कमल थापाले पनि मागे चुनाव

काठमाडौँ, पुस १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले स्थानीय निकायको निर्वाचनका लागि दलहरुको सहमतिमा मिति तोक्नुपर्नेमा जोड दिएका छन् ।

पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनले आज आयोजना गरेको महिला भेलामा उनले निर्धारित समय अवधिमा तीन तहको निर्वाचन गरी संविधान कार्यान्वयनतर्फ सरकार लाग्नुपर्ने बताए ।

अध्यक्ष थापाले महिलाको प्रतिनिधित्व बढाउन उनीहरुको सहभागितालाई संविधानले सुनिश्चित गरेको बताउँदै संवैधानिक व्यवस्था अनुसार आफ्नो पार्टीले महिला वर्गलाई अगाडि बढाउने विषयलाई प्राथमिकतामा राखेको बताए ।

स्थानीय निकायको अभावमा जनताका काम छिटो छरितो हुन नसकेकोले चुनाव हुनुपर्ने उनको भनाइ थियो ।

पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले मुलुकमा विखण्डनको आवाज उठिरहेका बेला राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताउँदै देशमा विद्यमान समस्या समाधानका लागि राप्रपाले प्रभावकारी भूमिका खेल्ने बताए ।

निर्वाचनका लागि आवश्यक ऐन निर्माणका लागि सरकार लाग्नुपर्नेमा राणाले जोड दिए ।

पार्टी सङ्गठन प्रमुख कुन्ती शाहीले मुलुकको विकासका लागि महिला वर्गको उल्लेख्य भूमिका रहने बताउँदै अब मुलुकमा हुने स्थानीय निर्वाचनमा उनीहरुको प्रतिनिधित्व वृद्धि गर्नुपर्ने बताइन । रासस

हात्तीले लियो एकको ज्यान

पर्सा, मंसिर ३० । पर्सामा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । वनबाट आएको हात्तीले निर्मलबस्ती गाविस–४, सिकारीवास टोल निवासी ४५ वर्षीय रोघाई चौधरीमाथि आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तोरीबारीमा राति बाली जोगाउन पहरा बसेका बेला वनबाट आएको हात्तीले उनीमाथि आक्रमण गरेको थियो । चौधरीको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । पर्सा वनजन्तु आरक्षबाट आहारा खोजीका लागि बाहिरिने हात्तीलगायत जङ्गली जनावरको आक्रमणले निकुञ्जनजिकका वस्तीहरु मारमा पर्ने गरेका छन् ।

‘कालिञ्चोक केवलकार’ सम्बन्धमा विवाद बढ्दै

दोलखा, मंसिर २९ । स्थानीय लापिलाङ गाविस–६ झरेनी सामुदायिक वनमा निर्माण गर्न लागिएको ‘कालिञ्चोक केबुलकार’ का सम्बन्धमा विवाद बढेको छ । जिल्लाका पहुँचवाला नेता तथा व्यावसायीको दबाबमा जिल्ला विकास समिति र कालिञ्चोक गाविसले केबुलकार निमार्णमा स्वीकृति दिए पनि सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति र वन कार्यालयको स्विकृति नलिएकाले विवाद बढेको हो । कालिञ्चोक दर्शन प्राली नामक संस्थाले केबुलकार निर्माण हुने जमिन गुठी संस्थानको भएको दाबी गरेको छ । केबुलकार निर्माणमा विभिन्न दलका नेता तथा कार्यकर्ता र स्थानीय व्यापारी गरी ६५ जनाको लगानी रहेकोले तिनको दबाबमा जिल्ला प्रशासन कार्यालयले वन क्षेत्रको जग्गा उपलब्ध गराउन गुठी संस्थान तथा वन मन्त्रालयमा पत्राचार गरेपनि सो मन्त्रालयले कालिञ्चोक दर्शन प्रालीलाई वातावरणीय प्रभाव मूल्याङ्न मात्र गर्न स्विकृति दिएको जिल्ला वन कार्यालयले जनाएको छ । सामुदायिक वन महासङ्घका जिल्ला अध्यक्ष कमला बस्नेतले यो सामुदायिक वन क्षेत्रको जग्गा भएकाले सामुदायिक वन र जिल्ला वन कार्यालयको स्वीकृतमा मात्रै उपभोग गर्न पाइनेमा स्थानीय जनताको अधिकारमा हस्तक्षेप गर्नुका साथै कानुन विपरितका काम भएको बताएको छ । सामुदायिक वन महासङ्घले हालै आयोजना गरेको छलफलमा जिल्ला वन कार्यलय, सुस्पा सामुदायिक वन, चर्नावती सामुदायिक वन, सुक्राम सामुदायिक वन लगायतका पदाधिकारीले सो सार्वजनिक जग्गा सरकारी सम्पति भएको ठोकुवा गरेका छन् । उनीहरुले केबुलकार निमार्णमा वन कार्यालय, सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिको स्वीकृति हुनुपर्नेमा जोड दिएका छन भने एमाले नेता बालकृष्ण शिवाकोटीले आफूहरुले सबै कानुनी प्रक्रिया पु¥याएको र २७ वर्षका लागि गुठी संस्थानसँग सम्झौता भएको बताएको छ ।

