गोरखा दरबारबाट फूलपाती हनुमानढोका पठाइयो
काठमाडौं । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ।
विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन्।
फूलपातीको डोली बा२झ ३८८२ नंको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए।
गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पु¥याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ।
कार्यालयका कर्मचारीसमेत रहनुभएका चण्डीथानका पुजारी कुलबहादुर थापाको नेतृत्वमा हुनमानढोका दरबारमा फूलपाती पठाइएको कार्यालय प्रमुख भुसालले जानकारी दिए।
तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैं घरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पु¥याएर भित्र्याउने प्रचलन रहँदै आएको छ।
गोरखा दरबारको दसैँघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ।
विधिपूर्वक दसैँघरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाइ गरिएको उनले बताए।
गोरखा दरबारको दसैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ । गोरखा दरबार परिसरबाट गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यलगायतले फूलपातीको बिदाइ गरेका थिए।
त्यस्तै सतिपिपल चौताराबाट गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य, गोरखा नगरपालिकाका निवर्तमान नगरप्रमुख राजनराज पन्तलगायतले हनुमानढोका दरबारका लागि फूलपाती बिदाइ गरेका हुन्।
थपिए ६२३ जना कोरोना संक्रमि, ४८७ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९४५ वटा नमुना परीक्षण गर्दा ६२३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, शुक्रबार ४८७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२४ पुगेको छ । कोरोनाका कारण शुक्रबार कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ ।
निर्वाचन सुरक्षा रणनीति र चुनौतिबारे छलफल,सचिव पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमाण्ड पोष्ट’
काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बैठक सम्पन्न भएको छ । बैठकले मङ्सिर ४ गतेका लागि निर्धारण गरिएको प्रतिनिभिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न गर्न आवश्यक सुरक्षा रणनीति र चुनैतीबारे छलफल गरेको छ । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निर्वाचनको व्यवस्थापन कसरी गर्ने, तयारी कसरी अगाडि बढाउने, निर्वाचन सुरक्षा योजना र सुरक्षामा जनशक्ति परिचालनका विषयमा बैठकमा छलफल भएको बताए। उनका अनुसार निर्वाचनका लागि के के विषय चुनौति हुन सक्छन् र ती विषयको समाधान कसरी गर्ने भन्नेबारे छलफल भएको हो । बैठकले निर्वाचन सम्पन्न गर्न गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा ६ सदस्यीय ‘केन्द्रीय कमाण्ड पोष्ट’ बनाएको छ । त्यस्तै, गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ बनाउने निर्णय गरेको छ । साथै, पोखरेलकै संयोजकत्वमा ‘गृह मन्त्रालय, निर्वाचन सेल’ बनाइने भएको छ । यसैगरी, प्रत्येक प्रदेशका लागि सम्पर्क र समन्वयका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा रहने गरी ‘प्रदेश समन्वय तथा सम्पर्क सेल पनि बनाइने भएको छ । त्यस्तै प्रदेश स्तरमा कमाण्ड पोष्ट तथा प्रदेश निर्वाचन सेल र जिल्ला स्तरमा जिल्ला कमाण्ड पोष्ट तथा जिल्ला निर्वाचन सेल बनाउने पनि निर्णय भएका छ । बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका केन्द्रीय कार्यालय प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा सांगठनिक आवश्यकता अनुसार निर्वाचन सेल बनाउन सक्ने निर्णय पनि भएको छ । बैठकमा गृह सचिव टेकनारायण पाण्डे, रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभाका प्रमुख यदुलाल खरेल, मन्त्रालयका प्रशासन तथा सुरक्षा विज्ञ सुनिल खनाल प्रवक्ता पोखरेल, नेपाल प्रहरीका नायब महानिरीक्षक बसन्त कुँवर, मन्त्रालयको शान्ति सुरक्षा शाखा प्रमुख उपसचिव बसन्त भट्टराईलगायत सहभागी भएका थिए ।
निजी विद्यालयलाई छात्रवृत्तिको विवरण टाँस्न महानगरको निर्देशन
काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई छात्रवृत्तिको सूचना विद्यालयको सूचना पाटीमा टाँस्न निर्देशन दिएको छ । महानगरपालिका शिक्षा विभागले यसअघि साउन २२ गते नै संस्थागत विद्यालयहरुले विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ मा भर्ना भएका कूल विद्यार्थी संख्याको १० प्रतिशत नघट्ने गरी नियमानुसार समावेशी आधारमा छात्रवृत्ति वितरणको लागि सूचना पाटीमा सूचना टाँस गर्न पत्राचार गरेको थियो । उक्त सूचनाको आधारमा अभिभावकबाट आवेदन लिई भदौ १५ गतेभित्र छात्रवृत्तिको व्यवस्था गर्न सूचित गरेपनि कतिपय विद्यालयहरुले हालसम्म पनि सूचना टाँस प्रचार नगरेको गुनासो परेपछि महानगर शिक्षा विभागले पुनः निर्देशन दिनुपरेको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जनाएका छन् । शिक्षा अधिकारी सुवेदीले सबै वडा कार्यालयहरुलाई सम्बन्धित वडा अन्र्तगतका विद्यालयहरुमा नियमानुसार छात्रवृत्ति छनोट गरी विवरण पठाउने व्यवस्था गर्न निर्देशन गरेका छन् ।
राष्ट्रिय सभाको बैठक आज बस्दै
काठमाडौं । राष्ट्रियसभाको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्ने भएको छ । सोमबार बस्ने सोही बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । त्यसपछि विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रले ‘शपथसम्बन्धी विधेयक, २०७८’ सम्बन्धी प्रतिवेदन सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, खानेपानीमन्त्री उमाकान्त चौधरीले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७६ माथि विचार गरियोस’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उहाँले नैं उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।
अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन
मुग्लिन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तोपेखोलामा गुडिरहेको माइक्रोबस र जीपमाथि पहिरो खसेको छ । मुग्लिनबाट नारायणगढतर्फ गइरहेको ग१ख ९९०९ नम्बरको यात्रुवाहक माइक्रोबस र प्रदेश३–०१–०२३च ०५३५ नम्बरको कारमाथि आज बेलुका करिब साढे ५ बजेतिर पहिरो खसेको हो । पहिरोसँगै खसेको ढुंगाले लागेर एकजना सामान्य घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार माइक्रोका चालक नवलपुरको कावासोती नगरपालिका–७ बस्ने ३६ वर्षीय टीकाराम महतोको हातमा सामान्य चोट लागेको हो । मानवीय क्षति नभए पनि गाडीमा भने क्षति पुगेको छ । अहिले साँझ ६ः३० बजेबाट एकतर्फी मात्र यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ । दुईतर्फी सडक खुलाउन अझै केही समय लाग्ने प्रहरीले जनाएको छ । रासस
स्थानीय निर्वाचनबारे तिमिल्सिनाका ३० टिप्स्
काठमाडौं । स्थानीय निर्वाचन २०७९ मा निर्वाचन अभियानमा खटिएका युवा नेता मनहरि तिमिल्सिनाले स्थानीय निर्वाचनका अनुभव र शिक्षाहरू भन्दै सामाजिक संजालमा ३० बुँदा सार्वजनिक गरेका छन् । यस्ता छन् तिमिल्सिनाका ३० टिप्स् १. निर्वाचन जित्न बलियो संगठन चाहिन्छ, आफ्नै तागतमा उभिएर मात्र निर्वाचन जित्न सकिन्छ। २. मतदाता ठूला कुरा र उपलब्धीभन्दा आफ्नो जीवनमा प्रत्यक्ष लाभ मिल्ने मुद्दामा आकर्षित हुन्छन्। ३. गठबन्धनले संगठित कार्यकर्तालाई निर्देशित गर्न सक्छ। तर, नरम र तटस्थ मतदातालाई सक्दैन। ४. निर्वाचन समीकरणमा मतदाताले परिस्थितिजन्य एकताभन्दा मनोवैज्ञानिक एकता चाहन्छन्। ५. समीकरण सजातीय हुनुपर्छ। मतदाताले समीकरणको औचित्य अन्तर्मनदेखि वोध गर्न सक्नुपर्छ। ६. मतदाताले दलको घोषणापत्र कम हेर्छन्, दलको तागत र उम्मेदवारको छवि बढी हेर्छन्। ७. परम्परागत मुद्दा मतदाताले रूचाउँदैनन्। नयाँपन र विश्वासिलो आधार खोज्छन्। ८. निर्वाचनको बखत मात्र मतदाताबिच पुग्ने तरिकाले अपेक्षित परिणाम निकाल्न सकिँदैन। ९ मतदाताले पाँच वर्षको दौरानमा पार्टी र नेताहरूले आफूहरूप्रति गरेको स–साना व्यवहारको पनि हिसाब राख्छन्। १०. दल र नेता चुनाव आएपछि गाउँ जाने र मतदाता पासो ढुकेर बस्ने प्रवृत्ति लोकतन्त्रका निम्ति घातक छ। ११. सिद्धान्त र निष्ठा कमजोर हुँदा अन्तर्घात प्रभावी रहन्छ। पार्टीहरूमा आत्मानुशासन कमजोर छ। १२. उम्मेदवार छनोट गर्दा लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्नुपर्छ। त्यसले मात्र निर्वाचनमा एकीकृत तागत पैदा गर्छ। १३. पार्टीले टिकट दिँदा अर्कोपटक टिकट नपाए पनि पार्टीको उम्मेदवार जिताउन लाग्नेछु भन्ने सहीछाप गराउन आवश्यक देखिन्छ। १४. पार्टीभित्र सबै नेता–कार्यकर्ताले भविष्य देख्ने नीति–कार्यक्रम चाहिन्छ। आफूले टिकट नपाए ‘भर्सेला परोस्’ भन्ने प्रवृत्ति घातक छ। १५. मतदाताले बलशाली होइन, आफ्नो सुखदुखमा साथ दिने जनप्रतिनिधि खोज्छन्, लाभको हिसाबकिताब गर्छन्। १६. स्थानीय निर्वाचनमा भौगोलिक अवस्थिति, उम्मेदवारको सम्बन्धले पनि जीतहारमा विशेष अर्थ राख्दछ। १७. स्थानीय तहमा निर्वाचन आचारसंहिता अनुगमन र कार्यान्वयन गर्ने शक्तिशाली संयन्त्र चाहिन्छ। १८.