‘सेक्स ट्वाईज’ को बजारमा महिलाहरू, २०१७ भजाइना वर्ष हुने टिप्पणी
एजेन्सी । यौन आवश्यकता पुरा गर्न मानिसले अब अर्को विकल्पको प्रयोग गर्न थालिसकेका छन् । सेक्स ट्वाईजको नामले अहिले बजारमा यौन आवश्यकता पुरा गर्न थुप्रै सामग्री उत्पादित हुन थालेका छन् । भनिन्छ अबको २०१७ भजाइना इकोनोमी अर्थात योनी अर्थतन्त्रको रुपमा चिनिनेछ । महिलाहरु अहिले आँफै बजारमा आउन थालेका छन् र महिलाको आवश्यकताको हिसावले सेक्स ट्वाइ डिजाइन गर्न थालेका छन् ।
अहिले पुराना सेक्स ट्वाइलाई छाड्दै नयाँ प्रकृतिको ट्वायहरु सृजना हुन थालेका छन् । यसैले यो २०१७ भजाइना इकोनोमी वर्ष हुने दावी गरिएको छ। इनोवेशन ग्रुप की डायरेक्टर लूसी ग्रीन भन्छिन — ‘फोर्थ वेव फेमिनिज्म (नारीवादी विचारको चौथा चरण) की शुरुवात भइसकेको छ । महिलाहरु अब खुलेर योनी, सेक्स, ऑर्गेजम को कुरा गर्न थालेका छन् ।’
समलैंगिक सम्बन्धबारे खुलेर बाहिर आउन थालेको कारण उनीहरुको लागि यस्तो प्रकारको सेक्स ट्वाय पहिला नै बनाइसकेको छ । जुन डिप्रेशनको सिकार भएकाको लागि सहायक हुन्छ । अहिले भने महिला समलैंगिकहरुको लागि नयाँ नयाँ सेक्स ट्वायको लागि नयाँ नयाँ परीक्षण हुन थालेका छन् । अहिले सेक्स ट्वाय मनोरन्जनको लागि मात्र नभइ आवश्यकता नै भएकाले भजाइना इकोनमी बढ्ने आशा गरिएको छ । अब यो उद्योगमा महिलाहरु पनि सामले हुन लागेकाले पनि यो उद्योग फस्टाउने देखिन्छ ।
मोर्चासहित बसेको सत्ता गठबन्धनको बैठकले के गर्ला निर्णय ?
काठमाडौं, पुस १२ । एमालेले एक महिनादेखि जारी राखेको संसद अवरोध खुलाउने बारेमा साझा धारणा बनाउन सत्तारुढ र मधेसी मोर्चाका नेताबीच बालुवाटारमा छलफल जारी छ । प्रधानमन्त्री पुष्पकमल‘प्रचण्ड’ले सत्ताघटकदल र मधेसी मोर्चाका सबै नेताहरुलाई बैठकमा बोलाएका छन् । सरकारमा सहभागी प्रमुख दल कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चासहितको संघीय गठबन्धनमा आबद्ध दलहरु प्रधानमन्त्रीसँग बैठकमा छन् । बैठकमा एमालेले एक महिनादेखि जारी राखेको संसद अवरोध खुलाउने संविधान संशोधन, स्थानीय निर्वाचन लगायतका विषयमा साझा धारणा बनाउने तयारी भएको नेताहरुले बताए । बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि, नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष रामनरेश राय यादव, अनिल झा, हृदयश त्रिपाठी लगायत मधेसी मोर्चाका नेताहरु सहभागी छन् । मधेसी मोर्चाको माग सम्बोधनका लागि सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी एमालेसहितका दलहरुले सदन चल्न दिएका छैनन् । संसद अवरोधले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण ऐन, कानुन निर्माणको काम समेत प्रभावित भएको छ । संसद खुलाउन सोमबार सभामुख अोनसरी घर्तीको पहलमा ७ दलको सर्वदलीय बैठक भएपनि एमालेको अडानले निर्णयमा पुग्न सकेको छैन । एमालेको संसद अवरोध जारी राख्ने संकेत देखेपछि प्रधानमन्त्रीले मधेसी मोर्चासहित सत्तासाझेदार दलसँग छलफल गरेका हुन् । आजैको बैठकबाट चुनावको मिति घोषणा गर्ने निर्णय हुने सम्भावना रहेको स्रोतले बताएको छ ।
फेसबुकमा साथी बनेर ठगी गरेको आरोपमा एक जना पक्राउ
