मन्त्रालयबाटै कार्यविधिको फाइल हराएपछि…
श्रम तथा रोजगार मन्त्रालयबाटै कार्यविधिको फाइल हराएपछि श्रम सहचारी नियुक्तिमा अन्योल भएको छ ।
कामका लागि विश्वका विभिन्न मुलुक पुगेका श्रमिकलाई आवश्यक सेवा पुर्याउन श्रम सहचारी नियुक्त गर्ने चलन छ ।
पछिल्लो समय श्रम सहचारी को हुने? भन्ने विषयमा कर्मचारीमै विवाद हुन थालेपछि अघिल्लो वर्ष श्रम सहचारी नियुक्तिलाई सहज बनाउन कार्यविधि तयार गरिएको थियो ।
तत्कालिन श्रम तथा रोजगार मन्त्री दीपक बोहराले स्वीकृत गरिसकेको उक्त कार्यविधि मन्त्रालयबाट हराएपछि यतिखेर श्रम सहचारी नियुक्ति प्रक्रिया के हुन्छ भन्नेबारे झनै झटिलता बढेको हो।
मन्त्रालय स्रोतका अनुसार कार्यविधिले तोकेको मापदण्डभित्र नपरेका केही कर्मचारीले उक्त फाइल गायब पारे पनि हाल मन्त्रालयको नेतृत्व लिएका मन्त्री, सचिवले वास्ता नगर्दा श्रम सहचारी नियुक्तिको प्रक्रिया अघि बढ्न नसकेको हो ।
नागरिक दैनिकबाट
बुढासुब्बा गोल्डकपकाे उपाधि पुलिसलाई
धरान, फागुन १४ । बुढासुब्बा गोल्डकपको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरमा आज भएको खेलमा नेपाल पुलिसले सडेन डेथमा संकटा क्लबलाई हराएर उन्नाइसौँ बुढासुब्बा गोल्ड कपको उपाधी जित्न सफल भएको हो । पुलिसले चौथो पटक बुढासुब्बा गोल्डकपको उपाधी जितको हो । निधारित् ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा पनि ३–३ को बराबरी भएपछि सडनडेथमा पुलिस भाग्यशाली सावित भएको हो । यसअघि, खेलको २८औं मिनेटमा राज पौडेलको गोलबाट संकटाले अग्रता लिएपनि ८०औं मिनेटमा जुमनु राईले पेनाल्टीमार्फत् गोल गर्दै बराबरी गरेका थिए । जारी सिजनमा ‘मेडन’ उपाधि जितेको पुलिसले पाँच लाख रुपैयाँ हासिल गरेको छ । उपविजेता संकटाको भागमा दुई लाख ५० हजार रुपैयाँमात्र हात परेको छ ।
लागुऔषधसहित तीन पक्राउ
म्याग्दी, फागुन १३ । लागुऔषधसहित प्रहरीले म्याग्दीको सदरमुकाम बेनीस्थित बसपार्कबाट तीन जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा रुपन्देही खैरेनी– ४ का १८ वर्षीय अजय सेन्चुरी, २० वर्षीय राजु राना र पोखरा उप महानगरपालिका– १५ का २१ वर्षीय सोनम घताने रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिए । गोप्य सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक धनबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरीले लागुऔषध डाइजेपाम, फेनोरागन र टाइजेसिक सातरसात गरी २१ एम्पुल तथा पाँच मिलिको निडिल सिरिङ्ज– ३ थान र नगद ६ हजारसहित उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुका साथबाट अपराधजन्य गतिविधिमा प्रयोग भएका तीन थान मोबाइलसमेत फेला पारेको प्रहरीले जनाएको छ । रासस
घुस लिँदै गर्दा रंगेहात मालपोतका नासुसहित तीनजना पक्राउ
