धावन मार्ग विस्तारपछि चितवनमा रात्रीकालिन उडान सुरु हुन्छ : मन्त्री भट्टराई

चितवन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको स्तरवृद्धिसंगै रात्रीकालिन उडानको तयारी रहेको बताएका छन् । बिहिबार बिहान भरतपुर विमानस्थलमा सरोकारवालासंगको छलफलमा भट्टराईले विमानस्थलको धावन मार्ग विस्तारसंगै रात्रीकालिन उडान गर्ने गरी तयारी अगाडि बढेको बताएका हुन् ।

नेपालभरीका विमानस्थलको स्तर वृद्धि गर्ने तयारी भएको भन्दै उनले काठमाडौं उपत्यका नजिकै रहेको यो विमान स्थलको विस्तार छिटो गर्ने गरी काम अगाडि बढ्ने दाबी गरे । विमानस्थलको उत्तरतर्फ रहेको नेपाली सेनाको व्यारेक र घोडा प्रजनन् क्षेत्रले केही समस्या दिए पनि त्यसलाई केही दिन भित्रै समाधानको बाटोमा लैजाने गरी काम अगाडि वढेको उनको भनाई थियो ।

उनले भने, ‘अबको १० दिन भित्रमा नेपाली सेनाको प्रमुख, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, जिल्लाका सरोकारवाला बिच सयुक्त वैठक बसेर यो समस्या समाधान गर्नेछु। नेपाली सेनालाई उचित स्थानमा स्थानान्तरण गरी विमानस्थलको धावन मार्ग विस्तारको काम हुन्छ ।’ भरतपुर विमानस्थलको अवस्थाको बारेमा विमान स्थलका प्रमुख पवनकुमार गौतमले पर्यटन मन्त्रीलाई जानकारी गराएका थिए।

साथै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विमानस्थल जोखिम भएको भन्दै यसको धावन मार्ग विस्तारको विकल्प नरहेको बताइन् ।

साथै पत्रकारहरुसंगको कुराकानीमा मन्त्री भट्टराईले जेष्ठ नागरिकलाई ५० प्रतिशत हवाइ भाडामा छुट कार्यान्वयन हुने ठोकेवा गरे । केही हवाइ कम्पनीले यसमा आलोचना गरेको भए पनि देशको नियम कानून कम्पनीले पालना गर्नुको विकल्प नरहेको उनले बताए ।

प्रचण्डद्वारा कान्तिकारी नेता अधिकारीप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं, असार २३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले आइतबार निधन भएका नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का पोलिटब्यूरो सदस्य श्रीनाथ अधिकारीलाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । नेता अधिकारीलाई सोमबार कुपन्डोलस्थित सो पार्टीको कार्यालय पुगी श्रद्धाञ्जली अर्पण गरेका हुन् । गत पुस २७ गते चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भर्ना भएका अधिकारीलाई फोक्सोको क्यान्सर भएको थियो । केमो लगायतका उपचार भएपछि थप उपचारका लागि उहाँलाई वैशाख २२ गते थप उपचारका लागि हरिसिद्धी लगिएको थियो । केमोको पहिलो चक्र सकिएपछि सेकाइका लागि ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा लगिएको पारिवारले जनाएको छ । वि.सं २०११ मा गोर्खाको अजिरकोट गाउँपालिकामा जन्मिएका अधिकारी विसं २०३२ बाट पूर्णकालीन रूपमा कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएका थिए । माओवादी पार्टी विभाजन आएसँगै अधिकारी मोहन वैद्य नेतृत्वको पार्टीमा लागेका थिए । अधिकारी कम्युनिष्ट आन्दोलनमा इमान्दार नेताका रुपमा परिचित छन् । २०४८ सालमा गोरखामा तत्कालीन संयुक्त जनमोर्चाबाट सांसद उम्मेदवार बनेका अधिकारी लोकप्रिय मत ल्याएपनि काँग्रेस उम्मेदवारसँग पराजित भएका थिए । माओवादी पार्टी विभाजनसँगै वैद्य नेतृत्वमा लागेका उनलाई अध्यक्ष प्रचण्डले अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरेका थिए ।

प्रचण्ड र देउबाबीच महत्वपूर्ण भेटवार्ता

काठमाडौं, असार १३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गोप्य भेटवार्ता गरेका छन् । दाहाल र देउवाबीच बिहीबार दिउँसो ललितपुरको होटल समिटमा भेटघाट भएको देउवा निकट स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका साथै सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धि विषयमा छलफल भएको थियो । शान्ति प्रक्रियाका बाँकी काम छिटोभन्दा छिटो टुंगोमा पुर्याउन आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने समझदारी भएको स्रोतको दाबी छ । पछिल्लो समय निकै पेचिलो बन्दै गएको सत्य निरुपण तथा मेलमिलाप आयोगको विषयमा तत्कालिन नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस एकै ठाउँमा उभिएका छन् । अध्यक्ष प्रचण्डले केही दिनअघि मात्र चितवनमा आयोजित एक कार्यक्रममा कांग्रेस र कम्युनिष्ट मिलेर मेलमिलाको विषय टुंग्याउन जरुरी रहेको सार्वजनिक मन्तन्यको क्रममा भनेका थिए । तत्कालिन माओवादी र कांग्रेस यो विषयमा एकै ठाउँमा उभिएका छन् । त्यसका बाँकी काम टुंग्याउने बाँकी छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक प्रमाणीकरण भने गरिसकेकी छिन् । यस विषयमा शीर्ष तहका नेताहरुले चासो देखाएका छन् । देउवा र प्रचण्ड भेटमा कंग्रेसका नेता रमेश लेखक पनि उपस्थित थिए।

बंगलादेशविरुद्ध अष्ट्रेलिया विजयी, उक्लियो शीर्ष स्थानमा

काठमाडौं, असार ६ । इंग्ल्याण्डमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशलाई हराउँदै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति सम्पन्न खेलमा बंगलादेशलाई ४८ रनले हराउँदै गत विजेता अष्ट्रेलिया तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । नटिङ्घमको ट्रेन्ट ब्रिजमा भएको खेलमा ३८२ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३३३ रन मात्र बनाउन सक्यो । उसका लागि मुश्फिकुर रहिमले शतक बनाए पनि टिमलाई जीत दिलाउन सकेनन् । उनले १ छक्का र ९ चौकाको मद्दतमा ९७ बलमा नट आउट १०२ रन बनाए । जारी विश्वकपमा रहिमको यो पहिलो शतक हो । यस्तै महुमदुल्लाहले ६९, तमिम इकबालले ६२, शाकिव अल हसनले ४१, लिटन दासले २०, सौम्य सरकारले १०, महेदी हसन मिराज र कप्तान मसुरुफे मुर्तुजाले ६–६ रन बनाए । यसअघि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३८१ रन बनायो । उसका लागि वार्नरले शानदार प्रदर्शन गरे । उनले ५ छक्का र १४ चौकाको मद्दतमा १४७ बलमा १६६ रन बनाए । जारी विश्वकपमा वार्नरको यो दोस्रो शतक हो । साथै, उनी यो विश्वकपमा सर्बाधिक ठूलो रन बनाउने ब्याट्सम्यान पनि बनेका छन् । यति मात्र होइन वार्नर चालु विश्वकपमा सर्बाधिक रन बनाउने खेलाडीसमेत बनेका छन् । अष्ट्रेलियालाई विशाल स्कोरमा लैजान उस्मान ख्वाजाले ७२ बलमा ८९, कप्तान आरोन फिन्चले ५१ बलमा ५३, ग्लेन म्याक्सवेलले १० बलमा ३२, स्टिभ स्मिथले १ रन बनाए । यस्तै, मार्कस स्टोइनिस १७ र एलेक्स केरी ११ रनमा अविजित रहे । बलिङमा बंगलादेशका सौम्य सरकारले ३ विकेट लिए ।

आइतबार पनि घटेन सुनको भाऊ !

