधहरुमा नेपालमा मृत्युदण्ड दिने व्यवस्था नभए पनि सजाय बढाउनु उचित देखिएको छ । नेपालको संविधानमा मृत्युदण्ड दिइने गरी कुनै पनि कानून बनाउन नहुने उल्लेख छ । “मुलुकी अपराध संहिता राम्रो छ तर, त्यसको प्रयोग हुन बाँकी छ, त्यसको आधुनिक तरिकाले प्रयोग गरिन्छ वा परम्परागत तरिका भन्ने कुरा महत्वपूर्ण छ,” उनले भने, “संहितावद्ध कानून भएको हुँदा नागरिकलाई अध्ययन गर्न र कानून व्यवसायीलाई पनि अभ्यास गर्न सहज हुन्छ ।” अधिवक्ता मीरा ढुङ्गानाले पहिलाको तुलनामा सुधारात्मक व्यवस्थाहरु मुलुकी अपराध संहितामा समेटिएको बताउनुभयो । उनले भने, “जघन्य अपराधमा आजीवन कैद ठीक छ । दोषीलाई सामाजिक काममा लगाउने नाममा ‘ज्वाइँ’ जस्तो गरेर पाल्नुभएन, काममा लगाउनुप¥यो ।” मुलुकी अपराध संहिताका धेरै व्यवस्थाहरु राम्रो लागेपनि अभ्यासमा आएपछि मात्रै मूल्याँकन हुने उनको भनाइ छ । मुलुकी अपराध संहिता निर्माणका लागि सरकारले २०६५ मंसिर १८ गते तत्कालीन सर्वोच्च अदालतका न्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा ‘फौजदारी कानुन सुधार तथा परिमार्जन कार्यदल’ गठन गरेको थियो । सोही कार्यदलले तयार गरेको मस्यौदालाई संसदले २०७४ भदौमा पारित गरेको थियो । छ अपराधमा आजीवन कैदको व्यवस्था मुलुकी अपराध संहितामा छ अपराधमा आजीवन कैद तोकिएको छ । क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेमा, वायुयान अपहरण गरी वा वायुयान विष्फोट गरी ज्यान मारेमा, अपहरण वा शरीर बन्धक गरी ज्यान मारेमा, पेय पदार्थमा विष हाली मारेमा, कुनै पनि जातजाति वा सम्प्रदायको अस्तित्व नै लोप हुने जातिहत्या गर्ने उद्देश्यले कसूर गरेमा र जबर्जस्ती करणी गरेमा त्यस्ता अपराधीले जीवित रहेसम्म कैद भुक्तान गर्नुपर्नेछ । आजीवन कैद नयाँ व्यवस्था हो । यस संहितामा जन्मकैदलाई २५ वर्ष बनाइएको छ । साविकको मुलुकी ऐनमा २० वर्षलाई जन्मकैदको रुपमा राखिएको थियो । संहितामा सजायको वर्गीकरण गरी कसूरको प्रकृति र गम्भीरताका आधारमा आजीवन कैद, जन्मकैद, निश्चित अवधिको कैद, जरिवाना, कैद र जरिवाना, क्षतिपूर्ति, कैद, जरिवाना वा क्षतिपूर्ति वा दुवै, जरिवाना वा क्षतिपूर्ति नतिरेबापत कैद, कैदको सट्टा सामुदायिक सेवामा लगाउन जस्ता सजायका व्यवस्थाहरु गरिएका छन् । राष्ट्रहित प्रतिकूलको कसूर नेपालको प्रतिनिधित्व गरी खेल खेल्ने नेपाली खेलाडीले खेलमा मिलेमतो गरी कुनै खेल खेलेमा समेत राष्ट्रहित प्रतिकूलको कसूर मानिनेछ । यस्तो कसूर गरेमा दोषीलाई पाँच वर्षसम्म कैद र रु ५० हजार जरिवाना हुने कानूनी व्यवस्था छ । अपराध संहितामा नेपालविरुद्ध जासूसी गर्नेलाई २५ वर्षसम्म कैद हुने व्यवस्था छ । राष्ट्रपति वा संसदलाई धम्की दिएमा सात वर्षसम्म कैद वा रु ७० हजार जरिवाना वा दुवै हुने व्यवस्था छ । अनुसन्धान वा अभियोजन अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसूरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गरेमा छ महिनासम्म कैद वा रु पाँचहजार जरिवाना वा दुवै हुने यसमा व्यवस्था छ । त्यस्तै, संक्रामक रोग फैलाउने काम गरेमा दश वर्षसम्म कैद र रु एक लाखसम्म जरिवाना हुने नयाँ व्यवस्था छ । खाद्य पदार्थमा मिसावट गर्नेलाई पाँच वर्षसम्म कैद र रु ५० हजार जरिवानाको सजाय हुन्छ । घर निर्माण गर्दा, भत्काउँदा वा मर्मत गर्दा लापरबाही गर्नेलाई एकवर्ष कैद वा रु दशहजार जरिवाना वा दुवै सजाय हुनेछ । हिंस्रक वा अन्य पशुपक्षी राख्दा पूर्वसावधानी नअपानाई लापरवाही गर्नेलाई एक वर्षसम्म कैद वा रु दश हजार जरिवाना वा दुवै सजाय हुनेछ । त्यस्तै, राष्ट्रिय गान, झण्डा वा निशाना छापको अपमान वा क्षति गर्नेलाई तीन वर्षसम्म कैद वा रु तीस हजार जरिवाना वा दुवै सजाय हुनेछ । राष्ट्रिय विभूतिको अपमान गर्नेलाई छ महिनासम्म कैद वा रु पाँच हजार जरिवाना वा दुवै सजाय हुनेछ । संहितामा यातना दिनेलाई पाँच वर्ष कैद वा रु ५० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । छाउपडीमा राख्ने वा त्यस्ता अन्य भेदभाव, छुवाछूत र अमानवीय व्यवहार गर्नेलाई तीन महिनासम्म कैद वा रु तीन हजार जरिवाना वा दुवै हुनेछ । अपराध संहितामा विवाहमा लेनदेन गर्नेलाई पाँच वर्षसम्म कैद वा रु ५० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । आफ्नो संरक्षकत्वमा रहेका नवजात शिशु, बालबालिका, अशक्त रोगी वा वृद्ध व्यक्तिलाई जीउ, ज्यानमा खतरा पुग्ने गरी फाल्ने, परित्याग गर्ने वा बेवास्ता गरी छोड्नेलाई तीन वर्षसम्म कैद र रु तीस हजार जरिवाना हुने व्यवस्था गरिएको छ । त्यस्तै, निर्माणको काम गर्दा निर्धारित मापदण्ड वा गुणस्तरको माल प्रयोग नगर्ने वा मालको परिमाण घटीबढी पार्नेलाई दश वर्षसम्म कैद र रु एकलाख जरिवाना गर्ने नयाँ व्यवस्था गरिएको छ । आपूर्तिको काम गर्दा कमसल वा घटी परिमाणमा माल, वस्तु वा सेवा आपूर्ति गर्नेलाई पाँच वर्षसम्म कैद र रु ५० हजार जरिवाना हुनेछ । अपराध संहितामा चौपायालाई यातना दिने वा आफूले पालेको पशुपक्षी रोगी वा वृद्ध भएको कारण सार्वजनिक रुपमा छाड्नेलाई तीन वर्षसम्म कैद वा रु पाँच हजारसम्म जरिवाना हुनेछ । अनुमति बिना कसैको तस्वीर खिचेमा वा निजको तस्वीरसँग अरु कसैको तस्वीर राखी अर्को तस्वीर बनाएमा एकवर्षसम्म कैद वा रु दश हजार जरिवाना वा दुवै हुने व्यवस्था छ । एकको तस्वीरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रुपमा तस्वीर बनाएमा दुई वर्षसम्म कैद वा रु २० हजार जरिवाना वा दुवै हुने व्यवस्था छ । अपराध संहितामा विवाह बदर हुने व्यवस्था गरिएको छ । मन्जुरी बिना भएको विवाह, हाडनातामा भएको विवाह, बालविवाह, बहुविवाह भएको भए त्यस्तो विवाह बदर हुने कानूनी व्यवस्था गरिएको छ । अपराधबाट पीडित व्यक्तिलाई मुद्दाको पक्षका रुपमा स्वीकार गर्दैै मुद्दाको काम कारबाहीको जानकारी पाउने हक उसलाई हुने व्यवस्था यसमा गरिएको छ । सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने, राजद्रोह, नेपालविरुद्ध युद्ध गर्ने वा नेपालसँग युद्धमा संलग्न राज्यका सेनालाई सहायता गर्ने, राष्ट्रहित प्रतिकूल काम गर्ने र जातिहत्यालाई संहिताले कसूर मानेको छ । रासस

