मधेशी मोर्चाका नेताहरुलाई निवासमा बोलाए देउबाले
२३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्ने भएका छन् ।
बुढानिलकण्ठस्थित देउवा निवासमा अपरान्ह वस्ने बैठकमा संविधान संशोधन प्रस्ताव, निर्वाचनको तयारी र पुर्नसंरचना आयोगको प्रतिवेदन परिमार्जन लगायतका विषयमा छलफल हुने राष्ट्रिय मधेश समाजवादी पार्टीका महासचिव केशव झाले जानकारी दिए ।
पहिला संविधान संशोधन कि निर्वाचन भन्ने विषयमा दलहरुबीच विवाद बढिरहेका बेला देउवाले मोर्चाका नेताहरुसँग छलफल गर्न लागेका हुन्
मोर्चाले संशोधन प्रस्ताव पारित गरेर मात्र निर्वाचन प्रक्रिया अघि बढाउन सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । सरकारले भने पुर्नसंरचना आयोगले तयार पारेको प्रतिवेदनमा परिमार्जन गर्दै मधेशी मोर्चालाई सहमतीमा लिएर निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले संविधान संशोधनको बिरोध गर्दै निर्वाचनको काम मात्र अघि बढाउनुपर्ने अडान लिँदै आएका छ ।
मधेसी मोर्चाले भने संविधान संशोधनलाई नै पहिलो प्राथमिकतामा राखेर अघि बढुनुपर्ने माग राखेको छ ।
फाइल तस्वीर
जनताको अधिकार रक्षाका लागि खुकुरी धारको सामना गरिन्छ–प्रधानमन्त्री
काठमाडौँ, माघ १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको समस्या समाधानका लागि जस्तौसुकै चुनौती सामना गरेर पनि अघि बढ्न सरकार तयार रहेको बताएका छन् । तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधानको सफल कार्यान्वयनबाटै देशको समस्या समाधान हुने बताए । उनले संविधान कार्यान्वयनको सन्दर्भमा जटिलता र चुनौती रहेको भन्दै त्यसलाई चिरेर अघि बढ्न सरकार तयार रहेको बताए । ‘संविधान कार्यान्वयन लगायतमा अप्ठेरा, चुनौतीहरु छन् । दायाँ, बायाँ खुकुरीको धार अवश्य छन्’ उनले भने, ‘त्यही जटिलता र चुनौतीमा अवसर पनि हुन्छन्, सबै चुनौतीको सामना गरिनेछ ।’ प्रधानमन्त्री दाहालले सबै उत्पीडित समुदायको एकता अनिवार्य रहेको पनि बताए । एकात्मक राज्यको अन्त्य र संघात्मक राज्य बनाउन हजारौंले बलिदानी गरेको स्मरण गर्दै उनले सबैको सहयोगको बलमा संविधान संशोधन, परिमार्जन गरी निर्वाचनमार्फत् प्राप्त उपलब्धिको रक्षा गर्ने बताए । उनले संविधानलाई सबैमा स्वीकार्य बनाउन संशोधन गर्ने प्रक्रिया अघि बढाइएको भन्दै सबै उत्पीडित जातिको अधिकार र पहिचान बढाउने कुरामा विश्वस्त हुन तामाङ समुदायलाई आग्रह गरे । ‘संविधानमा सीमाहरु छन्, कमी कमजोरी छन् । तर यो एउटा गतिशील दस्तावेजको रुपमा परिमार्जन हुँदै जान्छ’, प्रधानमन्त्रीले भने, ‘संविधान (दोस्रो संशोधन) ले मधेसी जनजाति समुदायको अधिकारलाई बढाउने र निर्वाचनमा जाने बाटो खुल्नेछ ।’ प्रधानमन्त्रीले नेपाल तामाङ घेदुङको भवन निर्माण लगायतका लागि सरकारले गत वर्ष दिइएको भन्दा दोब्बर दिइने आश्वासन दिए । कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य, संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य कपिल लामा, नेकपा एमालेका सांसद शेरबहादुर तामाङ, सोनाम ल्होसार मुल आयोजक समितिका संयोजक मोहन गोले लगायतका वक्ताहरुले सोनाम ल्होसार राष्ट्रिय संस्कृतिको विकास, तामाङ समुदायको उत्थान र राजनीतिक अधिकार प्राप्तिको दिशामा सकारात्मक योगदान गर्ने धारणा राखेका थिए ।
चाँगुनारायण मन्दिरको जीर्णोद्धार सुरु
