बाख्रालाई बचाउन बाघसँग भिड्ने महिलाले घाइते अवस्था मै लिइन् सेल्फी

भारतको महाराष्ट्र राज्यमा एक महिला बाख्रालाई बचाउन बाघसँग भिडेकी छिन् । बाघलाई लखेट्ने क्रममा नराम्रोसँग घाइते भएकी २१ वर्षीय रुपाली मेश्रामले आफ्नो घाइते अवस्थाको सेल्फी समेत लिएकी थिइन् ।

राज्यको पूर्वी विदर्भ क्षेत्रको भण्डारा जिल्लाको नागझिरा वन्य जन्तु आरक्ष नजिकैको गाउँमा पछिल्लो हप्ता एउटा घरको बाख्राखोरमा बाघ पसेको थियो ।

गाउँमा सधैं जसो हुने यस्तो घटनामा त्यसदिन नयाँ मोड आयो जब बाघले बख्रामथी आक्रमण गर्ना साथ वाणिज्यशास्त्रमा स्नातक रुपाली दाउराको भाटा  लिएर बाघमाथि झम्टिइन् ।

त्यसपछि बाघ पनि प्रत्याक्रमणमा उत्रियो । कोलाहल सुनेर बाहिर आएकी उनकी आमा जिजाबाईलाई समेत बाघले घाइते तुल्याइदिएपछि रुपालीले बहादुरी पूर्वक लडेर बाघलाई लखेटिन् ।

त्यति मात्र होइन् उनले घाइते अवस्थामा नै आमासँग सेल्फी पनि खिच्न भ्याइन् । पछि स्थानीय अस्पतालमा उपचारपछि उनी घर फर्किएकी छिन् ।

पातलो बस्तीमा घर भएकाले तत्काल कुनै मानवीय सहायता प्राप्त गर्न नसके पनि रुपालीले आधा घण्टासम्म बाघको सामना गरेको बुझिएको छ ।

पछि केही स्थानीय र वनरक्षक आएर उनलाई अस्पताल लगिएको थियो ।

अहिले भारतीय मिडियामा उनको बहादुरीको खुबै चर्चा भइरहेको छ । मिडियाकर्मीहरूले उनलाई घर फर्किन कत्तिको डर लागेको छ भन्ने प्रश्नको उत्तरमा उनले आफू घर फर्किन व्यग्र रहेको बताइन्।

 

बिबिसी

क्षणिक आवेकका थापाको हत्या

कैलाली । टिकापुरमा कर्ण थापाको हत्या क्षणिक आवेकका कारण भएको प्रहरीले जनाएको छ । बुधबार पत्रकार सम्मेलन गरेर कैलाली जिल्ला प्रहरी कार्यालयले थापाको हत्या क्षणिक आवेकका कारण भएको जनाएको हो । फागुन १७ गते राती सामान्य विवाद हुँदा सन्दिप रावल र सागर पाण्डेले धारिलो हतियार प्रहार गरी कर्ण थापाको हत्या गरेको प्रहरीले जनाएको छ । होली पर्वको सांँस्कृतिक मेलामा एक आपसमा ठोकिएपछि केहि समयको विवाद पश्चात दुवै जनाले थापालाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मुत्यु भएको थियो । घटनापछि फरार रहेका टिकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर १३ बस्ने १९ वर्षीय सन्दिप रावल र टीकापुरमा डेरा गरी बस्ने २१ वर्षीय सागर पाण्डेलाई काठमाडौंको बालाजुबाट फागुन २१ गते पक्राउ गरेको कैलालीका प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले जानकारी दिए । प्रमुख घिमिरेले दुबै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान गरिने बताए । घटनाका आरोपित दुवै जनालाई जन्म कैदसम्मको सजाय हुन सक्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

