एक हजार केजी गाँजासहित पक्राउ

राजविराज । बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठूलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–७, कल्याणपुर चोकबाट उक्त गाँजा बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले एक हजार ६ केजी गाँजा बरामद गरेको प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए ।

उनका अनुसार, उक्त गाँजा अन्तर्राष्ट्रिय बजारमा ३० देखि ३५ हजार रुपैयाँ प्रतिकिलो बिक्री हुने गरेको छ । गाँजासँगै टिपरचालक धनकुटाको सहिदभूमि गाउँपालिका–४ का ३२ वर्षीय विशेष राईलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए ।

सप्तरीको राजगढ गाउँपालिका–२, झौरा चोकबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँसहित पक्राउ परेका एकजनालाई सोही पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । रासस

बालकुमारी घटनाका एकजनाको मृत्यु, अर्का घाइते पाटन अस्पतालको आईसीयूमा

काठमाडौं । ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेख घर भइ भक्तपुर बस्ने २३ वर्षीय सुजन राउत रहेका छन् । गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि किस्ट अस्पतालमा लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा सहभागी एक जना घाइतेको अवस्था गम्भीर छ । प्रहरीको गोली लागेपछि उनलाई उपचारका लागि पाटन अस्पताल लगिएको थियो । ती प्रदर्शनकारीको आईसीयूमा उपचार भइरहेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन नियन्त्रणमा लिन ललितपुरमा प्रहरीले गोली चलाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने बा।२ झ ५८६१ नम्बरको गाडी प्रदर्शनकारीले जलाएपछि अवस्था तनावग्रस्त बनेको थियो । प्रदर्शन स्थलबाट प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।

प्रधानमन्त्रीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि (पुस १० गते) राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा सम्बोधन गर्न लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो ३ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ ।

नेप्से २७ दशमलव ७५ अङ्कले वृद्धि, कारोबार कति ?

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक २७ दशमलव ७५ अङ्कले बढेको छ । आज एक दशमलव ३९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक दुई हजार २२ दशमलव ३५ अङ्कको बिन्दुमा कायम भएको हो । आज दुई सय ९५ कम्पनीको एक करोड ७१ लाख ६६ हजार चार सय ६५ कित्ता शेयर एक लाख एक हजार एक सय २८ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार नौ सय ७९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।   बैंकिङ समूहको उपसूचक शून्य दशमलव ६७, म्यूचुअल फन्ड शून्य दशमलव ४२ र व्यापार समूह शून्य दशमलव २३ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूह पाँच दशमलव ५५ र लगानी समूह तीन दशमलव १२ प्रतिशतले बढेको छ ।ल्बदष् िद्ययहक्ष्ःभ् दयह ११ वटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । ह्याथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड, थ्री स्टार हाइड्रोपावर लिमिटेड, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड, बोटलर्स नेपाल बालाजु लिमिटेड, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड र सगरमाथा जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यस्तै, विन्ध्याबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेड, बलेफी हाइड्रोपावर लिमिटेड, शिवश्री हाइड्रोपावर लिमिटेड र रिदी पावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको हो । आजको कारोबारमा सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ७७ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको रू २५ करोड १२ लाख ९० हजार सात सय ४६ बराबरको १७ लाख ८० हजार छ सय ३५ कित्ता शेयर किनबेच भएको छ ।

आज ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस : देशैभर विभिन्न कार्यक्रम, काठमाडौंमा र्‍याली

काठमाडौं । आज ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा देशैभर विभिन्न कार्यक्रम गरिएको छ । सो अवसरमाआइतवार बिहान काठमाडौंको भृकुटीमण्डपमा मानवअधिकार र्‍याली निकालियो । राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा गैसस महासंघ नेपाल लगायतका संघ संस्थाहरु र्‍यालीमा सहभागी भएका थिए । र्‍याली भृकुटीमण्डपबाट शुरु भइ शान्तिबाटिकामा सम्पन्न हुनेछ । यस वर्ष प्राकृतिक प्रकोप तथा विपद्बाट प्रभावितहरुका लागि मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता भन्ने नारा तय गरिएको छ ।¥यालीमा सहभागीहरुले लैङ्गिक हिंसाको सुनिश्चितता गर्नुपर्ने मागसहितका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए । अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना सन्देश दिंदै मानवअधिकारको सम्मान, संरक्षण र संवद्र्धन भएमा मात्र बहुलवादमा आधारित संसदीय लोकतान्त्रिक शासन प्रणाली बलियो हुने बताए । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालले अनुमोदन गरेका मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिका प्रतिबद्धता पूरा गर्न सरकार निरन्तर रुपमा क्रियाशील रहेको बताए । यो अवसरमा राष्ट्रिय मानवअधिकार आयोगले ललितपुरमा कार्यक्रम गरेको छ । सो अवसरमा राष्ट्रपति भवन, शीतल निवासमा पनि कार्यक्रमको आयोजना गरिएको छ ।जहाँ प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । साथै, गम्भीर मानवअधिकार उलंघनका पीडितहरूको राष्ट्रिय संजालद्वारा पनि आज नै प्रधानमन्त्री निवास बालुवाटरमा कार्यक्रमको आयोजना गरेका छन् । जहाँ प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् । त्यसैगरी मावन अधिकारसँग सम्बन्धित विभिन्न संघ संस्थाले आज देशैभरि विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । संयुक्त राष्ट्रसंको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मृतिमा प्रत्येक वर्ष डिसेम्बर १० मा विश्वभर यो दिवस मनाउने गरिन्छ ।

