काम गर्नलाई मर्यादाक्रम मुख्य समस्या होइन, सञ्चो नभएर मन्त्रालय नगएको हुँ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मर्यादाक्रममा समस्या रहे पनि यसै कारण आफू मन्त्रालय नगएको कुरा गलत रहेको बताएका छन् ।
‘मर्यादाक्रमको विवादले मन्त्रालय नगएको भनेर फिजाइएको हल्ला गलत छ,’ शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मन्त्री भएकै दिन मन्त्रालय गएको हो, नजाने भए पहिलो दिन नै मन्त्रालय जान्नथेँ ।’ मन्त्री भएकै दिन मन्त्रालय गएर कर्मचारीसँग भेटी आवश्यक निर्देशन दिइसकेको उनले बताए ।
‘त्यसपछि सञ्चो नभएर मन्त्रालय जान सकिनँ, अहिले पनि घाँटी ठीक भइसकेको छैन,’ उनले भने, ‘तर मर्यादाक्रममा समस्यै नभएको भने होइन, समस्या छ, क्याविनेटको सिस्टम हुन्छ, न यो मेरो र अर्थमन्त्री विष्णु पौडेलबीच सम्बन्धको कुरा हो, न त्यो कारणले म मन्त्रालय नगएको हो ।’
यो सरकारलाई सफल बनाउने र त्यसका लागि आफू प्रतिबद्ध रहेको उनको भनाइ थियो । उनले आइतबारबाट मन्त्रालय गएर काम सुरु गर्नेसमेत बताए ।
‘तर ७–८ वर्ष पहिले उप्रधानमन्त्री भइसकेको र अर्को उप्रधानमन्त्री छ भने त्यसमा मर्यादा क्रम हुनुपर्छ, एउटै पार्टीमा हुँदा पनि म छैठौं नम्बरमा थिएँ, उहाँ (विष्णु पौडेल) नवौं नम्बरमा हुनुहुन्थ्यो,’ उनले भने, ‘८ वर्ष पहिले उप्रधानमन्त्री थिएँ, तर उहाँ ८ वर्षपछि हुनुभएको हो, यस्ता केही समस्या छन्, तर काम गर्नका लागि यी मुख्य समस्या भने होइनन् ।’ आइतबार मन्त्रालय गएर यातायात व्यवस्था विभागबाट त्यहाँ के के समस्या छन् बुझेर समाधानको उपाय खोज्ने पनि उनले बताएका थिए ।
फ्रेन्च साहित्यकार एनी एर्नोलाई नोबेल साहित्य पुरस्कार
यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रेन्च साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ। नोबेल पुरस्कार दिने द स्विडिश एकेडेमीले एर्नोले विषयका जडसम्म पुगेर, विछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गरेकी छन्। त्यसैका लागि उनले नोबेल साहित्य पुरस्कार पाएकी जनाएको छ। उनले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्छिन्। एर्नो लेखक बन्नुअघि एक शिक्षिका थिइन्। उनका अ म्यान्स प्लेस र अ वुमन्स स्टोरी लगायतका पुस्तकहरू समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिन्छन्। नोबेल पुरस्कार दिने कमिटिका अध्यक्ष प्रोफेशर कार्ल हेनरिक हेल्डिनले एर्नोले नोर्म्यान्डी फ्रान्समा बाल्यकाल बिताएकी र उनको परिवेश त्यस बेला ‘गरिब तर महत्त्वाकाङ्क्षी’ रहेको बताए। यो पुरस्कार स्विडिश एकेडेमीले प्रदान गर्ने गर्छ र एक करोड स्विडिश क्रोनर अर्थात् आठ लाख डलर जतिको छ। गत वर्षको नोबेल शान्ति पुरस्कार तान्जनियाका उपन्यासकार अब्दुल रजाक गुर्नाले पाएका थिए। सन् १९०१ देखि प्रदान गर्न थालिएको नोबेल पुरस्कार साहित्य, विज्ञान र अर्थशास्त्रमा प्रदान