एक लाख नगद र लागुऔषधसहित तीन पक्राउ
सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु एक लाख नगद र लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइली सुर्खेतका शारदा महतारा र विकास मानन्धर रहेका छन् ।
त्यस्तै मानन्धरकै साथै सोही नगरपालिका–३ का सुनिल थारुसमेत तीनै जनालाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए ।
झोला बोकेकी महतारालाई शङ्का मानेर प्रहरीले जाँच गर्दा झोलामा लुकाइछिपाई राखेको अवस्थामा १७ ग्राम १०० मिलीग्राम ब्राउनसुगर जस्तो कालो धुलो भेटिएको हो । त्यसका साथै नगद रु एक लाख १२ हजार ९४५ र कालो रङको एक थान डिजिटल तराजु फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीको नियन्त्रणमा परेकी ती महिलालाई तत्काल सोधपुछ गर्दा विकास मानन्धरको नाम खोलेको र मानन्धरलाई जाँच गर्दा उनको साथबाट पनि १२० मिलीग्राम ब्राउनसुगरजस्तो कालो धुलो बरामद गरिएको उनले बताए ।
महतारा, मानन्धर र उनको साथी सुनिल थारूसहितलाई पक्राउ गरी तीनै जनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका ३२ निर्णय (सूचीसहित)
काठमाडौंः सरकारले जयनगर–जनकपुर–बर्दिबास रेलमार्गको जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सेवा सञ्चालनका लागि २६ जना विदेशी दक्ष कर्मचारी नियुक्ति गर्नका लागि स्वीकृत दिएको छ । बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उक्त कुरा जानकारी दिए । त्यस्तै, यही माघ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले साझाले निर्धाति समयमा बस खरिद गरी संचालन गर्न नसकेको भन्दै पहिले दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने निर्णय गरेको छ । जर्मनीको बोनस्थित सरकारको स्वामित्वमा रहेको घरजग्गा बिक्रीका लागि जर्मनीस्थित नेपाली दूतावासलाई अख्तियारी प्रदान गरेको, गुठी संस्थान जाँचबुझले आयोगले सरकारलाई बुझाएको सुझाव प्रतिवेदनअनुसारव्यक्तिको नाममा रहेका गुठीको जग्गा सरकारी स्वामित्वमा लैजाने, सेनाका ७ जना रथी र ९ जना महासेनानीको सरुवा गर्ने निर्णय पनि गरेको छ । यस्ता छन् माघ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले ३२ वटा निर्णयः
पाकिस्तानको एक मस्जिदमा विस्फोट, डीएसपीसहित १४ जनाको मृत्यु
एजेन्सीः पाकिस्तानको बलूचिस्तान प्रान्त स्थित क्वेटा शहरको एक मस्जिदमा भएको बम विस्फोटमा कम्तिमा १४ मानिसको ज्यान गएको छ । घटनामा २१ जना घाइते भएका छन् । आक्रमणमा परी क्वेटा शहरका डीएसपी अमानुल्लाहको पनि मृत्यु भएको छ । शहरको सिभिल हस्पिटलका एक प्रवक्ताका अनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ । पाकिस्तानी सेनाका प्रवक्ताको ट्वीटर ह्याण्डलका अनुसार सुरक्षाबलले बम विस्फोट भएको स्थानको चारैतर्फ घेरेको र सेनाले प्रहरीसँग मिलेर खान तलाशी अभियान चलाइरहेको बताएको छ ।
यतिको भवन निर्माण प्रक्रिया यथास्थितिमा राख्न उच्च अदालतको आदेश
काठमाडौंः नेपाल ट्रष्टको स्वामित्वको जग्गामा यति समूहले निर्माण गरिरहेको दरबारमार्गको भवन निर्माण प्रक्रिया तत्काल यथास्थितिमा राख्न उच्च अदालत पाटनले अल्पकालीन आदेश जारी गरेको छ । मुख्य न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि नै सम्झौता सार्वजनिक खरिद ऐन र नियमावली प्रतिकूल देखिएको भन्दै पक्षलाई छलफलमा बोलाएको छ । माघ १ गते अदालतले दुबै पक्षलाई छलफलमा बोलाएको छ । उच्च अदालत पाटनका रजिस्ट्रार बाबुराम दाहालले अल्पकालीन अन्तरिम आदेशसँगै इजलासले दुबै पक्षलाई छलफलमा बोलाएको बताए । यस्तै, अदालतले निवेदनमा उठाइएका विषय सार्वजनिक सरोकारसँगै गम्भीर कानुनी प्रश्नसमेत जोडिएको भन्दै उच्च अदालत बार एशोसिएसनसँग एमिकसको सहायता पनि मागेको छ । दुबै पक्षको छलफलपछि अल्पकालीन आदेशले निरन्तरता पाएमा रिटको अन्तिम टुंगो नलागेसम्म सम्झौता अनुसारको काम अघि बढ्ने छैन । आदेश खारेज भएमा भने सम्झौता कार्यान्वयन हुनेछ ।
इरानले तोक्यो ट्रम्पको टाउकोको मूल्य ९ अर्ब !
