हात्तीको आक्रमणबाट महिलाको मृत्यु
सुरुङ्गा (झापा), माघ १० । जङ्गली हात्तीको आक्रमणमा परी दक्षिणी झापाको भद्रपुर नगरपालिकामा आज एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ महेशपुर निवासी ४१ वर्षीया पालमाया लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
घर नजिकै रहेको मायालु सामुदायिक वनमा घाँस काट्न गएकी लिम्बूलाई घर फर्कने क्रममा हात्तीले आक्रमण गरेको बताइएको छ । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला वन अधिकृत बोधराज सुवेदीले जानकारी दिए । रासस
युएइमा प्रधानमन्त्रीले भने– ‘संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि’
दुवई, माघ ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले पहाड र मधेसका नाममा मुलुकमा क्षेत्रीय ध्रुवीकरण बढ्न नहुने बताएका छन् । प्रधानमन्त्रीले हिमाल, पहाड र तराईबीचको एकता जोगाउनु आफ्नो सरकारको पहिलो दायित्व भएको बताए । दुवईमा प्रवासी नेपालीहरुले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले मधेस विनाको काठमाडौंको कल्पना गर्न नसकिने बताए । सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रिय एकता र अखण्डताकै लागि भएको प्रचण्डले बताए । उनले भने– ‘कुनै जाति, क्षेत्र र समुदायलाई धकेलेर राष्ट्रियता बलियो बनाउन सकिदैन, मधेसका लागि काठमाडौं र काठमाडौंका लागि मधेस दुवै अभिन्न रुपमा जोडिएको छ ।’ प्रधानमन्त्री प्रचण्डले सरकारको चासो आर्थिक समृद्धि र बिप्रेषणको प्रतिफलयुक्त आयोजनामा लगानी गर्नुमा रहेको बताए । प्रवासी नेपालीहरुसँग अन्तरक्रियापूर्व प्रधानमन्त्रीले नेपाली व्यवसायीहरुसँग छलफल गरेका थिए । नेपालमा पनि लगानीको वातावरण बनाउन सरकार प्रयत्नशील रहेको बताए । ‘अब नेपालमा लगानी गर्ने प्रशस्तै आधार वर्तमान सरकारले बनाइदिएको छ, नेपालमा लगानीको वातावरण छ भन्ने सन्देश तपाईँहरुले सबैलाई लैजानुहोला ।’ प्रचण्डले भने ।
कर्मचारीको व्यक्तिगत विवरण राख्न पिआइएस क्लिनिक सञ्चालन
भद्रपुर, माघ २ । निजामती कर्मचारी किताबखानाले कर्मचारीको व्यक्तिगत विवरण (पिआइएस) अद्यावधिक गर्न झापामा पिआइएस क्लिनिक सञ्चालन गरेको छ । अब आफू कार्यरत स्थानमा नै कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक हुने छ । कर्मचारीको सरुवा–बढुवा, वैदेशिक भ्रमण, सन्तति छात्रवृत्ति लगायत विवरण पनि त्यसमा रहने छ । निजामती कर्मचारी किताबखानाका महानिर्देशक गङ्गाराम गेलालले तीन वर्षीय रणनीतिक योजनाबाट सेवाग्राहीमैत्री सूचना प्रविधिमा आधारित आधुनिक मानव संसाधन सूचना केन्द्रका रुपमा निजामती किताबखानाको पहिचान कायम हुने बताए ।
दक्षिण एसियाली प्रेस काउन्सिल गठन गर्न नेपालको सहयोग रहने
