कतार गएका एक व्यक्ति ८ वर्षदेखि बेपत्ता, परिवार चिन्तित
धनुषा, चैत ४ । वैदेशिक रोजगारीमा ८ वर्षअघि कतार गएका एक व्यक्ति हालसम्म पारिवारिक सम्पर्कमा नआएपछि बेपत्ता भएको भन्दै परिवारजन चिन्तित भएको छ ।
धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाअन्तर्गत रमदैया भवाडी बस्ने नरेशकुमार यादव विगत ८ वर्षपूर्व विदेश गएका थिए । यादव विदेश गएको ३ वर्षपछि फर्किने खबर घरमा गरेको र उनी विदेशबाट विमान चढेर नेपाल आएको भनिए पनि हालसम्म उनको कुनै अत्तोपत्तो नभएको निजका बुबा रामवीर यादवले चिन्ता व्यक्त गर्दै भन्नुभयो ।
घरपरिवारको आवश्यकता पूरा गर्न तथा हातमुख जोड्न आफ्नो मुलुक छाडी ८ वर्षअघि खाडी मुलुक कतार गएका यादव अझै घर फर्कन नसकेपछि घरपरिवारमा उनी आउने आशा मरेर गएको छ । विदेशबाट घर फर्किन लागेको खुसीमा छोरालाई ल्याउन काठमाडौँ विमानस्थल पुगेका उनका बुबा रामवीर खाली हात रित्तै फर्किनुपरेको थियो । आफ्नो छोरा लिन काठमाडौँ पुगेका रामवीरले छोरा लिएर घर आउने उनको इच्छा त्यतिकै मरेर गएको छ ।
परिवारजनका अनुसार नरेश विदेशमा रहेका साथीले विमानस्थलसम्म पु¥याएको तथा पछि उनको कुनै अत्तोपत्तो नभएको बताएका छन् । उनी चढेको फ्लाइट दिल्लीमा होल्ड गरी काठमाडौँमा अवतरण गरेको हुनुपर्ने यादवका साथीको कथन उद्धृत गर्दै रामवीर यादवले बताउनुभयो ।
आठ वर्षदेखि सम्पर्कविहीन रहेका यादवलाई आफ्नै काकाको छोरा श्याम यादव (एजेन्ट) मार्फत विदेश पठाइएको थियो । गरिब एवम् विपन्न परिवारका यादवको तीन छोरी रहेका छन् । यादव सम्पर्कविहीन भएपछि उनको परिवारको बिचल्ली भएको छ । साथै उनका बुबा रामवीर यादवले छोरालाई खोजिदिन सरोकारवालासँग आग्रह गर्नुभएको छ ।
धनुषाकै अर्का एकजनाको मलेसियामा रहस्यमय मृत्यु
यसैगरी, वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका धनुषाका एकजनाको मृत्यु भएको छ । धनुषा जिल्लाको कठपुल्ला निवासी २१ वर्षीय सन्तोष सिंहको मलेसियाको पुचुङस्थित आफू बस्दै आएको आवासको प्राङ्गणमै रहस्यमय मृत्यु भएको हो ।
धनुषाको उत्तरी क्षेत्र हंसपुर कठपुल्लाका महेश सिंहका २१ वर्षीय सन्तोषको शव झुन्डिएको अवस्थामा भेटिएको सोही स्थानमा काम गर्दै आएका धिरेन्द्र पासवानले जानकारी दिएका छन् ।
मृतक सिंहका बुबा, आमा र दुई बहिनी परिवारमा रहेका छन् । करिब साढे दुई वर्षदेखि मलेसियामा रहँदै आएका सन्तोषको शवलाई सक्दो चाँडो नेपाल फर्काउने प्रयासमा आफुहरु लागको धिरेन्द्र पासवान जानकारी दिनुभयो ।
साथै सिंहले काम गर्ने कम्पनी व्यवस्थापन पक्षले समेत घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । मृतक सन्तोष निगाई हिङ्ग फाउन्ड्री वर्कस् नामक कम्पनीमा कार्यरत थिए । रासस
महाकाली सन्धिमा तँपाईको मौसमी राष्ट्रवाद कहाँ थियो: नेता न्यौपाने