बझाङका गाउँमा पाइने रैथाने र गड्डी जातका भैंसी लोप हुने अवस्थामा

बझाङ, फागुन २२ । बझाङका ग्रामीण बस्तीमा पाईने रैथाने र गड्डी जातका भैंसी लोप हुने अवस्थामा पुगेका छन् । केही वर्षअघिसम्म प्रायः सबैका घर पालिने यस्ता जातका भैंसी अहिले लोप हुन थालेका हुन् । कैलाली, बाँके, काठमाडौंलगायतका जिल्लाबाट भैंसी खरिद गर्न पुग्नेहरुले विभिन्न प्रलोभन देखाएर बझाङबाट ठूलो संख्यामा भैंसी खरिद गरेपछि अहिले गाउँमा यी जातका भैंसी लोप हुने अवस्थामा पुगेका हुन् । पछिल्लो समयमा सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा, दार्चुला, अछाम र डोटीबाट दुहुना र ब्याउने भैंसीसमेत काट्नका लागी तस्करी गर्ने क्रम बढ्न थालेको छ । पहाडी जिल्लाबाट सस्तो मुल्यमा खरिद गरिएका भैंसी कैलाली, कञ्चनपुर, बाँके, काठमाडौं र भारतसम्म पु¥याएर बेच्ने गरिएको स्थानीय बताउँछन् । बझाङमा तीन वर्ष अघि ३६ हजारको हाराहारीमा रहेका भैंसीको संख्या अहिले घटेर १९ हजार पुगेको जिल्ला पशु सेवा कार्यलयले जनाएको छ । त्यसमा पनि गड्डी जातका भैंसीको संख्या मात्र २ हजारको हाराहारीमा सिमित भएको कार्यालयले जनाएको छ ।

प्रहरी इन्काउन्टरमा ‘गुन्डा नाइके’ मनोज पुन सहित २ जना मारिए

रुपन्देही, फागुन ९ । गुण्डा नाइकेका रुपमा परिचित मनोज पुनसहित दुई जनाको प्रहरी कारबाहीमा परेर मृत्यु भएको छ । गएराति रुपन्देहीको देवदह–४ भवानीपुरमा प्रहरीले चलाएको गोली लागेर पुन र उनका सहयोगी सोम आलेको मृत्यु भएको छ । आपराधिक गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले चलाएको गोली लागेर उनीहरुको मृत्यु भएको हो । पुनको टोलीले प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारवाही गर्दा उनीहरुको मृत्यु भएको रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए । प्रहरीको गोली लागेर घाइते भएका दुवै जनाको लुम्बिनी अञ्चल अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । युवा संघका रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता वसन्त पौडेलको हत्या गरेको आरोपमा झन्डै डेढ वर्षदेखि उनीहरु प्रहरीको खोजी सूचीमा थिए । उनीहरु निर्माण व्यवसायी महासंघका अध्यक्ष सरद गौचनको हत्यामा पनि संलग्न रहेको आरोप प्रहरीले लगाउँदै आएको थियो ।

ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । मंगलबार बजारमा दुई सय रुपैयाँले सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य ५८ हजार रुपैयाँमा कारोबार भएको थियो भने आज मंगलबार सुनको मूल्य घटेर ५७ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, सोमबार चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । सोमबार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएको थियो भने आज मंगलबार घटेर ७ सय ४० रुपैयाँमै कारोबार भएको छ।

अाेली प्रधानमन्त्री बने लगत्तै महान्यायाधिवक्ता भण्डारीले राजीनामा दिए

काठमाडौं, फागुन ४ । महान्यायाधिवक्ता वसन्तराम भण्डारीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ अधिवक्ता भण्डारीलाई गत भदौ २ गते महान्यायाधिवक्ता नियुक्त गरेका थिए । प्रधानमन्त्रीलाई राजीनामा दिएको छु, भण्डारीले भने । भण्डारीले सहयोगका लागि सबैलाई धन्यवाद दिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