सुरुङ्गा (झापा), पुस १२ । फेसबुकको साथीको भर पर्दा बिर्तामोड नगरपालिका–७ निवासी सुष्मा प्रधान राई ठगिएकी छिन् । फेसबुकमा बनाएको साथी माटिन एन्थोनी मार्टको भर पर्दा उनी ठगिएकी हुन् । उनीलाई मार्टले आफू युकेमा रहेको र युकेबाट एप्पलको आइफोन, ल्यापटप र आइप्याड पठाइदिएको भन्दै ठगी गरेको पीडित सुष्माले बताइन् । मार्टले आफूसँग रु दुईलाख १९ हजार ठगी गरेको उजुरी गरेपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले आवश्यक अनुसन्धान पछि कनकाई नगरपालिका–१ दुर्गापुर निवासी ३१ वर्षीय बोदप्रसाद पोखरेललाई पक्राउ गरेको छ । पक्राउ परेका पोखरेललाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोलाई सोमबार बुझाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । उनका अनुसार मार्टले राईलाई फेसबुकमार्फत एभरेस्ट बैंकमा दुई हजार अमेरिकी डलर जम्मा गर्न लगाएको र उक्त रकम पोखरेलले निकालेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । मार्टको नाममा नक्कली आइडी बनाएर पोखरेलले उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ । रासस
बम बिस्फोटनमा १६ जनाको मृत्यु
मोगादिशु, २७ मङ्सिर । सोमालियाको राजधानी मोगादिशुको समुन्द्र बन्दरगाहमा आईतबार भएको आत्मघाती ट्रक बम हमलामा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । ‘हामीले घाइते ४८ जनालाई उद्धार गरेका छौं, अन्य १६ जनाको विस्फोटमा मृत्यु भइसकेको छ,’ मोगादिशुको एम्बुलेन्स सेवाका निर्देशक अब्दीकादीर अब्दीराहमान अदेमले भने । मोगादिशुका स्थानीय बासिन्दाले बम विस्फोट भएपछि धुवाँको मुस्लो माथी आकाशमा देखिएको बताएका छन् । स्थानीय प्रशासनका एक जना प्रवक्ताले बिस्फोट भएको पुष्टी गर्दै झण्डै १० जनाको मृत्यु भएको जानकारी दिएका छन् । उनले घटनाका बारेमा थप अनुसन्धान भईरहेको पनि बताएको छ । अल कायदासँग आवद्ध साबाब आतङ्ककारी समूहले यस आक्रमणको जिम्मा लिएको छ । साबाब नाम विद्रोही संगठनले केही समयदेखि सोमालिया सरकार, सुरक्षा फौज र आम नागरिकलाई लक्षित गरेर हिंसात्मक गतिविधिहरु गर्दै आइरहेका छन् ।
कार्यकर्तालाई प्रधानमन्त्री प्रचण्डको यस्तो निर्देशन
धनगढी, मंसिर २३ । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय निकायको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । कैलालीको गेटामा आयोजित पार्टीको प्रदेशस्तरीय अन्तक्रिया तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय निकायको निर्वाचन नयाँ संरचनाअनुसार गरिने बताए । त्यसका लागि आफ्ना कार्यकर्ताहरुलाई तयारी रहन उनले निर्देशन दिए । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न पनि चुनाव अपरिहार्य रहेको उल्लेख गर्दै नयाँ बन्ने संरचनाअनुसार चुनाव गर्ने सवालमा सहमति हुन नसकेमा पुरानै संरचनाको स्थानीय निकायको चुनाव गर्न पनि तयार हुनुपर्नेमा प्रचण्डले जोड दिए । उनले व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता नहुने समेत दावी गरे । प्रशिक्षणमा ७ नं प्रदेशका नेकपा (माओवादी केन्द्र)का नेता कार्यकर्ताको सहभागिता थियो ।
संविधान संशोधन आवश्यक छ : देउवा