ट्याङकर र सवारी साधन ठोक्किँदा विस्फोट, ३० भन्दा बढीको मृत्यु

नैरोबी, मङ्सिर २७ । केन्याको नैभाशा सहरको बाहिरी इलाकामा एउटा पेट्रोल ट्याङकर अर्को सवारी साधनसँग ठोक्किँदा भएको विस्फोटमा ३० भन्दा बढीको मृत्यु भएको छ । ‘नैरोबी—नैभाशा सडक खण्डमा भएको दुर्घटनामा करिव ३० भन्दा बढीको मृत्यु भएको छ, अरु कैयौ घाइते भएका छन्, ट्याङकरले ठक्कर दिँदा ११ वटा सवारी साधनमा क्षति पुगेको छ,’ केन्याको राष्ट्रिय प्रकोप व्यवस्थापन इकाइले आईतबार जारी गरेको वक्तव्यमा लेखिएको छ । ट्याङकरका चालकले नियन्त्रण गुमाएपछि ट्याङकरले अन्य सवारी साधनलाई ठक्कर दिएपछि विस्फोट भएर ज्वाला निस्किएको केन्याको रेडक्रसले जनाएको छ । केन्याको राजधानी नैरोबीबाट युगान्डातर्फ जाने अति व्यस्त नैरोबी—नकुरु राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनाका कारण झण्डै ११ वटा सवारी साधनलाई असर परेको छ ।

कुलमानका ‘तगारा’ कारवाहीमा

नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकविरुद्ध उर्जा मन्त्रालयले स्पष्टीकरण सोध्ने भएको छ । नागरिक दैनिकमा समाचार छ। उर्जा सचिव अनुपकुमार उपाध्यायका अनुसार प्राधिकरणका सञ्चालक लक्ष्मणप्रस्दा अग्रवाल,मनोजकमुरा मिश्र र सुरज लामिछानेलाई सात दिनको म्याद राखेर स्पष्टीकरण सोध्ने निर्णय भएको हो । चित्तबुझ्दो जबाफ नदिएमा उनीहरुलाई मन्त्रालयले हटाउन सक्नेछ । उपाध्यायले नागरिकसँग भने,‘मन्त्रालयले तीन सञ्चालकलाई सातदिने म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।’उर्जा सचिव प्राधिकरण सञ्चालक समितिको अध्यक्ष हुन्छन् । यसअघि उर्जामन्त्री जनार्दन शर्माले उनीहरुलाई तुरुन्त स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । आजको नागरिकमा खबर छापिएको छ । शर्माले सचिव उपाध्यायसहित प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग शुक्रबार बिहान छलफल गरेका थिए ।

