टेष्ट सिरिजः श्रीलंकाविरुद्ध बाबरको शानदार शतक
काठमाडौंः श्रीलंका विरुद्धको टेष्ट सिरिजको पहिलो इनिङ्समा पाकिस्तान क्रिकेट टिमका महत्वपूर्ण सदस्य बाबर आजमले शानदर शतक बनाएका छन् ।
उनले १४ चौकाको मद्दतमा १२० बलमा शतक बनाएका हुन् । टेष्ट क्रिकेटमा बाबरको यो तेस्रो शतक हो ।
खेलको पाँचौ अर्थात् अन्तिम दिनमा पाकिस्तानले ६९ ओभरमा २ विकेट गुमाएर २५२ रन बनाएको छ । श्रीलंकाले पहिलो इनिङ्स ३०८ रन बनाएको थियो ।
गौरिका सिंहले दिलाइन् नेपाललाई अर्को स्वर्ण
काठमाडौंः १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण जितेकी छिन् । गौरिकाले २ सय मिटर ब्रेस्टस्ट्रोकमा स्वर्ण जितेकी हुन् । उनले निर्धारित दूरी २ मिनेट १७.७३ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धामा भारतकी मन्ना पटेल २ मिनेट २०.७१ सेकेन्डमा दूरी पूरा गर्दै दोस्रो भइन् । श्रीलंकाकी गंगा सेन २ मिनेट २७.२५ सेकेन्ड समयसहित तेस्रो भइन् । गौरिकाको जारी सागमा यो दोस्रो स्वर्ण हो । उनले यसअघि बिहीबारको प्रतिस्पर्धामा पनि स्वर्ण जितेकी थिइन् । नेपालले यस स्वर्णसँगै जारी सागमा ४१ स्वर्ण पदक पूरा गरेको छ । पौडीमा व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने उनी एक्ली खेलाडी हुन् ।
उपनिर्वाचन बहिस्कार गर्दै हिँड्ने ४ जना पक्राउ
सल्यानः उपनिर्वाचन बहिस्कारको अभियानमा लागेका ४ जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ । मसिंर १४ गते शनिबार हुने उपनिर्वाचनलाई बहिस्कार गरौँ भन्ने अभियानमा लागेका सिपि गजुरेल अध्यक्ष रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाका ४ जना नेता कार्यकर्तालाई पक्राउ गरिएको हो । उनीहरुलाई उपनिर्बाचन हुन लागेको कुमाख गाउँपालिका ५ बाट मंगलबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मोर्चाका कर्णाली प्रदेश इन्चार्ज एवं पोलिटब्यूरो सदस्य सुर्खेत घर भएका ६० वर्षीय चक्रपाणि शर्मा, दैलेख घर भएका केन्द्रीय सदस्य ४० वर्षीय दिपक शाही, सल्यानको कुमाख गाउपालिका ५ घर भएका ६८ वर्षीय चक्र बहादुर शाह र कुमाख गाउपालिका ७ घर भएका ३८ वर्षीय हिरालाल गोसाई रहेको प्रहरीले जनाएको छ । जिल्लाको कुमाख गाउँपालिका–५, बल्लेमा चुनाव बहिस्कारको पर्चा वितरण गरिरहेको अवस्थामा घटनास्थलबाटै उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
राष्ट्रपति भण्डारी बुधबार ५ दिने म्यानमारको राजकीय भ्रमणमा जाँदै
काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी बुधबारदेखि पाँच दिने म्यानमारको राजकीय भ्रमणमा जाने भएकी छिन् । राष्ट्रपति भण्डारी म्यानमारका समकक्षी विन मिन्टको मैत्रिपूर्ण निमन्त्रणामा त्यसतर्फ जान लागेकी हुन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी मिन्टसँग आपसी हित र द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्ने छिन् । पाँच दिने भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नोबेल शान्ति पुरस्कार विजेतासमेत रहेकी