प्रहरी नै गर्छ अवैध धन्दा

दाङको वडा प्रहरी कार्यालयले पक्राउ गरको मोटरसाईकल बिक्री गरेको खुलासा भएको छ । अनुसन्धानका क्रममा भएको अबैध ठहरिएको मोटरसाईकल कवाडीमा बेचेकोे खुलासा भएको हो ।

अबैध ठहरिएका सवारी साधनहरुलाई राजस्व सदरका लागि भन्सारमा पठाउनुपर्छ । तर यसरी समातिएको मोटरसाईकल वडा प्रहरी कार्यालय घोराहीले कवाडीमा बेचेको पाईएको हो , नेपाल समाचरपत्रमा खबर छ ।

माथिल्लो हुम्लामा अझै पुगेनन् पाठ्यपुस्तक

हुम्ला, साउन ४ । शैक्षिक सत्र सुरु भएको ६ महिना पुग्न लाग्दासमेत हुम्लाको उत्तरी क्षेत्रमा प्राथमिक तहकै पाठ्यपुस्तक पुग्न सकेका छैनन् । सदरमुकाम सिमकोटदेखि ७ कोस टाढा कर्णाली माध्यमिक बिद्यालयमा कक्षा ४ को एक सेट पनि पाठ्यपुस्तक पुगेका छैनन् । ३४ जना बिद्यार्थी रहेको त्यस कक्षाका सबैले च्यातिएका पुराका पुस्तक पढ्न बाध्य छन् ।सरकारले निःशुल्क उपलब्ध गराउँदै आएका पाठ्यपुस्तक नपुगेपछि सदरमुकाम सिमकोटदेखि उत्तरका बिद्यालयमा अध्ययनरन बिद्यार्थीले पुराना पाठ्यपुस्तकबाट काम चलाउने गरेको अन्नपूर्ण पोस्टमा खबर छ । नयाँ पुस्तक जिल्लाबाट नआएपछि पुराना पुस्तककै शैक्षिक सत्र गुजार्न बाध्य भएको प्राचार्य जयरुद्र ढकालले जानकारी दिए ।

चीनमा एक भवनमा आगलागी, २२ को मृत्यु

साउन १ । चीनको पूर्वी प्रान्त जियाङ्सुको म्यानजिङमा आइतबार भएको आगलागीका कारण २२ जनाको ज्यान गएको छ । उक्त प्रान्तको एक आवासीय भवनमा आइतबार अकस्मात आगो लागेको र दमकल एवम् अग्नि नियन्त्रणमा काम गर्ने उद्वारकर्ताहरुले गरेको प्रयासका बाबजुत पनि त्यतिधेरै नागरिकको ज्यान गएको बताएका छन् । उनीहरुले आइतबार बिहान सबेरै करिब साढे चार बजेतिर दुई तले सो आवासीय भवनमा आगलागी सुरु भएको बताएका छन् । अागलागीबाट २२ जनाकाे ज्यान गइसकेकाे प्रहरीले बताएका छन् । यासुङ् बजारमा रहेको सो घरमा भएको आगलागीको उद्वारका लागि छोटै समयमा नै उद्वारकर्ताहरु पुगेपनि धेरैको आगोमा निसास्सिएर ज्यान गएको बताइएको छ । प्रहरीले सो आगलागीमा परेका दुई जना गम्भीर रुपमा घाइते भएका जनाएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको छ । आगोका कारण के कति क्षति भएभन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको अधिकारीहरुले जनाएका छन् ।

