स्पेन र नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुग्छ : अध्यक्ष तिमिल्सिना
काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल र स्पेन बीचको सम्बन्ध विस्तार र राष्ट्रहितका लागि भर्खरै भएको आफ्नो भ्रमण निकै फलदायी रहेको बताएका छन् । स्पेन भ्रमणबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले स्पेनमा बनाउन लागिएको लुम्बिनी उद्यान परियोजना दुई देशबीचको सम्बन्ध सेतुका रुपमा रहने विश्वास व्यक्त गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले भने, ‘बुद्धको जन्मस्थल लुम्बिनी क्षेत्रको अझ प्रचारप्रसारका लागि क्याथेरेश शहरमा स्थापना हुने गार्डेनले महत्वपूर्ण भूमिका खेल्नेछ, बौद्ध दर्शन र धर्ममा लाग्नेलाई गौतम बुद्धको जन्मथलोको भ्रमण गर्न प्रेरित गर्नेछ, नेपाल र यहाँका कला संस्कृति, जातीय विविधता, हिमाल र प्रकृति बुझ्न सहज हुनेछ ।’
स्पेन भ्रमणका क्रममा भएको शान्ति सम्मेलनमा र अन्य उच्चस्तरीय भेटघाटमा अध्यक्ष तिमिल्सिनाले शाक्य मुनि बुद्धको शान्तिको सन्देश संसारभर फैलाउन सबैसँग अनुरोध गरिएको जानकारी दिए । शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपालका तर्फबाट विश्व शान्ति र भाइचाराका लागि अनुरोध गर्दै उहाँले बौद्ध दर्शनको अद्वितीय गुण भनेकै जीवन र प्रकृति प्रतिको नवीनतम सोच भएको र खुशी प्राप्तिका लागि कसैले अर्को जन्म र भिन्नै विश्वको प्रतीक्षा गर्नु नपर्ने धारणा राखेका थिए ।
लुम्बिनी गार्डेन फाउण्डेशनका अध्यक्ष जोशे म्यानुएल भिलानोभा आलेमनले अध्यात्म र शान्तिसँग जोडेर नेपालको पवित्र भूमि र दुुई देशबीचको सम्बन्ध विस्तारका विभिन्न पक्षबारे धारणा राखे । फाउण्डेशनको उपाध्यक्ष गोविन्द सुवेदीले परियोजना अघि बढेसँगै स्पेन र नेपालबीचको सशक्त मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप सुदृढ हुने विश्वास व्यक्त गरे ।
कतिपय विकसित मुलुक सम्पन्न हुँदाहुँदै पनि हत्या र हिंसाका घटना भइरहेका र शान्तिको खोजीमा रहेको परिस्थितिमा बौद्ध दर्शनको महत्वपूर्ण पाटो अहिंसा र शान्तिलाई अघि बढाउन चाहेकाले स्पेनले शान्ति प्रवद्र्धनका लागि सम्मेलनको आयोजना गरेको जनाइएको छ ।
स्पेनको एक्स्त्रेमादुरा प्रदेशका मुख्यमन्त्री गुुइलेरम्मो फर्नाण्डेज भारका निमन्त्रणामा त्यहाँ आयोजित शान्ति सम्मेलनमा भाग लिने सिलसिलामा उनले गत चैत २३ देखि यही वैशाख १ गतेसम्म भ्रमण गरेका थिए । लुम्बिनी गार्डेन फाउण्डेशनका आयोजनामा भएको सम्मेलनमा अध्यक्ष तिमिल्सिनाका साथ लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रप्रसाद गुप्ता, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीलगायतका सहभागिता थियो ।
बुद्ध र बौद्ध दर्शनसँग जोडिएका चारवटै पालिकाबाट लगिएको माटामा नेपालकै पीपलको वृक्ष रोपेर उद्यान निर्माणको शुभारम्भ भएको जनाइएको छ । उद्यानमा अत्यन्तै महँगो अर्थात् रु दुई अर्ब मूल्य अनुमान गरिएको धातुको ४० मिटर अग्लो बुद्धको मूूर्ति स्थापना गर्ने सोच अघि बढाइएको छ । एकसय सात हेक्टर जमीनमा निर्माण हुने उद्यानको मुख्य प्रवेशद्वारमा बुद्ध नेपालमा जन्मिएका हुुन् भन्ने सन्देश लेखिने जानकारी दिइएको छ । उद्यानमा नेपालको कला, कौशल, सांस्कृतिक वेषभूषा, पोखरी, ढुङ्गेधारा, शान्ति स्तूप, अशोकस्तम्भजस्ता संरचना निर्माणले नेपालको लुम्बिनी क्षेत्रका झझल्को दिनेछ । उद्यान स्थापनाले दुुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास गरिएको छ । रासस
ग्यास सिलिण्डरको धरौटी मूल्य तोकियो
