रु ३५ करोड ६० लाख जापानी अनुदान

काठमाडौँ, मङ्सिर ४ ।

जापान सरकारले खाद्य सहायता कार्यक्रम अन्तर्गत नेपाललाई रु ३५ करोड ६० लाख अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

अनुदान सहायता सम्बन्धी समझदारीपत्रमा नेपालका लागि जापानका राजदूत मासामिची साइगो र जापानका लागि नेपालका राजदूत प्रतिभा राणाले सोमबार जापानको परराष्ट्र मन्त्रालयमा आयोजित विशेष समारोहमा हस्ताक्षर गरेका परराष्ट्र मन्त्रालयले मंगलबार जनाएको छ ।

जापानको औपचारिक भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी तारो कोनोबीच प्रतिनिधिमण्डलस्तरीय वार्तापछि मन्त्रीद्वयको उपस्थितिमा दुवै मुलुकका राजदूतले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालमा खाद्य सुरक्षा सुनिश्चित गर्न जापान सरकारले उक्त सहायता उपलब्ध गराएको हो । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपालको सामाजिक, आर्थिक एवं भौतिक पूर्वाधार विकासमा जापानले निरन्तर सहयोग गर्दै आएको छ । रासस

‘राधा २’ मा प्रियंका र आयुष्मानको जोडी पक्का

काठमाडौं, असोज १४ । अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको सम्बन्धलाई लिएर अनविज्ञ अब सायदै होलान् । उनीहरुको इन्गेजमेन्ट समेत भइसकेको छ । अर्को वर्षको असारमा बिहे मितिसमेत तय भएको छ । प्रेम समबन्धमा रहेको खबर बाहिरिएदेखि धेरै मेकर्सले प्रियंका र आयुष्मानलाई लिएर फिल्म निर्माण गर्ने सोच बनाइरहेका छन् । केही फिल्म यी दुईले सँगै पनि गरे । हाल यो जोडीले अभिनय गरेको फिल्म ‘कथा काठमाण्डू’ प्रदर्शन भइरहेको छ । फेरि एकपटक यो रियल जोडीलाई एक नयाँ फिल्मलाई देख्न पाइने भएको छ । योगेश घिमिरेले निर्देशन गर्ने फिल्म ‘राधा २’ मा प्रियंकाको जोडी आफ्नै प्रेमी आयुष्मानसँग बाँधिने पक्का भएको छ । यो कुराको पुष्टि निर्देशक घिमिरेले नै गरेका छन् । कथाको मागअनुसार आयुष्मानलाई फिल्ममा लिएको उनले बताए । ‘यो म्यूजिकल लभस्टोरी फिल्म हो । उहाँहरु प्रेममा हुनुहुन्छ भनेर जोडी बाँधेका होइनौं । म्यूजिकको रेन्स आयुष्मानभन्दा मैले अरुमा देखिनँ । यसैले उहाँलाई लिएका हौं’ निर्देशक घिमिरेले भने । ‘राधा’ को पहिलो श्रृंखलामा अभिनेत्री सञ्चिता लुईँटेल र जीवन लुइँटेल प्रमुख भूमिकामा थिए । कथाले नयाँ पात्रको डिमान्ड गरेका कारण पुरानो जोडीलाई दोहोर्‍याउन नसकेको निर्देशकको भनाई छ । ‘राधा २’ को कात्तिक ८ गतेबाट छायांकन सुरु हुँदैछ ।

ढुक्क हुनुस्, चौबिसकोठी-गोलाघाट सडक २ बर्षमा पूरा हुन्छ– महानगर प्रमुख दाहाल

चितवन, असाेज ६ । चितवनको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले चौबिसकोठीदेखि गोलाघाटसम्मको सडक निर्माणको काम २ बर्षमा पुरा हुने बताएकी छन् ।   शुक्रबार प्रथम चनौली महोत्सव-२०७५ को उद्घाटन गर्दै उनले भनिन्, ‘महानगरपालिकाको महत्वपुर्ण सडक चौबिसकोठी गोलाघाट सडक निर्माणको चरणमा रहेको छ । यो आगामी दुई बर्षमा पुरा हुन्छ ।’ महानगर प्रमुख दाहालले विकासको प्रमुख आधार सडक पूर्वाधार भएको धारणा राखिन् ।   उनले पश्चिम चितवनको केन्द्र चनौली बजारमा आयोजित यस महोत्सव यस भेगकै पहिचान दिन सफल हुने विश्वास व्यक्त गरिन् । पश्चिम चितवन भरतपुर महानगरको आकर्षणको केन्द्र भएको भन्दै उनले कृषि, पर्यटन, पशुपालन, दुग्ध उत्पादन र पर्यटन विकासको प्रचुर संम्भावना भएको क्षेत्र रहेको बताए । ‘भरतपुर महानगरपालिकाले यसको एकिकृत योजनाकासाथ विकासका कार्यक्रमहरू अगाडी बढाइरहेको छ’ प्रमुख दाहालले भनिन् । उनले भरतपुर महानगरले ढिलो-चाँडो सिटीहल र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरिन् । दाहालले भनिन् ‘तपाई नगरवासी मलाईसाथ दिनुहोस्, निर्णयमा सहमत हुने कार्यान्वयनमा अवरोध खडा गर्ने परिपाटीबाट म आजित छु, यस्तो परिपाटिको तपाइले खबरदारी गर्नुहोस्, ।’   प्रमुख दाहालले भरतपुर महानगरपालिकाले महानगरिय गुरूयोजना निर्माण गरिरहेको भन्दै सोही गुरूयोजना बमोजिम विकासका कामहरू अगाडि बढ्ने बताइन् । यस्ता मेला महोत्सवले कला, संस्कृती, पर्यटन र स्थानिय उत्पादनको प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले प्रथम चनौली महोत्सव सफल पार्न भरतपुर महानगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा पूर्व सभासद बिष्णुमाया परियार, भरपुर महानगर वडा नम्वर २० का अध्यक्ष मणिलाल तामाङ, उद्योग वाणिज्य संघका उपाध्यक्ष टुन नारायण श्रेष्ठ लगायतले चनौली महोत्सवको सफलताको शूभकामना व्यक्त गरेका थिए ।   चनौली बजारमा सुक्रवारदेखि सुरू भएको प्रथम चनौली महोत्सवमा ६० वटा स्टलहरू रहेका छन । स्थानिय उत्पादनलाई प्राथमिकता दिइएको महोत्सव परिसरमा स्थानिय उत्पादन, तरकारी, विभिन्न समुदायको खानाका परिकार र बाल उद्यान महोत्सवका आकर्षण रहेका छन ।   महोत्सव उदघाटन पूर्व विभिन्न समुदायको सॉस्कृतिक झॉकी र बाजागाजासहितको र्यालीले बजार परिक्रमा गरेको थियो । सो अवसरमा र्यालीमा सहभागी उत्कृष्ठ समूहहरूलाई प्रोत्साहन स्वरूप पुरस्कृत गरिएको थियो ।   शुक्रबारदेखि सुरूभएको प्रथम चनौली महोत्सव अवधिभर स्थानिय एवं राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहनुका साथै कृषि, पर्यटन लगायतका बिषयमा गोष्ठी तथा सेमिनार गरिने कार्यक्रम रहेको मोत्सव मूल समारोह समितिकी संयोजक मन्दिरा पोखरेलले जानकारी दिए । महोत्सव असोज १५ गतेसम्म चल्ने छ ।

