ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्यमा भारी गिरावट आएको छ ।

आज (बुधबार) सुनको मुल्य तोलामा रु ११ सय रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला रु ९० हजार ९ सय रुपौयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज तोलामा रु ११ सय रुपैयाँले घटेर प्रतितोला रु ८९ हजार ८ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै, तोजावी सुनको मुल्य प्रति तोला रु ८९ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तेजावी सुन तोलामा ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १३४० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । चाँदी मंगलबार तोलामा १३६० रुपैयाँमा कारोबार भएको थियो ।

उत्तराखण्डमा हिमनदी विष्फोट हुँदा १ नेपालीसहित ८ जनाको मृत्यु

नयाँदिल्ली — भारत, उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर धौलीगंगालगायतका नदीमा आएको बाढीका कारण कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै डेढ सय जनाभन्दा बढी सम्पर्कविहीन भएका छन् । भारतको उत्तराखण्ड चमोलीको तपोवन क्षेत्रमा आइतबार हिमनदी फुटेरआएको बाढीमा पुरिएकालाई उद्धार गरिएपछि खुसी हुँदै (पन्जा लगाएका) । तस्बिर : एपी चमोली जिल्लाका सूचना अधिकृत रवेन्द्र सिंहका अनुसार आइतबार साँझसम्म आठ जनाको शव भेटिएको छ । तीमध्ये एक जना नेपाली भएको सिंहले कान्तिपुरलाई बताए । उनका अनुसार ती नेपालीको नाम र ठेगाना खुलेको छैन । मृत्यु हुने सबै तपोवनस्थित नेसनल थर्मल पावर कर्पोरेसन (एनटीपीसी) को जलविद्युत् परियोजनामा कार्यरत मजदुर हुन् । ‘आठ जनाको शव फेला परेकामा एक जना नेपाली रहेको खुलेको छ, १२ जनाको जीवितै उद्धार गरिएको छ,’ सिंहले भने । बाढी आउँदा उनीहरू सबै परियोजनाको सुरुङमा कार्यरत थिए । अझै १ सय ५४ जना हराइरहेको उनले बताए । दुई दिनअघि उत्तराखण्डको जोशीमठ नजिकको हिमाली क्षेत्रमा हिउँपहिरो गएको र त्यही कारणले आइतबार बिहान करिब १० बजे आसपासमा हिमनदी फुटेको बताइएको छ । हिमनदी फुटेपछि धौलीगंगा, अलकनन्दालगायत नदीमा बाढी आएको थियो । धौलीगंगाको बाढीले चमोली जिल्लाको रैनी र तपोवन क्षेत्रमा ठूलो मात्रामा जीउधनको क्षति पुर्‍याएको छ । हिमनदी फुटेको क्षेत्र नजिकका दुईवटा गाउँ बगेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । बाढीले जोशीमठमा एउटा पुल पनि बगाएको छ । बाढीका कारण चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । त्यसमा पनि रैनी गाउँको तपोवनस्थित ऋषिगंगा जलविद्युत् परियोजनामा बढी क्षति भएको छ । परियोजनाको त बाँध नै भत्किएको छ । हराइरहेकामध्ये अधिकांश यही परियोजनामा काम गर्ने मजदुर भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । तपोवन क्षेत्रमा सञ्चालनमा रहेको विष्णुगाढ जलविद्युत् परियोजनामा पनि क्षति पुगेको छ । परियोजनाको सुरुङमा फसेका १६ जनालाई इन्डो–तिब्बत बोर्डर पुलिसले उद्धार गरेको छ । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतले आइतबारै चमोली जिल्लाको रैनी, तपोवनलगायत बाढी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए । उद्धारका लागि केन्द्र सरकारले सेनाको दुईवटा विशेष विमानमा उद्धार टोली दिल्लीबाट पठाएको थियो । यसैबीच उत्तराखण्ड राज्य सरकारले मृतकका परिवारलाई चार लाख भारु दिने घोषणा गरेको छ । प्रदेश सरकारले गंगा नदीका सबै तटीय क्षेत्रमा हाई अलर्ट जारी गरेको छ । उत्तरप्रदेश सरकारले पनि गंगाका तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरेको थियो । उत्तराखण्ड सरकारले गंगा नदीमा पानीको बहावलाई सामान्य बनाउन भागीरथी नदीमा बनाइएको तेहरी बाँध बन्द गरेको छ । उत्तराखण्डकै देवप्रयागमा भागीरथी र अलकनन्दा मिसिएपछि गंगाका नामले चिनिन्छ । पश्चिम नेपालबाट बर्सेनि हजारौंको संख्यामा नेपाली रोजगारीका लागि उत्तराखण्ड जाने गर्छन् । तिनीहरूमध्ये अधिकांशले भारी बोक्ने र सडक एवं विद्युत् परियोजनामा काम गर्ने गरेको भेटिन्छ । त्यही भएर पनि पछिल्लो घटनामा थप नेपाली परेको हुन सक्ने आशंका गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासले नेपालीको सम्बन्धमा जानकारी लिने प्रयास भइरहेको बताएको छ । दूतावासका नियोग उपप्रमुख रामप्रसाद सुवेदीले नेपालीका अवस्था बुझ्न दूतावासको पूरै टिम लागेको बताए । ‘दूतावासको पूरै टिम नेपालीको पछिल्लो अवस्था बुझ्न लागिपरेका छौं, स्थानीय प्रशासनसँग सम्पर्क गरिरहेका छौं,’ सुवेदीले भने । यसअघि, २०७० जेठ ३० मा बद्री–केदारनाथ क्षेत्रमा आएको बाढीपहिरोमा परेर ५ हजार ७ सय तीर्थयात्री र स्थानीय श्रमिकको ज्यान गएकामा झन्डै ५ सयजति नेपाली रहेको अनुमान रहँदै आएको छ । उक्त विपत्तिमा परेर हराउने १ सय ७० नेपालीको ‘प्रमाणित बेपत्ता सूची’ दिल्लीस्थित नेपाली दूतावासको अभिलेखमा राखिएको छ । ‘आइतबारको हिमपहिरोको मुख्य स्थान जोशीमठ भनेकै नेपाली श्रमिकको चहलपहल रहने क्षेत्र हो,’ उत्तराखण्डको हरिद्वार–ऋषिकेश क्षेत्रमा नेपाली समाजका समन्वय गरिरहेका पुष्पराज पाण्डेयले कान्तिपुरसँग फोनमा भने, ‘जोशीमठ, बद्रीनाथ रोड आसपास सम्पर्कमा रहँदै आएका नेपाली कामदार, ठेकेदार तथा स्थानीयवासी पनि सम्पर्कबाट बाहिर छन्, सबैभन्दा ठूलो क्षति नेपाली श्रमिकमाझ परेको देखिन्छ ।’ उत्तराखण्डको बद्री–केदारनाथ, जोशीमठ क्षेत्रमा अधिकांशजसो सल्यान, रुकुम, रोल्पा, दाङ, कालीकोट, जाजरकोट, बझाङ, बाजुरा आदि जिल्लाबाट आएका श्रमिकहरू भेटिने गर्छन् । आवतजावतमा कहींकतै रेकर्ड राख्ने पद्धति नहुँदा र कामदारको स्थानीय अभिलेखीकरणसमेत नहुँदा आइतबारको प्राकृतिक विपत्तिमा कति नेपाली परेका छन् भन्ने निर्क्योल गर्न मुस्किल हुने पाण्डेयले बताए । काठमाडौंमा परराष्ट्र मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै उत्तराखण्डमा आएको प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाउने र बेपत्ता हुने नागरिकका परिवारजनमा शोक र सहानुभूति व्यक्त गरेको छ । कान्तिपुर दैनिकबाट