एनसेलले ल्यायो भ्यालेन्टाइन प्याकहरु

काठमाडौं, माघ २५ । एनसेलका ग्राहकले यस भ्यालेन्टाइन सिजनमा आफ्ना प्रियजनसँग असिमित कुराकानीका साथै निरन्तर भिडियो च्याटको मजा लिन सक्नेछन् । नजिकिदै गरेको प्रणय दिवसको अवसरमा एनसेल प्राईभेट लि.ले आफ्ना ग्राहकका लागि असिमित भ्वाइस प्याक र डेटा प्याक सहितको भ्यालेन्टाइन अफर ल्याएको छ, जसले ग्राहकलाई आफ्ना प्रियजनसँग निरन्तर कुराकानी तथा भिडियो च्याट गर्दै अझै नजिक हुन सहज बनाउने छ । असिमित भ्वाइस तथा डेटा प्याकको यो आकर्षक अफर अाज देखि १५ दिनको लागि लागु हुनेछ । अफर अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले कर सहित मात्र रु १५ मा असिमित भ्वाइस प्याक लिई विहान ५ बजे देखि बेलुका ५ बजे सम्म एनसेलको नेटवर्क भित्र कुनै पनि नम्बरमा असिमित कुराकानिको मजा लिन सक्नेछन् । ग्राहकले १७११४ डायल गरि प्राप्त जानकारी अनुसार भ्वाइस प्याक सुचारु गर्न सक्नेछन् । त्यसैगरी एसएमएस मार्फत अंग्रेजीमा ‘ए’ टाइप गरी १७११४ मा एसएमएस पठाइ पनि यो प्याक सुचारु गर्न सकिन्छ । यो भ्वाइस प्याक सुचारु गरिएको समयबाट २४ घण्टाको लागि मान्य हुनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार योजना अवधिभर हरेक दिन यो प्याक सुचारु गर्न सक्छन् । प्याकको समयावधि सकिएपछि विद्यमान शुल्क लागु हुनेछ । साथै, आफ्ना प्रियजनसँग भिडियो च्याट गर्न रुचाउने ग्राहकले यस अफर अन्तर्गत कर सहित मात्र रु २० मा एक घण्टाको लागि निरन्तर डेटा उपलब्ध गराउने असिमित डेटा प्याक लिई आफ्ना प्रियजनसँग निरन्तर भिडियो च्याटको मजा लिन सक्नेछन् । यो डेटा अफरको लाभ लिन ग्राहकले एस्टिक्«स१७११४ह्यास् डायल गरी विकल्प नम्बर २ छनौट गरी प्याक सुचारु गर्न सक्छन् । ग्राहकले अंग्रेजीमा ‘यु’ टाइप गरी १७११४ मा एसएमएस पठाएर पनि यो प्याक सुचारु गर्न सक्छन् । निरन्तर ईन्टरनेट सुनिश्चित गर्ने यो डेटा प्याक सुचारु भएको समयबाट १ घण्टाको लागि मान्य रहनेछ । ग्राहकले आफ्नो आवश्यकता अनुसार यो प्याक योजना अवधिभर जति पटक पनि लिन सक्छन् । यस भ्यालेनटाइन सिजनमा ल्याइएका यी आकर्षक भ्वाइस र डेटा अफरले ग्राहकलाई आफ्ना प्रियजनसँग थप नजिक रहन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।

दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य बुधबार २ सय रुपैयाँले बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सयले बढेर ५७ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि माघ २ गते पनि यही मूल्यमा कारोबार भएको थियो। यो मूल्य विगत ४ महिनायताकै उच्च हो। चाँदीको मूल्य भने स्थिर छ। प्रतितोला ७५० मा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ।

