संसदको अवरोध खुलाउन प्रमुख दलका शिर्ष नेतृत्वमा छलफल
काठमाडौं, बैसाख १३ । ब्यवस्थापिका संसदलाई आफ्नो कार्यसुचीमा अघि बढ्न दिनेबारे प्रमुख दलका शिर्ष नेताहरुबिच छलफल हुँदैछ । सरकारले मधेसी मोर्चाको माग संवोधन गर्ने नाममा मधेसमा स्थानीय तहको संङख्या बढाउन लागेको भन्दै प्रमुख प्रतिपक्षि एमालेले संसद अवरुद्ध गर्न थालेपछि सरकारले सहमतीका लागि वार्तामा बोलाएको छ । बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बैठकमा सत्तारुढ माओवादी केन्द्र, नेपाली कांग्रेस, राप्रपा, प्रमुख प्रतिपक्षि एमालेका शिर्ष नेताहरु सहभागी हुनेछन् ।
हिजो मंगलवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बालुवाटारमा बसेको पाँच दलको बैठकमा दाहालले निर्वाचनमा मधेसी मोर्चाको समेत सहभागितका लागि संविधान संशोधन अनिवार्य भएकाले संसदको कारवाही नरोक्न एमालेलाई आग्रह गरेका थिए ।
एमालेले भने मोर्चाको माग संवोधन गर्न बजेट भन्दा पछि दोश्रो चरणको निर्वाचन गर्न लागिएको भन्दै विरोध गरेको छ । ब्यवस्थापिका संसदको बैठक आज वुधवार बिहान ११ बजे बस्दैछ ।
प्रधानमन्त्री प्रचण्डलाई भेटे भारतीय राजदूत सिंहपुरीले
काठमाडौं, चैत १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रच्ण्ड’ र नवनियुक्त भारतीय राजदूत मन्जिव सिंह पुरीबीच शिष्टाचार भेट भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपाल बसाई सुखमय रहोस् भन्ने शुभकामना दिए । प्रधानमन्त्री दाहालसँग नवनियुक्त राजदूत पुरीको यो पहिलो भेट हो । प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच निकटको सम्वन्ध रहँदै आएको बताउँदै राजदूत पुरीको कार्यकालमा सम्वन्ध अझ प्रगाढ रहने विश्वास व्यक्त गरे । राजदूत पुरीले नेपालमा रहेर काम गर्ने मौका पाएकोमा खुशी व्यक्त गर्दै दुई देशको आपसी हित र सम्बन्ध विकासमा आफ्नो भुमिका रहने बताए । जिम्मेवारी सम्हालेलगत्तै राजदूत पुरी राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् । उनले एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा लगायतसँग भेटवार्ता गरिसकेका छन् ।
परीक्षाअघि नै बजारभरि प्रश्नपत्र
दाङ, चैत १५ । जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् । चैत ९ गतेदेखि दाङमा सुरु भएको परीक्षाको पेपर परीक्षा सुरु हुनुअगावै हरेक दिन सबैको मोबाइल र चोकचोकमा विद्यार्थी प्रश्नपत्रको खोजीमा भौँतारिइरहेको एक शिक्षक बताउँछन् । आज हुने स्वास्थ्य तथा शारीरिक शिक्षाको प्रश्नपत्र सोमबार नै बजारमा आएको छ । त्यसैगरी, बुधबार हुने पेसा व्यवसाय र प्रविधि शिक्षाको प्रश्नपत्र पनि बजारमा आएको देखिएको छ । यसरी कसरी बजारमा प्रश्नपत्र आयो भन्नेबारेमा शिक्षकनै अनभिज्ञ छन् । तर जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले भने यसलाई सामान्य रुपमा लिनुभएको छ । उहाँले यसलाई सामान्यरुपमा लिने बताउँदै सम्बन्धित स्कुलका विषयगत शिक्षकले अर्को प्रश्नपत्र बनाएर जाँच सञ्चालन गर्ने शिक्षा नियमावलीले अधिकार दिएको पनि बताउनुभयो । “प्रश्नपत्र आउट भएको मैले पनि सुनेँ, तर त्यसले परीक्षा रोकिने छैन, सम्बन्धित विषय शिक्षकले प्रश्नपत्र तयार गरी सम्बन्धित स्कुलमै परीक्षा लिन सक्नेछन्,” उहाँले बताउनुभयो । तर उहाँको यो अभिव्यक्तिले जिल्लास्तरीय परीक्षाको गरिमा भने घटाएको छ । साथै, उहाँले एसइइ परीक्षामा पनि यदि कुनै केन्द्रमा प्रश्नपत्र आउट भएको भए सोही विद्यालयका विषयगत शिक्षकले प्रश्नपत्र बनाएर परीक्षा लिनसक्ने पनि शिक्षा नियमावलीमा उल्लेख भएको बताउनुभयो । एकै समयमा र एउटै प्रश्नपत्र विद्यालयमा परिक्षा सुरु हुनुभन्दा पहिले १५ मिनेट अगाडि खोल्नुपर्ने प्रवधान भएपनि हाल विद्यालयले फरकफरक प्रश्नपत्र बनाएर परीक्षा गरिरहेका छन् । धेरैजसो विद्यालयले भने प्रश्नपत्र आउट भएको थाहा पाएपछि आफूहरुले छुट्टै प्रश्नपत्र तयार पारेको बताएका छन् । त्यसैगरी, जिल्ला शिक्षा कार्यालयबाट जारी गरेका प्रश्नपत्रबाट परीक्षा दिइरहेको केही विद्यालयहरुले जनाएका छन् । अन्य केही विद्यालयले भने आफूहरुले छुट्टै प्रश्नपत्र तयार गरी परीक्षा गराएका छन् । चुहावट भएका विज्ञान, गणितलगायतका प्रश्नपत्र बजारमा देखिएका छन् । रासस
ढुङ्गा प्रहा गरेर देउरानीले गरिन जेठानीको हत्या
बैतडी, चैत १४ । देउरानीको ढुङ्गा प्रहारबाट दार्चुलामा जेठानीको मृत्यु भएको छ । मृत्यु हुनेमा अपिहिमाल गाउँपालिका–३ खण्डेश्वरीका ५० वर्षीया नर्मादेवी कार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । गएराति घरायसी विवाद हुँदा देउरानी ३५ वर्षीया चैतीदेवी कार्कीले ढुङ्गा प्रहार गर्दा जेठानी नर्माको मृत्यु भएको हो । चैतीको मानसिक सन्तुलन ठीक नभएको भन्ने बुझिएको खनालले बताउनुभयो । हत्या गर्ने चैतीलाई नियन्त्रणमा लिई घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ । रासस
काभ्रेपलाञ्चोकमा ४५ प्रतिशत क्षयरोगी भेटिए, यस्ता छन् क्षयरोगका लक्षणहरु
बनेपा, चैत ११ । काभ्रेपलाञ्चोकको ४५ प्रतिशत जनसङ्ख्या क्षयरोगबाट सङ्क्रमित भएको अनुमान गरिएको छ । क्षयरोग दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलले आज धुलिखेलमा आयोजना गरिएको क्षयरोग सम्बन्धी अन्तक्र्रियामा सङ्क्रमितमध्ये ६० प्रतिशत युवा र वयस्क देखिएको जनाएको छ । आर्थिक वर्ष २०७२/७३ मा एक सय ५८ जनामा क्षयरोग पत्ता लागेको र ती मध्ये १८ जनामा सर्ने खालको रोग देखिएको छ । जिल्लामा अहिले दुई जना बहुऔषधि प्रतिरोध (एमडीआर) का बिरामी उपचारका क्रममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयका क्षयरोग तथा कुष्ठरोग शाखाका अधिकृत राजाराम अधिकारीले विगतको तुलनामा यो जिल्लामा क्षयरोगका बिरामीको दर घट्दो अवस्थामा रहेको बताए । जिल्लाको पाँचखाल, बनेपा, भकुन्डेबेँसी क्षेत्रमा सबैभन्दा बढी क्षयरोगका बिरामी भएको अधिकारीले बताए । क्षयरोगका बिरामीलाई पोषणका लागि रु ५०० वितरण गरेको जानकारी दिँदै जिल्लाको १४ वटा स्वास्थ्य चौकीमा खकार परीक्षण गर्ने व्यवस्था मिलाइएको उनले बताए । छाती दुख्नु, साँझपख ज्वरो आउनु, खाना खान मन नलाग्नु, तौल घटनु, खकारमा रगत देखापर्नु, दुई हप्ता वा सो भन्दा बढी लगातार खोकी लाग्नु क्षयरोगको लक्षण मान्निछ ।
