ताप्लेजुङमा जीप दुर्घटना, एकको मृत्यु
काठमाडौं, माघ १, २०७३ मेची राजमार्ग अन्तर्गत ताप्लेजुङको लालीखर्कमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ । सात जना घाइते भएका छन् । दुर्घटनामा परी ताप्लेजुङ लिवाङ–८ की ५० वर्षीया नैनकला कार्कीको मृत्यु भएको हो । गम्भीर घाइते उनको उपचारका लागि झापा लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । ताप्लेजुङबाट झापा जादै गरेको मे १ ज २५४६ नम्बरको जीप फिदिम– ३ लालीखर्कमा सडकबाट चिप्लिएर खसेको थियो । चालक सहित सातजना घाइतेको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।
केसी महासेनानीमा बढुवा
काठमाडौं, पुष १४ । बिहिबार बसेको मन्त्रीपरिषदकाे बैठकले प्रमूख सेनानी रबिन्द्र केसीलाई महासेनानीमा बढुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बिहीबार बिहान बसेको बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने २ अरब रुपैया अनुदान स्वीकृत गर्दै त्यसलाई शिक्षाको क्षेत्रमा लगानी गर्ने निर्णय गरेको छ । बैठकले माथिल्लो त्रिशूली ‘ए’ जलविद्युत् परियोजनाको ड्यामसाइड मर्मतका लागि ६१ करोड १८ लाख बजेट बिनियोजन गरेको छ । पोखरा सुधार खानेपानी सुधार आयोजनाका निम्ति रु. ४ अरब ४३ करोड बजेट बिनियोजन गरेको छ । बैठकले कार्य स्थानमा काम गर्ने मजदूरहरुमा ध्वनी र प्रकाशको प्रदुषणलाई मध्यनजर गरेर त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्ने, ६ वर्षदेखि नेपाली आकाशको स्याट्लाइटको भुक्तान गर्न बाँकी बक्यौता रकम त्रिसठ्ठी हजार सात सय डलर भुक्तानी गर्ने निर्णय गरेको छ । बैठकले प्रेस काउन्सिलको सदस्यमा नबलकिशोर यादव र संगीता खड्कालाई नियुक्त गरेको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।
मिले मोहनविक्रम बैद्य र विप्लव माअाेवादी, आन्दोलनको घोषणा !
काठमाडौं, पुस १ । माओवादीका गुरु मोहनविक्रमसिंहसँग बैद्य मोओवादी र विप्लव माओवादीले कार्यगत एकता भएको घोषणा गरेका छन् । शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी उनीहरुले माेहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, क्रान्तिकारी माओवादी र नेकपा (माओवादी)ले आन्दोलन अघि बढाउने घोषणा गरेका हुन् । माेहन विक्रम सिंह, माेहन बैद्य ‘किरण’ र नेत्र विक्रम चन्द ‘विप्लव’ माअाेवादीले कार्यगत एकता गरेको घाेषणा गरेका हुन् । किरण माेहन विक्रमका सहकर्मी हुन भने विप्लव सिंहकै स्कुलिङमा हुर्केका हुन् । उनी माअाेवादी जनयुद्धमा पश्चिम कमाण्डमा सफल थिए । माअाेवादीले सञ्चालन गरेको जनयुद्धलाई सिंहले अराजकताकाे सज्ञा दिने गर्दथे । प्रचण्ड नेतृत्वको एमाअाेवादीमा विभाजन भई वैद्य नेतृत्वको नेकपा-माअाेवादी बनेकाे थियाे । त्यसबाट पनि विप्लव दुई वर्ष अघि अलग्गिएका थिए । भने भर्खरै रामबहादुर नेतृत्वमा ठूलाे केन्द्रीय सदस्य प्रचण्ड नेतृत्वको एमाअाेवादीमा एकता भई माअाेवादी केन्द्र बनिसकेकाे छ । प्रचण्ड प्रधानमन्त्री भएका बेला भएकाे तीन पार्टीकाे कार्यगत एकतालाई महत्वपूर्ण मानिएको छ । भारतीय विस्तारवादकातर्फबाट राष्टियतामाथिको आक्रमणविरुद्ध कार्यगत एकता गरी संयुक्त रुपमा संघर्षको कार्यक्रम गर्ने निर्णय गरिएको संयुक्त विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तीमा तीनै पार्टीका प्रमुखहरुको हस्ताक्षण गरेका छन् । अक्टोबर क्रान्तिको शतवार्षिकी कार्यक्रम आगामी २०७४ वैशाख ९ गते संयुक्त रुपमा मनाउने तीन नेताले जारी गरेको संयुक्त विज्ञप्तिमा जनाइएको छ ।
इन्जिनमा समस्या आएपछि पाकिस्तानमा विमान दुर्घटना, ४२ को मृत्यु
