राष्ट्रिय निर्वाचन लक्षित गरेर सोडारीको नेतृत्वमा वाम–लोकतान्त्रिक संयन्त्र गठन
धनगढी । राष्ट्रिय सभा निर्वाचनको तयारी तथा गठबन्धनका उम्मेदवारलाई जिताउन संयन्त्रको गठन गरिएको छ ।
एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीको संयोजकत्वमा तीन सदस्यीय संयन्त्र बनेको हो ।
संयन्त्रका अन्य दुइृ सदस्यमा नेपाली काँग्रेसका तर्फबाट नृपबहादु वड र नेकपा माओवादी केन्द्रका तर्फबाट मानवहादुर धामी सदस्य रहेका छन् । गठबन्धनका तर्फबाट मदनकुमारी शाह (गरिमा), नारायणदत्त मिश्र र जगतबहादुर पार्की उम्मेदवार छन् । शाह महिला, मिश्र खुला तथा पार्की दलित तर्फका उम्मेदवार हुन् ।
बैठकमा नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर वलायर, माओवादीका नेता खगराज भट्ट, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष विक्रम शाही र जनता समाजवादी पार्टीका नेता तथा प्रदेश सभा सदस्य मालामति राना लगायतको उपस्थिति थियो । राष्ट्रिय सभाको चुनाव माघ १२ गते धनगढीमा हुँदैछ । सो चुनावमा ८८ स्थानीय तहका १७५ जना प्रमुख तथा उपप्रमुख र प्रदेश सभाका ५२ जनाले मतदान गर्नेछन् ।
ओलीले एकताको ढोका बन्द गरे, एमालेसहितको राष्ट्रिय सरकार बनाउनु जरुरी– माधव नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली एकताविरोधी भएको बताउँदै राष्ट्रिय सरकार गठनमा जोड दिएका छन् । देश संकटपूर्ण अवस्थामा रहेकोले लोकतन्त्रवादी तथा वामपन्थीहरुबीच एकताले मात्रै संविधान र गणतन्त्र जोगाउन सकिने नेता नेपालको भनाई छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवासँग आफ्नै निवासमा भएको भेटका क्रममा नेता नेपालले संसद जोगाउँदै राष्ट्रिय सरकार गठनका लागि अग्रसर हुन देउवालाई पहलका लागि आग्रह समेत गरे । अब सिंगै एमालेले संस्थागत रुपमा सरकारलाई विश्वासको मत दिनुपर्ने बताए । एमालेबाट संस्थागत निर्णय हुन सकेन भने पनि सांसदहरुले स्वतन्त्र रुपमा विश्वासको मत दिएर संसद र सरकारलाई टिकाउने नेता नेपालको भनाई थियो । अहिले कसैले पनि मध्यावधि चुनाव नचाहेको बताउँदै नेता नेपालले एमालेभित्रको एकतालाई सुदृढ बनाउँदै राष्ट्रिय समस्या समाधानका लागि संसद जोगाउनुपर्ने बताए । “कोभिडसँग जुध्नुपर्नेछ, आर्थिक संकटको सामना गर्नुपर्नेछ, बाढी पहिरो पीडितको समस्या समाधान गर्नुपर्ने छ, राष्ट्रियताको जगेर्ना गर्नुपर्नेछ, संघीयतालाई जोगाउनुपर्ने र संस्थागत गर्नुपर्नेछ र विकासका कामहरु गर्नुपर्नेछ । यी सबै कामका लागि अब लडाइँ–झगडा बन्द गरेर चुनावसम्म राष्ट्रिय एकताको सरकार बनाएर अघि बढ्नुपर्छ ।’ देउवासँग उनले भने । अध्यक्ष ओलीले अनावश्यकरुपमा उत्तेजित अभिव्यक्ति दिइरहेकोमा नेता नेपालले आपत्ती व्यक्त गरेका छन् । रातोपाटी दैनिकले प्रकाशित गरेको समाचार अनुसार, नेता नेपालले ओलीले नै एकताको ढोका बन्द गरेको बताएका छन् । “‘उहाँले एकताको ढोका बन्द गर्नुभएको छ, उहाँ बर्बराउन थाल्नुभएको छ, नग्न स्वरुप देखाउनुभएको छ’ उनको भनाई छ, ‘उहाँ सत्ताको नसाबाट तल आउनुपर्छ । धर्तीमा उभिनुपर्दछ । निरंकुशताबाट मुक्त हुनुपर्छ । अराजकहरुको मण्डलीबाट मुक्त हुनुपर्छ ।’ केपी ओली अराजकतत्वहरुको पछि लागेको बताउँदै नेता नेपालले अगाडि भने, ‘अराजक तत्वहरुले कम्युनिस्ट पार्टीलाई सिध्याउँछन् । ओलीले यसैगरी पार्टी र आन्दोलनलाई गलत दिशामा हिँडाउन खोज्नुभयो भने उहाँको योभन्दा ठूलो पतन हुनेछ ।’