गर्ने गरिन्छ। विगतमा अर्नेस्ट हेमिङ्गवे, ग्याब्रअल गार्सिया मार्कोस र टोनी मोरिसन जस्ता उपन्याकार तथा लुइ ग्लक, पाब्लो नेरुडा, जोसेफ ब्रोड्स्की र रवीन्द्रनाथ टेगोर तथा ह्यारोल्ड पिन्टर र युगीन ओनील लगायतका नाटककारले प्राप्त गरेका छन्। रसायनशास्त्रका लागि दिइने यस वर्षको नोबेल पुरस्कार बुधवार क्यारोलिन बर्टोजी, मोर्टन मेल्डल र ब्यारी शार्पलेशलाई क्लिक केमिस्ट्री पनि भनिने अणुहरूको समूहलाई काँटछाँट गर्ने कामका लागि प्रदान गर्ने घोषणा गरिएको थियो। यो वर्षको भौतिक शास्त्रतर्फ दिइने नोबेल पुरस्कार क्वान्टम मेकानिक्सबारे अनुसन्धान गर्ने तीनजना वैज्ञानिकलाई दिने मङ्गलवार घोषणा गरिएको थियो। सोमवार चिकित्साशास्त्रसम्बन्धी नोबेल पुरस्कार मानव विकासक्रमसम्बन्धी काम गरेका वैज्ञानिक स्भान्ट पेयर्बुलाई प्रदान गर्ने घोषणा गरिएको थियो। पर्सि शुक्रवार शान्ति तर्फका विजेताका नाम घोषणा गरिनेछ। आउँदो सोमवार अर्थशास्त्र तर्फका विजेताका नाम घोषणा गरिनेछ। स्विडिश उद्योगपति तथा रसायनशास्त्री अल्फ्रेड नोबेलले मृत्यु हुनु एक वर्षअगाडि सन् १८९५ मा सो पुरस्कारको स्थापना गर्ने कुरा आफ्नो इच्छापत्रमा लेखेका थिए।
बेनी–जोमसोम सडक अवरुद्ध
काठमाडौं । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका कारण ७६ किलोमिटर दूरीको सो सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले गुइठे, जलथले, तितर, दाना, रुप्से क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध बनेको जानकारी दिनुभयो । केही ठाउँमा रुख ढलेर पनि सडक अवरुद्ध भएको छ । सडक विभाग र आयोजनाका ठेकेदार कम्पनीका उपकरण तथा मजदुर परिचालन गरेर सडक मर्मत थालिएको छ । सडक अवरुद्ध हुँदा मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई समस्या भएको छ । मुस्ताङमा उत्पादन भएको आलु लगायत कृषिउपज निकासी, दैनिक उपभोग्य र निर्माण सामग्री ढुवानी रोकिएका छन् । यसैबीच बर्सातका कारण दानास्थित ज्ञानप्रकाश माविमा भलबाढी पसेर क्षति पुगेको प्रअ शान्तबहादुर नेपालीले बताए । शनिबार र आइतबार दाना र आसपासका क्षेत्रमा अत्यधिक वर्षा भएको उनले जानकारी दिए ।
नागरिकता विधयेकबारे राष्ट्रपतिद्धारा कानूनविद्हरुसँग छलफल, कस्ले के भने ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग छलफल गरेकी छन् । प्रतिनिधि सभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे बिहिबार संसदमा छलफल चलिरहेका बेला राष्ट्रपतिले शीतलनिवासमा संविधानविद्, कानूनविद् र सम्बन्धित सरोकारवाला पक्षहरुलाई बोलाएर छलफल गरेकी हुन्। छलफलमा सविधानविद् डा. सुरेन्द्र भण्डारी, संविधानविद् डा. भीमार्जुन आचार्य, संविधानविद् डा. विपिन अधिकारी, अधिकारकर्मी सुबोध प्याकुरेल, वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ र ध्रुवहरि अधिकारी लगायतको उपस्थिति थियो । छलफलमा सहभागीहरुले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक माथि राष्ट्रपतिले दिएको सन्देशलाई सरकार र संसदले गम्भीर रुपमा नलिएको टिप्पणी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको छलफलका क्रममा उनीहरुले राष्ट्रपतिले संवैधानिक दायरा अनुसार दिएको सुझावहरु मनन नगरी हठात र संसदीय मर्यादा विपरित सरकार अघि बढेको बताएका छन् । छलफलमा संविधानविद् डा.