कति छ कर्णालीका मुख्यमन्त्री शाहीकाे सम्पत्ति, बैकमा करोड बढी माैज्दात, ८ ठाउँमा जग्गा (सूचिसहित)
सुर्खेत । कर्णालीका मुख्य मन्त्री जीवनबहादुर शाहीसँग कति सम्पत्ति छ त ? मुख्यमन्त्री बनेदेखि हिजाेसम्म यो सार्वजनिक भएको थिएन ।
त्यसो त मुख्यमन्त्री शाहीले गत पुष ८ गते नै सम्पत्ति विवरण बुझाएका हुन । तर मुख्यमन्त्री कार्यालयको वेभसाइटमा भने हिजो मात्रै उनको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।
मुख्यमन्त्री शाही नेपाली कांग्रेसको संसदीय दलका नेतासमेत हुन ।
बैंक मौज्दात
मुख्यमन्त्री शाहीको सम्पत्ति हेर्दा उनी धनी मुख्यमन्त्रीका रुपमा देखिन्छन् । उनले सिटिजन्स बैंकमा २५ लाख, सानिमा बैंकमा ३८ लाख र एनआइसी एसिया बैंकमा १४ लाख गरि ७७ लाख बैंक मौज्दात देखाएका छन् ।
यसैगरी उनकी पत्नी बसन्ती शाहीको नाममा सिटिजन्स बैंकमा १५ लाख, एनआइसी बैंकमा १६ लाख गरि ३१ लाख रुपैयाँ देखाइएको छ । आम्दानीको श्रोतकारुपमा भने उनले पारिश्रमिक, व्यवसाय र जग्गा विक्रीबाट यो पैसा कमाएको जनाएका छन् ।
मुख्यमन्त्रीकी पत्नी बसन्ती नेपाल सरकारको कर्मचारी थिइन्। उनी हाल कर्णाली प्रदेश लोक सेवा आयोगको सदस्य पनि छन्।
यतिमात्रै होइन, उनीहरुले १२ लाख रुपैयाँ अरुको नाममा पनि राखेका छन् । शुभचिन्तकसँग २०५० सालदेखि बचत भएको उनले जनाएका छन् । ती शुभचिन्तक को हुन भन्ने खुलाइएको छैन ।
अचल सम्पत्ति हेर्दा शाही दम्पत्तिसँग ५६ तोला सुन रहेको छ । त्यो पुख्यौली सम्पति रहेको र व्यापार तथा व्यवसाय गर्दाकै बेलादेखिको भएको उनलेउल्लेख गरेका छन् । यसैगरी २ किलोग्राम चाँदी, नवरत्न र औंठी गरी ३ लाख बराबरको सम्पति पनि उनीहरुको छ।
जग्गा जमिन
मुख्यमन्त्री दम्पतिका नाममा आठ ठाउँमा जग्गा छन्। हुम्ला, बाँके र काठमाडौंमा घरजग्गा छ। मुख्यमन्त्री शाहीको नाममा हुम्लाको सिमकोटमा ७२३।७५ वर्गमिटर जग्गा र घर रहेको उल्लेख छ।
काठमाडौं महानगरपालिका १६ मा ३३०।७५ वर्गमिटर जग्गा र त्यसमा घर रहेको सम्पत्ति विवरणमा पेश गरिएको छ। व्यापार तथा व्यवसायबाट प्राप्त आम्दानीबाट यी जग्गा र घर जोडेको उनले खुलाएका छन्।
साथै हुम्लाको खार्पुनाथमा २१५ रोपनी जग्गा पनि छ। बाँकेको खजुरामा २ विघा जग्गा मुख्यमन्त्री शाहीको नाममा छ। उनका नाममा नेपालगञ्जमा पनि जग्गा रहेको छ। तर त्यहाँ कति जग्गा छ भन्ने खुलाइएको छैन।
यीमध्ये केही पुख्यौली सम्पति र केही आफूले खरिद गरेको शाहीले बताएका छन्।
पत्नी बसन्तीका नाममा हुम्लाको सिमकोटमा ५४८।२५ वर्गमिटर जग्गा र घर छ। साथै काठमाडौंको चन्द्रागिरि नगरपालिका–६ मा २४ लाखमा खरिद गरिएको जग्गा पनि छ।
शेयर
मुख्यमन्त्री शाहीका नाममा बजार मूल्यमा आधारित १३ हजार कित्ता साधारण शेयर रहेको छ। जसमध्ये चिलिमे जलविद्युत् आयोजनाको २ हजार ६०० कित्ता, ज्योति विकास बैंकको १० हजार कित्ता र कृषि विकास बैंकको ४०० कित्ता रहेको छ।
ऋण
मुख्यमन्त्री शाहीको सम्पत्ति विवरणमा एक करोड ७२ लाख ऋण देखाइएको छ। जुन किस्तामा तिरिरहेको उल्लेख गरिएको छ।
व्यक्तिसँग ४० लाख र ज्योति विकास बैंकमा १ करोड ३२ लाख रुपैयाँ ऋण रहेको उल्लेख गरिएको छ।
