राष्ट्रिय मर्यादासम्बन्धी विधेयक राष्ट्रियसभामा पेस

काठमाडौं । राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ राष्ट्रियसभामा पेस भएको छ । मंगलबारको राष्ट्रियसभा बैठकमा उक्त विधेयक पेस भएको हो ।

विधायन व्यवस्थापन समितिले सोमबार उक्त विधेयक पारित गरेको थियो । बैठकले मंगलबारको राष्ट्रियसभा बैठकमा पेस गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम समिति सभापति जयन्ती देवी राईले पेस गरेकी हुन् ।

यस्तै, मंगलबारको बैठकले सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

राष्ट्रियसभाको बैठक आजै १६ मिनेटपछि बस्नेछ । उक्त बैठकले राष्ट्रिय मर्यादासम्बन्धी विधेयक पास गर्ने तयारी गरेको छ ।

भरतपुरको बाईपास रोड अन्तर्गत विशालचोकदेखि आँपटारीसम्म वृक्षरोपण गरिने

चितवन । भरतपुर बाईपास रोड अन्तर्गत विशालचोकदेखि आँपटारीसम्म वृक्षरोपण गर्न ३ पक्षीय सहमति भएको छ । भरतपुर महानगरपालिका, सडक डिभिजन कार्यालय भरतपुर र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम बीच वृक्षरोपण तथा सौन्दर्यकरण गर्ने सहमति भएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेल र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका प्रमुख श्याम बाबु लोप्चनले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् । वृक्षरोपणका लागि सडक डिभिजन कार्यालय भरतपुरले मलिलो माटो भर्ने तथा मिडियनमा ट्राफिक नियमअनुसारको रङरोगन गर्ने सहमति पत्रमा उल्लेख छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट महानगरको मापदण्ड अनुसारको विरुवाहरु उपलब्ध गराउने तथा रोप्ने काम हुने छ । विरुवा रोपेपछि भने यसको संरक्षण तथा अनुगमनको काम महानगरपालिकाको हुने सहमति पत्रमा जनाइएको छ । महानगरपालिकाले विरुवाको लागि मिडियनको गार्डेनको दुवैतिर घेराबार तथा सिँचाईको व्यवस्था गर्नुपर्ने छ । विशालचोकदेखि आँपटारीसम्मको १७ सय मिटरको मिडियनमा असोज २६ गते शुक्रबार वृक्षरोपण गरिने महानगरपालिकाका वातावरण निरीक्षक लक्ष्मी ठगुन्नाले जानकारी दिए । बाईपास सडकमा यसअघि नै ३ वटा निकायको लगानीमा केन्द्रीय बस टर्मिनल चोकदेखि विशालचोकसम्म वृक्षरोपण भईसकेको छ । सडक निर्माणमा ढिलाई भएसँगै यो क्षेत्रमा वृक्षरोपण गर्न पाइएको थिएन् । अहिले सडक निर्माण सम्पन्न भएसँगै वृक्षरोपणका लागि बाटो खुलेको हो । भरतपुर महानगरपालिकाले निर्माण सम्पन्न भएका सडकमा हरियाली प्रर्वद्धन कार्यक्रमलाई प्राथामिकतामा राखेको छ ।

