क्रान्तिकारीको नेतृत्वका लागि मतदान शुरु, ३० पदमा १५७ प्रतिस्पर्धी

काठमाडौं, भदौं १४ । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को निर्वाचन शुरु भएको छ ।

बुधबार दिउसो तीन बजेबाट मतदान शुरु भएको र मतदान प्रक्रिया साँझ ७ बजेसम्म चल्ने निर्वाचन समितिका संयोजक रमेश मल्लले एभरेष्ट दैनिकलाई बताए ।

भदौ ७ गतेदेखि राजधानीमा जारी एकताको २१ औं राष्ट्रिय सम्मेलनमा सहमति नजुटेपछि इतिहासमै पहिलो पटक क्रान्तिकारीमा पदाधिकारीका लागि निर्वाचन भएको हो ।

त्रिभुवन विश्वविद्यालयको हलमा अबको केहि बेरमा निर्वाचन शुरु हुने बताइएको छ । २०५१ सालदेखि अस्तित्वमा आएपछिको अखिल क्रान्तिकारीले पनि पहिलोपटक निर्वाचनको प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न लागेको हो । माओवादी घटक संगठनहरूबीच नेतृत्व चयनका लागि अन्तरपार्टी चुनावी प्रतिस्पर्धा यो पहिलोसमेत हो । सम्मेलनमा देशभरबाट २ हजार २२ जना प्रतिनिधि रहेका छन् ।

को-को छन प्रतिस्पर्धामा 
पार्टी र संगठनका पूर्वअध्यक्षहरुले पटक–पटक सहमति प्रयास गरेपनि असफल भएपछि क्रान्तिकारीको निर्वाचन हुने भएको हो । अध्यक्ष पदका लागि २ जना रञ्जित तामाङ र अनिल शर्माबीच निर्वाचन हुँदैछ । त्यस्तै ८ जना उपाध्यक्षका लागि २५ जना चुनावी मैदानमा उत्रिएका छन् । खुला उपाध्यक्षमा ४ जनाका लागि १२, छात्रा १ का लागि २ जना, मधेसी १ का लागि ६ जना, आदिवासी/जनजाति १ का लागि ३ जना, दलित १ का लागि २ जना प्रतिस्पर्धि रहेको छ ।

मल्ललेका अनुसार एक जना महासचिव पदका लागि ४ जना चुनावी मैदानमा उत्रिएका छन् । त्यस्तै ३ उपमहासचिव पदका लागि २० जना प्रतिस्पर्धी रहेका छन् । त्यसैगरि सचिव खुला २ का लागि २५, सचिव छात्रा २ का लागि १३, सचिव मधेसी १ का लागि ७, सचिव आदिवासी जनजाति १ का लागि १०, सचिव मुस्लिम १ का लागि २, सचिव दलित १ का लागि ८ जना चुनावी मैदानमा उत्रिएको मल्लले जानकारी दिए ।

मल्लका अनुसार प्रत्येका प्रदेशमा एक सचिवका लागि प्रदेश नम्बर १ मा ५, प्रदेश नम्बर २ मा ४, प्रदेश नम्बर ३ मा ७, प्रदेश नम्बर ४ मा २, प्रदेश नम्बर ५ मा ८, प्रदेश नम्बर ६ मा ३, प्रदेश नम्बर ७ मा २ जना चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरि विश्वविद्यालय, सिटिभिटि, केन्द्रीय कार्यालय र विभागका लागि १ सचिवका लागि ४ जना चुनावमा उत्रिएका छन् । कोषाध्यक्ष एक पदको लागि ६ जना चुनावमा गएका छन् ।

रेणु दाहाललाई गालीगलौज गर्ने देवी ज्ञवालीका छोरा पक्राउ

काठमाडौं, साउन १८ । सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्ने तथा कसैलाई गालीगलौज गर्न नपाइने प्रहरीले उर्दी जारी गरिसकेको छ । तथापी सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गर्ने व्यक्ति गिरफ्तार भएको केही साता पनि वित्न नपाउँदै प्रहरीले अर्का एकलार्इ पनि पक्राउ गरेकाे छ । भरतपुर प्रकरणलाई लिएर सामाजिक सञ्जालमार्फत भरतपुर मेयरकी दावेदार रेणु दाहालको चरित्र हत्या गर्ने गरी गाली गर्ने निरब ज्ञवाली गिरफ्तार परेछन् । निरज नेकपा एमालेकातर्फबाट भरतपुरमा मेयरका दावेदार देवी प्रसाद ज्ञवालीका छोरा हुन् । सामाजिक सञ्जाल फेसबुकमा आफूलाई गाली गलौज गरेको भनेर निरजविरुद्ध भरतपुर महानगरमा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेणु दाहालले प्रहरीमा उजुरी दिएकी थिइन् । दाहालको उजुरीका आधारमा ज्ञवाली बुधबार काठमाडौंको पुतलीसडकबाट प्रकाउ परेका हुन् । भरतपुर महानगरको मतपत्र च्यातिएपछि निरबले माओवादी उम्मेदवार रेणु दाहाललाई अपशब्द प्रयोग गर्दै फेसबुकमा स्टाटस लेखेका थिए । अब ज्ञवालीलाई साइबर अपराधमा मुद्दा चलाइने महाशाखाका एसपी प्रकाशजंग कार्कीले जानकारी दिए ।