काठमाडौं, फागुन १२ । माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले महाकाली सन्धिमा उदाङ्गिएको ओली राष्ट्रवाद मौसमी भएको बताएका छन् । नेता न्यौपानेले ओलीको राष्ट्रवाद सत्ता गुमाउँदाको छट्पटीमात्र भएको जिकिर गरेका छन् । आज राजधानीको नेपाल कमर्स क्याम्पसमा अखिल क्रान्तिकारीको उम्मेदवारी घोषणा कार्यक्रममा न्यौपानेले प्रश्न– ‘हिजो महाकाली सन्धिमा राष्ट्रघात हुँदा ओलीको राष्ट्रवाद कहाँ थियो ?’ ओलीको राष्ट्रवाद सक्कली र टिकाउ नभएको न्यौपानेले दाबी गरे । कार्यक्रममा युवा नेता जागृत रायमाझीले ओलीले हाँस्य ब्यङग्य कलाकारहरुलाई माथ गर्न थालेको चर्चा गरे । कार्यक्रममा अखिल क्रान्तिकारी उपाध्यक्ष रञ्जित तामाङले आगामी फागुन १८ गते हुने स्ववियु निर्वाचनका लागि राजेस मैनाली अध्यक्ष र भुपेन्द्र कट्टेल सचिव रहेको टिम घोषणा भएको छ ।
चुनावको मिति घोषणासँगै डडेल्धुरावासी हर्षित
डडेल्धुरा, फागुन १२ । नेपाल सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै डडेल्धुराका स्थानीयवासी खुसी हुनाका साथै घोषणाको स्वागत गरेका छन् । दुई दशकपछि हुन लागेको स्थानीय निकायकोे चुनावको मिति घोषणा भएको भन्दै डडेल्धुरावासी खुसी भएका हुन् । झन्डै दुई दशकपछि स्थानीय जनप्रतिनिधि पाउनुका साथै नेपालको संविधान कार्यान्वयन हुने भन्दै जिल्ला सदरमुकामदेखि गाउँगाउँका स्थानीयवासी खुसी भएका अजमेरका पूर्वगााविस अध्यक्ष हिक्मतबहादुर ऐरले जनाएका छन् । नेपालको संविधान कार्यान्वयनको पहिलो आधारका रुपमा स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै चिया पसलदेखि बजारका चोकचोकमा स्थानीय छलफलमा व्यस्त रहेका छन् । तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गर्नसमेत डडेल्धुरावासीले माग गरेको वेलापुर गाविस–९ का समाजसेवी तथा किसान नेता धनबहादुर साउदले बताए । चुनावको मिति घोषणासँगै जिल्लाको गाउँगाउँमा समेत चुनावको चहलपहल बढेको छ । उम्मेदवार चयनका लागि जिल्लास्तरका राजनीतिक दलसमेत छलफलमा व्यस्त हुन थालेका छन् । लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न पाउने भन्दै डडेल्धुरावासी खुसी भएका गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष टेकराज पाण्डेयले बताएका छन् । साथै, जनप्रतिनिधिमा कस्लाई र कुन पार्टीको उम्मेदवारलाई भोट दिने भन्ने बारेमा समेत छलफल गर्न थालेका छन् । साथै, आन्दोलनको घोषणा गरेका मधेसवादी दललाई समेत लामो समयपछि हुन लागेको स्थानीय निकायको चुनावमा सहभागी गराउन ठूला राजनीतिक दललाई डडेल्धुरावासीले आग्रहसमेत गरेका छन् ।
ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ महिलाको ज्यान गयो
काठमाडौं, फागुन ६ । काठमाडौंको बालाजु माछापोखरी सडकखण्डमा शुक्रबार मध्यान्ह १२ बजेतिर ना ५ ख ८४६५ नम्बरको ट्रकले बा ७७ प ३२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुई जनाको महिलाको ज्यान गएको छ । स्कुटर चालक, मकवानपुर मनहरीकी ३८ वर्षकी रीमाकुमारी राई र स्कुटर पछाडी बसेका धादिङ खाल्टेका ३५ वर्षकी सोनिया थापाको उपचारको क्रममा शिक्षण अस्पताल महारजगंजमा ज्यान गएको हो। ट्रक महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेकोले खोजी भैरहेको प्रहरीले जनाएको छ । फोटोः नबराज भट्टको वालबाट
राजधानीका दुई औषधि पसलमा ताला
