सुरुङ निर्माणमा अवरोध, दशैंमा नआउने भयो मेलम्ची

सिन्धुपाल्चोक, जेठ ३१ ।  मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण कार्यमा अवरोध सिर्जना भएको छ ।
स्थानीयले आफूहरुसँग गरेको सहमति आयोजनाले लागू नगरेका कारण आफूहरु खानेपानीको समस्यामा परेको भन्दै सिन्धु अडिट मार्गमा सुरुङ निर्माण कार्य ठप्प पारेका हुन् ।
स्थानीयहरूले विगतमा भएका विभिन्न सहमति अनुसार आयोजनाले एउटा पनि काम नगरेको भन्दै बुधबारबाट माग पूरा नहुन्जेलसम्मका लागि सिन्धु साइटको काम ठप्प पारेका हुन् ।
बुधबारदेखि सुरु भएको विरोध आफूहरुको माग पूरा नभएसम्म स्थगित नहुने स्थानीयको भनाई छ । परियोजनाले पटक–पटक ताकेता गर्दा समेत आश्वासन मात्रै देखाउने र काम भने नगर्ने गरेको उनीहरूको आरोप छ ।
सुरुङ निमार्ण कार्यले खानेपानीको मुहान सुकेको छ । पहिला गाउँमा पर्याप्त मात्रामा पानी भएकोमा अहिले खानेपानी लिन समेत करिब आधाघण्टा टाढा हिँड्न पर्ने भन्दै स्थानीयले दुखेसो गरेका छन् ।
निर्माण कम्पनीलाई सम्झौता अनुसार काम गर्न पटक–पटक भने पनि हुन्छ र गछौँ भनेर मात्रै टार्ने गरेकोले यसपटक पनि फेरि आन्दोलनमा उत्रन परेको प्रभावित स्थानीयको भनाई छ  । यस्ता आन्दोलन र सम्झौता धेरै पटक गरेको र यो पटक भने सम्झौता अनुसार काम नभएसम्म आन्दोलन जारी राख्ने सिन्धु सरोकार समितिका अध्यक्ष कुमारी तामाङले  जानकारी दिए ।
योभन्दा अघि भएका सहमतिहरुमा स्थानीय युवालाई रोजगारीमा प्राथमिकता दिइने, काम गर्दा गर्दै मृत्यु हुनेहरुलाई उचित क्षतिपूर्ति दिनेलगायतको सहमति भए पनि अहिलेसम्म सहमति अनुसार कुनै काम नभएको थकनीका प्रभावित नेत्रबहादुर तामाङले गुनासो गरे ।
सुरुङ निमार्णले गर्दा हेलम्बुका विभिन्न स्थानका नागरिकरूमा पनि असर परेका छन् । खानेपानीको मुहान सुक्नुका साथै सुरुङ निमार्णमा प्रयोग हुने विभिन्न केमिकलहरुको कारणले गर्दा खोलामा रहेका जलचर प्राणीहरु समेत मर्ने गरेका छन् ।
सुरुङ निमार्ण कम्पनीले सम्झौता अनुसार काम नगरेको र यसले गर्दा करिब हेलम्बुका विभिन्न गाउँका ३५० भन्दा धेरै घरधूरीहरु प्रभावित भएको हेलम्बु गाँउपालिका ५ नम्बर वडाका वडा अध्यक्ष हर्कबहादुर तामाङले जानकारी दिएका छन् ।
यस अघि भूकम्प, नाकाबन्दीलगायत विविध कारणले समयमै काम गर्न नपाउँदा आफूलाई घाटा भएको भन्दै ठेकेदार कम्पनी इटालियन कोअपेरटिभ मुरातोरी एन्ड सिमेन्टिष्टि (सीएमसी) ले आयोजनासँग एक अर्ब ६५ करोड रुपैयाँ क्षतिपूर्ति दाबी गरेको थियो ।
त्यही दाबीअनुसार आयोजना र ठेकेदारबीचको विवाद टुंग्याउन गठित विवाद निरुपण समिति (डिस्प्यूट एड्जुडिकेसन बोर्ड–डिएबी) ले छलफल थालेको थियो । छलफलपछि समितिले मंगलबार ठेकेदारको म्याद थप र क्षतिपूर्ति भुक्तानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको आयोजनाले जनाएको छ ।
आयोजनाका अनुसार दुई सय १२ दिन अर्थात सात महिना म्याद थप गरिएको छ भने क्षतिपूर्तिस्वरुप एक अर्ब तीन करोड रुपैयाँ दिने निर्णय समितिबाट भएको छ । समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्नुको सट्टा आयोजनादेखि मन्त्रालयसम्मका कर्मचारीको मिलेमतोमा म्याद थप र क्षतिपूर्ति दिने निर्णय भएको स्रोतको दाबी छ । तर ठेकेदार कम्पनी भने अदालत जाने तयारीमा रहेको पनि बताइएको छ ।
आउँदो दशैँमा काठमाडौंमा मेलम्चीको खानेपानी पुऱ्याउने भने पनि यस आयोजनाको काम हेर्दा यो वर्ष पनि खानेपानी काठमाडौं पुग्न नसक्ने देखिन्छ । निर्माण कम्पनीले पुरानै काम गर्ने शैलीका कारण समयमा काम सम्पन्न हुने सम्भावना न्यून रहेको हो ।