हाम्रो मतदाता शिक्षा कमजोर छ। निर्वाचन प्रणाली र व्यवस्थापनबारे पुनर्विचार गर्नुपर्छ। १९. जेष्ठ नागरिक र अशक्त मतदातालाई मतदान केन्द्रसम्म ल्याउने व्यवस्था निर्वाचन आयोगले गर्नुपर्छ। २०. मतदान केन्द्रको व्यवस्थापनबारे आयोगले नयाँ ढंगले सोच्नुपर्छ। घण्टौं उभिएर मतदान गर्ने प्रणाली फेर्नुपर्छ। २१. आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारीको २४ घण्टामा उम्मेदवार रद्द हुने कानुनी व्यवस्था चाहिन्छ। २२. उत्पीडित वर्ग र समुदायलाई आज होइन, भोलिका लागि आशातीत हुनसक्ने शिक्षा र योजना चाहिन्छ। २३. दलहरूले पार्टी झण्डाभन्दा चुनावी चिन्हलाई नै स्थापित गराउन बढी जोड गर्नुपर्ने देखिन्छ। २४. विभाजनले नेता–कार्यकर्ताभन्दा मतदाताको मनोविज्ञानमा बढी असर गर्छ। फुटमा संख्याको नभएर मनोविज्ञानको प्रभाव रहन्छ। २५. उम्मेदवारमा स्थानीय तहको इतिहास, सभ्यता, विशेषता, मनोविज्ञान र सम्भावनाको राम्रो अध्ययन चाहिन्छ। २६. पार्टीहरूले नेता–कार्यकर्ताको आवधिक कार्यसम्पादन मूल्यांकनको व्यवस्था गरेर नेता जनतातिर फर्काउनुपर्छ। २७. अधिंकाश निर्वाचित जनप्रतिनिधिहरू आफ्नो कर्तव्य र अधिकारबारे सुसूचित छैनन्। पार्टीहरूले अभिमुखीकरण गर्नुपर्छ। २८. जनताले सरल र वैज्ञानिक सेवा प्रवाह, सुशासन र जीवनमा आधारभूत परिवर्तन खोजेका छन्। दलहरूले त्यतातर्फ प्राथमिकता दिनुपर्छ। २९. घोषणापत्रमा ठूलठूला कुरा लेख्ने तर जितेपछि कार्यान्वयन नगर्ने पार्टी र जनप्रतिनिधिलाई नियन्त्रण गर्ने कानुन चाहिन्छ। ३०. पराजित उम्मेदवारले आफूले प्राप्त जनमतको सम्मान गर्दै क्रियाशील भइरहे अर्को निर्वाचनमा जीत उसैको हुन्छ।
शशांकसंँग निर्वाचन आयोगले माग्यो ७ दिने स्पष्टीकरण : चुनावमा ६ करोड खर्च कसरी भयो ?
काठमाडौं । संघीय निर्वाचन आयोगले काँग्रेस नेता शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ । निर्वाचनमा ६ करोड खर्च भएको कोइरालाले बताएको कुरा सञ्चारमाध्यममा आएकाले यससम्बन्धमा के भएको हो जानकारी गराउन भन्दै आयोगले कोइरालालाई ७ दिनभित्र जवाफ पेश गर्न भनेको छ। बर्दघाट निर्वाचन क्षेत्र नम्बर १ बाट २०७४ सालको चुनाव लड्दा कोइरालाले पेश गरेको चुनावी खर्च विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेश गरेको देखिएको आयोगले जनाएको छ । तर विभिन्न सञ्चारमाध्यममा उनले दिएको अभिव्यक्तिमा ६ करोड खर्च भएको बताएकाले यससम्बन्धमा ७ दिनभित्र जवाफ पठाउन भनिएको छ ।
नवाज शरिफ र इमरान खानका समर्थकबीच झडप
काठमाडौं । नवाज शरिफ र इमरान खानका समर्थकबीच झडप भएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदमुक्त भएको समाचार सार्वजनिक भएपछि लण्डनस्थित पाकिस्तानी पूर्व प्रधानमन्त्री नवाज शरिफको निवास अगाडि उनका समर्थकहरुले खुशियाली मनाउने क्रममा झडप भएको छ । शरिफको समर्थनमा नारा लगाउँदै नाचगान गरिरहेको भीडमा इमरान खानका समर्थकहरुले हस्तक्षेप गर्दा झडप भएको हो । झडप नियन्त्रणका लागि सुरक्षाकर्मीलाई कठिन भएको थियो । इमरान खानका समर्थकहरुले लण्डनमा नभई पाकिस्तानमै गएर खुशियाली मनाउन धम्की दिएपछि झडप भएको हो । सो झडपका क्रममा दुबैतर्फका केही समर्थक घाइते समेत भएका छन्।
१३२ यात्रु बोकेको चिनियाँ विमान दुर्घटना
