यस्तो छ राष्ट्रियसभा निर्वाचनको नमुना मतपत्र
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको नमुना मतपत्र सार्वजनिक गरेको छ ।
आयोगले वेबसाइटमा नमुना मतपत्र सार्वजनिक गरेको हो । नमुना मतपत्रमा उमेदवारहरूको नाम राखिएको छ । क्लष्टरहरूअनुसार छुट्टाछुट्टै मतपत्र छ ।
नमुना मतपत्रको रङ गुलाबी र निलो हरियो छ । आउँदो माघ ११ गते १९ पदका लागि चुनाव हुँदैछ ।
राम्रो काम माओवादीले गर्यो, जस अरूले लिए : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी रूपान्तरण र गतिशील बनाउन नसके मुलुकको परिवर्तनको रक्षा हुन नसक्ने बताएका छन् । शनिबार काठमाडौंमा पार्टीको बूढानीलकण्ठ नगर सम्मेलनको उद्घाटन गर्दै उनले माओवादीको नेतृत्वमा नै मुलुकमा परिवर्तन स्थापित भएको जिकिर गरे । पार्टी रूपान्तरण र गतिशील बनाउन नसके माओवादीको भविष्यका साथै परिवर्तनको रक्षा हुन नसक्ने उनको भनाइ थियो । माओवादीलाई बलियो बनाए मात्र मुलुकको परिवर्तनको रक्षा हुन सक्ने उनले बताए । आउँदो फागुनमा विधान अधिवेशन गरेर पार्टीमा नयाँ ढंगले विचार संश्लेषण गरिने उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले काठमाडौं उपत्यकामा रहेको स्ववासीको समस्या हल गर्न नयाँ ऐन ल्याउने र लालपुर्जा वितरणको तयारी भइरहेको बताए । आफ्नो दोस्रो कार्यकालमा काठमाडौं उपत्यकामा लोडसेडिङको अन्त्य गरिएको भन्दै उनले तेस्रो कार्यकालमा सिंगो देश उज्यालो बनाउने गरी योजना बनाइएको उल्लेख गरे । माओवादीले आफ्नो पालामा निकै राम्रो काम गर्ने गरेको भए पनि जस अरूले लिएको जिकिर उनले गरे । “दोस्रो प्रधानमन्त्रीत्त्वकालमा लोडसेडिङ अन्त्य । मैले जनार्दन (शर्मा)लाई ऊर्जामन्त्री बनाएपछि, कुलमान (घिसिङ)लाई एमडी बनाएपछि र हामी सबै मिलेर यो स्थितिको अन्त्य गर्नुपर्छ भनेपछि लोडसेडिङको अन्त्य गरिएको हो । उज्यालो नेपालको नयाँ युगमा प्रवेश गरिएको हो,” उनले भने, “तर, हामीले यत्ति ठूलो चिज पनि राम्रोसँग बिक्री गर्न सकेनौँ । अरूले नगरेको काम पनि गरेको जस्तो गरी प्रचार गर्छन्, हामीले गरेको पनि राम्रोसँग भन्न सकिएन । अहिले तेस्रोपटक म प्रधानमन्त्री हुँदै गर्दा अब सिंगै देशमा एउटा पनि घर विद्युत् नपुगेको रहने छैन । डेढ वर्षभित्र पूरै देश उज्यालो हुनेछ । यो लक्ष्यसहित हामी अघि बढेका छौँ ।” देशका सबै उत्पीडित, वर्ग, जाति, क्षेत्र, समुदायको हक–अधिकारका निम्ति इमानदारितापूर्वक लड्ने पार्टी माओवादी भएको उनले बताए । सबैको साथ रहेमा अर्कोपटकको निर्वाचनमा माओवादी सबैभन्दा ठूलो पार्टी बन्ने विश्वास उनले व्यक्त गरे ।
कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ
काठमाडौं । कानुनलाई हातमा लिने र अराजकता फैलाउनेलाई छुट दिन नसकिने उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको भनमई छ । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समाजवाद उन्मुख समावेशी लोकतन्त्रलाई कार्यान्वयन गर्न अवरोध गर्ने स्थिति आउन नदिने बताएका हुन् । मन्त्री श्रेष्ठले संविधानले संस्थागत गरेको लोकतान्त्रिक प्रणालीले नागरिकलाई दिएको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, “अहिले जुन प्रकारको गतिविधि गर्न खोजिएको छ, त्यसलाई व्यवस्थामाथि नै ठूलो चुनौतीका रुपमा लिएका छैनौँ ।” संविधान र लोकतान्त्रिक पद्धतिलाई रक्षा गर्नका लागि अझै गम्भीरतापूर्वक सरकार लागिपर्ने उनको भनाइ छ । मन्त्री श्रेष्ठले भने, “सामाजिक सञ्जाललाई बन्द गर्ने कुरा हामीले गरेका छैनौँ । एउटा टिकटकमाथि यस प्रकारको निर्णय गरिएको हो ।” अन्य सामाजिक सञ्जाल बन्द गर्न लागेको हो भन्ने प्रश्नमा उनले थपे, “अरू सामाजिक सञ्जालका बारेमा चर्चा परिचर्चा भइरहेको छ । त्यो कुरा सत्य होइन । हामी नियमन गर्छौँ ।” सामाजिक सञ्जालले लोकतन्त्र, सामाजिक एकता, व्यक्तिको एउटा स्वतन्त्र बाँच्न पाउने अधिकार, सभ्यता, संस्कृतिलाई रक्षा गर्न योगदान पुर्याउनुपर्ने गृहमन्त्री श्रेष्ठले बताए । उनले भने, “हामी स्वतन्त्रलाई कुण्ठित गर्दैनौँ । हामी यसलाई नियमन गर्ने दिशातर्फ मात्रै गइरहेका छौँ ।” सङ्घीयताको रक्षा गर्ने, त्यसलाई अझ परिमार्जन गर्ने र कार्यान्वयनको प्रक्रियामा जाने मन्त्री श्रेष्ठको भनाइ छ । उनले भने, “एकाध त्यस्ता आवाज आउँछन् भने हामीले त्यसलाई अन्यथा ठान्नु हुँदैन । त्यस्तो आवाज राख्न पाउने अधिकारको पनि हामी रक्षा गर्छौँ ।”
युद्धविरामकाे आज तेस्रो दिन हमासले छोड्यो १७ जना
काठमाडौं । चारदिने युद्धविरामकाे आज तेस्रो हमासले इजरायलका १३ जना, थाइल्यान्डका तीनजना र रुसका एकजना गरी १७ जनालाई छाडेको छ । पहिलो दिन हमासले इजरायलका १३, थाइल्यान्डका १० र फिलिपिन्सका एक गरी २४ जनालाई रिहा गरेको थियो । दोस्रो दिन हमासले इजरायलका १३ र थाइल्यान्डका चारजनालाई छाडेको थियो । इजरायलले ३९ जना प्यालेस्टाइनीलाई छाडेको थियो । हमास र इजरायलबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले चारदिने युद्धविरामलाई लम्ब्याउन सकिने आशा गरेको बताएको छ । नेपाल सरकारले मध्यस्थकर्ताको भूमिकामा रहेको कतारसँग विपिनलाई छुटाउन पहल गरिदिन आग्रह गरेको छ । गएको शुक्रबारमात्र प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’, परराष्ट्रमन्त्री एनपी साउदसहित सरकारी अधिकारीहरूले नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीसँग विपिनको सकुशल रिहाइमा सघाउन आग्रह गरेका छन् ।
जाजरकोटमा गयो भूकम्पको अर्को परकम्प
काठमाडौं । जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ । बुधबार साँझ ७ः५० बजे जाजरकोटको पइन्क आसपास ३.५ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत शुक्रबार राति गएको जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि निरन्तर परकम्प गइरहेको छ । भूकम्प मापन केन्द्रका अनुसार बुधबारसम्म झन्डै ४६६ भन्दा धेरै परकम्प मापन गरिएको छ ।