सवारीसाधन
उनीसँग गाडी छ। जसको खरिद मूल्य ९५ लाख उल्लेख गरिएको छ। उक्त गाडी २०७१ सालमा खरिद गरिएको थियो।
बाढीपहिरोका कारण पानीजन्य रोगको सङ्क्रमण बढ्न सक्ने चेतावनी
हिमाली जिल्ला मनाङमा बाढीपहिरोका कारण पानीजन्य रोगको सङ्क्रमण बढ्नसक्ने चेतावनी दिइएको छ । अस्पतालमा आजभोलि पानीजन्य रोगको बिरामी आउने गरेको जिल्ला अस्पताल मनाङका डाक्टर प्रतिभा गौलीले बताए। डा. गौलीले भने, “बाढीपहिराले खाने पानीका पाइप र मुहान बगाएपछि जिल्लामा शुद्ध पिउने पानीको अभाव भएको छ । आकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता छ । बाढीपहिराबाट विस्थापित भएका नागरिक एउटै कारागार भवनमा ३०० जना बसेका छन् । त्यस कारणले कोभिड– १९ को मात्र नभएर पानीजन्य रोग फैलिने होकी भन्ने हाम्रो चिन्ता छ ।” अस्पतालमा आजभोलि पानीजन्य सम्बन्धित रोगका बिरामी धेरै आउने गर्दछन् । “अहिले नै पानीजन्य रोगको सङ्क्रमणले महामारीको रुप त लिएको छैन तर, यस्ता सरुवा रोगदेखि सचेत हुनुपर्दछ ।” यो वर्ष कोरोना महामारीको उच्च जोखिम त्यसमाथि बाढीपहिराले पानीजन्य रोगको सङ्क्रमण बढ्नसक्ने भन्दै डा गौलीले जिल्लावासीलाई सचेत रहन आग्रह गरे । उनी भन्छन्,“बाध्यतावस जिल्लामा बाढीपहिरोबाट विस्थापित नागरिक एकै ठाउँमा बसेका छन् । तर, बस्दा सरसफाइदेखि लिएर खानेपानीलाई उमालेर हुन्छ कि अन्य शुद्विकरणका उपाय अपनाएर मात्र पिउन जिल्लावासीलाई अनुरोध गर्दछु ।” वर्षात् शुरु भएसँगै ब्याक्टेरिया, भाइरस तथा जीवाणु बढी सक्रिय हुने गर्दछ । गर्मी एवं वर्षायाममा रोगको प्रकोप अन्य यामको तुलनामा बढ्ने गर्दछ । जसले गर्दा यो मौसममा झाडापखला, जण्डिस, भाइरल ज्वरो, डेङगु, औँलौ, सर्पदंशलगायतका बिरामीको सङ्ख्या बढ्ने गरेको चिकित्सकको भनाइ छ । जिल्लामा अबिरल वर्षापछि आएको बाढीपहिराले विद्युतीय क्षेत्रमा पु¥याएको क्षतिबाट अस्पताल प्रभावित भएको छ । अस्पतालमा प्रयोगशाला सञ्चालनमा कठिनाइ भएको पनि डा गौलीले बताए । अस्पतालमा भएको जेनेटर दुई दुईघण्टा मात्र खोलेर प्रयोगशाला सञ्चालन गर्नुपरेको डा गौलीले बताए । यस्तै जिल्लामा बाढीपहिरो पश्चात् आउनसक्ने विभिन्न खालका महामारीलाई मध्यनजर गर्दै जनस्वास्थ्य कार्यालय मनाङले काम अगाडि बढाएको छ । जिल्लामा बाढीपहिरो गएपछि क्लोरिन ट्याब्लेटको माध्यमबाट खानेपानीलाई शुद्धीकरण गरिएको जनस्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए। उनले भने,“अहिले यहाँका नागरिक आकाशे पानी खाएर बस्न बाध्य छन् । आकाशे पानी खाएर बस्दा स्वास्थ्यमा असर पर्ने भएकाले पानीमा क्लोरिन ट्याब्लेटको माध्यमबाट पानी शुद्धीकरण गरेका छौँ, यसका साथै पानीजन्य रोगबाट सङ्क्रमण बढ्न सक्ने भन्दै सूचनामूलक सन्देश दिँदै हिँडेका छौँ ।” मनाङका विभिन्न स्थानमा भौतिक संरचनामा ठूलो क्षति हुने गरी बाढीपहिरो गएको छ । जिल्लामा बाढी पछि आउन सक्ने पानीजन्य रोगको जोखिम भएकाले सबैले सावधानी अपनाउन जनस्वास्थ्य कार्यालय मनाङको आग्रह छ । यस परिस्थितमा उद्धार, राहतका कार्यमा जुट्दा कोरोना विरुद्धको स्वास्थ्यका मापदण्ड नअपनाउँदा, सफा पिउने पानी नपाउँदा, लामखुट्टेबाट बच्न नसक्दा, उपयुक्त गाँस र बाँसको प्रबन्ध राम्रो नहुँदा झनै स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउन सक्ने भएकोले विशेष सावधानी अपनाउनु आवश्यक रहेको जिल्ला जनस्वास्थ्य प्रमुख आचार्य बताउँछन् । रासस
संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा ओलीको नियुक्त नै गैरसंवैधानिक : एमिकस क्युरी वैद्य
काठमाडौं । संवैधानिक इजलासमा एमिकस क्युरीका रुपमा उपस्थित वरिष्ठ अधिवक्ता राघवलाल वैद्यले संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्त नै गैरसंवैधानिक भएको दाबी गरेका छन् । ३० वैशाखमा भएको नियुक्तिको व्यहोरा हेर्नुपर्ने भन्दै उनले भने, ‘प्रतिनिधि सभामा ठूलो दलको नेताको हैसियतले नियुक्त गरियो । उहाँ वैशाख ३० गतेमात्र संसदीय दलको नेता भएको हो र ? जतिबेला संसदमा विश्वासको मत आर्जन गर्नुभएन, त्यतिबेला नै एमाले संसदीय दलको नेता हुनुहुन्थ्यो ।’ संसदबाट विश्वासको मत नपाएपछि एमालेले संसदीय दलको नेता परिर्वतन नगरेको भन्दै उनले ३० वैशाखमा ओलीको प्रधानमन्त्रीमा नियुक्त नै असंवैधानिक भएको दाबी गरे । उनले भने, ‘२७ गते विश्वासको मत गुमाएको प्रधानमन्त्रीको निकास के हो ? संविधानको संरक्षण गर्नुपर्ने राष्ट्रपतिले खोज्नु पर्दैन ?’ विश्वासको मत नपाएपछि पदमुक्त भएका ओलीबारे राष्ट्रपतिले निकास दिनुपर्नेमा देशलाई गुमराहमा राखेको र दशेलाई गुमराहमा राख्ने काम गरेको उनको दाबी छ । ‘पदमुक्त भएका व्यक्तिलाई फेरि प्रधानमन्त्रीमा गरिएको नियुक्ति नै ठीक छैन’ उनले भने, ‘विश्वासको मत पाएनौं भने घर जाऊ भनेको हो । फेरि त्यही पदमा दावी गर, दलको नेताको रूपमा सत्तामा बस भनेको होइन ।’
एमाले केन्द्रीय कमिटी बैठक जारी, नेपाल पक्षलाई सर्वोच्चको निवेदनबाट २ दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन
काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक जारी रहेको छ । यसअघि महाधिवेशन आयोजक कमिटीको बैठककै निरन्तरताका रुपमा बोलाइएको बैठक माधव नेपाल पक्षले भने बहिस्कार गरेको छ । बैठकमा उपाध्यक्ष वामदेव गौतम भने सहभागी छन् । माधव नेपाल पक्षले आफ्ना माग पुरा नभएको र सहमतिको सम्भावना भइरहेको बेला बैठक बोलाएको भन्दै आज अनुपस्थिति जनाएको हो । आजको बैठकले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाका तर्फबाट प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन निवेदनबाट माधव नेपाल पक्षले हस्ताक्षर लिनुपर्ने निर्णय समेत गरेको सार्वजनिक भएको छ । बैठकअघि खनाल–नेपाल समूहका नेताहरु गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । हिजो हाम्रो समूहले जे निर्णय गरेको त्यसले एकतालाई प्राथमिकता दिने भनेको छ । एकताको लागि हामीले सकारात्मक ढंगले प्रयत्न गरिराखेको छौं लगभग निष्कर्षनजिक पुगेका छौं । यस्तो अवस्थामा आज एकपक्षिय बैठक राख्ने कुराले माहोल बिग्रन्छ । बैठक स्थगन गर्नुस् भनेर हामीले प्रधानमन्त्रीलाई भन्यौं,’ बालुवाटार पुगेका एक नेताले भने, ‘कार्यदलको औपचारिक वार्ता गरेर एकाध दिनमा निर्णयमा पुग्ने र माधव नेपालसहित सहमति गरेर पार्टी एकढिक्का बनाउँ भन्ने प्रस्ताव पनि राख्यौं । उहाँले हाम्रा कुरा सुन्नु भयो र साथीहरुसँग सल्लाह गर्छु भन्नु भएको छ ।’ उक्त भेटमा महासचिव ईश्वर पोखरेल र सुवास नेम्वाङ पनि सहभागी रहेको ती नेताले बताए । तर, नेपाल पक्षले स्थगित गर्न आग्रह गरे पनि बैठक जारी छ ।