आत्मघाती आक्रमण चारको मृत्यु
अबुजा, चैत ९ । नाइजेरियाको उत्तरी राज्य बोर्नो अज्ञात सङ्ख्यामा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १८ जना घाइते भएका छन् । बुधबार बिहान सबेरै भएको यस घटनाको स्थानीय समाज सम¥वय संस्थाले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । गत सोमबार पनि नाइजेरियाको बेनु राज्यमा कृषिमा आश्रित समुदाय बसोबास गर्ने बस्तीमा प्रवेश गरी एक बन्दुकधारी समूहले आक्रमण गर्दा अधिकांश महिला र बालबालिकासहित १७ जनाको मृत्यु भएको थियो । रासस/सिन्ह्वा
टाइगरको फ्यान क्लब
चैत ४ । टाइगर श्राफ बलिउडमा प्रवेश गरेको छोटो अवधिमा नै निकै चर्चित नाम हो । बलिउडमा प्रवेश गरेको करिव तीन वर्षजनि मात्रै हुँदा विशेषतः युवा पुस्ताको मन मुटुमा बस्न सफल कलकार बनेका हुन् । उनले कम समयमै प्रशस्तै आफ्रना प्रशंसकहरु बटुल्न सफल भएका छन् । उसोतः जयकी श्रवका छोरा उनी बलिउडमा प्रवेशमा सहज भएपनि प्रशंसक भने उनी आफ्नै संघर्षले बटुलेका हुन् । अहिले सामाजिक सञ्जालहरुमा उनका नामका दर्जनौं फ्यान क्लबहरु छन् । एउटा फ्यान क्लबको फ्यान पेजलाई त फेसबुकले भेरिफाइड नै गरेको छ । कतिपय अवस्थामा टाइगरका बारेमा उनकै फ्यान क्लबमार्फत जानकारी प्राप्त हुनथालेको छ । टाइगरलाई पनि उक्त कुराको जानकारी छ । उनले भनेका छन्, ‘म प्रशंसकहरूको प्रेमकै कारण आज यो अवस्थामा छु’ उनी थप्छन्, ‘उनीहरूले पेजमा अपलोड गर्ने सामाग्रीहरू मेरो उत्साह बढाउने शैलीका छन्।’
कतार गएका एक व्यक्ति ८ वर्षदेखि बेपत्ता, परिवार चिन्तित
धनुषा, चैत ४ । वैदेशिक रोजगारीमा ८ वर्षअघि कतार गएका एक व्यक्ति हालसम्म पारिवारिक सम्पर्कमा नआएपछि बेपत्ता भएको भन्दै परिवारजन चिन्तित भएको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाअन्तर्गत रमदैया भवाडी बस्ने नरेशकुमार यादव विगत ८ वर्षपूर्व विदेश गएका थिए । यादव विदेश गएको ३ वर्षपछि फर्किने खबर घरमा गरेको र उनी विदेशबाट विमान चढेर नेपाल आएको भनिए पनि हालसम्म उनको कुनै अत्तोपत्तो नभएको निजका बुबा रामवीर यादवले चिन्ता व्यक्त गर्दै भन्नुभयो । घरपरिवारको आवश्यकता पूरा गर्न तथा हातमुख जोड्न आफ्नो मुलुक छाडी ८ वर्षअघि खाडी मुलुक कतार गएका यादव अझै घर फर्कन नसकेपछि घरपरिवारमा उनी आउने आशा मरेर गएको छ । विदेशबाट घर फर्किन लागेको खुसीमा छोरालाई ल्याउन काठमाडौँ विमानस्थल पुगेका उनका बुबा रामवीर खाली हात रित्तै फर्किनुपरेको थियो । आफ्नो छोरा लिन काठमाडौँ पुगेका रामवीरले छोरा लिएर घर आउने उनको इच्छा त्यतिकै मरेर गएको छ । परिवारजनका अनुसार नरेश विदेशमा रहेका साथीले विमानस्थलसम्म पु¥याएको तथा पछि उनको कुनै अत्तोपत्तो नभएको बताएका छन् । उनी चढेको फ्लाइट दिल्लीमा होल्ड गरी काठमाडौँमा अवतरण गरेको हुनुपर्ने यादवका साथीको कथन उद्धृत गर्दै रामवीर यादवले बताउनुभयो । आठ वर्षदेखि सम्पर्कविहीन रहेका यादवलाई आफ्नै काकाको छोरा श्याम