शिल्पा पोखरेलको ‘उनकै कुरा हुन्छ’ सार्वजनिक (भिडियोसहित)
काठमाडौं, साउन १ । अभिनेत्री शिल्पा पोखरेल अभिनित ‘उनकै कुरा हुन्छ’ बोलका गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियो अभिनयमा शिल्पाको जोडी अमृत सुनार (अभी) बनेका छन् । राजकुमार बगरको शब्द, संगीत रहेको गीतमा सुरेन चन्दको एकल स्वर सुन्न सकिन्छ ।
भिडियो संगीत सागरले निर्देशन गरेका हुन् । रोहित कार्कीको छायाँकन तथा पदम सुवेदीको सम्पादन रहेको भिडियोमा माया प्रेमका प्रसङ्ग देखाउन खोजिएको छ ।
निम्बस एजुकेसनद्वारा दृष्टि फाउन्डेसनलाई सहयोग
कैलाली, चैत ३ । जिल्लाको धनगढी स्थित निम्बस एजुकेसन एन्ड ट्रेनिङ सेन्टरले दृष्टि फाउन्डेसनलाई सहयोग गरेको छ । निम्बस एजुकेसन धनगढीका सञ्चालक हेमन्त बोहराले कार्यालयको तर्फबाट दृष्टि फाउन्डेसनलाई साढे १० हजार बराबरको अत्यावश्यक खाद्यान्न सहयोग गरेका छन् । सञ्चालक बोहराले ४ बोरा चामल, २० किलोग्राम नुन, तेल ५ लिटर, २० ओटा ब्रस, साबुन, कोल्गेट, महिला प्याड २० वटा, चाउचाउ १ कार्टुन, दाल ५ किलो, सोडा ५ किलो गरी साढे १० हजार बराबरको सामग्री फाउन्डेसन सञ्चालीका कल्पना भट्टलाई हस्तान्तरण गरे । सञ्चालनमा रहेको दृष्टि फाउन्डेसनले मानसिक सन्तुलन गुमाएका २० जना महिला, यौन हिंसामा परेका, सहाराविहीन भएका र अन्य हिंसामा परेका महिलालाई फाउन्डेसनले आश्रय दिइरहेको छ । फाउन्डेसन सञ्चालन भएदेखि मानसिक सन्तुलन गुमाएका पाँच जनालाई पुनस्र्थापना गरिएको सञ्चालिका भट्टले जानकारी दिइन् । हाल फउन्डेसनमा चन्द्रा तिरुवा र ललिता चौधरीले स्वयम् सेवकका रूपमा मानसिक सन्तुलन गुमाएका महिलालाई हेरचाह गरिरहेको सञ्चालिका भट्टले जानकारी दिइन् ।
भारत-पाकिस्तान चर्काचर्की- नियन्त्रणमा रहेका युद्ध विमान चालक पाकिस्तानमा चिया पिउँदै
काठमाडौँ, फागुन १६ । पाकिस्तानले आफ्नो कब्जामा रहेका भारतीय युद्धक विमान चालक विंग कमाण्डर अभिनन्दनको ताजा भिडियो सार्वजनिक गरेको छ । उक्त भिडियोमा अभिनन्दनले हातमा चियाको कप समातेका छन् र उनी आफूलाई पाकिस्तानी सेनाले राम्रो व्यवहार गरेको बताइरहेका छन् । भारतीय टेलिभिजन च्यानलहरुले भने यस भिडियोलाई हालसम्म प्रसारित गरेका छैनन् । सामाजिक संजाल प्रयोगकर्ताहरूले भने उक्त भिडियोलाई आफ्ना पेजहरूमा शेयर नगर्न भनिरहेका छन् । धेरैले उनीप्रति दुर्व्यवहार गरिएको र उनलाई जबर्जस्ती उक्त बयान दिन लगाएको हुनसक्ने बताएका छन् । भारतले भने नियन्त्रणमा रहेका पाइलटको भिडियो सार्वजनिक गरिनु नियम विपरित भएको भन्दै आक्रोश व्यक्त गरेको छ । उसले घाइते व्यक्तिको तस्बिर सार्वजनिक गरिनुलाई ‘लाजमर्दो प्रदर्शन’ भनि टिप्पणी गरेको छ। कश्मीरमा आफ्ना सुरक्षाकर्मीलाई निशाना बनाउँदै दुई साताअघि आत्मघाती आक्रमण भएपछि भारतले ‘पाकिस्तानमा रहेका लडाकुहरूको शिविर हवाई हमला गरेर नस्ट गरिदिएको’ दाबी गरेको थियो। पाकिस्तानले आफ्नो हवाई क्षेत्र भारतद्वारा उल्लङ्घन गरेको तर ती विमानलाई लखेटिदिएको प्रतिक्रिया सार्वजनिक गरेको थियो। त्यसपछिको अर्को घटनामा आफूले दुईवटा भारतीय सैन्य जहाज खसालिदिएको पकिस्तानको दाबी छ। ‘कारबाही पाकिस्तानको बाध्यता‘ टेलिभिजन सम्बोधनमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भने, “पाकिस्तानी कारबाहीको जबाफ दिन हिन्दुस्तानका दुईवटा विमान पाकिस्तानी सीमाभित्र पसे। त्यसलाई झारिदियौं। पाइलट हामीसँग छन्। म हिन्दुस्तानलाई भन्न चाहन्छु कि हामीले विवेक प्रयोग गर्न जरूरी छ।” उनले दुबै देशसँग रहेका हतियारलाई ध्यानमा राख्दा ‘कसैले पनि भूलको परिणाम थेग्न’ नसक्ने बताएका छन्। “यदि त्यसो हुन दियौं भने न त्यो मेरो न नरेन्द्र मोदीको नियन्त्रणमा हुनेछ।” उनले भने, “हामी बसौँ र कुरा गरौं। सम्वादबाट यो मुद्दाको हल गर्नुपर्छ।” प्रधानमन्त्री खानले भारतलाई उसले पाकिस्तानी सीमा उल्लङ्घन गरेको र उनीहरूको भूभागमा जान