एजेन्सीः अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् । आइतबार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिए । अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित खबरका अनुसार त्यसको केही बेरपछि इरानले ट्रम्पको टाउकोको मूल्य तोकेको छ । यसका लागि ८० मिलियन डलर (लगभग ९ अर्ब रुपैयाँ) तोकिएको हो । ट्रम्पको टाउकोको मूल्य तिर्न इरानीले गर्नेछन् दान जनरल सुलेमानीको अन्तिम संस्कारको क्रममा एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको छ । ट्रम्पको टाउकोको बदलामा राखिएको ८० मिलियन डलर जम्मा गर्नका लागि संस्थाले सबै इरानी नागरिकलाई दान गर्न अपिल गरेको छ । मसादमा जतिबेला सुलेमानीको शोक सभा आयोजना गरिएका बेला इरानी संस्थाले यो घोषणा गरेको हो ।
सेनाका भगौडा कपनबाट पेस्तोलसहित पक्राउ
काठमाडौंः काठमाडौंको चुनिखेल, कपनबाट नेपाली सेनाको भगौडा पेस्तोलसहित पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । मन्थली नगरपालिका–१३, रामेछाप घर भइ हाल कपनमा बसोबास गर्ने रोशन बर्देवा मंगलबार साँझ पेस्तोलसहित पक्राउ परेका महाशाखा प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनका अनुसार बर्देवालाई गुण्डागर्दी गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएका उनको साथबाट कटुवा पेस्तोल बरामद भएको छ । प्रहरीले सेनाबाट कहिले भागेको लगायतका विषयमा थप अनुसन्धान गरिरहेको एसएसपी थापाले बताए ।
व्यक्तिका नाममा ६ हजार रोपनी सरकारी जग्गा दर्ता
काठमाडौंः मुलुकभर ६ हजार रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिले अतिक्रमण गरी आफ्नो नाममा दर्ता गरेको भेटिएको छ । सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनअनुसार ८ वटा जिल्लाका तालतलैया, मठमन्दिर, नदी तथा किनार र गुठीको जग्गा व्यक्तिले आफ्नो नाममा दर्ता गरेका हुन् । आयोगले १० छुट्टाछुट्टै प्रतिवेदन शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ । आयोगका अध्यक्ष मोहनरमण भट्टराईले विभिन्न व्यक्तिले शक्तिको आडमा सरकारी जग्गा व्यक्तिले दर्ता गरेको बताए । ‘चलाख व्यक्तिले पहिले नै सरकारी जग्गा आफ्नो नाममा राखेको पाइएको छ,’ उनले भने, ‘यससम्बन्धी सम्पूर्ण कुरा उल्लेख गरेर सरकारलाई प्रतिवेदन बुझाएका छौं ।’ सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने सुझावसहितको छुट्टै प्रतिवेदन पनि बुझाएको उनले बताए । आयोगका अध्यक्ष भट्टराईले कास्की, बाँके, रौतहट, सर्लाही, रूपन्देही, मकवानपुर, काठमाडौं र सुनसरीलगायत जिल्लामा सरकारी जग्गा व्यक्तिले दर्ता गरेर हिनामिना गरेको बताए । उनका अनुसार सबैभन्दा बढी सुनसरीको सर्दु जलाधार क्षेत्रको ४ हजार रोपनीभन्दा बढी जग्गा व्यक्तिका नाममा दर्ता भएको