मध्य रातीदेखि बढीघाट खोला थुनियो, चार घर डुबानमा

बाग्लुङ, भदौ ३० । जिल्लाको ढोरपाटन नगरपालिका र बढीघाट गाउँपालिकाको सिमानामा गए रातिदेखि बढीघाट खोला थुनिएको छ । राती करिब १२ बजेदेखि खोला थुनिएको हुन सक्ने स्थानीयले अनुमान गरेका छन् । ढोरपाटन नगरपालिका १ र बढीघाट गाउँपालिका-७ अन्तर्गत भर्याङ् क्षेत्रमा माथिबाट सुख्खा पहिरो खसेपछि खोला थुनिएको हो ।   खोला थुिनएपछि ढोरपाटन नगरपालिका २ को सिमलचौर क्षेत्रका ४ वटा घरहरु डुबानमा परेको स्थानीयबासिन्दाले बताएका छन् । डुबानबाट कुनै मानवीय क्षति भएको छैन ।   पहाड माथिबाट खसेको ठूलो चट्टानले खोला थुनेपछि बढीघाट छेउछाउमा रहेका बाग्लुङ्ग र गुल्मीका बासिन्दा रातभर जाग्राम बसेका छन् । उनीहरु थुिनएको खोलाको ताल कुनै पनि बेला फुट्न सक्ने खतराबाट निकै त्रसित बनेका छन् । घटनाको जानकारी पाएपछि रातै नै बाग्लुुङबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक, नेपाली सेना सहितको टोली घटनास्थलमा जाँदैछ ।

आजदेखि नयाँ कानून लागू, कस्ता कसुरलार्इ मानिएको छ फौजदारी अपराध ? [हेर्नुस् पूर्णपाठ]

काठमाडौं, भदौ १ । आजदेखि मुलुकी ऐन १६५ वर्षपछि हट्दै ‘मुलुकी देवानी संहिता’ – २०७४ लागू हुँदै छ। तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेका ‘मुलुकी ऐन’ लाई आज हटाइएको हो । उक्त एेन प्रतिस्थापन गरी सरकारले आजदेखि ‘मुलुकी देवानी’ (संहिता), २०७४ कार्यान्वयनमा ल्याएको छ। मुलुकी देवानी संहिता नेपालको अहिलेसम्मकै सबैभन्दा लामो ऐनको रुपमा रहन गएको छ । यो संहितामा ६ भाग, ५२ परिच्छेद र ७२१ दफा रहेका छन् । छरिएर रहेका ३१ कानूनको खारेज र ३६ कानूनलाई एकीकृत गरी यो संहिता तर्जुमा गरिएको नेपाल कानुन आयोगले जनाएको छ। मुलुकी देवानी र फौजदारी कानून निर्माण गर्दा ६० प्रतिशत मुलुकी ऐन, २० प्रतिशत अदालतले प्रतिपादन गरेका नजिर र २० प्रतिशत अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाइएको छ ।मुलुकी ऐन छरिएर रहेका प्रचलित ऐनहरुको एकीकृत रुप हो जुन नागरिकले बुझ्ने सरल भाषामा लेखिएको छ । देवानी संहिता नेपाली समाजको विकाससँगै आधुनिक रुपमा आएको छ । मुलकी देवानी अपराध संहिताको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्– मुलुकी देवानी संहिता निर्माणका लागि सरकारले पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीको संयोजकत्वमा एक कार्यदल गठन गरेको थियो । सोही कार्यदलले तयार गरेको मस्यौदामा विस्तृत छलफलपछि संसदले २०७४ साल भदौमा बहुमतले पारित गरेको थियो ।