नेप्से परिसूचक ४२ दशमलव १४ अङ्कले घट्यो

काठमाडौं। यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ४२ दशमलव १४ अङ्कले घटेको छ । नेप्से परिसूचक दुई दशमलव ०९ प्रतिशतले घटेर एक हजार नौ सय ६४ दशमलव ९१ अङ्कमा कायम भएको हो । आज दुई सय ७८ कम्पनीको ५६ लाख ५९ हजार चार सय ५८ कित्ता शेयर ७२ हजार चार सय ७७ पटक खरिद९बिक्री हुँदा रू। दुई अर्ब दुई करोड ८४ लाख ६५ हजार छ सय १० बराबरको कारोबार भएको छ । सबै समूहको उपसूचक घटेकोमा सबैभन्दा धेरै व्यापार समूहको उपसूचक तीन दशमलव ३३ र वित्त समूह तीन दशमलव ३० प्रतिशतले घटेको छ । बैंकिङ एक दशमलव ४२, विकास बैंक दुई दशमलव ५९, होटल तथा पर्यटन तीन दशमलव २९, जलविद्युत् दुई दशमलव ७९ र लगानी समूहको उपसूचक एक दशमलव ९१ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा समूहको उपसूचक दुई दशमलव ९७, उत्पादन तथा प्रशोधन समूह एक दशमलव ६०, लघुवित्त एक दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव ३५, निर्जीवन बीमा दुई दशमलव ५९ र अन्य समूह एक दशमलव ९९ प्रतिशतले घटेको छ । शुभम् पावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य नौ दशमलव २१ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै रू। २७ करोड ५४ लाख ७३ हजार ७२ बराबरको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको चार लाख ८७ हजार एक सय ८६ कित्ता शेयर खरिद बिक्री भएको छ । रासस

ब्राजिलमा जहाज दुर्घटना हुँदा १४ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा एउटा जहाज दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार अमाजोनस राज्यमा पर्ने अमेजनको जंगलमा शनिबार भएको दुर्घटनामा १२ यात्रु र दुई चालक दलका सदस्यहरूको मृत्यु भएको हो। जहाजमा सवार यात्रु आन्तरिक पर्यटक भएको बताइएको छ। भारी वर्षा भएकाले ल्यान्डिङका क्रममा जहाज दुर्घटनाम परेको आशंका गरिएको छ।

प्रधानमन्त्री प्रचण्डले आज पूर्वप्रधानमन्त्री लगायतसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जानुअघि आज पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेतालगायतसँग सामूहिक छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा दुई चरणमा सामूहिक छलफल हुनेछ। पहिलो चरणमा दिउँसो २ बजे प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेतालगायतसँग छलफल गर्नेछन्। दोस्रो चरणमा कूटनीतिक परामर्शको तयारी गरिएको छ। दिउँसो ३ : ३० बजे पूर्व परराष्ट्रमन्त्रीहरु तय भारतका लागि पूर्व नेपाली राजदूतसँग छलफल हुनेछ। प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गते भारत भ्रमणमा जाँदैछन्।

मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा आर्थिक वर्ष २०८०/०८१ को बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । सरकारका तर्फबाट भोलि (सोमबार) अपराह्न ४ बजे बजेट प्रस्तुत हुँदै छ र जेठ १७ गते प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान गर्ने कार्यक्रम तय भएसँगै आजको बैठक यी विषयमा केन्द्रीय रहने बुझिएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा टिकापुर घटनाका मुख्य योजनाकारको रुपमा कैद सजाय भोगिरहेका रेशम चौधरीलगायतका अभियुक्तलाई रिहाइ गर्ने प्रस्ताव पेस भएको थियो।

प्रधानमन्त्री प्रचण्ड आगामी बुधबार भारत भ्रमणमा जाने, यस्तो छ भ्रमणको कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार भारत भ्रमणमा जाने भएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड भारतको चार दिन लामो औपचारिक भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणमा रहनेछन्। परराष्ट्र मन्त्रालय र भारतीय दूतावासले आज विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक घोषणा गरेका हुन् । भ्रमणमा नेपाल सरकारका मन्त्री, सचिव र वरिष्ठ अधिकारी सहभागी हुने जानकारी दिइएको छ। प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल पनि जानेछिन् । भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साथै उपराष्ट्रपति जगदीप धनखरसँग पनि शिष्टाचार भेट हुनेछ । प्रधानमन्त्री प्रचण्डले जेठ १८ गते भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तापछि दुई प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ । भारतका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री र प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रुपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई प्रधानमन्त्रीले सम्बोधन गर्नुका साथै दुवै देशका व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले भारतका लागि नेपाली राजदूत एचईले आयोजना गरेको स्वागत स्वागत समारोहमा भारतमा रहेका नेपाली समुदायसँग पनि कुराकानी गर्नेछन् । प्रधानमन्त्रीले शनिबार काठमाडौं फर्कनुअघि मध्य प्रदेशको उज्जैन र इन्दोरको पनि भ्रमण गर्ने कार्यक्रम छ । नेपालको प्रधानमन्त्रीका रुपमा प्रधानमन्त्री ‘प्रचण्ड’को यो चौथो भारत भ्रमण हो । यस भ्रमणले नेपाल र भारतबीचको सदियौं पुरानो, बहुआयामिक र सौहार्दपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्रमन्त्रालयले जनाएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डको यो पहिलो विदेश भ्रमण हो।