सन् २०२८ को ओलम्पिक अमेरिकाको लस एन्जलसमा हुने

काठमाडौं, साउन १७ । अमेरिकाको लस एन्जलस शहरले सन् २०२८ को ओलम्पिक खेल आयोजना गर्ने सम्भावना बढेको छ । यसअघि सन् २०२४ कै ओलम्पिक आयोजनाको दाबी गर्दै आएको लस एन्जलस त्यसबाट पछि हटेको हो । सन् २०२४ को संस्करण आयोजनाका लागि फ्रान्सको पेरिस र अमेरिकाको लस एन्जलसले दाबी गर्दै आएका थिए । दुवै शहरले आफूहरुले ओलम्पिकका लागि तयारी सुरु गरिसकेकाले आयोजनाको जिम्मेवारी पाउनुपर्ने दाबी गर्दा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले निर्णय गर्न सकेको थिएन । अहिले लस एन्जलसले सन् २०२४ को दाबी छोड्दै पेरिसलाई सजिलो बनाईदिएको छ । गएको जुनमा सम्पन्न आइओसी बैठकले पेरिस र लस एन्जलसले आपसी सहमतिमा आलोपालो ओलम्पिक खेल आयोजना गर्न सक्ने निर्णय गरेको थियो । लस एन्जलसको पछिल्लो भनाईपछि अब सन् २०२४ को ओलम्पिक खेल पेरिसमा र २०२८ को लस एन्जलसमा हुने भएको छ । यसअघि सन् २०२० को ओलम्पिक खेल भने जापानको टाकियोले आयोजना गर्दैछ ।

