बाबुरामको नयाँ शक्तिले भन्यो– ‘संविधान संशोधनपछि मात्र निर्वाचन’ !
काठमाडौँ, फागुन १३ । नयाँ शक्ति पार्टीले संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने माग गरेको छ ।
स्थानीय निकायको टुङ्गो नलागेको र सम्झौताअनुसार संविधान संशोधन पनि नभएको अवस्थामा निर्वाचन हुन नसक्ने पार्टीले जनाएको छ ।
पार्टीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता खिमलाल देवकोटाले मुलुक संवेदनशील अवस्थामा रहेको भन्दै निर्वाचनको आधार तयार पार्न सरकारसँग माग गरे ।
‘देवकोटाले प्रश्न गर्दै भने– ‘संविधान संशोधन तथा स्थानीय निकायको टुङ्गो नलागी कसरी निर्वाचन हुन्छ ?’। राजनीति अत्यन्त तरल अवस्थामा पुगेको भन्दै निर्वाचनको वातावरण बनाउनुपर्नेमा उनको जोड दिए ।
यसअघि नै सङ्घीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीले निर्वाचनका लागि उपयुक्त वातावरण सिर्जना नगरी निर्वाचनको मिति घोषणा गरिएकामा संयुक्त प्रेस विज्ञप्तिमार्फत विरोध जनाएका थिए ।
फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले संयुक्त प्रेस विज्ञप्ति जारी गरी संविधानका त्रुटिलाई सच्याएर मात्र निर्वाचनमा जानुपर्ने बताएका थिए ।
प्रवक्ता देवकोटाले ७० वर्षदेखि निरन्तर लडेर भएको प्राप्त उपलब्धि सङ्कटमा पर्न लागेको उल्लेख गर्दै भने– “करोडौँ रकम तिरेर लोकतन्त्र ल्याउने अवस्था छ, त्यसलाई बदल्न संविधान संशोधन गरेर प्रत्यक्ष कार्यकारी बनाउनुपर्छ ।”
नयाँ शक्ति निर्वाचनका लागि तयार भए पनि वातावरण नबनेको भन्दै उनले निर्वाचनको घोषणा निर्वाचन नगर्ने नियत वा सरकारको गठबन्धन लम्ब्याउने वा परिवर्तन गर्ने उद्देश्यले गरिएको आरोप लगाए । रासस
नेपाल निजामती कर्मचारी सघंमा संक्रमण अन्त्यका लागि चुनाव
झापा, फागुन ७ । नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले सङ्क्रमणकाल अन्त्य गर्न निर्वाचनको विकल्प नरहेको बताएको छ। नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) झापाको सातौँ जिल्ला अधिवेशनको आज चन्दुगढीमा उद्घाटन गर्दै उनले भने– “अब सङ्क्रमणकाल अन्त्यका लागि कर्मचारी तयार हुनुपर्छ” । नेता सिटौलाले “संविधान कार्यान्वयनका लागि तीन तहको निर्वाचन अत्यावश्यक छ” भन्दै मुलुक विवाद र द्वन्द्वको अलमलमा पर्दा लोकतन्त्र खतरामा पर्न सक्नेतर्फ सबैलाई सचेत रहन आग्रह गरे । स्थायी सरकारका रुपमा रहेको कर्मचारी संयन्त्रले सुशासनका लागि निष्पक्ष भएर काम गर्नुपर्ने उल्लेख गर्दै उनले भने– “आफ्नो अधिकारको खोजी गर्दा राष्ट्रसेवक कर्मचारीले देश र जनतालाई बिर्सनु हुँदैन ।” सो अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि निजामती कर्मचारी युनियन (सङ्घ) झापाको अध्यक्षमा कवीन्द्रविक्रम नेम्वाङलाई निर्विरोध चयन गरेको छ । त्यस्तै सचिवमा ज्ञानु सिवाकोटी, सहसचिवमा भानुभक्त भट्टराई र कोषाध्यक्षमा तेजबहादुर पौडेललाई निर्विरोध चयन गरेको छ ।
