नगरपालिकाले पायाे विमानस्थलको सम्पूर्ण जिम्मेवारी
धनगढी, जेठ ४ । कैलालीको टीकापुरस्थित विमानस्थलको सम्पूर्ण जिम्मेवारी टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिने भएको छ । विमानस्थल अध्ययन, निर्माण तथा सञ्चालन समितिको मातहतमा रहेको विमानस्थलको जिम्मा नगरपालिकालाई दिने निर्णय गरिएको हो । वि.सं २०६७ देखि मुक्त कमैया र सुकुम्बासीले अतित्रमण गरी बसोबास गर्दै आएको सो विमानस्थलको जग्गा खाली गराई विमानस्थलको अध्ययन, निर्माण तथा सञ्चालनको लागि सर्वदलीय सर्वपक्षीय झेलाबाट समिति गठन गरिएको थियो।
यसअघि वि.सं २०६१ मा मुक्त कमैया र सुकुम्बासीले विमानस्थलको जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका थिए। वि.सं २०६७ मा विमानस्थल खाली गराउन गठन गरिएको टीकापुर विमानस्थल अध्यन, निर्माण तथा सञ्चालन समितिले सबै काम कारवाही टीकापुर नगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको छ। समितिले विमानस्थलको नाममा रहेको आर्थिक, भौतिकलगायत जिम्मेवारी नगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरेको छ।
स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि सार्वजनिक क्षेत्रको विकास र जिम्मेवारी लिनुपर्ने भन्दै विमानस्थलको सबै जिम्मेवारी नगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गरिएको समितिका कोषाध्यक्ष बखतबहादुर विष्टले बताए। टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्रबहदुर रावलले विमानस्थलको बारेमा आफूहरू चिन्तित भएको बताए।
“वैकल्पिक उपायको खोजी गरी विमानस्थल सञ्चालन गर्नुपर्छ”, उनले भने। त्यतिबेला समितिले मालपोत कार्यालय टीकापुरबाट जग्गा रजिष्ट्रेसन पास हुँदा कारोवार मूल्यको नगरपालिका क्षेत्रबाट एक प्रतिशत र साविकको गाविसबाट ० दशमलव ५ प्रतिशतका दरले रकम संकलन गरिएको थियो । वि.सं २०६७ मा नगरपालिका क्षेत्रबाट २१ लाख १८ हजार, साविका गाविसबाट १२ लाख ७७ हजार र विभिन्न व्यक्ति तथा संघसंस्थाबाट तीन लाख ३६ हजार रुपैयाँ संकलन भएको थियो। विसं २०६८ साउनदेखि रकम संकलन बन्द गर्ने निर्णय गरिएको समितिका सचिव मातृका तिमिल्सिनाले बताए।
हाल समितिको विभिन्न बैंक खातामा ३५ लाख ९० हजार मौज्दात छ। करीब आठ वर्षसम्म विमानस्थल अध्ययन, निर्माण तथा सञ्चालन समितिले अध्यन र निर्माणको काम गरे पनि सञ्चालन गर्न भने सफल हुन सकेन। “विमानस्थल सञ्चालनका लागि धेरै प्रयास गर्यौँ”, समितिका अध्यक्ष टीकाराम जैशीले भने। विमानस्थल खाली गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल मर्मत, सम्भार र अध्ययनका लागि रु दुई करोड उपलब्ध गराएको उनले बताए।
विमानस्थलको धावन मार्ग बढाउन सरकारले रु १२ करोड बजेट विनियोजन गरेको थियो। गर्न २८ करोड खर्च हुने भएपछि विमानस्थल सञ्चालन गर्न समस्या भएको समितिका सचिव तिमिल्सिना बताउँछन्। यसअघि ४०३ परिवार विमानस्थल अतिक्रमण गरी बसेका थिए। धावन मार्ग छोटो भएकाले जहाज अवतरण गर्न समस्या भएपछि विमानस्थल सञ्चालन गर्न समस्या भएको हो। रासस
‘अन्तिम पटक पाइलटले बाक्लो हिउँ परेको जानकारी गराएका थिए’
काठमाडौं, फागुन १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु हुने गरी ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकप्टर दुघर्टना भएको छ । बाक्लो हिमपातका कारण हेलिकप्टर दुघर्टना भएको हुन सक्ने त्रिभुवन विमानस्थल कार्यालयले अनुमान गरेको छ । विमानस्थलमा भएको पत्रकार सम्मेलनमा प्रवक्ता प्रतापबाबु तिवारीले भने, ‘पाइलटले टावरलाई अन्तिम पटक भारी हिमपात भएको जानकारी दिएका थिए, अहिलेलाई हामीले पाएको जानकारी त्यही हो ।’ दुर्घटनामा ज्यान गुमाएकाको शव ल्याउनको लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ लागेको पनि उनले जानकारी दिए। दुर्घटनामा को–को परे ? रविन्द्र अधिकारीः मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन आङछिरिङ शेर्पाः अध्यक्ष यति एयरलाइन्स वीरेन्द्रप्रसाद श्रेष्ठ उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण अर्जुनकुमार घिमिरेः मन्त्री अधिकारीका पिएसाे युवराज दाहालः प्रधानमन्त्री कार्यालयका सल्लाहकार धुब्रदास भोछिभयाः इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण हेलिकप्टर क्याप्टेनः प्रभाकर केसी
