माछा मार्न गएका लावतीको करेन्ट लागेर मृत्यु

इलाम, पुष १६ । करेन्ट लगाएर माछा मार्न गएका युवकको आफैँ करेन्ट लागेर मृत्यु भएको छ ।

महमाइमा खोलामा माछा मार्ने क्रममा शुक्रबार करेन्ट लागेर महमाई–१ का २१ वर्षीय दिनेशकुमार लावतीको निधन भएकोे जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शव परीक्षणका लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ । रासस

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

काठमाडौ, पुस १३ । सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । विज्ञान तथा प्रविधि र इन्जिनियङ संकायका विद्यार्थीहरुले ल्याब स्थापनाको माग गर्दै मुख्य गेटमै तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनले आफ्नो मागको सुनवाई नगरेको भन्दै विद्यार्थीहरुले विश्वविद्यालयका पदाधिकारीको राजीनामा समेत माग गरेका छन् । विद्यार्थीको तालाबन्दीपछि विश्वविद्यालयको पठन पाठन ठप्प भएको छ । विश्वविद्यालयमा तालाबन्दी गरिएको अवस्थामा समस्या समाधान गर्नुको साटो उपकुलति डा. भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज भट्ट काठमाडौंतर्फ हिँडेको विद्यार्थीहरुले बताएका छन् । “हाम्रो भविष्यसँग जोडिएको कुरामा विश्वविद्यालयका पदाधिकारी संवेदनशील देखिएनन्, आन्दोलनको विकल्प छैन” विद्यार्थीहरुले सामूहिक रुपमा भने ।

‘दिगो पुनःनिर्माण हाम्रो अभियान’ नारा लगाउँदै पुनः निर्माणको लागि जनदबाब

त्रिशूली (नुवाकोट), पुस १३ । भूकम्पपछिको पुनः निर्माणको अभियानलाई तीव्र पार्नका लागि दबाब दिन भूकम्पपीडित र अधिकारकर्मीले जनपरिचालन गरेका छन् । मङ्गलबार बट्टारबाट सुरु भएको जनपरिचालन विदुरमा आएर कोणसभामा परिणत भएको छ । ‘पिपुल क्याराभान’ नाम दिइएको अभियानमा जिल्लाका २० भन्दा बढी संस्थाको संलग्नता रहेको थियो । मानवअधिकार एलाइन्सको अगुवाइमा भएको जनदबाब अभियानका वक्ताले राजनीतिक दल सत्ता परिवर्तनको कार्यसूचीमा लाग्दा नागरिकको आवास अभियान तथा पुनःनिर्माणले गति लिन नसकेको गुनासो गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मानवअधिकार एलाइन्सका केन्द्रीय अध्यक्ष मीनबहादुर शाहीले भूकम्पबाट भत्किएका संरचना पुनःनिर्माण गर्ने जिम्मा राज्यको भएकाले यो वा त्यो बहानामा राज्य पन्छिन नमिल्ने बताए । ‘दिगो पुनःनिर्माण हाम्रो अभियान’, ‘पुनः निर्माणमा महिलालाई सहभागी गराऔँँ’, ‘आधा पुरुष, आधा नारी जमिनमा हक बराबरी’, ‘पीडितको माग र अवस्थाः सुरक्षित आवासको व्यवस्था’लगायत नारा लेखेको प्लाकर्ड बोकेर अधिकारकर्मी र भूकम्पपीडित सहभागी भएका थिए । मङ्गलबार नै पुनःनिर्माणमा देखिएका समस्या र राज्यले निर्वाह गर्नुपर्ने भूमिका समेटिएका छसूत्रीय माग राखी प्रजिअलाई ज्ञापनपत्रसमेत बुझाइएको छ । पत्रमा नुवाकोटमा आठ हजारभन्दा बढी परिवारले वर्षौंदेखि जोतभोग गर्दै आएको जमिनलाई आफ्नो नाममा ल्याउन नसक्दा भूमिहीनका रुपमा बस्न बाध्य भएको जनाइएको छ । नुवाकोटमा छ हजार सात सय २३ परिवार गुठीको जग्गामा तथा एक हजार पाँच सय ४९ परिवार बिर्ताको जग्गामा बस्दै आएका छन् । सहायक प्रजिअ कमलराज ढकाललाई बुझाइएको ज्ञापनपत्रमा रु पाँच पाँच लाख अनुदान रसहुलियत ब्याजमा ऋण उपलब्ध गराउन माग गरिएको छ । रासस  

