नेकपा (एमाले) मोरङको अध्यक्षमा ढकाल
विराटनगर, पुस २९ । नेकपा (एमाले) मोरङको आठौँ जिल्ला अधिवेशनले अध्यक्ष पदमा विनोद ढकाललाई निर्वाचित गरेको छ । गएराति सार्वजनिक गरिएकोे मत परिणामअनुसार ढकालले आफ्ना प्रतिद्वन्द्वी महेश रेग्मीलाई २०६ मतको अन्तरले पराजित गरेका हुन् । कूल ८८३ मत खसेकामा ढकालले ५४० मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी रेग्मीले ३३४ मत प्राप्त गरेका थिए । त्यसैगरी, ढकालकै समूहबाट उपाध्यक्ष पदमा रामलाल साह ४६९, सचिवमा ऋषिकेश पोखरेल ५०४ र उपसचिवमा धना तामाङ ४५६ मत प्राप्त गरी विजयी भएका छन् । रासस
प्रेरणालाई दिएको जग्गा सरकारको भएको सर्वोच्चको फैसला
काठमाडौं, पुस २१ । सर्वाेच्च अदालतले तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजोस्वरूप दिएको काठमाडौं छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारको भएको फैसला सुनाएको छ। प्रधानन्यायाधीस शुशीला कार्की र न्यायाधीसहरु दीपक कार्की र सपना मल्लको संयुक्त इजलासले बिहीबार सो निर्णय गरेको हो। प्रेरणा शाहको नाममा रहेको सम्पत्ती नेपाल सरकारको मातहतमा आउने गरी निर्णय भएको हो ।
भवन भत्किएपछि पुस्तक र पत्रिकाहरु बाेराभित्र थन्किए
ललितपुर, पुस २० । हरिहर भवनस्थित नेपाल राष्टिय पुस्तकालयको भवन भत्किएपछि यहाँ रहेका एक लाख ५० हजार पुस्तक तथा पत्रपत्रिकाहरु अलपत्रमा परेका छन् । पत्रिका र पुस्तकहरु अहिले बोरामा खाँदेर राखिएको पुस्तकालयले बताएको छ । नयाँ भवन बन्नका लागि पूनःनिर्माण प्राधिकरणले रकम छुटाएपनि जग्गाको अभावमा काम अघि बढ्न सकेको छैन । पुस्तकालयका प्रमुख उपेन्द्रप्रसाद मैनालीले गत वर्षको भूकम्पपछि पुस्तकालय सेवाविहीन भएको बताए । उनले भने– ‘अहिले पुनःनिर्माणको काम नै सुरु भएको छैन, सुरु भएपछि पनि २÷३ वर्ष लाग्न सक्छ ।’ वैकल्पिक व्यवस्था गरेर पनि पुस्तकालय सञ्चालन गर्नुपर्ने उनको जोड छ । बोरामा राखिएका पुस्तक तथा पत्रिकाहरु केही खोलेपनि धेरै खोल्न नै बाँकी भएको पुस्तकालयका प्रकाशन प्रमुख यादवचन्द्र निरौलाले बताए। भूकम्पपछि पुस्तकालयका सामग्री पाँच हजारवटा बोरामा राखिएको छ । तीमध्ये तीन हजार बोरा मात्रै खोलिएको छ । उनले रासससँग भने– ‘जग्गा उपलब्ध भएमा चाँडो भवन बनाएर सर्न चाहन्छौं ।’ साठी वर्ष पुरानो यस पुस्तकालयमा ३०० वर्ष पुराना सामग्री रहेका छन् ।
थाइल्यान्डमा सडक दुर्घटना, पच्चीसको मृत्यु
बैंकक (थाइल्यान्ड), पुस १९। पूर्वी थाइल्यान्डको चोनबुरी प्रान्तमा सोमबार एक यात्रु वाहक भ्यान र मिनी ट्रक एक आपसमा ठक्कर खाँदा २५ जनाको मृत्यु भएको छ । घटनामा भ्यानमा सवार १४ जना र ट्रकमा सवार ११ यात्रुको मृत्यु भएको थाई सुरक्षा अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार दिउँसो २ बजे वानबुङ जिल्लाको ३४४ रोडमा भएको उक्त घटनामा दुई जना यात्रु बाँच्न सफल भएको बताइएको छ । यात्राकै क्रममा भ्यान चालक निदाएका कारण दुर्घटना हुन पुगेको प्रारम्भिक अनुसन्धानपछि थाई प्रहरीले बताएको छ । रासस