स्वर्ण महोत्सव शुरु
भद्रपुर, माघ २७ । श्री कृष्णप्रणामी मन्दिर धुलावारीको स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा आयोजित वृहत धार्मिक स्वर्ण महोत्सव शनिबारदेखि यहाँ शुरु भएको छ । पचास वर्षअघि श्री १०८ मङ्गलदासले झापा आएर धुलावारी, चन्द्रगढी, बुधबारे र शनिश्चरेमा चार मन्दिर स्थापना गरेका थिए । श्री कृष्णप्रणामी धर्मावलम्बीले अपार श्रद्धा गर्ने मंगलदास महाराज झापा आएको र मन्दिर स्थापना भएको ५० वर्ष पुगेको अवसरमा धुलाबारीको मन्दिरले स्वर्ण महोत्सव मनाएको हो । उद्घाटन समारोह शुरु हुनुअघि धुलाबारी बजारमा रथ परिक्रममासहित शोभायात्रा गरिएको थियो । प्रणामी धर्मबाहेक अन्य धर्मावलम्बीसमेत शोभायात्रामा आ–आफ्ना ब्यानरसहित उपस्थित भएका थिए। श्री कृष्णप्रणामी धर्मको सर्वोत्तम ग्रन्थ तारतम्सागर पारायणको प्रारम्भ गर्दै बौद्धिक धर्मगुरु एवं मङ्गलधाम कालिम्पोङका प्रमुख श्री १०८ मोहन प्रियाचार्यले जीवनलाई सकारात्मक सोचतिर डोर्याउन धर्मको जरुरत हुने चर्चा गरे । सभामा आशीर्वचन दिँदै करनाल भारतका श्री १०८ जगतराजले हिंसा र मांसाहारका कारण मान्छे पशुभन्दा पनि तल्लो स्तरमा गिर्दै गएको बताए । नवतन धाम काठमाडौंका श्री १०८ अमृतराजले महामति प्राणनाथजीले ४०० वर्षअघि नै मानवलाई सुखी, स्वस्थ र आनन्दित बनाउन ज्ञान र दर्शनको अभूतपूर्व खोज गरेको चर्चा गरे । भारत चण्डीगढका श्री १०८ श्यामानन्दले माछा, मासु, मदिरा र तम्बाकु त्याग्न आह्वान गर्दै नेपालमा प्रणानाथजीको सन्देश फैलाउन रथयात्रा शुरु भएको उद्घोष गरे । सो महोत्सव फागुन ३ गते समापन हुने छ । महोत्सव अवधिभर श्रीमत्तारतम १०८ पाठ पारायण हुनेछ भने भागवतविद् पं.लीलारस सागरबाट श्रीमद्भागवतको श्रीकृष्ण कथावाचन हुने महोत्सव आयोजक समितिका अध्यक्ष गोपाल सापकोटाले बताए । रासस
अन्ततः पारित भयो चिकित्सा शिक्षा विधेयक, के के छन् त नयाँ व्यवस्था ?
चिकित्सा शिक्षा विधेयक समितिद्वारा पारित काठमाडौँ, पुस २५ गते । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकले बहुमतबाट पारित गरेको छ । समितिका उपस्थित १८ सदस्यमध्ये १४ जना सदस्य विधेयकको पक्षमा र बाँकी चार जना विपक्षमा रहेका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सदस्यले विधेयकको विपक्षमा आफ्नो मत राख्नुभएको थियो । सङ्घीय संसद्, प्रतिनिधिसभा नियमावली २०७५ को १८१ धाराअनुसार समितिको बैठकले बहुमतका आधारमा विधेयक पारित गरेको थियो । समितिका सदस्य भैरवबहादुर सिंहको संयोजकत्वमा गठित उपसमितिले तयार पारेको सो विधेयकका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनलाई समितिका सभापति जयपुरी घर्तीले बैठकमा निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । यसअघि समितिको बैठकमा शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकार र डा गोविन्द केसीका बीच विगतमा भएका सहमतिका भावनाअनुरुप विधेयक बन्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताउनुभयो । उहाँले विधेयकका प्रस्तावलगायत लेखनका विषयवस्तु कानून मन्त्रालयले मिलाउने उल्लेख गर्दै विधेयकमा प्रस्तावित चिकित्सा शिक्षा आयोगले चिकित्सा क्षेत्रका समस्या समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो । समितिका सदस्य योगेश भट्टराईले सरकार र डा गोविन्द केसीका बीच भएका सहमतिका भावना र संसद्को सर्वाेच्चतालाई ध्यानमा दिई विधेयक आएको जानकारी दिँदै विधेयकलाई डा केसीले स्वीकार गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “संसद्बाट डा केसीको जित भएको छ । उहाँले विधेयकलाई स्वीकार गर्नुपर्छ ।” समितिको बैठकमा फरक मत प्रस्तुत गर्दै समितिका सदस्य गगनकुमार थापाले सरकार र डा गोविन्द केसीका बीच भएका सहमति विपरीत विधेयक समितिको बैठकबाट बहुमतका आधारमा पारित हुनु अन्यन्त दुःखद् हो भन्नुभयो । समितिका अर्का सदस्य उमाकान्त चौधरीले सरकार र डा गोविन्द केसीका बीच भएका सहमति विपरीत विधेयक आउनु दुःखद् रहेको उल्लेख गर्नुभयो । विधेयक प्रतिवेदनमा के छ त ? काठमाडाँै उपत्यकाभित्र दश वर्षसम्म मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्न शिक्षण संस्था स्थापना र सञ्चालन गर्न