प्रचण्डको उदघोष: एकता एतिहासिक क्षण, निरन्तरतामा क्रमभङ्गता

काठमाडौं, असोज १७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले तीन दलबीच भएको सहमतिलाई निरन्तरतामा क्रम भङ्गता र नेपाली इतिहासमा एतिहासिकको क्षण भएको बताएका छन ।

बृहत वाम एकता तथा आगामी चुनाबमा एमालेसहितको चुनाबी तालमेल र पार्टी एकताबारे जानकारी दिन मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यो अभियान कसैप्रति लक्षीत नभएको पनि प्रष्ट पारेका छन ।

अहिलेको गठबन्धन चुनावका लागि भएको र बिचार मिल्ने राजनीतिक शक्तिहरुबीच एकीकरणका लागि भएको पनि उनले बताए । उनले भने, ‘म प्रष्ट पार्न चाहान्छु यो सहमति कांग्रेसविरुद्ध लक्षित छैन । जनता र राष्ट्रको पक्षमा छ ।’

देशको सग्रह राजनीतिक र आर्थिक विकासका लागि एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने उद्देश्यका साथ एमाले र नयाँशक्ति पार्टीबीच चुनाबी तालमेल हुँदै पार्टी एकता प्रकिया अभियान शुरु गरिएको बताए ।

यो अभियान नेपाल, नेपाली जनता र अहिलेको राष्ट्रिय आवश्यकता भएकाले अगाडि बढाएको बताए । माओवादीे जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलनको सम्मान गर्दै देशलाई सम्बृद्ध र समुन्न बनाउन वाम एकता आवश्यक रहेको अध्यक्ष प्रचण्डले बताए ।

डेनमार्कमा किराँतीहरु संगठित

कोपनहेगन, डेनमार्क । उच्च शिक्षा तथा रोजगारीका लागि डेनमार्कमा आएका किराँतीहरु संगठित भएका छन् । आफ्नो कला संस्कृति, भेषभुषा, रितिरिवाज तथा भाषाको संरक्षण तथा एकआपसमा आपसि सम्बन्ध विकास गर्ने उद्देश्यले कोपनहेगनमा हालै भएको भेलाले किरात समाज गठन भएको हो । अमृत सुब्बाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन भएको हो । उपाध्यक्षहरुमा गंगा थेबे र बिनय राइ, सचिवमा रुमी हाङ राइ, सहसचिव शैलेन्द्र राइ र कोषाध्यक्षमा नोफुङ इजम चयन भएका छन् । सदस्यहरुमा अश्विनी राइ, स्मृति राइ, रिस्ता राइ, जमुना राइ, सुनिल राइ, सन्जिव लिम्बु थेबे, दिवस लिम्बु थेबे, आयना सुब्बा र कला मोदेन अधिकारी रहेका छन् । सल्लाहकार संयोजकमा प्रतिक सुब्वा, बरिस्ठ सल्लाहकारमा डा।अमृत राइ र गुन्ज सुनुवार रहेका छन् ।