काठमाडौँ, फागुन ३। शङ्खमुलमा रहेको देउती फार्मेसी र लाइफलाइन मेडिकल नियम विपरीत सञ्चालन भएको पाएपछि दुवै औषधि पसलमा सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापान तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा दर्ता नगरी मेडिकल ल्याब सञ्चालन गरेको, बिल नभएको पाएपछि लाइफलाइन मेडिकललाई सिलबन्दी गरी तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । त्यसैगरी शङ्खमुलस्थित देउती फार्मेसीलाई पनि फार्मेसीमा मात्र दर्ता गरी ल्याबसमेत सञ्चालन गदैए आएको पाएपछि हाललाई सिलबन्दी गरी तीन दिनभित्र विभागमा र औषधि व्यवस्था विभागमा सम्पर्क गर्न निर्देशन दिइएको निर्देशक श्रेष्ठले जानकारी दिए । दुवै औषधि पसलबाट मूल्य उल्लेख नभएको औषधिको नमुना सङ्कलन गरिएको, गोदाममा रहेको सामानमा अधिकतम् मूल्य उल्लेख नभएको पाइएकाले सामानको कागजातसहित पेस गर्नसमेत निर्देशन दिइएको छ । अनुगमन संयोजक कमला गिरी भारतीको संयोजकत्वमा आज गरिएको बजार अनुगमनका क्रममा विनायक खाद्य स्टोरबाट ४६ बोतल, विष्ठा छे स्टोरबाट १० बोतल, छाया स्टोरबाट १२ बोतल, आशिका खाद्य स्टोर सूर्यविनायकबाट म्याद सकिएको पेय पदार्थ नष्ट गरिएको छ ।
पाल्पाबाट बाह्र करोडको सुन्तला निकासी
पाल्पा, माघ २९। यस वर्ष पाल्पाबाट रु १२ करोड मूल्य बराबरका सुन्तला निकासी भएको छ । जिल्लामा व्यावसायिक रुपमा सुन्तलाखेती हुन थालेपछि यसको उत्पादनमा आएको बृद्धिसंगै निकासीसमेत बढेको हो । पाल्पामा उत्पादित सुन्तला रुपन्देही, स्याङ्जा, नवलपरासी र कपिलवस्तु जिल्लामा ठूलो मात्रामा निकासी हुने गरेको जिल्ला कृषि विकास कार्यालय पाल्पाले जनाएको छ । कार्यालयका अनुसार पाल्पाबाट वार्षिक ५० हजार भन्दा बढी सुन्तलाका बिरुवासमेत बाहिरी जिल्लामा निकासी हुने गरेका छन् । जिल्लाको हिमाली क्षेत्रका जग्गा सुन्तलाखेतीका लागि राम्रो र उपयुक्त हो, जिल्ला कृषि विकास कार्यालय पाल्पाकी बाली विकास अधिकृत निशा कँडेलले भन्नुभयो– जिल्लाका हिमाली क्षेत्रका करिब दुई हजार घरपरिवार व्यावसायिक सुन्तलाखेतीबाट आत्मनिर्भर बनेका छन् । जिल्लाको छहरा, मुझुङ्ग, पालुङ्गमैनादी, कुसुमखोला, ख्याहा, भैरवस्थान, नायरनम्तलेस लगायतका गाविस सुन्तला उत्पादनका लागि उपयुक्त क्षेत्र मानिएको छ । पाल्पामा सुन्तला उत्पादन बढे पनि तानसेन लगायतका बजारमा अहिले पनि भारतीय सुन्तलाले बजार लिएका छन् । स्थानीयभन्दा पनि भारतीय सुन्तालाको कारोबार यहाँ उच्च रहेको देखिन्छ ।
शाहरुख र ऋतिकको भिडन्त
माघ २५ । बलिउड किङखान शाहरुख खान र चर्चित स्टार ऋतिक रोशन बीच निकै ठूलो प्रतिष्पर्धा चलेको छ । एकसाथ प्रदर्शनमा आएका दुई फिलिमहरु खानकाे ‘रइस’ र ऋतिकको ‘काविल’का कारण उनीहरूबीच प्रतिष्पर्धा भएकाे हाे । हाल दोश्रो सातामा प्रदर्शनरत यी फिल्महरुको विजनेसमा सुरुमा ‘रइस’को कलेक्सले जितेको भएपनि हालसम्म आईपुग्दाल भने ‘काविल’ले हात मारेको छ । बर्ष २०१७ कै ठूलो ठुलो भीडन्त मानिएको वलिउडका यी दुइ फिल्महरुबीचको प्रतिष्पर्धा कायमै छ । शाहरुख खानको फिल्म भएका कारण यसैपनि सुरुवाती दिनमा विजनेस अघि आउने स्वभाविक थियो । तर ऋतिक रोशनको ‘काबिल’ले प्रदर्शनको ११ औं दिनबाट विजनेसमा ओभरट्र्याक सुरु गरेको छ । प्रदर्शनको दोश्रो शनिबार रइसले ८ करोड आसपासको विजनेस गर्दा ‘काबिल’ ले ९ करोड बढिको विजनेस गर्यो भने दोश्रो आइतबार ‘काबिल’ ले ११ करोड ८८ लाखको विजनेस गर्दा ‘रइस’ले ९ करोडको विजनेसमा चित्त बुझायो । यसैपनि फिल्म हेर्ने दर्शकहरूले ‘रइस’लाइ भन्दा ‘काबिल’लाइ बढी महत्व दिएकाे देखिन्छ ।