यादव (एजेन्ट) मार्फत विदेश पठाइएको थियो । गरिब एवम् विपन्न परिवारका यादवको तीन छोरी रहेका छन् । यादव सम्पर्कविहीन भएपछि उनको परिवारको बिचल्ली भएको छ । साथै उनका बुबा रामवीर यादवले छोरालाई खोजिदिन सरोकारवालासँग आग्रह गर्नुभएको छ । धनुषाकै अर्का एकजनाको मलेसियामा रहस्यमय मृत्यु यसैगरी, वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका धनुषाका एकजनाको मृत्यु भएको छ । धनुषा जिल्लाको कठपुल्ला निवासी २१ वर्षीय सन्तोष सिंहको मलेसियाको पुचुङस्थित आफू बस्दै आएको आवासको प्राङ्गणमै रहस्यमय मृत्यु भएको हो । धनुषाको उत्तरी क्षेत्र हंसपुर कठपुल्लाका महेश सिंहका २१ वर्षीय सन्तोषको शव झुन्डिएको अवस्थामा भेटिएको सोही स्थानमा काम गर्दै आएका धिरेन्द्र पासवानले जानकारी दिएका छन् । मृतक सिंहका बुबा, आमा र दुई बहिनी परिवारमा रहेका छन् । करिब साढे दुई वर्षदेखि मलेसियामा रहँदै आएका सन्तोषको शवलाई सक्दो चाँडो नेपाल फर्काउने प्रयासमा आफुहरु लागको धिरेन्द्र पासवान जानकारी दिनुभयो । साथै सिंहले काम गर्ने कम्पनी व्यवस्थापन पक्षले समेत घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ । मृतक सन्तोष निगाई हिङ्ग फाउन्ड्री वर्कस् नामक कम्पनीमा कार्यरत थिए । रासस
२४ वर्षीया आलिया भाटको बलिउड यात्रा
चैत २ । बलिउडमा सानो उमेरमा नै चर्चित बन्न सफल बलिउड नायिका आलिया भट्ट आजबाट २४ वर्ष पुगेकी छिन् । बलिउडमा कम उमेरमा चाँडो सफलता हासिल गर्न सफल नायिकाहरुमा आलिया पर्छिन् । बालकलाकारबाट डेब्यु गरेका आलियाको फिलिम ‘संघर्ष’ पश्चात करण जोहरको ‘स्टुडेन्ट अफ द इअर’बाट नायिकाको जिन्दगी सुरु गरेकी थिइन् । ‘स्टुडेन्ट अफ द इअर’मा आलियाले पहिलोपटक मुख्य नायिकाको रुपमा प्रस्तुत भएकी थिइन् । हालसम्म उनले अभिनय गरेकामध्ये अधिकांश फिलिम सफल नै भएका छन् । साहिद कपुरसँग खेलेको आलियाको फिल्म ‘उड्ता पन्जाब’ भने सबैभन्दा झुर सावित भएको थियो । अलियाले अहिलेसम्म संघर्ष, स्टुडेन्ट अफ द इअर, उड्ता पन्जाबसहित ‘हाइवे’, ‘टु स्टेट्स’, ‘हम्पी शर्माकी दुल्हनिया’, ‘अग्ली’, ‘सान्दार’, ‘कपुर एन्ड सन्स्’, ‘ए दिल हे मुस्किल’, ‘डियर जिन्दगी’ र ‘बद्रिनाथकी दुल्हनिया’ लगायत १२ ओटा फिल्म खेलिसकेकी छन् । त्यस्तै, ‘गोइङ होम’ नामक फिचर फिल्मचाँहि उनी आफैंले बनाएकी थिइन् । उनले हम्पी शर्माकी दुल्हनिया फिल्ममा गीतसमेत गाएर गयिकाको रुपमा आफूलाई उभ्याइसकेकी छन् । आलियाले अहिलेसम्म दुई दर्जनभन्दा बढी ‘फिल्मफेयर’मा मनोनीत भएर १० ओटा अर्वाड हात पारिसकेकी छन् । त्यस्तै, ‘टाइम्स अफ इन्डिया’को ‘मस्ट डिजायरवल वमेन’को सूचीमासमेत परिसकेकी छन् । उड्ता पन्जाब र हाइवेजस्ता फिल्ममा आलिया फरक भूमिकामा देखिएकी थिइन् । उनको यो भूमिकालाई सबैले प्रशंसा गरेका थिए । अचम्मको कुरा के भने उनी अहिलेसम्म आफ्ना बाबु बलिउडकै चर्चित फिल्म निर्देशक महेश भट्टको फिल्ममा भने काम गरेकी छैनन् । उनको अर्काे ‘सेक्रेट’ कुरा भनेको उनले बेलायतको नागरिकता लिएकी छन् । यसकारण उनी भारतीय नागरिक भने होइनन् । उनी अहिले अभिनेता सिद्धार्थ मल्होत्राको साथ ‘रिलेसनसिप’मा रहेको भारतीय सन्चारमाध्यमहरुले उल्लेख गरेका छन् । एजेन्सी
