धनगढीमा पनि हर्न बजाउन नपाइने

कैलाली, असार २ । कैलालीको अत्तरिया बजारमा हर्न निषेधित क्षेत्र लागु भएको एक हप्तापछि धनगढी बजारमा पनि बिहीबारदेखि हर्न बजाउन नपाइने व्यवस्था लागुभएको छ ।

धनगढीको मुख्य बजार ट्राफिक चौराहदेखि जिल्ला प्रहरी कार्यालयसम्मको बजार क्षेत्र, दक्षिणमा विद्युत् प्राधिकरण र उत्तरमा आयल निगम रहेको क्षेत्रसम्म हर्न निषेधित गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

प्रथम तह हर्न निषेधका लागि प्रचारात्मक अभियान चलाइने र त्यसपछि मात्रै कारबाहीको चरणमा जानेछ ।

इमर्जेन्सी अवस्थाबाहेकका सामान्य अवस्थामा हर्न निषेधित क्षेत्रमा हर्न बजाएमा ट्राफिक इसारा उल्लङ्घन गरेको कसुरमा रु ५०० देखि एकहजार ५०० सम्म जरिवाना गर्न सकिने व्यवस्था रहेको ट्राफिक प्रहरी निरीक्षक पातलीले बताए  ।

बजारका मुख्य क्षेत्रमा रहेको बढ्दो ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नका लागि अत्तरियामा जेठ २५ गतेदेखि र धनगढीका केही क्षेत्रमा भने बिहीबारदेखि हर्न निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

निर्वाचन आयुक्तले भने, ‘पुनः मतदान नरुचे कानून संशोधन गरे हुन्छ ’

जेठ २१ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले भरतपुरमा पुनः मतदान चित्त बुझे कानुन संशोधन गर्न दलहरुलाई सुझाव दिएका छन् । निर्वाचन आयोगले विद्यमान कानून टेकेरै भरतपुरमा पुनःमतदानको निर्णय गरिएको भन्दै त्यसलाई पनि चित्त नबुझाउनेहरुलाई कानुन संशोधन गरी अघि बढ्न सुझाव दिएका हुन् । मतपत्र च्यातिएपछि पुनःमतदान गरिएका यसअघिका घटनाहरुमा पनि पुनःमतदान प्रक्रियाबाट नै अघि बढेकाले विगतमा ती दृष्टान्तहरु हेरेर पनि पुनःमतदान प्रक्रिया अघि बढाइएकोमा भरतपुर घटनाले खराब नजिर नबस्ने तर्क उनले गरेका छन् । ‘तर यदि त्यस्तो लाग्छ भने दलहरुले कानून संशोधन गरे भइहालछ’ उनले भने । उनले एक जना निर्वाचन आयुक्त शनिबारको निर्णयमा अनुपस्थित रहेपनि पुनस्मतदान आयोगको सर्वसम्मत निर्णय भएको उनले तर्क गरे। वीवीसीबाट

सुरक्षा परिषदद्वारा निन्दा व्यक्त

संयुक्त राष्ट्रसंघ, २ जेठ । केन्द्रिय अफ्रिकी गणतन्त्रमा शान्ति स्थापनार्थ खटिएका संयुक्त राष्ट्र संघीय शाान्तिदूतउपर गत शनिबार र आइतबार भएको अमानवीय आक्रमणको राष्ट्र संघीय सुरक्षा परिषद्ले कडा शब्दमा निन्दा गरेको छ । लामो समयदेखि राजनीतिक रुपमा अस्थिर रहेको र हिंसाग्रस्त केन्द्रिय अफ्रिकी गणतन्त्रमा शान्ति स्थापनार्थ खटिएका संयुक्त राष्ट्र संघीय समूहः मल्टिडाइमेन्सनल इन्टिग्रेटेड स्टाबिलाइजेसन मिसन इन द सेन्ट्रल अफ्रिकन रिपब्लिक (मिनुस्का) का कार्यकर्तामाथि लक्ष गरी बाङ्गास्सु (बोमोउ) मा गत शनिबार र आइतबार त्यहाँका सशस्त्र बिद्रोही समूहः एन्टि बलाकाले अन्धाधुन्द हिंसात्मक आक्रमण गरेका थिए । सो आक्रमणबाट मिनुस्कामा कार्यरत मोरक्कोका एकजना कार्यकर्ता ठहरै हुनुका साथै अर्का मोरक्काली कार्यकर्ता नराम्ररी घाइते हुनुका साथै केही स्थानीय बासिन्दाहरुको मृत्यु भएको र भएका र धेरै सङ्ख्याका मानिसहरुका बस्ती नै उजाडिई बिस्थापित हुन पुगेका थिए । राजनीतिक स्थायित्व, शान्ति र स्थिरता कायम गराउने उद्देश्यले खटिएका राष्ट्र संघीय शान्तिदूत तथा सर्वसाधारण निर्दोष जनतामथि माथि यस प्रकारको ज्यानै जाने सम्मको आक्रमण हुनु अत्यन्त जघन्य अपराध भएको राष्ट्र संघीय सुरक्षा परिषदले उल्लेख गरेको छ । साथै, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले पनि उक्त घटनाको गहिरो भत्र्सना गर्दै, सबै अपराधीहरुको खोजी गरी न्यायको कठघरामा उभ्याउन केन्द्रिय अफ्रिकी गणतन्त्रको सरकारसँग अनुरोध समेत गर्नु भएको छ ।रासस ÷सिन्ह्वा