यस वर्षको राष्ट्रिय पत्रकारिता पुरस्कार महेन्द्र बिष्ट र राजेश अहिराजलार्इ

काठमाडौं, वैशाख २३ । सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले यस वर्षको राष्ट्रिय पत्रकारिता र सम्मानका लागि पाँच जना पत्रकारको नाम छनौट गरेको छ । मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठित समितिको सिफारिशअनुसार दुई जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार र तीन जनालाई बरिष्ठ पत्रकार सम्मान गर्ने निर्णय गरिएको हो । जसअनुसार यस बर्ष नेपाल पत्रकार महासंघका पूर्वसभापति डा. महेन्द्र बिष्ट र डा. राजेश अहिराजलाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । यसैगरी बबिता बस्नेत, कौशल चेम्जोङ र नीमबहादुर बुढाथोकीलाई बरिष्ठ पत्रकार सम्मान प्रदान गर्न लागिएको हो । उनीहरुलाई सोमवार राष्ट्रपति भवन शीतलनिवासमा बिशेष समारोहको आयोजना गरी राष्ट्रपति बिद्यादेवी भण्डारीले सो पुरस्कार तथा सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ । सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले पुरस्कार छनोटका लागि सचिव गुरुङको नेतृत्वमा बरिष्ठ पत्रकार तथा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष शम्भु श्रेष्ठ, सामुदायिक रेडयो प्रशारक संघ, एकोर्यावका पूर्वअध्यक्ष रघु मैनाली र सञ्चारिक समुहकी अध्यक्ष निर्मला शर्मा सदस्य रहेको समिति गठन गर्नुभएको थियो । प्रेस काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठ र नेपाल पत्रकार महासंघका सभापति गोबिन्द आचार्य पदेन सदस्य रहनुभएको सो समितिमा सञ्चार मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठ सदस्य सचिव हुनुहुन्थ्यो । समितिले सर्वसम्मत रुपमा पाँच जना पत्रकारको नाम सिफारिश गरेको हो । पुरस्कृत सवै पत्रकार नेपाली पत्रकारिता क्षेत्रमा स्थापित नाम हुन ।

माओवादीद्वारा दुई नेतालाई पार्टीबाट निस्कासन

बुटवल, वैशाख १३ । ‘गुण्डानाइके’ मनोज पुनलाई सहयोग गरेको अभियोगमा पक्राउ परेका नेताद्वय लेखनाथ न्यौपाने र तुल्सी न्यौपानेलाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ । प्रहरी इन्काउन्टरमा केही समय अघि गुण्डानाइके मनोज पुन मारिएका थिए । माओवादी केन्द्र राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य लेखनाथ र जिल्ला सदस्य तुल्सीलाई पार्टील कारबाही गरेको हो । नेकपा माओवादी केन्द्रका रुपन्देही जिल्ला इन्चार्ज दधीराम न्यौपानेले बिहीबार विज्ञप्ति जारी गर्दै उनीहरु पार्टीको कुनैपनि जिम्मेवारीमा नरहेको जनाएका हुन् । ‘पार्टीको आन्तरिक छानबिन रिपोर्ट, पार्टी केन्द्रको निर्देशन तथा अन्य विभिन्न सूचनाको स्रोतको आधार अध्ययन गर्दा गम्भीर प्रकृतिको घटनासंग जोडिएको मुद्दा भएकाले र राज्यको सुरक्षा निकायबाट समेत छानबिन भइरहेको हुँदा अनुसन्धानमा सहजताका दुबैजनालाई पार्टीको सबै जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ । मनोज पुनलाई सहयोग गरेको अभियोगमा न्यौपानेद्वयसंगै युवा संघका उत्तम आचार्य, मदिरा उद्योगी हरिप्रसाद श्रेष्ठ र रोशन खड्कालाई प्रहरीले वैशाख ४ गते पक्राउ गरी ५ गते सार्वजनिक गरेको थियो ।

नेपाली जनताको शक्ति नै ओलीको कूटनीतिक सफलताको आधार : नेता भट्टराई

भक्तपुर । नेकपा एमालेका नेता निर्मल भट्टराईले वर्तमान सरकारले जनताको अपार समर्थन पाएको कारण नै एमालेका अध्यक्ष तथा प्रधानन्त्री केपी शर्मा ओलीको भारत भ्रमण इतिहासमै सबैभन्दा सफल भएको बताएका छन् । भक्तपुरमा आयोजित नेकपा एमालेको एक भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले अगाडि भने– ‘ओली नेतृत्वको स्थिर र शक्तिशाली सरकारको सामु भारतीय संस्थापन पक्ष पनि नतमस्तक बन्नुपर्ने अवस्था आयो र नेपाली जनताले शिर झुकाउनु परेन । सो भेलालाई सम्बोधन गर्दै नेकपा एमाले भक्तपुरका कार्यवाहक अध्यक्ष वचन देउजाले पार्टीले जनप्रतिनिधिलाई समयमै नियन्त्रण र निर्देशन नगरे स्थानीय तहमा अराजकता र भ्रष्टाचार बढ्ने खतरा रहेको बताए । सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले जनप्रतिनिधिहरुले सम्बन्धित तहको पार्टी कमिटीको निर्णय बमोजिम चल्नुपर्ने बताए । उनले भने– ‘पार्टीको बलमा हामीले चुनाव जितेको हो, अहिले आफू खुशी चल्न मिल्दैन । भेलालाई स्थानीय नेताहरु विष्णु गुमाञ्जु र श्रीकृष्ण बासुले भुकम्पपीडित जनताका गुनासा नगरपालिकाले अविलम्ब सम्बोधन गर्नुपर्ने बताए ।

किन बलियो छ यातायात सिन्डिकेट ?