भक्तपुर, फागुन १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दुई कर्मचारीसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशवबहादुर खत्री र लेखापढी व्यवसायी विष्णुहरि न्हिुसुतू रहेको महानगरीय प्रहरी वृत्त जगातीले जानकारी दिएको छ । मालपोत कार्यालयअगाडिको खाजा पसलमा सेवाग्राहीसँग रु ६ लाख १४ हजार घुस लिँदैगर्दा अख्तियारको टोलीले बुधबार साँझ उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मालपोत कार्यालयका प्रमुख कमल तिमिल्सिना र महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार सिलवालको रोहवरमा अख्तियारको टोलीले घुस लिएको रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको छ । आयोगमा परेको निवेदनअनुसार विगत एक सातादेखि सो कार्यालयका कर्मचारीमाथि आयोगले निगरानी गर्दै आएकोे आयोगका कर्मचारी गोकुल पन्तले बताए ।
प्याब्सन महाधिवेशनमा एमाले माअाेवादी केन्द्र निकट उम्मेदवारबीच कडा टक्कर
काठमाडौँ, फागुन ९ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) को आजदेखि सुरु भएको १३औँ राष्ट्रिय महाधिवेशनमा हुने नयाँ नेतृत्व चयनमा राजनीतिक दलबाट पनि उत्तिकै चासो देखाइएको छ । पेसागत र व्यावसायिक हरेक क्षेत्रमा दलीय प्रभाव सिद्धान्ततः गलत ठान्नेहरु यसका अगुवाहरु आफैँ दलगत आधारमा विभाजित भएपछि विद्यालय सञ्चालक र महाधिवेशन प्रतिनिधिसम्ममा त्यसको प्रभाव पुगेको हो । छ हजार दुई सय शिक्षण संस्था सदस्यसहित ७२ जिल्लामा शाखा भएको निजी शिक्षा क्षेत्रको अगुवा संस्थाको महाधिवेशनमा करिब दुई हजार प्रतिनिधि छन् । पुरीलाई नेकपा (एमाले) को समर्थन देखिएको छ भने सम्बाहाम्फे नेकपा (माओवादी केन्द्र) निकट मानिनुहुन्छ । दुवै समूहले अन्य दलका प्रतिनिधिलाई अन्य पदमा समेटेर प्रचार गरिरहेका छन् । वरिष्ठ उपाध्यक्षमा क्रमशः डिके ढुङ्गाना र सुमनगोपाल आचार्य तथा महासचिवमा गोपाल आचार्य र राजेन्द्र बानियाँ प्रतिस्पर्धामा छन् । दुवै समूहले आफूलाई व्यावसायिक र सक्षम दाबी गरिरहेका छन् । पार्टीका कार्यालयमा समर्थन वा टिकटका लागि धाउने र नपाएमा व्यावसायिक वा स्वतन्त्र उम्मेदवारीका घोषणा गर्ने उम्मेदवार पनि भएकाले त्यस्ता उम्मेदवारका कारण दुवै समूहबीच कडा टक्कर हुने स्थिति देखापरेको छ । ‘गुणस्तरीय शिक्षामा निजी क्षेत्रको अपरिहार्यताः समृद्ध राष्ट्र निर्माणमा प्याब्सनको प्रतिबद्धता’ को नारासहित हुने महाधिवेशनमा दुवै समूहले संस्थालाई सवल, समृद्ध, गतिशील र प्रभावकारी बनाउने तथा निजी क्षेत्रको लगानी सुनिश्चित गरी राज्यबाट थप सुविधा लिने विषयलाई प्राथमिकता दिएका छन् । एक प्रतिशत शिक्षा सेवा शुल्क र कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक शिक्षाको कानुनी मान्यता दिलाउने सन्दर्भमा यो महाधिवेशनमा हुनेछ । नेपालमा २०२८ सालमा नयाँ शिक्षा ऐन आएपछि सामुदायिक विद्यालयको पूरकका रुपमा २०३६ मा निजी विद्यालय खुल्न थालेका हुन् । विसं २०४६ को राजनीतिक परिवर्तनपछि खुल्ला अर्थतन्त्रको प्रतिफलका रुपमा निजी विद्यालय बढ्न थाले । त्यसो त तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट विसं १९०८ मा फर्केपछि दरबारमा राणा परिवारका छोराछोरीलाई पढाउन र अङ्ग्रेजी सिकाउन निजी रुपमा खोलेको विद्यालय पछि सरकारीस्तरको दरबार हाइस्कुल बनेको हो । अर्थात् नेपालको शैक्षिक इतिहास निजी विद्यालयबाट सुरु भएको हो भन्न सकिन्छ । सरकारी विद्यालयमा चुस्त व्यवस्थापन र