जन्ती बस र कार ठोक्किँयो, कारमा सवार चार जनाको मृत्यु
बारा, मंसिर २५ । शनिबार विहान बारामा जन्ती बस र कार ठोकिएर भएको दुर्घटनामा चार जनाको ज्यान गएको छ । वीरगञ्जबाट जन्ती लिएर नारायणघाटका लागि छुटेको ना ६ ख ६७५४ नम्बरको बस र बा १२ च ८२९० नम्बरको कार बिहान बाराको आधाभार जंगलमा ठोक्किएको हो ।
दुर्घटनामा कारमा रहेका चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ । तीन जना घाइते भएका छन् । दुर्घटनामा कार चालक खोटाङ मंगलटारका २३ वर्षका दीपक थापा मगर, २८ वर्षका महेन्द्र आले, सुनसरीकी २५ वर्षकी कुमारी थापा र उहाँकी ११ महिनाका छोरा जेनिसको ज्यान गएको हो ।
घाइतेको हेटौंडा चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
एक हजार केजी गाँजासहित पक्राउ
राजविराज । बालुवाभित्र राखेर तस्करी गर्न लागेको ठूलो परिमाणको गाँजा सप्तरी प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खडक नगरपालिका–७, कल्याणपुर चोकबाट उक्त गाँजा बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा विशेष सुराकीका आधारमा खटिएको प्रहरी टोलीले एक हजार ६ केजी गाँजा बरामद गरेको प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । उनका अनुसार, उक्त गाँजा अन्तर्राष्ट्रिय बजारमा ३० देखि ३५ हजार रुपैयाँ प्रतिकिलो बिक्री हुने गरेको छ । गाँजासँगै टिपरचालक धनकुटाको सहिदभूमि गाउँपालिका–४ का ३२ वर्षीय विशेष राईलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बज्राचार्यले बताए । सप्तरीको राजगढ गाउँपालिका–२, झौरा चोकबाट स्रोत नखुलेको पाँच लाख भारतीय रुपैयाँसहित पक्राउ परेका एकजनालाई सोही पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो । रासस
टिकटक प्रतिबन्धविरुद्धका रिट न्यायाधीश शर्माको इजलासमा
काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट मंगलबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको इजलासमा परेका छन् । सोमबार न्यायाधीश डा.कुमार चुडालको एकल इजलास बस्नै नसकेपछि ती रिट ‘हेर्न नभ्याइने’मा परेका थिए । गएको कात्तिक २७ गते मन्त्रिपरिषद्ले नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । सो प्रतिबन्ध कार्यान्वयन हुने वा रोकिने भन्ने सर्वोच्चको आदेशमा निर्भर रहन्छ । सर्वोच्चले सो प्रतिबन्ध कार्यान्वयनमा रोक लगाएमा आममानिसले टिकटक चलाउन पाउनेछन् । सर्वोच्चले कारण देखाऊ आदेश मात्र जारी गरेमा भने अन्तिम फैसला नहुँदासम्म टिकटकमाथिको प्रतिबन्ध कायम रहनेछ । टिकटकमाथि प्रतिबन्ध लगाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध १४ रिट दर्ता छन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अनन्तराज लुइँटेल, सुनीलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपाने, रामकृष्ण बञ्जरा, प्रेमराज सिलवाल, त्रिलोकबहादुर चन्दलगायत अधिवक्ताले रिट दायर गरेका छन् ।
अत्यधिक गर्मी बढ्दै, सामुदायिक विद्यालय छ दिनका लागि बन्द
