३० करोड मानसिक समस्याले पीडित

न्यूयाेर्क,  चैत १९ । विश्वभरीका झण्डै तीस करोडभन्दा बढी मानिसमा मानसिक समस्या रहेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय निकायले विश्व स्वास्थ्य दिवसको पूर्वसन्ध्यामा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।

डब्लुएचओका महानिर्देशक मार्गरेट चानले भन्नुभयो, “यो तथ्याङ्कले मानसिक स्वास्थ्यका बारेमा सबै देशहरुले पुनःविचार गर्नुपर्ने अवस्था देखाएको छ, सबै देशहरु फेरि जाग्नुपर्ने भएको छ, मानसिक स्वास्थ्यको क्षेत्रमा तत्कालै केही न केही गर्नै पर्ने भएको छ ।”

गत सन् २००५ देखि २०१५ सम्ममा १८ प्रतिशतभन्दा बढीले मानसिक रोगीको सङ्ख्यामा वृद्धि भएको छ ।

त्यसैले यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा पनि मानसिक स्वास्थ्यसम्बन्धी राखिएको छ । यही अप्रिल ७ तारिखका दिन विश्वभर विश्व स्वास्थ्य दिवस मनाइँदैछ ।

मानसिक रोगीलाई सहयोग गर्न र मानसिक रोगीको सङ्ख्या बढ्न नदिनेतर्फ विज्ञहरुले जोड दिएका छन् ।

मानसिक समस्या भएकाका लागि सहयोगको आवश्यकता छ, स्वस्थ्य र उपलब्धिमूलक जीवनका लागि यससम्बन्धी चेतनामूलक तथा निरोधात्मक उपायहरु अपनाउनुपर्ने भएको छ ।

मानसिक समस्या आत्महत्याको मुख्य कारणको रुपमा देखिएको छ । मानसिक समस्याकै कारण बर्सेनि हजारौँ मान्छेको ज्यान जाने गरेको छ । मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी पनि बढाउन आवश्यक देखिएको छ । कतिपयदेशमा यस क्षेत्रमा लगानी छुट्याइएकै छैन भने कतिपय देशमा निकै थोरै मात्रै लगानी गरिएको छ ।

मानसिक स्वास्थ्यको समस्या भएका झण्डै पचास प्रतिशतले यससम्बन्धी कुनैपनि उपचार गर्दैनन् ।

सरकारले स्वास्थ्य क्षेत्रका लागि छुट्याएको झन्डै औसतमा तीन प्रतिशत बजेट मात्रै मानसिक स्वास्थ्यको क्षेत्रमा लगानी हुने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

चीनका रक्षामन्त्री चाङ र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

काठमाडौं, चैत १० । तीनदिने नेपाल भ्रमणमा आइपुगेका चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन् । बिहिबार मध्यान्ह १९ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आइपुगेका जनरल चाङ वानक्वानले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेट गरेका हुन् । भेटका अवसरमा प्रधानमन्त्रीले नेपाल र चीनबीच लामो समयदेखि गहिरो आत्मीय सम्बन्ध रहँदै आएको बताउँदै यसखालका उच्चस्तरीय भ्रमणले सम्बन्ध अझ प्रगाढ हुने विश्वास लिए । रक्षामन्त्री चाङसँग प्रधानमन्त्री प्रचण्डले एक चीन नीतिप्रति नेपालको दृढ समर्थन रहँदै आएको बताउँदै चीनको अभिन्न अंग तिब्बत र ताइवान विरोधी गतिविधिको सधै नेपालले विरोध गर्ने प्रष्ट पारे । चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ परियोजनामा साझेदार बन्न नेपाल इच्छुक रहेको प्रधानमन्त्रीले बताए । नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासका लागि चिनियाँ सहयोगप्रति उनले आभार व्यक्त गरे । नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच विकसित सम्वन्धप्रति प्रधानमन्त्रीले खुशी भए । भेटका अवसरमा रक्षामन्त्री जनरल चाङ वानक्वानले प्रधानमन्त्रीको आजदेखि हुन लागेको चीन भ्रमणको पूर्ण सफलताको कामना गरे । उनले नेपाल सरकार र नेपाली जनताले चीनप्रति देखाएको सदभाव र आत्मीय सम्बन्धप्रति खुशी लागेको भनाइ राखे । मन्त्री चाङले ताइवान र तिब्बत मामिलामा चीनप्रति नेपालको बलियो समर्थनका लागि धन्यवाद दिँदै वान वेल्ट वान रोडमा सहभागिताका चीन सरकारको तर्फबाट धन्यवाद दिए । नेपालको विकास र अन्य आवश्यकताका लागि चीनले सधै नजिकवाट सहयोग गर्ने उनले जानकारी दिए । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा रक्षामन्त्री खाँण र सचिव श्रीधर सापकोटाले स्वागत गरेका थिए।

नयाँ घर पाए भूकम्पपीडित सुकुम्बासीहरुले

काठमाडाै‌ँ, चैत ६ । गत वर्ष २०७२ साल वैशाख १२ गतेको भुकम्पमा घरबास गुमाएकी बुढानिलकण्ठ, २ भंगालकी सुन्तली मग्रान्ती यतिखेर मख्ख छिन् । नेपाल बसोबास बस्ति संरक्षण समाजले एक कार्यक्रमको आयोजना गरि भंगालका १२ घर भुकम्प पिडित दलित सुकुम्बासी परिवारकोलागि बनाइएको भुकम्प प्रतिरोधात्मक घरहरु हस्तान्तरण गरेपस्चात् सुन्तलीको मुहारमा खुशीको रंग पोतिएको छ । सुन्तली जस्तै सोही टोल निवासी जिवन बि.क. ले पनि घर नं= ५ को साँचो आफ्नो हातमा पर्दा खुशीले दङ्ग परेकाछन् । २०५५ सालदेखि सुकुम्बासीहरुको हकहितको लागि पैरवी गर्दै आइरहेको नेपाल बसोबास बस्ति संरक्षण समाज र स्थानीय कालिकाचौर संरक्षण तथा ब्वश्थापन समितिको आयोजनामा गृह प्रवेश तथा घर उद्घाटन कार्यक्रमको आयोजना गरि १२ घरपरिवारलाई औपचारिक रुपमा घरको साँचो हस्तान्तरण गरेको छ । क्यानडामा अध्ययनरत नेपाली बिद्यार्थी सबिन लिम्बु र बबिन के.सी.ले आफ्ना सहपाठीहरु मार्फत संकलन गरेको ब्यक्तिगत चन्दा मार्फत भंगालका १२ घर सुकुम्बासि परिवारका लागि भूकम्प प्रतिरोधी घरहरु बनाइएको हो । “हामीले सहयोग गरेका होइनौ आफ्नो सामाजिक कर्तब्य पुरा गरेका मात्र हा” कार्यक्रममा सम्मानित हुने क्रममा सहयोगी बबिन लिम्बुले भन्नुभयो । “हाम्रो सानो सोच र झिनो प्रयासले आज सार्थकता पाएको देख्दा खुशी लागेको छ” उहाँले भन्नुभयो । “हामीले भुकम्पमा जे गुमाएका थियौ त्यो भन्दा दोब्बर पाएका छौ । स्थानीय जिवन बि.क.ले मन्तब्यको क्रममा भन्नुभयो “पहिले झुपडी गुमाएका थियौं अहिले नयाँ घर पायौं ।” गृह प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै लुमन्ति संस्थाकी कार्यकारी निर्देशक लजना मानन्धरले विगत लामो समयदेखि भूमिहिनहरुको लागि पैरवी गर्दै आइरहेको नेपाल बसोबास बस्ति संरक्षणको पहलमा भूकम्प पिडित सुकुम्बासीहरुलाई आवासको ब्यवस्था गरिनु आफैंमा उदाहरणीय र पहली कदम भएको बताउनु भयो । त्यस्तै अखिल नेपाल सुकुम्बासी संघका दिपक राईले सुकुम्बासीहरुलाई राज्यले संधै हेला गर्ने गरेको गुनासो ब्यक्त गर्नु भएको थियो । बाबुराम भट्टराई प्रधानमन्त्रि रहँदा थापाथलीका सुकुम्बासीलाई बिना बिकल्प डोजर लगाएर घर न घाटको बनाएको स्मरण गर्दै नेपाल बसोबास बस्ति संरक्षण समाजका संस्थापक अध्यक्ष हुकुम बहादुर लामाले सुकुम्बासी ब्यवस्थापन गर्ने तरिका के हो त्यो आजको कार्यक्रमले पुष्टि गरेको बताउनु भयो । एन.जि.ओ र आई. एन जि. ओहरुको सहयोग बिनानै ब्यक्तिगत चन्दा संकलनद्धारा बनाईएका सो १२ घरमा २ कोठा एक भान्सा र चर्पी रहेकाछन् । प्रतिघर ५ लाख ५ हजार लागतमा बनेको घरहरुमा स्थानीय उपभोक्ताहरुले ८५ हजार र अन्य ४ लाख २० हजार चन्दा संकलन गरि रकम जुटाईएको बाल बिकास युवा संजालकी अध्यक्ष स्मिता के.सी.ले बताउनु भयो । स्थानीय कालीचौर ब्यवस्थापन समितिका अध्यक्ष सुन्दर पुर्कोटीको सभापतित्वका आयोजित सो गृह प्रवेश कार्यक्रममा नेपाल महिला एकता समाज, स्थानीय सामुदाय स्तरका सहकारी संस्था लगाएत राजनैतिक दल र बिभिन्न संघसंस्थाका ४५० जनाको उपस्थिती रहेको थियो ।