कठोर सत्य: राज्यलाई झुकाउन खोज्ने बस व्यवसायीले यात्रुसँग उठाएको भाडाबाट एक रुपैयाँ पनि कर तिर्दैनन् आखिर किन बलियो छ यातायात सिन्डिकेट ? शिर्षकमा आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । १. यातायात व्यवसायी एनजिओका रूपमा दर्ता नाफामुखी संस्थाहरू कम्पनीका रूपमा दर्ता हुनुपर्छ, तर यातायात समिति गैरसरकारी संस्था (एनजिओ)का रूपमा दर्ता छ । त्यसैले उनीहरूले एक रुपैयाँ पनि कर तिर्दैनन् । एनजिओका रूपमा दर्ता भएका संस्थाको गैरनाफामूलक, गैरव्यापारिक र गैरराजनीतिक चरित्र हुनुपर्छ । तर यातायात समितिहरूले नाफामूलक, व्यापारिक र राजनीतिक काम गरिरहेका छन् । २. देशभर दुई लाख बस, राज्यलाई शून्य कर देशभर दुई लाख बस गुड्छन्, तिनलाई नेतृत्व गर्न चार सय यातायात समिति छन्, ती सबै एनजिओका रूपमा सञ्चालित छन् । चार सयबाहेक ४० मात्र कम्पनीका रूपमा दर्ता छन् । उनीहरूले निजी सवारीधनी (कार वा मोटरसाइकल)ले जस्तै सवारी कर र सवारी परीक्षण शुल्क तिर्छन् । त्यसबाहेक रुट परमिटका रूपमा दस्तुर मात्र तिर्छन् । तर, यात्रुबाट प्राप्त रकमबाट एक रुपैयाँ पनि कर तिर्दैनन्। ३. सिन्डिकेटको दादागिरी, समय र भाडा मनपरी संसारमा सार्वजनिक यातायात भनेको सरकारको संलग्नतामा सञ्चालित हुन्छ । तर, नेपालमा यो पूर्णतः निजी र सिन्डिकेटेड समूहको कब्जामा छ । समितिका रूपमा सञ्चालित सिन्डिकेटले भाडा मनपरी गर्छन्, समय आफैँ तोक्छन्, यात्रुले न छिटो जान पाउँछन्, न ढिलो । सस्तो वा महँगोमा प्रतिस्पर्धा गर्छु भन्ने व्यवसायीलाई प्रवेश निषेध छ । ४. सिन्डिकेट तोड्ने कानुन २५ वर्षअघि नै पारित नेपालको कानुनले पनि सार्वजनिक यातायातमा सिन्डिकेटलाई निषेध गरेको छ । ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ ले यातायात व्यवस्था विभागमा दर्ता नगरी सवारीधनी वा व्यवस्थापनले कुनै पनि सार्वजनिक सेवा सञ्चालन गर्न नपाउने भनिएको छ । तर, २५ वर्षसम्म पनि यो कानुन कार्यान्वयन हुन सकेको छैन । यातायात व्यवसायीको मनपरी तोड्न र कानुन पालना गराउन कसैले सकेको छैन । जनतालाई भुक्तमान मन्त्रीलाई सम्मान : सडकमा जनतालाई दुःख दिने व्यवसायीबाट सिंहदरबारमा खादा पहिरिँदै यातायातमन्त्री रघुवीर महासेठ (तस्बिर : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष डोलनाथ खनालको फेसबुकबाट) ५. सडक सरकारको, कब्जा व्यापारीको सरकारले देशभर सडक बनाएको छ । तर, अन्तर्राष्ट्रिय प्रचलनविपरीत सार्वजनिक साधनका रूपमा निजी मात्र साधन चल्नाले सडकमा सिन्डिकेटवालाको कब्जा छ । उनीहरूको आदेशमा देशभरका सार्वजनिक साधन ठप्प हुन्छन् । सार्वजनिक यातायात सरकारको दायित्वमा आए मात्र यसको विकल्प हुनेछ । ६. सिन्डिकेट एक्लै छैन नेताको आशीर्वाद छ देशभर चार सय समिति छन् । यस्ता समितिले सवारीसाधनका मालिकसँग १२ लाखसम्म शुल्क लिएर सिन्डिकेटमा समाहित गराउँछन् । ती सबै समितिको नेतृत्व गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले राजनीतिक नेतृत्वसँग सोझो पहुँच राख्दै आएको छ । जसको बदलामा दल र नेताले व्यवसायीबाट ठूलो परिमाणमा चन्दा लिने, सभा–सम्मेलनमा व्यवसायीका निःशुल्क बसको प्रयोग गर्ने र चुनावमा खर्च उठाउने गरेका छन् ।

