शिक्षक लाइसेन्सको विज्ञापन खुल्यो (सूचनासहित)

काठमाडौं, असार २ । शिक्षक सेवा आयोगले शिक्षक लाईसेन्सको विज्ञापन खोलेको छ । आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको हो । आयोगका प्रशाशकीय प्रमुख डा. तुलसी थपलियाका अनुसार प्रावि र निमाविमा तालिम प्राप्त हुनु पर्ने तर माविको हकमा तालिम प्राप्तसँगै अप्राप्तले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्ने छन् ।

‘खास विषयमा हुने शिक्षक अभाव हटाउन शिक्षा ऐनमा भएको व्यवस्थाका आधारमा मावि तहका निश्चित विषयमा शिक्षक हुन चाहने विद्यार्थीलाई तालिम नभए पनि हुने व्यवस्था कार्यान्वयन गरिदैं छ’ थपलियाले भने ‘यो सँगै साविकका उच्च मावि तहका शिक्षकहरुका लागि पनि आवश्यक लाईसेन्सको परीक्षा हुने व्यवस्था गरिएको छ ।’

माध्यमिक तहको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३ सय पूर्णाङ्क सहित आयोगबाट स्वीकृत भएका पाठ्यक्रमहरु मध्ये कुनै एक विषय (नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञान) मा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरी साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरूका लागि मात्र उक्त विज्ञापन गरिएको हो । यस्तै माध्यमिक तहकै अर्को विज्ञापनका लागि तालिम नभए पनि हुने व्यवस्था गरिएको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुस्

IFrame

ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कतिले बढ्यो ?

काठमाडौं, वैशाख १२ । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले बढेको छ । बुधबार छापावाला सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै, बुधबार तेजावी सुन ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै, बिहीबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी ७२५ रुपैयाँमा कारोबार भइरहेको छ।

दुईदिन देशभर सबै बालबालिकाहरुलाई भिटामिन ‘ए र जुकाको औषधि खुवाउँदै

काठमाडौं, वैशाख ६ । २०७६ नेपाल सरकारले शुक्रबार र शनिबार देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.आरपी बिच्छाका अनुसार २८ लाख बालबालिकालाई अभियानमा समेट्ने सरकारको लक्ष्य छ । कार्यक्रमका लागि ५४ हजार महिला स्वयंसेविका र प्रत्येक जिल्लाबाट जनस्वास्थ्य कर्मचारी खटिनेछन् । प्रदेश अन्तर्गतका स्थानीय तहले नै कार्यक्रम सञ्चालन गर्ने उनले बताए । बालबालिकालाई संक्रामक रोगहरुबाट बचाउन, निमोनिया तथा झाडापखालाको प्रकोपबाट जोगाउन, रोगप्रति गरिएको छ रोगप्रतिरोधी क्षमता बढाई बाल मृत्यु दर घटाउन, आँखा सम्बन्धी रोगबाट बचाउन भिटामिन ए खुवाउने गरिन्छ । भिटामिन ए तथा जुकाको औषधि तोकिएको उमेर समूहका बालबालिकालाई हरेक वर्ष दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते खुवाइने गरिन्छ । यसपटक कात्तिक २ र ३ गते दशैं परेकोले कात्तिक १४ र १५ गते खुवाइएको थियो । कर्मचारी समायोजन फ्रक्रियाले कार्यत्रम प्रभावित हुने भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्क्रालय स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाई सहजीकरण गर्न निर्देशन दिएको छ । मुलुक संघीयतामा गएसंगै ७ सय ५३ वटै स्थानीय तहले यो कार्यत्रम सञ्चालन गर्ने जिम्मा पाएका छन् ।

कृषि पेशाबाटै वैदेशिक रोजगारीलाई टक्कर दिने मुनाफा (भिडियोसहित)

उमेश बन्जाडे, दाङ । राज्यले अझैसम्म असली कृषकहरुको पहिचान गर्न नसकेको गुनासो धेरै पहिलेदेखि बाहिर आइरहेको । देशका अन्य क्षेत्रमा जस्तै कृषिमा पनि टाठाबाठाहरुकै हालीमुहाली रहेको कुरा प्रष्ट छ । यदाकदा राज्यले ल्याउने कृषि अनुदान वा कृषिसँग जोडिएका कार्यक्रमहरु पनि चतुर सरदार र ठेकेदारकै मुठ्ठीमा कैद हुनेगरेको कृषकहरु बारम्बार दुखेसो पोखिरहन्छन्। प्रायः नेपाली युवाहरुले रोजगारीको गन्तव्यका रुपमा यतिबेला विदेशलाई छनोट गर्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक बाहिरिने हजारौं युवाहरुमध्ये अधिकांशले अरब र खाँडीमा पैताला टेक्छन् भने केही युरोपतिर लाग्छन् । गाउँमा युवाहरूको खडेरी परेको छ । यद्यपि ‘गर्नसके स्वदेशकै माटोमा सुन फलाउन सकिन्छ’ भन्ने मान्यतालाई मनन गर्दै दाङ, देउखुरीका एक युवाले कृषि पेशा बाटै मनग्ये आमदानी गर्दै आइरहेका छन् । दाङको लमही नगरपालिका ४ भैंस्कोर्माका युवा कृषक रमाकान्त चौधरी २० वर्षदेखि कृषि पेसामा आवद्ध छन् । उसोत थारु समुदायको बाहुल्यता रहेको त्यो गाउँका रमाकान्त चौधरी मात्रै होइनन् । अन्य स्थानीयले पनि तरकारी लगायतका कृषिजन्य वस्तुको उत्पादन गर्छन् । दिनभर खेतिपातीमा व्यस्त रहने त्यहाँका कृषकहरु उत्पादित तरकारी निर्यातका लागि विहानै आसपासका गाउँ हुँदै बजारसम्म पुग्छन् । रमाकान्त चौधरीको पनि उसैगरी दैनिकी बितिरहेको छ। तुलनात्मक रुपमा रमाकान्त चौधरी अल्लि बढी मात्रामै कृषिमा निर्भर रहेको उनी स्वयं बताउँछन् । विदेशमा जत्तिको पसिना बगाए स्वदेशमै थुप्रै मुनाफा गर्न सकिनेमा उनी विश्वस्त छन् । बाँकी हेर्नुस् तलको भिडियोमा–

विद्यार्थीले कम ग्रेड ल्याए अब विषय शिक्षक बर्खास्त !

काठमाडौं, चैत १२ । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले कम ग्रेड ल्याएमा विषय शिक्षकलाई सेवा मुक्त बनाउने प्रस्ताव तयार भएको छ । विद्यार्थीको कम ग्रेड आएमा प्रधानाध्यापकको ग्रेड रोक्का र विद्यालयको अनुदान कटौटी गर्न पनि प्रस्ताव गरिएको छ । गत मंसिर दुई गते शिक्षा समितिले सांसद उमेश श्रेष्ठको नेतृत्वमा शिक्षा नीतिमा समेट्नु पर्ने विषयका सम्बन्धमा सुझाव दिन उपसमिति गठन गरेको थियो । प्रतिवेदनमा परीक्षाको नतिजाको आधारमा विद्यालयलाई पुरस्कार र दण्डको ब्यवस्था प्रस्ताव गरिएको छ । मंगलबार शिक्षा समितिमा पेश गरिएको प्रतिवेदनमा एसईई परीक्षामा तीन वर्षसम्म एकै विषयमा ५० प्रतिशतभन्दा बढी विद्यार्थीको ग्रेड ‘डी’ र ‘ई’ आएमा सम्बन्धित विषय शिक्षकलाई सेवाबाट मुक्त गर्ने प्रस्ताव गरिएको हो । यसैगरी ५० प्रतिशतभन्दा धेरै विद्यार्थीले डी र ई ल्याएका सम्बन्धित विद्यालयको प्रधानाध्यापकको समेत ग्रेड रोक्का गर्नुपर्ने र विद्यालयले पाउँदै आएको सरकारी अनुदान घटाउने प्रस्तावसमेत छ । ‘५० प्रतिशतभन्दा बढी विद्यार्थीले डि र ई ल्याएका विद्यालयका प्र।अ।लाई ग्रेड रोक्का, नसियत र ३ वर्षभन्दा बढी एक विषयमा डी र ई ल्याउने शिक्षकलाई सेवावाट मुक्त र प्र.अ.लाई समेत घटुवा गर्नुपर्ने छ,’ प्रतिवेदनको बुँदा नम्बर ६.१ को ‘ज’मा लेखिएको छ, ‘५० प्रतिशतभन्दा बढी विद्यार्थीले डी र ई ल्याएका विद्यालयलाई अनुदान घटाउने ।’ प्रस्तावित प्रतिवेदनअनुसार एसईई परीक्षामा ९० प्रतिशतभन्दा बढी विद्यार्थीले जीपीए ३।८ ल्याउने विद्यालयले कुल बजेट निकासाको ५ देखि १० प्रतिशत प्रोत्साहन रकम प्राप्त गर्ने छन् । हिमाली र उच्च पहाडी क्षेत्रमा आवासीय विद्यालय स्थापना गर्न सरकारलाई निर्देशन दिन पनि उपसमितिले समितिलाई सुझाव दिएको छ ।

घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा ३ घाइते

चितवन, चैत १२ । पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गएराति त्रिशूलीमा मिनीबस खस्दा ३ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नंको बस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो । राति १० बजे मुग्लिनबाट कुरीनटारतर्फ जाँदै गरेको मिनीबस दुर्घटनामा परेको हो । घाइतेमध्ये गम्भीर रहेका तनहुँको दमौलीका अन्दाजी २५ वर्षीय निशान परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुईको अवस्था सामान्य रहेको छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार गराइएको छ । बसमा चालक र सहचालक मात्र रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो । रासस

एक युवक १७ दिनपछि भारतीय प्रहरीको सहयोगमा अपहरणमुक्त

गौशाला, चैत ८ । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–८ बाट अपहरणमा परेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले भारतीय प्रहरीको सहयोगमा १७ दिनपछि अपहरणमुक्त गराएको छ । गत फागुन १९ गते अपहरणमा परेका गौशाला नगरपालिका–८ बस्ने २९ वर्षीय सुरेश साहलाई महोत्तरी प्रहरीले भारत बिहारको बेतियास्थित (एसटीएफ) प्रहरीको सहयोगमा हिजो बिहीबार अपहरणमुक्त गराउन सफल भएको प्रहरी नायव उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताए । गत फागुन २२ गते सुरेश साहकी आमा देवसुनर देवीले जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आफ्नो छोरा सुरेश साह अपहरणमा परेको निवेदन दिएपछि सोही दिनदेखि महोत्तरी प्रहरीले प्रहरी निरीक्षक दीपक चोरबारको कमाण्डमा खोजतलास सुरु गरेको थियो । सुरेश अपहरणमा परेपछि उनका भिनाजु अमरनाथ महतोलाई भारतीय नम्बरको मोबाइलबाट भारतको बेतिया नजिकै रहेको बगहा र बाल्मिकी नगरको मैन्मा जङ्गल क्षेत्रबाट फिरौती रकम लिएर आउन फोन आएको थियो । महोत्तरी प्रहरीले परिवारजनको जानकारीमा भारतीय प्रहरीको सहयोगमा मोबाइललाई पछ्याउँदै जाँदा उनलाई भारतको बेतिया नजिकै रहेको बगहा र बाल्मिकी नगरको मैन्मा जङ्गल क्षेत्रबाट बन्धक बनाइराखेको अवस्थामा फेला पारेको प्रहरी नायव उपरीक्षक खड्काले जानकारी दिए । साथै फिरौती रकम ल्याउन भनिएका नेपालकै बारा जिल्लाको कलैया नगरपालिका–१२ रामपुर बस्ने ५२ वर्षीय मुन्ना भन्ने सुरज चौधरी र काशी साहलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा लाग्ने ५.५६ एमएमको गोली चार थानसमेत बरामद गरेको छ । अपहरणमा संलग्न दुवैलाई भारतीय प्रहरीले पक्राउ गरी भारतमै आवश्यक कारवाही अगाडि बढाएको छ । अपहरणमुक्त भएका साहलाई बिहीबार नै उनका आफन्तको जिम्मा लगाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । रासस

तीन वर्षअघि बुद्धको मूर्ति चोर्ने काठमाडौंबाट पक्राउ

डोल्पा, माघ ६ । तीन वर्ष अघि बुद्धको मूर्ति र पुस्तक चोरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । डोल्पो बुद्ध गाउँपालिका ३ का धावा थापालाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको हो । २०७२ साल चैत्र २८ गते साबिकको धो गाविसमा रहेका गाकर गुम्बा र मेकिङ गुम्बाका ३ थान मूर्ति र एक थान बुद्धधर्मालम्बीको मन्त्र भएको सयौं वर्ष पूरानो मूर्तिसहित पुजारी पेम्बा ठिन्ले गुरुङको घरबाट सोनाम ढाक्पा गुरुङ र धावा गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुको साथबाट चोरीमा प्रयोग भएको ३ नाल पेस्तोल,२३ राउण्ड गोली,३ थान खोका र चोरी भएको दुई थान मूर्ति सहित बरामद गरेको प्रहरी नाउव उपरीक्षक अबदेश बिष्टले जानकारी दिए। डीएसपी बिष्टका अनुसार सोही चोरीको घटनामा संलग्न धावा थापा काठमाडौंमा लुकीछिपी बस्दै आएका थिए। केन्द्रीय प्रहरी अनुसन्धान व्युरोको सहयोगमा काठमाडौंबाटै पक्राउ गरिएको उनले बताए।

देशभर २ जनाले मात्रै बोल्ने कुसुन्डा भाषा २० जनाले सिक्दै

काठमाडौं, पौष २० । भाषा आयोगले देशबाट लोपोन्मुख भाषाको संरक्षणका लागि भाषा प्रशिक्षण सुरु गरेको छ । आयोगले दाङमा कुसुन्डा भाषा प्रशिक्षण सुरु गरेको हो । देशभर १ सय ५५ जना जनसंख्या रहेको कुसुन्डा भाषा बोल्न सक्ने २ जना मात्र रहेकाले अन्यलाई पनि यो भाषा बोल्न सक्ने गराउनलाई भाषा प्रशिक्षण सुरु गरिएको भाषा आयोगले जनाएको छ । दाङको लमहीमा ९० दिनसम्म चल्ने भाषा प्रशिक्षणमा कुसुन्डा जातिका १८ जना र गैरकुसुन्डा २ जना गरी २० जनाको सहभागिता रहेको प्रशिक्षक उदय आलेले बताए । यसैबीच भाषा आयोगले कुसुन्डा भाषा बोल्ने दुई जना महिलालाई चालु आर्थिक वर्षदेखि मासिक ३ हजार रुपैयाँ भत्ता दिन थालेको आयोगले जनाएको छ । भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले ज्ञानुमाया कुसुण्डा र कमला कुसुण्डालाई ६ महिनाको एकमुष्ठ १८र१८ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

सबै निजी विद्यालयलाई गुठीमा परिणत गर्ने प्रस्ताव

काठमाडौं, पौष १८ । सरकारद्धारा गठित उच्चस्तरीय शिक्षा आयोगले आगामी सात वर्षभित्र नेपालका सबै निजी विद्यालयलाई नाफारहित गुठीमा परिणत गर्ने सुझाव सहितको प्रारम्भिक प्रतिवेदन बनाएपछि निजी विद्यालयका संगठनहरू त्यसको विरोधमा उत्रिएका छन्। उनीहरूले सरकारको यो कदमले गुणस्तरीय सेवा दिँदै आएको निजी शिक्षा क्षेत्रमाथि हस्तक्षेप हुने तथा शिक्षा क्षेत्रमा अनावश्यक द्वन्द्व सिर्जना गर्नेआरोप लगाएका छन्। शिक्षामन्त्रीले भने निःशुल्क शिक्षा प्रदान गर्ने संविधान प्रदत्त हक कार्यान्वयनको चरणमा यो महत्त्वपूर्ण कदम हुने भन्दै निजी विद्यालयहरूलाई नआत्तिन सुझाव दिएका छन्। सो आयोग उनकै नेतृत्वमा गठन भएको थियो। खर्बौं रुपैयाँको लगानीमा सञ्चालन हुँदै आएका निजी विद्यालयलाई अबको सात वर्षभित्र सार्वजनिक गुठीमा परिणत गरी गैर नाफामूलक बनाउने भन्दै उच्चस्तरीय आयोगले बनाएको प्रतिवेदनलाई हतारको तथा अदूरदर्शी निर्णय भन्दै निजी विद्यालयका संगठनहरू विरोधमा उत्रिएका हुन्। यसले ६ हजार ५ सय भन्दा बढीको सङ्ख्यामा रहेका निजी विद्यालय हतोत्साही हुने र नेपालको शिक्षा क्षेत्र नै अस्तव्यस्त हुने उनीहरूको दाबी छ। निजी विद्यालयहरूको संगठन प्याब्सन, नेशनल प्याब्सन र उच्च माध्यमिक विद्यालय संघ हिसानका अधिकारीहरूले मंगलबार संयुक्त रूपमा शिक्षा मन्त्रीलाई भेटी उक्त निर्णय फिर्ता लिन आग्रह गरेका छन्। प्याब्सनका महासचिव राजेन्द्र बानियाँ भन्छन् ‘कम्पनी हट्ने विषय हामी मान्दैनौं। कम्पनीभित्र व्यक्तिको सम्पत्ति रक्षा र स्वामित्व हस्तान्तरणका विषय छन्। व्यक्तिको लगानी छ। विद्यालय खोल्नका लागि लिएको ब्याङ्कलाई ब्याज त तिर्नुपर्ला। अझ मैले ठूलो रूपमा लिएको चाहिँ छात्रवृत्तिमा समान प्रतिस्पर्धाको विषय र अभिभावकहरूलाई बालबालिकाको शिक्षा रोज्न पाउने अधिकारको विषय महत्त्वपूर्ण छ।’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आयोगको प्रतिवेदनले पूर्णता पाउन बाँकी रहेकोले निजी विद्यालय सञ्चालकहरूलाई संयमता अपनाउन आग्रह गरेका छन्। उनले भने, ‘कोही पनि विरोधमा जान जरूरी छैन। छलफल गरौँ। हामीले २१ गते रिपोर्ट बुझाउनु अगाडि आयोगमा उठेका विभिन्न विषयमा छलफल गर्छौँ। र लगानी डुब्न दिँदैनौँ। सबैले यो देशको लागि हो भनेर सोचिदिनुपर्छ।’ उच्चस्तरीय आयोगले यसै हप्ता पुष २१ गते प्रतिवेदन सरकारलाई बुझाउने बताइएको छ। निजी विद्यालयको संगठनले खर्बौं रुपैयाँको लगानी रहेको क्षेत्रलाई सार्वजनिक गुठीमा लैजानुको सट्टा ८० प्रतिशत सामुदायिक विद्यालयको गुणस्तरमा ध्यान दिनुपर्ने सुझाव दिएको छ। बीबीसीबाट

