शाहरुख र ऋतिकको भिडन्त
माघ २५ । बलिउड किङखान शाहरुख खान र चर्चित स्टार ऋतिक रोशन बीच निकै ठूलो प्रतिष्पर्धा चलेको छ । एकसाथ प्रदर्शनमा आएका दुई फिलिमहरु खानकाे ‘रइस’ र ऋतिकको ‘काविल’का कारण उनीहरूबीच प्रतिष्पर्धा भएकाे हाे ।
हाल दोश्रो सातामा प्रदर्शनरत यी फिल्महरुको विजनेसमा सुरुमा ‘रइस’को कलेक्सले जितेको भएपनि हालसम्म आईपुग्दाल भने ‘काविल’ले हात मारेको छ ।
बर्ष २०१७ कै ठूलो ठुलो भीडन्त मानिएको वलिउडका यी दुइ फिल्महरुबीचको प्रतिष्पर्धा कायमै छ ।
शाहरुख खानको फिल्म भएका कारण यसैपनि सुरुवाती दिनमा विजनेस अघि आउने स्वभाविक थियो । तर ऋतिक रोशनको ‘काबिल’ले प्रदर्शनको ११ औं दिनबाट विजनेसमा ओभरट्र्याक सुरु गरेको छ ।
प्रदर्शनको दोश्रो शनिबार रइसले ८ करोड आसपासको विजनेस गर्दा ‘काबिल’ ले ९ करोड बढिको विजनेस गर्यो भने दोश्रो आइतबार ‘काबिल’ ले ११ करोड ८८ लाखको विजनेस गर्दा ‘रइस’ले ९ करोडको विजनेसमा चित्त बुझायो ।
यसैपनि फिल्म हेर्ने दर्शकहरूले ‘रइस’लाइ भन्दा ‘काबिल’लाइ बढी महत्व दिएकाे देखिन्छ ।
सहिद स्मारक पुगेर प्रधानमन्त्रीले दिए शहीदहरूलाई श्रद्धाञ्जली
काठमाडौँ, माघ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लैनचौरमा रहेको सहिद स्मारकमा पुगी शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । सहिद सप्ताहको अन्तिम दिन आइतबार प्रधानमन्त्रीले शहीदको शालिकमा फूलमाला अर्पण गरेका हुन् । सो श्रद्धाञ्जलि सभामा सभामुख ओनसरी घर्ती मगर, मन्त्रीहरू हितराज पाण्डे र रवीन्द्रराज जोशी, मुख्य सचिव डा. सोमलाल सुवेदी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक र सरकारका कर्मचारीले पनि पुष्पगुच्छा अर्पण गर्दै शहीदको सम्झना गरे। सोही अवसरमा नेपाली सेनाले शहीदको सम्झनामा एक मिनेट सम्मान गारक अर्पण गरेको थियो । काठमाडौँ महानगरपालिकाको आयोजनामा सहिद सप्ताहको अन्तिमा दिन आज रत्नपार्क शान्तिवाटिकाबाट प्रभातफेरीको आयोजना गरी सहिद स्मारक लैनचौर पुगी मूल समारोहमा परिणत भएको थियो । विसं २०१२ देखि काठमाडौँ महानगरपालिकाले ज्ञात–अज्ञात सहिदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाउँदै आएको छ ।
स्याङ्जाले पायो रामपुर भलिबल कपको उपाधि
पाल्पा, माघ ७ । प्रथम रामपुर महोत्सवका अवसरमा आयोजित पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगितामा स्याङजाले रामपुर भलिबल कपको उपाधि ले जितेको छ । रामपुरमा भएको पश्चिमाञ्चलस्तरीय भलिबल प्रतियोगितामा बिहीबार नवलपरासीलाई तीन सेटले हराउँदै स्याङजाले उपाधि जितेको हो । प्रतियोगिताको द्वितीय स्थानमा नवलपरासी, तृतीय स्थानमा रुपन्देही र सान्त्वना गुल्मीले हात पार्न सफल भएका छन् । प्रतियोगितामा प्रथम पुरस्कार नगद रु एक लाख १११, द्वितीय पुरस्कार रु ५० हजार १११, तृत्तीय पुरस्कार रु २५ हजार १११ र सान्त्वना पुरस्कार रु १० हजार १११ रहेको छ ।
कैदीबीच झडप, १० जनाको मृत्यु