भूकम्प पीडितहरूलाई थप १ लाख दिने निर्णय कार्यान्वयन गर्न राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टीले भूकम्प पीडितहरूलाई थप १ लाख सहयोग अनुदान दिने अघिल्लो सरकारले गरेको निर्णय कार्यान्वयन गर्न माग गरेको छ । पार्टी प्रवक्ता सुशीलकुमार श्रेष्ठले वक्तव्य जारी गर्दै यस्तो माग गरेका हुन् । राप्रपाले सो निर्णय सरकारको अभिलेखमा नभएको कुरा सार्वजनिक भएको भन्दै त्यसप्रति दुःख समेत व्यक्त गरेको छ । राप्रपा समेत सहभागी पूर्ववर्ती सरकारको निर्णयलाई अविलम्ब कार्यान्वयन गर्न राप्रपाले सरकारसँग माग गरेको हो ।

‘बलात्कारी’ लाई खाना लिएर प्रहरी चौकी पुग्ने पीडित महिलाकाे कहानी ….

काठमाडौं । अभियुक्तः रामबहादुर मोक्तान वर्षः ३१ मुद्दा नं.: ३७० कसुरः जबरजस्तीकरणी जिल्ला अदालत, काठमाडौं अपाङ्गता भएकी ३० वर्षीया महिलाले बलात्कारको उजुरी दिएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंले हेटौंडाका रामबहादुर मोक्तानलाई पक्राउ गरेको थियो । जबरजस्तीकरणी मुद्दामा अदालतमा म्याद थपेर उनलाई परिसरको हिरासतमा राखेको छ । तर, ‘पीडित’ युवती नै आजभोलि हरेक दिन परिसरमा आउँछिन् र अभियुक्त मोक्तानलाई खाना खुवाएर फर्किने गरेकी छन् । यो दृश्यले प्रहरीहरुलाई आश्चर्यमा मात्र पारेको छैन, थप सोच्न बाध्य बनाएको छ । प्रहरीका अनुसार पछिल्लो समय लिभिङ टुगेदर, ‘प्रेम’ जस्ता अनेक नाममा सँगै बस्नेदेखि शारिरीक सम्वन्ध राख्ने गरेका जोडीहरु आपसमा झगडा भएपछि बलात्कारको उजुरी दिने र अभियुक्त पक्राउ परेपछि आफैं मिल्ने गरेका घटना थुप्रै छन् । यसले प्रहरीको समय बर्बाद पार्नुका साथै उसको अनुसन्धानमा प्रश्न त उठाएको छ नै वास्तविक बलात्कारका घटनालाई पनि ओझेलमा पार्ने खतरा बढाएको छ । ‘बिहे गर्ने भयो, जाहेरी फिर्ता लिन्छुुु’ पीडित महिलाको सुरुमा छोराहरुलाई अर्को कोठामा थुनेर आफूलाई बलात्कार गरेको बताएकी थिइन् । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ । तर, पीडित युवती हरेक दिन अभियुक्तलाई खाना लिएर आउँछिन् र प्रहरीसामू जाहेरी फिर्ता गर्न माग गर्छिन् । ‘मसँगै बिहे पनि गर्ने भयो, अघिल्लो श्रीमानबाट जन्मिएका दुई बच्चा पनि हेर्ने भयो’, भन्दै उनले प्रहरीसँग जाहेरी फिर्ता गरिदिन पनि आग्रह गरेको पाइएको छ । प्रहरीले भने जबरजस्तीकरणी सम्बन्धी मुद्दा भएकाले मोक्तानविरुद्धको जाहेरी फिर्ता गर्न मानेको छैन । प्रहरीका अनुसार पीडित महिलाको श्रीमानको केही वर्षअघि सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । त्यसपछि उनको जीवनमा मोक्तान आएका रहेछन् । फिल्म डाइरेक्टर भन्दै पीडित युवतीसँग नजिकिएका उनले कहिले फिल्ममा रोल दिने त कहिले दक्षिण कोरिया पठाइदिने भन्दै प्रलोभनमा परे । हिमहिच बढ्दै गएपछि उनीहरु झण्डै २ वर्षदेखि लिभिङ टुगेदरमा बसेको