कमल थापा र गच्छदार सरकारमा जाने
काठमाडौं, पौष १७ । संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्नुहुने भएको छ । प्रधानमन्त्रीले मंत्रीपरिसदमा राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई ल्याउने तयारी गर्नुभएको खबर आजको नेपाल समाचार पत्रमा छ । थपाले उपप्रधानमन्त्रीसहित शक्ति सन्तुलन गर्ने खालको मन्त्रालयको माग गर्नुभएको छ भने गच्छदार पनि सरकारमा जान तयार हुनुहुन्छ । थापासँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो ‘म अहिले धनगढीमा छु अनौपचारिक रुपमा यसअघि कुरा भएपनि औपचारिक रुपमा कुरा भएको छैन । पार्टीमा यसबारे कुरा गर्न बाँकी छ ।’ गच्छदारले सरकारको आलोचना गर्न थालेपछि प्रधानमन्त्रीसँग गच्छदारको मन्त्रालयको विषयमा बार्गेनिङ भइरहेको स्रोतको भनाइ छ ।
झारखण्डमा कोइला खानीको ढिस्को खस्दा ७० जना पुरिए
राँची, एजेन्सी । झारखण्डको गोड्डामा कोइला खानी धसिन पुग्दा ७० जना भन्दा बढी पुरिएका छन् । बिहिबार साँझ ७ बजे घटना घटेको हो । राजमहल परियोजना अन्तर्गतको उक्त कोइला खानीमा काम गरिरहेको बेला कोइला खानीको ढिस्को ३ सय मिटरसम्म धँसिन पुगेको हो । कामदारका साथै २५ वटा भल्भो गाडी र ४ वटा पिसी पनि पुरिएका छन् । प्रहरी र एनडीआरएफको टीम अहिले घटनास्थलमा राहत र बचाउ कार्यमा जुटेको छ । सन् २००१ को सेप्टेम्बर २६ मा यसरी नै कोइला खानी धसिएपछि १२ जनाको मृत्यु भएको थियो ।
अँध्यारोका कारण हक्की खेल स्थगित
विराटनगर, पुष १३। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार साँझ मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल बीचको हक्की खेल अँध्यारोका कारण स्थगन भएको छ । निर्धारित ७० मिनेटका समयमा खेल गोलरहित बराबरीमा टुङ्गिएपछि १५ मिनेट थप्ने निर्णय गरिएको पनि दुवै टोलीका खेलाडीले अँध्यारोमा खेल्न नमानेपछि खेल स्थगन गरिएको थियो । साँझ ४ बजेपछि मात्र उक्त खेल सुरु हुन लागेको थियो । “खराब प्रकाशका कारण खेल स्थगन गरिएको हो,” हक्की प्रशिक्षक राजेन्द्र पाठकले भने । उक्त खेल आज पुनः सुरुदेखि खेलाइने छ । उक्त खेलमा विजयी हुने टोली फाइनलमा प्रवेश गर्नेछ । यसअघि नेपाली सेना फाइनलमा प्रवेश गरिसकेको छ । सेनाले मध्यपश्चिमाञ्चललाई पराजित गरेको थियो । यस्तै महिला हक्कीतर्फ आजको खेलमा राउन्ड रोबिन लिगमा सुदूरपश्चिमाञ्चलले सेनालाई १–० गोलअन्तरले हरायो । जितसँगै सुदूरपश्चिमाञ्चल ६ अङ्कसहित शीर्षस्थानमा छ । आज सुप, पश्चिमाञ्चलसँग तथा सेना पूर्वाञ्चलसँग खेल्नेछन् । महिलातर्फ सुदूरपश्चिमले तीन खेलमा पूरै जित हासिल गरेको छ । आजको खेल जितेमा उसले स्वर्ण जित्नेछ । पुरुष फुटबल पुरुष फुटबलको सेमीफाइनल समीकरण पूरा भएको छ । धरानमा सम्पन्न खेलमा मङ्गलबार समूह ‘ख’मा रहेका सेना र