धापाखेलवासीले घेरे केयुकेएलको जावालाखेल कार्यालय

ललितपुर, चैत ६ । दुई वर्षदेखि पिउने पानी नछोडेको भन्दै ललितपुर धापाखेलका स्थानीयले आइतबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयुकेयल)को जावालाखेल कार्यालय घेराउ गरेका छन् ।

ललितपुर महानगरपालिका वार्ड नम्बर २४ धापाखेलको ‘मखुण्डोल टोल सुधार समिति’को अगुवाईमा करिव दुई सय स्थानीयले दुईवर्षदेखि केयुकेयलले पानी नदिएको भन्दै कार्यालय घेराउ गरेका हुन् ।

स्थानीयले आइतबार विहान केयुकेयल चापागाउँमा रहेको पानी वितरण केन्द्रको साँचो कब्जामा लिएका थिए ।

केयुकेयलले ललितपुरको चापागाउँ, ठेचो, धापाखेल, सुनाकोठी,सातदोबाटो लगायतका ठाउँमा वितरण गर्ने पानीको मुहान ललितपुरको लेलेमा रहेको छ । लेलेबाट ल्याइएको पानी चापागाउँ जम्मा गराई ती ठाउँहरुमा वितरण गरिदैँ आएको छ । तर, दुई वर्षदेखि धापाखेलका ४०० धुरीले एक थोप्पो पानी देद्यन नपाएकोले आन्दोलनमा उत्रनु परेको मखुण्डोल टोल सुधार समितिका सचिव बेदप्रसाद दाहालले एभरेष्टदैनिक डटकमलाई भने । दाहालका अनुसार केयुकेयललाई दुई वर्षदेखि पटक–पटक लिखित निवेदन दिँदा पनि माग सुुनुवाई नगरेपछि आइतबार सत्तरी असी जनाको स्थानीय गएर पानी खोल्ने साँचो लिएको बताए ।
टोल सुधार समितिका अध्यक्ष नविन खड्का भन्छन्–केयुकेयलले हाम्रो टोललाई पानी नदिइ अन्यत्र पठाएको हामीले भरपर्दाे सूचना पाएका छौं, हाम्रो धारामा पानी नआएको दुईवर्ष भयो तर, सिभिल होम्स र सातदोबाटोको पौडी पोखरीमा मजाले अहिले पनि दैनिक पानी जाँदोरहेछ ।’
उनीहरुले पानी वितरण गर्ने चापागाउँबाट मनलाग्दी पानी वितरण गरेको आरोप लगाए । ‘हाम्रो टोलमा पानी नै नपठाउने गरेको पाइयो’ अध्यक्ष खड्काले भने–विहान छ बजे हाम्रोमा पानी पठाउने बेलामा चापागाउँबाट बन्द गरिसक्दारहेछन् ।’

धापाखेलका स्थानीयले पानीका लागि हण्डर खेपेको दुई वर्ष भएकोले बाध्य भएर आन्दोलनमा उत्रिएको उनले बताए । ‘हामीलाई पानी नपठाउने केयुकेयल चापागाउँको साँचो हाम्रो धारामा पानी नखोलेसम्म दिदैँनौ’ टोल सुधार समितिका सचिव दाहालले भने ।
‘हामीलाई जेल लान्छन भने पनि हामी जान तयार छौं, तर केयुकेयलको बदमासी सहन सक्तैनौं ।’

धापाखेल चापागाउँबाट आउने पानीको मुहानमा पर्ने गाउँ हो । आजसम्म चुपचाप पानीको महसुल तिर्दै आउका स्थानीयले अति भएपछि केयुकेयल घेरेका हुन् । ‘मुहानकै मानिसलाई पानी दिइएन’ सचिव दाहालले गुनसो गरे ।

अहिले स्थानीयले केयुकेयलको जावालाखेल कार्यालय घेरिरहेका छन् । सुख्खा यामसुरु भएसँगै पानीको चर्काे माग हुनेगरेपनि धापाखेल एरियामा वर्षायाममै पनि पानी नदिइएको उनीहरुले बताए ।
सरकारले भरखरै महानगरपालिका घोषणा गरेपछि धापाखेलवासीलाई काकाकुल पार्न खोजेको भन्दै विरोधमा उत्रिएका हुन् ।