मानिस बेपत्ता कसुरमा दुई प्रहरी कारागार चलान

रसुवा । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारगार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या साह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारु रहेका छन् । पक्राउ गरिएका व्यक्तिलाई जिल्लास्तरमा ल्याउने क्रममा थुमनका एक नागरिक बीचबाटोमै गायब गराएको अभियोग उनीहरूमाथि लगाइएको छ । मानिस कुटपिट गर्ने गोसाइँकुण्ड गाउँपालिका–१, थुमनका अन्दाजी ४२ वर्षीय काले भनिने छिरिङ तामाङलाई थुमनबाट प्रहरी नियन्त्रणमा लिइएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय धुन्चे ल्याउँदै गर्दा रोंगा दोभानको नजिक उत्तरतर्फको भीरबाट बेपत्ता बनाएको आरोपमा सुरक्षाकर्मीद्वय पक्राउ परेका हुन् । सुरक्षा संयन्त्र नअपनाई पक्राउ गरिएका नागरिक बाटोमा बेपत्ता पारेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरिएको थियो । सो मुद्दामा पछि ठहरेबमोजिम हुने गरी हाललाई धरौटीसहित तारेखमा छोड्ने रसुवा जिल्ला अदालतबाट आदेश जारी भएकामा तोकिएको जनही ६ लाख ५० हजार रुपैयाँ धरौटी राख्न नसक्दा ती दुई प्रहरी कारागार चलान भएका हुन् । यस्तै, मानिस बेपत्ता बनाउने कार्यमा सहयोग एवं संलग्न भएको आरोपमा पक्राउ परेका थुमनकै उर्केन छिरिङ तामाङ पाँच लाख र दावा ग्याल्जेन तामाङ तीन लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । पक्राउ गरिएका सबैलाई मानिस बेपत्ता गराउने अभियोगमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो । प्रहरीको अनुरोधमा उर्केनले थुमनबाट धुन्चे जानका निम्ति गाउँमा सवारीसाधनको व्यवस्था गरिदिएको र दावा ग्याल्जेनले मोटरसाइकलमा राखी धुन्चे ल्याउँदा तार्सा भन्ने गाउँतल भीरबाट भोटेकोसीतर्फ भागेर हामफालेको प्रहरीको बयान रहेको बताइएको छ । पीडित र गाउँलेले भने षड्यन्त्रपूर्वक मानिस बेपत्ता पारिएको आरोप लगाउँदै दोषीउपर कारबाहीका निम्ति सडकसंघष समेत गरेका थिए । उनीहरूबाटै बेपत्ता पारिएको हो भन्ने तत्काल यथेष्ट प्रमाण र आधार नहुँदा लामो बहस र छलफलबाट पछि ठहरेबमोजिम फैसला हुने गरी हाललाई धरौटी जमानतमा छोड्ने आदेश जारी भएको रसुवा जिल्ला अदालतका स्रेस्तेदार मुना अधिकारी ढकालले जानकारी दिइन् । सो मुद्दामा बहस चलिरहेको समयमा पीडिततर्फका केही व्यक्तिले अदालतको छानामा ढुंगा प्रहर गरेका थिए । प्रहरीले उनीहरूलाई तत्काल नियन्त्रणमा लिएको थियो । रासस