मंसिर २३ । पाकिस्तानमा भएको विमान दुर्घटनामा त्यसमा रहेका सबै जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको (PIA) PK 661 को विमान इस्लामावादतिर जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो । विमान उत्तरी पहाडमा ठोक्किएर आगो लागेको थियो । विमान दुर्घटना हुनु केही समयअघि मात्रै विमानका पाइलटले कन्ट्रोल रुममा फोन गरेर इन्जिनमा केही समस्या आएकोबारे बताएको अन्तर्राष्ट्रिय एयरलाइन्स पिआइएले जनाएको छ । दुर्घटनामा विमानमा रहेको ४२ यात्रु र चालक दलका ६ सदस्य गरी ४८ जनाको ज्यान गएको ज्यान गएको छ । दुर्घटनाको थप कारण पत्ता लगाउन अनुसन्धान भइरहेको जनाइएको छ ।
नेपालमा पहिलोपटक कलेजो प्रत्यारोपण
काठमाडौँ, मंसिर २३। नेपालमै कलेजोको सफल प्रत्यारोपण भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुधबार एक किशोरमा कलेजो प्रत्यारोपण गरिएको छ । पहिलोपटक कलेजोको सफल प्रत्यारोपण भएको पुष्टि गरे पनि अस्पतालले विस्तृत जानकारी गराएको छैन । केन्द्रका कार्यकारी निर्देशक डा। पुकारचन्द्र श्रेष्ठले बिहीबार पत्रकार सम्मेलन गरेर मात्र प्रत्यारोपणबारे जानकारी गराइने बताए । ‘हामीलाई मन्त्रालयबाट आधिकारिक रूपमा बोल्न अनुमति छैन,’ उनले बुधबार राति भने, ‘बिहीबार पत्रकार सम्मेलन गरेर आधिकारिक रूपमा भन्छौँ ।’ दक्षिण कोरियाका १४ सहित नेपाली चिकित्सकको टोलीले एक किशोरमा कलेजो प्रत्यारोपण गरेको हो । बुधबार दिउँसो १२ बजेदेखि बेलुकी ८ बजेसम्म ८ घन्टा लगाएर प्रत्यारोपण गरिएको अस्पताल स्रोतले बतायो । करिब ४२ वर्षीया महिलाले बिरामी भाइलाई कलेजो दिएकी हुन् । कोरियाली चिकित्सक डेभिन कोनको नेतृत्वमा भएको कलेजो प्रत्यारोपणमा चार एनएस फिजिसियन, चार सर्जन र ६ नर्स सहभागी थिए । कलेजो रोगका नेपाली विशेषज्ञ चिकित्सक पनि शल्यक्रियामा सहभागी थिए । कलेजो प्रत्यारोपण गर्न नेपालीले विदेश नै जानुपर्ने बाध्यता छ । चिकित्सकहरूका अनुसार भारत, जापान, चीनलगायतका मुलुकमा गएर कलेजो प्रत्यारोपण गर्दा नेपालीले लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यात्मक अवस्था छ । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।
भरतपुरका ४ वटा वडामा ३ किमी मेसजाली निर्माणको कार्य सुरु
चितवन । वन्यजन्तुको उच्च जोखिम रहेको भरतपुरका ४ वटा वडामा मेसजाली निर्माणको कार्य सुरु भएको छ । निर्माण कार्यको शुक्रबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनाको शिलान्यास गरेकी हुन् । भरतपुर वडा नम्बर २३, २४, २७ र २८ मा पर्ने वन्यजन्तु सहज आउन मिल्ने स्थानमा सुरुवाती चरणमा मेषजाली निर्माण काम हुनेछ । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संघ र महानगरको २÷२ करोड गरी रु ४ करोडको परियोजना अन्तर्गत पहिलो चरणमा रु २ करोड ७९ लाखको काम सुरु भएको बताइन् । ‘घटिघटावबाट अब रु १ करोड ८० लाख रुपैयाँ छ,उनले भनिन् ,‘छुटेको स्थानमा तत्काल सर्भे गरी नयाँ टेण्डर खुल्छ । मेषजाली निर्माणले वन्यजन्तुको जोखम अन्त्य हुने विश्वास लिएका छौ।’ प्रमुख दाहालले भरतपुरका वडा नम्बर ११, १२, ८, १३, २२, २३ हुँदै २८ सम्म वन्यजन्तुको जोखिम रहेको बताइन् । यी वडा मध्ये सबैभन्दा उच्च जोखिम रहेको वडाबाट कामको थालनी गरिएको प्रष्ट पारिन् । वन क्षेत्र नजिक भएका वडामा वन्यजन्तुसँगै बाढीको पनि उतिकै जोखिम रहेको भएपनि नारायणी र राप्तीको तटबन्धन निर्माण भएसँगै यहाँको प्रमुख समस्याहरु समधान भएर जाने उल्लेख गरिन्। प्रमुख दाहालले पश्चिम चितवनवासीको माग अनुसार मेघौली विमानस्थलको स्तरोन्तीको कार्य पनि सुरु भइसकेको र विमानस्थलको क्रमिक रुपमा व्यवस्थापनको कार्य अगाडि बढाइने बताइन् । मेसजाली निर्माणको कार्यका लागि ४ वटा वडाको दक्षिणतर्फ जंगलको सिमानामा २ करोड ७९ लाख २ हजार सरचालिस रुपैयाँमा ठेक्का सम्झौता भएको महानगरका वरिष्ठ ईन्जिनियर सन्तोष आचार्यले जानकारी दिए। मानव वन्यजन्तु द्धन्द्ध न्यूनीकरण गर्न चितवन राष्ट्रिय निकुञ्ज र राप्ती नदीसँग जोडिएको खुला क्षेत्रमा पहिलो चरणमा करिब ३ किलोमिटर मेषजाली निर्माण गरिने ईन्जिनियर आचार्यले जानकारी दिए। गोले सनसाईन जेभि सुकेधारा काठमाडौँले २०८१ असार १५ गतेभित्र निर्माण सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको छ ।पश्चिम चितवनका तटिय क्षेत्रसँग जोडिएको वस्तीमा हात्ती, गैँडा, बदेललगायतका जनवारले वर्षेनी ठुलो जनधनको क्षति पुराउदै आएको छ ।
अर्थमन्त्री डा महतले गरे कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षण
कपिलवस्तु । अर्थमन्त्री डा।प्रकाशशरण महतले को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने बताएका छन् । मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री डा.महतले भने ‘कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्छ, तर, रिजल्ट चाहिन्छ । त्यही रिजल्टका आधारमा मूल्यांकन हुन्छ ।’ मन्त्री डा.महतले अनुशासन, पारिदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गरियो भने हामी राजश्वको लक्ष्य नजिक पुग्न सकिने बताए । व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई मध्यनजर राख्न आग्रह गर्नु हुँदै मन्त्री डा. महतले भने, ‘हिजो जे–जे थियो, आज त्यो पाइँदैन । त्यसकारण के के व्यवसाय घट्दैछन् र के के व्यवसाय विकसित हुँदैछन भन्ने कुरातिर ध्यान दिइयो भने आन्तरिक राजश्व बढ्छ ।’ आन्तरिक राजश्व र भन्सारको अन्योन्यश्रित सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने ‘कुन बस्तु कानुनी रुपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्यो भने राजश्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ ।’ अहिले धेरै बस्तुलाई भ्याटको दायरामा ल्याइएको छ, त्यसको अर्थ कारोबार कति भयो, आय कति छ भन्ने पत्ता लगाउँन सकिन्छ । होटल, रेस्टुराजस्ता सेवा व्यवसाय अहिले बढिरहेको छ । नयाँ व्यवसाय दर्ता भएर कति कारोबार गरिरहेका छन् भन्ने कुराको अनुगमन गरिराख्नुपर्छ, करको सिस्टममा जोड्नुपर्छ ।’ मन्त्री डा.महतले अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिए। उनले भने, ‘अनावश्यक कसैलाई दुःख दिनु हुँदैन, आँखा चिम्लिनु पनि हुँदैन । जे जायज छ, त्यो अनिवार्य गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्छ ।’ बाटोघाटो सुविधा भएकाले नयाँ ठाउँमा सम्पूर्ण संरचना निर्माणमा धेरै ठूलो लगानी चाहिन्छ, त्यसकारण नयाँ संरचनामा निर्माण तत्काल सम्भव नभएको मन्त्री डा.महतले स्पष्ट पारे । उनले नयाँ आएका कर्मचारीलाई अनुशासन र पारदर्शितामा ध्यान दिन निर्देशन दिए । नयाँ आएका व्यवसायलाई करको सिस्टममा जोड्ने कि नजोड्ने भन्ने परम्परा भेटिएको स्मरण गर्नुहुँदै मन्त्री डा.महतले भने, ‘नयाँ व्यवसायीलाई करको सिस्टममा जोड्नुपर्छ ।’
कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न अध्यक्ष प्रचण्डको निर्देशन