अब कलेजो प्रत्यारोपण नेपालमै हुने

काठमाडौँ, मङ्सिर १८ गते । मानव अङ्ग प्रत्यारोपणसम्बन्धी नियमावली पारित भएपछि अब नेपालमै कलेजो प्रत्यारोपण हुने भएको छ । गोरखापत्र दैनिकमा सरोज   ढुङ्गेल लेख्छन- मानव अङ्ग प्रत्यारोपण नियमावली २०७३ ले कलेजो प्रत्यारोपणको बाटो खुला गरेसँगै अब स्वास्थ्य मन्त्रालय अन्तर्गत मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरले कलेजो प्रत्यारोपण सुरु गर्नेछ । कलेजो प्रत्यारोपणका लागि केन्द्रले डेढ वर्ष पहिले नै चिकित्सक तथा नर्सलाई तालिमका लागि विदेश पठाएको थियो । स्वास्थ्य मन्त्रालयले ल्याएको नियमावलीले कलेजो प्रत्यारोपणसँग ब्रेन डेथबाट मृत्यु भएकाको आठवटा अङ्ग लिने र प्रत्यारोपण गर्ने बाटोसमेत खुला गरेको छ । नेपालका कलेजो रोगीले कलेजो प्रत्यारोपण गर्न चाहे पनि नियमावली तथा प्रत्यारोपण सुविधा नभएका कारण विदेशमा गई करोडौँ खर्च गरेर प्रत्यारोपण गर्दै आएका थिए । मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कलेजो प्रत्यारोपणका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । “मानव अङ्ग प्रत्यारोपण नियमावली आएसँगै कलेजो प्रत्यारोपणमा कानुनी रूपमा सहज भएको छ,” कार्यकारी निर्देशक डा. श्रेष्ठले भन्नुभयो, “कलेजो प्रत्यारोपणका लागि यसअघि नै केन्द्रले चिकित्सक तथा नर्सिङ्ग टोलीलाई तालिमका लागि विदेश पठाइसकेको छ । ” डा. श्रेष्ठले केन्द्रले केही समयमै कलेजो प्रत्यारोपणसम्बन्धी विदेशबाट विज्ञ चिकित्सक टोली आएपछि नेपालमै कलेजो प्रत्यारोपण गर्न सकिने जानकारी पनि दिनुभयो । केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले मानव अङ्ग प्रत्यारोपण नियमावलीले ब्रेन डेथ भएकाको अङ्ग निकाल्न र कलेजो प्रत्यारोपण गर्न खुला गरेर थप उत्साहित बनाएको जानकारी पनि दिनुभयो । कलेजो प्रत्यारोपणमा विदेशमा एक करोड ५० लाख रुपियाँसम्म खर्च हुने गरेकोमा नेपालमा १५ देखि २० लाख रुपियाँमा प्रत्यारोपण गर्ने तयारी गरिएको छ । “मानव अङ्गसम्बन्धी नियमावलीमा ब्रेनडेथबाट आउने मिर्गौला लगायतका अङ्ग कसरी प्रत्यारोपण गर्ने, कसले पाउने, त्यसको स्पष्ट मापदण्ड बनाएर वितरण प्रक्रिया बनाइएको छ,” श्रेष्ठले भन्नुभयो, “त्यसका लागि कुनै अस्पतालमा कुनै बिरामीको मस्तिष्क मृत्यु भयो भने मानव अङ्ग प्रत्यारोपण केन्द्रमा भएको समन्वय एकाइलाई खबर गर्नुपर्ने हुन्छ । ” समन्वय एकाइले उक्त अस्पताल गएर त्यो डोनर ठीक छ छैन भनेर परीक्षण गर्नुका साथै त्यसको परिवारको सहमति लिएर अङ्ग निकाल्ने प्रक्रिया अघि बढाउँछ । नियमावलीमा अङ्ग दिने व्यक्ति र लिने व्यक्तिको उमेर मिल्नुपर्ने हुन्छ । यस्तै अङ्ग म्याच हुनेले प्राथमिकताका साथ पाउँछ । यो बाहेक बढी समय कुरेको बिरामीलाई पनि प्राथमिकता दिइन्छ । डा. श्रेष्ठले नियमावलीले महिलालाई बढी प्राथमिकता दिएको  जानकारी दिनुभयो । जुन प्राथमिकता विश्वका कुनै राष्ट्रमा छैन, डा. श्रेष्ठले भन्नुभयो, “महिलालाई तीन नम्बर बढी दिइएको हुन्छ, सबैभन्दा बढी मापदण्डमा जुन व्यक्ति पर्दछ, उसैलाई प्राथमिकता दिने व्यवस्था गरेको हुन्छ । ” उक्त मापदण्ड कम्प्युटरले बनाउने जानकारी दिँदै उहाँले मापदण्डमा जति धेरै स्कोर पाएको छ, त्यसैले अङ्ग पाउने बताउनुभयो । मस्तिष्कको पूर्ण क्षमता नभएको अवस्थालाई ब्रेन डेथ भनिन्छ । अङ्ग वितरण प्रक्रिया, प्रत्यारोपण प्रक्रियामा यसले सघाउने व्यवस्था नेपाल सरकारले गरेको छ । डा. श्रेष्ठले मिर्गौला बाहेक कलेजो, मुटु, फोक्सो, प्यान्क्रियाज प्रत्यारोपण पनि अब सहज बनेको बताउनुभयो ।

