ट्रम्प राष्ट्रपति भएपछि पहिलोपटक मुख खोले ओबामाले-आप्रवासन आदेशको कडा निन्दा

एजेन्सी । अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी तथा आप्रावासन सम्बन्धी जारी गरेको कार्यकारी आदेशको निवर्तमान राष्ट्रपति बाराक ओबामाले कडा निन्दा गरेका छन । राष्ट्रपति डोनाल्ड ट्रम्पको मुस्लिमलाई अमेरीकामा प्रवेश निषेधको निर्णयको विषयमा मुख खोल्दै ओबामाले धार्मिक आस्था र राष्ट्रियताको आधारमा अमेरीका प्रवेशमा रोक लागाइनु चिन्ताजनक भएको बताएका छन् ।

ओवामाका प्रवक्ता केभिन लुइसका अनुसार ओवामाले व्यक्तिलाई उसको धर्म र आस्थाको आधारमा गरिएको विभेदप्रति असहमति जनाएका छन् । उनले राष्ट्रपतिको पद हस्तान्तरण गर्दा अमेरीकनहरुलाई दिएको भाषणमा पनि निर्वाचनको बेला बाहेक पनि अमेरीकीहरु प्रजातन्त्रको अभिभावक हुनपर्ने सन्देश दिएको लुइसले बताए ।
लुइसले अमेरीकामा नागरिकले संविधानले दिएको अधिकारको प्रयोग गर्दै भेला हुने, आफ्नो आवज उठाउने जस्ता अभ्यास गर्दै आएको बताउँदै यस्तै अभ्यास सधैं आश गरेको बताए ।

उनले ट्रम्पको नाम लिएर सिधै ट्रम्पको प्रवेश निषेधको मुद्धालाई केही भनेनन् तर ओवामा राष्ट्रपति हुँदाको विदेश नीति र ट्रम्पको निर्णयको कुनै तुलना नभएको बताए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इस्लामिक राष्ट्रहरु इराक, इरान, सिरिया, सुडान, सोमालिया, लिबिया र यमनका नागरिकलाई ९० दिनसम्म अमेरिका प्रवेशमा रोक लगाउने निर्णयगरेसंगै व्यापक बिरोध भएको छ ।

मापदण्ड बिपरित अस्पताल अध्यक्षमा ठेकेदार !