छ । पानीको स्रोत संरक्षणका लागि भन्दै सरकारले ०३२ सालमा सर्दु जलाधार क्षेत्रका २ सय ९ परिवारलाई मोरङको बयरवन र अमरदह आसपासमा सट्टा जग्गा र मुआब्जा दिएको थियो । सट्टा पाइसकेकाहरू पुनस् सर्दु क्षेत्रमै बस्न थालेको आयोगले जनाएको छ । उक्त क्षेत्रको अधिकांश जग्गा बेचबिखन भइसकेको छ । नेपालगन्जको बागेश्वरी मन्दिरको गुठीको एक हजार रोपनीभन्दा बढी जग्गा त्यहाँको मठाधीशले आफ्नो नाममा दर्ता गरेका प्रतिवेदनमा उल्लेख छ । सरकारी जग्गा सत्ता, शक्तिको आडमा हिनामिना भएको आयोगले जनाएको छ । ‘शक्तिवालाले मौका पाउनेबित्तिकै जग्गा आफ्नो नाममा दर्ता गरेको देखिन्छ,’ आयोगका एक सदस्यले कान्तिपुरसँग भने, ‘त्यस्तो जग्गा सरकारले फिर्ता लिएर, अतिक्रमणकारीलाई कानुनको दायरामा ल्याएर कारबाही गर्नुपर्छ ।’ पहाडी जिल्लामा सबैभन्दा बढी कास्कीमा सरकारी जग्गा हिनामिना भएको आयोगले जनाएको छ । पोखराको सहरी क्षेत्रमा ४० रोपनीभन्दा बढी जग्गा हिनामिना भएको छ । ‘प्रधानमन्त्रीज्यूले प्रतिवेदनमा दिएका सुझावलाई कार्यान्वयन गर्ने विश्वास दिलाउनु भएको छ,’ आयोगका अध्यक्ष भट्टराईले भने, ‘दोषीमाथि कारबाही भए सरकारी जग्गा हिनामिनामा निकै कमी हुन्छ । उनले शंका लागेको सबै जग्गामाथि अनुसन्धान गर्ने उनले बताए । ६ महिनाअघि सरकारले गठन गरेको उक्त आयोगको म्याद भर्खरै ६ महिना थपिएको छ । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
पीपीएलः कुसल चम्किँदा काठमाडौंमाथि पोखराको फराकिलो जित
काठमाडौंः दोस्रो सिजनको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० प्रतियोगिता अन्तर्गत काठमाडौं गोल्डेन्सविरुद्ध पोखरा पल्टन ९ विकेटले विजयी भएको छ । काठमाडौंले दिएको १ सय १६ रनको लक्ष्य पोखराले १४.१ ओभरमा पूरा गर्यो । उसका लागि कुसल भुर्तेलले नटआउट ४३ बलमा ६८ रन बनाए । यस्तै रविइन्द्रर सिंहले ३२ बलमा अविजित ३८ रनको योगदान दिए । आसिफ शेख १४ रनमा आउट भएका थिए । बलिङमा काठमाडौंका सुशन भारीले एक विकेट लिए । यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङको मौका पाएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन बनायो । उसका लागि सुबोध भाटीले २९ बलमा समान ४ छक्का र चौकाको मद्दतमा सर्बाधिक ४५ रन बनाए । सुशन बाहेक अन्य नेपाली ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । काठमाडौंका लागि सुवास खकुरेल, पवन सराफले ६–६, कप्तान ज्ञानेन्द्र मल्लले १, पृथु बाँस्कोटाले ७, बसन्त रेग्मीले ८ रनको योगदान मात्र दिन सके । बलिङमा पोखराका कुसल मल्लले २–२, प्रथमेश डाके र सर्बाजित लाडले एक–एक विकेट लिए ।
साग क्रिकेटः बङ्लादेशले नेपाल सामु राख्यो १५६ रनको लक्ष