नन्दी सेवा आश्रमका सञ्चालक रामबहादुरलाई साइनिङ्ग वल्र्ड कम्पासन अवार्डबाट पुरस्कृत

काठमाडौं, पुस १५ । पशुपति वनकालीमा नन्दि सेवा आश्रम सञ्चालन गर्दै आएका रामबहादुर न्यौपाने (गोपाल) यस वर्षको साइनिङ्ग वल्र्ड कम्पासन अवार्डद्वारा पुरस्कृत भएका छन् । सुप्रिम् मास्टर इन्टरनेशनल एशोसियसनले शनिवार ललितपुरको खुमलटारमा गरेको एक कार्यक्रममा रामबहादुर न्यौपानेलाई अवार्डको साथमा सो संस्थाकी सञ्चालिका सुप्रिम् मास्टर चिङ्हाईले पठाएको तीस हजार अमेरिकी डलरको चेक मास्टरका अनुयायीहरूको तर्फबाट नेपाल भेगन एशोसियसनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने र मिरा खनालले हस्तान्तरण गरेका थिए । रामबहादुरले छाडा छोडिएका गाई गोरु तथा बाच्छा बाच्छीलाई आश्रय दिन काठमाडौंको पशुपतिक्षेत्रको वनकालीमा नन्दि आश्रम सञ्चालन गर्दै आएका छन् । काठमाडौं लगायतका शहर एवं गाउँबस्तीमा गाई धनीले दुध दिँदासम्म दुहुने र दुध दिन छाडेपछि गाईलाई सडकमा लगेर छोडिदिने, आफूले धेरै दुध पाउन दुधे बाच्छोलाई पनि सडकमा छोडिदिने गर्ने गरेको पाइएको छ । यसरी छोडिनेमा बाच्छीको तुलनामा बाच्छा बढी हुन्छन् र पछि ती बढेर ठूला हुने गरेका छन् । छाडा छोडिएका गाईगोरु बाच्छाबाच्छीको कारणले सडकमा ट्राफिक जाम हुने, दुर्घटना हुने गरेका छन् । सवारीसाधनले ठक्कर दिने र ती गाईगोरु तथा बाच्छाबाच्छी घाइते हुने, बिरामी हुने जस्ता धेरै समस्या हुने गरेको पाइन्छ । छाडा छोडिएका गाईगोरु बाच्छाबाच्छीलाई बस्न खान र औषधोपचारको व्यवस्था मिलाउने कामलाई आफ्नो साधना बनाएका रामबहादुर न्यौपानेको उदाहरणीय कार्यको मुल्याङ्कन गर्दै उनलाई पुरस्कृत गरिएको आयोजकले पुरस्कार पत्रमा उल्लेख गरेका छन् । ठूलो कष्ट उठाएर डेढसय जति गाई गोरु र बाच्छाबाच्छीलाई घाँस पराल, औषधि उपचार लगायतका आवश्यकता पूरा गर्न उनको टिम तथा समितिलाई धौधौ परिनै रहन्छ । वर्षको तीन करोडको खर्च रहेको बताइन्छ । सहयोग जुटाएर खर्च पुर्याउनु सहज छैन नै । रामबहादुरको यस प्रकारको कार्यको जति तारिफ गरेपनि कमै हुने देखिन्छ नै । पुरस्कार मात्रैको कुरा होइन मास्टर चिङ्हाईको आर्शिवाद पाउनु नै सबैभन्दा ठूलो कुरा हो । नेपालमा जजसले उनको आर्शिवाद पाउन सफल भएको छ उनीहरूको उन्नति प्रगति हुँदै गएको छ, कार्यक्रममा आफ्नो मन्तव्य राख्दै वरिष्ठ प्राकृतिक चिकित्सक हरिप्रसाद पोखरेल (मानसाग्नि) ले बताए । भलै संविधानमा राष्ट्रिय जनावर उल्लेख भएपनि नेपाल सरकार र नेपालीको लागि गोवंश ठूलो बोझको विषय भएको देखिन थालेको छ । राज्यकै संयन्त्रको मिलेमतोमा गाईगोरु कटानीको लागि विदेशतर्फ तस्करी हुने गरेको देखिइरहेको छ । लक्ष्मीस्वरूपा गौमाताको संज्ञाले समेत पुकार गरिने गोवंशलाई सिध्याउन पाए हाईसुख हुन्थ्यो भन्ने मनोविज्ञान राज्यको पनि रहेको बुझिन्छ । नेपाल सरकार र नेपाली नागरिकको यस्तो संकिर्ण एवं दरिद्री मानसिकताको स्थिति भइरहेको अवस्थामा विदेशदेखि यहाँका गोवंशको संरक्षणको लागि यसरी सहयोग आउनुले नेपाल सरकार र सम्बन्धित नागरिकको लागि ठूलो जवाफ भने दिएको छ । सुप्रिम मास्टर चिङ्हाई विश्व प्रसिद्ध आध्यात्मिक गुरु रहेका छन् । उनले आफ्नो शिष्य ग्रहण गर्ने जो–कोहीलाई पनि सबै प्राणीप्रति दया, करुणा गर्न, प्राणी हिंसा नगर्न र पूर्ण साकाहारी आहार एवं सात्विक जीवनयापन गर्न मार्गदर्शन गरेका छन् । मूलतः उनी ताइवानको भएपनि विश्वका विभिन्न स्थानमा रहेर ध्यान साधना गर्ने र गराउने छन् । उनको सुप्रिम मास्टर टेलिभिजन नामको अनलाई टेलिभिजन छ । सोमार्फत उनले आफ्नो मार्गदर्शन उपदेश प्रवचन निरन्तर गरिरहने छ । मास्टर चिङ्हाईले यो एवार्ड एवं पुरस्कार कसैको सिफारिसमा नभएर आफ्नो ध्यानदृष्टिबाट तय गर्ने भएका छन् । २०७२ सालको भूकम्प लगायतका दैवी विपत्ति आदिमा मास्टर चिङ्हाईले उल्लेखनीय सहयोग गर्दै आएका छन् । यसैगरी वागेश्वरी गौशाला देवघाट चितवन, रामजानकी गौशाला कोहलपुरलाई पनि यहाँका आफ्ना अनुयायीमार्फत आर्थिक सहयोग गरेका छन् । उनले गर्ने सहयोग कसैसँग उठाएर नभएर आफै आर्जन गरेको रकमबाट गर्ने गर्दछन् । विश्वका कुनै पनि स्थानमा उनले सहयोग गर्ने गरेका छन् । आफ्ना अनुयायीहरूलाई फल्नो ठाऊँमा यस्तो भएको छ त्यो ठाऊँमा गएर यो सहयोग गर्नु अथवा पुर्याउनु भनी निर्देशन आएपछि अनिबल्ल उनका अनुयायीहरू निर्देशन बमोजिम आफ्नो गुरुले पठाएको सहयोग लिएर सोधखोज गर्दै सम्बन्धित स्थान र व्यक्तिसम्म पुग्ने गरेको उनका नेपाल स्थित अनुयायी अमृत कार्की, विष्णुप्रसाद न्यौपाने, डा.मोहन खरेल, विक्रम गुरुङ्गलगायतहरू बताउँछन् । सुप्रिम मास्टर इन्टरनेशनल एशोसियसनले प्रदान गर्ने साइनिङ्ग वल्र्ड कम्पासन अवार्ड नेपालीको लागि यो तेस्रो हो । प्रथम एवार्ड समता शिक्षा सदनका उत्तम संजेल र दोस्रो अवार्ड माइती नेपालकी अनुराधा कोईरालाले प्राप्त गरेका थिए । कार्यक्रममा डा. गोविन्द टण्डन, डा. नारायणी राणा, वैद्यराज दीपक सुवेदीलगायतले आआफ्नो अभिव्यक्ति राखेका थिए भने कार्यक्रमको सञ्चालन बरिष्ट प्रो.डा. मोहन खरेलले गरेका थिए ।