उदयपुर, माघ १३ । स्वास्थ्य मन्त्री गगन थापाले जिल्ला अस्पताल उदयपुर विकास समितिको अध्यक्षमा ठेकेदारलाई मनोनयन गरेका छन् । त्रियुगा नगरपालिका २ का निर्माण व्यवसायी राकेश खत्रीलाई अध्यक्षमा नियुक्ति गरेका हुन् । खत्रीलाई स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ती र मनोनयन सम्बन्धि मापदण्ड २०७३ को ५ नम्बर विपरित नियुक्ती गरिएको हो । मापदण्डको ५ नम्बर बुँदाको नियुक्ति तथा मनोनयनको अयोग्यताको बुँदा नं. (ङ) अनुसार सार्वजनिक निकाय सँग कुनै ठेक्का पट्टा सम्झौता गरी काम गर्दै आएको व्यक्ति पदाधिकारी तथा सदस्यमा नियुक्ती वा मनोनयनका लागि अयोग्य मानिनेछ । तर, मनोनित अध्यक्ष खत्री नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य तथा रौताहा कन्ट्रक्सनका प्रतिनिधि हुन । उनका बुबा अमर खत्रीको प्रतिनिधीको रुपमा जिल्ला भित्र तथा जिल्ला बाहिरका योजनाहरु निर्माणमा संलग्न रहेका छन । खत्रीले नै नामेटार र हर्देनी स्वास्थ्य चौकीको भवन निर्माण गरिरहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गाईघाटका ईन्जिनियर बम्ह्रदेव चौधरीले बताए । उनले भने ‘हामीले रौताहा कन्ट्रक्सनलाई दुईवटा स्वास्थ्य चौकीको भव निर्माण गर्न जिम्मा दिएका छौ ।’ ‘मन्त्रीको नजिक हुँदै गगनले अस्पतालामा ठेकेदारलाई नियुक्ति गरेकाले सच्याउन माग गरेका छौ ।’ नेपाली काङग्रेस उदयपुरका एक नेताले भने– ‘सबैका लोप्रिय गगन पनि ठेकेदारको नुनपानीमा भुलिने मान्छे रहेछन् ।’ शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय राजविराज सँग २०७१÷६÷८ मा नामेटार स्वास्थ्य चौकी भवनको निर्माण सम्झौता गरि रौताहा कन्ट्रक्सन त्रिनपा २ को तर्फबाट राकेश खत्रीलाई नै कार्यदेश दिईएको छ । ताकी मापदण्डमा निर्माण व्यवसायीले पदाधिकारीमा मनोनयन हुन नपाउने व्यवस्था छ । आफू निर्माण व्यवासायी नै भएको नव नियुक्त अध्यक्ष राकेश खत्रीले बताए । ‘मैले काम गरेर खाने पेशा भनेको निर्माण व्यवसायी हो ।’ उनले भने, ‘निर्माण व्यवसायी हुँदै अस्पाताल बिकास समितिको अध्यक्ष हुन नपाईने भनेर कहाँ लेखेको छ ? मलाई त्यो देखाईदिनु प¥यो ।’ खत्रीले मन्त्रालयको मापदण्डमा स्नातक तह उतीर्ण गरेको हुनुपर्ने भन्ने मलाई थाहा छ, अरु कुरा थाहा नभएको बताए । खत्रीले थाहा खबरसँग कुरा गर्दै आफुले निर्माणधिन अवस्थामा रहेको स्वास्थ्यचौकी नामेटार र स्वास्थ्य चौकी हर्देनीको भवन निर्माण गरिरहेको पनि स्वीकार गरेका छन् । नयाँ मापदण्डपछि मुलुकभरिका ८७ अस्पताल विकास समितिमध्ये अघिल्लो निर्णयमा २९ वटामा मनोनित भएको थियो भने यो पटक थप १५ जना मनोनित गरेको हो । त्यसैमा खत्री परेको नेपाली काङग्रेस उदयपुरका एक नेताले जानकारी दिए ।

नेपालमा ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं, माघ ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपालमा लगानीको वातावरण क्रमशः बन्दै गएकाले ढुक्क भएर पुँजी लगाउन मित्र राष्ट्रहरुसँग आग्रह गरेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका बेलायतका लर्ड मेयर सिटी अफ लन्डन डा एन्ड्रयु पार्मलीसँगको भेटमा उनले जलविद्युत् तथा पूर्वाधार निर्माणका क्षेत्रमा लगानी गर्न आग्रह गरेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । लर्ड मेयरले नेपालको शान्तिप्रक्रिया र संविधान निर्माणमा नेपालले हासिल गरेको प्रगतिको सराहना गर्दै लगानीको वातावरण बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । भेटका अवसरमा नेपाल र बेलायतबीचको दुई सय वर्ष पुरानो सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भेटमा लर्ड मेयर नेतृत्वको प्रतिनिधिमण्डलका सदस्य, नेपालका लागि बेलायती राजदूत रिचर्ड मरिसका साथै प्रधानमन्त्रीको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो । रासस

मुम्बई एयरपोर्टमा दुबईबाट तस्करी गरिएको ८ किलो सुन पक्राऊ

मुम्बई, माघ ११ । पछिल्लो दुई दिनमा बिभिन्न व्यक्तिहरुले लुकाएर ल्याएको ११ किलो सुन मुम्बई विमानस्थलमा पक्राउ परेको छ । यसको मूल्य भारतीय रुपैयाँ सवा दुई करोडभन्दा बढी रहेको बताइन्छ । मुम्बई प्रहरीले तीनजनालाई सुन तस्करीको आरोपमा पक्राउ गरेको छ । मिडिया एजेन्सीहरुले उल्लेख गरे अनुसार, सुन तस्करहरुले दुबईदेखि ल्याइरहेको राशिद, इरफानभाई राणा र अब्दुलसलीमलाई पक्राउ गरेको जनाएका छन् ।