रेमिटान्सले अर्थतन्त्रमा ठूलो टेवा पुगेको छ : अध्यक्ष केसी

दोहा, साउन ३१ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वैदेशिक रोजगारमा रहेका नेपालीले पठाएको रेमिटान्सले अर्थतन्त्रमा ठूलो टेवा पुगेको बताएका छन । कतार नेपाली एकता समाजको समाजको पाँचौं राष्ट्रिय सम्मेलनको लागि कतार आइपुगेका केसीले बुधबार कार्यकर्तासंग कुराकानी गर्दै भने बिदेशमा रहेका नेपालीले पठाएको रेमिटेन्सले घर परिवारको समस्या मात्र टरेको छैन यसले देशको अर्थतन्त्रमा पनि ठुलो टेवा पुगेको छ । पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले विभिन्न कार्यक्रमको सिलसिलामा धेरै देशको भ्रमणमा गएको भए पनि वैदेशिक रोजगारीको क्रममा ठुलो संख्यामा नेपाली कार्यरत रहेको कतारमा पहिलो पटक आएर प्रत्यक्ष भेटघाट गर्न पाउँदा खुसीलागेको बताए । केसीले खाडी देशमा कार्यरत नेपालीले दैनिक कठोर मजदुरी गरेर नै आफ्नो जिबिकोपार्जनसंगै भिन्न सामाजिक कार्यमा सक्रिय रहेको भन्दै प्रसंशा गरे । नेपालमा संघीयताको निरन्तर बिरोध गर्दै आएका सादगी जिवन यापन गर्ने केसीले बैचारिक संगठ्नले बिदेशमा रहेका नेपालीलाई आफ्नो कार्य ब्यस्तताको बाबजुद पनि देशमा के भइरहेको छ भनी समसामयिक विषयमा जानकारी राखि चेतनाको स्तरलाइ माथी उठाउने काम गरेको बताए । नेता कार्यकर्ताको उल्लेखनीय सहभागीता रहेको कार्यक्रममा कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुनले धन्यवाद ब्यक्त गरेका थिए भने महासचिब खेम बुढा संचालन गरेका थिए । कतार नेपाली एकता समाजको समाजको पाचौ राष्ट्रिय सम्मेलन इद अल अधाको दिन शालीमार रेस्टुरेन्ट नज्मा, दोहामा हुन लागेको र आवश्यक तयारी पूरा भएको समाजले बताएको छ ।

२४ औं विश्व आदिवासी जनजाति दिवस, युएईमा पनि मनाइने

युएई ,साउन ५ ।नेपाल आदिवासी जनजाति महासंघ युएई र उक्त महासंघ अन्तरर्गतका ११ वटा जातीय संघ संस्थाहरु मिलेर संयुक्तरूपमा २४ औं विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाउने तयारी गरेको हो। महासंघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङले विश्व आदिवासी दिवसलाई भव्यतामा साथ मनाउन आगामी अगष्ट १० तारिखमा ”पहिचान, प्रतिनिधित्व र स्वायत्तताको लागि आदिबासी जनजातिको अडान,पहिचान सहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान“ भन्ने मुल नाराको साथ युएईको दुबई स्थित कार्ल्टन होटलमा भव्य कार्यक्रमको आयोजना गरिएको आयोजकले जानकारी दिएका छन। वरिष्ठ उपाध्यक्ष तामाङले गत शुक्रबार महासंघको बैठकबाट उक्त कार्यक्रमको मुल समिति नेपाल आदिबासी जनजाति महासंघ युएई रहने गरि संस्थाका प्रतिनिधिहरुलाई कार्यविभाजन समेत गराएको बताए। जस अन्तरर्गत कार्यक्रम संयोजकको जिम्मा महासंघका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ, आर्थिक विभागमा कोषाध्यक्ष नर बहादुर सुनुवार, प्रचारप्रसार विभागमा महासचिव सनिल घिसिङ लगायत एघार वटैै संघसंस्थाका प्रतिनिधि रहने गरि जिम्मेवारी दिएका छन्। साथै प्रायोजक प्रमुखमा महासंघका अध्यक्ष पासाङ शेर्पा र पुर्वअध्याक्ष डिआर गुरुङ रहने भएका छन । मिडिया पार्टनरको जिम्मा भने उज्यालो नेपाललाई दिएको छ। कार्यक्रममा विभिन्न जातजातिहरुको संयुक्त झाँकी तथा भेषभुषा प्रदर्शन, आवद्ध ११ वटै संस्थाबाट जातीय पहिचान झल्किने विभिन्न प्रस्तुति दिनेछन् भने स्थानीय कलाकारहरुको समेत बिजोड प्रस्तुतिका साथै निरन्तर संस्थामा रहेर समुदायलाई महत्वपूर्ण योगदान दिएका व्यक्तिहरुलाई नागरिक अभिनन्दन सहित लाइफ टाईम अवार्ड समेत प्रदान गर्ने तयारी रहेको बताएका छन् । उक्त कार्यक्रममा विभिन्न जातीय पहिचान झल्काउने सामाग्री तथा परिकार सहितको प्रत्येक समुदायहरुको बेग्लाबेग्लै स्टल रहनेछन् । विश्व आदिवासी दिवस १९९४ बाट संयुक्त राष्ट्र संघले विश्व भरका आदिवासी जनजातीहरुको दयनीय अवस्था, राज्यबाट उपेक्षित हुनु परेको, उनीहरुको मौलिक पहिचानको संरक्षण, सम्बर्द्धन र विकास गर्ने,प्राकृतिक स्रोत साधन माथि अग्राधिकार, मौलिक हक, राज्य संचालन मा उनीहरुको पहुँच र प्रतिनिधित्व स्थापित गर्ने कार्य राज्यको जिम्मेवारी हो भन्ने स्वीकार गरेको उपलक्ष्यमा विश्वका सबै देशहरुमा आदिवासीहरुले यो दिवस मनाउन थालेको हो । प्रत्येक वर्ष अगष्ट ९ मा मान्दै आएको यो दिवस प्रवासमा भने समय अनुकुल नेपालीहरुको छुट्टिको दिन पारेर मनाउने गरेका छन् ।