महिला साफ फुटबलमा नेपालद्वारा भुटान ८–० ले पराजित

पुस ११ । नेपालका लागि सावित्रा भण्डारीले ५ गोल मद्दतले चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई ८–० ले पराजित गरेको छ । भारतको सिलगुढी कञ्चनजंघामा आयोजित खेलमा पहिलो हाफसम्ममा नेपालले ४ गोल हानेको थियो । दोस्रो हाफमा पनि ४ गोल गरेर नेपाल फराकिलो अन्तरले विजयी भयो । , शर्मिला थापाले २ र कृष्णा खत्रीले एक गोल गरिन् । भण्डारी एकै खेलमा पाँच गोल गर्ने नेपालकी पहिलो खेलाडी हुन् । यसअघिका लगातार तीन संस्करणमा उपविजेता बनेको नेपाल यसपटक उपाधि जित्ने लक्ष्यसहित भारत पुगेको हो । नेपालले समूह चरणमा मालद्विप्स र श्रीलंकासँग पनि खेल्नेछ । प्रतियोतिगामा सहभागी ७ देशलाई दुई समूहमा बाँडिएको छ । अर्को समूहमा भारत, अफगानिस्तान र बंगलादेश छन् । समूह चरणको विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् ।

योगश भट्टराईले भने– ‘कुनै हालतमा संविधान संशोधन प्रक्रिया अघि बढ्न दिदैँनौं’

धनकुटा, पुस ८ । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले संसद्मा पेस गरिएको संविधान संशोधनको प्रक्रिया कुनै पनि हालतमा अघि बढ्न नदिने बताएका छन् । शुक्रबार प्रेस चौतारी धनकुटाको आठौँ अधिवेशनको उद्घाटन कार्यक्रममा नेता भट्टराईले आफूलाई मधेसको ठेकेदार ठान्ने केही पार्टीले मधेसी जनताको नाममा व्यक्तिगत स्वार्थ पूर्तिका लागि संविधान संशोधन प्रस्ताव ल्याएको कारण नेकपा ९एमाले० यसको विरुद्धमा रहेको बताए । संविधान संशोधनको विषयले अदालतमा समेत प्रवेश पाएको कारण संसद्मा छलफल गर्नुभन्दा फिर्ता लिनु उचित हुने उनको तर्क थियो । संविधान कार्यान्वयनको परीक्षण चुनावबाट हुने भएकाले सरकारले चुनाव घोषणा गरे प्रतिपक्षमा बसेर एमोल चुनावमा भाग लिने बताए । कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत,एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य गणेश पोखरेललगायतले शुभकामना मन्तव्य दिए ।

एमालेसँग देउवा अाक्रोशित भने– ‘कुनै हालतमा संशोधन प्रस्ताव फिर्ता हुँदैन !’

