भारतमा कोरोना विष्फोटः एकैदिन थपिए २ लाख ५८ हजार कोरोना संक्रमित
नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले भयावह रुप लिएको छ ।
कैयन राज्य र केन्द्र सरकारले कोरोना प्रसार रोक्न प्रयास गरेपनि कोरोना ंसंक्रमितको संख्यामा भने हरेक दिन हजारौंले बृद्धि भइरहेको छ ।
आइतबार मात्रै भारतमा २ लाख ५८ हजार ०८९ संक्रमित थपिएका छन् । यो अवधिमा १ लाख ५१ हजार ४४५ जना संक्रमित निको भएका छन् भने ३८३ जनाको मृत्यु भएको छ ।
कोरोनाकै बीच भारतका कतिपय राज्यमा विधानसभाको निर्वाचन समेत हुन गइरहेको छ । कोरोनाको त्रासले शहरबाट गाउँ फर्किनेको लर्को लागेको छ ।
ओमिक्रोनका लक्षण भने ८ हजार जनामा देखिएको भारतीय मिडियाले जनाएका छन् । पहिलो र दोश्रो लहरको जस्तो मृत्यु दर नदेखिएपनि संक्रमण अझै बढने र मृत्युको संख्यामा समेत बृद्धि हुने आँकलन कतिपयले गरेका छन् ।
भारतका नयाँ दिल्ली, महाराष्ट्र, गुजरात, उत्तर प्रदेशलगायतका कतिपय राज्यले कोरोना रोकथामका लागि कडा उपाय अपनाएका छन् । तर यही गतिमा कोरोना बढदै जाने हो भने पहिलाजस्तै कडा लकडाउन लाग्ने आशंकामा मानिसहरु झनै आशंकित बनेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
कोलकाताविरुद्ध दिल्ली क्यापिटल्स ७ विकेटले विजयी
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध दिल्ली क्यापिटल्स ७ विकेटले विजयी भएको छ । केकेआरले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६.३ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । उसका लागि पृथ्वी शाले शानदार पारी खेले । उनले ४१ बलमा ११ चौका र तीन छक्कासहित ८२ रन बनाए । त्यस्तै, शिखर धवनले ४६, कप्तान ऋषभ पन्तले १६ र मार्कस स्टोइनिसले अविजित ६ रनको योगदान दिए । बलिङमा प्याट कमिन्सले तीन विकेट लिए । त्यसअघि, अहमदबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । उसका लागि छैटौँ नम्बरमा ब्याटिङका आएका अलराउन्डर आन्द्रे रसेलले आक्रामक पारी खेले । उनले २७ बलमा दुई चौका र चार छक्कासहित नटआउट ४५ रन बनाए । रसेलको आज जन्मदिन पनि हो । शुभमन गिलले ४१, राहुल त्रिपाठीले १९, नीतिश राणाले १५, दिनेश कार्तिकले १४, प्याट कमिन्सले अविजित ११ रनको योगदान दिए । बलिङमा ललित यादव, अक्षर पटेलले दुई/दुई, आवेश खान र मार्कस स्टोइनिसले एक/एक विकेट लिए । आजको जितसँगै दिल्ली अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले ७ म्याच खेल्दा पाँचमा जित र दुई खेलमा हारको सामना गरेको छ । केकेआरले भने सात म्याच खेल्दा दुई म्याचमा मात्र जित हासिल गरेको छ ।
एनबिए ब्याडमिन्टन अनिश्चितकालका लागि स्थगित
काठमाडौं : नेपाल ब्याडमिन्टन संघको आयोजनामा हुने भनिएको योनेक्स सनराईज एनबिए कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप अनिश्चित कालका लागि स्थगित भएको संघले जनाएको छ । कोरोनाको कहर बढे संगै नेपालमा पनि कोरोनाका बिरामीहरुको संख्यामा बृद्धि भइरहेको अवस्थालाई उच्च जोखिम मध्य नजर राख्दै नेपाल सरकार स्वास्थ्य मन्त्रालयको सूचनाअनुसार अर्को सूचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएको संघद्वारा जानकारी गराइएको छ । साथै खेलाडी सम्मानलाई पनि सोहि समयमा गरिने जानकारी गराएको छ । यस अघि चैत्र १५ गते देखि आयोजना गर्ने भनिएको प्रतियोगिता बैशाख ४ देखि ८ सम्मका लागि सारिएको थियो ।