डब्लुएचओको टोली कोभिड–१९ फैलिएको वुहानमा

वुहान, चीन । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको वुहान बजारको भ्रमण गरेको छ । समूहका सदस्यहरुले हुआनानको सामुद्रिक जीव बजारको भ्रमण गरेका थिए । यो बजारलाई गत वर्षको जनवरीदेखि नै सिलबन्दी गरिएको छ । एएफपीका पत्रकारहरुका अनुसार सुरक्षाकर्मीले डब्लुएचओका सदस्यलाई मात्र बजारभित्र प्रवेश दिएका थिए । चीनले गरेको ढिलाइ एवं राजनीतिक आरोहअवरोहका बीच डब्लुएचओको टोलीले जनावरबाट मानिसमा भाइरस कसरी सरेको थियो भन्ने अनुसन्धान गर्न खोजेको छ । तर भाइरसको स्रोत पहिचान गर्न निकै कठिन रहेको डब्लुएचओले अड्कल गरेको छ । वुहानबाटै फैलिएको आशंका गरिएको कोरोनाभाइरसको संक्रमणबाट विश्वभर २० लाखभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने विश्वको अर्थव्यवस्था नै संकटमा उभिएको छ । आइतबार डब्लुएचओको अनुसन्धान टोली हुआनानको बजार अनुगमन गर्न आइपुगेको थियो । डब्लुएचओको टोलीमाथि चिनियाँ अधिकारीहरुले निकै गम्भीरतापूर्वक नियालिरहेका छन् । चिनियाँ अखबार ग्लोबल टाइम्सले भाइरसको स्रोत वुहानको बजार नभएको दाबी गर्दै खबर प्रकाशन गरिरहेको छ । चिनियाँ अधिकारीहरुले कोभिड–१९ लाई नियन्त्रणमा ल्याउन चीन सरकारले अपनाएको कदम र नागरिकले दिएको साथ अमूल्य रहेको बताउँदै आएका छन् । चीनमा कोभिड–१९ को संक्रमणबाट चार हजार ६३६ जनाको मृत्यु भएको आधिकारिक विवरणमा उल्लेख छ ।