भक्तपुर, माघ १५ । विश्व सम्पदा सूचीमा रहेको भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरको जीर्णोद्धारको कार्य सुरु भएको छ । वि.सं २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भएपछि चारैतिर टेको लगाएर अड्याइएको उक्त मन्दिरको जीर्णोद्धार कार्य सुरु भएको पुरातत्व विभाग भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । मन्दिरमा क्षमापूजा सकिएपछि गत बुधबारदेखि मूल मन्दिरका रहेका बहुमूूल्य र पुरातात्विक सामग्रीको अभिलेखीकरण सुरु भएको जानकारी दिँदै उहाँले मन्दिरको तल्लो भाग र छानोलाई एकै पटक जीर्णोद्धार गर्ने बताउनुभयो । भूकम्पले चाँगुनारायणको मूल मन्दिर नढले पनि नराम्ररी क्षति पुर्याएपछि टेकोमा अड्याइएको छ । चाँगुनारायण मन्दिर परिसरकै भत्किएको किलेश्वर मन्दिर यसअघि नै एक गैरसरकारी संस्थाले पुनःनिर्माण गरिसकेको छ । मन्दिर परिसरमै रहेको अन्य मन्दिर र चौघेरा सत्तल तथा अमात्य सत्तल भने पुनःनर्माण नै गर्नुपर्ने भएकाले केही समय अझै लाग्ने भएको छ । मन्दिरको जमिन तला र माथिल्लो तलामा परापूर्वकालदेखि रहेका पुरातात्विक वस्तुको जिल्ला प्रशासन कार्यालय, पुरातत्व विभाग, गुठी संस्थान, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चाँगुनारायण नगरपालिका, पुजारी, भडेल र सरोकारवालासहितको टोलीले लगत उतार्ने काम सुरु गरेका छन् । लगत राखिएका सामान गुठी संस्थान भद्रकालीले वर्षांै पहिलो राखेको लगतसँग मेल खाए÷नखाएको रुजु गरी दुरुस्त भए त्यसको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली नै खटाएर मन्दिर परिसरमै सुरक्षाको व्यवस्थासहित राखिने भएको छ । मन्दिर जीर्णोद्धारका लागि वरिष्ठ इन्जिनियर ओम धरानन्द राजोपाध्याय र स्ट्रक्चर इन्जिनियर छविराज घिमिरेले बुझाएको प्रतिवेदन अनुसार मन्दिरको जीर्णोद्धार गरिने भएको हो । श्रेष्ठले भन्नुभयो – “चाँगुनारायण मन्दिरको माथिल्लो तलाको छानो निकाल्ने र नयाँ निर्माण गर्ने तथा मन्दिरको तल्लो भागबाटै गाह्रोलाई बलियो बनाउँदै लगेर जीर्णोद्धार गरिने छ ।” जीर्णोद्धार कार्य २०७४ साल असार मसान्तभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । जीर्णोद्धारका लागि कुल रु ९४ लाख ६५ हजार ८४८ मा ठेक्का प्रदान गरिएको छ । भूकम्पले भत्काएको चाँगुनारायण मन्दिर परिसरमै रहेको किलेश्वर मन्दिर भने यसअघि नै कल्चर हेरिटेज एन्ड इन्भारोमेन्ट फाउन्डेसनले पुनःनिर्माण गरिसकेको छ । मन्दिर परिसरको चौघेरा सत्तल, अमात्य सत्तल, पुजारी घर, शिव मन्दिर, लक्ष्मीनारायण मन्दिर पनि सोही फाउन्डेसनले निर्माण गरिदिने सहमति भए पनि ढिलाइ गरेपछि अब विभागले अब फाउन्डेसनलाई नपर्खने भएको छ । “विश्वसम्पदा सूचीमा रहेको सम्पदा निर्माणमा ढिलाइ गर्न नहुने अवस्थामा फाउन्डेसनलाई विभागले कुरेर बस्दैन, विभाग आफैँले यी मन्दिर एवम् सत्तलको पुनःनिर्माण सुरु गर्छ”– इन्जिनियर श्रेष्ठले भन्नुभयो । पुनःनिर्माण तथा जीर्णोद्धारमा काम लाग्ने इँटा तथा काठ पुरानै प्रयोग गर्ने जानकारी दिँदै उहाँले ७५ प्रतिशत सामग्री भने नयाँ प्रयोग गरिने बताउनुभयो ।
सप्तरीमा दुर्घटना, एकको मृत्यु, चार घाइते