माघ २ । ब्राजिलको एक जेलमा कैदीबीच भएको झडपमा १० जनाको मृत्यु भएको छ । कैदीबीच भएकाे झडपमा उनीहरुले एक अर्काकाे शीरसमेत काटेका प्रहरीले सञ्चारमाध्मसँग बताएका छन् । ब्राजिलको उत्तरपूर्वी शहर नाटालमा रहेको त्यस क्षेत्रकै ठूलो एलकाकुज जेलमा कैदी बन्दीबीच झडप भएको हो । जेलमा रहेका कैदीका दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ । एलकाकुज जेलबाट विस्फोट र गोली हानाहानको आवाज सुनिएको स्थानीयलाई उधृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि पनि बाज्रिलको एमाजोनास र रोराईमा राज्यको जेलमा भएको झडपमा एक सय जना मारिएका थिए ।
सेक्स पहाडका तीर्थ यात्रीहरु, यौन सम्पर्कका लागि अपरिचित महिलाको खोजीमा
इण्डोनेशियाको जावा प्राय द्विपमा अवस्थित छ एउटा पहाड । स्थानीय भाषामा पहाडको नाम हो– गुनुङ केमुकस अर्थात् यौनको पहाड । अचम्म त के छ भने यो पहाड यौन सम्पर्क गर्न चाहनेका लागि तीर्थ यात्राका रुपमा लिन्छन् मानिसहरु । यहाँ सैयौं यस्ता तीर्थ यात्रीहरु भेला हुन्छन र अपरिचितहरुको खोजी गर्छन् यौन सम्पर्कका लागि । यसो गरेमा भाग्य चम्किने विश्वास छ उनीहरुको । यो विश्वासका पछाडिएउटा मान्यता प्रचलित छ जावामा । भनिन्छ, कुनै बेलाएकजना राजकुमार आफ्नी सौतेनी आमासँग यौनसम्पर्क गरिरहेको बेला समातिएको थियो । पछि यही आरोपमा राजकुमारको हत्यागरियो रे । ती दुबै प्रेमीहरुको लास त्यही पहाडमा गाडिएको छ रे । योग्याकर्टक्सको गडजाहमाडा विश्वविद्यालयमा अद्यापन समेत गराउँदै आएकी अनुसन्धानकर्ता सिओपार्नोका अनुसार, पौराणिककालमा युवराज पेन्गेरन समोद्रो रानी नायी ओन्त्रोबुलानसँग भागेकी थिइन । ओन्त्रोबुलान उनकी सौतेनी आमा थिइन । १६औं शताब्दीको यो कथा बिभिन्न किसिमले बर्णन गरिन्छ । एक दिनयुवारज र रानी सेक्स गरिरहेको बेला पक्राउ परेपछि पहाडको टुप्पोमा नै उनीहरुलाई मारेर गाडियो । ‘धार्मिक विधिअनुसार अपरिचितमानिससँग यौनसम्पर्क गर्न चर्चित छ केमुकस पहाड’ ३० वर्षदेखि यो “अपरिचितसँग सेक्स गर्ने संस्कार”को अध्ययन गरिरहेकी सामाजिक मनोवैज्ञानिक ओन्टजोरो सिओपार्ने भन्छिन, “तीर्थयात्रीहरुले यहाँ कामुकताको प्रदर्शन गरे आफ्नो भाग्यखुल्ने विश्वास राख्छन् ।” त्यसैले यो गुनुङ केमुकसलाई “यौनको पहाड” समेत भन्ने गरिन्छ । यसरी हुन्छअनुष्ठान यो पहाडमा हरेक ३५ दिनमा अनुष्ठान हुने गर्छ जसमा देशभरीबाट मानिसहरु भेलाहुन्छन् । त्यसो त इण्डोनेशिया संसारकै सबैभन्दा बढी मुस्लिम जनसंख्या भएको देश हो । भेटोनन साइकिल (जावनिजक्यालेन्डर)काअनुसार, ग्रह, नक्षत्र हेरेर यो यौन अनुष्ठानका लागि मिति तय गरिन्छ । पुरानो जावनिज क्यालेण्डरकाआधारमा ३५ दिनको फरकमा पर्व मनाइन्छ । यौन सम्पर्क जसले जहाँ जसरी पायो त्यसरी भने राखिँदैन । धार्मिक विधिअपनाएर अपरिचितसँग यौन गर्ने परम्परा उनीहरुको छ । यसका लागिसाँझ पर्न थालेपछि देवदारको रुखमुनि मोमबत्तीको बालेर मानिसहरु बस्ने गर्छन् । विशालअन्जिर रुखका जराहरु माथिबाट झुलिरहेका हुन्छन् । अनि शुरु हुन्छअनुष्ठान। यो अनुष्ठानको शुरुआत प्रार्थनाबाट शुरु हुन्छ । प्रार्थनासँगै युवराज पैन्गेरन समोद्रो र रानीनायी