काठमाडौः १३ औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत नेपाल र बंगलादेशबीच जारि टी२० खेलमा बंगलादेशले नेपाल सामु ६ विकेटको क्षतिमा १५६ रनको लक्ष राखेको छ । सुरुआती ओभरमा आक्रामक बलिङ खेलेको नेपाल सामु दबाबमा देखिएको बङ्लादेशले खेलको मध्य समयदेखि रनरेटमा वृद्धि गरेको थियो । नेपालले बंगलादेशको ५ विकेट लिएपनि बंगलादेशले १५६ रन बनाउन सफल भएको छ । ललित राजवंशिलाई नखेलाउनु नेपालका लागि कमजोर साबित हुने अवसर दिएको टिप्पणि प्रशंसकहरुले गरेका छन् । बंगलादेशका तर्फबाट नजमुल हुसैनले ६० बलको सामना गर्दै ७५ रनको योगदान दिए । कप्चान अफि हुसैनले ३० बलमा ५५ रन दिए । नेपालका तर्फबाट दिपेन्द्र एेरिले १९ औं ओभरमा २ विकेट लिएका छन् । उनले कप्तान हुसैन, र महदुल ईस्लामको विकेट लिएका थिए । यसअघि १०।२ ओभरमा अभिनास बोहराले यासिर अलिको विकेट लिएका थिए। दक्षिण एशियालि प्रतियोगिता साग अन्तर्गत आज भईरहेको खेलमा पारसले बंगलादेशविरुद्ध बल फाल्दै ३ विकेट लिएका थिए । दोश्रो ओभरमा मैदान छिरेका पारसले आफ्नो पहिलो ओभरमै एक विकेट लिए भने चौथो ओभरमा दुई विकेट लिएका थिए । पारसले मोहम्मद नईम, सैफ हसन र सौम्य सरकारको विकेट लिएका हुन । बंगलादेशविरुद्ध उनले चार ओभर बल गरेका छन् । ११ ओभरको खेल समाप्त हुँदासम्म बङ्लादेशले ४ विकेटको क्षतिमा ६३ रन बनाएको छ ।
रियल मड्रिड र बार्सिलोना बीच शीर्ष बन्ने होड (खेल तालिका सहित)
एजेन्सी । स्पेनिस ला लिगामा शनिबार ६ खेल हुँदैछन् । पहिलो खेल साँझ ५ः३० बजे रियल मड्रिडले स्पान्योलको सामना गर्दैछ । रियल स्पान्योललाई हराएर तीन जाड्दै अंक तालिकाको शीर्ष स्थान उक्लने दाउमा छ । समान १४ खेलमा ३१ अंक जोडेको बार्सिलोना धेरै गोल गरेको आधारमा शीर्ष स्थानमा छ भने रियल दोस्रोमा छ । उसोत, शनिबार राति नै हुने खेलमा रियल माल्लार्कोलाई हराएर बार्सिलोना पनि शीर्ष स्थानमा कायमै रहने दाउमा हुनेछ । माल्लार्को र स्पान्योल दुवै कमजोर प्रदर्शन गर्दै आएको छ । माल्लार्कोले १५ खेलमा ४ जितसहित सहित १४ अंक जोडेको छ भने स्यान्योल समान १५ खेलमा २ जित निकाल्दै ९ अंक जोडेको छ । शनिबार राति ग्रानाडा र एलाभ्स बीच ८ः४५ बजे, लेभान्टे र भ्यालेन्सिया बीच ११ः४५ बजे प्रतिश्पर्धा हुँदैछ ।
टी–१० लिगः कलन्दर्सविरुद्ध बलिङ गर्दै आन्द्रेको टिम
काठमाडौंः यूएईमा जारी टी–१० क्रिकेट लिगको दोस्रो दिनको तेस्रो खेलमा कलन्दर्सविरुद्ध नर्थन वारियर्सले टस जितेर बलिङ गरिरहेको छ । दुवै टिमको यो दोस्रो खेल हो । पहिलो खेलमा वारियर्सले मराठा अरबियनलाई ९ विकेटले हराएको थियो । यता कलन्दर्सले भने टिम आवुधावीसँग ‘टाई’ म्याच खेलेको थियो । दुवै टिमले समान रन बनाएपछि एक–एक अंक बाँडेका थिए । नर्थन वारियर्समा डारेन स्यामी (कप्तान), आन्द्रे रसेल, क्रिस ग्रिन, सिकन्दर राजा लगायत नाम चलेका खेलाडी छन् । कलन्दर्समा डेभिड मलान (कप्तान), लुकी रोन्ची, लउरी इभन्स, क्रिस जोर्डन लगायत चर्तित क्रिकेट आवद्ध छन् । आजै भएको पहिलो खेलमा डेक्कन ग्लेडिटरर्स र दोस्रो म्याचमा कर्नाटक टस्कर्स विजयी भएका छन् ।