राजविराज, १४ माघ । सप्तरीका छुट्टाछुट्टै घटनामा परी बिहीबार एक जनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको मधुपट्टीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहा जिल्लाको गोविन्दपुर–२ बस्ने अन्दाजी ४० वर्षीय घुरन यादव रहेको इलाका प्रहरी कार्यालय, कडोरबनाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स १ प २१९७ नंको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना ५ त ८४३० नंको ट्याक्टरमा ठोकिएको थियो । यस्तै, फत्तेपुर–कञ्चनपुर सडकखण्डअन्तर्गत सप्तरीको सप्तकोसी नगरपालिका–४ मा बिजुलीको पोलमा बिहीबार ट्रक ठोकिँदा एकै परिवारका तीनसहित चारजना घाइते भएका छन् । फत्तेपुरबाट सिमेन्ट मिक्सर मेसिन बोकेर कञ्चनपुरतर्फ आउँदै गरेको ना १ क ४४५२ नंको ट्रक बिजुलीको पोलमा ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी चालक उदयपुर तपेश्वरी–९ बस्ने गणेश चौधरी, उनकी पत्नी ललिता चौधरी र १० वर्षीय छोरा प्रभात चौधरी तथा सहचालक मनकुमार मगर घाइते हुनुभएको छ । घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
वरिष्ठ पत्रकार गुप्ताबारे वृत्तचित्र
काठमाडौँ, माघ ८ । पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जको परिवेशमा २०११ सालदेखि पत्रकारिता प्रारम्भ गरी पत्रकारितामै जीवन समर्पित गरेका वरिष्ठ पत्रकार पन्नालाल गुप्ताको जीवनमा आधारित वृतचित्र ‘चाचाजी’ निर्माण गरिएको छ । ‘चाचा’ नामले परिचित पत्रकार गुप्ताका जीवनका विभिन्न पक्ष उठान गरी वृतचित्र तयार गरेको वृतचित्रका निर्माता/निर्देशक सञ्चारकर्मी सन्तोष रेग्मीले आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिए । ८८ वर्षीय पत्रकार गुप्ता आज पनि पत्रकारितामा उत्तिकै सक्रिय रहेको छ । आफै समाचार लेख्ने, कम्पोजिङ गर्ने, छाप्ने र वितरणसम्मको काम आफैँ भ्याउने उनको परिचय आज पनि उही रुपमा जारी छ । पत्रकारितामा समर्पित हुँदा २०१७ सालयता गुप्ताले भोग्नुपरेका विभिन्न समस्या, यातना, अभाव, सङ्घर्ष वृत्तचित्रमा समेटिएको सञ्चारकर्मीले बताए । वि.सं २०१७ पछि मिसन पत्रकारिता सुरु गरेको र त्यसका लागि आफ्नै सम्पादनमा २०३१ मा साप्ताहिक ‘किरण’ को प्रकाशन थालेका गुप्ताको पत्रकारिताको यात्रा अनवरत रुपमा जारी छ । पत्रकार गुप्तालाई नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता सेनानीका रुपमा सम्मान गरिसकेको छ भने प्रेस काउन्सिल नेपालको गोपालदास पत्रकारिता पुरस्कारलगायतका दर्जनौं सम्मान र पुरस्कारबाट गुप्ता सम्मानित भएको छ ।
प्रेमी प्रेमिकाले गरे एउटै डोरीमा झुण्डिएर आत्महत्या
झापा, माघ ७ । झापामा अन्तरजातीय एक जोडीले एउटै डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेका छन् । कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका ईश्वर भट्टराईले शुक्रबार विहान झुण्डिएर आत्महत्या गरेका हुन् । विहान पाँच बजेतिर उनीहरु दुवै जना घरबाट निस्कीएका उनीहरुले स्थानीय विरिङ खोला नजिकै रुखको हाँगामा एउटै डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेका हुन् । उनीहरु अंगालो मारेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । आत्महत्या गरेका उनीहरु अङ्गालोमा बाँधिएर झुण्डिएको देख्दा पनि प्रेम सम्बन्धका कारण यस्तो कठोर निर्णय गरेको हुनसक्ने इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए । २३ वर्षकी अस्मिताको विराटनगरका एक युवकसँग यही माघ २३ गते विवाह हुने पक्कापक्की भइसकेको र उनीहरुको फुलमाला पनि भइसकेको पारिवारिक स्रोतले बताएका छ । २५ वर्षीय भट्टराई भने चालकको काम गर्दै आएको स्थानीयवासीले बताएका छन् ।