ट्रंक र डेडिकेटेड लाइनको विद्युत महशुल उठाउनुको विकल्प छैन : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत प्राधिकरणसँग ट्रङ्क र डेडिकेटेड लाइनको विद्युत महसुल उठाउनुको विकल्प नभएको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको मङ्गलबार बसेको बैठकमा बोल्दै ऊर्जामन्त्री बस्नेतले यस्तो बताए । उनले उद्योगहरूले प्रयोग गरेको ट्रङ्क र डेडिकेटेड लाइनको विद्युत महसुल प्राधिकरणको तीन वटा बोर्ड र लेखा समितिको निर्देशन समेत भएकाले विद्युत उठाउनुको विकल्प नभएको बताए । उनले विद्युत प्राधिकरण र उद्योगहरू बिचमा महसुलको विवाद समाधानको लागि विद्युत नियमन आयोगले दिएको निर्देशनलाई महान्यायाधिवक्ता कार्यालयको व्याख्याअनुसार अगाडि बढ्ने गरी काम भइरहेको समेत जानकारी दिए । मन्त्री बस्नेतले लेखा समितिले प्राधिकरणको व्यवस्थापकमाथि दबाब दिँदै बक्यौताको महसुल उठाउन निर्देशन दिएको स्थिति समेत रहेको बताए । उनले प्राधिकरणले उठाउन बाँकी रहेको बक्यौता रकमलाई तीन खण्डमा विभाजन गर्दा ६ अर्ब तत्काल उठाउन पर्ने देखिएको दाबी गरे । उनले प्राधिकरणले ६१ उद्योगहरूबाट २२ अर्ब २४ करोड उठाउन बाँकी रकममध्ये १५ अर्ब बक्यौता बापतको रकम रहेको र थप रकम ब्याज र जरिवानाबापतको भएको उल्लेख गरे । मन्त्री बस्नेतले ट्रङ्क र डेडिकेटेड लाइनको विवादलाई तीन खण्डमा विभाजन गर्दा ६ अर्ब तत्काल उठाउनुपर्ने देखिएको भन्दै बाँकी पहिलो र तेस्रो खण्डको बक्यौताको विषयमा विद्युत नियमन आयोगले निर्णय गर्न आवश्यक रहेको बताए। उनले २०७२ साल माघ १ गतेदेखि २०७५ साल वैशाख मसान्त लोडसेडिङ रहेको र विद्युत महसुल निर्धारण आयोगले ट्रङ्क र डेडिकेटेड लाइन महसुल निर्धारण गरेको अवस्था रहेको बताए । उनले २०७५ साल जेठदेखि २०७७ साल असार १ गतेसम्मको अवधिमा विद्युत महसुल निर्धारण आयोग खारेज हुँदा विद्युत महसुल तोक्ने निकाय नहुँदा पहिला विद्युत निर्धारण आयोगले तोकेको विद्युत महसुल परिमार्जन नभएको बताए। मन्त्री बस्नेतले २०७७ मा विद्युत नियमन आयोग गठन भएर साउन १ गतेदेखि लागू हुनेगरी ट्रङ्क र डेडिकेटेड नरहने घोषणा गरेको बताउनुभयो । उहाँले नियमन आयोग २०७५ २०७७ को बिचको विषयमा नबोल्दा समस्या भएको बताए। मन्त्री बस्नेतले पञ्चेश्वर परियोजनामा नेपाल र भारतमध्ये कसले कति लगानी गर्ने भन्ने विषय टुङ्गो नलाग्दा आयोजना अघि बढ्न नसकेको उल्लेख गरे । उनले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको भन्दै नेपाल र भारतबिच कसले कति लगानी लगाउने भन्ने विषयमा टुङ्गो लाग्न बाँकी रहेको बताए । उनले परियोजनाबाट हुने लाभ दुवै मुलुकले बराबर लिने विषयमा स्पष्ट भए पनि लगानीको सम्बन्धमा टुङ्गिन नसकेको बताए । मन्त्री बस्नेतले सिँचाई र बिजुलीको लाभका आधारमा भारतको हिस्सा ठुलो भएकाले भारतले ठुलो लगानी गर्नुपर्ने नेपालको अडान रहेको तर भारतले लाभको हिसाब नगरी लगानी गर्नुपर्ने अडान राख्दा लगानीमा सहमति जुट्न नसकेको बताए ।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल पुस २३ गते सोमबार तदनुसार सन् २०२४ जनवरी ८ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ २६ पैसा र बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा र बिक्री दर १६९ रुपैयाँ ५९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर    

