आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौंः नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य २ सय रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ७५ हजारमा कारोबार भएको सुन आज ७५ हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै तेजाबी सुनको मूल्य पनि आज बढेको छ । बिहीबार ७४ हजार ७ सय प्रतितोला कारोबार भएको तेजाबी सुन आज बढेर ७४ हजार ९ सय पुगेको छ ।
शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीबार प्रतितोला ८ सय ८५ पुगेको चाँदी आज पनि त्यही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुँगुरको पित्त खाँदा मृत्यु हुनेको संख्या ३ पुग्यो
पाँचथर– सुँगुरको मासु खाएर गम्भीर बिरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका एक कैदीको आइतबार राति मृत्यु भएको छ। मृत्यु हुनेमा फालेलुङ गाउँपालिका–७ सिदिनका सुन्दर राई रहेका छन्। उनको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए। राईसँगै सुँगुरको मासु खाएर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। यसअघि गत असोज १९ गते दशैँको समयमा सुगरको पित्त र कलेजो पकाएर खाएका दुई जनाको मृत्यु भइसकेको छ। फालेलुङ गाउँपालिका–८, याङनामका २५ वर्षीय बुद्धि केरुङको गत असोज २० गते दिउँसो उपचारको क्रममा मृत्यु भएको र फिदिम नगरपालिका–१०, याङनामका ३४ वर्षका जयप्रकाश जवेगुको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटोमै २० गते राति मृत्यु भएको थियो। मासु खाएर बिरामी भएका चार जनामध्ये अहिले एक जनाको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको छ। जिल्लाको कुम्मायक गाउँपालिका–३ का दिनेश खजुमको उपचार भइरहेको प्रहरीले जनाएको छ। जिल्ला कारागार पाँचथरका सूचना अधिकारी विमल ढुङ्गानाका अनुसार दशैँ मनाउन कारागारभित्र तीन वटा सुँगुर काटेको र त्यसको पित्त र कलेजो ४ जनाले पकाएर खाएपछि उनीहरु बिरामी परेका हुन्। मासुमात्र खाने अरु बिरामी नपरेको उनको भनाइ छ।
च्याम्पियन्स लिगः सालेहको उत्कृष्ठ प्रर्दशन, लिभरपुलसँग साल्जवर्ग पराजित
एजेन्सीः च्याम्पियन्स लिग अन्तरगत बुधबार राति भएको खेलमा लिभरपुलले साल्जवर्गलाई पराजित गरेको छ। उसका लागि साल्जबर्गमाथिको ४-३ को जित सहज भने भएन। एक समय ३-० को स्पष्ट अग्रता कायम गरेको अवस्थामा खेल ३-३ को बराबरीमा पुगेपछि लिभरपुलका लागि यो जित संघर्षपूर्ण बन्न पुगेको थियो। यसमा जितको नायक मोहम्मद सालेह बने। उनले टोली ३-३ को बराबरीमा रहेको अवस्थामा खेलको ६९ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए र महत्वपूर्ण ३ अंक जोडे। यस खेलमा सालेहले दुई गोल गरे। खेल संघर्षपूर्ण अवस्थामा पुग्नुअघि लिभरपुलले खेलको ९ औं मिनेटमा साडियो मानेको गोलमा पहिलो अग्रता लिएको थियो। त्यसपछि लिभरपुलले खेलको २५ तथा ३६ औं मिनेटमा गोल गर्यो र आफ्नो अग्रतालाई ३-० को अवस्थामा पुर्यायो। ती गोलहरू क्रमशः एन्ड्रिउ रोबर्टसन र सालेहले गरेका थिए। तर उसको सो अग्रतालाई साल्जवर्गले खेलको ३९, ५६ र ६० औं मिनेटमा गोल गर्दै बराबरी गरिदियो। उसका लागि ती गोलहरू क्रमशः चान ह्वाङ, ताकुमी मिनामिमो र अर्लिङ ब्राउट हल्यान्डले गरे। यसरी नतिजा बराबरीमा पुगेपछि सहज अवस्थाबाट कठिन अवस्थामा पुगेको लिभरपुललाई सालेहले खेलको ६९ औं मिनेटमा गोल गर्दै जित दिलाए।