१० लाखको औषधि जलाएर नष्ट

जाजरकोट,  साउन १४ । जिल्ला जनस्वास्थ्य कार्यालयले गाउँका स्वास्थ्य संस्थामा पठाइने औषधि जिल्ला सदरमुकाममै थन्क्याएर म्याद गुज्रेपछि वातावरण प्रदूषित हुने गरी जलाएको छ । गाउँमा जाने औषधिलाई लामो समयसम्म जनस्वास्थ्य कार्यालयमा भण्डार गरेर राखिएपछि औषधिको म्याद गुज्रेको थियो । क्षेत्रीय मेडिकल स्टोर सुर्खेत र जनस्वास्थ्य कार्यालयको मिलेमतोमा बिहीबार राति कसैलाई जानकारी नहुने गरी अस्पतालको हाताभित्रै वातावरण प्रदूषण हुने गरी औषधि जलाइएको जिल्ला जनस्वास्थ्य कार्यालयका स्टोर किपर लमबहादुर खड्काले बताए  । अस्पताल तथा स्थानीय स्वास्थ्य संस्थामा उक्त औषधि नष्ट गर्न नपाइने भए पनि औषधि व्यवस्था विभाग काठमाडौँ पु¥याउन भाडा लाग्ने भन्दै यतै जलाइएको खड्काको भनाइ छ । अस्पतालको हाताभित्रै औषधि जलाउँदा बिरामी, कर्मचारी र वरपरका बासिन्दालाई यसको गन्धले असर गरेको बताइएको छ । कार्यालयले रु १० लाखभन्दा बढी मूल्यको औषधि रातारात जलाएको अस्पतालका एक कर्मचारीले नाम नबताउने शर्तमा बताए । म्याद गुज्रेको भन्दै अस्पतालको भण्डारमा रहेका औषधि जलाइएको उनको आरोप छ । एक अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३४ स्वास्थ्य संस्थामा औषधिको अभाव भइरहने गर्छ । कार्यालयको चरम लापरबाहीका कारण औषधि सधैँ थन्क्याएर राख्ने र अन्तिममा जलाएर नष्ट गर्ने गरिएको छ । सधैँजसो महामारीको प्रकोप भइरहने र औषधिको अभाव भइरहने जिल्लामा ठूलो मात्रामा औषधि जलाउनु निकै दुःखद भएको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता डम्बर सिंहले बताउनुभयो । अस्पतालका कर्मचारी र औषधि बिक्रेताको मिलेमतोबाट धेरै औषधि खरिद गरिने भएकाले जिल्लामा यति ठूलो मात्रामा औषधिको म्याद सकिएको नेता सिंहको आरोप छ । समयमै गाउँका स्वास्थ्य संस्थामा आवश्यक औषधि अभाव हुने गरे पनि ठूलो मात्रामा जिल्लामा म्याद गुज्रेका औषधि थुप्रिने गरेको छ । निमित्त जनस्वास्थ्य प्रमुख रामपुकार साहले जथाभावी औषधि जलाउँदा यसले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने बताउनुभयो । “पचहत्तर जिल्लामा कहीँ पनि म्याद गुज्रेको औषधि नष्ट गर्न पाइँदैन”, साहले भन्नुभयो । यस्तो औषधि नष्ट गर्ने काम औषधि व्यवस्था विभागको हो । यसलाई एक हजार २०० डिग्री तापक्रम दिएर इन्सिनेटरमा राखेर नष्ट गर्नुपर्ने व्यवस्था छ । साहका अनुसार इन्सिनेटर किन्न रु १८ लाख पर्छ । विसं २०७२ मा सरकारले १५ शय्याको अस्पताललाई ५० शय्यामा विस्तार गरेको थियो । व्यावहारिक हिसाबले तीन महिना पहिलादेखि अस्पतालले कुनै पनि काम जनस्वास्थ्य कार्यालयसँग नगरेको जाजरकोट अस्पतालका निमित्त प्रमुख डा धर्मराज रेग्मीले बताए  । उपचार गराउन आएका बिरामीलाई कहिलेकाहीँ अस्पतालमा नभएको औषधिबाट उपचार गर्नका लागि जिल्ला जनस्वास्थ्य कार्यालयसँग माग्दा पनि उसले नदिने गरेको निमित्त प्रमुख डा रेग्मीको भनाइ छ । जनस्वास्थ्य कार्यालय र अस्पतालसँगै भए पनि निर्माण भएका भवन र गाडीसमेत कार्यालयले अस्पताल प्रयोजनमा दिन रोक लगाएको छ । अस्पताल र कार्यालयबीच चिसिँदै गएको सम्बन्ध मिलाउनका लागि भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीसहितको टोली बसेर समस्या समाधानको बाटो खोजिए पनि समाधान निस्किएको छैन ।

विष्फोटक पदार्थ भारतबाटै ल्याउनुपर्छ : रक्षामन्त्री

काठमाडौं, साउन १३ । रक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौं–निजगढ दु्रतमार्ग निर्माणको लागि चाहिने विष्फोटक पदार्थ भारतबाट ल्याउनुको विकल्प नरहेको बताएका छन । शुक्रबार राजधानीमा आयोजित साक्षात्कारमा उनले भने, ‘काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणका लागि आवश्यक विष्फोटक पदार्थ भारतबाट निर्यात गर्नुको विकल्प छैन, यो सामान भारतमात्रै पाउँछ ।’ नेपाली सेनाले विकट स्थानमा धेरै सडक निर्माण गरीसकेकाले कार्य मूल्याङकनका आधारमा राजधानीसँग तराईलाई जोड्ने द्रुतमार्ग निर्माणको जिम्मेवारी दिएको रक्षामन्त्री प्रधानले दावी गरे । त्यस्तै उनले नेपाली सेनाको सक्षम जनशक्ति, चेनअफ कमाण्ड, छोटो समयमा गुणस्तरीय पूर्वाधार निर्माणको अनुभवले द्रूतमार्ग पनि तोकिएको समयावधि भित्रै पूरा हुने विश्वास व्यक्त गरे ।

अब घरैबाट चेक डिपोजिट

एजेन्सी । अब घरैबाट आफ्नो बैंक खातामा चेक डिपोजित गर्न सक्ने प्रविधिको विकास भएको छ । बेलायतमा भर्खेरै विकास गरीएको प्रविधिको प्रयोग गरी घरै बसेर स्मार्टफोनबाटै बैंकमा चेक डिपोजिट हुने भएको हो । स्मार्टफोनबाट चेकको फोटो बैकमा पठाएर चेक डिपोजिट गर्न सकिने भएको बताइएको छ । योसंगै अब बैकसम्म जानुपर्ने झण्झटबाट धेरै मानिसहरुले मुक्ति पाउने भएका छन । प्रविधीको विकासले मानिसको जीवनशैली दिनप्रतिदिन सहज र सुलभ बनाइरहेको समयमा अब प्रविधिकै कारण चेक डिपोजिट गर्नका लागी बैक समेत जान नपर्ने भएको हो । बिबिसीले बताए अनुसार सरकारले यस विषयमा अध्यया सुरू गरिसकेको छ । यदी यो व्यवस्था लागू भए चेक क्लियर हुनका लागी समय पनि थोरै लाग्ने निश्चित छ ।