आफू पनि सक्षम रहेको जानकारी दिने आफूहरूको कदमको उद्देश्य रहेको बताए। ‘मोदी र भारतीय मिडिया युद्धोन्मादी’ पाकिस्तानका समाचार च्यानलहरूले पाकिस्तानले शान्तिको संदेश दिएको अवस्थामा पनि लगातार युद्धकै रट लगाउनुले भारतीय प्रधानमन्त्री मोदी र भारतीय मिडिया युद्धोन्मादी भएको बताएको छ । पाकिस्तानी च्यानलहरूले लगातार हातमा चियाको कप समातेर क्यामेरामा बोल्दै गरेका भारतीय विमान चालक अभिनन्दनको फुटेज देखाइरहेका छन् । यसका साथै उनीहरूले यस मामिलामा प्रधानमन्त्री इमरान खानले दिएको प्रहिलो संदेश र बुधबार बिहानैको पाकिस्तानी हवाई कारवाहीपछिको उनको संदेशको फुटेज देखाइरहेका छन् । पहिलो सन्देशमा उनी पाकिस्तानले भारतीय कावाहीको जवाफ दिने भनिरहेका छन् भने दोस्रोमा उनी आफूले बाध्य भएर प्रतिकार गरेको तर आफू युद्ध्को पक्षमा भने नरहेको भनिरहेका छन् । साथै उनले युद्ध सुरु भइसकेको खण्डमा स्थिति उनको या मोदीको नियन्त्रण भन्दा बाहिर जाने भनिरहेका छन् । साथै पाकिस्तानी टिभी च्यानेलहरूले पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल गफूरको फुटेज पनि देखाइरहेका छन् जसमा उनले युद्ध मानवता विरोधी हुने भए पनि आफूमाथि कोही आइलागे नछोड्ने चेतावनी दिइरहेका छन् । जबाफको सन्देश उनले भने, “प्रतिक्रिया जनाउनु हाम्रो बाध्यता थियो, कुनै पनि सार्वभौमसत्ता सम्पन्न देश यस्तोमा चुप लागेर बस्न सक्दैन। हामी चुप लागेर आफूलाई अपराधी बनाउन सक्दैनथ्यौं। बुधवारको जबाफ दियौं र भन्यौँ- तपाईँ हाम्रो देशमा आउन सक्नुहुन्छ भने म पनि तपाईँको देशमा जान सक्छु। ” भारतीय प्रधानमन्त्री मोदीले कुनै प्रतिक्रिया दिएका छैनन्। तर उनले सुरक्षा र जासुसी संस्थाका उच्च अधिकारीहरूसँग परिस्थितिबारे छलफल गरिरहेको बताइएको छ। भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफ्नो देशले ‘जिम्मेवार र संयम’ कदम चाल्ने बताएकी छन्। चीन र रूसका विदेशमन्त्रीसँग चीनमा भएको वार्तास्थलबाट उनले भनिन्, “भारत अवस्था थप बिग्रिएको देख्न चाहँदैन।” बिबिसी
‘अन्तिम पटक पाइलटले बाक्लो हिउँ परेको जानकारी गराएका थिए’
काठमाडौं, फागुन १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकप्टर दुघर्टना भएको छ । बाक्लो हिमपातका कारण हेलिकप्टर दुघर्टना भएको हुन सक्ने त्रिभुवन विमानस्थल कार्यालयले अनुमान गरेको छ । विमानस्थलमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्रतापबाबु तिवारीले भने, ‘पाइलटले टावरलाई अन्तिम पटक भारी हिमपात भएको जानकारी दिएका थिए, अहिलेलाई हामीले पाएको जानकारी त्यही हो ।’ दुर्घटनामा ज्यान गुमाएकाको शव ल्याउनको लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ लागेको पनि उनले जानकारी दिए। दुर्घटनामा को–को परे ? रविन्द्र अधिकारीः मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन आङछिरिङ शेर्पाः अध्यक्ष यति एयरलाइन्स वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण अर्जुनकुमार घिमिरेः मन्त्री अधिकारीका पिएसाे युवराज दाहालः प्रधानमन्त्री कार्यालयका सल्लाहकार धुब्रदास भोछिभयाः इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण हेलिकप्टर क्याप्टेनः प्रभाकर केसी
स्वर्ण महोत्सव शुरु
भद्रपुर, माघ २७ । श्री कृष्णप्रणामी मन्दिर धुलावारीको स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा आयोजित वृहत धार्मिक स्वर्ण महोत्सव शनिबारदेखि यहाँ शुरु भएको छ । पचास वर्षअघि श्री १०८ मङ्गलदासले झापा आएर धुलावारी, चन्द्रगढी, बुधबारे र शनिश्चरेमा चार मन्दिर स्थापना गरेका थिए । श्री कृष्णप्रणामी धर्मावलम्बीले अपार श्रद्धा गर्ने मंगलदास महाराज झापा आएको र मन्दिर स्थापना भएको ५० वर्ष पुगेको अवसरमा धुलाबारीको मन्दिरले स्वर्ण महोत्सव मनाएको हो । उद्घाटन समारोह शुरु हुनुअघि धुलाबारी बजारमा रथ परिक्रममासहित शोभायात्रा गरिएको थियो । प्रणामी धर्मबाहेक अन्य धर्मावलम्बीसमेत शोभायात्रामा आ–आफ्ना ब्यानरसहित उपस्थित भएका थिए। श्री कृष्णप्रणामी धर्मको सर्वोत्तम ग्रन्थ तारतम्सागर पारायणको प्रारम्भ गर्दै बौद्धिक धर्मगुरु एवं मङ्गलधाम कालिम्पोङका प्रमुख श्री १०८ मोहन प्रियाचार्यले जीवनलाई सकारात्मक सोचतिर डोर्याउन धर्मको जरुरत हुने चर्चा गरे । सभामा आशीर्वचन दिँदै करनाल भारतका श्री १०८ जगतराजले हिंसा र मांसाहारका कारण मान्छे पशुभन्दा पनि तल्लो स्तरमा गिर्दै गएको बताए । नवतन धाम काठमाडौंका श्री १०८ अमृतराजले महामति प्राणनाथजीले ४०० वर्षअघि नै मानवलाई सुखी, स्वस्थ र आनन्दित बनाउन ज्ञान र दर्शनको अभूतपूर्व खोज गरेको चर्चा गरे । भारत चण्डीगढका श्री १०८ श्यामानन्दले माछा, मासु, मदिरा र तम्बाकु त्याग्न आह्वान गर्दै नेपालमा प्रणानाथजीको सन्देश फैलाउन रथयात्रा शुरु भएको उद्घोष गरे । सो महोत्सव फागुन ३ गते समापन हुने छ । महोत्सव अवधिभर श्रीमत्तारतम १०८ पाठ पारायण हुनेछ भने भागवतविद् पं.लीलारस सागरबाट श्रीमद्भागवतको श्रीकृष्ण कथावाचन हुने महोत्सव आयोजक समितिका अध्यक्ष गोपाल सापकोटाले बताए । रासस
अन्ततः पारित भयो चिकित्सा शिक्षा विधेयक, के के छन् त नयाँ व्यवस्था ?
चिकित्सा शिक्षा विधेयक समितिद्वारा पारित काठमाडौँ, पुस २५ गते । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले बहुमतबाट पारित गरेको छ । समितिका उपस्थित १८ सदस्यमध्ये १४ जना सदस्य विधेयकको पक्षमा र बाँकी चार जना विपक्षमा रहेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सदस्यले विधेयकको विपक्षमा आफ्नो मत राख्नुभएको थियो । सङ्घीय संसद्, प्रतिनिधिसभा नियमावली २०७५ को १८१ धाराअनुसार समितिको बैठकले बहुमतका आधारमा विधेयक पारित गरेको थियो । समितिका सदस्य भैरवबहादुर सिंहको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको सो विधेयकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनलाई समितिका सभापति जयपुरी घर्तीले बैठकमा निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । यसअघि समितिको बैठकमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार र डा गोविन्द केसीका बीच विगतमा भएका सहमतिका भावनाअनुरुप विधेयक बन्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउनुभयो । उहाँले विधेयकका प्रस्तावलगायत लेखनका विषयवस्तु कानून मन्त्रालयले मिलाउने उल्लेख गर्दै विधेयकमा प्रस्तावित चिकित्सा शिक्षा आयोगले चिकित्सा क्षेत्रका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । समितिका सदस्य योगेश भट्टराईले सरकार र डा गोविन्द केसीका बीच भएका सहमतिका भावना र संसद्को सर्वाेच्चतालाई ध्यानमा दिई विधेयक आएको जानकारी दिँदै विधेयकलाई डा केसीले स्वीकार गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “संसद्बाट डा केसीको जित भएको छ । उहाँले विधेयकलाई स्वीकार गर्नुपर्छ ।” समितिको बैठकमा फरक मत प्रस्तुत गर्दै समितिका सदस्य गगनकुमार थापाले सरकार र डा गोविन्द केसीका बीच भएका सहमति विपरीत विधेयक समितिको बैठकबाट बहुमतका आधारमा पारित हुनु अन्यन्त दुःखद् हो भन्नुभयो । समितिका अर्का सदस्य उमाकान्त चौधरीले सरकार र डा गोविन्द केसीका बीच भएका सहमति विपरीत विधेयक आउनु दुःखद् रहेको उल्लेख गर्नुभयो । विधेयक प्रतिवेदनमा के छ त ? काठमाडाँै उपत्यकाभित्र दश वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्न शिक्षण संस्था स्थापना र सञ्चालन गर्न आशयपत्र नदिइने, चिकित्सा शिक्षा अध्ययन गर्न केन्द्रीय प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्ने, छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले दुईवर्ष सरकारी सेवा अनिवार्य गर्नुपर्ने रहेका छन् । एउटा विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययनका लागि पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन नदिइने तर सम्बन्धन प्राप्त गरिसकेका, मापदण्डसमेत पूरा गरिसकेका कलेजलाई राष्ट्रिय चिकित्सा शिक्षा आयोगले निर्णय लिने पारित विधेयकमा रहेको छ । विद्यार्थीको पढाइ र अभ्यासको लागि मेडिकलतर्फ कम्तीमा ३०० तथा डेण्टल र नर्सिङतर्फ १०० श्ययाको अस्पताल सञ्चालन नभएसम्म शिक्षण संस्थालाई आशयपत्र नदिने, राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सङ्घ तथा प्रदेश तहका चिकित्सा शिक्षाको सबै तह तथा विधाको मापदण्ड र स्तर निर्धारणसम्बन्धी नीति तथा मापदण्ड निर्धारण गर्ने, चिकित्सा शिक्षाको विषयमा विश्वविद्यालय, प्रतिष्ठान र परिषद्लाई आवश्यकताअनुसार निर्देशन दिने विधेयक प्रतिवेदनमा रहेको छ । प्राविधि शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतका प्रमाणपत्र तहका कार्यक्रम राष्ट्रिय चिकित्सा शिक्षा आयोगले तोकेको निकायले गर्ने, सार्वजनिक शिक्षण संस्थाले स्नातक तहको कार्यक्रममा उपलब्ध सिट सङ्ख्याको कम्तीमा ५० प्रतिशत सिट निःशुल्क व्यवस्था गर्नुपर्ने, चिकित्सा शिक्षा अध्ययन अध्यापन गर्न गराउन एक चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने तथा चिकित्सासम्बन्धी शिक्षण संस्था क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थाका रुपमा रहने विधेयक प्रतिवेदनमा रहेको छ । (रासस)
सवारीकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
दाङ, पुस २५ । घोराही उपमहानगरपालिका–४ सवारीकोटबाट दाउरा बोकेर लक्ष्मीपुरतर्फ जाँदै गरेको रा१त १२४५ नंको ट्याक्टर गएराति सवारीकोट नजिकै दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा ट्याक्टर चालक प्यूठान नौबहिनी गाउँपालिका स्याउलीवाङका २२ वर्षीय रामु बुढा रहेका छन् । बुढाको घटनास्थलमै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा राखिएको छ । रासस
सामाजिक सञ्जालले बढायो मानसिक तनाव, शैक्षिक गुणस्तरमा ५० प्रतिशत ह्रास
वासिङ्टन डिसी, पुस २५ । सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरीहरु बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ। आफ्ना साथीहरूसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक सञ्जाल सहयोगी भए पनि किशोरकिशोरीहरूमा नकारात्मक प्रभाव पारेको पाइएको छ। लण्डन विश्वविद्यालयका विद्यार्थीहरूले गरेको सो अध्ययन ुइक्लिनिकल मेडिसिनु नामक जर्नलमा प्रकाशित भएको छ। अध्ययनका अनुसार झण्डै १४ वर्षको उमेरका किशोरीहरूलाई सामाजिक सञ्जालको प्रयोगले बढी मानसिक तनाब बढाउने गरेको छ। प्रति दिन झण्डै पाँच घण्टा सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरीहरूको शैक्षिक गुणस्तरमा ५० प्रतिशत ह्रास आएको पाइएको छ भने किशोरहरुको शैक्षिक गुणस्तरमा ३५ प्रतिशत ह्रास आएको छ। तुलनात्मक रुपमा दैनिक एक देखि तीन घण्टा सामाजिक सञ्जाल प्रयोग गर्नेहरूको पढाइमा भने सुधार आएको पाइएको अध्ययनले देखाएको छ। ‘हामीले एउटा खतरनाक तथ्य फेला पार्यौँ, सुरुमा त पत्याउन पनि गाह्रो भयो, त्यो यही थियो की, सामाजिक सञ्जालको प्रयोगले छोराहरूलाई भन्दा छोरीहरुलाई बढी असर गरेको पाइयो’ अध्ययनका प्रमुख लेखक एभन केल्लीले भने । यस अध्ययनले सामाजिक सञ्जालको प्रयोग र मानसिक तनावको सम्वन्धलाई पनि देखाएको छ। सामाजिक सञ्जालमा धेरै भुल्नेहरूमा मानसिक तनावको संकेत बढी देखिएको अध्ययनले पुष्टि गरेको छ। सामाजिक सञ्जाल प्रयोग गर्नेहरू धेरै तनावपूर्ण, अशान्त र एक्लोपन अनुभव गर्ने गरेको पाइएको छ। अध्ययनले सामाजिक सञ्जालको प्रयोग गर्नेहरू कम सुत्ने, इन्टरनेटमार्फत् हुने दुर्व्यवहारमा पर्ने लगायतका समस्या पनि देखिने गरेको अध्ययनकर्ताहरूले बताएका छन् । रासस
११ लाख खर्च, फुटेन अामाकाे बाेली