पाइएको छ । बलात्कारका ‘शङ्कास्पद’ घटना सामान्यता कुनै पनि महिलाले आफू बलात्कृत भएको भनेर झुटो दाबी गर्न सक्दिनन् । बलात्कार आफैंमा जघन्य अपराध हो र बलात्कृत भएपछि पनि उसले सहजै न्याय पाउँदैनन् । अहिले पनि कयौं चेली आफ्नो अस्मिता लुट्नेमाथि कारबाही होस् भनेर न्यायलय धाइहेका छन्, न्यायको पर्खाइमा छन् । कतिले त ज्यान नै गुमाएका छन् । साथै, समाजले उल्टै उनीहरुलाई राम्रो व्यवहार गर्दैन । तर, कतिपय यस्ता घटना पनि भेटिएका छन्, जसले जघन्य अपराधको विषयलाई हल्काफुल्का बनाउने गरेको छ । करिब ८ महिना अघि पनि यस्तै भएको थियो । न्यूरोड क्षेत्रमा ट्राभल एजेन्सी सञ्चालन गरिरहेका एक भारतीय नागरिकले आफूलाई बलात्कार गरकोे भन्दै २० वर्षीय युवतीले प्रहरीमा जाहेरी दिइन् । बलात्कारको आरोप लागेपछि भारतीय नागरिक फरार भए । तर, अनुसन्धानको क्रममा खुल्यो, युवतीले तलब नबढाएको झोँकमा बलात्कारको जाहेरी दिएकी रहिछिन् । टिकट बेच्ने काम गर्दै आएकी उनले महिनाको १२ हजार पाउने गरेकी थिइन् । उनले साहुसँग २० हजार रुपैयाँ माग गरिन् । तर, तलब नबढाएपछि उनले बलात्कारको मुद्दा हालेको प्रहरी अनुसन्धानबाट खुल्यो । ‘बलात्कार गरेको हो होइन भन्ने कुराको वैज्ञानिक परीक्षण गर्ने उपकरणको पनि अभाव छ’, एक प्रहरी अधिकारी भन्छन्, ‘कस्तो अवस्थामा बलात्कार भन्ने ? छुट्टाउने स्पष्ट आधार के के हुन् ? कतिपय घटनामा युवतीलाई घाउ, चोट लागेको, भाग्नलाई गरेको संघर्ष लगायत देखिने एउटा पनि प्रमाण हुँदैन ।’ यसले जाहेरीकै भरमा तुरुन्तै अभियोग लगाउँदा निर्दोष समेत पर्न सक्ने देखिएको छ भने अनुसन्धान पुरा गरेर मात्र पक्राउ गर्दा अभियुक्त भाग्ने र बास्तविक पीडितले लामो समयसम्म न्याय नपाउने अवस्था आउन आउन सक्छ । ‘पछिल्लो समय पार्टनरसीपमा काम गर्ने र शारीरिक सम्बन्ध पनि राख्ने, तर, सम्बन्ध टुटेपछि प्रहरीमा जाहेरी हाल्ने किसिमका घटना पनि देखिएका छन्’, एक प्रहरी निरीक्षक भन्छन्, ‘लामो समयसम्म अफेयरमा बसेर केटाले अर्की केटीलाई विहे गर्दा पनि बलात्कारको अभियोग लगाइएको घटनासम्म प्रहरी कहाँ आएका छन् ।’ अधिवक्ता टीपी शर्मा पनि यस्तो घटना हुने गरेको स्वीकार गर्छन् । ‘सुरुमा समस्या होला भनेर हेर्छौ तर, पछि अर्कै अवस्था भेटिन्छ’, उनले भने, ‘यसले महिलाले पाएको अधिकार मिसयूज मात्र भएको छैन, कुनै न कुनै रुपमा वास्तविक पीडितले पाउने न्यायमा ढिलाई पनि गरेको छ ।’ काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल भने महिलाले आफू बलात्कृत भएको भन्दै उजुरी दिएपछि मुद्दा चलाइने बताउँछन् । ‘केही समयसँगै जीवन विताएर सम्बन्ध विग्रिँदा प्रहरी समक्ष उजुरी पर्ने गरेको पनि पाइन्छ’, पोखरेल भन्छन्, ‘तर, पीडितले आफू बलात्कृत भएको भनेर उजुरी दिएपछि सरकारीवादी मुद्दा पनि हो, प्रहरीले मुद्दा चलाउँछ ।’