अरबमा पहिलोपटक नेपाली संस्थाले पायो बैधानिकता

युएइ, साउन ३ । लामो समयको प्रायसपछि अरब मुलुक युएइमा ‘हामी नेपाली एसोसियसन’ नामक सामाजिक संस्थाले कानुनी बैधानिकता पाएको छ । लामो समय देखि विभिन्न सस्थाले कानुनी रूपमा आफ्ना संस्थाहरुलार्इ दर्ता गराउने कोसिस गरे पनि यसअघि कुनै संस्थाले कानुनी वैधानिकता पाएका थिएनन । अन्तत बाहिर त्यति चर्चामा नआएको हामी नेपाली एसोसियसनले सामाजिक काम गर्न पाउने गरि युएइको कानुन बमोजिम अनुमतिपत्र (लाइसेन्स) पाएको हो । युएइका विभिन्न सहरमा कार्यरत नेपालीहरुले दशकौंदेखि नियमित जसो कार्यक्रम गर्दै आएका भएपनि यहाँको कानुनले ती सबैलाई अवैधानिक रूपमा लिदै आएको छ । नेपालीहरुले युएइमा झन्डै एकसय भन्दा बढी सामाजिक संस्थाहरु आफुखुसी सञ्लन गर्दै आएका भएपनि यहाँको कानुन बमोजिम दर्ता हुने सँस्थामा हामी नेपाली एसोसिएसन नै पहिलो हो । विभिन्न देशमा रहेका संस्था गैरआवसिय नेपाली संघ युएइ तथा युएइको सबैभन्दा पुरानो संस्था नेपाली समाज युएइ समेत दर्ता हुने प्रक्रियामा लागेको लामो समय बितिसक्दा पनि अहिलेसम्म दर्ता भएका छैनन । युएइ सरकारले यसअघिनै वैधानिकता नलियका कुनैपनि संस्थाले कार्यक्रम तथा क्रियाकलाप गर्न नपाउने भनी बताइ सकेको छ । लामो समयसम्म पनि कानुनी रुपमा कुनैपनि संस्था दर्ता हुन नसकिरहेको अबस्थामा DDA Group का प्रबन्धक डा. दिनेश आचार्यको सकृयतामा हामी नेपाली एसोसियसन दर्ता हुन सकेको हो । पहिलो पटक नेपालीहरुको सोसियल क्लब दर्ता गराउन पहल गरेकोमा युएइ बासी नेपालीहरुले डा.आचार्यलार्इ मुक्त कण्ठले प्रसंसा गरिरहेका छन् । साथै युएइमा रहेका अन्य (दर्ता नभएका) संस्थाका प्रमुखहरुसंग १९ जुलाई  बेलुकी ६.३० मा सुझाव संकलन कार्यक्रम आयोजना पनि गरेको छ ।

नेतृत्वमा पुग्न अमेरिकी एनआरएनमा गरियो विभाजन, डा.पौडेल भन्छन ‘प्यानल खडा गर्दीन’