सुजातालाई झापा–हङकङ मञ्चको सहयोग
दमक, माघ ६ । एप्लास्टिक एनेमिया रोगका कारण पीडित झापा पृथ्वीनगर गाविस–७ कि सुजता सुवेदीलाई करिब रु दुई लाख सहयोग प्राप्त भएको छ । काठमाडौँस्थित अल्का अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा उपचाररत सुवेदीलाई झापा–हङकङ सम्पर्क मञ्चले नगद रु.एक लाख ९२ हजार ३५ सहयोग गरेको हो । हङकङमा रहेका मञ्चका अध्यक्ष छत्र सुब्बाको पहलमा संकलन भएको सो सहयोग रकम पीडितकै घरमा पुगेर हस्तान्तरण गरिएको हो । मञ्चले पठाइदिएको सहयोग रकम नारी एकता न्यायिक मञ्च दमककी सहसचिव लक्ष्मी सुब्बा, नेपाली कांग्रेस झापाका जिल्ला सदस्य विक्रम अधिकारी र नेपाल महिला सङ्घ झापा–७ नम्बर क्षेत्रीय सभापति रेगिना भट्टराईले संयुक्तरुपमा पीडित सुवेदीकी हजुरआमा कृष्णमाया सुवेदी र सुजता बचाउ अभियानका संयोजक तारावीर लिम्बूलाई हस्तान्तरण गरेको थियो । सुजता बचाउ अभियानका संयोजक तारावीर लिम्बूले स्वदेश तथा विदेशबाट सुजताको उपचारका लागि रु २५ लाख बढी सहयोग जुटेको बताए । पारिवारिक आर्थिक अवस्था कमजोर रहेका २२ वर्षीया सुवेदी स्वास्थ सहायक अध्ययनरत हुनुहुन्थ्यो । उनलाई बचाउन स्थानीयवासीले अभियान सञ्चालन गरेर सहयोग संकलनमा जुटेको छ ।
जाजरकोटमा १९ उपभोक्ता समितिलाई तालिम
जाजरकोट, माघ ५ । यहाँका १९ वटा योजनाका उपभोक्ता समितिलाई तालिम दिइएको छ । योजनाको दिगोपन र उपलब्धिमूलक बनाउन उपभोक्तालाई तालिम दिइएको हो । नेपाल सरकार तथा स्वीस सरकारको आर्थिक सहयोगमा जिल्ला विकास समितिअन्तर्गतको साना सिँचाइ कार्यक्रमले १९ सिँचाइ कुलो योजनाका १०० उपभोक्तालाई निर्माण गुणस्तर, मर्मत, संरक्षणका विषयमा प्रशिक्षण दिइएको छ । हचुुवामा विकास योजना निर्माणले दिगो नहुने र बजेटमात्र सकिने परिपाटीलाई न्यूनीकरण गर्न उपभोक्तालाई तालिम दिएको कार्यक्रम संयोजक इन्जिनियर महेश ढुङ्गानाले बताएको छ । यहाँका उपभोक्तामा योजनालाई कसरी दिगोरुपमा प्रतिफल दिने बनाउने भन्ने ज्ञानको कमीका कारण अधिकांश योजना छिटो नै भत्किने अवस्थामा पुग्ने देखिएकाले यस्तो तालिम दिनुपरेको ढुङ्गानाले बताए । एउटै योजनामा पटकपटक बजेट जाने तर निर्माण गुणस्तर नहुने समस्या देखिएको अब तालिमपछि कमी ल्याउन सकिने अपेक्षा लिइएको छ । उपभोक्तालाई योजनाको डिजाइन इस्टिमेट, निर्माण कार्यको गुणस्तर नियन्त्रण, गुणस्तरीय औजार तथा समग्रीको खरिद, वित्तीय पक्ष, श्रमदान, रकम निकासा तथा व्यवस्थापन, योजनाप्रति अपनत्व, समावेशी सहभागितालगायतबारे प्रशिक्षित गरिएको छ । तालिम लिएका उपभोक्ताले योजनामा निकासा भएको रकमको सदुपयोग गर्ने बताएका छन् । कार्यालयसँग सम्झौता भइसकेका योजनाका अध्यक्ष, कोषाध्यक्ष, सचिव, ज्यामीलगायतलाई तीन दिनसम्म उक्त तालिम दिइएको छ । चालु आवमा ३५० हेक्टर खेतीयोग्य जमिनका १९ सिँचाइ आयोजनाका लागि रु पाँच करोड ३५ लाख खर्च हुनेछ । योजना अवधिभरका लागि २५० मजदुरको बिमा समेत गरिनेछ । यस जिल्लामा स्थानीय उपभोक्ताद्वारा निर्मित अधिकांश योजनाबाट दिगो उपलब्धि नहुने गरेको छ । सिमेन्ट, छड, काठलगायत कमसल निर्माण सामग्रीको प्रयोग र अदक्ष उपभोक्ता तथा ज्यामीले निर्माण गरेका सिँचाइ कुलो, खानेपानी, भवन र सडक योजना वर्ष नपुग्दै मर्मत गर्न बजेटको माग हुने गरेको छ । जिल्ला विकास समिति, नगरपालिका, गाउँ विकास समिति, शिक्षालगायत कार्यालयअन्तर्गत सञ्चालन हुने अधिकांश योजनाको निर्माण गुणस्तरहीन हुने गरेका छन् ।