फिफा विश्वकप–२०२६ छनोट : यमनसँग नेपालको हार

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल पाहुना टिम यमनसँग २–० ले पराजित भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा यमनलाई जित दिलाउन ओमर अब्दुल्लाह अल–दाही र मोहम्मद अब्दुल्लाह अल–दाहीले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ७३औँ मिनेटमा ओमर अब्दुल्लाह अल–दाहीले उत्कृष्ट गोल गर्दै दशरथमा उपस्थित १३ हजार ७३५ दर्शकलाई स्तब्ध बनाएका थिए । पेनाल्टी बक्सको बाहिर राइट साइडबाट नेपालका तीन डिफेन्डरलाई बिट गर्दै धाहीले टप कर्नर उत्कृष्ट गोल गरेका थिए । यस्तै, खेलको अन्तिम मिनेटमा मोहम्मद अब्दुल्लाहले लेफ्ट साइडबाट नेपाल डिफेन्स लाइन तोड्दै ‘चिप’ गोल गर्दै नेपालको खेलमा फर्किने आस तोडेका थिए । पहिलो मिनेटबाटै आक्रमण बुनेको यमनले घरेलु टिमको डिफेन्स लाइनलाई सुरुआतदेखि नै व्यस्त बनाउने रणनीतिसहित उत्रिएको थियो । तर, पहिलो केही मिनेटपछि नेपालले बलमाथिको नियन्त्रण बढायो । चौथो मिनेटमा दीनेश राइट साइडबाट दुई डिफेन्डरलाई काट्दै निकालेको क्रसमा आशिषको हेडर यमनका गोलकिपरले अब्दुल्लाह अल सादीले नियन्त्रणमा राख्न सकेका थिएनन् । सोही बललाई जिलेश्पीले हेडरमार्फत गोललाइन पार गराए पनि रेफ्रीले अफसाइडको इशारा गरेपछि नेपाल अग्रता लिनबाट चुकेको थियो । यसपछि १५औँ मिनेटसम्म दुवै टिमले गतिलो आक्रमण बुन्न सकेनन् । १६औँ मिनेटमा अहमेद महेरले मैदानको मध्य भागबाट एक्लै नेपालका डिफेन्स लाइन तोड्दै बल १८ यार्ड बक्सभित्र पुर्‍याए पनि लामो रन लिन पुग्दा गोलकिपर किरणले खतरा टारेका थिए । २१औँ मिनेटमा सनिष श्रेष्ठले प्रहार गरेको फ्रिकिकमा पेनाल्टी बक्सभित्र रहेका अनन्तले हेडमार्फत ६ यार्ड बक्समा बल मिलाएका थिए । तर, अञ्जनले हेडर नभेट्टाउन नेपालको अग्रताको अवसर गुमाएको थियो । २६औँ मिनेटमा हम्जाह हनासले पेनाल्टी बक्सबाट गरेको प्रहार नेपाली गोलकिपर किरणले सहजै बचाएका थिए । ३३औँ मिनेटमा लेफ्ट साइडबाट अहमद माहेरले दुई नेपाली रक्षकलाई बिट गर्दै गरेको प्रहार आकाशिदा नेपालको खतरा टरेको थियो । ६१औँ मिनेटमा हिसुबले वान भर्सेस वानको अवस्थामा यमनका गोलकिपरलाई बिट गर्न नसक्दा नेपालले अग्रताको सुनौलो मौका गुमायो । त्यसलगत्तै पेनाल्टी बक्सबाहिरबाट पाएको फ्रिकिकमा पुनः नेपालले अग्रताको अवसर गुमायो । जिलेश्पीलाई बक्सबाहिर लडाएपछि प्राप्त फाउलमा नेपालका एरिक बिष्ट प्रहारका लागि आएका थिए । एरिकले लोअर फ्रिकिक यमनका रक्षकबाट डिफ्लेक्ट भएर फर्किदा आएको बलमा अञ्जनले प्रहार गरे पनि बाहिरिएपछि यमन खतराबाट बाहिर आएको थियो । छनोटमा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपाल पहिलो खेलमा युनाइटेड अरब इमिरेट् ९यूएई० विरुद्ध ४–० ले पराजित भएको थियो । लगातार दोस्रो हार बेहोरेको नेपाल तालिका पुछारमा छ । पहिलो जित निकालेको यमन तीन अंकसहित तेस्रो स्थानमा छ । छनोटमा नेपाल समूह ‘एच’ मा छ । यो समूहमा नेपालसँगै यूएई, यमन र बहराइन छन् । त्यसअघि छनोटको पहिलो चरणमा नेपालले लाओसलाई समग्रमा २–१ ले पराजित गरेको थियो ।