नख्खु कारागारमा आलमलाई कडा सुरक्षा, कुराकानी रेकर्ड हुने
काठमाडौंः रौतहटबाट शनिवार राति अबेर ललितपुरस्थित नख्खु कारागारमा पुर्याइएका मोहम्मद आफताब आलमले गर्ने कुराकानी रेकर्ड हुने भएको छ । नख्खु कारागार प्रमुख सुरेन्द्र पौडेलले सो जानकारी दिए । उनले भने,‘आलमकै सुरक्षाका लागि यस्तो रोक लगाउनु परेको हो । आलमले आफन्त तथा कारागारभित्र अन्य कैदीवन्दीसँग गर्ने संवाद र कुराकानीको समेत रेकर्ड बस्ने गरी सुरक्षाव्यवस्था मिलाइएको छ’ उनले थपे, ‘आफन्त परिवारका सदस्य र निजी वकिल वाहेक कसैसँग भेटघाट गर्न दिइएको छैन ।’ आलमसँग आफन्त परिवारको सदस्य र उनकै वकिल वाहेक अन्यसँग भेटघाटमा समेत रोक लगाइएको छ । प्रमुख पौडेलले आलमलाई अन्य सामान्य कैदी जस्तै गरी राखिएको स्पष्ट पारे । आलमले जेलभित्र गर्ने गतिविधि सिसि क्यामेरामा कैद रहने छ भने सम्बादहरू रेकर्डबाट सुन्न सकिने व्यवस्था गरिएको छ । सुरक्षाको दृष्टिकोणले भन्दै प्रहरीले आलमलाई रौतहट जिल्ला कारागारमा नलिई थुनाका लागि नख्खु पुर्याएको हो । करीव १२ वर्षअघि संविधानसभा निर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवार आलमले चुनाव जित्नका लागि बम बिष्फोट गराइ घाइते समर्थकहरूलाई उपचार गर्नुका सट्टा जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । सो आदेशपछि आलमलाई जिल्लाकै कारागारमा थुनामा राख्दा असुरक्षा हुने भएकाले नख्खु पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । नेपाल–भारत सीमाको १२ किलो मिटर नजिक रहेको राजपुर नगरपालिका वडा नम्वर–४ निवासी आलमको पक्राउसँंगै रौतहट सीमा नाकामा अराजकता तथा अपराधिक गतिविधि बढेको प्रहरीले जनाएको छ । –गाेरखापत्र दैनिकबाट
मेलम्चीको कामले गति लियो, १४ महिनाभित्र आयोजना सम्पन्न
मेलम्ची– एडिबीले सन् २००१ मा सम्झौता गरेको मेलम्ची खानेपानी आयोजनाका बाँकी रहेको कामले गति लिएको छ । अहिले आयोजना स्थल हेलम्बु गाउँपालिका–१ अम्बाथानमा नेपाली र चिनियाँ गरी झण्डै १५० कामदार कार्यरत छन् । अरु ५० कामदार आगामी सातासम्ममा थप गरी पूर्ण रुपमा काम अघि बढाउने कम्पनीको योजना छ । सिएमसीले निर्माण गरिसकेका संरचनाहरुको अन्तिम काम (फिनिसिङ) गर्न सुरु गरिएको हो । अहिले सुरुङको सबलीकरण र बाँकी सुरुङभित्रै ८ सय मिटर क्षेत्रमा कंक्रिट ढलानको काम अघि बढिरहेको छ । पछिल्लोपटक काम गरेको इटालियाली कम्पनी सिएमसी फिर्ता भएको झण्डै पाँच महिनापछि अहिले नयाँ कम्पनीले बाँकी निर्माणका काम सुरु गरेको छ । विनाअवरोध योजना मुताबिक निर्माण कार्य अघि