चुनाव गर्न दश नगरपालिकामा निर्वाचन अधिकृत कार्यालय स्थापना
काठमाडौँ, वैशाख १३ । आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि मंगलबार काठमाडौँ जिल्लाका १० वटा नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
प्रत्येक नगरपालिकामा निर्वाचन सम्पन्न गर्नका लागि कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी गराउनुभयो । नार्गाजुन नगरपालिकामा सुदर्शन लामिछाने, शङ्खरापुरमा भुवनेश्वर पौडेल, गोकर्णेश्वरमा निर्मला सुवेदी र दक्षिणकालीमा प्रतिमा पोखरेललाई निर्वाचन अधिकृत तोकिपठाइएको छ ।
यसैगरी, तारकेश्वरमा निर्मला योङया, कागेश्वरी मनहरामा प्रकाश कोइराला, चन्द्रागिरिमा गणेश नायक, टोखामा दीनबन्धु बराल, कीर्तिपुरमा गजेन्द्रबहादुर सिंह र बूढानीलकण्ठमा सुरेशप्रसाद नेपाललाई निर्वाचन अधिकृत तोकिएको छ ।
ती निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित नगरपालिकाका लागि उम्मेदवारको मनोनयनदेखि निर्वाचन सम्पन्न गर्ने सबै काम गर्नुपर्नेछ । यसअघि यही वैशाख ३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।
राजनीति गर्ने शिक्षक कारबाहीमा
गुल्मी, चैत १८ । जिल्ला शिक्षा कार्यालय गुल्मीले सक्रिय राजनीति गर्ने १३ जना शिक्षकलाई कारबाही गर्ने भएको छ । सामुदायिक विद्यालय अन्र्तगतका ती १३ जना शिक्षकलाई सक्रिय रुपमा राजनीति गरेको हुनाले उनीहरुलाई आवश्यक कारबाही गर्न प्रक्रिया अघि बढाईएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बताए । खनालकाअनुसार कारबाही गर्ने जानकारी पाएपछि अहिले पाँच जना शिक्षकले जागिरबाट अवकाश लिइसकेका छन् भने अन्य शिक्षकलाई उनीहरुको गल्तीका आधारमा स्पष्टीकरण सोधिएको बताइएको छ । ‘हामीले कार्यालयमा आएका विभिन्न उजुरी र स्थानीय बासिन्दाले उपलब्ध गराएको भिडियो लगायतलाई आधार मानेर कारबाही प्रक्रिया अघि बढाएका छौं’ खनालले भने । जिल्ला शिक्षा कार्यालयले श्रोत व्यक्तिहरुमार्फत गोप्य रुपमा सक्रिय राजनीतिमा संलग्न शिक्षकहरुको नामावली संकलन गर्न निर्देशन दिए पनि श्रोत व्यक्तिहरुलाई उक्त नामावली संकलनमा समस्या परेको छ । जसका कारण जिल्ला शिक्षा अधिकारीले स्थानीय विकास अधिकारी मार्फत गाउँपालिका र नगरपालिकाका वडा सचिवहरुमार्फत गोप्य रुपमा त्यस्ता शिक्षकहरुको नामावली संकलन गर्न सुरु गर्न थाल्नु भएको छ । ‘एउटाले भोको पेटले राजनीति गरिरहेको छ, अर्कोले सरकारी तलब खाएर राजनीति गरेको छ, हामीले सुरु गरेको यो अभियानलाई राजनीतिक दलहरुले पनि राम्रो मान्नु भएको छ,’ जिल्ला शिक्षा अधिकारी खनालले भने । जिल्ला शिक्षा कार्यालय गुल्मीले शिक्षकहरुलाई राजनीति गर्ने भए जागिर छोड्न निर्देशन दिएपछि राजनीतिक दलहरुको कार्यकारी पदमा रहेका अधिकांश शिक्षकहरु जागिर छोड्ने की राजनीतिमा फर्कने भन्ने दोधारमा रहेका छन्।
साढे २२ हजार घुस लिँदा लिँदै नापी सर्वेक्षक श्रेष्ठ पक्राउ
