पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबार ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना मार्फत बोलकबोल प्रक्रिया मार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ ।
सूचना अनुसार ० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ । सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ ।
यस्तै, ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल भने कूल १८२ दिनका लागि विक्री गरिने छ । सो बिल भने आगामी कात्तिक २ गते परिपक्व हुनेछ ।
राष्ट्र बैंकले यसअघि गत चैत ३० गते २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गरेको थियो ।
पर्वतमा आगलागि, ५ घर र १५ गोठ जलेर पूर्णनष्ट
पर्वत । दक्षिण पर्वतको पैयुँ गाउँपालिका–६ डाँडाकाहुँमा आगलागी हुँदा ५ घर र १५ गोठ जलेर पूर्णरुपमा क्षति भएको छ । डाँडाकाहुँको भिरमा रहेको जंगलमा लागेको आगो बस्तीमा प्रवेश गरेपछि घर र गोठ जलेर नष्ट भएका हुन् । आगलागीबाट स्थानीय शेरप्रसाद गौतम, रेशमलाल गौतम, नमप्रसाद सापकोटा, रेशमलाल सापकोटा, जयकला सापकोटाको घर जलेर नष्ट भएका छन् भने खड्काप्रसाद गौतम, एकनारयण गौतम, चोलाकान्त सापकोटा, छबिलाल गौतम, उमेश गौतमको घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी स्थानीयका १५ वटा गोठ जलेर पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय हुवासका प्रहरी निरीक्षक विजयकुमार सिंहले जानकारी दिनुभयो । घरवारविहीन भएकाहरु अहिले आफन्तकोमा आश्रय लिएर बसेका छन् । आगालागीबाट पूर्णरुपमा क्षति भएका पाँच परिवारलाई तत्काल स्थानीय पैंयु गाउँपालिकाले नगद १० हजार, खाद्यान्न र लत्ताकपडा वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिनुभयो । त्यसैगरी अन्य सामान्य क्षति पुगेकाहरुालई टेण्ट, र त्रिपाल वितरण गरिएको छ । आगलागीबाट मानविय क्षति नभएपनि केही पशुचौपाया मरेका छन् । आगो नियन्त्रणका लागि पर्वतको सदरमुकाम कुश्मा बजारबाट २१ जना सशस्त्र प्रहरी र २१ जना नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो ।
जसपा संसदीय दलको बैठक शुरू
काठमाडौं । जसपा संसदीय दलको बैठक शुरू भएको छ । सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यलयमा जारी उक्त बैठकमा संसदीय दलको नेता चयन गर्नुका साथै सांसद रेशम चौधरीको रिहाइका साथै सरकारमा जानेलगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न नसकेको अवस्थामा बैठकले नेता चयन गर्ने संम्भावना रहेको बताइएको छ । साथै बैठकले विधान पनि पारित गर्ने सम्भावना पनि रहेको छ । यसअघिको बैठकमा विधान अध्ययनका लागि बाँडिएको थियो । दलको नेतामा अध्यक्ष उपेन्द्र यादवसहित संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो समेतले दावी गर्दै आए पनि पार्टीका अध्यक्ष महन्त ठाकुरलाई दलको नेता चयन गर्ने गरी तयारी अगाडि बढेको स्रोतले जनाएको छ । सरकार गठनका लागि निर्णायक शक्ति बनेको जसपाले आज नेकपा एमाले र कांग्रेससँग सत्ता समीकरणका लागि निर्णायक वार्ता गर्दैछ । तानातानमा जसपाः आजै एमाले र कांग्रेससँग सत्ता समिकरणबारे छलफल गर्दै
महाशिवरात्रिमा पशुपति दर्शन गर्न तीन स्थानबाट लाम बस्न सकिने