आशयपत्र नदिइने, चिकित्सा शिक्षा अध्ययन गर्न केन्द्रीय प्रवेश परीक्षा उत्तीर्ण हुनुपर्ने, छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले दुईवर्ष सरकारी सेवा अनिवार्य गर्नुपर्ने रहेका छन् । एउटा विश्वविद्यालयले चिकित्सा शिक्षा अध्ययनका लागि पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन नदिइने तर सम्बन्धन प्राप्त गरिसकेका, मापदण्डसमेत पूरा गरिसकेका कलेजलाई राष्ट्रिय चिकित्सा शिक्षा आयोगले निर्णय लिने पारित विधेयकमा रहेको छ । विद्यार्थीको पढाइ र अभ्यासको लागि मेडिकलतर्फ कम्तीमा ३०० तथा डेण्टल र नर्सिङतर्फ १०० श्ययाको अस्पताल सञ्चालन नभएसम्म शिक्षण संस्थालाई आशयपत्र नदिने, राष्ट्रिय चिकित्सा शिक्षा आयोगले सङ्घ तथा प्रदेश तहका चिकित्सा शिक्षाको सबै तह तथा विधाको मापदण्ड र स्तर निर्धारणसम्बन्धी नीति तथा मापदण्ड निर्धारण गर्ने, चिकित्सा शिक्षाको विषयमा विश्वविद्यालय, प्रतिष्ठान र परिषद्लाई आवश्यकताअनुसार निर्देशन दिने विधेयक प्रतिवेदनमा रहेको छ । प्राविधि शिक्षा तथा व्यावसायिक तालीम परिषद्अन्तर्गतका प्रमाणपत्र तहका कार्यक्रम राष्ट्रिय चिकित्सा शिक्षा आयोगले तोकेको निकायले गर्ने, सार्वजनिक शिक्षण संस्थाले स्नातक तहको कार्यक्रममा उपलब्ध सिट सङ्ख्याको कम्तीमा ५० प्रतिशत सिट निःशुल्क व्यवस्था गर्नुपर्ने, चिकित्सा शिक्षा अध्ययन अध्यापन गर्न गराउन एक चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना र सञ्चालन गर्ने तथा चिकित्सासम्बन्धी शिक्षण संस्था क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थाका रुपमा रहने विधेयक प्रतिवेदनमा रहेको छ । (रासस)
सवारीकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
दाङ, पुस २५ । घोराही उपमहानगरपालिका–४ सवारीकोटबाट दाउरा बोकेर लक्ष्मीपुरतर्फ जाँदै गरेको रा१त १२४५ नंको ट्याक्टर गएराति सवारीकोट नजिकै दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेका अनुसार मृत्यु हुनेमा ट्याक्टर चालक प्यूठान नौबहिनी गाउँपालिका स्याउलीवाङका २२ वर्षीय रामु बुढा रहेका छन् । बुढाको घटनास्थलमै मृत्यु भएको हो । उनको शव परीक्षणका लागि राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा राखिएको छ । रासस
सामाजिक सञ्जालले बढायो मानसिक तनाव, शैक्षिक गुणस्तरमा ५० प्रतिशत ह्रास
वासिङ्टन डिसी, पुस २५ । सामाजिक सञ्जालबाट किशोर भन्दा किशोरीहरु बढी प्रभावित भएको एक अध्ययनले देखाएको छ। आफ्ना साथीहरूसँग सम्पर्कमा रहन र सिक्नका लागि सामाजिक सञ्जाल सहयोगी भए पनि किशोरकिशोरीहरूमा नकारात्मक प्रभाव पारेको पाइएको छ। लण्डन विश्वविद्यालयका विद्यार्थीहरूले गरेको सो अध्ययन ुइक्लिनिकल मेडिसिनु नामक जर्नलमा प्रकाशित भएको छ। अध्ययनका अनुसार झण्डै १४ वर्षको उमेरका किशोरीहरूलाई सामाजिक सञ्जालको प्रयोगले बढी मानसिक तनाब बढाउने गरेको छ। प्रति दिन झण्डै पाँच घण्टा सामाजिक सञ्जाल प्रयोग गर्ने किशोरीहरूको शैक्षिक गुणस्तरमा ५० प्रतिशत ह्रास आएको पाइएको छ भने किशोरहरुको शैक्षिक गुणस्तरमा ३५ प्रतिशत ह्रास आएको छ। तुलनात्मक रुपमा दैनिक एक देखि तीन घण्टा सामाजिक सञ्जाल प्रयोग गर्नेहरूको पढाइमा भने सुधार आएको पाइएको अध्ययनले देखाएको छ। ‘हामीले एउटा खतरनाक तथ्य फेला पार्यौँ, सुरुमा त पत्याउन पनि गाह्रो भयो, त्यो यही थियो की, सामाजिक सञ्जालको प्रयोगले छोराहरूलाई भन्दा छोरीहरुलाई बढी असर गरेको पाइयो’ अध्ययनका प्रमुख लेखक एभन केल्लीले भने । यस अध्ययनले सामाजिक सञ्जालको प्रयोग र मानसिक तनावको सम्वन्धलाई पनि देखाएको छ। सामाजिक सञ्जालमा धेरै भुल्नेहरूमा मानसिक तनावको संकेत बढी देखिएको अध्ययनले पुष्टि गरेको छ। सामाजिक सञ्जाल प्रयोग गर्नेहरू धेरै तनावपूर्ण, अशान्त र एक्लोपन अनुभव गर्ने गरेको पाइएको छ। अध्ययनले सामाजिक सञ्जालको प्रयोग गर्नेहरू कम सुत्ने, इन्टरनेटमार्फत् हुने दुर्व्यवहारमा पर्ने लगायतका समस्या पनि देखिने गरेको अध्ययनकर्ताहरूले बताएका छन् । रासस
११ लाख खर्च, फुटेन अामाकाे बाेली