सुरेन्द्र भण्डारीले राष्ट्रप्रमुखले गरेका प्रत्येक संवैधानिक कदमका जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास भएपनि नेपालमा भने दुर्भाग्यपूर्ण अवस्था देखियो बताए। उनले संसदमा छलफल गर्नुभन्दा अगाडी संविधानले नचिनेको गठबन्धनले विधेयकको बारेमा निर्णय गरेको बताए। त्यस्तै अर्का संविधानविद् डा। विपिन अधिकारीले राष्ट्रपतिको सन्देशमाथि संसदमा छलफल हुनुपर्ने भएपनि संसदमा आवश्यक विषयमा छलफल नै नभएको बताए । अधिकारीले अबका विकल्प जोखिमपूर्ण रहेको भन्दै देशले ठूलो जोखिम मोल्नुपर्ने अवस्था भएकोले सुझबुझपूर्ण निर्णय गर्नुपर्ने सुझाव दिए । त्यस्तै संविधानविद् डा. भीमार्जुन आचार्यले पनि राष्ट्रपतिको सुझाव संवैधानिक प्रयोगको उत्कृष्ठ प्रयोग भएको बताए। आचार्यले सम्य समाजले कल्पना गर्नपनि नसक्ने कार्य सरकारबाट भएको भन्दै संविधानको सिद्धान्तअनुसार राष्ट्रप्रमुखले अबको निर्णय लिनुपर्ने सुझाव दिए। उनले लोकतन्त्र निजी लोकतन्त्र जस्तो भएको टिप्पणी गर्दे सरकारमा हदैसम्म को अहंकार देखिएको बताए । उनले चुनाव घोषणा भएपछिको सरकारले दीर्घकालसम्म असर पर्ने कार्य गर्न नहुने संवैधानिक मान्यतालाई लत्याएको उल्लेख गर्दे संसद भित्रको गतिविधि पनि आपत्तिजनक रहेको बताए। त्यस्तै अधिकारकर्मी सुबोध प्याकुरेलले उग्र अराजकताका कारण मुलुक ज्वालामुखी माथि उभिएको अवस्थामा रहेको टिप्पणी गए । उनले अति कानूनका कारण देश बिग्रिएको भन्दै उनले मुलकमा खास राजनीतिक संक्रमण सुरु भएको बताए। अन्तरक्रिया कार्यक्रममा वरिष्ठ पत्रकार आदित्यमान श्रेष्ठ र ध्रुवहरी अधिकारीले हतारमा गरेको विधेयक पासले मुलुक संवैधानिक मुठभेडतर्फ उन्मुख हुने हो कि भन्ने आशंका उब्जिएको बताए। अर्का वरिष्ठ पत्रकार युवराज घिमिरेले पनि नागरिकता जस्तो विषयलाई संसदको दुई तिहाईबाट टुंग्याउनु पर्ने विषय भएपनि संविधान निर्माणका क्रममा नै त्रुटी भएको बताए। उनले सरकार र संसद संवैधानिक दायित्वबाट पन्छिएको बताए। अर्का वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले सरकारले देशमा अराजकता उत्पन्न गराउन खोजेको बताउँदै गम्भीर विषयमा पनि संसद र सरकारले ख्यालख्याल गरेको बताए । नागरिकता बाट कुनैपनि नेपाली वञ्चित हुन नहुने तर विदेशी नागरिकको हकमा भने राज्य कडा नै रुपमा प्रस्तुत हुनुपर्ने बताए । पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल र पूर्व उपाध्यक्ष यशोदा तिमिल्सीनाले