नेतृत्वमा कुरा मिल्यो, प्रचण्ड कार्यकारी अधिकार सहित कार्यवाहक अध्यक्ष बन्ने

काठमाडौं, माघ ७ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकीकृत पार्टीको नीति, नेतृत्व र दुवै पार्टीका नेताहरूको व्यवस्थापनमा केन्द्रित ‘निर्णायक छलफल’ गरेका छन् । ओलीनिवास बालकोटमा शनिबार भएको छलफलका आधारमा आइतबार बस्ने एकता संयोजन समिति बैठकबाट पार्टी एकतालाई पूर्णता दिन दुई छुट्टाछुट्टै कार्यदल गठन गर्ने समझदारी भएको छ । एकीकृत पार्टीको समाजवादउन्मुख कार्यदिशा हुने समझदारीअनुसार एकता संयोजन समिति बैठकबाट दुवै पार्टीका नेताहरू रहेको कार्यदल बन्नेछ । सैद्धान्तिक–वैचारिक पक्ष मिलाएर भावी कार्यदिशा बनाउने कार्यदल र केन्द्रीय नेतृत्वसहित तल्लो तहसम्मको एकताका लागि संगठनात्मक ढाँचा मिलाउन सुझाब दिने कार्यदल बनाउने तयारी छ । ओलीका प्रेस संयोजक चेतन अधिकारीले दुई अध्यक्षबीच एकतालाई पूर्णता दिने गरी एकता संयोजन समितिमा एजेन्डा प्रस्ताव गर्ने समझदारी भएको बताए । गत २५ पुसमा बसेको संयोजन समितिको बैठकमा ओली थाइल्यान्डबाट फर्किएलगत्तै कार्यदल बनाएर एकता प्रक्रियालाई तीव्रता दिने निर्णय भएको थियो । कार्यदलअघि दुवै पार्टीका अध्यक्षलाई निर्णायक छलफल गर्ने ‘म्यान्डेट’ बैठकले दिएको थियो । नेतृत्वको दुई मोडालिटीमा निर्णायक छलफल नेतृत्वबारे तीनभन्दा बढी मोडालिटीमा छलफल हुँदै आए पनि शुक्रबार र शनिबार ओली र प्रचण्डबीच दुवै अध्यक्ष रहने कि एक अध्यक्ष र अर्को सहअध्यक्ष रहेर एकीकृत पार्टीको मूल नेतृत्व टुंग्याउने विषयमा केन्द्रित रहेर छलफल भएको छ । दुवै अध्यक्ष रहँदा सरकारको नेतृत्व गर्ने भएकाले एउटा सेरेमोनियल भूमिकामा रहने र अर्कोले पार्टी सञ्चालन गर्नेबारे छलफल भएको छ । अर्को मोडालिटीअनुसार कार्यकारी अधिकारसहित प्रचण्ड कार्यवाहक अध्यक्ष बन्ने भन्नेमै केन्द्रित रहेर छलफल चलेको उच्च स्रोतले जनाएको छ । तर, प्रचण्डनिकट स्रोतले भने दुई नेताबीच एउटाले सरकारको नेतृत्व गरे अर्कोले पार्टीको नेतृत्व गर्ने गरी करिब–करिब समझदारी भइसकेको दाबी गरेको छ । दुवै मोडालिटीमध्ये जुनसुकैमा सहमति भए पनि अहिलेका एमालेका पदाधिकारीहरू कायम रहने र माओवादीका केही नेतालाई उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवको जिम्मेवारी दिने गरी छलफल केन्द्रित भएको छ । यसो गर्दा माओवादी केन्द्रका पाँचदेखि सातजना नेता पदाधिकारी बन्नेछन् । यो मोडालिटीमा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल अहिलेकै मर्यादाक्रममा रहनेछन् भने माओवादी केन्द्रबाट एकजना वरिष्ठ नेता थपिन सक्नेछ । त्यस्तै, एमालेको २०६ सदस्यीय केन्द्रीय कमिटीमा माओवादी केन्द्रबाट ८२ तथा पार्टी एकतामा संलग्न विभिन्न नेता र आवश्यक अन्य नेताहरूसमेत थपेर तीन सयदेखि बढीमा ३२५ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने गरी गृहकार्य भइरहेको स्रोतले जनाएको छ । सैद्धान्तिक र सांगठनिक कार्यदल बन्ने दुई नेताबीच पार्टी एकता संयोजन समितिको बैठकबाट एकताको साझा दस्ताबेज तयार गर्ने सैद्धान्तिक–वैचारिक कार्यदललाई तोकेरै कार्यादेश दिने समझदारी भएको छ । ‘यो कार्यदलले कम्युनिस्ट आन्दोलनबारे दुवै धारले हेर्ने दृष्टिकोणको अहिलेसम्मको समीक्षा, जबज र एक्काइसौँ शताब्दीको जनवादका समानता र उपलब्धि तथा भावी कार्यदिशाका विषयमा एकता संयोजन समितिलाई सुझाब दिनेछ,’ प्रचण्डनिकट स्रोतले भन्यो । त्यस्तै, संगठनात्मक एकतासम्बन्धी कार्यदललाई दुवै पार्टीको संगठनात्मक प्रणाली, अन्तरिम विधान, तलसम्मका पार्टी कमिटी र जनसंगठनहरूबीचको एकता कसरी गर्ने विषयमा नीतिगत सुझाब दिन पाउने कार्यादेश दिने तयारी छ । दुवै कार्यदलले दिएको सुझाबलाई एकता संयोजन समितिले पारित गरेपछि एकताको मिति टुंगो लाग्ने नेताहरूको भनाइ छ । -नयाँ पत्रिकाबाट पार्टी एकता सम्बन्धमा सैद्धान्तिक र वैचारिक र संगठनात्मक ढाँचाका बारेमा पनि उनीहरुबीच छलफल भएको हो । दुई नेता सहित अाज दिउँसो ३ बजे एकता संयोजन समितिको बैठक बस्ने निधो भएको छ ।