चितवन, मंसिर ३० ।  नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नहुँने स्पष्ट पारेका छन् । बिहिबार भरतपुरमा चितवन कांग्रेसको २ महिने जागरण अभियानको उदघाटन गर्दै उनले भने– ‘बरु प्रस्ताव फेल होस, फिर्ता हुँदैन । देउवाले संसद अवरुद्ध गरेर विपक्षी एमालेले संसदीय अभ्यासलाई असहयोग गरेको आरोप लगाए । उन भने– ‘एमालेले कति दिनसम्म संसद चल्न दिदैन हेरौं । संसोधन प्रस्ताव पास गर्न एमालेले सघाउनु पर्छ, असहयोग गरे उसैलाई घाटा पुग्छ ।’ प्रमुख तीन दलबीच संविधान संशोधन प्रस्तावलाई निष्क्रिय बनाएर स्थानीय निकाय निर्वाचनमा जाने सैद्धान्तिक सहमति भएको चर्चा चलिरहेका बेला सभापति देउवाले जसरी भएपनि संशोधन प्रस्ताव फिर्ता नहुँने स्पष्ट पारेका हुन् । एमालेले संसोधन प्रस्तावमा अवरोध पुर्‍याएर मधेशी–पहाडी झगडा गराउन खोजेको आरोप लगाए । एमाले जस्तो राजनीतिक पार्टीले नेपाली नागरिक बीच दुरी बढाउनु राष्ट्र बिरोधी कदम भएको उनले बताए । आगामी स्थानीय, प्रान्त र संघीय निर्वाचनमा कांग्रेसले बहुमत ल्याउनेगरी काम गर्न कार्यकर्तालाई उनले निर्देशन दिए ।

जहाँ एउटा सिटामोलको लागि एक दिन पैदल हिँड्नपर्छ

जाजरकोट, मंसिर ३० ।  जिल्लाका दुर्गम भेगका स्थानीय सिटामोल लिन स्वास्थ्य संस्था पुग्न एक दिन हिँड्न बाध्य छन् । भौगोलिक विकटताका कारण सामान्य रोगको उपचार पनि स्थानीयलाई सहज छैन । पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा दुर्गम गाउँका बासिन्दा सामान्य स्वास्थ्य उपचार सेवाबाट बञ्चित छन् । ‘गाउँबाट अस्पताल पुग्न एक दिन लाग्छ, त्यसैले घरेलु उपचारमै गाउँले निर्भर हुनु परेको हो ’, पुजारु ९ टीकाचौरका स्थानीय यमलाल पुनले भने, ‘उपचारका लागि बिरामीलाई अस्पताल लानु भन्दा गाउँलेहरु धामीझाँक्रीकै भर पर्छन् ।’ जिल्लाका अति दुर्गम गाविस दहको जुर्क, निपाने पजारुका् टीकाचौर, रुव ढिम्को समाइला, धनरासी भगवतीको सिउन, सीमाको लयकाँडालगायतका गाउँका बासिन्दा स्वास्थ्य सेवाबाट टाढा रहेका छन्आ । यो खबर आजको राजधानी दैनिकमा  छ ।

करेन्ट लागेर किशोरको मृत्यु

बैतडी, मङ्सिर २९ । करेन्ट लागेर आज बिहान दार्चुलामा एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुला धौलाकोट–४ का १८ वर्षीय सुरेन्द्र सिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले राससलाई जानकारी दिए । बिहान ७.३० बजे घरको छतमा लुगा सुकाउने क्रममा घरमाथि रहेको बिजुलीको तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका धामीको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा बिहान ९ बजे मृत भएको प्रहरी निरीक्षक चन्दले बताए ।