सोमबार पनि ३ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नतिजासहित)
काठमाडौंः शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा सार्वजनिक गर्ने क्रममा सोमबार ३ जिल्लाको नतिजा प्रकाशित गरेको छ । आयोगले आज चितवन, पर्सा र मकवानपुर जिल्लाको नतिजा प्रकाशित गरेको हो । चितवनको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् पर्सा को प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् मकवानपुर को प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् गत वर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो । ९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।
त्रिवि सेवा आयोगले तोक्यो उपप्राध्यापक पदको परीक्षा मिति
काठमाडौं, त्रिभुवन विश्वविद्यालय सेवा आयोगले २०७६ जेठमा आव्हान गरेको उपप्राध्यापक पदको लिखित परीक्षाको मिति सार्वजनिक गरेको छ । आयोगले सार्वजनिक गरेको सूचना अनुसार २०७६ कार्तिक २८ देखि माघ २७ सम्म विभिन्न विषयको उपप्राध्यापक पदका लागि लिखित परीक्षा संचालन हुने कार्यक्रम छ । आयोगले यस पटकदेखि दुई सय पूर्णांकको परीक्षा लिने भएको छ । प्रथम र द्वितीय प्रश्नपत्र गरेर दुई पत्रमा लिइने परीक्षा अलग अलग दिन लिइने भएको छ । यस अघिको सूचना अनुसार भदौमा लिइने भनिएको उक्त परीक्षा आयोगले सूचना प्रकाशित गरेर स्थगित गरेको थियो । हेर्नुस सूचना:
आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौंः बुधबार पनि सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ७१ हजार ३ सय तोकिएको छ । सोमबार र मंगलबार पनि सुनको मुल्य प्रतितोला ७१ हजार ३ सय नै थियो । महासंघका तेजावी सुन र चाँदीको मुल्य पनि बढेको छैन । सोमबार र मंगलबार जस्तै बुधबार पनि तेजावी सुन प्रतितोला ७१ हजार तथा चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
शिखर नेपालद्वारा कृषिराज्य मन्त्री चौधरीसहित विभिन्न कृषक सम्मानित
काठमाडौं । कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीलाई शिखर नेपालले “शिखर राष्ट्रिय व्यक्तित्व वर्ष सम्मान–२०७६”बाट सम्मानित गरेका छ । शिखर नेपालले “शिखर नेपालको राष्ट्रिय अभियान–मुलुकका समग्र कृषकहरुको सम्मान” मूल नाराका साथ प्रथम राष्ट्रिय कृषक अवार्ड २०७६ तथा शिखर अनर अवार्ड २०७६ आयोजना गरि उत्कृष्ट कृषक, कृषि विज्ञ, कर्मचारी, राजनीतिकज्ञ, पत्रकार, कलाकार, कवि लगायतलाई सम्मान गरेकाे हाे । शिखर राष्ट्रिय व्यक्तत्व वर्ष सम्मान–२०७६ बाट कृषि राज्य मन्त्री चौधरी, पूर्व मन्त्री तथा सांसद महेश बस्नेत र ३ नं. प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव योगेन्द्र कुमार कार्कीलाई सम्मानित गरिएकाे हाे । शिखर ईन्करेजमेन्ट कृषक अवार्ड–२०७६ बाट अनन्त बहादुर खड्का (नेसनल भिजन मल्टी प्रपोज एग्रो फार्म प्रा.ली.