रक्सी र पत्रकार– बदनामी पिलाउनेको

नेपाल पत्रकार महासङ्घको यसै हप्ता सम्पन्न महाधिवेशनको बन्दसत्रमा बुटवलकी पत्रकार इन्दिरा अर्यालले प्रस्ताव राखिन्– पत्रकारहरूको सार्वजनिक कार्यक्रममा मदिरा निषेध गरियोस् । केही तालीहरू बजे, तर यो प्रस्तावलाई सम्बोधनसमेत गरिएन । सभाले पारित गरेको १९ बुँदे भावी रणनीतिमा यो प्रस्ताव परेको भए के हुन्थ्यो होला ? पत्रकार महासङ्घको इतिहासमा नयाँ कुरा हुने त पक्का थियो नै, पत्रकारहरू आफूले आफैँलाई बाँध्न सचेत छन् भन्ने सन्देश पनि जाने थियो । पत्रकार र मदिरालाई अहिले जसरी एक–अर्काका पूरकझैँ गरी चर्चा गर्ने गरिएको छ त्यसप्रकारको दृष्टिकोण बदल्नलाई पनि शायद मद्दत पुग्ने थियो । त्यसो त प्रस्ताव पारित गर्दैमा दृष्टिकोण बदलिने होइन, दृष्टिकोण बदल्नका लागि हाम्रा सोच, व्यवहारहरू बदलिन आवश्यक हुन्छ । बबिता बस्नेत खाने, पिउने, लाउनेजस्ता कुराहरू मानिसका नितान्त व्यक्तिगत कुरा हुन् । घरमा कसले के खान्छ, पिउँछ या लाउँछ भन्ने कुराले सम्बन्धित व्यक्तिबाहेक अरूलाई अर्थ राख्दैन । निजी जमघटमा मानिस आफ्नै प्रकारले रमाइरहेका हुन्छन् । कोही नाचेर, कोही हाँसेर, कोही गीत गाएर, जोक, सायरी साँझका निजी सत्रहरूमा कसले के गर्छ त्यसको पनि मतलब हुँदैन । एक्लै बसेर मदिरामा रमाउनेहरू पनि होलान्, दिनभरिको थकान मेट्नका लागि आनन्दले बसेर एक कप कालो चिया पिउन पाउँदा जिन्दगी बाँचेको अनुभूति गर्नेहरू पनि होलान् । निजी जीवनमा कसले कति बेला के गर्छ सरोकारको विषय भएन । तर, सार्वजनिक ठाउँहरूमा कसले के खायो, कसरी प्रस्तुत भयो भन्ने कुराले भने महत्व राख्छ । निजी तवरमा गरिएका कामहरू जब सार्वजनिक रूपमा व्यक्त गरिन्छ, ती सार्वजनिक बन्न पुग्छन् । हिजोआज निजी जीवनमा गरिएका कुराहरूलाई सार्वजनिक गर्दै सकेसम्म अरूलाई होच्याएर आफू अग्लिन चाहनेहरूको सङ्ख्या पनि बढ्दै गएको देखिन्छ । ‘मैले प्रधानमन्त्री फलानालाई यस्तो भनिदिएँ, सँगै बसेर ड्रिंक्स गरियो’ भनेर पुस्तकमै लेख्ने अवकाश प्राप्त जर्नेलहरूदेखि काजुसँग महँगो रक्सी खाइयो, थरीथरीका काजु, पेस्ता र महँगो रक्सी खुवाउने हैसियत यिनको कसरी बन्यो भनेर लेख्ने लेखकसम्म । मानिसले मदिरा नपिउँदा हुन त विश्वमा यति धेरै मदिराको खपत के हुन्थ्यो होला र ? जतिसुकै ट्याक्स बढाउन, बेच्न निषेध गरुन् मदिरा चलेकै छ । एउटा भनाइ नै छ, दूध बेच्ने मान्छेले ढोकाढोका चहार्नुपर्छ, मदिरा खोज्दै मानिस पसलमा पुग्छन् । मदिराका नाममा अनेक कविता, सायरी, जोक र गीतहरू बनेका छन् । यसको अर्थ विभिन्न तह, तप्काका मानिसले मदिरा सेवन गर्छन् । मदिरा छुँदै नछुनेहरू पनि सबै तह र तप्कामा छन्, उनीहरूको चर्चा हुने कुरै भएन । मदिरा सेवन गर्नेहरूमध्ये पनि पत्रकारको चर्चा विशेष रूपमा हुने गरेको छ । पत्रकारभन्दा बढी नै मापसे गर्ने पेसा व्यवसायी पनि होलान्, तर ‘पत्रकार’ भनेपछि चाहिँ नखाने कोही नै हुँदैनन्झैँ गरी छवि बनाइएको छ । यसप्रकारको छवि निर्माणमा पत्रकार स्वयम्को हात छ । ठाउँ–कुठाउँ ‘म त पत्रकार पो हो त’ भन्दै हिँड्ने, सार्वजनिक स्थानमा ढल्ने गरी पिइदिने । ठिकै खानेहरूले पनि आफू भएको पार्टीमा ड्रिंक्स त हुनैपर्छ नि जस्तो गरिदिने, ड्रिंक्सबिनाका साँझका कार्यक्रम र पार्टीलाई श्राद्ध पार्टीको संज्ञा दिने र कार्यक्रम नै नसकी हिँडिदिने । यस्तो व्यवहारले धेरैलाई साँझमा पत्रकारलाई बोलाउँदा मदिरा अनिवार्य राख्नैपर्छ भन्ने बनाइदिएको छ । यस्तो व्यवहार गर्ने पत्रकारको सङ्ख्या ठूलो छैन, तर नराम्रा कुराको प्रचार धेरै हुने हुँदा सबै पत्रकार उस्तै हुन्झैँ गरी सन्देश प्रवाहित भएको छ । मदिरा पिउनै नहुने भन्ने होइन, पिएपछिको रूपान्तारित व्यवहारले बद्नामी बढाएको हो । हुँदैहुँदै पारिवारिक समारोहहरूमा समेत ल‘ पत्रकार भएर पनि ड्रिंक्स नगर्ने रु भन्न थालिएको छ । यो पङ्क्तिकारलाई दुईवटा कुराले कहिलेकाहीँ हीनताबोध महसुस गराएको छ । पहिलो, नखाई बस्दा पत्रकार भएर पनि ड्रिंक्स नगर्ने रु अलिअलि सोसियल त हुनुपर्छ नि भन्ने । सोसियल हुन खोज्दा ‘पत्रकार हो नखाने कुरै भएन नि’ भनिदिने । वास्तविकता त के हो भने पत्रकारितासँग मदिराको कुनै सम्बन्ध छैन । दोस्रो, समानताको कुरा गर्दै महिला अधिकारको वकालत गर्ने अनि ड्रिंक्स गर्न हिच्किचाउने ? भन्ने एउटा जमात छ । मानौँ, मदिरामा रमाउनु समानताको सूचक हो । महिला अधिकारको अर्थ कतिपय पुरुषजस्तै हुनु होइन । सबै पुरुष मदिरामा रमाउँदैनन्, सबै महिलाले मदिरा पिउँदैनन् भन्ने होइन, खान हुँदैन भन्ने मान्यता पनि होइन । खाने, लाउने भन्ने कुरा नितान्त व्यक्तिगत कुरा हो महिला अधिकार, समानता र मदिराबीच कुनै सम्बन्ध छैन । सार्वजनिक र निजी के–कति हो भन्ने कुराको निर्धारण व्यक्ति आफैँले गर्नुपर्छ । मानिसले आफ्नो जिन्दगीको आचारसंहिता आफैँ बनाउने हो । पत्रकारिता क्षेत्रको कुरा गर्दा आफू र आफ्नो पेसाप्रति सजग पत्रकारहरूको सङ्ख्या ठूलो छ, यो बढ्दो क्रममा छ । शिव परियारले गाएको एउटा गीत छ, पिउने म पिलाउनेको क्या बद्नामी भो । कतिपय अवस्थामा पत्रकारहरूलाई पिलाउनेको अवस्था त्यस्तै छ । खानेले गर्वका साथ भन्ने, खुवाउने लज्जित हुनुपर्ने । यसै हप्ता पत्रकारको महाधिवेशनमा त्यस्तै भयो । कृष्णप्रसाद भट्टराई पत्रकारिता पुरस्कार पाउनुभएका पत्रकार विजयकुमार पाण्डेले आफ्नो मन्तव्यको अन्तिममा सगौरव भन्नुभो– कुनै दिन शेरबहादुर दाइको हातबाट मधुरस लिएको थिएँ, आज पुरस्कार पाएँ । ‘हल पररर’ तालीले गुञ्जियो । कार्यक्रमको प्रमुख अतिथिका रूपमा मञ्चको बीचमा बस्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले अप्ठ्यारो मानेर वर्तिरपर्तिर हेर्नु भो । उहाँको असहजता अनुहारभरि छरिएको थियो । पिउने विजयकुमारलाई हलले प्रतिक्रिया दियो, वाउ विजयकुमार ‘गज्जब !! पिलाउने नेता देउवा हीनताबोध गर्नुपर्ने अवस्थामा पुग्नुभो ।’ केही छिनपछि मिडियामा हेडलाइन आयो, कुनै दिन शेरबहादुरको हातबाट सोमरस (उहाँले मधुरस भन्नुभएको थियो) पिएको थिएँ’ विजयकुमार । पिउनेको अभिव्यक्ति नाम सुवासका रूपमा सर्वत्र फैलियो, पिलाउनेलाई करिबकरिब अपराधीकै रूपमा उडाइयो । गीतले वास्तविकताको रूप लियो, पिउने म पिलाउनेको क्या बद्नामी भो । साभार : घटना र विचार