जनकपुर, चैत १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले नगरपालिकाका नापी सर्बेक्षकलाई घुस लिँदा लिँदै रंगेहात पक्राउ गरेको छ । सिन्धुलीको कमलामाई नगरपालिकाका नापी सर्वेक्षक सन्तोषकुमार श्रेष्ठलाई शुक्रबार कार्यालयमा एक सेवग्राहीबाट २२ हजार ५ सय घुस रकमसहित पक्राउ गरेको हो । आयोग बर्दिबासका एसपी राजकुमार लम्सालको नेतृत्वमा गएको टोलीले श्रेष्ठलाई दिउँसो २ बजे पक्राउ गरेको जनाएको छ । भूकम्पपीडितको जग्गाबाट बाटो लगिदिने प्रयोजनमा एक जना सेवाग्राहीबाट कर्मचारी श्रेष्ठले घुस लिएका हुन् । श्रेष्ठले घुस मागेपछि सेवाग्राहीले आयोगको कार्यालयमा निवेदन दिएका थिए । त्यसैअनुसार अख्तियारले २२ हजार ५ सय रुपैयाँ सेवाग्राहीलाई उपलब्ध गराएको थियो । पक्राउ परेका श्रेष्ठलाई भ्रष्टाचार ऐन अनुसार कारबाहीका लागि मुद्दा दायर गरिने उनले बताए ।
सङ्घीय संरचनाको अवधारणा राजनीतिक परिकल्पनाको नवीनतम अभ्यासः उपप्रधानमन्त्री थापा
भक्तपुर, चैत १५ । उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले वैशाख ३१ गतेको निर्वाचनपश्चात् निर्वाचित जनप्रतिनिधिलाई सवल, सक्षम र प्रभावकारी नगरपालिका तथा गाउँपालिका हस्तान्तरण गर्ने तयारी गर्न कार्यकारी अधिकृतहरुलाई निर्देशन दिनुभएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय विकास प्रशिक्षण केन्द्रले भक्तपुरको नगरकोटमा आज आयोजना गरेको ‘तीन दिने स्थानीय तहको शासन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा उहाँले सो निर्देशन दिनुभएको हो । ३ नम्बर प्रदेशका स्थानीय तहका कार्यकारी अधिकृत र स्थानीय विकास अधिकारीका लागि आयोजित उक्त कार्यक्रममा उपप्रधानमन्त्री थापाले भन्नुभयो— राजनीतिक दलहरु निर्वाचन उन्मुख भइसकेको र जनता निर्वाचनप्रति उत्साही भएकाले यसमा सक्रिय सहयोग पु¥याउन आग्रह गर्नुभयो । नेपालको संविधान २०७२ ले व्यवस्था गरेको सङ्घीय संरचनाको अवधारणा राजनीतिक परिकल्पनाको नवीनतम अभ्यास भएकाले यसलाई सहज ढङ्गबाट ग्रहण गर्न आग्रह गर्दै उहाँले संविधानमा स्थानीय तहलाई व्यवस्थापकिय, कार्यपालिका र न्यायिक अधिकारको व्यवस्था गरिएकाले त्यसको प्रभावकारी ढङ्गबाट कार्यसम्पादन गर्न समेत कार्यकारी अधिकृतहरुलाई निर्देशन दिनुभयो । सो अवसरमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारमान बुढाथोकीले अहिलेको संरचनाअन्तर्गत स्थानीय तहलाई अधिकार सम्पन्न बनाइएको हुँदा प्राप्त गरेको जिम्मेवारी, अधिकार र भूमिका प्रभावकारी ढङ्गबाट निर्वाह गर्न कार्यकारी अधिकृतहरुलाई निर्देशन दिनुभयो ।
उपप्रधानमन्त्री निधिलाई कतार भ्रमणका लागि प्रधानमन्त्रीकाे निम्तो
काठमाडौं, चैत १३ । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिलाई कतारका प्रधानमन्त्रीले कतार भ्रमणका लागि निम्तो पठाएका छन् । उपप्रधानमन्त्री र नेपालका लागि कतारका राजदूत यूसुुफ बीन मोहम्मद अल–हैलबीच आज गृहमन्त्रालयमा भएको भेटवार्तामा यूसुफले प्रधानमन्त्री तथा गृहमन्त्री अब्दुल्लाह बीन नसीर बीन खालिफा अल थानीले उपप्रधानमन्त्री निधिलाई कतार भ्रमणका लागि निमन्त्रणा पत्र हस्तान्तरण गरेका हुन् । गृहमन्त्री निधिले कतार भ्रमणको निमन्त्रणा स्वीकार गर्दै छिट्टै कतार भ्रमण गरेर प्रधानमन्त्री खालिफासंग भेटघाट गर्ने बताए । भेटमा द्धिपक्षीय सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको थियो । त्यस अबसरमा राजदूत हैलले नेपालमा हुन गइरहेको स्थानीय निकायको निर्बाचन लगायतका बिषयमा आबश्यक सहयोग गर्न कतार सरकार तयार रहेको उल्लेख गरे । निर्बाचन लगायतका बिषयमा सहयोग गर्न तयार रहेकोमा कतार सरकारलाई धन्यबाद दिदैं गृहमन्त्री निधिले यस सम्बन्धमा सरकारले थप छलफल गरेर ठोस एजेण्डा अघि बढाउने बताए ।