काठमाडौंः नेपाल एलपी ग्यास उद्योग संघले एलपी ग्यासको धरौटी मूल्य तोकेको छ । एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले एलपी ग्यासको धरौटी रकमलाई देशैभर एकरुपता ल्याउने उद्देश्यले प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ मूल्य तोकिएको बताए । यो दर उच्च पहाडी र हिमाली क्षेत्र बाहेकका स्थानमा लागू हुने पनि उनले बताए । एकै प्रकारको सिलिण्डरको दर कति हो भन्ने विषयमा एकरुपता ल्याउनको लागि पनि प्रतिसिलिण्डर २ हजार १ सय रुपैयाँ तोकिनु उपभोक्ताका लागि ठिक भएको उनले बताए । संघले तोकेकोभन्दा बढी रकम लिएमा गैह्रकानूनी हुने पनि उनले बताए । अहिलेसम्म उपभोक्तासँग भएका सिलिण्डरको हकमा भने आफुले खरिद गरेको पसलबाट बिल लिनुपर्ने पनि अध्यक्ष भण्डारीले स्पष्ट पारे । उपभोक्ताकर्मी माधव तिमिल्सिनाले पनि विगतमा एकै प्रकारको सिलिण्डरको मूल्य फरक फरक तिर्नुपर्ने परिपाटीको अन्त्य गर्ने गरी सिलिण्डरको मूल्य तोकिनु उपभोक्ताको दृष्टिकोणले ठिक भएको बताए । तर विगतमा किनिएका करोडौंको संख्यामा रहेका सिलिण्डरको बिल उपभोक्तासँग नभएकाले न्यायोचित ढंगले बिल दिने व्यवस्था मिलाउनुपर्ने उनले बताए । अहिलेसम्म बिक्री भएका सिलिण्डरको बिल कसले दिने हो भन्ने सम्बन्धमा नेपाल एलपी ग्यास उद्योगसँगले समन्वयकारी भूमिका खेल्नुपर्ने तिमिल्सिनाले बताए । संघको गत शुक्रबार बसेको साधारणसभाले सिलिण्डरको धरौटी तोकेको हो । तर यसअघि उपभोक्ताको घरमा पुगेका सिलिण्डरको हकमा कसरी बिल जारी गर्ने भन्ने सम्बन्धमा भने कुनै निर्णय गरेन । यसबाट उद्योगको सम्पत्तिको रुपमा रहने सिलिण्डरको विभिन्न दायित्व आम उपभोक्ताले नै बेहोर्नुपर्ने स्थिति आउने सम्भावना देखिन्छ ।
केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौंः पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भारतको बिहारमा बनेको न्यूचापीय क्षेत्र उत्तर–पूर्व सर्ने क्रममा आज प्रदेश नं १ र २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए । आज बेलुकाबाट यी प्रणाली पूर्णरुपमा हटेर जानेछ । यस वर्ष मनसुन अक्टोबरको पहिलो हप्ताबाट बाहिरिने मौसमविद्को अनुमान छ । यस अवधिमा कुनै नयाँ प्रणाली विकसित नभए झरी तथा भारी वर्षा हुने सम्भावना नरहेको बताइएको छ । हाल प्रदेश नं १ मा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ । राति प्रदेश नं १, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रही एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव आठ र अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव नौ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव चार डिग्री सेल्सियस रहेको छ ।
रुप्से झरनामा लेदोसहितको बाढी आएपछि बग्याे सडक, यातायात ठप्प
अन्नपूर्ण गाउँपालिका–३ दानाको अन्ध गल्छीस्थित रुप्से झरनामा आएको बाढीले सडक बगाएपछि बेनी–जोमसोम खण्डमा फेरि यातायात अवरुद्ध भएको छ । मुस्ताङबाट आलु–स्याउ बोकेर झरेका र बेनी हुँदै खाद्यान्न बोकेर उक्लँदै गरेका गाडी बाटैमा रोकिएका छन् । सडक बगेपछि त्यहाँबाट पैदलयात्रा गर्नसमेत नमिल्ने भएको छ । रुप्से झरनामा लेदोसहितको बाढी आएपछि फेदीको सडक कटानमा परेको हो । मंगलबार बिहानैदेखि रुप्सेमा पानीको सतह बढेपछि यातायात अवरुद्ध भएकामा सडक नै बगेपछि बुधबारदेखि पूरै ठप्प भएको हो । बाढीले दुवैतर्फको पूरै भित्तो बगाएकाले तत्काल नयाँ ट्र्याक खोल्नसमेत समस्या देखिएको छ ।
यी हुन् घरैबाट परीक्षा दिँदा पालना गर्नुपर्ने १६ नियम (सूचीसहित)
काठमाडौंः पूर्वाञ्चल विश्वविद्यालय (पूवि)ले ‘टाइम बाउन्ड होम एक्जाम’ परीक्षा सञ्चालन गर्दा क्याम्पस/कलेज र परीक्षार्थीले पालना गर्नुपर्ने नियम तयार पारेको छ । पूविले परीक्षाका क्रममा क्याम्पस÷कलेजले पालना गर्नुपर्ने ७ र परीक्षार्थीले पालना गर्नुपर्ने १६ बुँदे नियम बनाएको हो । नोवेल कोरोना भाइरस (कोभिड–१९)ले गर्दा विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परीक्षा दिन नसक्ने भएपछि पूविले वैकल्पिक विधि अर्थात् ‘टाइम बाउन्ड होम एक्जाम’ लिन लागेको हो । सेमेस्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न लागेको परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले जानकारी दिए । क्याम्पस/कलेजले पालना गर्नुपर्ने ७ नियम: परीक्षार्थीले पालना गर्नुपर्ने १६ नियम:
गोंगबु हत्या प्रकरणः यस्तो छ नालीबेली !