काठमाडौं। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा उनले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताएका हुन् । चालु अधिवेशनमा महत्वपूर्ण कानुन संसद्मा पेस गर्ने सरकारले तयारी गरेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले कानुन निर्माणमा सक्रिय भूमिका खेल्न सांसदहरुलाई आग्रह गरेको माओवादी केन्द्रका एक सांसदले जानकारी दिए । बैठकमा संसदीय मैत्री समूह गठन, आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्माण, १६औँ आवधिक योजना, संसद्को कार्यतालिका, संसद् र समितिका बैठकबारे पनि छलफल भएको थियो ।
७७ वर्षका माओवादी नेता दिनानाथ शर्मा टियुमा पढ्दै
काठमाडौं, २२ माघ । माओवादी केन्द्रका पाका नेता दिनानाथ शर्मा आज देखि स्नोकोत्तर तह प्रथम वर्षको विद्यार्थीको रुपमा त्रिभुवन विश्वविद्यालयमा अध्ययन सुरु गरेका छन् । तीस वर्ष शिक्षण पेशामा र झण्डै आधा शताब्दी राजनीतिमा विताइसकेका शर्मा त्रिभुवन विश्वविद्यालयको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत बौद्ध अध्ययन केन्द्रीय विभागका विद्यार्थीका रुपमा अध्ययन सुरु गरेका हुन् । बौद्ध अध्ययन केन्द्र केन्द्रीय विभागकी विभागीय प्रमुख डा. चन्द्रकला घिमिरेका अनुसार सोमबार बिहान सात बजे देखि सुरु भएको स्नातकोत्तर तह प्रथम सेमेस्टरको अभिमुखिकरण कार्यक्रममा माओवादीका पाका नेता दिनानाथ शर्मा आफ्ना करिब दुई दर्जन सहपाठी सँगै कक्षा कोठामा सहभागी भएका छन् । आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पाका नेता शर्माले आफु आज देखि औपचारिक विद्यार्थी भएको खुशी बाँढेका छन् । वि.स. २०५७ अगाडी मोहन विक्रम सिंहको नेकपा मसालका प्रबक्ता रहेका शर्मा तत्कालिन नेकपा माओवादीको दोश्रो राष्ट्रिय सम्मेलन देखि उक्त पार्टीमा सहभागी भएका थिए । सो सम्मेलनमा सबैभन्दा पाका केन्द्रीय सदस्यका रुपमा क. अशोकका नामले सम्मेलनको अध्यक्षता पनि गरेका थिए । माक्र्सवादी दर्शन, साहित्य र राजनीतिमा लामो समय लगानी गरेका शर्माले आफ्नो जीवनको उत्तरार्धतिर बौद्ध दर्शनको औपचारिक विश्वविद्यालय शिक्षा सुरु गरेका छन् । उनको सामाजिक संजालमा दर्जनौंले बधाई दिएका छन् । २००३ साउन ०४ गते जन्मिएका नेता शर्मा २०२३ देखि वाम राजनीतिमा लागेका थिए । ०४२ बैशाख २ देखि भूमिगत राजनीतिमा होमिएका शर्माले ०४६ चैत २७ सम्म भूमिगत राजनीति जीवन बिताएका थिए । शर्मा २०६३ को अन्तरिम व्यवस्थापिका संसदमा माओवादी दलको प्रमुख सचेतक समेत भएका थिए । १८ वर्षसम्म शिक्षण पेशा गरेका शर्मा प्रधानमन्त्री डा बाबुराम भट्टराईको मन्त्रिमण्डलमा शिक्षामन्त्री पनि थिए । बाग्लुङ जिल्लाको अमलाचौर –७, गहतेरा भन्ने गाउँमा निम्न मध्यम वर्गीय परिवारमा जन्मिएका शर्माले औपचारिक रूपमा कला र शिक्षाशास्त्रबाट स्नातक गरेका छन् । पछिल्लो समय माओवादीका नेता कार्यकर्तामा औपचारिक अध्ययन गर्ने मोह बढ्दै गएको देखिएको छ ।
टेलिकम निलम्बित प्रबन्ध निर्देशक र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पक्राउ
काठमाडौं । नेपाल टेलिकमका प्रबन्ध निर्देशक (हाल निलम्बित) सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक (हाल निलम्बित) विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ । बुधबार आयोगको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । गैरकानुनी सम्पत्ति आर्जन गरेको भनी परेको उजुरीका आधारमा अख्तियारबाट अनुसन्धान हुँदा पौडेलद्वयले नेपाल राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । यसैगरी, नेपालको सरकारी सेवामा कार्यरत रहँदा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रुपमा नियुक्ति लिएको तथा विकलले संयुक्त राज्य अमेरिकाको स्थायी आवासीय अनुमतिसमेत लिएको देखिएकाले उनीहरुले कसुरसम्बन्धी प्रमाण नष्ट गर्न सक्ने देखिएको आयोगको ठहर छ । साथै फरार हुने सम्भावना भई अनुसन्धान कार्यमा बाधा पुग्ने देखिएकाले सुनिल र विकललाई बुधबार हिरासतमा लिई थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले जानकारी दिए ।