नेपालमा कार्वन उत्सर्जन शून्य बनाउन कुनै चुनौति छैन : मन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा कार्वन उत्सर्जन शून्य बनाउन कुनै चुनौति नरहेको बताएका छन् । मङ्गलबार काठमाडौंमा आयोजना भएको राष्ट्रिय जलवायु सम्मेलनमा बोल्नुहुँदै अर्थमन्त्री डा। महतले यस्तो बताएका हुन् । मन्त्री महतले कार्वन उत्सर्जन कम गर्न नेपालको ४५ प्रतिशत वन जङ्गल बनाएको विषयलाई विश्वले प्रशंसा गर्नुपर्ने बताए। उनले नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अक्सिजन धेरै उत्पादन गर्ने र कार्वन उत्सर्जन कम गर्नका लागि ४५ प्रतिशत भू–भाग जङ्गलका रुपमा स्थापित गरिरहेको जानकारी दिए । ‘‘नेपालको ४५ प्रतिशत जमिनमा जङ्गल स्थापित गरिसकेका छौं । सन् १९९० देखि ३० प्रतिशत रहेकोमा अहिले ४५ प्रतिशत पु¥याएका छौं । नेपालले अक्सिजन धेरै उत्पादन गर्ने र कार्वन उत्सर्जन कम गर्ने काम गरिरहेका छौं । यसलाई विश्वले प्रशंसा गर्नुपर्छ । अहिले नेपालको जलवायुसम्बन्धी चुनौति भनेको कार्वन उत्सर्जन शून्यमा बनाउन सक्छ की सक्दैन भन्ने होइन । त्यो नेपालले गर्दैछौं । त्यो नेपालले गर्छ । नेपालले एक्सनबाट नै बताइसकेका छौं । कार्वन उत्सर्जन कम गर्न सवारीसाधनहरु समेत विद्युतीयमा परिमार्जन भइरहेका छन् ।,’’ मन्त्री महतले भने, ‘‘अहिले विद्युतीय सवारी साधनहरुको माग उच्च छ । त्यसैले नेपालले राखेको सन् २०४५ भित्र विशुद्ध शून्य उत्सर्जनमा पुग्ने लक्ष्य कुनै शङ्का छैन । नेपालले एक्सन र तथ्याङ्कबाट प्रमाणित गर्छ । तर नेपालले कार्वन उत्सर्जन शून्य बनाउँदैमा जलवायु परिवर्तनको प्रभाव नेपालले भोगिरहेको छ । त्यसमा नेपालले कार्वन उत्सर्जन शून्य बनाउँदैमा जलवायु परिर्वतनको प्रभावबाट नेपाल मुक्त हुन्छ ? हुँदैन ।’’ अर्थमन्त्री महतले कार्वन उत्सर्जन कम गर्न सवारीसाधनहरु समेत विद्युतीयमा परिमार्जन भइरहेको उल्लेख गरे । उनले सन् २०४५ भित्र विशुद्ध शून्य कार्वन उत्सर्जनमा पुग्ने लक्ष्यमा विश्वले कुनै शङ्का नराख्न आग्रह गरे । उनले नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको समस्या कार्वन उत्सर्जन शून्य बनाउँदैमा मुक्त नहुने भन्दै अन्य विकसित देशले पनि पूरा गर्न आवश्यक रहेको बताए। उनले विकशित देशले उत्सर्जन गरेको कार्वनका कारण भएको जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको बताए। उनले नेपालका हिमालहरुको हिउँ पग्लिएको नेपालले कार्वन उत्सर्जन गरेको कारणले नभएर अन्य देशका कारणले भएको भन्दै विकसित मुलुकहरुले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्नका लागि आर्थिक सहयोग गर्नुपर्ने बताए। उनले जलवायु परिवर्तन न्यूनीकरणका लागि विभिन्न फण्डहरुबाट पाउनुपर्ने सबै सहयोग नेपालले पनि पाउनुपर्ने माग कोप सम्मेलनमा राखिने बताए । मन्त्री महतले भने, ‘‘विकसित देशले उत्सर्जन गरेको कार्वनबाट नेपालले भोगि रहेको छ । नेपालका हिमालहरुको हिउ पग्लिएको नेपालले कार्वन उत्सर्जन गरेका कारणले नभएर अन्य देशको कारणले हो । विकशित मुलुकहरुले जलवायु परिर्वतनले पारेको असर न्यूनीकरण गर्नका लागि सहयोग चाहियो । नेपालका ठूला आयोजनाहरुको लागत कस्ट बढ्ने गरेको छ । त्यो बढेको कस्ट व्यहोर्ने की न व्यहोर्ने ?’’ उनले नेपालमा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्ने डोनर एजेन्सीहरुबाट सहयोग लिएर नेपालमा रिपोर्ट मात्रै प्रस्तुत गर्नेभन्दा पनि कार्यक्रम ल्याउन आग्रह गरे । उनले सन् २०३० भित्र नेपालको कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चितता गर्ने गरी नेपालमा जलविद्युतमा लगानी भइरहेको बताए ।

एन्फामा विशेष साधारणसभा : अविश्वासको प्रस्ताव सामना गर्दै अध्यक्ष नेम्वाङ

मकवानपुर । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा आज हेटौँडामा हुँदै छ । बिहान ८ बजे हेटौँडा ४ स्थित रोयल पार्टी प्यालेसमा हुने छ। उक्त साधारण सभामा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले आफू विरुद्ध लागेको अविश्वासको प्रस्तावको सामना गर्दै छन् । गत २५ भदौमा एन्फाका ४९ सदस्यले अध्यक्ष नेम्वाङ र महासचिव किरण राईमाथि बर्खास्त गर्न माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए । एन्फामा कुल १०५ सदस्य रहेकोमा साधारणसभामा ८६ सदस्यसँग मात्र मताधिकार रहेको छ ।

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ । आइतबारका लागि बोलाएको बैठक गृहकार्य नपुगेको भन्दै आजलाई सारिएको थियो । केही बेरअघिबाट पार्टी कार्यालय आलोकनगरमा सचिवालय बैठक बसिरहेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । नेता खतिवडाका अनुसार बैठकमा पार्टीले हालै सम्पन्न गरेको मेची महाकाली समाजवादी जागरण अभियानको समीक्षा, पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी र सरकारका कामकारबाहीबारे छलफलका एजेन्डा छन् । त्यसबाहेक सचिवालय बैठकमा अन्तरपार्टी निर्देशन (अपानी–११) का बारेमा समेत छलफल गर्ने नेताहरूको तयारी छ । अध्यक्ष माधवकुमार नेपाल मंगलबार चीन भ्रमणमा जान लागेकाले त्यसबारे समेत अध्यक्षले ब्रिफिङ गर्नेछन् ।