सशस्त्र प्रहरीले गोलरहित बराबरी खेल्दै सेमीफाइनल प्रवेश गरेपछि समीकरण पूरा भएको हो । समूह ‘ख’बाट सेनाले ७ अङ्कसहित समूह विजेता बन्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । पाँच अङ्क जोडेको सशस्त्र प्रहरी समूहको उपविजेताका रुपमा सेमीफाइनलमा प्रवेश गरेको छ । यस्तै समूह ‘क’को विजेता हुँदै नेपाल प्रहरी तथा मध्यमाञ्चल उपविजेताका रुपमा यसअघि सेमीफाइनल पुगिसकेका छन् । प्रहरीले आज सशस्त्र प्रहरीसँग तथा सेनाले मध्यमाञ्चलसँग सेमिफाइनल खेल्नेछन् । तेक्वान्दो मङ्गलबार सम्पन्न पुरुषतर्फको तेक्वान्दोमा ८७ किलो तौलमा सेनाका रामहरि महतले मध्यमाञ्चलका पूर्णसिंह गुरुङलाई हराएर स्वर्ण जिते । उक्त स्पर्धामा पूर्वाञ्चलका श्यामकुमार घिसिङ र सशस्त्रका गोपाल पुतुवारले कास्य पदक हात पारे । यस्तै ५७ किलो तौलमा सेनाका ज्ञानी चुनाराले स्वर्ण पदक हात पार्नुभयो । मध्यमाञ्चलका करुणा थापाले रजत तथा मध्यपश्चिमाञ्चलका सपना सारु मगर र सीता तामाङले कास्य पदक जिते । यसैगरी महिला ५३ किलो तौलमा सुदूरपश्चिमकी गीता विष्टलाई हराएर प्रहरीका निमा गुरुङले स्वर्ण पदक जितिन् । मध्यमाञ्चलका रेश्मा थापा मगर र पश्चिमाञ्चलका होमकुमारी गुरुङले भने कास्य पदक जिते । बैसठ्ठी किलो तौलमा सशस्त्रकी सङ्गीता बस्यालले स्वर्ण, पूर्वाञ्चलकी सुष्मा श्रेष्ठले रजत तथा मध्यपश्चिमाञ्चलका प्रतिभा थारू र पश्चिमाञ्चलका एलिसा केसीले कास्य पदक जिते । रासस
कमल थापाले पनि मागे चुनाव
काठमाडौँ, पुस १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले स्थानीय निकायको निर्वाचनका लागि दलहरुको सहमतिमा मिति तोक्नुपर्नेमा जोड दिएका छन् । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनले आज आयोजना गरेको महिला भेलामा उनले निर्धारित समय अवधिमा तीन तहको निर्वाचन गरी संविधान कार्यान्वयनतर्फ सरकार लाग्नुपर्ने बताए । अध्यक्ष थापाले महिलाको प्रतिनिधित्व बढाउन उनीहरुको सहभागितालाई संविधानले सुनिश्चित गरेको बताउँदै संवैधानिक व्यवस्था अनुसार आफ्नो पार्टीले महिला वर्गलाई अगाडि बढाउने विषयलाई प्राथमिकतामा राखेको बताए । स्थानीय निकायको अभावमा जनताका काम छिटो छरितो हुन नसकेकोले चुनाव हुनुपर्ने उनको भनाइ थियो । पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले मुलुकमा विखण्डनको आवाज उठिरहेका बेला राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताउँदै देशमा विद्यमान समस्या समाधानका लागि राप्रपाले प्रभावकारी भूमिका खेल्ने बताए । निर्वाचनका लागि आवश्यक ऐन निर्माणका लागि सरकार लाग्नुपर्नेमा राणाले जोड दिए । पार्टी सङ्गठन प्रमुख कुन्ती शाहीले मुलुकको विकासका लागि महिला वर्गको उल्लेख्य भूमिका रहने बताउँदै अब मुलुकमा हुने स्थानीय निर्वाचनमा उनीहरुको प्रतिनिधित्व वृद्धि गर्नुपर्ने बताइन । रासस
प्रधानमन्त्री प्रचण्डले भने- लालसलाम कमरेड माओ !