४२ मतदान केन्द्रमा नब्बे प्रतिशत मतदाता परिचयपत्र वितरण

रसुवा, वैशाख ३० । आइतबार हुने स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो मताधिकार प्रयोग गर्न यहाँका ९० प्रतिशत मतदाताले आ-आफ्नो परिचयपत्र प्राप्त गरेका छन् । जिल्ला अदालतका स्रेस्तेदार एवम् सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार ४२ मतदान केन्द्रमा मतदाताले आ-आफ्नो मतदान परिचय लिइरहेका छन् । पाँच गाउँपालिका रहेको जिल्लामा २७ हजार आठ सय ५४ मतदाता छन् । बाँकी १० प्रतिशत मतदाताले आजसम्म परिचयपत्र लिइसक्ने अपेक्षा राखिएको अधिकृत पौडेलले बताउनुभयो । पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड र उत्तरगयामा आठ आठ, पार्वतीकुण्डमा छ, नौकुण्डमा ११ र कालिकामा नौ मतदाता केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी नवीन खालिङले बताउनुभयो ।

अाउँदाे बिहीबार,शुक्रबार र शनिबार मतदाता परिचयपत्र वितरण

काठमाडौं, वैशाख २५ । आउँदो रबिहीबार,शुक्रबार र शनिबार मतदाता परिचयपत्र वितरण हुने भएकाे छ । आयोगका अनुसार चुनावमा आवश्यक सबै सामग्री जिल्लामा पुर्‍याइसकिएको छ भने सबै मतदान केन्द्रमा सुरक्षाकर्मी खटिसकेका छन् । आउँदो बुधबारसम्म सबै केन्द्रमा निर्वाचन अधिकृतसहित मतपत्र, मतपेटिका लगायतका सामग्री पनि पुगिसक्ने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । बिहीबारदेखि मतदाता परिचयपत्र वितरण हुनेछ । बिहीबार, शुक्रबार र शनिबार सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने तयारी छ । मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य चाहिने भएकाले आफ्नो मतदान केन्द्रबाट परिचयपत्र लिन आयोगले सबैसँग आग्रह गरेको छ । आयोगका अनुसार आफ्नो मतदाता परिचयपत्र लिन मतदाता आफै केन्द्रमा जानुपर्छ, जान नसक्ने भएमा परिवारका सदस्यमार्फत लिन मन्जुरीनामा दिएर पठाउन सकिनेछ ।

दलित महिला सदस्य निर्विरोध

दोलखा, वैशाख २० । स्थानीय निकायको निर्वाचनमा दोलखाको वैत्यश्वर गाउँपालिकामा नेपाली काँग्रेसको तर्फबाट दलित महिला सदस्यको उम्मेदवार निर्विरोध भएका छन् । वैत्यश्वर गाउँपालिकाको वडा नं १ मा काँग्रेसको तर्फबाट दलित महिला उम्मेदवार बन्नुभएका ठूली कान्छी विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको हो ।