काठमाडौँ, पुस २९ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दक्षिण एसियाली प्रेस काउन्सिल गठन गर्न नेपाल सरकारको सहयोग रहने बताएका छन् । नेपालसहित भारत, बङ्गलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिसँगको आज भएको सामूहिक भेटमा सञ्चारमन्त्री कार्कीले दक्षिण एसियाको सञ्चारको समस्या एउटै रहेकाले काउन्सिल स्थापना गरे त्यसले सहजता ल्याउने विश्वास व्यक्त गरे । भेटमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासङ्घका प्रतिनिधि, साइप्रस प्रेस काउन्सिलका प्रतिनिधि अलि हान्स्री, भारतीय प्रेस काउन्सिलका अध्यक्ष जस्टिस चन्द्रमौलीकुमार प्रसाद, बङ्गलादेश प्रेस काउन्सिलका अध्यक्ष जस्टिस ममताज उद्दिन अहमेद लगायत सहभागी थिए । प्रतिनिधिमण्डलले प्रेस स्वतन्त्रताप्रति नेपालले खेलेको भूमिका सराहनीय भएको जनाएको थियो । रासस
स्ववियु चुनावमा होमियो क्रान्तिकारी, प्रत्येक कलेजमा कमाण्डर खटाउने
काठमाडौं, पुस २८ । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकारी) स्ववियु चुनावमा होमिएको छ । स्ववियु चुनाव आगामी फागुन १४ गतेका लागि तोकिएको छ । उक्त निर्वाचनका लागि क्रान्तिकारीले स्ववियु निर्वाचन हुने देशभरका सवै कलेजमा चुनावी कमाण्डर तोक्ने भएको छ । डेढ महिने विद्यार्थी जागरण अभियानको समीक्षा र स्ववियु निर्वाचनको तयारीका लागि काठमाडौंमा पौष २७ गतेवाट क्रान्तिकारी पदाधिकारीको वैठक शुरु भएको छ। वैठकमा अध्यक्ष नरेन्द्र न्यौपानेले देशभरका सम्पुर्ण कलेजका कमाण्डर तोकेर सम्पुर्ण रुपमा स्ववियुमा होमिने वताएका छन्। आज वुधबार अध्यक्षद्वारा वैठकमा ऐजेण्डा प्रस्तुत र देशभरको रिपोर्टिङ भएको छ।भोलि विहिवार वैठकलाई माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड,नेता नारायणकाजी श्रेष्ठ र रामवहादुर थापा वादलले प्रशिक्षण दिने कार्यक्रम रहेको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले वताए ।भोलि नै कलेज कमाण्डर टुंगो लागेपछि वैठक समापन हुनेछ।
देशको विकास र समृद्धिका लागि सबै नेपालीबीच एकता आवश्यकः अोली
विराटनगर, २५ पुस । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सार्वभौंमसत्ता, भौंगोलिक अखण्डता, गणतन्त्र र सामाजिक सद्भावप्रति एमाले पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । नेकपा (एमाले) मोरङको आठौं जिल्ला अधिवेशनको सोमबार उद्घाटन गर्दै उनले भने – “स्थापनाकालदेखि नै एमालेले न्यायोचित वितरण प्रणाली र समानताको सिद्धान्तलाई अङ्गिकार गरेर मुलुकलाई विकासको मार्गमा डो¥याउने उद्देश्यका साथ अगाडि बढिरहेको छ ।” अध्यक्ष ओलीले जनताको बलिदानबाट प्राप्त गणतन्त्रलाई संस्थागत गर्नका लागि संविधानको कार्यान्वयन गरी मुलुकलाई निर्वाचनतर्फ अग्रसर गराउनुपर्ने अहिलेको