कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा दिन प्रस्ताव
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्ताव अगाडि सारेको छ ।
आगामी आर्थिक वर्ष २०७९र८० को बजेटमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी शैक्षिक सत्रबाट दिवा खाजा कक्षा ८ बनाउन प्रस्ताव गरेको बताए । हाल कक्षा ५ सम्म दिवा खाजाको व्यवस्था छ ।
मन्त्री पौडेलले शिक्षामा उपलब्ध गराएको बजेट सिलिङ निकै कम भएकोले कुल राष्ट्रिय बजेटको कम्तीमा १५ प्रतिशत रकम उपलब्ध गराइदिन अनुरोध गरेको जानकारी दिए ।
आगामी वर्षको बजेट कार्यक्रममार्फत शिक्षामा तीन प्रकारको सुधार गरिने मन्त्री पौडेलले बताए । उनले भने, ‘कानुनी सुधार, शिक्षण सिकाइमा सुधार र पूर्वाधारमा सुधार गर्न चाहेका छौँ ।’
मनाङ, मुस्ताङ लगायतका दुर्गम क्षेत्रमा विद्यार्थी संख्या निकै कम भएको र त्यस्ता स्थानमा विद्यालय गाभ्ने कानुनी व्यवस्था पनि ल्याउने, यातायात व्यवस्था गरिने र हरेक प्रदेशमा कम्तीमा एउटा आवासीय विद्यालय स्थापनाको योजना बजेटमार्फत ल्याइने मन्त्री पौडेलले बताए ।
सबै जिल्लामा प्राविधिक शिक्षा विस्तार गर्ने योजना रहेको र त्यसका लागि पाँच हजार विद्यालय निर्माण गरिने बताए । कानुन मन्त्रालयमा रहेको संघीय शिक्षा ऐन संसद अधिवेशनमार्फत अगाडि बढाइने मन्त्री पौडेलले जानकारी दिए ।
शपथ लिएलगत्तै निष्काशित भए एमालेबाट मन्त्री बनेका नयाँ र निवर्तमान मन्त्री
धनगढी । सुदुरपश्चिम सरकारले मन्त्रीपरिषद फेरबदल गरेसँगै नेकपा एमालेले तीनजनालाई साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । नेकपा एमालेले पार्टीको निर्णय उल्लंघन गरेको भन्दै सुदूरपश्चिम प्रदेशका एक मन्त्री र दुई निवर्तमान मन्त्रीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। बिहीबार स्पष्टीकरण सोधिएका संसदीय दलका नेता तथा नवनियुक्त आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह, पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग वन वातावरण तथा पर्यटन मन्त्री माया भट्टलाई पार्टीबाट निष्कासन गरिएको हो। आजै शपथ लिएका अन्य मन्त्रीलाइ समेत स्पष्टीकरण साेधेर कारवाही गरिने थापाले बताए । यसअघि सुदूरपश्चिमका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको सपथ लिएका थिए। प्रदेश प्रमुख गंगाप्रसाद यादवले नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख कार्यालयमा पद तथा गोपनीयताको सपथ खुवाएका हुन् भने मुख्यमन्त्री त्रिलोचन भट्टले राज्यमन्त्रीलाई सपथ खुवाएका हुन्। सामाजिक विकास मन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, उद्योग पर्यटन वन तथा वातावरणमा मानबहादुर धामी, आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सपथ लिएका हुन्। यस्तै चुनकुमारी चौधरी, अर्चना गहतराज, मानबहादुर सुनार, मना साउदले राज्यमन्त्रीमा सपथ ग्रहण गरेका हुन्। नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले भट्ट सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिए पनि एमालेको सुदूरपश्चिम संसदीय दलले उक्त निर्णयविरूद्ध सरकारमा थप मन्त्री पठाएको थियो।