सप्तरी घटनाका मृतकलाई दश लाख, घाइतेको खर्च सरकारले व्यहोर्ने
फागुन २५, काठमाडौं । सप्तरी घटनामा परी मृत्यु हुनेका परिवारलाई दश लाख रुपैयाँ राहत दिने र सम्पूर्ण घाइतेहरुको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । बुधबार साँझ प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा सम्पन्न भएको मन्त्रीपरिषदको बैठकले सो निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले फागुन २३ गते सप्तरीमा भएको दुखद् घटनाको समीक्षा गरेको छ । घटनामा मृत्यु हुने नेपालीहरुप्रति दुख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने मृतकका परिवारजन र आफन्तहरुमा समवेदना प्रकट गरेको छ । बैठकले घटनामा परी घाइते हुने सम्पूर्ण नागरिकको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । बैठकले घटनाको सत्य तथ्य जाँचबुझ गर्न प्रधानमन्त्रीको सहमतिमा गृह मन्त्रालयले तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । आयोगलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यदेश दिइएको छ । बैठकले शान्तिपूर्ण रुपमा भेला हुने, राजनीतिक गतिविधि गर्ने संवैधानिक अधिकारलाई कुण्ठित नगर्न र संयमतापूर्वक राजनीतिक गतिविधि गर्न सम्पूर्ण राजनीतिक दलहरुलाई अपील गरेको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले जानकारी दिए ।
लोकसेवाद्वारा खरिदार पदको लागि १०८२ आवेदन खुला
काठमाडौं, फागुन २५ । लोकसेवा आयोगद्वारा आज गोरखापत्रमा प्रकाशित खुला तथा समावेशीबाट राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदमा निम्न सेवा, समूहका पद संख्याको लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाद्वारा निम्न पदहरुमा देहाय बमोजिमकका योग्यता पुगेका उम्मेदवारहरुबाट आयोगको अनलाइन माध्यमद्वारा आवेदन खुला गरेको छ । यस अावेदन भर्ने म्याद २०७३/११/२५ गतेदेखि २०७३/१२/१५ सम्म र दोब्बर दस्तुर २०७३/१२/२२ सम्म रहेकाे छ । खुला तथा समावेशीबाट अावेदन फर्नका लागि रु. ३००।– र समावेशी समूहको लागि रु. १५०।– थप दस्तुर बुझाउनुपर्ने छ । काठमाडौं उपत्यकाको हकमा मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, नयाँ बानेश्वर, दरखास्त व्यवस्थापन केन्द्र, अनामनगर र गोश्वारा हुलाक कार्यालय, सुन्धारा तथा काठमाडौं उपत्यका बाहिरको हकमा आयोगका क्षेत्रीय निर्देशनालयहरु, अञ्चल कार्यालयहरु तथा आयोगका कार्यालय नभएका जिल्लाहरुको हकमा सम्बन्धित जिल्लास्थित क्षेत्रीय हुलाकद्वारा बुझाउन सकिन्छ ।
महाकाली सन्धिमा तँपाईको मौसमी राष्ट्रवाद कहाँ थियो: नेता न्यौपाने