वासिङ्टन डिसी । अमेरिकी डायस्पोरामा रहेका नेपालीभाषीहरुलाई जोड्ने साझा संस्थाका रुपमा स्थापना गरिएको गैरआवासीय नेपाली संघ (एनआरएन)लाई दिनानुदिन नेपाली राजनीतिक दलको भ्रातृ संगठनबीचको प्रतिस्पर्धा गर्ने थलो बनाउन थालिएको छ । नेपाली राजनीतिक दलको भ्रातृ संगठनबीचको प्रतिस्पर्धाको थलो बनाउन पछिल्लो पटक एनआरएन अमेरिकाको निर्वाचनमा गौरीराज जोशीले प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएपछि यसको पुष्टि भएको हो । हुन त एक कार्यकाल पूर्णरुपमा राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्मा काम गरेपछि मात्र अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न पाउने स्पष्ट विधान हुँदाहुँदै एक कार्यकाल पनि पूर्णरुपमा काम नगरेका जोशी बल मिच्याइँको भरमा अध्यक्ष पदमा प्रतिस्पर्धामा उत्रिएका छन् । जोशीले नेपाल कम्युनिष्ट पार्टी एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च अमेरिकाका कार्यकर्तालाई टिममा राखेर प्यानल बनाएका कारण अहिले डायस्पोरालाई जोड्नेभन्दा तोड्ने काम भएको भर्जिनियाबासी एक नेपालीले बताएका छन् । यद्यपि, अध्यक्षको एक कार्यकाल सफलतापूर्वक काम गरिसकेका पुनः अध्यक्षका प्रत्यासी डा. केशव पौडेलले भने डायस्पोरालाई विभाजन गर्न नहुने भन्दै हालसम्म उनले आधिकारिक प्यानल खडा गरेका छैनन् । बाहिर बाहिर गैरआवासीय नेपालीको मुद्दालाई उठान गर्दै उनीहरुको हितमा काम गर्ने उद्देश्य भनिए पनि त्यसविपरीत गैरआवासीय नेपाली संघको नेतृत्वमा आउन चाहने स्वयम्ले नेपाली राजनीतिक दलका भातृ संगठनको साथ–समर्थन गुहारिरहेको अवस्थाले संस्थाको उद्देश्यविपरीत गैरआवासीय नेपाली संघमा राजनीतिक रंग देखिन थालेको छ । आसन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको निर्वाचनमा पार्टीका प्रवास संगठनको समर्थनदेखि नेपालका राजनीतिक दलका नेताहरुको साथ आफूलाई रहेको भनी प्रचार गर्न उम्मेदवारहरुबीच प्रतिस्पर्धा नै देखिन थालेको छ । चुनाव जित्नका लागि कांग्रेस र एमाले दुवै हँु भनेर प्रष्ट्याउन खोज्ने कामसमेत नेतृत्वका आकांक्षीबाट हुने गरेको देखिएको छ । अध्यक्षका आकांक्षी जोशीले पछिल्लो समय आफू एमाले निकट नभई कांग्रेस निकट नै भएको देखाउन चितवन जिल्लामा सहयोग गरेको विवरणसहितको नेपाली कांग्रेस, चितवनको लेटरप्याडसमेत प्रयोग गरेर सामाजिक सञ्जालमार्फत प्रचारमा ल्याए । अर्कोतर्फ गुट नै बनाएर महिना दिन अघिदेखि नै चुनावी अभियान थालिनुले समेत चुनाव सकिएपछि त्यसले पछिसम्म एनआरएन अमेरिकामा विभाजनको बीउ रोप्ने भन्दै एनआरएन अमेरिकाका अभियन्ताहरु तथा एनआरएनएलाई माया गर्नेहरु समेत चिन्तित हुन थालेका छन् । गैरआवासीय नेपाली संघलाई सबैको साझा र एकताबद्ध संस्था बनाउन सक्दा मात्रै त्यसले सबैको हित गर्न सक्दछ । एनआरएनएका अभियानमा जोडिएका एक अग्रजले भने– ‘तर अहिले त महिनौं दिन अघिदेखि प्यानल बनाएर जाने काम भएको छ, कित्ताकाट भइरहेको छ ।’ यसले संस्थालाई सही ठाउँमा लान नसक्ने उनले दाबी गरे । ‘प्रजातान्त्रिक अभ्यासमा जानुपर्छ त्यसमा कसैले नराम्रो मान्नुपर्ने छैन,’ नाम उल्लेख नगर्ने शर्तमा उनले भने– ‘तर, यो कुनै सरकारी ओहोदा वा संसदीय चुनाव हो र, यसरी कित्ताकाट गर्ने ? अझ हुँदा हुँदा आफूलाई नेपालका दल तथा नेताहरुको नजिक छु भनेर प्रचारलाई अघि बढाउँदा भोलि नेपाली डायस्पोरा कता पुग्छ, के त्यसको ख्याल गर्नुपर्दैन ।’ एनआरएन अमेरिकाको चुनावी माहौल अघि बढिरहँदा अमेरिकामा रहेका नेपालीमा विभाजनको बीउ रोपिने त होइन भन्ने चिन्तासमेत बढेको देखिन्छ । प्यानल प्यानलमा नेपालीहरु बाँडिदा एकताबद्ध र सशक्त एनआरएनए अभियानमा त्यसले बाधा पुग्ने र भोलि नेपाली समुदाय कमजोर बन्नेतर्फ आफूलाई उभ्याउन गरेको प्रयासले देश बाहिर रहेका आम नेपालीमा फुट ल्याउनेतर्फ आम नेपालीको चिन्ता देखिन्छ । पछिल्लो समय अमेरिकामा रहेका नेपालीका सामाजिक सञ्जालमा एनआरएन अमेरिकाकै चर्चा चुलिएको छ । सामाजिक सञ्जालमा भोटको आशा मात्रै होइन मेरो समूह यो हो भनेर चित्रित गर्दै म अरुभन्दा यो कारणले बलियो छु भन्नेदेखि लिएर आन्तरिक रुपमा अर्को पक्षलाई गिराएर नेपालको दलीय राजनीतिको प्रभावस्वरुप भोटको राजनीतिसमेत गर्न थालिएको छ । एनआरएन अमेरिकाको चुनावमा यसरी पार्टीगत रुपबाट समुदाय विभाजन गर्न खोजिएकोमा अमेरिकामा रहेका नेपाली चिन्तित मात्र छैनन्, उनीहरुमा एक हदसम्मको आक्रोश पनि देखिन थालेको छ । सामाजिक सञ्जालहरुमा एनआरएन अमेरिकाको भोलिको गन्तव्यप्रति प्रश्न गर्दै अहिले नै यस्तो देखिएपछि भोलि नेतृत्वमा आए सबैको हितमा के काम हुन सक्दछ भन्ने खालका आक्रोशजन्य अभिव्यक्तिहरुसमेत पोष्ट हुन थालेका छन् । कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ता अमेरिकाका नेपालीहरुले नेपालमा राजनीतिकै कारण अवसर र सम्भावना गुमेका कारण प्रवासमा आउन परेको अवस्थामा यहाँ पनि नेपालकै पार्टीगत राजनीति नै गर्ने हो भने एनआरएन अमेरिका आवश्यकता नै किन जरुरी रहने भन्ने आशयसम्मका भनाइ अभिव्यक्त गर्ने गरेका छन् । समूहभन्दा पनि अघि बढी गुट बनाएर, दलीय आधार खोजेर फुट ल्याएर चुनाव जितेर एकताबद्ध एनआरएन अमेरिका बन्न सक्दैन, यसको हेक्का नेतृत्वमा उठेकाहरुमा हुनु जरुरी छ ।