पूर्वाञ्चलकै दोस्रो ठूलो थारूहट रङ्गशाला व्यवस्थित गरिने
गाईघाट (उदयपुर), माघ ३ । उदयपुर जिल्लाको गाईघाटस्थित पुरानो हवाई मैदानमा निर्माण गरिएको पूर्वाञ्चलकै दोस्रो ठूलो थारूहट रङ्गशालाको खेल मैदानलाई त्रियुगा नगरपालिका गाईघाटले पुनः रङ्गशाला व्यवस्थापनका लागि रु ५० लाखको बजेट विनियोजन गरेपछि अब थारूहट रङ्गशाला अझै व्यवस्थित बन्ने भएको छ । यसअघि नै राष्ट्रिय खेलकुद परिषद्सहित त्रियुगा नगरपालिका र जिविससहितले झन्डै रु ७० लाखभन्दा बढी लगानी गरेर निर्माण गरेको रङ्गशालालाई अझ व्यवस्थित गर्न यस पटकको बजेटमा त्रियुगा नगरपालिकाले रु ५० लाख विनियोजन गरेपछि रङ्गशाला अझ व्यवस्थित गरिन लागेको रङ्गशाला निर्माण समितिका संयोजक किरण राईले बताए । तीन बिगाहा १५ कट्ठा जग्गाको क्षेत्रफलमा रहेको उदयपुर गाईघाटको थारूहट रङ्गशालामा अहिले रङ्गशालाको घेराबेरा तथा तारजाली लगाउने कार्य सम्पन्न भइसकेको छ । यस्तै रङ्गशालाको पूर्व र पश्चिमपट्टि दुई–दुई प्याराफिटको समेत निर्माण भइसकेको छ । यसअघि नै रङ्गशालाको ग्राउन्डमा माटो फिलिङ गर्ने कार्यसमेत सम्पन्न गरेर रङ्गशाला अहिले प्रयोगमा आइसकेको अवस्था रहेको छ । नगरपालिकाको बजेट र अन्य जिविस लगायतका निकायबाट समेत बजेटको व्यवस्थापन गरेर झन्डै करोडौँको बजेटमा रङ्गशालालाई अझ व्यवस्थित गर्ने लक्ष्यका साथ काम भइरहेको रङ्गशाला निर्माण समितिका पदाधिकारी तथा जिल्ला खेलकुद विकास समितिका उदयपुरका अध्यक्ष पुष्प विकले बताउनुभयो । अबको बजेटले रङ्गशालामा दुबो रोप्ने र रङ्गशालाबाहिर सवारी पार्किङस्थल र केही प्याराफिटसमेत निर्माण गरिने यसका पदाधिकारीले बताएका छन् । थारूहट रङ्गशाला निर्माणसँगै अब उदयपुरमा जुनसुकै राष्ट्रियस्तरका खेलको आयोजना गरिन सकिने भएको कुरा रङ्गशाला निर्माण समितिका संयोजक राईले बताए । रङ्गवशाला निर्माण भएपछि पहिलोपटक यसपटक उदयपुरमा राष्ट्रिय आर्चरी खेल सम्पन्न भएको थियो भने उक्त रङ्गशालामा आगामी माघ २७ गतेदेखि चौथो उदयपुर गोल्डकपसमेत आयोजना हुन गइरहेको छ । रङ्गशाला निर्माण भएपछि यो रङ्गशालामा एकैपटक ५० हजारसम्म दर्शक बसेर खेलकुद हेर्न सकिने क्षमता रहेको रङ्गशाला निर्माणका पदाधिकारी बताउँछन् ।
जटिल बन्दै नेपालमा बालविवाह !
नेपालगन्ज, पुस २९ । बालविवाह गर्नुहुन्न भन्ने जति नै नारा लगाउँदै हिँडेपनि नेपालमा भने बालविवाह जटिल बन्दै गइरहेको छ । प्रत्येक वर्ष नेपालमा १० वर्षमुनिका सरदर एक लाख ३८ हजार बालबालिकाको विवाह हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ । राष्ट्रिय जनगणना, २०६८ अनुसार नेपालमा कुल बालविवाह सङ्ख्यामा पनि प्रतिवर्ष सरदर एक लाख १५ हजार बालिकाको विवाह हुने गरेको छ । राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी खरेलका अनुसार १० देखि १४ वर्ष उमेरका ११ लाखभन्दा बढी बालिकाको प्रत्येक वर्ष विवाह हुने गरेको छ । यसैगरी, नेपालमा प्रत्येक वर्ष कुल जनसङ्ख्याको ४३ लाखभन्दा बढी १५ देखि १९ वर्षमुनिका किशोरीको विवाह हुने गरेको छ । बालविवाह नेपालको एक जटिल समस्या भएका कारणले यसको प्रभाव सबै क्षेत्रमा पर्ने हुँदा सम्बद्ध सरकारी तथा गैरसरकारी निकायले अनुगमन, जनवकालत तथा नागरिक शिक्षा र चेतनाको कार्यक्रम अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने अधिकारकर्मीहरुको ठहर छ ।