तामाङ समाज युएईको आयोजनामा ल्होछार पर्व सम्पन्न
युएई, १ फाल्गुन । मध्यपुर्वको विकसित शहर युएईको दुबईमा तामाङ समाज युएईको आयोजनामा “भाषा, लिपि, मौलिक संस्कृति तामाङको पहिचान, संसार भरिका सबै तामाङले ल्होछार मनाउन यो हाम्रो अभियान” भन्ने मुल नाराको साथ ल्होछार पर्व सम्पन्न भएको छ । २८५३ औं झ्या (चरा वर्ष) शुभारम्भको शुभ अवसरमा नेपालीहरुको संस्कृतिक पर्व सोनाम ल्होछारको औपचारिक कार्यक्रमको प्रमुख अतिथिका रूपमा माननीय संसद तीर्थ लामा र महामहिम कार्यबाहक राजदुत नेत्र बहादुर टन्डन, बिशेष अतिथिमा नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष डिआर गुरूङ तथा नेपाली समाज युएईका अध्यक्ष सिपी सापकोटा, अतिथिहरूमा नेपाल आदिबासी जनजाति महासंघ युएईसँग आबद्ध बिभिन्न जातिय संस्थाका प्रमुखहरू लगायत युएईमा स्थापित बिभिन्न संघ-संस्थाका प्रमुखहरू, प्रायोजकहरू तथा पत्रकारहरूको उपस्थिति भएको थियो । निर्धारित समय भन्दा केही समय ढिलो सुरु भएको उक्त कार्यक्रममा बौद्ध परम्परा अनुसार लामा गुरूबाट पुजापाठ गरी सुरू गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिले छ्युमीमा दीप प्रज्वलन गरेका थिए । कार्यक्रमका सभापति तथा तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानले दुबै प्रमुख अतिथिहरूलाई तामाङ टोपी र फेङ्गा लगाई स्वागत गर्दै सोनाम ल्होछारको शुभकामना प्रदान गरेका थिए । तामाङ तथा अन्य समुदायका नेपालीहरुको बाक्लो उपस्थितिमा कलाकार जयनन्द लामा लगायतका स्थानिय कलाकारहरुको विजोड प्रस्तुति रहेको थियो। कलाकार जयनन्द लामाको मिठो हाँस्यव्यंग्य एवं तामाङ शेलो गीत उपस्थिति दर्शकहरु बिजोडले मनोरञ्जन लिइरहेका देखिन्थ्यो । जयनन्द लामाले सयौको संख्यामा उपस्थित दर्शकहरू माँझ कलकत्ते काईयो, चुई चुई चुई खाने जुत्ता, आँखाको रमझम लगायत आफ्ना आधा दर्जन चर्चित गीतहरू प्रस्तुत गर्दा गायक लामा संगै गीतहरू गाँउदै-नाच्दै दर्शकहरूले साथ दिएका थिए । कलाकार तथा सञ्चारकर्मी अन्जुली लोप्चन, तामाङ चलचित्रका नायक बिजय लामा र अन्य कलाकारहरु बिक्रम लामा, सन्दिप ग्यावक, बिमला बज्यू, सुष्मा तामाङ, निरू गोले, सोम लामा, ल्हामु शेर्पा, प्रदिप पुन मगर, रेबिका मगर, प्रख्यात मोक्तान, बिक्रम वाईबा, अन्जुली लोप्चन, सुब्बा बल तामाङ, लाक्पा योन्जनले तामाङ सेलोमा उत्कृष्ट गायन तथा नृत्य प्रस्तुतिहरू प्रस्तुत गर्दै दर्शकहरूलाई भरपुर मनोरन्जन गराएका थिए । उक्त कार्यक्रममा माननीय संसद तिर्था लामाले तामाङहरु संस्कृतिक रुपमा मात्रै नभई राजनैतीक रुपमा अगाडि आउने पर्ने बताउनु भयो । उहाँले तामाङ कबिता बाचन समेत गर्नु भएको थियो । यसै कार्यक्रमका बीच गायक चन्द्र वाईबा (प्राङबो) को गीति एल्बम “ह्याङला खाजिम” र गायिका सरस्वती लामाको गीति एल्बम “उर्बसी – २” लाई तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान, शेर्पा किदुङ युएईका अध्यक्ष पासाङ शेर्पा र काभ्रे सम्पर्क