आवश्यकता हो भन्दै उनले भने—“यतिबेला स्वार्थहरु टकराएका छन्, त्यसैले गणतन्त्रको स्थायित्वका लागि नेपाली जनता सजग हुनुपर्दछ ।” देशलाई पछाडि धकेल्नका लागि क्षेत्र, भाषा र जातीय एकताबीच वैमन्स्यता फैलाउने काम अहिले भइरहेको छ, उनले भने– देशको विकास र समृद्धिका लागि सबै नेपालीबीच सबल एकता हुनुपर्दछ । अध्यक्ष ओलीले द्वन्द्व यतिखेर उद्योगको रुपमा फस्टाएर व्यवसाय गर्न खोजिँदै छ, यस्ता षड्यन्त्रबाट नेपाली जनता सजग र सचेत हुनुपर्दछ भन्दै संविधान संशोधन प्रस्ताव संविधानविपरीत रहेकाले संसद्बाट पारित हुन नसक्ने बताए । तीन दिने सो अधिवेशनको सफलताको कामना गर्दै उनले पार्टीे सङ्गठनलाई अझ सशक्त र बलियो बनाउन कार्यकर्तालाई सक्रिय भएर लाग्न निर्देशन दिए । रासस
लागुऔषध सहित दुईजना पक्राउ
कञ्चनपुर, पुस २२ । पश्चिमी सीमानाका गड्डाचौकीबाट आज बिहान सशस्त्र प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । निकटवर्ती भारतीय बजार वनवासाबाट प्रतिबन्धित नाइट्रोभेट नामक लागुऔषध एक हजार पचास थानसहित भीमदत्तनगरपालिका–१० का २३ वर्षीय रामसिंह धामी र बेलडाँडी नगरपालिका–६ का मदन गिरीलाई पक्राउ गरेको हो । दुबै जनालाई लागुऔषधसहित सीमा नाकामा चेकजाँचका क्रममा पक्राउ गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक नेत्र केसीले बताए । धामी लामो समयदेखि लागुऔषधको ओसारपसारमा संलग्न रहेको पाइएको छ उहाँले भन्नुभयो, “गिरीलाई धामीले मदिरा खुवाई सीमाना कटाउनका लागि लागुऔषध उपलब्ध गराएको प्रारम्भिक सोधपुछमा बुझिएको छ ।” लागुऔषधसहित पक्राउ गरेका दुबै जनालाई आज जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा बुझाइने उनले जानकारी दिए । रासस तस्वीर स्रोत: सामाजिक सञ्जाल
संशोधन प्रस्ताव पारित गर्न एमाले जिम्मेवार हुनुपर्ने– नेता महतो
विराटनगर, पुस २० । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राजनीतिक समस्या समाधान नभएसम्म मुलुक अगाडि बढ्ननसक्ने बताउनुभएको छ । सद्भावना पार्टी मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले विगत १० वर्षदेखि मधेसको समस्यालाई अल्झाएर राखिएको छ भन्नु भयो । उहाँले परिमार्जनसहित संविधान संशोधनको प्रस्ताव पारित हुनुपर्ने उल्लेख गर्दै सो प्रस्ताव पारित नभएको अवस्थामा निर्वाचन हुन नसक्ने स्पष्ट पार्नुभयो । मधेसको जनतालाई शासनको अनुभूति दिनका लागि मधेस र पहाडलाई छु्याएर प्रदेशको निर्माण गर्नुपर्ने विषयमा जोड दिँदै उहाँले संविधान संशोधनको प्रस्तावलाई पारित गराउनका लागि नेकपा (एमाले) पनि जिम्मेवार हुनुपर्ने आवश्यकता औँंल्याउनुभयो । सिके राउतले अलग मुलुकको माग राखेको सन्दर्भमा पत्रकारको जिज्ञासामा उहाँले प्रदेशको माध्यमबाट नै मधेसी, थारु,आदिवासी जनजातिको अधिकार सुनिश्चित हुने भएकाले त्यस्ता मागको पक्षमा मधेसी मोर्चा नरहेको स्पष्ट पार्नुभयो ।