यी प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । नेपालमा हाल बंगलादेश र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल कोसी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि सामान्यतया सफा रहेको छ । कोसी, मधेस र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र मधेस तथा लुम्बिनी प्रदेशको एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि सामान्यतया सफा मौसम रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठले दिए तीजको शुभकामना

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले पूर्वीय संस्कृतिमा मानव जीवनलाई सकारात्मक दिशा दिने कयौं पक्षहरू भएको र तीज पर्वलाई पनि पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताएका छन्। शुक्रबार गृह मन्त्रालयमा आयोजित तीज शुभकामना आदानप्रदान कार्यक्रमलाई संक्षिप्त सम्बोधन गर्दै उनले महिला कर्मचारीहरूलाई तीजको शुभकामना समेत दिए। तीज एक सामाजिकसांस्कृतिक पर्व भैसकेकाले हिजो यसको उत्पत्ति कसरी भयो भन्नुभन्दा पनि आज यसलाई कसरी मनाउने भन्नेमा बढी सोच्नुपर्ने र खानपिन तथा लगाईखुवाईको अनावश्यक तडकभडक देखाएर यसलाई विकृत बनाउन नहुने उनले बताए। ‘उल्लास त गर्ने नै हो।’ उनले भने- ‘तर आफ्नो जिम्मेवारीमा सधैं प्रतिबद्ध भएर, खर्चमा मितव्ययी भएर।’ निरंकुश शासनकालमा राज्यको उत्पीडनविरुद्ध तीज पर्वलाई, तीजको गीत र नृत्यलाई उपयोग गर्ने गरिएको उनले स्मरण गरे। महिला कर्मचारीसहित एकैछिन नाच्नुभएका श्रेष्ठले शरीरसँगै मन पनि नाच्नुपर्ने र योगध्यानलाई पनि नियमित गर्नुपर्ने बताए।