सिन्धुलीमाढी । सिन्धुलीको दुधौली नगरपालिकाले गर्मीका कारण आइतबारदेखि नगर क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालय छ दिनका लागि बन्द गरेको छ । विगत केही दिनदेखि बढको अत्यधिक गर्मीका कारण पठनपाठनमा समस्या परेकाले जेठ २१ गतेदेखि २६ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार जेठ १९ गते सम्पन्न कार्यपालिकाको बैठकले सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको हो । दुधौली नगरपालिकामा ७८ वटा सामुदायिक विद्यालय रहेको छ । गर्मीका कारण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय भए पनि सञ्चालन भई रहेको कक्षा ११ को परीक्षा यथावत् रहने दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारीले जानकारी दिए । उनले विगत केही दिनदेखि बढेको गर्मीलाई मध्यनजर गरी सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको बताए । गर्मीका कारण बिद्यार्थीहरु पढ्न रुचि नदेखाउने, घर फर्किने समयमा घाम चर्किने भएकाले स्वास्थ्य समस्या आउन सक्ने, कक्षाकोठामा पङ्खा लगायतको सुविधा नभएको र कतिपय विद्यालयको छाना जस्तापाताको रहको लगायतका समस्यालाई मध्य नजर गरी सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै व्यवसायीलाई धम्क्याउने चारजना प्रहरीको नियन्त्रणमा
चितवन । ‘विशेष प्रहरी’ भनेर परिचय पत्र देखाउँदै व्यवसायीलाई धम्क्याउने चारजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–५ का २२ वर्षीय खुमबहादुर थापा, राप्ती नगरपालिका–८ का १९ वर्षीय सच्चीन ज्ञवाली, रत्ननगर नगरपालिका–५ का २३ वर्षीय सञ्जीवकुमार मिश्र र खैरहनी नगरपालिका–१३ का २४ वर्षीय सुजन सिलवाल रहेका छन् । उनीहरूलाई खैरहनी नगरपालिका र भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। उनीहरूले आफूहरू विशेष प्रहरी भन्दै सामाजिक सञ्जालमा कुरा गर्ने तथा व्यवसायीलाई धम्क्याउने गरेका थिए। भरतपुर महानगरपालिका–१२ मालपोत चोकको प्रिन्टिङ प्रेसमा कार्यरत थापाले नक्कली विशेष प्रहरीको परिचय पत्र बनाउने गरेको खुलेको छ। उनीहरूले केन्द्रीय अनुसन्धान ब्यूरोको परिचयपत्र समेत बनाएको कार्यालयले जनाएको छ। पक्राउ परेका चारैजनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको एसपी कार्कीले जानकारी दिए। उनीहरूलाई मुलुकी अपराध संहिताको लिखदसम्बन्धी कसुरमा म्याद थप गरिएको छ। यो मुद्दामा सात वर्षसम्म कैद र रु ७० हजारसम्म जरिवानाको व्यवस्था छ।
आइसिसी विश्वकप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका जाने
काठमाडौं । आइसिसी विश्वकप छनोटको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली दक्षिण अफ्रिका जाने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव दुर्गाराज पाठकले नेपाल दुई सातापछि अन्तिम तयारीको लागि दक्षिण अफ्रिका जाने बताएका छन् । अहिले खेलाडीहरुको भिसाको तयारी भइरहेकोले सबै काम सकिएपछि यही महिनाको अन्तिममा नेपाली खेलाडी दक्षिण अफ्रिका उड्ने क्यानले जनाएको छ। नेपालले आइसिसी विश्वकप छनोटको अन्तिम तयारी दक्षिण अफ्रिकामै बसेर गर्नेछ। त्यहाँ रहँदा नेपालले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग वार्म अप खेल खेलाउने क्यानको तयारी छ। दक्षिण अफ्रिकामा रहँदा बलियो घरेलु टोलीसँग अभ्यास खेलका लागि प्रस्ताव गर्ने क्यानले जनाएको छ। आगामी जुन १८ देखि जुलाई ९ सम्म