संसदमा निर्वाचनसम्बन्धी २ विधेयक आज पारित हुने

काठमाडौं, माघ ११ । निर्वाचनका लागि वातावरण तयार गर्न सरकारले व्यवस्थापिका संसदमा दुईवटा विधेयक प्रस्तुत गर्ने भएको छ । राज्य व्यवस्था समितिले पारित गरेको निर्वाचन आयोगको काम कर्तव्य अधिकार तथा मतदाता नामावलीसम्बन्धी विधेय आजै प्रस्तुत गरि पारित गर्ने सरकारको तयारी रहेको छ । निर्वाचनसम्बन्धी विधेयकहरुमा सत्ता र प्रतिपक्षी दलहरुको सहमति रहेको छ । शीर्ष दलहरुबीच सीमांकनमा असहमति भएपनि निर्वाचनका विषयमा सहमति भएका कारण दुबै विधेयक आजै पारित हुने सम्भावना बढेको हो । थ्रेसहोल्डबारे सहमति जुट्ने ? दुबै प्रस्ताव राज्यव्यवस्था समितिको हिजोको बैठकले सर्वसम्मत पारित गरे पनि थ्रेसहोल्डका बारेमा भने अझै सहमति जुट्न सकेको छैन । दलहरुबीच ३ प्रतिशत थ्रेसहोल्ड राख्ने विषयमा करिब करिब सहमति जुटेकोले यसबारेमा समेत समितिको आजको बैठकमा निर्णय हुन सक्ने देखिन्छ । File Photo

पत्रकार महासंघ काठमाडौं शाखामा तोडफोड, नयाँ सदस्यता फारम जलाउने प्रयास

काठमाडौँ, माघ १० । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कार्यालयमा तोडफोड प्रयास भएको छ । सोमबार भृकुटी मण्डपमा रहेको कार्यालयमा दुई जना व्यक्तिले कुर्सी फोड्ने प्रयास गरेका हुन् । अहिलेसम्म गोप्य राखिएका ती दुई व्यक्तिले नयाँ सदस्यता फारम जलाउने प्रयास गरेको काठमाडौं शाखाले जनाएको छ । काया्ृलय सचिवलाई जवजस्ती गरेर पत्रकारको नयाँ फारम थुत्न खोजेको उनीहरुले बताएका छन् । उक्त घटनाको पत्रकारितासँग सम्बन्धित संगठनले ध्यानाकर्षण भएको भन्दै विरोध जनाएका छन् । सोमबार जारी वक्तव्यमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको नयाँ सदस्यताको आवेदन फारम समेत जबरजस्ती कब्जामा लिएर जलाउने प्रयास गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ प्रेस सेन्टर काठमाडौंका अध्यक्ष गोविन्द शर्मा, नेपाल प्रेस युनियन काठमाडौंका सचिव महेश्वर गौतम, प्रेस सोसाइटी नेपाल तीन नं प्रदेशका संगठन विभाग प्रमुख फणीन्द्र फुयाल, मिडिया नेपालका उपत्यका उपाध्यक्ष रेशम पौडेल र नेपाल पत्रकार मञ्चका कार्यवाहक अध्यक्ष चन्द्रमणि भट्टराईले हस्ताक्षर गरेका छन् । संयुक्त रुपमा जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको काठमाडौं शाखामा गुण्डागर्दी शैलीमा तोडफोड तथा कार्यालयको सामानमा आगजनी गर्न खोजिने यस्ता सबैखाले हर्कतमा संलग्न जोसुकै भएपनि उनीहरुको विषयमा छानबिन गरी कारबाही गर्न समेत हामी जोडदार माग गर्दछौं ।’ पत्रकार महासंघको नयाँ सदस्यता आवेदन केन्द्रमा सिफारिस गरिसक्नुपर्नेमा अड्काएर राखि नयाँ सदस्य बन्न योग्य पत्रकारलाई वञ्चित गरेको प्रति पनि आफुहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । सदस्यता सिफारिसका लागि यसअघि नै कार्यदलले अध्ययन गरेर सदस्य बन्न योग्य ठहर्याएका फायल बिभिन्न बहानामा रोकेकोमा ती फायलहरु तत्काल केन्द्रमा सिफारिस गर्न पनि माग समेत गरिएको छ ।