काठमाडौं, जेठ २६ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य यथावत नै रहेको छ । शुक्रबार प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६२ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । यस्तै, शुक्रबार तेजावी सुनको मूल्य ६२ हजार रुपैयाँमा कारोबार भएको थियो भने आजपनि प्रतितोला सुनको मूल्य ६२ हजार रुपैयाँमै कारोबार भइरहेको छ । त्यसैगरी, शुक्रबार चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको थियो भने आजपनि चाँदी प्रतितोला ७ सय १५ रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रचण्डपथको आलोकमा नेकपाभित्रको बुर्जुवा चिन्तन परास्त गर्नु जरुरी

मोहन कार्की । यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई बैचारिक र राजनैतिक दृष्टिकोणबाट हामीले हेर्ने हो भने अन्तर्राष्ट्रिरुपमा चलेको बामपंथी आन्दोलनको नेतृत्व गर्ने ठाउँको यात्रा तय गरि सकेको छ । दुई ठुला दलभिन्न कार्यशैली र भिन्न–भिन्नै आन्दोलनको नेतृत्व गरेर हाल नबगठित नेपाल कम्युनिष्ट पार्टीले श्रमजिबि मजदुर बर्गहरु, विधार्थी, महिला, र उत्पीडित बर्ग, जाती तथा जनजातीहरुको मुक्तिको निम्ती योजनाबद्ध ढंगले रणनैतिक कार्यदिशा आगामि जिल्ला स्तरीय अधिबेशन लगत्तै केन्द्रीय महाधिबेशनले अहिले राजनैतिक बजारमा उब्जिएको प्रश्नहरुको जवाफ दिने नै छ भन्ने पक्षमा सकारात्मक छु । सकारात्मक सोच सबैले लिइदिनु हुनेछ भन्ने आशा र अपेक्षा पनि गर्दछु । हामीले हिजोको दिनमा आफ्नो बलिदान गरेर नेतृत्वलाई हर हालतमा जोगाउनु पर्छ भन्दै स–सम्मान गर्दै नेतृत्वमा स्थापित गरेका कतिपय नेतृत्वहरु पार्टीभित्र फरक मत राख्दै प्रतिकृयाबादीहरुको सिकार भैसकेका छन् । मुख्यतः नेपाली भू–भाग बामपंथीमय छ । सदियौं देखि नेपाली जनतालाई शोषण गर्दै हतियार देखाउँदै राणा शाशनकालदेखि, राजतन्त्र हुँदै बहुदलिय प्रजातन्त्रसम्म आइपुग्दा पनि नेपालभित्र बसोबास नेपाली नागरिकहरुको राजनैतिक तथा जनतालाई दिनुपर्ने हरेक अधिकार शासक बर्गले कुण्ठित गर्दै विभिन्न तह र तप्कामा जनतालाई बिभाजित गर्दै निरीह जनताहरुलाई कमजोर पार्दै ब्रम्हलुट गर्दै खोक्रो पारी सकेको देशलाई अब नेपाल कम्युनिष्ट पार्टीले आर्थिक राजनैतिक र सामाजिक रुपमा सुदृढ गर्दै समाजबादी क्रान्तिको आन्दोलनको नेतृत्व गर्नेछ । अहिले हासिल गरेको राजनैतिक अधिकारलाई सुनिश्चितता गर्दै, प्राप्त अधिकारको जगमा नेपालको मौलिकता र भौगोलिकता अनुसारको जगमा टेकेर नेपाली जनताको भबिश्य सुनिस्चितताको निम्ती पहल कदमी लिने वा प्रतिकृयाबादीहरुसङ्ग साँठगाँठ गर्दै अहिले बिकसित राजनैतिक घटना क्रमलाई निस्तेज गर्दै ब्यक्तिगत स्वार्थको निम्ती नेतृत्व हत्याउन, फेरि राजतन्त्रलाई गुहार्दै हिड्ने? जहिले पनि प्रतिकृयाबादीहरु फुटाउ र शासन गर भन्ने मान्यतामा न्वारन देखिको बल निकालेर मिडियामा प्रचार बाजी गरीरहेका छन् । आम नेपाली जनताले सचेतनापूर्वक भबिष्य उज्वलताको निम्ति उक्त प्रतिक्रीयाबादीको षडयन्त्रलाई चिर्न सक्ने छन् । र, चिर्नु पनि पर्दछ । यतिबेला नेपालमा आफुलाई अब्बल दर्जाको क्रान्तिकारी मै हो भनेर जतिसुकै स्थापित गर्न खोजे पनि हामीले हिजोको दिनमा आफ्नो बलिदान गरेर नेतृत्वलाई हर हालतमा जोगाउनु पर्छ भन्दै स–सम्मान गर्दै नेतृत्वमा स्थापित गरेका कतिपय नेतृत्वहरु पार्टीभित्र फरक मत राख्दै प्रतिकृयाबादीहरुको सिकार भैसकेका छन् । नेतृत्व तहमा पुगेपछि इतिहासलाई तोडमोड गर्दै साङ्गोपाङ्गो विश्लेषण गर्दै क्रान्तिकारी भनेर अब्बल दर्जामा आफूलाई उभ्याउने अनि प्रतिक्रान्तीको नेतृत्व गर्दै र पतनको दिशातर्फ उन्मुख भएको छ । अहिले हासिल गरेको राजनैतिक अधिकारलाई सुनिश्चितता गर्दै, प्राप्त अधिकारको जगमा नेपालको मौलिकता र भौगोलिकता अनुसारको जगमा टेकेर नेपाली जनताको भबिश्य सुनिस्चितताको निम्ती पहल कदमी लिने वा प्रतिकृयाबादीहरुसङ्ग साँठगाँठ गर्दै अहिले बिकसित राजनैतिक घटना क्रमलाई निस्तेज गर्दै ब्यक्तिगत स्वार्थको निम्ती नेतृत्व हत्याउन, फेरि राजतन्त्रलाई गुहार्दै हिड्ने? आज बिप्लबको पतनको दिशालाई साथ दिँदै उक्साउँछ । उता कथित नयाँ शक्तिको नाममा के–के न गर्छु भन्ने डा. बाबुराम कांग्रेसको भोटमा नाच्दै–नाच्दै नृशंगारपूर्वक माओबादी कार्यकर्ताको मतियार उपेन्द्र