प्रचण्ड र नेत्रविक्रम चन्द ‘विप्लव’बीच खुमलटारमा भेटवार्ता
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र अर्का नेता नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न विप्लव धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्डनिवास खुमलटार पुगेका छन् । ओली सरकारका पालामा वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा आएको विप्लव समूहले आफ्ना बन्दीहरुको रिहाइको माग गर्दै आइरहेको छ । प्रचण्ड नेतृत्वमा माओवादीबाट विद्रोह गरेर भूमिगत राजनीतिमा लागेका विप्लवले पूर्व माओवादी लामो समयपछि प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
पार्टी एकता गराउनकै निम्ति म केपी ओलीतिर लाग्या छु : नेता गौतम
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता सम्भव नहुने बताएका छन् । राष्ट्रियसभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल एकआपसमा रिसाएको र सो रिस शान्त नभएसम्म दोश्रो तहका नेताको प्रयास पनि सार्थक नहुने बताएका हुन् । आफू भने पार्टी एकता गर्नुपर्छ भनेर अध्यक्ष ओली तिर लागेको र त्यसका लागि दुवै नेताको रिस शिथिल पार्ने प्रयासमा जुटेको बताए । उनले सर्वोच्च अदालतको फैसलापछि पार्टी एकता हुने ठोकुवा गरे। उनले भने, ‘एकै ठाउँ भएपछि त एकताको आवश्यकता नै पर्दैन नि । दुईतिर तिनतिर बाँडिएकाहरुलाई नै एकता गराउने हो । अहिले हाम्रो पार्टीमा माधव, झलनाथ एकातिर केपी एकातिर हुनुभयो । पार्टी एकता गराउनकै निम्ति भनेर म केपी ओलीतिर लाग्या छु । मैले एकताको प्रस्ताव अस्ति केन्द्रीय कमिटीको बैठकमा राखेँ । हलले नै मलाई एकताको प्रयत्न मुख्य कुरा बामदेवले गर्नुपर्छ भन्ने पास गरेको छ ।’ उनले यस्तो बेलामा नआत्तिकन सबै साथीहरुलाई धैर्यधारण गरेर प्रत्यन्त गर्न आफूले अरु नेताहरुलाई भनेको बताए । ‘म त्यसको लागि प्रयत्नशिल छु । लागिरहेको छु । माधव कमरेड धेरै रिसाउनुभएको छ केपी ओली जीसँग, केपी ओली पनि माधवसित बेस्सरी रिसाउनु भएको छ । यी दुईटाको रिस नमर्दासम्म उहाँहरुको मातहतमा रहेका साथीहरुको पनि चिन्ताले काम लाग्नेवाला छैन । म यी दुईटैको रिसलाई कसरी शिथिल बनाउन सकिन्छ हो, त्यतातिर लागिरहेको छु ।’ उनले भने । यस्तो अवस्थामा एकता सम्भव छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता गौतमले सम्भव भएको तर त्यो सर्वोच्चको आदेश पछि सम्भव हुने बताए । उनले भने, ‘एकता सम्भव छ । अहिले सम्भव नहोला । सर्वोच्चको निर्णय आएपछि एकता सम्भव होला भन्ने लागेको छ ।’
आजदेखि दैनिक ६७ वटा आन्तरिक उडान शुरु हुँदै