अाज राष्ट्रयसभा गृहमा उम्मेदवारी दर्तालार्इ नजिकबाट हेर्दा

काठमाडौँ, वैशाख १९ । वैशाख ३१ मा हुने पहिलो चरणको स्थानीय निर्वाचनका लागि काठमाडौँ महानगरपालिकामा विभिन्न राजनीतिक दलका उम्मेदवारले उत्साहपूर्वक उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् । आज बिहान १० बजेबाट सुरु भई साँझ ५ बजे उम्मेदवारी दर्ता कार्यक्रम रहेकोमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभामा प्रमुख राजनीति दलसहितका अन्य दल र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी मनोनयन पत्र दर्ता गराएका छन् । दिउँसो साना दल र केही स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएपनि अन्तिम समयमा भने नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख तथा उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका गराए । उम्मेदवारहरु बाजागाजासहित आफ्नो पार्टीको झन्डा बोकी उम्मेदवारी दर्ता गराउन आएका थिए । सबभन्दा पहिला साझा पार्टीका किशोर थापाले उम्मेदवारी दर्ता गराएका  थिए । उम्मेदवार मनोनयनका लागि निर्वाचन कार्यालयले प्रमुख र उपप्रमुख पदका उम्मेदवारका लागि छुट्टाछुट्टै ठाउँमा मनोनयन दर्ताको व्यवस्था गरेको थियो भने वडाका लागि पनि छुट्टै ठाउँमा दर्ता गर्ने व्यवस्था गरिएको थियो । महानगरको उम्मेदवारी स्थलमा निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले पनि निरीक्षण गरेका थिए । सोही क्रममा डा.यादवले देशभरि नै उत्साहपूर्वक उम्मेदवारी दर्ता गरेको बताएका थिए । मनोनयन दर्ताका लागि ३ बजेपछि उम्मेदवारको भीड लागेको थियो । सबभन्दा ठूलो महानगरपालिका भएकाले पनि धेरै उम्मेदवारले मनोनयन दर्ता गराउन आएका थिए । उम्मेदवारको मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयलाई हम्मेहम्मे परेको थियो । साँझ ६ बजेसम्म वडा अध्यक्ष र सदस्यको उम्मेदवार मनोनयन गर्न उम्मेदवारहरु लाइनमा बसेका थिए । उम्मेदवार मनोनयन गराउनका लागि सम्पत्ति विवरण पनि भर्नु पर्ने अनिवार्य व्यवस्था भएका कारण कतिपयलाई सम्पत्ति विवरण भर्न समस्या परेको थियो । उम्मेदवारीको फारम लिएर उम्मेदवारले बाहिर चौरमा बसेर फाराम भरेको देखिन्थ्यो । उम्मेदवार दर्ता गराउन सङ्घीय समाजवादी फोरमबाट तालमेल गरेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई प्रमुख र उपप्रमुखको उम्मेदवारी दर्ता गराउन आएका थिए । डा. भट्टराईले मुलुक निर्वाचनमा गएको भन्दै एउटै विचार मिल्ने भएकाले सङ्घीय समाजवादी फोरमसँग तालमेल गरेको बताए । संविधान संशोधन बिना देशको निकास निकाल्न नसकिने भन्दै सङ्घ, प्रदेश र स्थानिय तहको क्रमशः निर्वाचन हुनुपर्नेमा उल्टो गरि निर्वाचन गर्न थालेको बताए । संयोजक भट्टराईसंगै आएका सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले जनताको प्रत्यक्ष विकाससँग जोडिएकाले स्थानीय तहको निर्वाचनमा भाग लिन आएको प्रतिक्रिया दिए । नेपाली काँग्रेसतर्फबाट आफ्नो दाजु राजुराज जोशी प्रमुख पदका उम्मेदवार बनेकोमा उद्योगमन्त्री नवीन्द्रराज जोशी पनि सँगै आइपुगेका थिए । आफ्नो पार्टीकातर्फबाट उम्मेदवार दर्ता गराउन आएका एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफ्नो मुख्य प्रतिस्पर्धी काँग्रेस भएको बताए । राप्रपासँग राष्ट्रियताका सवालमा मुद्दा मिल्ने भएकाले तालमेल गरेको बताउँदै काठमाडौंसँगै अन्य ठाउँ पनि राप्रपासँग तालमेल गरिने उनले जानकारी दिए । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच प्रमुख र उपप्रमुखमा तालमेल भए पनि छुट्टाछुट्टै रुपमा उम्मेदवारी दर्ता गराउन आएका थिए । एमालेका तर्फबाट प्रमुखमा विद्यासुन्दर शाक्य र उपप्रमुखमा राप्रपाबाट राजाराम श्रेष्ठले उम्मेदवारी दर्ता गराएका थिए । नेकपा (माओवादी केन्द्र)बाट प्रमुखको उम्मेदवार बनेका सर्वोेत्तम डङ्गोल आफ्ना कार्यकर्तासँग उम्मेदवारी दर्ता गराउन आएका थिए । ३२ वडा रहेको महानगरमा प्रमुख, उपप्रमुख वडा अध्यक्ष र चार सदस्यसहित १६२ जना निर्वाचित हुने छन् ।