जिम्बावेमा हुने विश्वकप छनोटमा नेपाल, स्कटल्यान्ड, ओमान, युएई, अमेरिका, श्रीलंका, वेस्टइन्डिज, जिम्बावे, आयरल्यान्ड र नेदरल्यान्ड्स छन् । यी १० टोलीलाई आइसिसीले दुई समूह विभाजन गर्नेछ। हालसम्म आइसिसीले समूह विभाजन गरेको छैन । श्रीलंका र वेस्टन्डिज फरक समूहमा हुने पक्कापक्की छ। चाँडैनै समूह विभाजन गर्नेछ। हरेक समूहमा पाँच टोली हुनेछन् । नेपालले बन्द प्रशिक्षणको लागि केही दिनभित्रै टोलीको घोषणा गर्ने तयारी गरिरहेको छ।
राप्रपाको केन्द्रीय समिति वैठकमा विभिन्न प्रतिवेदन प्रस्तुत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको पूर्ण बैठकमा राजनीतिक, साङ्गठनिक, प्रादेशिक, आर्थिक र सचिवालयसम्बन्धी प्रतिवेदनहरु प्रस्तुत भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनको ‘यथास्थितिवादी राजनीतिक कित्ताको एक मात्र विकल्प राप्रपा’ शीर्षकको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष हेमजङ्ग गुरुङको सचिवालयसम्बन्धी, महामन्त्री धवलशम्शेर राणाको साङ्गठनसम्बन्धी, कोषाध्यक्ष निलकण्ठ काफ्लेको आर्थिकसम्बन्धी र सातै प्रदेशका अध्यक्षको प्रादेशिक प्रतिवेदन बैठकमा प्रस्तुत भएका हुन् । सोमबारदेखि काठमाडौँमा शुरु भएको बैठकमा अध्यक्षबाट प्रस्तु राजनीतिक प्रतिवेदनमा नेतृत्व पुस्तान्तरण हुनुपर्नेमा सदस्यले जोड दिएका छन् । राजसंस्था, हिन्दूराष्ट्र कायम गर्न पार्टीले आवश्यक कार्ययोजना तयार गर्नु पर्ने लागयत सुझाव दिएका छन् । प्रतिवेदनमा पुस्तान्तरण, तीनै तहको निर्वाचनमा पार्टीको अवस्था, संवद्र्धनवादी विश्व सङ्गठनमा पार्टीको सहभागिता, राजसंस्था, हिन्दूराष्ट्र संविधान विपरीत नभएको विषय उल्लेख छ । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिबारे पनि छलफल गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए । सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूबाट आउने सुझावका आधारमा जेठ ३ गते आगामी कार्यदिशा तय गर्नका लागि महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ ।
बङ्गलादेशका प्रधानमन्त्री हसिना र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता
काठमाडौं । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग परराष्ट्रमन्त्री एनपी साउदले भेटवार्ता गरेका छन् । बङ्गलादेशको राजधानी ढाकामा उनीहरुबीच आज भेटवार्ता भएको हो। भेटमा दुई पक्षीय हितका विभिन्न विषयबारे छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ। छलफलको क्रममा नेपाल र बङ्गलादेशबीचको सम्बन्धलाई सुदृढ तुल्याउने, सीमापार कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा व्यापार, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड दिइएको बताइएको छ। ढाकामा आयोजित छैटौँ इन्डियन ओसन कन्फ्रेन्स–२०२३ मा भाग लिन मन्त्री साउद शुक्रबार ढाका गएका थिए । हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्न मूल कार्यपत्रमा छलफल गर्न ढाकामा सम्मेलन आयोजना गरिएको थियो। भारतीय विदेश मन्त्रालय, इन्डिया फाउण्डेशन र बङ्गलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामो सम्मेलन आयोजना भएको थियो। परराष्ट्रमन्त्री साउद आज बेलुकी स्वदेश फर्किदै छन्।