डुङ्गा चलाउने पेसा सङ्कटमा

पाल्पा, चैत ६ । कालीगण्डकी नदीमा काठको डुङ्गा चलाउने पेसा गर्दै आएका बोटे समुदाय पेसाबाट विस्थापित बन्दै गएका छन् । कालीगण्डकी नदीमा पुल बनेसँगै उनीको पुख्र्यौली पेसा लोप हुँदै गएको हो । कालीगण्डकी वारपार गराउने सिपालु बोटे समुदायका मानिस कालीगण्डकीको रिडी, रानीघाट, केलादीघाटलगायतका घाटमा डुङ्गा चलाएको अहिले देख्न पाइँदैन, त्यस्ता नदी तथा खोलामा झोलुङ्गे तथा पक्की पुल निर्माणसँगै उनीहरुको पेसा सङ्कटमा परेको हो । पाल्पा रामपुर नगरपालिकास्थित केलादीघाटमा बोटे समुदायको ठुलो बस्ती रहे पनि माछा मार्ने र डुङ्गा चलाउने काम गर्दैनन्, केलादीघाट क्षेत्र पुल बनेसँगै डुङ्गा चलाउन छाड्नुपर्ने बाध्यता आएको राम बोटे बताउँछन् । साठी घरपरिवार बोटेबस्ती भए पनि अहिले अधिकांश युवा विदेश, खेतीपाती र मजदुरीबाट नै जीविकोपार्जन गर्न बाध्य छन् । स्थानीय बासिन्दा सूर्यप्रकाश पोखरेलले नदीमाथि पुल बन्नुभन्दा अघि डुङ्गा चढ्न एक हप्तासम्म कुर्नुपर्ने र पाँच पैसादेखि पाँच रुपैयाँसम्म तिरेको सुनाउनुभयो । खासगरी पहिला पैसाभन्दा पनि अन्नबालीमा सेवा लिन पाइने चलन रहे पनि पछि डुङ्गा चढेपछि पैसा तिर्नुपर्ने व्यवस्था आएपछि दुवै पक्षलाई सहजता आएको पोखरेल बताउनुहुन्छ । डुङ्गा चलाउँदा अन्नबाली मुरीका मुरी सङ्कलन हुँदा उनीहरुले खेतीपाती गर्न पर्दैनथ्यो, तर अहिले खेतपाती तथा मजदुरीमा महिला अग्रसर भएर लागेका छन् । बोटे समुदाय आदिवासी जनजातिअन्तर्गत आर्थिक रुपमा विपन्नको सङ्ख्या बढी छ । रामपुर नगरपालिका, रम्भागाउँपालिका, बगनासकाली र तानसेन नगरपालिकासँग कालीगण्डकी नदीको सिमाना हुँदै बग्छ ।

भारतको बिहार र दरभंगा पुर्याइएका ३३ बालबालिका उद्धार गरी नेपाल ल्याइयो

काठमाडौं, चैत ५ । केन्द्रीय बालकल्याण समितिले भारतको बिहार र दरभंगामा मजदुरी गर्दै आएका ३३ जना नेपाली बालबालिकाको उद्धार गरेको छ । समितिले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी उद्दार गरिएका बालबालिकालाई सार्वजनिक गरेको हो । बालमजदुरको रुपमा काम गर्दै आएका उनीहरुलाई भारतको सेवा संकल्प र निर्देश बालगृहको सहयोगमा उद्धार गरिएको हो । खुला सिमानाका कारण घरेलु कामदारमा लगाउन ललाईफकाई बालबालिका भारत पु¥याइने गरेको बालकल्याण समितिले जनाएको छ । समितिले भारतका विभिन्न शहरमा नेपाली बालबालिका मजदुरको रुपमा काम गरिरहेको जानकारी पाएपछि अनुसन्धान गरेको थियो । उद्धार गरिएका बालबालिकामा रौतहट, काभ्रे, बाँके, सिन्धुपाल्चोक, महोत्तरी, पर्सा, कञ्चनपुर, बारा, सिरहा, सर्लाही, धनुषालगायतका जिल्लाका हुन् । उद्धार गरिएका बालबालिकालाई अभिभावकको जिम्मा लगाउने बालकल्याण समितिले जनाएको छ ।

ठूला हत्याकाण्ड किन पत्ता लाग्दैन?

