पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुछ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन् ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय बाह्रौं ‘साधारणसभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्रीले रोजगारी प्रवद्र्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रममा ल्याउनुपर्नेमा जोड दिए । कृषि विज्ञानमा भर्ना हुने विद्यार्थीको सङ्ख्या बढेकोमा खुसी व्यक्त गर्दै उहाँले विश्व विद्यालयले कृषि र वन विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्राध्यापक, कृषि वैज्ञानिक, विद्यार्थी र प्राविधिकको सहयोगबिना उत्पादन र उत्पादकत्व लक्ष्यहरू हासिल गर्न नसकिने उल्लेख गर्दै प्रधानमन्त्रीले भने, “कृषि क्षेत्रमा युवा पुस्ताको आकर्षण बढेको छैन भन्ने छ । जुनसुकै उपायहरू अपनाएर भए पनि उनीहरूलाई कृषिमा ल्याउनुपर्छ, उत्पादकत्व बढाउनुपर्छ ।”

देशको कृषि शिक्षा, अनुसन्धान प्रणाली तथा कृषि र वन विश्वविद्यालयका लागि पनि चुनौतीको विषय भएको बताउँदै प्रधानमन्त्रीले भने, “यस विश्वविद्यालयले देशको कृषि र वन विकासमा उत्कृष्ट भूमिका खेल्न सक्छ ।” उनले भविष्यमा राम्रो शिक्षा, अनुसन्धान र विस्तार प्रणालीमा सहयोगको माध्यमबाट प्रविधि उत्पादनमा प्रभावकारी भूमिका निर्वाह गरेको आफूले देख्न चाहेको उल्लेख गरे ।

विश्वविद्यालयले देशैभरि सबै प्रदेशहरूमा आंगिक कलेजहरू स्थापना गर्ने लक्ष्यअनुरूप विभिन्न प्रदेशहरूमा ८ वटा कृषि संकाय र १ वटा वनविज्ञान संकायअन्र्तगतका कलेज र दुई वटा कृषि विज्ञान केन्द्रको स्थापना गरी सञ्चालनमा आएकोप्रति खुसी व्यक्त गर्दै उनले स्याङ्जा र गोरखाका स्वीकृत कलेजहरूमा समेत शैक्षिक कार्यक्रम सुरू गर्न सुझाव दिए ।

चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रको समस्या प्याकेजमै सम्बोधन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएको प्रधानमन्त्रीको सचिवालले जनाएको छ । छलफलमा प्रधानमन्त्रीले भने, “नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र सिटिइभिटीको क्षेत्राधिकार बाझिने गरेको परिस्थिति पनि छ। त्यसलाई हामीले क्लियर गरेर जानुपर्छ।” चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या सम्बोधनका निम्ति छिटै चिकित्सा शिक्षा आयोगको बैठक बसिने प्रधानमन्त्रीले जानकारी दिए । प्रधानमन्त्रीले भने, “चिकित्सा शिक्षा आयोगको बैठक हामी छिटै बस्छौँ। स्वास्थ्य क्षेत्रका समस्या के हुन्, नर्सिङ क्षेत्रका समस्या के हुन्, त्यसबारे बृहत् छलफलमार्फत एउटा निष्कर्षमा पुग्नुपर्छ। आयोगको बैठक बसेर हामी अध्ययन समिति नै बनाएर त्यसबारे व्यवस्थित काम गरौँ। त्यसका राष्ट्रिय योजना आयोगलाई पनि समावेश गरेर जाउँ।” “ऐनका समस्या ऐन संशोधनको प्रक्रियाबाट नै सम्बोधन गर्नुपर्छ। तर, ऐनले जति कुराको बाटो खोलिदिएको छ, त्यसको सम्बोधनका लागि हामीले नै तत्परता देखाउनुपर्छ” प्रधानमन्त्रीले भने, “ऐनमा भएको व्यवस्था लागू गर्न हामी चुक्नु भएन। अहिले भएको साधनस्रोतका आधारमा गर्नसकिने कामहरू कार्यतालिका बनाएर गरौँ।” बैठकमा प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाल सरकारका मुख्यसचिव डा.बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, नर्सिङ काउन्सिलका रजिष्टार शुक्ला खनाल लगायत उपस्थित रहेको थियो।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरू भएको हो। आजको बैठक नियमित हो । सधै बिहिबार बस्ने नियमित बैठक असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन युगान्डा प्रस्थान गर्नु अघिल्लो दिन आज बैठक बसेको हो ।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ । बैठकमा भारतीय विदेश मन्त्रीको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबिच भएको सम्झौताका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले समितिसमक्ष जानकारी गराउने कार्यसूची रहेको छ । त्यस्तै पौने १२ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्री–सचिव (कृषि विकास), कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिवसँग छलफल हुनेछ । त्यस्तै बिहान साढे ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एनसीइ नेपाल लगायतका विभिन्न शैक्षिक समूहसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