काठमाडौं । चाइना इस्टर्न एयरलाइन्सको विमान दुर्घटना भएको छ । १३२ यात्रु बोकेको विमान गुआङ्सी प्रान्तमा दुर्घटना भएको चिनियाँ अधिकारीहरूले जनाएका छन्। विमानमा १२३ यात्रु र नौ चालक दलका सदस्य सवार थिए, चीनको नागरिक उड्डयन प्रशासन (सीएए)ले जनाएको छ। दुर्घटनाको कारण अझै खुल्न सकेको छैन । बोइङ ७३७ ८०० विमान वुझाउको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ र विस्फोटले जंगलमा आगो लगाएको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।
होली खेल्दा घरको छतबाट खसेर युवती गम्भीर घाइते
काठमाडौं । होली खेल्ने क्रममा घरको छतबाट खसेर एक युवती गम्भीर घाइते भएकी छन्। काठमाडौं जोरपाटीमा बस्दै आएकी २२ वर्षीया बिनिता चौलागाईं होली खेल्ने क्रममा घरको छतबाट खसेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । सिन्धुपाल्चोक भोटेचौर घर भएकी उनी अस्थायी रुपमा जोरपाटी दक्षिणढोका बस्दै आएकी थिइन्। घरको छतमा होली मनाउँदै गर्दा दुई तला माथिबाट उनी खसेकी थिइन्। उनको अवस्था गम्भीर छ। प्रहरीका अनुसार उनलाई उपचारका लागि चाबहिलस्थित दिर्घायु अस्पतालमा लगिएको छ।
धनुषामा ४ सय ६७ घर परिवारलाई लालपूर्जा वितरण
काठमाण्डौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्ने गरी कामलाई तिब्र बनाइएको बताएकि छन् । धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका वडा नं. १९ साविकको वेगाशिपुर गा.वि.समा रहेको गाउँब्लकमा रहेकाहरुलाई लालपूर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले कोहीपनि वास्तविक भूमिविहिन भूमि पाउनबाट बन्चीत हुन नपरोस भनेर अभियान नै सञ्चालन गरेर सरकारले लालपूर्जा वितरणको काम शुरु गरेको बताईन् । मन्त्री श्रेष्ठले जमिन भएर पनि लालपूर्जा नहुदा भूमिविहिन बनिरहेकाहरुको समस्या देशैभरबाट अन्त्य गर्ने गरी सरकार लागिरहेको भन्दै बास्तविक भूमिहिन कोही पनि भूमि प्राप्त गर्नबाट बन्चीत नहुन र गलत मान्छेले भूमि नपाउन भन्नेमा सवै चनाखो बन्नु पर्नेमा पनि जोड दिएकि थिईन् । मन्त्री श्रेष्ठले लालपूर्जाको अभावमा नागरिकता समेत प्राप्त नगर्ने र राज्यबाट प्राप्त हुने अधिकार उपभोग गर्न नपाइरहेको अवस्थाको अन्त्य हुनु पर्ने बताईन् । उनले भूमि विहिनहरुलाई लालपूर्जा वितरणको कामलाई पहिलो प्राथमिकतामा राखेर सरकार अगाडी बढिरहेको भन्दै संविधानमा व्यवस्था भएको भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा वितरण गर्ने र अव्यवस्थित बसोबासीको व्यवस्थापनको काम समेत शुरु भइसकेकोले कोहि पनि भूमिहिान भएर बस्नु नपर्ने बताईन् । उनले राष्ट्रिय भूमि आयोगले हालसम्म २८ जिल्लामा काम शुरु गरिसकेको र ६८ स्थानीय तहसँग सम्झौता गरेर काम भइरहेको जानकारी दिईन् । यसै क्रममा यसअघि मन्त्री श्रेष्ठले महोत्तरीको रामगोपालपुुर, सप्तरीको अग्नीसाइर कृष्णसवरण र तिरहुत गाउपालिका, चितवनको इच्छाकामना गाउँपालिका र सिरहाको गाउँब्लकमा रहेकाहरुलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेकि थिईन् । २०२१ साल यता देशका विभिन्न जिल्लामा नापी हुदा गाउँव्लकका रुपमा रही आफ्नो घर जग्गाको लालपूर्जा पाउन नसकेकाहरुलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न ढिलाई गर्न नहुनेमा मन्त्री श्रेष्ठले जोड दिदै आएकि छन् ।
स्थानीय तह निर्वाचनको मिति विरुद्ध सर्वोच्चमा मुद्धा ,के होला निर्वाचन ?