काठमाडाैं, चैत ५  । मध्यरात सेना गस्तीमा थियो । नेपालगन्जका सडक सुनसान थिए । सेना त्यही स्थान भएर जाँदै थियो जुन घरको माथिल्लो तलामा एक परिवारका चारजनासहित पाँचजनाको हत्या हुँदै थियो ।घटना २३ फागुन ०६२ को हो । द्वन्द्वको समय भएकाले सेनाले गस्ती गरिरहेको थियो । मध्यरातमा नेपालगन्ज सुनसान हुने गर्थ्यो । सुनचाँदी व्यवसायी दीपक हेमकारको घर पनि बाहिरबाट देख्दा सुनसान थियो । तर, भोलिपल्ट त्यही घरमा पाँचजनाको शव भेटियो । सबैलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको थियो । मारिनेहरूको रुद्रघण्टी छिनाइएको थियो । घटनामा दीपककी श्रीमती दीपा मात्र बाँचेकी थिइन् । त्यो दिन उनी घरमा नभई माइतमा थिइन् । घटनामा गुलामदेवी हेमकार (८२), जगदेव हेमकार (६२), सीतादेवी हेमकार (४५), दीपक हेमकार (३२) को हत्या भएको थियो । सबैलाई सुतिरहेकै स्थानमा हत्या गरिएको थियो । सबैको शव ओछ्यानमा नै फेला परेको थियो । घटनामा हेमकार परिवारको पसलमा काम गर्ने १५ वर्षीय रामसनिच्चर चौधरीको समेत हत्या भयो । हत्या भएको रात तीन अपरिचित व्यक्ति घरमा आएको प्रहरीले तथ्य फेला पारेको थियो । संकटकालको वेला नगरको व्यस्त सडकमा रहेको सुनचाँदी पसलको माथिल्लो तलामा घरभित्र पाँचजनाको हत्या गरी ज्वेलर्सबाट नगद र सुनचाँदीसहित करिब २९ लाखबराबरको सम्पत्ति लुटिएको थियो । घटनापछि प्रहरी प्रधान कार्यालयबाटै डिएसपीको कमान्डमा अनुसन्धान टोली खटिएको थियो । घटना भएका वेला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक शिव लामिछाने थिए । जिल्ला प्रहरीले पनि अनुसन्धान गरेको थियो । तर, अनुसन्धान अझै पूरा हुन सकेको छैन । ११ वर्ष बित्दा पनि घटनाका अभियुक्त पक्राउ परेका छैनन् । अपराध अनुसन्धान विभागबाट कुकुरसहितको टोली झिकाएर पनि प्रहरीले हत्यारा पत्ता लगाउने प्रयास गरेको थियो । तत्कालीन भेरी अञ्चल प्रहरी प्रमुख राजेन्द्रसिंह भण्डारीले पनि हत्याको अनुसन्धान गरेका थिए । अहिले घटनाको फाइल प्रहरीले बन्द गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको अर्को टोली पनि अनुसन्धानमा खटिएको थियो । पाँच सय पृष्ठको अनुसन्धान प्रतिवेदन र मिसिल तयार भए पनि दुवै टोलीले घटनाको निष्कर्ष निकाल्न सकेनन् । हत्याको ६ वर्षपछि प्रहरीले चारजनालाई नियन्त्रणमा लिई पुनः अनुसन्धान थालेको थियो । तर, घटनामा उनीहरूको संलग्नताबारे केही पत्तो नलागेपछि प्रहरीले त्यसै छोडेको थियो । तत्कालीन बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उदय तामाङले हत्यारा नेपाल र भारत दुवैतिर भएकाले नियन्त्रणमा लिई अनुसन्धान गर्नुपर्ने बताएका थिए । तर, कोही पनि पक्राउ परेनन् । प्रहरीले अनुसन्धानबाट सो हत्याकाण्डमा परिवारकै केही सदस्य संलग्न रहेको आधार फेला पारेको दाबी गरेको थियो । तर, प्रहरीको यो दाबीको पनि ठोस प्रमाण मिलेन । एक्लै बाँचेकी हेमकार परिवारकी बुहारी दीपा हेमकारप्रति प्रहरीको आशंका थियो । तर, प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धानको दायरमा भने ल्याएन । उनी अहिले भारतमा बस्छिन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक एवं मुद्दा फाँट इन्चार्ज वीरबहादुर थापाले हेमकार हत्याकाण्डको फाइल बन्द नभएको बताए । उनले घटनाको अनुसन्धान जारी रहेको दाबी गरे । ‘पुराना मुद्दाका फाइलसमेत हामीले नियमित रूपमा हेरिरहेका छौँ, नयाँ नेतृत्व फेरिँदैमा पुराना मुद्दाका फाइल बन्द हुने कुरा हुँदैन,’ उनले भने । हत्याको दिन दीपा र उनका पति दीपक नेपालगन्जबाट भारत गएका थिए । हेमकार परिवारका अन्य सदस्यले समेत हत्यामा दीपा संलग्न भएको आशंका गरेका थिए । अहिले सो घटनाको फाइल बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले हेरिरहेका छन् । नयाँ घटना थपिँदै जाने भएकाले पुराना फाइलमा धेरै समय दिन नसकेको प्रहरीले बताउने गरेको छ । पुराना र नयाँ फाइललाई मिलाएर अनुसन्धान भइरहेको प्रहरीले दाबी गरे पनि पुराना घटनाका फाइललाई प्रहरीले खासै समय नदिने गरेको सर्वसाधारणको भनाइ छ । ‘हेमकार घटनालाई नजिकबाट अनुसन्धान गर्ने कार्य भइरहेको छ,’ प्रहरी उपरीक्षक राईले भने । अदालतको स्रेस्ता फरक पर्दा समस्या अदालतले कैद र जरिवाना फैसला गरेका दोषीको नाम र वतन स्पष्ट खुल्न नसक्दा पक्राउ गर्न समस्या हुने गरेको फैसला कार्यान्वयन विशेष अभियान टोलीका सदस्य एवं प्रहरी नायब निरीक्षक भीमबहादुर खड्काले बताए । उनले फैसलाबमोजिमका व्यक्तिलाई खोज्न जाँदा बसाइँसराइ गरेर अन्यत्र जाने र नाम स्पष्ट नहुँदा पक्राउ गर्न समस्या हुने गरेको बताए । ‘अदालतको स्रेस्तामा कुमार हुन्छ, नागरिकतामा बहादुर र प्रसाद भइदिँदा पहिचान गर्न गाह्रो हुने गरेको छ, पहिचान गर्न नसक्दा दोषीले उन्मुक्ति पाउने र निर्दोषले दुःख पाउने भइराखेको छ,’ उनले भने । खुला सिमानाका कारण अदालतले दोषी करार गरेकाहरू भारतमा गएर लुक्ने गरेकाले पनि फैसला कार्यान्वयनमा समस्या आउने गरेको बाँके जिल्ला अदालतका तहसिलदार नारायण सापकोटाले बताए । उनले भने, ‘दिनभर भारतमा लुकेर बस्ने, रातमा मात्र घर आउँदा पक्राउ गर्न कठिन भएको छ ।’ उनले स्रोतसाधनको कमीका कारण पनि फैसला कार्यान्वयनलाई तीव्रता दिन नसकेको बताए । दोषीलाई पक्राउ गर्न व्यवस्था गरिएको सीमित जनशक्ति, अपर्याप्त साधन र आर्थिक अभावले पनि पक्राउ गर्न नसकिएको उनले बताए । बाँकेमा कैद र जरिवाना भुक्तानमा वृद्धि फैसला कार्यान्वयन विशेष अभियान सुरु भएपछि कैद र जरिवाना भुक्तान हुने क्रम बढेको फैसला कार्यान्वयन विशेष अभियान टोलीका सदस्य डम्मर विष्टले बताए । उनले हालसम्म तीन सय पाँच वर्ष चार महिना एक दिन कैद भुक्तान भएको र अदालतको फैसलाबमोजिम चार करोड ८० हजार दुई सय ६१ रुपैयाँ असुल भएको जानकारी दिए । उनले एक हजार आठ सय ९६ वर्ष नौ महिना साढे ११ दिन जिम्मेवारी सरी आएको र यस आर्थिक वर्षको सात सय ४१ वर्ष ११ महिना २२ दिन गरी दुई हजार ६ सय ३८ वर्ष नौ महिना साढे ५ दिन कैद असुल हुन बाँकी रहेको बताए । उनले तीन करोड ६० लाख ३१ हजार चार सय १३ रुपैयाँ ८० पैसा जरिवाना असुल हुन बाँकी रहेकोसमेत बताए । नेतृत्व फेरबदलपछि प्राथमिकता तल–माथि नेतृत्व फेरबदल हुनासाथ कामको प्राथमिकतासमेत तल–माथि पर्ने हुँदा असफल पुराना घटनाको चाङ बढ्ने गरेको नेपाल प्रहरीका पूर्वडिएसपी कृष्णमान श्रेष्ठ बताउँछन् । नयाँ प्रहरी अधिकारी पुराना फाइल हेर्नुभन्दा आफू कार्यरत रहेसम्म त्यहाँ ठूला आपराधिक घटना हुन नदिन र घटनालाई छिटो किनारा लगाउन चाहने भएकाले पुराना घटना पेन्डिङ हुने गरेको श्रेष्ठले बताए । ‘जसको पालमा घटना भएको हो, त्यसैले उक्त घटनाको किनारा लगाउनुपर्ने कानुन बनेको खण्डमा पुराना मुद्दा पेन्डिङ हुने थिएन,’ उनले भने । नयाँ नेतृत्वले आफ्नो बायोडाटा बढाउन पुरानाभन्दा नयाँलाई प्राथमिकता दिने गरेको पूर्वडिएसपी श्रेष्ठले बताए । उनले नयाँ–नयाँ मुद्दा थपिने भएकाले पुराना मुद्दा प्राथमिकतामा नपर्ने गरेको बताए । घटना पुराना भए प्रत्यक्षदर्शी, प्रमाण र साक्षी हराउने भएकाले पनि अनुसन्धान फितलो भई मुद्दा कमजोर हुने गरेको श्रेष्ठले बताए । ‘घटना पुरानो भएपछि पीडितले समेत प्रहरीलाई दबाब दिँदैनन्, पीडितले दबाब नदिएपछि प्रहरीले पनि वास्ता गर्न छाड्छ,’ पूर्वडिएसपी श्रेष्ठले भने । यस्ता छन् सफल अनुसन्धान अपहरणपछि हत्याकाअभियुक्त पक्राउ जिल्ला प्रहरी कार्यालय बाँकेले बालक अपहरणपछि हत्या आरोपमा नेपालगन्ज–२३ का रंगौ भन्ने रिजवान साईलाई घटनाको साढे दुई वर्षपछि पक्राउ ग¥यो । १४ असोज २०६७ मा नेपालगन्ज–१५ का दुई स्कुले बालक कपिल द्विवेदी र लीलाधर भट्टको अपहरण गरी फिरौती लिएर हत्या गरेको अभियोगमा साईलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेकप्रसाद राईले बताए । राईका अनुसार अभियुक्त साई २६ असार २०६९ मा नेपालगन्ज–१० का २२ वर्षीय मुन्नु भन्ने मोहम्मद आमिर अन्सारीको अपहरण गरी नौ लाख रुपैयाँ फिरौती लिएर बेपत्ता बनाउने कार्यमा संलग्न थिए । मुन्नु हालसम्म बेपत्ता छन् । साईकै अगुवाइमा नेपालगन्ज–१ का महेन्द्र शाहीलाई ३ वैशाख २०७० मा अपहरण गरी १० दिनसम्म शरीर बन्धक बनाएको अवस्थामा भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । अभियुक्त साईले भूमिगत तराई जनतान्त्रिक मधेस पार्टीको नाममा सीमावर्ती भारतको रुपइडिहा बजारमा विभिन्न सहयोगीलाई परिचालन गरी अपहरण र चन्दा असुली गर्दै आएका थिए । उनी लागुऔषध चरेसको कारोबारमा भारतमा तीन वर्ष सजाय पाएर छुटेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक राईले अभियुक्त साईविरुद्ध अपहरण तथा हत्याका छुट्टाछुट्टै तीन मुद्दा र एक अपहरणको गरी चार मुद्दा अदालतमै विचाराधीन रहेको बताए । बाँके इन्द्रपुर–३ का वकिल दर्जी भनिने जियाउल मनिहारलार्ई दुई ग्राम लागुऔषध ब्राउन सुगरसहित १८ असार ०७० मा नेपालगन्जको बसपार्कबाट प्रहरीले पक्राउ गरेको थियो । आफ्नो नाम वकिल दर्जी बताउँदै लागुऔषध कारोबारमा सक्रिय रहेका उनी सोही मुद्दाको अनुसन्धान गर्ने क्रममा मात्र बालक अपहरण र कर्तव्य ज्यान मुद्दाको अभियुक्तसमेत भएको प्रहरीले थाहा पाएको थियो । उनी भूमिगत सशस्त्र समूहमा संलग्न भई जिल्लामा हत्या, अपहरण, चन्दा असुली र फिरौती रकम माग गर्नेलगायत घटनामा संलग्न थिए । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका मनिहारले सुरुमा आफ्नो घर भारतको रुपइडिहा र नाम वकिल दर्जी बताएका थिए । तर, अनुसन्धानका क्रममा मोस्ट वान्टेड सूचीका फरार अभियुक्त भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाँकेले तथ्य फेला पारेको थियो । यसैगरी २८ कात्तिक ०६६ मा इन्द्रपुर ७ स्थित देवीप्रसाद राढको रहरबारीमा खजुराखुर्द–१ का गंगाराम पासी र मुन्नु भन्ने मुन्ना यादवलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा समेत मनिहार संलग्न थिए । गुन्डा नाइकेले गरे आत्मसमर्पण नेपालगन्ज उपमहानगरपालिका–८ का २९ वर्षीय चेतन मानन्धरको हत्यामा संलग्न भएको आरोपमा अदालतले चार वर्ष कैद सजाय फैसला सुनाएका नेपालगन्ज–५ का सोहनसिंह ढकाल (रिगल) ले ६ कात्तिक ०७१ मा आत्मसमर्पण गरे । रिगलले अदालतको आदेश पालना गरेको प्रहरीसमक्ष बयान दिएको बताइएको छ । फरार अभियुक्त ढकाल घटनापछि भारत बस्दै आएका थिए । पक्राउ पर्नुभन्दा केही दिनअघि मात्रै उनी नेपाल आएका थिए । १५ जनाको समूहले २८ असार ०७१ मा नेपालगन्ज–८ का मानन्धरलाई धम्बोझी चोकनजिक सुर्खेतरोडमा लखेट्दै खुँडा प्रहार गरी हत्या गरेका थिए । सो घटनामा संलग्न मुख्य अभियुक्त रिगलसहित १३ जना हाल कारागारमा छन् । जेल सजाय भुक्तानीका लागि अदालतमा आफै‌ हाजिर अवैध चोरीसिकारी गरेको अभियोगमा अदालतले ६ महिना जेल सजाय सुनाएका नैनसिंह सार्की, मुन्नु चौधरी र भिखुलाल थारू ६ फागुनमा कैद भुक्तानीका लागि बाँके जिल्ला अदालतमा आफै‌ हाजिर भए । उनीहरूलाई अदालतले ६ महिना जेल सजाय तोकेको थियो । सवारी ज्यान मुद्दामा ६ दिन जेल सजाय पाएका बलबहादुर थारू पनि कैद र जरिवाना भुक्तानीका लागि फागुनमै अदालतमा हाजिर भए । जिल्ला अदालतले फैसलाबमोजिम बक्यौता बुझाउन समय–समयमा सूचना जारी गरेपछि कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेकाहरू आफैँ अदालतमा आउने गरेको बाँके जिल्ला अदालतका तहसिलदार नारायण सापकोटाले बताए । ‘फागुन महिनामा मात्र कैद भुक्तानीका लागि अदालतमा पाँचजना आफँै हाजिर भएका छन्, कैद र जरिवाना भुक्तानीका लागि आफैँ आउनेलाई अदालतले विशेष छुट व्यवस्था गरेकाले कैद भुक्तानीका लागि आफैँ हाजिर हुन आउने गरेका छन्,’ उनले भने । फैसला कार्यान्वयन विशेष अभियान सुरु भएपछि कैद र जरिवाना भुक्तान हुने क्रम बढेको बाँके जिल्ला अदालतले जनाएको छ । जिल्लामा फैसला कार्यान्वयन विशेष अभियान टोलीले सक्रियता देखाएपछि कैद र जरिवाना भुक्तान हुने क्रम बढेको हो । माघ मसान्तसम्म तीन सय पाँच वर्ष चार महिना एक दिन कैद भुक्तान भएको र अदालतको फैसलाबमोजिम चार करोड ८० हजार दुई सय ६१ रुपैयाँ जरिवाना असुल भएको फैसला कार्यान्वयन विशेष अभियान टोलीका सदस्य एवं बाँके जिल्ला अदालतका नायब सुब्बा डम्मर विष्टले बताए । उनले एक हजार आठ सय ९६ वर्ष नौ महिना साढे ११ दिन जिम्मेवारी सरी आएको र यस आर्थिक वर्षको सात सय ४१ वर्ष ११ महिना २२ दिन गरी दुई हजार ६ सय ३८ वर्ष नौ महिना साढे पाँच दिन कैद असुल हुन बाँकी रहेको बताए । उनले तीन करोड ६० लाख ३१ हजार चार सय १३ रुपैयाँ ८० पैसा जरिवाना असुल हुन बाँकी रहेकोसमेत बताए । यो खबर अाजको नयाँ पत्रिकामा छ ।