काेराेनाका कारण अनिश्चितकालका लागि रोकिएको आन्तरिक उडान ६८ औं दिनपछि सञ्चालन हुँदैछ । मन्त्रिपरिषद्को असार ७ को आदेश अनुसार, नागरिक उड्डयन प्राधिकरणले बुधबार आन्तरिक उडानका लागि चारवटा वायुसेवाको तालिका स्विकृत गरेका छ । प्राधिकरणले हाललाई जुलाई महिनाभर (असार १७ देखि साउन १६ सम्म) का लागि मात्रै दैनिक ६७ वटा उडान तालिका स्विकृत गरेको जनाएको छ । यी उडान बिहान साढे ६ बजेबाट सुरु भई बेलुकी ६ बजेसम्मका लागि हुनेछन् । प्राधिकरणको उडान अनुमती शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार काठमाडौंबाट बुद्ध एयरलाई दैनिक ३१, यतिलाई १५, श्री एयरलायन्सलाई १० र सौर्य एयरलायन्सलाई ३ वटा नियमित उडान अनुमति दिइएको छ । पहिलो चरणमा यी चारवटा वायुसेवाले काठमाडौंबाट धनगढी, नेपालगन्ज, सुर्खेत, भैरहवा, पोखरा, भरतपुर, सिमरा, जनकपुर, विराटनरगर, तुम्लिङटार र भद्रपुर उडान गर्नेछन् । स्विकृत तालिका अनुसार, काठमाडौंबाट दैनिक विराटनगरका लागि १०, भैरहवाका लागि ९, नेपालगन्ज र भद्रपुरका लागि ७/७, जनकपुर र सिमराका लागि ६/६, पोखराका लागि ५ र धनगढी ४ उडान हुनेछन् । त्यसैगरी काठमाडौंबाट लुक्ला, फाप्लु, ताप्लेजुङ, भोजपुर लगायत दुर्गम भेगका लागि दैनिक ८ वटा उडान हुने छन् । सुर्खेत, नेपालगन्ज, पोखरा र विराटनगर विमानस्थलबाट साना जहाजले गर्ने ती क्षेत्रका पहाडी तथा हिमाली भेगका लागि उडान अनुमति बिहीबार टुंगो लाग्ने भनिएको छ । ‘दुर्गम भेगका उडान गर्ने सिता, तारा र समिट एयरले अनुमति माग गरिसकेका छन, बिहीबार बिहान टुंगो लाग्ने छ,’ उप–प्रबन्धक भुलले कान्तिपुरसँग भने । यात्रुको माग अनुसार अहिले स्विकृत उडान तालिकालाई विश्लेषण गरी फेरबल गरिने तर ५० प्रतिशत भन्दा बढी नध्नेगरी उडान अनुमति कायमै राखिने प्राधिकरणले जनाएको छ । एक निजी वायुसेवाका अधिकारीका अनुसार, कोभिड संक्रमण फैलिन सक्ने भएकाले प्रत्येक उडानलाई १५ मिनेटको अन्तर राखेर उड्ने अनुमति दिइने भनिएको छ । त्यसैगरी स्वास्थ्य मापदण्ड अनुसार, यात्रुको भीड कम गर्ने उद्देश्यले काठमाडौं बाहिरका विमानस्थलमा पनि एकैपटक दुई वा बढी वायुसेवालाई जान दिइने छैन । विमानस्थलको र्यामबसमा यात्रुले सामाजिक दुरी कायम गरेर बस्नुपर्ने छ तर जहाजमा भने वायुसेवालाई सबै सिटमा यात्रु राखेर उडान अनुमति दिइएको छ ।
विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त
संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन् । सोमबार भएको मतदानमा बहुमत सदस्यहरूले उनकाे विपक्षमा मतदान गरेका थिए । ३४९ जना सांसद रहेकाे सदनमा १८१ जनाले अविश्वासको प्रस्तावको समर्थनमा मतदान गरेका थिए भने प्रस्तावको विपक्षमा र प्रधानमन्त्रीको पक्षमा भने १७५ जनाको मत परेको थियो । मतदानमा ५१ जना अनुपस्थित भएका थिए । स्वीडेनको संसदले लिएको यो निर्णयले विघटन हुने खतराबाट संसद जोगिएको छ । संसद विघटन भएको भए निर्धारित समयभन्दा एक बर्ष अगाडि नै आम निर्वाचनमा जानुपर्ने अवस्था आउने थियो । विपक्षीहरुले अविश्वासको प्रस्ताव पेश गरेपछि विश्वासको मत प्राप्त गर्न नसकेर पदमुक्त हुने उनी स्वीडेनको पहिलो प्रधानमन्त्री भएका छन् । वामपन्थी कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि लोफभेनको सरकार अल्पमतमा परेको हो । अर्पाटमेन्टका सम्वन्धमा भएको विवादका कारण उनीहरुले समर्थन फिर्ता लिएका थिए । समर्थन फिर्ता नलिनका लागि प्रधानमन्त्री लोफभेनले पटक पटक आग्रह गर्दा पनि उनीहरुले अस्वीकार गरेपछि संसदमा मतदान गराउनुपरेको हो ।