काठमाडौं, पुस ११ । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले संसारभरीका राष्ट्रिय मुक्ति आन्दोलनका विश्वकै महान् पुरुष भन्दै उनको प्रशंसा गरेका छन् । १२३ औं माओ दिवसको अवसरमा आज विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वलाई राष्ट्रिय मुक्ति आन्दोलन गरेर समाज रुपान्तरण गर्ने उनलाई अभिवादन सहित लालसलाम गरेका छन् । ‘आज २६ डिसेम्बर, २०१६ का दिन अन्तर्राष्ट्रिय सर्वहारावर्गका महान् नेता एवम् विचारक क. माओत्से तुङको १२३औं जन्म दिन हो । उहाँको जन्म दिनलाई उत्सवका रुपमा मनाइरहेका संसारभरका श्रमजीवी जनसमुदायमा नेकपा माओवादी केन्द्र न्यानो अभिवादन गर्दछ । साथै कमरेड माओप्रति लाल सलाम व्यक्त गर्दछ ।’ माओले देखाएको बाटो आजसम्म पनि समाज विकासका लागि लागू भएको विज्ञप्तीमा जनाइएको छ । माओले दर्शनको क्षेत्रमा विकास गर्नुभएको एकता, संघर्ष र रुपान्तरणको नियम, दुईको एकमा समायोजन होइन, एकको दुईमा विभाजनको नियमको विस्तार, अर्थशास्त्रको क्षेत्रमा क्रान्तिलाई पक्र, उत्पादन बढाऊ भन्ने मान्यता, वैज्ञानिक समाजवादको क्षेत्रमा दिर्घकालीन जनयुद्धको रणनीति, नयाँजनवादी राज्य व्यवस्थाको मोडेल र सर्वहारा अधिनायकत्व अन्तरगत निरन्तर क्रान्तिको सिद्धान्त आदि माक्र्सवाद–लेनिनवादको विकासमा सार्वभौम योगदान थिए । प्रधानमन्त्रीले संविधान संशोधन मार्फत देशलाई एकतावद्ध गर्न आफू लागि परेको उल्लेख गरेका छन् । ‘वर्तमान अवस्थामा संविधान संशोधनमार्फत् सम्पूर्ण देशलाई एकताबद्ध गर्नु, संविधान कार्यान्वयनको चुनौतिको सामना गर्दै अगाडि बढ्नु र प्राप्त उपलब्धीहरुको जगमा क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्न सम्पूर्ण नेता, कार्यकर्ता र आम जनसमुदायमा हार्दिक अपिल गर्दछौं ।’
सोलारको माइनस प्लस तार जुध्दा घर जलेर ध्वस्त
जाजरकोट, पुस १। जाजरकोटमा सोलारको माइनस प्लस तार जुधेर आगलागी हुँदा त्यहाँको एक घर जलेर ध्वस्त भएको छ । जिल्लाको रामीडाँडा गाविस–८, छेडास्थित एक दलित परिवारको घरमा बच्चाले सोलारको तार चलाउँदा सो दुर्घटना भएको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिए । जीतबहादुर परियारको घरमा आगलागी हुँदा घरभित्र रहेका लत्ताकपडा, अन्न, भाँडाकुँडा र घर पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय वारेकोटले जनाएको छ । अर्काको कपडा सिलाएबापत दिएको अन्नले दैनिक छाकटार्दै आएका यो परिवारलाई आगलागीपछि विचल्ली भएको छ ।
शिशु हत्या गर्ने देवर भाउजू थुनामा