आम्मै ! सिन्धुपाल्चोकमा मेवा भन्दा ठूलो असिना

काठमाडौं, चैत्र १९ । मौसममा अचानक आएको बदलीले यति बेला काठमाडौ उपत्यकासहित धेरै जिल्लामा असिनासहित वर्षा भइरहेको छ । सोमबार साँझ सिन्धुपाल्चोकमा मेवा आकारको असिना परेपछि गहुँ, तरकारी, फलफूललगायत सबै प्रकारका बालीमा ठूलो क्षति पुर्याएको कृषकहरुले बताएका छन् । भित्र्याउनका लागि तयार भएको बाली नष्ट हुँदा ठूलो नोक्सानी भएको छ । सामान्यतस्ः यति बेला सबै प्रकारका फलफूलमा दाना लाग्ने समय हो । असिनासहितको पानी र हावाहुरीले गर्दा कृषकलाई ठूलो क्षति भएको बताइएको छ । तर बढ्दो गर्मीसँगै परेको पानीले नयाँ खेती लगाउनका लागि राम्रो हुनका साथै वर्षापछि राजधानीसहित देशैभर पानीको आपूर्तीमा भने केही राहत हुने भएको छ ।

गृहमन्त्री थापाले ८५ बुँदे कार्ययोजना सार्वजनिक गर्दै यस्ताे भने…

काठमाडौं, चैत्र १९ । गृहममन्त्री रामबहादुर थापा ‘बादल’ ले ८५ बूँदे गृहप्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै चैत्र मसान्तभित्र सरकारले आन्तरिक सुरक्षा व्यवस्थासम्बन्धी कार्यकारी आदेश जारी गर्न लागेको बताएका छन् । सोमबार गृहमन्त्रालयमा ८५ बूँदे गृहप्रशासन सुधार कार्ययोजनामा सार्वजनिक गर्दै मन्त्री थापाले यस्तो बताएका हुन । गृहप्रशासनसँग सम्बिन्धत कानूनहरु तर्जुमा र परिमार्जन नभइञ्जेलका लागि केन्द्र र प्रदेशले सम्पादन गर्ने शान्ति सुरक्षा र समन्वयका कार्यहरु सम्पादन गर्न यस्तो कार्यकारी आदेश लागू गरिने मन्त्रालयको कार्ययोजनामा उल्लेख छ । संविधानअनुसार सातवटै प्रदेशमा गृहमन्त्रालय स्थापना भइसकेको छ । तर, ती मन्त्रालयको अधिकार निश्चित गर्ने कानूनको अभाव हुँदा प्रदेशको शान्ति सुरक्षाको समन्वयमा केन्द्र र प्रदेशवीच अन्योल उत्पन्न भइरहेको छ । प्रदेशअन्तरगतका जिल्लाहरुमा रहेका सिडियो र प्रदेशका गृहमन्त्रीवीच समन्वयको अभाव छ । शान्ति सुरक्षासम्बन्धी कैयौं अधिकारहरु अझैसम्म सिडियोकै हातमा छन् । त्यसैगरी प्रदेश कार्यालयमा रहेका एआइजीहरु र जिल्लाका प्रहरी प्रमुखहरुको समन्वय पनि प्रदेश सरकारसँग निश्चित हुन नसक्दा प्रदेश सरकार निरीहजस्तै बनेको गुनासो आइरहेको छ । एआइजीहरुले पनि फाजिलमा बस्नुपरेको गुनासो पोखिरहेका छन् । प्रदेश सरकारले प्रहरीको सरुवा बढुवामा समेत हस्तक्षेप गर्न खोजेको गुनासो प्रहरी प्रशासनको छ । यो अन्योलपूर्ण स्थितिमा सरकारले चाँडै कानूनहरु बनाउनुपर्नेमा त्यो गर्न नसक्दासम्म केन्द्रबाट कार्यदेश जारी हुन लागेको हो । चैत्रभित्रै सरुवा–बढुवाको मापदण्ड आवश्यक कानूनको अभावमा एकातिर केन्द्र र प्रदेश सरकारवीच सुरक्षा समन्वयको अभाव खड्किइरहेको छ भने अर्कोतर्फ उचित मापदण्डको अभावमा प्रहरीका उच्च अधिकारीहरुको बढुवा र पदस्थापन आदिमा समेत समस्या देखा पर्न लागेको छ । नयाँ प्रहरी महानिरीक्षक छान्नुपर्ने भाउँतो पनि सरकारको काँधमा आउनै लागेको छ । यसैवीच गृहमन्त्रालयले यही चैत महिनाभित्र प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा, काज तथा पदस्थापनासम्बन्धी मापदण्ड तयार पार्ने जनाएको छ ।

डिएसपी मल्लको अर्को एक्सन : मानव बेचबिखनमा संलग्न बुर्जा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको दरबारमार्ग वृत्तले मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा महोत्तरी जिल्ला घर भई काठमाडौंको चावहिलमा बस्ने ५० वर्षीय भक्तबहादुर बुर्जा मगरलाई पक्राउ गरेको छ । मानब बेचबिखन तथा ओसारपसार गरिरहेको विशेष सूचनाका आधारमा बुर्जालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बुर्जाले पैसा कमाउने काममा लगाई दिन्छु भन्दै महिलाहरुलाई विभिन्न होटलमा लगेर यौनसम्पर्क गरेको र यौनधन्दाका लागि बेचबिखनको काम गरेको प्रहरीको दावी छ । मानव तस्करीको अभियोगमा बुर्जालाई शुक्रबार गिरफ्तार गरी काठमाडौं जिल्ला अदालतबाट थुनाका लागि म्याद थप गरिएको दरबारमार्ग वृत्तका प्रहरी प्रमूख डिएसपी दानबहादुर मल्लले जानकारी दिए । शान्ति सूरक्षाका दृष्टिले चुनौतिपूर्ण मानिएको दरबारमार्गमा डिएसपी मल्ल प्रमूख बनेर आएदेखि नै चोरी डकैती, लागु औषध, यौन हिंसा लगायतका अपराधलाई नियन्त्रण गर्न विशेष अपरेशन चलाइएको छ । यसअघि नै मल्लको टोलीले पाँच केजी चरेशसहित २ युवालाई गिरफ्तार गरेको थियो ।

चलचित्र ‘बागी २’ को टिजर सार्वजनिक (हेर्नुहोस् भिडियो)

मुम्बई । टाइगर श्राफ र दिशा पटानी अभिनित नयाँ चलचित्र ‘बागी २’ को ‘एक, दो, तीन’ गीतको रिमेक सार्वजनिक भएको छ । बलिउड क्षेत्रका सुपरहिट चलचित्र ‘तेजाब’ को बहुचर्चित गीतमा माधुरी दीक्षितको नृत्य रहेको थियो । नयाँ गीतमा भने श्रीलंकाली सुन्दरी ज्याकलिन फार्नाण्डेज आर्कषकरुपमा प्रस्तुत भएकी छिन् । साजिद नाडियावालाको निर्देशन रहेको बागी २ को उक्त गीतमा अहमद खान र गनेस आचार्यको कोरियोग्राफी रहेको छ । शुक्रबार उक्त गीतको टिजर सार्वजनिक भएको थियो । गीत रिलिज भएको पौने १ घण्टामै ३ लाखभन्दा बढीले हेरिसकेका छन्। यो फिल्म मार्च ३० मा रिलिज हुँदैछ । हेर्नुहोस् भिडियो- एजेन्सीको सहयोगबाट