राममन्दिर पुनर्निर्माणका लागि ६६ लाख सङ्कलन

नुवाकोट, फागुन २५ । मुलुककै प्रसिद्ध नुवाकोट जिल्ला त्रिशूलीस्थित राममन्दिर पुनर्निर्माणका लागी लगाइएको ‘रामचरित मानस’मा करिब ६६ लाख रुपैयाँ बचत भएको छ । तेह्र दिन सञ्चालन भएको रामचरित मानस बाचनमा ७४ लाख ३३ हजार सङ्कलन भएको र आठ लाख ६० हजार खर्च भएकाले ६५ लाख ७३ हजार रकम मन्दिर पुनर्निर्माणका लागि बचत भएको राममन्दिर पुनर्निर्माण समितिका संयोजक धनबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार भगवान् रामको कथा वाचनका क्रममा चन्दा सहयोगबाट ७० लाख ९६ हजार, कलश यात्रामा सहभागी हुनेबाट तीनलाख चारहजार, टीकादक्षिणाबाट १३ हजार तीन सय र सङ्कलन भएको रकमलाई वित्तीय संस्थामा राखेर चार हजार एकसय ब्याज सङ्कलन हुँदा आम्दानी ७४ लाख ३३ हजार रुपैयाँ भएको छ। तेह्र दिनसम्म रामकथा वाचन गर्दा विभिन्न १९ शीर्षकमा आठ लाख ६० हजार खर्च भएकाले अब मन्दिर पुनर्निर्माणका लागि ६५ लाख ७३ हजार रुपैयाँ सङ्कलन भएको छ । संयोजक श्रेष्ठले भने, ‘भूकम्पले क्षति पुगेको राम मन्दिरको पुनर्निर्माणमा राज्य तथा सामाजिक संस्थाले बेवास्ता गरेपछि स्थानीयवासी आर्थिक सङ्कलन अभियानमा जुटेका हौँ ।’ बचत भएको रकम अहिले वित्तीय संस्थामा जम्मा गरेकाले अब पुनर्निर्माणतर्फ केन्द्रित हुने राम मन्दिर सञ्चालक समितिको सदस्य नारायण श्रेष्ठले जानकारी दिए । त्रिशूलीको पुरानो बजारस्थित पवित्र त्रिशूली नदी किनारमा रहेको भगवान् श्रीरामको मन्दिरलाई पूर्ववत् रुपमा नै निर्माण गर्न करिब एक करोड ३० लाख रुपैयाँ लाग्ने प्राविधिक अध्ययनमा देखिएको छ । पुनर्निर्माणका लागि स्रोत जुटाउन स्थानीयवासीले विभिन्न प्रयास जारी राख्दै आएका छन् ।

बसन्तपुरमा होलीको चीर डठ्याइयो, होली पर्व सुरु

काठमाडौं, फागुन २२ । काठमाडौंको बसन्तपुर डबलीमा आज होलीको चीर ठड्याएसँगै उपत्यकामा होली पर्व सुरु भएको छ । आज विहान आज बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा उक्त चीर ठड्याएसँगै सांस्कृतिक एवं परम्परागत पर्व होली विधिवतरुपमा होली सुरु भएको हो । फागुन शुक्ल अष्टमीका दिन रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व सुरु हुन्छ । यसवर्ष काठमाडौं उपत्यका लगायतका पहाडी जिल्लाहरु यही फागुन २९ गते तथा तराईका जिल्लाहरुमा फागुन ३० गते होली पर्व मनाईंदै छ । आज ठड्याइएको चिर एक हप्तापछि ढलाएर टुंडिखेलमा पुर्‍याई सेलाउने गरिन्छ ।