फलेवास (पर्वत), पुस १ । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका पारेर आफ्नै देवरसँग अवैध गर्भधारण गरी शिशुलाई जन्म दिएर हत्या गर्ने देवरभाउजू पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको लिमिठाना–८ की मीना क्षेत्री र विजयराज क्षेत्रीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । ३१ वर्षीया मीना क्षेत्री र विजयराज क्षेत्री एकाघरका देवरभाउजू हुन् । मीनाले श्रीमान् कुलबहादुर क्षेत्रीलाई ढाकछोप गरेर बच्चालाई जन्म दिई आफ्नै खेतमा खाल्डो खनेर गाडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । थप अनुसन्धानका लागि पर्वत जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको आरोपित मीना क्षेत्री र विजयराज क्षेत्रीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिनुभएको छ । आरोपित मीनाका श्रीमान् कुलबहादुर क्षेत्रीले आफ्नै भाइ विजयराज र श्रीमती मीनाविरुद्ध पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दाअन्तर्गत गत कात्तिक ४ गते किटानी जाहेरी दिनुभएको थियो । रासस
हात्तीले लियो एकको ज्यान
पर्सा, मंसिर ३० । पर्सामा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । वनबाट आएको हात्तीले निर्मलबस्ती गाविस–४, सिकारीवास टोल निवासी ४५ वर्षीय रोघाई चौधरीमाथि आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तोरीबारीमा राति बाली जोगाउन पहरा बसेका बेला वनबाट आएको हात्तीले उनीमाथि आक्रमण गरेको थियो । चौधरीको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । पर्सा वनजन्तु आरक्षबाट आहारा खोजीका लागि बाहिरिने हात्तीलगायत जङ्गली जनावरको आक्रमणले निकुञ्जनजिकका वस्तीहरु मारमा पर्ने गरेका छन् ।
‘कालिञ्चोक केवलकार’ सम्बन्धमा विवाद बढ्दै
दोलखा, मंसिर २९ । स्थानीय लापिलाङ गाविस–६ झरेनी सामुदायिक वनमा निर्माण गर्न लागिएको ‘कालिञ्चोक केबुलकार’ का सम्बन्धमा विवाद बढेको छ । जिल्लाका पहुँचवाला नेता तथा व्यावसायीको दबाबमा जिल्ला विकास समिति र कालिञ्चोक गाविसले केबुलकार निमार्णमा स्वीकृति दिए पनि सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति र वन कार्यालयको स्विकृति नलिएकाले विवाद बढेको हो । कालिञ्चोक दर्शन प्राली नामक संस्थाले केबुलकार निर्माण हुने जमिन गुठी संस्थानको भएको दाबी गरेको छ । केबुलकार निर्माणमा विभिन्न दलका नेता तथा कार्यकर्ता र स्थानीय व्यापारी गरी ६५ जनाको लगानी रहेकोले तिनको दबाबमा जिल्ला प्रशासन कार्यालयले वन क्षेत्रको जग्गा उपलब्ध गराउन गुठी संस्थान तथा वन मन्त्रालयमा पत्राचार गरेपनि सो मन्त्रालयले कालिञ्चोक दर्शन प्रालीलाई वातावरणीय प्रभाव मूल्याङ्न मात्र गर्न स्विकृति दिएको जिल्ला वन कार्यालयले जनाएको छ । सामुदायिक वन महासङ्घका जिल्ला अध्यक्ष कमला बस्नेतले यो सामुदायिक वन