इन्डियन प्रिमियर लिग : गुजरात प्लेअफमा, हैदराबाद बाहिरियो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा गुजरात जायन्ट्सले ओपनर शुभमन गिलको शतकको सहयोगमा सनराईजर्स हैदराबादलाई पराजित गरेको छ । सोमबार राती घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हैदराबादलाई ३४ रनले परजित गर्दै गुजरात प्रतियोगिताको प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ । गुजरातले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन मात्र बनायो । हैदराबादका लागि हेनरिच क्लेसनले ४४ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ६४ रनको अर्धशतकीय ईनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । भुवनेश्वर कुमारले २६ बलमा ३ चौकाको सहयोगमा २७ रन बनाए । मंयक मारकन्डे १८ तथा पैजल हक फारुकी १ रनमा अविजित रहे । गुजरातका लागि मोहिल शर्मा र मोहम्मद सामीले समान ४र४ तथा यश दयालले १ विकेट लिए । सामीले ४ ओभरमा २१ रन खर्चिदाँ शर्माले ४ ओभरमा २८ रन खर्चिएका थिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनायो । गुजरातका लागि ओपनर शुभमन गिलले ५८ बलमा १३ चौका र १ छक्काको सहयोगमा १ सय १ रनको शतकीय ईनिङ्स खेले । आइपीएलमा पहिलो शतक गिलले ५६ बलको सहयोगमा बनाएका थिए ।  सुरुआत राम्रो हुन नसकेको गुजरातले ईनिङ्सको तेस्रो बलमा नै ओपनर ऋद्धिमान शाहलाई गुमाएको थियो । तर, दोस्रो विकेटका लागि ओपनर गिल र साई सुदर्शनले १ सय ४७ रनको शतकीय साझेदारी गरेका थिए । सुर्दशनले ३६ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४७ रन बनाए । गुजरातका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । १ सय ४६ मा १ विकेट गुमाएको सहज स्थितिमा रहेको गुजरातले थप ४२ रन बनाउँदा ८ विकेट गुमायो । हैदराबादका लागि भुवनेश्वर कुमारले ४ ओभरमा ३० रन खर्चिएर ५ विकेट लिए । टी नटराजन,फैजल हक फरुकी र मार्को यानसनले समान १/१ विकेट लिए । जितसँगै तेह्र खेलमा नौ जित र चार हारका साथ दश टोली सहभागी लिगमा अठार अंक सहित गुजरात शीर्ष स्थानमा कायमै रहेको छ । हारसँगै प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बनेको हैदराबाद बाह्र खेलबाट चार जित र आठ हारका साथ नवौं स्थानमा रहेको छ ।

काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको मेलम्चीको खानेपानी आजदेखि बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा वितरण गरिँदै आएको मेलम्चीको खानेपानी आजदेखि बन्द भएको छ। आयोजना स्थलको मुहानमा आवश्यक मर्मत सम्भार गर्न दुई साताका लागि पानी वितरण बन्द गरिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए। सामान्य बाढी आएका बेला पनि आयोजना सञ्चालनमै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको हो। गेट नम्बर–९ मा रहेको हेडवर्क्समा नयाँ सिलिन्डर जडान गर्नु पर्ने छ। त्यसका लागि पानीको प्रवाह नै बन्द गर्नु परेको कुँवरको भनाइ छ। यस्तै गेट नम्बर–१ मा पनि जाली राख्नुपर्ने उनले जानकारी दिए। गत वर्ष फलामको पाता राखेर पानी बन्द गरिएको थियो। ठूलो बाढी आएको बेला सुरक्षित रूपमा आयोजनालाई बन्द गर्न मिल्ने र सामान्य बाढी आएको बेला आयोजनालाई सञ्चालनमै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मत सम्भार गर्न लागिएको हो। मर्मत सम्भारपछि पानी वितरण कार्य पुनः नियमित रूपमा सञ्चालन गरिने आयोजनाले जनाएको छ।