चीनले ४ तले दरबार हाइस्कूल बनाउने, नक्सा तत्काल पारित गर्न अनुरोध

काठमाडौं, नेपालको ऐतिहासिक स्कूलका रुपमा परिचित दरबार हाइस्कूल निर्माण कार्य थालनी गर्न चीन सरकारले सरकारसमक्ष अनुरोध गरेको छ । चिनियाँ दूतावासको टोलीले शिक्षा मन्त्रालयका पदाधिकारीसँग स्कूलको नक्सा तत्काल पारित गरि काम शुरु गर्ने वातावरण बनाउन आग्रह गरेको थियो । दरबार हाईस्कूलको नक्सा पुरातत्व विभागले फाइनल गरेको र पहिलाकै शैलीमा बनाउनु पर्ने बताएको छ । चीनले तयार गरेका डिजाइनअनुसार भने विद्यालय ४ तल्लाको हुनेछ। १२६ वर्षअघि यूरोपेली शैलीमा निर्माण भएको यो विद्यालयलाई रेट्रोफिट गरी बचाउनु पर्ने सम्पदाविद्हरूको माग रहेको छ।

हेलिकप्टरबाट लड्डु होइन, जाडोले मर्न बाध्य जनतालाई कम्बल बाँड– दीपशिखा

काठमाडौं, निर्वाचनमा विजयी भएको खुशीयालीमा हेलिकप्टरबाट लड्डु बाँडिरहेका सांसदहरुलाई वाइसिएल नेपालले खबरदारी गरेको छ । वाइसिएल नेपालका केन्द्रीय अध्यक्ष दीपशिखाले लड्डु बाँडनुको साटो शीतलहरबाट ज्यान गुमाइरहेकाहरुलाई कम्बल बाँडन सुझाव दिएका हुन । चिसो र शीतलहरबाट देशभरी ५० जना भन्दा बढीको मृत्यु भइसकेको छ । अहिलेसम्म राज्यका तर्फबाट भने संगठितरुपमा प्रभावितहरुलाई कुनै पनि व्यवस्था गरिएको छैन । नेता दीपशिखाले आफ्नो फेसबुक वालमा लेखेका छन– हेलिकप्टरबाट लड्डु बाँड्ने जनप्रतिनिधिहरुले शितलहरले ज्यान गुमाईरहेकाहरुलाई मण्डी बाँडिदिए कति जाति हुन्थ्यो तीन दिन अघि मात्रै धादिङ जिल्लाको उत्तरी भेगको विकटबस्तीमा प्रतिनिधि र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिले मतदातलाई धन्यवाद दिने क्रममा हेलिकप्टरबाट लड्डु वितरण गरेका थिए । उनीहरूले जिल्लाको सेर्तुङ, तिप्लिङ, झार्लाङ र लापाको ठूलोगाउँमा हेलिकप्टरबाट ओर्लेर लड्डु वितरण गरेको समाचार प्रकाशित भएको थियो । निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत रुबी भ्यालीमा एमाले, माओवादी केन्द्रका स्थानीय नेता र प्रतिनिधिसभा सदस्य खेमप्रसाद लोहनी र प्रदेश (ख) का सदस्य जगत सिम्खडाले लड्डु बाँडेका हुन्। निवर्तमान सांसद धनबहादुर घले र माओवादी केन्द्रका कार्यकर्ता रामसिंह तामाङ हेलिकप्टरमा लड्डु राखेर लापा गएको समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको थियो । सोही समयमा कपिलवस्तु, सिरहा, सप्तरीलगायतका जिल्लामा ४५ जनाको मृत्यु भएको समाचार समेत प्रकाशित भएको थियो ।  

नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा पाकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं । नेत्रहीन विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । पाकिस्तान र दुबईमा सोमबारदेखि संयुक्त रूपमा सुरु हुने प्रतियोगिताको खेल तालिका परिवर्तन भएपछि नेपालले पहिलो खेलमा पाकिस्तानसँग खेल्नुपर्ने भएको हो । यस्तै नेपालले बुधबार बंगलादेश खेल्नेछ भने दुवईमा शनिबार श्रीलंका, आइतबार भारत र सोमबार अस्ट्रेलियासँग खेल्नेछ । विश्वकप ट्रफी तीन राष्ट्रका कप्तानले मात्र सार्वजनिक गरेका थिए । यससँगै दुबईमा अस्ट्रेलिया, भारत र श्रीलंकाले विश्वकप खेल्नेछ । यसैबीच विश्वकपको फाइनल खेलको स्थान यसअघि पाकिस्तान भए पनि परिमार्जन गरिएको छ । भारतबाहेक एसियाली राष्ट्र विश्वकप फाइनलमा पुगेमा फाइनल खेल पाकिस्तानमा हुनेछ । तर, अस्ट्रेलिया अथवा भारत पुगेमा फाइनल खेल दुबईमा हुनेछ । फाइनल खेल १८ जनवरीमा दुबई अथवा पाकिस्तानको लाहोरमा हुनेछ ।