यादवसँग सती गए । राजनीति नै गर्ने हो भने, शहीदको रगतको सम्मान गर्छौ भने, बेपता योद्धा कार्यकर्ताको सम्मान गरिन्थ्यो भने, गोपाल किराँतीले नेतृत्व गरेको माओबादीले स्पष्ट रुपमा दरबार हत्याकाण्ड पछि नागार्जुन जंगलमा लखेटिएको ज्ञानेन्द्रलाई किन गुहार्नु । यसको अर्थ राजनैतिक चेतना नै छैन भन्ने हो । जनयुद्ध गर्दै हिड्छु भन्ने बिप्लब समूहलाई हिजो जनयुद्धको बेला जनतालाई निर्ममतापूर्वक दमन गर्ने राजतन्त्रको बफदार सिपाही जर्नेल, कर्णेलहरु आज बिप्लबलाई म साथ दिन्छु भनेर मिडियामा कुर्लिरहेका छन् । उता मोहन बैद्य कसैको उक्साहटमा प्रतिकृयाबादीलाई नै टेवा पुग्ने गरी आफुले के–के न गरेर देखाउँछु भनेर फुटेर गयो । आज बिप्लबको पतनको दिशालाई साथ दिँदै उक्साउँछ । उता कथित नयाँ शक्तिको नाममा के–के न गर्छु भन्ने डा. बाबुराम कांग्रेसको भोटमा नाच्दै–नाच्दै नृशंगारपूर्वक माओबादी कार्यकर्ताको मतियार उपेन्द्र यादबसँग सती गए । नेपालको बामपंथी आन्दोलनको ईतिहास र गरिमालाई ब्यक्तिगत स्वार्थको निम्ति प्रतिकृयाबादी तत्वहरुको हत्केलामा सुम्पेर सौताको रिसले पोइको समाजको अगाडि काखमा ‘सु’ गर्न सक्ने धोकेवाजदेखि साबधान हुन जरुरी छ । बिद्रोहको सिर्जना पनि तय गर्दै गर्दा कोठाबाट बाहिर आन्दोलनमा ननिस्कने अनि बिद्रोहको नारा समातेर बस्ने हुँदा कमरेड प्रचण्डले पालुङटार भेलाले अब संविधान सभाबाट संविधान र संघिय गणतन्त्र समानुपातिक र समाबेशिताको आधारमा राज्यमा बर्ग जाती क्षेत्र लिङ्गको प्रतिनिधित्व गर्ने कार्यदिशा अंगिकार गर्नु भयो । देशमा बामपंथि आन्दोलनले के माग गरेको छ भन्ने ज्ञान नभएको होइन । विप्लबको राजनैतिक एजेन्डा एकिकृत जनक्रान्ती प्राप्त उपलब्धिलाई प्रतिक्रान्ती गर्ने दिशा उन्मुख छ । शान्तिकालमा जब जनयुद्धलाई अबतरण गर्यो । मुख्य रुपमा विप्लबले माग गरेको क्षेत्र उसको कोटामा नपर्नु अनि अध्यक्ष कमरेड प्रचण्डसङ्ग बैचारिक मत भिन्नताको निहुँको कडी त्यहाँबाट शुरुवाती हुन् । कामिडाँडा, भक्तपुर सम्मेलन तथा भेलामा मोहन बैद्य कमरेडको लाईन शसस्त्र बिद्रोहको लाइन थियो । उक्त बिद्रोहको सिर्जना पनि तय गर्दै गर्दा कोठाबाट बाहिर आन्दोलनमा ननिस्कने अनि बिद्रोहको नारा समातेर बस्ने हुँदा कमरेड प्रचण्डले पालुङटार भेलाले अब संविधान सभाबाट संविधान र संघिय गणतन्त्र समानुपातिक र समाबेशिताको आधारमा राज्यमा बर्ग जाती क्षेत्र लिङ्गको प्रतिनिधित्व गर्ने कार्यदिशा अंगिकार गर्नु भयो । यसको स्वागत र समर्थनमा हामी हालसम्म जुटीरहँदा सहि ठाउँमा हामी छौ । संगठन कसैको पेवा जस्तै नबनाई हिजो गरेको योगदानहरुको कदर गर्दै बामपंथी आन्दोलनका सिपाहिहरुलाई कदर र स–सम्मान गरी गोलबन्द गर्दै बर्गिय राज्यसतालाई जोगाउँदै प्रतिकृयाबादीहरुलाई हाम्रो सत्तामा आलोचनात्मक समर्थन गर्न उत्प्रेरणा र उत्साहित गरौं । यतिबेला हामी एकताको अन्तिम यात्रामा छौं । मात्रै जनबर्गिय संगठनको एकता टुङ्याउन बाँकी छ । मूलभुतरुपमा पार्टी एकता टुंगिसकेको छ । अब एकताको प्रक्रीयाको अन्तिम चरणमा आइपुग्दा हामी नेतृत्वले दिएको जिम्मेवारीलाई आत्मासात गर्दै जानेछौं दुइमत छैन । तर, संगठनमा बुर्जुवा तथा पुजीबादी चिन्तनलाई निस्तेज पारौं । राजनैतिक बजारमा उर्लिएको प्रश्नको तिर प्रतिक्रीयाबादिको हत्केलामा नाच्ने कठ्पुतलीहरु तिरै फर्काउन तयार होऔं । संगठन कसैको पेवा जस्तै नबनाई हिजो गरेको योगदानहरुको कदर गर्दै बामपंथी आन्दोलनका सिपाहिहरुलाई कदर र स–सम्मान गरी गोलबन्द गर्दै बर्गिय राज्यसतालाई जोगाउँदै प्रतिकृयाबादीहरुलाई हाम्रो सत्तामा आलोचनात्मक समर्थन गर्न उत्प्रेरणा र उत्साहित गरौं । नेतृत्वहरु पार्टीको होस् या जनबर्गिय संगठनको चलायमान हुँदै निरन्तर समाजबादी आन्दोलनको यात्रामा लम्कौ । कार्यकर्ताहरुले नेतृत्व बुर्जुवा पुजिबादी चिन्तनमा लागेर कार्यकर्ता बिर्सने कार्यकर्ताको भावनामा ठेस पुर्याउने, अनाहक दुःख दिने, समाजलाई नै दूषित पार्ने, बिकृति र बिसंगतिमा लिप्त नेता भेटिएमा यथाशिघ्र कार्बाही गरोस् । नेतृत्वले पनि कार्यकर्ताको हर्कत त्यस्तै भेटिएमा प्रमाण जुटाई कार्बाही गरियोस् । पहिला आफ्नो घर भित्र सफा गरौं अनि बाहिर संसार सफा गर्न सफल हुनेछ । लेखमा प्रयुक्त विचार लेखकका निजि विचार हुन् । सम्पादकीय सहमति अनिवार्य छैन ।