पहिरोमा परी तनहुँमा दुई जनाको मृत्यु
तनहुँ । पहिरोमा परी तनहुँमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बन्दीपुर–३ तामुङकी ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सिनाले बताए । त्यस्तै गरी शुक्लागण्डकी नगरपालिका–९ स्थित सिम्लेमा पहिरो खस्दा दुईवटा घरमा क्षति भएको छ । स्थानीय खगिसरा भुजेलको दुई वटा घर पुरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । त्यस्तै छाक्दी खोलामा आएको बाढीले व्यास नगरपालिका १ र १३ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि बुद्धसिंह मार्ग अवरुद्ध भएको छ । Photo: Symbolic Only
सगरमाथा इन्स्योरेन्स (SIC)को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
सगरमाथा इन्स्योरेन्स (SIC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज (असार १६ गते) अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा प्रयोजनार्थ भोलि अर्थात असार १७ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको सभामा सहभागिता जनाउनुका साथै इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। इन्स्योरेन्सले असार ३० गते, आफ्नो केन्द्रिय कार्यालय, नक्सालमा बिहान ११ बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट २४ औँ वार्षिक साधारण सभा डाकेको छ। सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सो बोनस शेयर वितरण प्रयोजनार्थ ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
धुलिखेलबाट फकाउँदै भक्तपुर ल्याएर किशोरी बलात्कार गर्ने युवक पक्राउ
किशोरी बलात्कार गरेको अभियोगमा प्रहरीले धुलिखेल नगरपालिका–८ बस्ने २३ वर्षीय जयराम चौलागाईंलाई पक्राउ गरेर आज सार्वजनिक गरेको छ । गुम्न जाउँ भनेर फकाउँदै काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ की १५ वर्षीया किशोरीलाई चौलागाईंले भक्तपुर नगरपालिका–४ स्थित भक्तपुर गेष्टहाउसमा ल्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ । यही असार ५ गते बालिकालाई घुम्न जाने भन्दै फकाएर भक्तपुर ल्याएको र भक्तपुरमा आएपछि खाजा नास्ता खाउँ भनी भक्तपुर गेष्टहाउसमा लगेर डर धाकधम्की दिई जबरजस्ती बलात्कार गरेको किशोरीले बयान दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए । प्रहरीले चौलागाईंलाई काठमाडौँ सुन्धारामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । यही असार ५ गते बिहान १० बजे किशोरी हराएपछि उनकी आमाले जिल्ला प्रहरी कार्यालय धुलिखेलमा दिएकी थिइन् । निवेदनको आधारमा खोजतलास गर्ने क्रममा महानगरीय प्रहरी वृत्त जनसेवा काठमाडौँको प्रहरी टोलीले आइतबार किशोरीलाई सुन्धारामा फेला पारेर भक्तपुर प्रहरीलाई बुझाएको थियो ।
आज पनि ओरालो लाग्यो सुनका मूल्य, नयाँ मूल्य कति ?