एउटा अालुकाे मूल्य ११ कराेड रुपैयाँ

तपाईले कहिल्यै तरकारी पसलबाट आलु किन्नु भएको छ ? कहिल्यै मोलतोल गर्नु भएको छ ? यदि तपाईले खरिद गर्नु भएको छ भने यो जानकारी पाएपछि आगामी दिनमा आलु किन्नु भन्दा अगाडि सयौं पटक सोच्नु हुने छ । आलुका बारेमा आज हामी जुन जानकारी दिन गइरहेका छौं यसबारेमा थाहा पाएपछि तपाईको होश उढ्ने छ । यधपि हामी यस्तो आलुको बारेमा जानकारी दिइरहेका छौं जुन आलु तपाई देख्न सक्नुहुन्छ तर खान सक्नु हुन्न । किनकी यो एउटा तस्वीर मात्रै हो । ११ करोडमा आलुको चित्र वास्तवमा, एक युरोपीयन व्यापारीले आलुको एउटा तस्वीर ११ करोड रुपैयाँमा खरिद गरेका छन् । यो तस्वीर चर्चित आइरिश फोटोग्राफर लेन्समैन केविन अबाशले सन २०१० मा खिचेका थिए । र सोही वर्ष आलुको चित्र बनाए। केविन यस्ता पेन्टर हुन जसको एउटा पेन्टिङ १.५ लाख डलरमा बिक्री हुन्छन् । वाइन पिउदाँपिउदै तस्वीर खरिद फोटोग्राफर केविन अवाशका अनुसार, ‘हामीले (केविन र व्यापारी) दुई गिलास वाइन पिएपछि उसले तस्वीर देखेर भन्यो, मलाई तस्वीर मन पर्यो । त्यसपछि हामीले फेरि दुई गिलास वाइन पियौं । उसले भन्यो ‘मलाई यो चाहियो’ वाइन पिउँदै हामीले सौदा गरियौं र दुई सातापछि यसको मूल्य तय गरियौं । केविनसँग आइरिश आवुको तीनवटा तस्वीर थिए । जसमध्य एउटा सर्बियाको चिडियानाखाना (म्यूजियम) लाई ‘दान’ दिए । एउटा उनको संग्रहमा छ र एउटा चाहीँ उनले बेनाम युरोपीयन व्यापारीलाई बेचें । यो पहिलो पटक नभएर उनका कयौं चित्र यस्तै महंगोमा बिक्री भएका न् । पोट्रेट फोटोग्राफीका लागि चर्चित केविन ? व्यापारी र उच्चस्तरका प्रतिक निसकेका केविन आफ्नो ‘ब्लैक ड्रप’ पोट्रेट फोटोग्राफीका लागि प्रसिद्ध छन् । केविनले हलिउड स्टार जनी डेप्पको फोटो खिचेका थिए जुन निकै चर्चित बन्यो । यसैकारण केविनका चित्र लाखौं डलरमा बिक्री हुने गरेका छन् ।

भारतीयसहित चार जनाविरुद्ध लागूऔषध मुद्दा

नवलपरासी, जेठ २७ । पश्चिम नवलपरासीमा लागूऔषधसहित पक्राउ परेका एक जना भारतीय नागरिकसहित चारै जनालाई प्रहरीले मुद्दा दर्ता गरी थप कारबाही पक्रिया अघि बढाएको छ । गत जेठ २४ गते अवैध लागूऔषधसहित पक्राउ परेका चारै जनालाई कानूनअनुसार लागूऔषधअन्तर्गत मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाएको हो । पक्राउ पर्नेहरुमा जिल्ला म्याग्दी मल्कवाङ घर भएका २२ वर्षीय कुमार छन्त्याल र जिल्ला कास्की पोखरा लेखनाथ महानगरपालिका–१९ बस्ने २२ वर्षीय अशोक परियार, जिल्ला नवलपरासी रामग्राम नपा–९ कमैनी बस्ने २५ वर्षीय दुर्योधन कुशवाहा र भारत उत्तरप्रदेश जिल्ला महाराजगञ्ज थाना निपोनिया बस्ने ३५ वर्षीय रमेश चन्द रहेका छन् । प्रहरीले सन्त्याल र परियारलाई लागुऔषधसहित रामग्राम नपा–३ रामखण्ड पुल क्षेत्रबाट रंगेहात पक्राउ गरेको हो भने कुशवाहा रामग्राम नपा–३ बाट र चन्द्रलाई पाल्हिनन्दन गाउँपालिका–५ चमन टोला क्षेत्रबाट रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले सन्त्याल र परियारको साथबाट डाइजापाम २५ एम्पुल, फेनराजन २५ एम्पुल, नुर्फिन २५ एम्पुल र नाइट्राभेट १० लेखिएको पाँच पातामा प्रतिपत्ता ३० ट्याब्लेटको दरले १५० ट्याब्लेट लागुऔषध बरामद गरेको थियो भने कुशवाहा र चन्दका साथबाट नुर्फिन ५० एम्पुल, डाइजापाम ५० एम्पुल र फेनरागन ५० एम्पुल लागुऔषधसमेत बरामद गरेको थियो । गोप्य सूचनाका आधारमा पक्राउ परेका चारै जनालाई लागुऔषध मुद्दाअन्तर्गत मुद्दा दर्ता गरी थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता) पश्चिमले जनाएको छ । यसैगरी, प्रतिबन्धित लागुऔषधसहित एक जनालाई प्रहरीले पूर्वी नवलपरासीबाट शनिबार पक्राउ गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) विनयित्रिवेणी गाउँपालिका–७ ब्यारेज पुल क्षेत्रबाट प्रहरीले रुपन्देही तिलोत्तमा नपा–१ बस्ने २२ वर्षीय मनिष थापालाई पक्राउ गरेको हो । प्रहरीले थापाका साथबाट नोट्रोजेपाम ट्याब्लेट ३० र स्पास्मो प्रोक्सभोनप्लस क्याप्सुल ७२ वटा गरी कूल १०२ वटा लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आइरहेका अवस्थामा थापालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्दा निजको साथबाट सो लागुऔषध बरामद भएपछि थापालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता) पूर्वले जनाएको छ । -रासस

गजलः आमाको काखमा स्वर्ग

पुजा वागीश यदि कँही कतै निस्वार्थ प्रेम छ भने, त्यो आमाको प्रेममा छ । यदि कतै आनन्दित स्वर्ग छ भने, त्यो आमाको काँखमा छ । यदि कोही वास्तविक जीवन शिक्षा सिकाउने गुरू छ भने, त्यो आमा नै हो । यदि कतै ईश्वर छन् भने त्यो आमा नै हो ।

यसरी पाेट्री फार्मका कुखुराहरु मर्न थालेपछि किसानहरु चिन्तित

चितवन । रोगले कुखुरा मर्दा चितवनको दुई वटा खोर नै रित्तिएको छ । रोग लागेर पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा सञ्चालित कुखुरा फार्मका दुई वटा खोर रित्तिएका हुन् । रत्ननगर–१५ स्थित लामिछाने पोल्ट्री फार्मका पाँच हजार १०० कुखुरा मरेका छन् । त्यहाँको कुखुरा एच ९ लो प्याथोजनिक संक्रमणले मरेको जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी डा शिखा तिवारीले जानकारी दिनुभयो । सो फार्मका सञ्चालक द्रोणप्रसाद लामिछानेले खोर नै रित्तिँदा करीब रु ४० लाखको क्षति भएको बताउनुभयो । चैत १५ गतेदेखि यहाँ कुखुरा मर्न थालेको थियो । खोर नै रित्तिएर ठूलो क्षति भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा राहतको माग गर्दै निवेदन दिएको लामिछानेले बताउनुभयो । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ स्थित सिम्रेनीको ध्रुवतारा एकीकृत कृषि फार्मका तीन हजार ब्वायलर कुखुरा पनि मरेको सञ्चालक रामशरण थापाले बताउनुभयो । यही चैत १९ गतेदेखि रोग लाग्न थालेको थापाको फार्ममा आजसम्म गरेर सबै कुखुरा मरेर खोर नै रित्तिएको थापाले बताउनुभयो । चल्ला हालेको २५ दिनमा कुखुरामा रोग देखिएको बताउँदै थापाले रानीखेत र गम्बारो भन्ने रोग लागेर मरेको चिकित्सकको भनाइ उद्यृत गर्दै जानकारी दिनुभयो । “हिजोसम्म अलि अलि थिया,े आजबाट एउटा पनि रहेन, खोर नै रित्तियो”, थापाले दुःख पोख्दै भन्नुभयो, “मेरो २० लाखभन्दा बढीको क्षति भयो ।” उहाँले यसरी क्षति बेहोरेका किसानलाई राहत दिन सरकारसँग माग गर्नुभयो । शुरुमा कुखुरा झोक्र्याउने अनि पातलो दिसा गर्ने र मर्ने गरिएको छ । जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी एवं पशु चिकित्सक डा शिखा तिवारीले अहिलेसम्म जिल्लामा बर्डफ्लु भनेर चिनिने एच ५ भने नदेखिएको तर अन्य विभिन्न रोग कुखुरामा देखिने गरेको बताउनुभयो । रासस

कांग्रेसले सोध्यो : ओली-मोदीको १२ बुँदेमा किन अटेन लिपुलेक ?