३३८४ संक्रमित थपिँदा ६२९५ निको, ६१ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ । ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ६ लाख ६ हजार ७७८ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ७१ हजार ३०१ छ । पछिल्लो २४ घण्टामा थप ६२९५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कुल संक्रमितमध्ये ५ लाख २७ हजार १११ जना निको भएका छन् । निको हुने दर ८६.९ प्रतिशत रहेको छ । शनिबार ६१ जनाको मृत्यु भएको छ । नेपालमा ८ हजार ३६६ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्युदर १.६ प्रतिशत रहेको छ । शनिबार काठमाडौंमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जना संक्रमित थपिएका छन् ।
अफ्रिकामा कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ४६ लाखभन्दा बढी
अदिस अबाबा : अफ्रिकामा पुष्टि भएका कोभिड-१९ सङ्क्रमितको सङ्ख्या ४६ लाख ७७ हजार ७९८ पुगेको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शनिबार जानकारी गराएको छ । अफ्रिकामा कोभिड–१९ को महामारीबाट प्रभावित सङ्क्रमितमध्ये ४२ लाख ३२ हजार ९७४ व्यक्ति सङ्क्रमणमुक्त भएका छन् भने मृत्यु भएका सङ्क्रमितको सङ्ख्या एक लाख २५ हजार ८९० पुगेको ५५ सदस्यीय अफ्रिकी युनियनको विशेष स्वास्थ्य निकाय, अफ्रिका सीडीसीले पुष्टि गरेको छ । अफ्रिका सीडीसीका अनुसार दक्षिण अफ्रिका, मोरक्को, ट्युनिसिया, इथियोपिया र इजिप्ट देशहरू महादेशमा सबैभन्दा बढी सङ्क्रमित हुने देशहरू हुन्। सङ्क्रमित सङ्ख्याको हिसाबले दक्षिण अफ्रिका सबैभन्दा बढी प्रभावित क्षेत्र हो । उत्तर अफ्रिका र पूर्वी अफ्रिकी मुलुकहरू पनि बढी प्रभाबित रहेका छन् भने यस महाद्वीपमा मध्य अफ्रिका सबैभन्दा कम प्रभावित क्षेत्र हो । दक्षिण अफ्रिकामा शनिबारसम्म १६ लाख आठ हजार ३९३ सङ्क्रमित फेला परेका छन् भने दोस्रो बढी प्रभाबित मानिएको अफ्रिकी मुलुक मोरक्कोमा पाच लाखभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।
खानेपानी मन्त्री मणि थापाले जिते कोरोना
काठमाडौं : खानेपानी मन्त्री मणि थापाले कोरोना जितेका छन् । आज गरिएको परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ । गत वैशाख १३ गते सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो । आजै पर्यटनमन्त्री भानुभक्त ढकालले पनि कोरोना जितेका थिए ।
खड्का होली सी र सर्बियाका राजदूत नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई होली सी र सर्बियाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् । नेपालको संविधानबमोजिम धारा २८२ को उपधारा(१)बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी जानकारी दिए ।