सेक्सका निम्ति ज्यान दिने गर्छन् यी प्राणीहरू

मानिसले जस्तै जनावरहरूले पनि वंश अगाडि बढाउन यौन सम्बन्ध राख्ने गर्दछन् । सामान्यतया सबै जसो प्राणीहरूमा यो प्रक्रिया सामान्य रूपमै चलिराख्छ तर यस संसारमा यस्ता प्राणीहरू समेत रहेका छन् जसका पोथीहरू यौनक्रिया समाप्त हुने बित्तिकै भालेलाई मारिदिने गर्दछन् । तीमध्ये एउटा यस्तो प्राणी पनि रहेको छ जसको भाले यौनक्रिया समाप्त हुनसाथ आफैं मर्ने गर्दछ । यस जीवमा गर्भधारण गरिसकेपछि सृष्टि अगाडि बढाउने सम्पूर्ण जिम्मेवारी पोथीमा रहने गर्दछ । त्यसैले प्रकृतिले त्यस्ता पोथीहरूलाई विशेष किसिमका विशेषताहरूले सुसज्जित गरेको हुन्छ । हो, यसरी वंश अगाडि बढाउन पोथीसँग संसर्ग गर्ने बित्तिकै ज्यान गुमाउने जीव हो भाले माहुरी । माहुरीको घारमा रानु मौरी र भाले मौरी बाहेक ज्यामी मौरी समेत रहेका हुन्छन् । ज्यामी मौरीहरू हुन त पोथी नै हुन्छन् तर तिनमा प्रजनन क्षमता हुँदैन । एउटा घारमा एउटा मात्र रानु मौरी हुने गर्दछ । मौरीको फुलबाट रानु मौरी बन्ने प्रक्रिया पनि व्यवस्थित खालको छ । यदि कुनै लार्भालाई रानु बनाउनु छ भने ज्यामी मौरीहरूले त्यस्ता लार्भाहरूलाई विशेष प्रकारको खाद्य पदार्थ ‘रोयल जेली’ खुवाएर हुर्काउने गर्दछन् । यदि कथंकदाचित ज्यामी मौरीहरूले अन्य रानु बनाए भने ती घारबाट छुट्टिएर जाने गर्दछन् अन्यथा तिनीहरूलाई रानुले मारिदिन्छ । एउटा रानु मौरीले प्रजननको याममा हजारौं भाले मौरीहरूसँग सम्बन्ध स्थापित गर्न सक्छ । यसले उसलाई त केही हुन्न तर भालेले यौनक्रिया समाप्त हुनासाथ ज्यान गुमाउने गर्दछ । मौरीमा देखिने यस्तो परिघट्ना आरम्भदेखि नै मानिसको लागि जिज्ञासाको विषय रहँदै आएको छ र विज्ञानले यस्तो हुनुको कारण पत्ता लगाइसकेको छ । विज्ञानको अनुसार रानु मौरीसँग संसर्ग गर्ने बित्तिकै भाले मौरीको लिङ्ग रानुको योनीभित्रै चुँडिएर  छुट्छ, जसको पीडा सहन नसकी उसको मृत्यु हुने गर्छ । वैज्ञानिकहरूका अनुसार भाले मौरीलाई सम्भोग गर्नुअघि नै त्यसपछि आफ्नो मृत्यु हुने कुरा थाहा हुने गर्छ । यसरी एकै दिनमा थुप्रै भालेहरूसंग संसर्ग गरेपछि ती सबै भालेहरूको मृत्यु हुन्छ । उता त्यसपछि रानुको शरीरभित्र यदि धेरै वीर्य जम्मा हुन्छ जसले १५ सय फूलहरू निशेचित गर्नसक्छ । माहुरीको घारमा कुनै माहुरी रानु बन्ने बित्तिकै त्घार्भारिका भाले महुरीहरू उसको सेवामा लाग्ने गर्छन् । घारमा ज्यामी मौरीहरूले मह थुपार्ने गर्छन् भने भालेहरूको काम खाने र रानु मौरीको प्रजनन समय आउँदा ऊसँग संसर्ग गर्ने मात्र हुने गर्दछ । आकारमा लगभग भालेभन्दा दुई गुणा ठुलो हुने भएकाले पनि रानुलाई भालेहरूमाथि शासन गर्न सजिलो हुने गर्छ । वास्तवमा भाले मौरीहरूको जन्म नै रानुसंग संसर्ग गर्न भएको हुन्छ । उनीहरूको न त मह निर्माण प्रक्रियामा कुनै योगदान हुन्छ न घरको सुरक्षामा नै । घारमाथि कुनै बाह्य आक्रमण भएको खण्डमा आक्रमणकारीलाई टोकेर घार्को सुरक्षा गर्ने पनि ज्यामी मौरी नै हुन्छन्, जो पोथी हुन्छन् ।