ड्रोनमार्फत धरान विमानस्थलको सर्भे सुरु
धरानमा निर्माण हुन लागेको विमानस्थलको ड्रोनमार्फत सर्भे सुरु गरिएको छ । पहिले ट्विनअटरजस्ता सानो विमान मात्र उडान तथा अवतरण गर्ने विमानस्थल बनाउने भनिए पनि अहिले ४२ सिट क्षमतासम्मका विमान उडान तथा अवतरण हुने गरी विमानस्थल बनाउन लागिएको हो । नागरिक उड्डयन प्राधिकरणले सर्भेका लागि जिम्मा दिएको रियल पाथ इन्जिनियरिङ कन्सल्टेन्टले धरान–१७ डाँडाघोपास्थित विमानस्थल निर्माणस्थलको सर्भेको काम गरेको हो । धरान उपमहानगरपालिकाका कार्यकारी अधिकृत विष्णु कोइरालाका अनुसार ड्रोन प्रयोग गरेर जग्गाको तस्बिर लिने तथा टोपोग्राफिक नक्सा तयार पार्ने काम हुनेछ । प्राधिकरणले खटाएका पाँचजना प्राविधिकको टोलीले शुक्रबार र शनिबार सर्भे गरेको उपमहानगरपालिकाका सूचना अधिकृत एवं विमानस्थल निर्माण परियोजनाका संयोजक भक्तिराज शर्माले बताए । प्राविधिक टोलीले सर्भेको प्रतिवेदन प्राधिकरणलाई बुझाउनेछ । ड्रोन प्रयोग गर्दा थोरै समयमा धेरै र विस्तृत तथ्यांक आउने उनको भनाइ छ । प्राविधिक टोलीका उत्सव गौतमले ७० हेक्टर जमिनको टोपोग्राफिक र थ्रिडी मोडल तयार पारेर बुझाइने बताए । पछिल्लो समय भने पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सर्भेका लागि भनेर दुई करोड रुपैयाँ बजेट छुट्याएको छ । ड्रोनले जग्गा कति चाहिने, कस्तो बनाउनेलगायतको अध्ययन गर्नेछ । रन–वे कतिको हुने, कति क्षमताको जहाज उडान तथा अवतरण हुन सक्छ भन्नेबारे सर्भेबाट जानकारी पाइने प्राविधिकले बताएका छन् । मध्यम खालको विमान उडान तथा अवतरण गर्न सक्ने विमानस्थल बनाउन करिब ४० बिघा जमिन चाहिने बताइएको छ । धरान उपमहानगरपालिकाले केही दिनअघि मात्रै जग्गा उपलब्ध गराउने भन्दै पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लिखित जानकारी गराएको छ । मन्त्रालयले जग्गा व्यवस्थापन भए विमानस्थल बनाउन कुनै समस्या नभएको जानकारी दिँदै आएको छ । १३ वर्षअघि निजी कम्पनी यति इन्कर्पोरेट प्रालिले ट्विनअटर उडान तथा अवतरण गराउने योजनाका साथ २४ जना स्थानीयबाट करिब ६ बिघा सात धुर जग्गा खरिद गरेको थियो । ०६० सालमै जग्गा खरिद गरिए पनि विमानस्थल निर्माण भने अगाडि बढ्न सकेको छैन । विमानस्थल निर्माण नहुँदा स्थानीयले जग्गा फिर्ता गर्न मागसमेत गर्दै आएका थिए । नया पत्रिकाबाट
युवती जिस्क्याउनेहरुविरुद्ध मुख्यमन्त्रीको ‘एन्टी रोमियो’ अप्रेसन
नयाँ दिल्ली, सार्वजनिकस्थलमा महिलामाथि हुने दुव्र्यवहार रोक्न नवनिर्वाचित मुख्यमन्त्री आदित्यनाथले एन्टी रोमियो अप्रेसन शुरु गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्रीको निर्देशनसँगै उत्तर प्रदेशका बिभिन्न स्थानमा प्रहरीले अप्रेसन शुरु गर्दै दुव्र्यवहार गर्ने युवाहरुलाई पक्राउ अभियान शुरु गरेको छ । उक्त अभियान अन्तर्गत प्रहरी दस्ताहरुले बजार, ‘शपिंग मल’, विद्यालय, क्याम्पस, पार्क र भिड हुने स्थानहरु निरीक्षण गर्ने र महिलालाई जिस्क्याएको र दुव्र्यवहार गरेकोमा देखेमा पक्राउ गर्न आदेश दिएएको छ । हालसम्म यसरी दुव्र्यवहार गर्ने ६ जना पक्राउ परेका छन् । स्थानीय केही युवाले महिला विद्यार्थीहरु परीक्षा दिएर घर फर्किरहेको अवस्थामा जिस्क्याएका कारण उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ। हरेक प्रहरी चौकीमा यस्तो अपराध रोक्न सेल नै गठन गरिएको छ । नव निर्वाचित मुख्यमन्त्री आदित्यनाथ कट्टर हिन्दुवादी नेताका रुपमा परिचित छन् ।