अनलाइनबाट हाइड्रोमा लगानी गर्नेको संख्या २५ हजार, साढे दुई अर्ब लगानी प्रतिवद्धता

काठमाडौं, माघ ९ । ‘नेपालको पानी जनताको लगानी’मा लगानीकर्ताहरूले साढे दुई अर्वको लगानी प्रतिवद्धता जनाएका छन् । ऊर्जा मन्त्रालयले अभियानका रुपमा सुरु गरेको उक्त योजनामा अहिलेसम्म २४ हजार २४९ जनाले लगानी प्रतिवद्धता जनाइसकेका छन् । संस्थागत रुपमा २७ वटा संस्थाले लगानी प्रतिवद्धता जनाएको ऊर्जा मन्त्रालयले जानकारी दिएको छ । व्यक्तिगत र संस्थागत गरेर हालसम्म दुई अर्ब ४३ करोड २९ लाख ४५ हजार ९४३ रूपैयाँ बराबरको प्रतिवद्धता प्राप्त भएको ऊर्जा मन्त्रीको सचिवालयले एभरेष्टदैनिक डटकमलाई जानकारी दिएको छ । ऊर्जा मन्त्री जनार्दन शर्माको सचिवालयका अनुसार हाइड्रोमा लगानी प्रतिवद्धता गर्नेको सङ्ख्या दैनिक बढ्दै गएको छ । संस्थागत रुपमा भन्दा पनि व्यक्तिगत रुपमा लगानी प्रतिवद्धता गर्नेहरु ह्वात्तै बढ्दै गएका छन् । संस्थागत रुपमा रु आठ करोड ६१ लाख ७५ हजार रूपैयाँ लगानी प्रतिवद्धता आएको छ । पुस २५ गते साँझदेखि खुलेको अनलाईन आवेदनमा स्वदेश तथा विदेशमा रहेका नेपालीले उत्साहजनक रुपमा लगानी गरेका छन् । ‘लगानी सुनिश्चित हुने वातावरण दिनसक्नुपर्छ नेपालका राष्ट्रिय गौरवका धेरै योजना नेपालीकै पैसाले गर्न सकिने रहेछ,’ ऊर्जामन्त्रीका प्रमुख स्वकीय सचिव बसन्त शर्मालेले एभरेष्टदैनिक डटकमसँग भने । आन्तरिक रुपमा जलविद्युत् आयोजनामा कति लगानी जुट्छ भन्ने पत्ता लगाउन मन्त्रालयले पुस २५ गते साँझबाट नागरिकलाई अनलाइनबाट लगानी प्रतिवद्धता जनाउन आग्रह गरेको थियो ।

तीन लाख भक्तजनले त्रिवेणी धाममा दर्शन गरे

उदयपुर, माघ ८ । उदयपुर जिल्लाको कटारीस्थित कमला नदीको त्रिवेणी धाममा सञ्चालन भइरहेको १५ दिने मेलामा एक हप्ताभित्र झन्डै तीन लाख भक्तजनले त्रिवेणी धामको दर्शन गरेर मेलामा सहभागिता जनाएका छन् । माघ १ गतेदेखि ७ गतेसम्ममा पूर्वको तराई पहाड र भारतको विहारलगायत राजधानी काठमाडौंदेखि भक्तजन आएर दर्शन गर्दै रहेको र दर्शन गर्नेको संख्या झन्डै तीन लाख पुगेको प्रहरी चौकी बेल स्रोतका प्रहरी निरीक्षक विक्रम लामाले बताए । अहिलेसम्म त्रिवेणी धाममा नुहाउने र त्रिवेणीको कमलेस्वर मन्दिरमा पूजा गर्ने भक्तजनको भीड लाग्ने गरेको समेत स्थानीय केदार धमलाले बताएको छ । यस्तै त्रिवेणीको कमलेस्वर मन्दिरमा आयोजना गरेको सप्ताहव्यापी पुराण शुक्रबार सम्पन्न भएको छ । प्रत्येक वर्ष तीन वर्षदेखि कमलेस्वर मन्दिरमा आयोजना गर्दै आएको सप्ताहव्यापी पुराण यसवर्ष पनि माघ १ गतेदेखि सुरु गरेर ७ गते सम्पन्न गरेको पुराण आयोजक समितिका संयोजक नेत्र भट्टराईले बताउए । उक्त पुराणमा सङ्कलन भएका रकम तथा दानबाट त्रिवेणीको कमलेस्वर मन्दिर व्यवस्थापनमा खर्च गरिने संयोजक भट्टराईले बताएको छ । भक्तजनले माघ महिना भरिनै त्रिवेणीमा दर्शन गर्ने र पूजा तथा आराधना गर्ने गरेका कारण माघ अन्तिमसम्ममा टाढा–टाढाबाट आउने धेरै भक्तजनले कमलाको त्रिवेणी दर्शन गर्ने गर्दछन् ।