रोकिएन वर्षा, छाता ओढेर खेल कुर्दै दर्शक (फोटो फिचर)

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको जारी फाइनल खेल वर्षाको कारण रोकिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टिम नेपाल र पाहुना टिम यूएईबीचको फाइनल खेल वर्षाका कारण रोकिएको हो। तर, दर्शक भने वर्षा रोकिने र खेल हुने आशमा छाता ओढेर कुरेर बसेका छन् ।   नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको यूएईले २७.३ ओभरको समाप्तिमा ९ विकेटको गुमाएर १०६ रन जोडेपछि वर्षाका कारण रोकिएको खेल सुरु हुन नसकेको हो । नेपालका लागि ललित राजवंशीले तीन, करण केसी र सन्दीप लामिछानेले दुई दुई र सोमपाल कामी र गुल्सन झाले समान एक एक विकेट लिएका छन् ।   उपाधि भिडन्त हेर्न मैदान पुगेका करिब २५ हजारभन्दा बढी दर्शक खेल कुरेर बसेका छन् । तर, वर्षा भने भइरहेको छ ।

बैंक तथा लघुवित्त क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएका छौं : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् । आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधान सम्बन्धि बैठकमा प्रधानमन्त्रीले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताएका हुन् । बैठकमा प्रधानमन्त्रीले भने, “बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासो देखिएको छ। लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन्। व्यवसायीहरूले विभिन्न ढंगले चासो र चिन्ता राखेका छन्। यही मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोशिस गरिरहेका छन्। यी सबै परिघटनालाई मैले गम्भीर रूपमा लिएको छु।” “अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमै छ। म प्रधानमन्त्रीमा निर्वाचित भएपश्चात् मन्त्रिपरिषदको पहिलो बैठकमा नै अर्थतन्त्रका समस्या समाधानका निम्ति निजी र सार्वजनिक क्षेत्रको सहकार्यमा अगाडि बढ्ने निर्णय गरिएको थियो” प्रधानमन्त्रीले भने “आजको छलफल बैंक तथा वित्तीय क्षेत्र र लघुवित्तसमेतका समस्या समाधानमा केन्द्रित छ। सरकार अर्थतन्त्रका चुनौती समाधान गर्न तल्लीन छ। बैंक र लघुवित्तका क्षेत्रमा जनताका गुनासोप्रति म जानकार र सचेत छु। यसलाई के–कसरी समाधान गर्न सकिन्छ, तपाईहरूको सुझावको अपेक्षा गरेको छु। परिआए समस्या समाधानका निम्ति उच्चस्तरीय आयोग नै बनाउनुपर्ने पनि हुन सक्छ।” बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले वर्तमानमा अर्थतन्त्रको अवस्थाबारे संक्षिप्त विषय राख्दै अर्थतन्त्रका सुचकहरू सकारात्मक दिशातर्फ अग्रसर भइरहेको बताए । बैठकमा निजी क्षेत्रका प्रतिनिधिहरू र बैंकिङ क्षेत्रका प्रतिनिधिहरूले निजी क्षेत्रको अवस्थाको चर्चा गर्दै बैंक तथा लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका निम्ति सरकारलाई विभिन्न सुझावहरू प्रस्तुत गरेका थिए । बैठकमा नेपाल सरकारका मुख्यसचिव, अर्थमन्त्रालयका सचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू, विभिन्न व्यवसायिक संगठनका प्रतिनिधिहरू, बैंकर एसोसिएसन लगायत वित्तीय क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए ।