काठमाडौं, चैत २६ । विभिन्न विषयहरु समेटिएर प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मादीबीच १२ बुँदे समझदारी भएको छ । सो समझदारीमा नेपालको दार्चुलाको बिबादित क्षेत्र लिपुलेक अटाउन सकेन । वर्षौदेखि बिबादित क्षेत्रका रुपमा रहेको लिपुलेक मात्रै नभएर सिमा बिबादका सम्वन्धमा ओली-मोदीले जारी गरेको संयुक्त वक्तव्य मौन देखिन्छ । जल तथा रेल मार्ग सञ्चाल गर्ने, कृषिमा सहकार्य गर्ने, नेपालको समुद्रसम्म पहुँच सुनिश्चित गर्ने, भारतले नेपालमा सञ्चालन गरिरहेका योजनाहरुलाई गति दिने तथा दुई देशबीच उच्च स्तरीय भेटघाटलाई निरन्तरता दिनेलगायतका विषयहरूमा समझदारी कायम भएपनि सिमा बिबादका समाधानमा दुवै पक्ष मौन रहेको देखिन्छ । हल्ला गर्ने विषय बनाइयो स् बडू लिपुलेकको विषयलाई नेपालका राजनीतिक दलहरुले हल्लाको विषय बनाएको तर कुटनीतिक तहमा उठाउन नसकेको कांग्रेसका सांसद दिलेन्द्र प्रशाद बडूले आरोप लगाए । ‘सिमा बिबाद गम्भिर विषय हो तर जनतालाई सुनाउनका लागि मात्रै यी विषयहरु उठे, समाधान हुने गरी उठाउन सकिएन,’ बडूले भने,‘लिपुलेक, कोसी बाँधलगायतका बिबादित सिमा क्षेत्रका सम्बन्धमा कुटनीति तहबाटै समाधान हुनुपथ्र्यो, तर सरकारबाट पहल हुन सकेन ।’ उनले सिमा क्षेत्रको मात्रै नभइ दार्चुलामा बन्ने नेपाल–भारत जोड्ने पुलको बारेमासमेत मौन बस्नु दुःखद् भएको बताए । उनले भने,‘दार्चुलामा बन्ने घोषणा भई सकेको मोटरेबल पुलले त्रिदेशिय व्यापार र सम्बान्धलाई पनि सहयोग गर्छ तर प्रधानमन्त्रीको भारत भ्रमणमा कुरा नै उठेन ।’ सम्वोधन भएको छ : सरकार पक्ष सिमा क्षेत्रमा देखिएको बिबाद जटिल प्रकारको भएकाले प्रबुद्ध समूहको निर्णय अनुसार दुवै देशका सरकारले काम गर्ने भएकाले नसमेटिएको प्रदेश क्षेत्र नम्बर ‘क’ का सांसद गेल्बुसिह बोहरा बताउछन् । उनले लिपुलेक मात्रै नभइ भारतसँग जोडिएका सिमानाकामा उब्जिएका सबै प्रकारका बिबादको समाधान सरकारले खोज्ने बताए । दार्चुला प्रदेश क्षेत्र नम्बर ‘ख’ का सांसद मानबहादुर धामीले संयुक्त बक्तव्यको बुँदा नम्बर ६ मा भएको सिमा वारपार व्यापार, वस्तुहरुको आयात निर्यात तथा नागरिकहरुको आवागमनलाई विकासका लागि उपयोग गर्ने र बुँदा नम्बर ४ अनुसार नेपालको प्राथमिकताका आधारमा काम गर्ने प्रतिबद्धता भारतीय प्रधानमन्त्रीले दिएकोबाट समग्र बिवादहरुको समाधान हुने बताए । ‘छुट्टै रुपमा सिमा बिवाद समाधान गर्ने कुरा नआएको मात्रै हो, बुँदा नम्बर ६ र ४ ले नेपालको प्राथमिकतालाई मध्यनजर गर्ने भएकाले लिपुलेकसहितको सिमा बिवाद समाधानको कुरा पनि सम्बोधन भएको छ’ प्रदेश सांसद मानबहादुर धामीले भने । लिपुलेकसँग सिमा जोडिएको व्याँस गाउँपालिका वडा नम्बर २ राप्लाका अध्यक्ष धिरनसिंह बुढाथोकीले सिमा बिबाद चाँडोभन्दा चाँडो समाधान गर्न सरकारसँग माग गरे । उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सिमा बिबादका महत्वपूर्ण पक्षबारे छलफल नहुनु दुःखद् भएको ठहर गरे । अन्नपुर्ण पोस्ट्मा खबर छ।

बुधबार विशेषः लोकसेवाले माग्यो खरिदार पदमा कर्मचारी

काठमाडौं । लोकसेवा आयोगद्वारा खुला तथा समावेशीतर्फ राजपत्र अनंकित द्वितीय श्रेणीका खरिदार पद (अप्राविधिक) मा रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारीहरु मागेको छ । आजको गोरखापत्रमा प्रकाशित लोकसेवा आयोगले आवेदन खुलाएको छ । निम्न योग्यता भएका उम्मेदवारहरुले निम्त मिति, स्थान र समयमा गई आवेदन भर्न सकिने छ । यो आवेदन अनलाइनमार्फत भर्न सकिने छ । उम्मेदवारहरुले तलको लिंकमा क्लिक गरी अनलाइन फाराम भर्न सकिने छ । http://psconline.psc.gov.np/ बाँकी वितरण हेर्नुहोस्-        