बत्तीस बिजुली चोर पक्राउ

गौशाला, मङ्सिर २८ । महोत्तरी प्रहरीले आज जिल्लाका विभिन्न स्थानबाट ३२ विद्युत चोरलाई पक्राउ गरेको छ । नेपाल विद्युत प्राधिकरण शाखा वितरण केन्द्र जलेश्वरको आग्रहमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको हो । प्रहरीले प्राधिरकणका कर्मचारीको सहकार्यमा जिल्लाका धिरापुर, एकरहिया, पिपरा, मटिहानी, सोनौल, हतिसर्वा, मेघनाथ गोरहन्ना, गौशाला नगरपालिका क्षेत्र र जलेश्वर नगरपालिका १५ र १६ लगायत स्थानबाट विद्युत् चोरीमा संलग्न रहेका भनिएकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले एक प्रगति विवरण प्रस्तुत गर्दै जानकारी गराए । जिल्लामा भइरहेको विद्युत् चोरीलाई नियन्त्रण गर्न प्राधिकरणले चलाएको अभियान अन्तर्गत उनीहरुबाट रु एक लाख ६० हजार जरिवाना समेत बरामद गरिएको प्रहरी निरीक्षक रवीन्द्र खनालले बताउनुभयो । यसअघि ७२ जनालाई प्राधिकरणले पहिले नै पक्राउ गरिसकेको छ । महोत्तरीमा ४२ हजार मिटरधारी विद्युत् उपभोक्ता रहेको बताइएको छ । करिब १० हजार व्यक्तिले विद्युत् चोरी गरेर उपभोग गरिरहेको विद्युत् कार्यालयका प्रमुख सूर्यनारायण मण्डलले आरोप लगाए ।

विमान दुर्घटनामा ४८ को मृत्यु

इस्लामावा, मंसिर २३ ।  पाकिस्तानको पर्यटकीय सहर चितरालबाट राजधानी इस्लामावाद आउँदै गरेको पाकिस्तान इन्टरनेसनलको विमान बुधबार दिउँसो दुर्घटनाग्रस्त भएको छ । विमानमा एक लोकप्रिय कलाकारसहित ४३ यात्रु र चालकदलका पाँच सदस्य थिए । विमानमा यात्रा गरिरहेका पाकिस्तानी पप गायक जुनेद जमशेद पछिल्लो समयमा धर्मगरु बनेका थिए । चितरालबाट दिउँसो ३ः३० बजे उडान भरेको उक्त विमान ४ः४० बजे इस्लामावादस्थित बेनजिर भुट्टो इन्टरनेसनल विमानस्थलमा अवतरण गर्ने तालिका थियो । तर ४ः१५ बजे राडारसँग विमानको सम्बन्ध विच्छेद भएको थियो । सबै यात्रुको मृत्यु भएको आशंका गरिए पनि पाकिस्तानी सेनाले बुधबार रातिसम्म २१ वटा शव फेला पारेको छ । सैनिकहरु उघार कार्यमा जुटेको सेनाले बताएको छ । आजको अन्नपुर्ण राष्ट्रिय दैनिकमा खबर छ ।

अवकाश उमेर हद ‘६० वर्ष’

काठमाडौं, मंसिर २२ । सरकारले निजामती कर्मचारीको अवकाश उमेर हद दुई वर्ष बढाउने तयारी गरेको छ। सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको अनिवार्य अवकाश उमेर ५८ वर्षबाट बढाएर ६० वर्ष पुर्‍याउन प्रक्रिया अघि बढाएको हो। मन्त्रालयले कर्मचारीको उमेर हद बढाउन निजामति सेवा ऐनको संशोधन मस्यौदा तयार पारेको छ। मस्यौदामाथि परामर्स जारी रहेको मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईले जानकारी दिए। उनका अनुसार स्वास्थ्य सेवा र संसदका कर्मचारीको उमेर हद ६० वर्ष रहेकाले सबैलाई समान गर्न निजामती कर्मचारीको उमेर हद पनि दुई वर्ष बढाउन लागिएको हो। यो खबर आजको नागरिक दैनिकमा छ ।

‘मधेस अलग हुन सक्छ’