शुल्क वृद्धिको विरोधमा विद्यार्थी अनशनमा

इटहरी, साउन १ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थानले वृद्धि गरेको शुल्कको विरोधमा त्यहाँका विद्यार्थीहरु अनशनमा बसेका छन् । संस्थाले ७० प्रतिशत परीक्षा शुल्क वृद्धि गरेपछि धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस तीनकुनेका दुईवटा विद्यार्थी संगठन आन्दोलित भएका हुन् । नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीका विद्यार्थीले विद्यार्थीसँग कुनै छलफल नै नगरी विद्यार्थीका ढाड सेक्ने गरी बढाएको शुल्क अविलम्ब फिर्ता लिन माग राख्दै आमरण अनशनमा बसेका हुन् । चारदिनदेखि क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै आन्दोलनमा ओर्लिएका विद्यार्थीले अरु विद्यार्थीको अध्ययन र अध्यापनमा बाधा पुग्ने भन्दै प्रशासनको तालाबन्दी खोलेर ती दुई संगठनले प्रशासन अघिल्तिर आमरण अनशनमा बस्नुपरेको बताएका छन् । नेवि सङ्घका उपसभापति सरोज अधिकारी र अखिल क्रान्तिकारीका उपाध्यक्ष कृष्णराज न्यौपाने आमरण अनशनमा बसेका हुन् । एकसाताअघि संस्थानअन्तर्गतको परीक्षा नियन्त्रण महाशाखाले देशभरका आंगिक क्याम्पसमा शुल्क बढेको विषयमा पत्राचार गरेपछि विद्यार्थी आन्दोलित भएका हुन । त्रिविको नियम विपरीत इन्जिनियरिङ अध्ययन संस्थानले शुल्क वृद्धि गरेकाले आफूहरु आन्दोलित हुनुपरेको अनशनमा बसेका अखिल क्रान्तिकारीका उपाध्यक्ष कृष्णराज न्यौपानको भनाइ छ ।

प्रचण्ड आज स्वदेश फर्किंदै, यसै साता मन्त्रीपरिषद बिस्तार

काठमाडौं, साउन १ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदैछन् । पत्नी सीता दाहालको उपचारका लागि थाइल्याण्डको बैंकक गएका प्रचण्ड आज स्वदेश फर्किन लागेका हुन । उनी आज थाई एयरवेजको विमानबाट फर्किन लागेको सचिवालयले जनाएको छ । प्रचण्ड फर्केलगत्तै प्रधानमन्त्री देउवाले सरकार विस्तार गर्ने बताइएको छ । सरकार बिस्तारका लागि राप्रपा, संघीय समाजवादी फोरम र अन्य साना दलसँग अनौपचारिक छलफल भएपनि कसले कुन मन्त्रालय पाउने भन्ने कुरा टुंगिएको छैन । प्रधानमन्त्री सचिवालयका अनुसार, प्रचण्ड फर्केपछि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल हुने छ । यो छलफलका आधारमा माओवादील र कांग्रेसका मन्त्रालयका साथै अन्य दललाई कुन मन्त्रालय दिने टुंगो लाग्ने छ । सोमबारदेखि भने प्रचण्ड पार्टीको आन्तरिक बैठकमा सहभागी हुने कार्यक्रम छ ।