काठमाडौँ, मंसिर २३ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकका तीनवटै तहका निर्वाचन सम्पन्न गराउनका लागि पनि संविधान संशोधन आवश्यक रहेको बताएका छन् । साझा प्रकाशनद्वारा प्रकाशित तथा काँग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित कविता सङ्ग्रह ‘प्रतिज्ञाको पहाड’ को लोकार्पण कार्यक्रममा बोलदै सभापति देउवाले मुलुकमा शान्ति, निर्वाचन र संविधान कार्यान्वयनका लागि संशोधन प्रस्ताव अघि सारिएको बताए । सभापति देउवाले भन्नुभयो – ‘समयमा निर्वाचन हुन्छ र संविधान कार्यान्वयन हुन्छ भने तराई र पहाडका केही जिल्ला यता उता हुँदैमा केही हुँदैन, यसमा नेकपा (एमाले)ले पनि सहयोग गर्ने मेरो विश्वास छ ।’ देशको राष्ट्रिय अखण्डता र सार्वभौमसत्तामा संशोधनले कुनै असर नपार्ने तराई र पहाडका जनताबीच नचाहिँदो दुस्मनी नगराई लोकतन्त्रलाई बलियो बनाउन सबैले सहयोग गर्न आग्रह गरे ।
उपराष्ट्रपति पुनद्वारा उद्योगी–व्यवसायीसँग छलफल
नवलपरासी, मङ्सिर २३ । उपराष्ट्रपति नन्दबहादुर पुनले नवलपरासीका उद्योगी–व्यवसायीसँग बुधबार छलफल गरेका छन् । उपराष्ट्रपति पुनले बुधबार बेलुुका जिल्लाको सुनवलस्थित लोटस रिसोर्टमा जिल्लाका उद्योगी–व्यवसायीसँग छलफल गरेका हुन् । सो क्रममा उपराष्ट्रपति पुनले नवलपरासी जिल्लाको आर्थिक र औद्योगिक अवस्थाबारे उद्योगी–व्यवसायीसँग छलफल गरेको उद्योग वाणिज्य सङ्घ नवलपरासीका अध्यक्ष भीमबहादुर थापा (भरत)ले जानकारी दिए। यसैगरी, उपराष्ट्रपति पुनले बुधबार बेलुुका नै जिल्लाका सुरक्षा निकायका प्रमुखसँग समेत जिल्लामा पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका थिए । आजदेखि नवलपरासीको सुनवलमा सञ्चालन हुुन लागेको पश्चिमाञ्चलस्तरीय नवलपरासी औद्योगिक व्यापार मेला उद्घाटन गर्ने सिलसिलामा उपराष्ट्रपति पुनः बुधबार साँझ नै नवलपरासी आएका हुन् । बुधबार राति लोटस रिसोर्टमा बस्नु उपराष्ट्रपति पुन आज बिहान भगवान् गौतमबुद्धको अष्टधातु रहेको नवलपरासीको रामग्राम स्तुपाको अध्ययन र अवलोकन गर्ने कार्यक्रम छ । यसैगरी दिउँसो १२ः३० बजे औद्योगिक व्यापार मेला उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्योग वाणिज्य सङ्घ नवलपरासीको मुख्य आयोजनामा जिल्लाको सुनवलमा आज सुरु हुने मेला आगामी पुस ३ गतेसम्म चल्नेछ । मेलामा करिब तीनसय स्टल रहनेछन् । मेलाको कुल तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा करिब रु १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको आयोजक उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् मेला मूल आयोजक समितिका संयोजक भरतले बताए । तेस्रोपटक उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको यस वर्षको मेलाको मुख्यद्वारमा मायादेवीको मन्दिर मूल आकर्षणका रूपमा रहेको छ । मेलामा नवलपरासी रुपन्देही, चितवनसहित छिमेकी भारतीय बजारबाट समेत विदेशी अवलोकनकर्ता आउने अनुमान छ । मेलाको मुख्य आकर्षणका रूपमा यसपटक हेलिकप्टर र डुङ्गाको यात्रा रहनेछ । रासस
बुटवल बन्द फिर्ता
तिलोत्तमा (रुपन्देही), मङ्सिर २२। पाँच नम्बर प्रदेशका केही जिल्ला हेरफेर हुने गरी सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेको भन्दै एक हप्तादेखि बुटवलमा जारी बन्द आज साँझदेखि फिर्ता भएको छ । नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले आन्दोलनको स्वरुप परिवर्तन भएको भन्दै बन्दका कार्यक्रम फिर्ता लिइएको बताए । उनले संशोधन प्रस्ताव छलफल नहुँदासम्म बन्दका कार्यक्रम फिर्ता लिइएको बताए । एक हप्तादेखि बुटवलमा बन्द, हड्ताल हुँदा उद्योगी, व्यापारी, विद्यार्थीलगायत सर्वसाधारण मर्कामा परेका थिए । कपिलवस्तुः– संशोधन प्रस्तावको विरुद्धमा आन्दोलनमा उत्रिएको नेकपा (एमाले)लगायत राजनीतिक दलले आह्वान गरेको आनिश्चितकालीन कपिलवस्तु बन्द फिर्ता लिइएको छ । आज जिल्लाको वाणगङ्गामा बसेको सङ्घर्ष समितिको बैठकले बन्द हड्तालाई छाडेर आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण आन्दोलन गर्ने जनाएको छ । आन्दोलनको स्वरुप मात्रै परिवर्तन भएको तर आन्दोलन भने नरोकिएको एमालेका जिल्ला अध्यक्ष एवम् सङ्घर्ष समितिका संयोजक झविलाल पोख्रेलले बताए। रासस