बढे अबको १४ महिनामा आयोजना सम्पन्न हुने ठानिएको छ । राष्ट्रिय गौरवको योजनामा पर्ने सो आयोजनाको बाँकी भनिएको पाँच प्रतिशत काम १५ महिनामा सम्पन्न गर्ने एक सम्झौतामा सरकारले दुई महिना अघि चिनियाँ कम्पनीसँग सम्झौता गरेको थियो । खानेपानी तथा सरसफाइ मन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनामा अहिले नयाँ ठेकेदार कम्पनीले नयाँ उत्साहका साथ काम थालेकाले ती काम छिटै सम्पन्न हुने विश्वास व्यक्त गर्दै आएकी छन् । इटालियाली निर्माण कम्पनी सिएमसीले आयोजना सम्पन्न नहुँदै छाडेर गएपछि अलपत्र परेको मेलम्ची खानेपानीको काम चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले अघि बढाएको हो । हेलम्बु गाउँपालिकाकी उपाध्यक्ष कोपिला पण्डितले संघीय सरकारले मेलम्चीसम्म मात्रै नभएर हेलम्बुसम्मैको सडक स्तरोन्नति गर्नुपर्ने बताइन् । हेलम्बुलाई मेलम्ची प्रभावितमा ‘क’ मा राख्नुपर्नेमा उनको जोड छ । उनले भनिन्, ‘काठमाडौंवासीले पानी पाउनुपर्छ भन्नेमा हामी सकारात्मक छौँ, तर हामीलाई पनि असर पर्नुहुँदैन ।’ आयोजनाका जम्माजम्मी कामलाई तीन भागमा विभाजन गरिएको छ– हेडवर्क, सुरुङमार्ग र प्रशोधन केन्द्रको निर्माण । यसमध्ये हेडवर्क र सुरुङमार्गको काम सिनो हाइड्रोले गर्ने भएको छ । प्रशोधन केन्द्र निर्माण दुई कम्पनीले गरिरहेका छन् । आयोजना निर्माणका क्रममा पहिले धेरै अवरोध भए पनि अहिले अवरोध कम भएकाले तोकिएको अवधिभित्रै काम सकिने वरिष्ठ डिभिजनल इञ्जिनीयर पन्तले बताए । सिएमसीले काम छाडेर गए पनि उसले सहायक ठेकेदारलाई रकम दिन बाँकी छ र यो समस्या समाधानका लागि मन्त्रालयमा कार्यरत सहसचिवको नेतृत्वमा समिति गठन गरिएको छ । उनका अनुसार हेर्डवर्कमा भौतिक अवरोध कमै मात्र रहेको छ । पहिले गिट्टी, बालुवा आपूर्ति, रुख कटान, चट्टान विस्फोटन जस्ता धेरै अवरोध थिए । उनले भने, ‘अहिले काम नै अवरुद्ध हुने गरी समस्या आएको छैन । एउटाको जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) र अर्को एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा निर्माण भएको हो । मेलम्ची नदीमा बाँध बाँध्ने काम र स्टिलको पुल बनाउने काम बाँकी छन् । विद्युतीय प्रणालीबाटै विभिन्न ढोकाहरु खोल्ने र लगाउने गरी निर्माण भइरहेका छन् । ढोकाको डिजाइन, निर्माण र जडानका काम झण्डै पाँच प्रतिशत मात्रै बाँकी रहेको छ । टनेलमा भुइँ ढलानको काम दुई दशमलव पाँच किलोमिटर र भित्ता ढलान दुई दशमलव पाँच किलोमिटर बाँकी छ । आयोजनाको मुख्य सुरुङ खन्ने काम सकिएको छ । आयोजनाका लागि आवश्यक भौतिक पूर्वाधारका लागि झण्डै ७० किलोमिटर सडक मर्मत सम्भार र स्तरोन्नतिको काम सकिएको छ । सुरुङ माथिबाट ढुंगा माटो खसेर यहाँका संरचनालाई क्षति नपुगोस् भनी बनाइएको २७ दशमलव ५ किलोमिटर