भूकम्पपीडितहरुका लागि थप बीस करोड
भक्तपुर, माघ २५ । भक्तपुरका छवटा नगरपालिकाका भूकम्पपीडित (लाभग्राही) लाई पहिलो किस्ताको अनुदान रकम रु ५० हजार वितरण सुरु भएपछि नपुग रकममध्ये थप रु २० करोड निकासा भएको छ । जिल्लाका १८ हजार लाभग्राहीका लागि सरकारले पठाएको रु ९० करोड रकम तोकिएको बैंक मार्फत वितरण भइरहेको र नपुगमध्येको रकम माग भएअनुसार रु २० करोड थप निकासा भएर आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख मुरारी वस्तीले जानकारी दिए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भक्तपुरमा प्रमाणित गरी पठाएका २६ हजार १६ लाभग्राहीमध्ये हालसम्म २० हजार १५० लाभग्राहीसँग यहाँका नगरपालिकाले पहिलो किस्ताको अनुदान रकमका लागि सम्झौता गरेको छ । तीमध्ये जिविसले १८ हजार २८ लाभग्राहीको थप प्रमाणीकरण गरी कोष तथा लेखानियन्त्रण कार्यालय (कोलेनिका) पठाएअनुसार आएको ९० करोड रुपैयाँ बजेट वितरण भइरहेको र नपुग रकम माग भएअनुसार रु २० करोड थप भएर आएको उनले जानकारी दिए । लाभग्राहीको सूचीमा सूचीकृत भएका सबै लाभग्राहीलाई पहिलो किस्ताको रकम वितरण गर्न अझै रु २० करोड ८ लाख अपुग रहेको छ । अनुदान रकम वितरण गर्दा पहिला अनुदान सम्झौता गरेका लाभग्राहीलाई क्रमैसँग वितरण गरिएको छ । सुरुसुरुमा अनुदान सम्झौता भएका लाभग्राहीको सूची अनुसार क्रमैसँग वितरण गरिएको हो । भक्तपुर नगरपालिकाको चार हजार ३४९, मध्यपुरथिमीको ९३८, नगरकोटको तीन हजार ४१२, चाँगुनारायण नगरपालिकाको तीन हजार ३२९, अनन्तलिङ्गेश्वरको दुई हजार ६१२ र सूर्यविनायकको तीन हजार ३६० लाभग्राहीले पहिलो किस्ताको अनुदान रकम पाउने भएका छन् । अनुदान सम्झौता भएका लाभग्राहीहरुले खाता खोलेका तोकिएको बैंकबाटै अनुदान रकम पाउने व्यवस्था गरिएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पको नयाँ तमासा
माघ २० । अमेरिकी समाचार वान्टिनपोष्टका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फेरि नयाँ तमाशा खडा गरेका छन् । आफू राष्ट्रपति भएलगत्तै विश्वका ७ राष्ट्रका नागरिकहरुलाई आफ्नो देशमा प्रतिवन्ध घोषणा गरेपछि आलोचित बनेका राष्ट्रपति ट्रम्पले अष्ट्रेलियाली प्रधानमन्त्री माल्कोल्म टर्नबुलसँगको टेलिफोन वार्तामा वीचमै लाइन काटेपछि पुनः आलोचित बनेका छन् १ घण्टाका लागि भनिएको उक्त टेलिफोनवार्तामा अमेरिकी राष्ट्रपति ट्रम्प र अष्ट्रेलियान प्रधानमन्त्री टर्नबुलबीच चर्काचर्की नै भएको थियो । टेलिफोनवार्ता २५ मिनेट पुग्दा नै राष्ट्रपति ट्रम्पले टेलिफोन लाइन काटेपछि अन्तर्राष्ट्रिय मर्यादाको उल्लंघन गरेको प्रष्ट भएको छ । दुई नेताबीच अष्ट्रेलियामा रहेका शरणार्थीलाई अमेरिका लैजाने विषयमा कुराकानी भएको थियो । ट्रम्पले अष्ट्रेलियामा रहेका शरणार्थीलाई अमेरिका नभित्र्याउने बताएपछि उनीहरुबीच टेलिफोनमै केही चर्काचर्की पनि भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् । अष्ट्रेलियामा शरण मागेका १२ सय ५० शरणार्थीलाई अमेरिकामा शरण दिने विषयमा अमेरिकी पूर्वराष्ट्रपति ओबाको प्रशासनले सम्झौता गरेको थियो । राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत् ओबामा प्रशासनले गरेको उक्त खराब सम्झौताको अध्ययन गरिरहेको उल्लेख समेत गरेका छन् ।