लोकसेवा परीक्षामा उत्तीर्ण हुनका लागि पढ्ने शैलीमा परिवर्तन गर्नु जरुरी छ

लोकसेवा आयोगद्वारा सञ्चालन हुने परीक्षा तयारीका लागि विभिन्न विषयहरुमा पुस्तक लेख्नेमा पर्छन्, तुल खड्का । लोकसेवा तयारी गरिरहेका परीक्षार्थीहरुको सहजताका लागि उनले अहिलेसम्म लोकसेवा सम्बन्धी १० पुस्तक प्रकाशित गरिसकेका छन् । केही दिनयता मात्रै नायब सुब्बा र अधिकृतका थप दुईवटा पुस्तक बजारमा आएका छन् । उनले समसामयिक पुस्तक मात्र होइन, प्रहरी निरीक्षक, अनुसन्धान अधिकृत, नायब सुब्बा, खरिदार तहका पुस्तक पनि लेखेका छन् । पुस्तक लेखनमा नयाँ ट्रेन चेन्जर लेखकका रूपमा उदाएका खड्कासँग पुस्तक लेखन, लोकसेवाका विविध पक्षलगायत विषयमा गरेको छोटो कुराकानी– पुस्तक लेखन कहिलेबाट सुरू गर्नुभयो ? पुस्तक प्रकाशनको योजना २०७१ चैतमा बनेको थियो । त्यसअघि म नायब सुब्बा, खरिदार, इन्सपेक्टर, र असईको आइक्यु तथा समसामयिक पढाउन धेरै ठाउँमा जान्थे । फेसबुकमा पनि ‘लोकसेवा सारथि’ नामक पेज बनाएको थिएँ । त्यो पेजमा धेरैजसो समसामयिक घटना विवरणहरु पोष्ट गर्थे । पोष्ट गर्दै जाँदा म्याटर कलेकन हुँदै गयो र त्यहाँ कलेक्सन गरेका म्याटर बजारमा आएका पुस्तकभन्दा स्तरीय र बढी भयो । त्यसमा धेरै मान्छेहरू जोडिँदै गए । उहाँहरूको सुझाव अनुसार नै मैले पुस्तक निकाल्न योजना बनाएँ । र, २०७२ वैशाख पहिलो साता पुस्तक बजारमा आयो । त्यतिखेरैबाट मैले ‘समसामयिक विशेष’ भनेर किताव लेख्न सुरु गरेको हुँ । तपाईँको पहिलो पुस्तकले कतिको बजार पायो ? मेरो पहिलो पुस्तक ‘नासु र खरिदार समसामयिक विशेष’ २०७२ वैशाख पहिलो साता बजारमा आयो । पाठकले अत्यधिक रुचाएको पुस्तक थियो, त्यो । तर, पुस्तक बजारमा आएको हप्ता दिन नबित्दै भूकम्प गएकाले अलिकति डिस्र्टब गरेता पनि अपेक्षाभन्दा बढी नै सफलता हासिल गर्यो । राम्रो प्रतिक्रिया पाएर नै पुस्तक लेखनलाई अगाडि बढाउने योजना बनाएँ । लोकसेवाको पुस्तक लेखनमा ट्रेन चेन्जर लेखकका रूपमा पहिचान बनाउनुभएको छ, परम्परागत प्रणालीलाई तोड्न कतिको च्यालेन्ज छ ? परम्परागत हाजिरीजवाफ शैलीमा पढ्न अभ्यस्त बजारलाई नयाँ प्याटर्नमा ल्याउन केही चुनौती छ । मेरो नयाँ ट्रेन भनेको कुनै पनि विषयवस्तु माथि के, कहाँ, किन, कस्तो, कसले, कुन, कहिले, केका लागि र कति जस्ता प्रश्न एकै साथ गरेर पढ्नुपर्छ भन्ने हो । मैले मेरा पुस्तकमा यसरी प्रस्तुत गर्ने गरेको छु । जस्तो– मुख्यसचिवमा रेग्मी नियुक्त ० को रेग्मी ? –लोकदर्शन रेग्मी ० कसको मुख्यसचिव ? – नेपाल सरकारको ० कसले नियुक्त गर्यो ? – नेपाल सरकाले ० कहिले नियुक्त ? – २०७४ कार्तिक ६ ० कति औँ मुख्यसचिव भए ? – २४ औँ ० मुख्य सचिवको कार्यकाल कति हुन्छ ? – ३ वर्ष ० पहिलो मुख्यसचिव को हुन् ? – चन्द्रबहादुर थापा यसरी एउटै टपिकमा को, कहिले‘ जस्ता प्रश्नको ओइरो एउटै टपिकमा लगाउनुपर्छ । जुन स्टाइललाई म जिके इन लेयर भन्छु । यसरी पढ्दा सम्झन सहज मात्र हुँदैन, पढ्दा पनि बोर लाग्दैन, खेल्दै पढेकोजस्तो हुन्छ । सुर्खेतमा सरकारी जागिरे हुनुहुन्छ, पर्याप्त स्रोत साधन अभावका बीच पनि पुस्तक लेखनलाई कसरी निरन्तरता दिन भ्याउनुभएको छ ? निरन्तरता दिने की नदिने रुचिले निर्धारण गर्छ । रुचि हुने ठाउँमा हमेशा योगदान गर्न सकिन्छ । तर, कहिलेकाँही रुचि, चाहना र इच्छा हुँदाहुँदै पनि मोफसलमा हुनका नाताले भने जसरी समयमा नै काम गर्न सकिँदैन । लेखनका लागि आवश्यक स्रोत साधनको अभावमा कतिपय काम सोचेजस्तै गर्न सकिँदैन । सहर–राजधानीमा छापिएका पत्रपत्रिका, बुलेटिन, पुस्तक, लेखरचना, कार्यपत्र, खोज र सन्दर्भ सामग्री अहिले पनि केन्द्रीकृत छन् । विकेन्द्रीत हुन समय लाग्ने भएकोले काममा असहजता हुन्छ नै । तर, अहिलेका सूचना प्रविधिमा आएको महाविकासले असहजतालाई बिसाई दिएको छ । विभिन्न पत्रपत्रिकामा पनि लेख लेख्दै आउनुभएको छ, त्यसमा पनि समसामयिक विषयका जल्दाबल्दा समस्यामा गहिरो खोजसहित, कर्मचारी भएकैले पनि सहज भएको हो ? कर्मचारी भएर समाज, व्यवस्था र परिपाटी बुझ्न सजिलो भयो । र, लेखन त्यति सजिलो कार्य होइन, जस्तो लाग्छ । लेखनका लागि खोज, अध्ययन र विश्लेषणको पाटो बलियो हुनुपर्छ । अध्ययन, अनुभव र अनुभूतिको संयोजन गर्ने कला चाहिन्छ, लेखनमा । र, अर्को कुरा रुचि हो । रुचिले मान्छेलाई अन्तरहृदयबाट कन्भिन्स गरिदिन्छ । र, मान्छे स्वतःस्फूत काम गर्न सक्छ । साथै अभाव, दबाब र प्रभावलाई सहजैरूपमा चिर्न सक्छ । तर, किताव लेख्नकै लागि वा पैसा कमाउन र अरुको उत्प्रेरणाबाट मात्रै लेख्न खोज्यो भने तपाईँले भनेजस्तो सोचेजस्तो तरिकाले लेख्न सकिँदैन । त्यसैले मनबाट लेख्ने अठोट गर्नुपर्छ । जहाँ मान्छेको रुचि छ, त्यही सफलता पाइन्छ । लोकसेवा सम्बन्धी पुस्तक लेखनमा रुचि बढ्नुको कारण के हो ? सुरुमा रहर ‘हा हा’। अमूल्य सल्लाह, उत्कृष्ट सुझाव र ओजिलो रचनात्मक सुझाव पेश गर्ने पाठक वर्गको अमिट माया, अहिले । साथै प्रेरणा, उत्प्रेरणा, हौसला र ऊर्जाको कमी हुन नदिने आदरणीय सम्पूर्ण ऊर्जावाजहरू पुस्तक लेखनका स्रोत हुुनुहुन्छ । स्वभावले नै मलाई केही नयाँ जानकारी भयो र पाए भने कसलाई सुनाउन कसलाई सुनाउ हुन्छ । म आफूले सिकेका कुरा अरुसमक्ष प्रस्तुत गर्न रुचाउँछु । मैले समसामयिक विषयमा पढ्दा सबैसँग म्याटर थिएन । कलेक्सन गरेर पढ्न गाह्रो थियो । किनकी सबै इन्टरनेटको पहुँचमा थिएनन् । मलाई के लाग्यो भने समसामयिक म्याटर दिन सके धेरैले राहत पाउथे । त्यसकारण लेख्न सुरु गरेको हुँ । सोच र इच्छाशक्तिले पुस्तक लेख्नुभयो की कसैको प्रेरणा पनि थपियो ? पहिलो कुरा पुस्तक लेख्नु मेरो रुचि हो । यो स्वतःरूपमा स्खलित तथा पोखिएर आउँछ । पोखिएर आयो भने थाम्न सकिँदैन । यसलाई म बाँध्न सक्दिनँ, त्यसकारण प्रस्तुत गर्नैपर्छ । पब्लिस