२४० निर्वाचन क्षेत्रमा एकैपटक राप्रपाले क्षेत्रीय अधिवेशन गर्ने

काठमाडौँ, पुस ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ २१ गते २४० निर्वाचन क्षेत्रमा एकै पटक क्षेत्रीय अधिवेशन गर्ने भएको छ ।

राप्रपा र राप्रपा नेपालबीचको एकीकरणपछि जिल्ला, गाउँ, नगरमा एकीकरणका क्रममा रहेको पार्टीले माघ २५ गते देशका ७५ जिल्लामा जिल्ला अधिवेशन गर्ने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी  दिए ।

पार्टीले क्षेत्रीय र जिल्ला अधिवेशन सम्पन्न गरेपछि फागुन २ गतेसम्म महाधिवेशन प्रतिनिधि छनोट गरी केन्द्रीय निर्वाचन समितिमा नाम पठाउनुपर्ने छ । पार्टी महाधिवेशन फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा हुने निर्णय भइसकेको छ ।

यस पटक दुवै पार्टीभित्रको सन्तुलन मिलाउन करिब चार हजार प्रतिनिधि छनोट हुने बताइएको छ । गत मङ्सिर ६ गते पार्टी एकीकरण भएपछि दुवै पार्टीको जिल्ला तहदेखि नै एकीकरण सुरु गरिएको छ ।

अहिलेसम्म ७० जिल्लामा एकीकरण सम्पन्न भइसकेको छ । गत मङ्सिर २५ गतेभित्र जिल्ला तहको एकीकरण पूरा गर्ने भनिए पनि पार्टीभित्रका आन्तरिक विवाद तथा जिल्ला तहमा नेतृत्व लिने नेताबीचको द्वन्द्वका कारण प्रक्रिया केही लम्बिएको हो ।

गत मङ्सिर ३० गतेदेखि यही पुस १८ गतेसम्म पार्टीले तत्कालीन पाँचै विकास क्षेत्रमा आधारित भई क्षेत्रीय बैठक तथा सभा गरिरहेको छ । पार्टीले झापामा बैठक सम्पन्न गरी आज आमसभा गर्दै छ । रासस

धोका दिएको भन्दै थ्रीस्टार क्लवले एन्फासँग माग्यो ६ करोड क्षतिपुर्ती

काठमाडौं, मंसिर २८ । अखिल नेपाल फुटबल संघ (एन्फा)को लापारवाहीले दोस्रो चरणमा जान नपाएको भन्दै थ्री स्टार क्लवले एन्फासँग ६ करोड क्षतपिुर्ती माग गरेको छ । एन्फाको लापरबाहीले गर्दा क्लब दर्ता नहुँदा एएफसी कपको छनोट प्ले अफ खेल्नबाट बञ्चित भएपछि क्लबले एन्फासँग ६ करोड माग गरेको हो । उसले यो मुद्दाको टुंगो नलागेसम्म फुटबलसम्वन्धी कुनै पनि गतिविधिमा संलग्न नहुने घोषणा गरेको छ । एएफसीले पटक–पटक ताकेता गर्दा समेत एन्फाले नाम दर्ता नगरिदिएपछि राष्ट्रिय लिग विजेता थ्रीस्टार एएफसी कपको छनोट प्ले अफ खेलबाट बञ्चित भएको छ । नेपाली फुटबलमा सर्वाधिक लोकप्रिय क्लब हाे थ्री स्टार । एसियाको प्रतिष्ठित क्लब फुटबल प्रतियोगिता एएफसी कप २०१६ को छनोट प्ले–अफ खेल्नबाट वञ्चित भएपछि उसले एन्फासँग क्षतिपुर्ती माग्न पुगेको हो । राष्ट्रिय लिग विजेताका रूपमा थ्री स्टारले एएफसीकपको प्रारम्भिक छनोट खेलेको थियो । मंगोलियामा भएको त्यस छनोटमा पहिलो भएपछि थ्री स्टारले प्ले अफ खेल्न पाएको थियो । त्यसमा विजयी भएको भए, थ्री स्टार सिधै प्रतियोगितामा मुल ‘ड्र’ मा प्रवेश गर्ने थियो । यस्तो स्थितिमा नेपाली क्लब सामु अर्को वर्षदेखि छनोट नखेलेर सिधै प्रतियोगिता खेल्ने अवसर हुन्थ्यो । अझ सके, नेपालका तर्फबाट दुई क्लबसम्म पनि प्रतिनिधित्व गर्न पाउँथ्यो ।