बीबीएलमा होबार्टको सातौँ जित, आज पनि सन्दीपको उत्कृष्ट प्रदर्शन

काठमाडौं : अष्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल)अन्तर्गत सिड्नी सिक्सर्सविरुद्ध होबार्ट हरिकेन्स ७ रनले विजयी भएको छ । होबार्टको जितमा कप्तान म्याथ्यू वेड, डार्सी सर्ट, नाथन इल्स, स्टकट बोल्याण्ड र सन्दीप लामिछानेको महत्वपूर्ण योगदान रह्यो । मेलबर्नमा होबार्टले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको सिड्नीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनायो । उसका लागि जोर्डन सिल्कले ७८, कप्तान मोइसेस हेनरिक्सले ४३, जोश फिलीपले १२, डानियल ह्युजले ११ रन बनाए । बलिङमा नाथन इल्सले ३, स्कट बोल्याण्ड, सन्दीप लामिछानेले २/२ र रिले मेरिडेथले एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको होबार्टले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनायो । उसका लागि कप्तान म्याथ्यू वेड र डार्सी सर्टले उत्कृष्ट ब्याटिङ गरे । कप्तान वेडले ४४ बलमा १० चौका र तीन छक्कासहित ८६ र डार्सीले ५२ बलमा सात चौका र तीन छक्कासहित ७२ रन बनाए । त्यस्तै, डेविड मलानले ११ रन बनाउँदा अन्यले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा शन एबट, ज्याक बल, बेन द्वाह्युचले २/२ र डानियल क्रिस्टियनले एक विकेट लिए । सिड्नीविरुद्ध यस्तो रह्यो सन्दीपको चार ओभर सिड्नी सिक्सर्सविरुद्ध होबार्ट हरिकेन्समा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले आज चार ओभरमा महत्वपूर्ण २ विकेट लिएर २४ रन खर्चिए । सन्दीपले आफ्नो तेस्रो ओभरको चौथो र पाँचौ बलमा कप्तान हेनरिक मोइसेस र स्टार अलराउन्डर डानियल क्रिस्टियनको विकेट लिए । मोइसेसलाई सन्दीपले ४३ रनमा क्याच आउटको सिकार बनाए । क्रिस्टियनलाई भने उनले शून्य रनमै क्लिन बोल्ड गरे । सन्दीपले आज पहिलो ओभरमा बिनाविकेट ८, दोस्रो ओभरमा बिनाविकेट ६, तेस्रो ओभरमा २ विकेटसहित ८ र अन्तिम ओभरमा बिनाविकेट ३ रन खर्चिए । योसँगै जारी सिजनमा सन्दीपले ७ म्याच खेल्दा ८ विकेट लिएका छन् । आजको जितसँगै होबार्ट पाँचौ स्थानमा उक्लिएको छ । आजको जितले होबार्टले प्लेअफमा पुग्ने सम्भावना जिवितै राखेको छ । अब उसले लिग चरणको अन्तिम खेल मंगलबार मेबर्न रेनेगेड्सविरुद्ध खेल्ने छ ।

अनलाइन सञ्चारमाध्यम नवीकरण गर्ने व्यवस्था खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं : अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानको खारेज गर्न माग गर्दै आज सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । पत्रकार तथा अधिवक्ताद्वय लीलानाथ घिमिरे र विष्णु गिरी ‘निश्चल’ले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधानविरुद्ध रिट दायर गरेका हुन् । अधिवक्ताद्वयले नेपालको संविधान तथा सञ्चारसम्बन्धी कानुनले पत्रपत्रिकाको दर्ता कहिल्यै खारेज नहुने व्यवस्था गरेको अवस्थामा सूचना तथा प्रसारण विभागले दर्ता गरेर सञ्चालन अनुमति दिएका अनलाइन पत्रपत्रिकालाई भने हरेक आर्थिक वर्ष सकिएपछि नवीकरण गर्नै पर्ने बाध्यकारी व्यवस्था गरेर संविधानसँग बाझिने व्यवस्था गरिएकाले उक्त प्रावधान खारेजीको माग गरिएको छ । सो रिटको पेसी बुधबार तोकिएको सर्वोच्चले जनाएको छ । अनलाइन सञ्चारमाध्यम सञ्चालन (पहिलो संशोधन) निर्देशिका २०७४ मा अनलाइन सञ्चारमाध्यम दर्ता भएपछि नवीकरण गर्नुपर्ने व्यवस्था गरिएकोे छ । एकपटक दर्ता भइसकेका अनलाइन समयमा नवीकरण नगरे सूचना तथा प्रसारण विभागले दर्ता खारेज गर्ने व्यवस्था गरेको छ । नेपालको संविधान २०७२ ले समेत प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको छ । संविधानको धारा १७ ले स्वतन्त्रताको हक, धारा १८ ले समानताको हक, धारा १९, धारा २७ ले सूचनाको हक प्रदान गरेको छ । रिट निवेदक अधिवक्ता गिरीले संविधानले प्रदान गरेको अधिकारलाई कानुन बनाएर व्यवस्थित गर्न सकिने बताए । तर कानुनमै नभएको कुरा निर्देशिका जारी गरेर अङ्कुश लगाउन नहुने उनको भनाइ छ ।