प्रारम्भिक ‘सपोर्ट’ को काम सकिएको छ । झण्डै एक लाख घनमिटर कमजोर चट्टान झिकेर त्यस ठाउँमा कंक्रिट राख्ने काम पनि सकिएको छ । सुरुङदेखि प्रशोधन केन्द्रसम्म आपूर्ति पाइप जडान भइसकेको छ । भुइँमा अन्तिम ढलानको काम झण्डै २५ दशमलव तीन प्रतिशत मात्रै बाँकी छ । पछिल्लोपटक काम गरेको इटालियाली कम्पनी सिएमसी फिर्ता भएको झण्डै पाँच महिनापछि अहिले नयाँ कम्पनीले बाँकी निर्माणका काम सुरु गरेको छ । बिनाअवरोध योजना मुताबिक निर्माण कार्य अघि बढे अबको १४ महिनामा आयोजना सम्पन्न हुने ठानिएको छ ।
बंगलादेशका राष्ट्रपति हमिद नेपाल आउँदै
काठमाडौंः बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार हमिदले कात्तिक २५ देखि २८ गतेसम्म नेपालको भ्रमण गर्ने छन् । हमिदको नेपाल भ्रमणका क्रममा दुई देशबीचको ‘प्राथमिकतायुक्त व्यापार सम्झौता’ लाई पूर्णता दिने जनाइएको छ । राष्ट्रपति हमिदको नेपाल भ्रमणका बेला त्रिदेशीय सरोकार विषयहरुका साथै दुईदेशीय व्यापारसम्बन्धी विषयमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयको भनाई छ । यसै साता अजरबैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरुको सम्मेलनका क्रममा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच राष्ट्रपति हमिदको नेपाल भ्रमणबारे छलफल भएको थियो ।
टी–२० सिरिजः हङकङविरुद्ध नेपालले टस जित्यो, पहिला बलिङ गर्ने
काठमाडौंः ओमानमा जारी टी–२० क्रिकेट सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा हङकङविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको छ । नेपाल र हङकङबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुँदैछ । आजै भएको पहिलो खेलमा घरेलु टिम ओमानले आयरल्याण्डलाई ४३ रनले हराएको छ । ओमानले दिएको १७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १६.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो । उसका लागि केभिन ओब्रायनले सर्बाधिक ३९ रन बनाए । बलिङमा ओमानका मोहम्मद नदीम, खवर अलिले ३–३, अमिर कलीम र बिलाल खानले २–२ विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएका ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७३ रन बनायो । उसका लागि अमिर कलीमले ४६, जतिन्दर सिंहले ४०, अकिव लायसले २१ रन बनाए । बलिङमा आयरल्याण्डका मार्क आदिर, स्टअर्ट थम्पसनले २–२, ग्यारेथ डेन्ली, क्रेग योङ र शेन गेटकेटले १–१ विकेट लिए । अंक तालिकामा ओमानले २ खेलमा दुवै खेलमा जीत हासिल गर्दै ४ अंक जोडेको छ । यता आयरल्याण्डले भने २ खेलमा एकमा हार र एक खेलमा जीत निकालेको छ । अंक तालिकामा आयरल्याण्ड २ अंकका साथ दोस्रो स्थानमा छ । सिरिजमा नेपाली क्रिकेट टिम पनि छ । नेपालले पहिलो खेल आज ३ः४५ बजेदेदि हङकङविरुद्ध खेल्दै छ ।