साम्प्रदायिक दंगा भड्किएपछि : सुरक्षाकर्मी परिचालन गरेर दुर्गा मूर्ति विसर्जन

मलंगवा । सर्लाही सदरमुकाम मलंगवामा बुधबार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन गरिएको छ । विगतमा मूर्ति विर्सजन गर्न जाने क्रममा दुई समुदायबीच मलंगवामा विवाद उत्पन भई साम्प्रदायिक दंगा भड्किएपछि बुधबार विशेष सुरक्षा व्यवस्था अपनाएर मूर्ति विसर्जन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए । यो वर्ष मलंगवासहित सर्लाहीमा ६५ ठाउँमा दुर्गा माताको मूर्ति बनाएर पूजा आयोजना गरिएको उनले बताए । मूर्ति विसर्जनमा यो वर्ष सर्वसाधारणको सहभागिता घटेको थियो । यसअघि, मलंगवामा विश्वकर्मा पूजा र गणेश पूजामा मूर्ति विसर्जन गर्न जाँदा दुई समुदायबीच झडप भई कर्फ्यु आदेश नै जारी गर्नुपरेको थियो । रासस

किताब बेच्न सडकमा निस्किए महावीर

काठमाडौं । व्यापारीले ३० प्रतिशत कमिसन मागेको भन्दै वैज्ञानिक एवं सामाजिक अभियन्ता महावीर पुनले आफ्नो आत्मकथा पुस्तक आफैले बेच्न सडकमा निस्किएका छन्। काठमाडौँ र ललितपुरको सडक छेउ र चोकहरू पुस्तक बेचिसकेका उनले आज पोखराको वाग्लुङ बसपार्कमा पुस्तक बेच्ने भएका हुन् । उनलाई थुप्रै युवाहरूले साथ दिएका छन्। उनले राष्ट्रिय आविष्कार केन्द्रले प्रकाशन गरेको उक्त पुस्तक बिरगञ्जको कृषि औजार केन्द्र कारखाना सञ्चालन गर्न सहयोगार्थ भन्दै किताब किनेर सहयोग गर्न अपिल गरेका छन्। उनले विज्ञापन गर्दै भन्छन्,‘आउनुहोस् किताब आयो, महाबिर पुनको जीवन कथाको किताब आयो, राष्ट्रिय आविष्कार केन्द्रले प्रकाशन गरेको किताब विरगञ्जको कृषि औजार केन्द्रको कारखानालाई सञ्चालन गर्नको लागि सहयोगार्थ किताब आयो किन्नुहोस, किन्नुहोस।’