कुन प्रदेशमा कसको सरकार ? यस्ताे छ सत्ता समीकरण

काठमाडौं, पुस ३ । एमालेले प्रदेश नम्बर १ र ३ मा बहुमत पाएको छ। प्रदेश १ मा प्रत्यक्षमा ५६ र समानुपातिक ३७ गरी कुल ९३ सिट रहेको छ। एमाले प्रत्यक्षतर्फ ३६ सिट जितेको छ भने समानुपतिकमा १६ सिट आउने सम्भावना छ। ४७ सिटले बहुमत पुग्छ। एमालेको मात्रै ५२ सिट छ। प्रदेश १ मा माओवादी केन्द्रले प्रत्यक्षमा १० सिट जितेको छ भने समानुपातिकमा ५ सिट पाउने देखिन्छ। त्यस्तै कांग्रेसले प्रत्यक्षमा ८ सिट जितेको छ भने समानुपातिकमा १३ सिट आउने सम्भावना छ। प्रत्यक्षमा १ सिट जितेको संघीय समाजवादी फोरम नेपालले समानुपातिकमा २ सिट जित्ने देखिन्छ। प्रदेश नम्बर ३ मा प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ कुल ११० सिट छन्। जसमा एमालेले प्रत्यक्ष तर्फ ४२ सिट जितेको छ भने समानुपातिकमा १७ पाउने सम्भावना छ। ५६ सिटले बहुमत पुग्छ। एमालेले मात्रै ५९ सिट पाउने छ। प्रदेश ३ मा प्रत्यक्षमा १५ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ९ सिट जित्ने देखिन्छ। ७ सिट जितेको कांग्रेसले समानुपातिकमा १४ सिट ल्याउने सम्भावना छ। विवेकशीलले प्रदेश ३ मा १.५ प्रतिशत थ्रेसहोल्ड कटाएको कारण ३ सिट पाउने देखिन्छ। प्रदेश २ मा मधेसी दलको बहुमत प्रदेश नम्बर २ मा मधेसवादी दलको झिनो बहुमत हुने सम्भावना छ। प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ सिट गरी कुल १०३ सिट रहेको प्रदेश २ मा फोरम र राजपाको झिनो बहुमत प्राप्त गर्ने देखिन्छ। फोरमले प्रत्यक्षमा २० सिट जितेका छ भने राजपाले १५ सिट। फोरम र राजपा दुवैले ९-९ सिट ल्याउने सम्भावना छ। ५२ सिटले बहुमत हुन्छ। प्रदेश २ मा फोरम र राजपाको कुल सिट ५३ हुने देखिन्छ प्रदेश २ मा एमालेले प्रत्यक्षमा १४ सिट जितेको छ उसले समानुपातिकमा ८ सिट पाउने देखिन्छ। ७ सिट जितेको माओवादीले ६ र ८ सिट जितेको कांग्रेसले समानुपातिकमा ११ सिट पाउने सम्भावना छ। प्रदेश ४, ५, ६ र ७ मा वामको बहुमत प्रदेश ४, ५, ६ र ७ मा कुनै दलको बहुमत हुने सम्भावना छैन। ३६ प्रत्यक्ष र २४ समानुपातिक रहेको प्रदेश ४ मा प्रत्यक्षतर्फ एमालेले १७ सिट जितेको छ। १० सिट समानुपातिकमा पाउने सम्भावना छ। प्रत्यक्षमा ९ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ३ सिट लिने देखिन्छ। प्रदेश ४ मा वाम गठबन्धन स्पष्ट बहुमतमा छ। त्यस्तै ६ सिट जितेको कांग्रेसले ६ सिट समानुपातिकमा पाउने सम्भावना छ। २ सिट प्रत्यक्षमा जितेको राष्ट्रिय जनमोर्चाले १ सिट समानुपातिक पाउने छ। कुल ७ सिट रहेको प्रदेश ५ मा प्रत्यक्षमा २ सिट एमालेले जितेको छ भने १६ सिट समानुपातिकमा पाउने सम्भावना छ। त्यस्तै माओवादीले प्रत्यक्षमा १६ सिट जितेको छ। ६ सिट समानुपातिकमा पाउने देखिन्छ। प्रदेश ५ मा एमाले र माओवादी स्पष्ट बहुमतमा छन्। प्रत्यक्षमा ५ सिट मात्रै जितेको कांग्रेसले समानुपातिकमा १३ सिट पाउने सम्भावना छ। प्रत्यक्षमा ३ सिट जितेको फोरमले समानुपातिकमा २ र राप्रपाले १ सिट पाउने अवस्था छ। प्रत्यक्षमा २४ र समानुपातिकमा १६ सिट गरी कुल ४० सिट रहेको प्रदेश ६ मा एमालेले प्रत्यक्षमा १४ सिट जितेको छ। समानुपातिकमा ६ सिट पाउने देखिन्छ। प्रत्यक्षमा ९ सिट जितेको माओवादीलाई समानुपातिकमा ४ सिट मिल्ने अवस्था छ। प्रदेश ६ मा एमालेको बहुमत नभए पनि वाम गठबन्धन भने स्पष्ट बहुमतमा छ। प्रत्यक्षमा १ सिट मात्रै जितेको कांग्रेसले समानुपातिकमा एमालेकै हाराहारीमा सिट पाउने देखिन्छ। प्रत्यक्षमा ३२ र समानुपातिकमा २१ गरी ५३ सिट रहेको प्रदेश ७ मा कसैको एकल बहुमत आउने सम्भावना छैन। प्रत्यक्षमा १७ सिट जितेको एमालेले समानुपातिकमा ७ सिट पाउने देखिन्छ। बहुमतको लागि २७ सिट आवश्यक पर्छ। माओवादीले प्रदेश ७ मा प्रत्यक्ष तर्फ १० सिट जितेको छ भने समानपातिकमा ४ सिट लिने छ। यहाँ एमाले र माओवादीको स्पष्ट बहुमत छ। उता प्रत्यक्षमा ४ सिट जितेको कांग्रेसले प्रदेश ७ मा सबै भन्दा बढी ८ सिट पाउने सम्भावना छ। प्रत्यक्षमा १ सिट जितेको राजपाले समानुपातिकमा २ सिट पाउने छ।