समिति यूएईका अध्यक्ष दिल वाईबाले सामुहिक रूपमा युएईमा बिमोचन गर्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट भेषभुषा लगाउनेलाई सम्मान स्वरूप “मायाको चिनो” प्रदान गरिएको थियो । उत्कृष्ट भेषभुषा पुरुषमा शेर्पा किदुग युएईका अध्यक्ष पासाङ शेर्पालाई प्रदान गरिएको थियो भने महिलामा नानु गोले र अनिता लुङ्बालाई प्रदान गरियो । कार्यक्रम तामाङ समाज युएईका महासचिब सनिल घिसिङ र सचिब बसन्ति दोङले संचालन गरेका थिए ।
विप्लव माओवादीको महाधिवेशन उद्घाटन सत्र जारी, केहीबेरमा विप्लवले सम्बोधन गर्ने
काठमाडौ १ फागुन । विप्लव नेतृत्वको नेकपा माओवादीले काठमाडौंको खुल्लामञ्चमा पार्टीको ८ औं महाधिवेशन गरिरहको छ । २२ औं माओवादी जनयुद्ध दिवसको अवसर पारेर सुरू गरेको महाधिवेशनको पार्टी महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले बेलुन उडाएर उद्घाटन गरे । विप्लवले संयुक्त रुपमा जनयुद्ध दिवस र महाधिवेशन लेखिएका ३० वटा बेलुन उडाएर उद्घाटन गरेका हुन् । यसअघि लैनचौर, कालीमाटी, बबरमहल, बालाजु, लगनखेल लगायतका स्थानबाट शीर्ष नेताहरुको नेतृत्वमा निकालिएको र्याली खुल्लामन्चमा पुगेर सभामा परिणत भएको थियो । महाधिवेशनमा सहभागी हुन उपत्यकासहित देशैभरबाट ठूलो संख्यामा कार्यकर्ता तथा प्रतिनिधि पर्यवेक्षक राजधानी आएका छन् । आजको उद्घाटनपछि बन्दशत्र भने आगामी फागुन ५ गते रोल्पाको थवाङमा हुने पार्टीले जनाइएको छ । अहिले बक्ताहरुले बोल्ने क्रम जारी रहेको छ । केहीवेरमा पार्टी महासचिव विप्लवले सम्बोधन गर्दैछन् । विप्लवको आठौं महाधिवेशनमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री, नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र एमालेलाई निमन्त्रणा गरेका छैनन् ।
वाइसीएल नेतामाथि गोली प्रहार
सिरहा, फागुन १ । सिरहाको मिर्चैयाँमा अज्ञात व्यक्तिले गोली प्रहार गर्दा एक व्यक्ति घाइते भएको छन् । घाइते हुनेमा माओवादी केन्द्र निकट भातृ संगठन वाइसीएलका सिराहा क्षेत्र नम्बर ६ का इन्चार्ज लालु खान रहेका छन् । २९ वर्षीय खानलाई गोलीको छर्रा लागेको प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका व्यक्तिहरुले खानमाथि गोली प्रहर गरेको जनाएको छ । मोटरसाइकलको नम्बर भने खुल्न नसकेको प्रहरीले जनाएको छ । खानको दाहिने खुट्टामा गोली लागेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धि बज्राचार्यले बताएका छन् । खानको मिर्चैयाको अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहर गर्नेहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
नवलपरासीमा बस दुर्घटना, ६ घाईते
नवलपरासी, १ फागुन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी नयाँबेलाहानीमा आज बिहान यात्रुवाहक बस पल्टिँदा बसमा सवार छ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु१ख ६२७४ नंको बस अनियन्त्रित भई सडकको बायाँपट्टि पल्टिँदा सो दुर्घटना भएको थियो । काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, गुल्मी, सुनसरी र सप्तरीका घाइतेको उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको छ । रासस