एउटा देशले चाहेर मात्रै अपराध नियन्त्रण हुँदैन : प्रधानमन्त्री

काठमाडौ, माघ ५ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै एउटा देशले मात्र चाहेर संगठित अपराध नियन्त्रण हुन नसक्ने बताएका छन् । उनले अपराध नियन्त्रणमा लागि एसियाका सबै देशहरुबीच सामूहिक सहकार्य हुनुपर्नेमा जोड दिए । राजधानीमा बुधबारदेखि सुरु हुन गइरहेको अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को २३ औं एसियन रिजनल कन्फरेन्सको उद्‌घाटन गर्दै उनले अपराध नियन्त्रणका लागि एउटा देशले मात्रै सम्भव नरहेको तर उक्त देशको भने महत्वपूर्ण भूमिका रहने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘कुनै पनि एक देशले मात्र चाहेर संगठित अपराध नियन्त्रण हुँदैन ।  सीमा बाहिर फैलिएको अपराध नियन्त्रण गर्न सामूहिक सहकार्य चाहिन्छ ।’ प्रधानमन्त्री प्रचण्डले कानुन र विधिको पालना गराउनु दक्षिण एसियाको साझा समस्या रहेको बताएका छन् । उनले क्षेत्रीय सहकार्य जरुरी रहेकोमा जोड दिँदै भने, ‘सुरक्षा अवस्थामा नयाँ चुनौती र खतरा बढिरहेका छन् देश बाहिर बसेर सामाजिक सञ्जालमार्फत अफवाह र घृणा फैलाउने काम भइरहेको छ । यो आधुनिक प्रविधिको दुरुपयोग हो ।’ कार्यक्रममा नेपाल प्रहरीका आईजीपी उपेन्द्रकान्त अर्यालले अपराधको शैली फेरिएको भन्दै यसको नियन्त्रण चुनौतीपूर्ण रहेको बताए । उनले इन्टरपोलले अब त्यस्ता समस्या समाधान गर्न लागिपर्ने बताए । तीन दिनसम्म चल्ने सम्मेलनमा ५० भन्दा बढी देशका प्रहरी प्रतिनिधि सहभागी हुनेछन् ।

हेटौंडाका निजी घरमा डोजर चल्यो

हेटौंडा, माघ ४ । हेटौडामा सडक क्षेत्र मिचेर बनाइएको निजी घर, टहरा भत्काउन सुरु गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले सडक सीमा अतिक्रमण गरी राजमार्गमा पर्ने सडकको दायाँवायाँ २५÷२५ मिटर भित्र बनाइएका भौतिक संरचना हटाउन दिएको समयसीमा सकिएसँगै मंगलबार विहानैदेखि घर भत्काउन सुरु गरेको हो । सडक अतिक्रमण गरी घर, टहारा निर्माण गरेको भन्दै सडक कार्यालयले राप्तीरोडबाट भत्काउन थालेको हो । सडक फराकिलो पार्ने काम सुरु भएपछि मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा प्रर्दशन समेत भएको छ । स्थानीय प्रशासनले ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । सडक डिभिजन कार्यालयले सडक क्षेत्रका सरकारी संरचना केहीदिन अघि भत्काइसकेको छ । हेटौंडाको सडक विस्तार अभियान नरोकिने सडक विभागले जनाएको छ । सडक विस्तारसँगै हेटौंडाको मुख्य बजार क्षेत्रका अधिकांश घर भत्किने भएको छ । । स्थानीयले मुआब्जा नदिई सडक विस्तार गर्न नदिने भन्दै सोमबार हेटौडा बजार बन्द गराएका थिए । मकवानपुर उद्योग वाणिज्य संघ, बसोबास संरक्षण समिति, उद्योगी ब्यवसायी तथा राजनीतिक दहलरुले घर भत्काउन नहुने माग गर्दै आन्दोलनमा छन् । तर, सरकारले सडक मिचेर बनाइएका घर, टहरा तथा व्यापारिक भवन भत्काउँदा मुआब्जा नदिने निर्णय गरिसकेको छ । हेटौडाका स्थानीय पत्रकारको सहयोगमा