संसद सिमित नेताहरुको निर्णय अनुमोदन गर्ने थलोमात्र भएको उल्लेख गर्दे अबको १५ दिन भित्र राष्ट्रप्रमुखले सरकार, प्रमुख दलहरुसँग संवाद गरी उपयुक्त निर्णय लिनुपर्ने सुझाव दिए। विज्ञहरुले दिएको सुझावपछि राष्ट्रपति भण्डारीले नागरिकताको समस्या लामो समयदेखि रहेको र त्यसलाई सल्टाउनुपर्ने तर राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राख्नुपर्ने बताइन् । आफूले संवैधानिक क्षेत्रधिकार भित्र रहेर सुझाव दिएको उल्लेख गर्दै उनले दिएका सुझावहरुमाथि भ्रम छर्ने प्रयास भएको गुनासो गरिन । प्रतिनिधिसभा बाट बिहीवार नागरिकता विधेयक पुनः बहुमतले पारित भएको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा निर्णयार्थ पेस गरिएको सो प्रश्ताव बहुमतले पारित भएको हो । जस अनुसार प्रस्तावको पक्षमा १३५ मत, विपक्षमा ६० मत परेको थियो । सभामा तत्काल कायम रहेको सदस्य संख्या १९५ रहेको र प्रश्तावको पक्षमा बहुमत रहेकाले सो प्रस्ताव बहुमतले पारित भएको सभामुख अग्नीप्रसाद सापकोटाले घोषणा गरेका थिए ।
पाकिस्तानमा बाढीका कारण एक महिनामा ५ सय ४९ जनाको मृत्यु
एजेन्सी । पाकिस्तानमा वर्षापछि आएको बाढीमा परि एक महिनामा ५ सय ४९ जनाको ज्यान गएको छ । दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तका दुर्गम गाउँ बाढीबाट सबैभन्दा बढी प्रभावित भएको पाकिस्तानका सरकारी निकायले जनाएको छ । बाढी प्रभावित क्षेत्रहरूमा सरकारी निकाय र सेनाले सहायता र राहत शिविर स्थापना गरी परिवारलाई स्थानान्तरण गर्ने र खाना तथा औषधि उपलब्ध गराईरहेका छन् । बाढीले ४६ हजार बढी घरमा क्षति पुर्याएको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्रधानमन्त्री शहबाज सरिफले प्रभावित क्षेत्रको भ्रमण गरी बाढी पीडितको उद्धार, राहत र पुनस्थापनाको लागि सक्दो प्रयास गरिरहेको बताउनुभएको छ । यता, बलुचिस्तान प्रान्तीय सरकारले थप कोषको आवश्यकता रहेको र सहयोगका लागि अन्तर्राष्ट्रिय संस्थाहरूलाई अपील गरेको बताएको छ । बाढीले प्रभावित प्रत्येक जिल्लामा खाद्यान्न अभाव भएको छ भने सात सय किलोमिटर बढी सडक बगेका कारण कतिपयको प्रदेशसँग सम्पर्क विच्छेद भएको छ । पाकिस्तानमा विगत ३० वर्षको अवधिमा औसतभन्दा १ सय ३३ प्रतिशत बढी वर्षा भएको र सबैभन्दा चिसो महिना भएको प्रकोप प्राधिकरणले जनाएको छ ।
ग्रिसमा कार्गो जहाज दुर्घटना
काठमाडौं । उत्तरी ग्रिसमा एउटा कार्गो जहाज दुर्घटना भएको छ । सर्वियाबाट जोर्डनका लागि उडेको युक्रेनी कम्पनीको जहाज ग्रिसको काभाला नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परेको जहाजमा १२ टन ‘खतरनाक’ कार्गो थियो । चालकको विमानको इन्जीनमा समस्या आएको भन्दै काभाला विमानस्थलमा अवतरणको अनुमति मागेका थिए । तर विमान विमानस्थल पुग्नै नपाई खसेको थियो । दुर्घटनामा चालक सहित दुईजनाको निधन भएको पुष्टि भएको छ ।