काठमाडौं । यस वर्षको महाशिवरात्रिमा पशुपतिमा तीनवटा बाहिरी मार्ग हुँदै पशुपतिनाथ मूल मन्दिर परिसरमा प्रवेश गर्न सकिने भएको छ । पशुपति क्षेत्र विकास कोषले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मित्रपार्क–गौरीघाट, उमाकुण्ड–दक्षिणामूर्ति, हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, बत्तिसपुतली–गौशाला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिलगङ्गा, पिङ्गलास्थान–सुमार्गीभवन अगाडिबाट चार शिवालय–पञ्चदेवल हुँदै दक्षिणढोका हुँदै दक्षिणढोकाबाट दुई लाइन गरी बाहिरी रुपमा पशुपति मूल मन्दिर परिसर प्रवेश गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ । अर्को लाइन पश्चिममा वनकाली ओरालो हुँदै जुत्ता चप्पल कक्षबाट मूल मन्दिर प्रवेश गर्न सकिने गरी व्यवस्थापन गर्ने योजना बनाइएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए । आवश्यकताअनुसार तिलगङ्गा राममन्दिरतर्फ एक लाइन व्यवस्था गर्न सकिने छ । मूल मन्दिर परिसरभित्र प्रवेश गरिसकेपछि भने उत्तर र दक्षिणबाट तीन÷तीन र पश्चिमबाट चार वटा भित्री लाइन व्यवस्थापन गर्न लागिएको छ । कोरोना महामारीका कारण यस वर्ष सातदेखि आठ लाख भक्तजनले मात्र पशुपतिनाथमा दर्शन गर्ने प्रारम्भिक अनुमान गरिएको छ । स्थलमार्गबाट आउने सीमानाकामा कडाइ जारी रहेकाले हवाइमार्गबाट आउने भक्तजन र साधुसन्त मात्र आउनेछन् । साधुसन्तको सङ्ख्या पनि विगत वर्षको भन्दा कम हुने जनाइएको छ । करिब तीन हजार साधुसन्त पशुपति क्षेत्रमा आइसकेको कोषले जनाएको छ । १० हजार सुरक्षाकर्मी परिचालन गरिने महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा तीन दिनअघि अर्थात् आजैदेखि करीब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । विगत वर्षमा जस्तै यसपटक पनि दर्शनका लागि विशेष पासको व्यवस्था गरिएको छैन । दर्शन गर्न चाहनेले लाममै बसेर मन्दिर प्रवेश गनुृपर्नेछ । वृद्धवृद्धाका लागि भने स्वयंसेवकबाट छिटो दर्शन गराउने व्यवस्था मिलाइनेछ । पशुपतिनाथ मूल मन्दिरका चारै ढोका महाशिवरात्रिका दिन बिहान चार बजेदेखि नै खोलिने छ । बिहान चार बजेदेखि राति दर्शनार्थी नसकिएसम्म पशुपतिनाथका चारै ढोका खुला गरिने कोषले जनाएको छ । कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउन भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको छ । मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न चाहने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्ने सदस्य सचिव ढकालले बताए । महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रभित्र पर्ने चावहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको चक्रपथमा सार्वजनिक यातायात रोकिने छैन । मालबाहक सवारी भने रोक्ने गरी सुरक्षा एवं यातायात योजना बनाइएको कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा ६० वटा संस्थालाई स्वयंसेवा गर्न, २५ वटा संस्थालाई स्वास्थ्य शिविर राख्न र २० संस्थालाई निःशुल्क भोजनको व्यवस्था गर्न अनुमति दिइएको छ । विगत वर्षमा स्वयंसेवक परिचालन गर्ने अनुमति लिएर आफैँ दर्शन गर्न जाने एवं तोकिएको काम नगर्ने संस्थालाई यस वर्ष जिम्मेवारी दिइएको छैन । कोषले महाशिवरात्रि पर्व–२०७७ भव्य रुपमा सम्पन्न गर्न ११ वटा विभिन्न उपसमिति गठन गरी तयारीका काम गरिरहेको छ । उपसमितिले