मेयर दिलबहादुर ऐर कुर्सीका कारण चर्चामा

कञ्चनपुर, असार २९ ।  जिल्लाको सबैजसो नवनिर्वाचित जनप्रतिनिधिले शपथसंगै पदभार ग्रहण गरिसकेका छन् ।  स्थानीय तहमा लामो समयपछि चुनिएका नेताले गर्ने हरे निर्णय चासोको विषय बन्दै छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका प्रमुख दिलबहादुर ऐर भने कुर्सीका कारण चर्चामा छन् । उनी नगरपालिकाले किनेको आरामदायी कुर्सीमा बस्दैनन् । बरु घरबाटै सामान्य काठे कुर्सी ल्याएर आफ्नो कार्यकक्षमा राखेका छन् । ‘१० बर्षदेखि यही कुर्सीमा बसेर जनताको सेवा गरे, ५ बर्षे कार्याकाल पनि यसैमा विताउँछु’, उनले सञ्चारकर्मीमाझ भने, – ‘म सामान्य जनताको छोरो उनीहरु सरह नै बस्न चाहान्छु ।’ आफुलाई कुर्सी मोह भन्दा जनताको सेवा गर्ने चाहना रहेको उनले बताए, कान्तिपुरमा खबर  छ ।

रोल्पामा ६५ प्रतिशत मतदान सम्पन्न, सर्वसाधारण उत्साहित

रोल्पा, असार १४ । रोल्पामा अहिलेसम्म ६५ प्रतिशत मतदान भइसकेको छ । आज विहान ७ बजेदेखि सुरु भएको स्थनीय दोस्रो चरणको निर्वाचनका क्रममा रोल्पाको एउटा केन्द्रबाहेक अन्यमा स्थिति निकै हर्षाेल्लासपूर्ण रहेको मुख्य निर्वाचन अधिकृतले बताएका छन् । रोल्पा नगरपालिका – १० मा रहेको भनभने मतदान केन्द्रमा विप्लव समूहले मतपत्रमै एसिड छर्केर आगो लगाए पनि । १५ जटा मतपत्र उक्त एसिडबाट जलेको भएपनि अन्यहरु भने सकुशलै रहेको निर्वाचन अधिकृतले बताएका छन् । विहान १० बजेदेखि रोकिएको उक्त क्षेत्रको मतदान प्रक्रिया अहिले ३ बजेबाट पुनः सुचारु भएको छ । थवाङ जहाँ निर्वाचनका लागि निकै संवेदनशील मानिएको स्थान हो । तर त्यस क्षेत्रमा पनि स्थिति सामान्य बनेको छ । जनताहरु मतदान गर्न गइरहेका छन् । समग्रमा जिल्लामा मतदान प्रक्रिया निकै उल्लासमय रहेको बताइएको छ ।

कोरियन भाषा परीक्षाको नतिजा साउन ११ गते

काठमाडौं, असार ९ । गत २७ र २८ गते परीक्षा दिइएको कोरियन भाषाको परीक्षाफल साउन ११ गते सार्वजनिक गरिने भएको छ । यसअघि असारको दोश्रो हप्ता नै परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको भएपनि आन्तरिक कारणबस नतिजा सार्वजनिकमा ढिला हुन पुगेको एचआरडी कोरिया इपिएस सेन्टर नेपालले जनाएको छ । त्यस्तै गलत सूचनाका कारण कोरियन भाषा परीक्षा दिनबाट वञ्चितहरुका लागि असार २१ देखि २९ सम्म परीक्षा सञ्चालन गरिने भएको छ । गत जेठ २७ गते २६ नम्बर केन्द्र अर्थात एसियन इन्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी खुमलटार केन्द्रमा झण्डै सात सय जना परीक्षा दिन वञ्चित भएका थिए । उनीहरुलाई कम्प्युटर मार्फत परिक्षा लिइने भएको छ ।