ओन्त्रोबुलानको चिहानमाथि फूलअर्पण गरिन्छ । पहाडका दुई पवित्र खोल्सा मध्ये कुनै एकमा तीर्थयात्रीहरुले स्नानगर्नु अनिवार्य हुन्छ । यसपछि उनीहरु कुनै अपरिचितको खोजीमा डुल्छन् यौन सम्पर्ककालागि । सुपर्णो भन्छिन, “यदितपाई आफ्नो श्रीमान या श्रीमतीबाहेक कुनै अरुसँग सुत्नुहुन्छ ने आर्शीवाद र धनप्राप्त हुने मान्यता रहेको छ । तर यसरी यौनसम्पर्क गरिने पार्टनर परिचित नै हुनु हुँदैन ।” तर एकपटक यौनसम्पर्क गरेर मात्रै पुग्दैन । यो सम्बन्ध एक वर्षमा सात पल्ट हुनुपर्छ रे । यदि सात पल्टसम्मअपरिचितसँग यौनसम्पर्क नभए फेरी शुरुबाट नै यो अनुष्ठान गर्नुपर्छ । विशेषज्ञहरुकाअनुसार, युवाहरुका लागि यो सजिलो छ, तर अरुकालागि ने यसरी सातपटकसम्म यो क्रिया पुरा गर्नु निकै गारो पर्छ । कतिपय जोडीहरुले एक अर्काको फोन नम्बर लिन्छन् र फेरी अर्कोपल्ट भेट्ने गर्छन । यी व्यस्त रात्रीहरुमा आठहजार भन्दा बढीतीर्थ यात्रीहरु पहाडको चोटीमापुग्न सक्छन् । पहाडचढ्न ढुंगाका सिंढी बनाइएका छन् । सुपर्णोकाअनुसार बढीजसो यो पहाडमा साना व्यापारीहरु आउने गर्छन् । यो तीर्थस्तलमाखाने कुरा पनि उपलब्ध छन् रे । यहाँ चिया, बदाम, चाउचाउ, नुडल्स पाइन्छन् । राती बस्न कोठाहरु पनि पाइन्छन् । बिबिसीका रिपोर्टरले एक जना यात्रीका बारेमा वर्णन गर्दै लेखेकाछन्– यो पवित्र स्थलभित्र एक जना युवा नमाज पढ्न थाल्छन अनि नीनिस्किन्छन् अपरिचितजोडीको खोजीमा । ती युवा भन्छन्, “मलाई कुनै महिला मन परेपछि उसको नजिकगएर प्रस्ताव गर्छु, उनलाई पनि यौनसम्पर्कको इच्छा भए नभएको भने मैले विशेष ख्याल राख्छु ।” यी युवा विवाहित हुन । यिनका तीन छोराछोरी छन् । तर उनकी श्रीमतीलाई उनी यो पहाडमा गएका थाहा छैन । घरमा चाहिँ उनले मस्जिद जाँदैछु भनेर ढाँटेकाछन् । त्यही स्थानमा ६० वर्षकी एक जना महिला छिन् । उनी सुनौलो ब्लाउज र मिनिस्कर्टमा देखिन्छन् । कालो छालाको ज्याकेट लगाएकी छिन् उनले । ओठ पोतिएका छन् रातो लिपिष्टिकले । उनले भनिन, “मेरा चार जना छोराछोरी र एउटानाती छ ।श्रीमानलाई केमुकस गइरहेको छु भन्दा उनले मान्ने कुरै भएन । मविगत १० वर्षदेखि यो पहाडमा आउने गरेकी छु । एभरेष्टदैनिक डटकमका लागि बिबिसीको रिपोर्ट अनुवाद
प्रेरणालाई दिएको जग्गा सरकारको भएको सर्वोच्चको फैसला
काठमाडौं, पुस २१ । सर्वाेच्च अदालतले तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा राज्यलक्ष्मी सिंहलाई दाइजोस्वरूप दिएको काठमाडौं छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारको भएको फैसला सुनाएको छ। प्रधानन्यायाधीस शुशीला कार्की र न्यायाधीसहरु दीपक कार्की र सपना मल्लको संयुक्त इजलासले बिहीबार सो निर्णय गरेको हो। प्रेरणा शाहको नाममा रहेको सम्पत्ती नेपाल सरकारको मातहतमा आउने गरी निर्णय भएको हो ।
भवन भत्किएपछि पुस्तक र पत्रिकाहरु बाेराभित्र थन्किए