कानून समितिको बैठक : प्रधानमन्त्रीले सम्बोधन गर्ने

काठमाडौं। संघीय संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बुधबार बिहान बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन् । बैठक बुधबार बिहान ११ बजे सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्ने समितिका सचिव अधि राज राईले जानकारी दिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच पछिल्लो समय भएका सम्झौताका विषयमा जानकारी गराउने कार्यसूची रहेको छ । गत शुक्रबार परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकरको भ्रमणका क्रममा भएका सहमति र सम्झौताका विषयमा समिति र सांसदहरूको राखेको चासोमा प्रधानमन्त्री प्रचण्ड आफैँ उपस्थित भएर सम्बोधन गर्न लागेका हुन् । तेस्तै बुधबारै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुने जनाइएको छ ।

मनोनयन दर्ता गर्न गएका एमाले उम्मेदवारको मतदाता नामावलीमा नामै नभेटिएपछि…

काठमाडौँ । राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउन प्रदेश निर्वाचन कार्यालयमा पुगेका अर्जुन सिंह राजपूतको मतदाता नामावलीमा नाम नभेटिएपछि फर्किएका छन् । नेकपा एमालेबाट मधेश प्रदेशमा अन्य समूहबाट उनी उम्मेदवारी दिन आएका थिए । एमालेले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । मधेश प्रदेशबाट रिक्त अन्य र महिला गरी दुई सिटमा राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

सर्‍यो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं। राष्ट्रियसभाको निर्वाचनबारे छलफल गर्न बोलाइएको सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । बैठक शनिबार दिउँसो केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको थियो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले विशेष कारणवश भोलि आइतबार दिउँसो १ बजे बस्ने गरी बैठकको मिति सारिएको जानकारी दिएका छन् । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

काठमाडौँको फोहोर व्यवस्थापनको जिम्मा केन्द्र सरकारलाई दिने भ्याली मेयर्स फोरमको निर्णय