महाभियोग प्रस्ताव फिर्ता लिन पूर्वप्रधानन्यायाधीशको आग्रह

काठमाडौँ, वैशाख १८ । पूर्वप्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरिएको महाभियोगको प्रस्ताव तत्काल फिर्ता गरी सम्मानपूर्वक जिम्मेवारी निर्वाह गर्ने वातावरण निर्माण गर्न आग्रह गरेका छन् । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनुपराज शर्मा र मीनबहादुर रायमाझीले आज संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा लोकतान्त्रिक मूल्यमान्यताको जगेर्ना तथा स्वतन्त्र र सक्षम न्यायपालिकाको संस्थागत विकासका लागि महाभियोग प्रस्ताव तत्काल फिर्ता लिन आह्वान गरिएको छ । संविधान प्रतिकूल कामकारबाही गरेको भनी अभियोग लगाउनुपर्ने उचित र पर्याप्त कारण देखिएको अवस्थामा पनि अत्यन्त सावधानीपूर्वक विशेष संवेदनशील भएर प्रक्रिया अपनाएको अनुभूति नभएको उल्लेख गर्दै विज्ञप्तिमा कानुनी राज्य र प्रजातन्त्रको संरक्षणका लागि नेपाली जनताको बृहत्तर हितलाई सर्वोपरि महत्व दिई राज्यका अङ्गबीच अनावश्यक प्रतिस्पर्धात्मक सोच नभएर सहकारिताको भावना उद्बोधन गर्नुपर्नेतर्फ ध्यानाकर्षण गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “जनताको हकअधिकार संरक्षण गर्ने कार्यमा न्यायपालिका निरीह बन्यो भने प्रजातन्त्र कमजोर हुन्छ, राजनीतिक तहमा देखिएका यस प्रकारका क्रियाकलापबाट स्वतन्त्र, निष्पक्ष र स्वच्छ तवरले न्याय सम्पान गर्ने वातावरण बिथोलिने कुरा निश्चित नै छ ।” निहित राजनीतिक स्वार्थ पूरा गर्ने अभिप्रायले प्रस्ताव ल्याइएको महसुस भएको तथा अस्पष्ट र निराधार आरोपका आधारमा प्रक्रिया अगाडि बढाउँदा न्यायपालिकाप्रतिको जनआस्था खल्बलिने, कानुनी राज्य धराशायी हुने र प्रजातन्त्र नै विशृङ्खलित हुने स्थिति आउने कुरा पनि विज्ञप्तिमा औँल्याइएको छ । प्रस्ताव फिर्ताको माग गर्दै आन्दोलन अनेरास्ववियुले प्रधानन्यायशीश सुशीला कार्कीमाथि लगाइएको महााभियोग प्रस्ताव फिर्ताको माग गर्दै आन्दोलन घोषणा गरेको छ । सङ्गठनको सचिवालय बैठकले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप भएको भन्दै प्रस्ताव फिर्ताको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरिएको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी  दिइन् । प्रधानन्यायाधीश कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिई न्यायालयको स्वतन्त्रतालाई सम्मान गर्न माग गर्दैै आज नागरिक समाज सञ्जालले पनि माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।