रत्ननगर उवासङ्घको अध्यक्षमा रेग्मी

रत्ननगर (चितवन), १ साउन । रत्ननगर उद्योग वाणिज्य सङ्घ, चितवनको आठाँै अधिवेशनले राजाराम रेग्मीको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित गरेको छ । असार २६ गतेबाट शुरु भएको आठौँ अधिवेशनमा विधान संशोधनको विषयमा विवाद उत्पन्न हुँदा छ दिनपछि शनिबार तीनवर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको हो । समितिमा सबै कार्यसमिति निविरोध भएको सङ्घका वर्तमान अध्यक्ष रेग्मीले जानकारी दिनुभयो । वरिष्ठ उपाध्यक्षमा अनिलकृष्ण श्रेष्ठ, वाणिज्यतर्फ उपाध्यक्षमा विनोद पोखरेल, वस्तुगततर्फको उपाध्यक्षमा भीमनारायण श्रेष्ठ, उद्योगतर्फको उपाध्यक्षमा रघुनाथ भट्ट र एसोसिएटतर्फको उपाध्यक्षमा शंकर गिरी निर्विरोध हुनुभएको छ । असन्तुष्ट पक्षको नेतृत्व गर्नुभएका भट्ट र गिरीले उपाध्यक्ष पद पक्का गरेपछि विरोधका कार्यक्रम रोकेर सहमतिमा आएका हुन् । यस्तै महासचिवमा निराजन खनाल र कोषाध्यक्षमा देवीप्रसाद डल्लाकोटी चयन हुनुभयो । अधिवेशनले विभिन्न क्षेत्रबाट १८ जना सदस्यसमेत निर्विरोध चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष ज्ञानबहादुर विसुरालले जनाउनुभयो । रासस

राष्ट्रपति भण्डारीले सुविधाको गाडी दुरुपयोग गर्दै बेचेको खुलासा

काठमाडौं, असार २९  । संसद तथा राज्यको विभिन्न अंगमा भएका व्यक्तिहरुले पाउँदै आएको भन्सार कर छुटको सवारी साधन व्यापक दुरुपयोग हुँदै आएको छ । यहि दुरुपयोग गर्नेहरुको पंक्तिमा यतिवेला राष्ट्रपति विद्यादेवी भण्डारीसमेत संलग्न भएको रहस्य तीव्रखबरले फेला पारेको छ । राज्यलाई तिर्नुपर्ने कर नतिरी कर छुट सुविधाको सवारी साधन निजी प्रयोगको लागि खरिद गर्ने गरिएको भएतापनि त्यस्ता सवारी साधनहरु बेचेर दुरुपयोग गर्नेहरुको फेहरिष्टमा लामो छ । यतिवेदा राष्ट्रपतिलाई महंगो सवारी साधनको माग भैरहँदा भएको तीव्र आलोचनासंगै उनले संसद सुविधामा खरिद गरेको सवारी साधन २३ लाखमा विक्री गरेर दुरुपयोग गरेको खुलासा भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा मिति २०५३ अशोज २० गते संसद सुविधा अन्तर्गत दर्ता कायम भएको बा २ च ९५७५ नम्बरको ल्याडक्रुजरलाई उनले झापा विर्तामोड स्थायी घर भई हाल काठमाडौं सरस्वतीनगर बस्ने मेगेन्द्रराज लिङदेनलाई विक्री गरेको बर्षौ भईसकेको छ । सुविधाको सवारीसाधन भएको र पास गर्न नमिल्ने भन्दै राष्टपति भण्डारीले घरायसी कागज बनाएर बेचबिखन गरेको तीव्रखबरलाई प्राप्त कागजातमा उल्लेख छ । राष्टपति भण्डारीले सुविधाको सवारी साधन यसरी दुरुपयोग गर्दै बेचबिखन गर्दै अर्को सुविधाको सवारी साधनपनि खरिद गरेको बताइएको छ । तीव्रखबरबाट

