दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भइरहेको छ : मन्त्री साउद
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति विदेशिँदा मुलुकलाई क्षति भइरहेको बताएका छन् ।
सोमवार उडान शैक्षिक केन्द्रले काठमाडौंमा आयोजना गरेको विद्यार्थी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउदले दक्ष जनशक्ति विदेश जाँदा मुलुकलाई क्षति भइरहेको बताए ।
मन्त्री साउदले चिकित्सक, इन्जिनियर, प्राध्यापक, अर्थशास्त्री जस्ता धेरै पढेलेखेका मानिसहरु विदेशिइरहेका भन्दै यसले देशको आर्थिक अवस्थालाई समेत असर परेको बताए । उनले कामदारका रुपमा पनि विदेशिने गरेका भन्दै क्षमतावान व्यक्तिहरुले देश छोड्दा देशको आर्थिक अवस्था सुदृढ हुन नसक्ने बताए । उनले देशको कुल जनसंख्यामध्ये युवाहरुको जनसंख्या धेरै रहेको उल्लेख गर्दै देशको विकास र आर्थिक समृद्धि गर्ने उपयुक्त समय यही भएको बताए ।
मन्त्री साउदले राज्य व्यवस्था र कर्मचारीतन्त्रभित्र नयाँ पुस्ताको प्रवेश जरुरी रहेको बताए । उनले राज्यका सबै क्षेत्रहरुमा दक्ष जनशक्ति उपलब्ध हुनुपर्नेमा जोड दिए ।
यस्तो छ बिहीबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंसिर १४ गते) बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०३ पैसा र बिक्री दर १३३ रुपैयाँ ६३ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ९९ पैसा र बिक्री दर १४६ रुपैयाँ ६५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६७ पैसा र बिक्री दर १६९ रुपैयाँ ४३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। विनिमय दर
अनलाइनबाट सामान किन्दा सचेत हुनु : प्रहरी
काठमाडौं । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गरेका छन् । उनले भने, ‘पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्टलाई ब्लक गरी ठगी गर्ने क्रियाकलापसम्बन्धी गुनासो बढिरहेको छ । त्यसैले सामाजिक सञ्जालमार्फत कारोबार गर्दा सम्बन्धित पेजरअकाउन्ट आधिकारिक हो वा होइन यकिन गरेरमात्र कारोबार गर्नुपर्छ ।’ प्रहरीले यस्ता ठगीका सम्बन्धमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवन वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सप्रमाण निवेदन दिन पनि अनुरोध गरेको छ । पछिल्लो समयमा अनलाइन कारोबार फस्टाएर ग्राहकलाई सजिलो बनाए पनि त्यसबाट विकृति भने बढ्दो छ । आकर्षक सामान देखाएर प्रलोभनमा पारी ग्राहकको मन तान्ने र सामान अर्डर गरेर घर आइपुग्दा कमसल मल प्राप्त हुने गरेको गुनासो यसअघि पटकपटक सार्वजनिक भइसकेको छ ।
काठमाडौंका सडक तथा नदी किनारमा आगो बाल्न निषेध
काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक तथा नदी किनारमा आगो बाल्न निषेध गर्दै चेतावनी दिएको छ । सडक तथा नदी किनारामा आगो बाल्दा वायु प्रदुषण बढ्ने भन्दै महानगरपालिकाले आगो बाल्न निषेध गरेको हो । अटेर गरेमा पहिलो पटकमा पाँच सयदेखि १५ हजार रुपियाँसम्म जरिवाना तिर्न लगाइने महानगरपालिकाको चेतावनी छ । जाडो मौसममा सडक तथा नदी किनारामा फोहोर जम्मा गरेर आगो बाल्दा वायु प्रदूषण बढ्ने भन्दै महानगरपालिकाले यस्तो निर्णय गरेको जनाएको छ । पटक पटक कारवाहीमा पर्नेलाई महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले एक लाख रुपैयाँसम्म जरिवाना तिराउने चेतावनी पनि दिएको छ । नदी किनारमा बस्नेले तथा सडक बालबालिकाले जाडोयाम शरु भएपछि फोहोर थुपारेर रातभर आगो बाल्ने गरेको र त्यसबाट वायु प्रदूषण बढ्दा श्वासप्रश्वासको समस्या बढ्ने गरेको तथ्यांकको आधारमा आगो बाल्न निषेध गरिएको विभागले स्पष्ट पारेको छ । विष्णुमती, वागमती, धोविखोला, मनोहरालगायतका नदी तथा खोलाका पुलमुनिका सडक किनाराहरुमा विशेष निगरानी र अनुगमन शुरू गरेको पनि महानगरपालिकाले जनाएको छ । विभागले खोला किनारका सडकहरुको सफाइ पनि थालेको छ ।