सुरु भयो सगरमाथा सफाई अभियान, सयौं टन फोहोर काठमाडौँ ल्याइँदै

काठमाडौँ, चैत्र ४ । पर्यटक एवं आरोहीहरूले मिल्काएको १ सय टन फोहोर हवाई जहाजमा राखेर काठमाडौँ ल्याएर पुनर्चक्रण गर्ने गरी सगरमाथा सफाइ अभियान थालिएको छ । अभियानको पहिलो दिन १ हजार २ सय किलो फोहोर लुक्लाबाट पुनर्चक्रणका लागि काठमाडौँ ल्याइएको छ । पर्वतारोहीहरूले आफुले उत्सर्जित गरेको सबैखाले फोहोर पनि फिर्ता ल्याउनु पर्ने प्रावधान छ । यति हुँदाहुँदै पनि प्रत्येक वर्ष स्थानीय गाइडहरूले सयौं किलोग्राम फोहोर थुपार्ने गरेका छन् । यस वर्षको सफाइ अभियान राजधानी ल्याएर पुनर्चक्रण गर्न मिल्ने फोहोर थुपार्ने काममा केंरित रहेको छ । निजी क्षेत्रको विमान सेवा कम्पनी यति एयरलाइन्सले फोहोर ढुवानीमा सहयोग गर्दैछ । यस्तो प्रकारको फोहोरमा विशेष गरी रित्ता बियर बोतल, क्यान, खानेकुरा प्याक गर्ने रित्ता टिनका बट्टा र काम नलाग्ने भएर छाडिएका रित्ता अक्सिजन सिलिन्डर जस्ता पर्वतारोहण र ट्रेकिंग सम्बन्धी सामग्री रहेका छन् । दशकौं देखि सेर्पा समुदायका स्थानीय गाइडहरूको सक्रियतामा चल्दै आइरहेका यस्ता सरसफाई कार्यक्रमहरूको संयोजन यसपालि सगरमाथा पप्रदूषण नियन्त्रण समिति (एसपिसिसी)ले गरेको छ । सेर्पाहरू अहिले पनि उच्च हिमाली क्षेत्रको फोहर संकलनमा संलग्न छन् । एसपिसिसीका अनुसार गत वर्ष १ लाख पर्यटकहरूले यस क्षेत्रमा भ्रमण गरेका थिए जसमध्ये ४० हजार आरोही र पदयात्रीहरू रहेका थिए । एसपिसिसी र स्थानीय गाइडहरूलाई भ्रमणकर्ताहरूले छोडेको औद्योगिक फोहोर बाहेक यतिका मान्छेले उत्सर्जित गरेको जैविक फोहोरले पनि समस्या पार्ने गरेको छ । सन् २०१५ मा नेपाल पर्वतारोहण संघले यस क्षेत्रमा अरोहीहरूले त्यागेको दिसापिसाब गम्भीर स्वास्थ्य चुनौति भएको चेतावनी दिएको थियो । त्यस यता एसपिसिसीले प्रमुख पर्वतीय क्याम्पहरू नजिक बोक्न मिल्ने चर्पीहरू बनाउने गरेको छ ।

उपराष्ट्रपति पुन दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन दोश्रो कार्यकालका लागि समेत निर्विरोध निर्वाचित भएका हुनु भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनबाहेक अन्य कसैको उम्मेदवारी नपरेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । तर निर्वाचित भएको औपचारिक घोषणा भने आागामी ९ गते मात्रै हुन छ । उहाँले शनिवार उपराष्ट्रपतिका लागि आफनो उम्मेद्वारी दर्ता गराउनुभएको हो । एमाले नेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव र माओवादी नेता रामनारायण विडारीको समर्थनमा उम्मेद्वारी दिनुभएका उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकको एकता र अखण्डतालाई आँच आउन नदिई आफनो जिम्मेवारी सही ढंगले निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । काँग्रेसले उपराष्ट्रपति निर्वाचनमा उम्मेद्वारी नदिने जनाएसँगै पुन निर्विरोध हुनु भएको हो । त्यसैगरि राष्ट्रियसभाको उपाध्यक्षमा बाम गठबन्धनको तर्फबाट शशीकला दाहालले उम्मेद्वारी दर्ता गराउनुभएको छ । काँग्रेसबाट राष्ट्रियसभा उपाध्यक्षमा विन्दा आलेले उम्मेद्वारी दर्ता गराउनुभएको छ। दुई जनाको उम्मेदवारी परेपछि राष्ट्रियसभा उपाध्यक्ष पदका लागि भोलि निर्वाचन हुनेछ ।