माओवादी केन्द्रद्वारा काठमाडौंको गोंगबुमा रक्तदान तथा स्वास्थ्य शिविरको आयोजना

काठमाडौं । नेकपा (माओवादी केन्द्र(ले काठमाडौंको गोंगबु बसपार्कमा शनिबार बिहान रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको छ। तीन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो। माओवादी काठमाडौं महानगर २६ नम्बर वडाद्वारा आयोजित रक्तदान र स्वास्थ्य शिविरको सो पार्टीका उपहमासचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुन अनन्तले उद्घाटन गरे। संगठन सुदृढीकरण र विस्तारका लागि माओवादीले आजदेखि देशभर एकैपटक अभियान सञ्चालन गर्दैछ। माओवादीले पदाधिकारीदेखि केन्द्रीय सदस्यसमेतलाई वडा वडाको ज़िम्मेवारी दिएर अभियानमा खटाएको छ।

माओवादी नेतृत्वप्रति नेपाली जनतामा भरोसा छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टी नेतृत्वप्रति नेपाली जनताले भरोसा गरेको बताएका छन् । शनिबार काठमाडौंको चन्द्रागिरिस्थित घट्टेडाँडाबाट ‘जनतासँग माओवादी विशेष अभियान’को शुभारम्भ गर्दै उनले अहिलेको सरकार र माओवादी नेतृत्वप्रति नेपाली जनताको र अरू पार्टीको पनि भरोसा रहेको बताएका हुन् । आफू पार्टीको इतिहास र राजनीतिक एजेण्डाको तागतमा पछिल्लो पटक प्रधानमन्त्री बन्न सफल भएको प्रधानमन्त्रीको भनाई छ ।माओवादी केन्द्र ३२ सिटको सानो पार्टी भए पनि पार्टीको इतिहास, राजनीतिक एजेण्डा र जनताको भरोसाको बलमा आफू तेस्रो पटक प्रधानमन्त्री बनेको उनले बताए । आफूले प्रधानमन्त्रीमा करिब शतप्रतिशत विश्वासको मत पाएबाट तथा आफ्नो पार्टीप्रति इतिहासको, नेपाली जनताको र अरू पार्टीको पनि भरोसा रहेको भन्ने प्रमाणित भएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। प्रधानमन्त्री प्रचण्डले भने- ‘विश्वासको मत लिँदा झन्डै शतप्रतिशत समर्थन नेपालको इतिहासमा हाम्रो पार्टीलाई र प्रधानमन्त्रीको हैसियतले मलाई प्राप्त भयो। यो अद्भुत परिघटना हो। नेपालको इतिहासमा यस्तो पहिला कहिल्यै भएको थिएन। यसबाट के देखिन्छ भने हाम्रो पार्टीप्रति इतिहासको, जनताको र अरू पार्टीहरूको पनि भरोसा छ। हाम्रो पार्टी र नेतृत्वलाई राष्ट्रले राम्रैसँग स्वीकार गरेको छ भन्ने कुराको यो प्रमाण हो’, प्रधानमन्त्री प्रचण्डले नेपाली जनताको भरोसा जगाउन र सिङ्गो पार्टी पङ्क्तिमा उत्साहको सञ्चार गराउन आफूले सुशासनको पक्षमा भ्रष्टाचार विरोधी अभियान चलाउनुपर्ने बताए। उनले प्रतिक्रियावादीले अहिले पनि सत्तारुढ गठबन्धन फुटाउनका लागि आफ्नो भ्रष्टाचार विरोधी अभियानबारे भ्रम फैल्याउने प्रयास गरिरहेको भन्दै त्यसप्रति आम जनतालाई माओवादी पार्टीले सचेत बनाउनुपर्ने बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजो परास्त भएका तत्त्व फेरि टाउको उठाउन खोजेजस्तो देखेपछि मैले यो पटक हाम्रो सङ्ख्याको तागतको बलमा म प्रधानमन्त्री भएको त होइन। तपाई–हामी सबैलाई थाहा भएकै कुरा हो। ९० र ८० सिट भएका पार्टीका अगाडि ३२ सिटले प्रधानमन्त्री हुने तागत त राख्दैन। सजिलो कुरा त होइन यो। हाम्रो इतिहासको तागत, हाम्रा सहिदले बगाएको रगतको तागत, हाम्रो बेपत्ता हजारौँ योद्धाको त्याग र बलिदानको तागत र हाम्रो राजनीतिक एजेण्डाको तागत र नेपाली जनताले लामो सङ्घर्षबाट विकास गरेको नेतृत्वपंक्ति नेताहरूको, कार्यकर्ताहरूको र मूल नेताको हैसियतले ममा केन्द्रित भएको तागतको कारणले ३२ सिट भए पनि हामी प्रधानमन्त्री बन्ने र देशको नेतृत्व गर्ने अवसर हामीलाई प्राप्त भयो। ३२ सिटको पार्टी हुँदाहुँदै पनि देशको नेतृत्व गर्ने अवसर मात्रै हामीले प्राप्त गरेनौँ। बरु सदनमा भएका ८० र ९० वाला पार्टीको समर्थन पायौँ।’ आफूले सुरुवात गरेको भ्रष्टाचार विरोधी अभियानलाई पनि नयाँ खालको जनयुद्धको रूपमा लिनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाई थियो ।