विश्वकै सम्पत्ति: सेतो डङ्गुर गिद्ध

चितवन, फागुन २२ । सङ्कटापन्न अवस्थामा रहेको सेतो डङ्गुर गिद्ध संरक्षणको प्रयास सफल बन्दै गएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र सन् २००७ देखि प्रजनन केन्द्र स्थापना गरी सङ्ख्या बढाउन प्रयास हुँदै आएको छ । यसअघि गत वर्ष प्रजनन केन्द्रमा एउटा बच्चा कोरलिएको पनि बचेको थिएन भने यस वर्षको जनवरीयता नौ बच्चा कोरलिएको हो । दुई वर्षअघि एउटा बच्चा हुर्किएको थियो । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार हाल प्रजनन केन्द्रमा २५ भाले र ३१ पोथी गिद्ध छन् । यस वर्ष १५ पोथीले फुल पारे पनि नौ बच्चा मात्र कोरलिएको छ । प्रजनन केन्द्रका चार खोरमा गिद्ध राखिएको छ । दुई खोर बच्चा कोरल्न र अन्य दुई खोर बच्चा नकोरल्ने गिद्धलाई राखिएको छ । सुरुआतमा देशका विभिन्न क्षेत्रबाट गिद्धका बच्चा सङ्कलन गरेर प्रजनन केन्द्रमा ल्याइएको खड्काले बताउनुभयो । प्रजनन केन्द्रमा फुल नपारेका ११ पोथी गिद्धका जोडीमध्ये छ जोडीलाई नवलपरासीको नमुना सामुदायिक वनमा रहेको जटायु रेस्टुरेन्टमा छाड्ने तयारी गरिएको छ । राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले हाल नौ बच्चा जन्मनु महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्ने बताउनुभयो । यहाँका छ जोडी र जटायु रेस्टुरेन्टका छ जोडीलाई ‘ट्याग’ लगाएर छाड्ने तयारी गरिएको छ । कमजोर र फुल नपारेका ती गिद्धलाई नियमित अनुगमन गरिने छ । गिद्धको सामान्य आयु ४० वर्ष हुन्छ । निकुञ्ज विभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण सङ्घको सक्रियतामा कसरामा गिद्धको सङ्ख्या बढाउने उद्देश्यले प्रजनन केन्द्र सञ्चालन हुँदै आएको छ । केन्द्रमा रहेका गिद्धलाई राँगाको मासु खुवाउने गरिन्छ । खड्काका अनुसार एउटा गिद्धलाई एक महिनामा दुई पटक गरेर सरदर ३० किलो मासु खुवाउने गरिन्छ । यो हिसाबले केन्द्रमा रहेका ५६ गिद्धलाई मासिक एक क्विन्टल छ सय ८० किलो मासु खुवाइँदै आएको छ । गिद्धका लागि एक भेटनरी चिकित्सक र तीन हेरालु राखिएको छ । गिद्ध संरक्षणका लागि दातासँग मिलेर सरकारले ठूलो रकम खर्च गर्दै आएको छ । हाल बच्चा कोरलेसँगै यसलाई सफलताका रुपमा विज्ञले लिएका छन् । खड्काले भारतमा पनि संरक्षण गरिएको तर यति ठूलो सफलता नमिलेको जिकिर गर्नुभयो । चरामध्ये गिद्ध अनौठो प्रजातिमा पर्छ । बच्चा कोरलेपछि पोथीले फुल पार्न चार वर्ष कुर्नुपर्छ । यसले वर्षमा एक पटक मात्रै फुल पार्छ । नेपाल बर्ड एजुकेसन सोसाइटीका पूर्वअध्यक्ष वासु बिंडारीले विश्वबाटै लोप हुन लागेको गिद्धका नौ बच्चा कोरल्नुलाई निकै सफलताका रुपमा लिइएको बताउनुभयो । “संरक्षण गर्न नसकिएमा यो जातिको गिद्ध केही वर्षमै विश्वबाट लोप हुनेछ, यो उपलब्धि नेपालका लागि मात्रै नभएर विश्वका लागि नै हो ”, बिंडारीले भन्नुभयो ।

सहिद वीरेन अमर रहून …

विसं २०२९ मा झापाको सुखानीमा सहिद भएका वीरेन राजवंशीको स्मृतिमा शुक्रबार झापाको ज्यामिरगढी–३ मा निर्मित अर्धकदको सालिकमा श्रद्धासुमन अर्पण गर्दै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेता झलनाथ खनाल । तस्वीर : चन्द्रकला भण्डारी, झापा

नेपालबाट खाना पकाउने एलपी ग्यास हटाउने तयारी !

काठमाडौं,फागुन १९ । ऊर्जामन्त्री जनार्दन शर्माले दुई वर्षभित्र खाना पकाउने ग्यास (एलपी) हटाउने गरी तयारी भइरहेको बताएका छन् । जलस्रोत तथा उर्जा पत्रकार समाज (वारेज( नेपालद्वारा बुधबार राजधानीमा ‘नेपालको पानी जनताको लगानी’ तथा ‘ऊर्जा संकट निवारण तथा विद्युत विकास दशकसम्बन्धी कार्ययोजना’ बारेको अन्तरक्रियामा सरकारले स्वदेशी ऊर्जा उत्पादन तथा खपतलाई उच्च प्राथमिकतामा राखेर खाना पकाउने ग्यास बिस्थापन गर्ने नीति बनाइरहेको बताएका छन् । ऊर्जामन्त्री शर्माले भने, ‘आगामी दुई वर्षभित्र खाना पकाउने ग्यासलाई बिजुलीले विस्थापित गर्नेगरी काम गरिरहेका छौं ।’ हाल देशभर वार्षिक करिब ६५ अर्ब रुपैयाँ बराबरको एलपी ग्यास आयात भइरहेको छ । त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक डा. अमृतमान नकर्मीका अनुसार ग्यासलाई बिजुलीले विस्थापित गर्न करिब ६ सय मेगावाट बिजुली आवश्यक पर्छ ।