समानुपातिक सांसद चयन गर्न राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधि सभा र प्रदेश सभातर्फ समानुपातिक सांसद चयनका लागि कार्यसम्पादन समिति बैठक बोलाएको छ। पार्टीका प्रवक्ता मोहन श्रेष्ठले दिएको जानकारीअनुसार शनिबार कार्यसम्पादन समितिको बैठक बस्दैछ। शनिबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा कार्यसम्पादन समिति बैठक बस्ने र चुनावी समीक्षासमेत गरिने उनले जानकारी दिए। राप्रपाले प्रतिनिधि सभातर्फ समानुपातिकमा ७ र प्रदेश सभातर्फ समानुपातिकमा १७ सिट जितेको छ। समानुपातिक सांसद ककसलाई पठाउने भनेर छलफल गर्न लागिएको हो। यसअघि निर्वाचन आयोगमा पेश गरेको बन्दसूचीअनुसार नै समानुपातिक सांसद चयन गर्नुपर्ने हुन्छ। राप्रपाले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ।

चुनावमा सत्ता गठबन्धन मूलभुत रुपमा सफल भयो : माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले हाल विद्यमान सत्तारुढ गठबन्न भन्दा बाहिर गएर सरकार बनाउने कुरा नसोचेको निचोड निकालेको छ । सरकार गठनबारे उल्लेखनीय कुरा नै सुरु नभएको बताएको माओवादीले संघ र प्रादेशिक चुनावको समिक्षा पनि गठबन्धनले गर्नुपर्ने माओवादीको भनाई छ । आज माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पदाधिकारीको बैठक पछि महासचिव देव गुरुङले भने, ‘यसले मुख्य रुपमा निर्वाचनको समिक्षा गरेको छ । विस्तृत रुपमा पार्टी स्थायी वा केन्द्रीय समितिमा हुनेछ । गठबन्धनमार्फत सहभागि हुँदा कतिपय अवस्थामा अपेक्षित परिणाम नआएपनि मूलभुत रुपमा गठबन्धन ठिक भएको छ । स्वीकार गरेर अघि बढ्नु पर्छ भन्ने निश्कर्ष माओवादीले निकालेको छ ।’ गठबन्धनसहित चुनावमा जाँदा आफ्ना पनि केही सीमा र कमजोरी रहेको र सच्याएर जानुपर्ने कुरा आएको बताएका महासचिव गुरुङले भने, ‘हाम्रा आफ्ना सीमा र कमजोरी स्वीकार गरेर सच्याउँदै अघि बढ्नु पर्छ भन्ने भएको छ । सरकार गठनबारे उल्लेखनीय छलफल भएको छैन । यसबारे गठबन्धनका घटकहरुसँग मिलेर सोच्ने र गठबन्धनको बैठक भोलि नै बस्नुपर्छ भन्ने भएको छ । एमालेसँग गठबन्धन गर्नेबारे कुनै कुरा भएको छैन । अहिले यही गठबन्धनको विकल्प खोज्ने कुरा भएको छैन ।’

धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । धनुषामा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा पिपरा गाउँपालिकाका ११ वर्षीय बालक एस कुमार, धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका ३५ वर्षीय रुवीकुमारी साह, महोत्तरीको रामगोपालपुर–७ सहसौला बस्ने १७ वर्षीया मञ्जुकुमारी साह र निजकी बहिनी १३ वर्षीया सिर्जना साह तथा जीप चालक धनुषाको धनौजी–४ बस्ने २५ वर्षीय अबदुल मन्सुरी रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा महोत्तरीको लोहारपट्टि–४ बगरा बस्ने १४ वर्षीया प्रतिका साह, १८ वर्षीया कविताकुमारी साह, धनुषाको मुखियापट्टि मुसरनिया–४ बस्ने ३५ वर्षीय संजय साह, ३ वर्षीया बालिका अरूसा साह, ६ वर्षीय बालक अर्वण साह, १० वर्षीय आयुसकुमार साह, महोत्तरीको पिपरा–२ बस्ने २६ वर्षीय प्रियङ्का साह, ५ वर्षीया बालिका प्रतिका साह र ४ वर्षीय बालक अंशु साह रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाकाका अनुसार जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप बिहान ४ः३० बजे पूर्वपश्चिम राजमार्गको वीरेन्द्र बजारमा दुर्घटना भएको हो । जीपमा महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किंदै थिए ।