कैलालीका युवाहरु मेवा खेतीतर्फ बढी आकर्षित

कैलाली, वैशाख १८ । पछिल्लो केही वर्षयता व्यावसायिक मेवा खेतीतर्फ कैलालीका किसानको आकर्षण बढ्दै गएको छ । अन्य खेतीभन्दा उत्पादन गर्न पनि सजिलो तथा बजार पनि सजिलै पाउन सकिने भएका कारण मेवा खेतीप्रति किसानको आकर्षण बढ्दै गएको हो । पहिले जिल्लामा छिटफुटरुपमा मेवाको खेती गर्ने किसान हिजोआज भने बजारीकरणको अभाव नदेखेपछि व्यावसायिकरुपमै सक्रिय हुन थालेका छन् । यहाँ पहिले विभिन्न कृषि उपजको व्यावसायिकरुपमै खेती भइरहेको छ । तर, हालसम्म कमै किसानले व्यावसायिकरुपमै मेवा खेती भने अपनाएका छैनन् । तर, बिस्तारै मेवाको पनि व्यावसायिकरुपमै खेती सुरु हुन थालेको छ । अन्य कृषि उपजभन्दा उत्पादन गर्न सजिलो र बजारमा पाउन पनि त्यति गाह्रो नभएकाले मेवा खेतीतर्फ आकर्षण बढ्दै गएको हो । केरालगायत अन्य फलफूल खेतीभन्दा मेवाको बजारीकरणमा त्यति समस्या नरहेकाले समूहमा नै मिलेर मेवा खेती गर्न सुरु गरेको धनगढीका युवा किसान अशोक खातीले बताउनुभयो । अशोकजस्तै केही जोशिला युवाको टोलीले कैलालीमा व्यावसायिक मेवा खेतीको प्रारम्भ गरेका हुन् । साना मझौला कृषक आयस्तर आयोजनाको अनुदानमा साढे १० लाख र १४ लाख व्यक्तिगत लगानीमा उनीहरुले मेवा खेतीको सुरुवात गरेका छन् । हालका लागि २ हेक्टर क्षेफलमा उनीहरुले मेवा लगाएका छन् । धान, गहुँ लगाउनुभन्दा मेवा खेती गर्दा आर्थिक लाभ हुने यो खेतीमा संलग्न किसानको भनाइ छ । थोरै जमिनबाट आम्दानी पनि राम्रो हुने भएकाले पनि उनीहरुको आकर्षण मेवामा बढेको हो । उनीहरुको योजना उत्पादन गर्नेमा मात्रै सीमित छैन । उत्पादित मेवालाई प्रशोधन गर्ने योजना पनि छ । स्थानीय उत्पादनलाई यतैको बजारमैे प्रशोधन गरेर विभिन्न परिकार बनाएर बिक्री गर्ने योजना रहेको उक्त टोलीमा संलग्न युवा हेमन्त भट्टले बताउनुभयो । कैलालीको हावापानी मेवा खेतीका लागि निकै अनकूल रहेको कृषि विज्ञहरु बताउँछन् । तर, जनचेतना अभावले गर्दा किसानको आकर्षण भने सोचे जति यो खेतीमा आकर्षण नबढेको बताइन्छ । पहिले घरायसी प्रयोजनका लागि मात्रै मेवा लगाउने गरेकामा हिजोआज भने थोरै जमिनमा भएपनि व्यावसायिकरुपमै यसको खेती भइरहेको कृषि कार्यालयले जनाएको छ । कृषि विकास कार्यालयले पनि मेवाका लागि फलफूल खेतीअन्तर्गतबाट अनुदान दिने गर्दछ । किसानको आकर्षण बढ्दै जाने हो भने मेवा खेती यहाँका विभिन्न ठाउँमा विस्तार हुने सम्भावना रहेको जिल्ला कृषि विकास कार्यालय कैलालीका वरिष्ठ कृषि विकास अधिकृत युवराव पाण्डेले बताए । सुदूरपश्चिममा मेवा खेतीको लागि बजारको कुनै समस्या नरहेको बताइएको छ । अन्य उत्पादित वस्तुहरुको बजारीकरणमा केही चुनौति रहेपनि यो खेतीका लागि समस्या नरहेको बताइन्छ । स्थानीयस्तरमा उत्पादित मेवा बढी रुचाइने भएकाले पनि यो खेतीको व्यावसायिकीकरणमा जोड दिनुपर्ने धेरैको जोड छ । मेवा अन्य खेतीभन्दा त्यति मिहिनेत गर्न नपर्ने र थोरै जमिनमा पनि उत्पादन गर्न सकिने भएकाले यसको सम्भावना कैलालीमा राम्रो रहेको सुदूरपश्चिमाञ्चल क्षेत्रिय कृषि निर्देशनालय दिपायलका योजना अधिकृत पशुपति पोखरेलले बताउनुभयो । कैलाली मेवा खेतीका लागि उपयुक्त भएकाले यसको व्यावसायिकीकरणमा जोड दिनुपर्ने किसानको माग छ । थोरै जमिनमा पनि राम्रो आर्थिक लाभ लिन सकिने खेतीका रुपमा हेरिने मेवाको विस्तारका लागि कृषि विकास कार्यालयले पनि किसानलाई सहयोग गर्न जरुरी रहेको अधिकांशको जोड छ ।

जसले विदेशमा कमाए, स्वदेशमा जमाए

झापा, वैशाख १८ । झापा मेचीनगर नगरपालिका–९ का युवा डिल्लीराम उप्रेती स्वदेशमा रोजगारको कुनै विकल्प नभएपछि कतार जानुभयो। नौ वर्षको लामो कतार बसाइँबाट उहाँले राम्रै कमाउनुभयो । तर, विदेशमा मात्रै बसेर हुँदैन, स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच आयो र स्वदेश फर्किनुभयो । “लामो समय विदेश बसेँ, राम्रै कमाइ पनि भयो, घरजग्गा जोडेँ, परिवारको पालन पोषणमा पनि राम्रो गरेँ”, उहाँले भन्नुभयो – “तर, पैसाले मात्रै कहाँ मन मान्दोरहेछ, स्वदेशको माया र यहाँको हावापानीले यहीँ कुनै इलम गरौँ सोचेर अहिले कृषि पेसा अँगालेको छु ।” विसं २०६९ मा रु एक लाख ५० हजारमा खरिद गरेको डी एन्ड डी प्लान्टेक फार्ममा हाल रु एक करोडभन्दा बढी लगानी भइसकेको उप्रेतीले बताउनुभयो । होटल म्यानेजमेन्टमा क्याटरिङ कलेज अफ मुम्बाईबाट बिएचएम गर्नुभएका उहाँले कृषि व्यवसायबाटै आफ्नो पहिचानसहित मनग्य आम्दानी गरिरहनुभएको छ । मागुरमाडीस्थित उहाँको नर्सरी फार्म कुनै पर्यटकीय गन्तव्य नभइ देख्दा मनै लोभ्याउने आकर्षक कृषि उद्यम देख्न पाइन्छ । एक बिगाहा क्षेत्रफलमा कागती, तेजपत्तासहित मलेसियन साल, टिक, पाउलेनियालगायत विभिन्न २० प्रजातिका बोटबिरुवाको नर्सरी छन् । दुई लाख दाना कागती र करिब २५ हजार त्यसको बिरुवा बिक्री गर्नुभएका उप्रेतीले वार्षिक रु १२ देखि १५ लाखसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । उहाँको फर्ममा कृषि फार्ममा चारजनाले रोजगारीसमेत पाएका छन् । उप्रेतीले नर्सरीसँगै गडँ्यौला मल उत्पादन, तरकारीखेती पनि गर्दै आउनुभएको छ । कृषिको अत्यन्तै ठूलो सम्भावना रहेको बताउँदै उहाँ भन्नुहुन्छ – “आफूसँग भएकै कुरालाई उपयोग गर्ने हो भने आम्दानीको धेरै स्रोत अपनाउन सकिन्छ ।” भर्खरै ४० मन जति काँक्रा बिक्री गरेँ, उप्रेतीले भन्नुभयो, “खेतीमा प्रविधि मिसाउने हो भने तीनगुणाभन्दा बढी प्रतिफल लिन सकिन्छ ।” झापासँगै छिमेकी जिल्ला मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङसम्म उप्रेतीले हुर्काएको बिरुवाको निर्यात भइरहेको छ । बिरुवा बेचिसकेपछि उहाँले प्राविधिक सहयोग पनि उपलब्ध गराउने गर्नुभएको छ । “दुई वर्षसम्म त्यसको रेखदेखको जिम्मा आफैँ लिन्छु”, उप्रेतीले भन्नुभयो – “त्यो बीचमा बिरुवा मरेमा अर्को बिरुवा उपलब्ध गराउने पनि गरिएको छ ।” वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार अहिले दैनिक एक हजार ५०० युवाले वैदेशिक रोजगारको बाटो रोज्ने गरेका छन् । कृषिलाई आधुनिकीकरण गर्न सके आम्दानीको दरिलो स्रोत खडा गर्न सकिन्छ भन्ने दरिलो उदाहरण बन्नुभएको छ, डिल्लीराज उप्रेती ।