रेडियो नारायणीमा आगलागी, प्रसारण बन्द

रत्ननगर (चितवन), माघ ३ । चितवनको भरतपुरस्थित सामुदायिक रेडियो ‘रेडियो नारायणी’मा आगलागी भएको छ । गएराति करिव ८ बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको रेडियोका सञ्चालक गोविन्द देवकोटाले जानकारी दिए । भरतपुरको बुद्धचोकबाट सञ्चालनमा रहेको रेडियोको युपिएस ब्याट्रीसेट, कन्भर्टर, ट्रान्समिटर लगायतमा क्षति पुगेको उहाँले बताउनुभयो । क्षतिको मूल्याङ्कन गर्न बाँकी रहेको रेडियोले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार सोलारको चार्ज कन्ट्रोलरबाट विद्युत् सर्ट भएको बताइएको छ । आगलागीपछि रेडियोको प्रसारण रातिदेखि नै बन्द भएको छ । ट्रान्समिटर र ब्याट्रीमा पनि असर गरेको भएमा करिब रु एक हजर चार सय १५ लाखको क्षति हुने देखिएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार दमकलसमेत पठाइएको भए पनि थप क्षति हुनबाट जोगाउन ग्यासबाट आगो नियन्त्रणमा लिइएको थियो । रासस

आबुधाबी पुगेर प्रचण्डले भने– विदेशमा नेपालीले बगाएको पसिना सदुपयोग होस् भन्नेमा सरकार सचेत

आवुधावी, माघ २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको लक्ष्य भनेको देश विकास र समृद्धि रहेको बताएका छन् । दशौं विश्व भविष्य उर्जा सम्मेलनमा भाग लिन युएई आई पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँको नेपाली दुताबासमा नेपालीहरुसँग अन्तरक्रिया गर्दै आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड गरेको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड गरेको छ ।’ वर्तमान सरकारले विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईहरुले यहाँ हासिल गरेको अनुभव र पूँजी नेपालको विकासको लागि आधारशिला हो, पूँजी हो । तपाईहरुले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत छ ।’ नेपालको राजनीतिबारे बोल्दै प्रधानमन्त्रीले प्रचण्डले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं, सबैका भावना छन्, राष्ट्रिय एकता हासिल गर्नुछ, कसैलाई पेलेर वा ठेलेर समस्याको हल हुँदैन । सरकार सबैसँग समान रुपले सम्वादमा छ र त्यो सकारात्मक दिशामा छ । राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयन गर्नेमा सरकार छ ।’ उर्जा सम्मेलनबारे बोल्दै प्रधानमन्त्रीले प्रचण्डले भने, ‘उर्जा सम्मेलन हाम्रा लागि धेरै महत्वको छ । हाम्रो ध्यान यसमा छ । हामीले वैदेशिक रोजगारीबाट आएको पूँजीलाई विकास आयोजनामा केन्द्रित गर्न खोजेका छौं । म विकासका कामलाई केन्द्रमा राखेर विकासका आयोजनाहरुको अनुगमन गरिरहेको छु । राजनीतिक विवादमा अल्झिएर हामीले विकासलाई उपेक्षा गरियो, अब त्यसो गर्नु हुँदैन । ईच्छाशक्तिका साथ नेतृत्वले देशको विकास लागि केही गर्नैपर्छ ।’ भेटमा उर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, शिष्टाचार महापाल दीपक अधिकारी लगायत सहभागी रहेको थियो । सो अवसरमा सहभागीहरुले वैदेशिक रोजगारीका क्रममा आफूले भोग्नुपरेका समस्या र अवस्थाबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।