नेपालको शान्ति र प्रगतिको पक्षमा अमेरिका

काठमाडौं, मङ्सिर २७ । नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्ले अमेरिका नेपालको शान्ति र प्रगतिको पक्षमा रहेको बताएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग आज गृहमन्त्रालयमा भएको भेटमा राजदूत टेप्लिज्ले उक्त कुरा बताएको हो । भेटमा गृहमन्त्री निधि र राजदूत टेप्लिसबीच द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा कुराकानी भएको मन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । भेटमा नेपालको समसामयिक राजनीति र सङ्क्रमणकालीन न्याय एवम् यसको व्यवस्थापन सम्बन्धमा कुराकानी भएको थियो । सो अवसरमा गृहमन्त्री निधिले नेपालको विकासमा अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग हुने विश्वास व्यक्त गरेको थियो । राजदूत टेप्लिज्ले अमेरिकाको साथ नेपालमा विकासका लागि सधैँ रहने प्रतिबद्धता जनाएको दाहालले बताए ।

प्रहरीको कुटाईका कारण चालकको मृत्यु भएको आरोप, बीटमा ढूँगामूढ़ा, बौद्द तनावग्रस्त

काठमाडौँ, २६ मङ्सिर । ट्याक्सी चालकको मृत्यु भएपछि आज दिनभर बौद्धको नयाँबस्ती क्षेत्र तनावग्रस्त भयो । दोलखा घर भई हाल काठमाडौँ, गोकर्णेश्वर बस्ने चालक राजकुमार लामाको गएराति मृत्यु भएपछि प्रहरीको कुटाइका कारण उनको मृत्यु भएको भन्दै उनका आफन्त र स्थानीयले प्रदर्शन गरेका थिए । महानगरीय प्रहरी बिट, नयाँबस्तीअगाडि भेला भई उनीहरुले बिट र प्रहरीमाथि आक्रमण गरेका थिए । सो क्रममा बिट अगाडि रहेका बा २ ब ३७८३, बा ८० प ८६८३ र बा ९ प १२०५ नंको मोटरसाइकल आगजनी गरेको र बिटमा समेत ढुङ्गामुढा प्रहार गरी बिट क्षतिग्रस्त बनाएको प्रहरीले जनाएको छ । बिटमा आक्रमण भएपछि केही राउण्ड हवाई फायर गर्नुका साथै बिट तोडफोडमा संलग्न २५ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “रेस्टुराँ सञ्चालक र प्रहरीको मिलेमतोमा कुटाइका कारण चालकको मृत्यु भएको भन्ने हल्ला फैलाइयो, तर प्रहरीको यसमा संलग्नता छै्रन । उहाँले मृतक लामाकी श्रीमती र सालीले उपचारका लागि अस्पताल लैजानेक्रममा बाटोमा नै चालक लामाको मृत्यु भएको जानकारी दिनुभयो । नयाँबस्ती कुमारी मन्दिर नजिक सडकमा बेहोस भई लडिरहेको अवस्थामा लामालाई फेला पारी उपचारका लागि उनका आफन्तले लगेका थिए । प्रवक्ता कार्कीले चालक लामाको मृत्युबारे विभिन्न किसिमका अफवाह आउन थालेपछि यस सम्बन्धमा प्रहरीले आन्तरिकरुपमा छानबिन समिति बनाएको जानकारी दिनुभयो । रासस file photo –––––––––––

विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

सल्यान, मंसिर २५ । दुर्गम क्षेत्रका विद्यालयमा अध्ययन गर्ने एक सय २० विद्यार्थीले शैक्षिक सामग्री पाएका छन् । उत्तरी क्षेत्रमा रहेका दार्माकोट ढाकाडाम, भल्चौर र जिमाली गाविसमा रहेका ४५ विद्यालयका बालबालिकाले प्रतिविद्यार्थी झन्डै रु चार हजार बराबरको छात्रवृत्ति बापतका सामग्री प्राप्त गरेका हुन् । सेभ द चिल्ड्रेनको सहयोगमा सामग्री प्राप्त गर्नेमा ढाकाडाम गाविसका १३ विद्यालयका ४४, भल्चौर गाविसका १२ विद्यालयका २६ , दार्माकोट गाविसका ११ विद्यालयका ३० र जिमाली गाविसका नौ विद्यालयका बालबालिका छन् । उनीहरुलाई प्रतिविद्यार्थी एक जोर विद्यालय पोसाक, एक जोर जुत्ता, झोला, एक वर्षलाई पुग्ने कापी, कलम, शब्दकोश, सामान्य ज्ञानका पुस्तक लगायत प्रदान गरिएको दलित विकास समाज सल्यानका कार्यकारी निर्देशक दुर्गा पुनले जानकारी दिए । उनीहरुलाई जिल्लास्थित क्रियाशील पत्रकार, जिल्ला शिक्षा कार्यायलका स्रोत व्यक्ति, दलित विकास समाज सल्यान र सेभ द चिल्ड्रेनका प्रतिनिधि लगायतले गाविसमै पुगेर सामग्री प्रदान गरेका हुन । पछाडि परेका समुदाय, गरिब, जेहेन्दार, दलित, आमाबाबु गुमाएका तथा शैक्षिक सामग्री र पोसाकका अभावमा विद्यालय जान नपाएका बालबालिका छानेर विद्यालयको सिफारिसमा छात्रवृत्ति प्रदान गरिएको सेभ द चिल्ड्रेन, जिल्ला कार्यक्रम संयोजक विमला सुवेदीले बताए ।

जनयुद्दका घाइते भेटेर जन्मदिन मनाए प्रचण्डले

प्रधानमन्त्री प्रचण्ड ६३ वर्षमा पुगेका छन् । आफ्नो जन्मदिनका अवसरमा आज उनले जनयुद्धका घाइते कालिकोटका सर्जन बिकसँग पहिलो भेट गरे ।

खाद्य तथा पेयपदार्थमा उच्च मिसावट, २२ उद्योगविरुद्ध मुद्दा

काठमाडौं, मंसिर २० । बजारमा बिक्री हुने अधिकांश खाद्य तथा पेयपदार्थमा उच्च मिसावट हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुसन्धानले खाद्यान्न, पानी, तेल, घिउ र दुग्धजन्य पदार्थमा मिसावट बढी हुने गरेको देखाएको हो । बजारमा व्यवसायीले नाफा कमाउने नाममा उपभोक्ताको स्वास्थ्यमाथि प्रतिकूल असर पर्ने दूषित उत्पादन बिक्री गरेको अध्यनले देखाएको छ । विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मदन चापागार्इंले खानेपानी, दुग्धजन्य पदार्थ, तेल, घिउ, खाद्यान्नमा बढी मिसावट पाइएको जानकारी दिए । “बजारमा बढीमात्रामा खाद्यान्न तथा पेयपदार्थमा मिसावट हुन्छ,” उनले भने, “चार महिनामा दूषित उत्पादन गर्ने २२ उद्योगलाई कारबाही गरिएको छ ।” दूषित खाद्यान्न तथा पेयपदार्थको उपभोगले स्वास्थ्यमा झाडापखाला, आउ, जन्डिस, अल्सरदेखि क्यान्सरसमेत हुन सक्ने उनको भनाइ छ । विभागका अनुसार प्रशोधित खानेपानीमा पीएच(अम्लियपन)को मात्रा घटबढ, हानिकारक सूक्ष्म जीवाणु, प्रशोधन नगरिकन वितरण गर्ने जस्ता समस्या देखिने गरेको छ । पानीमा पीएचको मात्रा ०.५ देखि ०.८ भन्दा घटबढ हुन नहुने मापदण्ड भए पनि बजारमा वितरण हुने अधिकांश ब्रान्डको पानी धेरै समस्या देखिएको छ । विभागको अनुसन्धानले शुद्ध दूधमा कोलिफर्मको मात्रा धेरै, कास्टिक सोडा प्रयोग र एसएनएफको मात्रा कम देखाएको छ । विभागका अनुसारमा दूधमा चिल्लो पदार्थको मात्रा तीन प्रतिशत र एसएनएफ (चिल्लो बाहेकको दूधमा ठोस पदार्थ)कोमात्र आठ प्रतिशत हुनुपर्ने मापदण्डअनुरूप नभएको विभागको अनुसन्धानले देखाएको छ । दूधमा कोलिफर्म फोहोर, दिसा–पिसाब गाईवस्तुको मलमुत्र, फोहोर पानीको प्रयोगले देखिन्छ । आजको कारोबार दैनिकमा खबर छ ।