भरतपुर १९ मा २ हजार मत गनियाे, अब ८ सय गन्न बाँकी, मतान्तर ४१७

काठमाडौं, साउन २१ । भरतपुर महानगरपालिका वडा नम्बर १९ को अब ८ सय मत गन्न बाँकी छ । २ हजार ८ सय ६० मत खसेकोमा २ हजार ७ गणनागणना हुँदाकाे पछिल्लो मतपरिणाम  २००७ गणना मतान्तर:४१७ , देवी :४१६६९ रेनु :४१२५२ उप पर्बती :४५१४० दिव्य :३८३३८ वडा नेका :१०१६ एमाले :७७९  

सांसद लिम्बूको निधन

काठमाडौँ, असार ११ । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा व्यवस्थापिका–संसद्का सदस्य महिन लिम्बूको अर्बुद रोगका कारण गए राति धरानमा निधन भएको छ । धनकुटास्थित साबिकको बूढीमोरङ गाविस– २, तुमबारीमा बुबा रविलाल याखा र आमा धनरानीबाट विसं २०१४ चैत ११ गते जन्मिनुभएकी लिम्बू त्यस क्षेत्रमा लोकप्रिय हुनाका साथै पार्टीकी प्रतिबद्ध नेत्री हुनुुहुन्थ्यो । विसं २०४९ मा उक्त गाविसको उपाध्यक्ष र २०५४ सालमा अध्यक्ष निर्वाचित भएर जनताको सेवा गर्नुभएकी लिम्बूले २०५५ सालमा गाविस राष्ट्रिय महासङ्घको अध्यक्ष निर्वाचित भई देशभरका गाविसलाई नीतिगत नेतृत्व प्रदान गर्नुभएको थियो । विसं २०५३ देखि २०६१ सम्म तीन कार्यकाल पार्टीको जिल्ला कमिटी सदस्य र २०६२ मा कोसी अञ्चल समन्वय कमिटी सदस्य भएर पार्टीको जिम्मेवारी पूरा गर्नुभएकी लिम्बू २०६५ सालमा आठौँ राष्ट्रिय महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य र २०७१ मा नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको थियो । उहाँ २०७० सालमा समानुपातिकतर्फबाट संविधानसभा सदस्य बन्नुभएको थियो । अखिल नेपाल महिला सङ्घका विभिन्न कमिटीमा रहेर काम गर्नुभएकी महिनले केन्द्रीय कमिटीको सचिव भएर पनि काम गर्नुभएको थियो । उहाँका पति, दुई छोरा र एक छोरी हुनुहुन्छ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आजै बिहान धरान पुगेर दिवङ्गत लिम्बूको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि दिनाका साथै शोकसन्तप्त परिवारजनलाई समवेदना दिनुभएको छ । उहाँको आजै धनकुटाको मूलघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम छ । एमालेका महासचिव ईश्वर पोखरेलले आज शोक विज्ञप्ति जारी गरी लिम्बूको निधनबाट पार्टीले एक अनुभवी, अनुशासित र भरपर्दो नेता मात्र गुमाएको नभई जनताले असल जनसेवी अभिभावक गुमाएको जनाउनुभएको छ ।