भरतपुरमा पनि सञ्चालनमा अायाे फनपार्क

चितवन, फागुन १९ । जिल्लाको सहरी क्षेत्र कोलाहल बन्दै जाँदा यहाँका बासिन्दालाई फुर्सदको समयमा रमाउन सहयोग पुग्ने गरी निजी क्षेत्रबाट पहिलोपटक फनपार्क सञ्चालनमा ल्याइएको छ । भरतपुर उपमहानगरपालिका–९ शरदपुरमा पूजा फनपार्क सञ्चालनमा ल्याइएको हो । बालबालिका र युवालाई लक्षित गरेर फनपार्क सुरु गरिएको हो । करिब एक बिघा क्षेत्रफलमा रहेको फनपार्कमा महिला, पुरुष र बालबालिकाका लागि छुट्टाछुट्टै स्विमिङ पुलको व्यवस्था गरिएको छ। चितवनमा पार्कको अभाव भएकाले सबैको मनोरञ्जनका लागि फनपार्क सञ्चालन गरिएको सञ्चालक कृष्णप्रसाद देवकोटाले बताए । पार्कमा होटल, चिडियाघर, रेस्टुरेन्ट र रमणीय वातावरणको सुविधा रहेको छ । फनपार्कको आम्दानीको पाँच प्रतिशत भरतपुरमा रहेको आदर्श नारी गृहलाई सहयोग गर्ने देवकोटाले घोषणा गर्नुभयो । करिब रु चार करोडको लगानीमा फनपार्क सञ्चालन गरिएको उनले जानकारी दिए ।

सकेट बम फेला

राजविराज, फागुन १८ । सप्तरीको राजविराज–५ स्थित रुपनी रोडको छेउमा एउटा विद्यालयको परिसरभित्र सकेट बम फेला परेको छ । राजविराज–५ रुपनी रोडमा नै पर्ने लक्ष्मी इङ्गलिस बोर्डिङ स्कुल परिसरभित्र आज विहान सो बम फेला परेको सप्तरीका प्रहरी उपरीक्षक दिवेश लोहनीले बताए । त्यहाँ फेला परेको बमलाई निष्क्रिय पार्नका लागि राजविराजस्थित कृष्ण गणबाट नेपाली सेना, जिल्ला प्रहरी कार्यालयबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी त्यहाँ पुगेको प्रहरी उपरीक्षक लोहनीले जानकारी दिए। यसैबीच, बम फेला परेको ठाउँमा जनतान्त्रिक तराई मुक्ति मोर्चा, जयकृष्ण गोइत समूहको पर्चा फेला परेको प्रहरीले बताएको छ । यसअघि मङ्गलबार पनि राजविराज–९ स्थित पिसजोन बोर्डिङ स्कुलको छेउमा बम फेला परेको थियो । बढी मूल्यमा पेट्रोल बेच्ने कारबाहीमा यसैबीच, सप्तरीको देउरीभरुवा–४ स्थित किराना पसलमा बढी मूल्यमा पेट्रोल बिक्री गर्ने व्यवसायी लक्ष्मी यादवलाई प्रहरीले पक्राउ गरी कारबाही गरेको छ । केही दिनदेखि सप्तरी जिल्लाको सहरी तथा ग्रामीण बजारमा पेट्रोलियम पदार्थको अभाव भएको परिस्थितिमा व्यवसायी यादवले डिजेल तथा पेट्रोलसमेत राखी बढी मूल्यमा प्रतिलिटर रु एक सय ५० को दरले बिक्री–वितरण गरी कालोबजारी गर्दै आएको फेला परेपछि उनलाई पक्राउ गरिएको प्रहरीनायब उपरीक्षक दानबहादुर कार्कीले बताए । साथै, उनको किराना पसलबाट ४५ लिटर पेट्रोल र चार लिटर डिजेलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकामाथि कालोबजारी मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य थालिएको प्रहरीनायब उपरीक्षक कार्कीले जानकारी दिए ।

सात महिनामा करिब चार हजार पशुको बिमा

दोलखा, फागन १५ । पशुको बिमाबाट दोलखा जिल्लामा हालसम्म आठ करोड ९२ लाख ६४ हजार राजस्व सङ्कलन भएको छ । पशु सेवा कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र करिब चार हजार पशुको बिमा गरिएको छ । पशुपालनमा किसानको आकर्षण बढ्दै गएको र माघ महिनामा मात्रै तीन सय ८१ पशुको बिमा गरिएको छ । जसको बिमित रकम रु एक करोड १५ लाख ३९ हजार पुगेको छ । पशु बिमा ऐन, २०६८ आएपछि दोलखामा २०७१ सालबाट पशु बिमा सेवा सुरु भएको थियो । आफ्नो हेलचेक्र्याइँ बाहेकका कुनै कारण आफूले पालेका पशुको मृत्यु भए ९० प्रतिशत क्षतिपूर्ति बिमा कम्पनीले प्रदान गर्ने भएपछि पशु बिमातर्फ किसानको आकर्षण बढेको कार्यालयका प्राविधिक कमल पराजुलीले जानकारी दिए । जिल्लामा सरकारी इजाजत प्राप्त प्रिमियर इन्सुरेन्स कम्पनीले पशु बिमा गरेका हुन् ।