होलारनहोला, म टिपेर राख्छु । पहिलो पुस्तक बजारमा आएपछि धेरै साथीहरूले ‘राम्रो रहेको’ प्रतिक्रिया दिनुभयो । उहाँहरूले निरन्तरताका लागि सल्लाह दिनुभयो । मेरो रुचि त छँदै नै थियो । त्यसमा उहाँहरू नै प्रेरणाको खानी बन्नुभयो । त्यसपछि पुस्तक प्रकाशन भएपछि पाठकहरूले पनि अमिट माया गर्नुभयो । यहाँले प्रायः पुस्तकमा ‘विशेष’ शब्द बढी प्रयोग गर्नुहुन्छ, किन ? हरेक समसामयिक घटनालाई मान्छेले विशेष महत्वका साथ हेर्न थालेका छन् । अरू विषयमा बजारमा जति पनि पुस्तक पाइन्छन् । जस्तैः भूगोल, इतिहास र धर्मसंस्कृति । यसबारे हामी कलेजदेखि नै पढ्दै आएका छौं । लाइब्रेरीमा पनि जति पनि पुस्तक पाइन्छन् । बजारमा पनि छ्याप्छ्याप्ती । जताततै यसबारे पुस्तक पाइन्छन् । तर, समसामयिक भन्ने यस्तो विषय हो, जो सहजै खोजेर पाउन सकिँदैन । त्यो विषयमा लोकसेवाले समसामयिक भनेर टपिक नै राखिदिएपछि म्याटर पाउन गाह्रो हुने भयो । त्यसलाई सहज गर्न मैलै यो विषय पुस्तकमा समेट्ने प्रयास गरेको छु । किनभने त्यो विशेष पनि हो । कहिलेकाही विभिन्न पुस्तकमा तथ्य तथा तथ्यांकमा फरक देखिने गरेको छ, त्यसलाई कसरी आधिकारिक बनाएर पुस्तकमा समावेश गर्नुहुन्छ ? पहिलो कुरा त्यसको अथेन्टिसिटी के हो भनेर चेक गर्ने गर्छु । ‘सामान्य’ पत्रपत्रिकामा आएको कुरा अथेन्टिक नहुन पनि सक्छ । जस्तोः राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्र, वन्यजन्तु आरक्ष र शिकार आरक्षले ओगटेको क्षेत्रफल, अवस्थिति, अवस्था र स्थापना मिति बोर पत्रपत्रिकामा आउने जानकारी फरक फरक हुन सक्छन् त्यसको अथेन्टिक जानकारी लिदा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले प्रकाशित गर्ने सूचना र पुस्तक आधिकारिक मान्नुपर्छ । एवम् प्रकारले सम्बन्धित विषयवस्तुका जानकारी त्यसरी भेरीफाई गरेर पुस्तकमा समेट्ने गर्छु । अन्य विधा र लोकसेवाको पुस्तक लेख्दा के फरक छ ? अन्य विधामा पुस्तक लेख्ने कतिपयले मनका भावना पोख्छन् त केहीले समाजका यथार्थ । यी विधामा वास्तविक जीवनमा घटेका घटनालाई पनि प्रस्तुत गर्न सकिन्छ । तर, लोकसेवामा अनेन्टिसिटी हुन्छ । यसमा टु दी प्वाइन्ट कुरा लेखिन्छ । त्यसकारण लोकसेवा एकदमै संवेदनशील विधा हो । अहिले पनि बजारमा आएका धेरै कितावका डाटाबारे भ्रम छ । त्यसकारण यसमा सत्य तथ्य खोज्नका लागि गहिरो खोजको आवश्यकता पर्छ । बजारमा थुप्रै पुस्तक छन्, सबै किनेर पढ्न पनि सम्भव छैन, परीक्षार्थीलाई त अन्योल हुन्छ त रु कसरी छान्ने सही पुस्तक ? यो त बोझ नै भयो । कुनै पनि लोकसेवा सारथिको लागि पहिलो सफलता भनेको उसले छनोट गर्ने सामग्री हो भन्ने गरिन्छ । कुन पुस्तक छनोट गर्ने ? यसका लागि पुस्तक हेरेर वा अग्रज तथा पढिरहेको मान्छेसँग सल्लाह लिन सकिन्छ । अर्को कुरा पढ्दा सहज हुने पुस्तक छान्नुपर्छ । विषयवस्तु एउटै भएकाले सबै पुस्तकमा उस्तै उस्तै कुरा लेखिएका हुन्छन् । तर, प्रस्तुति भने फरक हुन्छ । लेखकको प्रस्तुतिले पनि पढाइलाई प्रभाव पार्छ । त्यसकारण यी कुरा ख्याल गरी सामग्री छनोट गर्न सकियो भने सफल हुन सकिन्छ । साथै पढ्दा म्याटरमा अली बढी सम्बेदनशील हुनुपर्छ । तपाईँका पुस्तक पढेर सफलता पायौं भन्ने रेस्पोन्स आएको छ ? छ, धेरै म्यासेज आएका छन् । कतिले ‘तपाईँको कितावलाई बेस बनाएर पढ्दा पास भएँ’ भनेर म्यासेज गरेका छन् । लेखाइमा ट्रेन चेन्ज गर्ने सोच कसरी आयो ? म जनरल नलेज ९जिके० विषयमा ट्रेन चेन्ज गर्ने भन्छु । जिके परम्परागत ढाँचामा पढेर हुँदैन । किनकी लोकसेवाले प्रश्न सोध्ने ट्रेन चेन्ज गरिसकेको छ । त्यसकारण पढाइको ट्रेन चेन्ज गर्नुपर्छ । हिजो सिंगल प्याटनको प्रश्न हुन्थ्यो । जस्तोस् नेपालको क्षेत्रफल कति छ ? यो हाजिरीजवाफ जस्तो थियो । अब लोकसेवाले त्यसरी सोध्दैन । त्यसकारण हामीले फरक तरिकाले अध्ययन गर्न सक्नुपर्छ । जस्तो– पहिले हामी नेपालको जनघनत्वबारे पढ्दा नेपालकै मात्रै पढ्थ्यौं । अब त्यसरी होइन । नेपालको जनघनत्वबारे पढेपछि हिमाली, पहाडी तथा तराई प्रदेश र ग्रामीण तथा सहरी क्षेत्रको पनि पढ्नु आवश्यक छ । त्यसपछि जनघनत्व बढी र कम भएको क्षेत्र तथा जिल्लाबारे पनि जानकारी लिनु आवश्यक छ । यसरी पढ्यो भने प्रभावकारी हुन्छ जस्तो लाग्छ । त्यसकारण पढाइमा पनि ट्रेन चेन्ज गर्नु जरुरी छ । अन्यथा लोकसेवा र परीक्षार्थीबीचमा सधै ग्याप भइरहने छ । जिके इन लेयर भन्ने मेरो ट्रेन छ । तपाईँलाई केमा सन्तुष्टि लाग्छ, लेखक भएकोमा कि सरकारी जागिरे ? सरकारी जागिरे भएर नै पुस्तक लेख्ने प्रेरणा आएको हो । लेखनमा पनि सन्तुष्ट नै छु । लेखाइमा बेग्लै किसिमको प्यासन छ । तपाईँको लेखनीले कहिलेसम्म निरन्तरता पाउँछ ? पाठवर्ग एवं हौसलावाजहरूको स्नेह, सहयोग, सद्भाव र सुभेक्षा रहेसम्म निरन्तर चलिरहन्छ । पाठकको माया, हौसला पाइरहँदासम्म निरन्तर लेखन जारी रहनेछ । नयाँ पुस्तक कहिलेसम्म बजारमा पुग्छ ? नायब सुब्बाको प्रथम चरणको किताव बजारमा आएको हप्ता भईसक्यो । शाखा अधिकृत प्रथम चरण भर्खरै प्रकाशित भएको छ । खरिदार, आइक्यु फर अल र समसायिक विशेष पाइप लाइनमा छन् । अन्त्यमा भन्न मन लागेको केही छ ? लोकसेवा मनहरूमा अनुरोध छ । लोकसेवाको तयारी गर्दा अरुले तयार गरेको पुस्तकमा मात्रै डिपेन्ड नहुनुस् । आफै पनि खोज्नुस् । अनुसन्धान गर्नुस् । संकलन गर्नुस् । बजारमा भएका पुस्तकबाट डाटा फिल्टर गरेर पढ्नुस् । किताबमा भएको म्याटर प्रति कन्भिन्स हुनुस् । म्याटरमा कुनै सम्झौता नगरिएको पुस्तक तपाईँको रोजाइको विषय बन्नुपर्छ । तपार्इँ सम्पूर्ण लोकसेवा सारथिहरूको सुन्दर, उज्जवल र समृद्ध भविष्यको कामना । मेरा सोच राख्ने यो ग्राण्ड अवसर दिनुभएकोमा प्रशासन डट कम परिवार र विशेषगरी तपार्इँलाई विशेष धन्यवाद दिन चाहान्छु । प्रशासनडटकमबाट साभार