काठमाडौं । स्थानीय तह निर्वाचनको मिति विरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ । महोत्तरीको भंगाहा नगरपालिकाका मेयर संजीवकुमार साहले पाँच वर्षको पूरा कार्यकाल काम गर्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा मुद्धा दायर गरेका हुन् । यद्यपि मुद्धा भने दर्ता भएको छैन । मुद्धा दर्ता गर्ने कि नगर्ने अध्ययन गरेर टुगोमा पुग्ने सर्वोच स्रोतले जनाएको छ । सरकारले वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय सँगै विभिन्न स्थानिय क्षेत्रमा चुनावको रौनक बढेको छ । तर लोसपाका मधेस अध्यक्ष जितेन्द्र सोनलले आजै एक विज्ञप्ती जारी गर्दै कार्यकाल अगावै चुनाव गर्न खोजेको भन्दै विरोध जनाएका थिए ।
ट्रम्पको चेतावनीः युक्रेनको चिन्ता छोड,अमेरिकाको सीमा जोगाउ
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले युक्रेन वरपरको अवस्थाको बारेमा चिन्ता गर्न छोड्न आग्रह गरेका छन् । अहिले अमेरिकाले आन्तरिक सीमा सुरक्षाको मुद्दामा ध्यान केन्द्रित गर्नुपर्नेमा टम्पको जोड छ। ट्रम्पले शनिबार निकालिएको टेक्सासको र्यालीमा आफ्ना समर्थकहरूलाई भने“वाशिङ्गटनमा सबैजना युक्रेनको सिमाना कसरी जोगाउने भनेर सोचिरहेका छन्, तर हाम्रो लागि अहिले संसारको सबैभन्दा महत्त्वपूर्ण सिमाना युक्रेनको सीमा होइन, यो अमेरिकाको सीमा हो र हामी यसको बारेमा केही गर्दैनौं ।” ट्रम्पले अमेरिकी राष्ट्रपतिको पहिलो कर्तव्य अमेरिकी सीमाको रक्षा गर्नु पर्ने भए पनि अहिलेको अमेरिकी प्रशासन अन्य देशको ‘आक्रमण’को कुरामा व्यस्त रहेको टिप्पणी गरेका छन् । “उनीहरूले यस देशको आक्रमण रोक्न आवश्यक छ,” ट्रम्पले जोड दिदै भनेका छन् , “जो बाइडेनले पूर्वी युरोपको सीमा रक्षा गर्न कुनै पनि सेना पठाउनु अघि, उनले टेक्सासमा हाम्रो सीमा रक्षा गर्न सेना पठाउनु पर्छ।” ट्रम्पले बाइडेनलाई तेस्रो विश्वयुद्धको जोखिम सिर्जना गरिरहेको चेतावनी दिएका छन् । शुक्रबार, अमेरिकी संयुक्त चिफ अफ स्टाफका अध्यक्ष मार्क मिलेले रुसले युक्रेनी सीमामा कुनै पनि क्षण आक्रमण गर्न पर्याप्त सेना जम्मा गरेको दाबी गरे र संकटको कूटनीतिक समाधानको लागि खोजी जारी राख्न आग्रह गरेका थिए । मस्कोले बारम्बार आफ्नो छिमेकीलाई आक्रमण गर्ने तयारी नरहेको जनाएको छ ।रुसले कसैलाई धम्की दिएको छैन भन्दै रुसको सिमाना नजिक नाटोको बढ्दो उपस्थिति र युक्रेनको सैन्यकरणमा चिन्ता व्यक्त गरेको जनाएको छ। बुधबार रुसका लागि अमेरिकी राजदूत जोन सुलिभानले युरोपको लागि रुसको सुरक्षा प्रस्तावमा वाशिंगटनको प्रतिक्रिया दिएका छन्। रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बिहीबार रुसले उक्त प्रतिक्रियाको समीक्षा गरिरहेको तर संयुक्त राज्यले नाटो विस्तार नगर्ने मुख्य प्रश्नलाई अनुत्तरित छोडेको टिप्पणी गरेका छन्