कामकाज ठप्प पारेर देशभरका गाविस सचिवहरु आन्दोलनमा
काठमाडौं, माघ १९ । प्रोत्साहन भत्ता रोकेको विरोधमा देशभरका गाविस सचिवहरु आन्दोलनमा उत्रिएका छन् । स्थानीय तहमा कामकाज गर्नुपर्दा शतप्रतिशत प्रोत्साहन भत्ता दिनुपर्ने लगायत १२ बुँदे माग राखेर गाविस सचिवहरु कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रिएका हुन् । कार्य सम्पादनको आधारमा दिने भनेको प्रोत्साहन भत्ता अर्थ मन्त्रालयले रोक्का गरेपछि गाविस सचिवहरु त्यसको विरोधमा आन्दोलनमा उत्रिएका हुन् । गाविस सचिव हकहित संरक्षण केन्द्रको अगुबाईमा आजबाट गाविस सचिवहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले १५ वर्षदेखि जनप्रतिनिधि विहीन भएको अवस्थामा सबै काम गर्नुपरेको र गतवर्षदेखि दिन थालेको प्रोत्साहन भत्ता साउनदेखि नपाएको भन्दै आन्दोलन गरेका छन् । गाविस सचिवले सरकारी सेवालाई संघीय सेवा र प्रदेश सेवा गरी दुई तहमा राख्न, प्रदेश सेवामा खटाउँदा कम्तीमा एक तह बढुवा गर्न, शैक्षिक योग्यताका कारण बढुवा दिन नमिल्ने कर्मचारीलाई तह वृद्धि सहितको अवकाश योजना ल्याउन पनि माग गरेका छन् ।
चुनाव मिति घोषणा गर्न नसकेकोमा नारायणकाजीले मागे माफी
काठमाडौं, माघ १६ । माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भनेको समयमा चुनावको मिति घोषणा गर्न नसकेको भन्दै माफी मागेका छन् । आइतबार अपरान्ह समाजिक सञ्जालबाट आफूले दलहरूको सहमतिमै माघ १५ भित्र स्थानीय तहको चुनाव हुन्छ भनेर घोषणा गरेपनि नसकेकोमा माफी मागेको बताएका छन् । उनले लेखेका छन्-‘मैले केही दिन अघि नेपालगञ्जको पत्रकार सम्मेलनमा माघ १५ भित्र स्थानीय निर्वाचनको मिती घोषणा हुन्छ भनेको थिएँ, त्यस पछि काठमाडौंमा बसेको ३ पार्टीको बैठकले पनि सोही निष्कर्ष निकालेको थियो र प्रधानमन्त्रीले समेत सार्वजनिक रुपमा सोही कुरा भन्नुभएको थियो। त्यसका बाबजूद उक्त मितिमा निर्वाचन घोषणा हुन सकेन, त्यस निम्ती म जनसमुदायसँग क्षमा याचना गर्दछु।’ श्रेष्ठले चुनावको मिति घोषण हुन्छ भन्नुको कारण राष्ट्रिय आवश्यकता र दलहरूबीचमा रहेको समझदारी भएपनि मिति नतोकिनु दुखद रहेको उल्लेख गरेका छन् । ‘निर्वाचनको घोषणा गर्नै पर्ने राष्ट्रिय आवश्यकता र सल्लाह एवं समझदारी को आधारमा गरेको थिएँ,’ उनले लेखेका छन् । नेता श्रेष्ठले यथाशिघ्र चुनावको मिति घोषणा गर्नुपर्नेमा जोड दिएका छन् । चुनाव नगरी देशका लागि सकारात्मक विकल्प नरहेको उनले बताएका छन् । उनले लेखेका छन् –‘म फेरी पनि पूर्ण गम्भिरताका साथ भन्छु, यथाशीघ्र निर्वाचन घोषणा गरिनु पर्छ, देशको सामु अर्को कुनै सकारात्मक विकल्प छैन ।’
सहिद स्मारक पुगेर प्रधानमन्त्रीले दिए शहीदहरूलाई श्रद्धाञ्जली