चार नगरपालिका पूर्ण खोपयुक्त घोषणा

कञ्चनपुर, असार २२ । कञ्चनपुरका चार नगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएका छन् । नगरपालिकाका शतप्रतिशत बालबालिकाले खोप पाएको सुनिश्चित भएपछि सुनिश्चितता घोषणा गरिएको हो । यहाँका कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरपालिकालाई खोप सुनिश्चितता घोषणा गरिएको छ । जन्मेदेखि डेढ वर्षसम्मका बालबालिकाले रोग प्रतिरोधात्मक ११ प्रकारका खोप पाए नपाएकोबारे महिला स्वास्थ्य स्वयंसेविकालाई घरदैलोमा परिचालन गरी पूर्ण खोप नपाएका बालबालिकालाई खोप लगाई पूर्ण पारिन्छ । स्वास्थ्य अधिकृत तीर्थराज भट्टले भन्नुभयो, “वडा, नगरपालिकामा सबै बालबालिकाले पूर्ण खोप पाएपछि मात्रै नगरपालिकालाई सुनिश्चितता घोषणा गरिन्छ ।” सबै नगरपालिका र गाउँपालिकाका बालबालिकाले पूर्ण खोपको मात्रा पाएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिने बताउनुभयो ।  जनस्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार खोप लगाउने उमेरका कञ्चनपुरका नौ हजार बढी बालबालिकाले पूर्ण खोपको मात्रा पाएका छन् । खोपले रोगसँग लडने प्रतिरोधात्मक क्षमताको विकास गर्ने भएकाले बालबालिकालाई विसिजी, डिपिटी, हेपबिहिव, पोलियो, दादुरालगायतका खोप लगाएर ११ प्रकारका प्राणघातक रोगबाट बचाउन सकिने हुन्छ । क्षयरोग, धनुष्टंकार, भ्यागुते, लहरेखोकी, हेपाटाइटिस बी, हेमोफोलिस इन्फलुइन्जा, बी, पोलियो, दादुरा, जापनिज इन्सिफलाइटीसलगायतका प्राणघातक रोगविरुद्धको खोप निःशुल्क रुपमा निर्धारित खोप केन्द्रमा लगाइने गरिएको छ । बालबालिकाले खोपका सबै मात्रा पाएपछि जिल्लाका सबै प्राथमिक उपचार केन्द्र, स्वाथ्य चौकी, उपस्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिकको कार्य क्षेत्रभित्र रहेका गाउँपालिका र नगरपालिकालाई चार वर्षअघि पूर्ण खोपयुक्त घोषणा गरिएको थियो ।

एकाबिहानै चितवनमा यात्रुवाहक बस दुर्घटना, १५ जना घाइते

चितवन, असार १७ । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका-१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टिँदा त्यसमा सवार १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो । दुर्घटनापछि घाइतेमध्ये सात जनाको पुरानो मेडिकल कलेजमा उपचार थालिएको छ । जसमध्ये एकको अवस्था गम्भीर रहेको छ । अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । नारायणीमा डुबेर युवतीको मृत्यु भरतपुर महानगरपालिका-१ देवघाटमा पौडी खेल्ने क्रममा नदीमा डुबेर एक युवतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार काठमाडौँ बुढानिलकण्ठ निवासी २७ वर्षीया संगीता भण्डारीको शनिबार साँझ ६ः४० बजे देवघाटको नारायणीतर्फ डुबेर मृत्यु भएको हो । नदीमा डुबेपछि उद्धार गरी भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । -रासस

‘मानवधिकारको गम्भीर उल्लङ्घनका घटनामा पीडक र पीडितबीच सहमति भए पनि मेलमिलाप हुँदैन’