स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको र दैनिक सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि आज कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) अधिकारीसँग छलफलका क्रममा प्रधानमन्त्रीले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न आग्रह गरेका छन् । सिसिएमसीले गरेको ब्रिफिङपछि प्रधानमन्त्रीले केही दिन अघि जारी भएको स्वास्थ्यमा मापदण्डको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएका थिए। ब्रिफिङमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव खगराज बरालका अनुसार कोरोनाको सङ्क्रमण रोक्न स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिएका थिए । सिसिएमसीले यही वैशाख ६ मा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना, सङ्क्रमणको अवस्था तथा सरकारको तयारीबारे जानकारी गराएको थियो । यस्तै, सरकारको तर्फबाट आगामी दिनमा चाल्नुपर्ने कदमलगायत विषयमा आवश्यक छलफल गरी खाका ल्याउन प्रधानमन्त्रीले सिसिएमसीलाई निर्देशन दिनुभएको छ । सरकारले काठमाडौं उपत्यकालगायतका जिल्लामा शैक्षिक संस्थालाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्ने व्यवसथा मिलाएको छ । यस्तै, सवारी साधनमा मास्क तथा स्यानीटाइजरलगायतको व्यवस्था गरिको छ । मनोरञ्जन स्थल तथा भीडभाड हुने स्थानमा २५ जना बढी भेला हुन नपाउने व्यवस्था गरेको छ ।
नेपालले खेल्ने विश्वकप र एशिया कप छनाेट कुबेतमा हुने
फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले खेल्ने छनोट खेल कुवेतमा हुने भएको छ। छनोटअन्तर्गत नेपालले खेल्न बाँकी रहेका तीन खेल कुवेतमा हुने एसियाली फुटबल महासङ्घ (एएफसी)ले जनाएको छ। विश्वकप छनोटअन्तर्गत समुह बी का बाँकी खेल कुवेतमा हुने भएको हो। कोरोना भाइरसको महामारीका कारण चाइनीज ताइपेइ र अष्ट्रेलियाले आउन मनाही गरेपछि दशरथ रङ्गशालामा हुने भनिएका खेल स्थगित भएका थिए। छनोटका बाँकी खेल मे ३१ देखि जुन १५ तारिखसम्म हुने छन्। प्रतियोगितामा नेपालले चाइनीज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ। समूह ‘बी’ मा रहेको नेपालले हालसम्म पाँच खेलबाट तीन अङ्क जोडेको छ। चाइनीज ताइपेइलाई हराएको नेपाल चौथो स्थानमा छ। समूह बी को शीर्ष स्थानमा अष्ट्रेलिया छ।
यातायात कार्यालय जनकपुरबाट १५ जना बिचौलिया पक्राउ
काठमाडौंः यातायात व्यवस्था कार्यालय जनकपुरबाट १५ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । यातायात कार्यालयमा बिचौलीयाबाट काम नगराइ समयमा कामै नहुने र ठगी बढेको सेवाग्राहीको गुनासो आएपछि छापा मारी उनीहरूलाई पक्राउ गरिको प्रहरीले जनाएको छ । कार्यालयमा काम गराउन पुगेका सेवाग्राहीलाई छिटो काम गराइदिन्छु भन्दै सेवाग्राहीबाट चर्को रकम लिने र बारगेनिङु गर्ने बिचौलियालाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । उनका अनुसार श्यामसुन्दर यादव, गौरीशंकर नायक, योगेन्द्रकुमार यादव, अरीफ राईन, भवीद्द्न साह, संजय साह, उमेशकुमार महतो, ध्रमेन्द्रकुमार यादवसहित १५ जना बिचौलिया पक्राउ परेका हुन् । पक्राउ गरेकाहरूमाथि छानबिन भइरहेको प्रहरी उपरीक्षक रानाभाटले बताए । पहिलो चरणमा उनीहरूलाई सम्झाइबुझाइ गरेर छाडिने र फेरि पनि त्यस्ता गतिविधिमा संलग्न देखिए कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ ।
नाइजेरियामा विद्यालय पढ्ने ३ सय छात्रा अपहरणमुक्त