वर्तमान सरकार स्थायित्वको सरकार होः प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिरताको सरकार भएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले निर्वाचन लडेर आएको प्रधानमन्त्रीलाई बीचमा षड्यन्त्र गरेर हटाउन खोज्ने प्रयास भए पनि अहिलेको सरकार स्थायित्वको भएको स्पष्ट गरे । ‘निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिने स्थिति स्थायित्व र स्थिरताको होइन, अहिले चाहिँ हो’, प्रधानमन्त्री ओलीले भने, ‘अहिले कसैले चाहेर पनि प्रधानमन्त्री हटाउन सक्दैन ।’ केही व्यक्तिले प्रधानमन्त्रीबाट राजीनामा दिएको भए हुने भन्ने सुझावलाई प्रधानमन्त्रीले भने, ‘कतिपयलाई केपी ओलीले थपक्क पद छाडिदिए हुन्थ्यो भन्ने लागेको होला, किन छाड्ने ? कसलाई छाड्ने ? यो प्रधानमन्त्रीको जिम्मेवारी हो । यो जनताले सुम्पिएको अभिभारा हो । जस्तोसुकै अवस्थामा जस्तासुकैलाई पनि सुम्पिन मिल्दैन ।’ उनले बहुमत कसैको आएन भने, दुई वा दुईभन्दा बढी दलले सरकार बनाउन सकेन भने, प्रधानमन्त्रीले एक महिनामा विश्वासको मत ल्याउन सकेन भने प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट निर्वाचनको नयाँ मिति तोक्ने सक्ने व्यवस्था भएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले थपे, ‘चुनाव हुनु अस्थिरता होइन, संविधानको सही तरिकाले कार्यान्वयन नहुनु अस्थिरता हो, संवैधानिक बाटोबाट जाँदा अस्थिरता हँुदैन ।’ प्रतिनिधिसभा विघटन असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई न्याय प्रदान गर्न बाधा पुर्याउने उद्देश्यले हुने काम रोक्नुपर्नेमा जोड दिए । ‘पूर्वन्यायाधीशहरुले कस्तो न्याय दिनुभयो होला, स्वतन्त्र न्यायलयमा यस्तो हुन्छ, उस्तो हुन्छ भनेर दवाव दिनुभएको छ’, प्रधानमन्त्री ओलीले भने, ‘उहाँहरुले राजनीतिक पक्षधरता लिएर काम गर्नुभएको छ, आफ्नौ हैसियतको दुरुपयोग गरेर न्यायालयलाई दुरुपयोग गर्नुभएको छ, न्यायालयलाई दबाबमा पार्नुहुँदैन ।’ उनले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले अदालतको स्वतन्त्रता र शक्तिपृथकीकरणको सिद्धान्तलाई मानेर अघि बढेको पनि स्पष्ट पारे । देशमा अस्थिरता फिँजाउने साझा प्रयास भइरहेको जनाउँदै प्रधानमन्त्री ओलीले कर्तव्यबोध र जिम्मेवारीका साथ निर्वाचनमा जान सबैलाई आग्रह गरे । प्रधानमन्त्री ओलीले नेपालको अन्तरराष्ट्रिय सम्बन्ध तथा दुई छिमेकीबीचको सम्बन्ध सुमधुर भएको पनि बताए । वर्तमान सरकार कोभिड– १९ का बेलामा दूरी कायम गरी चेतना जगाएर अघि बढेको र छिट्टै खोप ल्याएर समस्या समाधान गर्ने तयारी गरेको उनले जानकारी दिए । ‘सरकारलाई सबैभन्दा ठूलो महत्व नेपाली जनताको ज्यान हो, जनताको जीवन रक्षा गर्न सरकार सदा तयार छ’, प्रधानमन्त्री ओलीले भने, ‘एकैदिन हामीले ३९६ अस्पतालको शिलान्यास गर्ने तयारी गरेका थियौँ, ३०९ स्थानमा अस्पतालको शिलान्यास भयो, अरु पछि भयो, यस्तो कुनै वर्ष भएको थियो ? कुनै सरकारले गरेको थियो ।’

ओली निकट कार्यकर्ताद्वारा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार

चितवनः प्रधानमन्त्री केपी शर्मा ओली निकट कार्यकर्ताहरुले नेकपा नेता सुरेन्द्र पाण्डेमाथि दुर्व्यवहार गरेका छन् । शनिबार नेकपा चितवन राप्ती नगर कमिटीले आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रममा ओली निकट कार्यकर्ताहरुले पूर्व अर्थमन्त्री समेत रहेको स्थायी समिति सदस्य पाण्डेमाथि दुर्व्यवहार गरेका हुन् । कार्यक्रममा नेता पाण्डेले बोलिरहेका समयमा कमिटीभन्दा बाहिरका २० जना बढीको समूह बैठकस्थलमा प्रवेश गरी नारावाजी गर्दै पाण्डेलाई बोल्नबाट रोकेका थिए । उनीहरुले ‘गुटको भेला गर्न पाइँदैन’, ‘पार्टी एकता जिन्दावाद’, ‘राजनेता केपी ओली जिन्दावाद’लगायतका नारा लगाएर बैठक तथा प्रशिक्षण कार्यक्रममा अवरोध पुर्याएकोले कार्यक्रम स्थगित गरिएको नगर कमिटी ईन्चार्ज मानबहादुर स्याङ्बोले बताए । उक्त टोली साविकको युवा संघ चितवनका नेता केदार आचार्य र अनेरास्ववियुका नेता सुरज थपलियाको नेतृत्वका आएको बताइएको छ । थपलिया प्रदेश कृषि मन्त्री धावा लामाको ज्वाइँ तथा स्वकीय हुन् । उनी प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जगन्नाथ थपलियाको छोरा समेत हुन् । नेकपा राप्ती नगर कमिटीका अध्यक्ष इमानसिंह लामाले कार्यक्रमको स्थगितपछि कमिटीको बैठक बसेर उक्त क्रियाकलाप्रति खेद समेत प्रकट गरिएको बताए । उनले केही साथीहरुले कार्यक्रममा आएर उछ्रिंखलता देखाएको आरोप लगाए ।  