उपल्लो तहका नेताहरुमा नैतिक विचलन आएको कार्यकर्ताको टिप्पणी
महोत्तरी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताले उपल्लो तहका नेतामा सांस्कृतिक विचलन आएकोमा चिन्ता व्यक्त गरेका छन् । शनिबार महोत्तरीको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशिला (कम्युन) ले आयोजना गरेको बडादशैँ, दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता, कार्यकर्ताले यस्तो चिन्ता व्यक्त गरेका हुन् । कम्युनिष्ट पार्टी श्रमिकको भनिए पनि उपल्लो तहका नेताका घरमा अब नाङ्गो खुट्टाका गरीब जनता, सुकुम्वासी र पोषणयुक्त खाना नपाएर रोगग्रस्त बनेका व्यक्तिले प्रवेश पाउने स्थिति नरहेकोमा उनीहरुले दुःख व्यक्त गरेका छन् । “काठमाडौँमा नेताहरुका महलको टुप्पो हेर्न घाँटी तन्काउनु पर्छ”, नेकपाका महोत्तरी इञ्चार्ज राजु खड्काले भने, “ती घरमा गरीब कार्यकर्ताले प्रवेश पाउँदैनन्, ठूल्ठूला ठेकदारको त्यहाँ हल्लीखल्ली हुन्छ ।” पार्टीका स्थायी समिति सदस्य एवं वर्तमान सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री मुख्य आयोजक रहनुभएको कार्यक्रममा जिल्लाका अगुवा नेता र कार्यकर्ताले धन कमाउनु, ठाटबाट देखाउनु, नैतिक चरित्र पतन हुने काममा समेत लम्पट देखिने नेताहरुको चरित्रले वर्गीय दृष्टिकोण, माक्र्सवादी चेत र समाजवादको लक्ष्य भनिने पक्षलाई उपहास गरेको टिप्पणी गरेका छन् । कार्यक्रममा कार्यकर्ताले जनताको घरमा सातुपिठो खाएर त्यही घरायसी नाता जोड्ने पुरानो पार्टी परम्परा अब इतिहास भएको टिप्पणी गरेका छन् । “सत्ता भनेको मोजमस्ती गर्ने ठाउँ हो भन्ने मान्यता नेताहरुकै व्यवहारले देखाएको छ”, उनीहरुले भने, “अब आदर्श, विचार, परिवर्तन र क्रान्तिका कुरा नेताहरुको सुकिला र पोटिला शरीरमा हेरेर चित्त बुझाउनुपर्ने दिन आएछन् ।” कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य भरतप्रसाद साहले पनि नेतृत्वको उपल्लो तह हुँदै अब रवाफ र तडकभडक तल्लोतहसम्म टाँसिदै आएको स्वीकार गरे । जीवनपद्धतिमा आएको यो नैतिक ह्रास उपल्लो तहदेखि नै धोइदै ल्याउनुपर्ने साहको भनाइ छ । सबै अगुवा नेता, कार्यकर्ताको टिप्पणी सुन्नु भएका मन्त्री पोखरेलले मान्छेले आफू कसरी चल्ने भन्ने स्पष्ट जीवन दृष्टिकोण बनाउन नसक्दा नैतिक र सांस्कृतिक विचलन आउने बताए । यसलाई विचारको स्पष्ट दृष्टिकोणले नै सफा पर्ने मन्त्री पोखरेलको भनाइ छ । जिल्लाभरिका अगुवा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रमले नेतालाई तल्लो तहका कार्यकर्ताको ठम्याइ र मूल्याङ्कन बुझ्न सहयोग पुर्याएको सहभागीले टिप्पणी गरेका छन् । जनताको पक्षमा सधैँ उभिने कुरा नारा मात्र नभएर जीवनपद्धतिमा स्वीकार गरिएको कुरा व्यवहारमा उतार्न नेतालाई आम कार्यकर्ताको सुझाव छ ।