पाल्पाबाट बाह्र करोडको सुन्तला निकासी
पाल्पा, माघ २९। यस वर्ष पाल्पाबाट रु १२ करोड मूल्य बराबरका सुन्तला निकासी भएको छ । जिल्लामा व्यावसायिक रुपमा सुन्तलाखेती हुन थालेपछि यसको उत्पादनमा आएको बृद्धिसंगै निकासीसमेत बढेको हो । पाल्पामा उत्पादित सुन्तला रुपन्देही, स्याङ्जा, नवलपरासी र कपिलवस्तु जिल्लामा ठूलो मात्रामा निकासी हुने गरेको जिल्ला कृषि विकास कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार पाल्पाबाट वार्षिक ५० हजार भन्दा बढी सुन्तलाका बिरुवासमेत बाहिरी जिल्लामा निकासी हुने गरेका छन् । जिल्लाको हिमाली क्षेत्रका जग्गा सुन्तलाखेतीका लागि राम्रो र उपयुक्त हो, जिल्ला कृषि विकास कार्यालय पाल्पाकी बाली विकास अधिकृत निशा कँडेलले भन्नुभयो– जिल्लाका हिमाली क्षेत्रका करिब दुई हजार घरपरिवार व्यावसायिक सुन्तलाखेतीबाट आत्मनिर्भर बनेका छन् । जिल्लाको छहरा, मुझुङ्ग, पालुङ्गमैनादी, कुसुमखोला, ख्याहा, भैरवस्थान, नायरनम्तलेस लगायतका गाविस सुन्तला उत्पादनका लागि उपयुक्त क्षेत्र मानिएको छ । पाल्पामा सुन्तला उत्पादन बढे पनि तानसेन लगायतका बजारमा अहिले पनि भारतीय सुन्तलाले बजार लिएका छन् । स्थानीयभन्दा पनि भारतीय सुन्तालाको कारोबार यहाँ उच्च रहेको देखिन्छ ।
अर्थमन्त्रीले भने–“स्वस्थ प्रतिस्पर्धामा आधारित पुँजीवादको विकास नभए समाजवादमा जान सकिदैन”
धनगढी, माघ २९ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय उत्पादनलाई प्रोत्साहन हुने गरी अर्थतन्त्रको विकास गरिने बताएका छन्। राजस्व परामर्स समिति, भन्सार कार्यालय र कैलाली उद्योग वाणिज्य सङ्घद्वारा संयुक्त रुपमा आयोजित ‘आर्थिक वर्ष २०७४ र ०७५ को बजेट नीति तथा कार्यक्रम’ विषयक अन्तक्रियामा उनले भने “राष्ट्रिय उत्पादनमा आधारित अर्थतन्त्रको विकास गर्नु अहिलेको आवश्यकता हो।” अर्थमन्त्री महराले “स्वस्थ प्रतिस्पर्धामा आधारित पुँजीवादको विकास नभए समाजवादमा जान सकिदैन,” भन्दै देशको समग्र अर्थनीतिको सवालमा अहिले देश निकै सङ्क्रमणकालीन अवस्थामा रहेको हुँदा मुलुकलाई स्वस्थ्य पुँजीवादी अर्थतन्त्रमा लैजाने कोसिस गरिएको बताए। कर र भन्सारका क्षेत्रमा सुधार गर्न लागिएको उल्लेख उनले भने– “देश सङ्घीय संरचनामा गैसकेको अवस्थामा सङ्घीय वित्तीय व्यवस्था कस्तो हुने भन्नेबारेमा टोली गठन गरेर मन्त्रालयले कामअघि बढाएको छ ।” अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीले विकासका दृष्टिमा अरु क्षेत्र भन्दापछि परेका ७ नम्बर प्रदेशको समग्र विकासका लागि मन्त्रालयले विशेष ध्यान दिएको बताए। नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोपाल हमालले देशमा सबैभन्दा बढी गरिबी रहेको सुदूरपश्चिमको