पुस २८ गतेदेखि स्वस्थानी व्रतकथा सुरु
काठमाडौं, पुस २६ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायण स्वस्थानी मेला लाग्ने साँखुस्थित सालीनदीमा मेलाको तयारी पूरा भएको छ। माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यस वर्षको एकमहिने मेलामा यातायात, शान्ति सुरक्षा, लाइन एवम् बजार व्यवस्थापन, प्रसाद वितरण, स्वयंसेवक परिचालन आदिका लागि १७ उपसमिति गठन गरी सबै तयारी पूरा गरिएको समितिका संयोजक राजुभाइ मानन्धरले बताए । “विगत केही वर्षदेखि सालीनदीमा आउने पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ, भारतका विभिन्न स्थानबाट समेत धार्मिक पर्यटक सालीनदीमा आउने क्रम बढ्न थालेकाले मेलालाई अझ व्यवस्थित बनाइने छ”– उनले भने । यस वर्ष यही पुस २८ देखि आगामी माघ २८ गतेसम्म सालीनदी मेला लाग्नेछ । एक महिनामध्येको कुनै एक दिनमात्र भएपनि सालीनदीमा गई स्नान गरे पाप पखालिई पुण्य कमाइने धार्मिक जनविश्वास रहेको छ ।
सेक्स पहाडका तीर्थ यात्रीहरु, यौन सम्पर्कका लागि अपरिचित महिलाको खोजीमा
इण्डोनेशियाको जावा प्राय द्विपमा अवस्थित छ एउटा पहाड । स्थानीय भाषामा पहाडको नाम हो– गुनुङ केमुकस अर्थात् यौनको पहाड । अचम्म त के छ भने यो पहाड यौन सम्पर्क गर्न चाहनेका लागि तीर्थ यात्राका रुपमा लिन्छन् मानिसहरु । यहाँ सैयौं यस्ता तीर्थ यात्रीहरु भेला हुन्छन र अपरिचितहरुको खोजी गर्छन् यौन सम्पर्कका लागि । यसो गरेमा भाग्य चम्किने विश्वास छ उनीहरुको । यो विश्वासका पछाडिएउटा मान्यता प्रचलित छ जावामा । भनिन्छ, कुनै बेलाएकजना राजकुमार आफ्नी सौतेनी आमासँग यौनसम्पर्क गरिरहेको बेला समातिएको थियो । पछि यही आरोपमा राजकुमारको हत्यागरियो रे । ती दुबै प्रेमीहरुको लास त्यही पहाडमा गाडिएको छ रे । योग्याकर्टक्सको गडजाहमाडा विश्वविद्यालयमा अद्यापन समेत गराउँदै आएकी अनुसन्धानकर्ता सिओपार्नोका अनुसार, पौराणिककालमा युवराज पेन्गेरन समोद्रो रानी नायी ओन्त्रोबुलानसँग भागेकी थिइन । ओन्त्रोबुलान उनकी सौतेनी आमा थिइन । १६औं शताब्दीको यो कथा बिभिन्न किसिमले बर्णन गरिन्छ । एक दिनयुवारज र रानी सेक्स गरिरहेको बेला पक्राउ परेपछि पहाडको टुप्पोमा नै उनीहरुलाई मारेर गाडियो । ‘धार्मिक विधिअनुसार अपरिचितमानिससँग यौनसम्पर्क गर्न चर्चित छ केमुकस पहाड’ ३० वर्षदेखि यो “अपरिचितसँग सेक्स गर्ने संस्कार”को अध्ययन गरिरहेकी सामाजिक मनोवैज्ञानिक ओन्टजोरो सिओपार्ने भन्छिन, “तीर्थयात्रीहरुले यहाँ कामुकताको प्रदर्शन गरे आफ्नो भाग्यखुल्ने विश्वास राख्छन् ।” त्यसैले यो गुनुङ केमुकसलाई “यौनको पहाड” समेत भन्ने गरिन्छ । यसरी हुन्छअनुष्ठान यो पहाडमा हरेक ३५ दिनमा अनुष्ठान हुने गर्छ जसमा देशभरीबाट मानिसहरु भेलाहुन्छन् । त्यसो त इण्डोनेशिया संसारकै सबैभन्दा बढी मुस्लिम जनसंख्या भएको देश हो । भेटोनन साइकिल (जावनिजक्यालेन्डर)काअनुसार, ग्रह, नक्षत्र हेरेर यो यौन अनुष्ठानका लागि मिति तय गरिन्छ । पुरानो जावनिज क्यालेण्डरकाआधारमा ३५ दिनको