इटालीमा ८० वर्षीय सर्जियाे दोश्रोपटक राष्ट्रपतिमा निर्वाचित
काठमाडौं । उमेरको हदको चर्चा जति गरेपनि यदि कनिष्ठहरुले कमाण्ड लिन सकेनन् भने जतिसुकै उमेर भएपनि वरिष्ठकै खोजी हुने कुरा इटालीको घटनाले पुष्टि गरेको छ । इटालीका राष्ट्रपति सग्रियो मतारेल्लाको पदावधि समाप्त भएपनि उनको स्थानमा अरु नेताको नाममा सहमति जुट नसकेपछि उनी नै पुनः राष्ट्रपतिमा निर्वाचित भएका छन् । राष्ट्रपति चयनका लागि संसदमा ८ पटकसम्म मतदान हुँदा समेत अरु कसैले बहुमत हासिल गर्न नसकेपछि उनको नाममा सहमति जुटेको हो । इटालीको संविधान अनुसार, पहिलो तीन चरणमा दुई तिहाई बहुमत आवश्यक हुन्छ । त्यसपछि चौथोचरणपछि साधारण बहुमत आवश्यक हुन्छ । नयाँ राष्ट्रपतिको चुनावका लागि सोमबार पहिलो चरणको र मंगलबार दोश्रो चरणको निर्वाचन भएको थियो । यो क्रम शनिबारसम्म ८ औं चरणमा आइपुग्यो । तर कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सक्ने अवस्था नभएपछि सेर्गेइको नाम उम्मेदवारको रुपमा राखिएको थियो । संवैधानिक अदालतका पूर्व न्यायाधिश गेएतानो अजारितीले सेर्गेइलाई दोश्रो कार्यकाल दिन अस्वीकार गरेका थिए । तर आठौं चरणसम्म पनि कुनै अरु उम्मेदवारले बहुमत ल्याउन नसकेपछि उनी दोश्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिने भएका हुन।
कति छ कर्णालीका मुख्यमन्त्री शाहीकाे सम्पत्ति, बैकमा करोड बढी माैज्दात, ८ ठाउँमा जग्गा (सूचिसहित)
सुर्खेत । कर्णालीका मुख्य मन्त्री जीवनबहादुर शाहीसँग कति सम्पत्ति छ त ? मुख्यमन्त्री बनेदेखि हिजाेसम्म यो सार्वजनिक भएको थिएन । त्यसो त मुख्यमन्त्री शाहीले गत पुष ८ गते नै सम्पत्ति विवरण बुझाएका हुन । तर मुख्यमन्त्री कार्यालयको वेभसाइटमा भने हिजो मात्रै उनको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मुख्यमन्त्री शाही नेपाली कांग्रेसको संसदीय दलका नेतासमेत हुन । बैंक मौज्दात मुख्यमन्त्री शाहीको सम्पत्ति हेर्दा उनी धनी मुख्यमन्त्रीका रुपमा देखिन्छन् । उनले सिटिजन्स बैंकमा २५ लाख, सानिमा बैंकमा ३८ लाख र एनआइसी एसिया बैंकमा १४ लाख गरि ७७ लाख बैंक