त्रिविलाई उत्कृष्ट केन्द्र बनाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, पुस २० । प्रधानमन्त्री पुष्पकमल दाहालले राजनीतिक परिवर्तनलाई संस्थागत गर्न र संविधानको कार्यान्वयनका लागि त्रिभुवन विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयसहित उत्कृष्ट केन्द्र बनाउन निर्देशन दिएको छ । त्रिभुवन विश्वविद्यालय सभाको ४२ औँं साधारण बैठक (सिनेट) लाई आज कीर्तिपुरमा सम्बोधन गर्दै उनले स्थानीय निर्वाचनको मिति तय भइसकेपछि त्यसलाई प्रतिकूल असर नगर्ने वातावरण सिर्जनासहित स्ववियु निर्वाचन पनि गराउन आग्रह गरेको छ । उनले उच्च शिक्षालाई समयानुकुल बनाउन त्रिविजस्तो इतिहास बोकेको संस्थाले सोच्नुपर्ने जनाउँदै यसको चुस्त शैक्षिक वातावरण निर्माणका पहल गर्न आग्रह गरे । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले प्रशासनिक र नीतिगत विषयमा आवश्यकताअनुसार सुधार गरी आफ्ना कार्य सञ्चालन गर्न, प्राज्ञिक संस्थामा अति राजनीतिकरण नगर्न, उचित व्यवस्थापन गर्न पनि आग्रह गरे । उनले उच्च शिक्षालाई समाजका सबै वर्ग, समूह, लिङ्ग, कर्म र क्षेत्रको पहुँचमा पुर्याउन क्रमशः विकेन्द्रित र स्वायत्त बनाउनुपर्नेमा पनि जोड दिएको छ । प्रधानमन्त्रीले भने– ‘शिक्षालाई वैज्ञानिक, रोजगारमूलक र गुणस्तरीय बनाउनुपर्छ र व्यवस्थापनमा विकेन्द्रिकरण र स्वायत्ततालाई क्रमिक अघि बढाइनु आवश्यक छ ।’ शिक्षामन्त्री एवम् त्रिविका सहकुलपति धनीराम पौडेलले त्रिविको सुधार र विकासका लागि सरकारबाट गर्नुपर्ने सहयोगमा कमी नहुने विश्वास दिलाउँदै यसबाट उत्पादित प्रतिस्पर्धी विद्यार्थी विश्व बजारमा स्थान पाउन सकुन् भन्ने अपेक्षा व्यक्त गरे । उपकुलपति डा.तीर्थराज खनियाँले विश्वमा प्रचलित उत्कृष्ट गुणस्तर मानिएको सेमेष्टर प्रणालीलाई क्रमशः लागू गर्ने प्रक्रियामा त्रिवि रहेको जानकारी दिँदै त्रिविको सहमतिबिना आफ्ना क्याम्पस र भौतिक पूर्वाधारलाई अन्य विश्वविद्यालयमा हस्तान्तरण गर्ने सरकारी शैलीप्रति चिन्ता प्रकट गरेको छ । विश्वभरिका विश्वविद्यालयमध्ये त्रिवि हाल ४२४१ औं स्थानमा छ । त्रिविमा हरेक वर्ष दुई पटक यस्ता सभा बस्दै आएका छन् । बैठकमा त्रिविको ५५ औंँ वार्षिक प्रतिवेदन, त्रिविसम्बन्धी ऐन, नियमावलीमा परिवर्तन, संरचनात्मक सुधारका कार्यसूची छन् ।
बूढीगण्डकी प्रभावितले पुसभित्रै मुआब्जा पाउने