काठमाडौं : पाटन अस्पतालको वेड नम्बर २५९ मा पल्टिरहेकी लालमाया तामाङलाई छोरा दाबा थिङ सोध्छन्, ‘कस्तो छ आमा ?’ उनी हेर्छिन् अनि ओठ चलाउँछिन्। तर, बोल्न सक्दिनन्। आमाको बोली सुन्न उनले विभिन्न अस्पतालमा एघार लाख भन्दा बढी खर्च गरिसके । तर, आमाको अवस्था उस्तै छ। आमाले स्वर सुन्ने आशमा उनी व्याकुल छन्। मकवानपुर बकैया गाउँपालिका ९ की तामाङको अवस्थाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक एवं नर्सलाई पनि भावुक बनाएको छ। टाइफाइडपछिको व्यथा पहिलो दिन बंगुरको मासु र मकैको ढिंडो खाइन्। भोलिपल्ट खसीको मासु र ढिंडो। त्यसको दुई दिनपछि सुरुमा टाउको दुख्यो। विस्तारै ज्वरो आउन थाल्यो। सामान्य उपचारपछि एक सातासम्म टाइफाइडको औषधि खाइन्। त्यसको केही महिनापछि डेरामा आराम गरिरहेको बेला अचानक बान्ता भयो। जे खाए पनि बान्ता हुन थालेपछि उनलाई असार १९ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइयो। रगत, दिसा, पिसाब र भिडियो एक्सरे भयो। आवश्यक जाँचपछि चिकित्सकले सामान्य समस्या हो भन्दै घर पठाइदिए। साउन ३ गते लालमायालाई समस्या दोहोरियो। बान्ता हुने क्रम फेरि सुरु भयो। साउन १७ गते आनन्द वन अस्पताल ललितपुर लगियो। असोज १ गते धापाखेलस्थित फेमिली केयर अस्पताल ललितपुरमा ल्याइयो। पाँच दिन राखियो। चिकित्सकले थप उपचारका लागि शिक्षण अस्पताल महाराजगन्जमा रेफर गरे। असोज ११ गते शिक्षण अस्पताल ल्याइयो। त्यहाँबाट भेनस अस्पताल काठमाडौं पुर्याइयो। सरकारी र निजी अस्पतालमा परीक्षण गराउँदा गराउँदै लाखौं खर्च भयो। रोगले भने छोडेन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुराइयो। लालमायालाई सरुवा रोग नभएकोले जनाउँदै रेफर गरियो। त्यसपछि गत भदौ २४ गते पुनःपाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा ल्याइयो। अहिले उपचार जारी छ। यो अवधिसम्म उपचारका क्रममा ११ लाख भन्दा बढी खर्च भइसकेको छोरा दावा थिङले बताए। खर्च जुटाउन सकस उपचारका क्रममा एघार लाख खर्च भइसक्यो। जसमध्ये सात लाख ऋण छ। दैनिक उपचार खर्च जुटाउन सकस भएपछि बकैया गाउँपालिका वडा ९ वडा कार्यालयले जीवन रक्षाका लागि सहयोग गर्न अपील गरेको छ। लालमायाका जेठा छोरा दावा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म कान्तिपुर सिटी कलेजमा डिउटी गर्छन्। त्यसबाहेक अन्य समय उनी आमाको हेरविचारमा खटिन्छन्। आमाको अवस्था थाहा पाएपछि कान्छा छोरा पासाङ थिङ दुबईबाट फर्किएका छन्। तर आमाको अवस्था देख्ने वित्तिकै उनको आँखाबाट आँसु झर्न थाल्छ। ‘भाइ आउँछ तर आमालाई देखेपछि आँखाभरी आँसु पार्छ। भाइको आँखामा आँसु देख्न सक्दिन। डेरामा जान भन्छु। राति डिउटीमा गएको राति बुवाले स्याहार गर्नुहुन्छ’, दावाले भने। ५८ वर्षीय लालबहादुर पत्नीको बोली सुन्न आतुर छन्। रातभर आँखा नझिम्काएर हेरिरहन्छन्। पत्नी बोल्छे की भन्ने आश छ। मेनेन्जाइटिसको असर उपचारमा संलग्न चिकित्सकका अनुसार, मेनेन्जाइटिसको असरले गर्दा लालमायाको मस्तिष्कमा असर गरेको हो। ‘मस्तिष्कमा रहेको कोषिका मरेको छ रे। त्यही मरेकोले गर्दा यो समस्या भएको हो’, उपचारमा संलग्न चिकित्सकको भनाइ उद्धृत गर्दै दावाले भने। अब नौदेखि १८ महिनासम्म उपचार गर्न सके निको हुने चिकित्सकले बताएका छन्। चिकित्सकले आश देखाएकाले उनीहरु उपचारमा सक्रिय छन्। पत्नीको अवस्थाले चिन्तित देखिएका लालबहादुर भन्छन, ‘खर्च थेग्नै धौ धौ भएको छ। मनकारी व्यक्तिले सहयोग गरे उपचार गर्न सकिन्थ्यो। अस्पतालबाट निको बनाएर घर लैजाने मन छ।’ याे समाचार अन्नपुर्ण पाेष्टमा प्रकाशित छ ।
धर्ममा राज्य विभेदकारी हुनुहुँदैन : मन्त्री रावल