विकासका लागि सरकारले ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै अनुत्पादक क्षेत्रमा नभई उत्पादक क्षेत्रमा लगानी बढाउने वातावरण बनाउनुपर्नेमा जोड दिए। कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष शङ्कर बोगटीले सुदूरपश्चिमको समग्र विकासका लागि यस क्षेत्रका उद्योग व्यवसायमा दश वर्षसम्म ‘कर फ्रि‘ गर्नुपर्ने लगायतका सुझाव दिए। कार्यक्रमका सहभागी उद्योगी, व्यवसायीले अर्थनीति करदाता मैत्री हुनुपर्ने, स्थानीय करको नाममा कृषिजन्य बस्तुको आयात निर्यातमा लिदैँ आएको दोहोरो कर हटाउनुपर्ने, ठूला करदाताका लागि सहज हुने ठाउँमा छुट्टै कार्यालय स्थापना गर्नुपर्ने र सीमा क्षेत्रमा भन्सार कार्यालय स्थापना गर्नुपर्ने लगायतका सुझाव दिदै सुदूरपश्चिमको समग्र विकासका लागि ठोस नीति ल्याउनुपर्ने माग गरे।
भूकम्पपीडितहरुका लागि थप बीस करोड
भक्तपुर, माघ २५ । भक्तपुरका छवटा नगरपालिकाका भूकम्पपीडित (लाभग्राही) लाई पहिलो किस्ताको अनुदान रकम रु ५० हजार वितरण सुरु भएपछि नपुग रकममध्ये थप रु २० करोड निकासा भएको छ । जिल्लाका १८ हजार लाभग्राहीका लागि सरकारले पठाएको रु ९० करोड रकम तोकिएको बैंक मार्फत वितरण भइरहेको र नपुगमध्येको रकम माग भएअनुसार रु २० करोड थप निकासा भएर आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख मुरारी वस्तीले जानकारी दिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भक्तपुरमा प्रमाणित गरी पठाएका २६ हजार १६ लाभग्राहीमध्ये हालसम्म २० हजार १५० लाभग्राहीसँग यहाँका नगरपालिकाले पहिलो किस्ताको अनुदान रकमका लागि सम्झौता गरेको छ । तीमध्ये जिविसले १८ हजार २८ लाभग्राहीको थप प्रमाणीकरण गरी कोष तथा लेखानियन्त्रण कार्यालय (कोलेनिका) पठाएअनुसार आएको ९० करोड रुपैयाँ बजेट वितरण भइरहेको र नपुग रकम माग भएअनुसार रु २० करोड थप भएर आएको उनले जानकारी दिए । लाभग्राहीको सूचीमा सूचीकृत भएका सबै लाभग्राहीलाई पहिलो किस्ताको रकम वितरण गर्न अझै रु २० करोड ८ लाख अपुग रहेको छ । अनुदान रकम वितरण गर्दा पहिला अनुदान सम्झौता गरेका लाभग्राहीलाई क्रमैसँग वितरण गरिएको छ । सुरुसुरुमा अनुदान सम्झौता भएका लाभग्राहीको सूची अनुसार क्रमैसँग वितरण गरिएको हो । भक्तपुर नगरपालिकाको चार हजार ३४९, मध्यपुरथिमीको ९३८, नगरकोटको तीन हजार ४१२, चाँगुनारायण नगरपालिकाको तीन हजार ३२९, अनन्तलिङ्गेश्वरको दुई हजार ६१२ र सूर्यविनायकको तीन हजार ३६० लाभग्राहीले पहिलो किस्ताको अनुदान रकम पाउने भएका छन् । अनुदान सम्झौता भएका लाभग्राहीहरुले खाता खोलेका तोकिएको बैंकबाटै अनुदान रकम पाउने व्यवस्था गरिएको छ ।
चेल्सी र आर्सनलसँगै आज आठ खेल हुने