२६ प्रहरी सम्पर्क विहिन : सात दिनभित्र हाजिर हुन आग्रह
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कमा नरहेका कर्मचारीलाई हाजिर हुन आउन अनुरोध गरेको छ । कार्यालय आज सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो । आफूखुसी गैरहाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२)बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ। सूचना प्रकाशित भएको सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित उपस्थित हुन भनेको छ । उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ। Untitled
पत्रकार शर्मामाथि युवासंघले गरेकाे आक्रमण निन्दनीय
काठमाडौं । नेपाल पत्रकार महासंघले नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष एवं चारदिशा अनलाइनका सम्पादक ओम शर्मालाई समाचार संकलनका क्रममा गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को केन्द्रीय कार्यालयमा सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कात्तिक १४ गते मंगलबार बालुवाटारस्थित गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यालयमा नेकपा एमालेको भातृसंस्था राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमका विषयमा समाचार बनाउने उद्देश्यले पत्रकार शर्मा पुगेका थिए । पत्रकार शर्माले समाचार बनाउने उद्देश्यले फोटो खिच्ने क्रममा उनीमाथि राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले सांघातिक आक्रमण गरेको र शर्माको सञ्चार सामग्रीसमेत नियन्त्रणमा लिएर नष्ट गरिदिएको महासंघ बेल्जिएम शाखाले जनाएको छ । एमालेका नेता महेश बस्नेत र एनआरएनएको एक पक्षका अध्यक्ष डा.बद्री के.सी. को उपस्थितिमा भएको कार्यक्रममा पत्रकार शर्मामाथि भएको आक्रमणको यो घटना अत्यन्त निन्दनीय, अशोभनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको शाखाले जनाएको छ । प्रेस स्वतनन्त्रतालाई कुण्ठित गराउने र लोकतन्त्रको समेत उपहास हुने गरी पत्रकारमाथि अपनाइएको यो गुण्डागर्दी र अराजक शैलीले पत्रकारको सुरक्षा थप चुनौतीपूर्ण बनेको नेपाल पत्रकार महासंघले जनाएको छ। महासंघले भनेकोछ यो घटनाको सत्यतथ्य छानबिन गरी दोषी जोकोही भए पनि तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई संवैधानिक स्वतन्त्रता एवं भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गर्दछ । साथै, महासंघ घाइते पत्रकार शर्माको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँको उपचारको सबै व्यवस्था गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।
मकवानपुरको बकैयामा बस दुर्घटना, ३५ जना घाइते (सूची)
मकवानपुर । मकवानपुरको बकैयामा भएको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । मदन भण्डारी राजमार्ग (धरान चतरा सडक खण्ड) अन्तर्गत पर्ने बकैया ५ तीनतलेमा शुक्रबार दिउँसो ४ः२० बजेको समयमा हेटौडाबाट जुरेली तर्फ जाँदै गरेको ना १ ख ३९८८ न.