आजदेखि सगरमाथा आरोहण सुरु,आरोहणको प्रतीक्षामा रहेका आरोही खुसी
काठमाडौं । यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर) ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतीक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले आज दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो खोलेर आरोहण खुलेको सन्देश दिएका छन् । ‘सगरमाथा समिटसम्मको रुट फिक्सिङ सक्यो, दिउँसो १ बजेर ५२ मिनेटमा आठ जना शेर्पा र एक फोटोग्राफर चुचुरोमा पुगे’, कम्पनीका कार्यकारी निर्देशक दावा ग्याल्जे शेर्पाले जानकारी दिए । अहिले धेरै सङ्ख्यामा आरोही सगरमाथाको चौथो शिविरमा रहेकाले भोलि बिहानसम्म उल्लेख्य आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको उनको भनाइ छ । ‘इमाजिन नेपालको शेर्पाको टोलीले समिटसम्म बाटो खोलेको छ । भोलि मे १४ देखि २० तारिखसम्म सगरमाथाको मौसम राम्रो रहेकाले धेरै आरोही चुुचुरोमा पुग्नेछन्’, उनले भने । दावा ग्याल्जे शेर्पा दोलखा रोलवालिङका शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइड समेत छन् । रोप फिक्सिङ गर्ने समूहका अन्य सदस्यमा सोलुखुम्बु थामेका निमानुरु शेर्पा, लाक्पासोना शेर्पा, पासाङ निमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर ग्याल्जेन शेर्पा, दावा जङ्बु शेर्पा र सङ्खुवासभाका दीपेन गुरुङ रहेका छन् । ‘प्रतिकुल मौसमका कारण लामो समयदेखि रोप फिक्सिङको काम हुन सकेको थिए, आज मौसम अनुकुल भएसँगै डोरी टाँग्ने पूरा भएपछि आरोहणको सुरु भएको छ ।’ उनले धेरै आरोही सगरमाथाको चुचुरोतर्फ जाने तयारीमा रहेको जानकारी दिए। यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपासमा आरोहणका लागि सयौँ सङ्ख्यामा आरोही यतिबेला प्रतीक्षारत छन् । उनीहरु मौसम अनुकूलताअनुसार सगरमाथाको शिखरतर्फ अघि बढ्नेछन् । आइसफल डाक्टरले यही वैशाख १० गते नै सगरमाथाको साउथ कोल (चौथो शिविर) सम्म बाटो खुलाइसकेका थिए । मौसम अनुकूल भइदिएको भए वैशाख २१ गतेसगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाएको थियो । वसन्त ऋतुको सगरमाथा आरोहणका लागि मौसम पूर्वानुमान गरिरहेका एक वरिष्ठ मौसमविद्का अनुसार सगरमाथाको सात हजार ५०० मिटरमाथितिर तीव्र वेगको हावा चलेकाले पूर्वनिर्धारित समयमा चुचुरोसम्म बाटो खुलाउन कठिन भएको थियो । सो क्षेत्रमा वैशाख २० गतेदेखि बिग्रिएको मौसम अहिले केही सुधार आएको हो । प्रतिघण्टा ४० देखि ५० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा केही ढिलाइ भएको हो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ६७ आरोहीले आरोहण अनुमति लिएका हुन् । जसमध्ये ९८ महिला र तीन सय ६९ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । पर्यटन विभागको विवरणमा सगरमाथा आरोहणका लागि नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले सगरमाथाको चुचुरोमा पुगेर आरोहणको ढोका खुलाएका थिए । सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ । सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशीले आरोहण गरेका छन् । तथ्यांक अनुसार हालसम्म तीनसय भन्दा बढी आरोहीले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालका अध्यक्ष डम्बर पराजुलीले मौसमलगायतका विभिन्न कठिनाइका बाबजुद पनि आरोहणको ढोका खुलेको बताए । रासस