शान्ति प्रक्रियाबारे शान्ति सम्झौताका सहयात्रीमा नै नकारात्मक प्रवृत्ति देखा पर्यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताका सहयात्रीमा नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको बताएका छन् । द्वन्द्व पीडित परिवारका आफन्त तथा परिवारहरूले संक्रमणकालिन न्यायप्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो विषयिक राष्ट्रिय परामर्श भेला गरी निकालेको निष्कर्ष पत्र बुझ्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । केही मान्छेहरू द्वन्द्वका कारण केही सिमित व्यक्ति मात्रै पिडित भएका हुन् जसरी प्रचारमा लाग्ने गरेको र विश्व समुदायलाई भ्रममा पार्न सकिन्छ कि भनेर प्रयास गरी राखेको प्रधानमन्त्रीले बताए । यद्यपी आफ्नो प्रयासले हजारौं हजार नागरिक , आम रूपमा न्याय भयो कि भएन भन्नेमा विश्व समुदायको ध्यान आकर्षित भएको उहाँको भनाई थियो । संक्रमणकालिन न्यायप्रक्रियामा पीडित केन्द्रित दृष्टिकोण र समाधानको बाटो विषयिक छलफल राखेर सहिद ब्यपत्ता योद्धा यतना पीडित र पीडित सदस्यहरूले लिएको पहलप्रति प्रधानमन्त्री प्रचण्डले धन्यवाद व्यक्त गरे। द्वन्द्व पीडित परिवारका आफन्त तथा परिवारहरूसँग प्रम प्रचण्ड प्रधानमन्त्री प्रचण्डले भने -‘शान्ति प्रक्रिया टुंग्याउने विषयलाई पेचिलो बनाउने प्रायस भै राखेको छ । शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन निकै सकस पैदा गर्ने कोशिस भैराखेको छ । पछिल्लो समय सदनका बसह हेर्नु भएकै छ, शान्ति सम्झौताका सहयात्री नै जनयुद्धको सन्दर्भ र शान्ति प्रक्रिया टुंग्याउने विषयमा नकारात्मक प्रवृत्ति देखा परेको छ ।’ विभिन्न चुनौतिकाबीच आफुले माओवादी जनयुद्धमा संलग्न र द्वन्द्वबाट पीडित बनेका सबैका समस्या समाधन र उनीहरूका पिडा पक्षविपक्ष नभनेर समाधान प्रयास गरिराखेको बताए ।सोहि प्रक्रिया अन्र्तरगत द्वन्द्व पीडित प्रहरीका परिवारलाई पनि आफुले भेटेको जानकारी दिए । पछिल्लो समय आफु संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जाँदा वातावरण परिर्वतनका कारणले नेपालले भोगिरहेको समस्या र नेपालको शान्ति प्रक्रियाबारे विश्वको ध्यान जाने गरी महासभामा विषयको उठाउन गरेको प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री प्रचण्डले भने -‘मैले नेपालको शान्ति प्रक्रिया मौलिक भएको र यसबाट विश्वले सिक्न सक्ने बताउँदै सम्बोधन गर्दा अन्तर्राष्ट्रिय रूपमा नै तरगित भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा नेपालको शान्ति प्रक्रियालाई गम्भीर रुपले र्बलियोसँग राखिएको छ । यसले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण मात्रै गरेको छैन ।पुरै बधाई र धन्यवाद दिनेको ताती नै लागेको थियो ।’ आफुले महासभामा नेपालको संक्रमणकालिन न्याय प्रक्रिया टुंगो लगाउँदा त्यसले अन्तर्राष्ट्रिय जगतमा एउटा नयाँ उदाहरण प्रस्तुत गर्ने भएकोले सबैले नेपालको शान्ति प्रक्रिया टुंग्गोमा पुर्याउन मदत गर्नुपर्ने धारणा राखेको बताए । त्यसले विश्व समुदायबाट नेपालको शान्ति प्रक्रियामा नेपाले समर्थन प्राप्त गरेको उनको भनाई थियो । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा आफुले महासचिव एन्टोनियो गुटरेसलाई नेपालले जलवायु परिर्वतका कारण भोगेको समस्या र नेपालको शान्ति प्रक्रियाका साथै पीडितहरूको कुरा सुन्न नेपाल भ्रमणको निमन्त्रणा दिएको बताए। इजरायलमा भएको द्धन्द्धका कारणले महासचिव गुटरेस अक्टोवर १३ को सट्टा २९ तारिकको दिन नेपाल आउने जानकारी समेत उनले दिए । महासचिव गटरेससँग नेपालको शान्ति प्रक्रिया र चुनौती बारेमा छलफल गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले उनको नेपाल भ्रमणले न्याय प्रक्रिया टुंगो लगाउन, नेपालको शान्ति प्रक्रिया नजिकबाट हेर्न, नेपालले भोगिराखेको वातावरणीय समस्या र यसको प्रभावबारे बुझ्न मदत पग्ने बताए । महासचिव आएपछि नेपालको शान्ति प्रक्रिया टुंगोमा पुर्याउन र नेपालले भोगेको वातावणीय प्रभावबारे नेपालमा सकारात्मक वातावरण बन्ने प्रधानमन्त्रीको भनाइ थियो । महासचिव नेपाल भ्रमणमा आउँदा आफुले पीडितहरूले आफ्नो विषय राख्ने र पीडितहरूका अनुभव र पिडाका विषय महासचिवसमक्ष नै सुनाउने वातावरण बनाउँने तर्फ सोचिराखेको समेत उनले बताए । सो क्रममा प्रधानमन्त्री प्रचण्डले अहिले टिआरसी सम्बन्धि विधेयक संसद हुँदै समिति हुँदै उपसमितिमा गएको जानकारी दिए ।साथै, शान्ति प्रक्रियालाई राजनीतिक लेवलमा यसअघि भएका सहमति अनुसार टुंगोमा पुर्याउन निरन्तर छलफल गरेको समेत उनले बताए । प्रधानमन्त्रीले भने -‘शान्ति प्रक्रियालाई राजनीतिक लेवलमा यसअघि भएका सहमति अनुसार टुंगोमा पुर्याउन निरन्तर छलफल गरिराखेको छु । राजनीति दलहरुसँग टिआरसी विधेकमा सहमति जुटाएर एकमत कायम गर्न शान्ति प्रक्रियाका सबै दल र अरूलाई पनि समेटेर लैजाने प्रयास गरिरहेको छु । टिआसी टुंगोमा पुर्याउन प्रतिपक्षी दललाई समितिका ३ वटा सभापति दिइएको छ । तर शान्ती प्रक्रिया टुंगोमा पुर्याउन माओवादी र सरकार जस्तो इमान्दार प्रतिपक्ष दल भैराखेको छैन ।’ शान्ति प्रक्रिया टुँगोमा पुर्याउने र जनयुद्धलाई स्थापित गर्ने कुरामा आफु दृडतापूर्वक लागेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसमा सबैको साथ सहयोग आवश्यक रहेको बताए । आफुले जनयुद्ध र शान्ति प्रक्रियालाई स्थापित गर्न कदम थालेपछि प्रधानमन्त्री भैराखेको बेलामा शान्ति सम्झौतको मर्म विपरित आफुलाई मुद्दा दर्ता गरिएको प्रधानमन्त्रीको भनाई थियो । त्यस किसिमका गतिविधि कुनै व्यक्ति प्रति लक्षित नभइ समग्र परिर्वतनको आन्दोलनप्रतिको आक्रमणको रुपमा बुझन् उतले आग्रह गरे । सोही कारण जनयुद्ध र परिर्वतको आन्दोलनमा सहभागी सबै एकजुट हुने बेला आएको प्रधानमन्त्रीको भनाई थियो । जुन एकताले शान्ति प्रक्रियालाई न्यायपूर्ण ढंगले टुंगो पुर्याउन मदत गर्ने उनले विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले भने -‘सबै एक ठाउँमा जुटेर फेरि विभाजनका भंगालाहरु एक भएर अगाडि बढौं, त्यो बेला अहिले आएको छ । सबैका त्याग, बलिदान र त्यसबाट प्राप्त अनुभव सबैका भएको महशुस गर्दै अगाडि बढ्नुपर्ने बेला आएको छ ।’ आफुले त्यसैको प्रयास स्वरुप समाजवादी मोर्चा बनाएको समेत प्रधामन्त्रीले बताए । सकारात्म शक्तिसँगै नकारात्मक प्रवृत्ति पनि उसैगरी सक्रिय भएको हुने बताउँदै उनले साम्प्रदायिकता र धार्मिक द्वन्द्व फैलाउन कोसिस गर्नेहरुलाई पराजित गर्न पनि एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याए ।