काठमाडौं, असार ७ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले द्वन्द्वकालका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई क्षमा नदिने गरी कानून बनाउने तयारी गरेको छ । मानवअधिकारको गम्भीर उल्लङ्घनका घटना, गैरकानूनी हत्या, व्यक्ति बेपत्ता पार्ने, यातना दिने र जबर्जस्ती करणी वा अन्य यौनजन्य हिंसामा पीडित र पीडकबीच सहमति भए पनि मेलमिलाप हुन नसक्ने गरी मन्त्रालयले कानून निर्माण गर्ने तयारी गरेको हो । संक्रमणकालीन न्यायका लागि गठित दुई आयोगको ऐन पहिलो संशोधनका बारेमा जानकारी दिँदै कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले भन्नुभयो, “मानवधिकारको गम्भीर उल्लङ्घनका घटनामा पीडक र पीडितबीच सहमति भए पनि मेलमिलाप हुँदैन, आयोगले पनि क्षमा दिन सक्दैन ।” बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गरेर ‘संक्रमणकालीन न्यायको सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’ नाम राखिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा क्षमा दिन सक्ने कुरामा पनि तोकिएको शर्तसहित आयोगले तोकेको अवधिमा निवेदन दिनुपर्नेछ । संशोधन विधेयकमा परिपूरण भन्नाले मनोसामाजिक विमर्श, अन्तरिम राहत, क्षतिपूर्ति, पुनःस्थापना, सुविधा, सहुलियत वा अन्य व्यवस्था सम्झनुपर्छ भनी उल्लेख छ । द्वन्द्वकालको समयमा भएका गम्भीर मानवअधिकार उल्लङ्घनका विषयमा छुट्टै विशेष अदालत गठन गरी सुनुवाइ हुनेछ । सो अदालत गठनपछि आयोगले मुद्दा चलाउन सक्नेछ । बलात्कार वा यौनजन्य हिंसामा अन्तरिम राहत दिने व्यवस्था र हद म्याद नलाग्ने व्यवस्था विधेयकमा गरिएको छ । जुन अघिल्लो ऐनमा व्यवस्था थिएन । द्वन्द्वकालमा बलात्कार तथा यौनजन्य हिंसामा परेका पीडितले अहिलेसम्म अन्तरिम राहत पनि पाएका छैनन् । आयोगले गरेको छानविन तथा अनुसन्धानबाट सशस्त्र द्वन्द्वका क्रममा भएका गम्भीर मानवअधिकार उल्लङ्घनको कार्यमा संलग्न देखिएका व्यक्ति उपर मुद्दा चलाउन सम्बन्धित घटनाको अनुसन्धान प्रतिवेदन र प्रमाणसहित महान्यायाधिवक्तासमक्ष सिफारिस गर्नुपर्ने छ । मुद्दा चलाउन सिफारिस गर्दा घटनाको सम्बन्धमा निजले आफूले थाहा भएसम्मको सत्यतथ्य विवरण आयोगसमक्ष पूर्णरुपमा प्रकट गरी सो विवरण आयोगमा अभिलेखन गराएको, घटनाको निजउपर लागेको सर्कुलरको आरोपको सम्बन्धमा निजले सत्यतथ्य व्यक्त गरी छानविन तथा अनुसन्धानमा सहयोग पु¥याउनुपर्नेलगायत व्यवस्था गरिएको छ । दुवै आयोगलाई दुई वर्षका लागि काम पूरा गर्न समय तोकिएको भए पनि तीन वर्ष बितेर आगामी माघ २६ सम्मका लागि एक वर्ष समय थप गरिएको छ । मन्त्री तामाङले द्वन्द्वका घाउहरु शारीरिक, मानसिक रुपमा निको पार्नुपर्ने र सरकारले यसलाई गम्भीरताका साथ लिएर नीतिगत रुपमा व्यवस्था गर्न लागेको बताउँदै यो प्रारम्भिक मस्यौदा भएको हुँदा सरोकारवाला पक्षको राय, सल्लाह र सुझाव लिएरमात्र अन्तिम रुप दिनेछ भन्नुभयो । विधेयकमा सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय कानूनलगायतलाई आधार बनाएर तयार गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संक्रमणकालीन न्याय गर्न बनेको विधेयकका विषयमा सातै प्रदेशमा बृहत् छलफल गर्नुपर्ने उल्लेख गर्दै त्यसका लागि आयोग सहजीकरण गर्न तयार रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “द्वन्द्वका समयमा राज्यपक्षबाट, विद्रोहीपक्षबाट भएका घटना छन्, त्यसमा पीडित को को हुन् ? बाल सैनिक पनि पीडित हुन् कि होइनन् ? त्यसतर्फ पनि ध्यान दिनुपर्छ ।” द्वन्द्वपीडित साझा चौतारीका संरक्षक सुमन अधिकारीले दुवै आयोगको कामप्रति पूर्णरुपमा आशावादी हुन सकेको हुँदा कानूनी रुपमा स्पष्ट व्यवस्था गरेर पीडितलाई न्याय दिनुपर्ने सुझाव दिनुभयो । प्रारम्भिक मस्यौदाका रुपमा मन्त्रालयले सो विधेयक सार्वजनिक गरेको हो । सरोकारवाला पक्षसँग बृहत् छलफल गरेरमात्र अन्तिम रुप दिने तयारी रहेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता रमेश ढकालले जानकारी दिनुभयो ।

शेरेले I LOVE YOU लेखेर पठाएपछि…..

शेरेले एउटी केटीलाई धेरै माया गर्थ्यो तर डराएर केही भन्न सकेको थिएन । १ दिन उसले म्यासेजमा I love You लेखेर पठाउने निर्णय गरेछ । उसले राती ‘ I LOVE YOU’ लेखेर केटीको नंबरमा म्यासेज पठाएछ । केही समय पछि शेरेको मोबाइलमा म्यासेजको रिङटोन बजेछ तर उसले भोलीपल्ट बिहान नुहाइधुवाई गरेर मन्दिर गएर मात्र म्यासेज पढ्ने निर्णय गरेछ र सुतेछ । रात भरि केटीकै सपना देखेछ । बिहान उठेर नुहाएछ र मन्दिर गएछ । अनि मन्दिरबाट फर्केपछि म्यासेज पढेको त यस्तो लेखेको रैछ- +9771414 Your Message Not delivered. Account balance: 0.17 Rupees. Please recharge in time. Thank you