काठमाडौं : पाटन अस्पतालको वेड नम्बर २५९ मा पल्टिरहेकी लालमाया तामाङलाई छोरा दाबा थिङ सोध्छन्, ‘कस्तो छ आमा ?’ उनी हेर्छिन् अनि ओठ चलाउँछिन्। तर, बोल्न सक्दिनन्। आमाको बोली सुन्न उनले विभिन्न अस्पतालमा एघार लाख भन्दा बढी खर्च गरिसके । तर, आमाको अवस्था उस्तै छ। आमाले स्वर सुन्ने आशमा उनी व्याकुल छन्। मकवानपुर बकैया गाउँपालिका ९ की तामाङको अवस्थाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक एवं नर्सलाई पनि भावुक बनाएको छ। टाइफाइडपछिको व्यथा पहिलो दिन बंगुरको मासु र मकैको ढिंडो खाइन्। भोलिपल्ट खसीको मासु र ढिंडो। त्यसको दुई दिनपछि सुरुमा टाउको दुख्यो। विस्तारै ज्वरो आउन थाल्यो। सामान्य उपचारपछि एक सातासम्म टाइफाइडको औषधि खाइन्। त्यसको केही महिनापछि डेरामा आराम गरिरहेको बेला अचानक बान्ता भयो। जे खाए पनि बान्ता हुन थालेपछि उनलाई असार १९ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइयो। रगत, दिसा, पिसाब र भिडियो एक्सरे भयो। आवश्यक जाँचपछि चिकित्सकले सामान्य समस्या हो भन्दै घर पठाइदिए। साउन ३ गते लालमायालाई समस्या दोहोरियो। बान्ता हुने क्रम फेरि सुरु भयो। साउन १७ गते आनन्द वन अस्पताल ललितपुर लगियो। असोज १ गते धापाखेलस्थित फेमिली केयर अस्पताल ललितपुरमा ल्याइयो। पाँच दिन राखियो। चिकित्सकले थप उपचारका लागि शिक्षण अस्पताल महाराजगन्जमा रेफर गरे। असोज ११ गते शिक्षण अस्पताल ल्याइयो। त्यहाँबाट भेनस अस्पताल काठमाडौं पुर्याइयो। सरकारी र निजी अस्पतालमा परीक्षण गराउँदा गराउँदै लाखौं खर्च भयो। रोगले भने छोडेन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुराइयो। लालमायालाई सरुवा रोग नभएकोले जनाउँदै रेफर गरियो। त्यसपछि गत भदौ २४ गते पुनःपाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा ल्याइयो। अहिले उपचार जारी छ। यो अवधिसम्म उपचारका क्रममा ११ लाख भन्दा बढी खर्च भइसकेको छोरा दावा थिङले बताए। खर्च जुटाउन सकस उपचारका क्रममा एघार लाख खर्च भइसक्यो। जसमध्ये सात लाख ऋण छ। दैनिक उपचार खर्च जुटाउन सकस भएपछि बकैया गाउँपालिका वडा ९ वडा कार्यालयले जीवन रक्षाका लागि सहयोग गर्न अपील गरेको छ। लालमायाका जेठा छोरा दावा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म कान्तिपुर सिटी कलेजमा डिउटी गर्छन्। त्यसबाहेक अन्य समय उनी आमाको हेरविचारमा खटिन्छन्। आमाको अवस्था थाहा पाएपछि कान्छा छोरा पासाङ थिङ दुबईबाट फर्किएका छन्। तर आमाको अवस्था देख्ने वित्तिकै उनको आँखाबाट आँसु झर्न थाल्छ। ‘भाइ आउँछ तर आमालाई देखेपछि आँखाभरी आँसु पार्छ। भाइको आँखामा आँसु देख्न सक्दिन। डेरामा जान भन्छु। राति डिउटीमा गएको राति बुवाले स्याहार गर्नुहुन्छ’, दावाले भने। ५८ वर्षीय लालबहादुर पत्नीको बोली सुन्न आतुर छन्। रातभर आँखा नझिम्काएर हेरिरहन्छन्। पत्नी बोल्छे की भन्ने आश छ। मेनेन्जाइटिसको असर उपचारमा संलग्न चिकित्सकका अनुसार, मेनेन्जाइटिसको असरले गर्दा लालमायाको मस्तिष्कमा असर गरेको हो। ‘मस्तिष्कमा रहेको कोषिका मरेको छ रे। त्यही मरेकोले गर्दा यो समस्या भएको हो’, उपचारमा संलग्न चिकित्सकको भनाइ उद्धृत गर्दै दावाले भने। अब नौदेखि १८ महिनासम्म उपचार गर्न सके निको हुने चिकित्सकले बताएका छन्। चिकित्सकले आश देखाएकाले उनीहरु उपचारमा सक्रिय छन्। पत्नीको अवस्थाले चिन्तित देखिएका लालबहादुर भन्छन, ‘खर्च थेग्नै धौ धौ भएको छ। मनकारी व्यक्तिले सहयोग गरे उपचार गर्न सकिन्थ्यो। अस्पतालबाट निको बनाएर घर लैजाने मन छ।’ याे समाचार अन्नपुर्ण पाेष्टमा प्रकाशित छ ।
धर्ममा राज्य विभेदकारी हुनुहुँदैन : मन्त्री रावल
सुर्खेत, पुस १८ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले धर्ममा राज्य विभेदकारी हुन नहुने बताएका छन् । ख्रीष्टमस तथा नयाँ वर्ष २०१९ को शुभारम्भ अवसरमा इसाइ समाज, सुर्खेतद्वारा यहाँ आयोजित ‘शुभकामना आदानप्रदन’ कार्यक्रममा मन्त्री रावलले मुलुकमा सबै धर्मको अधिकार समान रहेको बताए । “राज्य सबै धर्म, जाति, भाषिक, वर्ग, लिङ्ग, उत्पीडित, उपेक्षित, अल्पसङ्ख्यक र सीमान्तकृतको अभिभावक हो”, उजले भने, “सबैलाई समान ढङ्गले संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नुपर्छ ।” कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्टले राज्यको कुनै धर्म नहुने तर्क गरे । प्रदेशसभा सदस्य सीता नेपाली र प्रदेशसभा सदस्य राजु गुइदेलले मुलुक सङ्घीय संरचनामा गइसकेकाले सबै नेपालीका अधिकार संस्थागत गर्न सकिए मात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान पूरा हुने बताए । इसाइ समाज केन्द्रीय समितिका महासचिव डिल्लीराम पौडेलले मानिसको भित्री परिवर्तनले मात्र देशको परिवर्तन सम्भव रहेको बताए । राप्रपाका कर्णाली प्रदेश प्रमुख जनकसिंह ठकुरीले मुलुकमा सबै धर्म बराबर भएको बताए । रासस