त्रिवि केन्द्रीय क्याम्पसमा तालाबन्दी, हारबाट डराएर चुनाव विथोल्न खोजेको क्रान्तिकारीको आरोप

काठमाडौं, फागुन १४ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा तालाबन्दी भएको छ । अखिल क्रान्तिकारीले एकलौटी हस्तक्षेप गरी मतदाता नामावली प्रकाशन गरेको आरोप लगाउँदै विभिन्न विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् । तालाबन्दी लगाउने संगठनहरुमा एमाले निकटअनेरास्ववियु, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरम, अखिल (क्रान्तिकारी) विप्लव, मधेसी विद्यार्थी फोरम लगायतका संगठन रहेका छन् । क्रान्तिकारीले अन्य संगठनलाई उपेक्षा गरि प्रशासनमा एकलौटी हस्तक्षेप गरेको, प्रशासनले मतदाता नामावली प्रकाशन गर्दा भर्ना भएका विद्यार्थीको नाम छुटाइएको जस्ता आन्दोलनकारी संगठनको आरोप छ । तर, अखिल क्रान्तिकारीले भने आफ्नो संगठनको लोकप्रियताबाट डराएर चुनाव विथोल्न खोजेको कुत्सित मानसिकता भनेको छ । त्रिविले कार्यतालिका मिचेको, केही संगठनले आचारसंहिता उल्लंघन गर्दा क्याम्पस प्रशासन मौन बसेकाले आन्दोलनमा उत्रनु परेको नयाँ शक्ति विद्यार्थी युनियनका नेता राजेन्द्र ओलीले बताए । अखिल क्रान्तिकारीका स्ववियु सभापतिका उम्मेदवार तिलकप्रसाद उपाध्यायले उक्त आरोप पराजित मानसिकताको उपज भएको प्रतिक्रिया दिए । ‘हामीले त्रिविमा कुनै त्यस्तो काम गरेका छैनौं, त्रिविमा हाम्रो संगठनको लोकप्रियता देखेर केही साथीहरु तललो स्तरमा उत्रिए ।’

नयाँ कार्यक्रमका लागि ३०० अर्बको बजेट माग

काठमाडौँ, फागुन ११ । रकमान्तर र थप बजेटको निकासाको लागि दबाब दिनुको साटो पहिले पुँजीगत शीर्षकमा विनियोजन भएको रकम खर्च गरिसक्न अर्थमन्त्रालयले सुझाव दिएको छ । व्यवस्थापिका– संसद् अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा विकास खर्चको स्थिति र रकमान्तरका विषयमा उठेको प्रश्नको जवाफमा अर्थमन्त्रालय बजेट महाशाखाका प्रमुख मधु मरासनीले सो सुझाव प्रस्तुत गरेकाे हो । उनले भने– “एकातिर पँुजीगत खर्च नभएको अवस्था छ भने अर्कोतिर धेरै सङ्ख्यामा नयाँ कार्यक्रमका लागि ठूलो परिमाणमा बजेट माग भई आएको छ । अहिलेसम्म झन्डै तीन सय अर्बको नयाँ कार्यक्रमका लागि रकम माग भई आएको छ, हामी बजेट बनाउँदा कुन कार्यक्रमलाई प्राथमिकता दिने हो भन्नेमा चुकिरहेका छाँ,ै कि भन्ने जस्तो भएको छ, यद्यपि मन्त्रालयले बजेट सम्बन्धी नियमको परिधिभित्र रहेर प्राथमिकता र आवश्यकताका आधारमा मात्रै रकमान्तरको लागि स्वीकृति दिने गरेको छ ।” बैठकमा सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजन भएको बजेट समेत रकमान्तर गरिएको भनी आपत्ति प्रकट गर्दै सरकार फेरिने वित्तिकै विकासका प्राथमिकता बदल्ने सोचले मुलुकलाई कहिले पनि समृद्ध तुल्याउन नसकिने धारणा व्यक्त गरेका थिए । दक्षिण एसियाली पूर्वाधार, मदन–आश्रित प्रतिष्ठान तथा पर्यप्रवद्र्धन शीर्षकमा विनियोजन भएको बजेट रकमान्तरको लागि प्रयास भइरहेको भनी प्रतिपक्ष दलका सांसदले आपत्ति जनाउँदै राष्ट्रिय गौरवका आयोजनाको नियमित अनुगमन गरेर पुँजीगत खर्च बढाउने काम गर्न सुझाव दिएका थिए ।