काठमाडौं, फागुन १२ । माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले महाकाली सन्धिमा उदाङ्गिएको ओली राष्ट्रवाद मौसमी भएको बताएका छन् । नेता न्यौपानेले ओलीको राष्ट्रवाद सत्ता गुमाउँदाको छट्पटीमात्र भएको जिकिर गरेका छन् । आज राजधानीको नेपाल कमर्स क्याम्पसमा अखिल क्रान्तिकारीको उम्मेदवारी घोषणा कार्यक्रममा न्यौपानेले प्रश्न– ‘हिजो महाकाली सन्धिमा राष्ट्रघात हुँदा ओलीको राष्ट्रवाद कहाँ थियो ?’ ओलीको राष्ट्रवाद सक्कली र टिकाउ नभएको न्यौपानेले दाबी गरे । कार्यक्रममा युवा नेता जागृत रायमाझीले ओलीले हाँस्य ब्यङग्य कलाकारहरुलाई माथ गर्न थालेको चर्चा गरे । कार्यक्रममा अखिल क्रान्तिकारी उपाध्यक्ष रञ्जित तामाङले आगामी फागुन १८ गते हुने स्ववियु निर्वाचनका लागि राजेस मैनाली अध्यक्ष र भुपेन्द्र कट्टेल सचिव रहेको टिम घोषणा भएको छ ।
चुनावको मिति घोषणासँगै डडेल्धुरावासी हर्षित
डडेल्धुरा, फागुन १२ । नेपाल सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै डडेल्धुराका स्थानीयवासी खुसी हुनाका साथै घोषणाको स्वागत गरेका छन् । दुई दशकपछि हुन लागेको स्थानीय निकायकोे चुनावको मिति घोषणा भएको भन्दै डडेल्धुरावासी खुसी भएका हुन् । झन्डै दुई दशकपछि स्थानीय जनप्रतिनिधि पाउनुका साथै नेपालको संविधान कार्यान्वयन हुने भन्दै जिल्ला सदरमुकामदेखि गाउँगाउँका स्थानीयवासी खुसी भएका अजमेरका पूर्वगााविस अध्यक्ष हिक्मतबहादुर ऐरले जनाएका छन् । नेपालको संविधान कार्यान्वयनको पहिलो आधारका रुपमा स्थानीय तहको निर्वाचन हुन लागेको भन्दै चिया पसलदेखि बजारका चोकचोकमा स्थानीय छलफलमा व्यस्त रहेका छन् । तोकिएकै समयमा स्थानीय तहको निर्वाचन गर्नसमेत डडेल्धुरावासीले माग गरेको वेलापुर गाविस–९ का समाजसेवी तथा किसान नेता धनबहादुर साउदले बताए । चुनावको मिति घोषणासँगै जिल्लाको गाउँगाउँमा समेत चुनावको चहलपहल बढेको छ । उम्मेदवार चयनका लागि जिल्लास्तरका राजनीतिक दलसमेत छलफलमा व्यस्त हुन थालेका छन् । लामो समयपछि स्थानीय तहमा जनप्रतिनिधि चयन गर्न पाउने भन्दै डडेल्धुरावासी खुसी भएका गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष टेकराज पाण्डेयले बताएका छन् । साथै, जनप्रतिनिधिमा कस्लाई र कुन पार्टीको उम्मेदवारलाई भोट दिने भन्ने बारेमा समेत छलफल गर्न थालेका छन् । साथै, आन्दोलनको घोषणा गरेका मधेसवादी दललाई समेत लामो समयपछि हुन लागेको स्थानीय निकायको चुनावमा सहभागी गराउन ठूला राजनीतिक दललाई डडेल्धुरावासीले आग्रहसमेत गरेका छन् ।
ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ महिलाको ज्यान गयो
काठमाडौं, फागुन ६ । काठमाडौंको बालाजु माछापोखरी सडकखण्डमा शुक्रबार मध्यान्ह १२ बजेतिर ना ५ ख ८४६५ नम्बरको ट्रकले बा ७७ प ३२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुई जनाको महिलाको ज्यान गएको छ । स्कुटर चालक, मकवानपुर मनहरीकी ३८ वर्षकी रीमाकुमारी राई र स्कुटर पछाडी बसेका धादिङ खाल्टेका ३५ वर्षकी सोनिया थापाको उपचारको क्रममा शिक्षण अस्पताल महारजगंजमा ज्यान गएको हो। ट्रक महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेकोले खोजी भैरहेको प्रहरीले जनाएको छ । फोटोः नबराज भट्टको वालबाट
राजधानीका दुई औषधि पसलमा ताला