यसरी पाईलैपिच्छे घुस लिइन्छ गुणस्तर तथा नापतौल विभागमा
काठमाडौं माछापोखरीस्थित नेपाल गुणस्तर तथा नापतौल विभाग पस्ने वित्तिकै देखिन्छ आकर्षक नारा । लेखिएको छ– गुणस्तरीयता, सन्तुष्टि, सुरक्षा र विश्वसनीयता । तर, विभागका कर्मचारीले मापन गरेवापत खुलमखुला घुस लिने गरेका छन् । याे समाचार अाजकाे अन्नपुर्ण दैनिकबाट लिईएकाे हाे । आइतबार विहान ११ :२० बजे ट्याक्सीको मिटरमा सिल लगाइदिने कर्मचारीले चालकसँग घुस मागे । सरकारी पोषक लगाएका ती कर्मचारीले भने, ‘चिया खर्च दिनुस् ।’ चालक अनकनाए । कमाइ नभएको भन्दै गुनासो गरे । तर ती कर्मचारीले चालकलाई छाड्दै छाडेनन् । चालकले ५० रुपैयाँ थमाएपछि बल्ल छाडे । ती चालक विभागभित्र काम सकाएर गेटतर्फ मोडिए । गेट नजिकै पुगे तर गेट खोलिएन । गेटमा बस्ने कर्मचारी उनको नजिक आए । अनि हाकाकाकी भने, ‘चिया खर्च दिनुस् पहिला ।’ चालकले पहिल्यै ५० रुपैयाँ बुझाइसकेको बताए । विहानैदेखि एकसुको कमाइ नभएको भन्दै गुनासो गरे । तर गेट खुल्दै खुलेन । कर्मचारी भन्दै थिए, ‘हामीलाई पनि हेर्नुपर्यो नि ।’ गेट खुलेन । चालकले एकसयको नोट निकालेर कर्मचारीको हातमा थमाइदिए । बल्ल गेट खुल्यो । ‘मनपरी हुन्छ यहाँ । पाइलैबिच्चै घुस खुवाउँनुपर्छ ।’ चालक रिसाउँदै गोंगबुतर्फ लागे । मिटर चेक गर्ने ठाउँ नजिकै कसैलाई जान दिइदैन । नजिकै गयो भने झपारेर पठाइन्छ । भित्तामा सुचना टाँसिएको छ, ‘ट्याक्सीमा एकजना मात्रै चढ्नु होला ।’ मिटर जाँच गरिसकेपछि मास्क लगाएका ती कर्मचारीले भन्छन्, ‘यसो बिचार गर्नुस है ।’ एकजना ट्याक्सी चालकले भने ‘मिटर चेक गर्ने ठाउँमा हावा कम छ भनेर ५० रुपैया माग्यो । मैले दिएँ ।’ उनी रिसाउँदै बाहिरिए । जता गयो उतै माग्छन् दिउँसो ११ :१५ देखि १२ :१५ सम्म विभागमा जम्मा २५ वटा ट्याक्सी भित्रिए । यही अवधिमा २० ट्याक्सी गेटबाट बाहिरिए । बाहिरिने मध्ये १७ वटाले आफ्नो काम बनेको बताए । तीमध्ये १२ वटा ट्याक्सी चालकले गेटका कर्मचारीलाई १० रुपैयाँदेखि १ सय रुपैयाँसम्म घुस दिएर गए । कर्मचारीले सिधै घुस मागे पनि ५ ट्याक्सी चालकले भने दिएनन् । कोही बिहानदेखि कमाइ नभएको भन्दै झर्किँदै गए । कोही ‘सरकारले दिन्छ । हामीसँग किन माग्या ? ’ भन्दै थर्काएर गए । गेटमा बस्ने कर्मचारीको घुस माग्ने तरिका अचम्मको थियो । ट्याक्सी हुँइकिएर गेटमा आइपुग्थ्यो । कर्मचारी गेटको एउटा ढोका बन्द राखेर ट्याक्सीलाई रोक्थे । जबसम्म ती कर्मचारीलाई चालकले पैसा थमाइदिँदैन थिए, तबसम्म गेट बन्द हुन्थ्यो । रुपैयाँ हात परेपछि ढोका खुल्थ्यो । ट्याक्सी चालक जगत श्रेष्ठले ती कर्मचारीलाई २० रुपैयाँ थमाएर बाहिरिए । उनी भन्दै थिए, ‘गेटमा बस्ने, मिटर जाँच्ने, सिल मार्ने जहाँसुकै बस्नेले सिधै घुस माग्छ ।’ अढाइ दशकदेखि टेम्पो र ट्याक्सी चलाउँदै आएका श्रेष्ठले विभाग कहिल्यै नसुध्रिएको बताए । उनले भने, ‘यहाँ आउँदा प्रत्येक पटक पैसा दिएको छु । कहिल्यै सुध्रिएन यो कार्यालय ।’ प्रविन थपलिया ट्याक्सीको मिटर जाँच्न विभाग पुगे । उनलाई विभागको अवस्थाबारे पूर्वजानकारी थियो । उनले विहानै खुद्रा पैसा स्टेरिङ छेउको सानो डिकीमा हाले । अपशोष ! मिटर रिड नगरेका कारण उनको काम बनेन । उनले भने, ‘आज पैसा चढाउनु परेन । अब अर्को पटक आउँदा चढाउनुपर्छ ।’ -अन्नपुर्ण पाेष्टबाट विभागका महानिर्देशक विश्ववावु पुडासैनीले घुस माग्ने कर्मचारीलाई तुरुन्तै बोलाएर स्पष्टिकरण लिइने बताए । उनले भने, ‘अहिले तुरुन्तै बोलाएर स्पष्टिकरण लिन्छु । कार्यालयमा यस्तो काम गर्न छुट छैन । पहिला पनि कारबाही गरिसकेका छौं ।’
राष्ट्रिय एकता र जनतामा आपसी सद्भाव समृद्ध राष्ट्रको पहिलो सर्त : प्रचण्ड