गोरखा,पुस १९ । बूढीगण्डकी जलविद्युत् आयोजना डुबान क्षेत्रअन्तर्गत गोरखाका १४ वटा गाविसमध्ये घ्याल्चोक, भुम्लिचोक र दर्बुङका प्रभावित जनताले पुस महिनाभित्रमा मुआब्जा रकम पाउने भएका छन् । जग्गाधनीबाट मुआब्जाका लागि निवेदन दिने समय आजसम्म रहेको र अहिलेसम्म करिब ३०० जनाले मुआब्जाका लागि निवेदन दिइसकेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । तीन गाविसमा गरी एक हजार हाराहारीमा मुआब्जा पाउन योग्य प्रभावित छन् । “केही दिनमा मुआब्जा वितरण सुरु हुन्छ” शर्माले भने– “मुआब्जा रकम जिल्ला प्रशासनको खातामा राख्न बूढीगण्डकी विकास समितिलाई पत्राचार गरिसकियो ।” मुआब्जाका लागि निवेदन दिएकालाई क्रमशः मुआब्जा रकम वितरण गर्दै जाने बताइएको छ । मालपोत कार्यालय गोरखा र घ्याल्चोकको सिउरेनीटारस्थित बूढीगण्डकी विकास समितिको कार्यालयमार्फत मुआब्जाका लागि प्रभावितले निवेदन दिइरहेका छन् । जिल्ला मुआब्जा समितिले गत मङ्सिर ११ गते जग्गालाई एघार प्रकृतिमा विभाजन गरी रु पाँच लाख २५ हजारदेखि आठ लाख ३५ हजारसम्म मुआब्जा दिने निर्णय गरेको थियो । उक्त निर्णयप्रति बूढीगण्डकी प्रभावितले विरोध गर्दै आन्दोलन गर्नुका साथै उचित मुआब्जा दिनुपर्ने भन्दै गृह मन्त्रालयमा पुनरावेदन गराएका छन् । मुआब्जा पुनरावलोकनबारे गृहले अहिलेसम्म कुनै निर्णय गरेको छैन । “प्रशासनको खातामा रकम आएपछि धमाधम मुआब्जा बाँड्छौँ । गृहले मुआब्जा पुनरावलोकन गरेमा थप हुने मुआब्जा पछि वितरण हुनेछ,” उनले भने । रासस
बरीष्ठ साहित्यकार आत्मा राम ओझाको निधन
काठमाडौं, पुष १५ । बरीष्ठ साहित्यकार एवं इतिहासकार आत्मा राम ओझाको ८८ बर्षको उमेरमा आज निधन भएको छ । आज बिहान ४ बजे उनको निधन भएको पारिवारीक श्रोतले जनाएको छ । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ निवासी साहित्यकार एवम् इतिहासकार ओझा सुदूरपश्चिममा २००६ सालमा ‘उसा अनिरुद्र नाट्य’ कृतिबाट साहित्य क्षेत्रमा उदाएका थिए। उनको निधनले नेपाली साहित्यमा अपूरणीय क्षति पुगेको भीमदत्तनगरमा साहित्यकार हेमबाबु लेखकले बताए । जीवनको अन्तिम दिनसम्म पनि अोझाको कलमले निरन्तरता पाएको थियो । सुदुरपिश्चममा बसेर अोझाले देश,समाज,कला,संस्कृति आदिको बारेमा लेख्दै आएका थिए । ‘सुदूरपश्चिम इतिहास परिचय’ ‘तिला’ र ‘राजा नागी मल्ल’ उहाँका प्रसिद्ध कृति हुन् ।
सात किलो सुनसहित राजधानीबाट युवक पक्राउ
काठमाडौं, पुस १४ । सात केजी अवैध सुनसहित एकजना चालकलाई प्रहरीले राजधानीको कलंकीबाट पक्राउ गरेको छ । रसुवाबाट धादिङको बाटो हुँदै काठमाडौं आउने क्रममा हाईलक्स गाडीमा लुकाइराखेको सो मात्रामा सुनसहित चालकलाई पक्राउ गरिएको महानगरिए प्रहरीले जनाएको छ । चिनियाँ बाटो हुँदै रसुवाको केरुङबाट उक्त सुन नेपाल भित्र्याउन लागिएको हुनसक्ने अनुमान प्रहरीले लगाएको छ । तर यति धेरै सुन कसको हो र कसलाई दिन ल्याइएको हो भन्ने कुरा भने अझैसम्म खुलेको छैन । महानगरीय अपराध अनुसन्धान विभागको टोलीले त्यतिका परिणाममा सुन पक्रेको हो । जसको बजार मूल्य करिब साढे तीन करोड रुपैयाँ हुन्छ ।