काठमाडौँ । काठमाडौँ भ्याली मेयर्स फोरमको छैटौँ बैठकले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको काम नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ । गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले नेपाल सरकार र नेपवेस्टको बीचमा २०१८ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन नसकेको र नेपाल इन्भेष्टमेण्ट बोर्डले काठमाडौँ महानगरपालिकालाई कार्यान्वयनका निमित्त पठाए पनि महानगरपालिकाले सरकारलाई नै फिर्ता पठाइसकेकाले सरकारले नै फोहोर व्यवस्थापनको बाँकी काम गर्न आग्रह गर्ने निर्णय भएको मेयर्स फोरमले बतायो । काठमाडौँ उपत्यकाको फोहोर विसर्जनको थलो नुवाकोटको बञ्चरे डाँडामा फोहोरको वैज्ञानिक व्यवस्थापन र दीर्घकालीन समाधानको लागि संघीय सरकारको लगानी छ । यसको जिम्मा २०१८ मा नेपवेस्ट नामको निजी कम्पनीलाई सरकारले दिइसके पनि पूर्णरुपमा काम हुन सकेको छैन । पछिल्लो समय त काठमाडौँ उपत्यकाका नगरपालिकाहरूको साझा भनिएको मेयर्स फोरममा विवाद देखिएको छ । यस विवादले फोहोरको व्यवस्थापनमा समेत प्रभाव परिरहेको छ । ललितपुरका मेयर चिरीबाबुले यसअघि पनि महानगरले फोहोरको फाइल अड्काएको भन्दै असन्तुष्टि जनाएका थिए । बैठकले काठमाडौं उपत्यकामा अबबाट स्मार्ट सिटी लाइट जडान गर्दा एउटै प्याकेज गरेर अघि बढ्ने यसअघिको बैठकको निर्णयलाई कार्यान्वयन गर्ने निर्णय भएको छ । विद्युत् प्राधिकरणले स्थानीय पालिकाहरूको बक्यौता सडक बत्ती, मठ, मन्दिर, शिवालय, देवालयमा बालेको बत्तीहरूको बिल भुक्तानीको निमित्त गरेको पत्राचारमा पालिकाहरूले असहमति प्रकट गरेका छन् । प्राधिकरणले हचुवाको भरमा पञ्चायतकालदेखिको बिल पठाएको मेयर्स फोरमको भनाइ छ ।

यू–१९ विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको विदाई

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले यूण्१९ विश्वकप खेल्न जाने नेपाली राष्ट्रिय यू–१९ क्रिकेट टोलीलाई विदाई गरेको छ । शुक्रबार राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्मा लगायतले दक्षिण अफ्रिकामा हुनलागेको आइसीसी यु–१९ विश्वकप खेल्ने नेपाली टोलीको विदाई गरेका हुन् । यू–१९ टिमका कप्तान देव खनालले विश्वकपको तयारी राम्रो रहेको बताएका छन् । उनले विश्वकप खेल्ने सपना पूरा हुन लागेको र राम्रो नतिजा ल्याउने बताउदै भने ‘यू–१९ विश्वकप खेल्ने सपना थियो, त्यो पूरा हुन लागेको छ । आशा छ राम्रो प्रदर्शन गर्छौं । एसिया कपको प्रदर्शन बिर्सेर विश्वकपमा राम्रो गर्दै देशलाई गौरवान्वित बनाउँछौं’। जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ । नेपालसँगै समूह ‘डी’ मा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान पनि रहेका छन् । नेपालले पहिलो खेल जनवरी २१ मा न्यूजिल्याण्ड विरुद्ध खेल्ने छ । यस्तै दोस्रो खेल जनवरी २४ मा पाकिस्तान र अन्तिम खेल अफगानिस्तान विरुद्ध जनवरी २६ मा खेल्नेछ । त्यसअघि नेपालले जनवरी १३ मा स्कटल्याण्ड र जनवरी १६ मा वेस्ट इन्डिज विरुद्ध वार्म(अप खेलहरु खेल्ने छ । नेपाली यु १९ टोली देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलशन झा, दिपेश प्रसाद कंडेल, विशाल विक्रम केसी, सुबाश भण्डारी, दीपक बोहोरा, दिपक बोहोरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलक राज भण्डारी, आकाश चन्द

शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी छ : प्रधानमन्त्री प्रचण्ड