राम्रो प्रतिफल नआउने अभिभावकको गुनासाका बीच सहरी क्षेत्रमा निजी विद्यालय फस्टाए । नाफाको उद्देश्यले निजी लगानीमा खुलेका यस्ता विद्यालयको विस्तारसँगै २०४७ पुस २४ गते रत्नबहादुर बज्राचार्यको नेतृत्वमा प्याब्सनको स्थापना भयो । बज्राचार्यपछि हालसम्म वसन्तबहादुर श्रेष्ठ, राजेश खड्का, उमेश श्रेष्ठ, डा बाबुराम पोखरेल, भोजबहादुर शाह, लक्ष्यबहादुर केसी (वर्तमान) ले विभिन्न कार्यकालको नेतृत्व गरिसक्नुभएको छ । यसबीचमा प्याब्सनबाट अगल भएर अर्को संस्था राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) पनि स्थापना भएको छ । ठूला विद्यालयका संस्थापक एवम् पूर्व अध्यक्ष श्रेष्ठ नेपाली काँग्रेस र पोखरेल मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) बाट हाल व्यवस्थापिका–संसदमा सदस्य रहेको छ । उनीहरु भावी अध्यक्षमा सम्बाहाम्फेलाई जिताउन अग्रसर देखेको छ । पुरी मझौला विद्यालयका सञ्चालक एवम् पूर्व अध्यक्ष शाह र केसीको मैदानमा उत्रिएको छ । यस दृष्टिमा प्याब्सन निर्वाचनमा ठूला विद्यालय र साना तथा मझौला विद्यालयबीचको सङ्घर्षका रुपमा हेर्नेहरु पनि छन् । ‘प्याब्सनलाई राजनीतिक दलको भ्रातृ सङ्गठनका रुपमा नभई विशुद्ध पेसागत सङ्गठनका रुपमा स्थापित गराउन हामी काम गर्ने छौं,’ अध्यक्षका प्रत्याशी सम्बाहाम्फेको यो भनाइमा प्रतिस्पर्धी पुरीको जवाफ छ– ‘प्याब्सन अवश्य व्यावसायिक संस्था हो तर हामी सबै राजनीतिक दलसँग उचित समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।’ यता सम्बाहाम्फेले आफ्नो घोषणापत्रमा प्रश्न गरेको छ, ‘हामीले कुनै राजनीतिक सङ्गठनको प्रवक्ताका रुपमा काम गरिरहेका त छैनौँ ?’ यसबारे पुरीले भने– ‘होइन, हामी बसाइँ र नास्ताका आधारमा होइन आस्था र विचारका आधारमा गतिशील प्याब्सन बनाउन खोजिरहेका छौँ ।’ प्याब्सनको काठमाडौँ जिल्ला अध्यक्ष, केन्द्रको महासचिव हुँदै हाल वरिष्ठ उपाध्यक्ष रहेका सम्बाहाम्फेले आफ्नो प्रतिबद्धतापत्रमा राज्यले विप्पा सम्झौता गरेर विदेशी पुँजीलाई संरक्षण गरिरहेको अवस्थामा निजी विद्यालयलाई राज्यले अभिभावकत्व प्रदान गर्नुपर्ने उल्लेख गरेको छ । यो समूहले प्याब्सनलाई समृद्ध, विज्ञ तथा प्राज्ञिक सङ्गठन बनाउन, नेपाललाई शैक्षिक पर्यटनका रुपमा विकास गर्न, प्याब्सनको सबै तप्कामा विश्वासको वातावरण निर्माण गरेर साहसिक र जुझारु युवा नेतृत्वको विकास गर्ने उद्घोष गरेको छ । सम्बाहाम्फेले मोफसलमा स्थापित निजी विद्यालयलाई सुलभ ऋणका लागि आन्तरिक स्रोतको व्यवस्थापन गर्ने आश्वासन बाँड्नुभएको छ । पूर्व केन्द्रीय उपाध्यक्ष पुरी आफैंमा विराटनगरका विद्यालय सञ्चालक भएकाले मोसफलबाट पहिलोपटक नेतृत्वमा दाबी गर्ने उम्मेदवारमा परेका छन् । पुरी समूहले निजी विद्यालयको शुल्क सरकारले नभई आफैँले निर्धारण गर्न पाउनुपर्ने, विद्यालय तहमा पुरानो १–१२ को संरचना कायम गराउने, केन्द्रमा प्याब्सनको भवन बनाउनेजस्ता लक्ष्य सार्वजनिक गरेको छ । यी दुवै समूहले राजनीतिक आस्था वा व्यक्तिगत क्षमताका आधारमा मतदातालाई दिने आकर्षणले नै नयाँ नेतृत्व चयनमा प्रभाव पार्ने छ ।