दुर्इ चरणमा चुनाव गर्ने निर्णय तत्काल फिर्ता लिन फोरम नेपालको माग

काठमाडौं, वैशाख १५ । स्थानीय तहको चुनाव दुई चरणमा गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन संघीय समाजवादी फोरम नेपालले माग गरेको छ । फोरम नेपालसमेत सहभागी मधेसी मोर्चाको आग्रहमा सरकारले वैशाख ३१ र जेठ ३१ गते गरी दुई चरणमा चुनाव गर्ने निर्णय गरेको थियो । तर हाल फाेरम नेपालले एक विज्ञप्ती सार्वजनीक गर्दै स्थानीय तहको चुनाव दुई चरणमा गराइए पहिलो चरणको मत परिणामले दोस्रो चरणको चुनावी नतिजालाई प्रभावित पार्ने र सामाजिक मनोविज्ञानलाई पनि विभाजित गर्ने भन्दै चुनाव मिति एकै पटक हुनुपर्ने माग अघि सारेको छ । त्यस्तै फोरम नेपालले नेपाली सेना जस्तो व्यावसायिक संगठनलाई चुनावी सुरक्षाका नाममा देशको आन्तरिक मामिलामा परिचालन गर्न नहुने पनि बताएको छ । सेना परिचालनले नेपाली सेनाको गरिमा, प्रतिष्ठा र वर्षौदेखि कायम रहिआएको व्यावसायिकतामाथि आँच पुग्ने भन्दै फोरमले स्थानीय चुनावमा सेना परिचालन पनि रोक्नुपर्ने माग गरेको छ ।

अरुको अंक सारेर डिआइजी सिलवालले पेश गरे सर्वोच्चमा फाइल

काठमाडौं, वैशाख १५ । डिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेश गरेको फाइल अरूकाे अंक सारेर कीर्ते फाइल पेश गरेकाे प्रमाणित भएको छ । अपराध अनुसन्धान विभाग अन्तर्गत केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले फाइलको अध्ययन गर्दा कीर्ते भएको प्रमाणित भएको हो । सर्वोच्चमा पेश गरिएको फाइलमा दुई अंक बढी देखिएको थियो। अभिलेख रहने तीन निकायमध्ये लोकसेवा आयोगको मूल्याकंन फाइल भने आगामी १९ गते पेशी परेका दिन खोलिनेछ । सिलवालको कागजात फर्जी रहेको दाबीसहित मन्त्रिपरिषद् कार्यालयले छानबिनका लागि प्रहरीलाई निर्देशन दिएको थियो । डिआइजी सिलवालले आफूले प्राप्त गरेको अंकभन्दा बढी देखाउन अरुको अंक सारेर फाइल बनाएको प्रमाणित भएको छ । प्रहरी अधिकारीहरुको कार्यसम्पादन मूल्यांकन अभिलेख र सर्वोच्च अदालतमा पेस भएको फाइलमा दुई अंकको फरक पाइएको हो । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा पेश गरिएको भन्दा सर्वोच्चमा पेश गरिएको कार्यसम्पादन मूल्याकंन फाइलमा दुई अंकको फरक पाइएको थियो । प्रहरी प्रधान कार्यालयले डीआईजी विजयकुमार भट्ट, एसएसपी पवन खरेल, एसपी राजुबाबु श्रेष्ठ, डीएसपी मोहन थापा र इन्सपेक्टर मदन कुँवर सम्मिलित छानबीन समिति गठन गरेको थियो । समितिले बयानका लागि बोलाउँदा सिलवाल उपस्थित नभएको भन्दै पक्राउसमेत गरिएको थियो । डीआइजी जयबहादुर चन्द प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि डीआइजी नवराज सिलवालले आफूलाई अन्याय परेको भन्दै अदालतमा ज्येष्ठता तथा कार्य सम्पादन मूल्यांकन फाइल अदालतमा बुझाएका थिए । सिलवालले अदालतमा बुझाएको उक्त फाइल कीर्ते भएको प्रहरी विधि विज्ञान प्रयोगशालाको अध्ययनबाट भेटिएको हो ।