युएईमा अपाङ्ग तथा अनाथ बाल-बालिकाको सहयोगार्थ ‘सास्कृतिक साँझ २०७४’ हुने

दुबई १६ मार्च । वैदेशिक रोजगारीको शिलसिलामा युएईमा रहेका काभ्रेलीहरुको साझा समाजिक संस्था काभ्रे सेवा समाज युएईले नयाँ वर्ष २०७४ को विशेष अवसर पारेर आगामी अप्रिल १४ मा अपाङ्ग तथा अनाथ बाल-बालिहरुको सहयोगार्थ ‘सांस्कृतिक साँझ २०७४’ को आयोजना गर्ने भएको छ । विशुद्व सामाजिक सेवा गर्ने उदेश्यले ८ अगस्ट २०१४ मा स्थापित (काभ्रे सम्पर्क समिति) हाल परिमार्जित पछि काभ्रे सेवा समाज युएईले विभिन्न क्षेत्रहरुमा सामाजिक सेवाहरु प्रदान गर्दै आउने क्रम सँगै यहि आउदो नेपाली नयाँ वर्ष २०७४ को पावन अवसरमा अपाङ्ग तथा अनाथ बालबालिकाहरुको सहयोगार्थ संस्कृतिक साँझ २०७४ कार्यक्रम अन्तिम तयारीमा रहेको समाजका संरक्षक दामोदर दाहालले जानकारी दिएका छन् । यहि आउदो नया बर्ष २०७४ बैशाख १ गते (१४ अप्रिल २०१७) शुक्रबारको दिन हुन गइरहेको संस्कृतिक कार्यक्रममा नेपालबाट संगीतकार तथा चर्चित गायक विश्व दोङ, पछिल्लो चरण व्यस्त गायिका भनेर चिनिने लोक तथा आधुनिक गायिका रिता केसी, चर्चित नायिका तथा आईटम डान्सर रिया श्रेष्ठ लगायतका कलाकारहरु युएई आउने भएका छन् । नेपालबाट आउने कलाकारहरुको साथमा युएईमा रहेका नेपाली कलाकारहरु गोपीकृष्ण पंगेनी, निश्चल श्री, सन्ध्या सुस्केरा, अन्जुली लोप्चन, ईन्द्र सिन्चुरी, रोसनी शुब्ब, सोनी राना मगर, प्रवेग दोङ, डिभि समर्पण लगायतका दर्जनौं कलाकारहरुको बिजोड प्रस्तुति रहने समाजका महासचिब उत्तम बिकले जानकारी दिएका छन् । दुबईको देरा स्थित कर्लटन टावर होटलको हलमा दिनको २ बजे बाट शुरु हुने कार्यक्रमको लागि युएईबासि सम्पूर्णलाई उपस्थित भई कार्यक्रम सफल परिदिन काभ्रे सेवा समाज युईका अध्यक्ष दिल लामाले युएईबासि नेपालीहरुलाई आग्रह गरेका छन् । उक्त कार्यक्रमको लागि TRUST GENIC कम्पनी, मारहाबा ट्राभल्स, अन्नपूर्ण सुनचादी पसल, बिजेता ग्रुप कम्पनी, फिस्टल ट्रभल्स, नेपालीको सगरमाथा रेष्टुरेन्ट, भावर्ची रेष्टुरेन्ट, फलाफिल्गी रेष्टुरेन्ट, नेपाली रेष्टुरेन्ट , काठमाडौं रेष्टुरेन्ट, ग्रिन्ड डान्सबार, नमस्ते रेष्टुरेन्ट, भान्छाघर रेस्टुरेन्ट, इभरेष्ट एच.आर कन्सलटेन्सी, नमस्ते ट्राभल्स, जि.के.एस. टायर लगायत ईसपोन्सर रहेको आयोजकले जानकारी दिइएको छ ।