सुनको मूल्य आजपनि घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको हो । गत बुधबारदेखि ५ दिनमा सुनकाे मूल्य अधिकतम तीन हजार एक सय रुपैयाँले घटेकाे छ । महासंघका अनुसार गत बुधबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजारमा झरेको छ । यस्तै, सुनको मूल्य निरन्तर घटिरहेका बेला यता चाँदीको मूल्य समेत घटिरहेको छ । महासंघका अनुसार गत बुधबार प्रतितोला अधिकतम एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार एक हजार २९० रुपैयाँमा झरेको छ ।
थुनियो तामाकोशी, तल्लो तटीय क्षेत्रमा सुरक्षित रहन प्रशासनको आग्रह
वर्षाका कारण तिब्बतमा पहिरो गएपछि त्यसको असर तामाकोशी नदीमा परेको छ । तामाकोशी नदी थुनिन पुग्दा यसले ठूलो क्षति पुर्याउन सक्ने भन्दै प्रशासनले उच्च सतर्कताका लागि अपील गरेको हो । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति पौने १० बजे सूचना जारी गर्दै जतिसुकैबेला तामाकोसी नदी विस्फोट हुनसक्ने चेतावनी दिएको छ । उसले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजगता अपनाइ सुरक्षित स्थानमा रहन समेत आग्रह गरेको छ । प्रशासनले नेपाल–चीन क्षेत्रमा रहेको टिङ्ग्री काउन्टीको रोङ्गछिया शहर र सो आसपासमा भारी वर्षा भएर पहिरो आउँदा नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको जनाएको छ । तामाकोसीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुनसक्ने देखिएकाले सम्पूर्ण स्थानीयलाई सजक रहन र खतराको संकेत प्राप्त हुनासाथ सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।
दम्पती हत्या आरोपित सात वर्षपछि पक्राउ
काठमाडौं : सप्तरीमा व्यापारी दम्पतीको हत्याका फरार आरोपित सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ भारदहका ३९ वर्षीय बब्लु मण्डल सात वर्षपछि आज पक्राउ परेका छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका हनुमाननगर बजारकी ५२ वर्षीया सरोजदेवी वेगवानी र उनका श्रीमान ५५ वर्षीय प्रेमसुख बेगवानीको हत्या आरोपमा फरार आरोपित मण्डल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । पसलसँगै रहेको घरमा सुतिरहेका व्यापारी दम्पतीको मण्डलसहितका आरोपितहरूले २०७१ जेठ २१ गते राति हत्या गरेको बताइएको छ । यसअघि पक्राउ परेकाहरू सुनसरी हरिपुर गाविस-७ भण्टाबारीका २६ वर्षीय मो कैजुम मियाँलाई सप्तरी जिल्ला अदालतले २०७३ भदौ २६ गते सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । जिल्ला न्यायाधीश कुलप्रसाद शर्माको इजलाशले मियाँलाई हत्या आरोपमा सर्वस्वसहित जन्मकैद र डाँका मुद्दामा थप छ वर्ष गरी २६ वर्ष कैद फैसला भएको जिल्ला अदालतले जनाएको छ । श्रेस्तेदार कुमार मास्केका अनुसार सुनसरी जिल्लाको श्रीपुर गाविस-८ का ४० वर्षीय मो हैदर अली मियाँलाई हत्या आरोपमा जन्मकैद र डाँका मुद्दामा थप छ वर्ष गरी २६ वर्ष कैद भएको छ । सुनसरी जिल्लाको श्रीपुर जब्दीस्थित कोशी कटान क्षेत्रबाट २०७१ जेठ २९ गते एक थान नल कटुवा पेस्तोल, दुई राउण्ड गोली र गरगहनासहित पक्राउ परेका कैजुम र हैदरलाई जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको आदेशले २०७१ असार २९ गतेदेखि पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको थियो । यसैगरी सुनसरी हरीपुर गाविस-७ का २७ वर्षीय इनर भनिने इन्द्रदेव कामत र श्रीपुर गाविस-३ कुमयाहीका २६ वर्षीय सागिर मन्सुर मियाँलाई ११/११ वर्ष कैद फैसला भएको छ । सुनसरी नरसिंह गाविस-९ चिरौनीबाट २०७१ असोज ४ गते पक्राउ परेका कामत र सागिरलाई सप्तरी जिल्ला अदालतले २०७१ असोज ६ गते पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको थियो । आज पक्राउ परेका मण्डल र सुनसरी हरिपुर गाविस-७ भण्टाबारीका २३ वर्षीय सलिम भनिने अलाउद्दिन मियाँ फरार रहेकाले उनीहरूको हकमा मुद्दा मुल्तवी राखिएको छ । सलिम अझै पक्राउ परेका छैनन् । आरोपितहरूले २०७१ जेठ २१ गते राती हनुमाननगर बजारस्थित पसलसँगै रहेको घरमा वेगवानी दम्पतीको हत्या गरेका थिए । लाशको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २०७१ जेठ २३ गते पोष्टमार्टम भएको थियो । जिल्ला प्रहरी कार्यालयले आरोपितविरुद्ध कर्तव्य ज्यान, डाँका र हातहतियार खरखजाना ऐनअन्तर्गत ०७१ जेठ २३ गते मुद्दा दर्ता गरेको थियो । आरोपितहरूबाट गरगहना किन्ने सुनसरी ईनरुवा नपा-१ घर भई लौकही गाविस-६ मा सुनचाँदीको पसल गर्ने ३४ वर्षीय सुबोध स्वर्णकारलाई हत्या र चोरीबाट सफाई मिले पनि उनले किनेको चोरीको धनमाल पीडित पक्षलाई फिर्ता दिने फैसला भएको छ । रुपनी गाउँपालिका-१ बाट २०७१ असार ४ गते पक्राउ स्वर्णकार अदालतको आदेशमा २०७१ असार २९ गते नगद रु १० लाख धरौटी बुझाई रिहा भएका थिए । रासस
युरो कप : स्वीट्जरल्याण्डलाई वेल्सले बराबरीमा रोक्यो
काठमाडौं : युरो कप फुटबलमा वेल्स र स्वीट्जरल्याण्डले एक एक अंकमा चित्त बुझाएका छन् । बाबु स्टेडियममा शनिबार भएको खेलमा समूह ए मा रहेका स्वीट्जरल्याण्डले सुरुवाती अग्रता जोगाउन नसक्दा एक अंकमा चित्त बुझाउन बाध्य भयो । पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा सबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । ४९ औं मिनेटमा ब्रिल डोनाल्डो एम्बेलेले गोल गरेका थिए । उनले जर्दान सकरीको कर्नर प्रहारलाई गोलमा परिणत गरेका थिए । एम्बेलो अन्तर्राष्ट्रिय प्रतियोगितामा पहिलो गोल गरेका हुन् । ७४ औं मिनेटमा वेल्सले बराबरी गोल गरेको थियो । उसका लागि किफर मोरले गोल गर्दै वेल्सलाई खेलमा फर्काएका थिए । तर, ८७ औं मिनेटमा मारियो गार्भानिकले गोल गर्दै स्वीट्जरल्याण्डलाई २-१ ले अघि बढाउन खोजेका थिए । भर्खरै मैदान प्रवेश गर्दै गोल गरेका गार्भानिको गोललाई रेफ्रीले भारको सहायताले अफसाइड करार गरेका थिए ।
महामारीले अर्थतन्त्रका सबै क्षेत्रमा समस्या बढ्यो, साझा सहकार्य जरुरी