काठमाडौं, माघ २२ । इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा आज आठ खेल हुँदैछन् । लण्डन डर्बि चेल्सीको मैदानमा हुने यस प्रिमियर लिगअन्तर्गत आज हुने पहिलो नेपाली समय अनुसार सवा ६ देखि चेल्सी र आर्सनल भिड्दैछन् । प्रतियोगिताअन्तर्गत आजै हुने अन्य खेलमा क्रिष्टल प्यालेस र सण्डरल्याण्ड, एभर्टन र एएफसी बोर्नमाउथ, हलसिटी र लिभरपुल, साउथह्याम्पटन र वेष्टहाम युनाइटेड, वार्टफर्ड र बर्नले, वेष्टब्रमविच आल्बियन र स्टोक सिटी तथा टोटनहाम हट्स्पर र मिडल्सब्रो भिड्दै छन् । प्रिमियर लिगको अंक तालिकामा २३ खेलबाट ५६ अंक जोडेको चेल्सी शीर्ष स्थानमा छ ।
कामकाज ठप्प पारेर देशभरका गाविस सचिवहरु आन्दोलनमा
काठमाडौं, माघ १९ । प्रोत्साहन भत्ता रोकेको विरोधमा देशभरका गाविस सचिवहरु आन्दोलनमा उत्रिएका छन् । स्थानीय तहमा कामकाज गर्नुपर्दा शतप्रतिशत प्रोत्साहन भत्ता दिनुपर्ने लगायत १२ बुँदे माग राखेर गाविस सचिवहरु कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिएका हुन् । कार्य सम्पादनको आधारमा दिने भनेको प्रोत्साहन भत्ता अर्थ मन्त्रालयले रोक्का गरेपछि गाविस सचिवहरु त्यसको विरोधमा आन्दोलनमा उत्रिएका हुन् । गाविस सचिव हकहित संरक्षण केन्द्रको अगुबाईमा आजबाट गाविस सचिवहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले १५ वर्षदेखि जनप्रतिनिधि विहीन भएको अवस्थामा सबै काम गर्नुपरेको र गतवर्षदेखि दिन थालेको प्रोत्साहन भत्ता साउनदेखि नपाएको भन्दै आन्दोलन गरेका छन् । गाविस सचिवले सरकारी सेवालाई संघीय सेवा र प्रदेश सेवा गरी दुई तहमा राख्न, प्रदेश सेवामा खटाउँदा कम्तीमा एक तह बढुवा गर्न, शैक्षिक योग्यताका कारण बढुवा दिन नमिल्ने कर्मचारीलाई तह वृद्धि सहितको अवकाश योजना ल्याउन पनि माग गरेका छन् ।
बिप्लव माओवादी तनहुँमा पहिरो, ६२ जना माओवादी केन्द्रमा प्रवेश
तनहुँ, १७ माघ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)का जिल्ला सचिवालय सदस्यसहित ६२ जना नेकपा (माओवादी केन्द्र)मा फर्किएका छन् । विप्लव माओवादी तनहुँका जिल्ला सचिवालय सदस्य एवं मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य तथा तनहुँ जिल्ला अध्यक्ष डम्बरसिंह थापाको नेतृत्वमा जिल्ला सदस्यद्वय भुवन विक र रमेश नेपालीसहित ६२ जनाले सोमबार आयोजित एक कार्यक्रमबीच नेकपा (माओवादी केन्द्र)मा समाहित भएको घोषणा गरेका हुन् । विप्लव माओवादीले वर्गीय, जातीय, क्षेत्रीय र लिड्डीय मुद्दाबाट विचलित भएको भन्दै माओवादी एकताको सन्देश दिन एकताबद्ध भएको प्रेस विज्ञप्तिमा उल्लेख गरेका छ । विप्लव माओवादीका नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य मदन आलेले माओवादी केन्द्र नै वास्तविक माओवादी भएको र क्रान्तिकारी कम्युनिष्टहरूकै केन्द्र माओवादी केन्द्र रहेको उल्लेख गरे । ‘अब सबै माओवादीहरू एक हुनुको विकल्प छैन’, नेता आलेले भने, ‘माओवादी केन्द्र जनतामाझ पुनः लोकप्रिय बन्दै गएको देखेर विपक्षीहरू अत्तालिएका छन्, अब सबै माओवादी एक ठाउँमा आउनु जरुरी छ ।’
स्याङ्जाले पायो रामपुर भलिबल कपको उपाधि