घोराही) र जनकल्याण सामाजिक बिकास अनुसन्धान केन्द्र नेपाल ललितपुरलाई सम्मानित गरिएकाे छ । त्यस्तै, शिखर कर्मशिल कृषक अवार्ड–२०७६ बाट सुकमाया तामाङ दुधौली-११ सिन्धुली र लक्ष्मी राणा आशा पोलष्ट्रि फार्म भरपुरलाई सम्मानित गरिएकाे छ । त्यस्तै सर्वोत्कृष्ट राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६ बाट १ नं. प्रदेशको विशाल राई (नेविशाल कृषि फार्म बिर्तामोड–१० झापा), २ नं. प्रदेशका राम आशिष प्रसाद नुनीया पर्सा, ३ नं.प्रदेशका नवराज आचार्य बागमती गोट सिडस, धार्के -१,धादिङ, ४ नं.प्रदेशका घनश्याम तिम्लसिना, हेम्जा गाई फार्म पोखरा–२५, कास्की,५ नं. प्रदेशका दल बहादुर खत्री लेकाली व्यवसायीक बाख्रा पालन माण्डवी–२ प्युठान, ६ नं. प्रदेशका डिल्ली बहादुर नाथ डाफे भैसीपालन व्यवसाय बाफीकोट–२ पश्चिम रुकुम र ७ नं. प्रदेशका ठगुनी देवी चौधरी कार्प हयाचरी घोडाघोडी–१, कैलालीलाई सम्मानित गरिएकाे छ । सम्मानितलाई उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले सम्मान पत्र दिएका थिए । मुलुकले अपेक्षा गरेको तर उपेक्षामा परेको बर्ग, क्षेत्रका जो कृषि उत्पादन मार्फत् खेतदेखि पेटसम्म पुग्ने बस्तुको उत्पादन गर्दछन् ती महान जीवनदाता, अन्नदाताको योगदानलाई उच्च सम्मान गर्ने उदेश्य रहेको शिखर नेपालका अध्यक्ष शेखर खनालले बताए ।
घरमै बसेर यसरी गर्न सकिन्छ डेंगुको उपचार, यस्ता छन् उपाय
काठमाडौं । विशेषज्ञहरुले हाल मुलुकमा डेंगु संक्रमण भएर सामान्य ज्वरो लगायतका लक्षण भएका बिरामीलाई नआत्तिई घरमै आराम गर्न सल्लाह दिएका छन्। उनीहरुले जोखिम समूहमा रहेका बाहेक अन्य व्यक्तिलाई तत्कालका लागि डेंगुबाट खासै डराउनुपर्ने अबस्था नरहेको समेत औँल्याएका छन्। ‘डेंगुको लक्षणसहित सामान्य ज्वरो आयो भने नआत्तिई चिकित्साकर्मीको सल्लाहमा घरमै स्वास्थ्य लाभ गर्न सकिन्छ,’ शुक्रराज ट्रोफिकल तथा सुरुवा रोग अस्पताल, टेकुका निर्देशक डा। वासुदेव पाण्डेले भने। उनका अनुसार जोखिम समूहमा रहेकाहरुले भने उपचारमा ध्यान दिनुपर्छ। यो जोखिम समूह अन्तर्गत बच्चा, बुडापाका, गर्भवती, दीर्घरोगी, पेप्टिक अल्सर भएका, मोटोपना भएका, रोगप्रतिरोधात्मक क्षमता कम भएकाहरु पर्छन्। विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० का अनुसार यो संक्रमण फ्लुजस्तो बिरामीको कारण बन्छ र कहिलेकाहीँ सिभियर डेंगुजस्तो सम्भावित घातक जटिलतामा विकसित हुन सक्छ। परिवारमा कसैलाई सामान्य डेंगु भएमा चिकित्सकको सल्लाहमा घरमै स्याहार गर्न सकिन्छ। तर, यस्तो सयम बिरामीमा देखिने लक्षणहरुलाई सावधानीपूर्वक निगरानी भने गर्नुपर्ने हुन्छ। ज्वरो कम गर्न आवश्यक भए हरेक ६ घन्टामा पारासिटामोल दिन सकिन्छ। सामान्यतया एक–दुई सातामा डेंगु आफैँ निको हुन्छ। यो रोगको उपचार गर्नको लागि कुनै विशिष्ट प्रकारको औषधि छैन। सामान्य डेंगु भएकाहरुलाई निर्जलीकरण रोक्नका लागि बढी मात्रामा पानी लगायतका झोलिलो खानेकुरा, तरल पदार्थ सेवनसँगै आराम गर्ने सल्लाह दिइन्छ। डेंगुमा आन्तरिक रक्तस्रावको जोखिम पनि हुने भएकाले एस्प्रिरिन, आइबुप्रोफेन लगायतका औषधि उपयोग गर्नु हुँदैन। यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
धरहरा पुनर्निर्माण धमाधम, कहिले हुन्छ पूरा ?