काठमाडौँ, माघ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लैनचौरमा रहेको सहिद स्मारकमा पुगी शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सहिद सप्ताहको अन्तिम दिन आइतबार प्रधानमन्त्रीले शहीदको शालिकमा फूलमाला अर्पण गरेका हुन् । सो श्रद्धाञ्जलि सभामा सभामुख ओनसरी घर्ती मगर, मन्त्रीहरू हितराज पाण्डे र रवीन्द्रराज जोशी, मुख्य सचिव डा. सोमलाल सुवेदी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक र सरकारका कर्मचारीले पनि पुष्पगुच्छा अर्पण गर्दै शहीदको सम्झना गरे। सोही अवसरमा नेपाली सेनाले शहीदको सम्झनामा एक मिनेट सम्मान गारक अर्पण गरेको थियो । काठमाडौँ महानगरपालिकाको आयोजनामा सहिद सप्ताहको अन्तिमा दिन आज रत्नपार्क शान्तिवाटिकाबाट प्रभातफेरीको आयोजना गरी सहिद स्मारक लैनचौर पुगी मूल समारोहमा परिणत भएको थियो । विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाले ज्ञात–अज्ञात सहिदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाउँदै आएको छ ।
कुवेतमा राजपरिवारका एक सदस्य सहित सात जनालाई मृत्युदण्ड
एजेन्सी, कुवेत सिटी, माघ १३ । कुवेत सरकारले विभिन्न जघन्य अपराधमा संलग्न आरोपित अपराधीहरुलाई मृत्युदण्ड दिएको छ । उनीहरूलाई केही समयअघि मृत्युदण्ड फैसला सुनाएको थियो । उनीहरुलाई बुधबार एकठाउँमा झुण्ड्याएर मारिएको छ । तेल धनी यस मुलुकमा धेरै वर्षपछि पहिलो पटक यसरी मृत्युदण्डको सजाय कार्यान्वन गरिएको हो । मृत्यु दण्डको सजाय पाउने सात जना अपराधीमध्ये राजपरिवारका एक जना सदस्य पनि परेका छन् । उनीहरूले केही अघि विभिन्न समयमा चालीस जना भन्दा बढी मानिसहरुका ज्यान लिएका थिए । मृत्युदण्डको सजाय पाउने सात जना अपराधीमा एक जना बङ्गलादेशी, एक जना फिलिपिन्सको, एक जना इथियोपियाली, दुई जना इजिप्टेली र दुई जना कुवेतकै नागरिकसमेत रहेका सरकारी स्वामित्वको ‘कुना’ समाचार समितिद्वारा प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । त्यस्तै कुवेतकै नागरिक अर्की महिला नासरा अल एनेजीलाई पनि प्रत्यक्षरुपले आम नरहत्या गरेको आरोपमा सन् २०१० मै मृत्युदण्डको सजाय सुनाइएको थियो । सन् २००९ मा आफ्ना पतिले दोस्रो विवाह गरेकोमा आबेगमा आई नासराले प्रीतिभोज मनाउन सजाइएको पालभित्र आगो सल्काई दिएकी थिइन् । भयङ्कर आगोको लप्कामा परी अतिथि, महिला तथा बालबालिकासमेत ४० जनाभन्दा बढी सोही पालभित्रै जलेर मरेका थिए । मृत्युदण्डको सजाय पाउने कुवेतकै नागरिकहरुमा राजपरिवारको एकजना सदस्यको नाम फैजल अब्दुल्लाह अल जबर अल सबाह भन्ने खुलासा गरिएको छ । विज्ञप्तिमा जनाइएअनुसार आम नरहत्यालाई प्रत्यक्षरुपले सघाएको र अबैध बन्दुकलगायतका हातहतियार गैरकानुनी रुपमा आफ्नो स्वामित्वमा राखेको आरोप उनलाई लागेको थियो । मृत्युदण्डको सजाय पाउने एकजना फिलिपिनी महिलाको नाम जाकातिया पावा भएको फिलिपिन्सका विदेश मन्त्रालयको प्रवक्ताले जानकारी दिएका छन् । पावालाई घरेलु कामदार भई आफू नोकरी गरेर बसेको घर मालिकको छोरीको हत्या गरेको आरोप लागेको थियो । जाकातिया पावाको दाजु ग्यारी पावा फिलिपिन्सको