पाकिस्तानी कलाकार सवा कमरले बलिउडका हस्तिहरुको खिल्ली उडाएपछि …
फागुन ७ । पाकिस्तानी चर्चित कलाकार सबा कमरले बलिउका हस्तिहरुलाई तथानाम भनेपछि अहिलेआएर माफीमागेकी छिन् । आफ्नो नयाँ चलचित्र ‘हिन्दी मिडियम’ प्रदर्शनमा आउने बेलामा नायिका सवाले एक टक शोमा बलिउड सुपरस्टारहरुलाई खिसी गरेको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेपछि उनले आफ्नो भाषालाई सच्चाउनप्रति लागेकी हुन् । उनले बीबीसीसँग भनेकी छिन्, ‘बलिउडका कलाकारहरुलाई मैले बोलेको कुरा अहिले सोसियल मिडियामा भाइरल बनेको छ, त्यो पुरानो भिडियो हो र मैले त्यो मजाक गरेको हो ।’ कमरले आफूलाई सोधिएको प्रश्नको जवाफ जिस्किएर दिएको स्पटिकरण दिएकी छिन् । तर त्यो भिडियोले अहिले सामाजिक सञ्जालहरुमा अध्याति ठाउँ पाउन थालेपछि यो विषय अनाहकमा उचालिएको उनले बताइन् । ‘मानिसले जिस्किने पारामा धेरै कृुराहरु भन्छन्, तर सो कुरालाई अनाहकमा उचालिनु हुँदैन’ उनले भनिन् ‘म सबै कलाकारलाई सम्मान गर्छु ।’ के भनेकि थिइन् टक शोमा सवाले ? ‘गुड मर्निङ जिन्दगी’ मा बलिउडमा कलाकारहरुको तस्बिर देखाएर उनीहरुसँग काम नगर्नेको कारण सोधिएको थियो । सवाले यसरी जवाफ दिएकी थिइन् सालमान खान : धेरै मात्तिएका, उनलाई डान्स गर्न नि आउँदैन । ऋतिक रोशन : उनी त दुई बच्चाका बाउ हुन् मेरो अनुसारका होइनन् । इमरान हाशमी : मेरो मुखको क्यान्सर होस भन्ने म चाहन्न । रितेश देशमुख : म पाकिस्तानकी ‘ए ग्रेड’ कलाकार हुँ त्यसैले इन्डियामा पनि त्यस्तै कलाकारहरुसँग मात्रै काम गर्छु । रणबीर कपूर : रणविरका लागि भने म तयार छु, तर रणवीरको त दीपिकासँग चक्कर छ त्यसैले उनी पनि मेरो लागि हुन्न ।
राप्रपामा पूर्व केन्द्रीय सदस्य सहित ६ जनाले गरे पार्टी परित्याग (विज्ञप्तिसहित)
बिर्तामोड, फागुन ५ । राप्रपा नेपालका पूर्व केन्द्रीय सदस्यसहित छ जनाले पार्टी परित्याग गरेका छन् । पार्टीप्रति असन्तुष्टि जनाउँदै राप्रपाका पूर्व केन्द्रस्य सदस्य टेकनारायण राजवंशीसहित ६ जनाले पार्टी परित्याग गरेका हुन् । साधारण सदस्यता समेत नरहने गरी राजवंशीसहित निता शर्मा श्रेष्ठ, माधव कल्पित, बृहस्पति पाण्डे, श्रवण साह, रेवती पोखरेलले पार्टी परित्याग गरेका हुन् । पार्टी परित्याग गर्ने राजवंशी पूर्व श्रम तथा यातायात व्यवस्था सहायक राज्यमन्त्री हुन् । त्यस्तै, कल्पित सांस्कृतिक विभागका प्रमुख हुन् भने पाण्डे क्षेत्र नं. १ का क्षेत्रीय सदस्य र पोखरेल राजगढ पूर्व गाउँ समिति अध्यक्ष हुन् । पूर्व श्रम तथा यातायात व्यवस्था सहायक राज्यमन्त्री समेत रहेका राजवंशी सहित छ जनाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । विज्ञप्तिमा लामो समयसम्म आफूहरु राष्ट्र, राष्ट्रिय र स्वाधिनताको पक्षमा काम गर्दै आए पनि पार्टीको भावना नीति विपरित काम अघि बढेको भन्दै आफूहरुले राजीनामा दिएको उल्लेख छ । यस्ताे छ विज्ञप्ति
खाडीमा यी कारणले विग्रिन्छन् नेपाली श्रमिकको मिर्गौला