मोरङमा बुधबार राति बस दुर्घटना,चारको मृत्यु, १९ घाइते
मोरङ (पथरी), चैत ११ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५३८७ नं.को बस बुधबार साँझ मोरङको पथरी सडकखण्डको छधारेमा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी १९ यात्रु घाइते भएका छन् । सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बस सडक नजिकैको रुखमा गएर ठोक्किएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा मृत्यु भएका चारैजनाको सनाखत हुन सकेको छैन । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र घाइते सबैलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको प्रहरीले जनाएको छ । रासस
व्यवस्थापिका–संसद् बैठक डेढ घण्टापछि बस्ने
काठमाडौँ, चैत ९ । व्यवस्थापिका–संसद्को आज ३ बजेका लागि तय गरिएको बैठक डेढ घन्टापछि बस्ने भएको छ । राज्य व्यवस्था समितिले छलफल गरी पारित गरेको राजनीतिक दलसम्बन्धी विधेयकको प्रतिवेदन तयार गर्न समय लागेकाले बैठक सारिएको संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।
मन्त्रीपरिषदमा वरीयता विवाद
काठमाडौं, चैत ७ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मन्त्रिपरिषद्को वरीयताक्रमलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासमक्ष गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । दाहालले उपप्रधानमन्त्री कमल थापालाई पहिलो नम्बरमा राखेपछि निधि रिसाएका हुन् । उनले प्रधानमन्त्री र सभापति देउवासँग आफूलाई पहिलो नम्बरमा नराखे सरकार छाड्ने चेतावनीसमेत दिइसकेका छन् । ‘थापा धेरैपटक मन्त्री भएकाले उनलाई दिइएको हो’, स्रोतले भन्यो ‘यस विषयमा थापासँगै छलफल गरेर टुंगो लगाउने प्रधानमन्त्रीले आश्वासन दिनुभएको छ ।’ मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगत्तै नवनियुक्त उपप्रधानमन्त्री कमल थापालाई राखिएकोमा अर्का उपप्रधानमन्त्री विमलेन्द्र निधिले आपत्ति जनाएका छन् । थापाभन्दा पछि राखिए मान्य नहुने भन्दै उनले प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई चेतावनी दिएका छन् । प्रधानमन्त्री प्रचण्डले गत २६ फागुनमा थापालाई उपप्रधानमन्त्रीसहित स्थानीय विकासमन्त्री नियुक्त गरेका थिए । थापाले दोस्रो वरीयताको दाबी गरे पनि स्पष्ट थिएन । बिहीबार (३ चैत) बसेको मन्त्रिपरिषद् बैठकबाट प्रचण्डले आफूपछिको वरीयतामा थापालाई राखे । त्यतिवेला निधि नयाँदिल्लीमा थिए । त्यसअघिसम्म निधि प्रधानमन्त्री प्रचण्डपछि दोस्रो वरीयतामा थिए । उनलाई प्रचण्डले आफ्नो अनुपस्थितिमा कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिँदै आएका थिए । शनिबार स्वदेश फर्केपछि कांग्रेस मन्त्रीहरूले मन्त्रिपरिषद् बैठकबारे ब्रिफिङ गरेपछि निधि आक्रोशित बनेका हुन् । उनले आइतबार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आपत्ति मात्रै जनाएका छैनन्, उक्त निर्णय आफूलाई स्वीकार्य नहुने चेतावनी पनि दिएका