काठमाडौंः गोंगबुमा भएको विभत्स हत्यामा संलग्न एक महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–७ घर भई हाल काठमाडौंको टोखा नगरपालिका वडा–१० नवज्योति मार्ग बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेल रहेकी छन् । उनले केही केही टेलिशृंखलामा अभिनय समेत गरेकी थिइन् । उनलाई रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबुस्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोराको हत्या आरोपमा सोमबार बेलुका चितवनबाट पक्राउ गरिएको थियो । राति नै काठमाडौं ल्याएर प्रहरीले मंगलबार बिहान पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । सम्बन्धित समाचारः गोंगबुमा कृष्णबहादुरको किन र कसरी भयो विभत्स हत्या ? सोमबार बिहान काठमाडौंको गोंगबुमा सुटकेसभित्र टाउको र खुट्टाविनाको बोहोराको शव भेटिएको थियो । त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो । यस्तो छ नालीबेली – मिति २०७७।०४।२५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा टोखा न.पा. वडा नं. १० नवज्योति मार्गमा रातो प्लाष्टीकले बेरेको, बोराको नाम्लो सहित कालो रंगको सुटकेश भित्र टाउको र खुट्टा बिनाको पुरुषको शव फेला परेको । – तत्काल तालिम प्राप्त जो जो नामको Tracking Dog परिचालन गर्दा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा अन्दाजी ३०० मिटर पूर्व उत्तर रहेको स्वर्गद्वारी मार्गको खाली जमीनको कुनामा फेला परेको । – मृतक पहिचानका लागि मिति २०७७।०४।२६ गते मृतकको फोटो सामाजिक संजाल तथा मिडिया मार्फत सार्वजनिक गरिएको । – मिति २०७७।०४।२६ गते मृतकको मामा नाता पर्ने ब्यक्ति आई मृतकको सनाखत गरेको । – मृतक जिल्ला रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबु स्थित एक होटलमा बस्दै आएका बर्ष ४५ का कृष्ण बहादुर बोहोरा भन्ने यकीन भएको । – निज मृतक बिगत ८ महिना देखि उक्त होटलमा बस्दै आएको । – मृतक र अभियुक्त बीच करिव ३।४ बर्ष देखि फेसबुक मार्फत चिनाजानी भई सम्पर्कमा रहेको । – मृतक कृष्ण बहादुर बोहोरा अभियुक्तको कोठामा बेला बेलामा आई भेट्ने गरेको । – मृतकले अभियुक्तको फोटो राखी फेक फेसबुक आई.डी. खोली चलाउने गरेको भन्ने बुझिएको र आफु अनुकुल चल्नको लागि दबाब दिने गरेको । – मृतक घटनाको दिन आफु बसेको होटलबाट बा ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएको । – मृतकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएको । – अभियुक्तले दहीमा ५ वटा निन्द्राको औषधी (sleeping tablet- Triad 10 mg) मिसाई खान दिएको । उक्त खानेकुरा खाएपछि मृतक लठ्ठ परी सुतेको मौकामा फलामको मारतोल (ह्याम्मर) ले मृतकको अण्डकोषमा प्रहार गरेको । तत्पश्चात मृतकलाई सलको प्रयोग गरी घाटीमा थिचेको र मरेको यकीन गरेको । – धारिलो हतियार प्रयोग गरी टाउको र खुट्टा छिनाई झोलामा राखी आफैले फालेको । शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्की आई बसेको । – मिति २०७७।०४।२५ गते बेलुकी बिरामी लिएर काठमाण्डौ आई फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राईभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवन तर्फ गएको । – अनुसन्धानको क्रममा निज कल्पना मुडभरी (पौडेल) घटनामा संलग्न भएको र निजको छोरी शव ब्यबस्थापनमा संलग्न रहेको खुल्न आएकोले पक्राउको लागि प्रहरी परिचालन भएको । – निजहरुलाई खोजतलाशको क्रममा जिल्ला प्रहरी चितवनको समन्वयमा पक्राउ गरिएको । हालसम्मको प्रारम्भिक अनुसन्धानमा Crime Scene, Victim & Suspect को बीचमा Technically & Physically सम्बन्ध स्थापना भएको । थप अनुसन्धान कार्य भईरहेको । घटनास्थलबाट बरामद भएका सामानहरु – घटनामा प्रयोग भएको धारिलो हतियार – हिर्काउन प्रयोग भएको ह्याम्मर – रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा – घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल – सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा – मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरु – स्लिपीङ ट्यावलेटको खोल – मोबाईल सेटहरु
कोरोना संक्रमितको संख्या बढेकामा राष्ट्रपति भण्डारी चिन्तित