निर्वाचन आयोगप्रति दलहरू किँन असन्तुष्ट ? कारण यस्ताे छ …

काठमाडौं, असार २९ । राजनीतिक दलहरूले जिल्ला निर्वाचन कार्यालयबाट मात्र मतदाता नामावली संकलन गर्ने निर्णय पुनर्विचार गर्न निर्वाचन आयोगलाई आग्रह गरेका छन् । बुधबार आयोगले मतदाता नामावली संकलनबारे जानकारी गराउन बोलाएपछि दलका प्रतिनिधिले निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन् । उनीहरूले आयोगले तोकेको १ देखि १५ साउनसम्मको समयसमेत उपयुक्त नभएको भन्दै पुनर्विचारका लागि आयोगलाई सुझावसमेत दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले जिल्ला सदरमुकामबाट मतदाता नामावली संकलन गर्ने निर्णयप्रति एमालेको असन्तुष्टि रहेको बताए । उनले सदरमुकामसम्म मतदाता नामावलीमा नाम लेखाउनकै लागि जानुपर्ने व्यवस्था व्यावहारिक नभएको भन्दै निर्णयमा ध्यान दिन आयोगलाई सुझाएका हुन् ,राजधानी दैनिकमा खबर छ । नेता पाण्डेले गाउँगाउँबाटै मतदाता नामावली संकलनको काम गर्न स्थानीय तहहरूलाई परिचालन गर्ने व्यवस्था गर्न र पहिलेजस्तै जसको जहाँ बसोबास छ, त्यहीँबाट नामावली संकलन हुने व्यवस्था मिलाउनुपर्ने भन्दै आयोगको ध्यानाकर्षण जरुरी रहेको बताए । संघीय समाजवादी फोरम नेपालका नेता डा. शिजवी यादवले मतदाता नामावली संकलनको काममा निर्वाचन आयोगले साँघुरो मानसिकता देखाएको भन्दै उदार हुन आग्रह गरे । स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको अवस्थामा स्थानीय तहबाट नै नामावली संकलन गर्नुपर्ने र त्यसो गर्दा मतदातामा उत्साह हुने बताए । यस्तै नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन आयोगले जनतालाई सजाय दिने काम गर्न नहुने भन्दै नामावली संकलनका क्रममा प्राविधिक विषयमा समेत आयोग जिम्मेवार रहनुपर्नेमा जोड दिए । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले भने समयको अभावका कारण छोटो समयमा सबै काम सक्नुपर्ने हुँदा छोटो समय राख्नुपरेको बताए । उनले जिल्लामा रहेको निर्वाचन कार्यालयबाट संकलन भएको नामलाई अन्तिम रूप दिनसमेत समय लाग्ने भन्दै पहिलेजस्तो व्यवस्था गर्न नसकिएको र त्यो आयोगको बाध्यता रहेको बताए । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतदाता नामावली संकलनका लागि सहयोग गर्न सबै राजनीतिक दलहरूलाई आग्रह गरिएको बताए । आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि भन्दै सोमबार मात्रै पदाधिकारी बैठक बसेर १ देखि १५ साउनसम्म जिल्लास्थित निर्वाचन कार्यालयबाट नामावली संकलन गर्ने निर्णय गरेको थियो । उसले १६ देखि २० साउनसम्म नामावलीमाथिको दाबीविरोधको समयसमेत तोकेको छ । प्रदेशसभा र प्रतिनिधिसभामा १८ वर्ष उमेर पुगेका सबै नागरिकले मतदानमा भाग लिने अधिकार सुनिश्चित गराउन पनि मतदाता नामावली संकलनको काम सुरु गरिएको आयोगले स्पष्ट पारेको छ ।

कैलालीमा माओवादीले खाता खोल्यो, कैलारीकाे अध्यक्षमा पूर्व लडाकु लाजुराम चौधरी

कैलाली, असार २० । कैलालीको कैलारी गाउँपालिकाकाे अध्यक्षमा नेकपा माओवादी केन्द्रका लाजुराम चौधरीले जित हासिल गरेका छन् । गाउँपालिका उपाध्यक्षमा पनि माओवादीकै लक्ष्मी छत्गौवा विजयी भएकी छन् । उनले ६०६४ मत पाइन् । निकटतम प्रतिद्वन्दी कांग्रेसकी अनिता चौधरीले ५४०७ मत पाइन् । ६२०४ मत ल्याएर जित हासिल गरेका चौधरी पूर्व माओवादी लडाकु हुन् । उनले नेपाली कांग्रेसका रामसमत चौधरीलाई हराए । रामसमतले ५८८७ मत पाए । उनी शिक्षकबाट राजीनामा दिएर गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका थिए ।

