माइक छुँदा करेन्ट लागेर एक भारतीयको मृत्यु

टोपबहादुर, अनन्त, नारायणकाजी र बादल एउटै मञ्चमा, प्रधानमन्त्री बने भावुक

चुनवाङ, रुकुम पुस ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमको चुनवाङदेखि म्याग्दीको बेनीसम्म जोडिने गुरिल्ला ट्रेल एवं जनयुद्धको ऐतिहसिकता झल्कने युद्ध संग्रहालयको उद्घाटन गरेका छन् । शनिबार रुकुमको चुनवाङमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले गुरिल्ला ट्रेलको उद्घाटन गरेका हुन् । जनवादी गणतन्त्र स्थापनाको कार्यनीतिलाई बदलेर संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेर विश्वस्तरमै चर्चा बटुलेको रुकुमको चुनवाङ बैठकको स्मरणमा गुरिल्ला ट्रेल र युद्ध संग्रहालय स्थापना गरिएको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– ‘भर्खरै जस्तो लाग्छ, १२ वर्ष बितिसकेछ । यही घरमा केन्द्रीय समितिको पूर्ण बैठक बसेको थियो । चुनवाङ बैठकका नामले परिचित त्यो बैठक माओवादी पार्टीको जीवनमा मात्रै नभएर देशमै उथलपुथल ल्याउने युगान्तकारी बैठक बन्यो । चुनवाङ बैठकको निर्णयबाट नै हामी १२ बुँदे समझदारीमा पुग्यौं, जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा पुग्यौं । आज १२ वर्षपछि जनमुक्ति सेनाले पैदल यात्रा गरेको स्मरणमा गुरिल्ला ट्रेल र जनयुद्धको ऐतिहासिक झल्कने युद्ध संग्रहालयको उद्घाटन गर्न पाउँदा हर्षित् र भावुक पनि भएको छु ।’ चुनवाङ बैठकले नेपालको राजनीतिमा गुणात्मक परिवर्तन ल्याएको उनले बताए । ‘केन्द्रीय कार्यालयका बरिष्ठ नेता साथीहरु पनि सँगै हुनुहुन्छ, आज मलाई पूनर्मिलनको अनुभूति भएको छ । चुनवाङ बैठक नै त्यस्तो बैठक हो, जसले नेपालको राजनीतिलाई नै मोडिदियो । तर, राजनीतिमा आएको परिवर्तन अनुसार तपाईहरुको जीवनमा अझै गुणात्मक परिवर्तन आउन सकेको छैन । सबै परिवर्तन एकैचोटी सम्भव हुँदैन । तर, परिवर्तनको युगान्तकारी नेतृत् वगर्ने यस ठाउँको मुहार फेर्नैपर्छ । सरकार त्यसका लागि गम्भीर र जिम्मेवार भएर लाग्नेछ,’ प्रचण्डले भने । कार्यक्रममा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, वर्षमान पुन ‘अनन्त’, गणेशमान पुन, जोखबहादुर महरा लगायतको उपस्थिति थियो । तात्कालीन ने.क.पा. (माओवादी) ले म्याग्दीको बेनी आक्रमणमा चुनवाङदेखि बेनीसम्म पैदल याात्रा गरेको वीरताको इतिहासलाई स्मरण गरि चुनवाङदेखि बेनीसम्म गुरिल्ला ट्रेलको परिकल्पना गरिएको र अहिले पर्यटकीय पदमार्गको रुपमा स्थापित हुँदै गएको माओवादी नेता एवं पूर्वमन्त्री गणेशमान पुनले बताए। गुरिल्ला ट्रेलका लागि जिल्ला विकास समिति रुकुमले आर्थिक र प्राविधिक सहयोग गर्दै आएको सो अवसरमा जानकारी दिइयो । पोखरादेखि बेनी हुँदै रोल्पा र रुकुमका रमणीय गाउँहरु पार गर्दै चुनवाङ आइपुग्न १५ दिनको समय लाग्नेछ । यसैगरी चुनवाङदेखि घोराहीसम्म पद यात्रा गर्न सकिने पूर्वमन्त्री पुनले जानकारी दिए । गुरिल्ला ट्रेलसँगै उद्घाटन गरिएको युद्ध संग्रहालयमा तात्कालीन ने.क.पा. (माओवादी) को नेतृत्वमा सञ्चालित जनयुद्ध, त्यसका ऐतिहासिक घटनाक्रम, महत्वपूर्ण निर्णय लगायतका जनयुद्धसँग सम्बन्धित ऐतिहासिक सामाग्रीहरु सुरक्षित रहनेछन् ।