भिजिट भिसाका यात्रीलाई सास्ती नदिन प्रधानमन्त्रीको निर्देशनपछि गृहले जारी गर्यो नयाँ कार्यविधि
काठमाडौं। भिजिट भिसामा विदेश जाने नेपालीले चरम ठगी र सास्ती बेहोर्नुपरेको आम गुनासो बढेकोमा त्यसलाई कार्यविधि नै बनाएर नियन्त्रण गर्न गृह मन्त्रालयले भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि नयाँ कार्यविधि जारी गरेको छ। सोहीअनुसार आज मन्त्रालयले नागरिकका लागि १३ बुँदे यात्रा परामर्श सूचना जारी गरेको छ। यससँगै २०७८ फागुन २५ मा जारी कार्यविधि निष्क्रिय भएको छ। यो जानकारी ट्राभल एड्भाइजरीुका रूपमा श्रम तथा रोजगार मन्त्रालयमार्फत सबै स्थानीय तहमा पठाइने छ। त्यस्तै गृह मन्त्रालय, अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले भिजिट भिसामा विदेश जाने सरकारी कर्मचारीको यात्रा अनुमतिका लागि आज नै छ बुँदे कार्यविधि जारी गरेका छन् । विदेश जाने नेपालीले चरम ठगी र सास्ती बेहोर्नुपरेको आम गुनासो बढेपछि प्रधानमन्त्री प्रचण्ड उक्त समस्या हल गर्न सम्बिन्धित कार्यालय र गृहमन्त्रीलाई निर्देशन दिएका थिए । सोही अनुसार नयाँ कार्यविधि बनाएको गृह मन्त्रालयले जनाएको छ । यस्तो छ नागरिकका लागि जारी १४ बुँदे यात्रा परामर्श सूचना: १) भिसा (Visit Visa) सो मुलुकमा रहेका यात्रुका आफन्तलाई भेटन जाने प्रयोजनका लागि सम्बन्धित मुलुकले दिएको प्रवेश अनुमति मात्र हो भने पर्यटक भिसा (Tourist Visa) आफ्नो वा प्रायोजकको खर्चमा सो देशमा घुम्न जानका लागि सम्बन्धित मुलुकले उपलब्ध गराएको प्रवेश अनुमति मात्र हो। भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य हो। यस्तो भिसा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुन अनुसार कारबाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने हुन्छ। तसर्थ, भिजिट भिसा वा पर्यटक भिसामा विदेश जाँदै हुनुहुन्छ भने आफन्त भेटने र घुम्ने लगायत भिसाको उद्देश्य अनुसारका काम मात्र गर्नुहोस् र भिसाको अवधिभित्रै स्वदेश फर्कनुहोस्। भिजिट भिसामा घुम्न जान थप शुल्क वा दस्तुर नलाग्ने भएकोले भिजिट भिसामा पठाउनको लागि सेटिङको नाममा विचौलियाहरुले रकम माग गरेमा त्यस्तो रकम नबुझाउनुहोस्। २) भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीहरुले नक्कली कागजात पेश गर्ने, झुट्ठा विवरण तयार गर्ने, भिसाको उद्देश्य विपरित एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकहरुसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्ने जस्ता गतिविधिहरुबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति स्वयं नै जिम्मेवार हुने हुँदा यस विषयमा भ्रमण गर्ने मुलुकको पूर्ण जानकारी लिई आफ्नो भ्रमणको उद्देश्य अनुरुप मात्र कार्य गरी आफूलाई पूर्ण रुपमा सुरक्षित राख्न थप सजगता अपनाउनुहोस्। ३) श्रम गन्तव्य मुलुकहरु कुवेत, ओमन, संयुक्त अरब इमिरेट्स र बहराईन जस्ता देशहरुमा विचौलियाहरुको प्रभावमा महिलाहरुलाई भिजिट वा पर्यटक भिसामा पुगी वर्किङ भिसा (Working Visa) मा परिणत गराउने र त्यस्तो कार्यबाट महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने, रोजगारदातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउन सक्ने, तोकिएको भन्दा अन्य गन्तव्य मुलुकमा पठाउने, असंगठित