ललितपुर, पुस २० । हरिहर भवनस्थित नेपाल राष्टिय पुस्तकालयको भवन भत्किएपछि यहाँ रहेका एक लाख ५० हजार पुस्तक तथा पत्रपत्रिकाहरु अलपत्रमा परेका छन् । पत्रिका र पुस्तकहरु अहिले बोरामा खाँदेर राखिएको पुस्तकालयले बताएको छ । नयाँ भवन बन्नका लागि पूनःनिर्माण प्राधिकरणले रकम छुटाएपनि जग्गाको अभावमा काम अघि बढ्न सकेको छैन । पुस्तकालयका प्रमुख उपेन्द्रप्रसाद मैनालीले गत वर्षको भूकम्पपछि पुस्तकालय सेवाविहीन भएको बताए । उनले भने– ‘अहिले पुनःनिर्माणको काम नै सुरु भएको छैन, सुरु भएपछि पनि २÷३ वर्ष लाग्न सक्छ ।’ वैकल्पिक व्यवस्था गरेर पनि पुस्तकालय सञ्चालन गर्नुपर्ने उनको जोड छ । बोरामा राखिएका पुस्तक तथा पत्रिकाहरु केही खोलेपनि धेरै खोल्न नै बाँकी भएको पुस्तकालयका प्रकाशन प्रमुख यादवचन्द्र निरौलाले बताए। भूकम्पपछि पुस्तकालयका सामग्री पाँच हजारवटा बोरामा राखिएको छ । तीमध्ये तीन हजार बोरा मात्रै खोलिएको छ । उनले रासससँग भने– ‘जग्गा उपलब्ध भएमा चाँडो भवन बनाएर सर्न चाहन्छौं ।’ साठी वर्ष पुरानो यस पुस्तकालयमा ३०० वर्ष पुराना सामग्री रहेका छन् ।
सोमबार बस्ने संसद बैठकमा मुठभेडको ‘मुड’मा एमाले !
सागर न्यौपाने/ काठमाडौं, पुस १७ । एमाले महासचिव ईश्वर पोखरेलले जवर्जस्ती संविधान संशोधन विधेयक संसदमा टेबुल गर्न खोजे प्रतिकार गर्नसक्ने संकेत गरेका छन् । प्रेस चौतारी नेपाल, काठमाडौं शाखाले आइतबार राजधानीमा गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकारले सदनमा दर्ता गरेको संशोधन विधेयक राष्ट्रिय एकता विरुद्ध रहेकोले विरोध गरिएको बताए । उनले भने, ‘अवान्छित ढंगले संशोधन विधेयकको कसरी टेबुल हुन्छ, एमालेले हेर्छ ।’ पोखरेलले एमालेको अबरोधकाबीच विधेयक अगाडि बढाउन सरकारलाई चुनौति दिए । संविधानको किटानी व्यवस्था कायम रहुञ्जेल संशोधन प्रस्ताव छलफल लैजान नदिने अाफ्नो र सत्ता विपक्षी दलको अडान रहेको दोहोर्याए । ‘यसलाई सामान्य संशोधनको रुपमा लिनु हुँदैन, यो संशोधन संविधान र राष्ट्रहितविपरीत छ, राष्ट्रहित विपरीत हुने कुरा संसदमा छलफल हुन दिइँदैन,’ उनले भने । तर उनले सभामुखले खेलेको मध्यमार्गी भूमिकाको प्रशंसा गरे । ‘सभामुखले सबै दलहरुलाई सहमति गर्नुस भन्नुभएको छ, उहाँले दलहरुबीच छलफल गर्नुपनि भएको छ, दलहरुलाई सहमति वा प्रक्रियामा सहमति गर्नुस् भनेर भन्नुभएको छ, त्यसलाई सकारात्मक लिन्छौं,’ पोखरेलले भने । तर, एमाले लगायतका विपक्षीदलहरुसँग सहमति नगरी संसदमा प्रस्ताव टेबल भए एमालेले चुप नबस्ने उनले चुनौति दिए । उनले भने–‘प्रदेशको सीमा हेरफेर संविधान विरुद्ध आएकोले छलफल हुन दिदैनौं ।’ असंवैधानिक विषयलाई संसदमा एकपटक छलफल गर्न दिने हो भने फेरि पटक–पटक यस्तै कुरा आउने पोखरेलको बुझाइ छ । ‘संविधान जारी गर्न नदिनेहरु नै संविधान कार्यान्वयन गर्न नदिने ढंगले प्रस्तुत भइरहेका छन्,’ निर्वाचनका लागि एमालेले सहयोग गर्न तयार रहेको उल्लेख गर्दै उनले भने, ‘छलफलबाटै समस्या समाधान गर्न पनि तयार छौं, तर असंवैधानिक र बेमौसमी प्रस्ताव फिर्ता गर्नुपर्छ ।’ उनले सरकारले संशोधन विधेयक फिर्ता लिएर चुनावमा गए सहमत हुने बताए । ‘हामी लचकताकासाथ भनिरहेकाछौं । संशोधन विधेयक स्थगन गरौं र चुनावमा जाउ । एमाले चुनावका लागि सत्तापक्ष सङ्ग वार्ता गर्न तयार छ ।’ उनले सरकारलाई चुनौति दिदैं भने- काठमाडौंमा शक्ति प्रदर्शन गर्न लागेका हौं । २२ गतेको कार्यक्रमले धेरै कुराको फैसला गरिदिने छ ।