अमेरिकाद्वारा चीनका ७ सुपर कम्यूटर समूहमाथि प्रतिबन्ध
वाशिङटन डिसी । अमेरिकाले चीनका सातवटा सुपर कम्युटर समूहलाई कालोसूचिमा राखेको छ । यी समूहहरुले चिनियाँ जनमुक्ति सेनाका लागि कम्प्युटर बनाउने गरेको अमेरिकाको आरोप छ । अमेरिकामा नयाँ सत्ता बहालीपछि चीनका बारेमा लिइएको यो पहिलो कदम हो । यसबाट चीनलाई अमेरिकी प्रविधि पाप्त गर्न झन कठीन हुने आँकलन गरिएको छ । बिहिबारका दिन तीन कम्पनी र चीनको राष्ट्रिय सुपर कम्प्युटिङ सेन्टरका चार शाखाहरुलाई कालोसूचिमा राख्ने निर्णय गरिएको अमेरिकाले जनाएको छ । यसबाट अमेरिकी कम्पनीहरु सरकारी अनुमति बिना चिनियाँ समूहका प्रविधि निर्यात गर्न सक्ने छैनन् । अहिले प्रतिबन्ध लगाइएका समूहहरु चीनको सुपर कम्युटिङ डेभलपमेन्ट परियोजनाको प्रतिनिधित्व गर्दछन् । साथै चीनको चीप आत्मनिर्भर योजनामा पनि प्रमुख भूमिका निर्वाह गर्ने विविसीले जनाएको छ ।
सकियो तीन दलबीचको बैठक, के भयो सहमति?
काठमाडौं : नेपाली कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) समक्ष आफ्नो पार्टीको नेतत्वमा सरकार बनाउने प्रस्ताव राखेको छ । माओवादी केन्द्र त्यसमा सहमत भए पनि जसपाले भने यसबारे छलफल गर्न समय माग गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार तीन दलको बैठक बोलाएका थिए । बूढानीलकण्ठस्थित आफ्नै निवासमा बसेको बैठकमा देउवाले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार माओवादी केन्द्र र जसपासँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव राखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी बाटोमा अगाडि बढेको भन्दै उनले बैठकमा भने, ‘यस्तो सरकारको नेतृत्वमा लोकतान्त्रिक चुनाव हुन सक्दैन । त्यसेले नयाँ सरकार बनाउन चाहेका छौं । त्यसबारे तपाईंहरूको धारणा के छ ?’ बैठकमा जसपा नेताहरूले नयाँ सरकारको औपचारिक प्रस्ताव आएकाले पार्टीमा छलफल गर्ने बताएका बैठकमा सहभागी एक नेताले बताए । यसबारे छिट्टै निर्णय गर्ने उनीहरुले बताए । जसपाका नेताहरुले मुद्दा फिर्ता, बन्दीहरुको रिहाई लगायतका मुद्दा पनि रहेको बताए । माओवादी केन्द्रले भने वर्तमान सरकारको विकल्प खोज्ने देउवाको प्रस्तावमा सहमति जनाएको छ ।
ज्योति लाइफकाे आईपीओमा आवेदन दिन त छुटेन ? १७ लाखले भरिसके अहिलेसम्म,आज अन्तिम दिन
ज्योति लाइफ इन्स्योरेन्सले फागुन २१ गतेदेखि निष्काशनमा ल्याएको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (फागुन २६ गते) अन्तिम दिन हो। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको हो। त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो। कम्पनीको आइपीओमा छिटोमा फागुन २६ गते आवेदन दिन सकिनेछ। त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा चैत ६ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरोशेयरको वेब तथा एप मार्फत पनि आईपीओमा आवेदन दिन सकिने व्यवस्था छ। कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले ‘केयरएनपी ‘आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यसले समय नै कम्पनीको दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित रहेको जनाउछ। हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। सर्वसाधारणलाई आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ भने धितोपत्र प्रत्याभुत गर्ने संस्थामा लक्ष्मी क्यापिटल रहेको छ।
मोरङमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ
विराटनगरः श्रीमतीको हत्या गरेको आरोपमा मोरङबाट एक व्यक्ति पक्राउ परेका छन् । मोरङको सुन्दरहरैचा नगरपालिका-५ की सावित्री दाहालको हत्यामा संलग्न भएको आरोपमा उनका श्रीमान ४४ वर्षीय विष्णु ऋषिदेवलाई प्रहरीले पक्राउ गरेको हो । गत आइतबार घरमै सावित्रीको शव भेटिएको थियो । शरीरमा निलडाम देखिएपछि प्रहरीले श्रीमानलाई पक्राउ गरेको थियो । पक्राउ परेका श्रीमानले कुटपिट गर्दा श्रीमतीको मृत्यु भएको स्वीकार गरेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले पक्राउ परेका ऋषिदेवमाथि म्याद थप गरी अनुसन्धान सुरु गरिएको बताए ।
दाङमा १३ वर्षीय बालकद्वारा ११ वर्षीया बालिका बलात्कृत
दाङः दाङमा ११ वर्षकी बालिका बलात्कृत भएकी छन् । बबई गाउँपालिकामा पर्ने ट्वाङखोलाको जङ्गल हुँदै नजिकैको गाउँमा जाँदै गर्दा बेलुकी ६ बजेतिर बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ । प्रहरीले बलात्कारको आरोपमा १२ र १३ वर्षका किशोरलाई पक्राउ गरेको छ । माछा मारेर फर्कदै गरेका किशोरहरुले बालिकालाई जङ्गलको बाटोमा एक्लै भेटेपछि १३ वर्षको किशोरले बलात्कार गरेको र १२ वर्षको किशोरले बालिकालाई समातेको प्रहरीको भनाइ छ । बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
मेयर कप क्रिकेट: उद्घाटन खेलमा त्रिभुवन आर्मी र पुलिस भिड्ने
काठमाडौं । काठमाडौंमा यसै साताको अन्त्यदेखि सुरु हुन लागेको काठमाडौं मेयर कप क्रिकेट २०७७ को खेलतालिका सार्वजनिक भएको छ । पाँच टोली सहभागी प्रतियोगिताको लिग चरणमा सबै टोलीले चार खेल खेल्नेछ । नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको तालिका बमोजिम फागुन २२ गते शनिबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल सशस्त्र प्रहरी बल(एपीएफ)सँग स्पर्धा गर्नेछ । दुबै टोली प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा गत् माघ महिनामा स्पर्धा गरेको थियो । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा खेलाइनेछ । शनिबार नै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लबले बागमती प्रदेशको सामना गर्नेछ । प्रतियोगिताको खेल तालिकाबमोजिम त्रिवि क्रिकेट ग्राउन्डमा फाइनल अतिरिक्त छ वटा खेल हुनेछ । लिग चरणमै मूलपानी क्रिकेट ग्राउन्डमा चार वटा म्याच खेलाइनेछ । लिग चरणमा उत्कृष्ट हुने दुई टोलीबीच फागुन २९ गते शनिबार त्रिवि क्रिकेट ग्राउन्डमा उपाधिका लागि स्पर्धा गर्नेछ । प्रतियोगिताको तयारी स्वरुप तीन वटा विभागीय र बागमती प्रदेशको टोलि तयारी अवस्थामा रहँदा काठमाडौं महानगरको मेयर–११ ले बुधबार मात्रै १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
तेस्रो टेष्टमा इंग्ल्याण्डमाथि भारतको १० विकेटले विजयी