छन् । आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसबारे कांग्रेसका प्रभावशाली नेताहरूको बैठक बोलाएर छलफल गरेका छन् । उपप्रधानमन्त्री निधिका प्रेस सल्लाहकार रामजी दाहालका अनुसार निधिले आइतबार बिहान प्रधानन्त्रीलाई भेटेर आफू वरीयतामा माथि रहेको स्पष्ट पार्दै अन्यथा भए मान्य नहुने स्पष्ट पारेका छन् । ‘कांग्रेस र माओवादी केन्द्रको पूर्ववत् सहमतिभन्दा दायाँ–बायाँ गरेर वरिष्ठताबारे गरिने निर्णय मान्य हुँदैन भनेर उपप्रधानमन्त्री निधिले प्रधानमन्त्रीलाई स्पष्ट पार्नुभएको छ,’ दाहालले भने । कांग्रेस सभापति देउवा, महामन्त्री डा. शशांक कोइराला, नेताहरू बालकृष्ण खाण, डा. रामशरण महतलगायतको आइतबार साँझको बैठकमा पनि यसबारे छलफल भएको थियो । बैठकमा निधिले असन्तुष्टि जनाएका थिए । ‘सभापतिले यसबारे प्रधानमन्त्रीसँग गम्भीर रूपमा कुरा राख्छु भन्नुभएको छ, सबैभन्दा ठूलो दलको अपमान सहनेवाला छैनौँ,’ बैठकमा सहभागी कांग्रेसका एक नेताले भने । निधिको तर्क : यसकारण म वरिष्ठ उपप्रधानमन्त्री : आफू वरिष्ठतम उपप्रधानमन्त्री भएको विषयमा उपप्रधानमन्त्री निधिले दुईवटा तर्क दिने गरेका छन् । पहिलो, उनी सबैभन्दा ठूलो दलका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूका अगुवा हुन् । सत्तासाझेदारीमा ठूलो हिस्सा ओगटेका नेताका हैसियतमा आफू वरीयतामा अघि रहेको निधिको दाबी छ । त्यस्तै राप्रपा अध्यक्ष थापा अहिलेसम्म कार्यबाहक प्रधानमन्त्री नभएको बरु आफू यसबीचमा पटक–पटक भएको उनको तर्क छ । मन्त्रिपरिषद्को वेबसाइटमा भने निधि नै वरिष्ठ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइट ओपिएमसिएम डट जिओभी डट एनपीमा भने उपप्रधानमन्त्री थापा कनिष्ट उपप्रधानमन्त्री भएको उल्लेख छ । वेबसाइटमा निधि वरिष्ठतम स्थानमा छन् भने उनीपछि कृष्णबहादुर महरालाई राखिएको छ । थापालाई चौथो वरीयतामा राखिएको छ । यो खबर आजको नागरिकमा छ ।
उकालो चढ्न नसकेको शेयर बजार, के होला भविष्य ?
काठमाडौं, चैत ६ । सूचक १८८१ सम्म पुगेर फर्किएको सेयर बजार यतिबेला १३ सयको वरीपरि घुमिरहेको छ । गत बिहीबार बजार बन्द हुँदा नेप्से १३५७.३४ विन्दुमा रोकियो । पछिल्लो समय सेयर बजारले केही सकारात्मक संकेत देखाएको छ । चैत सुरु भएसँगै बजारमा विस्तारै माहोल बढ्न थालेको अनुभूति हुँदैछ । कात्तिकयता लगातारजसो घटेको बजार चैत लागेसँगै अब विस्तारै बढेको छ । यसलाई सेयरमा देखिएको सिजनल प्रभाव भनेर सेयर विश्लेषकले विश्लेषण गरेका छन् । यसो भयो भने सेयर बजारमा हरियाली छाउनेछ चैत सकिएलगत्तै सूचीकृत कम्पनीहरुको तेस्रो त्रैमासको रिपोर्ट आउनेक्रम सुरु हुन्छ । तेस्रो त्रैमासको रिपोर्ट अध्ययन गरेपछि कम्पनीहरुले अर्को वर्ष दिन सक्ने लाभांश लगभग अनुमान लगाउन सकिन्छ । बैंक तथा वित्तीय संस्थाको दोस्रो त्रैमासको रिपोर्ट तुलनात्मकरुपमा राम्रो आएको छ । तेस्रो त्रैमासको रिपोर्ट कस्तो आउला भन्ने धेरैलाई चासो छ । पहिलो र दोस्रो जस्तौ तेस्रो त्रैमासको रिपार्टमा पनि कमाई राम्रो देखिएमा निश्चय नै यसले बजारमा निकै सकारात्मक प्रभाव पार्नेछ । यस आधारमा अबको सेयर बजारको भविष्य धेरै हदसम्म तेस्रो त्रैमासको रिपोर्टमा निर्भर रहने देखिन्छ । यसबाहेक बैंकमा लगानी गर्ने रकम पनि विस्तारै सहज हुने आंकलन पनि