सुर्खेत, पुस १८ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले धर्ममा राज्य विभेदकारी हुन नहुने बताएका छन् । ख्रीष्टमस तथा नयाँ वर्ष २०१९ को शुभारम्भ अवसरमा इसाइ समाज, सुर्खेतद्वारा यहाँ आयोजित ‘शुभकामना आदानप्रदन’ कार्यक्रममा मन्त्री रावलले मुलुकमा सबै धर्मको अधिकार समान रहेको बताए । “राज्य सबै धर्म, जाति, भाषिक, वर्ग, लिङ्ग, उत्पीडित, उपेक्षित, अल्पसङ्ख्यक र सीमान्तकृतको अभिभावक हो”, उजले भने, “सबैलाई समान ढङ्गले संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्छ ।” कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले राज्यको कुनै धर्म नहुने तर्क गरे । प्रदेशसभा सदस्य सीता नेपाली र प्रदेशसभा सदस्य राजु गुइदेलले मुलुक सङ्घीय संरचनामा गइसकेकाले सबै नेपालीका अधिकार संस्थागत गर्न सकिए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान पूरा हुने बताए । इसाइ समाज केन्द्रीय समितिका महासचिव डिल्लीराम पौडेलले मानिसको भित्री परिवर्तनले मात्र देशको परिवर्तन सम्भव रहेको बताए । राप्रपाका कर्णाली प्रदेश प्रमुख जनकसिंह ठकुरीले मुलुकमा सबै धर्म बराबर भएको बताए । रासस
यसरी पाईलैपिच्छे घुस लिइन्छ गुणस्तर तथा नापतौल विभागमा
काठमाडौं माछापोखरीस्थित नेपाल गुणस्तर तथा नापतौल विभाग पस्ने वित्तिकै देखिन्छ आकर्षक नारा । लेखिएको छ– गुणस्तरीयता, सन्तुष्टि, सुरक्षा र विश्वसनीयता । तर, विभागका कर्मचारीले मापन गरेवापत खुलमखुला घुस लिने गरेका छन् । याे समाचार अाजकाे अन्नपुर्ण दैनिकबाट लिईएकाे हाे । आइतबार विहान ११ :२० बजे ट्याक्सीको मिटरमा सिल लगाइदिने कर्मचारीले चालकसँग घुस मागे । सरकारी पोषक लगाएका ती कर्मचारीले भने, ‘चिया खर्च दिनुस् ।’ चालक अनकनाए । कमाइ नभएको भन्दै गुनासो गरे । तर ती कर्मचारीले चालकलाई छाड्दै छाडेनन् । चालकले ५० रुपैयाँ थमाएपछि बल्ल छाडे । ती चालक विभागभित्र काम सकाएर गेटतर्फ मोडिए । गेट नजिकै पुगे तर गेट खोलिएन । गेटमा बस्ने कर्मचारी उनको नजिक आए । अनि हाकाकाकी भने, ‘चिया खर्च दिनुस् पहिला ।’ चालकले पहिल्यै ५० रुपैयाँ बुझाइसकेको बताए । विहानैदेखि एकसुको कमाइ नभएको भन्दै गुनासो गरे । तर गेट खुल्दै खुलेन । कर्मचारी भन्दै थिए, ‘हामीलाई पनि हेर्नुपर्यो नि ।’ गेट खुलेन । चालकले एकसयको नोट निकालेर कर्मचारीको हातमा थमाइदिए । बल्ल गेट खुल्यो । ‘मनपरी हुन्छ यहाँ । पाइलैबिच्चै घुस खुवाउँनुपर्छ ।’ चालक रिसाउँदै गोंगबुतर्फ लागे । मिटर चेक गर्ने ठाउँ नजिकै कसैलाई जान दिइदैन । नजिकै गयो भने झपारेर पठाइन्छ । भित्तामा सुचना टाँसिएको छ, ‘ट्याक्सीमा एकजना मात्रै चढ्नु होला ।’ मिटर जाँच गरिसकेपछि मास्क लगाएका ती कर्मचारीले भन्छन्, ‘यसो बिचार गर्नुस है ।’ एकजना ट्याक्सी चालकले भने ‘मिटर चेक गर्ने ठाउँमा हावा कम छ भनेर ५० रुपैया माग्यो । मैले दिएँ ।’ उनी रिसाउँदै बाहिरिए । जता गयो उतै माग्छन् दिउँसो ११ :१५ देखि १२ :१५ सम्म विभागमा जम्मा २५ वटा ट्याक्सी भित्रिए । यही अवधिमा २० ट्याक्सी गेटबाट बाहिरिए । बाहिरिने मध्ये १७ वटाले आफ्नो काम बनेको बताए । तीमध्ये १२ वटा ट्याक्सी चालकले गेटका कर्मचारीलाई १० रुपैयाँदेखि १ सय रुपैयाँसम्म घुस दिएर गए । कर्मचारीले सिधै घुस मागे पनि ५ ट्याक्सी चालकले भने दिएनन् । कोही बिहानदेखि कमाइ नभएको भन्दै झर्किँदै गए । कोही ‘सरकारले दिन्छ । हामीसँग किन माग्या ? ’ भन्दै थर्काएर गए । गेटमा बस्ने कर्मचारीको घुस माग्ने तरिका अचम्मको थियो । ट्याक्सी हुँइकिएर गेटमा आइपुग्थ्यो । कर्मचारी गेटको एउटा ढोका बन्द राखेर ट्याक्सीलाई रोक्थे । जबसम्म ती कर्मचारीलाई चालकले पैसा थमाइदिँदैन थिए, तबसम्म गेट बन्द हुन्थ्यो । रुपैयाँ हात परेपछि ढोका खुल्थ्यो । ट्याक्सी चालक जगत श्रेष्ठले ती कर्मचारीलाई २० रुपैयाँ थमाएर बाहिरिए । उनी भन्दै थिए, ‘गेटमा बस्ने, मिटर जाँच्ने, सिल मार्ने जहाँसुकै बस्नेले सिधै घुस माग्छ ।’ अढाइ दशकदेखि टेम्पो र ट्याक्सी चलाउँदै आएका श्रेष्ठले विभाग कहिल्यै नसुध्रिएको बताए । उनले भने, ‘यहाँ आउँदा प्रत्येक पटक पैसा दिएको छु । कहिल्यै सुध्रिएन यो कार्यालय ।’ प्रविन थपलिया ट्याक्सीको मिटर जाँच्न विभाग पुगे । उनलाई विभागको अवस्थाबारे पूर्वजानकारी थियो । उनले विहानै खुद्रा पैसा स्टेरिङ छेउको सानो डिकीमा हाले । अपशोष ! मिटर रिड नगरेका कारण उनको काम बनेन । उनले भने, ‘आज पैसा चढाउनु परेन । अब अर्को पटक आउँदा चढाउनुपर्छ ।’ -अन्नपुर्ण पाेष्टबाट विभागका महानिर्देशक विश्ववावु पुडासैनीले घुस माग्ने कर्मचारीलाई तुरुन्तै बोलाएर स्पष्टिकरण लिइने बताए । उनले भने, ‘अहिले तुरुन्तै बोलाएर स्पष्टिकरण लिन्छु । कार्यालयमा यस्तो काम गर्न छुट छैन । पहिला पनि कारबाही गरिसकेका छौं ।’