परीक्षाफल प्रकाशित

काठमाडौँ, ६ असार । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७३ साल पुस÷माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७२ को नेपाल भाषा र संस्कृत विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । रासस

१ वर्षसम्म लोकसेवामा पदपूर्ति रोकिने व्यवस्था निश्चित

काठमाडौँ, वैशाख १४ । सरकारले ८३ हजार कर्मचारीलाई लक्षित गरी स्वेच्छिक अवकाशको प्याकेज ल्याउने भएको छ । निजामती कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्नुपूर्व सरकारले स्वेच्छिक अवकाशको प्याकेज ल्याउने तयारी गरेको हो । पुराना र उमेर बढी भएका कर्मचारीलाई विदाइ गरी नयाँ र फ्रेस जनशक्ति प्रवेश गराउने उद्देश्यका साथ स्वेच्छिक अवकाशको प्याकेज ल्याउन लागिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए । कर्मचारी समायोजन गर्ने उद्देश्यले तयार पारिएको कर्मचारी समायोजनसम्बन्धी विधेयकमा स्वेच्छिक अवकाशको व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को विधेयक समितिले केही दिनअघि मात्रै स्वीकृत गरेको सो विधेयकलाई सामान्य प्रशासन मन्त्रालयले मंगलबार व्यवस्थापिका संसदमा दर्ता गरेको छ । समायोजन विधेयकमा कर्मचारी भर्ना एक वर्ष रोकिने व्यवस्था गरिएको छ । संविधानको धारा ३०२ ले सरकारी सेवाका कर्मचारीलाई संक्रमणकालीन अवस्थामा राखेको छ । ऐन लागू भएपछि एक वर्षसम्म सरकारी सेवाका सबै पदमा खुला र बढुवाद्वारा गरिने सबै प्रकारका पदपूर्ति रोक्ने व्यवस्था गरिएको छ । यसअघि लोकसेवा आयोगले भर्ना प्रक्रिया नरोक्न सरकारलाई सुझाएको थियो । यद्यपि, लोकसेवा आयोगको सुझाव संविधानको धारा ३०२ को मर्मविपरीत रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले भर्ना प्रक्रिया एक वर्षलाई रोक्ने गरी कानुनी व्यवस्था गर्न लागेको हो ।

संसदको अवरोध खुलाउन प्रमुख दलका शिर्ष नेतृत्वमा छलफल

काठमाडौं, बैसाख १३  । ब्यवस्थापिका संसदलाई आफ्नो कार्यसुचीमा अघि बढ्न दिनेबारे प्रमुख दलका शिर्ष नेताहरुबिच छलफल हुँदैछ । सरकारले मधेसी मोर्चाको माग संवोधन गर्ने नाममा मधेसमा स्थानीय तहको संङख्या बढाउन लागेको भन्दै प्रमुख प्रतिपक्षि एमालेले संसद अवरुद्ध गर्न थालेपछि सरकारले सहमतीका लागि वार्तामा बोलाएको छ । बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने बैठकमा सत्तारुढ माओवादी केन्द्र, नेपाली कांग्रेस, राप्रपा, प्रमुख प्रतिपक्षि एमालेका शिर्ष नेताहरु सहभागी हुनेछन् । हिजो मंगलवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बालुवाटारमा बसेको पाँच दलको बैठकमा दाहालले निर्वाचनमा मधेसी मोर्चाको समेत सहभागितका लागि संविधान संशोधन अनिवार्य भएकाले संसदको कारवाही नरोक्न एमालेलाई आग्रह गरेका थिए । एमालेले भने मोर्चाको माग संवोधन गर्न बजेट भन्दा पछि दोश्रो चरणको निर्वाचन गर्न लागिएको भन्दै विरोध गरेको छ । ब्यवस्थापिका संसदको बैठक आज वुधवार बिहान ११ बजे बस्दैछ ।