काठमाडौं, फागुन ५ । दैनिक हजारौँको संख्यामा नेपाली युवा रोजगारीका लागि खाडी मुलुक जाने गरेका छन् । खाडीमा कैयौँ नेपाली कामदारको विभिन्न स्वास्थ्य समस्याले ज्यान लिने गरेको छ । यसमध्ये एउटा प्रमुख समस्याको रूपमा देखिएको छ, मिर्गौला बिग्रिनु । मिर्गौलाले काम गर्न छाडेर उपचारका लागि अस्पताल आउनेमध्ये खाडी मुलुकमा रोजगारी गरेर फर्किएका बढी छन् । खाडी मुलुकमा काम गर्ने नेपालीको मिर्गौला बिग्रिने कारणबारे डा. विष्णु पहारी भन्छन्ः —खाडी मुलुकमा पिउने पानीको अभाव छ, तर परिश्रम कडा गर्नुपर्छ । कडा परिश्रम गर्दा शरीरबाट पानी बढी बाहिरिने तर आवश्यक पानी शरीरले नपाउने हुँदा मिर्गौला फेल हुने गरेको छ । यी देशमा हरियो सागसब्जीभन्दा माछामासु तुलनात्मक रूपमा सस्तो हुने भएकाले नेपाली श्रमिकहरू खानामा माछामासुकै प्रयोग अत्यधिक गर्छन् र मिर्गौलामा समस्या हुने गर्छ । —खानपानमा ब्यालेन्स नभएर समस्या भइरहेको अवस्थामा धूम्रपान बढी गर्ने व्यक्तिलाई मिर्गौलारोगको खतरा बढी हुन्छ । मिर्गौलारोग लागिसकेपछि यसको उपचार महँगो भएकाले विदेशमै रहे पनि समय–समयमा मिर्गौला परीक्षण गराउनुपर्छ । —खाडी मुलुकमा काम गर्ने व्यक्तिले मिर्गौला स्वस्थ राख्न दिनमा कम्तीमा तीन लिटर पानी पिउनैपर्छ । शरीरले थप पानीको आवश्यकता महसुस गरे पूर्ति पर्याप्त गर्नुपर्छ । त्यसैगरी मधुमेह र उच्च रक्तचाप भएका व्यक्तिको मिर्गौला बिग्रिने सम्भावना बढी भएकाले सन्तुलित राख्नुपर्छ । —मोटोपनले पनि मिर्गौलामा समस्या ल्याउन सक्छ । काम गर्ने, तालिका नमिलाई टन्न खाने र सुत्ने बानीले मोटोपन निम्त्याउन सक्छ । त्यसैले विदेशमै भए पनि पर्याप्त मात्रामा व्यायाम गर्नुपर्छ । बिहान या बेलुका कम्तीमा ३०–४५ मिनेट हिँडडुल अनिवार्य गर्नुपर्छ । —मिर्गौलारोगको उपचार सम्भव नभए अर्को विकल्पको रूपमा प्रत्यारोपण गर्नुपर्छ । प्रत्यारोपणपछि खाने औषधि र प्रत्यारोपणअघिको डायलाइसिस खर्चसमेत सामान्य नेपालीले धान्न सक्ने छैन । त्यसैले रोग लागेर उपचार गर्नेभन्दा समयमै ख्याल पु¥याउनु बुद्धिमानी मानिन्छ । —नेपालमा कुल जनसंख्याको १० देखि १३ प्रतिशत अर्थात् २७ लाख मानिसमा मिर्गौलासम्बन्धी समस्या भएको अनुमान गरिएको छ । त्यसमा पनि आधाभन्दा बढी मानिस अत्यधिक श्रम गर्ने तर स्वास्थ्यप्रति ध्यान नदिएकै कारण मिर्गौलासम्बन्धी समस्याबाट पीडित भएका छन् । नयाँ पत्रिका दैनिक वाट
उत्तर कोरियाली नेता किमका दाजु मारिए
फागुन ४ । उत्तर कोरियाली नेता किम जोङ अनका दाइलाई मलेसियाका प्रहरीले मारेको पुष्टि भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा जोङका सौतेनी दाइलार्इ मारेको पुष्टि गरेको हो। प्रहरीका अनुसार क्वालालम्पुरको विमानस्थलमा ४५ वर्षीय किम जोङ नामलाई निशाना बनाइएको थियो । बिबिसीले मलेसियाको प्रधानमन्त्री कार्यालय निकट स्रोतलाई उद्धृत गर्दै उनी मारिएको पुष्टि भएको बताएको छ। अहिले उनको शवको जाँचबुझ भइरहेको मलेसियाली प्रहरीले जनाएको छ। मलेसियाका एक वरिष्ठ प्रहरी अधिकारीले सोमबार विमानस्थलबाट अस्पताल जाने क्रममा किम जोङ नाम गरेका व्यक्तिको मृत्यु भएको बताएको बिबिसीले जनाएको छ। मृत्यु भएका भनिएका किम उत्तर कोरियाका भूतपूर्व नेता किम जोङ इलका जेठा छोरा हुन् ।
मार्छन कि क्या हो !