राष्ट्रपति र प्रधानमन्त्रीले राज्यबिरूद्धको अपराध गरे, कारवाही अघि बढोस्ः भीमार्जुन आचार्य
काठमाडौं । संविधानविद भीमार्जुन आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले जानीजानी राज्यबिरूद्धको अपराध गरेको आरोप लगाएका छन् । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले जानीजानी राज्यबिरूद्धको अपराध गरेकोले तत्काल संसद्को विशेष अधिवेशन आव्हान गरि कारवाही अघि बढाउन माग गरेका छन् । उनले संविधान र राष्ट्रको स्वाधीनतालाई गिज्याउनु राज्य बिरूद्धको अपराध हुने दाबी गरेका छन् । संविधान र राष्ट्रको स्वाधीनतालाई गिज्याउनु राज्य बिरूद्धको अपराध हो। राष्ट्रपति र प्रधानमन्त्रीले जानीजानी राज्य बिरूद्धको अपराध गरेका छन। तत्काल संसद्को विशेष अधिवेशन आब्हान गरि कारवाही अघि बढोस् । — Bhimarjun Acharya (@BhimarjunPhD) May 15, 2021 उनले अगाडि भनेका छन्, ‘धिक्कार छ !…. अब पदको, संविधानको, लोकको कुनै आदर र कदर बाँकी रहेन ।’ शुक्रबार शीतल निवासमा प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथ लिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द उच्चारण गर्न मानेका थिएनन् । राष्ट्रपति भण्डारीले दोहोर्याएर ‘प्रतिज्ञा गर्छु’ भन्न लगाए पनि प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्दै राष्ट्रपतिलाई निर्देशन दिएका थिए । त्यसपछि खिस्स हाँसेर राष्ट्रपतिले प्रधानमन्त्रीको आदेश पालना गर्दै शपथ अगाडि बढाएकी थिइन् । जसको अहिले सर्वत्र आलोचना भइरहेको छ ।
दुबै डोज कोरोना खोप लगाएका ग्राण्डी अस्पतालका चिकित्सकमा समेत देखियाे संक्रमण
कोरोना खोपको पूर्ण मात्रा लगाएका व्यक्तिमा पनि कोरोना संक्रमण देखिएको छ । भारतमा यसप्रकारका घटना व्यापक देखिएपनि नेपालमा दुबै खोप लगाएका व्यक्तिमा कोरोना देखिएको यो पहिलो घटना हुनसक्छ । ग्राण्डी अस्पतालका चिकित्सक डा. विपिन नेपालमा कोरोना संक्रमण देखिएको हो । उनले कोरानोविरुद्धका खोपको दुबै मात्रा लगाएका थिए । चिकित्सक नेपालसँगै पत्नी पनि संक्रमित भएकी छिन् । देशमा शुरू भएको खोप अभियानमा उनले पहिलो चरणमै पहिलो डोजको खोप लगाएका थिए । उनले बैशाख ८ गते दोस्रो डोज खोप लगाएका थिए । भारतमा भएका अनुसन्धानहरुले कोरोना भाइरसको युके भेरियन्टले खोप लगाएका व्यक्तिलाई समेत संक्रमित बनाएको देखिएको छ । केही दिनअघि भारतको एम्सलगायतका अस्पतालमा खोप लगाएका दर्जनौं स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो । डा. नेपालमा कोरोनाको युके भेरियन्ट हो वा होइन भन्ने कुरा भने अझै निक्र्यौल भइसकेको छैन ।
बालुवाटारमा मन्त्रीपरिषद बैठक, स्कूल बन्द र नयाँ मापदण्ड जारि गर्ने विषयमा निर्णय हुनसक्ने