उत्साहका साथ सकियो लगानी सम्मेलन

काठमाण्डौं, चैत १७ । आर्थिक समृद्धिको मार्ग चित्र पहिल्याउने लक्ष्यका साथ सरकारले आयोजना गरेको लगानी सम्मेलन उत्साहपूर्णरुपमा सम्पन्न भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्प पूरा गर्ने र त्यसका लागि स्वदेशी तथा विदेशी लगानीकर्ता समेत भित्र्याएर एकाध वर्षभित्रै आर्थिक उन्नतिको मार्गमा अगाडि बढ्ने लक्ष्य हासिल गर्न सम्मेलन फलदायी हुन पुगेको छ । सरकारले सम्मेलनका लागि ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई शो केशमा राखेको थियो । सम्मेलनकै क्रममा विभिन्न १५ आयोजनाको समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस्तै १७ वटा परियोजनामा आवेदन परेको छ । त्यसमा यातायात पूर्वाधारतर्फ सात, ऊर्जातर्फ चार, कृषिका तीन, शिक्षा तथा स्वास्थ्यका दुई र ढुवानी पूर्वाधारका एक परियोजनामा लगानीका लागि लगानीकर्ताले इच्छा व्यक्त गरेका छन् । सम्मेलनमा ४० देशका ७३५ प्रतिनिधि सहभागी भएका थिए । यस्तै ३०० विदेशी कम्पनी, ६०० नेपाली सहभागी भएका थिए भने १०० वटा स्वदेशी कम्पनीले सहभागिता जनाएर सम्मेलनलाई एउटा उत्सवका रुपमा सम्पन्न गरेका छन् । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । उनले उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपालमा आउने लगानी र प्रतिफलको सुरक्षामा सरकार कटिबद्ध रहेको, कानूनी तथा नीतिगत सुधार गरिएको र खुला हृदयले लगानीकर्तालाई स्वागत गर्न तयार रहेको भन्दै विदेशी तथा स्वदेशी लगानीकर्ताको मन जित्ने प्रयास गरेका थिए । नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भन्दै सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिले लगानीका अवसरको सविस्तार वर्णन गरेका थिए । समापन समारोहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हरेक क्षेत्रमा लगानी जरुरी रहेको र त्यसका लागि सरकारले उपयुक्त वातावरण बनाएको बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए। राजनीतिक विषयमा फरकफरक अडान राख्दै आएका राजनीतिक दल, उद्योगी व्यवसायी तथा जानकारले एकै स्वरमा भनेका थिए– नेपालमा लगानी गर्न आउनुस्, हामी उच्च प्रतिफल हुने वातावरण बनाउँछौँ । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वअर्थमन्त्री डा रामशरण महतले उदार अर्थतन्त्रको शुरुआतीसँगै नेपालको निजी क्षेत्रले गरेको प्रगतिको फेहरिस्त मात्रै प्रस्तुत गर्नुभएन, नाफा कमाउन र लगानीको सुरक्षाका लागिसमेत नेपाल आउन आग्रह गर्नुभयो । कोही सत्तापक्ष थिएन, कोही प्रतिपक्ष पनि भएन, सबै नेपाली भएर एकै स्वरमा संसारभरबाट नेपालमा आएका लगानीकर्तालाई सम्बोधन गर्दै भनेका थिए–विकसित देशमा समेत सानातिना समस्या रहन्छ, त्यस्ता समस्यासमेत नेपालमा छैन । भौतिक पूर्वाधार, ऊर्जा, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा ठूलोमात्रामा लगानी जरुरी रहेको भन्दै लगानी बोर्डले आयोजनाको विशेषतासहितको प्रस्तुतिसमेत गरेको थियो । निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसङ्घका प्रतिनिधिले सरकारको भनाइमा नै होस्टेमा हैसै गर्दै खुला हृदयका साथ लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका थिए । लामो राजनीतिक सङ्क्रमणपछि स्थायित्व प्राप्त गरेको नेपालले सहज लगानीका लागि पछिल्लोपटक कानूनमा गरेको सुधार, एकल सेवा केन्द्रमार्फत सेवा दिने प्रणालीको स्थापना, संस्थागत र संरचनागत सुधारले पनि लगानीमैत्री बनेको सन्देश सम्मेलनले दिएको छ । सम्मेलनमा भएका समझदारी शुरुआत मात्रै भएको भन्दै अर्थमन्त्री डा युवराज खतिवडाले केही समयभित्रै सकारात्मक प्रभाव देखिने बताए । नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको सन्देश दिएर नेपालले विश्व रङ्गमञ्चमा बेग्लै पहिचानको सञ्चारसमेत गरेको छ । सम्मेलनमा सहभागीलाई सरकारले प्रदान गरेको न्यानो आथित्वताले पनि उनीहरुलाई आकर्षित गरेको थियो । सर्वोच्च शिखर सगरमाथा र भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल समृद्धिको यात्रामा रहेको र विश्वका लगानीकर्ताका लागि सुगमस्थल रहेको सन्देशसमेत सम्मेलनले दिएको छ । सम्मेलनकै क्रममा निर्माणमा गइसकेको अरुण तेस्रोमा वित्तीय व्यवस्थापन भएको छ । यस्तै लामो समयदेखि निर्माणमा जान इच्छुक रहेको माथिल्लो त्रिशूलीमा समेत लगानी जुट्ने सुनिश्चितता भएको छ । गैरआवासीय नेपालीसमेत मातृभूमिको विकासका लागि संस्थागतरुपमा लगानी जुटाउन प्रतिबद्ध देखिएका छन् । नेपालमा लामो समयदेखि लगानी गर्दै आएका एशियाली विकास बैंक, विश्व बैंकजस्ता संस्थाले थप लगानी गर्ने प्रतिबद्धता जनाएर सरकारको प्रयासमा सार्थक सहयोग गर्ने वचन दिएका छन् । यसले नेपालको छविसमेत उच्च बनाउन बल पुगेको छ । नेकपा नेतृत्वको वर्तमान सरकारले राजनीतिक विषयलाई भन्दा आर्थिक विकास र समृद्धिलाई केन्द्रमा राखेको, सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबैजसो दलको एउटै प्रतिबद्धता रहेको सन्दर्भमा सम्मेलनले नेपालको हित पहिल्याउने दिशामा सार्थक प्रयास गरेको छ । जस्तोसुकै ढाँचाबाट भए पनि नेपालमा लगानी गर्न आग्रह गर्ने नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा, नेपाल लगानीका लागि स्वर्ग जस्तै रहेको बताउने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणादेखि छलफल शत्रमा सहभागी विज्ञलेसमेत लगानीकर्तालाई विश्वासमा लिन कुनै कसर बाँकी राखेका थिएनन् । सम्मेलनले नेपाल सुगम गन्तव्य हो, चीन र भारतजस्ता उदयमान अर्थतन्त्रको बीचमा रहनुको फाइदा सहजै लिन सक्छ भन्ने स्पष्ट र सोझो सन्देशसमेत प्रवाह गर्न सफल भएको छ । सम्मेलनका क्रममा प्रस्तुत गरिएको हुड्के, तामाङ सेलो, साकेलाले पनि नेपालको विधितालाई झल्काउने प्रयास गरेको थियो । रासस

सिमेन्ट उद्योगबाट दैनिक तीन करोडको उत्पादन

गाईघाट, चैत ११ । डेढ वर्षदेखि सिमेन्ट उत्पादनमा फड्को मार्दै आएको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनको क्षमता वृद्धि गर्दै लगेपनि विद्युत् आपूर्तिको कारण समय–समयमा सिमेन्ट उत्पादनमा समस्या झेल्दै आएको छ । एक महिनासम्म धनुषा ढल्केबर क्षेत्रबाट सिमेन्ट उद्योगमा आपूर्ति हुने विद्युत् आपूर्तिमा समस्या आएको कारण सिमेन्ट उत्पादनमा ह्रास आउन थालेको बेला अहिले एक हप्तादेखि विद्युत् आपूर्ति पुनः सहज भएपछि उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादन गर्न थालेको छ । सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक नवलकिशोर साहका अनुसार तीव्र गतिमा उद्योगले सिमेन्ट उत्पादन गरिरहेको बेला गत माघको पहिलो हप्तादेखि फागुनभर धनुषा, ढल्केबर विद्युत् आपूर्ति केन्द्रबाट नियमित विद्युत् आपूर्ति नहुँदा उद्योगमा सिमेन्ट उत्पादन कार्य ह्वात्तै घटेको थियो तर अहिले सम्बन्धित निकायमा ध्यानाकर्षण गराएर विद्युत् आपूर्ति सहज भएपछि एक हप्तादेखि उद्योगले दैनिक १८ हजार बोरासम्मअर्थात् ८०० मेट्रिक टनभन्दा बढी गैँडा छाप सिमेन्ट उत्पादन गर्न थालेको छ । उद्योगको सिमेन्ट उत्पादन गर्ने पूर्ण क्षमता दैनिक ८०० मेट्रिक टन हो । डेढ वर्ष अघिसम्म विद्युत् आपूर्तिकै कारण घाटामा रहेको उदयपुर सिमेन्ट उद्योगले विद्युत् आपूर्ति सहज भएपछि वार्षिक अर्बौं रुपैयाँको आम्दानी गर्न थालेको छ । तर पटक–पटक हुने विद्युत् अवरोधको कारण उद्योगले सोचेजस्तो सिमेन्ट उत्पादन गर्न नसक्दा घाटा व्यहोर्नुपरेको उद्योग प्रशासन बताउँछन् । अहिले विद्युत् आपूर्ति सहज भएपछि सिमेन्ट उद्योगले प्रत्येक दिन रु ३ करोड मूल्य बराबरको सिमेन्ट उत्पादन गर्न शुरु गरेको उद्योग प्रशासनले बताएको छ । उद्योगमा अहिले ४३९ मजदूर तथा कर्मचारी रहेका छन् भने कर्मचारीको लागि मासिक रु एक करोड ३२ लाख र विद्युत्मा अढाइ करोड खर्च हुने गरेको बताइएको छ । रासस