कान्छा सांसद बने केसी

म्याग्दी, मंसिर २६ । म्याग्दीका विनोद केसी प्रदेश नं ४ मा प्रत्यक्ष निर्वाचित हुने सबैभन्दा कम उमेरका सांसद बनेका छन् । प्रदेश नं ४ क मा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका ३३ वर्षीय केसी कान्छा सांसद बनेका हुन् चौध हजार ७०४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका केसीका प्रतिस्पर्धी राप्रपाका भीमप्रसाद गौचनले १२ हजार १७५ मत प्राप्त गरे । बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभा क्षेत्र (क) मा ४२ हजार ९३३ मतदाता रहेकामा २७ हजार ६७५ मत खसेको थियो । केसीलाई एमाले र गौचनलाई नेपाली काँग्रेसले समर्थन गरेको थियो । विसं २०४१ असार २४ गते जन्मनुभएका बेनपा–८ निवासी केसी शहिद परिवारका सदस्य छन् । उनका दाजु मदनको द्वन्द्वकालमा तत्कालीन शाही सेनाबाट हत्या भएको थियो । हाल नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य, बेनी नगर कमिटीका उपाध्यक्ष रहनुभएका केसीले दाजु मदनबाट प्रभावित बनेर माओवादी राजनीतिमा सक्रिय भएको बताए । दाजु दिवंगत भएपछि घरव्यवहार धान्नका लागि केसीले विसं २०६० देखि करिब पाँच वर्ष ट्याक्सी चालकका रुपमा काम गरेका थिए । म्याग्दी ट्याक्सी व्यवसायी समितिका संस्थापक अध्यक्ष रहेका केसी यातायात व्यवसायी पनि हुन् । मध्यम वर्गीय परिवारका केसी जिल्ला खेलकुद विकास समितिको पूर्व अध्यक्षसमेत हुन् । प्रदेशसभा सदस्यमा विजयी भएपछि केसीले कसैप्रति पूर्वाग्रह नराखी सबै जिल्लावासीको साझा प्रतिनिधिका रुपमा जनताको समस्या समाधानका लागि काम गर्ने बताए । स्थानीयस्तरमा रोजगारी सिर्जना र स्वरोजगार बन्ने वातावरण बनाउन स्थानीय तह, प्रदेश र संघीय सरकारबीच पुलको भूमिका निर्वाह गर्ने उल्लेख गरेका केसीले जिल्लाको जलविद्युत्, पर्यटन, वनपैदावार, कृषि क्षेत्रको विकास, समृद्धि र जिल्लावासीको जीवनस्तरमा सुधारमा पहल गर्नेमा जोड दिए । म्याग्दीको प्रतिनिधिसभामा वाम गठबन्धनबाट एमालेका भूपेन्द्रबहादुर थापाले २३ हजार ३०३ र प्रदेशसभा क्षेत्र (ख) मा एमालेकी नरदेवी पुन १० हजार ८६८ मत प्राप्त गरी विजयी भएका हुन् ।

धादिङ–१ को प्रदेशसभा ‘क’मा एमालेका राजेन्द्रप्रसाद पाण्डे विजयी

धादिङ, मंसिर २३। धादिङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ को प्रदेशसभा ‘क’मा नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डे २७ हजार ३३२ मत प्राप्त गरी विजयी भएका छन् । वाम गठबन्धनबाट उम्मेदवार बनेका पाण्डेले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका मधुकुमार श्रेष्ठलाई १३ हजार ६८५ मतान्तरले पराजित गरेका हुन् । पाण्डेका निकटतम् प्रतिद्वन्द्वी मधुकुमार श्रेष्ठले १३ हजार ६४७ मत ल्याए । यहाँ कुल ४३ हजार ५६४ मत खसेको थियो ।

चुनाव विरोधी गतिविधि गर्ने ५५० काठमाडौंबाट पक्राउ

काठमाडौं, मंसिर १९ । चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले राजधानीबाट ५ सय ५० जनाभन्दा बढीलाई पक्राउ गरी मुद्दा चलाएको जनाएको छ । राजधानीका विभिन्न स्थानबाट चुनाव विरोधी गतिविधिमा संग्लन भएको आरोपमा पक्राउ परेका ५ सय ५० जनालाई मुद्दा चलाइएको महानगरीय प्रहरी जनाएको छ । मंसिरमा मात्रै शंकास्पद गतिविधि गर्ने १७ सय ५४ जना पक्राउ परेको महानगरीय प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये ५ सय ५० जना बाहेक अन्यलाई सोधपुछ र अनुसन्धान पछि छोडिएको बताइएको छ । चुनावी गतिविधि सुरु भएसँगै ठाउँ ठाउँमा बम विस्फोट हुन थालेपछि प्रहरीले विभिन्न शंकास्पद गतिविधि गर्नेलाई निगरानी गरिरहेको छ । बम विष्फोटनका गतिविधिमा संग्लनको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ का दर्जनौ कार्यकता प्रहरीले नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको छ । तर अहिलेसम्म कुनै पनि समूहले घटनाको औपचारिक रुपमा जिम्मेवारी लिएको छैन । विष्फोटनका घटना र विष्फोटक पदार्थसहित केही भारतीय नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो सँगै चुनाव विराधी गतिविधिमा अमुक समूहको संलग्नता रहेको आशंका गरिएको छ ।