नेपाल सुपर लिग गर्न एन्फाले दियो स्वीकृति
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाल सुपर लिग फुटबल प्रतियोगिता आयोजना गर्न स्वीकृति प्रदान गरेको छ। एन्फाले आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट मेनेजमेन्टलाई लिग आयोजना गर्न स्वीकृति दिएको हो । एन्फाले आयोजकलाई दिएको स्वीकृति अनुसार लिग गर्न भदौ २५ गतेदेखि कार्तिक ५ गते सम्मको मिति उपलब्ध गराइएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेको स्वीकृति पत्रमा तोकिएका शर्तहरु पालना गरेर भदौ २५ गते देखि कार्तिक ५ गते सम्म लिग गर्न भनिएको छ । साथै प्रतियोगिता सञ्चालन गर्नुपूर्व खेल तालिका तथा खेल नियमावलीसहित प्राविधिक पक्षका विषयहरु स्वीकृति गराउन पनि भनिएको छ । सुपर लिगबारे यसअघिदेखि नै आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट्स म्यानेजमेन्ट र एन्फाबीच विवाद हुँदै आएको थियो । विवादकै कारण गत चैतमै हुने भनिएको टाइसिट ड्र स्थगित गरिएको थियो ।
भारतले खाने तेल सस्तो हुने, सरकारले हटायो आयात कर
नयाँ दिल्ली । भारतमा खाने तेलको मूल्य आकासिएपछि केन्द्र सरकारले आयात कर हटाउने निर्णय गरेको छ । केन्द्र सरकारले ३० लाख मेट्रिक टन सोयाबीन र सूर्यमुखी तेलको आयातमा २ वर्षका लागि भन्सार र कृषि पूर्वाधार तथा विकास कर हटाउने निर्णय गरेको हो । अहिले यो कर ५ प्रतिशत रहेको छ । यो निर्णयबाट खाने तेल सस्तो हुने आशा गरिएको छ । तेलको आयातमा दिइएको छूट ३१ मार्च २०२४ सम्म लागु हुनेछ । भारतमा पछिल्लो तीन महिनादेखि तेलको खुद्रा मूल्यमा १५ प्रतिशत भन्दा बढी वृद्धि भएको छ । केन्द्रीय अप्रत्यक्ष कर एवं सीमा शुल्क बोर्डले यसको जानकारी दिँदै यसबाट उपभोक्तालाई ठूलो राहत पुग्ने बताएको छ । सरकारले तेलको बढ्दो मूल्यबीच गत हप्तामात्रै पेट्रोल र डीलमा उत्पादन शुल्क घटाएको छ । साथै इस्पात र प्लाष्टिक उद्योगमा प्रयोग हुने कच्चा मालमा आयात शुल्क हटाउने निर्णय गरेको थियो ।
१० खेलाडीलाई माफी दिएको भन्दै कारबाही नगर्न एन्फालाई अल्मुताइरीको पत्र
काठमाडौं । राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूमाथि आरोप लगाउने १० खेलाडीलाई माफी दिएको बताएका छन् । साथै उनले अखिल नेपाल फुटबल संघ ९एन्फा० का महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेखेर ती खेलाडीलाई कारबाही नगर्न आग्रह गरेका छन् । एसिया कप छनोटका लागि बन्द प्रशिक्षणमा रहेका रोहित चन्दसहित १० खेलाडीले प्रशिक्षक अल्मुताइरीमाथि गम्भीर आरोप लगाएका थिए । उनीहरुका अनुसार होस्टलको सेवा सुविधा सुधार गर्न आग्रह गर्दा प्रशिक्षक अल्मुताइरीले रोहित चन्दलाई घर पठाएका थिए । रोहितले आफूहरुकै आग्रहमा धारणा राखेको भन्दा आफूहरुलाई पनि बन्द प्रशिक्षणबाट निकालेको उनीहरुको दाबी छ । तर अल्मुताइरीले एन्फालाई लेखेको पत्रमा यसबारे केही बोलेका छैनन् । आफूविरुद्ध खेलाडीहरुले दिएको अभिव्यक्ति भने अपमानजनक भएको उनले उल्लेख गरेका छन् । एन्फा महासचिवलाई लेखेको पत्रमा उनले भनेका छन्, ‘खेलाडीहरुले मेरोविरुद्ध गरेको अपमानजनक टिप्पणीका लागि माफी दिन्छु । र, विनम्रतापूर्वक अनुरोध गर्छु कि यी खेलाडीहरुलाई उनीहरुको गल्तीका लागि दण्डित नगरियोस् ।’ मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीहरुले आफ्नो अनुमति विना बन्द प्रशिक्षण छाडेकाले उनीहरुलाई एसिया कप छनोटको टिमबाट हटाएको बताएका छन् । खेलाडीहरु विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, विमल घर्तीमगर, दिनेश राजवंशी, सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, तेज तामाङ, विशाल राईले प्रशिक्षकको व्यवहारको विरोध गर्दै बन्द प्रशिक्षण छाडेका थिए । साथै छनोटमा नेपालले गर्ने प्रदर्शनको आफूले जिम्मेवारी लिने समेत उनले बताएका छन् ।
पुटिन र जेलेन्स्कीबीच ४८ घण्टाभित्र वार्ता हुने टर्कीको दावी
रुसले युक्रेनमाथि आक्रमण जारी राखेको दुई महिना बितिसकेको छ । तर दुबै देशबीच युद्द भने निरन्तर जारी नै छ । यो बीचमा रुस र युक्रेनका कुटनीतिज्ञहरुबीच तीन चरणमा वार्ता भएपनि त्यसले कुनै निश्कर्ष निस्किने सकेका छैन । रुसले युक्रेनका कतिप भागमा पूर्ण कब्जा जमाएको छ भने युक्रेनको सैन्य क्षमता निशस्त्र गर्न ठूलो सफलता प्राप्त गरेको छ । यसैबीच टर्कीका राष्ट्रपति एर्डोगनले रुस र टर्कीबीच युद्धबिराम हुने दावी गरेका छन् । आफूले युक्रेन र रुसका राष्ट्रपतिसँग निरन्तर वार्ता र संवाद गरिरहेको बताउँदै उनले आगामी ४८ घण्टाभित्र जेलेन्स्की र पुटिनबीच वार्ता हुने बताएका हुन । उनले मिति र स्थान भने स्पष्ट पारेनन् ।
धितोपत्र बोर्ड अध्यक्षमा ३ जनाको नाम सिफारिस
काठमाण्डौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको दावेदार रहेका ३ जनाको नाम सिफारिस गरिएको छ। छनौट तथा सिफारिस समितिले रमेशकुमार हमाल, डा. गोपालप्रसाद भट्ट र कृष्णराज पोखरेलको नाम धितोपत्र बोर्ड अध्यक्षका लागि सिफारिस गरेको हो। समितिले सिफारिस गरेको उक्त दावेदारहरुको अन्तिम छनौट मन्त्रीमन्त्रिपरिषदको बैठकबाट हुने छ। कुल १५ जना अवेदक मध्ये ५ जना छनौट गरिएकोमा अन्तर्वाता मार्फत ३ जनाको नाम सिफारिस गरिएको हो।
रुसले जुनसुकै बेला आक्रमण गर्न सक्ने भन्दै अमेरिकी नागरिकलाई तत्काल युक्रेन छोड्न निर्देशन
अमेरिकाद्वारा युक्रेनमा रहेको अमेरिकी दूतावासका कर्मचारीका परिवारलाई तत्काल युक्रेन छोड्न निर्देशन दिएको छ । अमेरिकी विदेश मन्त्रालयले एक निर्देशन जारी गर्दै युक्रेनको दुतावासमा कार्यरत कर्मचारीका सबै परिवारलाई तनाव चुलिने भएकोले तत्काल अमेरिका फर्किन निर्देशन दिएको हो । रुसले निकै ठूलो सैन्य आक्रमण गर्न गइरहेको सूचना प्राप्त भएको भन्दै अमेरिकाले आफ्ना नागरिकलाई सुरक्षित हुने चेतावानी दिएको छ । अमेरिकी