‘जनयुद्ध दिवस’को बिदा कायम छैन : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले यसअघि सरकारले फागुन १ गते निर्धारण गरेको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । गृहले सोमबार विज्ञप्ति जारी गर्दै फागुन १ गतेको बिदा कटौती भएको स्पष्ट पारेको हो । “सर्वोच्च अदालतको फैसलाका आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०८० माघ २५ को बैठकको निर्णयानुसार नेपाल राजपत्र (खण्ड ७२, संख्या ६५, भाग ५, मिति २०७९ चैत २) मा प्रकाशित संवत् २०८० फागुन १ गते मंगलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको व्यहोरा सम्बद्ध सबैको जानकारीका लागि अनुरोध छ,” विज्ञप्तिमा उल्लेख छ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’का रूपमा मनाउँदै आएको छ । सोही क्रममा गत वर्ष माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । सर्वोच्चले फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय खारेज गरिदिएको थियो । त्यसपछि गृहले विज्ञप्ति जारी गर्दै उक्त दिन सार्वजनिक बिदा नरहेको स्पष्ट पारेको हो । प्रधानमन्त्री प्रचण्डले देशका जनता र परिर्वतन चाहने जनतालाई जनयुद्ध विस मनाउन कसैले नरोक्ने बताएका छन् । सोही अनुसार विभिन्न स्थानीय सरकार, माओवादी केन्द्र र माओवादी केन्द्रका विभिन्न संगठनले आफ्नै तरिकाले जनयुद्ध दिवस मनाउने भएका छन् ।

नेप्सेमा सामान्य वृद्धि, यी ५ स्टकको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार नेप्सेमा ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभुमि नेपाल हाइड्रोपावर, इष्टर्न हाइड्रोपावर र एशियन हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन पिपुल्स पावर र इंगवा हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको ९.५ प्रतिशत एनसीसी डिबेञ्चर २०८६ को मूल्य यस दिन सर्वाधिक ५.२५ प्रतिशत घटेको छ। यस दिन नेप्से परिसूचक भने समान्य अंक बढेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ४.९२ अंक बढेर २०९०.६४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.१२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक बढेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन २ अर्ब ५९ करोडको शेयर कारोबार भएको बजारमा यस दिन ३१३ स्टकको ६५ हजार ४६३ पटकको कारोबारमा २ अर्ब ८४ करोड २५ लाख रुपैयाँ बराबरको ७७ लाख ३२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। कारोबार रकमका आधारमा यस दिन पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २४ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र ङादी ग्रुप पावरको साढे ६ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.५३ प्रतिशत घटेको छ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ २२ गते सोमबार तदनुसार सन् २०२४ फेब्रुअरी ५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ७९ पैसा र बिक्री दर १४३ रुपैयाँ ४३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २२ पैसा र बिक्री दर १६७ रुपैयाँ ९८ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कार्यवाहक प्रधानमन्त्री उपप्रधानमन्त्री खड्का

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डाको राजधानी कम्पालामा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन आज बिहान युगान्डा प्रस्थान गरेकाले राष्ट्रपतिले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई तोकेका हुन् । राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा खड्कालाई उपप्रधानमन्त्रीको जिम्मेवारी तोकिएको उल्लेख छ ।

घट्यो पेट्रोल र डिजेलको मूल्य, अब लिटरको कति ?

काठमाडौँ । पेट्रोल र डिजेलको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो । सोमबार इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मंगलबार बिहान १ बजेदेखि लागू हुनेगरी नेपाली बजारमा पनि मूल्य घटाएको छ । योसँगै अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६३.५० र डिजेलको मूल्य १५३.५० रुपैयाँ कायम भएको छ । यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ भने काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा पाँच महिनामा एक लाख पर्यटक