खोलाबाट बालिकाको सकुुशल उद्धार

म्याग्दी, असार ६ । बेनीमा म्याग्दी नदीले बगाएकी एक बालिकाको सोमबार उद्धार गरिएको छ । धौलागिरि गाउँपालिका–३ मुना घर भई हाल बेनी नपा–२ हाडेभिर बस्दै आएका बलबहादुर रसाइलीकी १० वर्षीया छोरी ममताको म्याग्दी नदीले बगाउँदै गरेको अवस्थामा प्रहरीले उद्धार गरेको हो । म्याग्दी नदीको मोटरेबल पुलबाट खोलामा खसेको चप्पल छोप्न जाने क्रममा ममतालाई नदीले ५० मिटर तलसम्म बगाएको थियो । नदीले बालिकालाई बगाएको देख्ने बित्तिकै प्रत्यक्षदर्शीले सूचना गरेपछि घटनास्थल पुगेर सकुशल उद्धार गरेको प्रहरी निरीक्षक दिवाकर घिमिरेले बताउनुभयो । बालिकाको उद्धार गरी बेनी अस्पतालमा उपचार भइरहेको छ । यसअघि गत महिना पनि कालीगण्डकी नदीले बगाएर बीच भागमा रहेको ढुङ्गामा अड््किएका एक पुरुषको प्रहरीले सकुशल उद्धार गरेको थियो ।

परीक्षा नियन्त्रक छानबिनमा

काठमाडौँ, वैशाख १८ । कक्षा १२ को परीक्षासम्बन्धी लापरबाही, अनियमितता र प्रश्नपत्र अभावका सम्बन्धमा शिक्षा मन्त्रालयले गठन गरेको तीन सदस्यीय छानबिन समितिले सम्बन्धित कर्मचारीसँग बयान लिएको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा हरि लम्सालको संयोजकत्वमा गठित सो समितिले आजबाट ती लापरबाही र अनियमिततामा संलग्न भएको आरोपमा राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कर्मचारीसँग बयान लिन सुरु गरेको हो । सो प्रकरणमा परीक्षा नियन्त्रक सन्तोषकुमार अर्याललाई निलम्बन गरी उपनियन्त्रक जयन्ती सत्याललाई निमित्तको जिम्मेवारी दिइएको छ । यही वैशाख १० गतेबाट सुरु भएको सो परीक्षाका कतिपय विषयका प्रश्नपत्रमा सन्दर्भ नमिल्ने प्रश्नहरु समावेश भएको र कतिपय केन्द्रमा प्रश्नपत्र अभाव पाइएको थियो । संयोजक लम्सालले समितिले यही वैशाख २० गते शिक्षामन्त्रीलाई प्रतिवेदन बुझाउने गरी काम गरेको बताए ।  

बौद्ध शिक्षा र देवदह परिचय पाठ्यक्रम स्वीकृत

बुटवल,  वैशाख १७। जिल्ला शिक्षा कार्यालय, स्थानीय पाठ्यक्रम निर्धारण समन्वय समितिले देवदह नगरपालिकाको नगर परिषद्बाट निर्णय भएबमोजिम बनेको स्थानीय पाठ्यक्रम निर्माण समितिले बनाएको पाठ्यक्रमलाई स्वीकृत गरी कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाको अध्यक्षतामा बसेको समितिको बैठकले यसै शैक्षिकसत्रबाट कक्षा ६ र ७ मा लागू हुनेगरी पाठ्यक्रम स्वीकृत गरेको हो । नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण नेपालले बुद्धमावली क्षेत्र देवदहका लागिमात्र नभएर लुम्बिनीवासीकै लागि गौरवको विषय हुने बताए । नगरपालिकाले सिद्धिचरण भट्टराईको संयोजकत्वमा ‘बौद्ध शिक्षा र देवदह परिचय’ नामक स्थानीय पाठ्यक्रम बनाउन प्राज्ञ, स्थानीय शिक्षा प्रेमी र अन्य सरोकारवाला रहेको समिति गठन गरेको थियो । संयोजक भटराईले देश विदेशका कुराहरु जान्ने तर आफ्नै घर वरिपरिका महत्वपूर्ण स्थानीय सम्पदाको महत्व नबुझ्ने अवस्थाको अन्त्य गर्दै बौद्ध शिक्षाबाट चरित्रवान् नागरिक तयार गर्न धेरै ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको बताए । समितिका सदस्य निर्मल ढुङ्गानाले पाठ्यक्रममात्र नभई लुम्बिनी बौद्ध विश्वविद्यालयका प्राज्ञहरुको सहयोगमा पाठ्यपुस्तकसमेत तयार भई छपाइको प्रक्रियामा रहेकाले जेठको पहिलो सातादेखि कक्षा ६ मा पहिलो वर्ष लागू हुने र अर्को वर्ष कक्षा ७ मा लागू हुनेगरी तयारी भएको बताए । केरवानी माविका प्राचार्य दुर्गादत्त शर्माले देवदहबाट सुरु भएको यो कार्यक्रमलाई सबै विद्यालयले उत्साहका साथ लागू गर्नुपर्ने बताए।