काठमाडौं : राष्ट्रपति विध्यादेवी भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा आज उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलसहित सम्बन्धित मन्त्रीहरूबाट महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी लिएपछि सो कुरा बताएकी हुन् । उनले बन्दाबन्दीको कारण सहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्नेलगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकले रोजगारी गुमाउनु परेको र हालैका दिनमा संक्रमितको संख्या बढेकामा चिन्ता व्यक्त गर्दै भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड सबैबाट पालना गरिनुपर्नेमा जोड दिइन् । सो अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल पनि सहभागी थिए । – रासस
अमेरिकामा दैनिक सङ्क्रमण एक लाख पुग्ने चेतावनी
काठमाडौंः अमेरिकाका सङ्क्रामक रोगका एकजना वरिष्ठ विज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसको सङ्क्रमण रोकथाममा गरिएको प्रयास पर्याप्त नभएको बताएका छन्। आउँदा दिनहरू अमेरिका निम्ति थप चुनौतीपूर्ण हुने उनको ठम्याइ छ। थप प्रभावकारी उपाय नअपनाइएमा अमेरिकामा अहिलेको सङ्क्रमण दरभन्दा दोब्बर बढी अर्थात् दैनिक एक लाख मानिस सङ्क्रमित हुनसक्ने डा. फाउचीको चेतावनी छ। अहिले अमेरिकामा दैनिक सरदर ४० हजार मानिस सङ्क्रमित हुने गरेका छन्। उनले नागरिकस्तरबाट पनि सङ्क्रमण कम गर्न सामाजिक दूरी राख्ने र मास्क लगाउने नियम पालना हुनुपर्नेमा जोड दिए।अमेरिकी सिनेटको समितिद्वारा आयोजित सुनुवाइमा उनले भने, “हामीले अहिले सङ्क्रमण नियन्त्रण गर्न सकेका छैनौँ भन्ने स्पष्ट छ।” अमेरिकाको दक्षिण र पश्चिमका राज्यहरूमा सङ्क्रमण व्यापक रूपमा बढीरहेको देखिएको छ। डा. फाउचीले फ्लोरिडा, एरिजोना, टेक्सस र क्यालिफोर्नियालाई अहिले तीव्र गतिमा महामारी फैलिएको राज्यको रूपमा उदाहरण दिए। त्यस क्षेत्रका १६ वटा राज्यले व्यवसाय र कारोबार खोल्ने आफ्नो पूर्व योजना स्थगित वा फिर्ता लिएको समाचार संस्था सीएनएनले जनाएको छ। डा. फाउचीका अनुसार देशका केही भागमा रोकथामको राम्रो काम भइरहे पनि देशको एउटा भागमा प्रकोप रहँदा अरू पनि जोखिमा परेका छन्। उनले भने, “हामीले जहाँ सङ्क्रमण बढी छ त्यहाँमात्र ध्यान दिन सक्दैनौँ त्यसैले सिङ्गो देश नै जोखिममा छ।” उनले सबै अमेरिकीलाई नि:शुल्क वितरण गर्ने गरी मास्क उत्पादन गर्न अमेरिकी सरकारलाई आग्रह पनि गरे। विज्ञले त्यस्तो बताइ रहँदा सिनेटको समितिद्वारा आयोजित सुनुवाइमा सिनेटर एलिजाबेथ वारेनले भनिन्, “मैले निश्चित पूर्वानुमान गर्न त सक्दिन तर यो निकै अत्याउने ढङ्ले बढिरहेको छ, त्यो निश्चित हो।” डेमोक्र्याटिक पार्टीका राष्ट्रपतिका उम्मेद्वार जो बाइडले कोरोना भाइरस महामारीसँग जुध्न सरकारले चालेका कदमको चर्को आलोचना गरेका छन्। उनले त्यसको निम्ति राष्ट्रपति डोनल्ड ट्रम्पलाई निशाना बनाए। आफ्नो गृहक्षेत्रमा बोल्दै उनले ट्रम्पलाई विज्ञान अस्वीकार गर्ने व्यक्तिको संज्ञा दिए। र, राष्ट्रपतिकै कारण नागरिकले भयानक बलिदान दिन नसक्ने बताए। बीबीसी
चीनले बनायो ९८ फुटबल मैदान बराबरको विशाल विमानस्थल (तस्बिर सहित)
चीनको ७० औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा बेइजिङमा ११ अर्ब डलर खर्च गरेर बनाइएको विशाल विमानस्थल सञ्चालनमा आएको छ। चीनका राष्ट्रपति सी जिन्पिङले बेइजिङस्थित डाशिङ अन्तर्राष्ट्रिय विमानस्थलको बुधवार औपचारिक उद्घाटन गरे। उक्त विमानस्थल झन्डै सात लाख वर्गमिटर क्षेत्रमा फैलिएको चाइना डेलीले जनाएको छ। अर्थात् विमानस्थल ९८ वटा फुटबल मैदानजत्रो ठूलो छ। एअरपोर्ट काउन्सिलका अनुसार बेइजिङको पुरानो विमानस्थल विश्वकै दोस्रो अतिव्यस्त विमानस्थल हो। एट्लान्टा विमानस्थल व्यस्त विमानस्थलहरूको सूचीमा शीर्ष स्थानमा छ। तर बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा यात्री र विमानहरूको चाप बढेकाले नयाँ विमानस्थलको आवश्यकता भएको सरकारी अधिकारीहरू बताउँछन्। डाशिङ विमानस्थलमा एउटै भवनमा संसारकै सबैभन्दा ठूलो टर्मिनल भएको बताइन्छ। सन् २०२५ भित्र १७ करोड यात्रुहरू उक्त विमानस्थल हुँदै बेइजिङ आउने अपेक्षा गरिएको छ। नयाँ विमानस्थलबाट बुधवारदेखि सातवटा आन्तरिक विमानसेवाले उडान सुरु गर्ने ग्लोबल टाइम्सले जनाएको छ। ब्रिटिश एअरवेज, क्याथे प्यासिफिक, फिनएअर र अन्य अन्तर्राष्ट्रिय विमानसेवाले पनि डाशिङमा आफ्नो विमान चलाउने घोषणा गरिसकेका छन्। यो नयाँ विमानस्थलको नमुना प्रसिद्ध वास्तुकार जाहा हादिदले बनाएका हुन्। यो विमानस्थल सञ्चालनमा आएपछि बेइजिङमा पनि न्यूयोर्क र लन्डनमा जस्तै दुईवटा ठूला अन्तर्राष्ट्रिय विमानस्थल भएका छन्। सन् १९५८ मा खुलेको बेइजिङ क्यापिटल विमानस्थल अहिलेसम्म १० करोडभन्दा बढी मानिसले प्रयोग गरिसकेका छन्।