सातौँ राष्ट्रिय खेलकुद आजदेखि सुरु

विराटनगर, पुस ८ । सातौँ राष्ट्रिय खेलकुद आजदेखि पूर्वाञ्चलमा सुरु हुँदै छ । साताव्यापी जारी रहने सो प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक हजार ३५ पदकका लागि प्रतिस्पर्धा हुनेछ । सो प्रतिस्पर्धामा तीन हजार ९७२ जना खेलाडीको सहभागिता रहने आयोजक ले जनाएको छ । प्रतियोगिताबारे जानकारी दिँदै युवा तथा खेलकुदमन्त्री दलजीत श्रीपाइलीले प्रतिभावान् खेलाडीको खोजीमा सातौैँ राष्ट्रिय खेलकुदले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले सन् २०१९ मा नेपालमा हुने सार्क खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी छनोट गर्नमा पनि यो प्रतियोगिता उपयोगी हुने बताए । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको भोलि विराटनगरको सहिद रङ्गशालामा एक भव्य समारोहबीच उद्घाटन गर्नुहुने कार्यक्रम छ । प्रतियोगितामा सहभागी हुन खेलाडी र प्रशिक्षकलगायत विराटनगर आउनेक्रम जारी रहेको र सबै तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ । रासस

अब विदेशमा मृत्यु भए क्षतिपूर्तीको निवेदन अनलाइनबाटै

काठमाडौँ, २९ मङ्सिर । अब वैदेशिक रोजगारीमा गएर मृत्यु भएका मृतकका परिवारले क्षतिपूर्तिका लागि निवेदन दिन काठमाडौँ धाइरहनपर्ने समस्याको अन्त्य हुने भएको छ । सरकारले चाँडै नै अनलाइन प्रणालीमार्फत वैदेशिक रोजगारका क्रममा मृत्यु भएकाको क्षतिपूर्तिका लागि निवेदन दिने व्यवस्था गर्न थालेपछि काठमाडौँ धाइरहने समस्या अन्त्य हुने भएको हो । अन्तर्राष्ट्रिय आप्रवास दिवसका अवसरमा आज यहाँ प्रवासी नेपाली समन्वय समिति र सुरक्षित आप्रवास परियोजनाले संयुक्त रुपमा ‘वैदेशिक कामदारका मृत्युका मुद्दा’ विषयको अन्तरक्रियामा कन्सुलर सेवा विभागका महानिर्देशक गेहेन्द्रराज भण्डारीले चाँडै नै अनलाइन प्रणालीमार्फत क्षतिपूर्तिका लागि निवेदन दिने व्यवस्था गर्न लागिएको जानकारी गराउनुभयो । उहाँले मृतकका परिवारलाई क्षतिपूर्तिका लागि काठमाडौँ आउने झन्झट हटाउन आ–आफ्नो ठाउँबाट निवेदन दिनका लागि अनलाइन प्रणाली सुरु गर्न लागिएको बताउनुभयो । महानिर्देशक राजभण्डारीले विभागबाटै विदेशमा केही समस्या परेर पीडितलाई ‘अन्तर्राष्ट्रिय फोन’को व्यवस्था गर्न लागिएको हो भन्नुभयो । उहाँले तुरुन्तै उद्धार गर्न र क्षतिपूर्तिका लागि सजिलो होस् भनेर पीडितलाई विभागबाट नै विदेशस्थित नेपालका दूतावास र कम्पनीमा फोनको व्यवस्था गर्न लागिएको बताउनुभयो । कार्यक्रममा झापा पाँचगाछीका देवीप्रसाद तिवारीले छोरा रमेश तिवारीको साउदी अरबमा कामकै सिलसिलामा ज्यान गएपनि अझै क्षतिपूर्ति नपाएको गुनासो गर्नुभयो । २०६८ सालमा छोराको ट्रकले किचेर ज्यान गएपनि क्षतिपूर्तिका लागि पटकपटक काठमाडौँ धाएपनि नपाएको बताउनुभयो । कार्यक्रममा धनुषाकी बबिता साहले कुवेतमा श्रीमान् सत्यनारायणको ज्यान गएपनि अहिलेसम्म बिमा कम्पनीले क्षतिपूर्तिबापतको रकम नदिएको बताउनुभयो । उहाँले कम्पनी र प्रर्वद्धन बोर्डबाट क्षतिपूर्ति पाएपनि बिमाबापतको रकम प्राइम लाइफ इन्स्योरेन्सले नदिएको गुनासो गर्नु भयो । “बिमा कम्पनीले पहिले नाता प्रमाणित गरेर ल्याउ भनेको थियो, त्यो पनि बुझाएँ”–उहाँले भन्नुभयो, “तर अहिलेसम्म पनि दिएको छैन ।” कार्यक्रममा प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष कुलप्रसाद कार्की र सुरक्षित आप्रवास परियोजनाकी रोनी प्रधानले वैदेशिक रोजगारमा जाने कामदारको मृत्यु कसरी कम गराउन सकिन्छ त्यसतर्फ अभिमुखिकरण कार्यक्रम गर्नु आवश्यक रहेको बताउनुभयो । समितिले प्रस्तुत गरेको प्रतिवेदनमा सन् २०१६ मा प्राकृतिक कारणले सबभन्दा बढी मृत्यु हुने गरेको उल्लेख छ । त्यसपछि क्रमशः आत्महत्या, कार्यस्थलमा दुर्घटना, ट्राफिक दुर्घटना हुने गरेको छ । रासस