महाकवि देवकोटाको ११४ औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसीअर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । उनले नेपाली साहित्यलाई सयभन्दा बढी कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो । नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ । उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । भारतका महापण्डित राहुल साङ्कृत्यायनले देवकोटा एक्लैलाई भारतका महाकवि सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निरालाको संयुक्तरूपसँग तुलना गरेका थिए भन्ने मान्यता छ । नाट्यसम्राट बालकृष्ण समले देवकोटा ‘मुनामदन’, ‘शाकुन्तल’ महाकाव्य र ‘पागल’ कवितासँगै तीनपटक जन्मेको बताए । विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए। महाकवि देवकोटाले अङ्ग्रेजी साहित्यका फ्रान्सिस बेकन, चाल्र्स ल्यासजस्ता १५ जना गद्य लेखकका निबन्धको चयन गरी विसं १९९७ मा ‘प्रसिद्ध प्रबन्ध सङ्ग्रह’ प्रकाशित गरे। वि.सं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागू गर्नु–गराएका थिए । हाल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रीत्वकालमा व्यवस्था गरिएको हो । जसले विश्वविद्यालयको पूर्वाधारका लागि काम गरेको छ । वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको स्थापनामा सक्रिय योगदान दिनु देवकोटाको अविस्मरणीय देन मानिन्छ । तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तुरुन्त कविता लेख्नसक्ने आशु कवित्वको क्षमता थियो । देवकोटाको कवि–प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ । चरम आर्थिक अभाव र पारिवारिक वियोगसँगै राजनीतिकरुपमा पनि देवकोटा पनि सक्रिय छन् । यसका बाबजुद पनि उच्चस्तरका साहित्य नेपाल र नेपालीलाई प्रदान गर्नु उनको साहित्यिक विशेषता हो । विसं २००२ मा किनेर २००४ सालमा देवकोटा सरेको मैतीदेवीस्थित घरलाई गत असोजदेखि महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयका रुपमा स्थापित गरिएको छ । महाकवि देवकोटाले ‘पागल’ कवितालाई आफैँले अङ्ग्रेजीमा अनुवाद गरेका छन् । उनले पाश्चात्य ग्रीसेली स्रोतबाट अनेकौँ गाथाको नेपालीकरण गरेका छन् । विसं २०२४ मा प्रकाशित भएको ‘मायावीनी’ ‘सुन्दरी प्रोजर्पिना’ जस्ता खण्डकाव्य र ‘प्रमिथस’ महाकाव्य यसका उदाहरण हुन् । देवकोटाको एकमात्र उपन्यास ‘चम्पा’ हो । नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका देवकोटाको निधन २०१६ साल भदौ २९ गते भएको थियो । महाकवि देवकोटा जयन्तीका अवसरमा गत शुक्रबारदेखि नै साताव्यापी कार्यक्रम भइरहेको छ । यस अवसरमा आज पनि विभिन्न कार्यक्रम गरी देशभर देवकोटा जयन्ती मनाइने जनाइएको छ ।
दिल्ली सरकारी स्कूलको शौचालयमा बालिकामाथि सामूहिक बलात्कार