पुस १७, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा रूपान्तरण जरूरी भएको बताएका छन् । मंगलबार बिहान काठमाडौंमा आयोजित कान्तिपुर एजुकेशन समिट (शैक्षिक बहस) मा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘‘नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रमहरू विचार मन्थनका दृष्टिले मात्र नभएर विश्वभरिका अनुभवहरूको आलोकमा हाम्रो आफ्नो विशिष्टता र मौलिकतासहित नीति निर्माणका निम्तिसमेत गुणात्मक योगदान दिन सक्दछन्।’’ शिक्षा लगायत राष्ट्रिय जीवनका अधिकांश क्षेत्रमा भूमण्डलीकरणको प्रभाव परिरहेको बताए। उनले भने, ‘‘भूमण्डलीकरणको प्रत्यक्ष प्रभाव विश्वभरि परिरहेको छ, त्यसमध्ये पनि नेपाल जस्ता विकासशील देशहरूमा यसको बहुआयमिक प्रभाव चुनौतीकै रूपमा विद्यमान छ। यसले साना, स्वतन्त्र र स्वाधीन देशहरूको अर्थतन्त्र, शिक्षा, मनोविज्ञान र सामाजिक संरचनामा नै काफी हदसम्म हेरफेर ल्याएको छ। यो तथ्यलाई गहिरो गरी विचार गर्ने र त्यसका आधारमा हाम्रो शैक्षिक नीति, पाठ्यक्रम र संरचनामा परिवर्तन गरेर मात्र हामीले यो चुनौतीलाई छिचोल्न सक्दछौं।’’ ‘‘पछिल्लोसमय नयाँ पुस्तामा देशको शिक्षा गुणस्तरीय छैन, यसले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्दैन जस्तो नकारात्मक भाष्यको विकास हुँदै गएको र त्यसको प्रत्यक्ष प्रभाव बौद्धिक जनशक्तिको पलायनका रुपमा अभिव्यक्त भइरहेको तपाई–हामी सबैले देखेकै र अनुभूत गरेकै कुरा छ’’ प्रधानमन्त्रीले भने। रोजगारीको अवसर प्राप्त गरेकाहरू नै विदेश पलायन हुनु चिन्ताको विषय भएको प्रधानमन्त्रीले बताए। उनले भने, ‘‘उत्पादकत्वमा कमि, बेरोजगारी लगायतका कारण देशभित्र भविष्य नदेख्ने बाध्यात्मक परिस्थिति एक ठाउँमा छ, तर देशभित्रै रोजगारीको अवसर प्राप्त गरेका र सामाजिक रुपमा समेत प्रतिष्ठित व्यक्तिहरूमा समेत शीघ्रातीशीघ्र सम्पत्ति आर्जनको मोह अनपेक्षित रूपमा बढ्दै गएको छ। यो चाहिँ हाम्रा निम्ति साँच्चिकै चुनौतीको विषय हो।’’

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (पुस १६ गते) सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको छ। युरो एकको खरिद दर १४६ रुपैयाँ ६२ पैसा र बिक्री दर १४७ रुपैयाँ २८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १२ पैसा र बिक्री दर १६९ रुपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

देशको समस्या हामी सबैको हो, ग्वार्को घटनालाई राजनीतीकरण नगरौं : दयाहाङ राई

काठमाडौं । कलाकार दयाहाङ राईले देशको समस्या सबैको समस्या भएको बताउँदै कोही कसैले उद्देलित र आक्रोशित बनाउँन नहुने बताएका छन् । उनले समाजिक संजाल फेस्बुकमा स्टाटस लेख्दै ग्वार्को मा जे नहुनु थियो भयो त्यसलाई राजनीतीकरण नगरौ भनेका हुन् । उनले सामाजिक संजालमा लेखेका छन् -‘जे नहुनु थियो भयो अब यसलाई राजनीतीकरण नगरौ, युबाहरूमा निरस र आक्रोस आउनु देखिनु तपाई हामी नै जिम्मेवार हुनुपर्छ यो गाऊँ समाज अनी देशको समस्या हो र हाम्रो समस्या हो । अझ उद्देलित र आक्रोशित नबनाऊ सत्तापक्ष र प्रतिपक्ष दुबैले होस् पूर्याउ’

मन्त्रिपरिषद्को सिंहदरबारमा बैठक शुरु

काठमाडौं ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को शुरु भएको छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा शुरु भएको हो ।बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसिरहेको हो । बैठकमा प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाका बारेमा छलफल हुने र प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाको काम आजैदेखि सुरू हुने स्रोतले जनाएको छ । प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा पनि चुस्तदुरुस्त सरकारी संरचना बनाइने र त्यसको सुरूवात प्रधानमन्त्री कार्यालयबाटै गर्ने बताएका थिए। यस्तै बैठकले मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयमा छलफल तथा निर्णय गर्ने बताइएको छ ।

दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भइरहेको छ : मन्त्री साउद

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भइरहेको बताएका छन् । सोमवार उडान शैक्षिक केन्द्रले काठमाडौंमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताए । मन्त्री साउदले चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री जस्ता धेरै पढेलेखेका मानिसहरु विदेशिइरहेका भन्दै यसले देशको आर्थिक अवस्थालाई समेत असर परेको बताए । उनले कामदारका रुपमा पनि विदेशिने गरेका भन्दै क्षमतावान व्यक्तिहरुले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने बताए । उनले देशको कुल जनसंख्यामध्ये युवाहरुको जनसंख्या धेरै रहेको उल्लेख गर्दै देशको विकास र आर्थिक समृद्धि गर्ने उपयुक्त समय यही भएको बताए । मन्त्री साउदले राज्य व्यवस्था र कर्मचारीतन्त्रभित्र नयाँ पुस्ताको प्रवेश जरुरी रहेको बताए । उनले राज्यका सबै क्षेत्रहरुमा दक्ष जनशक्ति उपलब्ध हुनुपर्नेमा जोड दिए ।

विज्ञापन बजारलाई पारदर्शी बनाउने प्रक्रिया थालनी भएको छ : मन्त्री शर्मा

काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ्य प्रतिष्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्रै विज्ञापन व्यवसायलाई प्रवर्धन गर्ने बताएकी छिन् । नेपाल बिज्ञापन सङ्घ (आन)को २४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले पारदर्शी बिज्ञापन बजारले बिज्ञापनदाता, मिडिया र व्यवसायी तीनै पक्षको हित गर्ने बताइन् । आर्थिक संकुचलनले मुलुकको समग्र आर्थिक क्षेत्र प्रभावित भएको र यसको मारमा विज्ञापन बजार पनि परेको उल्लेख गर्दै उनले विज्ञापन बजारमा संकुचन आउँदा विज्ञापन बजारमा कार्यरत जनशक्ति र मिडियामा समस्या आएको बताइन् । । उनले भनिन् विज्ञापन बजारमा आएको संकुचनले विज्ञापन चक्रमा नै असर परिरहेको छ । आर्थिक क्रियाकलाप बढेसँगै विज्ञापन बजार पनि बढ्ने नै छ भन्ने विश्वास गर्न त सकिन्छ, साथसाथै विज्ञापन बजारलाई थप पारदर्शी र प्रतिष्पर्धी बनाउँदै लैजान पनि ध्यान दिनुपर्ने अवस्था छ । आफूले सञ्चार मन्त्रालय सम्हालेपछि मिडिया क्षेत्रबाट विज्ञापन बजार पारदर्शी भएन भन्ने ठूलो गुनासो सुनेपछि सरोकारवालासित छलफल गरेर विज्ञापन नियमावली संशोधनमार्फत विज्ञापन बजारलाई पारदर्शी र प्रतिष्पर्धी बनाउने प्रक्रियाको थालनी गरिएको जानकारी दिइन् । खासगरी सरकारी कार्यालयबाट वितरण हुने विज्ञापनमा चरम बेथिति रहेको र अस्वभाविकरुपमा कमिसनको दुरुपयोग हुने गरेको सूचनाले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै अब विज्ञापन नियमावली संशोधनमार्फत मिडियाको बिल बिजक र विज्ञापन एजेन्सीको शुल्कसमेत कागजात पेश गरेपछि मात्रै भुक्तानी हुने प्रावधानको थालनी गरिएको छ र यसले विज्ञापनको सबै हिस्सा मिडियासम्म पुग्ने र विज्ञापन एजेन्सीहरुले पाउनुपर्ने सेवा शुल्क पारदर्शीरुपमा पाउने वातावरण बन्ने छ भन्ने सरकारको विश्वास रहेको स्पष्ट गरिन्। विज्ञापन सामग्रीहरु लक्षित समुदायमा