चन्दा आतंक र गुटगत राजनीतिले नयाँ शक्ति गाँजिएको खनालाको खुलासा

काठमाडौं, चैत्र २ । नयाँ शक्तिभित्र गैर राजनीतिक आचरणको बोलबाला भएपछि कतिपय नेता तथा कार्यकर्ता निष्क्रिय भएको खुलासा रामेश्वर खनालले गरेका छन् । नयाँ शक्ति स्थापनाकालदेखि संयोजक डा. बाबुराम भट्टराईसँगै रहेका पूर्व सचिव रामेश्वर खनालले नयाँ शक्तिमा खराब आचरणबाहेक अरु केही नभएको बताएका हुन । “खराब आचरण, खराब प्रवृत्ति, खाली विभाजनकारी, विखण्डनकारी, समुदाय(समुदायवीच झगडा चलाउने बाहेक नयाँ शक्तिमा अरु केही पनि राम्रो काम भएन । त्यस्तो गर्ने मान्छेहरुलाई नेता बनाउने गरी काम गर्न सकिएन ।” अनलाईनबरलाई दिएको अन्तर्वार्तामा खनालले खुलासा गरेका छन् । खनालले राजनीतिमा केही नयाँ होला भनेर लागेपनि नैतिकता रित्याएर राजनीति गर्न नसकेको भन्दै सन्यास लिएको समेत जनाएका छन् । “हाम्रो शास्त्रअनुसार मानिसमा हुनुपर्ने, आचारण, स्वभाव र गुणहरु सबै त्याग्न सकियो भने बल्ल मान्छे राजनीतिज्ञ हुने रहेछ । मैले त्यो आचरण त्याग्न सकिनँ ।” उनले भनेका छन्, “ माओवादी पार्टीमा जुन राजनीतिक चरित्र पहिले थियो, त्यो राजनीतिक चरित्रमा कति पनि सुधार आएन । बरु विकृति त्यो भन्दा बढी हावी हुँदै गयो । चन्दा आतंकदेखि गुटगत राजनीतिमा त्यही हावी हुँदै गयो ।” यसअघि अन्य नेताहरुले समेत बाबुरामले राम्रा भन्दा पनि आफ्ना मान्छेलाई काखी च्यापेको आरोप लगाएका थिए । निर्मल भट्टराइदेखि मुमाराम खनालसम्मले पार्टीभित्र विकृतिम ौलाएको भन्दै भट्टराईको आलोचना गर्दै आएका छन् । खनालले अन्तर्वार्ताका क्रममा भनेका छन्– कुरा गर्दा समतामुलक, सबैलाई समावेशी गर्नुपर्छ भन्ने र पार्टी चलाउने बेला आफ्नो मान्छेहरु मात्रै नजिक राख्ने भएपछि समावेशी, समतामुलक भएन । प्रत्येक राजनीतिक दलको समस्या, नारा निकै आदर्शवादी बनाउने, त्यस्तै कुरा गर्ने, काम त्यसको ठ्याक्कै उल्टो । नयाँ शक्ति पार्टीमा पनि देखिएको समस्या यही हो । खनालले नयाँ शक्तिमा जिल्लादेखि केन्द्रसम्म गुट झांगिएको समेत खुलासा गरेका छन् । जिल्ला जिल्लामा केन्द्रीय नेतापिच्छै गुट रहेको अन्तर्वातार्मा उल्लेख छ । “जहाँ संगठन बन्छ, त्यहाँ कि वामदेव गुट, कि देवेन्द्र पौडेल गुट, कहीँ गंगा श्रेष्ठ गुट हावी हुन थाल्यो । हामीले राजनीतिक नेतृत्वमा जुन राजनीतिक चरित्र हुनुपर्छ भनेर अध्ययन गरेका थियौँ, त्यो पाइएन ।” उनले भनेका छन्, “सबै चरित्र त्यागेर राजनीतिलाई उद्योग बनाउने, व्यवसाय बनाउने, कमाउने भाँडो बनाउने चरित्र हावी हुँदै गयो ।” पार्टी संयोजक बाबुराम भट्टाईले समेत गुट र गलत आचरलाई प्रश्रइ दिएको आरोप खनालको छ । माओवादी परित्याग गरी नयाँ शक्तिको गठन गरेका बाबुरामले गुटको राजनीति व्यवस्थापन गर्न नसकेको र त्यो सामथ्र्य समेत नरहेको खनाल बताउँछन् । अन्तर्वार्तामा उनले भनेका छन्– बाबुरामजीले गुट राजनीति म्यानेज गर्ने सामथ्र्य पहिले नै गुमाइसक्नुभएको रहेछ । सायद पहिले कुनैबेला उहाँको पनि त्यस्तो काममा संसर्ग भएको थियो होला । जुन व्यक्तिलाई पहिले उहाँले प्रोटेक्सन दिनुभयो, जुन व्यक्तिले सुरुमा उहाँलाई प्रोटेक्सन दिए, ती व्यक्तिलाई त डाक्टर सापले पनि क्षमा त दिनै पर्‍यो जस्तै गल्ति गरे पनि । उहाँ त्यसरी सबैलाई क्षमा दिनतिर लाग्नुभयो कि भन्ने लागेको छ । उहाँको काम गराइबाट यही देखिन्छ । न याँ शक्ति नेपालमा बाबुराम भट्टराईको गुटले नै सबै निर्णय गर्ने, लोकतान्त्रिक विधि र प्रक्रिया लागु नगरेको आरोप खनालको छ । माअ‍ोवादी हुँदादेखि केन्द्रीयताको अभ्यास गरिएकोमा सो संस्कार अहिले पनि बाबुरामलगायतका नेताले पालना गरिरहेको खनालले बताएका छन् । पार्टीभित्र यही प्रवृत्ति हावी भएका कारण समय अध्ययन गरेका, बाहिरबाट आएका, कुनै विषयमा दक्षता हासिल गरेका व्यक्तिहरुलाई नयाँ शक्तिमा प्रवेश निषेध गरिएको नयाँलाई स्पेस नै नदिएकोले नयाँ शक्ति वैकल्पिक शक्ति हुन नसेको उनले खुलासा गरेका छन् ।

हुम्लामा दुई फिट हिमपात

हुम्ला, फागुन ३०। जिल्लामा दुई फिट हिमपात भएको छ । गत फागुन २६ गतेदेखि लगातार भारी हिमपात भइरहेको छ । सदरमुकाम सिमीकोटमा अत्यधिक चिसो बढेको छ । जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयमा कर्मचारी आगो बालेर बसिरहेका छन् । जाडो बढेपछि ती कार्यालयको कामकाजसमेत प्रभावित भएको छ । उत्तरी भेगका बासिन्दा उपभोग्य सामग्री र नागरिकता लिन सिमीकोट आउन सकेका छैनन् । हिमपातका कारण बाटो अवरुद्ध भएको डाँडाफायास्थित कर्णाली प्रस्तावित मावि चौगनफायाका शिक्षक रामराज शाहीले टेलिफोनमा बताए । हिमपातका कारण हिल्दुम साना जलविद्युत् आयोजना गत फागुन २१ गतेदेखि बन्द भएको छ । आयोजना बन्द भएपछि दियालो बाल्न बाध्य भएको स्थानीय बासिन्दा तुला सिंहले जानकारी दिए । टेलिफोन सेवासमेत एक हप्तादेखि अवरुद्ध छ ।