कोसीमा प्रदेशसभा बैठक आह्वान, विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरेका छन्। कोसी प्रदेशसभाको बैठक आउँदो कात्तिक १ गते बस्ने बोलाइएको छ ।तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिनुअगावै पदबाट राजीनामा दिएपछि असोज २० गते बैठक स्थगित गरिएको थियो । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी सो बैठक कात्तिक १ गते बुधबारका निम्ति बोलाइएको जनाएको छ । बैठक बुधबार बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको छ । बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने तयारी गरिएको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुअघि दलका नेताहरूसँग छलफल गर्ने तयारी गरेका छन् । उनले विश्वासको मत लिने प्रस्तावको सूचना आज प्रदेशसभा सचिवलाई दिने बताइएको छ । मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।
इजरायल द्वन्द्व : नेपालीको अवस्थाबारे ब्रिफिङ गर्दै परराष्ट्र मन्त्रालय
काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीको अवस्थाबारे जानकारी गराउन नियमित प्रेस ब्रिफिङ गर्ने भएको छ । हमासको आक्रमणपछि इजरायलयमा रहेका नेपालीको अवस्था, उद्धारको प्रक्रिया, शव नेपालमा ल्याउन चालिएको कदमसहितका विषयमा जानकारी गराउन परराष्ट्र मन्त्रालयले आजदेखि नियमित प्रेस ब्रिफिङ गर्न लागेको हो । प्रेस ब्रिफिङ अपराह्न साढे ४ बजे हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३२४ जनाले अनलाइन रजिस्ट्रेसनमार्फत विवरण उपलब्ध गराएका छन् । उनीहरूमध्ये २८८ जनाले नेपाल फर्किन चाहेको बताएका छन् । बाँकी ३६ जनाले सुरक्षित स्थानमा स्थानान्तरण हुन चाहेका छन् । असोज २० गते हमासको आक्रमणमा परेर १० नेपाली विद्यार्थीको निधन भएको थियो । एकजना अझै सम्पर्कविहीन छन् ।
आज राष्ट्रिय शोक, झन्डा आधा झुकाइने
काठमाडौं । सरकारले आज राष्ट्रिय शोक घोषणा गरेको छ । इजरायलमा हमास समूहको आक्रमणमा १० नेपालीको निधन भएकोमा सरकारले आजका लागि राष्ट्रिय शोक घोषणा गरेको थियो । सञ्चारमन्त्री रेखा शर्माका अनुसार आज सरकारी कार्यालयमा झन्डा झुकाउनेछ । “असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको छ,” उनले भनेकी छन् । देशभरका सरकारी कार्यालयहरूमा र विदेशस्थित नियोगमा झन्डा आधा झुकाउने निर्णय भएको उनले बताएकी छन् ।
विद्यालय शिक्षा विधेयक सङ्घीयता विरोधी छ : सांसद राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सिके) राउतले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयक सङ्घीयता विरोधी रहेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सो विधेयकमा उल्लेख गरिएको जिल्ला शिक्षा कार्यालय राख्ने प्रावधान तत्काल हटाउन पनि सरकारसँग माग गरे। अध्यक्ष राउतले सो विधेयकमा कक्षा १० पछिको एक वर्ष अनिवार्य प्राविधिक शिक्षा अध्ययन गर्नुपर्ने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । उनले सो विधेयकमा सरकारले विद्यार्थी र अभिभावकहरुको सरोकारलाई सम्बोधन गर्नुपर्ने पनि बताए । ‘‘यो शिक्षा विधेयक जसका लागि ल्याइएको हो । जसको प्रयोजनको लागि ल्याइएको हो । त्यो नै स्पष्ट नभएको, त्यसको नै पर्याप्त छलफल नभएको, त्यसलाई नै पर्याप्त सम्बोधन नगरेको जस्तो यहाँ देखिन्छ । त्यही भएर यहाँ शिक्षकहरुले पनि आन्दोलन गरे । आफ्नो तलब, सेवा, सुविधा वृद्धिका लागि यहाँ सम्झौता गरियो । निजी विद्यालयहरुले पनि यहाँ आन्दोलन गरे । आफ्नो माग पूरा गरे । तर गरिव विद्यार्थीहरुका लागि चाहीँ कसले बोलिदिने ? आम विद्यार्थीहरुका लागि चाँही कसले बोलिदिने ? त्यो चाँही यहाँ नभएको हुनाले म बोल्न बाध्य भएको हुँ । र सरकारको ध्यानाकर्षण गराउन बाध्य भएको हो । र खासगरी शिक्षा विधेयक हामी जुन प्रयोजनका लागि ल्याउँदैछौं । त्यो सरोकारवाला विद्यार्थी, अभिभावकहरुलाई समेटेर तिनका सरोकारलाई सम्बोधन गर्नका निम्ति अनुरोध गर्न चाहन्छु ।, अध्यक्ष राउतले भने, ‘‘खासगरी विद्यार्थीहरुले कस्तो खालको शिक्षा पाउने, त्यसको गुणस्तर कस्तो हुने, त्यसमा पहुँच कस्तो हुने, त्यसमा सहज अवस्था छ कि छैन ? त्यो कुरालाई चाँही विधेयकले नै सम्बोधन गर्नुपर्ने जस्तो मलाई लाग्छ । र त्यतातिर ध्यान दिन आग्रह गर्न चाहन्छु । हाम्रो पार्टीका १० कक्षा पछि एक वर्ष अनिवार्य रुपले प्राविधिक शिक्षा दिनैपर्ने खालको अवधारणा ल्याएको थियो । त्यस्तो खालको नीति पनि राख्न सकिन्छ कि भनेर म सरकारलाई अनुरोध गर्न चाहन्छु । अहिले विधेयक संकीर्णवादी छ । यो विधेयक संघीयता विरोध पनि देखिएको छ । जिल्ला शिक्षा कार्यालय खारेज गर्नुपर्छ ।’’ अध्यक्ष राउतले सो विधेयक संकिर्णवादी सोचका साथ आएको बताए । ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट १२ करोड रुपैयाँले बढ्यो
काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि ८ अर्ब ७१ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि सञ्चार मन्त्रालयको बजेट सामान्य बढाएका छन् । चालु आवमा सञ्चारमा ८ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।
कानुनविद्को सल्लाह सुझावका आधारमा सरकारले चौधरीलाई रिहाइ गर्ने निर्णय गरेको हो : सञ्चारमन्त्री शर्मा
काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले कानुनविद्हरूको सल्लाह सुझावका आधारमा सरकारले रेशम चौधरीलाई रिहाइ गर्ने निर्णय गरेको स्पष्ट पारेकी छिन् । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक कार्यक्रममा मन्त्री शर्माले कानुनविद्को सल्लाहका आधारमा कानुनबमोजिम चौधरीलाई रिहाइ गर्ने निर्णय भएको जानकारी दिइन्। ‘हामीले कानुनविद्हरूसँगको राय सल्लाह परामर्शबाट निर्णय गरेका हौँ। हामीले लिएको रायअनुसार कानुनतः ठिक छ भन्ने छ। कानुनभन्दा बाहिरबाट गरेका छैनौँ,’ उनले भनिन्। आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई जेठ १५ गते आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। टीकापुर हत्या काण्डका मुख्य दोषी ठहरिएका चौधरी हाल डिल्लीबजार कारागारमा जेलजीवन बिताइरहेका छन्।
प्रहरीलाई राजनीतिक दबाब वा अवान्छनिय प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीलाई राजनीतिक दबाब वा अवान्छनिय प्रभावबाट मुक्त भएर अनुसन्धान गर्न निर्देशन दिएको बताएका छन् । सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा श्रेष्ठले सरकारले सुशासनलाई केन्द्रबिन्दुमा राखेर काम गर्ने भन्दै भ्रष्टाचारका सबै प्रकरणहरूको अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका हुन् । निर्दोष नफस्ने र दोषी नछुट्ने गरी प्रहरीले