कमल थापा र गच्छदार सरकारमा जाने
काठमाडौं, पौष १७ । संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्नुहुने भएको छ । प्रधानमन्त्रीले मंत्रीपरिसदमा राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई ल्याउने तयारी गर्नुभएको खबर आजको नेपाल समाचार पत्रमा छ । थपाले उपप्रधानमन्त्रीसहित शक्ति सन्तुलन गर्ने खालको मन्त्रालयको माग गर्नुभएको छ भने गच्छदार पनि सरकारमा जान तयार हुनुहुन्छ । थापासँग जिज्ञासा राख्दा उहाँले भन्नुभयो ‘म अहिले धनगढीमा छु अनौपचारिक रुपमा यसअघि कुरा भएपनि औपचारिक रुपमा कुरा भएको छैन । पार्टीमा यसबारे कुरा गर्न बाँकी छ ।’ गच्छदारले सरकारको आलोचना गर्न थालेपछि प्रधानमन्त्रीसँग गच्छदारको मन्त्रालयको विषयमा बार्गेनिङ भइरहेको स्रोतको भनाइ छ ।
कमल थापाले पनि मागे चुनाव
काठमाडौँ, पुस १२ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले स्थानीय निकायको निर्वाचनका लागि दलहरुको सहमतिमा मिति तोक्नुपर्नेमा जोड दिएका छन् । पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनले आज आयोजना गरेको महिला भेलामा उनले निर्धारित समय अवधिमा तीन तहको निर्वाचन गरी संविधान कार्यान्वयनतर्फ सरकार लाग्नुपर्ने बताए । अध्यक्ष थापाले महिलाको प्रतिनिधित्व बढाउन उनीहरुको सहभागितालाई संविधानले सुनिश्चित गरेको बताउँदै संवैधानिक व्यवस्था अनुसार आफ्नो पार्टीले महिला वर्गलाई अगाडि बढाउने विषयलाई प्राथमिकतामा राखेको बताए । स्थानीय निकायको अभावमा जनताका काम छिटो छरितो हुन नसकेकोले चुनाव हुनुपर्ने उनको भनाइ थियो । पार्टीका राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले मुलुकमा विखण्डनको आवाज उठिरहेका बेला राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताउँदै देशमा विद्यमान समस्या समाधानका लागि राप्रपाले प्रभावकारी भूमिका खेल्ने बताए । निर्वाचनका लागि आवश्यक ऐन निर्माणका लागि सरकार लाग्नुपर्नेमा राणाले जोड दिए । पार्टी सङ्गठन प्रमुख कुन्ती शाहीले मुलुकको विकासका लागि महिला वर्गको उल्लेख्य भूमिका रहने बताउँदै अब मुलुकमा हुने स्थानीय निर्वाचनमा उनीहरुको प्रतिनिधित्व वृद्धि गर्नुपर्ने बताइन । रासस
चियाबारी–खुर्कोट खण्डमा सुरुङ मार्ग बनाइने
सिन्धुली, पुस ७ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपाललाई विश्वमाझ चिनाउने एक ऐतिहासिकस्थल सिन्धुलीगढीको संरक्षण र पुनःनिर्माण गर्न आफू तयार रहेको बताएका छन् । ‘समृद्ध सिन्धुली निर्माणको आधार, कृषि पर्यटन र उद्योग क्षेत्रको लगानीमैत्री वातावरण सुधार’ भन्ने नारासहित स्थानीय खुल्लामञ्चमा आयोजित महोत्सवको उद्घाटन गर्दै उहाँले बिपी राजमार्गअन्तर्गत चियाबारी–खुर्कोट खण्डमा सुरुङ मार्ग अत्यन्तै आवश्यक भएकाले स्थानीय स्रोत साधनले नभ्याएमा दातृ राष्ट्रसँग सहयोग लिएर भए