म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकीसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । यस्तै म्यानमारको पायन यु लायनमा नेपालीभाषी नागरिकहरुसँग भेट गर्ने कार्यक्रम पनि तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले पाँच दिने बसाइका क्रममा यांगुनको ऐतिहासिक स्थानको भ्रमणसमेत गर्ने मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिवलगायत उच्च पदस्थ अधिकारी पनि भ्रमण दलमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
संघीयताले भ्रष्टाचार बढायोः महासचिव मैनाली
भक्तपुर– नेकपा मालेका महासचिव सिपी मैनालीले वर्तमान सरकारले महँगी र भ्रष्टाचार रोक्न नसकेको आरोप लगाएका छन् । नेकपा माले जिल्ला कमिटी भक्तपुरले शुक्रबार कमल विनायकमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले मुलुकमा सङ्घीयता सङ्कटमा परेको र सङ्घीयताले भ्रष्टाचार बढाएको आरोप लगाएका हुन् । नेकपा ३ नं प्रदेश समितिका सचिव कृष्ण राणा, नेकपा माले भक्तपुरका सचिव दिनेश खातीले दुई तिहाइको सरकारले घोषणापत्र अनुसार काम गर्न नसकेको भन्दै सरकारले कार्यकर्ताभन्दा पनि जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिए ।
मोबाईल चोरीमा संलग्न ४ जना पक्राउ
वीरगञ्जः वीरगञ्जबाट मोबाईल चोरीमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना भारतीय नागरिकसमेत छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा–३ का २४ बर्षीय गौरिशंकर यादव, वडा–१७ का २४ बर्षीय मनोज राम हरिजन, १४ का २२ बर्षीय जमसेद अन्सारी र भारत भारत बिहार जिल्ला पूर्वी चम्पारण बस्ने २२ बर्षीय विक्रम पटेल रहेका छन् । उनीहरुले वीरगञ्ज महानगरपालिकाको विभिन्न स्थानबाट मोबाईल चोरी गर्ने गरेको प्रमाण भेटिएको प्रहरीले भनाई छ । उनीहरुको साथबाट नेपाली रुपैयाँ २१ हजार ७ सय २६, भारतीय रुपैयाँ १७ हजार र विभिन्न ब्राण्डका १७ थान मोबाईल सेट समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । उनका अनुसार ती चोरहरुले कलेजका विद्यार्थीहरुको कोठा कोठामा एकाबिहानै पुगेर मोबाईल चोरी गर्ने गरेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
कस्तो छ चिनियाँ राष्ट्रपतिलाई सुरक्षा तयारी?
काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणलाई लिएर सरकार सुरक्षा व्यवस्थाको तयारीमा जुटेको छ। सरकारले सीलाई राजकीय भ्रमणकै हैसियतमा ‘जेड प्लस’ सुरक्षा दिने तयारी गरेको छ। यो प्रकृतिको सुरक्षा राजकीय भ्रमणमा आउने अति विशिष्ट व्यक्ति (भीभीआईपी) लाई दिइन्छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि ‘जेड प्लस’ सुरक्षा दिइएको थियो। आफ्ना राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सरकारका मन्त्रीसँगको भेटलाई तीव्रता दिएकी छन्। गृहमन्त्री रामबहादुर थापा बादलसँगको भेटमा यान्छीले आफ्ना राष्ट्रपतिको भ्रमणलाई विवादरहित र त्रुटिरहित ढंगले सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरेकी छन्। गृहमन्त्री बादलले नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँगै सेनाका उच्च अधिकारीलाई डाकेर राष्ट्रपति सीको भ्रमण सुरक्षामा कुनै त्रुटि हुन नदिने गरी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइसकेका छन्। चीनबाटै चार वटा विशेष गाडी उच्च स्रोतका अनुसार राष्ट्रपति सीको भ्रमणमा चीनबाटै चार वटा विशेष गाडी नेपाल ल्याउने तयारी चीनले गरेको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयमा समेत चीनले लबिङ गरिसकेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका उतैबाट सुरक्षाकर्मी ल्याइएको थियो। चीनले पनि राष्ट्रपति सीको भ्रमणको अग्रपंक्तिको कारगेडमा आफ्ना सुरक्षाकर्मी ल्याउने तयारी गरेको उच्च स्रोतले बतायो। सरकारले राष्ट्रपति सीको भ्रमणमा चार वटा चुनौतीलाई केन्द्रित गरेर सुरक्षा योजना बनाइरहेको छ। स्वतन्त्र तिब्बतका नाममा हुनसक्ने विरोध, चीनले हालै पारित गरेको तर फिर्ता गरिसकेको चीन र हङकङवीचको सुपुदर्गी सन्धीलाई लिएर त्यसको विरोधमा हुनसक्ने गतिविधि र राष्ट्रिपतिमाथि हुनसक्ने सबै खालको सुरक्षा चुनौतीलाई लिएर समेत सुरक्षा योजना तयारी भइरहेको उच्च सुरक्षा स्रोतले बतायो। ‘विरोधमा प्रत्यक्ष कुनै पनि मुलुक अग्रपंक्तिमा नदेखिए पनि कसैलाई प्रयोग गरेर प्रदर्शन गर्न सक्छन्,‘ स्रोतले भन्यो,‘सबै पाटोलाई मूल्यांकन गरेर सुरक्षा योजना बनाइरहेका छौं।’ सी भ्रमणको दिन राजधानीमा सात हजार बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी सरकारको छ। उच्च स्रोतले भन्यो, ‘जुन दिन भ्रमण हुन्छ, त्यो दिन लगभग अघोशित कर्फ्यु जस्तै हुन्छ।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।
बैतडीको झुलाघाट नाका ३ दिनका लागि बन्द
बैतडीः नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका बिहीबारदेखि तीन दिनका लागि बन्द हुने भएको छ । भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख (असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण जनाउँदै सीमा नाका बन्द हुन लागेको हो । बिहीबार साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिन अन्तर्राष्ट्रिय सीमा (पुल) बन्द हुने भएको हो । यसका साथै अक्टोवर १६ तारेख (असोज २८ गते) दिन भारतको पिथौरागढ जिल्ला धार्चुला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमानाका पनि बन्द हुने भएको छ । उक्त नाका असोज २७ गते साँझ ५ः१५ बजेदेखि असोज २९ गते साँझ सवा ५ः१५ बजेसम्म बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । चाडपर्वको बेला सीमानाका बन्द हुने भएपछि भारतबाट घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ । आकस्मिक रुपमा निर्वाचनको बिचमा पुल खोल्नुपरेमा आपसी समझदारीमा खोल्न सकिने बताइएको छ ।
तिम्ल्याहा छोरी जन्माएकी मानमतीको हेलिकोप्टरबाट उद्दारपछि उपचार हुँदै