राष्ट्रिय पोसाकको माग गर्दै राजधानीमा अर्धनघ्न प्रदर्शन

काठमाडौं वैशाख १४ । मुलुकलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने गरी राष्ट्रिय पोसाक स्थापना गर्नुपर्ने माग गर्दै राजधानीमा युवाहरुले अर्धनघ्न प्रदर्शन गरिएको छ । १३ बढी संघसंस्थाका युवाको सहभागीतामा श्रद्धावान् नेपाल राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले सो प्रदर्शन गरेको हो । सालको पातबाट बनेको पोसाक लगाएर युवाहरुले आज अर्धनग्न भई माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म र्‍याली निकालेका थिए । बिदेश भ्रमण वा औपचारिक कार्यक्रममा सहभागी भएका समय उच्चपदस्थ सरकारी अधिकारीले समेत बिदेशी पोसाक लगाउने गरेको भन्दै उनीहरुले आपत्ति जानाएका थिए । हिमाल, पहाड र तराईका १ सय २५ जातजातिको साझा पोसाक स्थापना गरी विदेशी औपचारिक भम्रणका समयमा देशलाई चिनाउने साझा पोसाक आवश्यक रहेको श्रद्धावान् नेपालका अध्यक्ष राजानन्द माण्डव्यले बताए । विगत पाँच वर्षदेखि अभियानले हरेक वर्ष पुस १७ गतेलाई राष्ट्रिय पोसाक दिवस घोषणा गर्न माग गर्दै आएको छ ।

चुनाव गर्न दश नगरपालिकामा निर्वाचन अधिकृत कार्यालय स्थापना

काठमाडौँ, वैशाख १३ । आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि मंगलबार काठमाडौँ जिल्लाका १० वटा नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रत्येक नगरपालिकामा निर्वाचन सम्पन्न गर्नका लागि कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत पुरुषोत्तमप्रसाद ढकालले जानकारी गराउनुभयो । नार्गाजुन नगरपालिकामा सुदर्शन लामिछाने, शङ्खरापुरमा भुवनेश्वर पौडेल, गोकर्णेश्वरमा निर्मला सुवेदी र दक्षिणकालीमा प्रतिमा पोखरेललाई निर्वाचन अधिकृत तोकिपठाइएको छ । यसैगरी, तारकेश्वरमा निर्मला योङया, कागेश्वरी मनहरामा प्रकाश कोइराला, चन्द्रागिरिमा गणेश नायक, टोखामा दीनबन्धु बराल, कीर्तिपुरमा गजेन्द्रबहादुर सिंह र बूढानीलकण्ठमा सुरेशप्रसाद नेपाललाई निर्वाचन अधिकृत तोकिएको छ । ती निर्वाचन अधिकृतको कार्यालयले सम्बन्धित नगरपालिकाका लागि उम्मेदवारको मनोनयनदेखि निर्वाचन सम्पन्न गर्ने सबै काम गर्नुपर्नेछ । यसअघि यही वैशाख ३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो ।