पनि सुरुङ मार्ग निर्माण गरिने बताए । सिन्धुलीको नदी नियन्त्रण, कृषि क्षेत्रको सुधार, ऐतिहासिकस्थलको संरक्षणलगायत विषयमा सरकार गम्भीर रहेको बताउँदै उनले जलविद्युत् आयोजना, चिस्यान केन्द्र, फलफूल प्रशोधन केन्द्र निर्माणका लागि बजेट विनियोजन गरिने आश्वासन दिए । स्थानीय तहसँगै सबै तहको निर्वाचन नभएसम्म विकासले गति नलिने उल्लेख गर्दै उहाँले आफूहरु स्थानीय तहको निर्वाचन गर्ने पक्षमा रहेको बताए । पूर्वकृषि मन्त्री हरिबोल गजुरेल, सांसद मोहनप्रसाद बराललगायतले ऐतिहासिक सम्पदाको पुनःनिर्माण र नदी नियन्त्रण तथा सडकका क्षेत्रमा बजेट विनियोजन गरिदिन आग्रह गरेका थिए । उद्योग वाणिज्य सङ्घ सिन्धुलीका अध्यक्ष विनेशकुमार श्रेष्ठले धार्मिक एवम् ऐतिहासिक पर्यटन प्रवद्र्धनका साथै व्यावसायिक अवसरको सिर्जना गर्ने उद्देश्यसहित यही पुस १८ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी दिए । महोत्सवमा स्थानीय उत्पादन, कृषिजन्य उत्पादन, सूचना प्रविधि तथा अटो मोबाइल्सलगायत दुई सय ५० बिक्री तथा प्रदर्शनी कक्ष छन् । रासस
सोलारको माइनस प्लस तार जुध्दा घर जलेर ध्वस्त
जाजरकोट, पुस १। जाजरकोटमा सोलारको माइनस प्लस तार जुधेर आगलागी हुँदा त्यहाँको एक घर जलेर ध्वस्त भएको छ । जिल्लाको रामीडाँडा गाविस–८, छेडास्थित एक दलित परिवारको घरमा बच्चाले सोलारको तार चलाउँदा सो दुर्घटना भएको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिए । जीतबहादुर परियारको घरमा आगलागी हुँदा घरभित्र रहेका लत्ताकपडा, अन्न, भाँडाकुँडा र घर पूर्णरुपमा जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय वारेकोटले जनाएको छ । अर्काको कपडा सिलाएबापत दिएको अन्नले दैनिक छाकटार्दै आएका यो परिवारलाई आगलागीपछि विचल्ली भएको छ ।
शिशु हत्या गर्ने देवर भाउजू थुनामा
फलेवास (पर्वत), पुस १ । वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका पारेर आफ्नै देवरसँग अवैध गर्भधारण गरी शिशुलाई जन्म दिएर हत्या गर्ने देवरभाउजू पुर्पक्षका लागि थुनामा परेका छन् । पर्वतको लिमिठाना–८ की मीना क्षेत्री र विजयराज क्षेत्रीलाई पर्वत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । ३१ वर्षीया मीना क्षेत्री र विजयराज क्षेत्री एकाघरका देवरभाउजू हुन् । मीनाले श्रीमान् कुलबहादुर क्षेत्रीलाई ढाकछोप गरेर बच्चालाई जन्म दिई आफ्नै खेतमा खाल्डो खनेर गाडेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । थप अनुसन्धानका लागि पर्वत जिल्ला अदालतका न्यायाधीश मोहनराज भट्टराईको आरोपित मीना क्षेत्री र विजयराज क्षेत्रीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिनुभएको छ । आरोपित मीनाका श्रीमान् कुलबहादुर क्षेत्रीले आफ्नै भाइ विजयराज र श्रीमती मीनाविरुद्ध पर्वत जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दाअन्तर्गत गत कात्तिक ४ गते किटानी जाहेरी दिनुभएको थियो । रासस
हात्तीले लियो एकको ज्यान