हुन थालेको छ । वास्तवमै तरलता अभाव सहज हुन थाल्यो भने यसको थप सकारात्मक प्रभाव बजारमा देखिनेछ । पैसा सहज भयो भने ब्याजदर घट्नेछ । ब्याजदर घट्न थाल्यो र बैंकले सेयर कर्जा सहज पार्न थाले भने त्यो पनि सेयर बजारका लागि सुखद् साबित हुनेछ। हामीकहाँ चैतपछि बजेट सक्न धमाधम काम गरेको देखाउने गरिन्छ । काम अनि खर्च देखाएर बजेट निकासा हुनेक्रम अब धमाधम बढ्नेछ । विकास खर्चका लागि छुट्याइएको पैसा बजारमा आउन थाल्दा यसले तरलता सहज गराउन सक्नेछ । यसो भयो भने सेयर बजारमा पक्कै राम्रो प्रभाव पर्छ । सेयर बजार बुलिस गर्न सहयोग पुग्ने अर्को सबैभन्दा महत्वपूर्ण पक्ष चुनाव हो । वास्तवमै तोकिएको मितिमा स्थानीय निकाय निर्वाचन हुन सक्यो भने त्यो पनि सेयर बजारका लागि पक्कै सुखद् साबित हुनेछ । चुनाव भयो भने दुई प्रकारले सेयर बजारलाई राम्रो गर्नेछ । पहिलो, चुनावमा झन्डै १५ अर्ब रुपैयाँ पैसा बजारमा आउनेछ । यो पैसाको ठूलै हिस्सा सेयर बजारमा पनि जानेछ । यसले बजार विस्तार गराउनेछ । अर्को महत्वपूर्ण विषय भनेको चुनाव हुँदा जनमानसमा सकारात्मक छाप पर्नेछ । आर्थिक, राजनीतिक क्षेत्रसहित अन्तर्राष्ट्रिय समुदायमा समेत सकारात्मक सन्देश जाने र लगानी वातावरण बनाउन सहयोग पुग्नेछ । यस आधारमा सेयर बजारका लागि चुनाज ठूलो फड्को मार्ने अस्त्र साबित हुनेछ । यस्तो भयो भने चाहिँ बजारमा पर्नेछ नकारात्मक असर केही महिनायता बैंक तथा वित्तीय संस्थाले तरलता अभाव र कर्जा–निक्षेप अनुपातले सीमा काट्न लाग्दा थप कर्जा लगानी गर्न सकेका छैनन् । बैंक तथा वित्तीय संस्थाहरुले भनेजस्तै वास्तवमै लगानी खुम्चिएको हो भने त्यसले बैंकको तेस्रो त्रैमासको रिपोर्टमा असर पर्न सक्छ । लगानी खुम्चिन जाँदा तेस्रोमात्र होइन, त्यसपछिको त्रैमासमा समेत असर गर्न सक्छ । यसो भयो भने सेयर बजार प्रभावित हुनेछ । यसैगरी, तरलता अभाव सहज नहुँदासम्म सेयर बजार बुम हुने सम्भावना अत्यन्त कम हुनेछ । तरलता सहज नभएसम्म निक्षेप र कर्जाको ब्याजदर घट्नेछैन । ब्याजदर नघटेसम्म सेयर बजारमा नयाँ तरंग आउन कठिन हुन सक्छ । यसबाहेक कुनै कारण स्थानीय निकाय निर्वाचन भएन वा मिति पर सारियो भने पनि त्यसले सेयर बजारलाई नकारात्मक असर पुर्याउनेछ । बजारमा बढ्दो हकप्रद र बोनस सेयर व्यवस्थापन गर्न बजार निर्मार्तालगायतका संयन्त्र बन्न सकेन भने अवस्था उत्तिसाह्रो सकारात्मक नहुन पनि सक्छ । नेपाली पैसा डटकममा नवराज ढकालकाे अालेख
मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रुको मृत्यु
विराटनगर, चैत ५ । मोरङमा मोटरसाइकलको ठक्करबाट गएराति कोसी हरैचा– ४ बस्ने रामविलास चौधरीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुन्दरदुलारी– ६ मा गएराति १० बजे उनलाई को ५ प ८१३४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते चौधरीको धरानस्थित बिपी कोDeathइराला प्रतिष्ठानमा उपचारको क्रममा राति मृत्यु भएको गछिया प्रहरी चौकीलाई उद्धुत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।
पर्याप्त बजेट नहुँदा सिँचाइ योजना प्रभावित