अमर तुम्याहाङको कथा : तिरोहित विश्वास 

[ एक ] ठूलो तीनतले घर, उत्रै पाली । घर र पाली वारिपरि बार्दली, बार्दलीभरि फूलका गमला । गमलामा थरिथरिका फूलहरू । फूलमाथि लुकामारी खेल्दैछन् माहुरी र पुतलीहरू । घरमुनि बाटो । बाटामुनि बारीका ठूल्ठूला गरा, त्यसपछि खेत, खेत त स–सानो मैदान नै हो । साँच्चि गाउँकै मुटु हो यो खेतवारी । यी बारी र जग्गा अन्नको भकारी नै ठान्छन् गाउँलेहरू । अनि त्यो घर र पाली, स्वर्गको टुक्रा नै हो भन्दा बात नलाग्ला । येहाङ र येमा, यही ऐश्वर्यवान् घरबारका मालिक हुन् । उनीहरुको एकजना तन्नेरी छोरो छ–अमुहाङ । अनि कलकलाउँदी इक्साचाहिँ अमुहाङको बहिनी हुन् । हेर्दा यो घर सुखको सुन्दर फूलबारी जस्तै छ । यो घरको सम्पन्नता देखेर गाउँलेहरू जीब्रो टोक्छन्, ‘पैसाले पैसा कमाउँदोरै’छ, प्रतिष्ठाले प्रतिष्ठा बढाउँदो रै’छ ।’ साँच्ची उनीहरुसँग के छैन र ! अन्न अन्नभण्डारभरि छ, पैसा पुग्दो छ । काम गर्ने गोठालाखेताला छन्, गाउँलेहरू सघाउपघाउ पनि उसरी नै गरिरहेका छन् । खाँट्टी भन्ने हो त यो घरले सिङ्गो गाउँलाई नै थामेको छ । मुक्कुम्लुङ पाठशालाको जेहेन्दार विद्यार्थी हो अमु । ऊ पढाइमा सबैभन्दा क्षमतावान् छ । गुरु र आदरणाीय मानिसहरुलाई आदर गर्ने र आफूभन्दा सानालाई सा¥है माया गर्ने विद्यार्थी भनेर गाउँभरि कहलिएको छ । एकदिन, दुई दिन, एकमहिना, दुई महिना हुँदै समय फुत्किरहेको थियो । मुक्कुम्लुङ पाठशालामा एक नयाँ छात्रा आइपुगिन् । अग्ली जिउडालकी, जूनजस्तै ज्वाज्वल्यमान चेहरा, सुडौला नाक र ठूल्ठूला अनि सुन्दरताले भरिएका आँखा । अमुहाङले यस्तो सुन्दरताले भरिएकी छात्रा जीवनमा कहिल्यै देखेको थिएन । कथाकार अमर तुम्याहाङ नुमा खोलापारि तेखादेनकी हुन्, अमु खोलावारि साङसाङदेनको । अमु र नुमा एउटै कक्षामा पढ्ने सहपाठी भएकाले आफूले नजानेका एकअर्कामा सोधासोध गर्ने र सिक्ने सिलसिला चल्दै गयो । नुमा र अमु विस्तारै तन्नेरी र तरुनीमा बदलिए, उनीहरू धाननाचे, एकआपसमा माया बाँडे–एकअर्काका प्रेमी भए, समयसँगै एकबिना अर्का बाँच्नै नसक्ने प्रेमबन्धनमा परे । एकदिन छहारीमा बसिरहेको बेला नुमाले अमुतिर फर्केर भनी, ‘नसम्झूँ भन्छु र नि हजुर मात्र मनमा झल्लीझली आउनुहुन्छ, सपनीमा पनि देख्छु हजुरलाई मात्र । हजुरबिना त बाँच्न सक्दिन होला…’ यस्तो कुराले नुमाको प्रेममा डुबिसकेको अमुको पनि मुटु ढुकढुक भयो, नुमासँग छुट्टिनुपर्दा उसको मन कति रुन्छ त्यो त उसको अनुहारमा दुरुस्तै उत्रेको थियो । औँलामा खेलाइरहेको सिन्काले भूइँ कोट्याउँदै सुँक्कसुँक्क अमु बोल्यो, ‘म दुःखी नि त हजुर बिना कहाँ बाँच्न सक्छु र !’ नुमा अनुहार भूइँतिर गाडेर झार चुँडाल्दै सुस्तरी बोली, ‘अमु हामी कुनतकसम्म यसरी सेमेक्वाचरी झैँ एक्लाएक्लै बाँच्ने हो….?’ नुमालाई सुनेर शीर ठाडो पा¥यो अमुले, ढाकाको टोपी दुई हातले मिलायो, ‘बूढापाकाहरू ‘चिहान मिच्ने घर, साइनो थिच्ने विहे’ भन्छन् । त्यसो हो भने अब म बुबाआमालाई हाम्रो विहेको कुरा बिसाउँछु है ।’ ‘पक्का हो !’ नुमा खुशीले आँखीभौ उचालेर उन्मुक्त नजरमा मुसुक्क मुस्कुराई । [ दुई ] रातलाई लखेट्दै विस्तारै उषाले पाइला टेक्यो, शुक्रतारा अलपियो । मङ्सिर महिनाको आजको दिन अर्कै छ । आकाशमा बादल छैन, धर्तीमा तुवाँलो छैन, सिङ्गारिएको अमुको घरको पछिल्तिर माथि हिमश्रृङ्खला चाँदी नै हार्नेगरी कञ्चन देखिन्छ । डेरामुनि सुनफूलले लेपन गरिएका लोकन्दीहरु गाउँका तन्नेरीहरूको स्वागत, उठौनीबसौनी, खानपिन अनि धाननाच्न उभिनेवित्तिकै साउँदोपुस्तो पालाम हा कि हा गाउँदै धाननाचको अनन्त फन्को मार्दैछन् । ‘तरुनीबेगरको के तन्नेरी, तन्नेरीविनाको के तरुनी’ भनेको साँच्चै पो हो कि के हो !’ सोरेक्या बूढा दिल्लगी गर्दै डेरायताउता कुदिबस्छ । लोकन्ती तुम्याहाङ्माहरुको भीडमा घुम्टोमा मोहोरिएकी नुमा डेरामुनि बालिएको आगोको धुनि टाढाबाट ताप्दैछिन् । यत्तिकैमा घामले विस्तारै पाइला हाल्छ । घाम फक्ताङलुङ (कुम्भकर्ण), मुक्कुम्लुङ, सिदिङ्बा पर्वतहरू टेक्दै लुङचेलेङ डाँडा हुँदै साङसाङदेन गाउँमा आइपुग्यो । एकपल्ट फेरि बन्दुकहरू पड्के, दमाइहरुले सनहाइ र नरसिङ्गा बजाउन थाले, च्याब्रुङ नाच नाच्न थालियो, कामदारीहरु तोङ्बा र थरिथरिका परिकार लिएर डेरामा लोकन्तीहरुलाई टक्राउन आइपुगे । सँगै बुढापाकाहरु बिन्ती बिसाउँदै आइपुगे ः फक्ताङलुङजस्तै महान कुटुम्बहरू ! सेसेलुङजस्तै झलाद्मी कुटुम्बहरू ! भावीले लेखेर, साइनोसम्बन्धले बेरिएर, माछाका भूरा झैँ झुरुप्पै भेलिँदा, हाम्रो हातको मीठोनमिठो टक्रायौँ है !  ए सिस्नुको रुख चढ्न नसकिने, गरिबीलाई लुकाउन नसकिने, हामी निमुखाले साउँदोपुस्तो अभिनन्दन टक्रायौँ है !’  उत्तरमा लोकन्दीसमूहकी मूली बूढीले जवाफ दिइन् ः लाछिएर बाँड्युँला नि, विन्तीले छाड्युँला नि, अभिनन्दन लिन त लायक नभए नि, सम्धीसम्धिनीहरुले यसरी टक्राएको कोसेली देउभोजनसमान पवित्र मानुङ्ला न….। कलिलो घाम तन्नेरी पुग्दै गयो । गाउँका छरछिमेकी र निम्तालुहरु जम्मा हुँदै गए । च्याब्रुङको घन्केको आवाजले साङसाङदेन गाउँ नै ‘टिनिनि…’ गुञ्जिरह्यो । खानाभान्सा पकाउने काम धमाधम हुँदै थियो । गाउँका तन्नेरीहरू लोकन्दीहरुसँग ख्याली गाउँदै, रेला, हँसिमजाक गर्दै धाननाचिरहेका छन् । गाउँका युवा, बच्चा, बूढाबूढी  आ–आफ्नै हुल बाँधेर बेहुलीको चियो गर्दै डेरामा यताउता गरिरहेका छन् । कतिले त येहाङ र येमाले बुहारीचाहिँ सुनकै पाएछन् भनेको पनि सुनिन्छ । ‘बेहुला र बेहुलीलाई त भावीले साँच्चि नै मिलाइदिएको रैछ, होइन, दुइजनै कति राम्रा राम्री हौ !’ कुरा गर्छन् । आज येहाङ र येमाको समृद्धिले गाउँनै भरिपूर्ण छ । इ, अब यत्तिकै बेहुली लुकाउने समय पनि आयो । लोकन्दीहरुले बेहुली नुमालाई लुकाउन पश्चिमपट्टिको याङसिङबुङ डाँडातिर लगे, माइतीहरुले पुनः बन्दुक पड्काउन  तयारी गर्न थाले । लोक्कन्दीहरुले नुमालाई सारी र सुनफूल लगाइदिए, झिलिमिलि टल्कने बर्को ओढाए, बर्कोभित्रकी फूल नुमाको अनुहार सुन्दरताले विछट्टै लिपिएकी देखिन्थ्यो । उता बेहुलालाई घोडामाथि राखेर झयाइँझयाइँ च्याब्रुङ बाजासँगै ड्याङ ड्याङ बन्दुक पड्काउँदै बेहुली लिन ल्याइँदैथियो । बेहुलाको पहिरन सेतो वश्त्रजस्तै देखिन्थ्यो, तागा जस्तै पनि देखिन्थ्यो, तर यै हो खुट्याउन  गा¥हो थियो  । उसको शीरमा त टोपी होइन कालिजको सिउर सिउरिएर बनाएको राजाको श्रीपेच पहिराइएको थियो । ठूलो तर सुललित अनुहार, काँक्राजस्तै लाम्चो नाक, फराकिलो निधारमा सेतो अक्षताटिका । जरायोको जस्तो काँध । साँच्ची भने हो भने राजकुमारसमान अमुहाङ । बेहुली लिन बेहुला ल्याउने ताँतीको अघि नौमति बजाउनेहरु, त्यसपछि च्याब्रुङ बजाउनेहरु, तेश्रो पङ्तिमा दायाँ र बायाँ काँसको थालमाथि सेतो अक्षता र फूल, धपधप बलिरहेको दियो बत्ती र फूलको कलश बोकेका दुई जना कन्याहरु । उनीहरुको पछि बेहुलालाई छाता ओढाइरहेको लोकन्दे, लगत्तै बुढापाका, त्यसपछि त आँखाले नभ्याउने आइमाइ, केटाकेटी, युवा युवती, बन्दुकेहरु । सप्पैजनाको अटुन ताँती बेहुली लिन आउँदै थियो । त्यो ताँती याङसिङबुङ डाँडामा बेहुली लुकाउने लोकन्दीहरुको समूह छेऊमा पुग्यो, बाजा र च्याब्रुङ बजाउनेहरु एकापट्टि छुट्टिए । बेहुला बेहुली भएको समूहभित्र छि¥यो । त्यसपछि बेहुलाले लोकन्दीले घेरिएकी बेहुली नुमालाई टिका लगाइदियो, नुमाले पनि अमुलाई फूलमाला लगाइदिई, अनि आफ्नो हृदयभित्रको आफ्नो राजकुमारलाई खुट्टामा ढोगी  । गोलाकार उभिएका सप्पैजनाले खुशीयालीमा जयजयकार गरे । बन्दुकहरु पनि त्यसक्षणमा ‘डुङ डुङ’ जोरजोर पड्के, च्याब्रुङ र अरु बाजाहरु ‘टिनिना… टिनिना…’ बजे । यसपछि बेहुली नुमालाई घोडामाथि राखियो, बेहुलीको पछि बेहुलालाई राखियो र जसरी एउटै लयमा नदीमा माछाका भूराले यात्रा तय गर्छन् त्यसरी नै विहे–जन्ती घरतिर अगाडि बढ्यो । विवाहका सप्पै रीतहरु सकियो, भोलिपल्ट बेहुलीको घरमा बेहुलाको घरपट्टिबाट लोकन्ती र रीत पु¥याउने जाने दिन थियो । अमुका दौँतरीहरु भरियाका लागि तयार थिए । भरियाहरुको माझबाट नाङजङ बोल्यो, ‘अमु एउटा कुरा सोधुँ ?’ अमु बोल्यो, ‘के कुरा हो ! सोध न ।’ नाङजङलाई चुप लगाउँदै आजिबुङ जेठा बोल्यो, ‘मैले बोकेको सेराङको नाम के हो ?’ अमुले सोझै भन्यो, ‘विवाहको सेराङ ।’ झट्ट माराम जेठाले भन्यो, ‘लु भन साथी, विवाहको सेराङले साटेको के हो ?’ सप्पै लब्राहरु गललल हाँसे, अमुको अनुहार त लाजले लालीगुराँशजस्तै रातो भयो । त्यतिबेलासम्ममा लोक्कन्दीहरु र केही भरिया फुङफुङ गाउँको चौतारामा पुगिसकेको थिए । [ तिन ] येहाङको घर आजकल अघिभन्दा चिरिच्याट्ट देखिन्छ । नदेखियोस् पनि कसरी, नुमाले पहिलो भालेको डाकमै कुचो लगाउँछिन्, आँगन बडार्छिन्, घर लिपपोत गर्छिन्, भाँडाकुडा माझ्छिन् । लुगा धुन्छिन् । सप्पै कामहरु पालैपालो गरिसक्छिन् । येमाले पनि आजकल कामबाट सुविस्ता पाएकी छिन् । घरको गोठाला काक्लिकेले पनि आराम गर्न पाएको छ । ‘नुमा सा¥है लच्छिनकी रै’छे । कल्ले के खान्छ, के पिउँछ, के दिनुपर्छ, के दिनुपर्दैन, अनि कसरी बोल्नुपर्छ, कसरी बोल्नुहुँदैन सप्पै जान्दछे ।’ येमाले येहाङलाई भन्यो, ‘यस्ती राम्री बुहारी पाएर कति गर्व लागेको छ।’ येहाङले जुँगा मुसार्दै बोल्यो, ‘कस्को बुहारी हो, त्यो पनि सोच न।’ ‘बाटो पहिल्याउनु नभुली’ भन्ने उखानजस्तै नुमाले एक्लै घरबार, सुँगुर कुखुरा, गाइबस्तु सप्पै थामेको देखेर गाउँलेहरु अचम्म छन् । सप्पैको मुखमा एउटै कुरा थियो, ‘नामजस्तै साँच्चि नुमा त नुमा (लच्छिन) रै’छिन् ।’ सप्पैले मनपराएको देखेर अमुले नुमालाई अङ्गालो हालेर फुक्र्याउँदे भन्यो, ‘नुमा ! मेरो सौभाग्य तिम्रो लोग्ने हुन पाउनु, म कति खुशी छु ।’ परबाट नाक्लिक्के घाँसको भारी बोकेर आउँदै गरेको देखेर लजाउँदै अमुको हात हटाई नुमाले, ‘हो त नि ! मुखले त भन्नै प¥यो..।’ नाक्लिकेको नाम मात्रै नाक्लिके, मान्छे त खाइलाग्दो । कालो वर्णको भए पनि सुहाउँदिलो । येहाङको घरमा सानो हुँदै आएको काम गर्न । यो घरले नाक्लिकेलाई विश्वास र माया बराबर गरेको छ । [ चार ] विहे भएको पनि चार–पाँच वर्ष भइसक्यो । नुमा कोठामा एक्लै सुँक्सुँकाइरहेकी छिन् । यसरी नुमाको जीवनमा रोदनले छोएको दुई वर्ष हुनलाग्यो । ‘ए बस्नलाई गुँड छैन, उडिजाउँ प्वाँख छैन । आँशुको धारामा बस्ने कतिन्जेल हो !’ नुमा विलौना गर्छिन् । भावीको लेखालाई पनि के भन्न सकिन्छ र ? पहिले पहिले सप्पैले मन पराएका नुमाको  आजकल कुरामात्र काट्छन् । बच्ना नजन्माउने, बाँझी, अभागिनी, कुरुप, नानाभाती गाली गर्छन्– नुमालाई । आज पनि यसरी नै गाली गरे । विहानै पानी भर्न धारामा जाँदा माथ्लो घरकी नाहाङ्मा र उसकी साथी मिक्कीले उसको बारेमा कुरा लगाइहाले । अमु शौचबाट आएर सोध्यो, ‘होइन के भयो ?’ गाउँलेले त कुरा काटे–काटे, अब त हाम्रा आमाबुबाले पनि कुरा काट्न थाले । आज मिक्की र नाहाङ्माले पँधेरामा भनेको अब मेरो सौता हाल्न लगाउने रे तिमीलाई’ आँशु पुछ्दै कुरा खोलिन् नुमाले । ‘बोल्न देऊ न बोल्नेलाई…’ अमुले भन्यो । ‘के गर्ने त ? मैले पनि नामिन्ना कामीको छोरोलाई देख्दा हाम्रो पनि सन्तान हुँदा त कति राम्रो हुन्थ्यो जस्तो लाग्छ । तर हाम्रो सन्तान नै….।’ फेरि आँशु झारिन् नुमाले । ‘सप्पै गर्न जति गरिसकियो । सन्तान माग्न पाथिभरा गयौँ, अम्बेपजम गयौँन कि, कुम्मायाक कुस्सायकको पूजा गरेनौँ कि, कहाँ पुगेनौँ । मन नदुखाऊ तिमी, एकदिन त हाम्रो सन्तान हुन्छ होला नि !’ अमुले श्रीमीतलाई फकायो । ‘लगनमा त युप्पारुङ दिँदै मुन्धुमको कसम खाए– बुहारी तिमीलाई नराम्री भन्यौँ भने हाम्रो आँखा फुट्ने गरी हिर्काउनु, अनि त्यस्तै के के के के भनेर । तर आज वाचाकसम हरायो ।’ नुमाले सोच्दै गई, ‘वाचा भनेको यस्तै हुन्छ ? मन पर्दा खाने मननपर्दा ओकल्ने ?’ ‘छि ः मनमा पनि के के आउँछ आउँछ !’ यसरी सोच्दैबस्दा नामिन्ना कामीको छोरा च्याँच्याँ रोएको सुनी, ‘मेरो पनि बच्चा भए त …’ ‘नुमा…’ नुमाको कुम हल्लाउँदै अमुले बोलायो । ‘के हो…’ नओभाएका आँशु पुछ्दै कपाल बाँधी नुमालो । त्यतिखेर साथी नेभोःन्जीको कुरा झट्ट सम्झना आयो, ‘साँच्ची नेभोन्जीले मलाई भनेकी थिई, ‘बच्चा पाउनु नपाउनुमा त छोरा मान्छेको पो धेरै हात हुन्छ । कि अमु बच्चा नहुने छोरोमान्छे पो हो कि ।’ अमु  सशङ्कित भयो । [ पाँच ] एक दिन, दुई दिन, एक महिना दुई महिना हुँदै फेरि वर्ष दिन बित्यो । दुई तीन वर्षयता तुवाँलोले छोपिएको नुमाको अनुहार आजकल निक्कै उज्यालिएको छ । अमुले उज्यालो अनुहार देखेर नुमालाई जिस्क्यायो, ‘आजकाल आकाश निकै खुलेको छ । घाम पो लाग्छ कि ’ नुमाले अनुहार झन् उज्यालो पारेर जवाफ फर्काइन्, ‘कति झरीमात्र परोस् त ! मन भए उपाय छ भन्छन् । उज्यालो मनले चेहरा उज्यालिएको नि त ।’ आजभोलि नुमाको अनुहारमा हल्कापन र ठूलो सन्तुष्टि देखिन्छ । सबैसँग एकदम हाँसिखुशी छे । यी सबै उसका व्यबहारमा प्रकट हुन्छन् । पहिलेको जस्तै काममा स्फूर्तता ल्याउन थालेकी छिन् । त्यतिमात्र होइन, फरासिली पनि भएकी छिन् । यो देखेर सासुससुरा सप्पै छक्क परेका छन् । नुमाको खुशीयालीसँगै अर्काे कुरा पनि देखिन थालेको छ, त्यो हो काक्लिके सधैँको जस्तो बोल्न छोडेको छ । ऊ त नुमाको अघि नै पर्न छोडेको छ । घरको माथिल्लो तलामा चढ्दै चढ्दैन, मुनि मात्र बस्छ । आज नुमा गर्भवती भएको एक महिना पुगेर दस दिन पुग्यो । उसको पाठेघरमा भ्रुण बसेजस्तो छ । आज त झन् नुमाको खुशीको सीमा नै छैन । समसाँझमै नुमाले मज्जाले खाना बनाइन्, सप्पै कामधन्दा एकशासमा गरिसकिन् । घरमा सबैजना जम्मा भए । येमाले नुमालाई अ¥हाइन्, ‘खाना पस्क ।’ नुमाले खाना पस्किदिइन् सबैजनालाई । भाँडाकुँडा धोइपखाली सकिन्, कुचो लगाइन्, भोलिपल्टका लागि खरानीमा अगुल्टा घुसारेर चुल्होमा आगोको जगेडा गरिन् । यो बेलासम्ममा सप्पैजना आ–आफ्ना विस्तारामा सुत्न पुगिसकेका थिए । नुमा अमु र आफ्नो ओछ्यानमा पुगेर अमुलाई भन्यो, ‘सुन न, एउटा कुरा भनुँ ?’ पुस्तक पढिरहेको अमुको आँखा पुस्तकमै एकाग्र थियो, ‘भन…’ ‘अहँ, भन्दिन, तिमी मतिर हेर्दैहेर्दैनौ ।’ नुमा अर्कोपट्टि फर्की । पुस्तक बन्द गर्दै अमु बोल्यो, ‘नरिसाउ न’ अमुले नुमाको अनुहारमा आफ्नो अनुहार खप्टायो । लजाउँदै नुमा बोलिन्, ‘नाइ भन्दिनँ…।’ ‘नभन्ने भए म पनि तिमीसँग बोल्दिनँ ।’ अमुले घुर्की देखायो । त्यसपछि नुमाले बल्ल कुरा खोलिन्, ‘अब तिमी बुबा हुँदैछौ ।’ ‘कसो रे ! म बुबा हुँदैछु ?’ खुशीले थामिनै नसकी बोल्यो अमु, ‘कसरी पो नुमा !’ नुमाले जिब्रोको टुप्पाबाट फुत्किन आँटेको कुरा फुत्काइहाली, ‘म गर्भवती भएको एक महिना र दसदिन पुग्यो । सधैँ त महिनादिनमा मेरो महिनावारी हुन्थ्यो, कसम होला म आमा हुँदैछु ।’ दुवैजना असीम खुशीले पुरिए । त्यतिकै त्यतिकै भुसुक्कै निदाइगए । ********************** पूर्वी आकाशमा शुक्रतारा उदायो । नीलो आकाशमा ताराहरु अस्ताएका थिएनन् । परेवाहरु घुर्रर्घुर घुरघुराउँदै गीत गाइरहेका थिए । फेरि भाले दुई पटक बास्यो । भाले बासेको आवाज र परेवाको गीतले नुमा ब्यूँझी । यसो कोल्टे फेरि । नुमालाई एक्कासि सारी चिसो चिसो भएजस्तो भयो । यसो छोएको त साँच्चै फेरि महिनावारी भएछ । विश्वास नै गर्न सकिनन् नुमाले । उनको मनमा भूइँचालो गयो । नुमाको आमा हुने स्वप्न महिनावारिसँगै तुहिएर गयो । आँखामा अन्धकार छायो । चिच्याइन्, ‘नाइ….के हो…’ बच्चा पाउनै पर्ने बाध्यताले अमुको विश्वासलाई आगो लगाएर खेतको गोठमा नाक्लिकेसँग लुकीछिपी यौनसंसर्ग गरेको घटनालाई सम्झि र एकोहोरो रुन थालिन् । नुमाका रुवाइले अमु ब्यूँझियो । नुमालाई सम्हाल्दै सोध्यो, किन रुँदैछौ, के भयो र ??’ नुमा नाजवाफ भइन् । आमा हुने रहरले नाक्लिेकसँग कूकर्म गरेको घटना सम्झिदै आफ्नो तिघ्रा हिर्काउँदै अचाक्ली रोइमात्र रही । नुमाको रुवाइले परेवाहरुको गीत बन्द भयो । घरका अरु मानिसहरुको निद्रा पनि भङ्ग भयो । ‘खेतको घटना थाहा पाएर अमुले नुमालाई चुटेजस्तो छ, मैले गर्दा मात्र होइन क्यारे, उसले नै अँठ्याएर त्यस्तो भएको हो, तर पनि…।’ डरले नाक्लिकेको हंश उडिसकेको थियो । डरले ऊ घरबाट टाप दिन खोज्दैछ । यता नुमा आफू कि अमु हो निःसन्तानका जिम्मेदार, छुट्याउनै असमर्थ छे । यसबेलासम्ममा घरका सप्पैजना नुमाको अघि जम्मा भइसकेका थिए । हुँ कि हुँ रुँदै नुमा यसपल्टचाहिँ बोलिन् ‘हाम्रो प्रेमसंसारमा मैले नै आगो लगाएछु । अब कहाँ मरिजाऊँ म…’ अमु, आमा, बुबा, इक्सा कसैलाई पनि गाँठी कुरा थाहा थिएन तर नुमा चाहिँ झन् झन् डाँको छोडेर रोई रहेकी थिइन् । (लिम्बू कथा संग्रह “लेमेबा नसान याक्थुङ” कथाबाट स्व.स्वप्निल स्मृतिद्वारा अनूदित) साहित्य संग्रहबाट साभार  