पर्सा, मंसिर ३० । पर्सामा जंगली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । वनबाट आएको हात्तीले निर्मलबस्ती गाविस–४, सिकारीवास टोल निवासी ४५ वर्षीय रोघाई चौधरीमाथि आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तोरीबारीमा राति बाली जोगाउन पहरा बसेका बेला वनबाट आएको हात्तीले उनीमाथि आक्रमण गरेको थियो । चौधरीको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । पर्सा वनजन्तु आरक्षबाट आहारा खोजीका लागि बाहिरिने हात्तीलगायत जङ्गली जनावरको आक्रमणले निकुञ्जनजिकका वस्तीहरु मारमा पर्ने गरेका छन् ।
‘कालिञ्चोक केवलकार’ सम्बन्धमा विवाद बढ्दै
दोलखा, मंसिर २९ । स्थानीय लापिलाङ गाविस–६ झरेनी सामुदायिक वनमा निर्माण गर्न लागिएको ‘कालिञ्चोक केबुलकार’ का सम्बन्धमा विवाद बढेको छ । जिल्लाका पहुँचवाला नेता तथा व्यावसायीको दबाबमा जिल्ला विकास समिति र कालिञ्चोक गाविसले केबुलकार निमार्णमा स्वीकृति दिए पनि सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति र वन कार्यालयको स्विकृति नलिएकाले विवाद बढेको हो । कालिञ्चोक दर्शन प्राली नामक संस्थाले केबुलकार निर्माण हुने जमिन गुठी संस्थानको भएको दाबी गरेको छ । केबुलकार निर्माणमा विभिन्न दलका नेता तथा कार्यकर्ता र स्थानीय व्यापारी गरी ६५ जनाको लगानी रहेकोले तिनको दबाबमा जिल्ला प्रशासन कार्यालयले वन क्षेत्रको जग्गा उपलब्ध गराउन गुठी संस्थान तथा वन मन्त्रालयमा पत्राचार गरेपनि सो मन्त्रालयले कालिञ्चोक दर्शन प्रालीलाई वातावरणीय प्रभाव मूल्याङ्न मात्र गर्न स्विकृति दिएको जिल्ला वन कार्यालयले जनाएको छ । सामुदायिक वन महासङ्घका जिल्ला अध्यक्ष कमला बस्नेतले यो सामुदायिक वन क्षेत्रको जग्गा भएकाले सामुदायिक वन र जिल्ला वन कार्यालयको स्वीकृतमा मात्रै उपभोग गर्न पाइनेमा स्थानीय जनताको अधिकारमा हस्तक्षेप गर्नुका साथै कानुन विपरितका काम भएको बताएको छ । सामुदायिक वन महासङ्घले हालै आयोजना गरेको छलफलमा जिल्ला वन कार्यलय, सुस्पा सामुदायिक वन, चर्नावती सामुदायिक वन, सुक्राम सामुदायिक वन लगायतका पदाधिकारीले सो सार्वजनिक जग्गा सरकारी सम्पति भएको ठोकुवा गरेका छन् । उनीहरुले केबुलकार निमार्णमा वन कार्यालय, सम्बन्धित सामुदायिक वन उपभोक्ता समितिको स्वीकृति हुनुपर्नेमा जोड दिएका छन भने एमाले नेता बालकृष्ण शिवाकोटीले आफूहरुले सबै कानुनी प्रक्रिया पु¥याएको र २७ वर्षका लागि गुठी संस्थानसँग सम्झौता भएको बताएको छ ।
एमालेविरुद्द खनिए देउबा, दिए यस्तो कडा अभिव्यक्ति
काठमाडौँ, २५ मङ्सिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबैलाई मिलाएर राष्ट्रिय एकता कायम गर्न संविधान संशोधनको प्रस्ताव ल्याइएको बताउनुभएको छ । नेपाल जेसिसको ४३औँ राष्ट्रिय अधिवेशनको आज टोखास्थित भूतखेलमा उद्घाटन गर्दै उहाँले हिमाल, पहाड र मधेस तथा सबै जातिलाई मिलाएर एकताबद्ध गर्नका लागि संशोधनको प्रस्ताव ल्याइएको स्पष्ट पार्नुभयो । पहाडी र मधेसीका बीचमा वैमनस्यता सिर्जना गरेर पहाड र मधेसलाई अलग गर्न खोजिएको भन्दै पूर्व प्रधानमन्त्री देउवाले नेपालीका बीचमा सङ्कट पैदा