भारतले ५० हजार भूकम्प पीडितका घर निर्माण गर्ने

काठमाडौं, फागुन २४ । भारत सरकारले भूकम्पमा क्षति भएका गोरखा र नुवाकोटका ५० हजार घर पुनर्निर्माणको लागि सहयोग गर्ने भएको छ। यूएनडीपी र यूएनओपीएसको साझेदारीमा गोरखाका २६ हजार ९१२, नुवाकोटका २३ हजार ८८ वटा घर पुनर्निर्माणको लागि भारतले सहयोग गर्ने भएको हो। बिहीबार भारतीय राजदूतावासका डीपूटी मिसन चीफ डा अजयकुमार र यूएनडीपीका कन्ट्री डाईरेक्टर रेनोड मेयर, यूएनओपीएसको एसिया रीजनका डाईरेक्टर संजय माथुरले भूकम्पबाट भत्किएका घर निर्माणको साझेदारी पत्रमा हस्ताक्षर गरेका छन्। नेपालको सरकार नियम अनुसार भूकम्प पीडितको घरको पुनर्निर्माण गरिनेछ। हस्ताक्षर कार्यक्रममा परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, संघीय मामला तथा स्थानीय विकास मन्त्रालय तथा सहरी विकास मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो।

प्रचण्ड : पाँच आन्दोलनका नेता

मनहरि तिमिल्सिना माक्र्सवाद भन्छ, ‘नेता आवश्यकता र आकस्मिकताको संयोगबाट जन्मिन्छ ।’ विश्वभरिका माक्र्सवादीहरूले मान्दै आएको दार्शनिक मान्यता पनि यही हो । तर, आवश्यकता र आकस्मिकताको संयोग मात्रैले नेतृत्व जन्मदैन । नेता बन्न व्यक्तिमा अन्तर्निहित प्रतिभाको पनि कम भूमिका हुँदैन । प्रतिभा नै त्यस्तो कडी हो, जसले आवश्यकता र आकस्मिकताको द्वन्द्ववादको औचित्य पुष्टि गरिदिन्छ । इतिहासका खास विन्दुमा नै नेता जन्मन्छन् । तर, त्यही चाहिँ नेता बन्छ, जोसँग दुरदृष्टि, अदम्य आत्मविश्वास र प्रतिभा हुन्छ । विश्व र नेपाली राजनीतिमा नेताहरूले मूख्यतः २ अवधिको नेतृत्व गरेको भेटिन्छ, राजनीतिक संघर्ष र राज्य सञ्चालन । तर, नेपाली राजनीतिमा प्रचण्ड नै यस्तो नाम हो, जसले पाँच फरक, दुरगामी र चामत्कारिक महत्वका आन्दोलनको नेतृत्व गरिरहेका छन् । मनहरि तिमिल्सिना पहिलो, चालीसको दशकताका नेपालको कम्युनिष्ट आन्दोलनमा चिनियाँ र रुसी लाइनबारे तीब्र विवाद थियो । माले, माक्र्सवादी, मशाल र मसाल कम्युनिष्ट आन्दोलनका मूख्य धारा थिए । तात्कालीन चौमका नेताहरू मोहनविक्रमलाई माओ र निर्मल लामालाई चाओको ठान्थे । प्रचण्ड नै त्यस्ता युवा क्रान्तिकारी थिए, जसले पहिलो पटक माओ र चाओ ठानिएका नेताहरूसँग वैचारिक बहस गरे । २०४४ को ‘सेक्टर काण्ड’पछि प्रचण्ड मशालको महामन्त्री छानिए । महामन्त्री छानिएलगत्तै प्रचण्डले ठाने, ‘गोलचक्करमा रहेको कम्युनिष्ट आन्दोलनलाई नयाँ गति दिन्छु ।’ त्यसका लागि कम्युनिष्टहरूको बलियो केन्द्र जरुरी हुन्थ्यो । माओविचार मान्ने तर एकअर्कालाई गद्धार, दलाल र दक्षिणपन्थी भन्नेहरू बीचको एकता ‘प्रचण्ड आँखामा’ क्रान्तिकारी ठहरियो । प्रचण्ड जनयुद्धको खाका कोर्दै थिए, यता पञ्चायत विरुद्धको आन्दोलनमा उभार देखेपछि ‘प्रचण्ड कार्यनीति’ मोडियो । जनयुद्धका लागि खोजिएका हतियार र तालिम प्राप्त कामरेड शक्ति सञ्चयमा राखेर उनी जनआन्दोलन समिति निर्माणतिर होमिए । जनआन्दोलन भयो, अनि सम्झौता पनि । त्यसपछि माले र माक्र्सवादीहरू मिलेर एमाले बन्यो । क्रान्तिको सपना बोकेर प्रचण्डले नेकपा (एकता–केन्द्र) निर्माण गरे । २०४८ मा एकता–केन्द्रमा संसदीय चुनावमा भाग लियो । क्रान्तिकारीहरूका लागि यो बुझिनसक्नु थियो । जनयुद्ध गर्न फौजी तालिम लिएको र माओवाद पास गरेको पार्टी एकाएक संसदीय संघर्षमा आउँदा धेरैले ठाने, ‘यो क्रान्ति परित्यागकै मार्गचित्र हो ।’ एकातिर माओवाद पास गर्नु, हतियार जम्मा गर्नु, फौजी तालिम दिनु र अर्कोतिर सुधारवादी भनिएकाहरूसँग एकता गर्नु, संसदमा भाग लिनु धेरैका लागि ‘छलफाम र क्रान्तिको बिसर्जन’ थियो । तर, प्रचण्डले त्यही कुरा जरुरी देखे । २०४६ को परिवर्तन पूर्ण प्रजातन्त्र थिएन । तर, यो कुरा प्रचण्ड र एकता–केन्द्रले बुझेर मात्रै क्रान्ति सम्भव थिएन, जनतालाई बुझाउन जरुरी थियो, त्यसका लागि संसदको उपयोग ‘प्रचण्ड आँखा’मा क्रान्तिकारी कदम थियो । उनले क्रान्तिकै तयारीका लागि संसदको उपयोगको नीति लिए । यसरी विचार निर्माण, जनयुद्धको तयारी र संसदको उपयोगको बिल्कूलै नयाँ मोर्चा र अभ्यासमा प्रचण्ड सफल ठहरिए । प्रचण्ड मात्र त्यस्ता नेता हुन्, जसले विचार निर्माण र संसदको उपयोग, जनयुद्धको नेतृत्व, शान्तिसम्झौता, गणतन्त्रको स्थापना र संविधान निर्माण, कम्युनिष्ट एकता र समाजवादी यात्राको नेतृत्व गरिरहेका छन् । दोस्रो, २०५२ माघमा प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र थमाइयो, त्यसमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका ज्वलन्त ४० बुँदा थिए । देउवाले परिवर्तनको भाषा बुझेनन्, प्रचण्ड मिसन बुझ्नसक्ने हैसियत पनि थिएन । अन्ततः २०५२ फागुन १ मा जनयुद्धको उद्घोष भयो । जनयुद्ध पृथ्वीनारायण शाहको राज्य बिस्तार अभियान पछिको सबैभन्दा ठूलो फौजी संघर्ष थियो । माओवादी सरकारको विरुद्ध लड्ने फौजी शक्तिमा मात्रै सीमित रहेन, आफै सेना, सत्ता र अदालतको अभ्यासमा लाग्यो । करीब १५ हजारको बलिदानी र ११ वर्ष लामो राजनीतिक संघर्षको प्रचण्ड आफैले नेतृत्व गरे । नेपाली राजनीतिमा पुष्पलाल, मनमोहन, ओली, मोहनबिक्रम लगायतका बामपन्थी नेता पनि सत्ता विरुद्धको संघर्षबाटै आए । तर, उनीहरुको संघर्ष प्रचण्डको जस्तो दीर्घकालीन, जोखिमपूर्ण र फौजी संघर्ष थिएन । माओत्सेतुङ, गोञ्जालो, चे–ग्वेभारा, फिडेल क्यास्ट्रोजस्तै प्रचण्ड पनि प्रत्यक्ष फौजी मोर्चाका कमाण्डर थिए । यद्यपि, माओ, क्यास्ट्रो सत्तामाथि विजय हासिल गरे, गोञ्जालो, ग्वेभारा दमनको शिकार बने भने प्रचण्ड सम्झौताको गन्तव्यतिर सोझिए । जनयुद्धको उद्घोष थियो, ‘सामन्ती तथा प्रतिक्रियावादी सत्ताको अन्त्य र नयाँ जनवादी व्यवस्थाको स्थापना ।’ युद्धले एकपछि अर्को जटिलताको सामना गरिरह्यो । देशभित्र र बाहिरका सबै बुर्जुवा शक्तिहरू माओवादीविरुद्ध थिए । ‘मर्ता क्या कर्ता’को बाटो प्रचण्डले वैज्ञानिक ठानेनन् । प्राप्त उपलब्धि जोगाएर अघि बढ्नु नै बुद्धिमत्तापूर्ण ठाने । गोलमेच सम्मेलन, अन्तरिम सरकार, संविधान सभाको माग र लोकतान्त्रिक गणतन्त्रको नारा त्यसैको कडी थियो । तेस्रो, विश्व इतिहासमा क्रान्ति मूलतः २ ढंगले अवतरण भए, सत्तामाथि विजय र दमनद्वारा निस्तेज । बन्दुकबाटै सत्ताको छिनोफानो गर्ने पूर्व प्रतीज्ञाको विकल्प नखोजिएको भए जनयुद्धले दमनको नियति भोग्थ्यो । अर्कोतिर, शान्तिपूर्ण ढंगले क्रान्तिको तयारी गर्ने र उचित परिस्थितिमा फड्को हान्ने सम्भावना जीवित नै थियो । त्यही सम्भावनामा टेकेर शान्ति सम्झौता भयो । २०६२ मंसिरमा माओवादी–संसदवादी शक्तिबीच भएको १२ बुँदे समझदारीले जनआन्दोलन सृष्टि ग¥यो । माओवादीहरू पनि शान्तिपूर्ण जनआन्दोलनका हिस्सेदार भए, अनि संसदवादीहरू जनयुद्धका शुभेच्छुक । यही समझदारीले २४० वर्ष पुरानो एकात्मक सत्ताको अन्त्य गरी गणतन्त्रको ढोका खोल्यो । १२ बुँदे समझदारीकै जगमा टेकेर २०६३ मंसिर ५ मा गिरिजाप्रसाद र प्रचण्डले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरे । प्रचण्ड बेलाबेला भन्छन्, ‘नेपालको शान्तिप्रक्रिया विश्वकै लागि नयाँ मोडेल हो । हामी युरोप र अमेरिकामा जन्मेनौं, नेपालमा जन्मियौं । यति ठूलो क्रान्ति र शान्ति विश्वमा अन्त कतै हुन्थ्यो भने उनीहरू नोवेल पुरस्कारबाट विभूषित हुन्थे ।’ सेना समायोजन र हतियार व्यवस्थापन निकै ठूलो प्राविधिक चुनौति थियो । पार्टी विभाजनको जोखिम मोलेरै प्रचण्डले त्यसको स्थीर समाधान खोजे । प्रचण्ड बेलाबेला भन्छन्, ‘नेपालको शान्तिप्रक्रिया विश्वकै लागि नयाँ मोडेल हो । हामी युरोप र अमेरिकामा जन्मेनौं, नेपालमा जन्मियौं । यति ठूलो क्रान्ति र शान्ति विश्वमा अन्त कतै हुन्थ्यो भने उनीहरू नोवेल पुरस्कारबाट विभूषित हुन्थे ।’ चौंथो, क्रान्ति र शान्तिका कमाण्डर प्रचण्ड संविधान घोषणा र संघीयता अभ्यासका पनि कमाण्डर बने । विष्णुको अवतार ठानिएका राजालाई हटाएर गणतन्त्रको स्थापना गर्नु धेरैको कल्पना बाहिर थियो । जनक्रान्तिका बलमा प्राप्त जनादेशले राजतन्त्रलाई रछ्यानमा मिल्कायो, मुलूक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गर्यो । प्रचण्डले २०५१ सालमै नेपालमा संघीयताको अनिवार्यता औल्याएका थिए । संविधान सभाको निर्वाचनपश्चात् संघीयताको बहस पेचिलो रुपमा उठ्यो । कतिले संघीयता देशका लागि अभिसाप देखे, कतिले आयातित नारा भने । जातीय, क्षेत्रीय, लैङ्गीक र सांस्कृतिक विभेदको अन्त्यका लागि संघीयता जरुरी थियो । अन्ततः दलहरू संघीयतामा सहमत भए र संघीय गणतान्त्रिक संविधान बन्यो । दलीय आयातनका दृष्टिले संविधान निर्माणका बखत माओवादी तेस्रो शक्तिमा रहेपनि त्यसको ‘कमाण्डर’ प्रचण्ड नै थिए । असोज १७ गते एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक समारोहबाट संकल्प गरे, ‘हामी राजनीतिक स्थिरता दिन्छौं, आर्थिक समृद्धि दिन्छौं, समाजवादी क्रान्तिका लागि २ पार्टी एकतावद्ध हुन्छौं ।’ घोषणा बोलीमा सीमित रहेन, एमाले–माओवादी समीकरण बनाएर चुनाव लडे, सुखद् नतिजा हात लाग्यो । अहिले ओली नेतृत्वमा वामपन्थीहरूको सरकार छ । संविधानपछि बनेको वामपन्थी सरकारले नाकाबन्दीको सामना गर्नुपर्यो । त्यसको केन्द्रमा एमाले अध्यक्ष ओली थिए, अनि सारथि प्रचण्ड । दुबै मिलेर नाकाबन्दीको सामना गरे । आन्तरिक एकता सुदृढ गरेर मात्र बाह्य चुनौतिको मुकाबिला गर्न सकिन्थ्यो, यही फरक सोंचले ओली–प्रचण्ड एकतामा ‘ठेस’ लाग्यो । यसरी गणतन्त्र र संघीयताको घोषणा, नाकाबन्दीको सामना, संविधानमा पनि प्रचण्ड राष्ट्रिय राजनीतिको मियो बने । पाँचौं, असोज १७ गते एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डले सार्वजनिक समारोहबाट संकल्प गरे, ‘हामी राजनीतिक स्थिरता दिन्छौं, आर्थिक समृद्धि दिन्छौं, समाजवादी क्रान्तिका लागि २ पार्टी एकतावद्ध हुन्छौं ।’ घोषणा बोलीमा सीमित रहेन, एमाले–माओवादी समीकरण बनाएर चुनाव लडे, सुखद् नतिजा हात लाग्यो । अहिले ओली नेतृत्वमा वामपन्थीहरूको सरकार छ । जतिसुकै सैद्धान्तिकरण गरिए पनि जनयुद्धका मूल २ संकल्प थिए, समृद्धि र समानता । एमाले–माओवादीको समृद्धि र समाजवादको यात्राले उल्लेखित संकल्प हात लाग्न सक्छ । लोककल्याणकारी राज्यलाई नै समाजवादको नाम दिए भन्न सकिन्नँ । तर, समृद्धि र समानताको पिल्लरमा उभिएको समाजवाद स्थापित हुन सक्यो भने प्रचण्ड सपना सार्थक हुन सक्छ । यो ओली र प्रचण्ड दुबैका लागि नयाँ अवसर हो । २०१९ सालपछि नेकपा दर्जनौं टुक्रामा बाँडियो, माक्र्सवादका अनगिन्ती पसलहरू खोलिए । कांग्रेसहरू व्यंग्य गर्थे, ‘फुट्ने कला कम्युनिष्टहरूबाट सिक्नुपर्छ ।’ लक्ष्य समाजवाद, साम्यवाद भएर पनि अल्पबिराम र पूर्णबिरामको विवादमा फुट्ने कम्युनिष्टहरूका लागि ओली–प्रचण्ड प्रयास निकै शक्तिशाली सन्देश हो । सन् १९९१ पछि ‘इतिहासको अन्त्य’को हल्ला गरिरहेको पूँजीवादी शिविरमाथि सशक्त हमला पनि हो । कम्युनिष्ट आन्दोलन, प्रजातान्त्रिक आन्दोलन र राष्ट्र निर्माणको अभियानमा पुष्पलाल, वीपी, गणेशमान, गीरिजाप्रसाद, मनमोहन, मोहनविक्रम, केपी ओली लगायतका नेताहरूको कम योगदान छैन । तर, यी सबै नेताले एक कालखण्डमा एउटा आन्दोलनको नेतृत्व गरेका छन् । प्रचण्ड मात्र त्यस्ता नेता हुन्, जसले विचार निर्माण र संसदको उपयोग, जनयुद्धको नेतृत्व, शान्तिसम्झौता, गणतन्त्रको स्थापना र संविधान निर्माण, कम्युनिष्ट एकता र समाजवादी यात्राको नेतृत्व गरिरहेका छन् । इतिहास तर्क होइन, तथ्यमा उभिन्छ । तथ्यले भन्छ, ‘पृथ्वीनारायण शाहपछि नेपाली राजनीतिको सर्वाधिक चर्चित र शक्तिशाली नेता प्रचण्ड नै हुन् ।’ वर्तमानमा हेर्दा एमाले अध्यक्ष ओलीको पक्षमा कम जनमत पक्कै छैन । झापा विद्रोह, जेल जीवन, नाकाबन्दीको सामना, एउटै कम्युनिष्ट केन्द्र निर्माणमा ओलीको योगदान पनि विशिष्ट नै छ । तर, युग नै बदल्ने ‘प्रचण्ड शक्ति’ सबैभन्दा माथि छ ।