भारतको कारण सप्तरीका आधा दर्जन गाउँ डुबानमा

काठमाडौं, नेपालले साढे तीन वर्षअघि गरेको प्रस्ताव भारतले स्वीकार नगर्दा दक्षिणी सप्तरीका आधा दर्जन गाउँ डुबानमा परेका छन् । पूर्व-पश्चिम (महेन्द्र) राजमार्गदेखि नेपाल-भारत सीमा क्षेत्रसम्म खाँडो नदीमा दुवैतर्फ तटबन्ध निर्माण गर्न नेपालले सन् २०१४ को जनवरीमै प्रस्ताव गरे पनि भारतले अहिलेसम्म स्वीकार गरेको छैन । सिँचाइ मन्त्रालयअन्तर्गतको जलउत्पन्न प्रकोप नियन्त्रण विभागले ‘नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापनसम्बन्धी संयुक्त समिति’ (जेआईसीएफएम) मार्फत भारतलाई खाँडो नदी नियन्त्रणका लागि विस्तृत प्रतिवेदन (डीपीआर) बुझाएको थियो । विभागका सिनियर डिभिजनल इन्जिनियर अरविन्दकुमार गुप्ताका अनुसार दुवै देशका सम्पर्क अधिकारी सम्मिलित संयुक्त टोलीले सर्भे गरेर डीपीआर तयार गरेको थियो । नेपाल-भारतबीच सीमा क्षेत्रका नदी तथा खोलामा तटबन्ध निर्माण गरी दुवै देशका बासिन्दाको जिउज्यान सुरक्षा गर्ने उद्देश्यले झन्डै दुई दशकदेखि संयुक्त रूपमा तटबन्ध निर्माण कार्य हुँदै आए पनि खाँडोको हकमा भारत अहिलेसम्म प्रवेश गरेको थिएन । तर, संयुक्त रूपमा डीपीआर तयार भएपछि भारतले तत्काल सहमति दिने र निर्माण कार्य अघि बढ्नेमा विभाग ढुक्क थियो । ‘हामीले खाँडो नदी नियन्त्रणका लागि भारतसमक्ष धेरैपटक पत्राचार गर्‍यौं,’ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले सोमबार अन्नपूर्णसित भन्नुभयो, ‘उताबाट केही जवाफ आएन ।’ दुवै देशका प्राविधिक टोलीले महेन्द्र राजमार्गदेखि दसगजासम्म करिब ३५ किलोमिटर तटबन्ध निर्माणका लागि दुई अर्ब ५० करोड रुपैयाँ लागतसहितको प्रतिवेदन दिएको थियो । खाँडो नदी सप्तरीका अन्य सानातिना नदीसमेत मिसिएर भारत हुँदै कोसी नदीमा मिसिन्छ । यही नदीमा तटबन्ध नहुँदा बर्खायाममा परेको पानीले शनिबारदेखि सप्तरीको खाँडो नदीदेखि पश्चिममा पर्ने तिलाठी, सकरपुरा, पूर्वमा पर्ने बेल्ही र रम्पुरामल्हनियाँलगायत गाउँ डुबानमा परेका हुन् । गुप्ताका अनुसार नेपाल हुँदै भारत बग्ने बागमती, लालबकैया र कमला नदीमा संयुक्त रूपमा तटबन्ध निर्माण जारी छ भने खाँडो नदीमा तटबन्धका लागि प्रयास भए पनि सफल भएको छैन । भारतीय प्राविधिकसहितको टोलीले संयुक्त निरीक्षण गरेर निर्माण कार्य स्वीकृति दिएपछि नेपालले निर्माण गर्ने र त्यसको शोधभर्ना भारतले गर्दै आएको छ । ‘बागमती, लालबकैया र कमला नदीमा यो अभ्यास झन्डै दुई दशकदेखि जारी छ,’ गुप्ताले भन्नुभयो, ‘खाँडोमा बर्खायाममा सप्तरीका सबै सानातिना नदीका पानी मिसिन्छ र गाउँसम्म पस्छ ।’ भारतीय पक्षले खाँडो नदीमा तटबन्ध निर्माण गर्न चासो नदिएपछि विभागले नेपाल सरकारकै स्रोतबाट खाँडोमा तटबन्ध बनाउन गरेको प्रयास पनि सफल हुन सकेन । तिलाठीदेखि पूर्व खाँडोको दायाँ किनारमा दुवैतर्फ तटबन्ध निर्माणका लागि संरेखा (एलानमेन्ट) तयार गरिँदा स्थानीय बासिन्दाको विरोधका कारण निर्माण हुन सकेन । ‘स्थानीय बासिन्दाले भनेअनुसार तटबन्धको संरेखा बनाउन सकिँदैन’, गुप्ताले भन्नुभयो, ‘किनभने तटबन्ध सीधा हुनुपर्छ तर उहाँहरू तटबन्धको पनि मुआब्जा माग्नुहुन्छ, जुन दिने प्रावधान नै छैन ।’ तटबन्ध निर्माणका लागि विभागले तयार गरेको संरेखाप्रति असहमति जनाउँदै उक्त काम रोक्न केही स्थानीय बासिन्दाले सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका थिए । ‘पछि सर्वोच्चले स्थानीयको दाबी नपुग्ने भन्दै रिट खारेज गरे पनि मुद्दा किनारा नलागुन्जेल कुनै निर्माण कार्य हुन पाएन र समय घक्र्यो’, गुप्ताले भन्नुभयो, ‘पछि अर्कै समूहको नाउँमा फेरि राजविराज उच्च अदालतमा मुद्दा परेको छ ।’ गुप्ताका अनुसार तिलाठी, बेल्हा, रम्पुरामल्हनियाँलगायत जोखिमपूर्ण गाउँलाई डुबानबाट जोगाउन सर्वदलीय र जिल्ला दैवीप्रकोपका बैठकमा प्रयास भइरहे पनि उच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले काम अघि बढाउन सकिएको छैन । खाँडो नदीले सप्तरीवासीलाई दिएको हैरानी र जोखिम न्यूनीकरणमा भारतले असहयोग गरेपछि विभागले राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिलाई पनि गुहार्‍यो । विभागले ०७२ माघ १९ गते समितिलाई पत्राचार गरी खाँडो नदी नियन्त्रणका लागि आवश्यक बजेट बन्दोबस्तका लागि अनुरोध गरेको थियो । समितिले चैत १९ गते बैठक राखी ‘सैद्धान्तिक सहमति’ दिने निर्णय गरेको थियो । ‘खाँडो नदी नियन्त्रण सम्बन्धमा जल उत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय-६, जनकपुर धनुषाबाट पत्राचार भई सिँचाइ मन्त्रालयमार्फ प्राप्त हुन आएको आयोजनाको विस्तृत प्रतिवेदन (डीपीआर) बमोजिम एकीकृत रूपमा सहकार्य गरी संरक्षणको कार्य गर्न सैद्धान्तिक रूपमा सहमत रहेकाले सोही व्यहोरा निर्णय गरियो’, समितिका सदस्य-सचिव डा. अन्नपूर्णनन्द दासले सिँचाइ मन्त्रालयलाई २०७२ चैत २२ गते लेखेको पत्रमा छ ।  अन्नपूर्ण पोस्टमा खबर छ ।  