काठमाडौँ, फागुन ३। शङ्खमुलमा रहेको देउती फार्मेसी र लाइफलाइन मेडिकल नियम विपरीत सञ्चालन भएको पाएपछि दुवै औषधि पसलमा सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापान तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा दर्ता नगरी मेडिकल ल्याब सञ्चालन गरेको, बिल नभएको पाएपछि लाइफलाइन मेडिकललाई सिलबन्दी गरी तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए । त्यसैगरी शङ्खमुलस्थित देउती फार्मेसीलाई पनि फार्मेसीमा मात्र दर्ता गरी ल्याबसमेत सञ्चालन गदैए आएको पाएपछि हाललाई सिलबन्दी गरी तीन दिनभित्र विभागमा र औषधि व्यवस्था विभागमा सम्पर्क गर्न निर्देशन दिइएको निर्देशक श्रेष्ठले जानकारी दिए । दुवै औषधि पसलबाट मूल्य उल्लेख नभएको औषधिको नमुना सङ्कलन गरिएको, गोदाममा रहेको सामानमा अधिकतम् मूल्य उल्लेख नभएको पाइएकाले सामानको कागजातसहित पेस गर्नसमेत निर्देशन दिइएको छ । अनुगमन संयोजक कमला गिरी भारतीको संयोजकत्वमा आज गरिएको बजार अनुगमनका क्रममा विनायक खाद्य स्टोरबाट ४६ बोतल, विष्ठा छे स्टोरबाट १० बोतल, छाया स्टोरबाट १२ बोतल, आशिका खाद्य स्टोर सूर्यविनायकबाट म्याद सकिएको पेय पदार्थ नष्ट गरिएको छ ।
ताकमवासी घरघरमा खानेपानी पुर्याउने अभियानमा
म्याग्दी, माघ २६ । ताकम गाविसका सबै बस्तीमा सडक सञ्जाल विस्तार भएपछि यहाँका बासिन्दा अहिले घरघरमा खानेपानी सुविधा उपलब्ध गराउन जुटेका छन् । जिविसअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहयोगमा रु दुई करोड ६७ लाख ८८ हजार ५५५ को लागतमा कोतखोला तेस्रो खानेपानी तथा सरसफाइ आयोजना सञ्चालनमा ल्याउन लागिएको हो । आगामी वर्ष २०७४ चैतमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट ताकमको ३, ४, ५, ६ र ९ नं वडाका ३५६ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष देवबहादुर थापाले बताउनुभयो । यसैगरी खानेपानी तथा सरसफाइ सवडिजिभन कार्यालयले ७ र ८ नं वडाका लागि यसवर्ष रु ७० लाखको ताकम खानेपानी आयोजना सञ्चालन गरेको छ । वडा नं १ र २ मा पर्ने धारापानीमा पनि यस वर्षदेखि नयाँ आयोजना सञ्चालन हुने कार्यालयले जनाएको छ । आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको तीनवटै आयोजनामार्फत मिटरसहितको निजी धाराबाट खानेपानी वितरण हुने जनाइएको छ । पर्याप्त स्रोत र व्यवस्थित संरचनाको अभावमा खानेपानीको समस्या झेल्दै आएका ताकमका बासिन्दा छिटो आयोजना सम्पन्न गर्नका लागि श्रमदानमा जुटेका छन् । एउटा घरबाट ६५ दिनका दरले श्रमदान गर्दैछौं’, उपभोक्ता गोपाल आचार्यले भन्नुभयो– ‘खानेपानी अभावको समस्या समाधानका लागि आयोजना लक्ष्यअघि नै सम्पन्न गर्ने तयारीमा छौं ।’ देवीस्थान र ताकम गाविसको सिमानामा पर्ने कोटखोला, देउबुजा र हटिमूलको मुहानबाट प्रतिसेकेन्ड चार लिटरका दरले पानी आपूर्ति गर्ने लक्ष्य रहेको कोतखोला तेस्रो आयोजनाको हालसम्म १५ प्रतिशतभन्दा बढी काम सकिसकेको छ । आयोजनाको १३ मध्ये सातवटा रिजर्भ ट्यांकी निर्माण र पाइपलाइन खन्ने काम तीव्र पारिएको परियोजनाका असिस्टेन्ट सव–इञ्जिनियर यामबहादुर हर्मेलले बताउनुभयो ।