सत्ता गठबन्धनले आज काठमाडौंमा संयुक्त भेला गर्दै

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले प्रदेशस्तरिय अन्तिम भेला आज काठमाडौंमा गर्दै छन् । आसन्न निर्वाचनलाई लक्षित गरेर गत ४ कात्तिकबाट सुरू भएको सत्ता गठबन्धनको संयुक्त भेला ६ वटा प्रदेशमा सकिसकेको छ। गठबन्धनले सार्वजनिक गरेको तालिका अनुसार अन्तिम भेला आज काठमाडौंमा हुँदैछ। गठबन्धनले ‘संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन’ नाराका साथ सातै प्रदेशमा संयुक्त कार्यकर्ता भेला आयोजना गर्न लागेको बताएको छ। गठबन्धनले नेकपा एकीकृत समाजवादीको समन्वयमा पहिलो दिन गण्डकी प्रदेशको पोखरा र नेपाली कांग्रेसको समन्वयमा लुम्बिनी प्रदेशको बुटवलमा संयुक्त भेला गरेको थियो। कार्तिक ५ गते कांग्रेसको समन्वयमा प्रदेश १ को विराटनगर र मधेस प्रदेशको जनकपुरमा संयुक्त भेला भएको थियो। कार्तिक ६ गते नेकपा माओवादी केन्द्रको समन्वयमा सुदूरपश्चिमको धनगढी र कांग्रेसको समन्वयमा कर्णाली प्रदेशको सुर्खेतमा भेला आयोजना भएको थियो।

मंगल ग्रहमा भेटियो पानी भएको प्रमाण

काठमाडौं । मानव जीवनको अस्तित्व नै पानीमा निर्भर हुने भएकाले पनि पानीमा वैज्ञानिकको चासो धेरै भएको हो। यसैबीच वैज्ञानिकहरुले मंगल ग्रहमा पानी भएको हुन सक्ने अर्को प्रमाण फेला पारेका छन्। यसलाई मंगल ग्रहको यात्रामा एक महत्वपूर्ण उपलब्धि भएको बताइएको छ। यो अध्ययन युनिभर्सिटी अफ क्याम्ब्रिजको नेतृत्वमा गरिएको हो। यसमा राडारबाहेकका विवरणको प्रयोग गरिएको थियो। अध्ययनका अनुसार मंगलको दक्षिणी ध्रुवको आइस क्यापमुनि पानी हुन सक्ने देखिएको हो। पछिल्लो समय मानिसको ध्यान चन्द्रमा पछि मंगल ग्रहमा भएकाले पनि यो खोजलाई महत्वपूर्ण मानिएको छ। यो अध्ययनमा सहभागी युनिभर्सिट अफ शेफिल्डकी फ्रान्सिस बुचरले भनिन्, ‘यो अध्ययनले मंगल ग्रहमा जमिनमुनि रहेको पानीबारे अहिलेसम्मकै सबैभन्दा राम्रो संकेत दिएको छ। पृथ्वीमा पाइने सबग्लेसियल लेक हिउँले ढाकिएको क्षेत्र, जहाँ हिउँमुनि पानी हुन्छ० मंगल ग्रहमा पनि पाइएको छ। यस्तोमा उक्त हिउँले ढाकिएको भागमुनि पानी पनि हुन सक्ने वैज्ञानिकहरुले बताएका छन्। यद्यपि यसको अर्थ मंगल ग्रहमा मानव जीवनको अस्तित्व सम्भव छ भन्नेचाँहि होइन।