लमजुङ, चैत २ । पर्याप्त बजेट नहुँदा लमजुङका सिँचाइ योजना प्रभावित भएका छन् । जिल्लामा २०० भन्दा बढी योजनाका लागि कृषकबाट निवेदन आए पनि पर्याप्त बजेट नहुँदा काम हुन नसकेको सिँचाइ डिभिजन कार्यालय लमजुङले जनाएको छ । चालु आवमा ४१ वटा मात्रै सिँचाइ योजना सञ्चालनमा रहेको डिभिजन प्रमुख वंशीहरि कोइरालाले बताए । “जिल्लाका विभिन्न स्थानबाट २०० भन्दा बढी योजनाको लागि निवेदन परेको छ” डिभिजन प्रमुख कोइरालाले भने– “निवेदन आए पनि बजेट नभएर चौथाइ योजनामा मात्रै काम गर्न सकेका छौँ ।” उनले ४१ वटा योजनाका लागि मात्र बजेट स्वीकृत भई आएको बताए । उनले योजना सञ्चालनका लागि सुरुमा रु साढे पाँच करोडमात्रै आएको र पछि रु साढे छ करोड बजेट थप भएको बताए । जिल्लामा सञ्चालित ठूला सिँचाइ योजनामध्ये भोर्लेटार सिँचाइ योजना (रु तीन करोड), करापुटार सिँचाई योजना (रु तीन करोड) र राइनासटार सिँचाई योजना (रु साढे तीन करोड) मा काम सुरु भइसकेको छ । रम्घाटार सिँचाइ योजना भने एसियाली विकास बैंकको सहयोगमा चैत महिनाभित्रमा सम्झौता हुने तयारीमा छ । यसैगरी घेर्मुको रु एक करोड १० लाखमा निर्माण भइरहेको चामेखोला सिँचाइ योजना काम ५० प्रतिशत सकिएको छ । घनपोखराको मुग्रेखोला सिँचाइ योजना रु १७ लाखमा निर्माण थालिएको छ । यस्तै नया प्रविधिमा १३ वटा सिँचाइ योजना रहेका छन् भने ११ वटा सिँचाइ योजना मर्मतसम्भारका लागि रु ५९ लाख बजेट आएको छ । जिल्लामा अझै पनि नौवटा योजना सर्भे गर्न बाँकी रहेको कार्यालय प्रमुख कोइरालाले बताए । उनले विभागमा बजेट माग गरे पनि बजेट नआएका कारण काम रोकिएको बताए । योजना छनोट गर्दा योजना नीति नियम, निर्देशिकाअनुसार र लगानीअनुसार जनतालाई फाइदा पुग्ने खालको योजनालाई ध्यान दिने भएकाले पनि किसानको मागअनुसारको योजना नआएको डिभिजन प्रमुख कोइरालाको भनाइ छ । उनले मर्मतसम्भारका योजना आर्थिक वर्षभित्रै सक्ने र नयाँ प्रविधिका योजना क्रमागत हुने बताए । कार्यालयले आगामी आवका लागि रु १६ करोड बजेट प्रस्ताव गरेको जनाएको छ ।
पुनर्वास नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी
कञ्चनपुर, फागुन २८ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले स्थानीय गोविन्द गौतमको हत्या गरेको विरोधमा प्रर्दशन जारी भएपछि कञ्ननपुरको पुनर्वास नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले स्थानियले विरोधको प्रर्दशन जारी राखेकोले प्रदर्शन उग्र हुन नदिन निषेधाज्ञा जारी गरको जनाएको छ । आदेश नहुन्जेलसम्मका लागि पुनर्वास नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जानकारी दिए । गत बिहीबार भारतीय एसएसबीले कल्र्भट निर्माण विषयमा भएको झगडगामा अन्धाधुन्दा गोली प्रहार गरि पुनर्वास नगरपालिका ८ का ३० वर्षीय गोविन्द गौतमको हत्या गरेको थिए । शनिबार सु्दूरपश्चिमका प्रमुख नाका गड्डाचौकी, गौरीफन्टासहित कञ्चनपुर, कैलालीका सीमा नाका बन्द गरिएको छ । सरकारले गौतमलाई शहिद घोषणा गर्दै परिवारलाई १० लाख राहत दिने, परिवारको एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने र बालबच्चालाई निःशुल्क उच्चशिक्षासम्म पढाउने निर्णय गरिसकेको छ । तर, पीडित परिवार र स्थानीयले शवको पोष्टमार्टम गर्न मानेका छैनन् ।
‘नेपालमा ६० प्रतिशत व्यक्तिको मृत्यु नसर्ने रोगबाट’