जोर्डनमा घरेलु कामदार पठाउने बाटो खुल्यो

काठमाडौं, फागुन २४ । वैदेशिक रोजगार कार्यालयलाई जोर्डनमा ३ सय महिला घरेलु कामदार (हाउसमेड) पठाउन श्रम स्वीकृति प्रदान गर्ने बाटो खुलेको छ । संस्थागत रूपमा जोर्डनमा पहिलो पटक हाउसमेड पठाउने प्रक्रिया सुरु भएको हो । श्रम तथा रोजगार मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले दुई देशबीच श्रम सम्झौता भइसकेको भन्दै कार्यान्वयनका लागि वैदेशिक रोजगार कार्यालयलाई मंगलबार अनमुति दिएका हुन् । ‘जोर्डनमा ३ सय महिला पठाउन ३ म्यानपावर कम्पनीले मागपत्र पेस गरेका थिए । मन्त्रालयको अनुमति तथा निर्देशन नहुँदा रोकिएको थियो,’ वैदेशिक रोजगार कार्यालयका निमित्त प्रमुख प्रेमकुमार देसारले भने, ‘मन्त्रालयको अनुमति आइपुगेको छ । फाइल अध्ययन गरी श्रम स्वीकृतिको प्रक्रिया बढाउनेछौं ।’ –कान्तिपुर दैनिकबाट

संबिधान कार्यान्वयनबारे अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतको यस्तो धारणा