गरेका काम एवं तयारीका बारेमा बुधबार बेलुकी पशुपति क्षेत्रमा विशेष अनुगमन गरिने कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । भक्तजनको सवारी पार्किङका लागि तिलगङ्गा कोरिडोरको उपलब्ध ठाउँ, कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त र महानगरीय ट्राफिक प्रहरी प्रभाग गौशाला, सिफल चौर, गुह्येश्वरी पारी गरी पाँच स्थान व्यवस्थापन गरिएको प्रचारप्रसार व्यवस्था उपसमितिका सचिव रेवतीरमण अधिकारीले जानकारी दिए । हंसमण्डप वनकालीमा नेपाल र भारतका कलकार भक्ति सङ्गीत एवं धार्मिक कार्यक्रम गर्ने व्यवस्था मिलाइएको छ । पशुपति सङ्गीत कला प्रतिष्ठानले वाग्मती पारी तीन दिनसम्म धार्मिक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम तयार भएको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथका भित्री द्वारसहित मन्दिर परिसरलाई विशेष किसिमले सिङ्गारिने तयारीसमेत भएको छ । पशुपति क्षेत्र कानूनद्वारा नै मांस, मदिरा तथा नशालु पदार्थ निषेधित क्षेत्र घोषणा गरेकाले त्यसलाई कडाइका साथ पालना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कोरोनाका कारण विदेशमा थप तीन जना नेपालीको मृत्यु
काठमाडौंः कोभिड-१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप ३ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३ सय ३९ जना पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४ सय १ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १ सय २४ कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको गैरआवासीय नेपाली सङ्घ, ‘कोभिड-१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताए। सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब र कतारमा रहेका थप नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक सङ्क्रमण देखिएको हो । यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ६१ को निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमण हुनेको सङ्ख्या दुई लाख ७४ हजार ६५ रहेकामा २ लाख ७० हजार ३ सय २५ जना अर्थात ९८ दशमलव छ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।
सभापति देउवाद्वारा डा.उप्रेतीको निधनप्रति दुःख व्यक्त
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पुराना नेता एवं पूर्वसांसद डा शङ्करप्रसाद उप्रेतीको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले आज शोक विज्ञप्तिमार्फत उनको निधनबाट आफूले एक पुरानो साथी, पार्टीले एक निष्ठावान् अग्रज र समाजले अथक समाजसेवी गुमाएको उल्लेख गरेका छन् । सभापति देउवाले उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । कांग्रेस झापाका नेता डा उप्रेतीको शनिबार राति ८८ वर्षका उमेरमा काठमाडौंमा निधन भएको थियो । विसं २०४६ को परिवर्तनपछि कांग्रेसका तर्फबाट ६ वर्षसम्म राष्ट्रियसभाका सदस्य रहेका उप्रेतीले पञ्चायत विरोधी आन्दोलनका क्रममा पटकपटक कारागार भोगेका थिए । नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका उप्रेतीले चिकित्सकका रुपमा विसं २०१८ मा कैलालीको धनगढीबाट सेवा शुरु गरेर पछि भोजपुर हुँदै झापाको शनिश्चरेमा आफ्नै घरमा क्लिनिक स्थापना गरी करीब ५० वर्ष चिकित्सा सेवा गरेका थिए । आर्थिक रुपले सामान्य स्थितिमा रहेका जोकोही नागरिकले उनीबाट निःशुल्क उपचार पाउने गरेका थिए । उनको आजै पशुपतिमा दाहसंस्कार गरिएको छ । स्व उप्रेतीका छोरा प्रा डा सञ्जीव उप्रेती हुन् ।