बजारमा सुनको भाउ जस्तातस्तै

काठमाडौं, माघ २७ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै परिवर्तन भएको छैन । शुक्रबार बजारमा सुन तोलामा ६२ हजार १ सय रुपैयाँमा कारोबारमा भएको थियो भने आइतबार सुन तोलामा ६२ हजार १ सय रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, शुक्रबार तेजावी सुन तोलामा ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ६१ हजार ८ सय रुपैयाँमै कारोबार भइरहेको छ । शुक्रबार चाँदी तोलामा ७७५ रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी तोलामा ७७५ रुपैयाँमै कारोबार भइरहेको जनाएको छ ।

चिरिबाबुले ‘बुढेसकालमा बाग्मतीमा हाम फाल्न पाए हुन्थ्यो’ भनेपछि ओलीको यस्तो टिप्पणी

काठमाडौं, ‘अब बुढेसकालमा भएपनि यो बाग्मतीमा एकचोटी हाम फाल्न मन छ ।” ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले माइकमा यसो भन्दा मञ्चमा बसेका प्रधानमन्त्री मज्जैले हाँसे । सहभागी नहाँस्ने त कुरै थिएन । कुरा हाम फाल्ने थियो तर यता चौतर्फी हाँसो । चिरिबाबु खानेपानी मन्त्रालय अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयद्वारा आयोजित पानी प्रशोधन केन्द्रको उद्घाटन समारोहमा बोल्दै थिए । प्रसंग थियो प्रशोधन केन्द्र निर्माणको । चिरिबाबुले बाल्यकालल स्मरण गर्दै बाग्मतीमा कुनै बेला पौडी खेल्न तछाडमछाड हुने गरेको बताउँदै हाम फाल्ने कुरा गरेका थिए । “म सानो छँदा स्कूलमा हाफ टाइम हुनेबित्तिकै या छुट्टी हुने बित्तिकै यही खोलामा आएर पौडी खेलिन्थ्यो । अनि तिर्खा लागे त्यही खोलाको पानी पनि कति चोटी खाइयो ।” चिरिबाबुले भने, “तर अहिले पुल तर्दा समेत नाक थुन्नुपर्ने अवस्था छ । तर गर्यौं भने नहुने केही छैन । मलाई यो बुढेसकालमा भएपनि एकचोटी बाग्मतीमा हाम फाल्न मन छ ।” चिरिबाबुले राजधानी उपत्यकाका नदीहरु फोहोर भएकोमा चिन्ता व्यक्त गर्दै नदीहरु सफा गर्न महानगर र सरकार सबैले गम्भीररुपमा लाग्नुपर्ने बताए । चिरिबाबुपछि कार्यक्रमको अन्तिममा प्रधानमन्त्री केपी ओलीको पालो थियो सम्बोधनको । प्रधानमन्त्रीले चिरिबाबुको प्रसंगलाई किन छोड्थे र ? उनले भनिहाले, ‘अघि चिरिबाबुले हाम फाल्ने भन्नुभयो, अब बाग्मती हाम फाल्ने, पौडिने, लुगा धुने, नुहाउने बन्छ । तर पानी चाहिँ नखानु होला नि ?’ फेरी हाँसो । चिरिबाबु मुस्कुराए ओलीका शब्द सुन्दै । “हैन, खान पनि हुन्छ, हामी त्यति सफा गर्छौ ।’ प्रमले प्रसंग अगाडि बढाए, “तर खोलाको पानी खान योग्य नै भने हुँदैन । तर पौडी खेल्नुहोला मज्जाले ।” प्रधानमन्त्रीले प्रकृतिले हरेक विकारलाई प्रशोधन गर्ने आफ्नै प्रणाली विकास गरेपनि मानिसले प्रकृतिको चक्रमा आक्रमण गर्दा त्यसले प्रदुषण निम्त्याएको बताए । नेपालका सबै नदीहरु स्वच्छ र सफा राख्न सरकार प्रतिबद्ध भएको उनको जिकिर थियो ।

लागुऔषध चरेससहित दुई भारतीय पक्राउ

धादिङ, पुस १९ । बिक्रीका लागि भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले धादिङको गजुरीबजार नजीकैबाट बिहीबार आज बिहान २३५ किलोग्राम प्रतिबन्धित लागुऔषध चरेससहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । काठमाडौै‌बाट भारततर्फ कन्टेनर ट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा सुराकीका आधारमा अवैध लागुऔषध चसेरसहित प्रहरीले उनीहरूलाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित एकानिघौली टीकापुरग्राम निवासी ३० वर्षीय सतेन्द्र सिंह बेघल र पटेवा सुगौलीका ५० वर्षीय महमद गद्दी रहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गजुरी र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिआएका प्रहरीले सो लागुऔषध पक्राउ गरेको हो । एचआर ३ एसएस ९३७१ नंको कन्टेनरमा लुकाई छिपाई चरेस लोड गरेको सुराकी आएपछि ब्यूरोका टोलीले पिछा गर्दै गजुरी बजार नजिकै जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालय गजुरीको सहयोगले उनीहरुलाई पक्राउ गरेको हो । यसरी पक्राउ गरेको लागुऔषध चरेस वर्षकै सबैभन्दा धेरै परिमाणको भएको पनि प्रहरीले जनाएको छ । रासस