खुला दिसामुक्त घाेषणाा हुँदा पनि याे बिजाेग, ७९ हजारले प्रयाेग गर्छन् १ शाैचालय
ललितपुर : जनसंख्या ३० लाखभन्दा बढी, सार्वजनिक शौचालय ३८ वटा। मुलुकको राजधानी र पहिलो महानगरपालिकाको अवस्था हो यो। यसरी हेर्दा एउटा शौचालय ७९ हजारले प्रयोग गर्नुपर्ने बाध्यता छ। काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले भने, ‘काठमाडौंमा बसाइँ सराइ र जनसंख्या बृद्धि अनुपात हेर्दा यहाँको जनसंख्या ३० लाखभन्दा बढी पुगेको अनुमान छ।’अन्नपूर्ण पोष्टमा नितु घलेले लेखेकी छिन । केन्द्रीय तथ्यांक विभागले सन् २०१६ मा काठमाडौंको जनसंख्या २५ लाख २२ हजार एक सय तीन रहेको विवरण सार्वजनिक गरेको थियो। विभागका निमित्त महानिर्देशक मोदिनलाल श्रेष्ठले भने, ‘हालको जनसंख्या अझै धेरै हुनुपर्छ। जनसंख्या वृद्धिदर उच्च छ। यति नै संख्या भन्न सकिन्न।’ विश्व स्वास्थ्य संगठनका अनुसार आपत्कालीन अवस्थामा मात्र एउटा शौचालय ५० जनाले प्रयोग गर्न मिल्छ। जनसंख्या हेरेर प्रत्येक तीन सय मिटरमा एउटा शौचालय हुनुपर्ने प्रावधान छ। उपत्यकामा सार्वजनिक शौचालय निर्माणका लागि काम गर्दै आएको संस्था एरोसान नेपालले काठमाडौंंमा ३८ वटा सार्वजनिक शौचालय सञ्चालनमा रहेको जनाएको छ। संस्थाका प्रकाश अमात्यले भने, ‘चालू अवस्थामा रहेका शौचालय दुर्गन्धित र जीर्ण छन्।’ काठमाडौं महानगरपालिकाले सार्वजनिक शौचालयसम्बन्धी निर्देशिका पास गर्न सकेको छैन। काठमाडौंमा ५६ वटा पेट्रोल पम्प सञ्चालनमा छन्। कुनै पेट्रोल पम्पमा पनि शौचालय र खानेपानीको व्यवस्था छैन। पेट्रोल पम्प सञ्चालन लाइसेन्स लिँदा स्वच्छ पानी र शौचालयको व्यवस्था गरेको हुनुपर्ने प्रावधान छ। यीबाहेक मठमन्दिर, पार्क, सरकारी कार्यालय, सपिङ मल जोड्दा २ सय ४२ शौचालय तत्काल बन्न सक्ने अमात्य बताउँछन्। रेस्टुरेन्टसँग पनि सहकार्य गर्न सकिने उनको भनाइ छ। कोटेश्वर, रत्नपार्क, भोटाहिटीमा निजी सार्वजनिक साझेदारीका आधारमा शौचालय सञ्चालनमा छन्। भृकुटीमण्डपस्थित सार्वजनिक शौचालय उदयपुरका तीर्थ राईले सञ्चालन गरिरहेका छन्। उनले शौचालय सञ्चालनबापत मासिक एक लाख १६ हजार तिर्छन्। शौचालयबाट मासिक ५० हजारभन्दा बढी आम्दानी नहुने उनको भनाइ छ। शौचालयको कौसीमा कफीसप चलाउनुपर्ने माग उनको छ। ‘उचित नियमन अभाव र चर्को कर प्रणालीले व्यवस्थित नभएको अध्ययनमा देखिएको छ’, अमात्य भन्छन्, ‘यसबारे सरकारको नीति स्पष्ट छैन।’ समाजकल्याण परिषद्को स्वामित्वमा रहेको यो शौचालय अपांग र बृद्धबृद्धामैत्री छैन। भोटाहिटीमा सञ्चालित शौचालयले महानगरलाई वार्षिक ६० लाख रुपैयाँ तिर्छ। मासिक दुई सिलिन्डर ग्यास रत्नपार्कस्थित शौचालयबाट मासिक दुई सिलिन्डर बायोग्यास निकालिन्छ। नजिकैको चियापसलले मासिक तीन सिलिन्डर ग्यास खपत गर्छ। सञ्चालक ऋषि गर्तौला हरेक सार्वजनिक शौचालयले बायोग्यास निकाल्नुपर्ने बताउँछन्। गर्तौला भन्छन्, ‘निकै राम्रोसँग व्यवस्थापन गरेका छौं। सेन्सर बत्ती छ, महिलामैत्री छ।’ उनले महानगरलाई वार्षिक १७ लाख अग्रीम भुक्तानी तिर्नुपर्ने बताए। कीर्तिपपुरमा वडैपिच्छे शौचालय कीर्तिपुर नगरपालिकाले प्रत्येक वडामा कम्तीमा एउटा सार्वजनिक शौचालय बनाउँदै छ। यसका लागि निर्देशिका पारित गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको वातावरण शाखाका ज्ञानबज्र महर्जनका अनुसार कीतिपुर बसपार्कमा शौचालय सञ्चालनमा ल्याइएको छ। सबै सार्वजनिक शौचालय निःशुल्क बनाइने नगरपालिकाको योजना छ। ट्वाइलेटछेउमा लामो सास फेर्छुः चिरीबाबु ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन भन्छन्, ‘अफिस आउँदा लामो सास फेर्छु। ट्वाइलेट गनायो भने गुनासो गरिहाल्छु। अफिसमा व्यवस्थापन गर्न सकिएला तर बाहिर त समस्यै हुन्छ।’ उनले लगनखेल र जाउलाखेलको शौचालय व्यवस्थित गर्न लागिएको बताए। उनले भने, ‘शौचालय बनाउन जग्गा छैन। भएको ठाउँमा छरछिमेकीले बनाउन दिँदैनन्। मंगलबजारको पर्यटकीय शौचालय भूकम्पपछि बन्द छ। अर्को सातादेखि काम हुनेछ।’ आशीर्वाद पाउँदाको खुसी गंगामान गुरुङ र मिठु श्रेष्ठ दम्पतीले ग्वार्कोमा सञ्चालनमा ल्याएको शौचालयमा भीड हुन्छ। १६ लाख लगानीमा सञ्चालन भएको उक्त शौचालयमा अनेकांै खालका मानिस आउँछन्। शौचालयबाहिर बोटबिरुवा छन्। मिठुले कुखुरा र कुकुर त्यही हुर्काइन्। बिहान ४ बजे खुल्ने उनको शौचालय पसलका मुख्य ग्राहक ट्राफिक प्रहरी, बटुवा र सवारी मजदुर हुन््। मिठुका अनुसार तीन महिनाअघि ५५ वर्ष जतिका देखिने व्यक्ति शौचालयमा प्रवेश गरे। उनी निकै आपत्मा थिए। शौचालय आइपुग्न समस्या भएपछि उनले कपडामा दिसा गरेछन्। उनले भित्री पहिरन शौचालयमै फुकाले। सफा गरे र गए। मिठु भन्छिन्, ‘दिसापिसाब लुकाएर लुक्ने कुरा होइन। आपत्मा परेका मानिसले धेरै आशीर्वाद दिएका छन्।’ गत वर्ष पोखराबाट एउटा महिला टोली आयो। उनीहरू बिहान ४ बजे रात्रिबसबाट ग्वार्कोमा उत्रिए। उनीहरूलाई शौचालय जान हतार भएको रहेछ। शौचालय देखेर खुसी भए। दिसापिसाब गरेपछि पाँच सय रुपैयाँ टिप्स दिन खोजे। मिठुले भनिन्, ‘दिसापिसाब गरेको दस रुपैयाँ मात्रै लिन्छांै भन्दाभन्दै ती महिलाले जबरजस्ती सय रुपैयाँ छोडेर गए।’ गंगामान र मिठुको जोडीले शौचालय सञ्चालन गरेबापत सरकारलाई वार्षिक डेढ लाख रुपैयाँ कर तिर्छ। प्रत्येक दिन ५ सय रुपैयाँको पानी किन्नुपर्छ। सफा गर्न विभिन्न खालका केमिकल प्रयोग गर्नुपर्छ। मिठुको शौचालय सञ्चानल नाफाभन्दा सहयोगमुखी मात्र भएको छ। अन्नपूर्ण पोष्टमा नितु घलेको समाचार सार्वजनिक छ ।
स्वास्थ्यमन्त्रीको भ्रमण मोहः एक वर्षमा २५ पटक उडे विदेश
काठमाडौं । देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरुमा अहिले डेंगीसँगै स्क्रबटाइफसलगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्यमन्त्री यादव भने विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि । उनले २०७५ जेठमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेपछि अलिहेसम्म पटकपटक विदेश भ्रमण गरिसकेका छन् । एक वर्षको अवधिमा उनी २५ पटकभन्दा बढी विदेश सयरमा निस्किएको मन्त्रालय स्रोतको भनाइ छ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
सोतो कराँते डो संघ नेपालको बैठक सम्पन्न, महत्वपूर्ण २ निर्णय गरियो
काठमाडौंः सोतो कराँते डो संघ नेपालको आज बसेको बैठकले विभिन्न निर्णय गरेको छ । बैठकले रिक्त रहेका पदमा विभिन्न व्यक्तिलाई मनोनगन गरेको छ । संघका सदस्य हिक्मत बोहराका अनुसार बैठकले सोतो कराँते डो संघ नेपालको केन्द्रीय समितिमा विभिन्न व्यक्तिलाई मनोनयन गरेको हो । जसअनुसार समितिको उपाध्यक्षमा कर्णबहादुर कुँवर र मिनबहादुर चन्दलाई चयन गरिएको छ । यस्तै सदस्यमा युद्धविक्रम तामाङ, अनिल बुढथापा, कुमारी भजन सोडारी, बिकास गुरुङ, भरत शाह र कमलसिंह रानालाई सदस्यममा चयन गरिएको संघका सदस्य बोहराले जानकारी दिए । उनका अनुसार बैठकले सोतो कराँते डो संघ नेपाले आयोजना गर्ने प्रतियोगिताको मिति पनि तोकेको छ । बैठकले दोस्रो अन्तर्राष्ट्रि सोतो कराँते प्रतियोगिता आउँदो माघ १६ र १७ गते गर्ने निर्णय गरेको छ । प्रतियोगिता शसस्त्र प्रहरी बलको हलचोक काठमाडौंमा आयोजना गर्ने निर्णय सर्व सम्मत गरिएको संघका सदस्य बोहराले जानकारी दिए ।
डेंगु प्रकोपः दक्षिण एसियामा एकै भाइरस
काठमाडौं । एडिस प्रजातिको लामखुट्टेले सार्ने भाइरसले दक्षिण एसियाली मुलुकमा संक्रमण बढिरहेको विज्ञले बताएका छन्। यसको खास उपचार नभएको उनीहरूको भनाइ छ। उनीहरूले एकै खालको भाइरसले दक्षिण एसियालीलाई संक्रमण गरेको उल्लेख गरेका छन्। ‘दक्षिण एसियाका अन्य मुलुकमा प्रभावित पारिरहेको र नेपालमा संक्रमण बढाइरहेको लामखुट्टेको भाइरस एउटै हो’, भारतका वरिष्ठ किटविज्ञ डा।बीएन नागपालले भने। लामखुट्टेको लार्भा नष्ट गर्नु चुनौती भएको उनले बताए। समुदायस्तरबाट डेंगु नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने सुझाव उनले दिए। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)की प्रतिनिधि डा।लुङतेन वाङचुकले डेंगु संक्रमण बढ्नुमा सरसफाइको कमी, अव्यवस्थित सहरीकरण, उच्च जनघनत्व, बसाइसराइ र विश्व उष्णीकरणलगायत कारक तत्व जिम्मेवार रहेको बताइन्। डेंगु उपचारका कुनै निश्चित औषधि एवं खोपसमेत नभएका कारण पनि उपचारमा चुनौती थपिएको विज्ञको भनाइ छ। लामखुट्टेको अन्डा तथा लार्भा नष्ट गर्नुबाहेक विकल्प नभएको डा।नागपालले बताए। उनीहरू डब्लूएचओ, युनिसेफ र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गरेको कार्यक्रममा सहभागी थिए। डब्लूएचओका अनुसार विश्वको करिब आधा जनसंख्या डेंगु संक्रमणको जोखिममा छन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकबाट लिइएको हो ।
अवकाशप्राप्त शिक्षकलाई अख्तियारको मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटका एक जना सेवानिवृत्त प्रधानाध्यापक हरिराम भण्डारीसहित तीन जनामाथि सजायको माग गर्दै आरोपपत्र दायर गरेको छ । आयोगले विदुर नगरपालिकाको सुलक्षण माविमा कार्यरत तत्कालीन प्रधानाध्यापक भण्डारीले अनुचित सेवासुविधा लिएको कार्यमा निमित्त प्रधानाध्यापक केशवबहादुर बस्नेत र विद्यालय निरीक्षक कुमारप्रसाद तिमिल्सिनाले सहयोग गरेको दाबीसहित सजायको माग गरेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले तीनै जनामाथि छुट्टाछुट्टै २३ हजार ९९९ रुपियाँ बिगो कायम गरी सजायको माग गरिएको बताएका छन् । भण्डारीले बिदामा बसेको बखतको सेवा सुविधा लिएको आयोगको अनुसन्धानबाट खुलेको हो । आयोगले महोत्तरीको भङ्गाहा नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रफिक आलम र वडा सदस्य कारी साहु र उनका छोरा मुकेश साहमाथि एक लाख ६० हजार रुपियाँ बिगो कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार वडा अध्यक्ष आलम र सदस्य साहुले धर्मपुर सडक नाला तथा पीसीसी ढलान कार्यका लागि उपभोक्ताबाट एक लाख साठी हजार रुपियाँ घुस लिएका थिय । त्यसैगरी आयोगले जुवातास खेलाउने वातावरण बनाउने नाममा प्रहरी कर्मचारीलाई घुस दिनुभएको आरोपमा सूर्यविनायक नगरपालिका–५ का गङ्गालाल श्रेष्ठमाथि सजायको माग गर्दै आरोपपत्र बुझाएको छ । आयोगका प्रवक्ता कोइरालाका अनुसार श्रेष्ठले प्रहरी कर्मचारीलाई ४० हजार घुस दिँदा पक्राउ परेका थियो । उनीमाथि ४० हजार नै बिगो कायम गरिएको छ । त्यसैगरी आयोगले घुस लेनदेन मुद्दामा काठमाडौं महानगरपालिकामा कार्यरत कार्यालय सहयोगी श्यामकुमार कार्की र सेवाग्राही खेन्चे दोर्जे तामाङलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रवक्ता कोइरालाले काठमाडौं–६ बस्नुहुने तामाङले भौतिक संरचना र जग्गाको कर तिर्नका लागि वडा कार्यालयका सहयोगी कार्कीलाई एक हजार पाँचसय रुपियाँ दिँदा पक्राउ गरेको बताए । यो समाचार आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।
खनियाँको विवादस्पद निर्णय फिर्ता, विदेशी विद्यार्थीलाई प्रवेश परीक्षा अनिवार्य
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनियाँले निजी मेडिकल कलेजहरुलाई फाइदा पुग्ने गरी गरेको निर्णय स्थगित भएको छ । भदौ ५ मा उपकुलपतिबाट अवकाश पाउँदै गर्दा खनियाँले चिकित्सा शिक्षामा प्रवेश परीक्षा बिनै विदेशी विद्यार्थी भर्ना गर्ने विवादास्पद निर्णय गरेका थिए । स्रोतकाअनुसार कार्यवहाक उपकुलपति सुधा त्रिपाठीले प्राज्ञिक परिषद्को बैठक डाँकेर उक्त निर्णय थप छलफलका लागि विद्या परिषद्मा पठाउने निर्णय गराएकी हुन्। खनियाँले विद्या परिषद्को सहमति र प्रस्ताव बिनै मेडिकल कलेज संचालकहरुको आग्रहमा प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थी भर्ना गर्ने (नीड) लाई मान्यता दिएका थिए। त्रिपाठीले उक्त निर्णयबारे जानकारी नभएको प्रतिक्रिया दिएकी थिइन्। सरकारले कार्यवहाक उपकुलपतिको जिम्मेवारी दिएपछि त्रिपाठीले प्राज्ञिक परिषद्बाट पुनर्विचार र थप छलफलका लागि उक्त निर्णय विद्या परिषद्मा फिर्ता पठाइदिएकी हुन्। जसका कारण विदेशी विद्यार्थीले यहाँका मेडिकल कलेजहरुमा भर्ना हुन अब अनिवार्य रुपमा प्रवेश परीक्षा पास गरेको हुनुपर्नेछ। प्राज्ञिक परिषदले विद्या परिषद्को राय लिएर नेसनल मेडिकल इन्ट्रान्स टेस्ट (नीट) सम्बन्धी निर्णय रद्ध गर्ने त्रिवि स्रोतले जनाएको छ। यस विषयमा त्रिपाठीले कान्तिपुरसँग कुरा गर्न चाहिनन्। ‘प्राज्ञिक परिषद्मा उक्त निर्णयबारे छलफल चाँहि गरियो, केहि दिनमा पूर्ण निर्णय आउँछ,’ उनले भनिन्। प्राज्ञिक परिषद् बैठकमा खनियाँले गराएको निर्णय विद्या परिषद्मा फिर्ता मात्र गराउने कि रद्ध नै गर्ने भनेर छलफल भएको थियो। रद्ध गर्ने सहमति नजुटेपछि विद्या परिषद्को राय बुझेर मात्र निर्णय लिन लागिएको हो। प्रवेश परीक्षा नलिई विद्यार्थी भर्ना गर्ने निर्णय कार्यान्वयन भए मेडिकल कलेजहरूले हालकै अवस्थामा एक शैक्षिक सत्रमा कम्तीमा ६० करोड रुपैयाँ अतिरिक्त कमाइ हुने थियो। खनियाँले त्रिवि अन्तर्गतका ६ निजी कलेजहरुको प्रभावमा विदेशी विद्यार्थीलाई भर्ना सहज हुने गरी निर्णय गराइदिएका थिए। उक्त निर्णयबारे प्राज्ञिक परिषद्ले समेत अनविज्ञता प्रकट गर्दै आएको थियो। नेपालका मेडिकल कलेजमा विदेशी विद्यार्थीका लागि कुल सिटको ३० प्रतिशत सिट तोकिएको छ। ती सिट विदेशी विद्यार्थीले पुरा नभए नेपाली विद्यार्थीले भर्ना पाउँछन्। गत वर्ष त्रिवि चिकित्सा शिक्षा अध्ययन शास्त्र (आईओएममा) भारतीय विद्यार्थीले प्रवेश परीक्षा पास गर्न नसकेपछि एक सय ५० नेपाली विद्यार्थीले उक्त रिक्त ठाउँमा भर्ना पाएका थिए। यदि नीट लागु नभए प्रवेश परीक्षामा सहभागी नभई पुरा सिटमा विदेशी विद्यार्थी भर्ना हुन्छन्। ती विद्यार्थीबाट मेडिकल कलेजहरुले सरकारले तोकेभन्दा दोब्बर शुल्क लिने गर्छन्। सोहि कारण उनीहरुले निर्णय गराउन दबाब दिँदै आएका थिए। भारतमा मेडिकल कलेज अध्ययन गर्न चाहने विद्यार्थीले निट उत्तीर्ण गरेको हुनुपर्छ। आईओएमले निट उत्तीर्ण गरेको आधारमा मात्रै विदेशी विद्यार्थी भर्ना गर्न नसकिने भन्दै आफूले सञ्चालन प्रवेश परीक्षा समेत उत्तीर्ण हुनुपर्ने व्यवस्था लागू गरेको थियो। गत भदौ १ गते बसेको प्राज्ञिक परिषद् बैठकमा भारतको ‘निट’ लाई मान्यता दिने र नदिने छलफल भए पनि निर्णय भएको थिएन। तर पछि खनियाँले निर्णय भएको भनी आईओएमको डिन कार्यालय र सबै मेडिकल कलेजमा कार्यान्वयनका लागि परिपत्र गरेका थिए। त्रिविमा आबद्ध निजी मेडिकल कलेजहरूको संस्था ‘सोसाइटी अफ टीयू अफिलिएटेड हेल्थ इस्टिच्युसन्स नेपाल (स्टाहिन) ले ‘यस शैक्षिक सत्रदेखि निट लागू गर्ने’ भनी निवेदन दिएको थियो। सोहि आधारमा खनियाँले प्राज्ञिक परिषद्का सबै सदस्यलाई समेत थाहा नदिई निर्णय गराउन सफल भएका थिए। यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
धावन मार्ग विस्तारपछि चितवनमा रात्रीकालिन उडान सुरु हुन्छ : मन्त्री भट्टराई
चितवन : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थलको स्तरवृद्धिसंगै रात्रीकालिन उडानको तयारी रहेको बताएका छन् । बिहिबार बिहान भरतपुर विमानस्थलमा सरोकारवालासंगको छलफलमा भट्टराईले विमानस्थलको धावन मार्ग विस्तारसंगै रात्रीकालिन उडान गर्ने गरी तयारी अगाडि बढेको बताएका हुन् । नेपालभरीका विमानस्थलको स्तर वृद्धि गर्ने तयारी भएको भन्दै उनले काठमाडौं उपत्यका नजिकै रहेको यो विमान स्थलको विस्तार छिटो गर्ने गरी काम अगाडि बढ्ने दाबी गरे । विमानस्थलको उत्तरतर्फ रहेको नेपाली सेनाको व्यारेक र घोडा प्रजनन् क्षेत्रले केही समस्या दिए पनि त्यसलाई केही दिन भित्रै समाधानको बाटोमा लैजाने गरी काम अगाडि वढेको उनको भनाई थियो । उनले भने, ‘अबको १० दिन भित्रमा नेपाली सेनाको प्रमुख, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, जिल्लाका सरोकारवाला बिच सयुक्त वैठक बसेर यो समस्या समाधान गर्नेछु। नेपाली सेनालाई उचित स्थानमा स्थानान्तरण गरी विमानस्थलको धावन मार्ग विस्तारको काम हुन्छ ।’ भरतपुर विमानस्थलको अवस्थाको बारेमा विमान स्थलका प्रमुख पवनकुमार गौतमले पर्यटन मन्त्रीलाई जानकारी गराएका थिए। साथै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले विमानस्थल जोखिम भएको भन्दै यसको धावन मार्ग विस्तारको विकल्प नरहेको बताइन् । साथै पत्रकारहरुसंगको कुराकानीमा मन्त्री भट्टराईले जेष्ठ नागरिकलाई ५० प्रतिशत हवाइ भाडामा छुट कार्यान्वयन हुने ठोकेवा गरे । केही हवाइ कम्पनीले यसमा आलोचना गरेको भए पनि देशको नियम कानून कम्पनीले पालना गर्नुको विकल्प नरहेको उनले बताए ।