बाइडेन पनि उही बाटोमाः इरान समर्थित विद्रोहीहरुमाथि अमेरिकी हवाई आक्रमण
अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो आक्रमणको अनुमति दिएपछि अमेरिकी सेनाले सिरियामा इरान समर्थित विद्रोही समूहहरूमा हवाई आक्रमण गरेको छ। अमेरिकी रक्षा एजेन्सी पेन्टागनले यसबारे जानकारी दिएको छ। आक्रमणले इरान समर्थित गुटहरुको धेरै अड्डाहरुलाई ध्वस्त पारेको छ । बाइडेन प्रशासनले सैन्य कारबाहीको लागि निर्देशन दिएको यो पहिलो पटक हो । पेन्टागनले इराकमा अमेरिकी गठबन्धन सेनाको आक्रमणको जवाफ स्वरुप अमेरिकी सेनाले हमला गरेको बताएको छ। यो महिना एक अमेरिकी ठेकेदार रकेट हमलामा मारिएका थिए । फेब्रुअरी १५ मा, इरबिलमा एक सैनिक क्याम्पमा आक्रमण भएको थियो जसको नेतृत्व अमेरीकी सेनाले गर्दै आएको थियो । यसका साथै उक्त आक्रमणमा एक अमेरिकी अधिकारी र पाँच ठेकेदार घाइते भएका थिए । यसअघि बगदादमा रहेको अमेरिकी दूतावासमा इरान समर्थित सेनाले रकेट हमला गरेको थियो । जहाँ हरित क्षेत्र सहित अमेरिकी दूतावास र अन्य कूटनीतिक नियोगहरू थिए।
आइपीओ निष्काशन गर्दै ज्योति लाइफ इन्स्योरेन्स
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आइपीओका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओ निष्काशनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आइपिओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी दुई अर्ब २० करोड पुग्नेछ ।
पुस ६ देखिको तलब सांसदले एकमुष्ट पाउने
काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले पुस ६ गतेदेखिको तलब एकमुष्ट पाउने भएका छन् । पुस ५ गते संसद् विघटन भएपछि सांसदहरूले पुस ५ गतेसम्मको तलब मात्रै पाएका थिए । तर, सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि प्रतिनिधि सभाका सांसदहरूले पुस ६ देखिको तलब सांसदले एकमुष्ट पाउने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ । प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको केही बढी छ ।
ओलीलाई संसद् विघटन नगर्न सुझाव दिएको थिएँ तर मान्नुभएनः सुवासचन्द्र नेम्बाङ
काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले संसद् विघटन नगर्न सुझाव दिएको तर ओलीले नमानेको बताएका छन् । सर्वोच्च अदालतले संसद् पुनःस्थापनाका पक्षमा फैसला सुनाएको भोलिपल्ट बुधबार नेम्बाङले आफूले पहिले नै प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटन राजनीतिक र कानुनी रुपमा सही नहुने सुझाव दिएको बताएका हुन् । यसअघि विभिन्न कार्यक्रममा नेम्बाङले प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले फैसला आएको भोलिपल्ट यसबारे प्रतिक्रिया दिने बताउँदै आएका थिए । सर्वोच्चमा रिट पर्नुअघि नै प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन नगर्न सुझाव दिए पनि नमानेको नेम्बाङले बताए । ‘प्रधानमन्त्रीज्यूले मेरो बाध्यता भयो, मसँग अरू विकल्प भएन भन्नुभयो । यो कानुनी र राजनीतिक रूपमा ठीक हुँदैन है प्रधानमन्त्रीज्यू भनेर मैले भनेको हो, मिडियामा पनि केही कुरा त आएकै हुन्,’ उनले भने । नेम्बाङले आफूलाई लागेको कुरा प्रधानमन्त्रीलाई सुझाव दिने तर मान्ने÷नमान्ने कुरा उनकै निर्णयमा भर पर्ने बताए । उनले भने, ‘मैले जे कुरा भनेको थिएँ, त्यो स्थापित भएको छ । सम्मानित सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुअघि मैले आफ्ना राय प्रधानमन्त्रीज्यू समक्ष राखेको थिएँ । त्यो स्वभाविक प्रक्रिया हो । प्रधानमन्त्रीज्यूले जनतामा जाने मेरो निर्णय हो भनेर विघटन गर्नुभयो ।’ सर्वोच्चले फैसला सुनाइसकेपछि त्यसलाई कार्यान्वयन गर्दै अघि बढ्नुको विकल्प नभएको पनि नेम्बाङले बताए । उनले भने, ‘मुख्यतः सम्मानित अदालतले फैसला गरेको छ। संसद् विघटनलाई बदर गरेको छ । त्यो अदातलको फैसलालाई मान्दै अगाडि बढ्नुपर्छ। यसमा अर्को विकल्प छैन ।’
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कर्णालीका ३ कारागारबाट १५ कैदी रिहा
सुर्खेतः राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कर्णालीका १५ जना कैदीहरु रिहा भएका छन् । सजाय मिनाह पाउनेमा सुर्खेत जिल्ला कारागारबाट ९, दैलेख कारागारबाट ६ र रुकुम पश्चिम जिल्ला कारागारबाट १ जना रहेका छन् । सुर्खेत कारागारका जेलर लक्ष्मि खेरलका अनुसार सजाय मिनाह पाउनेमा कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका कमल सुनार, भिमबहादुर सुनार र तुलबहादुर राना छन् । सवारी ज्यान मुद्धा अन्तर्गत गगन गुरुङ, सुरेन्द्र सार्की, दिपक साउँद र केशव शाही, बमकला पुरी र गिता चालिसे बहुविवाहको मुद्धा खेपिरहेका थिए । उनिहरु मध्ये बमकला पुरी बाहेक अन्य सबै सुर्खेत जिल्लाका हुन भने पुरी सल्यान जिल्लाका हुन् । उनिहरु क्रमश: २०, १०, २, ३, २ बर्ष कैद सजाय तोकिएको थियो । यस्तै जिल्ला कारागार दैलेखका ५ जना कैदीलाई कैद सजाय माफी दिएको छ । एक जना महिला सहित पाँच जना कैदीको भुक्तान हुन बाँकी कैद छुट भएको दैलेख कारागार कार्यालयका प्रमुख जीतबहादुर खत्रीले जानकारी दिए ।उनका अनुसार कर्तव्य ज्यान मुद्धामा १६ बर्ष कैद सजाय तोकिएर ५० प्रतिशत कैद भुक्तान गरेका एक जना, बहुविवाह मुद्धामा डेढ बर्ष कैद सजाय तोकिएर ६५ प्रतिशत कैद भुक्तान गरेका एक जना, बहुविवाह मुद्धामा एक बर्ष कैद सजाय तोकिएको र ९१ प्रतिशत कैद भुक्तान गरेका एक जनालाई कैद छुट दिइएको हो । यस्तै कर्तव्य ज्यान मुद्धामा २ बर्ष कैद सजाय तोकिएको र दुई महिना कैद भुक्तान गर्न बाँकी एक जना, कतव्र्य ज्यान मुद्धामा २० बर्ष कैद सजाय तोकिएका एक जनाको बाँकी कैद छुट दिइएको प्रमुख खत्रीले बताए । रुकुम कारागार बाट एक जना कैदी बन्दीलाई सजाय मिनाह गरिएको छ। रुकुम पश्चिम कारागारबाट त्रिवेणि गाउँपालिका-का नवराज ओलीलाई सजाय मिनाह गरिएको जेलर प्रमेश शिवालले बताए । ओली बहुविवाह मुद्धामा सजाय भोग्दै आएका थिए । उनिहरुलाई फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन’, २०७४ तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३’ को दफा १२ बमोजिम कैद सजाय घटाइएको जनाइएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५ सय बढी कैदीबन्दीको कैद सजाय माफी दिएको छ ।
बेलायती राजकुमार ह्यारी मान पदवीमुक्त