काठमाडौं । उत्तर पश्चिमी नाइजेरियाबाट गत साता अपहरणमा परेका तीन सय विद्यालय पढ्ने छात्रा अपहरणमुक्त गरिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार जामफ्रा राज्यको जंगिबेस्थित एक निजी विद्यालयमा अध्ययनरत तीन सय छात्रालाई गत साता अज्ञात बन्दूकधारी समूहले अपहरण गरेका थिए । सोमबार उक्त राज्यका गभर्नरले सबै छात्रालाई मुक्त गरिएको र उनीहरु सुरक्षित रहेको बताएका छन् । बीबीसीका अनुसार सोमबार नै जामफ्रास्थित एक सरकारी भवनमा अपहरणमुक्त भएका छात्राहरु जम्मा भएको देखिएको छ । गभर्नर बेल्लो म्यानवल्लेले आफ्नो ट्वीटर खातामा अपहरणमा परेका छात्राहरु मुक्त भएको भनिरहँदा आफू अत्यन्तै हर्षित भएको उल्लेख गरेका छन् । अधिकारीहरुले २७९ जना छात्रा अपहरणमुक्त भएको जनाएको छ । गत साता प्रहरीले ३१७ छात्रा अपहरणमा परेको भनेर दिएको विवरण गलत रहेको समेत अधिकारीहरुले दाबी गरेका छन् ।
विसं २०७८ को दशैं तिहारको मिति सार्वजनिक, के–कहिले ?
काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ । बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर शुरु हुने भएको छ । असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ । कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मङ्गलबारदेखि शुरु हुनेछ । दशैँ र तिहारलाई नेपालमा विशेषरूपमा मनाइन्छ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ । चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् । शक्तिको आराधना गर्न वर्षमा चार नवरात्र पर्ने भए पनि चैत्र शुक्ल र आश्विन शुक्लको दशैँलाई नेपालीले महत्वका साथ मनाउने गरेको समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । वर्षमा चारपटक अर्थात् चैत, असार, असोज र पुस महिनाको शुक्ल पक्षमा देवीको आराधना गर्ने नवरात्र पर्छ । असार र पुसमा पर्ने नवरात्रमा साधकले साधना गर्ने गरे पनि आमरूपमा मनाउने परम्परा छैन । यस वर्ष विसं २०७७ असोजमा मलमास (अधिकमास) परेकाले विसं २०७८ मा तीन वटा दशैँ परेको उनले जानकारी दिए । रासस
दोस्रो चरणको बन्द प्रशिक्षणका लागि क्यानले बोलायो २० खेलाडी
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीलाई बोलाएको छ । क्यानले कप्तान ज्ञानेन्द्र मल्लसहित २० खेलाडीलाई दोस्रो चरणको प्रशिक्षणका लागि बोलाएको हो । दोस्रो चरणको प्रशिक्षण भोलि (आइतबार)देखि सुरु हुँदैछ । त्यसको अघिल्लो दिन क्यानले दोस्रो चरणको प्रशिक्षणमा भाग लिने खेलाडीलाई बोलाएको हो । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत अमेरिका, ओमान र नेपालबीचको एकदिवसीय सिरिजका लागि प्रारम्भिक टिममा परेका २१ खेलाडीलाई समावेश गरेर गत साता पहिलो चरणको प्रशिक्षण सुरु भएको थियो । प्रधानमन्त्री कपमा गरेको प्रदर्शनको आधारमा नेपाल क्यानले ३२ जना खेलाडीको नाम सार्वजनिक गरेको थियो । पहिलो चरणमा २१ खेलाडी अभ्यासमा सहभागी भएका थिए । अब पहिलो चरणमा समावेश र थप गरी २० जनालाई प्रशिक्षणका लागि बोलाएको हो । नेपालले अभ्यास जारी राखे पनि निर्धारित मितिमा भने नेपालसहित तीन देशले खेल्ने भनिएको सिरिज नहुने भएको छ । प्रतियोगिताका लागि नयाँ मिति घोषणा नभए पनि नेपालले भने प्रशिक्षण जारी नै राख्ने छ । दोस्रो चरणमा क्यानले बोलाएका खेलाडी । सूची :