संस्थालनले बिमाङ्कीय मूल्याङ्कन नियमित गर्ने

काठमाडौँ,  फागुन ११ । राष्ट्रिय बिमा संस्थानले जीवन बिमा गर्ने कम्पनीको सम्पत्ति दायित्व एकिन गर्न बिमाङ्कीय मूल्याङ्कनलाई नियमित गर्ने जनाएको छ । संस्थानको ५० औं वार्षिकोत्सव (स्वर्ण जयन्ती) का अवसरमा आज आयोजित कार्यक्रममा संस्थानले सन् २००७ देखिको बिमाङ्कीय मूल्याङ्कन यथाशीघ्र अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरेको हो । बिमाङ्कनबाट बिमा व्यवसाय (जीवन, निर्जीवन र पुनःबिमा) मा बिमालेख तयार गर्न, बिमा शुल्क निर्धारण गर्न, बिमा दाबी सङ्ख्याको पूर्वाअनुमान लगाउन, बिमा कम्पनीको सम्पत्ति वा दायित्वको अवस्था मूल्याङ्कनजस्ता सूचकको विश्लेषणबाट भावी कार्यदिशा लिन सहयोग पुग्नेछ । संस्थानका प्रशासक अस्वीनीकुमार ठाकुरले लेखा अद्यावधिक तथा लेखापरीक्षण गराइसकेको र यस कार्यलाई विज्ञ परामर्शदाताको सहयोगमा अभियानका साथ अगाडि बढाइएको जानकारी दिए । उनले भने, “विगत केही वर्षदेखि मौजुदा रहेको लेखापरीक्षण सम्बन्धी कार्यसम्पन्न गराउने तर्फ विश्वास दिलाउँछु ।” संस्थानको व्यवसाय प्रवद्र्धनका लागि सशक्त माध्यमका रुपमा कार्यरत अभिकर्ता सेवा शर्त र सुविधामा समयसापेक्ष सुधार गरी आवश्यक व्यवस्था गर्ने प्रयासलाई निरन्तररुपमा अगाडि बढाउने संस्थानले जनाएको छ । संस्थानको बक्यौता रहेको लेखापरीक्षण सम्पन्न गर्न संस्थान लागिपरेको ठाकुरले जानकारी दिए । संस्थानले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादक कम्पनीलगायतका अन्य क्षेत्र गरी आफ्नो पुँजी कोषबाट निर्दिष्ठ क्षेत्रमा रु १५ अर्ब लगानी गरेको छ । अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्राडा पुन्यप्रसाद रेग्मीले बिमा व्यवसायको विकासमा संस्थानको भूमिका अग्रणी रहेको उल्लेख गर्दै जीवन बिमामार्फत बाहिरिँदै आएको रकमलाई नियन्त्रण गर्नुपर्ने बताए । राष्ट्रिय बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले संस्थानले विगतको छविलाई समीक्षा गरी संस्थालाई पुनःजीवन दिन इमान्दारिताका साथ अगाडि बढ्न र ग्राहकसँगको विश्वासलाई अक्षुण राख्न सुझाव दिए । कार्यक्रममा संस्थानमा २० वर्षदेखि अभिछिन्न रुपमा काम गर्दै आएका कर्मचारीलाई दीर्ग सेवा पदक तथा कदरपत्र र बढी व्यवसाय गर्ने अभिकर्तालाई पुरस्कार दिएर प्रशंसा गरियो । त्यसैगरी संस्थानको स्थापनाकालको संस्थान सञ्चालक समितिका अधयक्ष डा भेषबहादुर थापा, कर्मचारी कुवेरप्रसाद शर्मा, सिद्धिमान बस्न्यात, इन्द्रप्रसाद कर्माचार्य र रघु पन्तलाई सम्मान गरियो ।