जर्मनीमा सडक दुर्घटनामा परी १८ जनाको मृत्य

एजेन्सी, असार १९ । पर्यटक चढेको बस र ट्रक एकआपसमा ठोक्किदाँ जर्मनीमा १८ जनाको मृत्यु भएको छ । बस र ट्रक एकआपसमा ठोक्किदाँ बसमा आगो लागरे बसमा यात्रा गरिरहेका १८ जनाको मृत्यु भएको र ३० जना गम्भीर घाइते भएका जर्मन प्रहरीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । जर्मनीको साचसेन राज्यबाट मुएन्चवर्गको बभारिएनतर्फ आइरहेको बस दुर्घटनाभएको जनाएका छन् ।

दिपकराज गिरीले गरे अवार्ड समारोह वहिष्कार

असार १४ । कलाकार दिपकराज गिरीले अब कुनै पनि अवार्ड कार्यक्रम आफू सहभागी नहुने घोषणा गरेका छन् । उनले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यस्तो घोषणा गरेका हुन् । फेसबुकमा आफ्ना धेरै साथीहरुले यस्ता अवार्डको कुरा नगरी भविष्यमा पनि लोकप्रिय चलचित्र निर्माणमा मात्रै ध्यान दिन दिएको सुझावको कदर गर्दै अवार्ड समारोहमा सहभागी नहुने निर्णय गरेको उनले लेखेका छन् । पछिल्ला केही अवार्ड समारोहलाई बिचमै छोडेकोमा आफूलाई अवार्डको लोभी तथा आफूले नै अवार्ड पाउनुपर्ने मान्यता भएका व्यक्तिका रुपमा व्याख्या गरेको भन्दै गिरीले मिलेमतो र आफ्ना प्रियजनलाई बाँडिने त्यस्ता अवार्डको विरोध मात्र गरेको बताएका छन् । गिरीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, “पछिल्लो समय अवार्ड कार्यक्रममा जानु र कार्यक्रमलाई बिचमै छाड्नुलाई धेरै साथीहरूले म अवार्डको लोभी भएको, आफूले नै अवार्ड पाउनु पर्ने मान्यता भएको व्यक्ति रहेको रूपमा व्याख्या गरेको थाहा भयो । जबकि मिलेमतो र आफ्ना प्रियजन लाइ बाडिने त्यस्ता अवार्डको विरोध मात्रै थियो त्यो ।”