कर्मचारीहरुद्वारा तलब कटाएर दलित अपाङ्गलाई राहत
जाजरकोट, मंसिर १५। यहाँको पहाडी क्षेत्र विकास अभियानको पहल कार्यक्रममा काम गर्ने कर्मचारीले आफ्नो तलब कटाएर दलित अपाङ्गलाई सहयोग गरेका छन् । जिल्लाको अति विकट नायक वडा– ३ गाविसका अति गरिब परिवारका विद्यार्थी २६ वर्षीय मोहनीलाल कामीलाई रु ५८ हजार ५०० सहयोग गरिएको पहल कार्यक्रमका संयोजक महेन्द्र विक्रम शाहीले जानकारी दिएको छ। पहल कार्यक्रममा काम गर्ने १७ जना कर्मचारीको आफ्नो तलबबाट कटाएर अपाङ्ग भएका विद्यार्थी मोहनीलाललाई सो रकम शनिबार हस्तान्तरण गरिएको हो । मोहनीलालले रकमकै अभावमा भेरी ज्ञानोदय क्याम्पसमा परीक्षाको रकम तिर्न नसक्दा बिएड प्रथम वर्षमै रहन बाध्य भएका थिए । रकम भएको भए उनले अहिले बिएड तेस्रो वर्षमा अध्ययन गर्दै रहेका थिए। मासिक फिस, परीक्षा शुल्क तिर्न नसक्दा बिएड प्रथम वर्षमै रहन बाध्य भएको मोहनीलालको भनाइ छ । मोहनीलाल आफू त अपाङ्ग हुनुहुन्छ नै ,उनका भाइ सुरेन्द्र कामी र बहिनी विजश्वरी कामी समेत अपाङ्ग भएका कारण आमाबुवाले उचित हेरचाह गर्न नसकेको मोहनीलालको भनाइ छ। अरु अपाङ्ग भएका भाइबहिनी विद्यालयको मुखै देख्न पाएका छैन्न मोहनीलालले भनेका छन् । “दैनिक अर्काको मजदुरी गरेर गुजरा चलाउने यो कामी परिवार छोराछोरी सबै अपाङ्ग भएपछि निकै चिन्तित भएको मोहनीलालका बुबा सुरेन्द्र कामीले बताएको छ ।” सबै जन्मजात अपाङ्ग भएको उनको भनाइ छ । ‘काम गरेर खाने हामी गरिब त्यसमा पनि समुदायमा कसरी अपाङ्ग छोराछोरीलाई हुर्काउने हामी दुखीलाई कसले हेर्छ’ र मोहनीलालकी आमा पम्फा कामीले दुखेसो पोखेका छन् ।
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । देशका तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राति कोसी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुने
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचन फागुन २९ गते हुने भएको छ । राष्ट्रिय सभाले तयार पारेको सम्भावित कार्यसूचीअनुसार फागुन २९ मा राष्ट्रिय सभा अध्यक्षको चुनाव गर्ने तयारी गरिएको हो। राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श शाखाले तयार पारेको सम्भावित कार्यपालिका अनुसार माघ महिनामा २२ गते, २४ गते, २८ गते र २९ गते बैठक बस्नेछ। साथै फागुनमा ५ गते, ११ गते, १४ गते, १७ गते, १८ गते, २१ गते, २७ गते, २९ गते र ३० गते बैठक हुनेछ। कार्यपालिका अनुसार संसद् सञ्चालन हुने हो भने फागुन २९ गते राष्ट्रिय सभाको अध्यक्षको चुनाव हुनेछ। गत माघ ११ गते रिक्त १९ सदस्यका लागि राष्ट्रिय सभा चुनाव भएको थियो। नेपाली काँग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का ५, नेकपा (एकीकृत समाजवादी) का २, जसपाका १ र नेकपा (एमाले) का १ जना निर्वाचित भएका थिए। यससँगै राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित ठूलो दल बनेको छ। १६ सांसदसहित काँग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो र ८ सांसदसहित एकीकृत समाजवादी चौथो दल बनेको छ।