दार्चुलाः जिल्लाको नौगाड गाउँपालिका–२ ककनाडी चौखुट्टेकी २५ वर्षीया मानमती धामीले सोमबार बिहान स्वास्थ्य चौकी खारमा तिम्ल्याहा छोरी जन्माइन् । सुत्केरी हुने समय अगावै कम तौलका तीन बच्चा जन्माएपछि सुत्केरी महिलालाई सुविधा सम्पन्न अस्पताल लैजान स्वास्थ्यकर्मीले सिफारिस गरे पनि परिवारले आर्थिक अभाव देखाउँदै लैजान सकेनन् । दुर्गम क्षेत्रको विपन्न परिवारकी मानमतीको तल्लो पेट दुख्ने तथा रक्तस्राव भइरहेकाले ज्यान खतरामा थियो । जन्मिनेबेला शिशुको औषत तौल दुई किलोग्राम पाचँ सय ग्राम हुनुपर्नेमा सोमबार जन्मिएका तीनै छोरीको तौल औसतमा कमी छ । पहिलो पटक जन्मिएकी छोरीको दुई किलोग्राम र दुई छोरीको एक किलो दुइसय ग्राम मात्र तौल रहेको छ । दुर्गम क्षेत्रमा रहेको बर्थिङ सेन्टरमा वार्मर अर्थात न्यानो गराउने मेसिन, अक्सिजन मेसिन लगायतका थप उपकरण नहुँदा उपचारका लागि बाहिर पठाउनुपरेको हो । प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले भने, ‘सुत्केरी महिला र शिशुहरुको ज्यान खतरामा रहेको खबर पाउने वित्तिक्कै गाउँपालिकालाई सिफारीस पत्र पठाउन आग्रह गरे पनि इन्टरनेट समस्याको कारण सोमबार बेलुकीमात्रै पत्र प्राप्त भयो । गाउँपालिकाको पत्र पाएपछि महिला, बालवालिका तथा सामाज कल्याण मन्त्रालय र सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा महिलाको हेलिकप्टरबाट उद्दारका लागि औपचारिक अनुरोध गर्यौ ।’ दार्चुलाबाट प्रदेशसभा र प्रतिनिधिसभामा निर्वाचित सासंदहरुले समेत आफ्नो क्षेत्रबाट पहल गरेपछि महिला बालवालिका तथा सामाज कल्याण मन्त्रालयले सुत्केरीको उद्दारका लागि मंगलबार नेपाली सेनाको हेलिकोप्टर पठाएको हो । मंगलबार बिहान १० बजेर ५० मिनेट जाँदा हेलिकोप्टरबाट सुत्केरी र नवजात शिशुहरुलाई उपचारकालागि भेरी अञ्चल अस्पताल, नेपालगञ्ज पठाएर उपचार भइरहेको छ । सरकारले हिमाली र विकट क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरुको जीवनरक्षाका लागि सञ्चालन गरेको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत धामीको हेलिकोप्टरबाट उद्दार गरिएको प्रमुख जिल्ला अधिकारी बिष्टले बताए । सुरक्षित प्रसूति गृहमा तीन बच्चा जन्मिएको यो नौगाडको पहिलो घटना हो । तेस्रो सन्तानको रूपमा गर्भवती बनेकी धामीले निर्धारित समयभन्दा एक महिना अगावै बच्चा जन्माएको खार स्वास्थ्य चौकीका अनमी कौशा ठगुन्नाले बताइन् । यसअघि धामीका एउटा छोर अर्को तीन वर्षकी छोरी छन् ।
सीपीएलः गुयाना र बार्बाडोसबीचको खेलमा वर्षा बाधक
काठमाडौंः क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत गुयाना अमेजन वारियर्स र नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध बार्बाडोस ट्राइडेन्टसबीचको खेल वर्षाका कारण रोकिएको छ । गुयानाले १० ओभरमा २ विकेट गुमाएर ७७ रन बनाएको अवस्थामा वर्षा परेपछि खेल रोकिएको हो । कस्तो रह्यो सन्दीपको तीन ओभर? गुयानाविरुद्ध सन्दीले ३ ओभर बलिङ गर्दा १ विकेट लिएर २१ रन खर्चिएका छन् । बार्बाडोस ट्राइडेन्टसआवद्ध सन्दीपले वारियर्सविरुद्ध आफ्नो दोस्रो ओभरको पहिलो बलमा विकेट लिन सफल भएका थिए । उनले आफ्नो पहिलो ओभरमा एक छक्कासहित ८ रन दिए । यस्तै सन्दीपले दोस्रो ओभरमा ४ रन दिँदा तेस्रो ओभरमा २ चौकासहित ९ रन खर्चिए । यो समाचार तयार पार्दासम्म वारियर्सले १० ओभरमा २ विकेट गुमाएर ७७ रन बनाएको छ । यसअघि टस हारेर ब्याटिङको मौका पाएका बार्बाडोसले १९.