र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने, सामाजिक सुरक्षाबाट बञ्चित हुनुपर्ने जस्ता सम्भावना रहेकोले काम गर्ने मनसायले विदेश जाँदै हुनुहुन्छ भने भिजिट वा पर्यटक भिसामा नगई वर्किङ भिसा (Working Visa) मा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मात्र प्रस्थान गर्नुहोस्। ४) विभिन्न मुलुकमा भिजिट वा पर्यटक भिसामा गएका केही नेपाली यात्रीहरु उल्लिखित मितिमा फर्कने गरेको नपाइएकोले असामान्य परिस्थिति वाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कनु होला। अन्यथा यसबाट सिर्जना हुने अवस्थाका सम्बन्धमा व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्व:घोषणा गरेर मात्र प्रस्थान गर्नुहुन अनुरोध गरिन्छ। विदेश प्रस्थान गर्नुअघि सम्बन्धित देशको भाषा, संस्कृति र कानुनसम्बन्धी सामान्य जानकारी राखेर मात्र भ्रमण गर्नुहोस्। ५) शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सूचीकृत भएका विश्वविद्यालयहरुमा भर्ना भएर विदेश जाने र सम्बन्धित विश्वविद्यालयहरुमा नपढी गलत ढङ्गबाट काम गर्दा समस्या आउन सक्ने एवं पछिल्ला दिनहरुमा अध्ययन भिसा (Study Visa) मा रहेर पनि काम गर्न एवं पैसा कमाउन सकिन्छ भनेर विभिन्न विचौलियाहरु मार्फत विदेशी विश्वविद्यालयहरुमा भर्ना भई काम गर्ने मनासायले भ्रमण गर्दै हुनुहुन्छ भने काम गर्ने र पढ्ने बिषय अलग-अलग भएकोले यसमा थप सतर्कता अपनाउनुहोस्। ६) विदेश यात्रा गर्दै हुनुहुन्छ भने नेपालको विमानस्थलहरुबाट मात्र यात्रा गर्नुहोस् । भारत वा अन्य तेश्रो मुलुकको विमानस्थल भएर अन्य मुलुकमा यात्रा गर्दै हुनुहुन्छ भने नेपाली राजदूतावासबाट जारी हुने No Objection Certification (NOC) लिएर मात्र यात्रा गर्ने तथा महिलाहरुको हकमा भारतका विमानस्थल भएर तेश्रो मुलुक यात्रा गर्दै हुनुहुन्छ भने थप सजगता एवम् सावधानी अपनाउनुहोस्। ७) तपाईंलाई श्रम स्वीकृति लिएर विदेशमा पठाउने भनी आश्वासनसहित रकम माग गरेमा सो रकम बुझाउनुपूर्व सो इजाजतपत्रवाला संस्था (Manpower Company) को आधिकारिकताको कागजात माग गर्नुहोला । शैक्षिक परामर्शदाता (Education Consultancy), ट्राभल्स एजेन्सी वा कुनै व्यक्तिले वैदेशिक रोजगारमा पठाइदिन्छु भनी आश्वासन दिई रकम मागेमा रकम नबुझाउनु होला । आफू ठगीमा पर्दैछु भन्ने लागेमा सोको जानकारी वैदेशिक रोजगार विभाग वा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको टेलिफोन नं. १०० मा जानकारी दिनुहोस्। ८) वैदेशिक रोजगारीमा पठाउने इजाजत प्राप्त संस्था (Manpower Company) लाई नेपाल सरकारले तोकेको न्यूनतम रकम मात्र बुझाई सोको रसिद लिन नभुल्नुहोला । प्रचलित कानुनमा यस सम्बन्धी कार्य गर्ने एजेन्टको व्यवस्था नभएको हुँदा कसैले म एजेन्ट हुँ, वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी झुटा आश्वासन दिएमा विश्वास नगर्नुहोस् एवं एजेन्टलाई कुनै पनि हालतमा रकम नबुझाउनुहोस्। ९) वैदेशिक रोगजारीमा पठाउन इजाजत प्राप्त संस्थाले भिजिट वा पर्यटक भिसामा पठाउन खोजेमा सो सम्बन्धमा गोप्य सूचना दिनको लागि गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग वा अध्यागमन विभागमा तुरुन्त सम्पर्क गर्नुहोस्। १०) मित्रराष्ट्र भारत तथा वेलायती सेनामा नेपाल सरकारको स्वीकृतिमा भर्ना हुने वाहेक अन्य देशका सेना वा सशस्त्र समूहमा भर्ना हुने कार्य पूर्ण रुपमा गैरकानुनी र राष्ट्रहित विपरित हो । यस्तो कार्य गर्ने व्यक्तिहरुलाई उद्दार गर्न समेत कठिन हुने भएकाले कुनैपनि अवस्थामा यस्तो कार्य नगर्नु