काठमाडौं। भूकम्पले भत्काएको चार वर्षपछि गत पुसदेखि पुनर्निर्माण सुरु भएको ऐतिहासिक सम्पदा धरहराको निर्माणले गति लिएको छ । धरहरा पुनर्निर्माणअन्तर्गत धरहरा टावरको पहिलो बेसमेन्टको क्रंक्रिटिङ गर्ने कार्य पूरा भएको छ । अहिले बिम स्लाब उठाउने कार्य सुरु गरिएको छ । निर्माण कम्पनी जीआईईटीसी–रमन जेभीकाअनुसार पुनर्निर्माणको समग्रमा २६ प्रतिशत कार्य सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यालय सिंहदरबारमा बिहीबार धरहरा पुनर्निर्माण प्रगति समीक्षा गरिएको थियो । सो क्रममा जीआईईटीसी–रमन जेभीका कन्ट्र्याक्टर रेप्रिजेन्टेटिभ रमन महतोले समग्रमा २६ प्रतिशत प्रगति हासिल भएको जनाए । उनका अनुसार निर्माणस्थलका हिसाबले भने ६७।५ प्रतिशत प्रगति भएको छ । धराहरा पुनर्निर्माणअन्तर्गत सुनधाराको गोश्वारा हुलाक नै हटाएर काम अघि बढिरहेको छ । गोश्वारा हुलाक रहेका भवनहरू भत्काई त्यहाँ बेसमेन्ट बनाउनका लागि पूर्वपट्टि प्रोटेक्सन पाइलहरू हाल्ने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले विभिन्न खण्डका कार्यहरू समानान्तर रूपमा अघि बढाएर तोकिएको समयमै पुनर्निर्माण सम्पन्न गर्नुपर्ने बताए । ‘गुणस्तर कायम राख्न कुनै कसर बाँकी राख्न भएन, तोकिएकै समयमा काम सम्पन्न हुनुपर्दछ,’ उनले भने । समीक्षा कार्यक्रममा धरहरा पुनर्निर्माणको सुपरिवेक्षण गरिरहेको परामर्शदाता कम्पनी केज कन्सल्ट र स्वाइल टेस्ट जेभीका तर्फबाट पुनर्निर्माणका क्रममा देखिएका विभिन्न विषयबारे प्रस्तुतीकरण गरिएको थियो । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि नौ तलामा सीमित भएको थियो । २०७२ सालको भूकम्पले नौ तलाको धराहरा पनि भत्काइदिएको थियो । हाल पुनर्निर्माणका क्रममा रहेको धरहारा २९ रोपनी क्षेत्रफलमा फैलिनेछ । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेस्टुराँ, पार्किङलगायतका सुविधा हुनेछन् । नयाँ धरहरामा अब लिफ्टबाट नै ‘टप’ मा पुग्ने व्यवस्था हुने जनाइएको छ । धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्री भाग आधुनिक हुने बताइएको छ । धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट पनि बनाइने भएको छ । धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियमसमेत बनाइनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरू प्रदर्शनीमा राखिनेछ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्रीसमेत हुने प्राधिकरणले जनाएको छ । धरहरा छिर्नेबित्तिकै आकर्षक बगैंचा आउनेछ । धरहरा परिसरमा लाइब्रेरी, रेस्टुरेन्टलगायतका सुविधा पनि हुनेछन् । धरहरा परिसरमा तीन तले पार्किङसमेत हुनेछ । पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ । यसैबीच, दसैंलाई लक्षित गरेर तेबहालबाट टुँडिखेल निस्कनका लागि केही दिनभित्रै अस्थायी पैदल मार्ग खोल्नेगरी काम अघि बढाइएको छ । सञ्चय कोष र साबिकको गोश्वार हुलाकको बीचमा आठ फुटे अस्थायी पैदल मार्ग बनाउन लागिएको हो । खिचापोखरीदेखि तेबहालसम्म बाटो खुलिसकेको छ । अब यी दुई बाटो जोडिनेछ । पछि यहाँ स्थायी सडक रहनेछ । यो समाचार राजधानी दैनिकबाट लिइएको हो ।
प्रचण्डले भेटे डेंगुको उपचार गराइरहेका मन्त्री खनाललाई
काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डेंगुको संक्रमण देखिएपछि ग्राण्डी अस्पतालमा उपचार गराइरहेका कृषि मन्त्री चक्रपाणि खनाललाई भेटेका छन् । प्रचण्डले शुक्रबार अस्पतालमा पुगेर मन्त्री खनालको स्वाथ्य अवस्थाबारे जानकारी लिएका हुन् । प्रचण्डले खनालको अवस्थाबारे चिकित्सकसँग पनि जानकारी लिएका थिए । डेंगुको संक्रमण देखिएपछि मन्त्री खनाल बुधबारदेखि अस्पताल भर्ना भएका थिए र उपचार गराईरहेका छन् । स्वकीय सचिव दिपक चुदालीका अनुसार अहिले खनालको अवस्थामा निकै सुधार आएको छ ।