हुल तथा दङ्गा व्यवस्थापन तालिमपछि मङ्गलबार कञ्चनपुरको वनसमितिस्थित सशस्त्र प्रहरी शैलेश्वरी गणमा अभ्यास प्रदर्शनी गर्दै सशस्त्र प्रहरी । तस्बिरः शेरबहादुर सिंह, रासस
१२ करोडका कारण बलिउडकी चर्चित नायिका चप्पलले पिटिइन्
माघ २४ । पर्दामा जस्तो सुकै रोल गर्न सक्ने भएपनि धेरै कलाकारहरुको वास्तविक जीवन कलह र उलट पुलटमा वितिरहेको हुन्छ । त्यसकै एउटा उदाहरण हुन बलिउड नायिका अमिषा पटेल । सुपरहिट चलचित्र ‘कहो ना प्यार है’बाट चलचित्र यात्रा सुरु गरेकी नायिका पटेलले ‘गदर’, ‘हमराज’ जस्ता चर्चित फिलिमहरु दर्शकलाई दिएकी छिन् । तर उनको वास्तविक जीवनमा भने धनै नै तनाव भएको खुलासा भएको छ । यहाँसम्म कि उनलाई आफ्नी आमाले चप्पलले हान्नुपर्ने अवस्थाको पनि सिर्जना भएको छ । आफ्नै बाबु अमित पटेलले १२ करोड हिनामिना गरेको प्रहरीमा उजुरी गर्दै उक्त रकम पाऊँ भनेपछि नायिका पटेलकी आमा आशा पटेलले अमिषालाई चप्पलले मात्रै कुटिनन्, उनलाई घरबाट समेत निकालिदिइन् । उक्त कुरा नायिका पटेलले मिडिया समक्ष नै बताएकी हुन् । हाल उनी फिलिम क्षेत्रमा खासै देखिँदैनिन् । उनको अन्तिम फिलिम ‘देसी मौजिक’ रहेको थियो ।
युवा स्वरोजगारका लागि सात करोड कर्जा दिइने
तेह्रथुम, माघ २२ । युवा स्वरोजगारका लागि तेह्रथुमका विभिन्न सहकारीमार्फत केन्द्रीय कार्यालयले रु सात करोड कर्जा दिने भएको छ । स्वरोजगार कोषसँग कर्जा माग गरी प्रस्ताव पेस गरेका सहकारीको अनुगमन गर्दै कोषले जिल्लालाई रु सात करोड भन्दा बढी रकम युवालाई कर्जा दिने जनाएको हो । जिल्लामा रहेर प्रस्ताव पेस गरेका दुग्ध, बहुद्देश्यीय, बचत तथा ऋण सहकारी सस्था गरी १८ वटाको अनुगमन गरिएको केन्द्रीय कार्यालयका अनुगमन अधिकृत चण्डीराज नेपालले बताए । अनुगमनपछि कोषका जिल्ला संयोजन तथा अनुगमन समितिका संयोजक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको समितिको सिफारिसमा प्रत्येक सहकारीले रु २० लाख देखि ५० लाखसम्म युवा स्वरोजगारको लागि रकम पाउने तेह्रथुमका कार्यक्रम संयोजक माधव दाहालले बताए । यसबाट जिल्लामा रु सात करोड भन्दा बढी रकम भित्रिने भएको हो । सहकारीले कर्जा लिएर व्यवसाय गरी स्वरोजगार बन्नका लागि सेयर सदस्यलाई बिना धितो रु ५० हजारदेखि रु दुई लाखसम्म ऋण दिनेछन् । यसको ब्याज १२ प्रतिशत पर्ने र नियमित तिर्ने सदस्यलाई ब्याजको ६० प्रतिशत अनुदान फिर्ता पाउने व्यवस्था रहेको तेह्रथुमका कार्यक्रम संयोजक दाहालले बताए । युवा स्वरोजगार कोषले सहकारीको अनुगमन गर्दा सहकारीका विनियम र सहकारी विभागले तोकेका मापदण्डअनुसार सञ्चालन भएका सहकारी, नगरपालिकाको हकमा दुई वर्ष नाफा र गाविसको हकमा एक वर्ष नाफामा चलेका सहकारीलाई छनोट गरिएको थियो । यसैगरी, नगरपालिकाको हकमा रु पाँच लाख र गाविसको हकमा रु तीन लाख सेयरपुँजी भएका सहकारीको छनोट गरिएको अनुगमन अधिकृत नेपालले बताए । सहकारीबाट रकम दिलाएर कृषि, सिलाइकटाइ, किराना पसल, साना व्यवसाय गरी स्वरोजगार बनाउने र विदेश जानबाट युवालाई रोक्ने स्वरोजगार कोषको उद्देश्य रहेको छ । जिल्लामा दुग्ध, बहुद्देश्यीय, चिया, कृषि र बचत गरी दुई सय भन्दा बढी सहकारी रहेका छन् । रासस
सरकारी जागिर : ४५८ माग, ७४ हजारको आवेदन