दुर्गम क्षेत्रमा विद्यालय भवन बनेपछि स्थानीयमा उत्साह

पाल्पा, मंसिर २५ । जिल्लाको पूर्वी भेगमा पर्ने सहलकोट–२ मा नयाँ विद्यालय निर्माण भएपछि स्थानीय खुसी भएका छन् । विकट र दुर्गममा सञ्चालन हुँदै आएको पुरानथर प्राथमिक विद्यालयको भौतिक संरचना जीर्ण बन्दै जाँदा पठनपाठनमा निकै समस्या झेल्दै आएका यहाँका शिक्षक र विद्यार्थीले सहजरुपमा पठनपाठन हुने भएपछि यस क्षेत्रका स्थानीयवासिन्दा उत्साहित भएका छन् । विद्यालयको भवन जीर्ण भएका कारण न्यून मात्रामा विद्यार्थी सङ्ख्या रहेकोमा अब नयाँ भवन निर्माणसँगै विद्यार्थी अनुपात पनि बढ्ने विद्यालयले जनाएको छ । दुर्गमका बालबालिकालाई गाउँमै सहज वातावरणमा पठनपाठन गरुन् भन्ने उद्देश्यले विद्यालय तथा यहाँका स्थानीयवासीले जापानीज नागरिक, सहलकोट गाविस कार्यालयसँग आर्थिक रकम सहयोग गर्न पहल गरेपछि सो भवन निर्माण गरिएको हो । जापानीज नागरिक तनाका साचिकोको र नाकानो मियोकीबाट रु चार÷चार लाख, सहलकोट गाविस कार्यालयबाट रु दुई लाख १३ हजार ६१५, विद्यालय कोषबाट रु एक लाख ५९ हजार १६२, स्थानीयको जनश्रम दानबाट रु तीन लाख २० हजार २६६ गरी जम्मा रु १४ लाख ९३ हजार ४३ को लागतमा ३/३ कोठाको दुई वटा भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नैनसिं सारुले बताए । विद्यालयमा हाल सहकोट गाविस १ र २ का ५३ जना विद्यार्थी अध्ययनरत छन् ।