को बस दुर्घटना भएको थियो । यात्रु बोकेर गन्तव्य तर्फ गइरहेको उक्त बस आफै अनियन्त्रित भई सडकबाट १०र१५ मिटर तल खसेको थियो । दुर्घटनामा बकैया ६ सुधा बस्ने वर्ष ३१ कि सुभद्रा सुनार, निजको छोरा वर्ष ६ को सफल विक, बकैया ५ बस्ने वर्ष ३२ सौगात लामा, निजको छोरी वर्ष ६ कि शारदा बोलन, बकैया ७ बस्ने वर्ष २० कि शुस्मा माझी, सोही स्थान बस्ने वर्ष १५ कि प्रतिमा माझी, बकैया ५ बस्ने वर्ष ६३ को राम प्रसाद चौलगाई, बकैया ७ ज्यामिरे बस्ने वर्ष १५ को रविन बल, बकैया ७ छतिवन बस्ने वर्ष ३४ कि चन्द्र माया रुम्वा, निजको छोरी वर्ष ७ कि वर्षा रुम्वा, वर्ष ४० को विर बहादुर रुम्वा, वर्ष २५ कि लिला राई, वर्ष २५ को तुले बल, वर्ष ६० कि तुलसा माझी, वर्ष ३२ कि राधिका माझी, वर्ष ३४ कि सावित्रा चौलगाई, वर्ष २० कि सुनिता भोम्झन, वर्ष १८ कि डोल्मा लोप्चन घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार बकैया ५ बस्ने वर्ष ३५ कि सुनिता सिलवाल, बकैया ७ बस्ने वर्ष १५ कि रिस्ता स्याङ्तान, बकैया ५ बस्ने वर्ष ३७ कि लक्ष्मी थिंङ, सोही स्थान बस्ने वर्ष २६ कि कल्पना गोले, निजको छोरा वर्ष ५ को श्रीयन जिम्वा, वर्ष ४० को दिल कृष्ण राई, वर्ष ४२ कि तुलसा नेपाली, वर्ष ३४ कि गिता बि।क, वर्ष ४३ कि उर्मिला राई, वर्ष ३० कि जानुका माझी, निजको छोरी वर्ष ६ कि अञ्जलि माझी, छोरा वर्ष ३ को रोमियो माझी, बकैया ६ बस्ने वर्ष २७ कि निमा थिङ, वर्ष ५६ कि चिनिमाया बोम्जन, वर्ष ६५ को मंगल राज माझि, बर्दिया खैरहनी १२ बस्ने वर्ष २० को अशिम थारु र सोही स्थान बस्ने वर्ष २५ को विशाल थारु घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
आज विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै
काठमाडौं । आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अक्टोबर १० मा यो दिवस मनाउने गरिन्छ । यस वर्ष मानिस र समुदायका लागि ‘मानसिक स्वास्थ्य सबैको अधिकार’ भन्ने नारासहित मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धिमूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । त्रिविवि शिक्षण अस्पतालको मानसिक रोग विभागका प्रमुख डा. सरोज ओझाले यो दिवसले मानसिक स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र सबैको मानसिक स्वास्थ्यलाई विश्वव्यापी मानवअधिकारको रूपमा प्रवर्द्धन एवं संरक्षण गराउने कार्य गर्न प्रेरित गर्ने बताए । उनका अनुसार मानसिक अवस्था स्वस्थ राख्न शारीरिक स्वास्थ्य र सकारात्मक सोचमा ध्यान दिनुपर्छ । दैनिक शारीरिक अभ्यास, सन्तुलित आहारको सेवन, राम्रो निद्रा र सकारात्मक सोचको विकासले मानसिक स्वास्थ्यलाई स्वस्थ राख्न सहयोग पुग्ने उनको भनाइ छ । उनका अनुसार मनोचिकित्सकको परामर्श लिने बिरामीको सङ्ख्या बढ्दो छ । मानसिक स्वास्थ्यमा देखिएका समस्यामध्ये ‘डिप्रेसन’ र ‘एन्जाइटी’ बढी देखिएको छ । मानसिक स्वास्थ्यमा देखिने समस्यालाई औषधिको सेवन, परामर्श र मनका कुरा अभिव्यक्ति गर्ने वातावरण दिनसके डिप्रेशनलाई कम गर्न सकिने उनको भनाइ छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विगत पाँच वर्षदेखि मानसिक स्वास्थ्यको क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ अन्तर्गत मानसिक क्षेत्रमा काम भइरहेको एनसिडी तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा। फणेन्द्र बरालले बताए । उनका अनुसार मानसिक स्वास्थ्यमा बढ्दो सचेतना तुलनात्मकरूपमा बढे पनि यसको उपचारमा पहुँच बढाउन चुनौती छ । सरकारले मानसिक स्वास्थ्य परामर्श र औषधि निःशुल्क वितरण गर्दै आएको छ । संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य (२०१६–२०३०)मा पनि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखी मानसिक स्वास्थ्यको प्रवर्द्धन र नसर्ने रोगबाट हुने मृत्युदरलाई एकतिहाइले कम गर्ने लक्ष्य छ ।