सेज स्थापनाको माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

त्रिशूली, फागुन ३० । सरकारले यसअघि नै जनाएको प्रतिबद्धताअनुसार नुवाकोटलाई विशेष आर्थिक क्षेत्र ९सेज० कार्यान्वयन गर्न माग गरिएको छ । सरकारले पछिल्लो १० वर्षदेखि नुवाकोटसहित विभिन्न जिल्लालाई सेज घोषणा गर्न जनाएको प्रतिबद्धता कार्यान्वयन गर्न उद्योग वाणिज्य सङ्घले सहरी विकास मन्त्री अर्जुननरसिंह केसीको ध्यानाकर्षण गराएको हो । सङ्घका जिल्ला अध्यक्ष ताराबहादुर कार्कीले जिल्लाको रातमाटेको महादेवफाँट, जिलिङको पाँचखलेसहित आसपासका क्षेत्रमा सेज घोषणाको तयारीका लागि २०६१ सालमा नै सम्भाव्यता अध्ययन पूरा गरेको बताए । सेजको स्थापनाबाट नयाँ रोजगारको सिर्जना, स्थानीय उत्पादनको प्रवद्र्धन र दैनिक उपभोग्य सामग्री आफ्नै स्थानमा उत्पादन गर्न सक्षम हुने उनकाे भनाइ छ । सरकारले यसअघि विदुर नगरपालिका–६ खम्बाक्याम्पमा सेज निर्माणको सम्भाव्यता अध्ययन गरेको थियो । जिल्लामा ठूला उद्योग तथा कलकारखाना नहुँदा यहाँका व्यवसायी तथा उद्योगी निराश भएका अध्यक्ष कार्कीले बताए । ज्ञापनपत्र बुझ्दै मन्त्री केसीले सरकारको अहिलेको ध्यान निर्वाचनमा केन्द्रित रहेको र निर्वाचन आचारसंहिता जारी भएकाले कार्यान्वयनमा केही समस्या हुने बताए । “निर्वाचनपछि विकास तथा आर्थिक समृद्धिमा केन्द्रित रहेर प्रक्रिया अगाडी बढाउँछौँ,” मन्त्रीले केसीले भने ।

पोखरा लेखनाथ महानगरपालिकाद्वारा कामको औपचारिकता

पोखरा, फागुन ३० । पोखरा लेखनाथ महानगरपालिका कार्यालयले आजदेखि औपचारिकरुपमा आफ्नो काम थालेको छ । सरकारको गत फागुन ११ गतेको निर्णयअनुसार स्थानीय निकायहरू स्थानीय तहमा रुपान्तरण भएपछि तत्कालीन पोखरा उपमहानगरपालिका र लेखनाथ नगरपालिकाका साथै कास्कीका गाविसमध्ये मौजा, चापाकोट, कास्कीकोट, पुरनचौर, भदौरे तामागीको ३ देखि ९ वडा, माभठानाको १ नं वडा र ४ देखि ९ वडा, कालिकाको १ देखि ५ वडा मिलाएर पोखरा लेखनाथ महानगरपालिका घोषणा गरिएको थियो । सरकारले यही फागुन २७ गतेदेखि स्थानीय निकाय भङ्ग गरी तह कार्यान्वयनमा ल्याएकामा आजदेखि पोखरा लेखनाथले महानगरका रुपमा काम थालेको हो । महानगरपालिकाका प्रवक्ता अनन्तप्रसाद कोइरालाका अनुसार कार्यालयले आजदेखि महानगरभित्रका ३३ वटै वडाका प्रमुख पदाधिकारीलाई वडा सचिवको जिम्मेवारी प्रदान गरी अभिमुखीकरण तालिम दिएको थियो । स्थानीय तहको शासन सञ्चालनका लागि जारी भएको आदेशअनुसार महानगरभित्रका वडामा काम सञ्चालन गर्न वडा सचिवहरूलाई निर्देशन दिइएको उहाँले बताउनुभयो । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गत फागुन २४ गते ७५ वटै स्थानीय विकास अधिकारीलाई पत्राचार गरी नेपालको संविधानको धारा २९५ को उपधारा ९३० बमोजिम कायम भएका गाउँपालिका, नगरपालिका र संविधान बमोजिमका जिल्लासभामा निर्वाचित जनप्रतिनिधि वहाल नभएसम्म स्थानीय तहबाट प्रदान गरिने सेवालाई निरन्तरता दिन स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेशअनुसार काम गर्न निर्देशन दिएको थियो । पोखरा लेखनाथ महानगरपालिका घोषणासँगै महानगरका बासिन्दाले मिश्रित प्रतिक्रिया दिन थालेका छन् । पूर्वाधारको उचित व्यवस्थापन भइनसकेको अवस्थामा महानगरपालिका घोषणा गरिनुले केवल करको दायरामात्र बढ्ने हो कि भन्ने चिन्ता यतिखेर सर्वसाधारणमाझ छाएको छ । पोखरा उपमहानगरपालिका भइरहेका अवस्थामा नै धेरै पूर्वाधार बन्न नसकेको अबस्थामा महानगरको घोषणाले जनतामा करमात्रै थोपरिने हो कि भन्ने विषयले चिन्तित बनाएको स्थानीय समाजसेवी तारा पाखे बताउनुहुन्छ । “पोखरा क्षेत्रभित्र अझै पूर्वाधार निर्माणका धेरै काम हुन सकेको छैन,” उहाँले भन्नुभयो, “फोहर व्यवस्थापनलगायतका धेरै समस्या छन्, महानगरपालिकाले अब केवल पृथ्वीचोक, महेन्द्रपुल, लेकसाइडलगायतका क्षेत्रलाई मात्र हेरेर पुग्दैन ।” पानी बत्तीलगायतका धेरै कुरा व्यवस्थित बन्न नसकेको बताउँदै पाखेले योजना बन्ने तर कार्यान्वयनमा नआउने प्रवृत्तिका कारण समस्या समाधान हुन नसकेको अवस्थालाई गम्भीरताका साथ लिनु आवश्यक भएको उल्लेख गर्नुभयो । महानगर घोषणा भइसकेको पोखरा लेखनाथ क्षेत्रमा सार्वजनिक शौचालयसमेत व्यवस्थित बन्न नसकेको यथार्थतासँगै धेरै पूर्वाधारको विकास गर्नु आवश्यक रहेको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखे बताउनुहुन्छ । “महानगर भएसँगै त्यही स्तरका सडक, खानेपानी, यातायात, विद्युत्लगायतका धेरै पूर्वाधार व्यवस्थित बन्नु आवश्यक छ,” उहाँले भन्नुभयो – “महानगर घोषणा पोखराका लागि गौरवको विषय हो, तर यहीअनुसारको संरचना निर्माण एवम् व्यवस्थापन चुनौतीपूर्ण छ ।” भोलिको अन्तर्राष्ट्रिय सहरका रुपमा पोखरालाई विकास गर्न त्यहीअनुरुपको दीर्घकालीन सोच अपरिहार्य भएको पालिखेको भनाइ छ । कास्की जिल्लाभित्र पोखरा लेखनाथ महानगरपालिकासहित अन्नपूर्ण, माछापुच्छ«े, मादी र रुपा गाउँपालिका गरी पाँच स्थानीय तह छन् ।