यस्तो छ राष्ट्रियसभा निर्वाचनको नमुना मतपत्र
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ । आयोगले वेबसाइटमा नमुना मतपत्र सार्वजनिक गरेको हो । नमुना मतपत्रमा उमेदवारहरूको नाम राखिएको छ । क्लष्टरहरूअनुसार छुट्टाछुट्टै मतपत्र छ । नमुना मतपत्रको रङ गुलाबी र निलो हरियो छ । आउँदो माघ ११ गते १९ पदका लागि चुनाव हुँदैछ ।
सहकारीका ठगलाई कानुनको कठघरामा ल्याउँछौं : अर्थमन्त्री डा. महत
रामपुर । अर्थमन्त्री डा. प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने ठगलाई कानुनको कठघरामा ल्याउँने बताएका छन् । शुक्रबार अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था को रजत महोत्सवमा बोल्दै मन्त्री डा.महतले भने, ‘बचतकर्ताको विश्वास दुरुपयोग गर्नेहरु एकक्षणका लागि कानुनको दायराबाट भाग्ला, तर सधैं भाग्न सक्दैन । सर्वसाधारणको बचत दुरुपयोग गर्नेहरु कानुनको कठघरामा आवश्य आउँछन् । मेहनत गरेर जम्मा गरेको बचत केही व्यक्तिलाई दुरुपयोग गर्न छुट छैन ।’ निजी, सार्वजनिक र सहकारी क्षेत्रको सहभागिता बिना देशको आर्थिक र सामाजिक रुपान्तरण सम्भव नभएको स्पष्ट पार्दै मन्त्री डा.महतले भने, ‘स्थानीयले मेहनत गरेर कमाएको बचत सहकारीमा जम्मा भएको हुन्छ, त्यसले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । त्यसकारण सहकारीलाई हामीले प्रवद्र्धन, व्यवस्थापन र नियमन गरियो भने नेपालको आर्थिक रुपान्तरणको हतियार बन्छ । नियमनको अभावमा समस्या आए, तर अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था उदाहरण बनेको छ, देशैभरि सहकारी यसरी नै उदाहरण बनेर काम गर्नुपर्ने पर्छ ।’ स्थानीय तहका स–साना बचत परिचालन गर्ने, स–साना आवश्यकता पूर्ति गर्ने, जीविकोपार्जनसँग यसलाई जोड्ने र स्थानीय तहकै जो सदस्य छ, उनीहरुले नै नेतृत्व लिने सहकारीको मूल अवधारणा रहेको मन्त्री डा. महतले बताए । यसैकारण यसलाई सहकारी मन्त्रालयअन्तर्गत राखिएको हो । यसलाई राष्ट्र बैंक वा अन्य कुनै नियमक निकाय खडा गरिएन । उनले भने, ‘हेर्दाहेर्दै यसले विशाल रुप लिएछ । कतिपय ठाउँमा ब्राण्डको रुप लियो, देशैभरि फैलियो । त्यसका व्यवस्थापक को छन् सदस्यहरुलाई नै थाहा हुँदैन । यसको नियमक निकाय नभएर यस्तो भएको हो, जसका कारण केही सहकारीमा समस्या देखियो ।’ उनले भने, ‘बजेट निर्माणका बेला सहकारी हेर्ने छुटै नियमक निकाय गठनको कुरा गरेको थिएँ, त्यो प्रकृया अगाडि बढेको छ । हामी सबै हेर्न सक्दैनौं राष्ट्र बैंकले भनेको छ, वित्तीय संस्था, माइक्रो फाइनान्स र बैंकभन्दा बाहिर जान सक्ने हाम्रो अवस्था छैन भनेपछि वैकल्पिक नियमक निकाय गठनको तयारीमा हामी गइरहेका छौं ।’ उनले सहकारीको विषय राष्ट्रिय रुपमै प्रश्न उठेको बताए । तर अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था पारदर्शी ढंगले वचतकर्ताको एक–एक पैसाको सुरक्षा सुरक्षा गरेकोमा उनले खुशी व्यक्त गरे । उक्त सहकारी संस्थाको रजतमहोत्सवमा बोल्दै मन्त्री डा.महतले भने, यसका स्थानीय ११ हजार सदस्यलाई सन्तुष्ट हुनुहुन्छ, एक पैसा दुरुपयोग हुँदैन भने, एकदमै खुशीको कुरा हो ।’
सुनको मूल्य घट्यो