चर्चित अभिनेता कादर खान अस्पतालमा भर्ना

एजेन्सी – बलिउडका चर्चित अभिनेता तथा हास्यकलाकार कादर खान अस्पतालमा भर्ना छन् ।भ ८१ वर्षका अभिनेता कादर खानको प्रोग्रेसिव सुप्रान्यूक्लियर पाल्सी डिसअर्डरका कारण दिमागबाट संचालित हुने गतिविधिसमेत प्रभावित छ । आफ्ना छोरा–बुहारी सरफराज र शाइस्तासँग थुप्रै वर्षदेखि क्यानडामा बसिरहेका कादर खानलाइ डाक्टरको एक समूहले स्वास्थ्यमा लगातार हेरबिचार गरिरहेका थिए । उनलाई एक्कासी सास फेर्न समस्या भएका कारण बाइपेप भेन्टिलेटरमा राखिएको छ ।उनमा निमोनियाको लक्षण देखिएको र उनको स्थिती अत्यन्तै नाजुक रहेको बताइएको छ ।

सुमार्गीको ८४ कराेड वैदेशिक लगानी रकम सर्वोच्चद्वारा फुकुवा, सिजिलाई फाइसेन्स

काठमाडौँ — राष्ट्र बैंकले स्रोत नखुलेको भनी रोक्का राखिदिएको व्यापारी अजेयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम सर्वोच्च अदालतले खोलिदिएको छ । याे खबर अाजकाे कान्तिपुर दैनिकमा प्रकाशित छ । उक्त रकम नरोक्न भन्दै सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो । न्यायाधीश दीपकराज जोशीको मंगलबारको एकल इजलासले ‘सुविधा र सन्तुलन’ को कारण देखाई पुस २४ गतेसम्म खाता सञ्चालनमा अवरोध नगर्न भनेको हो । सर्वोच्चको यो आदेशपछि सुमार्गीको करिब ८४ करोड (७.५ मिलियन अमेरिकी डलर) रुपैयाँ फुकुवा भएको छ । ‘उद्योगको खातामा रहेको रकम उसको आवश्यकता र समयतालिकाबमोजिम माग गरेका बखत भुक्तानी दिनू, दिलाउनू र सोसम्बन्धी खाता सञ्चालनमा अर्को आदेश नभएसम्म कुनै अवरोध नगर्नू नगराउनू’ आदेशमा भनिएको छ । यो आदेशअनुसार मुद्दामा पुन: छलफल हुने भए पनि रकम खोलिसकेकाले त्यसको खासैअर्थ नहुने कानुनविद्हरूको भनाइ छ । यसअघि पनि सुमार्गीको अर्को कम्पनी नेपाल स्याटेलाइट टेलिकमका नाममा रोक्का रहेको करिब २ अर्ब २० करोड रुपैयाँ रकम सर्वोच्चको अन्तरिम आदेशबाटै फुकुवा भइसकेको छ । अन्तरिम आदेशबाट रकम फुकुवा गरेको सर्वोच्चले मुद्दाको विस्तृत सुनुवाइ र फैसलामा भने तदारुकता देखाएको छैन । अब सुमार्गीका कम्पनीहरूमा आएको विदेशी लगानी पूरै फुकुवा भएको छ । मुक्तिश्रीको रोकिएको रकम फुकुवा गर्न नेपाल राष्ट्र बैंकलाई समेत विपक्षी बनाई कम्पनीका तर्फबाट लोकबहादुर अधिकारीले रिट निवेदन दर्ता गराएका थिए । सुमार्गीका कम्पनीमा आएको उक्त रकमको स्रोत नखुलेको र आवश्यक कागजात पेस नभएको भन्दै राष्ट्र बैंकले करिब ४ वर्षदेखि बैंकको खातामै रकम रोकिदिएको थियो । सुमार्गीका कम्पनीमा विदेशबाट ल्याइसकेको करिब १२ अर्ब रुपैयाँ र ल्याउन लागिएको रकम अवैध भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विस्तृत छानबिन गरिरहेको छ । विस्तृत अनुसन्धानका लागि ५ अधिकृतहरू तोकिएका छन् । डलर खातामा रहेको रकम नेपाली रुपैयाँमा सार्न खोज्दा बैंकले खाता हाललाई यथास्थितिमा राखिएको भन्ने जानकारी गराएको दाबी कम्पनीको छ । त्यस क्रममै बैंकले ‘राष्ट्र बैंकबाट आवश्यक निर्देशनका लागि अनुरोध गरेकामा निर्देशन नपाएकाले खातामा रहेको रकम यस बैंकमा रहने गराएको’ भनी उल्लेख छ । खातामा रहेको रकम अनिश्चितकालसम्म यथास्थितिमा रहने तर त्यसको कारण नखुलेको भन्दै कम्पनीले अन्तरिम आदेश दिई रकम निकाल्न पाउन माग गरेको थियो । कम्पनीले लगानी बोर्डबाट रकम फिर्ता गर्न सक्ने व्यवस्था भए पनि ल्याउन नदिने काम गरेको आरोप लगाएको छ । कर्जामा ऋण ल्याउनेकै हक हुने भन्दै त्यसलाई रोक्नु बैंकिङ कानुनविपरीत हुने उसको दाबी छ । रिट निवेदनमा कतै पनि सम्पत्तिको स्रोतमाथिको वैधता, त्यसमा छानबिन एवं सम्पत्ति शुद्धीकरणको विषयवस्तुका कारण छानबिनले गर्दा रकम बैंकमा रोकिएको विषयवस्तु उल्लेख छैन । मुद्दाको अन्तिम किनारा लगाउने क्रममा जारी हुनुपर्ने प्रकृतिको आदेश अन्तरिम आदेशमै व्याख्या गरेर विधिशास्त्रीय मान्यता लत्याएको भनी यस प्रकृतिका आदेशको चर्को आलोचना हुने गरेको छ । सुमार्गीका कम्पनीमा कर छली गर्ने भनेर चर्चित टयाक्स हेवन मुलुक ब्रिटिस भर्जिन आइल्यान्ड्सबाट आएको हो । ब्रिटिस भर्जिन आइल्याडन्सको जोधार इन्भेस्टमेन्टलगायत विभिन्न कम्पनीबाट सुमार्गीका कम्पनीमा लगानी ल्याइएको हो । सीजीलाई लाइसेन्स दिनू सर्वोच्च अदालतले चौधरी ग्रुपको सीजी कम्युनिकेसन प्रालिले पाएको आधारभूत टेलिफोन सेवा सञ्चालन अनुमतिपत्रको कार्यान्वयन नरोक्न अन्तरिम आदेशजारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको मंगलबारको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । ‘सीजीलाई आधारभूत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमति प्राप्त गरेको देखिँदा उक्त अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यक पर्ने कुनै कार्य गर्न नरोक्नू, रोक्न नलगाउनू तथा निजलाई कुनै बाधा अवरोध नगर्नू नगराउनू,’ आदेशमा भनिएकोछ । पूर्वाधार नपुगेको भन्दै सीजीलाई प्राधिकरणले आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमति दिएको छैन । दूरसञ्चार ऐन २०५३ अनुसार दूरसञ्चार सेवा सञ्चालनअनुमति दिने निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सीजीलाई आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमतिपत्र नदिएको जनाएको छ । ‘सीजीले आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमतिपत्र लिन निवेदन दिएको छ, अनुमति जारी भइसकेको छैन,’ प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘सर्वोच्च अदालतको आदेश हामीकहाँ आइनसकेकाले यसबारे थप टिप्पणी गर्न मिल्दैन ।’ प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकाश लिनुभन्दा चार दिनअघि पेसी व्यवस्थापन गरी एकपक्षीय सुनुवाइका आधारमा दूरसञ्चार बजारमा महत्त्वपूर्ण अर्थ राख्ने मुद्दाको सुनुवाइ गरी अन्तरिम आदेश भएको हो । परमादेश जारी हुन दिनुपर्ने आदेश एकपक्षीय सुनुवाइका आधारमा दिइएको भन्दै अदालतका कतिपय आदेशको चर्को आलोचना हुने गरेको छ । एकपक्षीय सुनुवाइकै आधारमा निवेदकको अन्तिम किनारा नलागेसम्म अन्तरिम आदेशलाई निरन्तरता दिनु न्यायको मान्य सिद्धान्त विपरीतसमेत हो । यो आदेशलगत्तै सीजी टेलिकमले एक विज्ञप्ति जारी गर्दै मोबाइल सेवा सञ्चालनका लागि द्रुतगतिमा काम अगाडि बढाउने जनाएको छ । ‘सीजी मोबाइल फोरजी प्रविधिमा आधारित हुनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीले हाल नेपाली बजारमा उपलब्ध मोबाइल सेवा गुणस्तरको तुलनामा उच्च गुणस्तरको भ्वाइस र डाटा अत्यधिक सस्तो दरमा उपलब्ध गराउनेछ ।’ मोबाइल सेवा सञ्चालनका लागि तयारी अवस्थामा रहेको पनि जनाएको छ । ‘सर्वोच्च अदालतबाट आदेश आइसकेकाले मोबाइल सेवा सञ्चालनका लागि द्रुतगतिमा काम अगाडि बढाउँछौँ,’ चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले विज्ञप्तिमार्फत भने, ‘अदालतको आदेशलाई हामी उच्च सम्मान गर्छाैं र सम्बन्धित निकायहरूले पनि आदेशलाई सम्मान गर्दै स्वस्थ प्रतिस्पर्धी वातावरणमा सीजी मोबाइल सेवा सञ्चालनका लागि कर्तव्य पूरा गर्नेछन् भन्ने विश्वास छ ।’ सर्वोच्च अदालतले अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यक पर्ने खरिद, जडान तथा सो सम्बन्धमा आवश्यक पर्ने थप लगानीका लागि आवश्यकताअनुसार अनुमति दिनु, दिलाउनु भनी आदेशसमेत दिएको छ । ‘अनुमतिपत्र सञ्चालनमा ल्याउन आवश्यक पर्ने अन्य सेवा प्रदायक सरह समान हक स्थापित गर्न आवश्यक फ्रिक्वेन्सी वितरण गर्न कानुनबमोजिम जो जे कर्तव्य पूरा गर्नुपर्ने हो, गर्नू गराउनू’ अदालतको आदेशमा भनिएको छ, ‘निवेदकको फ्रिक्वेन्सी प्राप्त गर्ने हकलाई वञ्चित गर्ने गरी लिलाम बढाबढको सूचना निवेदकको अन्तिम किनारा नभएसम्म कार्यान्वयन नगर्नू ।’ दूरसञ्चार प्राधिकरणले ९ सय, १८ सय र २१ सय मेगाहर्ज ब्यान्डमा बाँकी रहेका फ्रिक्वेन्सी लिलाम बढाबढमा बिक्री गर्न सार्वजनिक सूचना प्रकाशित गरेको थियो । उक्त सूचना प्रकाशित भए लगत्तै सीजीले सर्वोच्चमा मुद्दा दायर गरेको थियो । यी तीन ब्यान्डमा बाँकी रहेका फ्रिक्वेन्सीको लिलाम बढाबढमा नियमअनुसार नेपाल टेलिकम र एनसेल मात्रै सहभागी हुन पाउँथे । सर्वोच्चले यो मुद्दा किनारा नलागुन्जेलसम्म फ्रिक्वेन्सी लिलाम बढाबढको प्रक्रिया रोक्न आदेश दिएको छ । फ्रिक्वेन्सी लिलाम बढाबढ भए यी ब्यान्डमा रहेका फ्रिक्वेन्सी अरू कम्पनीले लिने र आफूले अनुमतिपत्र पाए पनि मोबाइल सेवा सञ्चालनका लागि फ्रिक्वेन्सी नपाउने भन्दै सीजीले मुद्दा दायर गरेको थियो । २०६९ सालमा प्राधिकरणमा आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि निवेदन दिएको सीजीले उक्त सेवाका लागि अनुमतिपत्र पाएको छैन । सरकारले २०६९ जेठ १ गते राजपत्रमा सूचना प्रकाशित गर्दै आधारभूत टेलिफोन सेवा सञ्चालनको अवधारणा ल्याएको हो । आधारभूत टेलिफोन सेवाअन्तर्गत आन्तरिक, अन्तरदेशीय, अन्तर्राष्ट्रिय र मोबाइल सेवा पर्छ । यस्तो सेवाको अनुमतिपत्र लिएबापत ३५ करोड ७५ लाख रुपैयाँ अनुमतिपत्र दस्तुर बुझाउनुपर्ने सूचनामा उल्लेख गरिएको छ । १० वर्षका लागि हुने अनुमतिको नवीकरण दस्तुर २० अर्ब १३ करोड २७ लाख ५० हजार रुपैयाँ हुने सूचनामा जनाइएको छ । सूचनामा आधारभूत टेलिफोन सेवा अनुमति लिन कुनै दूरसञ्चार सेवाको अनुमति प्राप्त गरिसकेको हुनुपर्ने भन्दै सर्तसमेत राखिएको थियो । यसका लागि निश्चित क्षेत्रमा सीमित ताररहित दूरसञ्चार सेवा, ग्रामीण दूरसञ्चार सेवा वा आधारभूत दूरसञ्चार सेवा प्राप्त गरेको कम्पनी हुनुपर्ने सर्त राखिएको थियो । सीजीले तत्कालीन अवस्थामा ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र पाएको थियो । सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनामा आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त गर्न सम्बन्धित जिल्लाका प्रत्येक इलाकामा एउटा एक्सचेन्ज वा बीटीएस स्थापना गरेको हुनुपर्ने सर्त राखिएको थियो । सीजीले पूर्वाञ्चलका ५ सय ३४ गाविसमा ग्रामीण दूरसञ्चार सेवाका लागि अनुमतिपत्र पाए पनि सबै इलाकामा पूर्वाधार तयार पारिसकेको थिएन । उसले भिस्याट प्रविधिबाट सेवा सञ्चालनका लागि २०६० मंसिर १७ मा अनुमतिपत्र पाएको थियो । आधारभूत टेलिफोन सेवा अनुमति दिनका लागि प्राधिकरणले आहान गरेको सूचनाअनुसार सीजीसहित युनाइटेड टेलिकम लिमिटेड, स्मार्ट टेलिकमले पनि अनुमतिपत्रका लागि निवेदन दिएका थिए । राजपत्रमा प्रकाशित सूचनाको सर्तअनुसार स्मार्ट र यूटीएलले आधारभूत टेलिफोन सेवा सञ्चालनको अनुमति पाए पनि सीजीले पाएको थिएन । २०७४ जेठ १५ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा बसेको मन्त्रिपरिषद बैठकले आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त गर्न आवश्यक पर्ने सर्तलाई खुकुलो पारिदियो । उक्त निर्णयअनुसार ग्रामीण दूरसञ्चार सेवा सञ्चालनका लागि अनुमतिपत्र पाएको कम्पनीले हरेक इलाकामा कम्तीमा एक पूर्वाधार नभए पनि अनुमतिपत्र पाउने र अनुमतिपत्र पाएपछि पूर्वाधार स्थापना गर्न मिल्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा गत फागुनमा सीजीले प्राधिकरणमा अनुमतिपत्र प्राप्त गर्न आफ्नो कार्ययोजनासमेत पेस गरेको थियो तर प्राधिकरणले हालसम्म सीजीलाई अनुमतिपत्र दिएको छैन । सीजीले दूरसञ्चार प्राधिकरणलाई फ्रिक्वेन्सीबापत २३ करोड ४३ लाख ३७ हजार बुझाउन बाँकी छ । गत वर्ष माघ २२ गते मन्त्रिपरिषद्ले सीजीलाई प्राधिकरणलाई बुझाउनुपर्ने रकम ५ किस्तामा बुझाउने स्वीकृति दिएको थियो । उक्त बेलामा सीजीले प्राधिकरणलाई बुझाउनुपर्ने रकम २९ करोड २९ लाख थियो । मन्त्रिपरिषदको निर्णयलगत्तै सीजीले पहिलो किस्ताबापत ५ करोड ९८ लाख बुझाएको थियो । यो वर्षको सीजीले माघ मसान्तभित्र बुझाइसक्नुपर्छ । ‘हामी सरकारले दिएको समयतालिकाअनुसार रकम बुझाउँछौँ । आगामी माघ मसान्तभित्रै दोस्रो किस्ता बुझाउने तयारीमा हामी छौँ,’ चौधरी गु्रपका प्रवक्ता पौडेलले भने ।i