देशको लागि एमाले जिम्मेवार बन्न जरुरी

वैशाख १२ । कुनै बेला एमालेका अध्यक्ष ओलीले नेपालमा गणतन्त्र स्थापना सम्भव देखेकै थिएनन् । गणतन्त्र स्थापना गर्नु, अमेरिका बयलगाडामा चढेर जानुजस्तै सोच्थे । किनकि त्यतिबेला उनी शक्तिमा थिए । आफुलाई भएपछि अरुको किन मत्लव राख्नुपर्यो ? फेरि शक्तिविहिन जनता शक्तिमा आएमा खाइरहेको भाग पनि आधा हुन्थ्यो । अधिकार नपाएकाहरुले अधिकार माग्थे । सत्तामा आफ्नो पनि हक दाबि गर्थे । त्यतिसम्म गर्न नसकेपनि अधिकारको लागि आवाज उठाउने थिए । त्यसपछि आफुले गरिरहेको कर्मकाण्डी राजनीतिको अवशान हुन्थ्यो । सायद त्यस्तै सोचेर होला उनले नेपालमा गणतन्त्र स्थापना सम्भव छैन भनिदिए । तर, परिस्थिति बद्लियो । आज नेपालमा गणतन्त्र स्थापना भएको एघार बर्ष बितिसकेको छ । स्वयम् गणतन्त्र स्थापना सम्भव नदेख्नेहरु गणतन्त्र स्थापनाका निम्ति लड्नेहरुकै काँधमा टेकेर गणतान्त्रिक नेपालको प्रधानमन्त्री पनि बनिसकेका छन् । तैपनि उनिहरुलाई गणतन्त्र आएको पचेको छैन । सभा समारोहमा गणतन्त्र शब्द उच्चारण गर्नपनि हिच्किचाउँछन् । बरु कसैलाई माध्यम बनाएर पुर्वराजा ज्ञानेन्द्र शाहसँग आफ्नो सम्पर्क जारी राखेका छन् । र, घुमाउरो शैलीमा बोल्दैछन् गणतन्त्रको लागि लड्नेहरु जङ्गली हुन्, आतङ्ककारी हुन् तिनीहरुलाई जेल हाल्नुपर्छ । अहिले राष्ट्रपतिमा एमाले कि विद्यादेवी भण्डारी छिन् । उनको राजनीतिक धरातल एमाले हो । चाहेर या नचाहेर जे भएपनि उनि एमालेकै ईन्ट्रेष्टमा चल्छिन् । पङ्तिकार एकपटक एमाले र राजशंस्था सम्बन्धको बारेमा केहि कुरा सरसर्ती सम्झन चाहान्छ । २०७३ माघ ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीको छोरी निशाकुसुमको बिहे पूर्वराष्ट्रपति रामवरण यादवका नातिसँग भयो । विहेमा राष्ट्रपति भण्डारीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आमन्त्रण गरेकी थिइन् । निम्तोलाई स्वीकार गर्दै, ज्ञानेन्द्र शीतल निवास पुगेर त्यहाँ उपस्थित राज्यका उच्च पदस्थ व्यक्तिहरु सँगसँगै बसेर भलाकुसारी समेत गर्न भ्याए । यो घटनाबाट पुष्टि हुन्छ राजाप्रति एमालेको निकटता पछिल्लो समय बढेको छ । र, अहिले एमाले राजाप्रति झनै सकारात्मक देखिएको बिभिन्न तवरबाट बिष्लेशण पनि भईरहेको छ । कुनै पनि सभाहरुमा बोल्दा शब्द चिप्लिएर हो या, ध्यान तेतै भएर घुमाउरो शैलिमा राजतन्त्रको पक्षमा बोलिरहेकै हुन्छन् उनीहरु । यो त प्रतिनिधि घटना मात्रहो एमाले र राजाको सम्बन्धको बारेमा अन्य थुप्रै दृश्यहरु होलान् जुन सतहमा नदेखिएको होला । यदि, अबको केहि समयपछि एमालेले खुलेरै राजतन्त्रको पक्षमा वकालत गर्यो भने त्यसलाई हामिले अनौठो मान्नुपर्दैन । ओली सत्ताच्युत भएपछि उनले आफ्नो रिस सतहमै देखाए । ओलीले आफु अल्पमतमा परेर सरकार छाड्नुपर्दाको पिडा बानेश्वरमा आफ्नै कार्यकर्तालाई सडकमा उतारेर स्वतन्त्र युवाहरुको जुलुश भनि प्रचार गर्न लगाएर देखाए । तिनै ओली हुन् हिजो गणतन्त्रलाई ठेलागाडामा भन्ने अनि आज तिनैलाई अल्पमतमा पर्दा पनि आफुनै सत्तामा रहिरहनुपर्ने ? अर्कोतर्फ आफ्नै नेतृत्वको सरकार रहँदा आफैले प्रस्ताव गरेको संम्बिधान संसोधनको प्रकृयालाई समेत उनले सरकारबाट बाहिरिएपछि राष्ट्रघाती भनिदिए । त्यसको विरुद्वमा एमाले निकट कार्यकर्ता र तिनका पत्रिकाहरुले एकोहोरो प्रचण्ड सरकार र संम्विधान संसोधनको विरोध गरिरहे । अझ त्यतिले रिस नमरेर सडकमा टायर बालेर सेल्फि खिच्ने कामदेखि लिएर बानेश्वरमा सरकारी गाडी जलाएर आगो ताप्ने काम समेत तिनै एमालेजनले गरे । केही समय अघिबाट एमालेभित्र केपी ओलीका समर्थकहरुले उनलाई राष्ट्रवादी भनी प्रचार गरे । पार्टीका दुई चार जना कार्यकर्ताले राष्ट्रवादी भनेर प्रचार गर्दैमा उनी राष्ट्रवादी नै भएका हुन् ? कुनै समय भारतकै नजिक भएर, उसैका संरक्षणमा हुर्किएका हुन् उनि, त्यो कुरा कसैबाट छिपेको छैन । त्यो देख्दा देख्दै अहिले तिनै ओलीलाई राष्ट्रवादी भनेर कसरी मान्ने ? महाकाली सन्धि गर्दा पर्दा अगाडि काङ्ग्र्रेसलाई राखेर पछाडि बसेर महत्वपूर्ण भूमिका निर्वाह गरेर इतिहासमै ठूलो राष्ट्रघात गरेको कुरा कसैबाट छिपेको छैन । आज उनलाई केका आधारमा राष्ट्रवादी भन्ने ? त्यही सन्धिका कारण एमाले पार्टी विभाजित भएको इतिहास हाम्रासामु छ ताजै छ । सत्ताको लागि कुनैपनि सम्झौता गर्न पछि नपर्ने एमालेको नियत नै हो । ओली एमाले अध्यक्ष भएपछि र प्रचण्डसँग सम्झौता गरेर सरकारको नेतृत्व गरेपश्चात् त्यो कुरा स्पस्ट देखियो । अझ दिनहरु बित्दै जाँदा ओलीले आफु सत्ताबाट बाहिरिनुपर्दाको बर्बरता देखाउँदै छन् । अफवाहलाई कलात्मक ढङ्गले प्रस्तुत गर्न सक्ने मिडियामा जागिरे उनको कार्यकर्ता, एनजीओ आईएनजीओबाट पोषित बुद्धिजीवी र अन्धभक्त कार्यकर्तालाई प्रयोग गरेर सत्तामा जाने चाल रच्नमै ब्यस्त छन् उनि । अहिले फेरी संम्बिधान संसोधनको बिषयलाई लिएर ओलीले (एमाले) देशलाई बन्धक बनाउन खोज्दैछन् । ओली नेतृत्वको सरकारले गर्न नसकेको काम प्रचण्ड सरकारले गरेपछि एमालेका नेताहरुको निद हराम भएको कुरा उनिहरुको ब्यबाहारले प्रस्ट देखाइरहेको छ । प्रचण्ड सरकारले देशमा संम्बिधान जारी भएदेखी नै असन्तुष्ट रहेको मधेशी मोर्चा भित्र रहेका दलहरुलाई स्थानीय निर्वाचनमा सहभागी गराएर संम्बिधान कार्यन्वयनको बाटोमा अघि बढाउने उदेश्य अनुरुप दुई चरणमा निर्वाचन सम्पन्न गर्ने सहमति गरिरहँदा एमालेलाई किन आपत्ति ? इतिहास साक्षी छ, एमालेले यो कुरा बुझे हुन्छ २०३९ सालदेखि भएको कुनैपनि स्थानीय निर्वाचन एकै चरणमा सम्पन्न भएको छैन । अहिलेको निर्वाचन पनि एकै चरणमा सम्पन्न हुनुपर्छ भन्ने एमालेको भित्री मनसाय के हो ? कि त्यसभित्र सत्ताको गन्ध मिसिएको छ ? यदि एमालेलाई सत्ता नै चाहिएको हो भने उनिहरुको सत्ता स्वार्थले देशलाई कतिदिन बन्धक बनाउने ? एमालेहरुको दिमागमा यो कुरा पनि घुसोस् कुनैपनि शक्तिलाई बाहिर राखेर निर्वाचन सम्पन्न गर्नु लोकतान्त्रिक प्रकृया होईन । एक्लै दौडिदा आफैले जितिन्छ । आफैले जित्नुपर्छ भन्दै केहि दललाई बाहिर राखेर निर्वाचनमा जानुको कुनै अर्थ रहदैन । त्यसले निर्वाचनको बैधानिकता माथी नै प्रश्न उठ्छ । त्यसैले एमाले साँच्चै जिम्मेवार प्रतिपक्षी दल हो भने कि सरकारले दुईचरणमा निर्वाचन सम्पन्न गर्ने भनि गरेको सहमतिलाई स्वीकार गर्न सक्नुपर्छ नत्र, मधेशबादी दललाई समेत निर्वाचनमा सहभागी गराउन सक्ने अर्को सर्व स्वीकार्य प्रस्ताब ल्याएर जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्न सक्नुपर्छ ।

नेपालमा ५८ प्रतिशत असुरक्षित गर्भपतन

चितवन, चैत १९ । नेपालमा ५८ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको पाइएको छ । वातावरण स्वास्थ्य र जनसङ्ख्या कार्यक्रम अनुसन्धान केन्द्र  (कृपा) ले गरेको पछिल्लो अध्ययनमा कुल गर्भपतन मध्ये ५८ प्रतिशत असुरक्षित रुपमा हुने गरेको पाइएको हो । ४२ प्रतिशतले मात्रै नेपाल सरकारले मान्यता दिएको स्वास्थ्य संस्थाबाट सुरक्षित रुपमा गर्भपतन गर्ने गरेको अनुसन्धानले देखाएको अनुसन्धानकर्ता डा महेश पुरीले जानकारी दिनुभयो । अध्ययन अनुसार नेपालमा वार्षिक तीन लाख २३ हजार ९४ जनाले गर्भपतन गरेकामा एक लाख ३७ हजारले मात्रै सुरक्षित गर्भपतन गरेका छन् । बाँकी एक लाख ८६ हजार ९४ महिलाले भने मान्यता नदिएको स्वास्थ्य संस्थाबाट गर्भपतन गरेको पाइएको छ । कृपाले गरेको अध्ययनमा गर्भपतन गराएकामध्ये ८० हजारलाई समस्या देखिएकोले उपचारका लागि स्वास्थ्य संस्थामा जाने गरेको र तीमध्ये करिब ५४ हजार महिलाले भने मान्यता नपाएका स्वास्थ्य संस्थामा गर्भपतन गराएका रहेको पाइएको छ । यो तत्थाङ्कले नेपालमा असुरक्षित गर्भपतन ठूलो समस्याको रुपमा रहेको पाइएको डा पुरी बताउनुहुन्छ । पाँचैं विकास क्षेत्रका जिल्लालाई प्रतिनिधित्व गर्ने गरी २७ जिल्ला तथा ३८६ वटा स्वास्थ्य संस्थामा अध्ययन भएको थियो । नेपालमा वार्षिक १० लाख ४८ हजारले गर्भधारण गर्ने गरिएको र त्यसमध्ये ५० प्रतिशत इच्छा विपरितको हुनेगरेको सो अध्ययनले देखाएको छ । इच्छा विपरित गर्भ रहेकामध्ये ६२ प्रतिशतले गर्भपतन गर्ने गरेको समेत सो अध्ययनले देखाएको छ । महिला तथा बालबालिका कार्यालय चितवनका प्रमुख शान्ता पौडेलले ‘बढ्दो क्रममा रहेको असुरक्षित गर्भपतनलाई रोक्न सबैको हातेमालो आवश्यक भएको बताउनुहुन्छ । उहाँले चेतना अभिवृद्धिमा जोड दिनुभयो ।