निष्पक्ष ढङ्गले अनुसन्धान प्रक्रिया अघि बढाएको उनले बताए । श्रेष्ठले प्रमाणका आधारमा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाले अनुसन्धानले पुष्टि गरेको आधारमा कारबाहीको दायरा बढाउने सरकारको प्रतिबद्धता रहेको बताए । मन्त्री श्रेष्ठले भ्रष्टाचारका सबै प्रकरणहरूको अनुसन्धान गर्ने प्रतिबद्धता जनाएका छन् । नक्कली भूटानी शरणार्थी प्रकरणमा अनुसन्धान जारी रहेको भन्दै उनले यस प्रकरणमा मात्रै नभई भ्रष्टाचारका सबै प्रकरणको अनुसन्धान हुने जिकिर गरे । नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धानको समय निकै कम भएकाले प्रहरी प्रशासनले तीव्र रूपमा काम गरिरहेको उनको भनाइ छ । उनले संसद् र सडकबाट भएको भ्रष्टाचार विरोधी कदमको समर्थन रहेको भन्दै सरकार कुनै दबाबको अगाडी नझुक्ने स्पष्ट पारे । उनले भ्रष्टाचार र कमिशलको जालोले देशलाई बरबाद पारेको भन्दै राज्यका सबै निकायहरूले यसलाई केन्द्रमा राखेर समाधान गर्नुपर्ने पनि बताए । बैठकमा कांग्रेस सांसद विश्वप्रकाश शर्माले दोषी नछुट्ने र निर्दोष नफस्ने विषयमा सबै सजक रहेको भन्दै सरकारले गरेको अनुसन्धानमा सबैको साथ रहेको बताए । त्यस्तै बैठकमा समिति सदस्यहरूले समितिको काम कारबाहीलाई प्रभावकारी बनाउनुपर्ने र दिएका निर्देशनका साथै सुझावहरूलाई सरकारले कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए भने उपप्रधानमन्त्री श्रेष्ठले समितिले दिएका सुझावहरूलाई सरकारले गम्भीर रूपमा लिएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए ।
यस्तो छ सोमवारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तैगरी, आज डलरको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रुपैयाँ ३२ पैसा र बिक्री दर १४२ रुपैयाँ ९७ पैसा रहेको छ। यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४२ पैसा र बिक्री दर १६४ रुपैयाँ १७ पैसा रहेको छ। यस्तैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९८ पैसा र बिक्री दर ३५ रुपैयाँ १४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
मन्त्री रिजालले गरे उदयपुर सिमेन्ट उद्योगको अनुगमन तथा निरीक्षण
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले उदयपुर सिमेन्ट उद्योग लिमिटेडको अनुगमन तथा निरीक्षण गरेका छन्। मन्त्री रिजालले आज उद्योगको प्लान्ट तथा खानि क्षेत्रको स्थलगत अनुगमन तथा निरीक्षण गरेका हुन्। उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले रिजाललाई प्लान्ट तथा खानि क्षेत्रको स्थलगत जानकारी गराएका थिए। अनुगमनका क्रममा मन्त्री रिजालले उद्योगको खानि विभागमा कार्यरत कर्मचारीहरूलाई भेटेका थिए । कर्मचारीहरूले मन्त्रीसमक्ष आ–आफ्ना समस्या तथा गुनासो राख्दै सम्बोधन गरिदिन आग्रह गरेका थिए। अनुगमन तथा निरीक्षणमा आफ्नो मुख्य उद्देश्य नै कर्मचारीको भावना बुझ्ने रहेको बताउँदै रिजालले यथाशीघ्र सबै समस्याको समाधानका लागि आफू अग्रसर रहने बताए।