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (असोज २४ गते) बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ। युरो एकको खरिद दर १४०.० रुपैयाँ ८१ पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ शून्य पैसा र बिक्री दर १६३ रुपैयाँ ७३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर कति ?

अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सिटिइभिटीका कर्मचारी

सिन्धुली । सुनकोशी नदीमा जिपसहित खसेर बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का अधिकारीहरुको अझै खोजी भइरहेको छ । घटना भएको पाँचौँ दिन बित्नै लागिसक्दासमेत अझैसम्म ती अधिकारीहरूलाई भेटाउन सकिएको छैन । सिटिइभिटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नंको जिप शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका–७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको सिटिइभिटीको जिपमा प्रशासन शाखाका निर्देशक तनहुँको भानु–९ का ५७ वर्षीय कृष्ण केसी, पूर्वी नवलपरासीको प्रगति–७ घर भएका योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र इलामका ३२ वर्षीय विद्युत प्राविधिक भानु पौडेल सवार थिए । उनीहरु सबै बेपत्ता रहेका छन भने चालक कृष्ण चौधरी घाइते अवस्थामा आफैँ पौडिएर निस्किन सफल भएका थिए । खोजी जारी भए पनि हालसम्म बेपत्ता व्यक्ति र गाडी भेटिएको छैन । सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थानसमेत चारवटा टोलीले शुक्रबारदेखि खोजी निरन्तर गरिरहेको छ । एकातर्फ पानीको बहावलाई फर्काउने काम भइरहेको छ भने अर्कोतर्फ गोताखोरहरुले चुम्बक समेत प्रयोग गरी गहिराइमा पुगेर खोजी गरिरहेका छन् । बेपत्ताहरूको खोजी गर्ने काममा जुटेको टोलीले पाँचौँ दिन आज पनि प्रयास जारी राखेको छ । दुवै तर्फबाट सुनकोशीलाई छेकेर अब एउटा भँगालो थुनेपछि पूरै पानी रामेछापबाट बहने र बेपत्ताहरूको खोजी गर्न सहज हुने खोजी गोताखोर केशव महतले जानकारी दिए । सुनकोशी नदीको पानीमा अत्यधिक करेन्ट भएकाले नदीको तल्लो भागसम्म पुग्ने गरी ५० केजी वजन जीउमा बाँधेर खोजी सुरु भए पनि धमिलो पानी भएकाले भित्र नदेखिँदा समस्या भएको छ । उनका अनुसार नदीको पानी कञ्चन भइदिएको भए यति ठूलो समस्या हुने थिएन । घटना भएको दोस्रो दिनदेखि नै सुनकोशीको पानीलाई रामेछापतर्फको किनारबाट पठाएर घटनास्थलमा पानी कम गराउने प्रयास भइरहेको छ । चारवटा स्काभेटर, तीनवटा जेसिबी, डोजर, पाँचवटा टिपर र ट्याक्टर लगाएर पानीका बहाव अर्कोतर्फबाट फर्काउन प्रयास भइरहे पनि हालसम्म सफल भएको छैन । चारवटा एक्साभेटर, दुइटा डोजर र केही ड्रम ट्रक लगाएर सोमबार रातको ९ बजेसम्म पानीको बहाव फर्काउन लगातार मेशिनमार्फत काम गरिएको थियो । रातमा बत्ती बालेर लगातार गरेको मेहनत मङ्गलबार बिहान हेर्दा उस्तै भयो । अहिले सोही कार्य दोहोर्‍याइएको छ ।