कैलालीका केही क्षेत्रमा रेलमार्ग बनाउन कठिन

काठमाडौं, असार १ । प्रस्तावित पूर्व पश्चिम-रेलमार्ग अन्तर्गत कैलाली जिल्लाका केही क्षेत्रमा रेलमार्ग बनाउन कठिन हुने भूभाग फेला परेको रेल विभागका अधिकारीहरूले बताएका छन्। बुटवलभन्दा पश्चिम खण्डको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम भइरहँदा कैलालीको शिवगंगा र चौमाला क्षेत्रको जमिन मुनि निकै पानी रहेकाले त्यसले ठूलो प्रविधिक चुनौती सृजना गर्न सक्ने बताइएको छ। पूर्व-पश्चिम रेलका लागि हाल २५ किलोमिटर क्षेत्रमा रेलको लाइन निर्माण गरिरहेको रेल विभागले बुटवलदेखि कन्चनपुरको गड्डाचौकीसम्मको झन्डै ४ सय किलोमिटरको विस्तृत परियोजना प्रतिवेदन बनाउने काम गरिरहेको छ। त्यसका लागि रेखाङ्कन सकेर हाल माटो परीक्षण भइरहेको रेल विभागका अधिकारीको भनाइ छ। यसरी माटो परीक्षण गर्दै जाँदा कैलालीमा रेलमार्ग बनाउन कठिन हुने जमिन फेला परेको बिहीवारमात्रै उक्त क्षेत्रबाट काठमान्डू फर्किएका विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले बताए। प्राविधिकहरूका अनुसार उक्त क्षेत्रमा विगतमा पूर्व पश्चिम सडक अन्तर्गत पुल बनाउँदा पनि समस्या उत्पन्न भएको थियो। तर रेलमार्गको कुनै पनि एउटा क्षेत्रमा समस्या देखिँदा त्यसको असर सबैतिर पर्ने भएकाले विभागका प्राविधिकहरुले अब विकल्पको खोजी गर्नु पर्ने बताएका छन्। त्यसका लागि केन्द्रीयस्तरमा विभिन्न निकायसँग छलफल गरेर समाधान निकालिने उपाध्यायले बताए। -बीबीसी

सुरुङ निर्माणमा अवरोध, दशैंमा नआउने भयो मेलम्ची

सिन्धुपाल्चोक, जेठ ३१ ।  मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण कार्यमा अवरोध सिर्जना भएको छ । स्थानीयले आफूहरुसँग गरेको सहमति आयोजनाले लागू नगरेका कारण आफूहरु खानेपानीको समस्यामा परेको भन्दै सिन्धु अडिट मार्गमा सुरुङ निर्माण कार्य ठप्प पारेका हुन् । स्थानीयहरूले विगतमा भएका विभिन्न सहमति अनुसार आयोजनाले एउटा पनि काम नगरेको भन्दै बुधबारबाट माग पूरा नहुन्जेलसम्मका लागि सिन्धु साइटको काम ठप्प पारेका हुन् । बुधबारदेखि सुरु भएको विरोध आफूहरुको माग पूरा नभएसम्म स्थगित नहुने स्थानीयको भनाई छ । परियोजनाले पटक–पटक ताकेता गर्दा समेत आश्वासन मात्रै देखाउने र काम भने नगर्ने गरेको उनीहरूको आरोप छ । सुरुङ निमार्ण कार्यले खानेपानीको मुहान सुकेको छ । पहिला गाउँमा पर्याप्त मात्रामा पानी भएकोमा अहिले खानेपानी लिन समेत करिब आधाघण्टा टाढा हिँड्न पर्ने भन्दै स्थानीयले दुखेसो गरेका छन् । निर्माण कम्पनीलाई सम्झौता अनुसार काम गर्न पटक–पटक भने पनि हुन्छ र गछौँ भनेर मात्रै टार्ने गरेकोले यसपटक पनि फेरि आन्दोलनमा उत्रन परेको प्रभावित स्थानीयको भनाई छ  । यस्ता आन्दोलन र सम्झौता धेरै पटक गरेको र यो पटक भने सम्झौता अनुसार काम नभएसम्म आन्दोलन जारी राख्ने सिन्धु सरोकार समितिका अध्यक्ष कुमारी तामाङले  जानकारी दिए । योभन्दा अघि भएका सहमतिहरुमा स्थानीय युवालाई रोजगारीमा प्राथमिकता दिइने, काम गर्दा गर्दै मृत्यु हुनेहरुलाई उचित क्षतिपूर्ति दिनेलगायतको सहमति भए पनि अहिलेसम्म सहमति अनुसार कुनै काम नभएको थकनीका प्रभावित नेत्रबहादुर तामाङले गुनासो गरे । सुरुङ निमार्णले गर्दा हेलम्बुका विभिन्न स्थानका नागरिकरूमा पनि असर परेका छन् । खानेपानीको मुहान सुक्नुका साथै सुरुङ निमार्णमा प्रयोग हुने विभिन्न केमिकलहरुको कारणले गर्दा खोलामा रहेका जलचर प्राणीहरु समेत मर्ने गरेका छन् । सुरुङ निमार्ण कम्पनीले सम्झौता अनुसार काम नगरेको र यसले गर्दा करिब हेलम्बुका विभिन्न गाउँका ३५० भन्दा धेरै घरधूरीहरु प्रभावित भएको हेलम्बु गाँउपालिका ५ नम्बर वडाका वडा अध्यक्ष हर्कबहादुर तामाङले जानकारी दिएका छन् । यस अघि भूकम्प, नाकाबन्दीलगायत विविध कारणले समयमै काम गर्न नपाउँदा आफूलाई घाटा भएको भन्दै ठेकेदार कम्पनी इटालियन कोअपेरटिभ मुरातोरी एन्ड सिमेन्टिष्टि (सीएमसी) ले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको थियो । त्यही दाबीअनुसार आयोजना र ठेकेदारबीचको विवाद टुंग्याउन गठित विवाद निरुपण समिति (डिस्प्यूट एड्जुडिकेसन बोर्ड–डिएबी) ले छलफल थालेको थियो । छलफलपछि समितिले मंगलबार ठेकेदारको म्याद थप र क्षतिपूर्ति भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार दुई सय १२ दिन अर्थात सात महिना म्याद थप गरिएको छ भने क्षतिपूर्तिस्वरुप एक अर्ब तीन करोड रुपैयाँ दिने निर्णय समितिबाट भएको छ । समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्नुको सट्टा आयोजनादेखि मन्त्रालयसम्मका कर्मचारीको मिलेमतोमा म्याद थप र क्षतिपूर्ति दिने निर्णय भएको स्रोतको दाबी छ । तर ठेकेदार कम्पनी भने अदालत जाने तयारीमा रहेको पनि बताइएको छ । आउँदो दशैँमा काठमाडौंमा मेलम्चीको खानेपानी पुऱ्याउने भने पनि यस आयोजनाको काम हेर्दा यो वर्ष पनि खानेपानी काठमाडौं पुग्न नसक्ने देखिन्छ । निर्माण कम्पनीले पुरानै काम गर्ने शैलीका कारण समयमा काम सम्पन्न हुने सम्भावना न्यून रहेको हो ।