काठमाडौं । मन्त्रीपरिषदको बैठक बालुवाटारमा बोलाइएको छ । अहिले नौ बजेका लागि बोलाइएको बैठकका लागि मन्त्रीहरु बालुवाटार पुगेका छन् । आज बस्ने बैठकमा कोरोना नियन्त्रणका लागि यसअघि सिएमसिले दिएको सुझावमाथि सरकारले निर्णय गर्ने सम्भावना छ । खासगरी बालबालिकामा कोरोना संक्रमण बढ्दै गएका कारण स्कूल बन्द गर्ने विषयमा मन्त्रीपरिषदको छलफल हुने बताइन्छ । “भारतमा कोरोना निकै बढेकोले नेपालमा समेत सतर्कता अपाउने विषयमा आवश्यक निर्णय हुनसक्छ ।” एक मन्त्रीले भने, “पछिल्लो अवस्थाबारे छलफल गरेर उचित निर्णय होला ।” सिएमसीको बैठकले शहरी क्षेत्रका शैक्षिक संस्था बन्द गर्न सिफारिस गर्दै अनलाइनबाट कक्षा सञ्चालन गर्न सुझाव दिएको छ । यसैगरी सीमा नाकाहरुमा चेकजाँच, कोरोनाबाट बच्न नयाँ मापदण्ड जारि गर्ने जस्ता विषयमा पनि आजको बैठकले निर्णय गर्न सक्छ । आजको बैठकमा जनता समाजवादी पार्टीले सरकारलाई समर्थन गर्न अघि सारेका मागका बारेमा समेत छलफल हुनसक्ने देखिन्छ । जसपाका नेताहरुले कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता र संविधान संशोधनका लागि सरकारले छिट्टै ठोस निर्णय गर्ने आश्वासन दिएको बताएका थिए । अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनका लागि आयोग नै गठन गर्ने विषयमा समेत छलफल भएको सार्वजनिक गरेका थिए ।
पर्वतमा भीरबाट लडेर एक जनाको मृत्यु
पर्वत : घाँस काट्न जाने क्रममा भीरबाट लडेर पर्वतको जलजला गाउँपालिका-७ का ३५ वर्षीय युवक मकरबहादुर केसीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार केसी आज करिब ९ बजेको समयमा घाँस काट्नका लागि घरबाट निस्किएका थिए । बिहानै घाँस काट्न निस्किएका उनी दिउँसोसम्म पनि नफर्किएपछि स्थानीयवासीले खोजी गर्दा मृतावस्थामा फेला पारेका हुन् । गाउँदेखि केहीपर वडा नं ७ मै पर्ने सल्यान भन्ने स्थानमा रहेको जङ्गलमा आगलागी भएपछि गाउँले आगो निभाउन जाने क्रममा भिरको डिलमा केसीको चप्पल देखेपछि खोजी गर्दा उनी मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ । भिरबाट लडेपछि उनी करिब २ सय मिटर तल पुगेको अवस्थामा शव निकालिएको र परीक्षणका लागि म्याग्दी अस्पताल बेनीमा लगिएको पनि प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।
श्रेष्ठ भन्छन् : वर्तमान सरकारले नै निर्वाचन गर्छ
काठमाडौंः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने प्रष्ट पारेका छन् । चन्द्रागिरि नगरपालिका-१ दहचोकस्थित बाहुनडाँडामा गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालयको आज शिलान्यास गर्दै उन कसैले परबाट राजीनामा दे भन्दा प्रधानमन्त्रीले राजीनामा दिने हो भनी प्रश्न गरे । वर्तमान सरकारले नै मुलुकमा निर्वाचन गराउनेमा ढुक्क हुन आग्रह गर्दै उनले संसद्मा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न पनि चुनौती दिए । प्रधानमन्त्री ओलीले चालेको राजनीतिक कदमको संवैधानिक निरुपण हुँदा मुलुक अप्ठयारो अवस्थामा पुगेको जिकिर गर्दै उनले यद्यपि सरकारले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाएको बताए । ‘नसोचेको घटनामा मुलुक फसेको छ, यसबाट मुलुकले निकास पाउनुपर्छ, देश, जनता, लोकतन्त्र र संविधानले जित्नुपर्छ’, उनले भने । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यही फागुन ११ गते १३ दिनभित्र संसद् बैठक बोलाउन सरकारका नाममा परमादेश दिएको थियो । मन्त्रिपरिषद् बैठकले यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभा बैठक बोलाउन राष्टपतिसमक्ष सिफारिश गरेको छ । ‘सरकार गठन भएदेखि नै जनताको पक्षमा काम हुँदै आएको छ, तर आफ्नै पार्टीबाट असहयोग भएको छ’, मन्त्री श्रेष्ठले भने । मुलुक पुनःनिर्माण र नवनिर्माणको चरणमा तीव्र गतिमा अगाडि बढेको उल्लेख गर्दै उनले यही सरकारले नै रानीपोखरीलगायत संरचनाको निर्माण सम्पन्न गरेको र धरहरा तथा काष्ठमण्डपको छिट्टै निर्माण सम्पन्न गरिने बताए । मन्त्री श्रेष्ठले भने, ‘आगामी वैशाख १२ गते मध्याह्न १२ बजे काष्ठमण्डपको उद्घाटन गरिन्छ ।’ प्रत्येक पालिकामा एक प्राविधिक शिक्षालय स्थापना गर्ने सरकारको उद्देश्य रहेको बताउँदै उनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले त्यसको तयारी गरिरहेको र छिट्टै घोषणा गरिने जानकारी दिए । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरिले आर्थिक, सामाजिक, धार्मिक तथा साँस्कृतिक दृष्टिले नगरपालिकालाई समृद्ध बनाउन लागि परेको बताए । चन्द्रागिरि नगरपालिकालाई शैक्षिक हवका रुपमा विकास गरिने प्रतिबद्धता पनि उनले बताए । सिटिइभिटीका सदस्यसचिव डा पुष्परमण वाग्लेले प्राविधिक शिक्षामा सबैको पुहँच पुर्याउने उद्देश्यसहित देशभर प्राविधिक शिक्षालय विस्तार गर्न लागिएको बताए । शिक्षालयका लािग जग्गा प्राप्ति भएलगत्तै निर्माण थालनी गरिने सिटिइभिटीले जनाएको छ । शिक्षालयको विस्तृत परियोजना निर्माण ९डिपिआर०को निर्माणको काम भइरहेको छ । प्राविधिक शिक्षालयको सम्पूर्ण लागत डिपिआरले तय गर्नेछ ।
प्रदेश १ को प्रदेश सभा बैठक बस्दै, मुख्यमन्त्रीविरुद्ध दर्ता अविश्वास प्रस्ताव टेबल हुने
विराटनगर । माघ ७ गते शुरु भएर दुई पटक स्थगित गरिएको प्रदेश नं १ को सातौं तथा हिउँदे अधिवेशनको बैठक आज २ बजे बस्ने भएको छ । पहिलो पटक माघ ७ गते प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सभा अधिवेशन बोलाइएको पत्र पढेर अनिश्चितकालका लागि बैठक स्थगित गरिएको थियो । दोश्रो पटकको बैठकमा सत्तापक्षका सांसदहरुले उभिएर अवरोध गरेपछि प्रदेश सभा बैठक स्थगित भएको थियो । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आजको संसद् बैठक रोक्न पनि सभामखु प्रदीपकुमार भण्डारीलाई दबाब दिएका थिए । तर, आज बिहान भएको छलफलमा सभामुखले मुख्यमन्त्री राईको उक्त प्रस्ताव अस्वीकार गरेका छन् । आजको बैठकमा नेकपाको प्रचण्ड–माधव पक्षले मुख्यमन्त्री राईविरुद्ध दर्ता गराएको अविश्वास प्रस्ताव टेबल हुने कार्यसूची छ । तर, नेकपा ओली पक्ष भने उक्त प्रस्तावमा छलफल नै हुन नदिने गरी सदन अवरुद्ध गर्र्न तयारी छ । नेकपाका प्रचण्ड–नेपाल समुहका ३७ सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । ९३ सदस्यीय प्रदेशसभामा नेकपाको दुवै समुह गरि ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक एक जना सांसद छन् ।
दार्चुलामा निर्माणाधीन पर्खाल भत्किँदा, दुई जनाको मृत्यु