भारतमा कोरोना संक्रमितको संख्या ८२ लाख २९ हजार नाघ्यो

नयाँदिल्ली : भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार २३० जना नयाँ संक्रमित थपिएका छन् भने ४९६ जनाको मृत्यु भएको छ । कोभिड-१९ बाट संक्रमितमध्ये करिब ७५ लाख ४४ हजार ७९८ व्यक्ति संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को संक्रमणबाट हालसम्म १ लाख २२ हजार ६०७ जनाको मृत्यु भएको छ । केही दिनदेखि नयाँ संक्रमित र मृत्यु दरमा निरन्तर कमी आएको छ । गत २४ घण्टामा भारतमा ५३ हजार २८५ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ । भारतभरी हाल पाँच लाख ६१ हजार ९०८ जना सक्रिय संक्रमित रहेका छन् । भारतको महाराष्ट्र राज्य सबभन्दा प्रभावित राज्यको रुपमा रहेको छ । यहाँ १ लाख २५ हजार ६७२ जना सक्रिय संक्रमित रहेका छन् । त्यसपछि दोस्रो स्थानमा केरला रहेको र यहाँ ८९ हजार ७८३ जना सक्रिय संक्रमित रहेका छन् ।

आईपीएल : राजस्थानमाथि केकेआरको शानदार जित

काठमाडौं  : यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध राजस्थान रोयल्स ६० रनले पराजित भएको छ । केकेआरले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रन मात्र बनाउन सक्यो । उसका लागि राहुल तेवटियाले ३१, जोश बटलरले ३५, बेन स्टोक्सले १८, श्रेयस गोपालले अविजित २३, रोबिन उथप्पा, जोफ्रा आर्चरले ६/६, कप्तान स्टिभ स्मिथले ४, कार्तिक त्यागीले २ र सञ्जु सामसनले १ रन बनाए । बलिङमा प्याट कमिन्सले ४, वरुण चक्रवर्तीले ३, शिबम माबीले २ र कमलेश नगरकोटीले एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनायो । उसका लागि कप्तान इयोन मोर्गनले शानदार ब्याटिङ गरे । उनले आज ३५ बलमा ६ छक्का र ५ चौकासहित अविजित ६८ रन बनाए । त्यस्तै, शुभमन गिलले ३६, राहुल त्रिपाठीले ३९, आन्द्रे रसेलले २५ र प्याट कमिन्सले १५ रन बनाए । सुनील नारायण, नीतिश राणा र दिनेश कार्तिक भने आज शून्यमै आउट भए । बलिङमा राजस्थानका राहुल तेवटियाले ३, जोफ्रा आर्चर र श्रेयस गोपालले एक/एक विकेट लिए । आजको हारसँगै राजस्थान ‘प्लेअफ’दौडबाट बाहिरिएको छ । राजस्थान ‘प्लेअफ’दौडबाट बाहिरिने तेस्रो टोली हो । यसअघि किंग्स इलावेन पञ्जाब र चेन्नई सुपर किंग्स (सीएसके) पनि अन्तिम चार पुग्न असफल भएका छन् । आईपीएल २०२० मा राजस्थानले १४ खेलमध्ये ६ म्याच मात्र जित हासिल गर्न सफल भयो । केकेआरको भने ‘प्लेअफ’पुग्ने सम्भावना जीवितै छ । उसले लिग चरणका १४ म्याचमध्ये ७ मा जित र ७ खेलमा हारको सामना गरेको छ ।