काठमाडौं : इंग्ल्याण्डसँगको चार खेलको तेस्रो डे-नाइट टेष्ट म्याचमा भारत १० विकेटले विजयी भएको छ । इंग्ल्याण्डले दिएको ४९ रनको सामान्य लक्ष्य भारतले ७.४ ओभरमा बिनाविकेटको क्षतिमा भेट्टायो । उसका लागि रोहित शर्माले २५ र शुभमन गिलले १५ रन बनाए । भारतले तेस्रो टेष्ट म्याच दोस्रो दिनको खेल नसकिँदै जितेको हो । यो जितसँगै भारतले चार खेलको सिरिजमा २-१ ले अग्रता बनाएको छ । आजको जितसँगै भारतले टेष्ट च्याम्पियनशिप फाइनलमा पुग्ने सम्भावना जीवितै राखेको छ । इंग्ल्याण्ड भने आजको हारसँगै टेष्ट च्याम्पियनशिप फाइनलको दौडबाट बाहिरिएको छ । दोस्रो इनिङ्समा इंग्ल्याण्ड ८१ रनमै अलआउट दोस्रो इनिङ्समा इंग्ल्याण्डका लागि बेन स्टोक्सले २५, कप्तान जो रुटले १९, ओली पोपले १२ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङतर्फ दोस्रो पारीमा पनि स्पिनर अक्षर पटेलले उत्कृष्ट बलिङ गरे । उनले यो पारीमा १५ ओभरमा ३२ रन दिएर पाँच विकेट हात पारे । योसँगै अक्षरले डे-नाइट टेष्ट क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । अब उनी डे-नाइट टेष्टको एक म्याचमा सर्वाधिक विकेट लिने बलर बनेका छन् । उनले पहिलो पारीमा ६ र दोस्रो पारीमा ५ विकेट लिएका थिए । पटेलले दुवै पारीमा कूल ११ विकेट लिए । दोस्रो पारीमा रविचन्द्रन आश्विनले चार र वासिङ्टन सुन्दरले पनि एक विकेट हात पारे । इंग्ल्याण्ड पहिलो इनिङ्समा ११२ रनमै अलआउट भएको थियो । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले निकै खराब सुरुवात गर्यो । उसले ओपनिङ ब्याट्सम्यान डोम सिब्ली र तेस्रो नम्बरमा ब्याटिङमा आएका जोनि बेयरिस्टोलाई शून्यमै गुमाउन पुग्यो । पहिलो इनिङ्समा ज्याक कर्लीले ५५, कप्तान जो रुटले १७ र बेन फोक्सले १२ रन बनाए । ज्याक लिच (३), बेन स्टोक्स (६), स्टअर्ट ब्राड (३), ओली पोप (१) भने दोहोरो अंकमा रन जोड्न नपाउँदै पवेलिएन फर्किए । पहिलो पारीमा भारत १४५ रनमा अलआउट आजै भएको पहिलो इनिङ्समा भारत १ सय ४५ रनमै अलआउट भयो । भारतले पहिलो इनिङ्समा ५३.२ ओभर मात्र खेल्न सक्यो । उसका लागि रोहित शर्माले ६६, कप्तान विराट कोहलीले २३, रवीचन्द्रन आश्विनले १७, शुभमन गिलले ११ र इशान्त शर्माले अविजित १२ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा कप्तान जो रुट र ज्याक लिचले उत्कृष्ट प्रदर्शन गरे । रुटले ६.१ ओभरमा आठ रन दिएर पाँच विकेट लिए । टेष्टमा उनको यो उच्च बलिङ प्रदर्शन हो । यसअघि, टेष्टमा रुटको उच्च बलिङ प्रदर्शन ८७ रन दिएर चार विकेट लिनु थियो । त्यस्तै, लिचले २० ओभरमा ५४ रन दिएर चार विकेट हात पारे । जोफ्रा आर्चरले एक विकेट लिए । इंग्ल्याण्ड-भारतबीचको अन्तिम टेष्ट ४ मार्चदेखि अहमदाबादमै सुरु हुनेछ ।
इक्वेडर जेल दङ्गाः ज्यान गुमाउनेको संख्या ७९ पुग्यो
एजेन्सी । इक्वेडरमा गत मङ्गलबार जेलहरुमा भएको दङ्गामा परी ज्यान गुमाउने व्यक्तिको संख्या ७९ पुगेको प्रहरी स्रोतले बिहीबार जनाएको छ । इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले चार ओटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक सङ्गठनको हात रहेको आरोप लगाएका छन् । मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिँदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ । गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो । गतवर्ष देशका अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्न प्रयासको लागि जेलमा आपतकालिन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिएका थिए । गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुको साथै सात घाइते भएका थिए ।