गर्ने राष्ट्रवादी हुन्छ कि मिलाउने राष्ट्रवादी हुन्छ भन्नुभयो । उहाँले भन्नुभयो–“राष्ट्रियताको नाममा मधेसी र पहाडीबीचमा झगडा गराउन हुँँदैन । मधेसमा बस्ने नेपालीलाई अविश्वास गर्न हुँदैन । मधेसी नेपाली हुन्, उनीहरु सधैँ नेपाली भएर बाँच्न चाहन्छन् । कसैलाई अविश्वास र आक्षेप लगाएर मुलुक चल्दैन ।” नेकपा (एमाले)ले छिनछिनमा कुरा बदल्न नहुने बताउँदै उहाँले काँग्रेसका पूर्व सभापति सुशील कोइराला र नेकपा (एमाले) अध्यक्ष केपी ओलीले हस्ताक्षर गर्नुभएको सम्झौताका आधारमा संविधान संशोधन प्रस्ताव ल्याइएको स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधन प्रस्तावमा कुनै बाह्य दबाब नरहेको स्पष्ट पार्नुभयो । नेपाली कसैको दबाबमा पनि नपर्ने बताउँदै सभापति देउवाले स्वतन्त्रको आन्दोलनमा सबैभन्दा बढी लडेको पार्टीले कसैको दबाबमा नपर्ने धारणा राख्नुभयो । उहाँले विगतको स्मरण गराउँदै भन्नुभयो – “२००७ सालमा राणाशासन अन्त्य गर्ने पार्टी हो, पञ्चायत फ्याँक्ने पार्टी हो, पूर्वराजा ज्ञानेन्द्रको शासन सत्ता च्यूत गर्ने पार्टी नेपाली काँग्रेस हो, यो कसैको दबाबमा पर्दैन ।” सम्पूर्ण नेपालीलाई मिलाउने दायित्व काँग्रेसको भएको बताउँदै सभापति देउवाले यो मुलुक हिमाल, पहाड र मधेसमा बस्ने सबै नेपालीको देश भएको बताउनुभयो । मधेसमा बस्ने जनताले सिमानामा बसेर राष्ट्रियता जोगाएको बताउँदै उहाँले उनीहरुको भावना सम्बोधन गर्न संविधान संशोधन गर्नुपरेको धारणा राख्नुभयो । “सुस्तामा निरन्तर लड्ने नेपाली हुन्, विदेशी होइनन्, सबै तराईका बासिन्दा नेपाली हुन्, उनीहरुको भावनालाई सम्बोधन गनुपर्छ”– सभापति देउवाले भन्नुभयो – “के सिमानामा भएका अन्याय अत्याचारमा लड्ने मधेसीहरु अराष्ट्रिय तत्व हुन्, के उनीहरु विदेशी हुन् ?, यो हुन सक्दैन ।” उहाँले संविधान संशोधनको पक्षमा नेकपा (एमाले)ले मत हाल्ने विश्वास व्यक्तसमेत गर्नुभयो । सभापति देउवाले नेपाली काँग्रेसको सिद्धान्त र जेसिसको सिद्धान्त मिल्ने भएकाले यस संस्थासँग आफ्नो गहिरो सम्बन्ध रहेको बताउनुभयो । सो अवसरमा नेकापा (एमाले)का महासचिव ईश्वर पोखरेलले संविधान संशोधनको प्रस्तावसँगै मुलुक गम्भीर सङ्कटमा परेको भन्दै उहाँले सामाजिक सद्भावको रक्षाका लागि सबै युवा सक्रिय भएर अगाडि आउनुपर्ने बताउनुभयो । स्वतन्त्र, सार्वभौम र भूपरिवेष्टित मुलुकका नागरिकका रुपमा स्वाभिमानीपूर्वक बाँच्न पाउनुपर्ने धारणा राख्दै उहाँले ऐतिहासिक सङ्कटबाट मुलुकलाई जोगाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो – “मैले काँचो राष्ट्रवाद बोलेको होइन, मुलुक सङ्कटमा छ, त्यसलाई मुक्त गर्नुपर्छ ।” कार्यक्रममा नेवाः गुठीका अध्यक्ष देवराज डङ्गोल, नेपाल जेसिसका राष्ट्रिय अध्यक्ष रवीन्द्र गुरुङ, जेसिस नेपालका संस्थापक डा भेषबहादुर थापाले युवालाई सक्रिय बनाएर मुलुक परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । चार दिनसम्म चल्ने महाधिवेशनमा नेपालभरिका १३८ शाखाबाट तीन हजार युवाको सहभागिता रहेको आयोजकले जनाएको छ । रासस