लण्डन : बेलायतका राजकुमार ह्यारी मान पदवीमुक्त भएका छन् । दोस्रो सन्तानलाई जन्मदिने तयारीमा रहेकी उनकी श्रीमती मेघन मर्केलले राजदरबार फर्किन अस्विकार गरेपछि ह्यारी र मेघनको पदवी गुमेको हो । केही महिना अगाडि उनीहरूले नै मानपदवी त्यागेको घोषणा गर्दै अमेरिका बसाइ सरे पनि दरबारको तर्फबाट अहिलेसम्म कायमै राखिएको थियो । तर, शुक्रबार महारानी एलिजावेथ द्वितीयले उनीहरूको मान पदवी खारेज भएको घोषणा गरेको समाचारमा जनाइएको छ । बेलायती राजदरबार बकिङ्घम दरबारले अहिलेसम्म विचाराधीन अवस्थामै राखेको उनीहरूको मान पदवी खारेज भएको घोषणा गरेपछि यसलाई बेलायती राजसंस्थाको इतिहासमा अविस्मरणीय घटनाको रूपमा लिइएको छ । महारानी एलिजावेथ द्वितीयले ह्यारी दम्पत्तिसँग बेलायती राजपरिवारको अब राजनीतिक तथा सार्वजनिक सम्बन्ध नरहेको उल्लेख गरेको अधिकारीहरूले जनाएका छन् । राजपरिवारको सदस्यका रूपमा उनीहरूको अव कुनै जिम्मेवारी, दायित्व र अधिकार तथा भूमिका पनि नहुने दरबारले जनाएको छ । गत वर्ष मार्चमा ह्यारी र मेघनले सामाजिक सञ्जालमा पनि आफ्नो अन्तिम पोस्ट गर्दै बेलायती राज परिवारको वरिष्ठ सदस्यका रूपमा आफ्नो भूमिका छोड्ने घोषणा गरेका थिए ।
नयाँ शैक्षिक सत्र असारदेखि शुरू हन्छः शिक्षामन्त्री श्रेष्ठ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरू हुने बताएका छन् । मंगलबार सफलता एच.आई.भी. शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नयाँ शैक्षिक सत्र असार महिनादेखि शुरू हुने बताएका हुन् । यस निम्ति मन्त्रालयले तयारी गरिसकेको उनको भनाइ छ । ‘शैक्षिक शत्र सामान्यतः १२ महिनाको हुन्छ,’ उनले भने, ‘यो वर्ष कोरोना महामारीका कारण १४ महिनाको हुने भयो । दुई महिनाजति लम्ब्याएर जेठमा एसईई परीक्षा गर्ने तयारी छ । नयाँ शैक्षिक शत्र असारबाट सुरु हुन्छ । यो वर्ष १४ महिनाको शैक्षिक शत्र हुन्छ । अर्को वर्ष १० महिनामै सक्नेगरी व्यवस्थापन गर्छौ ।’
हुम्लामा दोस्रो चरणमा ७७ जनाले लगाए कोराना खोप
काठमाडौंः हुम्लामा दोस्रो चरणको कोरानाविरुद्धको खोप अभियान सुरु भएको छ । दोस्रो चरणको पहिलो दिन ७७ जनाले खोप लगाएका छन् । हाल स्वास्थ्य सेवा कार्यालय हुम्लामा १ हजार २ सय ४० डोज भ्याक्सिन मौज्दात रहेको छ । दोस्रो चरणको पहिलो दिन स्वास्थ्य सेवा कार्यालय अन्तर्गत आयुर्वेद शाखाका प्रमुख कविराज निरिक्षक कृष्णचन्द्र जोशीले खोप लगाएर सुरु भएको हो । फागुन २ गते आइतबार पत्रकार, स्वास्थ्यकर्मी, निजामती, सुरक्षा, बैंक, स्थानीय तहका जनप्रतिनिधि र गैससका प्रतिनिधिहरूले उक्त खोप लगाएको जानकारी कोभिड विरुद्धको खोप अभियानका सम्पर्क व्यक्ति मनबहादुर रोकायाले दिए । दोस्रो चरणको खोप अभियानलाई आम बनाउनका लागि सकेसम्म धेरैभन्दा धेरैलाई लगाइने लक्ष्य रहेको छ । यसका लागि हाल स्वास्थ्य सेवा कार्यालय हुम्लामा १ हजार २ सय ४० डोज भ्याक्सिन मौज्दात रहेको छ । नपुग भएमा तत्काल झिकाइने भएको छ । यो चरण फागुन ८ गतेसम्म चल्ने छ ।
झाँक्रीलाई भेट्न अपराध महाशाखा पुगे श्रेष्ठ र भट्टराई
काठमाडौं । नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउ परेपछि उनलाई भेट्न प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी कमिटी सदस्य योगेश भट्टराई नेपाल प्रहरीको अपराध महाशाखा पुगेका छन् । बिहीबार दिउँसो झाँक्रीलाई पक्राउ गरेर महाशाखामा लगेपछि नेताहरु उनलाई भेट्न महाशाखा पुगेका हुन् । श्रेष्ठ र भट्टराईले नेतृ झाँक्रीको पक्राउको विषयमा अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापासँग छलफल गरे । झाँक्रीको अनुसन्धान चलिरहेको जानकारी प्रहरीले आफूहरूलाई दिएको श्रेष्ठले बताए । ‘हामीले घटनाको विरोध गरिसकेका छौं । यसबारेमा हामी के गर्ने भनेर थप छलफल समेत गरिरहेका छौं’, उनले भने । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार प्रहरीले उनको निवास शंखमुलमा पुगेर पक्राउ गरेको थियो । बिहीबार दिउँसो ४ बजे रत्नपार्कमा नेकपाले झाँक्री पक्राउको विरोध गर्दैछ । नेकपाले विज्ञप्ति जारी गर्दै झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ ।
इमजेखबरको दावीः निर्वाचन आयोगलाई अनावश्यक दबाब दिँदै ओली
काठमाडौं । आगामी बैशाख १७ र २७ का लागि घोषणा गरिएको मध्यावधि निर्वाचनको तयारी बारे जानकारी लिन मंगलबार निर्वाचन आयोग पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगलाई अनुचित दबाव दिएको दाबी गरिएको छ । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँगको औपचारिक छलफलपछि प्रधानमन्त्री ओलीले नेकपाको आधिकारिता सम्बन्धी विवादमा प्रवेश नगर्न निर्देशन दिएको दाबी अर्को पक्षले गरेको छ । अनौपचारिक हवलाको आधारमा गरिएको आशंकालाई राजनीतिक अतिरञ्जना मात्रै हुनसक्ने टिप्पणी पनि गरिएको छ । आगामी निर्वाचन केन्द्रीत आयोगको तयारी र सरकारको तयारी बारे जानकारी दिन प्रधानमन्त्री केपी शर्मा ओली आउने सूचना पाएका निर्वाचन आयोगका पदाधिकारीले त्यहि अनुसार तयारी गरेका थिए । प्रधानमन्त्रीसँगको छलफल सुरु भएलगत्तै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले हालसम्म गरेका कामकारबाही र सरकारले गर्नुपर्ने सहयोग बारे ब्रिफिङ गर्नुभयो । निर्वाचनको तयारीबारे ब्रिफिङ सकिएलगत्तै दल दर्ताको प्रसङ्ग निस्कँदा प्रमुख आयुक्त थपलियाले नेकपाको आधिकारिकताका लागि माघ २० गते दाहाल–नेपाल समूहले पत्र पेश गरेको जानकारी गराउनुभयो । लगत्तै, प्रधानमन्त्री ओलीले आयोगलाई राजनीतिक दलसम्बन्धी ऐन, नियम र विगतका नजिर बारे ध्यानाकर्षण गराएको छलफलमा सहभागी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराउनुभएको थियो । तर, छलफल लगत्तै निर्वाचन आयोगको अनौपचारिक स्रोतको हवला दिँदै प्रधानमन्त्रीले आयोगलाई नेकपाको आधिकारिकता विवादमा प्रवेश नगर्न निर्देशन दिएको चर्चा व्यापक छ । अनौपचारिक स्रोतको हवलाले प्रधानमन्त्री ओलीप्रति प्रश्न उठाइएको छ । पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ भने अनौपचारिक स्रोतको हवला दिएर विषयलाई अतिरञ्जित बनाउन नहुने धारणा राख्नुभयो । आफूविरुद्ध आन्दोलनरत नेकपाकै अर्को समूहले आधिकारिकताका लागि निर्वाचन आयोगलाई अनावश्यक दबाव दिएको आरोप लगाउँदै आएका प्रधानमन्त्री ओली आफैँले आयोगलाई प्रभावित पार्न खोज्नु उचित नभएको कतिपयको धारणा छ । तर, पूर्वप्रमुख आयुक्त श्रेष्ठले संवैधानिक निकायमाथि कुनै पनि पक्षबाट दबाव आउन नहुने धारणा राख्नुहुन्छ । पुष ५ गते प्रतिनिधिसभा विघटन लगत्तै राजनीतिक रूपले विभाजित नेकपाको दाहाल–नेपाल समूहका शीर्ष नेताहरू पटक–पटक निर्वाचन आयोग पुगे पनि नेकपाकै अर्को समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक आयोग पुग्नुभएको थियो ।