नेपालमा उत्पादित विद्युत् भारत, बंगलादेशलगायत जुनसुकै देशमा बिक्री गर्न बाटो खुल्योः प्रचण्ड

चितवन, पुष १० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल ‘ल्याण्डलकबाट ल्याण्डलिङ्क कन्ट्री’ भएको बताएका छन् । भरतपुर महानगरपालिका–२३ स्थित लक्ष्मी माध्यमिक विद्यालय जगतपुरको स्वर्ण महोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले सरकारले भारत र चीनसँग सम्बन्ध सुधार गरी भएका सहमतिबाट नेपाल ल्याण्डलिङ्क हुन सफल भएको बताए । भारत सरकारसँग सोमबार मात्रै विद्युतसँग सम्बन्धित महत्वपूर्ण सहमति भएको बताउँदै उनले भने “सहमतिले विगतको परिस्थितिलाई नेपाल राष्ट्र र नेपाली जनताको पक्षमा सकारात्मक प्रगति गराएको छ ।” भारत सरकार र भारतीय कम्पनीहरुले लगानी गरेर उत्पादन गरेको विद्युत् मात्रै भारतले किन्ने भन्ने विगतमा भएको भए पनि अब नेपालमा उत्पादित जुनसुकै विद्युत् पनि भारत बङ्गलादेशलगायत जुनसुकै देशमा बिक्री गर्न बाटो खुलेको उनले बताए । भारतको बाटो हुँदै नेपाल प्रवेश गर्दा वीरगञ्ज र सीमराबाट मात्रै हवाई मार्गबाट आउनुपर्ने अवस्थाको अन्त्य भएको भन्दै उनले भने “जुनसुकै बाटो हुँदै नेपाल प्रवेश गर्ने सैद्धान्तिक सहमति भएको छ ।” चाहे जल मार्ग होस् या रेलमार्ग होस् नयाँ सहमति नेपाली जनताको पक्षमा भएको उनले बताए। चीन सरकारसँग भएका केही महत्वपूर्ण वाणिज्य र व्यापारसँग सम्बन्धित सम्झौताहरु भएको बताउँदै उनले भने “जसले नेपाललाई अहिले ल्याण्डलक कन्ट्रीबाट एउटा ल्याण्डलिङ्क कन्ट्री बनाएको छ ।” संविधानले शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक अधिकारको रुपमा व्यवस्था गरेको भन्दै उनले जीवन व्यवहारमा कार्यान्वयन गर्न नसकिएको बताए । कसैले शिक्षा, स्वास्थ्य र रोजगारी नपाएकै कारण अदालतमा मुद्दा दिन पाउने बताउँदै उनले भने “नयाँ संविधानअनुसार अदालतले बेरोजगारी, उपचार र रोजगारीको पक्षमा फैसला दिन्छ ।” राजधानीमा दुई ठूला पार्टीका भिन्न बैठकले पनि संविधान कार्यान्वयन, विकास र समृद्धिका पक्षमा वकालत गरेको उनले बताए । नेपाल कम्युनिष्ट पार्टीको जारी बैंठक र नेपाली काङ्ग्रेसको महासमिति बैठक दुवैको मुख्य एजेण्डा समृद्धि रहेको उनले बताए । उनले चितवनको विकासका लागि आफू लागिपरेको भन्दै नारायणी र राप्तीमा मेस जालीसहितको रिङरोड निर्माणका लागि प्रधानमन्त्रीसँग छलफल गरी विस्तृत अध्ययनको प्रक्रिया अगाडि बढेको बताए ।

मलेसियामा रविको व्यापक प्रचार [फोटोफिचर]

काठमाडौं, पुष १ । नेपाल आइडल सिजन–२ को ‘फाइनल’ मा पुग्न सफल रवि ओडलाई विजयी बनाउन मलेसियामा उनका समर्थकले व्यापक प्रचारप्रसार गरिरहेका छन् । त्यहाँ नेपालीहरुको सबैभन्दा बढी भीडभाड हुने स्थानमा रविको व्यापक प्रचार–प्रसार भइरहेको हो । यो प्रचारको नेतृत्व मलेसियामा रहेको ‘रबि जिताउ बिशाल अभियान’ले गरिरहेको छ । अभियानले त्यहाँका विभिन्न स्थानमा रविका सयौं तस्बिरहरु टाँसिएका छन् । आज (आइतबार) समर्थकले मलेशियाको जोहोर बारुमा हजारौंको संख्यामा उपस्थित भएर रबिको लागि भोट आह्वान गरिएको छ । रबिलाई भोट गर्न मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ ।  यो पटक भोटिङ बिहीबार रातिबजेबाट खुल्ला  भएकाे छ र एक हप्तासम्म भोट गर्न सक्नु हुनेछ ।  देश तथा विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरेर पनि भोट  गर्न सकिन्छ ।