२ ओभरमा सम्पूर्ण विकेट गुमाएर १३८ रन बनायो । उसका लागि जेपी डुमिनीले सर्बाधिक ३८, एलेक्स हेल्सले २४ रन बनाउनु बाहेक अन्यले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । बलिङमा वारियर्सका क्रिस ग्रिनले सर्बाधिक ४ विकेट लिए ।
मेडिकल कलेजका विद्यार्थीको माग पूरा नगरेको भन्दै विप्लव नेकपाले दियो यस्तो चेतावनी (विज्ञप्तिसहित)
काठमाडौंः नेत्रविक्रम चन्द ‘विप्लव’ नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चितवन जिल्ला स्थित चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीका जायज माग सुनुवाई नगरिए हस्तक्षेप गर्ने चेतावनी दिएको छ । प्रवक्ता खड्कबहादुर विश्कर्मा ‘प्रकाण्ड’ ले शुक्रबार विज्ञप्ति जारी गर्दै नेकपाले यस्तो चेतावनी दिएको हो । विद्यार्थीले शान्तिपूर्ण र वैधानिक संघर्ष गर्दै आइरहँदा कलेज प्रशासनले विद्यार्थीका जायज माग सम्बोधन गर्नुको सट्टा समस्यालाई विषयान्तर गर्दै आफ्नो पार्टीसँग जोडेर विद्यार्थीमाथि दमन गरेर आफ्नो कमजोरी र बदमासी ढाकछोप गर्ने षड्यन्त्र गर्दै केही दिनअघि कलेज प्रशासनद्वारा जारी गरिएको विज्ञप्तिप्रति पनि नेकपाले आपत्ति जनाएको छ । प्रवक्ता प्रकाण्डद्वारा हस्ताक्षिरित विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य शिक्षाको अध्ययनमा ७५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । तर, स्वास्थ्य माफिया र दलालहरुले संविधान कानुन र औपचारिक निर्णयसमेतलाई लत्याएर लाखौं अवैध असुली गरिरहेको जगजाहेर नै छ । तसर्थ समस्याको विषयान्तर नगर्न र आफ्ना विद्यार्थीको संविधान प्रदत्त, कानुनसम्मत र न्यायपूर्ण माग पूरा गर्न अनुरोध गर्दछौं । अन्यथा समस्यामाथि हस्तक्षेप गर्न पार्टी बाध्य हुने छ ।’
‘असोज तीन, कालो दिन’ भन्दै संविधानको विरोध गर्ने पक्राउ
दाङः संविधानको विरोध गर्ने ६ जना पक्राउ परेका छन् । दाङको लमहीमा संविधानको विरोध गर्दै कालोपट्टी बाँधेर प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्ने थरुहट थारुवान संघर्ष समितिका कार्यकर्ता हुन् । उनीहरुबारे अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिए । संविधानमा असहमति जनाउँदै थरुहट थारुवान संघर्ष समितिले संविधान दिवसलाई ‘असोज तीन, कालो दिन’का रुपमा मनाउने बताएको थियो । त्यही कार्यक्रम अनुरुप उनीहरुले ‘असोज तीन, कालो दिन’ भन्दै नाराबाजी गरेका थिए ।
तिहार लगत्तै सरकारबाट बाहिरिने बाबुरामको चेतावनी, संविधान संशोधन मुख्य शर्त