वायुसेनाका लेफ्टिनेन्ट कर्णेल पदमा कार्यरत छन् । उनले जाकातियालाई आम माफी दिलाउने सम्बन्धमा पहल गरिदिन फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेसम्म कुरा पु¥याए । फिलिपिन्सको राष्ट्रपतिको कार्यालयले पनि जाकातियालाई मृत्युदण्डको सजायबाट माफी दिलाउन याचना गर्दै कूटनैतिकस्तरबाट सक्दो प्रयास ग¥यो । तर, कुवेती सरकार तथा अदालतले आफ्नो फैसला र देशको कानुन कार्यान्वयन गर्ने सम्बन्धमा कुनै सम्झौता गर्न नमानेको कुरा फिलिपिन्सको राष्ट्रपतिको कार्यालयका प्रवक्ता अर्नेस्टो एबेल्लाले बताए ।
स्याङ्जाले पायो रामपुर भलिबल कपको उपाधि
पाल्पा, माघ ७ । प्रथम रामपुर महोत्सवका अवसरमा आयोजित पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगितामा स्याङजाले रामपुर भलिबल कपको उपाधि ले जितेको छ । रामपुरमा भएको पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगितामा बिहीबार नवलपरासीलाई तीन सेटले हराउँदै स्याङजाले उपाधि जितेको हो । प्रतियोगिताको द्वितीय स्थानमा नवलपरासी, तृतीय स्थानमा रुपन्देही र सान्त्वना गुल्मीले हात पार्न सफल भएका छन् । प्रतियोगितामा प्रथम पुरस्कार नगद रु एक लाख १११, द्वितीय पुरस्कार रु ५० हजार १११, तृत्तीय पुरस्कार रु २५ हजार १११ र सान्त्वना पुरस्कार रु १० हजार १११ रहेको छ ।
राजविराजमा शङ्कास्पद ग्रिनेड बम फेला
राजविराज, माघ ७ । सप्तरीको राजविराज नगरपालिका–१ स्थित फनचराज दुगडको घर अगाडि आज बिहान शङ्कास्पद रुपमा ग्रिनेड बम फेला परेको छ । बम फेला परेपछि बम निष्क्रिय गर्नका लागि अहिले राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी त्यहाँ पुगेको प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । उक्त ठाउँमा बम फेला परेपछि त्यहाँको अवस्था तनावपूर्ण रहेको स्थानीयवासीले बताएका छन् । यसैबीच, बम फेला परेको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाको पर्चा भेटिएको प्रहरी उपरीक्षक लोहनीले जानकारी दिए। रासस
भारतमा सडक दुर्घटना २४ बालबालिकाको मृत्यु
लखनउ (भारत) माघ, ६ । भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बिहीबार बिहान सवेरै एक विद्यालयको बस र बालुवा बोकेको ट्रक एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा २४ बालबालिकाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ । उच्च गतिमा रहेको ट्रक बससँग ठोक्किँदा भएको यस घटनामा परी अन्य दुई दर्जनभन्दा बढी बालबालिका घाइते भएको राज्यका वरिष्ठ प्रहरी अधिकारी जाभेद अहमेदले जानकारी दिएका छन् । अर्का एक प्रहरी अधिकारी दलजित चौधरीका अनुसार बाक्लो कुहिरोका कारण दृश्यतामा आएको कमीले गर्दा सो दुर्घटना भएको हो । इताह सहरको एक विद्यालयमा अध्ययनरत् ती बालबालिका ३ देखि १२ वर्षसम्मका रहेको बताइएको छ । भारतमा गत वर्षमात्रै झन्डै एक लाख ५० हजार व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाएका थिए । यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको बताइएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक प्रति श्रद्धान्जली प्रकट गरेका छन् । रासस