काठमाडौं , मंसिर २० । राष्ट्रपतिसँगको छलफलमा मधेस केन्द्रित दलका नेताले मधेसमाथिको विभेद जारी रहे अलग्गै राज्य हुनसक्ने चेतावनी दिएका छन् । संविधानप्रति असन्तुष्टि जनाउँदै आएका मधेस दलका नेताले नश्लवादी सोच त्याग्न पनि आग्रह गरे । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसी जनतामाथि विभेद जारी रहेको बताउँदै प्रमुख राजनीतिक दललाई नश्लवादी सोच त्यागेर समस्या समधानमा लाग्न आग्रह गरेका छन् । ‘मधेसी अब यो सत्तासँग रहेनन्, अब मधेस पनि नरहन सक्छ,’ ठाकुरको भनाई उदृत गर्दै साहले भने, ‘मधेस अलग पनि हुनसक्छ ।’ आजको नागरिक दैनिकमा खबर छ ।

हात गुम्याे तर हिम्मत गुमेन

तत्कालीन दश वर्षे द्वन्द्वको क्रममा बेवारिसे बम लागेर दुबै हात गुमाएका म्याग्दीको बावियाँचौर–६ सल्यानका २८ वर्षे सुरेन्द्र खत्री । अपाङग सङ्घ म्याग्दीका सचिब रहेका उनी सामान्य मानिस सरह चम्चाले आफै खाना खान, मोबाइल इन्टरनेट चलाउन, कम्प्युटरमा टाइप गर्न, लेख्न र गाडी चलाउन सक्छन । तस्बिर : कमल खत्री, म्याग्दी  

बाँसबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले बॅासबारी जग्गा फिर्ताको प्रक्रिया अघि बढाएको छ । मालपोत कार्यालय, डिल्लिबजारले च्याम्पियन फूटवेयर प्रा।लि हाल चॅादबाग रेसिडेन्सी प्रालि बॅासबारीको नाममा २१ दिनमा उपस्थित हुन अन्यथा कानुन बमोजिम नेपाल सरकारको नाममा श्रेस्ता अध्यावधिक हुने भनि पत्र काटेको हो । टोखा नपा वडा नं. ६ का वडा अध्यक्षको रोहवरमा सन्चालक समितिको अध्यक्ष सन्जय ठाकुरलाई आज डिल्लिबजार कार्यालयले म्याद सहितको पत्र बुझाएको हो।

ओली सरकारले गिरिबन्धु टि-स्टेटको जग्गा सट्टापट्टा गर्न गरेको निर्णय कानुन विपरित, सर्वोच्चबाट बदर

काठमाडौं। सर्वोच्च अदालतले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको गिरिबन्धु टि–स्टेटको हदबन्दीभन्दा बढीको जग्गा सट्टापट्टा गर्ने निर्णय कानुनी प्रावधान अनुकूल नभएको फैसला गरेको छ। प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत, सपनाप्रधान मल्ल र सुष्मालता माथेमाको संवैधानिक इजलासले आज कानुनी प्रावधान अनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको ठहर गर्दै बदर हुने फैसला सुनाएको हो। फैसलामा भनिएको छ, “नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८र१र१३ को प्रत्यर्थी गिरीबन्धु टि स्टेट प्रालिलाई ३४३–१९–१२ बिघा जग्गा सट्टापट्टा गर्न स्वीकृति दिने विवादित निर्णय विवादित निर्णय भूमिसम्बन्धी ऐन, २०२१ को दफा १२ (ग) लगायतका कानुनी प्रावधानअनुकूल नदेखिएको र अपरिपक्व प्रकृतिको देखिएको हुँदा उत्प्रेषणको आदेशले उक्त निर्णय र सोबमोजिम भएरगरिएका काम कारबाहीसमेत बदर हुने ठहर्छ।”

प्रधानमन्त्रीबाट दुधौली नगर अस्पतालको समुद्घाटन

सिन्धुली । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको समुद्घाटन गरेका छन् । दुधौली नगरपालिकाले आज सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा उनले १५ शय्याको नगर अस्पतालको उद्घाटन गरेका हुन् । करिब रु १८ करोडको लागतमा निर्मित उक्त अस्पतालले दैनिक एक सय ५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । समारोहमा दुधौलीको स्थानीयले स्थानीय कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए ।