६० रुपैयाँमा १ किलो प्याज

काठमाण्डौंः खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो ६० रुपैयाँमा प्याजको बिक्रीवितरण सुरु गरेको छ ।

लिमिटेडको थापाथली बिक्रीकक्षबाट प्रतिकिलो ६० रुपैयाँमा सर्वसाधारणलाई प्याज बिक्री गरेको हो । सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई बिक्री गर्न लागेको प्याजलाई जफत गरी बजार मूल्यमा बिक्री गर्न थालेको हो ।

काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथली बिक्रीकक्षबाट सर्वसाधारणलाई ६० रुपैयाँमा प्याज उपलब्ध गराउँदै आएको जानकारी दिए । उनका अनुसार बजार अनुगमनका क्रममा १४ हजार ६ सय किलो प्याज सरकारले बरामद गरेको छ । एक जनालाई ३ किलोसम्म दिन थालेको पनि उनले बताए ।

उनका अनुसार ५२ रुपैयाँ राजस्व र ८ रुपैयाँ खाद्य कम्पनीको खातामा जम्मा गरिनेछ । काठमाण्डौं उपत्यकामा प्याजको मूल्य १ सय २० सम्म पुगेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमन समेत गरेका थिए ।

कोरोना अपडेट जानकारी दिँदै स्वास्थ्य मन्‍त्रालय (LIVE)

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को अपडेट दैनिक गराउँदै आएको छ। नियमित पत्रकार सम्मेलनमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना अपडेटको विषयमा औपचारिक जानकारी दिँदै आएका छन्। नेपालमा अहिलेसम्म ९९ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये २२ निको भएका छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइराखेको छ। सरकारले सबै जिल्लामा आरडीटी विधिबाट परीक्षण सुरु गरेको छ भने सबै प्रदेशका विभिन्न ठाउँमा गरेर १८ अस्पतालबाट पीसीआर विधिबाट स्वाब परीक्षण भइरहेको छ।  

फ्रान्समा २४ जुलाईसम्म लम्बियो स्वास्थ्य संकटकाल

पेरिसः फ्रान्समा कोरोना भाइरसको कारण घोषणा गरिएको ११ मेसम्मको स्वास्थ्य संकटकाल २४ जुलाईसम्मका लागि लम्ब्याइएको छ । स्वास्थ्यमन्त्री ओलिभिय भेरँले शनिबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर संकटकाल लम्ब्याउने घोषणा गरेका हुन् । यसअघि मार्च २४ मा लागू भएपछिको संकटकाल लगाउनुपर्ने स्थिति अझै विस्तार भएको, अहिले नै संकटकाल खोल्नु समयअघि नै जोखिमको स्थिति देखा परेको, कोरोना भाइरसको महामारी रोक्न चालिएका कदमहरुकोबीचमा थप समस्याहरु देखिनाले संकटकाल लगाउनुपर्ने तर्क उनले दिएका हुन् । जुलाई २४ अघि नै संकटकाल खुकुलो पार्ने सरकारी प्रस्तावमाथि केही प्रावधानहरुलाई पुन परिवर्तित गरिने छ । यसअघि मे ११ बाट डेकेयर र शिशु कक्षाहरु सञ्‍चालन गर्ने सरकारले घोषणा गरेपछि अभिभावकहरुले यस्तो अवस्थामा आफ्ना बालबालिकाहरुलाई स्कुल पठाउन नसकिने भन्दै विरोध भएको थियो । फ्रान्समा हालसम्म १ लाख ६७ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये साढे २४ हजार व्यक्तिले ज्यान गुमाएका छन् । फ्रान्समा ५० हजार बढी स.क्रमित उपचारपछि निको भएका छन् ।

‘लकडाउनको मौकामा बाबुछोराद्वारा चोरी, गहना पानी ट्याङकीभित्र लुकाए’

कैलालीः लकडाउनको मौका छोपेर बाबुछोराले धनगढीमा सुनचाँदी पसल चोरी गरेको प्रहरीले जनाएको छ । कारागार रोडका ४५ बर्षीय पप्पु गुप्ता र उनका छोरा २० बर्षीय पवन गुप्ताले बुधबार राति जिल्ला प्रशासन अगाडि रहेको प्रिया सुन चाँदी पसलमा चोरी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्नेतले सुन पसलबाट चोरेको गहना घरको छतमा रहेको पानी ट्याङकीभित्र लुकाएर राखेको अवस्थामा बरामद गरिएको बताए । प्रिया सुनचाँदी पसलका सञ्चालक बिनोद कुमार बर्माले झण्डै १२ लखाको चोरी भएको बताए ।

विश्वकप संरचना निर्माणमा खटिएका नेपाली कामदार कोरोनाको उच्च जोखिममा

काठमाडौंः कतारले दुई वर्षपछि आयोजनाको तयारी गरिरहेको फिफा विश्वकप फुटबलका लागि आवश्यक भौतिक संरचना निर्माणमा खटिएका नेपाली कामदार कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन् । जर्मनीको एक टेलिभिजन च्यानलले तयार पारेको रिपोर्टमा नेपालीसहित बंगलादेश र अफ्रिकाका विभिन्न देशबाट आएका कामदारलाई निकै जोखिमपूर्ण अवस्थामा राखिएको दाबी गरिएको छ । विश्वकप संरचना निर्माणमा कति नेपाली कामदार संलग्न छन् भन्ने यकिन तथ्यांक भने दिइएको छैन । जर्मनीको एआरडी च्यानलले तयार पारेको रिपोर्टमा विश्वकप संरचना निर्माणका लागि खटिएका कामदारलाई राजधानी दोहाभन्दा बाहिर रहेको क्वारेन्टाइन सेन्टरमा राखिएको छ । कोरोना भाइरस संक्रमित कमदारलाई समेत सोही क्वारेन्टाइनमा राखिएको छ । रिपोर्टमा भनिएको छ, ‘भाइरस रोक्ने प्रयासस्वरूप त्यहाँ निकै कडाइ गरिएको छ । त्यसमध्ये क्वारेन्टाइनमा राखिएका कामदारका लागि खानेकुराको समेत अभाव छ ।’ मोबाइलबाट लिइएको फुटेजमा वरिपरि र निकै टाढासम्म पसल र सुपरमार्केट बन्द देखिएका छन् । सरकारी अधिकारीले उपलब्ध गराएका राहत सामग्री लिन कामदारहरू दौडादौड गरिरहेको फुटेजमा देखिन्छ । सो रिपोर्ट तयार पार्न नेपाली कामदारसँग पनि कुरा गरिएको दाबी च्यानलले गरेको छ । रिपोर्ट प्रसारण भएपछि कतारले भने कामदारहरूलाई सुरक्षित राख्न सबै प्रयास गरिएको दाबी गरेको छ । ‘खानेकुरा र आवश्यक सामानले भरिएका एक सय ट्रक प्रत्येक दिन विश्वकपको आवश्यक संरचना निर्माणका लागि खटिएका कामदार राखिएको क्षेत्रमा पुग्ने गरेको छ,’ कतारले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘हामीले कामदारलाई खानेकुरा, पानी, मास्क, पन्जा र ह्यान्ड स्यानिटाइजर दिँदै आएका छौँ ।’ रिपोर्ट प्रसारण भएपछि कतारले विज्ञप्ति नै जारी गरी सबै कामदारका लागि निःशुल्क स्वास्थ्य चेकजाँचको व्यवस्था गरिएको जनाएको छ । यस्तै, कोरोना भाइरस संक्रमित कुनै पनि कामदारको निःशुल्क उपचार र बिरामी भएको अवधिका लागि समेत पूरै तलब दिने व्यवस्था गरिएको कतारको भनाइ छ । यस्तै, सबै कामदारलाई आवश्यकताअनुसार पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट दिइएको र उनीहरू बस्ने स्थानलाई समेत सबै किसिमले सुरक्षित राख्ने प्रयास गरिएको कतारले जनाएको छ । कोरोना भाइरसबाट कतारमा झन्डै १८ सयको हारामारीमा संक्रमित भेटिएको जनाइएको छ । जसमध्ये अहिलेसम्म चारजनाको मृत्यु भइसकेको छ भने एक सय ३० जना निको भएर घर फर्किएका छन् । विश्वभर महामारीका रूपमा कोरोना भाइरस फैलिइरहँदा कतारले भने सन् २०२२ मा आयोजना हुने विश्वकप फुटबलका लागि आवश्यक भौतिक संरचना निर्माणको कार्य जारी राखेको छ । सो कार्यमा नेपालबाट पनि कामदार गएका छन् । कतारमा वैदेशिक रोजगारीका लागि जानेमध्ये एसियाबाट नेपाल र बंगलादेशकै धेरै छन् । टेलिभिजन रिेपोर्टमा कामदारहरूले आफूहरूलाई सार्वजनिक रूपमा नबोल्न भनिएको उल्लेख गरेका छन् । उनीहरूमध्ये केहीले बिरामी भएका कारण लामो समयदेखि काममा जान नसकेको र त्यो अवधिको तलब नपाउने चिन्ता व्यक्त गरेको रिपोर्टमा दाबी गरिएको छ । गत साता मात्रै मानवअधिकारसम्बन्धी आधा दर्जन अन्तर्राष्ट्रिय संघसंस्थाले कतारका प्रधानमन्त्री खालिद बिन खालिफा अल थानीलाई कामदारलाई कोरोना भाइरस महामारीबाट बचाउन आवश्यक कदम चाल्न अनुरोध गरेका थिए । एम्नेस्टी इन्टरनेसनल, फेयर-स्क्वायर, ह्युमन राइट्स वाच र माइग्रान्ट–राइट्स अर्गनाइजेसनले प्रधानमन्त्री थानीलाई भेटी कतारमा रहेका विदेशी कामदारलाई यो महामारीबाट बचाउन अनुरोध गरेका थिए । ती संघसंस्थाको अनुरोधको जवाफमा समेत कतारले कामदारका लागि मात्रै भनेर छुट्टै स्वास्थ्य केन्द्र निर्माण गरिएको जनाएको छ । त्यसमा तीन छुट्टाछुट्टै चेक प्वाइन्ट राखिएको पनि जनाएको छ । ‘जोसँग कामका लागि आवश्यक प्रवेशाज्ञा छैन, तिनीहरूका लागि पनि हामीले निःशुल्क उपचार गरिरहेका छौँ । उनीहरूको भिसा सकिए पनि घर नफर्काउने वा कुनै आर्थिक जरिवानासमेत नलगाउने व्यवस्था गरेका छौँ,’ कतारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘क्वारेन्टाइनमा रहेका वा उपचार गराइरहेका सबैले समयमै तलब पाउनेछन् ।’ कतारले सोसियल डिस्ट्यान्ससमेत कायम हुने गरी कामदारको आवासमा एउटा कोठामा चारजनासम्म मात्रै बस्न मिल्ने गरी संख्या कायम गरिएको जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

सात युवकको ५ दिनेदेखि रुखमै ‘क्वारेन्टाइन’

कोरोना संक्रमणको रोकथामका लागि ७ जना युवकलाई विगत पाँच दिनदेखि रुखमा ‘क्वारेन्टाइन’ मा राखिएको छ । भारतकाे पश्चिम बंगालको पुरुलिया जिल्लामा उनीहरुलाई रुखमा ‘क्वारेन्टाइन’ राखिएको हो । उनीहरुलाई रुखमा नै बास बस्ने व्यवस्था गरिएको छ । साथै प्लाष्टिकले माथिबाट ढाकिएको र लामखुट्टेबाट जोगिन झूलको समेत व्यवस्था गरिएको इण्डियन एक्सप्रेसले जनाएको छ । गाउँलेहरुले उनीहरुलाई मास्क समेत दिएका छन् । उनीहरुलाई केही समयका लागि मात्रै कपडा फेर्न र दिनमा तीन पटक खाना खान मात्रै तल ओर्लिन दिइएको छ । यी सात जना युवक भारतमा कोरोनाको संक्रमणले तीब्ररुप लिएको बेला चेन्नईबाट फर्केका हुन् । घर फर्केपछि चिकित्सकले उनीहरुलाई ‘क्वारेन्टाइन’ मा बस्न भनेपछि गाउँलेहरुले रुखमा नै बासको व्यवस्था गरेका हुन् । ‘हाम्रो अधिकांश समय रुखमा नै बित्छ, हामी दिशा गर्न, कपडा धुन र खाना खान मात्रै तल ओर्लिन्छौं ।’ उनीमध्येका एक विजयले भने, ‘हामी पूर्णरुपमा एक्लो बसेका छौं ताकि गाउँवासीलाई कुनै खतरा नहोस् ।’ उनीहरु सबै चेन्नईको एउटा अटो पार्टमा काम गर्ने गरेका थिए । त्यसपछि गत आइतबार उनीहरु खडकपुरसम्म रेलमा आएपछि पुरुलियासम्म बस र अनि गाउँमा अर्को गाडीमा फर्केका थिए । उनीहरु सबै २० देखि २४ वर्ष उमेरका हुन् । कोरोनाबारे थाहा पाएका उनीहरु सोझै घर जानु अघि प्रहरी चौकी गएर आफूहरु फर्केको जानकारी गराएका थिए । ‘शुरुमा हामी बलरामपुर पुलिस स्टेशन गयौं, उनीहरुले हाम्रो कुरा सुनेपछि हामीलाई स्थानीय अस्पताल लगेर गए । डाक्टरले हाम्रो नाम र नम्बर लेखे । त्यसपछि हामीलाई १४ दिनसम्म एक्लिएर बस्न भने ।’ बिमलले भने । ‘हामी गाउँ पुग्दा गाउँलेहरुले हामीलाई रोके, उनीहरुले खतराको कुनै रिस्क लिनु ठिक नभएकोले आँपको रुखमा हाम्रा लागि बास बनाइएको बताए ।’ उनीहरुलाई लुगा धुन समेत अलग्गै स्थान बनाइएको छ । गाउँमा स-साना घर हुने भएकाले त्यहाँ पूर्ण ‘आइसोलेसन’ सम्भव नभएको बताए । त्यसैले हामीले रुखमा गरिएको व्यवस्था नै राम्रो लागेर यहाँ बसेका हौं । ‘हामीले उनीहरुका लागि सबै व्यवस्था गरेका छन् । कपडादेखि खानासम्म पुर्याइएको छ ।’ दिनबन्धु सरदार नाम गरेका एक गाउँवासीले भने ।

क्वारेन्टनाइनको नियम तोड्दा ३ वर्ष जेल !

काठमाडौंः नागरिकको ज्यान जोगाउन सरकारले लकडाउन गरेको भएपनि यसको उल्लंघन गर्दा तीन जनालाई तीन वर्षको जेल सजाय सुनाइएको छ । सर्बियामा सेल्फ क्वारेन्टाइनको नियम सही ढंगले पालना नगरेपछि उक्त सजाय दिइएको हो । सर्बियामा अहिलेसम्म ५२८ जना संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भएको छ । स्थानीय समाचारपत्र जुजने वेष्टीका अनुसार, यी तीन जना नागरिक विदेशबाट स्वदेश फर्केका थिए । उनीहरुलाई कोरोना विरुद्ध जारी गरिएको नियम तथा प्रोटोकलका आधारमा १४ देखि २८ दिन सेल्फ आइसोलेसनमा बस्नु पथ्र्यो । तर यी तीनजनाले फरक फरक ठाउँमा नियम उल्लंघन गरेको पाइयो । त्यसपछि उनीहरुलाई गिरफ्तार गरिएको थियो । अहिलेसम्म यस्तै अपराधका लागि ११ जनालाई हिरासतमा राखिएको छ । यी तीनजनामध्ये एकजनालाई तीन वर्षको सजाय र अरु दुई जनालाई दुई र अढाई वर्षको सजाय सुनाइएको छ ।

बलात्कार मुद्दामा हलिउडका प्रोड्युसरलाई २३ वर्षको जेल सजाय

एजेन्सीः यौन दुव्र्यवहार तथा बलात्कार मुद्दामा अमेरिकी फिल्म प्रोड्युसर हार्वी वैन्स्टैनलाई २३ वर्षको जेल सजाय सुनाइएको छ । गत महिना न्युर्योकको एक अदालतमा भएको बहसपछि उनलाई दोषी ठहर गरिएको छ । वैन्स्टन हलिऊडका सबैभन्दा शक्तिशाली व्यक्तित्वका रुपमा चिनिन्छन् । ६७ वर्षीय वैन्स्टन बुधबार अदालतमा व्हिल चियरमा बस्दै उपस्थित भएका थिए । उनको पक्षमा बहस गरेका कानून व्यवसायीले भने न्यायधीश समक्ष उदारता देखाउन आग्रह गरेका थिए । अदालतमा वैन्स्टनका कानून व्यवसायीले पाँच वर्षको सजाय पनि आजिवन जस्तै हुने दलिल दिएका थिए । तर विपक्षी कानून व्यवसायीले आफूले गरेको कामको पश्चातापसमेत नगर्ने वैन्स्टनमाथि आजिवन काराबासको सजाय माग गरेका थिए । अक्टोबर २०१७ देखि दर्जनौं महिलाले यौन दुव्र्यवहार, बलात्कार लगायतको आरोप लगाउँदै वैन्स्टनमाथि कारबाहीको माग गर्दै सडकमा उत्रिएको थियो । वैन्स्टैनले भने आफूमाथि लगाइएको आरोप कहिल्यै स्वीकार गरेनन् । तर उक्त आरोप सम्बन्धमा गरिएको बहस उनीमाथि लगाइएको पहिलो मुद्दा मात्रै थियो । दुव्यर्वहार र बलात्कारकै मुद्दामा लास एन्जेल्समा पनि चाँडै सुनुवाई बीबीसीले जनाएको छ । मुटुको शल्यक्रिया गराएका वैन्स्टनलाई अदालती आदेश लगत्तै छातीमा पीडा सुरु भएपछि अस्पताल भर्ना गरिएको छ । वैन्स्टनले सन् २००६ मा प्रोडक्शन सहयोगी मिरियम हैलीसँग अपराधिक यौन गतिविधि गरेका थिए । सन् २०१३ मा उनले नायिका जस्सीका मन्नलाई उत्प्रेरित गरेको आरोप थियो । उनीमाथि मुद्दा चलाएका छ जनै पीडित बुधबार अदालतमा बसेर बहसपछि अन्तिम आदेशसम्म कुरेका थिए । एजेन्सी

‘मिस वर्ल्ड’ टोनी नेपाल आउँदै

काठमाडौंः  ‘मिस वर्ल्ड’ २०१९ जमैकाकी टोनी एन सिंह आज नेपाल आउने भएकी छन् । मिस नेपालको आयोजक संस्था हिडन ट्रेजरको समन्वयमा बिहीबार नेपाल आउने विश्वसुन्दरी टोनी शुक्रबार सिन्धुपाल्चोकको हेलम्बु जाने भएकी छन् । उनी हेलम्बुको ग्रेट हिमालयन ट्रेल, मोर्डन स्कुल र सोर्सिङ गाउँ जाने भएकी हुन् । सोर्सिङ गाउँ मिस नेपाल अनुष्का श्रेष्ठले बनाएको ‘विउटी विथ थ पर्पस’ प्रोजेक्टका लागि छानिएको गाउँ हो । त्यही प्रोजेक्ट हेर्नका लागि ‘मिस वर्ल्ड’ टोनी नेपाल आउन लागेकी हुन् । नेपालमा मिस वर्ल्ड आयोजना गर्ने नगर्ने विषयमा अध्ययन गर्न उनीसहित मिस वर्ल्ड आयोजक संस्थाका प्रतिनिधि पनि आउने भएका छन ।

टी–२० सिरिजः भारतको पहिलो विकेट पतन, सस्तैमा आउट भए रोहित

काठमाडौंः टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा न्यूजिल्याण्डले दिएको २ सय ४ रनको लक्ष्य पछ्याइरहेको भारतले सस्तैमा पहिलो विकेट गुमाएको छ । भारतले पहिलो विकेटका रुपमा उपकप्तान रोहित शर्मा व्यक्तिगत ७ रनमा आउट भएका छन् । उनी १.४ ओभरमा मिचेल सान्टनरको बलमा क्याच आउट भएका हुन् । यसअघि टस हारेर ब्याटिङको मौका पाएको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि तीन खेलाडीले अर्धतक बनाए । न्यूजिल्याण्डका लागि कोलिन मुनरोले ६९, कप्तान केन विलियम्सनले ५१, रेस टेलरले अविजित २४, मार्टिन गुप्टिलले ३० रनको योगदान दिए । बलिङमा भारतीय टीममा रवीन्द्र जडेजा, जसप्रीत बुमराह, युजवेन्द्र चहल, शार्दुल ठाकुरले एक–एक विकेट लिए । पहिलो खेलमा भारतीय टिमको प्लेइङ ११ः रोहित शर्मा, केएल राहुल, विराट कोहली, श्रेयस अय्यर, मनीष पाण्डे, शिवम दुबे, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, युजवेन्द्र चहल, मोहम्मद शामी र जसप्रीत बुमराह । पहिलो खेलमा न्यूजिल्याण्ड टिमको प्लेइङ ११ः मार्टिन गुप्टिल, कोलिन मुनरो, केन विलियमसन, कोलिन डि ग्रान्डोम्मे, रस टेलर, टिम सेफर्ट, मिशेल सान्टनर, टिम साउथी, ईश सोधी, ब्लेयर टिकनर र हमीश बेनेट ।

टी–२० सिरिजः श्रीलंकाविरुद्ध शिखरको शानदार अर्धशतक

काठमाडौंः श्रीलंका विरुद्धको टी–२० क्रिकेट सिरिजको अन्तिम खेलमा भारतीय टिमका ओपनर शिखर धवनले अर्धशतक पूरा गरेका छन् । उनले ३४ बलमा ७ चौका र १ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् । अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा धवनलको यो १० औँ अर्धशतक हो । अघिल्लो खेलमा ३२ रन बनाएका शिखर आज ५२ रन बनाएर आउट भए । टस हारेर ब्याटिङको मौका पाएको भारतले ११ ओभरमा १ विकेट गुमाएर १ सय ३ रन बनाएको छ । सिरिजको अन्तिम खेलमा भारतले तीन र श्रीलंकाले २ खेलाडी परिवर्तन गरेको छ । श्रीलंकाले इसरु उडाना र भानुका राजापाक्षलाई विश्राम दिएको छ । उनीहरुको स्थान एन्जेलो म्याथ्यूज र लक्षण सदाकनले लिएका छन् । भारतले सिरिजको तेस्रो खेलमा ऋषभ पन्त, कुलदीप यादव र शिवम दुवेलाई विश्राम दिएको छ । उनीहरुको स्थानमा सञ्जु स्यामसन, युजवेन्द्र चहल र मनीष पाण्डेलाई प्लेइङ ११ मा मौका दिइएको छ । तीन खेलको सिरिजमा भारत १–० ले अगाडि छ । यदि आजको खेल भारतले जिते उसले सिरिजलाई २–० ले ‘क्लिन स्विप’ गर्नेछ । सिरिजको पहिलो खेल वर्षा बाधक बनेपछि रद्द गरिएको थियो । भारतको प्लेइङ ११ः शिखर धवन, केएल राहुल, विराट कोहली (कप्तान), सञ्जु स्यामसन (विकेटकीपर), मनीष पाण्डे, श्रेयस अय्यर,  युजवेन्द्र चहल,  वाशिङटन सुन्दर, जसप्रीत बुमराह, शार्दुल ठाकुर र नवदीप सैनी । श्रीलंकाको प्लेइङ ११ः लसिथ मलिंगा (कप्तान), दनुष्का गुनाथिलका, अभिष्का फर्नान्डो, दसुन शनाका, कुशल परेरा (विकेटकीपर), धनन्जय डी सिल्भा, इसुरु उडाना, लक्षण सदाकन, एन्जेलो म्याथ्यूज, वानिन्दु हसरंगा र लाहिरू कुमारा ।

नेपाल आइडल रवि ओडको ‘भयो हतार’ सार्वजनिक (भिडियोसहित)

काठमाडौंः नेपाल आइडल रवि ओडको प्रतिक्षित गीत ‘भयो हतार’को म्युजिक भिडियो युट्युबबाट सार्वजनिक गरिएको छ । गीत अहिलेको बजार सापेक्षिक रहेकाले दर्शक श्रोताले मन पराउने र चल्ने विश्वास रविले लिएका छन् । डान्सिङ प्याटर्नको यस युगल गीतमा उनलाई गायिका बिना भट्टराईले साथ दिएकी छन् । बेलायतमा बसेर गीत गजल लेखनमा सक्रिय नृपेश उप्रेतीको शब्द रहेको यस गीतका संगीतकार रवि मल्ल हुन् भने संगीत संयोजन दिक्षित पौडेलले गरेका हुन् । सार्वजनिक गीतमा ‘वर्षा राउत’लाई मोडल श्रवण न्यौपानेको साथमा आधुनिक र परम्परागत पहिरनमा निकै आकर्षक रूपमा प्रस्तुत गरिएको छ । ‘भयो हतार’को म्युजिक भिडियोलाई राम्रो र भव्य बनाउन निकै मेहनत गरिएको देखिन्छ । शक्ति प्रज्वल घिमिरेले निर्देशनमा बनेको भिडियोलाई चर्चित छाँयाकार उत्सव दाहालले खिचेका हुन् भने स्वयं निर्देशक घिमिरेले सम्पादन पनि गरेका हुन् । यस भिडियोका नृत्य निर्देशक प्रविण थापा हुन् । खुसी इन्टरटेनमेन्टको प्रस्तुति ‘भयो हतार’ लाई व्हाइट मिडियाले निर्माण गरेको हो ।

त्रिकोणात्मक सिरिजः क्याम्पका लागि खेलाडीको नाम घोषणा, को–कोले पाए मौका?

काठमाडौंः आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको म्याचका लागि नेपाल क्रिकेट संघ (एन्फा) ले २४ खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ । क्यानले प्रशिक्षक उमेश पटवालसँगको सल्लाहमा २४ खेलाडीको प्रशिक्षणमा बोलाएको हो । क्यानले बोलाएको टाेलीमा सुवास खकुरेल र भुवन कार्कीलाई पनि मौका दिइएको छ । चोटका कारण एक बर्ष टोलीबाट बाहिर रहेका खकुरेल सिनियर टिमबाट खेल्न अभ्यासरत छन् । घरेलु लिगमा शानदार प्रदर्शन गरिरहेका स्पिनर भुवन कार्कीले पनि प्रशिक्षणमा स्थान बनाएका छन् । यो पटकको क्याम्पमा किशोर महतो, लोकेश बम र सुनित महर्जन नयाँ अनुहारका रुपमा देखा परेका छन् । को–को अटाएबन्द प्रशिक्षणमा? ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनाश बोहोरा, विनोद भण्डारी, करण केसी, कुशल मल्ल, ललित राजवंशी, पारस खड्का, बसन्त रेग्मी, शरद भेषवाकर, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, भुवन कार्की, पवन सराफ, रासिद खान, रोहितकुमार पौडेल, सन्दीप जोरा, सुशन भारी, कुशल भुर्तेल, किशोल महतो, लोकेश बम र सुनित महर्जन रहेका छन् ।

बीपीएलः आन्द्रेको टिममाथि अफ्रिदीको ढाका ८ विकेटले विजयी

काठमाडौंः बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत सिलेट थन्डरविरुद्ध ढाका प्लाटून ८ विकेटले विजयी भएको छ । सिलेटले दिएको १ सय ७५ रनको लक्ष्य ढाकाले १८.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि तमिम इकबालले ४९ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै अविजित ६० रन बनाए । यस्तै मेहदी हसनले ५६, अनमुल हकले ३२ र जकर अलिले नटआउट २२ रनको योगदान दिए । बलिङमा सिलेटका मोसाघिक हुसेन र इबादोट हुसेनले एकएक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको मौका पाएको सिलेटले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनायो । उसका लागि जनसन चार्ल्सले ७३, मोहम्मद मिथुनले नटआउट ४९, अब्दुल मजिदले ८, आन्द्रे पफ्लेचरले शून्य र शेरफन रदफोर्डले नटआउट ३८ रन बनाए । बलिङमा ढाका शाहिद अफ्रिदीले २, शादब खान र मेहदी हसनले एक–एक विकेट लिए । यो जिसँगै अफ्रिदीको टिम अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता सिलेट भने ६ खेलमा ५ मा हार र एक म्याचमा जित हासिल गर्दै छैठौं स्थानमा छ ।

४० प्रतिशत लाभांश वितरण गर्दै नेप्से

काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ४० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । नेप्सेको हाल कायम चुक्ता पूँजी ५० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने २० करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको हो । नेप्सेले नगद लाभांश प्रस्ताव पारित गर्न आगामी पुस २९ गते मंगलबार ३८ औं वार्षिक साधारणसभा बोलाएको छ । हाल नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, प्रभु र लक्ष्मी बैंकको ५÷५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१२ प्रतिशत र ब्रोकर संघको ०.६२ प्रतिशत शेयर हिस्सा छ ।

सागकी स्वर्ण विजेता धामीलाई गृहनगरमा भव्य स्वागत (तस्बिरसहित)

महेन्द्रनगरः हालै सम्पन्न १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा कुस्ती खेलमा स्वर्ण पदक जितेकी संगिता धामीलाई गृह नगरमा भव्य स्वागत गरिएको छ । भीमदत्त नगरपालिका वडा नं. ३ की १९ वर्षिया धामीले जनकपुरमा सम्पन्न ५५ किलो तौल समूहमा नेपालका लागि स्वर्ण जितेकी थिइन् । नेपाली कुस्ती खेलको इतिहासमै पहिलो पटक स्वर्ण जितेकी धामीले बङ्गलादेशका सखिरा सरकाररिनेलाई फाइनलमा पराजित गरेकी थिइन् । भीनपा वडा कार्यालयले आइतबार धामीको स्वागत र सम्मानमा महेन्द्रनगर बजारमा विजय र्याली निकालेको छ । बजार परिक्रमापछि र्‍याली वडा कार्यालय पुगेर समापन गरिएको छ । वडा कार्यालयमा गरिएको समापन कार्यक्रममा वडा अध्यक्ष रामबहादुर जप्रेलले धामीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । कार्यक्रममा वडा कार्यालयले धामीलाई नगद २५ हजार ५ सय २५ रुपैँया नगद समेत प्रदान गरे । कार्यक्रममा दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमर सिह धामीले पदक विजेता धामीलाई एक लाख ५ हजार पुरस्कार दिने घोषणा गरे । कार्यक्रममा वडा अध्यक्ष जप्रेल सहित वडा नं. ७ का अध्यक्ष शंंकर कुँवर, धामीकी आमा धनादेबी धामीसहित स्थानीय, खेलाडी, जनप्रतिनिधि, प्रशिक्षक र्यालीमा सहभागी भएका थिए । वडा अध्यक्ष जप्रेल सहितले धामीलाई टिका र खादा लगाएर सम्मान गरेका थिए । वडा अध्यक्ष धामीले जप्रेलले सागमा स्वर्ण जितेर भीमदत्त नगरपालिका, कञ्चनपुर जिल्ला, सुदूरपश्चिम प्रदेश र देशको मान प्रतिष्ठा बढाएको बताए । ‘संगिताको जीत हाम्रो वडाको पनि जित हो,’ वडा अध्यक्ष राम बहादुर जप्रेलले भने, ‘यो सारा नेपालीको जीत हो ।’