मालीमा सैनिकहरूले नागरिक सरकार गठन गर्ने

काठमाडौंः पश्चिम अफ्रिकी देश मालीमा सेनाले गरेको सत्तापलटको अन्तर्राष्ट्रिय स्तरबाट गरिएको निन्दामा संयुक्त राष्ट्रसङ्घ पनि जोडिएको छ। सैनिकहरूले नियन्त्रणमा लिएको केही घन्टापछि राष्ट्रपति इब्रहिम बुबाकार केयटाले राजीनामा दिएको घोषणा गरेका थिए। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकले क्षेत्रीय सङ्गठनहरूले जस्तै आवाज उठाएको छ। उसले अझै पनि सैनिक नियन्त्रणमा रहेका राष्ट्रपति केयटासहित सबै सरकारी अधिकारीहरूलाई तत्काल मुक्त गर्न र संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न माग गरेको छ। ‘शक्ति हस्तान्तरण गर्ने’ अफ्रिकी सङ्घले यसअघि मालीको सदस्यता निलम्बन गरिसकेको छ। अमेरिकार र फ्रान्सले पनि उक्त घटनाको निन्दा गरेका छन्। तर सैनिक विद्रोहमा संलग्नहरूले देशलाई थप अराजकताबाट जोगाउन कदम चालेको बताएका छन्। नागरिक सरकार गठन गर्ने र नयाँ चुनाव गराउने उनीहरूको भनाइ छ। राजधानी बमाकोमा बोल्दै उनीहरूले आफूहरूले शक्ति साँच्न नचाहेको उल्लेख गर्दै नागरिक सरकार गठन गरेर शक्ति हस्तान्तरण गर्ने बताए। उनीहरूले आफूहरूका कारण राजीनामा दिन बाध्य भएका राष्ट्रपतिको कदमको स्वागत गर्दै शुक्रवार विजय र्‍यालीको आह्वान गरेका विपक्षी नेतासँग भेट गरेका छन्। तर उक्त वार्तापछि यसअघि भएका सरकारविरोधी प्रदर्शनहरूको अगुवाइ गरेका एक चर्चिक धार्मिक अगुवा महमुद डिको राजनीतिबाट पछि हट्ने घोषणा गरिएको छ। केयटा राष्ट्रपतिको दोस्रो कार्यकालयको निम्ति सन् २०१८ को चुनावमा निर्वाचित भएका थिए। तर उनले जुन महिनादेखि भ्रष्टाचार, आर्थिक अवस्था र विवादित संसदीय चुनावलाई लिएर ठूलो सडक प्रदर्शनको सामना गर्दै आएका थिए। माली विश्वका गरिब देशहरूमध्ये पर्छ, जसले कैयौँ पटक सैनिक सत्तापलटको अनुभव बेहोरेको छ। अहिले उक्त देश जातीय हिंसा र जिहादी आक्रमणको लहर नियन्त्रणको निम्ति लडिरहेको छ। बीबीसी

चन्द्रागिरिले पाँच हजार व्यक्तिको पीसीआर परीक्षण गर्ने

काठमाडौंः चन्द्रागिरि नगरपालिकाले पाँच हजार व्यक्तिको पीसीआर परीक्षण गर्ने भएको छ । काठमाडौं उपत्यकाको मुख्य प्रवेशद्धारमा रहेको चन्द्रागिरिले नगरपालिकाभित्रका पाँच हजार व्यक्तिको पीसीआर परीक्षण गर्न लागेको हो । नगरपालिकाका प्रमुख घनश्याम गिरीले प्रत्येक वडामा ३०० व्यक्तिका दरले पीसीआर परीक्षण गर्न लागेको जानकारी दिए । ‘नगरपालिकाभित्र अग्र भागमा खटेर काम गर्ने व्यक्तिको पीसीआर परीक्षण गर्न लागेका हौँ’, उनले भने । नगरपालिकाभित्रका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, औषधि र नाइ पसलमा कार्यरत व्यक्तिको पिसिआर परिक्षण गर्न लागिएको हो । नगरपालिकाले नेपाली सेनाको सहकार्यमा उक्त परीक्षण गर्न लागेको हो । सङ्क्रमितको उपचारका लागि नगरपालिका–१ दहचोकमा रहेको मनमोहन अस्पतालमा आइसोलेसन सेन्टर स्थापना गर्न लागिएको छ । यसै हप्ताबाट सञ्चालनमा आउने उक्त आइसोलेसन २०० श्ययाको हुनेछ । हाल सशस्त्र प्रहरी अस्पताल बलम्बुको सहकार्यमा चन्द्रागिरिका बासिन्दाको कोरोना परिक्षण गराइएको छ । चन्द्रागिरिमा हालसम्म ३४ जनामा कोरोना सङ्क्रमण देखिसकेको छ । यसअघि नगरपालिकाले स्वास्थ्य सेवा विभागको सहकार्यमा नागढुङ्गाबाट काठमाडौं भित्रिने पाँच हजार बढी यात्रुको पीसीआर परीक्षणका लागि स्वाव सङ्कलन गरेको थियो ।