काठमाडौं, माघ २२ । लोकसेवा आयोगले राजपत्र अनंकित तह नायब सुब्बामा खुला तथा समावेशीतर्फ चार सय ५८ पदका लागि दरखास्त आह्वान गरेको छ । दरखास्त भने ७४ हजार एक सय ३९ जनाले पेस गरेका छन् । यो मागको १६२ गुना बढी हो । लोकसेवा आयोगले २६ पुसमा विज्ञापन प्रकाशित गरी खुला तथा समावेशीतर्फ नायब सुब्बाका लागि दरखास्त आह्वान गरेको थियो । शुक्रबार दरखास्त दिने अन्तिम दिन थियो । दोब्बर दस्तुर तिरेर अझै एक सातासम्म दरखास्त दिन सकिने व्यवस्था छ । आयोगका प्रवक्ता लक्ष्मीविलास कोइरालाले दोब्बर दस्तुरको समय सकिँदा दरखास्त दिनेको संख्या ८० हजार पुग्ने अनुमान गरिएको बताए । आयोगको विश्वसनीयता, सरकारी जागिरको सुरक्षा र स्थायित्वका कारण दरखास्त दिनेको संख्या अत्यधिक रहेको कोइरालाले बताए । मध्यमाञ्चलबाट धेरै दरखास्त लोकसेवा आयोगले अनलाइनमार्फत दरखास्त लिँदै आएको छ । आयोगका अनुसार मध्यमाञ्चल क्षेत्रीय कार्यालयमा सबैभन्दा बढी ३२ हजार ६ सय ९० दरखास्त परेका छन् । मध्यमाञ्चलमा नायब सुब्बा तहका एक सय ९८ पदमा आवेदन मागिएको छ । पूर्वाञ्चल क्षेत्रीय कार्यालय धनकुटाबाट नासुकै ९१ पदका लागि १४ हजार ६ सय ५४ को दरखास्त परेको छ । पश्चिमाञ्चल क्षेत्रीय कार्यालयबाट मागिएको ६९ पदका लागि ११ हजार चार सय सातजना, मध्यपश्चिमाञ्चल क्षेत्रीय कार्यालयबाट मागिएको ५७ पदका लागि आठ हजार ६ सय ५० जना र सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयबाट मागिएको ४३ पदका लागि ६ हजार सात सय ३८ जनाले दरखास्त पेस गरेका छन् । आयोगले हालै थप गरेका तीन परीक्षा केन्द्रमध्ये लहानमा चार हजार चार सय ६३ जनाले दरखास्त दिएका छन् । वीरगन्ज केन्द्रमा दुई हजार नौ सय ३१ र डोल्पा केन्द्रमा ७३ जनाको दरखास्त परेको छ । लोकसेवा आयोगले पाँचवटै क्षेत्रीय कार्यालय, अञ्चल कार्यालय र केन्द्रबाट परीक्षा सञ्चालन गर्ने गरेको छ । खुला तथा आन्तरिक परीक्षा प्रथम चरणको फागुनमा र दोस्रो चरणको वैशाखमा हुने आयोगले जनाएको छ । ९ सय ८० शाखा अधिकृतमा ५३ हजारको दरखास्त परेको थियो लोकसेवा आयोगले यसअघि मागेको शाखा अधिकृतको प्राविधिक र अप्राविधिक गरी नौ सय ८० पदमा ५३ हजार चार सय १६ जनाको दरखास्त परेको थियो । आयोगले कात्तिक पहिलो साता शाखा अधिकृतको प्राविधिकतर्फ चार सय ७२ पदमा विज्ञापन गरेको थियो । सो विज्ञापनमा ३१ हजार ५ सय १७ जनाले दरखास्त पेस गरेका थिए । मंसिरको पहिलो बुधबार शाखा अधिकृतको अप्राविधिकतर्फ ५ सय ८ पदमा दरखास्त आह्वान गरिएको थियो । सो आह्वानअनुसार २१ हजार आठ सय ९९ जनाले दरखास्त पेस गरेका थिए । यो खबर आजको नयाँ पत्रिकामा छ ।
माओवादी केन्द्रका ७० केन्द्रीय सदस्यले बुझाए सामूहिक राजीनामा
काठमाडौं, माघ १८ । केही दिन अघि सामूहिक राजीनामा दिएका माओवादी केन्द्रका ७० केन्द्रीय सदस्यले पार्टी मुख्यालय पेरिसडाँडामा राजीनामा बुझाएका छन् । माओवादी केन्द्र सिन्धुपाल्चोकको माघ १२ गते सदरमुकाम चौतारामा गरेको प्रथम एकता भेलाले गरेको निणर्य अनुरुप जिल्लाबाट ‘संगठनात्मक विधि र पद्धतिको कार्यन्वयन सहित समितिहरुको चुस्तताको लागि पार्टीलाई सहयोग गर्न’ भन्दै ७० जना केन्द्रीय सदस्यले संयुक्त राजीनामा दिएका थिए । माओवादी केन्द्रका सिन्धुपाल्चोक जिल्लामा कार्यरत पोलिटव्युरो सदस्य कृष्ण प्रसाद सापकोटा ‘देशबन्धु’, केशव नेपाल , केन्द्रीय सदस्यहरु दावा तामाङ, झम्क प्रसाद पराजुली , राजकुमार श्रेष्ठ, माधव सापकोटा ‘सुबोध’ युवराज दुलाल ‘सरद’ सरल सहयात्री, अमृता नेपाल लगायत ७० जना केन्द्रीय सदस्यहरुको हस्ताक्षर सहित कार्यलयका मुख्य सचिवलाई राजिनामा बुझाए । पार्टीको केन्द्रीय समिति भद्दा भएको कारण त्यसलाई चुस्त बनाई प्रकृयाको आधारमा पार्टी निर्माणको बहस सिर्जना गर्न ७० जना केन्द्रमा रहेका नेताहरुले राजीनामा दिएको माओवादी केन्द्रका सिन्धुपाल्चोक जिल्ला संयोजक दावा तामाङले बताए ।
राजेन्द्र श्रेष्ठ भन्छन्-‘एमाले अध्यक्ष ओली विखण्डनवादी’ !