फरकमा पर्व मनाइन्छ । यौन सम्पर्क जसले जहाँ जसरी पायो त्यसरी भने राखिँदैन । धार्मिक विधिअपनाएर अपरिचितसँग यौन गर्ने परम्परा उनीहरुको छ । यसका लागिसाँझ पर्न थालेपछि देवदारको रुखमुनि मोमबत्तीको बालेर मानिसहरु बस्ने गर्छन् । विशालअन्जिर रुखका जराहरु माथिबाट झुलिरहेका हुन्छन् । अनि शुरु हुन्छअनुष्ठान। यो अनुष्ठानको शुरुआत प्रार्थनाबाट शुरु हुन्छ । प्रार्थनासँगै युवराज पैन्गेरन समोद्रो र रानीनायी ओन्त्रोबुलानको चिहानमाथि फूलअर्पण गरिन्छ । पहाडका दुई पवित्र खोल्सा मध्ये कुनै एकमा तीर्थयात्रीहरुले स्नानगर्नु अनिवार्य हुन्छ । यसपछि उनीहरु कुनै अपरिचितको खोजीमा डुल्छन् यौन सम्पर्ककालागि । सुपर्णो भन्छिन, “यदितपाई आफ्नो श्रीमान या श्रीमतीबाहेक कुनै अरुसँग सुत्नुहुन्छ ने आर्शीवाद र धनप्राप्त हुने मान्यता रहेको छ । तर यसरी यौनसम्पर्क गरिने पार्टनर परिचित नै हुनु हुँदैन ।” तर एकपटक यौनसम्पर्क गरेर मात्रै पुग्दैन । यो सम्बन्ध एक वर्षमा सात पल्ट हुनुपर्छ रे । यदि सात पल्टसम्मअपरिचितसँग यौनसम्पर्क नभए फेरी शुरुबाट नै यो अनुष्ठान गर्नुपर्छ । विशेषज्ञहरुकाअनुसार, युवाहरुका लागि यो सजिलो छ, तर अरुकालागि ने यसरी सातपटकसम्म यो क्रिया पुरा गर्नु निकै गारो पर्छ । कतिपय जोडीहरुले एक अर्काको फोन नम्बर लिन्छन् र फेरी अर्कोपल्ट भेट्ने गर्छन । यी व्यस्त रात्रीहरुमा आठहजार भन्दा बढीतीर्थ यात्रीहरु पहाडको चोटीमापुग्न सक्छन् । पहाडचढ्न ढुंगाका सिंढी बनाइएका छन् । सुपर्णोकाअनुसार बढीजसो यो पहाडमा साना व्यापारीहरु आउने गर्छन् । यो तीर्थस्तलमाखाने कुरा पनि उपलब्ध छन् रे । यहाँ चिया, बदाम, चाउचाउ, नुडल्स पाइन्छन् । राती बस्न कोठाहरु पनि पाइन्छन् । बिबिसीका रिपोर्टरले एक जना यात्रीका बारेमा वर्णन गर्दै लेखेकाछन्– यो पवित्र स्थलभित्र एक जना युवा नमाज पढ्न थाल्छन अनि नीनिस्किन्छन् अपरिचितजोडीको खोजीमा । ती युवा भन्छन्, “मलाई कुनै महिला मन परेपछि उसको नजिकगएर प्रस्ताव गर्छु, उनलाई पनि यौनसम्पर्कको इच्छा भए नभएको भने मैले विशेष ख्याल राख्छु ।” यी युवा विवाहित हुन । यिनका तीन छोराछोरी छन् । तर उनकी श्रीमतीलाई उनी यो पहाडमा गएका थाहा छैन । घरमा चाहिँ उनले मस्जिद जाँदैछु भनेर ढाँटेकाछन् । त्यही स्थानमा ६० वर्षकी एक जना महिला छिन् । उनी सुनौलो ब्लाउज र मिनिस्कर्टमा देखिन्छन् । कालो छालाको ज्याकेट लगाएकी छिन् उनले । ओठ पोतिएका छन् रातो लिपिष्टिकले । उनले भनिन, “मेरा चार जना छोराछोरी र एउटानाती छ ।श्रीमानलाई केमुकस गइरहेको छु भन्दा उनले मान्ने कुरै भएन । मविगत १० वर्षदेखि यो पहाडमा आउने गरेकी छु । एभरेष्टदैनिक डटकमका लागि बिबिसीको रिपोर्ट अनुवाद
रोशालाई अमेरिकी अवार्ड
काठमाडौं, पुस २५ । नेपाली विद्यार्थी रोशा पौडेललाई अमेरिकाको एक प्रतिष्ठित विश्वविद्यालयबाट उत्कृष्ट अवार्ड प्रदान गरेको छ । काठमाडौँ बानेश्वरकी २८ वर्षीया पौडेलले अमेरिकाको फ्लोरिडा विश्वविद्यालयबाट उत्कृष्ट अन्तर्राष्ट्रिय पुरस्कार ‘एलिस कर्टिल्स अवार्ड–२०१६’ प्राप्त गरेको हो। सन् २०११ मा फ्लोरिडा भर्ना भएकी पौडेलले हाल ‘बायो केमेस्ट्री र मेलिकुलर बायोलोजी’ विषयमा विद्यावारिधि गरेको छ । विद्यावारिधिको शोधार्थी पौडेलको भविष्यमा क्यान्सरसम्बन्धी अनुसन्धान गर्ने लक्ष्य रहेको छ । काठमाडौँ युनिभर्सिटी हाईस्कुल धुलिखेल (काभ्रे) बाट प्रवेशिका गरेकी पौडेलले मल्पी इन्स्टिच्युट लाजिम्पाटबाट गणित बायोलोजी र केमेस्ट्रीमा ‘ए’ लेवल गरेको थियो । उनले अमेरिकाकै भर्जिनियास्थित रेन डोल्फ कलेजबाट बायोलोजी र गणितमा बिएस्सी गरेकी छिन् । रासस