काठमाडौँ, पुस १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सांस्कृतिक विविधता नै नेपालको मौलिकता रहेको बताएका छन्। गुरुङ समुदायले मनाउने तमु ल्होसारको उपलक्ष्यमा अध्यक्ष दाहालले आज एक शुभकामना सन्देश दिँदै यस सांस्कृतिक पर्वले सम्पूर्ण नेपालीमा सहिष्णुता, भातृत्व, आपसी प्रेम र एकताको भावना विकास गर्ने विश्वास व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले मजबुत राष्ट्रिय एकताले नै समृद्ध नेपाल निर्माणको सपना पूरा हुनसक्ने भन्दै राष्ट्रिय एकता र जनतामा आपसी सद्भाव समृद्ध राष्ट्रको पहिलो सर्त भएको बताए । उनले तमु ल्होसारले नेपाली जनसमुदायमा सामाजिक एकता र बन्धुत्वको भावना विकास गर्न सकोस् भन्ने कामना समेत गरेका छन् । किन मनाइन्छ तमु ल्होसार ? तमु अर्थात गुरुङ भाषामा ल्होछार भनिने यस चाडलाई गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने पर्वका रुपमा मनाउने गर्दछन् । गुरुङ भाषामा ल्होको अर्थ वर्ष र छारको अर्थ नयाँ हो । यसरी नयाँ वर्षको रूपमा तमु समुदायमा यस वर्षलाई मृग वर्षको रूपमा मनाइंदैछ । तमु ज्योतिष अनुसार १२ वर्षचक्र अर्थात ल्होकोरमा १२ वर्षलाई विभिन्न पशुपक्षीहरूको नाम दिइएको छ । आज देखि कुकुर वर्ष सिद्धिएर मृग वर्ष सुरु भएको तमु संस्कृतिका जानकारहरू बताउँछन् । यस दिन तमुहरू आपासमा शुभकामना आदानप्रदान गर्दै आफूभन्दा ठूला अभिभावक, गुरु र मान्यजनबाट आशीर्वाद थाप्दै रिपु (बेसार रंगाएको पहेंलो धागो) गाँठो पारेर लगाउँछन् । साथै साथीसंगीबीच नाचगान गरी मनोरञ्जन गर्छन् । यस दिनको सांस्कृतिक र धार्मिक महत्व रहेको छ ।
चकलेट र पैसा दिएर १३ बर्षकी दृष्टिविहिन बालिकाको शिक्षकद्वारा नै बलात्कार, नन्दाले खोलिन रहस्य
काठमाडौं, पुस १५ । कालिकोटमा जन्मिएकी नन्दासिंह हाल कपनमा बस्दै आएकी छिन् । उनी दिष्टि विहिन महिला हुन् तर जन्मजात नै दृष्टिविहिन भने होइनन् । अरुलाई अन्याय र अत्याचार भएको देख्न नसक्ने नन्दा एक समाजसेवी पनि हुन्। समाजसेवी नन्दाको जीवनमा धेरै यस्ता घटना घटेका छन् जुन सुन्दा काल्पनिक जस्तो लाग्ला तर यो उनको यथार्थ घटना हो । उनी ३ वर्षको उमेर हुँदा ६ महिनासम्म झाडापखाला लाग्दा पनि उनलाई अस्पताल लगिएन । उनी झन्झनै शिथिल हुँदै गइन् । उनको अन्तिम अवस्था भइसकेको थियो । अब छोरी मरिसकी भनेर उनका बुबाआमाले उनलाई गाड्न भनेर सेतो कपडाले बेरेर राखे । करिब ४ बजेतिर उनलाई मरेको सोचेर सेतो कपडाले बाँधेर राखिएको थियो । उनको संस्कार अनुसार बच्चालाई बिहानपखमात्र दाहसंस्कार गर्नुपर्ने भएकोले । त्यो रात त्यसै राखियो । रातको करिब १ बजेतिर उनी ब्युझिन् । उनले पुनर्जीवन पाइन् । उनको श्वास त फिर्ता आयो तर ज्योति भने गुम्यो । उनी दृष्टिबिहिन भइ न्। आखा नदेख्ने भएकोले पनि उनलाई घरमा राम्रो व्यवहार गरिएन । घरपरिवारले गरेको व्यवहारबाट आजित भएर उनी पढ्न काठमाडौँ आइन् । केही समय बित्दै गएपछि उनलाई हिडडुल गर्न, ठाउँ ठम्माउन सजिलो हुँदै गयो । काठमाडौँ जस्तो ठाउँमा बस्न आफ्नो कमाई हुने पर्यो । महंगीको शहरमा बाच्न पढ्दै उनले काम पनि गरिन् । ओम हस्पिटलमा उनी रिसेप्सनिष्टको रुपमा कार्यरत रहिन् । हाल उनी सामाजिक कार्यमा सक्रिय छिन्। आफु नदेख्ने भएता पनि नदेख्नेका बालबच्चा, टुहुराहरुको शाहारा बनेर उनले हाल ७ जना बच्चालाई आश्रय दिइरहेकी छिन् । उनले कत्ति बालबालिकालाई विद्यालयमा भनसुन गरेर निःशुल्क पढाउन सहयोग गरेकी छिन् । आफ्नो गाउँमा बालविवाहदेखि अन्याय अत्याचार भएको ठाउँमा आवाज उठाउन समेत उनी पछि पर्दिनन् । ‘अन्तरदृष्टि नेपाल’ नामक संस्था दर्ता गरेर उनी सामाजिक कार्यमा सक्रिय छिन् । उनी अहिले आफ्नो आँखाको उपचार गराईरहेकी छिन् । डाक्टरले उनलाई यस उपचारबाट आखाँ देख्न सक्ने सम्भावना रहने बताएका थिए । उनले कुराकानीको क्रममा उनी बसेको पहिलाको होस्टेलमा एक बालिकालाई आफ्नै शिक्षकले बलात्कार गरेको खुलासा गरिन। उनको अनुसार ती पिडित बालिका भर्खरै १४ वर्षे लागिन। शिक्षक र बालिका नै दृष्टिविहिन नै थिए। नन्दाले घटना भएको उनले १ वर्ष पछिमात्रै थाहा पाइन् । त्यसपछि आवाज उठाइन तर सबैले मिलेर घटनालाई लुकाउन खोजेका थिए । कसैले साथ दिएनन् । उनले हिम्मत नहारी संस्थाको मद्दतबाट दोषीलाई हिरासतमा राख्न सफल भएकी छिन् । ती १४ वर्षिया बालिकालाई अहिले काउन्सलिङ्ग भइरहेको बताइन् ।
ताेलामा कतिले कारोबार भइरहेको छ सुनचाँदी ?