नगराउनुहोस्। ११)वैदेशिक रोजगारीको सिलसिलामा वा भिजिट भिसामा ठगीमा पर्नु भएमा वा पर्न लागेको शङ्का लागेमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालय वा प्रदेशमा रहेका श्रम तथा रोजगार कार्यालयहरु वा वैदेशिक रोजगार विभागमा तुरुन्त उजुरी गर्नुहोला । तपाईं विदेशमा रहेको बेलामा कुनै सहयोग आवश्यक परेमा उक्त देशमा रहेको नेपाली दूतावास वा नियोगमा समेत सम्पर्क गर्नुहोस्। १२) नेपालका सम्पूर्ण स्थानीय तहहरुमा रहेका रोजगार सेवा केन्द्रहरुबाट द्विविधा रहेका विषयमा श्रम तथा वैदेशिक रोजगारसँग सम्बन्धित विषयमा आवश्यक जानकारी लिनुहोस्। १३) वैदेशिक रोजगारीका सम्बन्धमा कुनै जिज्ञासा भएमा वा कुनै जानकारी लिनुपर्ने भएमा राहदानी बनाउँदाका बखतमै जिल्ला प्रशासन कार्यालयहरुमा रहेको Migration Resource Center (MRC) मा सम्पर्क राख्नुहोला। वैदेशिक रोजगार सम्बन्धी बिषयमा कुनै समस्या भएमा वैदेशिक रोजगार वोर्डको सचिवालमा रहेको कल सेन्टरको पैसा नलाग्ने नं. ११४१ मा फोन वा श्रम कल सेन्टरको ईमेल [email protected] मा ईमेल गर्नुहोस्। यस्तो छ कर्मचारीलाई विदेश भ्रमण अनुमति सम्बन्धि कार्यविधि: १) ६ महिनाको वैध अवधि भएको राहदानी। २) गन्तव्य देशको प्रवेषाज्ञा (VISA) वा On Arrival Visa प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने। ३) दुईतर्फी हवाई टिकट। ४) भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र। ५) भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेविट/क्रेडिट कार्ड)। ६) संयुक्त अरब इमिरेटस्, बहराईन, कुवेत, कतार, ओमन र साउदी अरेवियामा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा गर्नुपर्नेछ। स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार (Burden of Proof) सम्बन्धित व्यक्तिमा रहने छ। स्वघोषणाको ढाँचा विभागले निर्धारण गरेबमोजिम हुनेछ।
प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता
काठमाडौं । युगान्डा भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । उनी भर्खरै ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम) को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी हुन उहाँ गत माघ ४ गते युगान्डाको कम्पाला गएका थिए । प्रधानमन्त्री दाहालसँगै परराष्ट्र मन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल लगायतको टोलीका सदस्यहरू रहेका थिए ।
रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु
काठमाडौं । रूसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । रुस युक्रेन युद्धमा लमजुङको दूधपोखरी गाउँपालिका-१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको मृत्यु भएको बताइएको छ । स्रोतका अनुसार रोजगारीका लागि रुसी सेनामा पुगेका गुरुङको मृत्यु भएको खबर परिवारलाई प्राप्त भइसकेको छ। यसअघि रुसी सेनामा भर्ना भएका १० नेपालीको मृत्यु भइसकेको छ । योसँगै मृत्यु हुने नेपालीको संख्या ११ पुगेको छ । अवैध रुपमा रुसी सेनामा कार्यरत नेपालीको उद्धारमा पनि नेपाल सरकारले कूटनीतिक पहल गर्न सकेको छैन । यसले गर्दा रुसी सेनामा भर्ना भएका नेपालीहरु युक्रेनी सेनाको आक्रमणबाट मृत्यु हुने क्रम रोकिएको छैन ।
संसद्को हिउँदे अधिवेशन माघको तेस्रो सातादेखि बोलाउने तयारी