केन्द्रित नगरी औपचारिकताका लागि मात्रै सरकारी सूचना प्रवाह गर्ने देखिएको उल्लेख गर्दै मन्त्री शर्माले कुनै निश्चित जिल्लाको निश्चित पालिका वा समुदायका लागि आवश्यक सूचना त्यो ठाउँसम्म पहुँच नभएका मिडियामा दिने गरेकाले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताइन् । विज्ञापन बजारका हिसाबले हेर्दा सार्वजनिक सूचना आर्थिक पक्षसँग पनि जोडिएला तर सरकार र जनताको आँखाबाट हेर्दा त यो जनताको सूचनाको हकसँग सम्बन्धित विषय भएको चर्चा गर्दै उनले विज्ञापनदाता वा विज्ञापन एजेन्सीहरुले जुन क्षेत्र र समुदायका लागि लक्षित सूचना हो, सोही ठाउँका मिडियाबाट प्रकाशन प्रसारण गर्ने व्यवस्था मिलाउनुपर्ने बताइन् । अहिले विज्ञापनको केही हिस्सा सामाजिक सञ्जाल मार्फत पनि जाने गरेको उल्लेख गर्दै उनले विज्ञापन नियमावली २०८० ले सामाजिक सञ्जालबाट हुने विज्ञापनको नियमन गर्ने बाटो समेत खुलाएको र यसका आधारमा विज्ञापन बोर्डले चाँडोभन्दा चाँडो नियमनको प्रक्रिया सुरु गर्नु आवश्यक रहेको बताइन्। सामाजिक सञ्जालमा हुने विज्ञापनले एकातिर नेपाली मुद्रा बिदेशिने खतरा बढाएको र अर्कोतिर नेपालमा दर्ता नभएका प्लेटर्फमा हुने कारोवारको जानकारी नै नेपाल सरकारलाई नहुने अवस्थाले समस्या सिर्जना गर्दै गएकाले सरकारले मस्यौदा गरिरहेको सामाजिक सञ्जालको प्रयोग तथा नियमनसम्बन्धी विधेयकमा पनि सामाजिक सञ्जालमा हुने विज्ञापनलाई निरुत्साहित गर्ने गरी प्रावधान समेटिने जानकारी दिइन् । विज्ञापनसँग जोडिएका अन्य केही थप सवालहरु पनि ध्यान दिन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री शर्माले खासगरी विज्ञापन उत्पादनको सवालमा देश, काल, परिस्थितिलाई ध्यान दिनुपर्ने बताइन् । संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेर महिलालाई मुलुकको राष्ट्रपति बनाइसक्ने अवस्थामा पुग्दा पनि महिलाको भूमिकालाई चुलो चौका र भात भान्सामै केन्द्रित गर्ने आशयका विज्ञापन उत्पादन गर्ने, नेपालको संविधान र कानुनले प्रतिबन्ध गरेका विभिन्न कुप्रथालाई प्रोत्साहन गर्ने खालका विज्ञापन पनि उत्पादन र प्रकाशन प्रसारण गर्ने गरेको पाइएको उल्लेख गर्दै उनले यसमा विज्ञापनदाता, एजेन्सी र मिडियाहरु सचेत हुन आवश्यक रहेको बताइन्।

सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइका लागि आज पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौँले विभिन्न बहानामा पटक पटक सार्दै आएको मुद्दाको फैसलाको सुनुवाइको पेसी आजका लागि तोकिएको हो । सर्वोच्च अदालतले गत फागुनमा नै चाँडै फसला गर्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौँले विभिन्न प्रमाणित कागजात माग गर्दै आएकोमा यसअघि कात्तिक २३ गते अदालतका न्यायाधीश केशव घिमिरेको इजलासले मंसिर २२ गतेसम्म बहस नोट माग्न आदेश गरेका थिए । अदालतको आदेश बमोजिम दुवै पक्षका कानुन व्यवसायीले हिजो लिखित रुपमा बहस नोट बुझाइ सकेका छन् । गत कात्तिक २३ गते दुवै पक्षलाई मंसिर २२ गतेभित्र बहस नोट बुझाउन भनिएको थियो ।