काठमाडौं । समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले दसैं–तिहारसम्म संविधान सशोेधन नभए सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । बिहीबार पत्रकारहरूसँग अन्तर्क्रिया गर्ने क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले संविधान संशोधनको माग पूरा गर्न केही समय कुर्ने र त्यसपछि पनि नभए सरकारबाट बाहिरिएर आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका हुन् । ‘संविधान संसोधनका लागि केही समय कुर्छौ । दशै र तिहार सम्म कुरेपछि पनि संविधान संसोधन नभए सरकारबाट बाहिरिन्छौं,’ ११ प्रदेशको अडानमा कायम रहेका भट्टराईले भने, ‘हामी ११ प्रदेशको मागमा कायम छौं । ११ वा १० प्रदेशमा जानुपर्छ भन्ने हाम्रो माग हो।’ नागरिकता वितरणको प्रशंगमा अनावस्यक कडाई गरेकोमा उनको आपत्ति थियो। नागरिकता वितरणलाई खुकुलो पार्नुपर्ने बताउँदै उनले थपे, ‘कडिकडाउ गर्नु जरुरी छैन।’ पार्टी नेपालका तर्फबाट वर्तमान सरकारमा उपप्रधानमन्त्रीसहित तीन मन्त्री छन्। पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री छन् भने सुरेन्द्र यादव स्वास्थ्य राज्यमन्त्री र मोहम्मद इस्तियाक राईले सहरी विकास मन्त्रीको हैसियतमा वर्तमान सरकारमा पार्टीको प्रतिनिधित्व गरिरहेका छन् । खबर डबलिबाट साभार
‘प्रिन्ट’ गरिएको कागजमा राखेर खाँदै हुनुहुन्छ ? सावधान ! क्यान्सर हुनसक्छ (भिडियो)
काठमाडौं । पत्रपत्रिकामा खानेकुरा राखेर खानु र त्यसमा खानेकुरा पोको पारेर लिनु–दिनु सामान्य कुरा मानिन्छ । तर, यसरी ‘प्रिन्ट’ गरिएको कागज र पत्रपत्रिकामा खाद्यसामग्री राख्दा र ती खानेकुरा खाँदा त्यसमा हुने रसायनले शरीरमा पार्ने असर भने सामान्य छैन । सडकका छेउछाउमा बसेर खानेकुरा खाँदा होस् वा मिठाइ पसलका परिकार लैजाँदा । त्यहाँ पत्रपत्रिका र प्रिन्ट कागजको उपयोग अत्यधिक हुन्छ, खानेकुरा राख्न र पोको पारेर लैजान । घरमै तयार पारिने विभिन्न भुटेका, तारेका खानेकुरा पनि धेरैजसो पहिला पत्रिकामा राख्ने गरिन्छ, तेल सोसियोस् भनेर । तर, यसरी राखिएका खानेकुरा खाँदा हामीले हानिकारक रसायन पनि खाइरहेका हुन्छौं । त्यस्ता खानेकुराले विशेषगरी बालबालिका र वृद्धवृद्धालाई बढी असर गर्छ । पत्रपत्रिकामा छाप्न जुन मसीको उपयोग हुन्छ, त्यसमा ‘डाइपिग्मेन्ट्स’, ‘अल्कोहल’, ‘प्रिजरभेटिभ’, ‘ग्रेफाइट’, ‘डाइएन आइसोब्युटाइलेट’जस्ता रसायन हुन्छन् । यी सबै रसायन स्वास्थ्यका लागि निकै खतरनाक हुन्छन् । मसीमा प्रयोग हुने रसायनले पेटसम्बन्धी समस्या, उच्च रक्तचापको सम्भावना रहन्छ भने मिर्गौलालाईसमेत क्षति पुर्याउँछ । यस्ता रसायनको थोरै अंशले पनि हाम्रो शरीरमा क्यान्सरको जोखिम बढाउने डा. लोचन कार्की बताउँछन् । पत्रपत्रिकामा प्रयोग हुने रसायनले गर्दा हाम्रो पाचनप्रणालीमासमेत असर पर्छ । यस्तै, मसी सुकाउन जुन रसायन प्रयोग गरिन्छ, त्यो तैलीय खाद्यपदार्थसँग टाँसिन्छ र खानाका माध्यमले हाम्रो पेटमा पुग्छ । जसले फोक्सो र मूत्रासयको क्यान्सरको जोखिम पनि बढाउँछ । तर, अधिकांश मानिसलाई प्रिन्ट कागजमा पोको पारेर दिएको खानेकुरा खाँदा कस्तोखालको स्वास्थ्य समस्या आउँछ भन्ने थाहै छैन । प्रिन्ट गरिएको कागजमा खानेकुरा राखेर खाँदा त्यसले स्वास्थ्यमा पार्ने असरबारे बेलैमा सचेत हुन जरुरी छ । इमेज खबरबाट