राष्ट्र बैंक अर्धवार्षिक समीक्षाः मुलुकको आर्थिक अवस्था सुदृढ

काठमाडौँ, फागुन ७। उपभोक्ता मूल्यवृद्धिमा आएको कमी, शोधनान्तर बचत, वैदेशिक मुद्रा सञ्चितिमा वृद्धि, राजस्व सङ्कलन समेत बढेपछि मुलुकको समग्र आर्थिक अवस्था सुदृढ देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक‍्रबार सार्वजनिक गरेको चालु आवको अर्धवार्षिक समीक्षामा मुलुकको समग्र आर्थिक तथा वित्तीय परिदृष्य सवल, सक्षम एवम् सुधारोन्मुख रहेको पाइएको हो । कर्जा प्रवाहको तुलनामा निक्षेप परिचालनमा भएको वृद्धिले वित्तीय बजार सन्तुलनतर्फ उन्मुख हँुदै गएको छ । वर्तमान सरकार गठन भएलगत्तै मुलुकभर नै जनताले अनुभव गर्ने गरी विद्युत्भार कटौतीमा आएको कमी, ऊर्जा आपूर्तिमा आएको सहजता र औद्योगिक कच्चा पदार्थको आयातमा आएको सरलताले उद्योग क्षेत्रको क्षमता समेत बढेको पाइएको छ । खिम्ती–ढल्केवर विद्युत् प्रसारणलाइन निर्माण सम्पन्न भएसँगै ऊर्जा आपूर्ति सुदृढ भएको र यसबाट औद्योगिक वातावरणमा थप सुधार हुने केन्द्रीय बैंकले जनाएको छ । सन् २०१६ मा अघिल्लो वर्षको तुलनामा पर्यटक आगमन सङ्ख्यामा ३५.४ प्रतिशत वृद्धि भई सात लाख २९ हजार ५५० पर्यटकले नेपाल भ्रमण गरेका छन् । पर्यटक आगमनमा भएको सुधारको परिणाम होटल तथा रेस्टुराँ व्यवसाय विस्तार हुने अनुमान गरिएको छ । पछिल्लो दिनमा देखिएको नियमित विद्युत् आपूर्तिले समेत थप सकारात्मक वातावरण बनाएको छ । धान उत्पादनमा समेत उल्लेख्य वृद्धि भएकाले कृषि क्षेत्रको विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अन्य कृषि उत्पादन, पर्यटक आगमन र औद्योगिक उत्पादनमा हुने सुधारबाट समग्र आर्थिक वृद्धिको परिदृष्य सुदृढ देखिएको बैंकको समीक्षामा उल्लेख छ । उपभोक्ता मुद्रास्फीति दर घट्दै गएको, नेपाल र भारतबीचको मुद्रास्फीति अन्तर शून्यमा झरेको छ तर पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा आउनसक्ने मूल्यवृद्धिले मुद्रास्फीतिमा केही चाप बढाउन सक्ने चुनौती थपिएको राष्ट्र बैंकको भनाइ छ । विप्रेषण आप्रवाहको घट्दो वृद्धिदर चिन्ताको विषय रहेको विश्लेषण गर्दै बैंकले सरकारी बजेट स्थिति मजबुत रहेको राजस्वमा उल्लेख्य वृद्धि भएबाट सरकारी बजेट बचतमा रहेको जनाएको छ । गत मसान्तसम्म राष्ट्रको ढुकुटीमा रु २ खर्ब १७ अर्ब ६० करोड नगद मौज्दात रहेको छ । चालु आवको छ महिनामा उपभोक्ता मूल्यवृद्धि दर ओरालो लागेको छ । गत पुसमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति घटेर ३.२ प्रतिशतमा सीमित भएको छ । चालु आवमा सरकारले उपभोक्ता मूल्यवृद्धि दर ७.५ प्रतिशत राख्ने लक्ष्य राखेको छ । यस्तै समीक्षा अवधिमा भारततर्फ १७.१ प्रतिशत, चीनतर्फ ५४.८ प्रतिशत र अन्य मुलुकतर्फ १०.१ प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा जुस, पिना, रोजिन, जिआइ पाइपलगायतका वस्तुको निर्यात बढेको छ भने अलँैची, पोलिस्टर यार्न, ऊनी गलैँचा, तरकारीलगायतका वस्तुको निर्यात घटेको छ । समीक्षा अवधिमा कुल वस्तु आयात ६७.३ प्रतिशतले बढेर रु चार खर्ब ६४ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २५.७ प्रतिशतले घटेको थियो । यस्तै भारतबाट भएको आयात ९५ प्रतिशत, चीनबाट भएको आयात ३४.३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात २९.५ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, एमएस विलेट, मेसिनरीलगायतका वस्तुको आयात बढेको छ भने रासायनिक मल, औषधि, कोल्डरोल सिट इन क्वाईल, सुपारीलगायतका वस्तुको आयात घटेको छ । भन्सार नाकाका आधारमा भैरहवा, विराटनगर र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट भएको निर्यातमा कमी आएता पनि अन्य नाकाबाट भएको निर्यातमा वृद्धि भएको छ । त्यसैगरी, आयाततर्फ समीक्षा अवधिमा मेची भन्सार कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार नाका र कैलाली भन्सार कार्यालय नाकाबाट भएको आयातमा कमी आएको छ भने अन्य नाकाबाट भएको आयातमा वृद्धि भएको छ । सो अवधिमा कुल वस्तु व्यापार घाटा ७४ प्रतिशतले बढी रु चार खर्ब २८ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा २५.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ७.८ प्रतिशतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.४ प्रतिशत रहेको थियो । रासस