सहकारीले राईदम्पतीको घरबासै उठायो

काठमाडौ, फागुन ३० ।  नियामक सरकारी निकाय सहकारी विभागले गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी तथा ऋणी नारायणप्रसाद राई र उनकी पत्नी शोभा राईबीचको हरहिसाब नगरिदिँदा राईदम्पतीको घरबासै उठेको छ । विभागले अदालत तथा सहकारी बोर्डले दिएको आदेशसमेत पालना नगर्दा गोरखा सहकारीले तीन रोपनी ५ आना जग्गा जफत गरेपछि राईदम्पतीको घरबास उठेको हो । उक्त सहकारीले किर्ते कागज बनाएर ठगेको आरोप राईदम्पतीले लगाएका छन् । ‘हामीले ऋण चुक्ता गरिसकेका छौं । अझै पनि कानुनले थप रकम तिर्नुपर्ने देखाएमा दाखिला गर्छौं’, राईदम्पतीले भने । यति भन्दाभन्दै पनि ललितपुर नखिपोट कान्तिपुर कोलोनीनजिकको ३ रोपनी ५ आना जग्गा सहकारीले जफत गरेको छ । उक्त सहकारीबाट शोभा राईका नाममा रहेको ललितपुर उपमहानगरपालिका वडा नं ५ को २१, २२ र १००९ कित्ता नम्बरको जग्गाबाट २९ लाख २५ हजार ऋण लिएकी थिइन् भने नारायण राईले १००७, १३०९, १३१०, १३१३ नम्बरको कित्ताबाट १७ लाख ऋण लिएका थिए । उनीहरूले क्रमशः २०६७ कात्तिक ११ गते र २०६८ चैत १२ गते ललितपुर मालपोत कार्यालयमा जग्गा दृष्टिबन्धक र सहकारीको रोक्का गराएर उक्त सहकारीबाट ऋण लिएका हुन् । राईदम्पतीले लिएको जम्मा ऋण ४६ लाख २५ हजारमा पटकपटक गरी ४८ लाख ३६ हजार ५ सय ६१ रुपैयाँ सहकारीलाई बुझाइसकेका छन् । ऋण तिरेको भौचर राईदम्पतीसँग छ । तर लिएको ऋण तिरेर अन्य हिसाब बाँकी भएमा तिर्छु भन्दाभन्दै सहकारीले करिब ६ करोड रुपैयाँको जग्गा जफत गरेको छ । गोरखा सहकारीले मालपोत कार्यालयमा दृष्टिबन्धक राखिएको शोभा राईका नाममा रहेको उक्त कित्ता नम्बरको सोही जग्गामा २०६८ चैत १२ गते ५७ लाख ४६ हजार रुपैयाँको कागज तयार पारेको छ । नारायण राईका नाममा रहेको सहकारीले रोक्का गरेको जग्गामा पनि १७ लाखको सट्टा ४१ लाख ५० हजार रुपैयाँको तमसुक बनाएको छ । राईदम्पतीले तिरेको ऋणको कुनै हिसाब छैन । सहकारीले यी दुवै ऋण अनि यसको ब्याज, अदालतमा लागेको खर्च, हर्जनासमेत गरी राईदम्पतीको ३ रोपनी ५ आना जग्गा एक करोड २४ लाख रुपैयाँमा सकारेको छ जब कि सहकारीले नै बनाएको तमसुक र कागजको रकम जोड्दा पनि ९८ लाख ९६ हजार रुपैयाँ मात्र तिर्नुपर्ने देखिन्छ । राईदम्पतीले सहकारीबाट लिएभन्दा बढीको किर्ते कागज तयार पारेको र उनीहरूले विभिन्न समयमा बुझाएको दुरुस्त हिसाब नदेखाएको आरोप लगाएका छन् । खाली कागजमा सही गराएर सहकारीले ऋण बढाएको राईदम्पतीले बताए । सहकारीले भनेकै जति रकमको सावाँब्याजसमेत गरी ८९ लाख ३१ हजार रुपैयाँ पनि आफू तिर्न तयार भएको शोभा बताउँछिन् । सहकारीले राई पत्नीलाई खाली कागजमा सहीछाप गराएर थप ५७ लाख ४६ हजार रुपैयाँको भार बोकाएका छन् । बज्र इन्जिनियरिङ कन्सल्टेन्सीले २०७१ मा गरेको मूल्यांकनअनुसार उक्त जग्गाको मूल्य एक करोड २४ लाख ७७ हजार रुपैयाँ छ जब कि २०६७ सालमै उक्त जग्गाको मूल्य आनाकै ७ लाख रुपैयाँ थियो । राईदम्पतीले ऋण तिरेको प्रमाणित रसिदसहित सहकारीले ठगी गरेको पर्याप्त प्रमाण लिएर ललितपुर जिल्ला अदालत पुगे पनि न्याय पाउन सकेनन् । अहिले उनीहरूको मुद्दा पुनरावेदन अदालतमा छ, जग्गा भने सहकारीसँग । गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका अध्यक्ष इमानसिंह राईले भने नारायणदम्पतीको ऋण तथा ब्याज, हर्जना, जरिबाना सबै जोड्दा १ करोड ६४ लाख रुपैयाँ पुगेकोमा ४० लाख छुट गरिदिएर एक करोड २४ लाख ७७ हजार रुपैयाँमा उक्त जग्गा सकारेकोे बताए । ‘हामीले कुनै किर्ते कागज बनाएका छैनौं’, उनले भने, ‘कानुनसम्मत तथा नियम पुर्‍याएर जग्गा सहकारीले लिएको हो ।’ अहिले पनि उक्त रकम तिरेमा जग्गा फिर्ता गर्ने उनले बताए । शोभा राईले ५७ लाख ४६ हजार रुपैयाँ ऋण लिएको अध्यक्षले बताए पनि राईले भने आफूले २९ लाख २५ हजारभन्दा बढी ऋण नलिएको र खाली कागजमा सही गर्न लगाएर सहकारीले ठगेको गुनासो गरिन् । ‘हाम्रो सहकारीको यस्तै चलन छ । पेपरमा सही गरेर पैसा लैजानुस् भने’, उनले भनिन्, ‘मैले उनीहरूको विश्वासमा पर्दा ऋण लिएको करिब चार वर्षपछि मात्र आफ्नो नाममा त्यति ऋण पुगेको थाहा भएको हो ।’ राईदम्पती स्कुल सञ्चालक हुन् । सहकारीका अध्यक्ष राईकी छोरी पनि उनैको स्कुलमा पढ्ने गर्छिन् । अभिभावक भनी विश्वासमा पर्दा सम्पत्ति गुमाउनुपरेको उनले बताइन् । जिल्ला अदालत ललितपुरले हरहिसाब मुद्दालाई आधार मानेर अन्य मुद्दालाई यथास्थितिमा राख्दा पीडितले न्याय नपाएको अवस्था छ । लिखत दर्ता बदर, जालसाजीलगायत कुनै मुद्दा पनि जिल्ला अदालतमा सुनुवाइ भएन । हरहिसाबका लागि सहकारी विभाग वा अधिकार सम्पन्न अन्य सम्बन्धित निकायसमक्ष जान जिल्ला न्यायाधीश रमेशप्रसाद ज्ञवालीको फैसला आदेश छ । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

पोलियो थोपा नखुवाउने स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गर्ने, १८ जना स्वास्थ्यकर्मी निलम्बित

काठमाडौं, फागुन २२ । सरकारको पोलियो थोपा खुवाउने कार्यक्रममा अवरोध गर्ने स्वास्थ्यकर्मीलाई प्रहरीले पक्राउ गरेको भएको छ । स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित भएको भन्दै गृह मन्त्रालयले पोलियो थोपा कार्यक्रममा अवरोध पु¥याउनेलाई पक्राउ गर्न आदेश दिएको हो । सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाएर त्यस्ता अवरोध गर्नेलाई पक्राउ गर्न आदेश दिएको हो । स्वास्थ्य संस्थामा लगाएको ताला तोड्न र पोलियो थोपा खुवाउने कार्यक्रममा अवरोध गर्ने जो कोहिलाई पक्राउ गर्न गृहमन्त्रालयले आदेश दिएको छ । सरकारले उपत्यकाका ३ सहित १५ वटा जिल्लामा हिजो र आज पोलियो थोपा खुवाउने कार्यक्रम राखेको भए पनि स्वास्थ्यर्कीको अवरोधका कारण बालबालिका पोलियो थोपा खानबाट वञ्चित भएका छन् । निजामति सेवा ऐन कार्यान्वयन तथा पद व्यवस्थापनको माग गर्दै स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा तालबन्दी गरेका कारण पोलियो कार्यक्रम प्रभावित भएको हो । स्वास्थ्य मन्त्रालयले जिल्ला जन स्वास्थ्य कार्यालयहरुमा तालाबन्दी गरेको तथा अति संवेदनशील र अत्यावश्यक स्वास्थ्य सेवालाई अवरोध गरी पदीय जिम्मेवारी अनुरुपको काम नगरेको भन्दै १८ जना स्वास्थ्यकर्मीलाई निलम्बन गरेको छ । यस्ता छन् निलम्बितहरुको नामावली १. राजकुमार थापा को.चे.अ.पाँचौ जिल्ला जनस्वास्थ्य कार्यालय, भक्तपुर २. सुरेन्द्रराज जोशी सि.अ.हे.ब.छैटौ बलरामपुर स्वास्थ्य चौकी, कपिलवस्तु ३.विष्णुबहादुर क्षेत्री सि.अ.हे.ब.छैटौ मानपुर स्वास्थ्य चौकी, कपिलवस्तु ४.विरेन्द्र कुमार मिश्र सि.अ.हे.ब.छैटौ बेदौली स्वास्थ्य चौकी कपिलवस्तु ५.पृथ्वीचन्द्र भगत सि.अ.हे.ब.छैटौ महेन्द्रनगर स्वास्थ्य चौकी, सुनसरी ६.महेश पोखरेल सि.अ.हे.ब.छैटौ मधेशा स्वास्थ्य चौकी, सुनसरी ७.अनिल कुमार पाण्डेय सि.अ.हे.ब.छैटौ सिर्सिया स्वास्थ्य चौकी, पर्सा ८.राजेशप्रसाद रौनियार सि.अ.हे.ब.छैटौ सखुवा प्रसौनी स्वास्थ्य चौकी, पर्सा ९.शेषराज दाहाल सि.अ.हे.ब.छैटौ सिपाडोल स्वास्थ्य चौकी, भक्तपुर १०.देवनारायण साहु सि.अ.हे.ब.छैटौ बसन्तपुर स्वास्थ्य चौकी, सुनसरी ११.छेदीप्रसाद यादव तथ्यांक अधिकृत जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी १२.नागेन्द्रप्रसाद चौधरी निमित्त प्रमुख जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरी १३.टोपबहादुर थापा सि.अ.हे.ब. धर्मस्थली स्वास्थ्य चौकी, काठमाण्डौ १४.बासुदेब पोखरेल सि.अ.हे.ब. देबस्थल स्वास्थ्य चौकी, सल्यान १५ रमेश कार्की सि.अ.हे.ब.छैटौ बैजनाथ स्वास्थ्य चौकी, मोरङ्ग १६ डा. दयाशंकर लाल कर्ण प्रमुख जिल्ला स्वास्थ्य कार्यालय, सिरहा १७ सचितानन्द देब निमित्त प्रमुख जिल्ला स्वास्थ्य कार्यालय, धनुषा १८ संजयकुमार काफ्ले सि.अ.हे.ब.छैटौ स्वास्थ्य चौकी, सिद्राहा, मोरङ