काठमाडौं। चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन् । निकुञ्जमा जङ्गल सफारीमार्फत एक लाख बढी आन्तरिक तथा बाह्य पर्यटकहरुले निकुञ्जको अवलोकन गरेका हुन् । विश्वको वन्यजन्तु जनजीवन अवलोकनका लागि प्रसिद्ध मानिने चितवन राष्ट्रिय निकुञ्ज विदेशी पर्यटकहरुका लागि बढी रुचाइने क्षेत्र पनि हो । यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुर लगायत ६० भन्दा बढी किसिमका स्तनधारी जंगली जनावरहरू पाइन्छन् । यसैगरी, घडियाल गोही, मगर गोही, अजिङ्गर लगायत सरिश्रृप तथा उभयचर, बसार्इंसरी आएका र रैथाने गरी ५४६ भन्दा बढी जातका चराचुरुङ्गी र विभिन्न किसिमका कीरा फट्याङ्ग्राहरू रहने गर्दछन् । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले चालु आर्थिक वर्षको पछिल्लो पाँच महिनामा एक लाख बढी पर्यटक निकुञ्ज अवलोकन भ्रमण गरेको बताए । वरिष्ठ संरक्षण अधिकृत पुर्जा पुनले पछिल्लो पाँच महिनामा निकुञ्ज भित्रिएका एक लाख बढी पर्यटकबाट निकुञ्जले १० करोडभन्दा बढी राजश्व सङ्कलन गरेको उल्लेख गरे । उनले चितवन राष्ट्रिय निकुञ्जमा गत वर्ष तीन लाख बढी विदेशी तथा स्वदेशी पर्यटक आएको बताए । वरिष्ठ संरक्षण अधिकृत पुर्जा पुनले गत वर्ष तीन लाख पर्यटकबाट ३० करोड रुपियाँ राजश्व सङ्कलन गरेको जानकारी दिए। गत वर्षको तुलनामा यो वर्ष पर्यटक आगमन वृद्धि हुने निकुञ्जको अपेक्षा छ । ‘‘चितवन राष्ट्रिय निकुञ्जको मङ्सिरसम्मको पर्यटन आगमनको तथ्याङ्क हेर्दा एक लाख बढी पर्यटक प्रवेश गरे। त्यसमा स्वदेशी तथा विदेशी पर्यटकहरु रहेका छन्। राजश्व आम्दानीको हिसावले चितवन राष्ट्रिय निकुञ्जले १० करोडभन्दा बढी राजश्व सङ्कलन भएको छ । गत वर्ष तीन लाख बढी पर्यटक चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका थिए । जसबाट ३० करोड रुपियाँ राज्यलाई राजश्वको रुपमा आम्दानी भएको थियो । चितवन राष्ट्रिय निकुञ्ज विश्वमा जन्यजन्तु पर्यटकको लागि प्रसिद्ध छ । जैविक विविधता पनि राम्रो छ । प्रतिकिलोमिटरको क्षेत्रमा वन्यजन्तुहरु अवलोकन गर्नसक्ने अवस्था छ ।,’’ वरिष्ठ संरक्षण अधिकृत पुनले भने, ‘‘चितवन राष्ट्रिय निकुञ्ज गैडाँ, बाघ, अन्य वन्यजन्तु र जङ्गल सफारीमार्फत अवलोकनका लागि आउने गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज भित्र जङ्गली हात्तीहरुले आतङ्क मच्चाउने काम गर्छन् । तीनहरुबाट सजक सहज स्थानीयहरुलाई आग्रह गर्ने र हात्ती कुन क्षेत्रमा रहेको छ भन्ने जानकारी लिने यन्त्र नै जडान गरेर निकुञ्जले काम गरिरहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा धुर्बे, रोनाल्डो, मकुना, यमगज र गोविन्दे लगायतका हात्तीहरु बाहिर देखिएका छन् ।’’ उनले निकुञ्जमा प्रतिकिलोमिटरको क्षेत्रमा वन्यजन्तुहरु अवलोकन गर्नसक्ने अवस्था रहेको बताए। उनले चितवन राष्ट्रिय निकुञ्ज गैँडा, बाघ, अन्य वन्यजन्तु र जङ्गल सफारीमार्फत अवलोकनका लागि आउने हात्ती कुन क्षेत्रमा छ भन्ने जानकारी लिने यन्त्र नै जडान गरेर निकुञ्जले काम गरिरहेको बताए । उनले चितवन राष्ट्रिय निकुञ्जमा धुर्बे, रोनाल्डो, मकुना, यमगज र गोविन्दे लगायतका हात्तीहरु बाहिर देखिएको बताए।