दार्चुलाः दार्चुलामा निर्माणाधीन विद्युतको नहरको पर्खाल भत्किँदा २ जनाको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका वडा नं ६ मज्जेमा निर्माणाधीन मज्जे खोला लघु जलविद्युत् योजनाको पर्खाल निर्माण गर्ने क्रममा आज २ जना मजदूरको मृत्यु भएको हो । १ सय किलोवाट क्षमताको मज्जेखोला निर्माणाधीन जलविद्युत् योजनाको नहर भत्किँदा मार्मा-१ का ४५ वर्षीय बल्देवसिंह महरा र अपिहिमाल गाउँपालिका-६ का ४० वर्षीया गौमती धाँमीको घटनास्थलमै मृत्यु भएको गौरीशङ्कर आधारभूत विद्यालयका शिक्षक भगतसिंह धामीले जानकारी दिए । सो जलविद्युत् वैकिल्पक ऊर्जा प्रवद्र्धन केन्द्र, सङ्घ, प्रदेश र स्थानीय सरकारको सहयोगमा जलविद्युत् निर्माण भइरहेको हो । घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी निरीक्षक कमलबहादुर विष्टको नेतृत्वमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
यो सरकार जति दिन रहन्छ, देश त्यति नै अनिश्चितताको भुमरीमा फस्ने पक्का छः कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार रहेसम्म देश अनिश्चितताको भुमरीमा फस्ने बताएका छन् । सरकारले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पक्राउ गरेपछि प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हन् । उनले अलोकतान्त्रिक र असंवैधानिक कदमविरुद्ध बोलेकै भरमा झाँक्रीलाई पक्राउ गरेर सरकारले सर्वसत्तावादी र अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन् । कोइरालाले झाँक्री पक्राउको भर्त्सना गर्दै तत्काल रिहाईको माग गरेका छन् । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार प्रहरीले उनको निवास शंखमुलमा पुगेर पक्राउ गरेको थियो । नेकपाले विज्ञप्ति जारी गर्दै झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ । बिहीबार दिउँसो ४ बजे रत्नपार्कमा नेकपाले झाँक्री पक्राउको विरोध गर्दैछ ।
नेकपाको एकता बलियो भयो भने ५० बर्षसम्म निर्वाचनमा विजयी हुन्छौंः मन्त्री भट्टराई
हुम्लाः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेकपामा पछिल्लो समय देखिएको बिबादले नेकपा कहिल्यै नफुट्ने बताएका छन् । सोमबार सिमकोट विमानस्थलको अनुगमन गर्न आएका मन्त्री भट्टराईले नेकपाका नेता तथा कार्यकर्ताहरुसँगको भेटका अवसरमा सो कुरा बताएका हुन् । मन्त्री भट्टराईले नेकपाका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्ने क्रममा ठुलो पार्टी भएको कारण केही समस्या देखिनु स्वभाविक भएपनि अहिलेको यो समस्या कै कारण पार्टी कुनै पनि हालतमा नफुट्ने बताए । उनले दुई अध्यक्षबिचको आरोप प्रत्यारोपले समाधान चाँडै पाउने र पाटी बलियो भएर अगाडी बढ्ने आस्वासन कार्यकर्ताहरुलाई दिए । बेला बेलामा नेकपामा आउने यस्ता केही व्यवधानले समाधान पाउने गरेको बताउँदै अहिलेको समस्या पनि चाँडै टुङ्गिने बताए । दुई विशाल पार्टी मिलेर नेकपा बन्दा नेताहरु धेरै भएको र सबैमा आकांक्षा देखा पर्नु स्वभाबिक भएको उनले बताए र मन्त्री भट्टराईले अहिले दुई अध्यक्षबिच सचिवालय बैठकमा देखिएको समस्यालाई सचिवालय र केन्द्रीय समितिले हल गर्ने पनि बताए । नेताहरु फुट भन्दा पनि एकता बलियो बनाउने प्रयासमा लागेकोले यसले चाँडै मुर्त रुप पाउने विस्वास उनले व्यक्त गरे । उनले मुलुकको सम्बृद्धि नेकपाको मिलनले मात्र सम्भव हुने बताउँदै त्यसलाई पुरा गर्न नेकपाको मिलन अनिवार्य रहेको बताए । नेकपाको एकता बलियो भयो भने मुलुकमा ५० बर्षसम्म निर्वाचनमा विजयी हुने ठोकुवा गर्दै उनले त्यसका लागि सबैमा सुझबुझ हुनु जरुरी रहेको बताए ।