राष्ट्रिय एकता र जनतामा आपसी सद्भाव समृद्ध राष्ट्रको पहिलो सर्त : प्रचण्ड
काठमाडौँ, पुस १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सांस्कृतिक विविधता नै नेपालको मौलिकता रहेको बताएका छन्। गुरुङ समुदायले मनाउने तमु ल्होसारको उपलक्ष्यमा अध्यक्ष दाहालले आज एक शुभकामना सन्देश दिँदै यस सांस्कृतिक पर्वले सम्पूर्ण नेपालीमा सहिष्णुता, भातृत्व, आपसी प्रेम र एकताको भावना विकास गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले मजबुत राष्ट्रिय एकताले नै समृद्ध नेपाल निर्माणको सपना पूरा हुनसक्ने भन्दै राष्ट्रिय एकता र जनतामा आपसी सद्भाव समृद्ध राष्ट्रको पहिलो सर्त भएको बताए । उनले तमु ल्होसारले नेपाली जनसमुदायमा सामाजिक एकता र बन्धुत्वको भावना विकास गर्न सकोस् भन्ने कामना समेत गरेका छन् । किन मनाइन्छ तमु ल्होसार ? तमु अर्थात गुरुङ भाषामा ल्होछार भनिने यस चाडलाई गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने पर्वका रुपमा मनाउने गर्दछन् । गुरुङ भाषामा ल्होको अर्थ वर्ष र छारको अर्थ नयाँ हो । यसरी नयाँ वर्षको रूपमा तमु समुदायमा यस वर्षलाई मृग वर्षको रूपमा मनाइंदैछ । तमु ज्योतिष अनुसार १२ वर्षचक्र अर्थात ल्होकोरमा १२ वर्षलाई विभिन्न पशुपक्षीहरूको नाम दिइएको छ । आज देखि कुकुर वर्ष सिद्धिएर मृग वर्ष सुरु भएको तमु संस्कृतिका जानकारहरू बताउँछन् । यस दिन तमुहरू आपासमा शुभकामना आदानप्रदान गर्दै आफूभन्दा ठूला अभिभावक, गुरु र मान्यजनबाट आशीर्वाद थाप्दै रिपु (बेसार रंगाएको पहेंलो धागो) गाँठो पारेर लगाउँछन् । साथै साथीसंगीबीच नाचगान गरी मनोरञ्जन गर्छन् । यस दिनको सांस्कृतिक र धार्मिक महत्व रहेको छ ।
चकलेट र पैसा दिएर १३ बर्षकी दृष्टिविहिन बालिकाको शिक्षकद्वारा नै बलात्कार, नन्दाले खोलिन रहस्य
काठमाडौं, पुस १५ । कालिकोटमा जन्मिएकी नन्दासिंह हाल कपनमा बस्दै आएकी छिन् । उनी दिष्टि विहिन महिला हुन् तर जन्मजात नै दृष्टिविहिन भने होइनन् । अरुलाई अन्याय र अत्याचार भएको देख्न नसक्ने नन्दा एक समाजसेवी पनि हुन्। समाजसेवी नन्दाको जीवनमा धेरै यस्ता घटना घटेका छन् जुन सुन्दा काल्पनिक जस्तो लाग्ला तर यो उनको यथार्थ घटना हो । उनी ३ वर्षको उमेर हुँदा ६ महिनासम्म झाडापखाला लाग्दा पनि उनलाई अस्पताल लगिएन । उनी झन्झनै शिथिल हुँदै गइन् । उनको अन्तिम अवस्था भइसकेको थियो । अब छोरी मरिसकी भनेर उनका बुबाआमाले उनलाई गाड्न भनेर सेतो कपडाले बेरेर राखे । करिब ४ बजेतिर उनलाई मरेको सोचेर सेतो कपडाले बाँधेर राखिएको थियो । उनको संस्कार अनुसार बच्चालाई बिहानपखमात्र दाहसंस्कार गर्नुपर्ने भएकोले । त्यो रात त्यसै राखियो । रातको करिब १ बजेतिर उनी ब्युझिन् । उनले पुनर्जीवन पाइन् । उनको श्वास त फिर्ता आयो तर ज्योति भने गुम्यो । उनी दृष्टिबिहिन भइ न्। आखा नदेख्ने भएकोले पनि उनलाई घरमा राम्रो व्यवहार गरिएन । घरपरिवारले गरेको व्यवहारबाट आजित भएर उनी पढ्न काठमाडौँ आइन् । केही समय बित्दै गएपछि उनलाई हिडडुल गर्न, ठाउँ ठम्माउन सजिलो हुँदै गयो । काठमाडौँ जस्तो ठाउँमा बस्न आफ्नो कमाई हुने पर्यो । महंगीको शहरमा बाच्न पढ्दै उनले काम पनि गरिन् । ओम हस्पिटलमा उनी रिसेप्सनिष्टको रुपमा कार्यरत रहिन् । हाल उनी सामाजिक कार्यमा सक्रिय छिन्। आफु नदेख्ने भएता पनि नदेख्नेका बालबच्चा, टुहुराहरुको शाहारा बनेर उनले हाल ७ जना बच्चालाई आश्रय दिइरहेकी छिन् । उनले कत्ति बालबालिकालाई विद्यालयमा भनसुन गरेर निःशुल्क पढाउन सहयोग गरेकी छिन् । आफ्नो गाउँमा बालविवाहदेखि अन्याय अत्याचार भएको ठाउँमा आवाज उठाउन समेत उनी पछि पर्दिनन् । ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था दर्ता गरेर उनी सामाजिक कार्यमा सक्रिय छिन् । उनी अहिले आफ्नो आँखाको उपचार गराईरहेकी छिन् । डाक्टरले उनलाई यस उपचारबाट आखाँ देख्न सक्ने सम्भावना रहने बताएका थिए । उनले कुराकानीको क्रममा उनी बसेको पहिलाको होस्टेलमा एक बालिकालाई आफ्नै शिक्षकले बलात्कार गरेको खुलासा गरिन। उनको अनुसार ती पिडित बालिका भर्खरै १४ वर्षे लागिन। शिक्षक र बालिका नै दृष्टिविहिन नै थिए। नन्दाले घटना भएको उनले १ वर्ष पछिमात्रै थाहा पाइन् । त्यसपछि आवाज उठाइन तर सबैले मिलेर घटनालाई लुकाउन खोजेका थिए । कसैले साथ दिएनन् । उनले हिम्मत नहारी संस्थाको मद्दतबाट दोषीलाई हिरासतमा राख्न सफल भएकी छिन् । ती १४ वर्षिया बालिकालाई अहिले काउन्सलिङ्ग भइरहेको बताइन् ।
ताेलामा कतिले कारोबार भइरहेको छ सुनचाँदी ?
काठमाडौं, पुस १० । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । मंगलबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ५९ हजार ४०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ५९ हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ । बुधबार बजारमा चाँदीको मूल्यमा पाँच रुपैयाँले बढेको छ । मगलबार चाँदीको मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ७ सय २५ रुपैयाँमै कारोबारमा भइरहेको छ ।
प्रचण्ड भन्छन्, ‘राज्यले कुनै धर्मलाई काखी च्याप्नु हुँदैन’
चितवन, पुस १० । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यले कुनै धर्म विशेषलाई काखी च्यापेर कुनैलाई निषेध गर्ने नीति लिन नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी चितवनले मंगलबार यहाँ आयोजना गरेको पार्टी नेता सूर्य पथिक र विश्वप्रकाश सुवेदीका आमा धनकुमारी सुवेदीको शोकसभालाई सम्बोधन गर्दै संविधान बनाउँदा धार्मिक स्वतन्त्रतालाई सम्मान गर्ने कुरा गरेको बताए । राज्यले सबै धर्मप्रति आस्था राख्ने जनतालाई समान व्यवहार गर्नुपर्ने भन्दै उनले भने, “कम्युनिष्ट पार्टीका नेता पुष्पलालको कुरा गरौं या नेपाली काङ्ग्रेसका बिपीको उहाँहरु संस्कार विरुद्ध, एउटा वैज्ञानिक मान्यता, अन्धविश्वासका निमित्त वैज्ञानिक धारणा स्थापित गर्न लागेका छन् ।” जनताको आस्थालाई अपमान गर्ने कसैको पनि मान्यता नभएको भन्दै अध्यक्ष दाहालले जनताको आस्थालाई सम्मान गर्नुपर्ने बताए । उनले भने, “तर राज्य ती विविध आस्थाप्रति निरपेक्ष रहनुपर्दछ, राज्यले भेदभाव गर्नु हुँदैन भन्ने लोकतन्त्रको आधारभूत कुरा हो ।” शिक्षा, स्वास्थ्य र रोजगारीलाई जनताको मौलिक अधिकारको रुपमा संविधानमा परिभाषित भएको भन्दै उनले भने, “तर पनि हामीले विकट ठाउँमा उपचारको अभावमा सामान्य भन्दा सामान्य उपचार पनि नपाएर मृत्युवरण गर्नुपर्ने परिघटना अहिले पनि छ ।” कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले समाजमा बुढेसकालका मानिसको व्यवस्थापन चुनौती बन्दै गएको बताए । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेता पथिक, ईश्वरी भट्टराई र कृष्ण खनाल लगायतले बोलेका थिए । धनकुमारी सुवेदीको श्रीमान्, दुई छोरा र तीन छोरी रहेका छन् । उनको १२औँं दिनको पुण्य तिथिमा कार्यक्रम आयोजना गरिएको हो । रासस
पाँच जिल्लाको प्राथमिक तहको ‘रि काउन्ट’ नतिजा सार्वजनिक [नामसहित]
काठमाडौं, पुष ७ । शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकको विभिन्न जिल्लाको लिखित परीक्षाको पुनर्याेग नतिजा सार्वजनिक गरेको छ । उसले शुक्रबार तेह्रथुम, दार्चुला, अछाम, कंचनपुर, डडेल्धुरा जिल्लाको प्राथमिक तहको लिखित परीक्षाको पुनर्याेग नतिजा सार्वजनिक गरेको हो । हेर्नस् नतिजा–