मधेसलाई संविधानले सम्बोधन गरेको छ: नेता खनाल

चितवन, चैत १७ । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय निकायको निर्वाचन तोकिएको मितिमा नभए देशमा उथलपुथल हुने बताए । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले निर्वाचन समयमा हुन नदिन षड्यन्त्र भइरहेको विचार व्यक्त गरे । अहिलेको सरकारले निर्वाचन स्थगित गर्न कोसिस गरिरहेको आरोप लगाउँदै उनले निर्वाचन गर्ने आँट सरकारले गर्नुपर्छ भने । नेकपा एमालेले स्थानीय निर्वाचनका लागि उम्मेदवार चयनको काम सुरु गरिसकेको छ भन्दै महानगर र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्र र अन्य निकायको प्रदेशले उम्मेदवारी चयन गर्ने र चाँडै नै सबै उम्मेदवारी तय हुने उहाँले जानकारी दिए । तराईमा फेरि एमालेले कार्यक्रम गर्ने भन्दै उनले यसअघि मधेसी मोर्चाको गैर जिम्मेवारीपूर्ण क्रियाकलापका कारण सप्तरी घटना भएको बताए । मधेसमा– मधेसी मोर्चाले जनता भड्काउने काम गरेको भन्दै उहाँले सबैलाई थाहा हुनेगरी कोही कसैबाट मधेसी मोर्चा परिचालित भएको खनालको आरोप थियो । उनले भने “सप्तरी र महाकालीमा घटना हुँदा पनि मधेसी मोर्चा बोलेनन् ।” मधेसलाई संविधानले सम्बोधन गरेको भन्दै उनले हरेक मधेसी जनताका लागि संविधानमा अधिकारको व्यवस्था भएको बताए ।

प्रधानमन्त्री प्रचण्डलाई भेटे भारतीय राजदूत सिंहपुरीले

काठमाडौं, चैत १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रच्ण्ड’ र नवनियुक्त भारतीय राजदूत मन्जिव सिंह पुरीबीच शिष्टाचार भेट भएको छ । बिहीबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले नवनियुक्त राजदूत पुरीलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै नेपाल बसाई सुखमय रहोस् भन्ने शुभकामना दिए । प्रधानमन्त्री दाहालसँग नवनियुक्त राजदूत पुरीको यो पहिलो भेट हो । प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच निकटको सम्वन्ध रहँदै आएको बताउँदै राजदूत पुरीको कार्यकालमा सम्वन्ध अझ प्रगाढ रहने विश्वास व्यक्त गरे । राजदूत पुरीले नेपालमा रहेर काम गर्ने मौका पाएकोमा खुशी व्यक्त गर्दै दुई देशको आपसी हित र सम्बन्ध विकासमा आफ्नो भुमिका रहने बताए । जिम्मेवारी सम्हालेलगत्तै राजदूत पुरी राजनीतिक भेटवार्तामा सक्रिय भएका छन् । उनले एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थापा लगायतसँग भेटवार्ता गरिसकेका छन् ।