काठमाडौं, फागुन २७ । केही समय पहिलेसम्म हैजा, औलो, झाडापखालालगायतका सरुवा रोगको महामारी भएको नेपालमा अहिले भने नसर्ने रोगले जरा गाड्दै जान थालेको छ । खाना र जीवनशैलीमा आएको परिवर्तनले नसर्ने कडा रोग लाग्ने त्यसैका कारण मृत्यु हुने नेपालीको संख्यामा दिनदिनै वृद्धि हुँदै गएकाले ग्रामीण तहबाटै नसर्ने रोगको परीक्षण गर्ने तयारी सरकारले थालेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार नेपालमा ६० प्रतिशत व्यक्तिको मृत्यु नसर्ने र ४० प्रतिशतको मृत्यु सरुवा रोगका कारण हुने गरेको छ । सरुवा रोगका कारण धेरै मानिसको मृत्यु हुन थालेपछि सरकारले ८२ वर्षअघि नै सरुवा रोग केन्द्रको स्थापना पनि गरिसकेको छ भने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यसमा काम गरेको छ । तर, पछिल्लो समय एकाएक बढेको नसर्ने रोगको नियन्त्रणका लागि भने अझै चुनौति थपिएको छ । सरकारले १२ प्रकारका कडा रोग लागेका बिरामीलाई रु एक लाख आर्थिक सहयोग दिँदै आएको छ भने मिर्गौलाको निःशुल्क डायलासिस गरेको छ । वैशाखबाट मिर्गौलाको प्रत्यारोपण पनि निःशुल्क गरिने स्वास्थ्यमन्त्री गगनकुमार थापाको भनाइ छ । १५ वर्षमुनि र ७० वर्षभन्दा माथिका बालबालिका र वृद्धवृद्धालाई मुटुको उपचार निःशुल्क छ भने यसै वर्षदेखि बाथ–मुटुरोगीको पनि भल्व शल्यक्रियालगायत फागुन १५ गतेबाट उपचारसमेत निःशुल्क गरिसकेको छ । राष्ट्रिय मिर्गौला उपचार केन्द्रका कार्यकारी निर्देशक डा। ऋषिकुमार काफ्लेले असन्तुलित खाना, जङकफुड सेवन गर्ने, पर्याप्त पानी नपिउने, धूमपान र मद्यपान गर्ने र शारीरिक व्यायाम गर्दै नगर्ने कारण नसर्ने रोगको जोखिम बढाएको बताए । क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मधुमेह, हृदयघात, मिर्गौला फेलजस्ता नसर्ने रोगको परीक्षण र उपचारमा जानका लागि स्वास्थ्य मन्त्रालयले ‘पेन प्याकेज’ कार्यक्रमअन्तर्गत् देशभरका एक हजार स्वास्थ्य चौकीबाट यसै वर्षबाट सेवा दिने तयारी गरेको छ । स्वास्थ्यमन्त्री थापाकाअनुसार त्यसका लागि परीक्षण उपकरण खरिद गर्ने, जनशक्तिलाई तालिम दिनेलगायतका काम सुरु भइसकेको छ । यो सेवालाई आगामी वर्ष सबै स्वास्थ्यचौकीमा विस्तार गर्ने मन्त्रालयको योजना छ । काठमाडौंमा १० सहरी हेल्थ प्रमोसन सेन्टर खोल्न नीतिगत निर्णय गरी तयारीका लागि स्थानसमेत टुंगो लगाइ काम अगाडि बढाइसकेको छ । रोग लाग्न दिनुभन्दा रोग लाग्नै नदिने उपाय अपनाउनु उत्तमकार्य भएकाले जीवनशैली स्वास्थ राख्नुपर्ने चिकित्सको सुझाव छ ।
एमालेले २७ गतेदेखि पुनः यात्रा सुरु गर्ने
काठमाडौं, फागुन २५ । सप्तरी घटनाका कारण आकस्मिक वैठक बसी स्थगित गरेको नेकपा एमालेले पार्टीको मेची–महाकाली यात्रा २७ गतेदेखि पुनः सुरु गर्ने बताएको छ । अभियानका लागि आवश्यक सुरक्षा दिन एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमाले नेताहरुले सप्तरीमा भएको घटनाको जानकारी गराउँदै सुरक्षाको माग गरेका हुन् । मधेसी मोर्चाका कार्यकर्ताले एमाले कार्यालयमा आगजनी गरेको, कार्यकर्तालाई कुटपिट गरी अभियान बिथोल्ने प्रयास गरेको भन्दै एमाले नेताहरुले प्रधानमन्त्रीसहित गृहमन्त्री विमलेन्द्र निधिलगायतको ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्री र गृहमन्त्रीसँगको छलफलपछि एमाले उपाध्यक्ष बामदेव गौतमले स्थानीय निकायको निर्वाचन कुनैपनि हालतमा रोक्न नहुने भन्दै पार्टीको गतिविधिको सुरक्षा हुनुपर्ने बताए ।