नयाँ दिल्ली । दिल्ली महिला आयोगकी अध्यक्ष स्वती मालिवालले दिल्लीको एउटा सरकारी स्कूलको शौचालयमा ११ वर्षीय बालिकामाथि भएको सामूहिक बलात्कारको घटनामा दिल्ली प्रहरी र स्कूललाई नोटिस जारी गरेकी छिन् । स्वातीले ट्विटरमार्फत यसको जानकारी दिएकी हुन । पीडित छात्राले घटनाको जानकारी शिक्षकलाई दिँदा स्कूल शिक्षकले यो विषयमा चुपचाप रहन भनेको स्वातीले जनाएकी छिन् । ती बालिकामाथि स्कूलकै दुईजना सिनियर विद्यार्थीले बलात्कार गरेको आरोप छ । यो घटनामा केन्द्रीय विद्यालय संगठनलेको क्षेत्रीय कार्यालयले पनि जाँच गर्नुपर्ने माग गरेको छ । दिल्ली प्रहरीले प्राथमिक रिपोर्ट दर्ता भएको जनाएको छ । घटना भने गत जुलाईमा भएको बताइन्छ । पीडित बालिकाले महिला आयोगद्वारा घटनामाथि चासो ल्याएपछि मंगलबारका दिन प्रहरीसँग सम्पर्क गरेपछि रिपोर्ट दर्ता भएको हो । महिला आयोगले यो घटनाका बारेमा प्रहरीलाई किन जानकारी नगराइएको भनेर स्कूललाई सोधको छ ।
कमेडी बादशाह राजु श्रीवास्तवकाे ब्रेन डेड, चिकित्सकले हार माने
नयाँ दिल्ली । भारतका चर्चित हास्यकलाकार राजु श्रीवास्तवकाे स्वास्थ्य अवस्था जटिल बनेकाे छ । जिमखानामा कसरत गरिरहेकाे बेला कार्डियाक अरेष्ट (ह्रदयघात) भएपछि उनकाे भेन्टिलेटरमा राखेर विगत नाै दिनदेखि उपचार हुँदै थियाे । स्थिर अवस्था बताइएकाे उनीलाइ बुधबार राति झनै समस्या देखिएकाे थियाे । बिहिबारका दिन श्रीवास्तवको निधन भएको समाचार सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तर चिकित्सकहरुले भने उनको निधन नभएको बरु मष्तिष्कले काम गर्न छोडेको बताएका हुन । मष्तिष्का सुन्निएपछि त्यहाँ पानी भरिएकाे र नसा च्यापिएका कारण उनकाे ब्रेन डेड भएकाे चिकित्सकले जनाएका थिए । कुनै चमत्कार भएमात्रै उनी जीवित हुनसक्ने चिकित्सकले बताएका छन् । राजुका साथी एहसान कुरैशीका अनुसार, पछिल्लो ३० घण्टादेखि उनी बेहोस अवस्थामा रहेका छन् । उनको मष्तिष्कले काम गर्न छोडेको छ । अवस्था बिग्रेपछि चिकित्सहरुले प्रार्थना गर्नुबाहेक अरु विकल्प नभएको उनले बताए । दिल्लीकाे एम्स अस्पतालमा भर्ना श्रीवास्तवकाे स्वास्थलाभकाे लागि परिवार र समर्थकहरुले बिभिन्न उनकाे कामना गरेका छन । उनीलाई पछिल्ला दिनहरुमा १०० डिग्री भन्दा बढी ज्वराे समेत आइरहेकाे थियाे । सन् २००५ मा लाफ्टर च्यालेन्जबाट उदाएका राजु त्यसपछि भने एकपछि अर्काे लाेकप्रियताकाे सिंढी चढ्दै अघि बढेका थिए ।
कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु
कोहलपुरमा करेन्ट लागेर २५ वर्षीय एक युवतीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कोहलपुर नगरपालिका वडा नम्बर २ निवासी प्रशाना आचार्यको करेन्ट लागेर मृत्यु भएको हाे । आचार्यको गत राति ११ बजे आफ्नै घरको झ्यालमा करेन्ट लागेर मृत्यु भएको हो । घटनापछि मृतकको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।
यूरोपमा समलिङ्गीहरुको रेभ सेक्स पार्टीबाट मंकिपक्स फैलिएको दावी