फिल्मी शैलीमा गर्लफ्रेन्ड बनाउँदै ठगी

काठमाडाैं, मंसिर १७। फिल्मी शैलीमा गर्लफ्रेन्ड बनाउँदै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । प्युठानका ईश्वरीप्रसाद पोखरेललाई महानगरीय अपराध महाशाखाले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । विगतमा ठगी मुद्दामा समेत दोषी ठहर भई फरार रहेका पोखरेलले पछिल्लो समय ३० जनाभन्दा धेरैलाई ठगी गरेको प्रहरीले जनाएको छ । ठगिनेमध्ये धेरै उनका गर्लफ्रेन्डनिकट व्यक्ति रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यसरी नै उनले एक दशकदेखि ठग्दै आएका थिए । भारतको लखनउमा बस्ने पोखरेलले गर्लफ्रेन्ड र आफ्ना विश्वासपात्र व्यक्तिमार्फत पैसा उठाउने गरेका थिए । गर्लफ्रेन्ड र आफन्तलाई समेत झुक्याएर उनले विदेश जान खोज्ने तथा सरकारी जागिर खाने व्यक्तिलाई खोज्न लगाउने गरेको प्रहरीले जनाएको छ । पोखरेलले कतिपय अवस्थामा उनीहरुमार्फत नै पैसा लिने र कतिपय अवस्थामा आफ्नो बैंक खातामा पैसा हाल्न लगाउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । एटिएममार्फत भारतमै बसेर उनले पैसा निकाल्ने गरेका थिए । परिचय लुकाउन हिमालयन बैंकमा नक्कली नागरिकताका आधारमा मनोज रिजालको नाममा पोखरेलले खाता खोलेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ।

विधेयक पारित हुन तीन साता लाग्ने

काठमाडौँ,मंसिर १६ । संविधान संशोधन विधेयक संसद्मा दर्ता भएसँगै राजनीतिक ध्रुवीकरण थप बढेको छ । राजनीतिक वृत्तमा मात्र हैन, प्रदेशको सिमाना हेरफेर भएपछि सर्वसाधारणसमेत सडकमा आएका छन् । राजनीतिक ध्रुवीकरणबीच प्रस्ताव आएपछि संशोधन प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेमा प्रश्न उठेको छ । राजनीतिक सहमति भई तत्काल विधेयक पारित गर्न आवश्यक रहेको अवस्थामा भने ढिलोमा पनि तीन सातामा विधेयक पारित हुनसक्ने अवस्था रहन्छ । कानुनमन्त्री अजयशङ्कर नायकले सहमतिमै छिटोभन्दा छिटो प्रस्ताव पारित हुने बताए । मन्त्री नायकले भने, ‘हिजो काँग्रेस एमालेको सहमतिमा ल्याइएको प्रस्तावलाई नै अहिले सरकारले ल्याएको हो, सबै पक्षको सहयोगमा पारित हुन्छ ।’ संविधानको धारा २७४ को व्यवस्था अनुसार दर्ता गरेको संशोधन प्रस्ताव परिपक्व हुन पाँच दिन लाग्छ । यस्तै सांसदहरूलाई अध्ययनका लागि समय दिने प्रचलन छ । बढीमा दुई दिनसम्म सांसदहरूलाई अध्ययनका लागि दिइनेछ । परिपक्वको समय पुगेपछि विधेयक संसद्मा पेस हुनेछ । संसद्मा पेस भएपछि विधेयक सर्वसाधारणको जानकारीका लागि प्रकाशित हुनेछ । संसद्मा पेस भएको बढीमा ३० दिनभित्र सर्वसाधारणको जानकारीका लागि प्रकाशित गर्नुपर्नेछ । सर्वसाधारणलाई जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था अनुसार विधेयक सार्वजनिक रूपमा प्रकाशित गर्नुपर्नेछ । आजको गोरखापत्र दैनिकमा खबर छ ।

क्यानडाविरुद्ध उत्कृष्ट खेल प्रर्दशन गरेको राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्रीद्धारा बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यानडाविरुद्ध उत्कृष्ट खेल प्रर्दशन गरेको राष्ट्रिय क्रिकेट टोलीलाई बधाई ज्ञापन गरेका छन् । आज भएको तेश्रो खेलमा समेत उत्कृष्ट जित हात पार्दै क्यानडा विरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला क्लिनस्विप गर्न सफल भएपछि प्रधानमन्त्रीले क्रिकेट टोलीलाई बधाई दिएका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने तेश्रो खेलमा समेत उत्कृष्ट जीत हात पार्दै क्यानडा विरुद्धको एक दिवसीय क्रिकेट श्रृंखला क्लिनस्विप गर्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हार्दिक बधाई ज्ञापन गर्नुभएको छ। आज भएको खेलमा ओपनर अनिलकुमार साह र भीम सार्कीको शतकप्रेरित नेपालले क्यानडाविरुद्ध नौ विकेटको सानदार जित निकाल्दै एकदिवसीय शृंखलामा ‘क्लिन स्विप’ गरेको हो । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ओपनर र तेस्रो क्रमका ब्याटरले शतक बनाएपछि क्यानडाले दिएको २३३ रनको लक्ष्य नेपालले ४४.३ ओभरमा एक विकेट गुमाएर भेट्टायो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अनिल र भीम दुवैको यो पहिलो शतक हो ।