दलित महिला एलडीअाे सम्मानित
भोजपुर, पुस १४ । दलित महिला स्थानीय विकास अधिकारी सीता परियारलाई भोजपुरमा सम्मानित गरिएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाज भोजपुरले आफ्नो २९ औं स्थापना दिवसका अवसरमा परियारलाई मंगलबार सम्मान गरेको छ । दलित समुदायको एकमात्र महिला स्थानीय विकास अधिकारी भएर दलितका लागि उदाहरणीय पात्र भएकाले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको समाजले जनाएको छ । रुपकोट–२ कास्कीमा जन्मिएकी परियार भोजपुर जिल्लाको ३२ औं स्थानीय विकास अधिकारी र नेपालकै पहिलो दलित महिला स्थानीय विकास अधिकारी समेत रहेको छ । उनले यसअघि दोलखा जिल्लाको स्थानीय विकास अधिकारीका रुपमा काम गरिसकेको छ । कार्यक्रममा पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानमा दलित समुदायका लागि स्पष्ट व्यवस्था गरिएको बताए ।
प्रचण्डसँग मिल्नुको विकल्प नभएको बाबुरामको भनाई, १६ महिनापछि पहिलो पटक एउटै मञ्चमा
काठमाडौं, पुष ११ । माओवादी केन्द्र परित्याग गरि नयाँ शक्ति नेपाल पार्टी गठन गरेका पूर्व कम्युनिष्ट नेता डा. बाबुराम भट्टराईले आन्दोलनका उपलब्धि रक्षा गर्न माओवादी केन्द्रसँग मिल्नुको विकल्प नभएको बताएका छन् । माओवादी आन्दोलनका चिरपरिचत दिवगंत नेता भक्ति पाण्डेको सम्झनामा लेखिएको पुस्तक बिमोचन समारोहमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग एउटै मञ्चमा देखिएका भट्टराईले विगतमा परिस्थितिले अलग हुनु परेको भएपनि मिल्नुपर्नेमा जोड दिए । नेता पाण्डेको सम्झनामा प्रदर्शनीमार्गस्थित पुलिस क्लबमा आयोजित कार्यक्रममा भावुक देखिएका बाबुरामले प्रचण्डसँग व्यक्तिगत वैमनश्यता नभएको भन्दै फेरि पनि एकै ठाउँमा उभिने परिस्थिति बनेको बताए । ‘मैले हतार गरेको होइन । परिस्थति नै त्यस्तो थियो । मैले प्रचण्डलाई सजिलो बनाइदिएको हुँ । यो उपलब्धि गुम्न नदिन हामी मिल्छौं । मिल्नुको विकल्प छैन ।’ डा. भट्टराईले पुरानो कार्यशैलीले मिलनविन्दु नभेटिने भन्दै माओवादी केन्द्रले समेत कार्यशैली सच्याउनुपर्नेमा जोड दिए । कार्यक्रमा भावुक देखिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संविधान जारी भएलगत्तै बाबुरामजीले अलग हुने हतार गर्दा अहिलअहिले संविधान कार्यान्वयनमा थप जटिलता देखिएको बताए । “अहिले परिस्थिति यस्तो बन्यो कि फेरि पनि उहाँ र म एकै ठाउँमा उभिने स्थिति आयो । हामी एकै ठाउँमा उभिन नसक्ने हो भने परिवर्तन उल्टिने खतरा छ । एक हुनुको विकल्प छैन ।” प्रचण्डले अघि भने, ‘प्रचण्ड र बाबुराम मिल्नुपर्छ भन्ने भक्ति पाण्डेको अन्तिम चाहना थियो, संयोग नै हो हामी छुटेपछि आज एकै ठाउँमा छौं, त्यो पनि भक्ति पाण्डेकै सन्दर्भमा ।’ प्रचण्डले थपे- ‘माओवादी कमजोर भयो भनेर धेरै सल्बलाए । संविधान नरहेर के भयो र रु माओवादी त जाने हो नि भनेर विरोधीहरु धराप थापेर बसेका छन्, प्रचण्डले भने, ‘०४७ त फर्किन्न, आउने त ०७४ साल नै हो ।’
हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु
राजविराज, पुस १०। हात्तीको आक्रमणबाट सप्तरीमा एक वृद्धको मृत्यु भएको छ । स्थानीइ भारदह– ९ स्थित भलुवामा जङ्गली हात्तीको आक्रमणबाट ६० वर्षीय रघुनाथ खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएका हात्तीको एक समूहले खड्कालाई लखेटेरै मारेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यलायले जनाएको छ । केही दिनयता सो क्षेत्रसहित जिल्लाको पूर्वी भेगका भारदह, पोर्ताहा, बरमझिया, बेरवा, कञ्चनपुर, घोघनपुर लगायत ठाउँमा दिनहुँ हात्ती आएर आतङ्क मच्चाउने गरेको बताइएको छ ।
गल्ती स्वीकारे टोपबहादुरले, प्रचण्डको आदेश मान्ने
कठमाडौं पौष ९,। सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावको विरोधमा सडकमा देखिएका माओवादी केन्द्रका नेता एवं पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले आफूले पार्टी अध्यक्ष प्रचण्डको आदेश पालना गर्ने बताएका छन् । शनिबार दाङको घोराहीमा माओवादी केन्द्रले गरेको प्रशिक्षणमा प्रचण्डपछि बोल्दै नेता रायमाझीले उक्त कुरा बताएका हुन् । कार्यक्रममा नेता रायमाझीले भने, ‘अध्यक्षले धेरै कुरा भनी सक्नुभएको छ । यसमा मेरो बिमति छैन । तपाईहरुलाई थाहा छ, पाँच नम्वर प्रदेशमा आन्दोलन छ, म पनि आन्दोलनमा छु । पार्टीभित्र वादविवाद, बिमति हुन सक्छन् । तर, त्यसलाई हामीले रुपान्तरणको विधिबाट हल गर्छाैं । म पार्टी र अध्यक्षको निर्देशन बाहिर जान्न । अध्यक्षको आदेश पालना गर्न म तयार छु, यसमा तपाईहरु ढुक्क हुँदा हुन्छ ।’ प्रशिक्षणमा प्रचण्डले टोपबहादुरजीले सडकको मोर्चा सम्हाल्नु भएको छ भन्ने कुरातर्फ संकेत गर्दै नेता रायमाझीले भने, ‘अध्यक्षले टोपबहादुरजीले सडकको मोर्चा सम्हालिरहेको छ भन्नुभयो । हो, मैले सडकको मोर्चा सम्हालेको छु । जनता सडकमा छन्, यसलाई कसैले दुरुपयोग गरेर साम्प्रदायिकतामा नलैजाओस् भन्ने मेरो चाहना छ । संघीयता पनि कार्यान्वयन हुने जनमत पनि जोगाउने मेरो प्रयास हो । अरु मेरो केही छैन, विवादले रुपान्तरणमा लैजान्छ, म रुपान्तरणकै पक्षमा छु र हुनेछु ।’ प्रशिक्षणमा रायमाझीले संसद अवरुद्ध गर्नु अराजनीतिक कदम भएको टिप्पणी गरे । रायमाझीले भने, ‘अध्यक्षले भनिसक्नु भयो, कि प्याकेजमै सहमति कि विधि, योभन्दा अर्को बिकल्प छैन । सदन अवरुद्ध गरेर संविधान संशोधन र निर्वाचन रोक्नु हुँदैन । संसद विधिमा चल्न दिनुपर्छ, अलोकतान्त्रिक तरिकाद्धारा समस्याको हल हुँदैन ।’