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड-१९ को महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको उल्लेख गर्दै साझा प्रयासबाट मात्रै समस्याको समाधान हुने स्पष्ट पारेको छ । महासङ्घका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र सङ्घईले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९ औँ बैठकलाई नेपालको रोजगारदाताका तर्फबाट आज सम्बोधन गर्दै कोरोनाका कारण आर्थिक सामाजिक नोक्सानीको क्षतिपूर्ति हुन केही वर्ष लाग्ने हुँदा सबै मुलुकबीचको आपसी सहयोग र सहकार्यका लागि अनुरोध गर्नुभयो । नेपालमा कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले देशव्यापी रूपमा बन्दाबन्दी र निषेधाज्ञा जारी गर्दा आर्थिक गतिविधि ठप्प हुन गई ठूलो नोक्सानी बेहोर्नुपरेको, यसबाट पर्यटन क्षेत्र, लघु, घरेलु र साना उद्योग व्यवसाय अत्यन्त प्रभावित भएको उहाँको भनाइ छ । कोरोनाका कारण मुलुकको आर्थिक वृद्धि ऋणात्मक भएको, कुल गार्हस्थ्य उत्पादन घट्न गएको, लाखौँको रोजगारी गुमेको र गरिबीको मात्रा बढेको भन्दै उहाँले महामारीका कारण अहिले मुलुक कठिन अवस्थाबाट गुज्रिरहेको र कोरोनाको नयाँ भेरियन्ट तीव्ररूपमा फैलिरहेको हुँदा यसमा नियन्त्रण गर्न सरकारले प्रयास गरिरहेको र निजी क्षेत्रले पनि सामाजिक जिम्मेवारी महसुस गरी सरकारसँग सहकार्य गर्दै आएको जानकारी दिनुभयो । सभापति सङ्घईले अहिले नेपालको रोजगारदाता संस्थाले नीतिगत सुधार एवं केन्द्र, प्रदेश र स्थानीय सबै तहमा सामाजिक संवादको संयन्त्रको सबलीकरण गर्ने काम गरिरहेको उल्लेख गर्नुभयो । कूल १७६ भन्दा बढी मुलुकका प्रतिनिधिहरूको सहभागिता रहेको आइएलओ बैठक जुन ३ देखि १८ सम्म सञ्चालन हुनेछ । यस्तै श्रम सम्मेलनमा कोभिड-१९ महामारीको सङ्कटबाट मुक्त हुन अपनाउनु पर्ने उपाय र रणनीति, दिगो आर्थिक पुनरउत्थान, सामाजिक सुरक्षा, बालश्रम र अन्तर्राष्ट्रिय श्रम सङ्गठन शताब्दी घोषणाको कार्यान्वयनलगायतका विषयमा छलफल हुने कार्यक्रम छ ।
माधव नेपाल पक्षका नेतालाई एमालेबाट निष्कासन गर्ने तयारी
काठमाडौं । नेकपा एमालेले पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वउपाध्यक्ष भीमबहादुर रावलसहितका नेताहरुलाई निष्कासन गर्ने तयारी गरेको छ स्रोतका अनुसार शनिबार अपरान्ह ४ बजे बस्ने एमाले स्थायी कमिटी बैठकले पूर्वप्रधानमन्त्री नेपाल र पूर्व उपाध्यक्ष रावललगायतका नेतालाई निष्कासन गर्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत माग्दा अनुपस्थित हुने अर्का नेता योगेश भट्टराईलाई भने कारवाहीको सूचीबाट हटाइएको छ । नेपाल नेतृत्वको ‘समानान्तर समूह’का नेताहरु पूर्व उपमहासचिव घनश्याम भुसाल, पूर्वसचिव गोकर्ण विष्ट, नेता सुरेन्द्र पाण्डेलाई भने तत्काल निस्कासनको निर्णय गर्ने कि नगर्ने भन्ने टुंगोमा पुगिसकेका छैनन् । त्यस्तै, राष्ट्रियसभा सदस्यको वागमती प्रदेशमा भएको उपचुनावमा पार्टीका उम्मेद्वार रामबहादुर थापालाई हराउन भूमिका खेल्ने एमाले पूर्व उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डेलाई पनि एमाले स्थायी कमिटीको शनिवार बस्ने बैठकले कारवाहीको प्रक्रिया थाल्ने छ । उनीहरुलाई वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा शनिबारै बसेको बसेको संसदीय बोर्डले शाक्यसहित १४ जनालाई २४ घन्टे स्पष्टीकरण सोधिसकेको छ ।
नेपालमा आज ८१६७ मा कोरोना, १८७ संक्रमितको मृत्यु