प्राधिकरणको कब्जा भएको जग्गा डोजर चलाएर हटाइयो
धनकुटा, पुस २५ । विद्युत प्राधिकरणको जग्गा लामो समयदेखि कब्जा गरी बसाइएको बस्ती स्थानीय प्रशासनले डोजर लगाइ हटाएको छ । सोमबार धनकुटा नगरपालिका वडा नं १ हिले स्थित प्राधिकरण स्वामित्वमा रहेको जग्गामा अनधिकृतरुपमा बसाइएको बस्तीलाई प्रशासनले डोजर चलाएर उठाएको हो । विद्युत् प्राधिकरण स्वामित्वको १ सय ९५ रोपनी मध्ये १० रोपनी भन्दा बढि जग्गा सुकुम्बासीका नाममा अतिक्रमण गरि ४० भन्दा बढि परिवार दशकौं देखि बसोबास गर्दै आएका थिए। बस्ती हटाइ जग्गा खाली गराउन पटक–पटक सार्वजनिक सूचना जारी गरेको दुई महिनासम्म पनि नहटेपछि डोजर लगाउन परेको प्रशासनले जनाएको छ । समयसीमा भित्र जग्गा खाली नगरेकाले बलप्रयोग गरेर वस्ति हटाउनु परेको प्रशासनले बताएको छ । तस्वीर : सामाजिक सञ्जाल
सुवास नेम्वाङ भन्छन–‘हाम्रो आन्दोलन जारी नै रहन्छ, संसद् चल्न दिँदैनौं’
काठमाडौं, पुस २५ । एमाले संसदीय दलका उपनेता तथा सभामुख सुवास नेम्वाङले संसदीय मान्यता विपरित संशोधन विधेयक टेबल भएकोले एमालेले आन्दोलन गर्ने बताएका छन् । एक रेडियो अन्तर्वार्तामा नेम्वाङले भने–‘सरकारको संविधान संशोधन विधेयक औचित्यहीन एवं मुलुकको हितविपरीत रहेकाले हाम्रो सहमति हुँदैन, हाम्रो आन्दोलन जारी नै रहन्छ संसद् चल्न दिँदैनौं ।’ प्रतिपक्षीको विरोध गर्दा गर्दै संविधान संशोधन विधेयक प्रस्तुत भएको भन्दै उनले विधेयकमाथि छलफल हुन नदिने स्पष्ट पारेका हुन् । ‘संसोधन असफल बनाउने आन्दोलन जारी रहनेछ विधेयक अब पास हुन सक्दैन ।’ उनले औचित्यहीन एवं मुलुकको हितविपरीत सरकारले संशोधन विधेयक अगाडि बढाएकाले संसद्मा छलफल गर्न नदिई शान्तिपूर्ण आन्दोलन जारी राख्ने बताए । तर, नेम्वाङले संशोधन विधेयकबाहेक निर्वाचन, महाअभियोगलगायतका विषयमा एमालेले छलफल गर्न संसद् अवरुद्ध नगर्ने जानकारी दिए । प्रमुख प्रतिपक्षी एमालेसहित विपक्षी नौ दलले संविधान संशोधनविरुद्ध आन्दोलन गर्दै आएका छन् । १४ मंसिरमा सरकारले संशोधन विधेयक संसद् सचिवालयमा दर्ता गराएपछि विपक्षी नौ दलहरूले १६ मंसिरदेखि नै संसद् र सडकमा आन्दोलन गर्दै आएका थिए ।
आज दिउँसो १ बजे संसद बैठक बस्ने
काठमाडौं, पस १८ । आज दिउँसो १ बजे पुन संसद बैठक बस्ने भएको छ । संविधान संसोधन प्रस्तावमाथि छलफल गर्न आजको बैठक बोलाइएको हो । संसद सचिवालयमा संविधान संसोधन प्रस्तवा दर्ता भएपछि लगातार सात पटक सम्म संसद अबरुद्ध हुँदै आएको छ । आज बस्ने संसद बैठकमा संसोधनको विषयमा टेबुल गर्ने बताइएको छ । तर आज पनि प्रतिपक्ष एमालेले संसद अबरुद्ध पार्ने तयारी गरेको छ । सत्तापक्ष भने जसरी पनि संसोधन प्रस्तावलाई टेवुल गर्ने तयारीमा छ । सरकार र मधेसी मोर्चाबीच संविधान संसोधन भए निर्वाचनमा जाने सहमति भइसकेको अवस्थामा आजको संसद बैठकलाई महत्वपुर्ण रुपमा हेरीएको छ । संविधान अपुर्ण भएको भनी आन्दोलन गर्ने मधेसी मोर्चाले माग सम्बोधन गर्न मंसिर १४ गते संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता भएको थियो ।