महासचिव पौडेलले भने, ‘गुटबन्दी अन्त्य गर्न मुर्दावादको अभियान सञ्चालन गरौं’
काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टी भित्रको गुटबन्दीको सशक्त प्रतिवाद गर्नुपर्ने बताएका छन्। महासचिव पौडेलले पार्टी भित्र हुने सबै प्रकारका गुटबन्दी अन्त्य गर्न मुर्दावादको अभियान संचालन गर्न पनि पार्टीका युवा नेता, कार्यकर्तालाई कडा निर्देशन दिए। पार्टीको हितको लागि, संगठनको हितका लागि पनि गुटगत गतिविधिविरुद्ध पार्टीका नेता, कार्यकर्ताले सशक्त प्रतिवाद गर्नुपर्ने महासचिव पौडेलको चेतावनीयुक्त भनाई छ। पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गुट र पार्टी सँगसँगै अघि बढन नसक्ने पनि बताए। गुटको हितमा लागे पार्टीको हित गर्न सकिदैन,’ महासचिव पौडेलको तर्क थियो, त्यसैले बुझ्नोस् पार्टीको हितमा काम गर्नुछ भने गुटगत गतिविधिलाई मुर्दावाद भन्नैपर्छ।’ महासचिव पौडेलले गुटको हित गर्नेले पार्टीले अहित गर्ने भएकाले पार्टीका हरेक कार्यकर्तालाई गुटगत गतिविधिलाई छाडेर एकतावद्ध संगठन र त्यसको प्रभावकारी परिचालनमा केन्द्रित हुन पनि सचेत गराए।
उपराष्ट्रपतिसँग जर्मनी राजदूतको शिष्टाचार भेट
काठमाडौंः उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड स्क्याफेरले शिष्टाचार भेट गर्नुभएको छ । बिहीबार उपराष्ट्रपति भवन, हरितगृहमा राजदूत रोल्याण्डले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गरेका हुन् । भेटमा उपराष्ट्रपतिले नेपाल जर्मनी सम्बन्ध अत्यन्त प्रगाढ र सौहार्दपूर्ण रहिआएको बताए । उनले जनस्तरसम्म फैलिएको सम्बन्धलाई विस्तार गर्दै जानुपर्ने बताए । उपराष्ट्रपतिले राजनीतिक स्थायित्वसँगै नेपाल वैदेशिक लगानीका लागि पूर्ण सुरक्षित गन्तव्य बनेको उल्लेख गर्नुहुँदै जर्मनीको नीजि क्षेत्रलाई नेपालमा लगानीका लागि समन्वय गरिदिन आग्रह गरे । ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न सरकार र नीजि क्षेत्रसँगै वैदेशिक लगानीको खाँचो छ,’ उनले भने, ‘जर्मनी सरकार र जर्मनीको नीजि क्षेत्रबाट लगानीको अपेक्षा गरेका छौँ ।’ उपराष्ट्रपतिले सन् २०२० लाई नेपालले भ्रमण वर्षको रुपमा मनाउन लागेको जानकारी गराउँदै भ्रमण वर्ष वैदेशिक लगानीकर्ताहरुका लागि फलदायी हुने विश्वास व्यक्त गरे । ‘भ्रमण वर्षमा भ्रमण पनि र लगानीको सम्भाव्यताहरुको अध्ययन पनि होस् भन्ने हाम्रो चाहना छ,’ उनले भने, ‘जर्मनीका व्यवसायीहरु भ्रमण वर्षमा भ्रमण गरुन्, लगानीको सम्भाव्यता अध्ययन गरुन् र लगानी पनि गरुन् ।’ उपराष्ट्रपतिसँगको भेटमा जर्मनीको राजदूत रोल्याण्डले जर्मनीको नीजि क्षेत्र नेपालमा लगानी गर्न तत्पर रहेको बताए । ‘नेपालले नयाँ नयाँ फड्को मार्दै गएको छ । राजनीतिक स्थिरतापछि यहाँ लगानीमैत्री वातावरण बनेको छ,’ उनले भने, ‘अक्टुबर २ मा जर्मनीको ६० वटा कम्पनीका प्रतिनिधि नेपाल भ्रमणमा आउँछन्, उनीहरु लगानीको सम्भावना अध्ययन गर्नेछन् ।’