भूकम्पपीडितका लागि प्राधिकरणले दियो एक करोडको चेक

काठमाडौं । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरुको उद्धार एवं राहतका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले घोषणा गरेबमोजिमको रु एक करोडको चेक आज हस्तान्तरण गरेको छ ।

प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीलगायत कर्मचारी बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज बिहान उक्त रकम बराबरको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि हस्तान्तरण गरेको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का प्रवक्ता जगन्नाथ निरौलाले दिए ।

जाजरकोट केन्द्रविन्दु भएर गत शुक्रबार गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममामा गरी १५३ जनाको मृत्यु भएको छ भने २५० भन्दा बढी घाइते भएका छन् । घाइते तथा स्थानीय पीडितका लागि विभिन्न सरकारी निकाय एवं सङ्घसंस्थाले सहयोग उपलब्ध गराउने क्रम जारी छ । रासस

रिगल नेपालगन्जबाट पक्राउ

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि योगराज ढकाल रिगल डन पक्राउ परेका छन् । उनी नेपालगञ्जबाट पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । बाँकेका एसपी सुवास बोहोराले दिएको जानकारीअनुसार उनी भर्खरै नेपालगन्जबाट पक्राउ परेका हुन् । सर्वोच्च अदालतले बिहीबार नै माफी मिनाहाको निर्णय खारेज गर्दै तत्काल पक्राउ गर्न परमादेश जारी गरेको थियो । पूर्ण इजलासको आदेशलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

इजरायलमा मृत्यु भएका चार नेपालीको शव आइतबार काठमाडौं आइपुग्ने

काठमाडौं। हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ । तेलअविवस्थित नेपाली दूतावासले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर चार जनाको शव आज (शनिबार) दिउँसो १ः२५ बजेको फ्लाई दुबईको उडानबाट नेपाल पठाउन लागेको जानकारी दिएको छ । दूतावासका अनुसार फ्लाई दुबईकै उडन एफजेड ८३५१ मार्फत् काठमाडौंसम्म पुग्ने गरी व्यस्था मिलाइएको छ । उडान कार्यतालिका अनुसार शव कात्तिक ५ गते आइतबार बिहान काठमाडौं आइपुग्ने छ । अन्य शव पहिचानको काम भइरहेको नेपाली दूतावासले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ । यसैगरी, दूतावासले सम्पर्कविहीन रहेका विविन जोशीको खोजी भइरहेको पनि विज्ञप्तिमार्फत् जनाएको छ ।

थापाले दिए संसदीय दलको नेताबाट राजीनामा

काठमाडौं । कोसी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले राजीनामा दिएका छन् । उनले आज कांग्रेस संसदीय दलको नेताबाट राजीनामा दिएका हुन् । थापाले आफूले नैतिक रुपमा राजीनामा दिएको बताएका छन् । राजनीतिक घटनाक्रममा एउटा कारक आफू पनि भएको भन्ने सोच बनाएर राजीनामा दिएको उनले बताएका छन् । मुख्यमन्त्री बन्नु र आफ्नो राजीनामा दिनु संयोगमात्र भएको थापाको भनाइ छ । “मुख्यमन्त्री केदार कार्की हुने र आफूहरु प्रतिपक्ष हुने होइन उहाँ गठबन्धनकै मुख्यमन्त्री हुने सम्भावना छ,” उनले भने । कांग्रेसकै प्रदेशसभा सदस्य केदार कार्की पार्टीबाट विद्रोह गर्दै बहुमत जुटाएर मुख्यमन्त्री बनेपछि थापाले राजीनामा दिएका हुन् ।

पशुपतिनाथ मन्दिर क्षेत्रमा मासु र मदिरा निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपतिनाथ मन्दिर वरपर मासु र मदिरा बिक्री–वितरण र प्रयोगमा रोक लगाएको छ । सोमबार (भोलि) तिजको अवसरमा पशुपति क्षेत्रभित्र चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले बताएको छ । रोक लगाइएको क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ उत्पादन, बिक्री–वितरण, भण्डारण र सेवन गर्न आजदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नियम उल्लंघन गर्नेलाई कारबाही गरिने बताइएको छ ।

माओवादी केन्द्रद्वारा काठमाडौंको गोंगबुमा रक्तदान तथा स्वास्थ्य शिविरको आयोजना

काठमाडौं । नेकपा (माओवादी केन्द्र(ले काठमाडौंको गोंगबु बसपार्कमा शनिबार बिहान रक्तदान तथा स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको छ। तीन महिने जनतासँग माओवादी विशेष रूपान्तरण अभियानअन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो। माओवादी काठमाडौं महानगर २६ नम्बर वडाद्वारा आयोजित रक्तदान र स्वास्थ्य शिविरको सो पार्टीका उपहमासचिव एवं उपत्यका विशेष प्रदेश इन्चार्ज वर्षमान पुन अनन्तले उद्घाटन गरे। संगठन सुदृढीकरण र विस्तारका लागि माओवादीले आजदेखि देशभर एकैपटक अभियान सञ्चालन गर्दैछ। माओवादीले पदाधिकारीदेखि केन्द्रीय सदस्यसमेतलाई वडा वडाको ज़िम्मेवारी दिएर अभियानमा खटाएको छ।

कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनुवाइ नहुने

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनमा शुक्रबार (आज) पूर्ण सुनुवाइ नहुने भएको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा पेसी परेको थियो। तर न्यायाधीश खतिवडाले आफूले यो रिटमा पूर्ण सुनुवाइ नगर्ने बताएपछि सुनुवाइ नै नहुने भएको हो।

आजको मौसम : गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका केही तथा बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । राती भने देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको ‍एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ ०० पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ५० पैसा र बिक्री दर १४२ रुपैयाँ १५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ७२ पैसा र बिक्री दर १६५ रुपैयाँ ४८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०६ पैसा र बिक्री दर ३६ रुपैयाँ २३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने

काठमाडौं : नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सार्वजनिक निजी साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो निर्माण प्रक्रिया अघि बढाइने समेत सरकारले बताए ।

धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गरिने

सरकारले बुढानिलकण्ठ स्कूल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कूलको सञ्चालन मोडालिटी अवलम्वन गरी धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले शैक्षिक गुठीमार्फत धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेल्धुरामा एक एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन र पूर्व तयारीका कार्य अगाडि बढाइने जानकारी दिए ।

३.३१ अंकले बढ्यो नेप्से, ६४ करोड बराबरको कारोबार

काठमाडौं । नेप्से आज सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ३.३१ अंकले बढेर एक हजार ८ सय २१ दशमलब ६२ विन्दुमा पुगेर बन्द भएको छ । सोमबार नेप्से ३.३४ अंकले घटेर एक हजार ८ सय १८ दशमलब ३१ विन्दुमा बन्द भएको थियो । नेप्से बढेपनि कारोबार रकममा भने सुधार देखिएको छैन । आज नेप्सेमा ६४ करोड बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ७२ करोड ४९ लाख ६९ हजार रुपैयाँ बराबरको मात्रै कारोबार थियो । आज कारोबार भएका १३६ कम्पनीको शेयरमूल्य बढेको छ भने ६३ कम्पनीको शेयरमूल्य घटेको छ । यसका साथै १७ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८४८.६० रुपैयाँ पुगेको छ । नेप्सेका अनुसार माई खोला हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंक भएको छ । यस कम्पनीको आज पाँच करोड एक लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ७७ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ११ पैसा र बिक्री दर १४३ रुपैयाँ ७७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ४२ पैसा र बिक्री दर १६५ रुपैयाँ १७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ०१ पैसा र बिक्री दर ३६ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु

धनगढी । दार्चुलामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका–८ चस्कोटका ४० वर्षीय जयराम लुहारको धमालेक सल्याड भीरबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा मध्यम मार्गको विकल्प अपनाउने सहमति

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाको टुंगो लगाउन मध्यममार्गको विकल्प अपनाउन सत्तारुढ दल सहित प्रमुख प्रतिपक्ष दल एमालेले सैद्धान्तिक सहमति जनाएका छन् । सरकारले संसद्‌मा दर्ता गराएको संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्न बनेको विधेयक सहित महत्त्वपूर्ण अन्य विधेयकलाई छिटोभन्दा छिटो टुङ्ग्याउन सत्तारुढ दल सहित प्रमुख प्रतिपक्ष दल एमालेले सैद्धान्तिक सहमति जनाएका हन् । सभामुख देवराज घिमिरेको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’‚ काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा सत्य निरूपण तथा मेलमिलाप विधेयक, संवैधानिक परिषद् र सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयकलाई छिटो टुङ्ग्याउने विषयमा गम्भिर छलफल भएको छ । नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले बैठकमा टिआरसीसँग सम्बन्धित विधेयक, संवैधानिक परिषद्सँग सम्बन्धित विधेयक र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधयेकलाई छिटो टुंग्याउने भन्ने बारेमा छलफल भएको बताए । चैत्र २८ गते विज्ञहरुसँग बसेर यसको प्राविधिक पाटो पनि टुंग्याउने उनको भनाइ छ । सत्य निरूपण तथा मेलमिलाप विधेयकलाई टुङ्ग्याउन विषयगत समितिहरू गठन गर्ने र सकेसम्म सहमतिकै आधारमा अघि बढ्ने एमाले अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए । चैत्र ५ गते मन्त्रिपरिषद्को निर्णय बमोजिम सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलपिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता गराएको थियो। बैठकमा संसद्को बिजनेसबारे समेत कुराकानी भएको थियो । दलहरूको अर्को बैठक २८ गते बिहान साढे ९ बजे फेरि बस्नेछ।

ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना

काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालमा आज दिउँसो हेलिकप्टर दुर्घटना भएको छ । धुम्बाराहीस्थित अस्पतालबाट छतमा रहेको हेलिप्याडमा अवतरणका क्रममा एयर डाइनास्टीको हेलिकप्टर दुर्घटना भएको हो । चिकित्सकलाई लिएर बिरामी लिन चितवन जानका लागि अवतरण हुन लागेको हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा मानवीय क्षति भने नभएको बताइएको छ । दुर्घटनामा परेको हेलिकप्टरका पाइलट सकुशल छन् भने हेलिकप्टरको पछाडिको पंखा खुस्किएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।