काठमाडौंमा पनि देखियो डेंगु, एक जनाको मृत्यु
काठमाडौंः लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको संक्रमणबाट राजधानीमै एकजनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकस्थित इन्द्रावती गाउँपालिकाका ६५ वर्षे रामबहादुर दनुवारको बिहीबार बेलुका काठमाडौंस्थित भेनस अस्पतालमा मृत्यु भएको हो। ज्वरो आएपछि उपचारका लागि मंगलबार राजधानी आएर भेनस अस्पतालमा भर्ना भएका दनुवारको मृत्यु भएको इन्द्रावती १२का वडाअध्यक्ष कमलरत्न दनुवारले जानकारी दिए। उनका अनुसार अस्पतालले डेंगुको संक्रमणबाट उनको मृत्यु भएको पुष्टी गरेको छ। टेकुस्थित शुक्रराज सरुवा रोग केन्द्रले समेत रामबहादुरको मृत्यु डेंगुको संक्रमणबाट भएको प्रमाणित गरेको कमलरत्नले बताए। डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएपछि थप संक्रमण हुन सक्ने आशंकामा गाउँपालिकाले परीक्षणका लागि स्वास्थ्यकर्मीको टोली उनको गाउँ भिमटार पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले बताए। टोलीले स्थानीयको स्वास्थ्य परीक्षण गर्ने र शंकास्पद रोगी भेटिएमा उपचारका लागि रिफर गर्ने रोकाले जानकारी दिए ।
थप २ जिल्लाको प्रा.वि तहको नतिजा सार्वजनिक (नामसहित)
काठमाडौंः शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको खुल्ला प्रतिस्पर्धाको नतिजा सार्वजनिक गर्न सुरु गरेको छ । यसैबीच आयोगले बिहीबार थप २ जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आज सुदूरपश्चिमका कञ्चनपुर र डडेल्धुरा जिल्लाको नतिजा सार्वजनिक गरेको हो । कञ्चनपुर जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् डडेल्धुरा जिल्लाको प्रा.वि तहको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् आयोगले एकै पटक विज्ञापन गरेको निम्न माध्यमिक तहका लागि १ हजार ५ सय ७४ र माध्यमिक तहका लागि एक हजार शिक्षक छनोट गरिसके पनि प्रा.वि तहको नतिजा भने ढिला गरि सार्वजनिक गरेको हो । आयोगका प्रशासकिय अधिृकत डा.तुलसी प्रसाद थपलियाले धेरै व्यक्तिको विवरण रुजु गर्नुपर्ने भएका कारण नतिजा सार्वजनिक गर्न समय लागेको हो । आयोगले यो पटक प्राथमिक तहमा ९ हजार ९ सय ९६ वटा दरवन्दीमा शिक्षक छनोटको लागि विज्ञापन गरेको थियो। ती सबै कोटाका लागि १४ हजार १ सय २५ जना लिखित परीक्षाबाट छनोटमा परेको थपलियाले जानकारी दिए।
मनकामना केवलकार ५ दिन बन्द हुने
मुग्लिन : यही भदौ २२ गतेदेखि मनकामना केवलकार पाँच दिनसम्मका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको उक्त केबलकार २६ गतेसम्म मर्मत–सम्भारका लागि बन्द गर्न लागिएको हो । मुख्य ‘ह्विल लिनर चेञ्जिङ, मेनमोटर सर्भिसिङ’ तथा ‘रोप रिङस्प्लिसिङ’लगायत मर्मतका लागि केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिएन कायस्थले जानकारी दिए । गोरखाको शहीद लखन गाउँपालिकामा रहेको मनकामना मन्दिर दर्शनका लागि जाने दर्शनार्थीले मनकामना केवलकार प्रयोग गर्दै आएका थिए । यसको प्रवेशद्वार बटम स्टेशन चितवनको इच्छाकामना– ४ चेरेसमा छ । केवलकार २० वर्षअघि अस्ट्रियाको डोप्पलमेरले बनाएको थियो । उक्त कम्पनीले निश्चित अवधिमा आफूले बनाएका केवलकारको अवस्था अनुगमन गर्दै आएकामा सोहीअनुरूप त्यहाँबाट प्राविधिक टोली आएको, उसकै निगरानीमा मर्मत हुन लागेको र मर्मतपछि नियमित सञ्चालनमा आउने उनले जानकारी दिए ।