पाल्पा, माघ ७ । प्रथम रामपुर महोत्सवका अवसरमा आयोजित पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगितामा स्याङजाले रामपुर भलिबल कपको उपाधि ले जितेको छ । रामपुरमा भएको पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगितामा बिहीबार नवलपरासीलाई तीन सेटले हराउँदै स्याङजाले उपाधि जितेको हो । प्रतियोगिताको द्वितीय स्थानमा नवलपरासी, तृतीय स्थानमा रुपन्देही र सान्त्वना गुल्मीले हात पार्न सफल भएका छन् । प्रतियोगितामा प्रथम पुरस्कार नगद रु एक लाख १११, द्वितीय पुरस्कार रु ५० हजार १११, तृत्तीय पुरस्कार रु २५ हजार १११ र सान्त्वना पुरस्कार रु १० हजार १११ रहेको छ ।
संचारको दुनियाँमा ‘जनभाव’ को सुरुवात
उदयपुर, माघ ३ । संचार क्षेत्रमा अर्काे एउटा नयाँ पत्रिकाको जन्म भएको छ । उदयपुरबाट प्रकाशन सुरु गरेको उक्त नयाँ पत्रिका ‘जनभाव दैनिक’को एक समारोहबीच विमोचन गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव उजिर मगरले पत्रिको सफलताको शुभकामना दिँदै पत्रकारहरुको रक्षा गर्दै अघि बढ्ने सञ्चार गृह सदैव सफल हुने बताएका छन् । उनले मोफसलमा पत्रिका प्रकाशन गर्नुभन्दा प्रशासन गृहमा काम गर्ने पत्रकारप्रति गम्भिर बन्ने मिडिया हाउस अति राम्रो भएको बताएका हुन् । उनले भने, ‘प्रकाशन गर्ने कामभन्दा पनि श्रमजीवि पत्रकारप्रति सञ्चार गृह गम्भिर बन्नुपर्छ । त्यो मिडिया हाउस सदैव सफल हुनेछ ।’ समाज रुपमान्तरण गर्ने सञ्चार माध्यमका पत्रकार महत्वपूर्ण अंगको रुपमा लिनुपर्ने बेला आएको भन्दै जनभावको टिमले परिवर्तनको उक्त बाटोलाई अंगाल्नेमा आशावादी रहेको मगरको भनाई थियो । अमर मिडिया प्राईभेट लिमिटेड उदयपुरद्वारा प्रकाशित उक्त दैनिकको बिमोचन समारोहमा बोल्दै मगरले ‘नेपाल पत्रकार महासंघको निर्वाचनबाट श्रमजीवि पत्रकारमुखी नेतृत्व आउने समेत बताएका थिए ।’ फरक प्रसंगमा बोल्दै मगरले भने, ‘विभिन्न राजनीतिक दलसंग आवद्ध पत्रकारले पत्रकारकै हकहितको नेतृत्व ल्याउने कोशिस गर्ने बेला पनि आएको छ ।’ एक महिनाभित्र हुने पत्रकार महासंघको निर्वाचनमा श्रमजीवी पत्रकारको एक हुनुपर्ने बेला आएको मगरको भनाइ छ । कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय महासचिव बिष्णु सापकोटा ‘जुगल’ले नयाँ नेपाल निर्माणमा केन्द्रका मिडिया हाउसभन्दा मोफसलका मिडिया एक कदम अगाडि भएको बताएका छन् । जनभावलाई शुभकामना मनतव्य दिदै उदयपुरका प्रमुख जिल्ला अधिकार कालिप्रसाद पराजुलीले सत्य, निषपक्ष समाचार प्रकाशन गर्न जनभाव टिमलाई सहयोग गराएका थिए । यसैगरी नेपाल पत्रकार महासंघ शाखा उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले समाज रुपान्तरणमा जनभाव दैनिक जनताको भवनामा डुबेर व्यवसायी पत्रकारिता गर्न आग्रह गरेका थिए । जिल्लाबाट नियमित रुपमा प्रकाशन हुने अन्य पत्रिकाहरुको भीडमा जनभाव पनि आएको र यसले सबैभन्दा फरक बिचार र फरक समाचारको व्यवसायमा लाग्ने पत्रिकाका सम्पादकको भनाई थियो ।
सिरियामा हवाई आक्रमण, ८ सर्वसाधारणको मृत्यु