पाल्पामा तीन सयभन्दा बढी एचआइभी सङ्क्रमित

पाल्पा, माघ २ । एचआइभीबाट सङ्क्रमितको सङ्ख्या यहाँ तीन सय पाँच रहेको छ । जिल्लामा हालसम्म एक सय ६२ महिला र एक सय ४३ पुरुष एचआइभी सङ्क्रमित रहेको बताइएको छ । सङ्क्रमितमध्ये ८० पुरुष एक सय दुई महिलाले नियमित रुपमा एआरटी औषधि सेवन गरिरहेको सक्रिय सेवा समाजले जनाएको छ । एचआइभी सङ्क्रमितको अवस्था, सहयोग र हेरचाहलगायतमा सरकार तथा गैरसरकारी संस्थाले सहयोग गर्दै आए पनि सङ्क्रमितको सङ्ख्या घट्न सकेको छैन । समाजका टिम लिडर लीलाराज भट्टराईले जिल्लाका दुई गाविस कसेनी र गोठादीमा नमुना कार्यक्रम सञ्चालन गरेर सङ्क्रमितलाई सहयोग र परामर्श दिइएको बताए । नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष राजेशकुमार अर्यालले एचआइभी सङ्क्रमितलाई सहयोग र तिनको पुनःस्थापना कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउँछन् । प्रतिबद्ध सहयोग समाजका कार्यक्रम सयोजक लक्ष्मी कुँवरले सङ्क्रमितप्रति समाजमा हेय भावले हेरिने गरेको गुनासो गरे । सरकारी तथा गैरसरकारी संस्था बजेट हुँदा आफूहरुलाई गाउँमा खोज्दै जाने र परियोजना सकिएपछि कुराकानी गर्न समेत नमानेको सङ्क्रमितको गुनासो छ ।

तीन करोड लगानी गरेर ३६७ घरधुरीलाई खानेपानी

म्याग्दी, माघ १ । बेनी नगरपालिका २ र ३ मा करिब रु तीन करोडको लागतमा ज्यामरककोट, अर्जन, रत्नेचौर खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय म्याग्दीमार्फत निर्माण सुरु भएको आयोजनाबाट भकुण्डे र अर्जमका ३६७ घरधुरी लाभान्वित हुने जनाइएको छ । रु दुई करोड ९८ लाख ७२ हजार २८५ लागत अनुमान गरिएको आयोजना आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको सवडिभिजन प्रमुख इञ्जिनियर शेखरचन्द्र केसीले जानकारी दिए । आयोजनामा उपभोक्ताको रु ५९ लाख ७४ हजार ४५७ बराबरको नगद तथा श्रमदान सहभागिता रहने कार्यालयले जनाएको छ । गत वर्ष रु दश लाख बराबरको काम भएको आयोजनाका लागि यस वर्ष रु ५५ लाख बजेट प्राप्त भएको छ । बिमीराबोटमा रहेको मुहानमा इन्टेक, ग्राभिटी ट्याङ्की र एक किलोमिटर पाइपलाइन बिछ्याउने काम सकिसकेको छ । मुख्य पाइपलाइन बिछ्याउनका लागि उपभोक्ताले श्रमदान गरेर नाली खन्ने काम गरिरहेका छन् । भकुण्डेमा एक लाख लिटर र अर्जममा पचास हजार लिटर क्षमत्ताको रिजर्भ ट्याङ्की निर्माण गर्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर थापाले बताए । प्रतिसेकेन्ड १.२ लिटर पानी आपूर्ति हुने आयोजनाबाट सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष थापाले बताए । भकुण्डे र अर्जममा विसं २०३१ सालमा निर्माण भएको आयोजनाबाट खानेपानी आपूर्ति हुँदै आएको छ । पर्याप्त खानेपानी आपूर्ति नहुँदा स्थानीयवासीलाई समस्या भएको छ । नयाँ आयोजनामा एक घर एक निजी धारा हुने जनाइएको छ । उपभोक्ता समितिले सक्रियता देखाएर समयमै काम हुन सकेमा यसवर्ष सम्पन्न गर्नेगरी थप बजेट माग गर्न सकिने खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालयले जनाएको छ ।