जनकपुरधामस्थित एक होटेलमा युवतीको शव फेला
जनकपुरः जनकपुरधामस्थित एक होटेलमा एक युवती मृत फेला परेकी छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर-७ स्थित नमस्कार होटेल एण्ड गेस्ट हाउसमा अन्दाजी २२ वर्षीया एक युवती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनी होटेलको कोठामा झुण्डिएको अवस्थामा शनिबार साँझ फेला परेको मिश्रले बताए । उनी त्यस गेस्ट हाउसमा विगत २ दिनदेखि बस्दै आएकी थिइन् । मृतकको परिचय खुल्न सकेको छैन । घटना सम्बन्धमा थप अनुसन्धान कार्य अगाडि बढाइएको धनुषा प्रहरीले जनाएको छ ।
गौरिका र मन्देकाजी सर्वोत्कृष्ट खेलाडी घोषित
काठमाडौंः १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पौडितर्फ नेपाललाई ४ स्वर्ण पदक दिलाएकी गौरिका सिंह तथा करातेमा २ स्वर्ण दिलाएका मन्देकाजी श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले प्रदान गर्ने अवार्डका सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन् । भक्तपुरको मध्यपुर ठिमीमा आयोजना भएको कार्यक्रममा एनएनआईपिएले सागमा गरेको प्रर्दशनको आधारमा गौरिका र मन्देकाजीलाई सर्वोत्कृष्ट खेलाडी घोषणा गरेको हो । गौरिका र मन्देले ग्लोबल आइएमई बैंकबाट प्रायोजित समान १ लाख रुपैयाँ प्राप्त गरे । यस्तै एनएनआईपिएले तेक्वान्दोकी आयशा शाक्य र फुटबलका सुजल श्रेष्ठलाई एनएनआईपिए स्पोर्टस अवार्ड अन्तर्गत प्रतिभावान खेलाडीको अवार्ड प्रदान गर्दा गल्फका सुवास तामाङ र कुस्तीकी संगिता धामी एनएनआइपिए स्पोर्टस अवार्ड अन्तर्गत उदयीमान खेलाडी चुनिएर पुरस्कार थापे । आयशा र सुजलले युएसए एभरेष्ट तेक्वान्दोले प्रोजना गरेको समान ५० हजार रुपैयाँ प्राप्त गरे । पहिलो पटक समावेश गरिएको विधामा चुनिएका उदीयमान खेलाडी सुवास र संगिताले स्काई फिटबाट प्रायोजित समान ५० हजार रुपैयाँ प्राप्त गरे ।
फ्रान्सेली सेनाका दुई विमान तारसँग ठोक्किँदा दक्षिण फ्रान्समा पुरै अन्धकार
जमिन नजिकैबाट उडेका फ्रान्सेली सेनाका दुई विमान तारसँग ठोक्किँदा दक्षिण फ्रान्सको एक गाउँमा विद्युत् काटिएको छ। घटना बुधवार अपराह्न म्यानोस्क नजिकै ला क्यास्टले गाउँमा भएको हो। जमिनको सतह नजिकै उड्ने तालिमका लागि उडेका दुई रफाल विमानले तार काटेको ‘दुर्लभ घटना’बारे अनुसन्धान सुरु गरिएको छ। “यो यति तल आएको थियो कि यसले निकै ठूलो आवाज निकालेको थियो। मैले माथि हेरेँ र दोस्रो विमान देखेँ,” गाउँका मेयरले स्थानीय पत्रिकालाई बताएका छन्। “विमान यति तलबाट उडेको थियो कि मैले आफैँलाई भनेँ: यो विद्युत्को तारभन्दा तल जाँदैछ,” गाडी चलाइरहँदा विमान देखेका बेनोइट् ग्वाङ्गले बताए। अलि पर पुग्दा उनले तार जमिनमा झरेको देखे। “दुईमध्ये एक विमान तारमा ठोक्कियो र तार चुँडायो। मैले तत्काल आपत्कालीन सेवा र विद्युत् सेवा दिने कम्पनीलाई फोन गरेँ,” उनले भने। तार झरेपछि लागेको आगो तत्कालै नियन्त्रण गरिएको अर्को एउटा स्थानीय पत्रिकाले जनाएको छ। उक्त गाउँमा केही घण्टा विद्युत् बन्द भयो। सुरक्षाको कारण देखाउँदै केही समय सडकसमेत अवरुद्ध पारिएको थियो। “कोही पनि घाइते भएन। घटनाले विमानचालकलाई सुरक्षित रूपमा विमान अवतरण गराउन बाध्य पार्यो,” फ्रान्सेली एअर फोर्सका प्रवक्ताले ला प्रोभेन्स पत्रिकालाई भने।
संसद् विघटनः सकियो बहस, कहिले आउँला फैसला ?