‘युवाविद्यार्थीहरू हो तपाईहरुले सपना देख्नुहोस्, त्यो सपना तपाई हाम्रो सुन्दर जीवनको सपना हो’ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवा विद्यार्थीले देशलाई सहि बाटोमा लैजान सपना देख्नुपर्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले युवाहरूले देख्ने सपना देशको सुन्दर जीवनको सपना हुने बताए । साथै ती सपना सुन्दर, सुखी नेपालको सपना हुने प्रधानमन्त्री प्रचण्डको भनाई थियो । “तपाई पनि सपना देख्नुहोस्, त्यो सपना तपाई हाम्रो सुन्दर जीवनको सपना हो, सुन्दर, सुखी नेपालको सपना हो”,प्रधानमन्त्री प्रचण्डले भने , “कुनैबेला तपाईहरु जस्तै शैक्षिक परीक्षामा सहभागी हुँदा मैले पनि सपना देख्ने गर्दर्थे ।” आफूले अन्याय, गरिबी, शोषण र विभेदको अन्त्य गर्ने सपना देखेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो । “आज मैले देखेको सपना कति पूरा भयो भएन त्यसको समीक्षा इतिहासले र समाजले गर्नेछ”, उनले भने, “परिर्वतनको सपना नदेखेको भए आज हामी यो व्यवस्थासम्म पुग्ने थिएनौँ कि ।” आफूले राजनीतिक उपलब्धि प्राप्त गरिसके पनि सपना देख्न नछोडेको उनले बताए । प्रधानमन्त्री प्रचण्डको सुदुरपश्चिम यात्राको सन्दर्भ दीक्षान्त समारोह मूल रहेपनि उनले सुपमा ८ घण्टाको समय व्यतित गरे । र्पूवमाओवादी नेता तथा हालका एमाले सचिव लेखराज भट्टको घरमा भेटघाट गर्ने देखि उनी गेटा मेडिकल कलेजबारे पनि समय दिन भ्याए । भ्रमणमा भए गरेका कार्यक्रमहरूले प्रधानमन्त्री प्रचण्ड ले सुदूरपश्चिमलाई विकासको नयाँ चरणमा लैजाने सङ्कल्प लिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले विकासको नयाँ चरणमा सबैको साथ रहनुपर्ने धारणा राखे। उनले समाज रुपान्तरणको कार्यदिशा निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न सक्नुपर्नेमा जोड दिँदै त्यसका लागि विश्वविद्यालयको शिक्षा सिर्जनात्मक, युग सुहाउँदो, वैज्ञानिक एवं प्राविधिक जनशक्ति उत्पादन गर्ने किसिमको आवश्यक रहेको बताए । “विश्वको प्रतिस्पर्धी शैक्षिक बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि विश्वविद्यालयले समयानुकूल शैक्षिक तथा व्यवस्थापकीय सुधार गर्दै अघि बढ्न जरुरी छ ।” प्रधानमन्त्री प्रचण्डले भने । स्थापनाको छोटो अवधिमा सुदूरपश्चिम विश्वविद्यालयले महत्वपूर्ण शैक्षिक कार्यक्रम सञ्चालन गर्न सफल भएकामा उहाँले खुसी व्यक्त गरे । “सरकारले डडेल्धुरामा आङ्गिक क्याम्पस खोल्ने र डडेल्धुरा अस्पताललाई विश्वविद्यालयको सङ्कायका रुपमा रहने गरी सरोकारवाला मन्त्रालय र विश्वविद्यालयबीच सम्झौता भएको छ”, उनले भने, “उक्त क्याम्पस सञ्चालनका लागि आवश्यक बजेट तथा जनशक्ति व्यवस्थापनका लागि सरकारको पूर्ण सहयोग रहनेछ ।” दीक्षित विद्यार्थीप्रति लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले परिवार, समाज र देशका लागि पाइला पाइलामा परीक्षा दिनुपर्ने उल्लेख गर्दै उनले अबका परिणामले समाज र देशको भविष्य निर्धारण गर्ने बताए ।