संविधानका छिद्रहरू दुरुपयोग गरेर संविधान मिच्ने काम भयो : रमण श्रेष्ठ
काठमाडौं । पूर्वमहान्यायाधीवक्ता श्रेष्ठले संविधानभित्र भएका छिद्रहरुलाई दुरुपयोग गरेर संविधान मिच्ने गरिएको बताएका छन् । शुक्रबार स्वतन्त्र कानून व्यवसायी मञ्चले आयोजना गरेको नेपाल बार एसोसिएसनको स्वतन्त्रतामा स्वतन्त्र कानून व्यवसायी मञ्चको भूमिका विषयक अन्तरक्रियामा बोल्दै पूर्वमहान्यायाधीवक्ता श्रेष्ठले यस्तो बताएका हुन् । राज्यका तीन वटै अंगबाट संविधान मिचिएको पूर्वमहान्यायाधीवक्ता श्रेष्ठको भनाई थियो । उनले व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले संविधान मिचिरहेको भन्दै संविधानको भविष्यमाथि आशंका व्यक्त गरे। पूर्व राष्ट्रपतिले त सार्वजनिक रुपमै संविधान मिचेको स्वीकारेको उल्लेख गर्दै उनले सभामुखले समेत संविधान विपरितका कानूनहरु बन्दा पनि पास गराएर संविधान मिचेको बताए । ०४७ सालमा संविधान बनाउनेहरुले नै संविधान मिच्दा संविधान गएको भन्दै उनले अहिले पनि संविधान निर्माण गर्ने शक्तिहरुले नै संविधान मिचेको उल्लेख गरे। नेपाल बार एशोसिएशनका पूर्वमहासचिव लिलामणि पौडेलले कानून व्यवसायीहरु स्वतन्त्र हुन नसकेका बताए । उनले कानून व्यवसायीहरु राजनीतिक नियुक्ति वा जागिरको लोभमा नेताको घरदैलो चहार्ने गर्दा बदनाम हुनुपरेको बताए । उनले केही दिन अघि न्याय परिषद्ले नियुक्त गरेका जिल्ला न्यायाधीशहरु कानूनी प्रवन्ध अनुसार नै भएका बताए । पौडेलले कानूनी प्रवन्ध अनुसार न्यायाधीशहरू नियुक्त भएको भएपनि असक्षम र नालायक भएका भन्दै भ्रम छरिएको उल्लेख गर्दै सो भ्रम चिर्नुपर्ने बताए।
चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिले तोड्यो अनशन
काठमाडौँ। चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका पदाधिकारीहरूले अनशन तोडेका छन्।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा विगत ३८ दिनदेखि माइतीघर मण्डलामा रिले अनशन बसिरहेका सङ्घर्ष समितिका पदाधिकारीहरूले आज अनशन तोडेका हुन् । मन्त्री बस्नेतले सङ्घर्ष समितिले उठाएका माग सम्बोधन गर्न सरकारले पहल गरिरहेको भन्दै चिकित्सा शिक्षा ऐन छिट्टै संशोधन हुने आश्वासन दिएका छन् । उनले विषयमा शिक्षामन्त्री र प्रधानमन्त्रीसमेत सकारात्मक भएकाले सङ्घर्ष समितिले उठाएका माग चाँडै सम्बोधन हुने विश्वास व्यक्त गरे । चौध सूत्रीय माग राखेर अनशनरत सङ्घर्ष समिति तत्काल सडक सङ्घर्ष स्थगित गर्न सहमत भएको हो । मन्त्रालयको सचिवालयका स्वकीय सचिव रामेश्वर आचार्य र रामचन्द्र दुलालले सङ्घर्ष समितिका सदस्यलाई जुस पिलाएर अनशन स्थगिन गरिएको हो । अनशनस्थगित गरेपछि चिकित्सा शिक्षा सरोकार सङ्घर्ष समितिका वरिष्ठ पाँच पदाधिकारी वार्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेका थिए । मन्त्री बस्नेतसहित भएको वार्तामा मन्त्रालयका सचिव डा रोशन पोखरेल, अतिरिक्त सचिव डा विकास देवकोटा, डा टङ्क बाराकोटीलगायत सहभागी हुनुहुन्थ्यो । यता सङ्घर्ष समितिका तर्फबाट संयोजक निर्मल सापकोटा र सहसंयोजक जोशीलगायतका पदाधिकारी सहभागी थिए । वार्तामा सङ्घर्ष समितिका संयोजक सापकोटाले आफूहरूले उठाएका १४ वटा मागका विषयमा मन्त्री बस्नेतलाई जानकारी गराउँदै नेपालको चिकित्सा शिक्षा सुधारका लागि सरकारले आफ्ना माग सम्बोधन गर्नुपर्नेमा जोड दिए । मन्त्री बस्नेतले सङ्घर्ष समितिले उठाएका जायज मागका विषयमा पहलकदमीका लागि स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा देवकोटालाई फोकल सर्जन तोके । सङ्घर्ष समितिले चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने, सिटिइभिटीको तुरन्त पुनःसंरचना गर्नुपर्ने, प्रि डिप्लोमाका स्वास्थ्य कार्यक्रम स्तरोन्नति गर्दै बाँकीमा तत्काल भर्ना खोल्नुपर्ने माग राख्दै आएको छ । उक्त समिति पारामेडिकलअन्तर्गत नर्सिङका विषय चिकित्सा शिक्षाबाट अलग गर्न, बन्द गराइएका नर्सिङ कलेजमा भर्ना खोल्न, छात्रवृत्तिमा भइरहेको विभेद अन्त्य र शिक्षामा कोटा प्रणाली खारेज लगायतका १४ मागसहित गत साउन २७ गतेदेखि माइतीघर मण्डलामा रिले अनशन बसेको थियो ।
दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गाका लागि निवेदन दिन आग्रह
काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भएको छ । यसका लागि ३५ दिन भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगले आग्रह गरेको छ । “स्थानीय तहका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा पाउन आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम भर्नु पर्नेछ,” आयोगले आज सार्वजनिक सूचना जारी गर्दै भनेको छ, “आजदेखि ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्नुपर्नेछ ।” आयोगले सातवटै प्रदेशका विभिन्न जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आग्रह गरेको छ ।
बालबालिकामा लगानी वृद्धि गर्न प्रधानमन्त्रीको अपील
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी वर्षदेखि लागु हुने योजना र कार्यक्रम तर्जुमामा बालबालिकामा लगानी वृद्धि गर्न अपील गरेका छन् ।५९ औं राष्ट्रिय बाल दिवसको असरमा शुभकामना सन्देश दिदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । प्रधानमन्त्री प्रचण्डद्धारा शुभकामना सन्देशमा भनिएको छ -‘बालबालिकाको पोषण, शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागिताजस्ता आधारभूत बाल अधिकारसहित सबै प्रकारका बाल अधिकारहरूको संरक्षण र संवर्धन गर्न गराउन नेपाल सरका र प्रदेश सरकारका सम्बन्धित मन्त्रालय तथा निकाय र सम्बन्धित स्थानीय तहलाई आगामी वर्षदेखि थप लगानीका योजना र कार्यक्रम तर्जुमा गरी बालबालिकामा लगानी वृद्धि गर्न अपील गर्दछु।’ ५९ औं राष्ट्रिय बाल दिवस “बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ मनाउन लागिएको छ । नेपालको संविधान, बालबालिका सम्बन्धी कानून र नीतिहरूमा भएका कानूनी, नीतिगत र संस्थागत व्यवस्थाहरू कार्यान्वयन गर्न गराउन योजना तथा कार्यक्रम तर्जुमा गरी बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, सम्वर्धन, सम्मान, प्रवर्धन र परिषूर्ति गर्न नेपाल सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताएका छन् । यस्तो छ शुभकामना सन्देश
नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदै, देशभर शोक बिदा
काठमाडौं । तत्कालिन संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिदैछ । गत सोमबार राति हृदयघातबाट निधन भएका नेम्वाङको बिहीबार अन्त्यष्टि गर्न लागिएको हो । विदेशमा रहेका छोराहरु फर्किन समय लाग्दा नेम्वाङको अन्त्यष्टि गर्न ढिलाई भएको हो । बिहीबार बिहान ११ बजे बालुवाटारस्थित नेम्वाङको निवासबाट शवयात्रा निकालेर दिउँसो पशुपति आर्यघाटमा वैदिक तथा लिम्वु विधि अनुसार अन्त्यष्टि गरिने बुझिएको छ । शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ । त्रिवि शिक्षण अस्तापलत महाराजगञ्जमा निधन भएका नेम्वाङको पार्थिब शरीर मंगलबार बिहानदेखि बुधबार बिहानसम्म श्रद्धाञ्जलीका लागि एमाले मूख्यालयमा राखिएको थियो भने बुधबार नेम्वाङको निवासमा लगिएको थियो । निवासमा लिम्वु सँस्कार अनुसारको कर्म गरिएको बुझिएको छ । सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ ।