महत र ढकालबारे सूचना दिन अख्तियारको आग्रह

काठमाडौँ, असार ८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही हरिऔन गाविस–९ का लुम्बध्वज महत र मकवानपुरको पालुङ गाविस–५ का उमेशप्रसाद ढकालबारे सूचना दिई पक्राउमा सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । आयोगले कर फछ्र्यौट आयोग, २०७१ का पदाधिकारीद्वय महत र ढकालले भ्रष्टाचार गरेको भन्ने उजुरीको अनुसन्धानका सिलसिलामा अख्तियारमा उपस्थित हुन सूचना जारी गरेकोमा हालसम्म उहाँहरु संवैधानिक उक्त आयोगको सूचनाको बेवास्ता गरी फरार रहेकाले पक्राउका निम्ति अख्तियारले सर्वसाधारणलाई अनुरोध गरेको हो । फरार महत र ढकाललाई पक्राउ गर्न सूचना दिई सहयोग गर्ने सर्वसाधारणलाई उचित पुरस्कारको व्यवस्था अख्तियारले गरेको जनाउँदै उहाँहरुलाई देख्ने वा फेला पार्ने जो सुकैले अख्तियारको सिधा टेलिफोन नम्बर १०७ वा नजिकको प्रहरी कार्यालयमा सूचना दिन आग्रह गरेको छ । भ्रष्टाचार मुद्दाको अनुसन्धानमा सहयोग गर्न सर्वसाधारणलाई अपिल गर्दै अख्तियारले यस्तो अनुरोध गरेको सम्भवतः यो पहिलो घटना हो ।

सुरु भयो प्रहरीमा बढुवा

काठमाडौँ, असार ७ ।  चार हजार बढी पद रिक्त हुँदा पनि बढुवा प्रक्रिया अगाडि नबढाउँदा आलोचित प्रहरी प्रशासनले बढुवा सिफारिस समितिलाई सक्रिय बनाएको नागरिकमा खबर  छ । गृहमन्त्रीमा जनार्दन शर्मा आएपछि गत बुधबार उनले बढुवा अघि बढाउने बताएका  थिए । उनले दाबी गरेको पाँच दिनपछि आइतबारदेखि तल्लो तहको बढुवा प्रक्रिया अघि बढेको हो । असारभित्र सबै रिक्त पदमा बढुवा गर्ने योजना सहित प्रहरी हवल्दार र असईको बढुवाको लागि फइल उठिसकेको छ ।

‘मिस एसईई २०१७’ को ताज दिपीकालार्इ

काठमाडौं, जेठ २१ । ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले आयोजना गरेको एक्सपर्ट मिस एसइइ झापा २०१७ को ताज झापा धाइजनकी दिपीका बानियाले पहरेइकी छिन् । शनिबार राती अबेरसम्म ग्राण्ड फिनालेमा अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनी बिजेता बन्न सफल भएकी हुन् । त्यस्तै प्रतियोगिताको फस्ट रनरअप बिर्तामोडकी रिया आचार्य र सेकेण्ड रनअप काकरभिट्टाकी अरुणरिद्धी राई बनिन् । बिजेताले नगद ५० हजारसहित कक्षा ११–१२ अध्ययनका लागि पूर्ण छात्रवृति प्राप्त गरिन् भने फस्ट रनअपले २० हजार नगद, सेकेण्ड रनरअपले १५ हजार नगदसहित छात्रवृति हासिल गरेका ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टकी अध्यक्ष निशा खड्काले जानकारी दिए । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार साहारा उपचार कोषका लागि ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले ११ हजार नगद सहयोग गरेको छ । ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टले आयोजना गरेको एक्सपर्ट मिस एसइइ झापाको ग्राण्ड फिनालेको अवसरमा कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनीले उक्त रकम बराबरको चेक नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटालाई हस्तान्तरण गरेका छन् । उक्त रकम एक्स्पर्ट मिस एसईई झापाका प्रतिस्पर्धीहरुले बिर्तामोडमा चटपटे, पानीपुरीलगायतका अन्य खाजाका परिकारहरु बिक्री गरेर संकलन गरिएको संस्थाकी अध्यक्ष निशा खड्काले जानकारी दिएको छ । साथै उक्त अवसरमा रगतमा इन्फ्याक्सन भई उपचारर्थ बिर्तामोडकी सिमा प्रधानको उपचारका लागि १५ हजार रुपैँया हस्तान्तरण गरिएको छ ।