राजधानीका उद्योग यसकारण दूधमा सोडा मिसाउछन्

काठमाडौं, जेठ ३१ । राजधानीमा दूध प्रशोधन गरी बिक्रीवितरण गर्दै आएका अधिकांश उद्योगहरुले अम्लीयपन घटाउन (फाट्न नदिन) आफ्ना उत्पादनमा मानव स्वास्थ्यका लागि हानिकारक सोडा मिसाउने गरेको पाइएको छ । केन्द्रीय प्रयोगशालाले २५ वटा दूध प्रशोधन उद्योगका ४२ ब्रान्डका नमुना परीक्षण गरेकामा ४० वटा ब्रान्ड (पाउच) का दूधमा सोडा मिसाएको पाइएको कृषि, भूमिसुधार तथा सहकारी मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदनले औंल्याएको हो। राजधानीमा ३० वटा दुग्ध प्रशोधन उद्योगले पाउचमा दूध बिक्री गर्दै आएका छन्। यीमध्ये २५ वटा उद्योगका ४२ वटा ब्रान्डका नमूना सोमबार कृषि, भूमिसुधार तथा सहकारीमन्त्री चक्रपाणि खनाल नेतृत्वको टोलीले संकलन गरेको थियो। मन्त्रालय मातहतको बबरमहलस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षणका क्रममा ‘न्युट्रलाइजर’ का रुपमा सोडा (सोडियम बाइकार्बोनेट, सोडियम हाइड्रोअक्साइड (कास्टिक) र सोडीयम कार्बोनेट) गरी तीन किसिमका रसायन (क्षार) मिसाएको औंल्याएको छ। सोडा मिसावट गर्ने उद्योगहरुमा दुग्ध विकास संस्थान ९डीडीसी० बालाजु, चौधरी डेलिसियस, काठमाडौं, गल्फु विनायक डेरी काभ्रे, आकृति दुग्ध तथा कृषि बालकोट, जय श्रीकृष्ण डेरी काभ्रे, भक्तपुर डेरी भक्तपुर, हिमालय डेरी प्रोडक्ट, लगनखेल र जगदम्बा डेरी फुड एन्ड बेभरेज भक्तपुर छन्। यस्तै, खरीपाटी डेरी भक्तपुर, एचडी मिल्क एन्ड वेभेरेज, काठमाडौं, कालिका डेरी भक्तपुर, कान्तिपुर फ्रेसरसैजु डेरी भक्तपुर, नवप्रभात डेरी, ललितपुर (गोदावरी), नेपाल डेरी (एन्डिज) धापाखेल, नोभारकन्ट्री फुड प्रालि भक्तपुर र राजधानी डेरी काठमाडौंले पनि सोडा मिसाएको नमुना परीक्षणमा देखिएको हो। कान्तिपुरमा खबर छ ।

काठमाडौंको दूधमा युरिया र नुनसमेत भेटियो, कृषिमन्त्री भन्छन्-‘यस्तो पनि राज्य हुन्छ ?

काठमाडौं, जेठ ३० । खाने दूधमा कपडा धुने सोडा र साबुनमा प्रयोग हुने रसायनसमेत मिसाइने गरेको पाइएको छ । गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक र ठेकेदारले यस्ता हानिकारक वस्तु मिसाउने गरेको पाइएको हो । उपत्यकाभित्र ३० दुग्ध प्रशोधन उद्योग छन् । यीमध्ये २५ डेरी उद्योगका ४२ ब्रान्डका दूध पाउचको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालामा जाँचिएको थियो । तीमध्ये ४० वटामा स्वास्थ्यलाई हानि पुर्‍याउने वासिङ सोडा र साबुन बनाइने रसायन भेटिएको हो । नमुना जाँचका क्रममा ‘न्युट्रलाइजर’ का रूपमा सोडियम बाइकार्बोनेट, सोडियम हाइड्रोअक्साइड (कास्टिक) र सोडियम कार्बोनेट गरी तीनवटै रसायन (क्षार) को मिसावट हुने गरेको देखिएको छ । ‘यी तीन रसायनमध्ये जे पनि प्रयोग भएका हुन सक्छन्,’ विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने । दूधमा स्वास्थ्यलाई हानि पुर्‍याउने अखाद्य वस्तु मिसावट हुने गरेको गुनासो आएपछि सोमबार राजधानीका ४ डेरीमा छापा मारिएको थियो । कृषिमन्त्री चक्रपाणि खनालले दूध उत्पादनमा उपभोक्ताको स्वास्थ्यको ख्याल नै नगरिएको र भयावह अवस्था रहेको बताए । ‘सबै मापदण्ड ठीक भएका कुनै पनि दूध देखिएनन्,’ उनले भने,‘म नयाँ मापदण्ड बनाउँदै छु । के–के गर्नुपर्ने हो, निर्देशन दिइसकेको छु । अब त्यसै छाडिँदैन ।’ उनले उद्योग मन्त्रालयसँग मिलेर नयाँ मापदण्ड बनाइरहेको र अब अनुमतिपत्र रद्द गरेरै कारबाही गरिने बताए । दूधमा देखिएको मिसावट देख्दा देश नै नभएको जस्तो महसुस भएको उनले बताए । ‘यस्तो पनि राज्य हुन्छ, देशै होइनजस्तो भएको छ मलाई,’ मन्त्री खनालले भने । राजधानीको एक ठूलो डेरी उद्योगको प्रयोगशाला प्राविधिकका अनुसार दूध संकलन हुने चिस्यान केन्द्र, सहकारीका संकलक, ठेकदार र प्रशोधन उद्योगहरूले दूधको अम्लीयपन घटाउन अल्कलाइन रसायनका रूपमा यी तत्त्व प्रयोग गर्दै आएका छन् । उपभोक्ता संरक्षण ऐनले मिसावट भएको कमसल उपभोग्य वस्तुबाट मानव स्वास्थ्यलाई नै खतरा पुग्ने देखिएमा १४ वर्षसम्म कैद र ५ लाख जरिवाना तोकेको छ ।