ज्योतिषी सिक्न चाहनुहुन्छ ? बजारमा आयो नयाँ पुस्तक
काठमाडौं । ज्याेतिषशास्त्रमा रुचि राख्नेहरुका लागि नयाँ पुस्तक बजारमा आएकाे छ । डा. उत्तम उपाध्याय न्यौपानले ‘के भन्छन् तपाईंका कुण्डलीका ग्रहले’ पुस्तक प्रकाशित गरेका हुन । पुस्तकमा ज्योतिषशास्त्रका सिद्धान्त र संहितालाई संक्षेपमा विश्लेषण गरिएको छ । त्यसैगरी ग्रह नक्षत्रादिको गति स्थिति, आकाशीय घटना, ग्रहहरुको उदय, अस्त, सूर्यग्रहण, चन्द्रग्रहणलगायतका विषयमा पनि यो पुस्तकमा स्पष्ट पारिएको छ । त्यस्तै व्यक्ति विशेषका बारेमा शुभाशुभ फल, विवाह, ब्रतबन्ध, गृहारम्भ, गृह प्रवेश आदि विभिन्न विषयमा शुभ मुहूर्त प्रतिपादन गर्ने तरीका यो पुस्तकमा लेखिएको छ । ज्योतिषशास्त्रमा ९ वटा ग्रह मानिन्छन् । यो पुस्तकमा ९ वटै ग्रह (सूर्य, चन्द्रमा, मंगल, बुध, वृहस्पति, शुक्र, शनि, राहु र केतु) ले दिने शुभ तथा अशुभ फलका बारेमा गहन अध्ययन गरिएको छ । यस्तै यी नौ वटै ग्रहले व्यक्तिको कुण्डलीका प्रत्येक भावमा प्रभाव एवम् प्राचीन विस्तारसँग प्रस्तुत गरिएको छ । जुन शास्त्रले ईश्वरी जगतदेखि मानव जगतसम्म ठूलो पाएको छ । डा. उपाध्यायले होराशास्त्रका आधारमा लेख्नुभएको यो पुस्तकमा मेषादी राशीको र सूर्यादी ग्रहहरुको गति स्थिति स्वरुप स्पष्ट लेख्नुका साथै उच्च नीच स्थान परिचय र केन्द्र त्रिकोण स्थानको विवरण पनि दिनुभएको छ । यसपछि कुन भावबाट के–के कुरा हेर्ने, कुन ग्रहको वर्ण एवम् स्वभाव कस्तो हुन्छ आदि विषय प्रतिपादन गर्दै राजयोग कसरी बन्छ, ग्रहहरुको राम्रो र स्थानअनुसारको शुभाशुभ फल के कस्तो हुन्छ आदि विषय विस्तृत रुपमा लेखिएकाे छ । यो पुस्तकबाट ज्योतिषको अध्ययन, चिन्तन र व्यवहारिक ज्ञान लिन चाहने व्यक्तिले निकै राम्रो लाभ प्राप्त गर्न सक्छन् । ज्योतिष विषयको अध्ययन गरेर त्यसबाट जिविकोपार्जन गर्नेतर्फ लाग्ने मनस्थिति बनाएका मानिसका लागि त यो पुस्तक अत्यन्त उपयोगी आधारग्रन्थ नै हुने छ । ज्योतिष कस्तो विषय हो, त्यसमा के कस्ता विषय वस्तु उपस्थित छन्, जन्मकुण्डीको कुन स्थानमा कस्तो स्थितिको कुन ग्रह बसेको छ, त्यसले आफ्नो जीवनको कुन उमेरमा के कस्ता प्रभाव पार्दछ भन्ने कुराको जानकारी राख्न चाहने मानिसका लागि पनि यो पुस्तक उपयोगी हुने छ । नेपाली भाषामा लेखिएकाले सर्वसाधारणका लागि पनि निकै आकर्षक एवम् प्रयोजनीय बन्नेछ । ज्योतिष तथा वास्तुविज्ञ डा. उपाध्यायले यसअघि ग्लोबल वास्तु नामक पुस्तक पनि प्रकाशित गरेका छन ।
राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी मिलन केन्द्रबीच एकता
काठमाडौं : नेपाल राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी मिलन केन्द्र पर्साबीच एकता भएको छ । आज बसेको भेलाले दुबै संगठन एकता गरेर १७ सदस्यीय नेपाल राष्ट्रिय कर्मचारी संगठनसमेत गठन गरेको छ । संगठनको अध्यक्षमा सुनीलकुमार कुर्मी, उपाध्यक्षमा ज्ञानकिशोर चौधरी, भोला महतो, सचिवमा श्रवणकुमार चौधरी, सहसचिवमा धीरेन्द्र जैसवाल र कोषाध्यक्षमा सोमलाल श्रेष्ठलाई चयन गरिएको हो । त्यस्तै, संगठनको सदस्यहरूमा दिलिपखङ्ग खत्वे, सुलतानमिया धोवी, अनिल श्रीवास्तव, साधुप्रसाद चौरसीया, जोखन रावत कुर्मी, गुलजार राउत लगायत छन् । भेलाले आसन्न आधिकारीक ट्रेड युनियनको चुनावको प्रचारप्रसारका लागि १५ सदस्यीय प्रचारप्रसार तथा परिचालन समितिसमेत गठन गरेको छ । समितिको संयोजकमा श्रवणकुमार चौधरीलाई चयन गरिएको छ ।