रोग लिएर फर्कन्छन् महिला कामदार

काठमाडौँ, पुस १२ । विदेशमा २०/२१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो । आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुगेकी उनी फर्कँदा पैसा त कमाए तर पैसासँग रोग पनि ल्याए । घरेलु कामदारका रूपमा कतारमा काम गर्दा उहाँ धेरै खटे । बिहान १/२ बजेदेखि काम गर्ने र राति पनि १२ बजेसम्म काम गर्नुपर्ने बाध्यता थियो । दलालले यहाँ भनेर लगेको भन्दा धेरै समयसम्म काम गर्नुपर्ने र काम गरेअनुरूपको तलब नपाउँदा उनी स्वदेश फर्के । उनले भने, “बैंकमा दुईचार पैसा बचत भएर मात्रै के गर्नु र ? अनेक रोगले गर्दा अब काम गर्न नसक्ने भइहालेँ ।” उनीजस्तै ३५ वर्षीया अर्की महिला पनि विदेशमा रोजगारीका लागि जाँदा शारीरिक समस्या लिएर फर्किएका थिए । दैनिक २१/२२ घण्टासम्ममा काम गर्दा र आरामको समय नहुँदा उनी केही महीना पहिले स्वदेश फर्केका थिए । एउटा परिवारका लागि काम गर्न उनले दिनमा दुई/तीन घण्टाबाहेक फुर्सद पाएन । उनी आफू काम गरिरहेको परिवारका लागि खाना पकाउने, शौचालय सफा गर्ने, बच्चाको स्याहार गर्नेलगायतका काम गरे । लामो समयसम्म काम गर्दा ढाड दुख्नेलगायतका समस्या आउँदा उनी स्वदेश फर्के । उनले भने, “अहिले काठमाडौँमा नै सानो व्यवसाय गरिरहेकी छु ।” घरेलु कामदारका रूपमा विदेश जानु धेरै नेपाली महिलाका लागि रहरभन्दा पनि बाध्यता बनेको छ । सरकारले महिलाका लागि खाडीमुलुक जान रोक लगाए पनि लागू भएको छैन । कतिपय महिलाले अनेक हैरानी सहेर पैसा पनि नकमाइ फर्किएका छन् । कतिपय भने एक दिनमा धेरै घण्टा काम गर्नुपर्ने र आराम गर्न समय नपाउँदा विभिन्न रोगले पीडित बनेका छन् । अर्की ३७ वर्षीया महिलालाई सुटकेस बोकेर भर्याङ उक्लने ओलर्ने गर्दा धेरै स्वास्थ्य समस्या आयो । श्रीमान्को निधनपछि घरको आर्थिक भार बेहोर्न पर्ने बाध्यता आइलाग्यो र उनी वैदेशिक रोजगारीमा गएका थिए । कुवेत जान हिँडेको मान्छे विमान चढेपछि उहाँले आफू ओमन जान लागेको थाहा पाए । दलालले उनलाई झुक्याएर कतार भन्दै ओमन पुर्याएको थियो । उनी जुन घरमा काम गर्नुहुन्थ्यो त्यो घरमा उहाँले दुई घण्टाभन्दा बढी आराम गर्न पाएन । “उतै मर्छु भन्ने लागेको थियो भाग्यले बाँचे”, उनी भज्छन् । बिहान सबेरैदेखि राति अबेरसम्म पनि उहाँ घरायसी काममा नै व्यस्त रहेका थिए । भाँडा माझ्दा, लुगा धुँदा र मिलाउँदा धेरै थाकेपछि उहाँलाई स्वदेश फर्कन मन लागेको थियो । बेचिएर त्यहाँ पुगेकी महिलाले चाहेर पनि स्वदेश फर्कन नमिल्ने रहेछ । आफू काम गरिरहेको घरमा बिरामी हुँदासमेत कामबाट विश्राम र उपचार दुवै कुरा पाएन । “चार दिनसम्म बिरामी पर्दा कसैले वास्ता गरेनन्”, उनले भने, “म नेपाल फर्किएर नाङ्लो पसल खोल्छु भन्ने सोचाइ आयो र अहिले त्यही गरिरहेकी छु ।” वैदेशिक रोजगारीबाट फर्किएका महिलाका संस्था पौरखीका अध्यक्ष मञ्जु गुरुङ खाडी मुलुकमा घरेलु श्रमिकका रूपमा पुगेका धेरै महिला फर्कँदा रोगी भएर फर्किने गरेको बताए । लामो समयसम्म उभिएर काम गर्दा महिलामा पाठेघर खस्ने, छालाको एलर्जी, मिर्गौलाको समस्या देखिएको छ । कामको अवधिमा पर्याप्त मात्रामा पानी नपाउने र पौष्टिक आहारा नपाउँदा महिला कामदार कमजोर शरीर लिएर फर्कनुपरेको हो । कतिपय महिला यौन हिंसामा समेत परेका छन् । काम गर्ने घरधनी वा आफन्तले बलात्कार गर्दा गर्भवती भएरसमेत कतिपय महिला फर्किएका छन् । पौरखीले घरमा फर्कन नसक्ने महिलालाई केही समय आश्रय दिएर तालीम दिने गरेको छ । स्वास्थ्य अवस्था कमजोर भएर फर्किएका महिलाको उपचारको सहयोग गरिरहेको उनले बताए । नेपालले नीतिगतरूपमा खाडीमा महिला कामदार रोक्ने तर छिमेकी देशको बाटो हुँदै महिला कामदार जाने क्रम नरोकिँदा समस्या बढेको उनको अनुभव छ । उनले भने, “जुनसुकै देशमा गएर काम गर्न खुला गरेर त्यहाँ भएका समस्याको समाधान खोज्नुपर्छ ।” रासस

निर्मला हत्या अनुसन्धानमा फेरि गयाे अर्काे प्राविधक टाेली

महेन्द्रनगर : निर्मला पन्तको बलात्कार र हत्याप्रकरणको सूक्ष्म अनुसन्धान गरिरहेको मानवअधिकार आयोगले प्राविधिकसहितको विज्ञ टोली गठन गरेको छ। राष्ट्रिय मानवअधिकार आयोगका सुदूरपश्चिम प्रदेशका निर्देशक झंकर रावलले विज्ञ टोलीले कञ्चनपुर पुगेर प्रहरीले गरिरहेको अनुसन्धान र अन्य प्राविधिक विषयमा जानकारी लिएको बताए। ‘यो अपराध अनुसन्धान गर्ने टोली भने होइन’, उनले भने, ‘आयोगले मानवअधिकारका दृष्टिबाट गर्नुपर्ने अनुसन्धानको पाटोमा हेर्ने प्राविधिक विज्ञ सहितको टोली गठन गरेर पठाएको हो।’ तथ्य केलाउने, प्रहरीले अनुसन्धानका लागि तयार पारेका प्रमाणलगायत के–कसरी गरिएको रहेछ ? त्योसमेत हेर्ने काम प्राविधिक विज्ञ टोलीले गरेको छ। टोलीका संयोजक पूर्व नायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठकले टोलीले घटनास्थल पुगेर आवश्यक अध्ययन र परामर्श गरेको बताए। ‘हामीले जिल्लामा पुगेर मानवअधिकारको दृष्टिबाट काम भए÷नभएको हेरेका छौं’, उनले भने, ‘अहिले निर्मला पन्तको बलात्कार र हत्याको घटना र भविष्यमा कुनै घटना भए त्यसमा अपनाउनुपर्ने सजकताका लागि समेत ध्यान दिन खोजिएको हो।’ टोलीले बलात्कारपछि हत्या गरिएकी निर्मलाको शव भेटिएको घटनास्थल, पीडित परिवार, सरोकारवाला निकायलगायतसँग समेत भेट गरेर आवश्यक अध्ययन गरेको छ। ‘अहिलेको अनुसन्धान प्रहरीले कसरी गरिरहेको छ, मानवअधिकारको दृष्टिकोणबाट त्यो पनि हेरिएको छ’, संयोजक पाठकले भने, ‘घटनास्थलको प्राविधिक पाटो र अनुसन्धानका अन्य पाटोसमेत प्राविधिक तवरले अध्ययन गरिन्छ।’ टोली सदस्यसमेत रहेका शिक्षण अस्पताल महाराजगन्जका फरेन्सिक विभाग प्रमुख डा. हरिहर अवस्थीले पोस्टमार्टम, भजाइनल स्वाब संकलन गर्दा के–कसरी गरिएको थियो भन्नेबारे समेत टोलीले हेरेको बताए। उनका अनुसार पोस्टमार्टम गर्ने महाकाली अञ्चल अस्पतालका चिकित्सकसँग समेत छलफल गरिएको छ। अन्नपूर्ण दैनिकबाट

चारै प्रतिस्पधीले दिए ‘बेजोड’ पस्तुति, कसले बाजी मार्ला आइडलको उपाधि ? [भिडियाे]