लन्डनमा आतंकवादी आक्रमणमा ६ जनाको मृत्यु, ३० जना भन्दा बढी घाइते

जेठ २१ । बेलायतको लण्डनमा आतंककारी हमलामा ६ जनाले ज्यान गुमाएका छन् भने ३० भन्दा बढी घाइते भएका छन् । लण्डन ब्रिज र बोरोउघ बजारमा स्थानीय समयअनुसार राती १० बजे मध्य लण्डनमा तीब्र गतिमा रहेको एउटा भ्यानले पैदलयात्रीलाई ठक्कर दिई घाइते बनाएलगत्तै प्रहरी अधिकारी तथा सर्वसाधारणमाथि अन्धाधुन्ध चक्कु आक्रमण शुरु भएको बीबीसीले उल्लेख गरेको छ । प्रहरीको कारवाहीमा आरोपित तीनजनाको ज्यान गएको छ । घटनापछि लण्डन ब्रिजमा रहेको रेलवे स्टेसन बन्द गरिएको छ भने लण्डनभर सुरक्षा व्यवस्था कडा पारिएको छ । आक्रमणपछि बेलायती प्रधानमन्त्री टेरिजा मेले निन्दनीय घटना भएको भन्दै कोब्रा आपतकालिन कमिटिको आकस्मिक बैठक बोलाएकी छिन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि सो घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले ट्वीट गर्दै बेलायत सरकारलाई आतंकवादविरुद्धको लडाईमा हरसम्भव सहयोग गर्न आफू तयार रहेको जनाएका छन् । केही दिन अघि बेलायतको म्यानचेष्टर एरिनामा आरियाना ग्रान्डेको कन्सर्टका क्रममा भएको विष्फोटमा परि २२ जनाको मृत्यु भएको थियो ।

कैलालीबाट ठूलो परिमाणमा बाघ र चितुवाको छाला बरामत

लोकेश धामी कैलाली, जेठ १ । कैलालीको दुई छुट्टाछुट्टै ठाउँबाट ठूलो संख्यामा बाघ र चितुवाको छाला बरामत गरिएको छ । आइतबार गोदावरी नगरपालिका बडा नम्बर १२ चौकिगाउँ र जिल्ला घोडाघोडी नगरपालिका ७ कृतिपुर भन्ने ठाउँबाट उक्त परिणाममा बहुमूल्य छाला बरामत गरिएको हो । उक्त स्थानमा पाटेबाघको छाला, चितुवाको छाला र हड्डीको कारोबार भइ रहेको छ भन्ने विशेष सूचना आधारमा क्षेत्रिय प्रहरी कार्यालयबाट खटिएको विषेश अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट गएको संयक्त प्रहरी टोलीले ठूलो परिमाणमा वन्यजन्तुको छाला र हड्डी बरामत गरिएको प्रहरीले जनाएको छ । बरामत गरिएकोमा पाटेबाघको छाला १ थान, चितुवाको छाला ३ थान र चितुवाको हड्डी ६ किलो ७ सय ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख अर्जुन चन्दले जानकारी दिए । यस्तै ओसारपसारमा प्रयोग भएका दुइ थान मोटरसाइकल सहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कैलालीको गौरीगंगा नगरपालिका ४ बस्ने ७० वर्षिय धर्मराज पौडेल, गोदावरी नगरपालिका १२ का ५० वर्षिय पूर्ण बहादुर ओली, धनगढी उप–महानगरपालिका १६ का ३० वर्षिय राम बहादुर चौधरी, जोशीपुर गाउँपालिका–५ का ३५ वर्षिय रमेश चौधरी, घोडाघोडी नगरपालिका–८ बस्ने गगन साउँद र जोशीपुर गाउँपालिका– १ का ३७ वर्षिय लोकबहादुर बि.क रहेका छन् । उनीहरुलाई कारबाहीको लागि जिल्ला वन कार्यालयमा बुझाउने पक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख चन्दले जानकारी दिए । बरामत छाला र हड्डीबा संलग्न २ जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक जानकारी अनुसार उक्त बरामत भएको चितुवाको छाला डोटीबाट पाटेबाघको छाला शुक्लाफटाबा ल्याएको हुनसक्ने जनाइएको छ ।

मैले त भोट हाले, तपाई नि ?

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडलले तनहुँको सत्यवादी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्नुहुँदै । तस्बि: सूर्यचन्द्र बस्नेत/रासस