महिला उद्यमशीलता र स्वरोजगारलाई घनीभूत बनाउन जरुरी छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उद्यमशीलता र स्वरोजगारलाई विकास गर्न भएका प्रयासहरू घनीभूत बनाउन जरुरी भएको बताएका छन् । ११३औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री दाहाल प्रचण्डले आज जारी शुभकामना सन्देशमा महिला दिदीबहिनीलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी समान अधिकार र राज्यका सबै अङ्गमा समानुपातिक प्रतिनिधित्वका साथै अर्थपूर्ण नेतृत्व स्थापित गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरेका छन् । ‘राजनीतिक अधिकारले त्यतिबेला मात्र सार्थकता प्राप्त गर्दछ, जतिबेला उक्त अधिकारले जनताको जीवनमा सकारात्मक प्रभाव पार्दछ, सामाजिक मान्यता र परम्परामा परिवर्तन ल्याउँछ, सांस्कृतिक रूपान्तरणको आधारशिला खडा गर्दछ’, शुभकामना सन्देशमा भनिएको छ, ‘महिलाको राजनीतिक अधिकारका साथै आर्थिक अधिकारमा समानता, आत्मनिर्भर र स्वरोजगारको प्रबन्ध, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप सामाजिक व्यवस्था रूपान्तरणमा हस्तक्षेप महत्त्वपूर्ण हुन्छ ।’ मुक्ति, समानता र स्वतन्त्रताको आकङ्क्षासहित सुरु भएको महिला आन्दोलन र प्राप्त अधिकारको स्मरण र सम्मानस्वरूप विश्वभरि प्रत्येक वर्ष मार्च ८ मा मनाउँदै आएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा स्वेदश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री दाहालले नेपालको राजनीतिक परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूको निर्णायक सहभागिता र गुरुत्वपूर्ण नेतृत्व रहिआएको स्मरण गरेका छन् । ‘लोकतन्त्र प्राप्तिका आन्दोलन होस् वा महान् जनयुद्ध र ऐतिहासिक आन्दोलनलगायतका गौरवपूर्ण सङ्घर्षहरू हुन्, ती सबै आन्दोलनमा महिलाहरूको सहभागिता, नेतृत्व एवं बलिदानीपूर्ण सङ्घर्षको जगमा नै हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवादोन्मुख संविधान प्राप्त गरेका छौं’, सन्देशमा भनिएको छ, ‘यो गौरवपूर्ण सङ्घर्ष र ऐतिहासिक उपलब्धि नेपाल र नेपालीका लागि मात्र नभएर मुक्ति, समानता र स्वतन्त्रता चाहने विश्वभरिका जनसमुदायका निम्तिसमेत प्रेरणादायी छ ।’ जनताको वीरतापूर्ण सङ्घर्ष र बलिदानको बलमा नेपालले विश्वमै अग्रणी संविधान प्राप्त गरेको छ । नेपालको संविधानले अंश र वंशमा महिलालाई समान अधिकारका साथै नीति निर्माण र राज्य सञ्चालनका सम्पूर्ण अङ्गहरूमा सम्मानजनक र समानुपातिक प्रतिनिधित्व स्थापित गरेको सन्देशमा उल्लेख छ । ‘संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये, सभामुख र उपसभामुखमध्ये, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनैपर्ने संवैधानिक व्यवस्था मात्र गरेको छैन’, शुभकामना सन्देशमा भनिएको छ, ‘सङ्घीय र प्रादेशिक संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नाका साथै स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला हुनैपर्ने व्यवस्था गरेको छ ।’ सम्पत्ति, कानूनी उपचार, आयआर्जन र वृत्तिविकासका क्षेत्रमा समेत महिलालाई प्राथमिकता दिएको र लैङ्गिक समानताका पक्षधर परिवर्तनकारी शक्तिका निम्ति यो अधिकार पर्याप्त नभए पनि विश्वभरिको व्यवस्था र अभ्यासका दृष्टिले गुणात्मक रहेको तथ्य स्मरण गर्नेपर्ने प्रधानमन्त्री प्रचण्डले सन्देश मार्फत भनेका छ ।