२३ माघ,काठमाडौं ।अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले राजनीतिक क्षेत्रमा मात्र नभएर शिक्षा क्षेत्रमा पनि संविधान कार्यान्वयन हुनुपर्ने माग राखेका छन्। बस्नेतले निर्वाचन हुंदैमा मात्र संविधानको कार्यन्वयन भएको मान्न नसकिने दावी गरे। बस्नेतले नेपालको संविधानले शिक्षा,स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रुपमा ग्यारेन्टी गरे पनि अझसम्म त्यसको कार्यान्वयन हुन नसकेकोमा आपत्ति जनाए। बस्नेतले भने -‘ शिर्ष नेताहरु चुनाव भएपछि संविधान कार्यान्वयन भइहाल्छ भन्छन्, तर हामी त्यसले मात्र संविधान कार्यान्वयन भएको मान्दैनौं।’ शिक्षाको सम्पुर्ण दायित्व राज्यले लिनुपर्ने जिकिर गर्दै बस्नेतले भने-‘ राजनीतिक क्षेत्रमा मात्र नभएर शिक्षा क्षेत्र पनि त संविधान कार्यान्वयन हुनुपर्यो नि !’ बस्नेतले विद्यमान शिक्षा प्रणालीले वर्गीय खाडल झनझन् गहिरो वनाउंदै लगेको आरोप लगाए। आज पुर्वाञ्चल विश्वविद्यालय अन्तर्गत राजधानीको हिकास्ट कलेजमा आयोजित अखिल(क्रान्तिकारी) नवौं क्याम्पस सम्मेलनमा उपमहासचिव मिलन एमसि,सचिव डा.अच्युत भट्ट, केन्द्रीय सदस्यहरु वालकुमार केसि,जेपि यादव,सरोज वोहरा ,जिल्ला अध्यक्ष टोपेन्द्र खड्का लगायतले शुभकामना दिएका थिए।सम्मेलनवाट चन्द्रप्रकाश कार्की नेतृत्वमा २७ सदस्यीय क्याम्पस समिति निर्वाचित भएको छ।

लोकसेवा परीक्षामा आउने सम्भावित प्रश्नोत्तर

लोकसेवाका नायब सुब्बा तथा खरिदारको पदको लागि तयारी गरिरहेका परीक्षार्थीहरुको सहजका लागि केही सम्भावित वस्तुगत प्रश्नोत्तर आजको गोरखापत्रमा प्रकाशित गरिएको छ ।

‘राज्जा रानी’ समूहद्वारा राहत सामग्री

राजविराज, पुस २५ । पछिलो एक सातायता सप्तरीमा शीतलहरसँगै बढेको जाडोका कारण अतिप्रभावित बेल्ही चपेना गाउँपालिका वडा नं ५ को दलित बस्तीमा मैथिली चलचित्र ‘राज्जा रानी’ समूहले सोमबार लुगा वितरण गरेको छ । ‘भोर’ नामक सामाजिक संस्थाद्वारा सिरक, ओढ्ने, ओछ्याउने, म्याट र बालबालिकाका लागि टोपी र रुमाललगायत सामग्री वितरण गरिएको नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादवले बताउनुभयो । विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि ‘राज्जा रानी’का निर्माता राजकुमार महतोको नेतृत्वमा त्यहाँ पुगेको टोलीले सो बस्तीमा राहत सामग्री वितरण गरेको होे । उक्त राहत सामग्री ‘राज्जा रानीकी गायिका अञ्जु यादवलगायतले हस्तान्तरण गर्नुभयो । लुगाको अभावमा शीतलहरमा कष्टकर जीवन बिताउँदै आएका १० डोम घरपरिवारलाई सो राहत सामग्री प्रदान गरिएको बताइएको छ । यसैबीच बालविवाह र दाइजोविरूद्ध सन्देश बोकेको मैथिली चलचित्र ‘राज्जा रानी’बाट प्राप्त हुने आम्दानी सामाजिक अभियानमै खर्चिने निर्माता महतोले भन्नुभयो । आर्यन फिल्म प्रोडक्सन र भोर कम्पनी प्रालिद्वारा मैथिली र नेपाली भाषामा निर्मित उक्त चलचित्र यही पुस २१ गतेदेखि देशैभर प्रदर्शनमा रहेको बताइएको छ । विपन्न समुदायलाई कम्बल यहाँका दलित तथा विपन्न समुदायमा चिसो र शीतलहरको प्रभाव परेपछि एक गैरसरकारी संस्थाले सोमबार कम्बल वितरण गरेको छ । पीडितलाई लक्ष्य गरी राहत सामग्री उपलब्ध गराउँदै आएको धर्मी हल्फा महिला विकास क्लब लालापट्टीले महादेवा गाउँपालिका वडा नं ६ ढिकलीवासीलाई राहत सामग्री उपलब्ध गराइएको हो । शीतलहरले कष्टकर जीवन बिताइरहेका ढिकलीका २८ दलित तथा विपन्न परिवारलाई जाडोबाट जोगिन एक एक थान कम्बल वितरण गरिएको क्लबका अध्यक्ष इ सूर्यनारायण यादवले बताउनुभयो । सो वडाका वडा सचिव नमोनाथ मिश्र, समाजसेवी विश्वनाथ यादव र वेदनारायण लौगीलगायतको सहभागितामा सो राहत वितरण गरिएको हो । एक सातायता बढेको चिसो र शीतलहरका कारण जिल्लामा हालसम्म १८ जनाको मृत्यु भएको छ भने हजारौँ मानिस प्रभावित भएका छन् । प्रहरीले भने छ जना व्यक्तिको मात्र चिसोबाट मृत्यु भएको पुष्टि गरेको छ ।

सिँचाइका लागि पोखरी प्रभावकारी

म्याग्दी, पुस १२ । पर्याप्त पानीको स्रोत नभएको ठाउँमा पोखरीमा पानी संकलन गरेर सिँचाइ गर्ने प्रविधि प्रभावकारी बनेको छ । थोरै पानीको स्रोत भएको ठाउँमा पोखरीमा संकलन गरेर आपूर्ति गर्दा सिँचाइ गर्न सहज भएको हो । पोखरी निर्माण भएपछि सुख्खायाममा पनी सिँचाइ सुविधा भएपछि कृषकले मौसमी र बेमौसमी तरकारी खेती गरेर आम्दानी गर्न थालेका छन् । बेनी नगरपालिका–२ खबराका कृषक यामबहादुर घिमिरेले पोखरी निर्माण भएपछि बाह्रैमास सिँचाइ सुविधा उपलब्ध भएको बताउनुभयो । खबराको सिम्ले टोलका पाँच घरधुरीले गत वर्ष ६० हजार लिटर क्षमताको पक्की पोखरी बनाएका थिए । “मुहानको पानी पोखरीमा संकलन गरेर आवश्यक पर्दा आलोपालो गरेर सिँचाइको व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “पोखरीको पानी हिउँदमा गहुँ, तोरी, आलु र तरकारी बालीमा सिँचाइ गर्न प्रयोग गर्छौँ ।” पानीको स्रोत थोरै भए पनि पोखरीमा संकलन गर्दा सिँचाइ गर्न छिटो र सजिलो भएको छ । पोखरीमा पानी संकलन गर्ने व्यवस्था भएपछि हिउँदको सुख्खायाममा तरकारी उत्पादन गर्न सहज भएको खबराका प्रकाश घिमिरेले बताउनुभयो । तरकारी र केरा खेतीका लागि खबराका हरेक टोलमा पोखरी निर्माण गरिएको छ । पोखरी भरिन दुईतीन दिन लाग्छ । खबरामा पचास जनाभन्दा बढी व्यावसायिक कृषक छन् । हाँडेभिरबाट पम्प गरेर लभ्लीहिलमा पु¥याएको पानी पिपलडाँडा र दारम्बोट पु¥याएर पोखरीमार्फत गाउँभरि सिँचाइ सुविधा विस्तार गर्न पहल गरिएको सो आयोजनाका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताउनुभयो । एउटा पोखरी निर्माण गर्न रु दुई लाखदेखि रु तीन लाखसम्म खर्च लाग्छ । गत वर्ष जिल्ला भू–संरक्षण कार्यालयको सहयोगमा खबरामा पाँचवटा पोखरी निर्माण तथा दुईवटा पुराना पोखरीको मर्मत गरिएको भू–संरक्षण अधिकृत दिवाकर पौडेलले बताउनुभयो । बेनी नगरपालिका– १ रत्नेचौर, ४ थामडाँडा, भगवतीको रिसिन चौतारी लगायतका ठाउँमा पोखरी निर्माण गरी सिँचाइ गरिँदै आएको छ । पानीको स्रोत कम भएको ठाउँमा पोखरी प्रभावकारी बनेको भूसंरक्षण अधिकृत पौडेल बताउनुहुन्छ । स्थानीय तहका जनप्रतिनिधि र कृषकले सुख्खा क्षेत्रमा पोखरी बनाउने योजनालाई निरन्तरता दिएमा सिँचाइ सुविधा विस्तारका साथै कृषि उत्पादन र आयआर्जन वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।