काठमाडौंमा पाँच हजार क्षमताको आइसोलेसन कक्ष निर्माण गरिने
काठमाडौंः सङ्घ, प्रदेश र काठमाडौं उपत्यकाका स्थानीय तहको सहकार्यमा आगामी एक हप्ताभित्र पाँच हजार क्षमताको आइसोलेसन कक्ष निर्माण गरिने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको भन्दै त्यसको व्यवस्थापनका लागि आइसोलेसन निर्माण गर्ने तयारी गरेको जानकारी दिए । प्रमुख शाक्यले नागरिककै साथ र सहयोहको कारण यस अघि गरिएको लकडाउन पूर्ण रुपमा सफल भएको भन्दै अबको समय थप जटिल बन्दै गएकाले भीडभाड नगरी पुनः सहयोग गर्न पनि आग्रह गरे । भीडभाडबाट नै कोरोना भाइरसको सङ्क्रणम बढ्ने हुनाले अत्यावश्यक कामका लागि मात्रै बाहिर निश्कन पनि अपिल गरिएको छ ।
बर्थ डे पार्टी दिने बहानामा ‘बलात्कार’
ओखलढुंगा : जन्मदिनको अवसरमा भोज खुवाउने बाहानामा साथीलाई बलात्कार गरेको आरोपमा १ युवक पक्राउ परेका छन् । शुक्रबार राति मानेभज्याङ गाउँपालिकाका २६ वर्षीय युवकले जन्मदिनको पार्टी दिने भन्दै बोलाएर २३ वर्षीया साथीलाई जबरजस्ती गरेको उजुरी परेपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो। उनीहरू सानै उमेरदेखि साथी भएको र शुक्रबार युवकको जन्मदिन परेकाले युवतीलाई पार्टी दिने भन्दै राति घरैमा लिन गएर जबरजस्ती गरेको केटी पक्षले दिएको उजुरीमा उल्लेख छ। युवकले मादक पदार्थ सेवन गरेर आफूमाथि जबरजस्ती करणी गरेको पीडित युवतीले बताइन्। पीडितको जाहेरीका आधारमा शनिबार ती युवकलाई म्याद थप गरेर अनुसन्धान सुरु गरिएको ओखलढुंगा प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए।
महाराजगन्जमा ३ सवारी ठोक्किए, असई पौडेलको मृत्यु
काठमाडौं : राजधानीको महाराजगन्जमा ३ सवारी साधन ठोक्किँदा १ जना प्रहरी सहायक निरीक्षक (असई)ले ज्यान गुमाएका छन् । शनिबार साँझ सवा ५ बजे काठमाडौं महानगरपालिका-४ सुकेधारा हिमाल डेन्टल अगाडि दुर्घटना हुँदा बा ७४ प २८६१ नम्बरको मोटरसाइकल चलाइरहेका असई प्रेमराज पौडेलले ज्यान गुमाएका हुन् । सुर्खेत घर भएका उनी प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यविभाग प्रशासन शाखामा कार्यरत थिए। सुकेधाराबाट चाबाहिलतर्फ आउँदै गरेको प्र ३ ०२ ००३ प ४१५० नम्बरको स्कुटर र सुकेधारातर्फ जाँदै गरेको बा ७४ प २८६१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए। लगत्तै चाबहिलबाट सुकेधारातर्फ जाँदै गरेको बा १ ग २२७८ नम्बरको आर्मी हेडक्वाटर भद्रकालीको पानी ट्याङकर पनि ती दुई सवारीसँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ। दुर्घटनापछि मोटरसाइकलमा सवार असई पौडेल गम्भीर घाइते भएका थिए। उनलाई चाबाहिलस्थित ओम अस्पतालमा लगिएको थियो । अस्पतालले उनलाई ६ बजे मृत घोषणा गरेको थियो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीन वटै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।