निषेधित क्षेत्रमा प्रदर्शन गर्ने गोविन्द केसीलगायतका अभियन्ता नियन्त्रणमा

काठमाडौँ । डाक्टर गोविन्द केसी सहित ७ अन्य अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्र घोषणा गरिएको माइतीघरमा प्रदर्शन गर्ने क्रममा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो । स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरूको योग्यताका आधारमा निःशुल्क वा न्यूनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरू पढ्न पाउनेलगायतका माग लिएर उनीहरू प्रदर्शनमा उत्रिएका थिए । माइतीघर पुगेको केही क्षणमै उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

सर्लाहीको बरहथवामा भोलि बिहान ८ बजेसम्म निषेधाज्ञा

काठमाडौं । सर्लाहीको बरहथवामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज बिहान ८ बजेदेखि २४ घण्टाका लागि निषेधाज्ञा जारी गरेको हो । “आज बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि हामीले निषेधाज्ञा जारी गरेका छौँ,” सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले भने, “हिजो हामीले जुन क्षेत्रमा कर्फ्यु जारी गरेका थियौँ, त्यही एरियामा आज निषेधाज्ञा लगाएका छौँ ।” बरहथवा नगरपालिकाको पूर्वमा ब्रह्मस्थान, पश्चिममा हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र उत्तरमा सोतीरचोर्निया पुलसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा जारी भएको क्षेत्रमा कुनै किसिमको भेला, कार्यक्रम, राजनीतिक गनए पाइने छैन । अहिले अवस्था सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ । बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शैयाको अस्पतालको विषयमा विवाद हुँदा शुक्रबार प्रहरीले गोली चलाएको थियो । सोही क्रममा गोली लागेर प्रदर्शनकारी बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको थियो ।

माओवादीमा प्रस्ताव – ‘केन्द्रीय समिति सानो बनाऔं’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को विधान मस्यौदा समितिले १५० सदस्यीय केन्द्रीय समितिको प्रस्ताव गरेको छ । विधानमा २९९ जना केन्द्रीय सदस्य भनिए पनि हाल ४११ पुर्‍याएकोमा चौतर्फी आलोचना भएपछि केन्द्रीय समिति चुस्त र कामकाजी बनाउन १५० जनाको प्रस्ताव गरेको समितिले जनाएको छ । अन्तिम चरणमा पुगेको विधान मस्यौदालाई समितिले पुस २१ गते स्थायी समितिमा पेस गर्दै छ । समितिले विभागमा रहने सदस्यको सङ्ख्या पनि घटाएर बढीमा १५ सदस्य प्रस्ताव गरेको छ । समितिका सदस्य गणेश साहले केन्द्रीय समिति र विभागहरू चुस्त राख्ने गरी प्रस्ताव गरिएको जानकारी दिए । जिल्ला र प्रदेश समितिलाई कार्यकारी बनाउने र जनवर्गीय सङ्गठनलाई स्वायत्तता दिने प्रस्ताव भएको छ । “प्रदेश जिल्ला समन्वय समितिलाई कार्यकारी बनाउने जनवर्गीय सङ्गठनलाई स्वायत्त बनाउने तर उनीहरूको विधान पार्टीले अनुमोदन गर्ने प्रस्ताव भएको छ । विभागहरूमा विज्ञ सदस्य राख्नुपर्ने प्रस्ताव छ,” सदस्य साहले भने । उनले प्रस्तावित केन्द्रीय समिति अनुसार प्रदेश, जिल्ला, पालिका र वडा समिति पनि सानो बनाउनुपर्ने प्रस्ताव गरिएको जानकारी दिए। मस्यौदामा अध्यक्षात्मक बहुपदीय प्रणालीलाई यथावत् राखिएको छ । केन्द्रीय सदस्य सङ्ख्याको एकतिहाइ केन्द्रीय पदाधिकारी रहने छन् । माओवादीले फागुनमा विधान अधिवेशन गर्दै छ । “पुस २१ गते हामीले बुझाउँछौँ, स्थायी समितिले अनुमोदन गरेपछि जिल्ला तहमा छलफलका लागि पठाउने हो,” सदस्य साहले भने । पुस ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय मस्यौदा समिति गठन गरेको थियो ।