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा २०० रुपैयाँ घटेको छ । आज छापावाल सुन तोलाको एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन तोलाको एक लाख २० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलामा एक हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बालकुमारी तनाब : अर्का घाइतेको पनि मृत्यु
काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाहरूले गरेको प्रदर्शनका क्रममा अर्का एकजनाको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीका वीरेन्द्र साह रहेका छन् । योसँगै प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या दुई पुगेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए । प्रदर्शनका क्रममा घाइते भएकाहरूको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको पाटन अस्पतालमा मृत्यु भएको हो । उनको बायाँ खुट्टा र नाइटोमुनि गोली भेटिएको प्रहरीले जनाएको छ । प्रदर्शनमा उत्रिएका युवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर आगजनी समेत गरेका थिए ।
सरकारको ध्यान अब गेम चेञ्जर ठूला जलविद्युत आयोजनामा : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब सरकारले गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा ध्यान केन्द्रित गरिरहेको बताएका छन् । सरकार एक वर्ष पूरा भएको अवसरमा देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत, बंगलादेश र चीनसमेत हाम्रो विद्युत् व्यापारका साझेदार बन्ने परिस्थिति तयार भएकाले सरकार गेमचेन्जर ठूला जलविद्युत् आयोजनाहरूमा लागेको बताएका हुन् । बुढीगण्डकी जलविद्युत् आयोजनाका लागि पेट्रोलियम पदार्थमा लगाइँदै आएको पूर्वाधार करसमेत सोही आयोजनालाई उपलब्ध गराइने र स्रोतको अभाव हुन नदिने स्पष्ट गर्दै उनले तीन वर्षभित्र सम्पन्न गर्ने गरी नेपाल विद्युत् प्राधिकरणबाट १०,८०० मेगावाट क्षमताको कर्णाली चिसापानी जलविद्युत् आयोजनाको थप अध्ययन सुरु भएको जानकारी दिए । त्यस्तै १,९०२ मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको अध्ययन सम्पन्न भएको जानकारी दिंदै प्रधानमन्त्री प्रचण्डले हाल कार्यान्वयनमा रहेको ९०० मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत आयोजनालाई आफूले सिधै पनि सहजीकरण गरिरहेको र १,०६३ मेगावाट क्षमताको माथिल्लो अरूण आयोजनालाई लगानी जुटाउने कार्य अन्तिम चरणमा पुगेको बताए । आउँदो दुईदेखि तीन महिनाभित्र टेस्टिङ कमिसनिङ भइरहेका थप आयोजनाहरूबाट करिव ५६४ मेगावाट उत्पादन थप हुने जानकारी दिंदै उहाँले हालसम्म ९,१६४ मेगावाटका जलविद्युत् आयोजनाको निजी क्षेत्रसँग विद्युत् खरिद सम्झौता सम्पन्न भएको र जसमध्ये यस वर्षमात्र करिव २२ सय मेगावाट बराबरको विद्युत् खरिद सम्झौता सम्पन्न भएको स्पष्ट गरे। ‘सुनकोशी मरिन डाइभर्सन तथा कमला डाइभर्सन सिंचाइ आयोजनाहरूलाई समेत थप पानी उपलब्ध गराउन सक्ने ६७८ मेगावाट क्षमताको सुनकोशी तेस्रो जलविद्युत् आयोजना पनि सरकारको प्राथमिकतामा छ’– प्रधानमन्त्री प्रचण्डले भने– ‘राष्ट्रिय गौरव र रूपान्तरणकारी आयोजनाहरू अब एआईजडित ड्रोन प्रविधिबाट नियमित अनुगमन गर्ने प्रणाली जडान गरिँदैछ। प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट यस्ता आयोजनाहरूको नियमित अनुगमन गर्न मैले सुरु गरिसकेकोछु ।’