काठमाडौं । देशरभर आज ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज कोरोनाबाट थप १८७ जनाको मृत्यु भएको छ । काठमाडौं उपत्यकामा आज २ हजार ९३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विभिन्न प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी २ हजार ९३७ संक्रमित थपिएका हुन् । आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार १४६ छन् । यस्तै, ललितपुरमा ४४४ र भक्तपुर जिल्लामा ३४७ जना संक्रमित थपिएका मन्त्रालयले जनाएको छ । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ६१ हजार १३७ पुगेको छ । जसमध्ये ३० हजार १२४ सक्रिय संक्रमित रहेका छन् भने १ लाख २९ हजार ९१२ संक्रमित निको भइसकेका छन् ।
ओली पक्षले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक नेपाल पक्षले बहिस्कार गर्ने
काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षले महाधिवेशन आयोजक कमिटीको बैठक बहिस्कार गर्ने भएको छ । ओली पक्षले आज आव्हान गरेको महाधिवेशन आयोजक कमिटिको बैठक अवैधानिक भएको भन्दै एमाले पक्षले बिरोध गर्ने बताएको हो । यसअघि रहेको केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितको नाम दिइएको छ । ओली पक्षले २६१ जना महाधिवशेन आयोजक समिति सदस्यलाई बैठकका लागि बोलाएको छ । ओली पक्षले भने पछिल्लो राजनीतिक परिस्थिति, उप निर्वाचन लगायका विषयमा छलफल गर्ने बताएको छ । माधव पक्षले भने ओलीले गठन गरेको महाधिवेशन आयोजक समिति अवैधानिक भएको र सर्वोच्चको फैसलापछि ओली पक्षबाट भएगरेका निर्णय विधानविपरित भएको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ । आइतबार मात्रै एमाले अनुशासन समितिका अध्यक्ष अमृतकुमार बोहोराले एकपक्षीयरुपमा गरिएका निर्णय खारेज गर्दै पार्टीलाई एकताबद्ध बनाउन अपील गरेका थिए ।
आईपीएल : पञ्जाबविरुद्ध दिल्लीको शानदार जित
काठमाडौं : भारतमा जारी १४औँ सिजनको आईपीएलको ११औँ म्याचअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स ६ विकेटले विजयी भएको छ । मुम्बईको वाङ्खडे स्टेडियममा भएको खेलमा पञ्जाबले दिएको १ सय ९६ रनको लक्ष्य दिल्लीले १८.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । उसका लागि शिखर धवनले उत्कृष्ट पारी खेले । उनले ४९ बलमा दुई छक्का र १३ चौकासहित ९२ रनको योगदान दिए । त्यस्तै, पृथ्वी शाले ३२, मार्कस स्टोइनिसले अविजित २३, कप्तान ऋषभ पन्तले ११, ललित यादवले नटआउट १२ र स्टिभ स्मिथले ९ रन बनाए । बलिङमा झय रिचडर्सनले दुई, रिली मेरिडीथ र अर्शदीप सिंहले एक/एक विकेट लिए । त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको पञ्जाबले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ९५ रन बनायो । एसका लागि मयंक अग्रवाल र केएल राहुलले अर्धशतकीय पारी खेले । मयंकले ३६ बलमा सात चौका र चार छक्कासहित ६९ र राहुलले ५१ बलमा सात चौका र दुई छक्काको मद्दतमा ६१ रन बनाए । त्यस्तै, दीपक हूडाले अविजित २२, साहरुख खानले नटआउट १५, निकोलश पूरनले ९ र क्रिस गेलले ११ रनको योगदान दिए । बलिङमा आवेश खान, लुकमान मेरिवाला, क्रिस वक्स र कागिसो रबाडाले एक/एक विकेट लिए । आजको जितसँगै दिल्ली तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले तीन म्याचमध्ये एक खेलमा मात्र हारको सामना गरेको छ ।