नागरिकहरु प्रताडित हुन सक्ने अवस्था भएकोले घर फर्किन अनुरोध गरिएको अमेरिकाले जनाएको छ । सिएनएनले जनाए अनुसार, दूतावास भने खुला नै रहनेछ । तर कुनै पनि बेला रुसले आक्रमण गर्नसक्ने सूचना भने बारम्बार दिइएको छ । यदि रुसले आक्रमण गरेको खण्डमा दूतावासका कर्मचारी र तिनका परिवारको उद्धार गर्न नसकिने भएकोले समयमा नै घर फर्किन सूचना दिइएको हो । अमेरिका र उसका सहयोगीहरुले रुसले १० हजार बढी सैनिकहरु युक्रेनको सीमामा परिचालन गरेको र कुनै पनि बेला युक्रेनमा आक्रमण गर्न सक्ने भन्दै चेतावनी दिँदै आएका छन् । यद्यपी रुसले भने युक्रेनका माध्यमबाट आफूलाई घेराबन्दी गर्न खोजेको भन्दै बिरोध गर्दै आएको छ ।
राष्ट्रिय निर्वाचन लक्षित गरेर सोडारीको नेतृत्वमा वाम–लोकतान्त्रिक संयन्त्र गठन
धनगढी । राष्ट्रिय सभा निर्वाचनको तयारी तथा गठबन्धनका उम्मेदवारलाई जिताउन संयन्त्रको गठन गरिएको छ । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र बनेको हो । संयन्त्रका अन्य दुइृ सदस्यमा नेपाली काँग्रेसका तर्फबाट नृपबहादु वड र नेकपा माओवादी केन्द्रका तर्फबाट मानवहादुर धामी सदस्य रहेका छन् । गठबन्धनका तर्फबाट मदनकुमारी शाह (गरिमा), नारायणदत्त मिश्र र जगतबहादुर पार्की उम्मेदवार छन् । शाह महिला, मिश्र खुला तथा पार्की दलित तर्फका उम्मेदवार हुन् । बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर वलायर, माओवादीका नेता खगराज भट्ट, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष विक्रम शाही र जनता समाजवादी पार्टीका नेता तथा प्रदेश सभा सदस्य मालामति राना लगायतको उपस्थिति थियो । राष्ट्रिय सभाको चुनाव माघ १२ गते धनगढीमा हुँदैछ । सो चुनावमा ८८ स्थानीय तहका १७५ जना प्रमुख तथा उपप्रमुख र प्रदेश सभाका ५२ जनाले मतदान गर्नेछन् ।
भारतमा एकैदिन १ लाख ६० हजार कोरोना संक्रमित
नयाँ दिल्ली । कोरोनाको तेश्रो लहरमा भारतमा पहिलोपटक एकैदिन १ लाख ६० हजारमा कोरोना देखिएको छ । पछिल्लो २४ घण्टामा संक्रमणका १ लाख ५९ हजार ४२४ घटना फेला परेको दैनिक भास्करले जनाएको छ । ुसमाचार अनुसार, सबैभन्दा धेरै संक्रमण महाराष्ट्र, दिल्ली र पश्चिम बंगालमा देखिएो छ । यसअघि शुक्रबार १ लाख ४१ हजारमा कोरोना देखिएको थियो । भारतमा कोरोनाले कैयन राज्यका मुख्यमन्त्रीदेखि सर्वोच्च अदालतका न्यायाधीश तथा चिकित्सकहरु संक्रमित बनेका छन् । संसद भवनका एक सय बढी स्टाफमा समेत कोरोना देखिएको छ । कोरोना रोकथामका लागि दिल्ली, महाराष्ट्रलगायतका राज्यले लकडाउनको घोषणा गरेका छन् । अन्य कतिपय राज्यमा शैक्षिक संस्था बन्द गरिएका छन् ।
म कुनै पक्षमा हस्ताक्षर गर्दिनँ- रेशम चाैधरी