भरतपुरको नीति तथा कार्यक्रम : पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गरिने

चितवन, १० असार । भरतपुर महानगरपालिकाले माध्यमिक तहका विद्यार्थीका लागि पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । महनगरपालिका प्रमुख रेनु दाहालले तेह्रौँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षालाई उत्पादनसँग जोड्दै श्रमको सम्मान गर्ने संस्कृति विकास गर्न “श्रमको सम्मान, राष्ट्रको स्वाभिमान“ भन्ने नाराका साथ पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ । माध्यमिक तहमा प्राविधिक शिक्षाको विस्तारका लागि विद्यार्थी सङ्ख्या उच्च भएका सामुदायिक र संस्थागत विद्यालयलाई कक्षा ९–१२ मा प्राविधिक धार सञ्चालनका लागि प्रोत्साहन गर्ने जनाईएको छ । महानगरको स्रोतबाट अति सिमान्तकृत र लोपोन्मुख समूहका विद्यार्थीलाई प्रदान गरिँदै आएको महानगर छात्रवृत्ति आगामी वर्षबाट दलित विद्यार्थीहरूलाई समेत थप गरी प्रदान गरिने छ ।संस्थागत विद्यालयबाट प्रदान गरिने छात्रवृत्तिलाई व्यवस्थित र पारदर्शी बनाउने कार्यलाई निरन्तरता दिइनेछ। सबै विद्यालयमा गुणस्तरीय शिक्षण–सिकाइको वातावरण निर्माण गर्न व्यवस्थापन गरिएका इन्टरनेट, कम्प्युटर र विषयगत शैक्षिक सामग्री लगायत उपलब्ध स्रोतसाधनको प्रभावकारी प्रयोगमा जोड दिइनेछ। समयसापेक्ष सूचना प्रविधिमा आधारित सिकाइका लागि सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई क्ष्ऋत् तालिम प्रदान गरी क्षमता विकास गरिनेछ। शैक्षिक गुणस्तर अभिवृद्धिका मापदण्ड निर्धारण गरी एक वडा एक नमुना विद्यालय कार्यक्रमलाई निरन्तरता दिइनेछ। शिक्षालाई सूचना तथा सञ्चार प्रविधिसँग जोड्न “मेयर डिजिटल शिक्षा” कार्यक्रमलाई एक वडा एक नमुना विद्यालय कार्यक्रमसँग आबद्ध गरी कार्यान्वयनमा ल्याइनेछ। त्यसका लागि पहिलो वर्ष ३ वटा विद्यालयमा स्मार्ट कक्षाकोठा सञ्चालनको पाइलटिङ गरी क्रमशः सबै सामुदायिक विद्यालयमा विस्तार गरिनेछ । हाम्रो मौलिक सभ्यता, साँस्कृतिक मूल्य मान्यता र श्रमको सम्मान जस्ता विषयमा शिक्षालाई व्यवहारिक जीवनसँग जोड्न सबै विद्यार्थीलाई नियमित पठनपाठनका अतिरिक्त हरेक शुक्रबार रचनात्मक र सिर्जनात्मक कार्यमा सहभागी गराउन “मौलिक र व्यवहारिक शुक्रबार“ अभियान कार्यान्वयनमा ल्याइनेछ।उक्त दिन पाठ्यपुस्तक रहित सिकाइका क्रियाकलापहरू जस्तै, स्थानीय पाठ्यक्रमका क्रियाकलाप, महानगरको शैक्षिक क्यालेन्डरमा समाविष्ट अतिरिक्त क्रियाकलाप, खेलकुद, संगीतका क्रियाकलापहरू, नैतिक शिक्षा, मनोपरामर्श, योग र प्राकृतिक चिकित्साको अभ्यास गराउनुका साथै महिनाको एउटा शुक्रबार सरसफाइ, वृक्षारोपण जस्ता सामाजिक सेवामा संलग्न गराउने व्यवस्था मिलाइनेछ। महानगरको शिक्षा क्षेत्रमा आवश्यक सुधारका लागि योजनाबद्ध रुपमा कार्यक्रम अगाडि बढाउने उद्देश्यले सरोकारवालाको सहभागितामा तयार पारिएको शिक्षाको १० वर्षे रणनीति कार्यान्वयनमा ल्याइनेछ।