अरुण चौधरीबारे आदेश दिने न्यायाधीशलाई मुगु सरुवा

काठमाडौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यलाई मुगु सरुवा गरिएको छ । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा च्याम्पिएन फुटवेरका नाममा सारी गैरकानुनी लाभ लिएको आरोपमा पक्राउ परेका व्यवसायी अरुण चौधरीको म्याद थपका विषयमा उनले दिनभर बहस गराएर दुई दिनमा अनुसन्धान नसके स्वतः रिहा हुने आदेश दिएका थिए । म्याद थपका निम्ति अदालतमा उपस्थित गराइएका चौधरीका विषयमा अन्तरिमजस्तै आदेश दिइएको थियो । त्यसपछि न्यायाधीश आचार्यबारे प्रश्न उठाइएको थियो । न्याय प्रशासनको नेतृत्वकर्ता प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आइतबार ९हिजो० उनलाई मुगु काज सरुवा गरिदिएका स्रोतले जानकारी दियो ।

एक हजार तीन सय प्रतिनिधिले बनाउँदै छन् माओवादीको विधान, यस्तो छ तयारी

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पहिलो पटक आगामी फागुन १ देखि ३ गतेसम्म काठमाडौँको प्रज्ञा भवनमा आयोजना गर्न लागेको छ । सो विधान अधिवेशनमा देशैभरबाट एक हजार तीन सय प्रतिनिधि सहभागी हुने माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले अधिवेशनमा आएका प्रतिनिधिमार्फत बहस र छलफल गरेर विधान बनाउन लागेको हो । पार्टीलाई चुस्तदुरुस्त बनाउन ठुलो सङ्ख्यामा प्रतिनिधि राखेर बहस गरी विधान टुङ्गो लगाउन लागिएको पार्टीले जनाएको छ । पार्टीका कोषाध्यक्ष श्रीराम ढकालका अनुसार विधान अधिवेशनको पहिलो दिन आगामी फागुन १ गते उद्घाटन हुने छ भने फागुन २ र ३ गते विधानकेन्द्रित छलफल हुने छ । विधान अधिवेशनमा पार्टी केन्द्रीय सदस्य ४०९ जनासहित ज्येष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार, केन्द्रीय विभाग, तीन केन्द्रीय आयोग, प्रदेश पदाधिकारी, ७७ जिल्ला संयोजक र जनवर्गीय सङ्गठनका प्रमुख बैठकमा सहभागी हुने छन् । पार्टी उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा तयार भएको विधान मस्यौदामा केन्द्रित भई माघ २४ गतेसम्म सुझाव दिन निर्देशन दिएको छ । पार्टीका नेता तथा कार्यकर्ताले आफूलाई लागेका सुझाव इमेल र प्रत्यक्ष उपस्थित भई पार्टी कार्यालयमा दिन सक्ने छन् ।

तिब्र गतिमा समृद्धिको अभियानको फड्को मार्नु आजको कार्यभार : नारायणकाजी श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाली जनताको अपेक्षाअनुसार तिब्र गतिमा समृद्धिको अभियानले फड्को मार्न नसकेको बताएका छन् । शनिबार पोखरमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताए । उनले आजको केन्द्रिय कार्यभार भनेकै नेपाली जनताको अपेक्षाअनुसार तिब्र गतिमा समृद्धिको अभियानको फड्को मार्नु रहेको बताए। गृहमन्त्री श्रेष्ठले यसको लागि सुशासन, समृद्धि र सामाजिक न्याय मुख्य कुरा रहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी कार्यभार भनेको संक्रमणकालीन न्यायसँग सम्बन्धित कार्यभारहरु अथवा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको कामलाई पूर्णता दिनु रहेको बताए। उनले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयक संसदमा विचाराधिन रहेको र संसदबाट पारित गरेर सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको फेरि गठन गर्नुपर्ने बताए। उपप्रधानमन्त्री श्रेष्ठले द्वन्द्व पीडितलाई न्याय दिनेगरी र देशमा दिगो शान्ति स्थापना हुने गरी राष्ट्रिय मेलमिलापलाई केन्द्रमा राख्दै शान्ति प्रक्रियालाई पूर्णता दिनु आजको कार्यभार भएको बताए ।

एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन आजदेखि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को राष्ट्रिय सम्मेलन आज सुरु हुँदैछ । आज बिहान साढे ११ बजे काठमाडौँको प्रज्ञा भवन कमलादीमा सुरु हुने सम्मेलनमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण, कार्ययोजनासहितको विधान मस्यौदामाथि छलफल केन्द्रित हुनेछ । पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने उपमहासचिव खतिवडाले जानकारी दिए । पार्टीको पदाधिकारी, केन्द्रीय कमिटीको काम, कर्तव्य तथा अधिकारको बाँडफाँड गर्ने बैठकले पार्टी नेतृत्वका लागि उमेर, कार्यकाल, सङ्गठन निर्माणमा गरेको योगदानलगायतका आधारमा मापदण्ड तय गर्ने छ । सम्मेलनले मस्यौदा अनुमोदन गरेपछि पार्टीले त्यसैका आधारमा आगामी जेठ पहिलो साता पार्टीको महाधिवेशन गर्नेछ । पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानका रूपमा अगाडि बढाउनुका साथै जिल्लास्थित समाजवादी मोर्चाको बैठक र एजेण्डाको बारेमा समेत सम्मेलनमा छलफल हुने खतिवडाको भनाइ छ । राष्ट्रिय सम्मेलनले भोलिसम्म चल्नेछ । एकीकृत समाजवादीले आगामी जेठ ३ गतेदेखि पहिलो राष्ट्रिय महाधिवेशन गर्दैछ।

महंगो ब्रान्डका बोतलमा नक्कली मदिरा बेच्नेहरू पक्राउ गरी सार्वजनिक

काठमाडौं । विभिन्न ब्रान्डका नक्कली मदिरा बनाई बिक्री गर्ने समूहलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौंमा स्वदेशी र विदेशी ब्रान्डका नक्कली मदिरा बनाई बिक्री भइरहेको सूचनामा आधारमा काठमाडौं थलीस्थित एक घरमा छापा मार्दा प्रहरीले विभिन्न ब्रान्डका नक्कली मदिरासहित ९ जनालाई पक्राउ गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका व्यक्तिहरूलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रामेछापका मनोज खत्री, विनोदकुमार कार्की, मोहन खड्का, गौरव तामाङ, मोहन खड्का, रोशन कार्की, महेश खत्री, मनिष खत्री र सुमन नगरकोटी रहेका छन् । पक्राउ परेकामध्ये अधिकांश यसअघि पनि नक्कली मदिरा बनाएको अभियोगमा पक्राउ परेको देखिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले जानकारी दिए । उनीहरूबाट खुकुरी रम, गोल्डन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याक, सगुन ब्राण्डको मदिरा, मिश्रित तरल पदार्थ, विभिन्न रक्सीहरूको खाली बोतल, आन्तरिक राजस्व विभागको अन्त शुल्कको स्टिकरहरू, लेवलिङ र प्याकेजिङ गर्न प्रयोग गरिने सामानहरू बरामद भएको घिमिरेले बताए । उनीहरूले चिनी र पानी मिलाएर पकाउने त्यसपछि अल्कोहल मिसाएर बजारमा प्रचलित दरभाउभन्दा कम मूल्यमा नक्कली मदिरा बिक्री गर्ने खुलेको प्रहरीले जनाएको छ । त्यस्तै, प्रहरीले बजार पठाउन तयारी अवस्थामा राखिएका विभिन्न ब्रान्डका मदिराहरू समेत बरामद गरेको छ ।

पशुपति मन्दिर परिसरमा स्तनपान कक्ष

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा स्तनपान कक्षको शुभारम्भ भएको छ ।मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले स्तनपान कक्षको शुभारम्भ गरेकी हुन् । मन्दिर क्षेत्रमा हुने महिलाको समस्यालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले यो व्यवस्था गरेको हो । राज्यमन्त्री सिर्पालीले पशुपतिनाथ मन्दिर क्षेत्रमा महिलाको समस्यालाई मध्यनजर गर्दै स्तनपान कक्षको सञ्चालन गरिएको बताइन । उनले स्तनपान कक्षको उद्घाटन बाल अधिकारको संरक्षण पनि भएको बताइन् । उनले यो कार्य भगवानको मन्दिरमा सामाजिक सेवाको सकारात्मक सन्देश भएको बताइन् । मन्त्री सिर्पालीले आगामी दिनमा भक्तजनहरुको सेवा सुविधाका लागि थप काम गर्दै जाने प्रतिवद्धता जनाइन् । स्तनपान कक्षमा तातो र चिसो पानीको व्यवस्था गरिएको क्षेत्र विकास कोषले जनाएको छ । स्तनपान कक्षको सरसफाईका लागि कर्मचारी पनि खटाइएको बताएको छ ।