छोडपत्रपछि पुनः एकसाथ

फागुन ६ । गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोज राजबीचको पारिवारिक सम्बन्ध केही वर्षअघि नै टुंिगसकेको छ । प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा उतारेपनि त्यसलाई निरन्तरता दिन नसकेको यो जोडीको घरायसी कारणले मिडियामा केही समय निकै ठाउँ पाएको थियो । अन्ततः यो जोडी छुट्टिएर बस्ने निर्णय गरे । लामो समयपछि यो जोडी पुनः देखिए । गायक मनोज राजले ‘मलाई माफ गर’ बोलको गीतमा महिला आवाजका लागि गायिका पन्तले स्वर दिएको भन्दै फेसबुकमा तस्बिर पोष्ट गरेका छन् । अन्जु र मनोज एकसाथ देखिएपछि उनीहरुका फ्यानहरु निकै खुशी भएका छन् । फेसबुकमा मनोजले प्रतिक्रिया जनाउनेहरुलाई नितान्त प्रोफेसनल काम भएको र अन्यथा नसोचिदिन आग्रह गरेका छन् ।

चिनियाँ कम्पनीले नेपालमा तीन खर्ब लगानी गर्ने

फाल्गुन ६ । चिनियाँ लगानीकर्ताहरुले झण्डै तीन खर्व नेपाली रुपैयाँ (१८ अर्ब ५० करोड चिनियाँ युआन) को लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाली दूतावासले बेइजिङस्थित ‘नेपालमा लगानीको अवसर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले नेपालमा लगानी गर्ने प्रतिवद्धता जनाएको हुन् । सेमिनारमा उपस्थित विश्वकै उत्कृष्ट पाँच सय ठूला कम्पनीहरुमा सूचिकृत चिनियाँ कम्पनीहरुले वर्षौंदेखि नेपालमा लगानी गरिरहेका र आगामी दिनहरुमा पनि नेपालमा थप लगानी गर्ने बताएका हुन् । सेमिनारमा नेपालमा लगानी गरिरहेका पावर चाइना, गेजुवा कम्पनी, जेडटिईलगायत चीनकै प्रख्यात चाइना इन्जिनियरिङ कर्पोरेसन, चाइना रेलवे कन्ट्रक्सन कम्पनी, एभिक कम्पनी, युन्नान कन्ट्रक्सन कम्पनी, साइनो पेक, इनर्जी चाइनालगायतका कम्पनीले सेमिनारमा भाग लिएका थिए । सेमिनारमा उनीहरुले लगानी सम्मेलनमा नेपालका एजेन्डा तथा चीनले गर्न सक्ने लगानीका क्षेत्रमा समेत चासो राखेका थिए । सेमिनारमा विभिन्न कम्पनीका ६४ प्रतिनिधिहरुले भाग लिएका थिए । सेमिनारमा भाग लिएका मध्ये १८ कम्पनीका ५१ जना प्रतिनिधिहरुले नेपालले आगामी मार्च २ र ३ मा गर्ने भनेको लगानी सम्मेलन भाग लिने बताएका थिए ।

संशोधन प्रस्ताव फिर्ता लिन सरकारस‌ंग एमालेको पुनः माग

काठमाडौँ, फागुन ६। नेकपा (एमाले) को आज सम्पन्न पोलिटब्युरो बैठकले व्यवस्थापिका–संसद्मा विचाराधीन संविधान संशोधनको प्रस्ताव फिर्ता लिन सरकारसँग माग गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार सुरु भएको बैठकले संविधानको कार्यान्वयन र सङ्क्रमणकालको अन्त्य गर्दै मुलुकमा राजनीतिक स्थायित्वका लागि संविधानले निर्र्दिष्ट गरेको समयावधिभित्र तीन तहको निर्वाचन सम्पन्न गर्नका लागि ध्यान दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ । प्रस्तावित विधेयक राष्ट्रिय हित र जनभावना विपरीत रहेको र यसका कतिपय प्रावधान संविधानको अक्षर र भावना विपरीतसमेत रहेको जनाउँदै पार्टीले त्यो पारित हुन नसक्ने कुरामा पुनः जोड दिएको छ । बैठकले उक्त संशोधन प्रस्ताव फिर्ता लिई मुलुकलाई निर्वाचनको दिशामा अग्रसर गराउन सरकारसँग माग गरेको छ । बैठकले यही फागुन २१ गतेदेखि सुरु हुने मेची–महाकाली राष्ट्रिय अभियानलाई सफल बनाउन पार्टीका सम्पूर्ण तहगत कमिटी, जनसङ्गठन र जनसमुदायलाई आग्रह गरेको छ । बैठकले पार्टी केन्द्रीय सदस्य राधाकृष्ण मैनालीका नाममा हालै प्रकाशित र प्रसारित कतिपय लिखत र अभिव्यक्तिमा भ्रामक र गलत सूचना पाइएको जनाउँदै त्यसको खण्डनसमेत गरेको पार्टीका सचिव एवं प्रचार तथा प्रकाशन विभागका सचिव योगेश भट्टराईले जानकारी दिनुभयो । रासस