भारतसँग नेपाल पराजित, पहिलो चरणबाटै आउट

काठमाडौं । बेंगलुरुमा भइरहेको साफ च्याम्पियनसिप फुटबलमा भारतले नेपाललाई २ गोलले पराजित गरेको छ । पहिलो हाफ गोलसहित बराबरी खेलेको नेपालले ६१औं मिनेटमा गोल खान पुग्यो। भारतका लागि सुनिल क्षेत्रीले गोल गरे । त्यस्तै ७० औं मिनेटमा पनि भारतले गोल गरेको छ । सनिल क्षेत्रीको प्रहार गोलकिपर किरण चेम्जोङले रोकेका थिए । तर पोस्टको बारमा लागेर बाउन्स भएको बलमा नओरिम महेश सिंहले गोल गरे । यो खेलमा पराजित भएसँगै नेपाल साफ च्याम्पियनसिपमा पहिलो चरणबाटै बाहिएको छ ।

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तयारी सुरु

काठमाडौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तयारी सुरु गरेको छ । १५ जेठमा सरकारले आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गरेसँगै राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी सुरु गरेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिसँग सम्बन्धित आफ्नो राय/सुझाव उपलब्ध गराउन आह्वान गरेको छ । ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा व्यवस्था भए बमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएकोमा आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिसँग सम्बन्धित आफ्ना रायसुझावहरू यस बैंकको आर्थिक अनुसन्धान विभागको देहायको ठेगानामा २०८० असार १० भित्र उपलब्ध गराइदिनुहुन अनुरोध छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अध्यादेश तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । रिटको प्रारम्भिक सुनुवाइमै न्यायाधीश शर्माको इजलासले तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । अघिल्लो संसद्ले दुईपटक पारित गरेर पठाएपछि पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोकेको विधेयक मन्त्रिपरिषद्को सिफारिसमा यही जेठ १७ गते राष्ट्रपतिले प्रमाणीकरण गरेका थिए । त्यसविरुद्ध वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले रिट दायर गरेका थिए ।