काठमाडौं, मंसिर २८ । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको नेपाल आइडल-२ मा उत्कृष्ट चारको बिहीबारको प्रस्तुति विशेष रह्यो। यिनै चारबाट अर्को साता नेपाल आइडलको विजेता घोषणा गरिनेछ। बिहीबार नेपाल आइडलको मञ्च चिटिक्क परेको थियो। विक्रम बराल, रवि ओड, सुमित पाठक र अस्मिता अधिकारी ढाकाको पहिरनमा सजिएका थिए। ड्यासमा बसेका जज पनि ढाका मिश्रित पहिरनमा आकर्षक देखिएका थिए। कार्यक्रमकी सञ्चालिका रिमा विश्वकर्मा ढाकाको लामो गाउनमा सजिएकी थिइन् भने आसिफ शाहले ढाकाकै कोटमा नेपालीपन झल्काएका थिए। कार्यक्रमको सुरुआतमा रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको शुभकामना सन्देशको भिडियो क्लिप प्रदर्शन गरिएको थियो। जजहरू कालीप्रसाद बाँस्कोटा, न्ह्यु वज्राचार्य र इन्दिरा जोशीले पनि गीत गाएर कार्यक्रमको रौनक बढाएका थिए। उत्कृष्ट चारको अब्बल प्रस्तुतिमा दर्शकहरू झुमिरहेका थिए। हरेक प्रतियोगीले दुईवटा गीत मिश्रण गरेर आवाज दिएका थिए। कार्यक्रममा पहिलो प्रस्तुतिका लागि रवि मञ्चमा देखा परे। उनले ‘दैव हे’ बोलको गीतमा बेजोड प्रस्तुति दिएका थिए। सुदूरपश्चिमका एकमात्र विजेताका दाबेदार रविले पछिल्लो समय आफूलाई निकै परिस्कृत गरेका छन्। कार्यक्रमको दोस्रो प्रस्तुतिका लागि जज कालीप्रसाद बाँस्कोटा मञ्चमा उपस्थित भए। ‘निर जैले रिसाउनी’ बोलको गीतमा सुमधुर आवाज र रोमान्टिक प्रस्तुतिका साथ मञ्च तताउन सफल भए उनी । विक्रमको स्वरमा नेपाल आइडल मन्त्रमुग्ध बन्यो। सबैको हौसला र तारिफ पाउन सफल बरालले ‘मेरो बेहोशी आज’ र ‘चिठीभित्र’ बोलको दुईवटा गीतलाई एकै बसाइमा सँगसँगै गाएका थिए। उनको प्रस्तुति अब्बल थियो । यसलगत्तै निकै लामो आलाप गुनगुनाउँदै मञ्चमा देखा परिन्, जज इन्दिरा जोशी। उनले ‘जाऊँ कि नजाऊँ’ बोलको गीतमा निकै सुमधुर आवाज दिएकी थिइन्। ‘मै नाचेँ छमछमी’ बोलको गीतमा शरीरको ताल मिलाउँदै मञ्चमा देखा परे सुमित। यसका साथै उनले ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीतमा पनि निकै सुमधुर आवाज दिएका थिए। ‘फूलको आँखामा फूलै संसार’ बोलको गीत गुनगुनाउँदै मञ्चमा देखा परे आइडलका जज न्ह्यु वज्राचार्य। उनले गीत गाउँदा सबैजना चुपचाप संगीतमा हराएका थिए। नेपाल आइडलकी दाबेदार एकमात्र महिला प्रतियोगी अस्मिताले ‘कहिलेकहीँ मलाई पनि’ बोलको गीतमा आवाज दिइन्। यसका साथै ‘मेरो माया कतारमा’ बोलको गीत पनि मि श्रण गरेर गुनगुनाएकी थिइन्। कहिले रक, कहिले लोक, आधुनिक, सेन्टिमेन्टल हरेक प्रकारका गीतमा आफूलाई अब्बल साबित गरिसकेकी अस्मिताले धमाकेदार प्रस्तुति दिइन्। आउने पुस ६ गते नेपाल आइडल विजेता घोषणा हुने कार्यक्रमका प्रोजेक्ट हेड सुरेश पौडेलले जानकारी दिए । अघिल्लो हप्ताको कार्यक्रमपछि चारैजना प्रतियोगी आआफ्ना घर गएका थिए। शुक्रबारको कार्यक्रममा कोही पनि इलिमेट नहुने र होम भिजिटको भिडियो प्रदर्शन गरिने पौडेलले बताए। उनले यसपटकको नेपाल आइडलमा उत्कृष्ट चारबाट नै विजेता घोषणा गरिने जानकारी दिए। फाइनल कार्यक्रम नेपाल इन्जिनियरिङ क्याम्पस पुल्चोकमा हुनेछ । नेपाल आइडलको यात्रामा आफूसँग अनगिन्ती अनुभव रहेको बताउँदै उनले यसको स्क्रिप्ट र भाषामा अत्यन्तै लगावले काम गरेको बताए। ‘मन जित्छ उसले राम्रो गाउँछ जसले’ नाराका साथ सुरु भएको नेपाल आइडल-२ साउन २४ देखि सुरु भएको हो। नेपाल आइडलको प्रोजेक्ट हेड सुरेश पौडेल तथा निर्देशकहरू एलन श्रेष्ठ र लोकेश वज्राचार्य छन्।  यो समाचार अन्नपूर्ण पोस्ट्बाट लिइएको हो ।

युएई बाट कोमामा फर्किए जित बहादुर

युएई,कार्तिक २५। ब्रेन ह्यामरेज (मस्तिष्कमा रगत जमेको) कारण कोमामा पुगेका जित बहादुर लिम्बुलाई युएईबाट नेपाल पठाइएको छ। ताप्लेजुङ स्थाइ ठेगाना भएपनी हाल मोरङमा बस्दै आएका लिम्बुलाई युएई स्थित नेपाली दूतावासको पहल तथा विभिन्न संघ सस्थाको आर्थिक सहयोगमा शनिबार राती १२ बजे युएईको दुबई एरपोर्टबाट ट्रान्जिटमा दिल्ली हुँदै नेपाल पुर्याइएको हो । युएई बाट नेपालका लागि सिधा उडान भए पनि जटिल प्रकृतिका बिरामी बोक्ने सुबिधा नभए पछी लिम्बूलाई एयर इन्डिया मार्फत नेपाल लगिएको हो। सन् २०१५ मा रोजगारीका लागि युएई आएका लिम्बु करार अवधी सकिए पछी सन् २०१७ बाट अबैधानिक बनेका थिए। लिम्बू अबैधानिक रूपमा कार्यरत रहेको भन्दै सरकारले समेत उनलाई नेपाल फर्काउन पहल गरेको थिएन। लामो समय देखि युएईमा नै उपचाररत लिम्बुलाइ नेपाली जन प्रगतिशील मोर्चाले कागजी प्रक्रिया मिलाउन पहल गरेको थियो भने दूतावासको पहलमा अस्पतालमा बुझाउनुपर्न उपचार खर्च १ लाख ६० हजार दिर्हाम छुट भएको थियो। अचेत अबस्थामा रहेला लिम्बुलाई नेपालमा उपचारको लागि बिराटनगर न्युरो अस्पतालमा रिफर गरिएको छ ।