उपराष्ट्रपति कार्यालयको खर्च कटौती प्रस्ताव पेस
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस भएको छ । तीन जना सांसद डा.अमरेश कुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले यस्तो प्रस्ताव पेस गरेका हुन् । प्रतिनिधिसभाको कार्यसूचीअनुसार डा. अमरेश कुमार सिंह र भगवती चौधरीले ‘विनियोजन विधेयक, २०८० अन्तर्गत उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकमलाई घटाइ एक रूपैयाँ कायम गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका हुन् । त्यस्तै, सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८० अन्तर्गत उपराष्ट्रपतिको कार्यालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस’ प्रस्ताव पेस गरेका छन्। खर्चिलो र भड्किलो शैलीका कारण राष्ट्रपति र उपराष्ट्रपति प्रति नागरिकको आस्था घट्दै गएकाले खर्च कटौती गरिनुपर्ने उनीहरुको भनाइ छ । खर्च कटौतीको प्रस्ताव पेस गर्दै सांसद अमरेश कुमार सिंहले उपराष्ट्रपतिको कार्यालयलाई दिइने सवारी, इन्धनलगायत विभिन्न सेवा सुविधा कटौती गरेर स्वास्थ्य र शिक्षा क्षेत्रमा खर्च गरिनुपर्ने बताए । उपराष्ट्रपति कार्यालयको भूमिका निकै कम रहेको भन्दै उपराष्ट्रपतिले पाउने सेवा सुविधा धेरै रहेको उनको भनाइ छ । सल्लाहकार धेरै राख्ने, महँगा सवारीसाधन किन्ने, अतिविशिष्ट व्यक्तिको सवारीमा हुने खर्च बढेकोलगायत विषय उठाएर उनले यस्तो खर्च कटौतीको प्रस्ताव पेस गरेका हुन् । सांसद भगवती चौधरीले भड्किलो खर्च शैलीलाई कम गरेर आर्थिक रुपमा विपन्न नागरिकसम्म पुग्नेगरी पालिका तहमा बजेट जानुपर्ने बताइन् । सांसद प्रेम सुवालले संसद् छलेर आएका विधेयकलाई राष्ट्रपति र उपराष्ट्रपतिले प्रमाणीकरण गर्न नहुने र फिर्ता पठाउनुपर्ने बताइन् । राष्ट्रपति र उपराष्ट्रपतिले सरकारी खर्चमा कुनै दल विशेषका कार्यकर्तालाई भेटघाटमा बोलाउन नहुने बताउँदै समग्र मुलुकको हित हेरेर काम गर्नुपर्नेमा उनले जोड दिइन्।
संघीय संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । सङ्घीय संसद्को संयुक्त बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित हुने सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए । बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले सङ्घीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । सो मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरिनेछ । आजै दिउँसो एक बजे संसद्को नियमित बैठक पनि बस्दैछ । सो बैठकमा अथ मन्त्री डा. प्रकाशशरण महतले “आर्थिक वर्ष २०७९(०८० को आर्थिक सर्वेक्षण” पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
मकालु बेस क्याम्पमा एक जनाको मृत्यु
सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए । उनका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट शुक्रबार लेक लागेर बिरामी परेका थिए । विष्टले विदेशी टोलीको भरिया काम गर्दै आएका थिए। । “विष्ट मकालु हिमाल आरोहणका लागि आएको विदेशी टोलीसँग पाँच दिनअघि घरबाट हिँडेका थिए”, वडाध्यक्ष शेर्पाले भने। विष्टको शव मकालु बेस क्याम्पबाट हेलिकप्टरमार्फत सेदुवा ल्याउने तयारी भइरहेको छ । । सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्न पाँच दिनको पैदल दूरीमा पर्दछ । घटनाका बारेमा आज बिहान ११ बजे जिल्ला प्रहरी कार्यालमा जानकारी आएको कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।