लुम्बिनीमा पर्यटक आउनेक्रम बढ्दै, पाँच महिनामा चार लाख ७० हजार पर्यटक भित्रिए

लुम्बिनी । पछिल्लो समय आन्तरिक पर्यटकसँगै लुम्बिनीमा भारतीय र तेस्रो मुलुकका पर्यटक आउनेक्रम बढेको छ। यसै क्रममा पछिल्लो पाँच महिना अर्थात् २०२३ को जनवरीदेखि मे महिनासम्म कूल चार लाख ७० हजार पाँच सय ४२ बढी पर्यटक लुम्बिनी भित्रिएका छन्। सन् २०२२ को जनवरीदेखि मे महिनासम्म तीन लाख ६२ हजार ५६ जनाले लुम्बिनी भ्रमण गरेका थिए । गत वर्षकोभन्दा यस वर्षको सङ्ख्या एक लाख आठ हजार चार सय ८६ ले बढी छ। सन् २०२३ को जनवरीदेखि मे महिनासम्ममा ६७ देशका ३४ हजार चारसय १३ जना राहदानी लिएका, तीन लाख २४ हजार दुई सय ६८ नेपाली र एक लाख ११ हजार आठ सय ६१ भारतीय नागरिकले बुद्धजन्मस्थलको भ्रमण गरेको तथ्याङ्क छ। गत वर्ष दुई हजार छ सय ८७ राहदानी लिएका, दुई लाख ८९ हजार पाँचसय ९४ नेपाली र ६९ हजार सात सय ७५ भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका जनाइएको छ। यस पाँच महिनाको अवधिमा नेपाली र भारतीय नागरिकबाहेक थाइल्यान्डका आठ हजार दुइ सय ४७, श्रीलङ्काका पाँच हजार सात सय २१, म्यान्माका पाँच हजार तीन सय ९८, भियतनामका तीन हजार दुई सय ३५, कोरियाली दुई हजार छ सय २९, चिनिया एक हजार दुई सय आठ र अन्य देशका सात हजार छ सय ७५ जना राहदानीका नागिरकले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेको लुम्बिनी विकास कोषले जनाएको छ। गत वर्ष सन् २०२२ मा यिनै पाँच महिनाको आगन्तुक गणना गर्दा तेस्रो मुलुक ९६ देशका राहदानी दुई हजार छ सय ८७, नेपाली दुई लाख ८९ हजार पाँच सय ९४ र भारतीयको सङ्ख्या ६९ हजार सात सय ७५ रहेको थियो। तेस्रो मुलुकका राहदानी लिएकाको गणना गर्दा भियतनामी छ हजार नौ सय २३, थाई चार हजार तीन सय ८०, श्रीलङ्कन एक हजार आठ सय ८५, म्यान्मा एक हजार चार सय ९५ तथा अन्य नौ हजार दुई सय ५९ छन्। कोरोनाको अवधि सन् २०२१ मा ६८ देशका एक हजार एक सय ९७ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए। त्यसैगरी सन् २०२० को जनवरीमा १३ हजार एक सय सात, फेब्रुअरीमा २१ हजार छ सय ६७ र मार्च महिनामा आठ हजार तीन सय ६३ जना त्यसपछि नोभेम्बरमा ३ र डिसेम्बर महिनामा २३ तथा विशिष्ट दुई हजार एक सय ६६ गरी कूल ४५ हजार तीन सय २९ जना राहदानी लिएकाले लुम्बिनी भ्रमण गरेका थिए। सन् २०२१ मा चार लाख ६३ हजार छ सय ६३ जना नेपाली र ४३ हजार सात सय ३२ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका थिए भने सन् २०२० मा दुई लाख १० हजार ३३ जना नेपाली र ३७ हजार दुई सय छ जना भारतीय नागरिकले लुम्बिनी भ्रमण गरेका कोषले उपलब्ध गराएको सूचनामा उल्लेख छ। त्यसअघि २०१९ मा भने नेपाली, भारतीय र तेस्रोमुलुक गरी कूल १५ लाख ५८ हजार तीन सय २६ जनाले लुम्बिनी भ्रमण गरेका थिए। लुम्बिनी, नेपालको पश्चिमी क्षेत्रस्थित एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो। यो स्थानलाई बौद्धधर्मको जन्मस्थल मानिन्छ र विश्व सांस्कृतिक धरोहरस्थलको सूचीमा युनेस्कोले समावेश गरेको छ। यहाँ हालका वर्षमा पर्यटक वृद्धिसँगै पर्यटन व्यवसायले पनि वृद्धि गरेको लुम्बिनी पर्यटन व्यवसायी सङ्घका अध्यक्ष हुसेनी लोधले बताए। लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मेत्तेय)ले लुम्बिनीमा पर्यटक सङ्ख्याको वृद्धि पर्यटन उद्योगका लागि एक सकारात्मक सन्देश रहेको जानकारी दिए। उनले भने, “यसले स्थानीय अर्थतन्त्रलाई वृद्धि गराउँछ भने रोजगार र आयसम्बन्धी अवसर प्रदान गर्दछ।” यो तथ्याङ्क मायादेवी मन्दिर परिसरमा प्रवेश गर्नेको मात्र हो। मायादेवी मन्दिर प्रवेश नगरेका तर लुम्बिनी घुम्न आएका पर्यटक पनि धेरै रहेको उनले जनाए।