स्वास्थ्यकर्मीका कारण चार जिल्लामा पोलियो खोप कार्यक्रम अवरोध

काठमाडौँ, फागुन २१ । आज र भोलि हुने ‘विशेष पोलियो खोप कार्यक्रम’ स्वास्थ्यकर्मीको अवरोधका कारण चार जिल्लामा सञ्चालन हुन सकेन । सुरु भएका अन्य जिल्लामा पनि सबै स्थानमा सहज रुपमा सञ्चालन हुन नसकेको बालस्वास्थ्य महाशाखाले जनाएको छ । स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा ताला लगाई अवरोध गरेका कारण सिरहा, सप्तरी, महोत्तरी र कैलाली आज पोलियो खोप कार्यक्रम सञ्चालन हुन नसकेको हो । सरकारले तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरी तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा पोलियो खोप कार्यक्रम गर्ने तय गरेको थियो । ती जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३१५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम छ । कपिलवस्तु, काठमाडौँ, ललितपुर र बर्दिया जिल्लामा भने सहजरुपमा कार्यक्रम भएको स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले जानकारी दिए । धनुषामा भने साँझ ५ बजेपछि मात्र खोप कार्यक्रम सञ्चालन भएको बताइएको छ । उनले कार्यक्रम सुरु नभएका र सुरु भएर पनि अवरोध भएका जिल्लामा २२ र २३ गतेसम्म बालबालिकालाई पोलियो खोप लगाउने विश्वास व्यक्त गरे । पोलियो खुवाइने जिल्लामा केही स्वास्थ्यकर्मीले अवरोध गरेमा सुरक्षा व्यवस्था मिलाई सेवा सञ्चालन गराउन स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको भए पनि कार्यक्रम सुरु भएका केही जिल्लामा धेरै गाविसमा भने अवरोध कायम रहेको छ । धेरै जिल्लामा निकै ढिला गरी सुरु भएकाले आज कति बालबालिकालाई पोलियो खोप दिइयो भन्ने यकिन तथ्याङ्क नआएको अधिकृत श्रेष्ठले बताए ।

मेची–महाकाली अभियानको उद्घाटन गर्दै ओलीले भने–कसैका नाजायज माग पूरा गर्न संशोधन पारित गरिदैन’

काँकडभिट्टा, फागुन २१ । नेकपा एमालेले शनिबारदेखि मेची–महाकाली राष्ट्रिय अभियान सुरु गरेको छ । एमाले अध्यक्ष केपी ओलीले सीमान्त सहर काँकडभिट्टाबाट अभियान सुरु गरेका हुन् । शनिबार अभियानको उद्घाटन गर्दै ओलीले संसदमा दर्ता भएको संविधान संशोधन मुलुकको हितविपरीत भएकोले  पारित हुन नदिने ठोकुवा गरे । एमालेले संविधान र कानूनबाहेक अरु कसैका अनुचित आग्रहहरु नमान्ने उनले बताए । मधेसी मोर्चाले अभियानको पूर्वसन्ध्यामा गरेको कार्यक्रममा कालोमोसो दिएपछि अाक्रोशित अोलीले भने मेची महाकाली अभियानमा कसैले अवरोध गर्न खोजे अवरोध पन्छाउँदै अघि बढिन्छ । मधेसी मोर्चाका मागहरुतर्फ लक्षित गर्दै उनले कसैका अनुचित माग र आग्रहलाई स्वीकार नगरिने स्पष्ट पारेका छन् । सयौं कार्यकर्तामाँझ ओलीले राष्ट्रिय एकता, सामाजिक सदभावका लागि अभियान सुरु गरिएको बताए । उनले भूगोल जात र मधेस, पहाडका नाममा जनतामा भ्रम फिजाउने काम भएको भन्दै त्यसलाई चिर्न अभियान आवश्यक भएको बताए । अभियान शुभारम्भ समारोहमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, महासचिव ईश्वर पोखरेल, पूर्वसभामुख सुवास नेम्वाङ, पूर्वगृहमन्त्री वामदेव गौतम, नेता भीम रावल, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, अमृतकुमार बोहरा, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली लगायतका दर्जनौं नेता तथा कार्यकर्ता सहभागी थिए । १५ दिने अभियानमा तराईका २२ जिल्लालाई समेट्ने गरी ३५ स्थानमा आमसभा आयोजना गरिने एमालेले जनाएको छ । काँकडभिट्टाबाट सुरु अभियान महाकालीको सुर्खेत पुगेर टुंगिने छ ।

स्पेनिस लिगको शीर्षस्थानमा उक्लियो वार्सिलाेना

काठमाडौं, फागुन १९ । लस पाल्मसले रियल म्याड्रिडलाई उसैको घर सान्टियागो बेर्नाबेउमा ३–३ गोलको बराबरीमा रोकेपछि यो साता स्पेनिस लिगको शीर्षस्थानमा बार्सिलोना उक्लिएको छ। बेर्नाबेउमा म्याड्रिडलाई कहिल्यै हराउन नसकेको पाल्मसले बराबरीमा रोक्यो। म्याड्रिडका लागि आज सबैभन्दा ठूलो दूर्भाग्य केही साताअघि मात्र चोटबाट मैदानमा फर्किएका गारेथ बेलको रातो कार्ड बन्न पुग्यो। पहिलो हाफको खेल १–१ को बराबरीमा टुँगिएको अवस्थामा दोस्रो हाफमा थुप्रै नाटकीय अवस्था सिर्जना भयो। इस्कोले ८ मिनेटमा म्याड्रिडलाई पहिलो अग्रता दिलाए। तर, त्यसको दुई मिनेटपछि नै टानाले गोल फर्काउदै पहिलो हाफको खेललाई १–१ को बराबरीमा ल्याएका थिए। गारेथ बेलले दोस्रो हाफको २ मिनेटपछि नै दोहोरो पहेँलो कार्ड खाए। उनको बर्हिगमनसँगै घरेलु टोली दबाबमा देखियो। बेल बाहिरिएको ९ मिनेटपछि डिफेन्डर सर्गियो रामोसबाट डिबक्सभित्र बल क्लियर गर्ने मामिलामा ठूलो चुक भयो। उनले हातले बल रोकेपछि पाल्मसले पेनाल्टीको अवसर प्राप्त गरेको थियो। जसलाई जोनाथन भियराले गोलमा परिणत गरे। पाल्मसले दोस्रो हाफको ११ मिनेटको खेलभित्र ३–१ को अग्रता बनाएको थियो, जब जर्मनी मिडफिल्डर केभिन प्रिन्स बोएटिङले भ्रमणकारी टोलीले पेनाल्टीको अवसर पाएको तीन मिनेटपछि अर्को गोल थपे। पराजयको सम्मुख पुगेको म्याड्रिडको उद्धार क्रिस्टियनो रोनाल्डोले गरेका थिए। उनले अन्तिम ४ मिनेटमा दुई गोल गर्दे आफ्नो टोलीको हारलाई टालेका थिए। रोनाल्डोले ८६ मिनेटमा पेनाल्टी र ८९ मिनेटमा कर्नरबाट पाएको बललाई गोलमा परिणत गरेका थिए। पाल्मससँगको बराबरीपछि म्याड्रिडले घरेलु मैदानमा १–१ अंक बाँडेको छ। केही समय अगाडि बार्सिलोनाले ६–१ गोलले स्पोर्टिङ गिजोनलाई पराजित गरेको अवस्थामा म्याड्रिड यो साता ला लिगाको शीर्षस्थानबाट तल झरेको छ। बार्सिलोनाको २५ खेलबाट ५७ अंक छ भने क्याटलान क्लबभन्दा एक खेल कम खेलेको म्याड्रिड को २४ खेलमा ५६ अंक छ।