चिनियाँ सेनासँग हात हालाहालमा २० भारतीय सैनिकको मृत्यु

भारत र चीनबीच गलबाङ  उपत्यकामा भएको हात हालाहालमा मारिने भारतीय सैनिकको संख्या २० भन्दा बढी रहेको भारतीय समाचार एजेन्सीहरूले पुष्टि गरेका छन्।  सोमबार राति भएको उक्त हिंस्रक झडपमा एक जना उच्च सैनिक अधिकारीको समेत ज्यान गएको बताइन्छ।  दुई देशबीच १९६२ को युद्धयता सबैभन्दा ठूलो सैन्य हताहति भएको बताइएको छ।  सुरुमा सार्वजनिक समाचारहरूमाँ यस भिडन्तमा एक कर्नेललगायत तीन सैनिक मारिएको समाचार आएको थियो ।  भारतीय सेनालाई उद्धृत गर्दै समाचार संस्थाहरूले दुई  देशका सेनाबीचको कुटाकुटमा घाइते भएका कम्तिमा पनि १७ जनाको हाइपोथर्मियाका कारण मृत्यु भएको जनाएको छ।  चलेन गोली भिडन्तमा गोली हानाहान नभई कुटाकुट भएको हो।  जवानहरूबीच भएको कुटाकुटमा  रड, लट्ठी र ढुङ्गा हानाहान भएको बताइएको छ।  गलवाङ उपत्यका लद्दाखनजिक भारत र चीन सीमानामा पर्दछ। भारतीय समाचार संस्था एएनआईले उक्त भिडन्तमा चीनतर्फ पनि ठूलो हताहति भएको जनाएको छ। चीनले भने आफ्नोतर्फ कुनै हताहति भएको आधिकारिक पुष्टि गरेको छैन।  चिनियाँ जनमुक्ति सेनाको वेस्टर्न थिएटर कमाण्डका प्रवक्ता झाङ्ग सुइली भारतीय सेनाले चिनियाँ क्षेत्रमा अनधिकृत गरेको र उक्साउने कारवाही गरेपछि दुई देशका सेनाबीच भीषण शारीरिक भिडन्त भएको बताएका छन्।  चिनियाँ सामाजिक सञ्जाल वीबोमा स्टेटस प्रकाशित गर्दै सुइलीले लेखिका छन्, “भारतीय सेनाले आपसी समझदारी भङ्ग गर्दै एकपल्ट फेरि लाइन अफ एक्चुअल कन्ट्रोलमा गैरकानूनी रूपमा प्रवेश गरेका थिए। “ उनले अगाडि भनेका छन् “भारतीय पक्षलाई सीमामा रहेका सैनिकलाई सबै उक्साहटका कारवाही बन्द गर्न र चीनसँग मिलेर वार्ता र संवादबाट असहमतिहरूबारे समाधान निकाल्न माग गर्छौं।” विवादको कारण भारतले बनाउँदै गरेको सडक गलवाङ उपत्यकामा केही दिन यता दुई देशबीच तनाव रहँदै आएको छ।  दुई देशबीच विवादित रहेको उक्त क्षेत्रमा भारतले सडक बनाउन थालेपछि देशका सेनाबीच तनाव सुरु भएको हो। चीन र भारतबीच अक्साइचीन र अरुणाचल प्रदेश लगायतका क्षेत्रमा गम्भीर सीमा विवाद रहेको छ।  अहिले दुबै  सेना एक-अर्काबाट टाढा गइसकेको जनाएको छ। उक्त स्थानमा शून्य डिग्री सेंटिग्रेडभन्दा मुनि रहने गरेको बताइएको छ।  

भावविह्वल क्षणः जन्मदिने आमाबुबासँगै जन्माएका छोराछोरीलाई दागबत्ती दिँदा…

पर्वतः कुश्मा नगरपालिका–३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका आठ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरुमध्ये छ जनाको मोदीवेणीमा र अन्य दुईको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो । पर्वतको मोदीवेणीमा पाँच चिता बनाएर छ जनाको दाहसंस्कार गरिएको छ । मृतकमध्ये ५३ वर्षीय तुलबहादुर र उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापालाई एउटै चितामा जलाइएको हो भने नाति सम्राट, नातिनी विविशालाई छुट्टाछुट्टै चितामा जलाइएको हो । त्यस्तै अर्को परिवारका ३२ वर्षीया कमला विक र उहाँकी छोरी आठ वर्षीया प्रमिशालाई पनि छुट्टाछुट्टै चिता बनाएर दाहसंसकार गरिएको थियो । एउटै गाउँका छ जनाको एकैपटक दाहसंस्कार गरिएको यो नौलो घटना हो । दाहसंस्कारका लागि घाटमा सयौंको सङ्ख्यामा पुगेका नागरिक भावविह्वल बनेका थिए । तुलबहादुर दम्पत्तीलाई छोरा अम्मरबहादुर थापाले दागबत्ती दिए । पहिरोमा आफ्नो छोरा सम्राट र विविशालाई गुमाएका उनीमाथि छोराछोरीलाई पनि दागबत्ती दिनुपर्ने बाध्यता आइपर्यो । भक्कानिँदै एकैपटक जन्मदिने बाबुआमा र आफैँले जन्माएका छोराछोरीलाई दागबत्ती दिँदा उनको मन सम्हालिएको थिएन । कमला विक र उनकी छोरीलाई जेठाजु पर्ने चक्रबहादुर विकले दागबत्ती दिए । त्यसैगरी पहिरोमा पुरिएका आमाछोरा ३४ वर्षीय दिर्पा थापा र १७ वर्षीय विवेक थापाको बागलुङको जैमिनी नगरपालिकास्थित कालीगण्डकी किनारमा पर्ने जैमिनीघाटमा अत्येष्टि गरिएको छ । दिर्पा लकडाउनपछि छोरा विवेकसहित माइतीमा बस्दै आएकी थिइन् । हराएका जेनिशको खोजीकार्य वर्षाले प्रभावित पहिरोले पुरिएका नौमध्ये १३ वर्षीय जेनिश विक अझै पनि भेटिएका छैनन् । शनिबार रातिदेखि नै खोजी गरिए पनि उनी अझै फेला नपरेका हुन् । आइतबार दिनभर खोजी भएको थियो भने सोमबार बिहानैदेखि खोजीकार्य थालिएको भए पनि निरन्तरको वर्षाले प्रभावित बनेको छ । दिनभर गाउँका सबै बासिन्दा मृतकको शव दाहसंस्कार गर्नका लागि मोदीवेणी घाटतर्फ लागे पनि सुरक्षाकर्मीले साँझ अबेरसम्म खोजी गरेको थियो । आज बिहानबाट पुनः खोजी गर्न शुरु गरिने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दिनभरि खोजीकार्यमा सुरक्षा निकाय जुटिरहेको भए पनि वर्षाले समस्या बनाएको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिए । शनिबार राति ८ बजे आएको पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको परिवारलाई बगाएको थियो । थापा परिवारका छ र विक परिवारका तीन जनाको परिवार पुरिएको थियो । थापा परिवारका छ जनाकै शव फेला परेको छ भने विक परिवारका बालक अहिलेसम्म भेटिएका छैनन् । रासस