काठमाडौं । यूरोपमा समलिङ्गीहरुबीच असुरक्षित यौन सम्पर्कबाट मंकिपक्स संक्रमण फैलिएको दावी गरिएको छ । हालैमात्र स्पेन र बेल्जियममा भएका दुई वटा रेभ पार्टीमा सहभागीमा यो संक्रमण देखिएको थियो । लागुपदार्थ र मदिराको सेवनसँगै संगीत, नृत्य र सेक्स समेत रहने रेभ पार्टीैमा जोखिमजन्य व्यवहार नै यूरोपमा संक्रमण फैलाउने मुख्य कारण भएको डा। डेभिड हेमनले बताएका छन् । उनी विगतमा विश्व स्वास्थ्य संगठनको आपतकालिन विभागका प्रमुख थिए । मिडियालाई दिएको एक अन्तर्वार्तामा उनले संक्रमित मानिसहरुसँग करिबी सम्पर्कबाट मंकिपक्स हुने र यौन सम्बन्धलाई यसलाई तीब्रता दिएको दावी गरेका हुन । मंकिपक्स संक्रमण पहिलोपटक१९५८ मा खोजिएको थियो । त्यो बेला अनुसन्धानका लागि राखिएको दुईवटा बाँदरमा दादुरा जस्ता बिरामीका लक्षण देखिएका थिए । मानिसमा भने यसको पहिलो घटना सन् १९७० मा कंगोमा ९ वर्षका बालकमा देखिएको थियो । लामो समयदेखि संक्रमणका अन्य घटना नदेखिएपनि अहिले भने अफ्रिकाबाट फर्केकाहरुमा संक्रमण देखिएको छ । हालसम्म संक्रमणका १३० भन्दा बढी घटना देखिएका छन् ।
कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजा दिन प्रस्ताव
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्रबाट कक्षा ८ सम्म दिवा खाजाको व्यवस्थापनको प्रस्ताव अगाडि सारेको छ । आगामी आर्थिक वर्ष २०७९र८० को बजेटमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी शैक्षिक सत्रबाट दिवा खाजा कक्षा ८ बनाउन प्रस्ताव गरेको बताए । हाल कक्षा ५ सम्म दिवा खाजाको व्यवस्था छ । मन्त्री पौडेलले शिक्षामा उपलब्ध गराएको बजेट सिलिङ निकै कम भएकोले कुल राष्ट्रिय बजेटको कम्तीमा १५ प्रतिशत रकम उपलब्ध गराइदिन अनुरोध गरेको जानकारी दिए । आगामी वर्षको बजेट कार्यक्रममार्फत शिक्षामा तीन प्रकारको सुधार गरिने मन्त्री पौडेलले बताए । उनले भने, ‘कानुनी सुधार, शिक्षण सिकाइमा सुधार र पूर्वाधारमा सुधार गर्न चाहेका छौँ ।’ मनाङ, मुस्ताङ लगायतका दुर्गम क्षेत्रमा विद्यार्थी संख्या निकै कम भएको र त्यस्ता स्थानमा विद्यालय गाभ्ने कानुनी व्यवस्था पनि ल्याउने, यातायात व्यवस्था गरिने र हरेक प्रदेशमा कम्तीमा एउटा आवासीय विद्यालय स्थापनाको योजना बजेटमार्फत ल्याइने मन्त्री पौडेलले बताए । सबै जिल्लामा प्राविधिक शिक्षा विस्तार गर्ने योजना रहेको र त्यसका लागि पाँच हजार विद्यालय निर्माण गरिने बताए । कानुन मन्त्रालयमा रहेको संघीय शिक्षा ऐन संसद अधिवेशनमार्फत अगाडि बढाइने मन्त्री पौडेलले जानकारी दिए ।
फिलिपिन्समा मेघीका कारण २५ जनाको मृत्यु, १३ हजार विस्थापित
काठमाडौं । फिलिपिन्समा समुद्री मेघी नामक आँधी पछिको बाढी पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ । फिलिपिन्सको पुर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यमा मात्रै २२ जनाको मृत्यु भएको छ । अन्य ३ जनाको भने दाभोव क्षेत्रमा मृत्यु भएको हो । भारी वर्षासँगै आएको मेघी नामको आँधीका कारण १३ हजार मानिस विस्थापित भएका छन् । आँधीले घरको छाना उडाउनुका साथै जताततै रुखहरु ढलेकाले सयौं सवारीसाधनमा क्षति पुगेको छ । बिजुली आपूर्ती बन्द हुनुका साथै यातायात सेवा समेत प्रभावित भएको छ । आँधी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ। भारी वर्षा र आँधी अझै केही दिन रहने भन्दै सचेत रहन अपील गरिएको छ । फिलिपिन्समा विगत ४ महिनामा आएको यो दोस्रो शक्तिशाली आँधी हो । गत डिसेम्बरमा आएको राइ नामक आँधीले ३ सय ७५ जनाको मृत्यु भएको थियो भने ५ लाख सर्वसाधारण समेत प्रभावित भएका थिए ।