म कुनै पक्षमा हस्ताक्षर गर्दिनँ- रेशम चाैधरी । जनता समाजवादी पार्टी (जसपा) क कार्यकारिणी सदस्य रेशम चौधरीले आफू कुनै पक्षमा नलाग्ने बताएका छन् । सोमबार दिउँसो निर्वाचन आयोगमा उपस्थित भएका उनले आफू दुबै पक्षमा नखुल्ने भन्दै तटस्थ बसेका हुन् । डिल्लीबजार कारोबारबाट आयोगमा उपस्थित भएका उनले केहीबेर नेताहरुसँग छलफल गरेका थिए । छलफलपछि उनले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको भन्दै मुल पार्टी जसपा भएकाले तटस्थ बस्ने निर्णय लिएका छन् । यादवकाे पक्षमा ३४ सांसदले हस्चाक्षर सनाखत गरेका छन् ।
प्रधानमन्त्री देउवाको नक्कली आइडी बनाएर बदनाम गराउनेविरुद्ध उजुरी
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बदनाम गराउन सक्रिय रहेका व्यक्तिले नक्कली फेसबुक र ट्विटरमार्फत अनेकथरि सन्देश प्रवाह गर्न थालेपछि छानबिनका लागि उजुरी गरिएको छ । सभापति देउवाले प्रधानमन्त्रीमा नियुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथग्रहण गरेको तस्बिर राखेर फेसबुक तथा ट्विटर आईडी सञ्चालन गर्दै आएका छन् तर प्रधानमन्त्रीको नाम राखेर सञ्चालन गरिएको नक्कली आईडीमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्चको विषयमा उल्लेख छ । त्यसमा भनिएको छ, “हो, झलनाथजीको उपचार खर्च राज्यले बेहोरेको हो । उहाँले विश्वासको मत दिन खुला आह्वान गरेर मलाई जिताउन भूमिका निर्वाह गरेको सत्य हो । त्यसैले केही साइबर सेनाहरूले विरोध गरे पनि गरून्, उहाँलाई अझ एक करोड रुपियाँ उपचार खर्च थप्दिन्छु ।” पूर्वप्रधानमन्त्री खनालको उपचार खर्च तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दिने निर्णय गरेको थियो । यसैगरी अर्को नक्कली सन्देशमा भनिएको छ, “महान् बन्ने मेरो रहर छैन तर देश र जनताप्रति जवाफदेही बन्ने उत्कट चाहना छ । नेपालको सिमानाभित्र बसोबास गर्ने सबै उमेर समूहका (बालबालिकादेखि वृद्धवृद्धासम्म) नेपाली वा विदेशी नागरिक वा विदेशी शरणार्थी सबका सबलाई पूरा डोज खोप नलगाइकन हामी भोट माग्न आउने छैनौँ । आयौँ भने हामीलाई भोट नहाले हुन्छ ।” प्रधानमन्त्री देउवाले सबै नेपालीलाई पुग्ने गरी खोपको प्रबन्ध गर्ने र खोप लगाउने व्यवस्था गर्ने प्रतिबद्धता प्रतिनिधि सभाको बैठकदेखि अन्य कार्यक्रममा पनि सम्बोधनका क्रममा जनाउँदै आएका छन् । तर उनले त्यस क्रममा निर्वाचनको कुरा र मतदानको कुनै प्रसङ्ग उल्लेख गरेका छैनन् । यस विषयमा सम्पर्क राख्दा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका सचिव बद्री तिवारीले भने, “मैले केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)लाई लेखेर पठाइसकेको छु, अनुसन्धान भइरहेको छ ।” सचिव तिवारी थप्छन् , “नक्कली आईडी बनाएर प्रधानमन्त्रीको बदनाम गर्ने प्रयास भएको छ । लोकतन्त्रमा विश्वास राख्ने, देशमा सुशासन कायम गरेर राम्रो काम गर्न चाहने प्रधानमन्त्रीलाई नक्कली आईडी राखेर बदनाम गर्न खोजिएको छ । देशमा सुशासन र शान्ति सुरक्षा कायम गर्न पनि नदिनेहरूको यो चालबाजी हो ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।