मौज्दात देखाएका छन् । यसैगरी उनकी पत्नी बसन्ती शाहीको नाममा सिटिजन्स बैंकमा १५ लाख, एनआइसी बैंकमा १६ लाख गरि ३१ लाख रुपैयाँ देखाइएको छ । आम्दानीको श्रोतकारुपमा भने उनले पारिश्रमिक, व्यवसाय र जग्गा विक्रीबाट यो पैसा कमाएको जनाएका छन् । मुख्यमन्त्रीकी पत्नी बसन्ती नेपाल सरकारको कर्मचारी थिइन्। उनी हाल कर्णाली प्रदेश लोक सेवा आयोगको सदस्य पनि छन्। यतिमात्रै होइन, उनीहरुले १२ लाख रुपैयाँ अरुको नाममा पनि राखेका छन् । शुभचिन्तकसँग २०५० सालदेखि बचत भएको उनले जनाएका छन् । ती शुभचिन्तक को हुन भन्ने खुलाइएको छैन । अचल सम्पत्ति हेर्दा शाही दम्पत्तिसँग ५६ तोला सुन रहेको छ । त्यो पुख्यौली सम्पति रहेको र व्यापार तथा व्यवसाय गर्दाकै बेलादेखिको भएको उनलेउल्लेख गरेका छन् । यसैगरी २ किलोग्राम चाँदी, नवरत्न र औंठी गरी ३ लाख बराबरको सम्पति पनि उनीहरुको छ। जग्गा जमिन मुख्यमन्त्री दम्पतिका नाममा आठ ठाउँमा जग्गा छन्। हुम्ला, बाँके र काठमाडौंमा घरजग्गा छ। मुख्यमन्त्री शाहीको नाममा हुम्लाको सिमकोटमा ७२३।७५ वर्गमिटर जग्गा र घर रहेको उल्लेख छ। काठमाडौं महानगरपालिका १६ मा ३३०।७५ वर्गमिटर जग्गा र त्यसमा घर रहेको सम्पत्ति विवरणमा पेश गरिएको छ। व्यापार तथा व्यवसायबाट प्राप्त आम्दानीबाट यी जग्गा र घर जोडेको उनले खुलाएका छन्। साथै हुम्लाको खार्पुनाथमा २१५ रोपनी जग्गा पनि छ। बाँकेको खजुरामा २ विघा जग्गा मुख्यमन्त्री शाहीको नाममा छ। उनका नाममा नेपालगञ्जमा पनि जग्गा रहेको छ। तर त्यहाँ कति जग्गा छ भन्ने खुलाइएको छैन। यीमध्ये केही पुख्यौली सम्पति र केही आफूले खरिद गरेको शाहीले बताएका छन्। पत्नी बसन्तीका नाममा हुम्लाको सिमकोटमा ५४८।२५ वर्गमिटर जग्गा र घर छ। साथै काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ मा २४ लाखमा खरिद गरिएको जग्गा पनि छ। शेयर मुख्यमन्त्री शाहीका नाममा बजार मूल्यमा आधारित १३ हजार कित्ता साधारण शेयर रहेको छ। जसमध्ये चिलिमे जलविद्युत् आयोजनाको २ हजार ६०० कित्ता, ज्योति विकास बैंकको १० हजार कित्ता र कृषि विकास बैंकको ४०० कित्ता रहेको छ। ऋण मुख्यमन्त्री शाहीको सम्पत्ति विवरणमा एक करोड ७२ लाख ऋण देखाइएको छ। जुन किस्तामा तिरिरहेको उल्लेख गरिएको छ। व्यक्तिसँग ४० लाख र ज्योति विकास बैंकमा १ करोड ३२ लाख रुपैयाँ ऋण रहेको उल्लेख गरिएको छ। सवारीसाधन उनीसँग गाडी छ। जसको खरिद मूल्य ९५ लाख उल्लेख गरिएको छ। उक्त गाडी २०७१ सालमा खरिद गरिएको थियो।