फेरि कतिले घट्यो सुनचाँदीको मूल्य ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । बिहीबार बजारमा सुनको मूल्य ५७ हजार ७ सय रुपैयाँले कारोबार भएकोमा शुक्रबार सुनको मूल्य घटेर ५७ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य ७ सय ४५ रुपैयाँमा कारोबार भएकोमा शुक्रबार चाँदीको मूल्य घटेर ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

राप्तीमा गोही छाडिँदै

चितवन, फागुन २५ । संकटापन्न घडियाल गोही संरक्षणका लागि नदीमा आश्रित समुदायको रोहवरमा हुर्काइएका गोही नदीमा छाड्न थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको घडियाल प्रजनन केन्द्रमा हुर्काइएका गोही हरेक वर्ष विभिन्न दिवस र अन्य समय मिलाएर नदीमा छाडिँंदै आएको छ । बिहीबारदेखि तीन दिनसम्म लगातार दैनिक २४ वटाका दरले कसरा नजिकै राप्तीमा गोही छाड्न थालिएको छ । कुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार बिहीबार पहिलो दिन मेघौली क्षेत्रका बोटे, मुसहर र माझी समुदायका व्यक्तिको रोहवरमा गोही छाडिएको हो । केही दिनअघि सौराहा, पटिहानी र जगतपुर क्षेत्रका तीनै जातिको रोहवरमा ४८ गोही कसराबाटै छाडिएको थियो । शुक्रबार र शनिबार पनि तीनै जातिका विभिन्न ठाउँमा बसोबास गर्ने मानिसको रोहवरमा गोही छाडिँदैछ । मध्यवर्ती क्षेत्रको नदी आसपासमा माझी, बोटे, मुसहर जस्ता नदीमा आश्रित जातिको जनसंख्या झण्डै ३० हजार छ । गत वर्ष जेठमा नवलपरासीको अमलटारी क्षेत्रको शेरीमा ठूलो जालमा परेर एउटा भाले गोही मरेको थियो भने चार पोथी गोहीलाई उद्धार गरिएको थियो । ती समुदायले खानामा गोही प्रयोग नगरे पनि तिनले अवैध रुपमा प्रयोग गर्ने महाजालमा गोही अड्किएर मर्ने गरेका छन् । खड्काका अनुसार निकुञ्ज हुँदै बग्ने नदी आसपास बस्ने तीन सय जनासँग माछा मार्न अनुमतिपत्र रहेको र तिनले हाते जाल मात्र प्रयोग गर्न पाउने भए पनि उनीहरू र अनुमतिपत्र नभएका अन्यले लुकिछिपी महाजाल प्रयोग गरिदिँदा गोही र माछा मर्ने हुँदा जलचरका आहारामा कमी आउने जस्ता समस्या देखिएका छन् । पछिल्लो गणनानुसार राप्ती र नारायणीमा १६६ गोही फेला परेका थिए । सन् २०१७ सम्म राप्तीमा ५६६ र नारायणीमा ३९९ गोही छाडिइसकिएको छ । यस वर्ष ७२ गोही छाडिएको छ भने ४८ वटा छाड्ने तयारी गरिएको छ । विसं २०४९ देखि नदीमा गोही छाड्न थालिएको हो । निकुञ्ज स्थापनासँगै कसरामा घडियाल प्रजनन केन्द्र स्थापना गरेर नदीका बगरबाट अण्डा संकलन गरी प्रजनन

जयकिशनको फिल्म‘तिम्रै छोरी तरुनी…’लाई पिजी सर्टिफिकेट (ट्रेलरसहित)

काठमाडौं । पछिल्लो समयमा हास्य बिधामा नेपाली चलचित्र क्षेत्रमा जमेका नायक जयकिशन बस्नेतको मुख्य भूमिका रहेको चलचित्र ‘तिम्रै छोरी तरुनी हामीलाई के को दोष’ले पिजी सर्टिफिकेट पाएको छ । यही फागुन १८ गते शनिबारदेखि प्रदर्शनमा आउँने उक्त चलचित्रमा प्रयोग भएका दोहोरो अर्थ लाग्ने संवादका कारण सेन्सरबोर्डले आपत्ति जनाएपछि पिजी केही ढिलाई भएको थियो । सेन्सरबोर्डले १६ वर्ष भन्दा कम उमेरका दर्शकलाई बन्देज गरेको बताइएको छ । हास्य विधालाई मुख्य बिधा बनाईएको चलचित्र “तिम्रै छोरी तरुनी हामीलाई के को दोष” को निर्माण दिलाराम सापकोटाले गरेका हुन् भने क्लासिक फ्रेमको ब्यानरमा निर्माण भएको उक्त चलचित्रको प्रस्तुतकर्ता ईन्द्र दोङ (खम्बे) हुन् । कार्यकारी निर्माता सुदन धिताल रहेको उक्त चलचित्रमा जनकराज अधिकारीको छायाँकन, देव महर्जनको द्वन्द, शिव बि।क। र जय किशन बस्नेतको नृत्य तथा संजय लामा (बल) को सम्पादन रहेको छ । चलचित्रमा जयकिशन बस्नेत, विष्णु सापकोटा (हर्के हवल्दार), महिमा सिलवाल, सुरबिर पण्डित (दारीबा, प्रकाश दाहाल, सुदन धिताल, मान बहादुर लामा, टिका थापा, दिलाराम सापकोटा, स्व। दिपेन शाह लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।