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले हिउँदे अधिवेशन माघको तेस्रो साता बोलाउने तयारी गरेको खुलासा गरेकी छन् । शुक्रबार ललितपुरमा राष्ट्रिय चलचित्र नीति, २०७१ र चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ लाई प्रतिस्थापन गर्नेगरी तर्जुमा हुँदै गरेको नयाँ नीति र विधेयकको मस्यौदाबारे भएको छलफलमा बोल्दै मन्त्री शर्माले सरकारले आगामी हिउँदे अधिवेशन माघको तेस्रो साताबाट बोलाउने तयारी थालेको बताएकी हुन् । मन्त्री शर्माले आगामी संसद् अधिवेशनमा पेस गर्नेगरी सरकारले चलचित्र सम्बन्धी ऐन तयारी गरिरहेको पनि बताइन् । उनले नेपाली चलचित्रलाई राम्रो बनाइ विदेशी चलचित्रसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था भएकाले चलचित्रको गुणस्तरीयतामा ध्यान दिन आवश्यक रहेको बताइन् । उनले नेपाली चलचित्र विदेशी चलचित्रसँग प्रतिष्पर्धा गर्न योग्य बनाउनुपर्ने बताइन् । उनले भनिन्, ‘ चलचित्र सम्बन्धी विधेयक अहिले हामीले अर्थ र कानुन मन्त्रालयमा सैद्धान्तिक स्वीकृतिका लागि पत्र पठाइसकेका छौँ । त्यो स्वीकृति भएर आउने क्रम जारी छ । त्यो छिटै नै आउँछ र हामी आउने अधिवेशन माघको १८ वा २० तिरबाट अधिवेशन सुरु हुन्छ ।’ मन्त्री शर्माले राज्यले पनि स्वदेशी चलचित्रको प्रवद्र्धनमा बढी ध्यान दिन आवश्यक रहेको बताइन् ।
साताको अन्तिम कारोबारको नेप्से ०.६२ अंकले घट्यो
काठमाडौं। साताको अन्तिम शेयर कारोबारको नेप्से ०.६२ अंकले घटेको छ । नेप्से घट्दा १२१ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको हो । यस दिन निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रापावर, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी र हिमालयन रिको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । त्यसैगरी आज मेघा म्युचुअल फण्ड–१, भुलोल इनर्जी डेभलपमेन्ट कम्पनी र सानिमा मिडल तमोर हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक बढेको छ ।
जनताले अब कुनै पनि राजा वा महाराजा स्वीकार्दैनन् : अध्यक्ष नेपाल
वीरगञ्ज पर्सा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली जनताले अब कुनै पनि राजा वा महाराजालाई नस्वीकार्ने बताएका छन् । नेकपा (एकीकृत समाजवादी) पर्साद्वारा सोमबार यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले नेपाली जनताको बलिदान र त्यागबाट प्राप्त भएको गणतन्त्र बलियो भइसकेकाले अब कुनै पनि राजा वा महाराजा स्वीकार्य नहुने बताएका हुन् । “हामीले सङ्घर्ष गरेर ल्याएको गणतन्त्र बलियो भइसक्यो”, उनले भने, “अब गणतन्त्रलाई कसैले मास्न सक्दैन ।” संविधानमा केही त्रुटी भएको र त्यसमा सुधार ल्याएर अघि बढ्नु जरुरी रहेको उनले बताए । शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन अहिलेको भन्सार नीतिमा सुधार ल्याउनुपर्नेमा जोड दिनुहुँदै उहाँले उद्योगी व्यवसायीलाई सहुलियत प्रदान गर्नुपर्ने धारणा राखे । अर्थतन्त्रलाई मजबुत बनाउन कृषिमा आधुनिकीकरण आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले कृषि उत्पादनलाई उद्योगसँग जोड्न सकिए मुलुकको अर्थतन्त्रले फड्को मार्ने र बेरोजगारी समस्या समाधान हुने दाबी गरे । भ्रष्टाचार देशकै महारोग भएकाले यसबाट मुलुकलाई जोगाउनुपर्ने बताउँदै उनले भ्रष्टाचारको अन्त्य र सुशासन प्रवर्द्धन नभएसम्म विकास र सम्बृद्धि सम्भव नभएको जिकिर गरे । सो पार्टीका नेता तथा पूर्वमन्त्री नागेन्द्र चौधरी, प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री किसान श्रेष्ठले पार्टी सङ्गठनलाई सुदृढ पार्न जनता केन्द्रित अभियानका साथ गाउँगाउँ पुग्न नेता कार्यकर्तालाई निर्देशन दिए । विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्तालाई अध्यक्ष नेपालले अबिर, माला लगाएर पार्टी प्रवेश गराए ।