काठमाडौं । संसद् विघटनविरुद्ध परेका १३ वटा रिटहरुको बहस शुक्रबार सकिएको छ । शुक्रबार सर्वोच्च बारको तर्फबाट एमिकस क्युरीका रुपमा गएकी गीता पाठक संग्रौलाले बहस गरेपछि संसद् विघटन मुद्दाको बहस सकिएको हो । बहस सकिएपछि सर्वोच्चले सोमबारसम्म बहस नोट पेश गर्ने समय दिएको छ भने ११ गतेदेखि हेर्दा हेर्दैमा राखिएको छ । यस्तै बहसको निर्णय मिति नतोकिएको तर ११ गतेपछि जहिलेसुकै फैसला हुन सक्ने प्रधानन्याधीश चोलेन्द्र शमशेर राणाले बताए । प्रधानमन्त्री केपी ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद् विघटन गरेकी थिइन् । प्रतिनिधिसभा विघटनविरुद्ध १३ मुद्दा सर्वोच्चमा परेका थिए । ती मुद्दामा संवैधानिक इजलासमा माघ ४ गतेदेखि निरन्तर सुनुवाइ भएको थियो । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा पहिले रिट निवेदकका तर्फका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि प्रधानमन्त्रीका वकिल र सभामुखका कानुन व्यवसायीले बहस गरेका थिए । त्यस्तै रिट निवेदकका कानुन व्यवसायीहरूले सोमबार जवाफी बहस पनि टुंग्याएपछि मंगलबारदेखि एमिकस क्युरीको पालो आएको थियो ।
४० करोड किमि यात्रा तय गर्दै ७ महिनामा मंगल ग्रहमा पुग्यो नासाको रोभर, ऐतिहासिक कदम भन्दै खुशियाली
अमेरिकी पर्सिभिअरन्स अन्तरिक्ष यान पृथ्वीबाट उडेको करिब सात महिना पछि मङ्गल ग्रहको सतहमा अवतरण गरेको । नेपाली समयानुसार शुक्रवार बिहान करिब २:४० बजे पर्सिभिअरन्स रोभरले मङ्गल ग्रहको सतहमा अवतरण गरेको हो। सफल अवतरणसँगै क्यालिफोर्नियास्थित कन्ट्रोल सेन्टरमा अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूले हर्षोल्लास मनाएका थिए। “हामीले गर्यौँ। हामी त्यहाँ पुग्यौँ,” उनीहरू खुसी हुँदै चिच्याइरहेका थिए। त्यसको केही समयमै रोभरले कैद गरेको तस्बिर सार्वजनिक गरिएको थियो। सर्फेस मिसन म्यानेजर जेसीका स्याम्युएल्सका अनुसार अब पर्सिभिअरन्सका सबै कुरा सञ्चालन गर्न सकिने अवस्थामा छ/छैन भनेर हेरिने छ। उक्त रोभरले रातभर आफ्नो ब्याट्री चार्ज गर्ने छ। यदि उचित वातवारण पाए जीवन ब्युँतिन्छ कि भन्ने प्रश्नको जवाफ खोजिनेछ यो सन् १९७०को दशकको भाइकीङ मिसन पछि मङ्गल ग्रहमा जीवनको सम्भावना बारे अध्ययन गर्ने नासाको सबैभन्दा महत्त्वाकाङ्क्षी परियोजना हो। एउटा कार जत्रो आकार रहेको अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ। संयुक्त अरब एमिरेट्सको मङ्गल ग्रह जाने पहिलो ऐतिहासिक यानको सफल प्रक्षेपण चीनको मङ्गल ग्रह अभियान अन्तर्गत अन्तरिक्षमा यान पठाइयो छ वटा पाङ्ग्रा भएको उक्त रोभर सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर मङ्गल ग्रहनजिक पुगेको हो। मङ्गल ग्रहको सतहमा सुरक्षित अवतरण गर्नुलाई यो मिशनको सबैभन्दा कठिन चुनौतीका रूपमा हेरिएको थियो। पर्सिभिअरन्समा राखिएको इन्जेन्युइटी नाम दिइएको हेलिकप्टरलाई भोलिबाट चलाइने वरिष्ठ वैज्ञानिक तथा हेलिकप्टर परियोजनाकी संयोजक मीमी अङ्गले बताइन। आगामी ३० दिनमा पाँच वटा उडान भर्ने मिशन तय गरिएको र त्यसले सम्भवतः मङ्गल ग्रहको सतहको उच्च गुणस्तरको तस्बिर उपलब्ध गराउने ठानिएको छ। एउटा ग्रहमा बसेर अर्कोमा उडान गरिने यो पहिलो फ्लाइट हो। अर्बौँ वर्ष अघि मङ्गल ग्रहको जेजेरो भनिने स्थानमा एउटा ताल रहेको र त्यसले जीवहरूलाई बाँच्न सहयोग गरेको हुन सक्ने ठानिएको छ। पर्सिभिअरन्स रोभर जेजेरो क्रेटरमा नै अवतरण गरेको हो। हालसम्म मङ्गल ग्रहमा १४ मिशनले अवतरण गर्ने प्रयास गरेकोमा आठ प्रयास सफल भएका छन्। ती सबै अमेरिकी अभियान हुन्। अमेरिकी प्रयास एकपटक मात्रै सन् १९९९ मा विफल भएको छ।