एएफपी, बेरुत, माघ २ । उत्तर–पश्चिम सिरियामा विद्रोहीको बलियो प्रभाव रहेको इलाकामा शनिबार भएको हवाई आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु भएको छ । इदलब प्रान्तको मआरात मसरिन सहरमा आक्रमणमा प्रायः सर्वसाधारण नागरिक मारिएको सिरियन अब्जरभेटरी फर हयुमन राइटस्ले जनाएको छ । यो हवाई आक्रमणनजिकको सहर आरुम अल जोजमा शुक्रबार राति पनि आक्रमण भएको थियो, जसमा एक बालकसहित ३ जना मारिएका थिए । त्यसको एक दिनपछि हवाई आक्रमण भएको अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमान जनाएका छन् । हवाई आक्रमणमा सिरिया या रसिया आबद्ध भएको रामीले बताएका छन् । यद्यपि यस इदलब प्रान्तमा अमेरिका आबद्धतामा हवाई आक्रमण पनि हुने गरेको छ । सिरियाली शासक समर्थक रसिया र विद्रोहीको समर्थक टर्कीको प्रयासमा डिसेम्बर ३० देखि सिरियामा युद्धविराम लागू भएको र युद्धविरामपछि प्रायस् इलाकामा शान्त थिए । टर्की र रसियाको मध्यस्थतामा सिरियाली सरकार र विद्रोहीबीच भएको युद्धविराम सम्झौतापछि पनि सिरियामा छिटफुट आक्रमणबाहेक करिब करिब शान्त नै थियो । जनवरी २३ देखि काजकिस्तानको अस्तानामा सिरियाको विषयमा शान्तिवार्ता हुने भनिएको छ । अहिले हुने भनिएको शान्तिवार्तामा रसियाको टर्कीको विशेष भूमिका रहेको र यसअघि सरकार र विद्रोहीबीच गरिएका विभिन्न सम्झौतामा वासिङ्टनले पनि विशेष भूमिका खेलेको थियो । सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । गृहयुद्धमा आतंककारी समूह इस्लामिक स्टेट (आईएस) र अल कायदाजस्ता आतंककारी समूह हाबी हुँदै गए । जारी यस युद्धमा परी सिरियामा ३ लाख १२ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । युद्धका कारण लाखौं व्यक्ति घाइते र शरणार्थी जीवनयापन गर्नुपरेको छ । सिरियाको उत्तरी अलेप्पोको एक गाउँमा ध्वस्त भवन हुँदै हिँडेका दुई व्यक्ति । सिरियामा साढे ५ वर्षको युद्धमा ३ लाख ३० हजार जनाको मृत्यु र लाखौं घाइते तथा घरबारविहीन भएका छन् । तस्बिरः रोयटर्स
‘एलोफिभर’ले लियो ब्राजिलमा तीसको ज्यान
ब्राजिल, पुस २९। ब्राजिलमा विगत एक हप्तादेखि फैलिएको ‘एलोफिभर’का कारण मर्नेको संख्या तीस पुगेको छ । ब्राजिलियाली राज्य मिन जर्ममा फैलिएको सो ‘एलो फिभर’को संक्रमण अत्याधिक बढ्दै गएको त्यहाका स्वास्थ्य अधिकारीले बताएका छन् । हालसम्म कम्तिमा ३० जनाको मृत्यु भइसकेको स्वास्थ्य सचिवालयले जनाएको छ भने बिरामीका अन्य दश नमूनामा उक्त रोगको सङ्क्रमण पुष्टी भएको छ साथै साथै १०० भन्दा बढी शङ्कास्पद बिरामी भेटिएका छन् । ‘एलो फिभर’ एक प्रकारको कडा भाइरलको सङक्रमणबाट विकशित हुने रोग हो । यदी उक्त भाइरलको सङ्क्रमणपछि एक हप्ताभित्र बिरामीले उपचार नभएमा बिरामीको जीवन अत्यन्तै जोखिममा पर्छ । यो भाइरस बाँदरका प्रजातिमा प्रायः देखिने गर्छ । मानिसमा भने यो रोग ‘एलो फिभर’को भाइरसबाट सङ्क्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।