परीक्षाअघि नै बजारभरि प्रश्नपत्र

दाङ, चैत १५ । जिल्लास्तरीय परीक्षा भनिए पनि कक्षा ८ को वार्षिक परीक्षाका प्रश्नपत्र परीक्षाअगावै बजारमा छ्याप्छ्याप्ती भेटिन थालेका छन् । चैत ९ गतेदेखि दाङमा सुरु भएको परीक्षाको पेपर परीक्षा सुरु हुनुअगावै हरेक दिन सबैको मोबाइल र चोकचोकमा विद्यार्थी प्रश्नपत्रको खोजीमा भौँतारिइरहेको एक शिक्षक बताउँछन् । आज हुने स्वास्थ्य तथा शारीरिक शिक्षाको प्रश्नपत्र सोमबार नै बजारमा आएको छ । त्यसैगरी, बुधबार हुने पेसा व्यवसाय र प्रविधि शिक्षाको प्रश्नपत्र पनि बजारमा आएको देखिएको छ । यसरी कसरी बजारमा प्रश्नपत्र आयो भन्नेबारेमा शिक्षकनै अनभिज्ञ छन् । तर जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले भने यसलाई सामान्य रुपमा लिनुभएको छ । उहाँले यसलाई सामान्यरुपमा लिने बताउँदै सम्बन्धित स्कुलका विषयगत शिक्षकले अर्को प्रश्नपत्र बनाएर जाँच सञ्चालन गर्ने शिक्षा नियमावलीले अधिकार दिएको पनि बताउनुभयो । “प्रश्नपत्र आउट भएको मैले पनि सुनेँ, तर त्यसले परीक्षा रोकिने छैन, सम्बन्धित विषय शिक्षकले प्रश्नपत्र तयार गरी सम्बन्धित स्कुलमै परीक्षा लिन सक्नेछन्,” उहाँले बताउनुभयो । तर उहाँको यो अभिव्यक्तिले जिल्लास्तरीय परीक्षाको गरिमा भने घटाएको छ । साथै, उहाँले एसइइ परीक्षामा पनि यदि कुनै केन्द्रमा प्रश्नपत्र आउट भएको भए सोही विद्यालयका विषयगत शिक्षकले प्रश्नपत्र बनाएर परीक्षा लिनसक्ने पनि शिक्षा नियमावलीमा उल्लेख भएको बताउनुभयो । एकै समयमा र एउटै प्रश्नपत्र विद्यालयमा परिक्षा सुरु हुनुभन्दा पहिले १५ मिनेट अगाडि खोल्नुपर्ने प्रवधान भएपनि हाल विद्यालयले फरकफरक प्रश्नपत्र बनाएर परीक्षा गरिरहेका छन् । धेरैजसो विद्यालयले भने प्रश्नपत्र आउट भएको थाहा पाएपछि आफूहरुले छुट्टै प्रश्नपत्र तयार पारेको बताएका छन् । त्यसैगरी, जिल्ला शिक्षा कार्यालयबाट जारी गरेका प्रश्नपत्रबाट परीक्षा दिइरहेको केही विद्यालयहरुले जनाएका छन् । अन्य केही विद्यालयले भने आफूहरुले छुट्टै प्रश्नपत्र तयार गरी परीक्षा गराएका छन् । चुहावट भएका विज्ञान, गणितलगायतका प्रश्नपत्र बजारमा देखिएका छन् । रासस

ढुङ्गा प्रहा गरेर देउरानीले गरिन जेठानीको हत्या

बैतडी, चैत १४ । देउरानीको ढुङ्गा प्रहारबाट दार्चुलामा जेठानीको मृत्यु भएको छ । मृत्यु हुनेमा अपिहिमाल गाउँपालिका–३ खण्डेश्वरीका ५० वर्षीया नर्मादेवी कार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । गएराति घरायसी विवाद हुँदा देउरानी ३५ वर्षीया चैतीदेवी कार्कीले ढुङ्गा प्रहार गर्दा जेठानी नर्माको मृत्यु भएको हो । चैतीको मानसिक सन्तुलन ठीक नभएको भन्ने बुझिएको खनालले बताउनुभयो । हत्या गर्ने चैतीलाई नियन्त्रणमा लिई घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ । रासस

काभ्रेपलाञ्चोकमा ४५ प्रतिशत क्षयरोगी भेटिए, यस्ता छन् क्षयरोगका लक्षणहरु

बनेपा, चैत ११ । काभ्रेपलाञ्चोकको ४५ प्रतिशत जनसङ्ख्या क्षयरोगबाट सङ्क्रमित भएको अनुमान गरिएको छ । क्षयरोग दिवसका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय धुलिखेलले आज धुलिखेलमा आयोजना गरिएको क्षयरोग सम्बन्धी अन्तक्र्रियामा सङ्क्रमितमध्ये ६० प्रतिशत युवा र वयस्क देखिएको जनाएको छ । आर्थिक वर्ष २०७२/७३ मा एक सय ५८ जनामा क्षयरोग पत्ता लागेको र ती मध्ये १८ जनामा सर्ने खालको रोग देखिएको छ । जिल्लामा अहिले दुई जना बहुऔषधि प्रतिरोध (एमडीआर) का बिरामी उपचारका क्रममा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ । कार्यालयका क्षयरोग तथा कुष्ठरोग शाखाका अधिकृत राजाराम अधिकारीले विगतको तुलनामा यो जिल्लामा क्षयरोगका बिरामीको दर घट्दो अवस्थामा रहेको बताए । जिल्लाको पाँचखाल, बनेपा, भकुन्डेबेँसी क्षेत्रमा सबैभन्दा बढी क्षयरोगका बिरामी भएको अधिकारीले बताए । क्षयरोगका बिरामीलाई पोषणका लागि रु ५०० वितरण गरेको जानकारी दिँदै जिल्लाको १४ वटा स्वास्थ्य चौकीमा खकार परीक्षण गर्ने व्यवस्था मिलाइएको उनले बताए । छाती दुख्नु, साँझपख ज्वरो आउनु, खाना खान मन नलाग्नु, तौल घटनु, खकारमा रगत देखापर्नु, दुई हप्ता वा सो भन्दा बढी लगातार खोकी लाग्नु क्षयरोगको लक्षण मान्निछ ।

आत्मघाती आक्रमण चारको मृत्यु

अबुजा, चैत ९ । नाइजेरियाको उत्तरी राज्य बोर्नो अज्ञात सङ्ख्यामा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा चार व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १८ जना घाइते भएका छन् । बुधबार बिहान सबेरै भएको यस घटनाको स्थानीय समाज सम¥वय संस्थाले जानकारी दिएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । गत सोमबार पनि नाइजेरियाको बेनु राज्यमा कृषिमा आश्रित समुदाय बसोबास गर्ने बस्तीमा प्रवेश गरी एक बन्दुकधारी समूहले आक्रमण गर्दा अधिकांश महिला र बालबालिकासहित १७ जनाको मृत्यु भएको थियो । रासस/सिन्ह्वा