काठमाडौं, पुस १० । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्यमा कुनै परिवर्तन भएको छैन । मंगलबार बजारमा छापावाल सुनको मूल्य तोलामा ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ५९ हजार ४०० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, मंगलबार तेजाबी सुनको मूल्य ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने आजपनि ५९ हजार १ सय रुपैयाँमै कारोबार भइरहेको छ । बुधबार बजारमा चाँदीको मूल्यमा पाँच रुपैयाँले बढेको छ । मगलबार चाँदीको मूल्य ७२० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ७ सय २५ रुपैयाँमै कारोबारमा भइरहेको छ ।
प्रचण्ड भन्छन्, ‘राज्यले कुनै धर्मलाई काखी च्याप्नु हुँदैन’
चितवन, पुस १० । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यले कुनै धर्म विशेषलाई काखी च्यापेर कुनैलाई निषेध गर्ने नीति लिन नहुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी चितवनले मंगलबार यहाँ आयोजना गरेको पार्टी नेता सूर्य पथिक र विश्वप्रकाश सुवेदीका आमा धनकुमारी सुवेदीको शोकसभालाई सम्बोधन गर्दै संविधान बनाउँदा धार्मिक स्वतन्त्रतालाई सम्मान गर्ने कुरा गरेको बताए । राज्यले सबै धर्मप्रति आस्था राख्ने जनतालाई समान व्यवहार गर्नुपर्ने भन्दै उनले भने, “कम्युनिष्ट पार्टीका नेता पुष्पलालको कुरा गरौं या नेपाली काङ्ग्रेसका बिपीको उहाँहरु संस्कार विरुद्ध, एउटा वैज्ञानिक मान्यता, अन्धविश्वासका निमित्त वैज्ञानिक धारणा स्थापित गर्न लागेका छन् ।” जनताको आस्थालाई अपमान गर्ने कसैको पनि मान्यता नभएको भन्दै अध्यक्ष दाहालले जनताको आस्थालाई सम्मान गर्नुपर्ने बताए । उनले भने, “तर राज्य ती विविध आस्थाप्रति निरपेक्ष रहनुपर्दछ, राज्यले भेदभाव गर्नु हुँदैन भन्ने लोकतन्त्रको आधारभूत कुरा हो ।” शिक्षा, स्वास्थ्य र रोजगारीलाई जनताको मौलिक अधिकारको रुपमा संविधानमा परिभाषित भएको भन्दै उनले भने, “तर पनि हामीले विकट ठाउँमा उपचारको अभावमा सामान्य भन्दा सामान्य उपचार पनि नपाएर मृत्युवरण गर्नुपर्ने परिघटना अहिले पनि छ ।” कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले समाजमा बुढेसकालका मानिसको व्यवस्थापन चुनौती बन्दै गएको बताए । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेता पथिक, ईश्वरी भट्टराई र कृष्ण खनाल लगायतले बोलेका थिए । धनकुमारी सुवेदीको श्रीमान्, दुई छोरा र तीन छोरी रहेका छन् । उनको १२औँं दिनको पुण्य तिथिमा कार्यक्रम आयोजना गरिएको हो । रासस
पाँच जिल्लाको प्राथमिक तहको ‘रि काउन्ट’ नतिजा सार्वजनिक [नामसहित]
काठमाडौं, पुष ७ । शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकको विभिन्न जिल्लाको लिखित परीक्षाको पुनर्याेग नतिजा सार्वजनिक गरेको छ । उसले शुक्रबार तेह्रथुम, दार्चुला, अछाम, कंचनपुर, डडेल्धुरा जिल्लाको प्राथमिक तहको लिखित परीक्षाको पुनर्याेग नतिजा सार्वजनिक गरेको हो । हेर्नस् नतिजा–
राजदूत काण्ड ,चोरी गर्ने प्रधान देखि तस्कर आरोपित शेर्पा सम्म
सन्तोष खडेरी।अष्ट्रेलियाका लागि बर्तमान नेपाली राजदूत लक्की शेर्पा मात्र होइन यी जस्तै अन्य केही समेत नियुक्त भएपछी वा नियुक्ति अगावै गम्भीर विवादमा मुछिएका छन् तर यस्ता घटनाबाट नेपालले कहिल्यै पाठ सिक्न जरुरी सम्झेन। सन् १९८८ को क्रीसमसको पूर्वसन्ध्यामा अमेरिकाका लागि तत्कालीन राजदूत विश्व प्रधान एक स्टोरबाट मेडिकल शिक्षा सम्बन्धि दुई पुस्तक चोरी गरेको अभियोगमा त्यहाँ स्थित कोलम्बिया प्रहरी द्वारा गिरफ्तार भए। उनलाई तत्कालीन सरकारले फिर्ता बोलायो र पछि कुनै उनमा भएको कुना बिमारीका कारण त्यस्तो अवस्था आएको बताईयो। यस्तै,सन् २०११ को फेब्रुअरी महिनामा साउदी अरेबियाका लागि एमाले कोटाबाट नियुक्त तत्कालीन नेपाली राजदूत हमिद अन्सारीलाई फिर्ता बोलायो जसले सो समयमा १८ महिनाअघि सडक दुर्घटनामा मृत्यु भएका झापाका रमेश सुवेदीको क्षतिपूर्तिबापतको १ लाख रियाल -२० लाख रुपैयाँ) बारे मन्त्रालय र मृतक परिवारलाई कुनै जानकारी नगराई आफैले मृतक कामदारको क्षतिपूर्ति रकम दुरुपयोगको गरेका थिए। उनै अन्सारीलाई केही समय पहिले उक्त मुद्दामा सम्मानित सर्बोच्च अदालतबाट दोषी ठहर भईसकेका