काठमाडौं माघ १७ । सङ्घीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विखण्डकारी भएको आरोप लगाएका छन् । सोमबार एक रेडियोलाई अन्तर्वार्ता दिँदै श्रेष्ठले एमालेले देशलाई विखण्डन गर्न खाजेको, र त्यसको मुख्य पात्र केपी ओली भएको गम्भीर ओरोप लगाए । एमालेमा संगठन बलियो रहेको भ्रमका कारण देशका समस्या देख्न छोडेको उनले बताए । अहिलेको राज्य पुनर्संरचनामा विवादको चुरो विषय सङ्घीयतालाई संरचनाको रूपमा मात्र हेर्ने कि सिद्धान्त वा वादको रूपमा हेर्ने भन्ने रहेको कुरा पनि उनले स्पष्ट पारे । अहिलेको संविधान संशोधनमा हलो अड्काएर एमालेले संविधान कार्यान्वयन हुन नदिनुको गम्भीर कारणबारे जनाताले जान्न पाउनुपर्ने बताए । आफू प्रधानमन्त्री भएको बेलामा अध्यक्ष ओलीले किन सात प्रदेशमा सहमति गर्नुभयो ?, त्यो बेलामा सरकारमा उहाँहरू नै हुनुहुन्थ्यो,’ उनले प्रश्न गरे । श्रेष्ठले संविधान संशोधनमार्फद् उत्पीडित समुदायको अधिकार प्राप्त गराउनुपर्ने बताए । हामीले विदेशीलाई रिझाउन होइन, नेपालका उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि संविधान संशोधन हुनुपर्ने माग गरेको कुरा पनि उनले बताए । उनले संविधान संशोधन नभए कुनै हालतमा स्थानीय चुनाव गर्न नदिने चेतावनी दिए ।
फागुन ७ गते, प्रजातन्त्र होइन ‘निर्वाचन दिवस’!
काठमाडौँ, १६ माघ । निर्वाचन आयोगले अव प्रत्येक वर्ष फागुन ७ गतेलाई ‘निर्वाचन दिवस’को रुपमा मनाउने भएको छ । नेपालमा पहिलो पटक २०१५ साल फागुन ७ गते आम निर्वाचन भएको थियो । सोही आम निर्वाचन प्रारम्भ भएको दिनलाई आयोगले निर्वाचन दिवसका रुपमा मनाउन लागेको हो । २०१५ सालको आम निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत अर्थात ७४ सिट प्राप्त गरेका थिए । उक्त निर्वाचनमा १६ वटा राजनीतिक दलले भाग लिएका थिए । उक्त दिवसमा अवसरमा आयोजना हुने मूल समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले मुख्य अतिथिका रुपमा भाग लिनुहुने छ । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन प्रारम्भ भएको ५८ वर्षपछि आयोगले पहिलो पटक भव्यताका साथ दिवस मनाउने तयारी गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । मुलुकमा २०५४ सालपछि स्थानीय निकायको चुनाव हुन सकेको छैन । जसका कारण ३५ वर्ष उमेर समूहका ८० लाख नागरिकले स्थानीय तहको निर्वाचनको मतदानमा भाग लिन पाउने नागरिक अधिकारबाट वञ्चित हुँदै आएका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानअनुसार आगामी २०७४ साल माघ ७ गतेभित्र सङ्घीय, प्रदेश र स्थानीय तहको निर्वाचन गरिसक्नुपर्ने पूर्वसन्ध्यामा आयोगले निर्वाचन दिवसको समेत किटानी गरेको छ । दिवसका अवसरमा आयोगले प्रभातफेरी, अन्तरसंवाद, आयोगका पूर्व पदाधिकारीको सम्मानका साथै नेपालमा निर्वाचनको इतिहास सम्बन्धी पुस्तकको विमोचन गर्ने जस्ता कार्यक्रम तय गरेको सूचना अधिकारी सूर्यप्रसाद अर्यालले बताए । निर्वाचन दिवसलाई कसरी भव्य र सभ्य तुल्याउने भन्नेबारेमा आयोग विभिन्न तयारीमा जुटिरहेको बताइएको छ ।