११ बजे डाकिएकाे नेकपा सचिवालय बैठक स्थगित
काठमाडाैं । अाज बिहान ११ बजे डाकिएकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे सचिवालय बैठक स्थगित भएकाे छ । अध्यक्ष प्रचण्डकाे अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बस्ने बैठकमा महानगरपालिकाका अध्यक्ष र सचिवका साथै पार्टीका विभिन्न अायाेगमा सिफारिस भएका नेता तथा कार्यकर्ताकाे कार्यबिभाजन बारे छलफल हुने बताइएकाे थियाे । बैठक तयारी नपुगेकाे भन्दै स्थगित भएकाे नेकपा स्राेतले बतायाे । गत सोमबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेताहरुको विषयमा सार्वजनिक टिप्पणी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई प्रतिबन्ध लगाएको थियाे । सोमबार बसेको सचिवालय बैठकले नेता तथा कार्यकर्ताको व्यक्तिगत विषयमा टिका टिप्पणी गर्न प्रतिबन्ध गरेको हो । सार्वजनिक रुपमा पार्टी पद्धतिभन्दा बाहिर रहि टिप्पणी गरे कारबाहीसमेत हुने निर्णय भएको पार्टी प्रवत्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए । उनले नेताहरुको बारेमा टिप्णी गर्नुपर्ने पार्टी प्रक्रियाबाट आउनुपर्ने व्यवस्था गरिएको जनाएका थिए । ‘हाम्रो पार्टीको नेता कार्यकर्ता वा अन्य कुनै कमरेडको बारेमा पार्टीको केन्द्रदेखि तलसम्म कुनै कमरेडले कुनै कुरा व्यक्तिगत रुपमा उठाउनुपरेमा त्यसलाई पार्टीभित्र उठाउनुपर्नेछ, पार्टीभित्र छलफलको विषय बनाउनुपर्नेछ’ बैठकपछि पत्रकारसँग श्रेष्ठले साे अवसरमा भने ‘यसलाई सार्वजनिक रुपमा लगिएमा स्पष्टिकरणको प्रक्रिया अघि बढाउँदै आवश्यक कारबाही गरिनेछ ।’
नेपाल भर्सेस श्रीलंकाः नेपालले सस्तैमा गुमायो ३ विकेट
काठमाडौंः एसीसी एसिया कपको तयारीमा रहेको नेपाली यू–१९ क्रिकेट टोलीले बडुरलिया सिसिविरुद्धको दोस्रो अभ्यास खेलमा खराब प्रदर्शन गरेको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले सस्तैमा ३ विकेट गुमाइसकेको छ । नेपालले पहिलो विकेटका रुपमा पवन सराफलाई शून्य, आशिफ शेख १४ र खडक बोहरा २ रनमा एल्बीडब्लू आउट भए । यो समाचार तयार पार्दासम्म नेपालले ६ ओभरमा ३ विकेट गुमाएर २५ रन बनाएको छ । पहिलो अभ्यास खेलमा एसएससी यू–२३ क्रिकेट क्लबसँग ढिला गरि सुरु हुँदा ४२ ओभरमा झारिएको खेल आज भने पूरा ५० ओभर हुँदैछ । पहिलो अभ्यास खेलमा अन्तिम बलमा क्याच समात्न नसक्दा एसएससी यू–२३ क्रिकेट क्लबसँग नेपाल ३ विकेटले पराजित भएको थियो । सातापछि श्रीलंकामा हुने एसिया कपको लागि नेपाल दुई अभ्यास खेल खेल्ने लक्ष्यसहित गत ७ गते श्रीलंका पुगेको छ । एसिया कप यहि १९ गतेदेखि २८ गतेसम्म सम्म चल्नेछ । नेपाल समूह बी मा छ । नेपाल रहेको समूहमा टेष्ट राष्ट्र श्रीलंका,बंगलादेश र युएई छन् । समूह ए मा भारत,पाकिस्तान,अफगानिस्तान र कुवेत छन् । समूहका शीर्ष दुई–दुई टोली अन्तिम चारमा पुग्नेछन् ।
शिल्पा पोखरेलको ‘उनकै कुरा हुन्छ’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं, साउन १ । अभिनेत्री शिल्पा पोखरेल अभिनित ‘उनकै कुरा हुन्छ’ बोलका गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियो अभिनयमा शिल्पाको जोडी अमृत सुनार (अभी) बनेका छन् । राजकुमार बगरको शब्द, संगीत रहेको गीतमा सुरेन चन्दको एकल स्वर सुन्न सकिन्छ । भिडियो संगीत सागरले निर्देशन गरेका हुन् । रोहित कार्कीको छायाँकन तथा पदम सुवेदीको सम्पादन रहेको भिडियोमा माया प्रेमका प्रसङ्ग देखाउन खोजिएको छ ।