छन्। सन् २०१३ मा कतारका लागि एकीकृत नेकपा माओवादीबाट नियुक्त तत्कालीन नेपाली राजदूत डा. माया कुमारी शर्माले एक टेलिभिजन कार्यक्रम साझासवालमा दिएको कुटनैतिक मर्यादा बिपरितको अभिव्यक्ति ‘खुला जेल’ का कारण कतार सरकारले फिर्ता बोलाउन र फिर्ता नबोलाए आफैले कार्बाही गरि देश निकाला गर्ने नेपाल सरकार समक्ष कुटनैतिक दवाव दिएपछी उनलाई सन् २०१३ को अन्त्य तिर उनलाई नेपाल सरकारले फिर्ता बोलायो जस विरुद्ध उनी सर्बोच्च अदालत सम्म पुगिन तर सर्बोच्चले समेत सरकारको निर्णय सकारेपछि उनी निलम्बनमा परिन। यस्तै ,२०१६ मा केपी शर्मा ओली नेतृत्वको तत्कालीन एमाले-एमाओवादी अन्य सम्मिलित संयुक्त सरकारले बिजयकुमार गच्छदारको कोटाबाट मेनपावर व्यावसायि समेत रहिकी र तत्कालीन नेपाल वैदेशिक रोजगार व्यावसायि संघका अध्यक्षकि श्रीमती समेत रहेकी विवादास्पद व्यावसायि शर्मिला पराजुली ढकालालाई ओमनका लागि नेपाली राजदूतमा सिफारिस गर्यो तर नियुक्त नहुँदै उक्त सरकारको बहिर्गमन पश्चात् समेत नयाँ आएको प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादी-कांग्रेस संयुक्त सरकारले उनलाई कायमै राखी नियुक्ति गरे तर दुर्भाग्य संसदीय समिती समेत सिफारिस गर्ने मूल नेतृत्व प्रती बफादार प्रस्तुत भई संसदीय अनुमोदन गर्यो हाल उनी ओमनका लागि नेपाली राजदूतमा बहाल छिन्।२०१६ मैै प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादी-कांग्रेस संयुक्त सरकारले एमाओवादी कोटाबाट पूर्व संविधानसभा सदस्य समेत रहेकी लक्की शेर्पालाई अष्ट्रेलियाका नेपाली राजदूतमा नियुक्त भईन हालै उनी मानव तस्करी जस्तो गम्भीर मुद्दामा मुछिएकी छिन् जसबारे सरकारले सूक्ष्म अनुसन्धान अगाडी बढाएको छ । सिफारिसका अन्य केही थप विवादित सन् २०१६ मा प्रचण्ड नेतृत्वको तत्कालीन एमाओवादी-कांग्रेस संयुक्त सरकारले कांग्रेसको कोटाबाट संयुक्त अरव इमिरेट्स (युएई) का लागि मेनपावर व्यावसायि समेत रहिकी विवादास्पद व्यावसायि आशा लामालाई राजदूत सिफारिस गर्यो तर त्यसको चौतर्फी विरोध पछि सरकारले सिफारिस फिर्ता लियो। पछि उनै आशाले सार्वजनिक रुपमा आफूले रकम दिएको सम्म स्वीकार गरिन तर भ्रष्टाचारको आहलमा चुर्लुम्म डुबेको नेपालको राज्य संरचनाका संसद ,दल र सरकारले आवश्यक छानवीन गर्न आवश्यक सम्झेन।बर्तमान सरकारले संवैधानिक निकायका पदाधिकारी रहिसकेका पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको जानकारी स्वयं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सार्वजनिक गरे तर संवैधानिक निकायका पदाधिकारीहरुलाई राजदूत सिफारिस संविधान प्रतिकूल हुने चौतर्फी विरोध पछि उनको प्रक्रिया अगाडी नबढाई भारतका लागि निलाम्बर आचार्यलाई सिफारिस गरियो त्यस्तै प्रधानमन्त्री ओलीकै परिवारिक नाता भित्र रहेकी अंजना शाक्यलाई इजरायलका लागि गरेको सिफारिस समेत संसदीय सुनुवाई पर्खिरहंदा शाक्यको हकमा भने विवादित छ। केही राजदूतहरु राजदूतमा वहाल रहँदा नै सम्बन्धित मुलुकमा शरण समेत लिएर त्यहीँ बसे उनी सार्वभौम राष्ट्र नेपालको राजदूत भन्दा शरणार्थी भएर बस्न रुचाए। त्यस्तो निर्लज्जता प्रदर्सन गर्ने कुटनितीज्ञ भने पूर्व राजदूत मुरारीराज शर्मा हुन त्यस्तै दुई राजदूतहरु आफ्नो कार्यकालको बाँकी अवधी कायम रहँदा समेत राजिनामा गरि राष्ट्रसंघीय जागिरे भए। यी घटनाबाट पुष्टि हुन्छ मुलुकको राजदूत नियुक्तिको स्पष्ट मापदण्ड के छ साथै किन आफ्नै जिम्मेवारी निर्वाह गर्न सक्दैनन् त्यो जिम्मेवारी भन्ने यसको एउटै सहज आम निष्कर्ष हो ‘ओजनको पदमा हलुका ब्यक्तिको नियुक्ति’ । अब पनि पाठ नसिके कता जाला नेपालको कुटनैतिक भबिष्य ?सोच्न जरुरी छ।
हेर्नुस् बाजुराको प्राथमिक तहको नतिजा (नामसहित)
भक्तपुर, मंसिर २० । शिक्षक सेवा आयोगले मंगलवारदेखि अस्थायी शिक्षकको प्राथमिक तहको नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसैबीच, आयोगले बिहीबार प्राथमिक तह अन्तर्गत बाजुराको नतिजा पनि प्रकाशन गरेको छ । बाजुराको नतिजा हेर्न यहाँ क्लिक गर्नुस् यसअघि माध्यमिक तह र निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गरेको आयोगले मंगलवारदेखि जिल्लागत रुपमा प्रावि तहको नतिजा प्रकाशन गर्न सुरु गरेको हो ।