खेलाडी सवार बस दुर्घटना : एकको मृत्यु, १३ घाइते

कपिलवस्तु। मकवानपुरमा सञ्चालन भएको अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किएको टोली सवार गाडी दुर्घटना हुँदा १ खेलाडीको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोर खोलामा शनिबार राति १ बजे खेलाडी सवार बस ट्रकसँग ठोकिएको थियो । हेटौडाबाट धनगढी जाँदै गरेको सु.प. ०१–००१ ख ३३९२ नम्बरको बस र लु १ ख ८६०८ को ट्रक एकापसमा ठोकिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक तारिकचन्द्र चौधरीले बताए । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-१२ वर्षकी उसु खेलाडी निता खड्का रहेको प्रहरीले जनाएको छ । बसमा सवार अन्य १३ जना घाइते हुनुभएको छ । घाइतेमध्ये ३ जनाको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए । घाइते हुनेमा उसु खेलाडी पुष्पा कुँवर, सपना तामाङ, सृजना बिसी, मुकेश कार्की, अस्मिता गाहा मगर, अभि महतो, हरिचन्द्र कार्की, दीपक चौधरी, ज्ञानु विक र निर्णायक खुसीराम थारु, राजीव गुप्ता, एलिसा खाती रहेको सुदूर पश्चिम प्रदेश खेलकुद परिषद्ले विज्ञप्तिमार्फत जनाएको छ ।

प्राधिकरणको पत्रकार सम्मेलन – ‘बाँकी बक्यौता उठाई छाड्ने, अन्य उद्योगहरूको पनि लाइन काट्दै जाने’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रक लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरूबाट २०८० मङ्सिर मसान्तसम्म कुल बक्यौता रकम २२ अर्ब २४ करोड रुपैयाँ रहेको जनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले बक्यौताबारे जानकारी गराएको हो । ‘यसमध्ये करिब १२ अर्ब ५० करोड रुपैयाँ बराबरको बक्यौता हालै लाइन विच्छेद गरिएका ९ वटा ठुला उद्योगहरूको रहेको छ’, प्राधिकरणले बक्यौता रहेका अन्य उद्योगहरूको लाइन क्रमशः विच्छेद गर्दै जाने रणनीति रहेको पनि प्रस्ट पारेको छ । पटक–पटकको ताकेतामा पनि छुट महसुल तिर्न नआएपछि प्राधिकरणले २०७६ चैत्र ५ गते विराटनगरबाट केही उद्योगहरूको विद्युत् लाइन विच्छेद गर्न सुरु गरिएको जनाएको छ । तर, तत्कालीन मन्त्रिपरिषद्को २०७६ पौष २१ गतेको निर्णय बमोजिम ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, उद्योग मन्त्री र सोही मन्त्रालयका सचिवहरूको बैठकले कोरोना भाइरसको कारण समग्र उद्योग व्यवसायमा परेको प्रभावलाई समेत ध्यानमा राखी डेडिकेटेड तथा ट्रङ्क महसुलसम्बन्धी विवाद भएका उद्योगहरूको सम्बन्धमा थप निर्णय नहुञ्जेल विद्युत् लाइन नकाट्ने र उद्योगहरूलाई साबिक बमोजिम नै सेवा सुचारु गराउन नेपाल विद्युत् प्राधिकरणलाई लेखी पठाउने भन्ने निर्णय प्राप्त भएपछि लाइन पुनः जोडिएको पनि जनाएको छ । विगतमा डेडिकेटेड फिडर एवम् ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेका तर त्यसबापतको महसुल नतिरेका ग्राहकहरूको विद्युत् आपूर्ति विच्छेद गरिएपछि सार्वजनिक रूपमा भइरहेका टिका टिप्पणीप्रति प्रस्ट पार्न विद्युत् प्राधिकरणले बिहीबार पत्रकार सम्मेलन गरेको हो ।