धनगढीमा भूकम्प प्रतिरोधी संरचना निमार्ण कार्यन्वयन फितलो

धनगढी,वैशाख १३ । धनगढी उपमहानगरपालिका क्षेत्रमा २०७० भदौ देखि राष्ट्रिय भवन संहिता लागू भए पनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । भवन संहिता लागू भएपछि भूकम्प प्रतिरोधी संरचनाको नक्सा पास हुने गरे पनि अधिकांश भवन नक्साअनुसार बनेका छैनन । नक्सा पास गरे पनि धेरैजसोले नक्सा अनुसार घर बनाउदैनन । भवन संहिता लागू भएपछि भूकम्प प्रतिरोधी नक्सा पास गरेर सोही अनुसार घर निर्माण गर्नुपर्ने व्यवस्था छ । अनुगमनको अभाव, खर्च बढी लाग्छ भन्ने मान्यता, सचेतनाको कमीजस्ता कारणले कतिपयले भूकम्प प्रतिरोधी घर बनाउँदैनन् । गत आर्थिक वर्षमा ८ सय २८ भवनको नक्सा पास भएका थिए । चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७ सय २८ नक्सा पास भएका छन् । अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा संहिता पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको उपमहानगरपालिकाले जनाएको छ । यद्यपि विगतका वर्षहरुमा भन्दा अहिले भूकम्प प्रतिरोधी घर बनाउने क्रम बढेको उपमहानगरपालिकाको भनाई छ । अहिले धेरैजसोले भवन संहिता पालना गरेर भूकम्प प्रतिरोधी घर बनाउन थालेको उपमहानगपालिकाका इन्जिनियर कमलराज ओझाले बताए । नक्साअनुसार घर बने नबनेकोबारे अनुगमन पनि हुने गरेको छ । तर जनशक्तिको अभावमा अनुगमनलाई नियमित र प्रभावकारी बनाउन नसकिएको इन्जीनियर ओझाले बताए ।

डाक्टर भन्छन्– गर्भावस्थामा डिप्रेसनको औषधी खतरनाक

काठमाडौं, गर्भावस्थामा डिप्रेसन अर्थात मानसिक अवसादको अवस्थालाई हटाउन कतिपय महिलाहरुले डिप्रेसनको औषधी लिने गर्दछन् । पेटमा बच्चा रहेपछि महिलाहरुको शरीरमा हर्मोनमा आउने परिवर्तनले उनीहरुको मन, चित्त, संवेग र संवेदनामा नै परिवर्तन आउने हुँदा कतिपय महिलाहरु शुरुको चरणमा र बच्चा पाएकापछि डिप्रेसनमा पुग्ने गर्दछन् । यस्तो बेला कतिपयले डिप्रेसन निको पार्न दिइने औषधी खाने गर्दछन् । तर सावधान, चिकित्सकहरु भन्छन्– यस्ता औषधी लिनु खतरनाक हुन्छ आमा र बच्चा दुबैका लागि । हालैमात्र हल्याण्डमा एउटा अनुसन्धान गरियो । स्वेन्सा विश्वविद्यालयका शोधकर्ताहरुले ५ लाख भन्दा बढी नवजात शिशुमा यो शोध गरेका थिए । यसबाट गर्भावस्थामा डिप्रेसनको औषधी लिने आमाबाट जन्मेका बच्चाहरु अविकसित अवस्थामा जन्मिने खतरा बढी रहने पाइयो । यसमा मुख्य गरी डिप्रेसन र एन्जाइटीको गम्भीर अवस्थामा लिइएका औषधीहरुले बढी समस्या तपाई यो एभरेष्टदैनिकडटकममा पढ्दै हुनुहुन्छ पर्ने देखियो । किन हुन्छ खतरा ? गर्भावस्थाको बेला पहिलो त्रैमासिकमा बच्चाको शरीरका अंगहरु निर्माण हुन्छ । यस्तो बेला जुन महिलाहरुले डिप्रेसन, मानिसक तनाव या यस्तै समस्या अन्त्य गर्न एन्टीडिप्रेसन या एन्टी साइकोटिक औषधीहरु नियमित रुपमा लिनेगर्दछन्, उनीहरुको बच्चामा यसको सोझो असर पर्छ । यसबाट बच्चा मुटुसम्बन्धी रोग र असन्तुलित व्यवहारका साथै अविकसितरुपमा जन्मिन सक्छ । यसप्रकारका समस्या भएर जन्मिने हरेक १०० मध्ये ९० बच्चामा यी समस्याहरु जन्मजात या जेनेटिक हुन्छन् । यो बाँकी १० प्रतिशतमा एन्टी डिप्रेसनजस्ता औषधीको सेवन मुख्यरुपमा जिम्मेवार हुन्छन् । के गर्ने त ? औषधी खानुपर्ने अवस्था देखिएपनि त्यसको विकल्पमा अन्य उपाय अपनाउन चिकित्सकहरु सल्लाह दिन्छन् । यसका लागि पौष्टिक आहार खाने, सकेसम्म परिवारको वातावरण राम्रो बनाउने र ध्यान गर्नुपर्ने उनीहरुको सल्लाह छ । यदि गर्भ बस्नु अगाडिदेखि यस्तो औषधी खाइरहेको खण्डमा चिकित्सकसँग सल्लाह लिनु जरुरी छ । चिकित्सकले पहिलो त्रैमासिक र तेश्रो त्रैमासिकमा यस्ता औषधी बन्द गर्ने या यसको मात्राका बारेमा तपाईलाई सही सल्लाह दिन सक्छन् ।