यसरी लगातार १२ दिनसम्म बाबुले गरे छोरीमाथि बलात्कार

भोपाल । सौतेला बाबुले नाबालिका छोरीमाथि १२ दिनसम्म लगातार बलात्कारको गरेको खुलासा भएको छ । बाग सेवनिया प्रहरीले छोरीमाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कृत भएकी १७ वर्षीया किशोरी हाल कक्षा १० मा अध्ययन गर्ने छात्रा रहेकी जनाएका छन् । उनी आफ्नो सौतेला बाबुुसँग रहँदै आएकी छिन् । उनकी आमाले ६ वर्षपहिले पहिलो श्रीमान छोडेर अर्काे विवाह गरेको जानकारी दिएका छन् । त्यस बेलादेखि नै बागसेवनियामा रहँदै आएको प्रदीप कुमारसँग बस्दै आएकी हुन् । प्रदीप मुलतः झाँसीमा बस्ने गर्दछन् । उनी मजदुरीको काम गर्ने गरेका छन् । पीडित गत मे १ मा आफ्नो आमालाई भेट्नका लागि इलाहावाददेखि भोपाल आएकी थिइन् । १२ दिनसम्म लगातार सौतेला बाबु प्रदीप कुमारले नाबालिका छोरीमाथि बलात्कार गर्दै आइरहेका थिए । शनिबार पीडित नाबालिकाले प्रहरी चौकीमा गर्इ आफूमाथि सौतले बाबुले बलात्कार गरेको भन्दै रिपोर्ट दर्ता गरेकी छिन् । प्रहरीले रिपोर्ट दर्ता गरेपछि विभिन्न धारा–उपधाराअन्तर्गत मुद्दा दर्ता दायर गरी बलात्कारी बाबुलाई पक्राउ गरेका छन् । मालिकले मजदुरकी श्रीमतीमाथि बलत्कार, छोरीलाई मार्ने र श्रीमानलाई कामबाट निकाल्ने धम्की सागर निवासी २५ वर्षीया युवक आफ्नो श्रीमती र बच्चाको साथ बैरागढ कलामा बस्दै आएका छन् । मालिक बब्लुको खेतमा बनेको घरमा बसीमा दिनरात मजदुरीको काम गर्ने गर्दथे । खजुरी सडक प्रहरीका अनुसार २ जुनको राति करीब ९ बजे मजदुरको श्रीमती एक्लै भएको मौकामा बलत्कार गरेकाे छ । त्यही बेला त्यो मालिक बब्लुले छोरीलाई मार्ने र श्रीमान्लाई कामबाट निकाल्ने धम्की दिएका हुन् । भोलिपल्ट महिलाले आफ्नो श्रीमान्लाई राति आफूमाथि भएको घटना सबै बताइन् । दुई दम्पत्ती भोलिपल्ट प्रहरी चौकी जान खोज्दा बब्लु खेतमा आएर बाटो छेकी उनीहरुलाई जान दिएनन् । घटनाको दुई दिनपछि साँझ बब्लू फेरि खेतमा गई काम गरिरहेको श्रीमान्लार्इ नशालु पदार्थ मिसाई अल्कोहल खान दिए । त्यसपछि ती नशालु पदार्थ मिसाइएको अल्कोहल पिएको लगत्तै श्रीमान् बेहोश भएपछि त्यही मौकामा फेरि श्रीमतीलाई बलात्कारको शिकार बनाए । यसरी बब्लुले ती मजदुर श्रीमान र श्रीमतीमाथि दिनप्रतिदित अन्याय गर्दै अाइरहेका थिए । एकदिन ती दुई दम्पत्तीले राति मौका छोपेर छोरी लिएर त्यहाँबाट निस्की भागेका छन् । गैरतगञ्ज प्रहरी चौकी पुगे ती दुई दम्पत्तीलाई आफ्नो मालिक बब्लुले श्रीमान्लाई नशालु पदार्थ खुवाई बेहोश बनाई श्रीमतीमाथि लगातार बलात्कार मुद्दा दर्ता गरेको छ । खजुरी प्रहरीले बलात्कार र एससीएसीटी समेत विभिन्न धारा–उपधाराअन्तर्गत घटना प्रकरण दर्ता गरेका छन् । बलात्कारीलाई खोज्ने क्रम जारी नै छ । दैनिकभाष्करबाट