घुम्ती शिविरबाट पाँच सयलाई नागरिकता

चौतारा, माघ १ । सेवाग्राहीलाई गाउँघरबाटै सुविधा प्रदान गर्ने उद्देश्यले सिन्धुपाल्चोकको ठोकर्पा गाविसमा आयोजित एकीकृत घुम्ती शिविरबाट पाँच सय ३८ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । जिल्लास्थित सरकारी कार्यालयद्वारा बिहीबार आयोजित शिविरबाट ठोकर्पा, कालिका, यमुनाडाँडा, सुनखानी र लिसङ्खुसहित पाँच गाविसका बासिन्दालाई विभिन्न सेवा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । टाढाटाढाबाट आएका सेवाग्राहीलाई ध्यानमा राखी चिसोको समेत पर्वाह नगरी राति ९ बजेसम्म बसेर सेवा प्रदान गरिएको कामु प्रजिअ अन्तरबहादुर सिलवालले बताए। रासस

एमालेको सहमतिमै संशोधन प्रस्ताव टेबल गरिएको प्रधानमन्त्रीको भनाई

चितवन, पुस २५ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले एमालेको सहमतिमै संविधान संशोधनको प्रस्ताव टेबल गरेको बताएका छन् । चितवन महोत्सवको उद्‌घाटन तथा विभिन्न कार्यक्रममा सहभागी हुन आएका प्रधानमन्त्रीले प्रेस सेन्टर चितवनले सोमबार भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै बाहिर कुरा आएजस्तो जबरजस्ती नभई एमालेसँगकै सहमतिमा संशोधनको प्रस्ताव टेबल गरिएको प्रष्ट्याए । ‘एग्री टु डिसएग्री अनुसार संसदमा एमालेले अवरोध गरेको हो । संयुक्त सरकार भएपछि केही अप्ठ्याराहरु अवश्य हुन्छन् । हामीले एडजस्ट गर्नुपर्ने अवस्था आइपर्छ । त्यही एडजस्ट गरेको मात्रै हो ।’ आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको ‘वान टु वान’ वार्तामा समझदारी कायम गर्दै अघि बढ्ने सहमति भएको उनले दाबी गरे । बाहिर आएको जस्तो एमालेसँग कुनै असमझदारी नभएको प्रचण्डको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले भने– ‘संशोधनको प्रस्ताव टेबल गर्नुअघि केही प्रमुख नेताहरुलाई सभामुखले बोलाइसकेपछि छलफल भएको थियो । यसपछि एमाले अध्यक्ष ओलीजीसँग आफ्नो एक घण्टा छलफल गरेको र विषयमा सहमति नबनेपनि प्रक्रिया अगाडि बढाउनेमा सहमति भएपछि प्रस्ताव पेश गरिएको हो ।’ देशलाई समझदारी साथ अगाडि बढाउन र संविधान कार्यान्वन गर्न ओलीजीसँग गम्भीरतापूर्वक साथ कुराकानी भएको बताए । ‘कुनै न कुनै उपाय खोजेर यो स्थितीलाई अगाडि बढाउने र देशलाई निर्वाचनतिर लैजाने भएकोले यो चाँडै नै टुगिन्छ,’ उनले भने– अब टुङ्गयाएर निर्वाचनमा जाने तयारीमा छौं ।’ उनले पहिला जस्तो हतारमा कुनै काम नगर्ने बताए । ‘विगतमा हतारमा निर्णय गर्दा जनताको काम गर्न सकिएको थिएन, जनताको काम गर्न सत्तामा पुगेको छु अब हतार गरेर निर्णय गर्दिन’ उनले भने । ‘जबसम्म देशका समस्या थाँती रहन्छन् त्यसलाई समाधान गरेर मात्र छाड्छु ।’ उनले पुरक बजेटको पनि कुरा अगाडि बढेको र चितवनलाई लक्षित गरेर महत्वपूर्ण प्याकेज ल्याउने घोषणा गर्ने बताए ।