क्षेत्रको जग्गा भएकाले सामुदायिक वन र जिल्ला वन कार्यालयको स्वीकृतमा मात्रै उपभोग गर्न पाइनेमा स्थानीय जनताको अधिकारमा हस्तक्षेप गर्नुका साथै कानुन विपरितका काम भएको बताएको छ । सामुदायिक वन महासङ्घले हालै आयोजना गरेको छलफलमा जिल्ला वन कार्यलय, सुस्पा सामुदायिक वन, चर्नावती सामुदायिक वन, सुक्राम सामुदायिक वन लगायतका पदाधिकारीले सो सार्वजनिक जग्गा सरकारी सम्पति भएको ठोकुवा गरेका छन् । उनीहरुले केबुलकार निमार्णमा वन कार्यालय, सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिको स्वीकृति हुनुपर्नेमा जोड दिएका छन भने एमाले नेता बालकृष्ण शिवाकोटीले आफूहरुले सबै कानुनी प्रक्रिया पु¥याएको र २७ वर्षका लागि गुठी संस्थानसँग सम्झौता भएको बताएको छ ।
ट्याङकर र सवारी साधन ठोक्किँदा विस्फोट, ३० भन्दा बढीको मृत्यु
नैरोबी, मङ्सिर २७ । केन्याको नैभाशा सहरको बाहिरी इलाकामा एउटा पेट्रोल ट्याङकर अर्को सवारी साधनसँग ठोक्किँदा भएको विस्फोटमा ३० भन्दा बढीको मृत्यु भएको छ । ‘नैरोबी—नैभाशा सडक खण्डमा भएको दुर्घटनामा करिव ३० भन्दा बढीको मृत्यु भएको छ, अरु कैयौ घाइते भएका छन्, ट्याङकरले ठक्कर दिँदा ११ वटा सवारी साधनमा क्षति पुगेको छ,’ केन्याको राष्ट्रिय प्रकोप व्यवस्थापन इकाइले आईतबार जारी गरेको वक्तव्यमा लेखिएको छ । ट्याङकरका चालकले नियन्त्रण गुमाएपछि ट्याङकरले अन्य सवारी साधनलाई ठक्कर दिएपछि विस्फोट भएर ज्वाला निस्किएको केन्याको रेडक्रसले जनाएको छ । केन्याको राजधानी नैरोबीबाट युगान्डातर्फ जाने अति व्यस्त नैरोबी—नकुरु राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनाका कारण झण्डै ११ वटा सवारी साधनलाई असर परेको छ ।
एमालेले हलो अडकाउन खोज्दैछ- नेता पौडेल
कावासोती, २५ मङ्सिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको समग्र हितबाहेक कसैसँग पनि गलत सम्झौता नगर्ने बताउनुभएको छ । नेपाली काँग्रेस नवलपरासी क्षेत्र नं २ ले आज डेढगाउँमा गरेको आमसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले सो विचार व्यक्त गर्नुभएको हो । उहाँले नेपाली काँग्रेस संविधानको कार्यान्वयनका लागि जस्तोसुकै पहल कदमी चाल्न तयार रहेको बताउँदै काँग्रेस मुलुकमा हाल देखापरेका चुनौतीको समाधान खोज्न तयार रहेकामा जोड दिनुभयो । काँग्रेस वरिष्ठ नेता पौडेलले अहिले संविधान संशोधन आवश्यक रहेकामा जोड दिँदै एमालेले आफ्नो नेतृत्वमा सरकार हुँदा यही प्रस्तावलाई अघि बढाएकाले अहिले हलो तेस्र्याउने काम भएकाले त्यस्ता गलत प्रवृत्ति छाडेर संविधान संशोधनमा सघाउन एमालेलाई आग्रह गर्नुभयो । संविधान संशोधनले मात्र संविधान कार्यान्वयनको बाटो खोल्ने छ ।