भारतमा कोरोना संक्रमितको संख्या ५३ हजार नाघ्यो, उक्लियो टप-१४ मा

काठमाडौंः भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमितको संख्या ५३ हजार नाघेको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । बिहीबारको तथ्यांकअनुसार यो भाइरसको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ७८७ जना पुगेको छ । संक्रमणबाट निको भएका विरामीको संख्या १५ हजार ३३१ जना रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । भारतमा बिहीबार बिहानसम्म यो रोगका ३५ हजार ९ जना संक्रमितहरू अस्पतालमा उपचार गराइरहेका छन् । भारत यो समाचार तयार पार्दासम्म सर्बाधिक कोरोना संक्रमित हुने देशको सूचीको चौथौं स्थानमा उक्लिएको छ । कोभिड–१९ बाट सबैभन्दा बढी भारतमा महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १६ हजार ७५८ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ६ हजार ६२५ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ५३२ जना विरामी छन्। कोराना भाइरसको (कोभिड-१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा सुरू भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिँदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो । कोरोनाबाट बढी प्रभावित १४ देशको पछिल्लो विवरण

जापानमा संकटकाल घोषणापछिको पहिलो दिनमै संक्रमितको संख्या बढ्यो

जापानमा संकटकाल घोषणा गरे पछिको पहिलो दिनमै कोरोना भाइरसबाट सङ्क्रमितको संख्या झन धेरै देखिएको छ । जापानका स्वास्थ्य मन्त्री र स्थानीय सरकारका अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार बुधबार बेलुकासम्म देशभरी ३०९ जना नयाँ सङ्क्रमित भेटिएका छन् । योसँगै जापानमा कोरोना भाइरसबाट अहिलेसम्म सङ्क्रमितको कुल संख्या ४ हजार ७६८ पुगेको छ । त्यसैगरी मृत्यु हुनेको संख्या १०९ पुगेको अधिकारीहरुले जनाएका छन् । कोरोनाको सङ्क्रमण थप फैलिदै जाने देखेर जापानी प्रधानमन्त्री सिन्जो आबेले मंगलबार संकटकालको घोषणा गरेका थिए संकटकाल राजधानी टोकियोसहित कोरोना भाइरसबाट बढी प्रभावित अन्य सहरहरु कानागावा, सैतामा, चिबा, ओसाका, ह्योगो र फुकुओकामा लागू गरिएको हो । जापानमा अहिलेसम्म कूल सङ्क्रमित मध्ये सवैभन्दा धेरै राजधानी टोकियोमै रहेका छन् । टोकियोमा एक हजार ३३९ जना संङ्क्रमित हुँदा दोस्रो धेरै संक्रमित भएको ओसाकामा ४८१ जना संक्रमित रहेका छन् । त्यसैगरी कानागावामा ३३२ जना, चिबामा ३०७ जना, ऐची क्षेत्रमा २६० जना सङ्क्रमित भएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । कुल विरामी मध्ये ८८ जनाको अवस्था गम्भीर रहेको पनि स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ । कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये एक हजार २४२ जना भने निको भएर घर फर्किएका छन् । एजेन्सी

विभिन्‍न ठाउँबाट देखिएको ‘सुपरमून’ (तस्बिर)

काठमाडौंः यस वर्षको सबैभन्दा चम्किँलो र ठूलो चन्द्र (सुपरमून) मा मंगलबार राति देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वव्यापी रुपमा ‘लकडाउन’मा भइरहेको समयमा सहरका विभिन्‍‍न स्थानहरुमा ठूलो चन्द्रमा देखिएको हो ।                 न्यूयोर्कको एम्पायर स्टेट बिल्डिङ र मंगलबार राति देखिएको पूर्ण चन्द्रमा अरु बेलाभन्दा सुपरमून केही ठूलो र चम्किलो देखिन्छ । पृथ्वीलाई परिक्रमा गर्ने क्रममा चन्द्रमा पृथ्वीको केही नजिक हुँदा सुपरमून देखिन्छ ।   क्रोएसियाको राजधानी जाग्रेबको जाग्रेब चर्चनजिकैबाट देखिएको दृश्य तस्बिरः रोयटर्स मंगलबारको पूर्ण चन्द्रमा अन्य दिनको चन्द्रमाको तुलनामा ७ प्रतिशत ठूलो र १५ प्रतिशत चम्किलो देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यस वर्ष मार्चमा पनि सुपरमून देखिएको थियो ।                     फ्रान्सको वोल्क्सिमबाट देखिएको दृश्य तस्बिरः रोयटर्स                      लन्डनबाट देखिएको दृश्य तस्बिर : रोयटर्स